कोरोना नियन्त्रण गर्न म्यादी प्रहरी परिचालन
कपिलवस्तुः जिल्लाको विजयनगर गाउँपालिकामा कोरोना भाइरस नियन्त्रणका लागि म्यादी प्रहरी परिचालन गरिएको छ ।
५० युवालाई म्यादी प्रहरीमा नियुक्त गरी परिचालन गरिएको पालिकाले जनाएको छ । सीमाको सुरक्षा तथा गाउँगाउँमा जनचेतना फैलाउन उनीहरूलाई परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताए ।
पालिकामा बन्दाबन्दीको पालना गराउन र सामाजिक दूरी कायम गर्न म्यादी प्रहरीले सहयोग गर्ने छन् । क्वारेन्टाइन सुरक्षाका लागि १२, सीमामा पैदल यात्रुको निगरानी गर्न २१, ठेक्का दिइएका नदी तथा खोलाको निगरानीका लागि ८ र गाउँटोलमा नौ जना म्यादी प्रहरी परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरी म्यादी प्रहरी परिचालन गरिएको उनको भनाइ छ । स्थानीय नागरिकलाई म्यादीमा भर्ना गरिएकाले समुदायको तल्लो तहसम्म पुगेर काम गर्न सहज हुने अध्यक्ष थापाको विश्वास छ ।
सुरक्षाका लागि जनशक्ति अभाव भएका बेला गाउँपालिकाले म्यादी प्रहरी परिचालन गरेकाले शान्तिसुरक्षा कायम गर्न सहज हुने इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले बताए ।
बालुवाटारमा ओली र प्रचण्डबीच छलफल
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार दुई अध्यक्षबीच संसदीय दलको बैठकको विषयमा छलफल भएको हो । छलफलमा ओलीले प्रचण्डलाई तत्कालीन परिस्थितिमा संसदीय दलको बैठक बस्न नसक्ने बताएका छन् । नेम्वाङले भने, ‘संसदीय दलमा अब के गर्ने भन्ने विषयमा छलफल भयो। तत्कालिन परिस्थितिमा बैठक बस्न सक्दैन भन्ने हामीले कुरा राख्यौं ।’ भेटमा स्थायी कमिटीको बैठकका विषयमा पनि छलफल भएको थियो । दुवै अध्यक्षको सहमतिमा बैठक बोलाउने सल्लाह भएको नेम्वाङले जानकारी दिए । बालुवाटारमा भएको छलफलमा नेकपाको प्रतिनिधिसभाका प्रमुख सचेतक देव गरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभा संसदीय दलका नेता दीननाथ शर्मा, पार्टी महासचिव विष्णु पौडेल लगायतका नेता सहभागी थिए।
सेनाका कर्णेलको कार ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो
काठमाडौं : नेपाली सेनाका कर्णेल सवार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। कलंकीको रविभवनमा आज विहान भएको दुर्घटनामा मोटरसाइकल चालक टीकाराज गेलालको मृत्यु भएको कलंकी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कलङ्कीबाट कालीमाटीतर्फ आइरहेको नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेल शेखर जबरा सवार बा २१ च ४३४७ नम्बरको कारमा बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुग्दा दुर्घटना भएको हो। कालीमाटीबाट तीब्र गतिमा कलंकीतर्फ गएको मोटरसाइकल चालकले सन्तुलन गुमाउँदा विपरीत लेनमा कारसँग ठोक्किन पुगेको प्रहरीको भनाइ छ। घाइते मोटरसाइकल चालकलाई उपचारका लागि कलंकीस्थित नेशनल अस्पताल पुर्याए पनि उनको उपचारको क्रममा मृत्यु भएको हो। घटनाबारे बाँकी अनुसन्धान हुँदैछ। चालक जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कृषिमन्त्री भुषाल नै प्रधानमन्त्री ओलीको विपक्षमा !
