६ जिल्लाका एसपी फेरिए, को कहाँ ? (सूचीसहित)

काठमाडौंः प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ ।

ती जिल्लामा कार्यरत एसपी बढुवा भएपछि रिक्त पदमा काज सरुवा गरिएको हो ।

सरुवाअनुसार सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, नवलपरासी (पश्चिम)मा अजय केसी, बाग्लुङमा शारदा चौधरी, दाङमा गणेश चन्द र कैलालीमा अनुपमशमशेर जबरालाई पठाइएको छ ।

सुनसरीका यज्ञविनोद पोखरेल, बर्दियाका राजेश बाँस्तोला, नवलपरासी (पश्चिम)का लालमणि आचार्य, दाङका अजय भट्टराई, बाग्लुङका नवराज भट्ट तथा कैलालीका सुदीप गिरी एसएसपीमा बढुवा भएपछि ती जिल्लामा एसपीको दरबन्दी रिक्त भएको थियो ।

जर्मनीले नेपाललाई २० हजार थान पीसीआर सहयोग गर्ने

काठमाडौंः जर्मनीले कोभिड–१९ विरुद्ध जुध्न नेपाल सरकारलाई २० हजार थान पीसीआर उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने नेपाल सरकारको प्रयासमा सघाउन जर्मनीले पहिलो चरणमा तीन हजार थान पीसीआर नेपाल ल्याइएको बताएको छ । यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बाँकी पिसीआर र अन्य उपकरण स्थलमार्ग हुँदै चीनबाट ल्याइने बताएको छ । आजै तीन हजार थान पिसीआर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड सेफेरले महामारीको वर्तमान अवस्थामा गुणस्तरीय स्वास्थ्य उपकरणबाट सङ्क्रमण भएनभएको परीक्षण गर्नु अपरिहार्य भएकाले सहयोगस्वरुप ती उपकरण उपलब्ध गराइएको बताएका छन् । यसैबीच जर्मनीले कोभिड–१९ प्रतिकार्यमा सघाउन जर्मन विकास सहयोगमार्फत नेपाली–जर्मनी स्वास्थ्य परियोजनाका लागि जर्मनीको आर्थिक सहयोग मन्त्रालयबाट अतिरिक्त लगानी गर्ने जनाएको छ ।

नेपालमा कोरोनाः के छ पछिल्लो अवस्था ?

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्त डा.विकाश कुमार देवकोटाले कोरोना संक्रमितको संख्या यथावत रहेको बताए । उनका अनुसार हालसम्म नेपालमा ५९ जनामा कोरोना देखिएको छ र तीमध्ये १० जना महिला हुन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमितमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । देवकोटाले हालसम्म ४८ हजार ५ सय २९ जनाको आरडीटी परीक्षण गरिएको र २२ हजार ९ सय ७८ जना क्वारेन्टाइमा रहेका छन् । काठमाडौं उपत्यकामा ४ सहित ८९ जना आइसोलेसनमा रहेको उनले जानकारी दिए । उनीहरू सम्भावित संक्रमित र संक्रमित हुन् । त्यस्तै, ३ सय १९ जना सम्भावित संक्रमित अर्थात ‘रेड जोन’मा छन् ।

महोत्तरीमा अज्ञात रोगः मृतकको संख्या ११ पुग्यो

महोत्तरीः जिल्लाको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको सङ्ख्या ११ पुगेको छ । आज बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बर्दिवास–१२ मेघरोल र भङ्गाहा–७ मेघनाथ गोरहन्नामा गत मङ्गलबारयता शुक्रबारसम्म ८ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा बर्दिवास–१२ का चार, भङ्गाहा–७ का छ र भङ्गाहा–६ का एक रहेका सो कार्यालयले जनाएको छ । ती तीनै वडाका बस्ती एकअर्कासँग जोडिएका छन् । भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले घरेलु मदिराको सेवनले ती स्थानीयको मृत्यु हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले मृत्युको कारण शवपरीक्षण जाँचले निक्र्योल गर्ने जानकारी दिए । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आज डा अमृत पोखरेल र विश्व स्वास्थ्य सङ्गठनका डा. सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली यी बस्तीमा पुगेको छ । टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको डा. पोखरेलले बताए । मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव (सिताई) महराको शव परीक्षण गरिएको छ । परीक्षण रिपोर्ट आएपछि मृत्युको कारणबारे यकिन हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

