कोरोनाबाट बच्न रातारात काठमाडौं भित्रिने बढे
काठमाडौंः तराईका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौं उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ ।
केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवलबाट २४ भन्दा बढी यातायातका सवारी साधन यात्रु बोकेर काठमाडौँ भित्रिएका थिए । सवारी साधनका लागि नागढुङ्गा नाकामा निसङ्क्रमण टनेल निर्माण गरिएको छ ।
यसरी बाहिरबाट उपत्यका प्रवेश गर्नेलाई कडाइ गरिए पनि निजी तथा भाडाका सवारी साधन प्रयोग गरी विभिन्न बहाना बनाएर मध्यरातमा उपत्यका भित्रिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको बताइएको छ ।
त्यस्तै फर्पिङ, मुड्खु, भक्तपुरको जगाती र जर्सिङपौवा नाकामा समेत टनेल राख्ने योजना बनाइएको जानकारी महानगरीय ट्राफिक महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले दिए ।
निसङ्क्रमण टनेल निर्माण गर्दा यात्रु तथा सवारी केही हदसम्म सुरक्षित हुने देखिन्छ ।
खाद्य, तरकारी, पलफूल लगायत दैनिक उपभोग्य सामग्री बोकेर आउने सवारी साधनबाट समेत कोरोना विषाणु भित्रिन सक्ने भन्दै त्यस्ता सवारी साधनमाथि विशेष निगरानी बढाई डिस्इन्फेक्सन अनिवार्य गरिने भएको छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसमा १ सय पत्रकारलाई राहत
काठमाडौंः नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा करिब १ सय पत्रकारलाई आज राहत वितरण गरेको छ । शाखाले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनको समयमा जीविकोपार्जन गर्न कठिन भएका आफ्ना सदस्य पत्रकारलाई चामल, दाल, नून, तेललगायत खाद्य सामग्री प्रदान गरेको हो । शाखाका अध्यक्ष शन्तराम विंडारीले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक र पारदर्शी बनाएर समाजमा सत्यतथ्य सूचना प्रवाहमा आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै अभाव, दबाब र प्रभाव बिनाको पत्रकारिताको खाँचो औँल्याए । उनका अनुसार स्थानीय तहले वितरण गरेको राहतमा पत्रकारको प्रत्यक्ष पहुँच नभएकाले काठमाडौं शाखाले खाद्य सामग्री सङ्कलन गरी आफ्ना सदस्यलाई वितरण गरेको छ । उपत्यका प्रदेश समिति सचिव विष्णु आचार्य, शाखाका पूर्वसभापति ईश्वरी वाग्ले, पत्रकार चक्रपाणि नेपाल, भावना विद्रोही, केबी सम्राट, फणीन्द्र फुयाँल, कृष्ण लेकाली, कालिका महत लगायतले कोभिड–१९ का कारण विश्व अर्थतन्त्र सङ्कुचन भई नकारात्मक प्रभाव पर्ने हुँदा पत्रकारिता क्षेत्रले सामाजिक रुपान्तरणका लागि कलम चलाउनुपर्ने विचार व्यक्त गरे । शाखाका उपाध्यक्ष सूर्य सुवेदीले दुःख पाएका सबै नागरिकलाई मानवीयताका आधारमा राहत सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए । यसैबीच ट्राइकोट इन्डस्ट्री प्रालिका प्रतिनिधि रवि पौडेलले पाँच थान व्यक्तिगत सुरक्षा सामग्री उक्त शाखालाई हस्तान्तरण गरे । दैनिक घटनाक्रमको समाचार सङ्कलनमा क्रियाशील रहने शाखाका १५ सदस्यलाई कोरोना बीमा गरिने जनाइएको छ ।
भावी प्रधानसेनापति बन्ने दौडमा रहेका शर्मा रथीमा बढुवा
काठमाडौंः उपरथी प्रभुराम शर्माको रथीमा बढुवा भएको छ । आइतबार जंगीअड्डामा आयोजित एक कार्यक्रमका बीच शर्मालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह लगाइदिएका छन् । मन्त्रिपरिषदको १४ वैशाखमा बसेको बैठकले शर्मालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । शर्मा हाल सम्भार रथीको भूमिका थिए भने अब बलाध्यक्षको जिम्मेवारी पाएका छन् । बलाध्यक्ष रथी गौरव तण्डुलले १९ वैशाखबाट अवकाश पाएका छन् । अर्का रथी शरद गिरीले असार पहिलो साता उमेर हदका कारण अवकाश पाउँदैछन् । त्यसपछि प्रधानसेनापति थापामुनिको वरियतामा शर्मा उक्लने छन् । उनले भारतबाट नेश्नल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् । हालका प्रधानसेनापति थापाले २०७८ भदौमा अवकाश पाउने छन् ।