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा कृषिमन्त्री घनश्याम भुषालले पार्टी नीति र विधानअनुसार चल्नुपर्ने बताएका छन् । उनले पार्टीको विधानअनुसार अब एक व्यक्ति, एक प्रमुख जिम्मेवारीलाई कार्यान्वयन गर्नुपर्ने पनि माग गरे । बिहीबार प्राईम टाईम्स टेलिभिजनसँग कुरा गर्दै उनले भनेका छन्, ‘एक व्यक्ति, एक पद प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हकमा पनि लागू हुनुपर्छ ।’ उनले पार्टीभित्रको द्धन्द्ध हल हुनुपर्ने बताए । मन्त्री भुषालले भने, ‘हामी पार्टी फुटाउन दिँदैनौं ।’ उनले पार्टीको स्थायी कमिटी बैठक जतिसक्दो चाँडो राख्नुपर्ने धारणा राखेका छन् । उनले भने, ‘अहिले देखिएका कुरा स्थायी कमिटी बैठकमा छलफल हुनुपर्छ । सचिवालयले सकेन भने स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म जानुपर्छ ।’ सरकारले दुई विवादित अध्यादेश (हाल फिर्ता भइरहेको) जारी गरेपछि नेकपामा विवाद उत्पन्न भएको छ । पार्टीसँग छलफल नगरी विवादित अध्यादेश ल्याइएको र त्यसले पार्टीसँगै सरकारलाई बदनाम गराएको भन्दै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेता समूहले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै आइरहेका छन् । मन्त्री भुषाल वरिष्ठ नेता नेपाल समूहका हुन् । यसअघि प्रधानमन्त्री ओलीविरुद्व प्रचण्ड–नेपाल समूहका कुनै पनि मन्त्री बोलेका थिएनन् । प्रचण्ड–नेपाल समूहका २० जना स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन गर्दा भुषाल त्यसमा सहभागी थिएनन् । पार्टीमा विवाद बढ्दै जाँदा मन्त्री नै प्रधानमन्त्रीविरुद्व बोल्न बाध्य हुनुलाई कतिपयले नेकपामा गम्भीर संकट पैदा भएको रुपमा अथ्र्याएका छन् ।
बन्चरो प्रहार गरी बाबुआमाको हत्या गरे अनि प्रहरीलाई जानकारी गराए
तेह्रथुमः फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । कञ्चनले आफूले बाबुआमाको हत्या गरेको भनि १०० नं फोन गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थल प्रहरी चौकीदेखि चार किलोमिटर दुरीमा पर्छ । कञ्चनले १०० नंमा फोनसँगै प्रहरीले उसको पिछा गरिरहेको र भाग्दै गरेका अवस्थामा पोक्लाबाङ प्रहरी चौकीको टोलीले निन्त्रणयमा लिएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए । घटनास्थलमा सम्दु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल तोलाङको टोलीले सुरक्षा दिइरहेको प्रहरी निरीक्षक दाहालले बताए । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली आज त्यसतर्फ जाने र मृतकको शव परीक्षण गर्न अस्पताल लगिने प्रहरीले जनाएको छ । मृतकका सात महिनाकी छोरी छिन् । नाबालक छोरी मृतकका दाजु देवबहादुर फोम्वोसँग रहेका वडाध्यक्ष टेकबहादुर घिसिङले बताए ।
मुम्बईबाट लुकेर नेपाल पसेका थिए कपिलवस्तुका दुई संक्रमित
बुटवलः बिहीबार कोरोना संक्रमण पुष्टि भएको दुई जना १० दिन अघि मुम्बईबाट भागेर आएको पाइएको छ । बिहीबार कपिलवस्तुको मायादेवी गाउपालिका ८ अर्थात साविक बिजुवा गाउपालिकाका १६ र २२ वर्षका दुई व्यक्तिमा संक्रमण भेटिएपछि सो तथ्य बाहिर आएको हो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार उनीहरू १० दिनअघि भुम्वईवाट आएका थिए । कपिलवस्तुको नाकाबाट लुकेर भित्र पसेका थिए । स्थानीयले खबर गरेपछि स्वास्थ्यकर्मीले उनीहरुलाई क्वारेन्टाइनमा ल्याएका थिए । उनीहरू दुवैजना मायादेवी गाउपालिका पकडीस्थित तीर्थादेवि छत्रपाली माविको क्वारेण्टाइनमा बसेका थिए । संक्रमितलाई आज बुटवलको रामनगरस्थित धागो कारखानामा प्रदेश ५ सरकार र लुम्बिनी प्रादेशिक अस्पतालले चलाएको कोरोना विशेष अस्पतालमा लगिँदैछ ।
नेपालमा कोरोनाः संक्रमितको संख्या बढ्दै, परीक्षण घट्दै
काठमाडौंः देशभर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परीक्षण भने घटेको छ । आरएनए एक्स्ट्राक्सन किट अभावमा पिसिआर परीक्षण घटेको मात्र छैन, पाँच ठाउँका प्रयोगशाला ठप्प भएका छन् । कोरोना भाइरस पत्ता लगाउने प्रक्रियामा आरएनए एक्स्ट्राक्सन किट अत्यावश्यक हुन्छ । कोरोनाको जीवाणु तीनवटा लेयर (पत्र) भएको खोलभित्र बसेको हुन्छ । खोल टुक्राटुक्रा पारेर जीवाणु पत्ता लगाउने रसायन नै आरएनए एक्स्ट्राक्सन हो । राज्यको सम्पूर्ण साधन र स्रोत परिचालन गर्न सक्ने सरकारले १०६ दिनसम्म आरएनए एक्स्ट्राक्सन किट जुटाउन सकेन, जर्मनी र स्विट्जरल्यान्डबाट ३४ हजार किट आएकोले अब परीक्षणले गति लिने सरकारको भनाइ छ । तर, बिहीबारसम्म काठमाडौंको वीर अस्पताल, चितवनको भरतपुर अस्पताल, धुलिखेल अस्पताल तथा हेटौँडा र धनगढीस्थित प्रयोगशालामा आरएनए किट सकिएका छन् । सरकारले धनगढी र हेटौँडाका लागि सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत किट पठाएको थियो । उनीहरूले पटक–पटक संघीय सरकारसँग किट माग गरेका छन्, तर पाउन सकेका छैनन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा एक सय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक सय ५०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय, नारायणी अस्पतालमा दुई सय र कोसी अस्पताल विराटनगरमा ५० किट आरएनए बाँकी छ । त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पनि दुई दिन पुग्ने किट बाँकी रहेको जनाएको छ । किट अभावका कारण पिसिआर परीक्षण पनि घटेको छ । दैनिक एक हजारदेखि १५ सयसम्म हुँदै आएको पिसिआर परीक्षण हाल दुई सयको हाराहारीमा झरेको छ । बिहीबार भने चार सय १५ नमुना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।
के नेकपा विभाजनउन्मुख छ ?