‘श्रीमानलाई बिरोलो मार्न जाऊ भन्दै जेठाजु बलात्कार गर्न आउँथे’

साङ्केतिक तस्बिर कैलालीः एक १६ वर्षीया किशोरीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले उनका श्रीमान् र जेठाजुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार गौरीगंगा नगरपालिकाकी ती किशोरीलाई दाजुभाइ मिलेर बलात्कार गर्न खोजेको आरोपमा उजुरी परेको छ । ती किशोरीको गत वर्ष मागी विवाह भएको थियो । मिलेमतोमा बलात्कार प्रयास प्रहरीका अनुसार किशोरीका जेठाजुले पटकपटक जिस्काउने, संवेदनशील अंग छुने गर्थे । बैशाख १५ गते बेलुकी खाना खाई सकेपछि युवती कोठामा सुतिरहेकी थिइन् । उनका जेठाजुले श्रीमानलाई बिरालो मार्न जाउ भनि घरबाट पठाए । श्रीमान् घरबाहिर जाने वित्तिकै जेठाजुले किशोरी सुतिरहेको कोठामा आएर बलात्कारको प्रयास गरे । तर, रोइकराई गरेर हो–हल्ला गर्दा त्यसदिन किशोरी बलात्कार हुनबाट जोगिइन् । उक्त कुराबारे कसैलाई भनेमा वेपत्ता पार्ने धम्की किशोरीलाई जेठाजुले दिएका थिए । त्यसकारण उनी त्यो दिन चुप बसिन् । फेरि १६ गते सोही घटना दोहोरियो । जेठाजुले श्रीमानलाई बिरालो मार्न जाउ भने । दाईको आग्रहलाई सहजै स्वीकार्दै उनी पनि घर बाहिर गए । युवती ढोका बन्द गरेर एक्लै सुतिरहेकी थिइन् । ढोका ढकढक भयो । तर, उनले जेठाजुले हिजोको जस्तै हर्कत देखाउँलान भनेर ढोका खोलिनन् । ढोको नखोलेपछि श्रीमान र जेठाजु मिलेर ढोका फोरेर भित्र पसे । अनि मात्रै किशोरीले थाहाँ पाइन्, श्रीमानले नै जेठाजुलाई बलात्कार गर्न सहयोग गरेका रहेछन् भनेर । अनि किशारीले श्रीमान् र जेठाजु मिलेर बलात्कार प्रयास गरेको भन्दै उजुरी दिइन् । उजुरीमा भनिएको छ, ‘श्रीमानलाई बिरोलो मार्न जाऊ भनेर जेठाजु बलात्कार गर्न आउँथे ।’ अहिले प्रहरीले किशोरीका श्रीमान् र जेठाजुलाई प्रक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पीडितको गोपनियतालाई ध्यानमा राख्दै बलात्कारको प्रयास गर्नेको पनि परिचय गोप्य राखिएको कैलाली प्रहरीले जनाएको छ । घटना मिलाउने भन्दै घुस ! किशोरीले उजुरी दिएपछि गाउँमा हलचल मच्चियो । तर, गौरीगंगा–११ का बिर्ख धामीले घटना मिलाइदिने भन्दै ५० हजार घुस मागे । उनी लक्ष्मी सामुदायिक वन उपभोक्ता समिति उदासिपुरका अध्यक्ष समेत हुन् । बलात्कार प्रयास जस्तो घटनालाई घुस लिएर मिलाउन लागिएको भन्दै एक जनाले अख्तियारमा खबर गरिदिए । त्यसपछि पुगेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कन्चनपुरको टोलीले ५० हजार घुससहित धामीलाई शुक्रबार नियन्त्रणमा लिएको र अनुसन्धान गरिरहेको छ ।