बाँकेमा थप ६ जनामा कोरोना पोजिटिभ
काठमाडौंः बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसारका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पोजिटिभ देखिएको हो । आइतबार नै बाँकेमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका १ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७५ पुगेको छ ।
सबै परीक्षण नेगेटिभ आएपछि सप्तरीमा त्रास घट्यो
सप्तरीः सप्तरीमा आज थप ८१ जनाको पीसीआर टेस्ट रिपोर्ट नेगेटिभ देखिएको छ । योसँगै जोखिमयुक्त ठहर गरिएको सप्तरीको ३ वटा नगरपालिकाबाट लिइएको ३१७ स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जोखिमयुक्त ठहरिएका सप्तरीको ३ नगरपालिकाबाट सङ्कलन गरिएको ३१७ स्वाबको रिपोर्ट नेगेटिभ आएको र एउटाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए । उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केबाट सङ्क्रमित पुष्टि भएका जमातीहरू सप्तरीको बोदे बर्साइन, कञ्चनरूप, सप्तकोशी नगरपालिका हुँदै भुल्के गएको यात्रा विवरणअनुसार ती क्षेत्रबाट स्वाब सङ्कलन गरिएको हो । सप्तरीको बोदे बसाईन नगरपालिकाबाट १६१, सप्तकोशी नगरपालिकाबाट ११४ र कञ्चनरूप नगरपालिकाबाट ४३ गरी ३१८ जनाको स्वाब सङ्कलन गरिएको हो । इस्लामी सङ्घ नेपालका सप्तरी जिल्ला अध्यक्ष कलिम खानले उदयपुरको भुल्केभन्दा अगाडि जमातीहरू बसेको मस्जिदमा एकजना पनि कोरोना सङ्क्रमित फेला नपरेकाले जमातीबाट कोरोना सरेको नभई भारतमा अध्यनरत विद्यार्थीबाट जमातीमा कोरोना सरेको बताए । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट पठाइएको ५१ मध्ये ४७ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । आज पठाइएको चारवटाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए । सप्तरीबाट हालसम्म पठाइएकामध्ये तीन सय ६४ स्वाबको रिपोर्ट नेगेटिभ आएपछि सप्तरीवासीको त्रास केही कम भएको छ ।
नेपालमा ७ वर्षीय बच्चामा पनि कोरोना संक्रमण
काठमाडौंः नेपालमा ७ वर्षीय बच्चामा पनि कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनको क्रममा आज कोरोना पुष्टि भएका नेपालगञ्जका ९ मध्ये १ जना ७ वर्षीय बच्चा रहेको जानकारी दिए । तर, बालक वा बालिका भन्नेबारेमा भने उनले केही पनि खुलाउनु भएन । नेपालमा सानो उमेरमा कोरोना पुष्टि भएको यो पहिलो घटना हो । नेपालगञ्जका ९ जना र पर्साका ३६ वर्षका पुरुष गरी १० जनामा आज एकैदिन कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।
नेपालमा दोस्रोपटक एकैदिन दोहोरो अंकमा बढे कोरोना संक्रमित
काठमाडौंः नेपालमा दोस्रो पटक एकै दिन दोहोरो अंकमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्। यसअघि एकैदिन उदयपुरमा ११ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको थियो । आज नेपालगन्जमा ९ र पर्सामा १ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । नेपालगन्जमा संक्रमण देखिएकामध्ये ५ जना पुरूष र ४ जना महिला रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन्। संक्रमितहरूको ट्राभल हिस्ट्री पत्ता लगाउने प्रयास भइरहेको नेपालगन्जका मेयर धवलशमशेर राणाले जानकारी दिए । त्यस्तै आजै पर्साको वीरगन्ज महानगरपालिका–३ छपकैया ३६ वर्षीय पुरूषलाई कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितको कुल संख्या ६९ पुगेको छ । जसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
सेनाको गाडीले ठक्कर दिँदा घाइते भएकी महिलाको जहाजबाट उद्धार