काठमाडौंः नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र गहिरिदो शक्तिसंघर्ष उत्कर्र्षमा पुगेको संकेत गरेका छन् । स्थायी कमिटी अनिश्चतकालका लागि स्थगित भएको भोलिपल्ट बिहीबार लगातार तीन ट्वीटमार्फत् पार्टी प्रवक्ता श्रेष्ठले नेकपाभित्रको अन्तरविरोध कहाँ पुगेको रहेछ भन्ने सन्देश दिएका छन् । ‘गणेशमानजी र किसुनजीले नेका एक राख्न पार्टी परित्यागसम्म गर्नुभयो । त्यो कदम ठीक थियो कि थिएन, बहस होला । तर, पार्टी बचाउन गरिएको त्यागको उत्कर्ष हो त्यो। हामी पनि हाम्रो पार्टीलाई बचाउन जे गर्न पनि तयार हुनुपर्छ। तर, पार्टीलाई फुटबाट मात्र होइन, बिसर्जनको खतराबाट पनि जोगाउनु पर्छ।’उनले पहिलो ट्विटमा भने । यससँगै उनको अर्को ट्विट पनि आयो, ‘अतः नेपाली जनताको भरोसाको प्यारो पार्टी नेकपालाई फुट र बिसर्जनको खतराबाट बचाऔं, एकता र रुपान्तरणको पक्षमा उभिऔं। आ–आफ्नो ठाँउबाट भूमिका खेलौं, योगदान गरौं । पार्टी एकता र देश तथा जनताको पक्षमा सरकारको सफलता हाम्रो आजको केन्द्रीय कार्यभार हुन् । नीजि स्वार्थ त्यागौं, यो काम पूरा गरौं।’ यसबाहेक उनको अर्को ट्वीटमा भनिएको छ, ‘समाजवाद सत्ताप्राप्ति वा सत्तासञ्चालनमा सिमित अवधारणा होइन। यो त शोषित–श्रमजीवी वर्ग र अन्ततः सिंगै मानवजातिको मुक्तिको परियोजना हो । सत्ता उक्त उद्देश्यका निम्ति साधन र जिम्मेवारी हो । यो सत्यलाई आत्मसात नगर्ने हो भने हामी मौका नपाएर बेईमान नभएका तुच्छ अवसरवादीमा परिणत हुनेछौं । के हुने?’ बुधबार बसेको सचविालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीका एजेन्डामा सरकारको समीक्षा र संगठनात्मक बाँडफाँटको विषय नपारेपछि बिहीबारका लागि बोलाइएको सचिवालय बैठक स्थगित छ । यसपछि नेकपाभित्रको विवद नयाँ तरिकाले मुखरित भएको छ । यसअघि बैशाख २० को सचिवालयको निर्णय कार्यन्वयनमा आलाटल भएको भन्दै प्रवक्ता श्रेष्ठले मंगलबार पनि यस्तै अर्थपूर्ण दुई ट्वीट गरेका थिए । मंगलबार बिहान उनको ट्वीट थियो, ‘अस्तिको सचिवालयको निष्कर्षबाट बिचलनले पार्टीमा पुनःसंकट ल्याउनेछ । अतस्अन्यथा हुनै सक्दैन, गर्नै मिल्दैन । पार्टी एकताको रक्षा, विधिपद्दतिको पालना, पार्टीद्वारा सरकार सञ्चालन, सरकारबाट समाजवादउन्मूख समृध्दिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने सँकल्प–यो हो निश्कर्ष।’ जबकि त्यसैदिन राति उनले अर्को ट्वीटमा लेखेका थिए, ‘हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरीहरुलाई सच्च्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछि हिजोदेखि फेरि झुटा भ्रमात्मक समाचारहरु प्रचारित हुन थालेका छन् । पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ? सचेत होऔं । २०गतेको सचिवालय बैठकको निष्कर्ष लागू गरौं । अन्यथा नगरौं ।’ दुई अध्यादेश प्रकरणसँगै सुरु भएको नेकपाको विवाद १३ औं दिनका दिन पार्टी एकता सुदृद्ढ गरेर जाने सचिवालयको निर्णयसँग साम्य भएको थियो । तर, बैशाख २० को सचिवालय निर्णय कार्यन्वयनलाई लिएर पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच मतभेद भएपछि नेकपा जटिल विवादतर्फ प्रवेश गरेको हो । विवादकै कारण बुधबार बसेको सचिवालय बैठकले बिहीबार बस्ने भनिएको स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न नसकेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कान्तिपुर दैनिकबाट साभार
यी हुन् आजदेखि खोल्न मिल्ने र नमिल्ने क्षेत्र (सूचीसहित)