५४ देशका ३०९ यात्रु बोकेर काठमाडौंबाट उड्यो कतार एयरवेज

काठमाडौंः कतार एयरवेजको वाइडबडी जहाज ५४ देशका तीन सय ९ जना यात्रु बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट फ्रान्सको पेरिसतर्फ उडेको छ। नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको सो जहाज शनिबार दिउँसो काठमाडौंबाट कतारको दोहा हुँदै पेरिसका लागि उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। जहाजमा युरोपेली मुलुक, दक्षिण अफ्रिका, इजरायल, अमेरिका, क्यानाडालगायत मुलुकका नागरिक छन्। यो उडानसहित लकडाउन अवधिमा कतार एयरवेजको ११ उडान भएको छ। कतारपछि नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले आठ अन्तर्राष्ट्रिय उडान गरेको छ। नेपालबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्। सरकारले २०७६ चैत ११ देखि देशभार लकडाउन गरेको छ। पछिल्लो पटक आगामी वैशाख २५ सम्म लकडाउनलाई निरन्तरता दिने निर्णय भएको छ। यो अवधिमा गत चैत १० गतेदेखि आगामी जेठ २ गतेसम्म नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गरिएको छ।

सोलुखुम्बुका ११६ जनाको आरडिटी रिपोर्ट आयो

सोलुखुम्बुः हिमाली जिल्ला सोलुखुम्बुमा हालसम्म ११६ जनाको कोरोना भाइरस सङ्क्रमण आरडिटी परीक्षण गरिएको छ । हालसम्म गरिएको आरडिटी परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय सोलुखुम्बुका निमित्त कार्यालय प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिए । जिल्लाको सोलु दूधकुण्ड नगरपालिकामा ४३, माप्य दूधकोशी गाउँपालिकामा १६ र खुम्बु पासाङल्हामु गाउँपालिकामा ११ जनाको परीक्षण गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेचासल्यान गाउँपालिकामा २०, थुलुङ दूधकोशी गाउँपालिकामा तीन, महाकुलुङ गाउँपालिकामा चारजना लिखुपिके गाउँपालिकामा चार र सोताङ गाउँपालिकामा आठजनाको परीक्षण गरिएको छ । रोजगार तथा अन्य कामका सिलसिलामा जिल्ला बाहिर गएर फर्किएका नागरिक रहेका छन् । यस्तै वैदेशिक रोजगारीबाट जिल्ला आएका पाँचजनाको पिसिआर टेष्ट गरिएको निमित्त प्रमुख राजवंशीले जानकारी दिए । उनका अनुसार उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । थुलुङदूधकोशी गाउँपालिका तीनजना र सोलुदूधकुण्ड नगरपालिकाका–२ जनाको स्वाब परीक्षण गरिएको कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा ३३ जना जिल्लाको विभिन्न क्षेत्रमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ३३ पुगेको छ । बाहिरी जिल्ला र वैदेशिक रोजगारबाट आएका शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित कार्यालय प्रमुख राजवंशीले जानकारी दिए । छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले बाहिरी जिल्लाबाट आएकाको अवस्थाबारे कडा निगरानी बढाइएको उनको भनाइ छ । शुक्रबारमात्रै उदयपुरबाट सोताङ गाउँपालिका आएका सातजनालाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै लिखुपिके गाउँपालिकामा दुईजना र माप्य दूधकोशी गाउँपालिकामा २४ जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्लाको आठ स्थानीय तहले केही दिनअघि मात्रै चार हजार ५०० भन्दा बढी नागरिकको उद्धार गरेर गाउँ ल्याएको छ । विभिन्न कामका लागि जिल्ला बाहिर रहेका नागरिकको उद्धार गरेको स्थानीय तहले शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने काम गरेको जनाएको छ । बाहिर जिल्लाका नागरिक गाउँ आएपछि यहाँका स्थानीयवासीमा त्रास पैदा भएकाले स्वास्थ्य सुरक्षा सतर्कतामा ध्यान दिइएको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँतीले जानकारी दिए ।