बाँकेः नेपाली सेनाको गाडीको ठक्करबाट शनिबार गम्भीर घाइते भएकी प्रतीक्षा भुसाललाई थप उपचारका लागि आज काठमाडौँ लगिएको छ। शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ३ महिनाकी सुत्केरी भुसाललाई नेपाली सेनाको जहाजद्वारा उपचारका लागि राजधानी लगिएको उनका काका खिलप्रसादले जानकारी दिए। उनका अनुसार घाइते प्रतीक्षालाई लिन नेपाली सेनाका डा वसन्त रिजालको नेतृत्वमा तीन सदस्यीय चिकित्सक टोली राँझा विमानस्थल आएको थियो। शनिबार कोहलपुरको एनटिभी रोडमा नेपाली सेनाको बा २ झ ६३४१ नम्बरको गाडीले भे ४ प ७६२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनका भाइ कोहलपुर–२ निवासी किरणको घटनास्थलमै मृत्यु भएको थियो भने उनी घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
नेपालमा थप १ जनामा कोरोना, संक्रमितको संख्या ६० पुग्यो
काठमाडौंः नेपालमा थप १ जना कोरोना संक्रमण पोजिटिभ देखिएको छ । आइतबार कोरोना पोजिटिभ देखिनेमा वीरगन्ज–३ छपकैयाका पुरूष रहेका छन् । उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ। आज नयाँ संक्रमित थपिएसँगै नेपालमा ६० जनामा कोरोना भाइरस देखिएको छ। त्यसमध्ये १६ जना निको भएका छन्। निको भएकामध्ये रौतहटका १ युवालाई भने फेरि अस्पताल भर्ना गरिएको छ ।
राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको दुवै अधिवेशन आह्वान
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । आइतबार मन्त्रिपरिषद् बैठकले सिफारिस गरेलगत्तै राष्ट्रपति भण्डारीले वैशाख २६ गतेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । ‘नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम २०७७ साल वैशाख २६ गते शुक्रबारको दिन १६ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको छु,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले पत्रमा भनेका छन् । संसद अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ। सरकारले जेठ १५ गते संवैधानिक प्रावधान अनुसार बजेट ल्याउनुपर्ने हुन्छ।
भारतको पुलिस मुख्यालयमा पनि कोरोना भेटियो
काठमाडौंः दिल्लीमा रहेको सीआरपीएफ (केन्द्रीय रिजर्व पुलिस बल) को मुख्यालय सिल गरिएको छ । त्यहाँका एक वरिष्ठ अधिकारीसंग काम गर्ने एक कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि सीआरपीएफको मुख्यालय अनिश्चितकालका लागि सिल गरिएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार अर्को आदेश नआएसम्म यस भवनमा कसैले प्रवेश गर्न पाउने छ्रैनन । सीआरपीएफले संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको ट्रेसिंग प्रक्रिया शुरू गरिएको जनाएको छ ।
महोत्तरीमा अज्ञात रोगः थप १ जनाको मृत्यु, मृतकको संख्या १२ पुग्यो
महोत्तरीः महोत्तरीको २ वस्तीमा अज्ञात रोगबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । आइतबार बिहान ९ बजे भंगाहा–७ स्थित रुपनारायण सिंह दनुवारको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । उनी बिहानसम्म बिरामी नभएको र अचानक बिरामी परेर मृत्यु भएको स्थानीयले बताएका छन् । शनिबार मात्रै भंगाहा–६ का ४८ वर्षीय पलट साह र ५५ वर्षीय भारतीय नागरिक (इँटा भट्टामा काम गर्दै आएका) मोतिलाल प्रजापतिको मृत्यु भएको थियो । भंगाहा नगरपालिका–७ र बर्दिवास नगरपालिका–१२ एक आपसमा जोडिएका दुई वस्तीमा विगत १० दिनभित्र मृत्यु हुनेको संख्या १२ पुगेको हो । मृतकमा एकै खालको लक्षण देखिएको स्थानीय रामलाल मण्डलले बताए । अचानक पेट दुखेपछि बान्ता आउने र झाडापखला लाग्ने र बिरामीको मृत्यु हुने गरेको स्थानीय बताउँछन् । भंगाहा नगरपालिकाका