काठमाडौंः सरकारले आजदेखि ४४ प्रकारका उद्योगलाई सञ्चालन गर्न दिने भएको छ । सो क्रममा उद्योगीले केही प्रक्रिया पुर्याउनुपर्ने छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खोल्न मिल्ने र नमिल्ने क्षेत्र तोकेको थियो । ती यसप्रकरण छन् । लकडाउनका बेला संचालन गर्न पाइने उद्योग व्यवसायको सूची (क) कृषि तथा पशुपन्छीजन्य सम्बन्धीः १ खाद्यवस्तु र अन्य बाली लगाउने तथा पाकेको बाली भित्र्याउने कार्य। २ पशुपन्छी पालन, माछा पालन, कुखुरा पालन तथा विक्री वितरण। ३ फलफूल, तरकारी, दूध र दुग्धजन्य पदार्थको उत्पादन, सङ्कलन, भण्डारण र विक्री वितरण। ४ नर्सरीबाट विरुवाको उत्पादन, घाँस तथा दाना उत्पादन र विक्री वितरण। ५ कृषि बिउ–बिजन उत्पादन, भण्डारण र विक्री वितरण । ६ शीत भण्डारण । (ख) स्वास्थ्य सेवासम्बन्धी १ सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरू, अस्पताल, नर्सिङ्ग होम, पोलिक्लिनिक, ल्याब, डाइग्नोष्टिक सेन्टरहरूको सञ्चालन । सबै प्रकारका खोप लगायतका अत्यावश्यक सेवाहरूको सञ्चालन। २ औषधी तथा स्वास्थ्य सामग्री र मेडिकल अक्सिजनको उत्पादन तथा विक्री वितरण। ३ औषधी पसलहरू (आयुर्वेद, होमियोप्याथिक समेत) को सञ्चालन। ४ एग्रोभेट र भेटेरिनरी औषधी पसलहरूको सञ्चालन र तत् सम्बन्धी सेवा। (ग) जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक विक्रीको अनुमति लिएका पुस्तक पसल। (घ) ढुवानी सेवासम्बन्धी ढुवानी सेवाका साधनहरूलाई निसंक्रमित गरी निसंक्रमण गर्ने निकायले जारी गरेको निस्सा साथमा राखी चालक तथा परिचालकको स्वास्थ्य जाँच सम्बन्धित भन्सार विन्दु र उद्योग प्रतिष्ठानहरूमा गर्ने व्यवस्था मिलाई देहायका ढुवानीका साधनहरू गन्तव्य स्थलसम्म आवतजावत गर्न दिने १ प्रकरण (४) को खण्ड (क) र (ख) मा उल्लिखित सवै प्रकारका वस्तु तथा सेवामा प्रयोग हुने ढुवानीका साधनहरू। २ भन्सारबाट जाँचपास भई आएका, उद्योग प्रतिष्ठानबाट लोड लिई मालसामान बोकेका र मालसामान गन्तव्यमा र्पुयाई फर्किने ढुवानीका साधनहरू। ३ पानी, ग्याँस, पेट्रोलियम पदार्थ बोकेका ढुवानीका साधनहरू। ४ औद्योगिक कच्चा पदार्थहरू र तयारी मालवस्तु बोकेका ढुवानीका साधनहरू। ५ विकास आयोजनामा प्रयोग हुने उपकरणहरू लानेरल्याउने कार्य र निर्माण सामग्रीहरू बोकेका ढुवानीका साधनहरू। ६ कृषि सामग्री, रासायनिक एवं प्राङ्गारिक मल बोकेका ढुवानीका साधनहरू। ७ एम्बुलेन्स सेवा । ८ विद्यालयका पाठ्यपुस्तकको ढुवानी गर्ने प्रयोजनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट अनुमति लिएका ढुवानीका साधनहरू । ९ काठमाडौं उपत्यकामा प्रवेश गर्ने मालबाहक सवारी साधनमा यात्रुहरू राख्न नपाइने, प्रवेश विन्दुमा त्यस्ता सवारी साधनका सवारीचालक र सहयोगीको नाम, जन्ममिति, काठमाडौं प्रवेश गरेको र फर्केको मितिसहितको विवरण राख्ने र सवारी साधन फर्की जाँदा सोही विवरणबमोजिमको व्यक्ति भए नभएको जाँच गर्ने । झुट्टा विवरण दिई यात्रा गरेको पाइएमा सवारी साधन नियन्त्रणमा लिई कारबाही गर्ने। १० एम्बुलेन्स दुरुपयोग गर्नेलाई कारबाही गर्ने । ११ अत्यावश्यक कामका लागि दिइने सवारी साधनको पास न्यूनतम सङ्ख्यामा जारी गर्ने। (ङ) विकास आयोजनासम्बन्धीः १ राष्ट्रिय गौरवका आयोजनाहरू, सरकारी तथा निजीस्तरबाट सञ्चालित जलविद्युत आयोजना, सिँचाइ आयोजना, खानेपानी आयोजना, विमानस्थल, सडक तथा पुल, सरकारी भवन निर्माण तथा प्रबलीकरण र एक