सोलुखुम्बुमा एकै गाउँका ४० बढी बिरामी

सोलुखुम्बुः सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ सल्यानमा झाडापखाला तथा कमलपित्त (जन्डिस)का बिरामी बढेका छन् । साविक सल्यान गाविसको वडा नं १ र ३ का ४० बढीमा उक्त रोग देखिएको वडाध्यक्ष भेषकुमार बाँस्तोलाले जानकारी दिए । वडाध्यक्ष बाँस्तोलाका अनुसार एकै वरिवारका चारजनासम्म बिरामी परेका छन् । झाडापखाला मात्र नभई आउँसमेत रहेको अनुमान गरिए पनि ल्याब परीक्षणबाट एकिन हुने अध्यक्ष बाँस्तोलाको भनाइ छ । ‘साविक वडा नं १ को चौतारा नेवार बस्तीका करिब २५ जनामा झाडापखाला र साविक वडा नं ३ का करिब २० जनामा जन्डिस देखिएको छ,’ अध्यक्ष बाँस्तोलाले भने, ‘हिजोमात्रै स्वास्थ्यकर्मीसहितको टोली गएर त्यस क्षेत्रको वास्तविकता बुझ्दा बिरामीको सङ्ख्या बढिरहेको पाइयो ।’ एक हप्तादेखि बिरामीको सङ्ख्या अप्रत्यासितरुपमा बढ्दै गएपछि जिल्लाबाट चिकित्सकसहितको टोली शुक्रबार त्यहाँ पुगेको छ । सरुवा रोग तीव्र गतिमा फैलिएकाले जिल्ला अस्पताल फाप्लुबाट चिकित्सकसहितको टोली सल्यान पुगेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिए । जिल्ला अस्पताल फाप्लुका डाक्टर, गाउँपालिकाका स्वास्थ्यकर्मी सबै त्यस क्षेत्रमा परिचालन गरिएको गाउँपालिकाले जनाएको छ । उक्त टोलमा प्रयोग हुँदै आएको पानीको मुहान दूषित भएकाले नै बिरामी परेको हुन सक्ने अनुमान गरिएको छ । त्यस क्षेत्रका नागरिकले प्रयोग गर्ने तीनवटा खानेपानीका मुहानमध्ये एउटा मुहान फोहर रहेको पाइएको वडाध्यक्ष बाँस्तोलाको भनाइ छ । तीनवटै मुहानको पानी परीक्षणको तयारी भइरहेकाले खानेपानी या अन्य कुनै कारणले यो रोग फैलिएको बारे अहिले नै भन्न नसकिने अध्यक्ष बाँस्तोलाले बताए । ‘दैनिकरुपमा तीनदेखि चारजनामा जन्डिस देखापरेको छ,’ प्राथमिक स्वास्थ्य केन्द्र सल्यानका मेडिकल अधिकृत डा. अविषेक सुमनले भने, ‘हालसम्म बिरामीको सङ्ख्या बढेर ४० जनाभन्दा बढी पुगिसकेको छ ।’ डा. सुमनका अनुसार उनीहरुलाई घरैमा गएर उपचार गरिएको छ भने ल्याब परीक्षणका लागि प्राथमिक केन्द्रमा बोलाइएको छ । बिरामी सबैको अवस्था सामान्य रहेकाले तत्काल नियन्त्रण बाहिर नरहे तापनि कोरोना भाइरसको जोखिम रहेका बेला केही समस्या भएको चिकित्सकको भनाइ छ । मौसम परिवर्तनका बेला विभिन्न किसिमका रोग लाग्ने भएकाले सचेत रहन चिकित्सकले सबैलाई आग्रह गरेका छन् । विश्वले सामना गरिरहेकोे कोभिड–१९ को जोखिमसँग अन्य रोगसमेत बढ्न सक्ने भएकाले सरकारले यसतर्फ पनि ध्यान दिनुपर्ने डा अविषेक सुमनको भनाइ छ । कोरोनामा केन्द्रित हुँदा अन्य रोगले महामारीको रुप लिन सक्नेतर्फ सबै सचेत हुनुपर्ने उनले बताए ।

सचिवालय बैठकअघि गोकुल बाँस्कोटाको ट्वीट, भने, ‘कालो बादलमा नेकपा बैठक’

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्दैछ । बैठक शनिबार (आज) अपरान्ह ५ः३० बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने छ । उक्त बैठकलाई नेकपाका नेताहरूले ‘निर्णायक’बैठक भनेका छन् । पार्टीमा विवाद बढ्दै गइरहेको बेला गत बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । गौतमलाई प्रधानमन्त्री बनाउने प्रधानमन्त्री केपी शर्माको प्रस्तावमा प्रचण्ड र माधव नेपाल पक्ष सकरात्मक देखिएको छ । तर, प्रचण्ड-नेपाल पक्षले उक्त प्रस्तावबारे औपचारिक निर्णय हुनुपर्ने माग अगाडि सारेको छ । आजको बैठकले उक्त प्रस्तावबारे छिनोफानो गर्ने सम्भावना छ । बैठकअघि नेताहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीका विश्वासपात्र तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बैठक बस्नुअघि एउटा ट्वीट गरेका छन् । उनले चाँदीको घेरामा नेकपा सचिवालय बैठक रहेको बताएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘ओैँसीको रात, कालोबादल, चाँदीको घेरा, नेकपा बैठक ।’ उनले ट्वीटमा के भन्ने खोजेका हुन् प्रष्ट पारेका छ्रैनन, तर यो बुझ्न कठिन छैन कि उनको ट्वीट नेकपा बैठकप्रति लक्षित छ । बैठकलाई औँसीको रात र कालोबादलका रुपमा अथ्र्याएका उनले चाँदीको घेरामा बैठक रहेको भने प्रष्ट हुन्छ । ट्वीटमा के भन्न खोजेका हुन् ? त्यो बैठकपछि थाहा होला ।