मेयर संजिव साहले व्यक्ति आधा घन्टाभित्रै बिरामी परेर मृत्यु हुने गरेको बताए । विषाक्त मदिरा सेवन मृत्युको कारण भएको आशंकामा मृतकको भिसेरा संकलन गरी परीक्षणको लागि काठमाडौं पठाइएको छ । भिसेराको रिपोर्ट नआएसम्म के भएको हो भन्न सक्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले बताए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आएको डाक्टरहरुको टोली पनि घटनास्थल पुगेको छ । सम्पूर्ण परीक्षणको रिपोर्ट आएपछि मात्रै रोग यो हो भन्ने सकिने डाक्टरहरुले बताएका छन् ।
५ डिएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
काठमाडौंः नेपाल प्रहरीका ५ जना डिएसपीहरुको काज सरुवा भएको छ । सरुवा हुने डिएपीहरुमा नविन भण्डारी ताप्लेजुङ्ग, राजकुमार केसी र सुधीर शाही काठमाडौं परिसर, नारायण चिमौरिया खोटाङ्ग र पदम विष्ट दार्चुला रहेका छन् । ती ठाउँका डिएसपी एसपीमा बढुवा भएपछि काज सरुवा गरिएको हो । शनिबार प्रहरी प्रधान कार्यालयले ६ जिल्लाका एसपीको सरुवा गरेको थियो ।
रुपन्देहीका संक्रमित युवकको परिवारका १० सदस्यको रिपोर्ट आयो
बुटवलः रुपन्देहीका कोरोना संक्रमित युवकको परिवारका १० सदस्यको रिपोर्ट आएको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ सिपवा पुर्निहवा गाउँका कोरोना संक्रमित युवकका परिवारका १० जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा परिवारका सबै १० सदस्यको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । लकडाउनमा भारतको दिल्लीबाट वैशाख ५ गते घर आएका ती युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचार भइरहेको छ ।
संसद अधिवेशन वैशाख २६ गते बोलाउन सिफारिस
काठमाडौंः सरकारले वैशाख २६ गते संसद अधिवेशन बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपिरषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरको हो । सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्ने हुन्छ । सामाजिक दूरी कायम गरी संसदको अधिवेशन गराउन व्यवस्था मिलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार संसद भवनको बैठक चलाउन भइरहेको तयारीबारे निरीक्षण गरेका थिए ।
निको भएका रौतहटका युवकको रिपोर्ट पोजेटिभ, पुनः अस्पताल भर्ना
वीरगञ्जः वीरगञ्जस्थित नारायणी अस्पतालमा बैशाख २ गते भर्ना भई उपचार गराएर वैशाख १४ गते कोरोनामुक्त भई डिस्चार्ज भएका रौतहटका एक युवक पुनः उपचारका लागि नारायणी अस्पतालमा नै भर्ना भएका छन् । कोरोनामुक्त भएको भनी डिस्चार्ज भई घरमा बसोवास गर्दै आएका रौतहटको इशानाथ नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय बच्चा अन्सारी डिस्चार्ज भएको एक सातापछि पुनः उपचारका लागि अस्पताल भर्ना भएका हुन् । नारायणी अस्पतालको आइशोलेनशमा १२ दिनसम्म उपचार गराएका अन्सारीको पीसीआर परीक्षणको तेश्रो, चौथो र पाचौँ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले बैशाख १४ गते उनलाई डिस्जार्च गरी घर पठाएको थियो । तर पछि क्रस चेक गर्दा अन्सारीको रिपोर्ट शंकास्पद देखिएपछि पुनः अस्पतालमा ल्याएर आइशोलेनशमा राखी उपचार सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताए । अस्पताल स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा क्रस चेक गर्दा अन्सारीको रिपोर्ट पोजेटिभ देखिएको छ। त्यसपछि अस्पतालका स्वास्थ्यकर्मीले गत बुधबार उनको घरमै पुगेर स्वाब संकलन गरी पठाएको स्वाबको रिपोर्ट पनि पोजेटिभ आएपछि अन्सारीलाई शनिबार राति अस्पतालमा ल्याइएको हो । अस्पताल ल्याएपछि शनिबार राती नै पुनः उनको स्बाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको लागि पठाइएको छ ।