स्थानमा एकपटकमा अधिकतम १० ९दश० जनामा नबढ्ने गरी सञ्चालन गरिने अन्य सहरी पूर्वाधार विकास निर्माणका कामहरू। २ प्रकरण १ का आयोजनाहरूमा काम गर्ने श्रमिकहरूलाई सम्बन्धित आयोजनाले दैनिक रूपमा अनिवार्य स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाई एकै स्थानमा आवासको व्यवस्था गर्ने। श्रमिकहरूलाई कार्यस्थलमै खानारखाजाको व्यवस्था मिलाउने। स्थान अभाव भएमा स्थानीय निकायको समन्वयमा सम्बन्धित वडाभित्रका सार्वजनिक सामुदायिक भवन वा सरकारी तथा नीजि विद्यालय वा खाली स्थानमा स्थानीय व्यक्तिहरूसँग सम्पर्क नहुने गरी सुरक्षित आवासको व्यवस्था गर्ने। यससम्बन्धी खर्च सम्बन्धित निर्माण व्यवसायीले व्यहोर्ने। ३ ढुङ्गा गिट्टी, बालुवालगायत निर्माण सामग्रीहरूको उत्पादन, सङ्कलन र ढुवानीसम्बन्धी कार्य। ४ सिमेन्ट उद्योगका लागि खानी सञ्चालनलगायत आवश्यक चुनढुङ्गा, कोइला, क्लिङ्करको उत्पादन, सङ्कलन र ढुवानीसम्बन्धी कार्य । ५ नदी नियन्त्रणका कार्यहरू । ६ आवास स्थलदेखि निर्माण स्थलसम्म श्रमिकहरूलाई सुरक्षित आवतजावत गर्न स्वास्थ्य मापदण्ड पालना गरी निर्माण व्यवसायीले परिवहनको व्यवस्था मिलाउने। (च) सार्वजनिक सेवासम्बन्धीः १ बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने। २ अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूमा अति आवश्यक पर्ने न्यूनतम कर्मचारीहरूलाई आलोपालो मिलाई तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको अनुशरण गरी कार्यालय सञ्चालन गर्ने । ३ अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालयका लागि सम्बन्धित मन्त्रालयको सचिव र अन्य निकायहरूको लागि सम्बन्धित निकायको प्रमुखको सिफारिसमा नियामक निकायले त्यस्ता कार्यालयमा रहेको कुल सवारी साधनहरूमध्ये एक चौथाई सख्यामा नबढ्ने गरी सवारी पास उपलब्ध गराउने। ४ प्रकरण ९३० मा तोकिएको बाहेक उपत्यका बाहिरको हकमा सम्बन्धित कार्यालय प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले सावधानीपूर्वक सकेसम्म न्यूनतम सवारी साधन सञ्चालन हुने नीति लिई सवारी पास उपलब्ध गराउने। (छ) औद्योगिक उत्पादनसम्बन्धीः यस अवधिभर उत्पादन प्रक्रियामा संलग्न श्रमिक कामदारलाई उद्योग प्रतिष्ठानले छुट्टै स्थानमा राख्ने बन्दोबस्त मिलाई काममा लगाउने। आफ्नो प्रतिष्ठानभित्र पर्याप्त स्थान नभएमा उक्त प्रतिष्ठान रहेको स्थानीय निकायको समन्वयमा सम्बन्धित वडाभित्रका सार्वजनिक सामुदायिक भवन वा सरकारी तथा नीजि विद्यालय वा खाली स्थानमा स्थानीय व्यक्तिहरूसँग सम्पर्क नहुने गरी सुरक्षित आवास तथा खानारखाजाको व्यवस्था गर्ने। यससम्बन्धी खर्च सम्बन्धित उद्योग प्रतिष्ठानले व्यहोर्ने। आवासस्थलदेखि उद्योग प्रतिष्ठान रहेको स्थानसम्म श्रमिकहरूलाई स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित परिवहनको व्यवस्था मिलाउने। उद्योगहरूले कार्यस्थललाई अनिवार्य रूपमा स्यानिटाइजेसन गर्ने र नियमित स्वास्थ्य जाँच तथा स्वास्थ्य सुरक्षाको सुनिश्चितता गरी देहायका उद्योग व्यवसायहरू सञ्चालन गर्ने व्यवस्था मिलाउनेः १ चामल, दाल, तेल, चिउरा, चिनी, विस्कुट, पाउरोटी, पिठो, चाउचाउजस्ता दैनिक उपभोग्य खाद्यवस्तु, पानी प्रशोधन, औषधि, स्वास्थ्य सामग्री, साबुन उत्पादन र सोको प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योगहरू। २ ग्यास बोटलिङ्ग, घरेलु तथा साना उद्योगहरू, निर्यातजन्य र विशेष आर्थिक