लकडाउनमै अस्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्स

काठमाडौंः देशमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडान गरिरहेको छ । लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको नेपाल एयरलाइन्सले भारत, बङ्गलादेश, जापान र अस्ट्रेलियामा चार्टर्ड उडान गर्यो भने चीनको ग्वान्जाओमा चार कार्गो उडान गरेको छ । निगमले क्रमशः अस्ट्रेलिया, दक्षिण कोरिया र चीनको बेइजिङमा चार्टर्ड उडान गर्दैछ । निगमले अस्ट्रेलिया र चीनमा पुनः उडान गर्न लागेको हो । आगामी वैशाख २४ गते (६ मे २०२०)मा निगमले अस्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्न लागिएको जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काले नेपालमा रहेका अस्ट्रेलियाली नागरिक लिएर निगमको वाइडबडी जहाजले सिड्नी गन्तव्यमा चार्टर्ड उडान गर्ने निश्चित भएको जानकारी दिए । निगमले यसअघि चैत १९ गते अस्ट्रेलियाको ब्रिश्वेनमा चार्टर्ड उडान गरेको थियो । उक्त उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो । जुन निगमको वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्यको उडान भरेको थियो । मलेशिया ट्रान्जिट हुँदै अस्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको थियो । निगमको पुनः अस्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर सिड्नी पुग्नेछ भने सिड्नीबाट फर्कदा सिधै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमका प्रवक्ता खड्काका अनुसार काठमाडौं–सिड्नी साढे १२ घण्टाको उडान हुनेछ । काठमाडौंबाट २५० भन्दा बढी यात्रु लिएर जाने वाइडबडी फर्कंदा लोड कम हुने भएकाले सिधा सिड्नी–काठमाडौं उडानको तालिका रहेको छ । वाइडबडी जहाज काठमाडौंबाट दिउँसो १ः३० बजे उड्ने र भोलिपल्ट साँझ ५ बजे काठमाडौंमा अवतरण गर्नेछ । काठमाडौंस्थित अस्ट्रेलियाली दूतावासको पहलमा सिड्नीमा चार्टर्ड उडान गर्न लागिएको हो । नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले ट्वीटरमा सन्देश पोष्ट गर्दै अस्ट्रेलिया जहाज जान लागेकाले टिकटका लागि नेपाल एयरलाइन्समा सम्पर्क गर्न आग्रह गरेका छन् । निगमले वैशाख २४ गते नै चीनको बेइजिङमा कार्गो उडान गर्ने भएको छ । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेको बताइएको छ । निगमको जहाज काठमाडौंबाट साँझ ५ः३० बजे बेइजिङ उडेर भोलिपल्ट फर्कंनेछ । त्यसैगरी निगमले दक्षिण कोरियामा पनि चार्टर्ड उडान गर्दैछ । दक्षिण कोरियाको सिओलमा गत अप्रिल ३० तारिखमा चार्टर्ड उडान गर्ने भनिए पनि उडान सरेको थियो । दक्षिण कोरियाको सिओल उडान गर्ने निश्चित भए पनि कुन मितिमा गर्ने भन्ने यकिन भइनसकेको निगमले उल्लेख गरेको छ । नेपाली कामदारलाई दक्षिण कोरिया लैजान गैरआवासीय नेपाली सङ्घ कोरियाले जहाज चार्टर्ड गरेर लैजान लागेको जनाइएको छ । काठमाडौं विमानस्थलबाट कोरियाको सिओलस्थित इङचोन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुनेछ । मन्त्रिपरिषद्को वैशाख १४ गतेको निर्णयानुसार इपीएस प्रणालीअन्तर्गत कोरिया काम गर्ने अनुमति प्राप्त वैध प्रवेशाज्ञा (भिसा) भएका हाल बिदामा रहेका नेपाली स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरुको स्वास्थ्य परीक्षण गराइ उनीहरूकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने निर्णय गरेको थियो । सोहीअनुरुप कोरिया उडान गर्न लागिएको हो । यसरी लकडाउन अवधिमा कतार एयरपछि सर्वाधिक अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्सले आठ उडान गरेको छ । कतार एयरले १० उडान गरेको थियो । निगमको पहिलोपटक चैत १६, २० र २४ गते निगमका वाइडबडी जहाजले चीनको ग्वान्जाओबाट स्वास्थ्यसामग्री ल्याएका थिए । त्यस्तै चैत २८ गते जापानको नारितामा चार्टर्ड उडान गरेको थियो । भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि निगमले चार्टर्ड उडान गरेको थियो । हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत चैत १० देखि वैशाख १९ सम्म ४० अन्तर्राष्ट्रिय उडान भएका छन् । रासस