क्षेत्रमा सञ्चालित उद्योगहरू र सिमेन्ट, डण्डीजस्ता निर्माणजन्य उद्योगहरू। ३ बढीमा ५ जनासम्म कामदार रहने गरी सवारी साधनहरूको मर्मत गर्ने वर्कशप, इन्टरनेट जडान र मर्मत, प्लम्बिङ् तथा इलेक्ट्रिकल सेवा र पेट्रोल पम्प सञ्चालन । (ज) राजमार्गका होटल तथा रेष्टुरेन्टसम्बन्धीः राजमार्ग तथा सहायक राजमार्गका कम्तिमा ५० ९पचास० किलोमिटर दूरीको अन्तरमा सम्बन्धित स्थानीय तहले तोकेका स्थानमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत गरेको मापदण्ड अवलम्बन गरी खानाको प्याकेट मात्र विक्री गर्ने गरी होटेल, रेष्टुरेण्ट सञ्चालन गर्ने व्यवस्था स्थानीय प्रशासनले मिलाउने। राजमार्ग र सहायक राजमार्गमा सञ्चालन हुने सवारी साधनहरू उपर्युक्तबमोजिम निर्धा्रित समय र स्थानमा मात्र रोक्ने व्यवस्था गर्ने । (झ) व्यवस्थापकीय कार्यसम्बन्धीः सम्बन्धित रोजगारदाता, स्थानीय तह, सेवा प्रदायक, स्थानीय प्रशासनले आवागमन सहजीकरण गर्ने, सामाजिक दूरी कायम गराउने, अनिवार्य रूपमा मास्क प्रयोग गर्ने, तापक्रम मापन गर्ने, स्यानिटाइजर र ग्लोब्सहरूको प्रयोग गर्ने, विद्युतीय माध्यमबाट भुक्तानी गर्ने । नगद कारोबार गर्दा खुद्रा पैसाको लेनदेन कम हुने गरी गर्ने। एक ठाउँमा पाँचजना भन्दा बढी व्यक्ति जम्मा नहुने व्यवस्था मिलाउने। (ञ) प्रतिनिधि सभा, राष्ट्रिय सभा र संसदीय समितिको बैठकहरू स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने। छ। माथि प्रकरण ४ मा जुनसुकै कुरा लेखिएको भए तापनि अर्को आदेश वा सूचना जारी नभएसम्म देहायका स्थान, स्थलहरू बन्द रहनेछन् र देहायका क्रियाकलापहरू सञ्चालन गर्न पाइने छैन ( विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायत सवै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्रहरू। ( गैरखाद्य वस्तु विक्री गर्ने व्यावसायिक मल, सिनेमा हल, पार्टी प्यालेस, फनपार्कलगायतका सार्वजनिक स्थलहरू । ( सार्वजनिक जमघट, धार्मिक स्थलहरू (मन्दिर, गुम्बा, मस्जिद, चर्च, गुरुद्वारा आदि) मा हुने भेला एवं धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू। (घ) रङ्गशाला, खेलकुद स्थल, फुटसल, शारीरिक सुगठन गर्ने स्थल तथा जिमखाना, फिटनेस सेन्टर, सैलुन, व्युटीपार्लरहरू । (ङ) होटल, वार, रेष्टुरेण्टहरू। (च) स्थानीय प्रशासनबाट सवारी पास पाएकाबाहेक सवै प्रकारका यात्रुबाहक सवारी साधनहरू। (छ) १२ वर्ष मुनिका बालबालिका, अशक्त भएका व्यक्ति, विरामी, ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिक र गर्भवती महिलाहरूको आवतजावत तथा हिँडडुलका गतिविधिहरू। (ज) आन्तरिक तथा अन्तर्रा्ष्ट्रिय व्यवसायिक यात्रुबाहक हवाई उडान। (झ) केवलकार सेवा र रेलवे सेवा। नेपाल राज्यको कुनै भू भागमा संक्रमणको जोखिम देखिएमा वा समुदायस्तरमा उक्त संक्रमण विस्तार भएको पाइएमा उक्त क्षेत्र वा जिल्लाभर माथि प्रकरण ४ मा उल्लिखित क्रियाकलापहरू निश्चित अवधीसम्मका लागि स्थानीय प्रशासनले तत्कालै सञ्चालनमा रोक लगाउन सक्नेछ ।
आज पनि देशभर वर्षाको सम्भावना