प्रचण्ड–नेपाल समूहलाई वामदेव प्रधानमन्त्री स्वीकार्य तर पहिलो शर्त ओलीको राजीनामा

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रधानमन्त्री केपी शर्माको प्रस्तावमा प्रचण्ड र माधव नेपाल समूह सकरात्मक देखिएको छ । तर, उक्त समूहले त्यसमा पहिलो शर्त प्रधानमन्त्रीको राजीनामा राखेको छ । पार्टीमा विवाद बढ्दै गइरहेको बेला गत बुधबार बसेको सचिवालय बैठकमा ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।   ओलीको पहिलो प्रस्तावबारे सकरात्मक भएको प्रचण्ड–नेपाल समूहले दोस्रो प्रस्ताव भने अस्वीकार गरेको छ । ओलीको प्रस्तावबारे छलफल गर्न शुक्रबार प्रचण्ड–नेपाल समूहको बैठक नेपाल निवास कोटेश्वमा बसेको थियो । बैठकमा प्रचण्ड, नेपालसहित उक्त समूहका स्थायी कमिटी सदस्य सहभागी थिए । वामदेव गौतम । उक्त बैठकबारे उक्त समूहका स्थायी कमिटी सदस्य भिम रावलले एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै भनेका छन्, ‘शुक्रबार बसेको प्रचण्ड–नेपाल समूहको अनौपचारिक बैठकमा गौतमलाई प्रधानमन्त्री बनाउने विषयमा सबै सहमत भएका छौं । तर त्यसका लागि पहिलो शर्त प्रधानमन्त्री राजीनामा हाम्रो छ ।’ उनले भने, ‘प्रधानमन्त्री ज्यूको पहिलो प्रस्ताव (वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने)मा हामी सहमत छौं । तर, औपचारिक निर्णय हुनुपर्छ भन्ने माग छ । दोस्रो प्रस्ताव (माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने) मान्य छैन ।’ प्रधानमन्त्रीको पहिलो प्रस्तावमै रावलले शंका व्यक्ति गर्दै भनेका छन्, ‘यसअघि वामदेव कमरेडलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने सचिवालयको बैठक नमान्ने ओलीले अहिले आफूले राजीनामा दिएर प्रधानमन्त्री बनाउलान भन्ने कुरामा ढुक्क छैनौं । तर, सचिवालय र स्थायी कमिटी बैठकमा औपचारिक निर्णय गरेर उक्त प्रस्ताव अगाडि बढाउनुपर्छ ।’ उनले विधि प्रक्रिया र कानूनी प्रावधानबारे आज (शबिबार) बस्ने बैठकमा निर्णय हुनुपर्ने माग गरे । गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा विमति नरहेको बताएका रावलले दोस्रो प्रस्तावबारे भने, ‘नेपाल कमरेडको तेस्रो अध्यक्ष बन्ने माग र इच्छा हैन । तेस्रो अध्यक्ष बन्ने प्रस्तावमा उहाँ (माधव नेपाल) सहमत हुनुहुन्न ।’ भीम रावल ।   रावलले भन्, ‘अमुक व्यक्तिले अमुक व्यक्तिलाई पद बाड्दै हिड्न पाउँदैनन् । पार्टीबाट संस्थागत निर्णय गराउनुपर्छ ।’ उनले स्थायी कमिटी बैठक बोलाउन पनि माग गरे । यसअघि प्रचण्ड–नेपाल पक्षका नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले ओलीले गरेको प्रस्तावलाई ‘क्षेप्यास्त्र’भनेर टिप्पणी गरेका थिए । साथै उनले उक्त प्रस्ताव प्रचण्ड–नेपालको मोर्चा ध्वस्त पार्न ल्याइएको भन्दै कमा नलाग्ने बताएका थिए ।