काठमाडौंः देशका मध्य र पूर्वका पहाडी भूभागमा शुक्रबारको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरूमा साथै तराईका केही स्थानमा मेघगर्जन, तथा चट्याङ्सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । शुक्रबार राति पनि देशका पूर्वी भूभाग लगायत मध्य र पश्विमका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने तथा मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ् तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । आगामी तीन दिनको मौसम पूर्वानुमान: बैशाख २६ गते (शुक्रबार) दिउँसोः देशको पूर्वी भू-भागमा सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ ।देशका पूर्वी भू-भागका थोरै स्थानहरूमा साथै मध्य र पश्चिमका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशको पूर्वी भु-भागमा सामान्य बदली अनि मध्य र पश्चिमका पहाडी भू-भागमा आंशिक बदली भई बाँकि भू-भागमा सामान्यतया सफा रहनेछ। पुर्वी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। बैशाख २७ गते (शनिबार) दिउँसोः देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदलि रहनेछ। देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराइका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशका मध्य र पुर्वका भू-भागमा सामान्य बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। बैशाख २८ गते (आइतबार) दिउँसोः देशभर सामान्य बदली रहनेछ।पश्चिमि भू-भागका केहि स्थानहरुमा अनि मध्य र पुर्वका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशभर सामान्य बदली रहनेछ। मध्यका केहि स्थानकरुमा अनि पुर्व र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श देशको पुर्वी भू-भागका थोरै र पश्चिमका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
नेपालमा कोरोना संक्रमितको संख्या सय नाघ्यो (सूचीसहित)
काठमाडौंः नेपालमा कोरोना संक्रमितको संख्या एक सय नाघेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका दुईजनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या एक सय एक पुगेको छ । संक्रमित एक सय एक मध्ये २२ जना निको भइसकेका छन् । कोरोना संक्रमित (सूचीसहित): (१००–१०१) १६ र २२ वर्षका दुई पुरुष, बैशाख २५ गते, कपिलवस्तु (८३-९९) २ महिना को शिशु देखि ६६ बर्षका, १० पुरुष, ७ महिला, १७ जना, बैशाख २४, पर्सा (७६-८२) २२, ३०, ४० बर्षका ३ पुरुष, ९, ३२, ३४, ५५ बर्षका ४ महिला, ७ जना, बैशाख २३, बाँके (७०-७५) १६, २१, ३४ बर्षका ३ पुरुष, ४०, ५५, ६० बर्षका ३ महिला, ६ जना, बैशाख २१, बाँके (६१-६९) ७ देखि ५८ बर्षका ५ जना पुरुष र ४ जना महिला, ९ जना, बैशाख २१, बाँके (६०) ३६ बर्षका पुरुष, बैशाख २१, पर्सा (५९) ६० बर्षका पुरुष, बैशाख २०, बाँके (५८) २५ बर्षका पुरुष, बैशाख २०, रुपन्देही (५७) ४६ बर्षका पुरुष, बैशाख १७, पर्सा (५५-५६) ४३ र ४१ बर्षका २ जना पुरुष, बैशाख १७, बारा (५३-५४) २४ र ३५ बर्षका २ जना पुरुष, बैशाख १६, रौतहट (५२) ५० बर्षका पुरुष, बैशाख १४, झापा (५०-५१) ५० बर्षका २ जना पुरुष, बैशाख १४, पर्सा (४९) ६२ बर्षका पुरुष, बैशाख १२, झापा (४८) २६ बर्षका पुरुष, साउदी अरब बाट, बैशाख ११, भोजपुर ४७) १४ बर्षका बलाक (पुरुष) बैशाख ११, धनुषा (४६) ५५ बर्षकी महिला, बैशाख ११,उदयपुर (४४- ४५) ६० र ७२ बर्षका २ जना पुरुष, बैशाख १०, उदयपुर (४३) २४ बर्षका भारतीय पुरुष, बैशाख १०, उदयपुर (३२- ४२) १८,१८, २०, ३३, ४९, ४१, ४१, ५२ र ५८ बर्षका पुरुष, ३६ बर्षकी महिला, र १ जना उमेर नखुलेको महिला, ११ जना, बैशाख ९, उदयपुर (३१) ६५ बर्षका पुरुष, बैशाख ६, उदयपुर (२९, ३०) २७* र ६३ बर्षका पुरुष, २ जना बेलायत बाट, बैशाख ५, चितवन (१७- २८) ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका १२ जना