गुल्मीमा ९ जनाको आरडीटी रिपोर्ट आयो

गुल्मीः चन्द्रकोट गाउँपालिकामा देशका विभिन्न ठाउँबाट आएकाहरुको आरडीटी परिक्षण नेगेटिभ आएको छ । गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा रहेका ९ जनाको परिक्षण गरिएको थियो । तीमध्ये चितवनबाट आएका ४ जनालाई चन्द्रकोट क्याम्पसमा व्यवस्थापन गरिएको थियो । हेटौडाबाट आएका ३ जनालाई ग्वाघास्थित महिला समुह तथा बुटबलबाट आएका दुईजनालाई वडा नम्बर १ को महिला भवनमा व्यवस्थापन गरिएको थियो । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिएको थियो । तर रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमुक्त गरिएको गाउँपालिका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिए ।

गायिका विष्णु माझीलाई मातृ शोक

स्याङजाः लोकदोहोरी गायिका विष्णु माझीकी आमा धर्मकुमारी माझीको ५८ वर्षको उमेरमा निधन भएको छ । स्याङजाको चापाकोट नगरपालिका वडा नम्बर-८ मा रहेको आफ्नै घरमा उनको निधन भएको परिवारले जनाएको छ । लामो समयदेखि उच्चरक्तचापको बिरामी रहेकी माझीको शुक्रबार निधन भएको हो । उनका श्रीमान्, एक छोरा र दुई छोरी रहेका छन् ।

पत्रपत्रिकाः अस्थिरताको शिलान्यास– किन ल्याइयो अध्यादेश ? यस्तो छ सरकारको योजना

काठमाडौंः स्थिरताको अपेक्षा गरेका जनतालाई निराश बनाउँदै नेपालको राजनीतिमा अस्थितरताको शिलान्यास भएको छ । ऐतिहासिक दुईतिहाइ जनमतबाट निर्वाचित सरकारले अहिले संसद्मा रहेको समाजवादी पार्टी फुटाउने योजना मात्र बनाएको छैन, भविष्यमा अरू दल पनि फुट्ने अभ्यासको पुनरावृत्ति गर्दै छ । यसरी कोरोना महामारीविरुद्ध देश एकजुट भएर संघर्ष गर्नुपर्ने वेला सरकार टुटफुटको राजनीतिमा लागेकोमा धेरैले आलोचना गरेका छन् । कुनै दल विभाजन गरेर नयाँ दल दर्ता गर्दा केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने कानुन थियो । तर, सरकारले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन गरेपछि अब केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत पुगे दल विभाजन गर्न र नयाँ दल दर्ता गर्न मिल्ने भएको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वमा रहेको समाजवादी पार्टी फुटाउने उद्देश्यका साथ सरकारले दल फुट्नेसम्बन्धी कानुन संशोधन अध्यादेश ल्याएको छ । मोहम्मद इस्तियाक राई र रेणु यादवलगायतका नेताहरू अध्यक्ष यादवसँग असन्तुष्ट छन् । उनीहरूले पार्टी फुटाउने गरी सरकारमा हिस्सेदारी खोजेका छन् । प्रधानमन्त्रीले दुई मन्त्री, एक राज्यमन्त्री दिने आश्वासन पनि दिएको उनीहरूले आफ्ना नेताहरूलाई भन्दै आएका छन् । मन्त्रिपरिषद्मा यत्ति नै सिट उपेन्द्र यादवले पाएका थिए । समाजवादीबाट विद्रोह गर्नेले उपसभामुख पदमा पनि दाबी गरेका छन् । समाजवादी विभाजन भएमा प्रदेश २ सरकारबाट पनि उपेन्द्र यादवको समूह विस्थापित हुनेछ । त्यहाँको सरकार ढालेर नयाँ सरकार बनाउने प्रधानमन्त्रीको योजना छ । त्यस्तै राजपालाई पनि विभाजित गर्न सजिलो हुने बालुवाटारको बुझाइ छ । राजनीतिक रूपमा लामो तयारी गरे पनि कानुनी रूपमा भने यो प्रक्रिया नाटकीय रूपमा सम्पन्न भएको छ । त्यस्तै, संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेताको समर्थनविना पनि निर्णय हुन सक्ने गरी अध्यादेश ल्याइएको छ । यो कानुनले अख्तियारमा आयुक्त नियुक्ति गर्न सरकारलाई सजिलो हुने भएको छ । सोमबार अपराह्न साढे तीन बजे सकिएको मन्त्रिपरिषद् बैठकको निर्णयलगत्तै दुवै अध्यादेश राष्ट्रपति कार्यालय गएका थिए । मुख्यसचिव र कानुनसचिवले प्रस्ताव पुर्‍याएको १५ मिनेटमै राष्ट्रपतिले अध्यादेश जारी गरेकी छिन् । संसद्को पाँचौँ अधिवेशन सकिएको १४ दिनपछि र नयाँ अधिवेशन सुरु हुनु ठीक अगाडि सरकारले अत्यावश्यक ठानेर अध्यादेश ल्याएको छ । यही केही साताभित्र समाजवादी पार्टी फुटाउने लक्ष्य लिएको छ । केही सातापछि संसद् सुरु भएपछि यो अध्यादेश विधेयकबाट प्रतिस्थापित हुनुपर्नेछ । विधेयक पारित भएमा भविष्यमा अरू दल फुट्ने आधार पनि तयार हुनेछ । त्यो अवस्थामा अहिले समाजवादी र राजपा मात्र होइन, भविष्यमा सत्तारुढ नेकपा स्वयं वा विपक्षी कांग्रेसलाई पनि विभाजित हुने मैदान बन्नेछ । आजको नयाँ पत्रिकामा समाचार छ ।

विश्वमा कोरोना महामारीः कहाँ कतिको मृत्यु र संक्रमित ? (सूचीसहित)

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघेको छ । गएको २४ घन्टामा कोरोना संक्रमणबाट विश्वभर ५ हजार ३ सय ६६ जनाको मृत्यु भएसँगै मृत संख्या १ लाख ७० हजार ४ सय २३ पुगेको वल्र्डओमिटरले जनाएको छ । विश्वभर कोरोना संक्रमितको संख्या २४ लाख ८१ हजार २६ पुगेको छ । सोमबार मात्रै विश्वभर करिब ७ हजार संक्रमित फेला परेका छन् । संक्रमितमध्ये अहिलेसम्म ६ लाख ४६ हजार ३ सय ६७ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ५६ हजार ७ सय ६५ को अवस्था गम्भीर छ । गएको २४ घन्टामा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा १९ सय ३९ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या ४२ हजार ५ सय १४ पुगेको छ । अमेरिकापछि अहिलेसम्म इटालीमा धेरैको मृत्यु भएको छ। त्यहाँ सोमबार ४ सय ५४ जनाको मृत्यु भएको छ। यो सँगै इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ । त्यसैगरी स्पेनमा अहिलेसम्म २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ । त्यहाँ सोमबार ३ सय ९९ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी फ्रान्समा अहिलेसम्म २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । फ्रान्समा सोमबार ५ सय ४७ जनाले ज्यान गुमाएका छन् । युकेमा साढे १६ हजारभन्दा धेरैको मृत्यु भएको छ । त्यहाँ सोमबार ४ सय ४९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

कांग्रेसले डाक्यो आकस्मिक बैठक

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक डाकेको छ । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधनबारे छलफलका लागि बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठक मंगलबार विहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाका निवास बूढानीलकण्ठमा बस्ने छ । कोरोनाको संक्रमणसंग पूरै विश्व एक भएर लडिरहेका बेलामा सरकारले जारी गरेका दुबै अध्यादेशप्रति काँग्रेसको गम्भीर असहमति जनाएको छ । संवैधानिक परिषदमा प्रतिपक्षी दलका नेतालाई बाइपास गरिनुलाइए काँग्रेसले संविधानमाथिको प्रहरका रुपामा लिएको छ । सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले काँग्रेस थप सशंकित बनेको छ ।