भारतीय पुरुष भारत बाट, बैशाख ५, उदयपुर (१५, १६) ५८ बर्षका पुरुष* र ८१ बर्षकी महिला*, २ जना बेलायत बाट, बैशाख २, काठमाडौ (१४) १९ बर्षका पुरुष* भारत बाट, बैशाख १, रौतहट (१३) ६५ बर्षकी महिला, बैशाख १, कैलाली (१०,११,१२) ३७, ४४ र ५५ बर्षका ३* जना भारतीय पुरुष, भारत बाट, चैत ३०, पर्सा (९) ३४ बर्षकी महिला*, चैत २२, कैलाली (८) ४१ बर्षका पुरुष* भारत बाट, चैत २२, कञ्चनपुर (७) २१ बर्षका पुरुष* भारत बाट, चैत २२, कैलाली (६) ६५ बर्षकी महिला* दुबई बाट, चैत २०, बागलुङ (५) १९ बर्षकी महिला* बेल्जियम बाट, चैत १५, बागलुङ (४) ३४ बर्षका पुरूष* दुबई बाट, चैत १४, कैलाली (३) ३२ वर्षका पुरुष* दुबई बाट, चैत १२, काठमाडौ (२) १९ वर्षकी महिला* फ्रान्स बाट, चैत १०, काठमाडौ (१) ३२ वर्षका पुरुष* चीनबाट, काठमाडौ
नेपालमा थप दुईजनामा कोरोना देखियो
काठमाडौंः कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय एक पुगेको छ । तीमध्ये २२ जना निको भइसकेका छन् ।
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय (सूचीसहित)
काठमाडौंः सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबारको बैठकले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो । त्यस्तै, जेठ १८ गतेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र सीमा बन्द गर्ने निर्णय गरिएको थियो । लकडाउनका बेला संचालन गर्न मिल्ने र नमिल्ने उद्योग, व्यवसायबारे मन्त्रिपरिषदले गरेको निर्णयका सूची समेत सार्वजनिक भएको छ ।
बर्दियामा बाघको आक्रमणबाट जनप्रतिनिधि घाइते
गुलरिया: बाघको आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिका–४ का वडा सदस्य ६५ वर्षीय मायाराम खनाल गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो करिब ३ बजे बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा भैँसी चराउँदै गर्दा खरमा लुकेर बसेको पाटेबाघले एक्कासी आक्रमण गरी उनलाई घाइते बनाएको हो । आक्रमणबाट उनको घाँटी, ढाड र छातीमा चोट लागेको स्थानीयवासी दिलबहादुर बिसीले बताए । खनाललाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा पुर्याइएको छ । साङ्केतिक तस्बीर
नेपालगञ्जका संक्रमितको सम्पर्कमा रहेका ५४ जनाको रिपोर्ट आयो
नेपालगन्जः बाँकेमा आज थप ४८ जनाको स्वाबको नमुना संकलन गरिएको छ । नेपालगन्जमा कोरोना संक्रमितहरुको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गर्दै स्वाब लिने क्रम चलिरहेको छ । आज बाँकेको खजुरा गाउँपालिकाको वडा नम्बर ७ सोनपुरबाट १७ जना, नेपालगञ्जको विपी चोक आसपासबाट ३० र खजुरा क्यान्सर अस्पतालबाट १ गरी ४८ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । यसअघि पहिलो संक्रमित ब्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरेर ९४ जनाको स्वाब लिइएकोमा एउटै टोलका २२ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि ती २२ जनाको सम्पर्कमा आएकाहरुको खोजी गर्दै स्वाब लिन थालिएको छ । मंगलबार संकलित सबै ५४ स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । हिजो संकलित १ सय ३६ स्वाबको रिपोर्ट पनि आउन बाँकी नै छ । संकलित सबै स्वाबको परिक्षण भेरी अस्पताल नेपालगञ्जमा भइरहेको छ ।
नेपालमा रोकिएका ३४६ नागरिक बोकेर फर्किए चिनियाँ जहाज
काठमाडौंः चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन् । चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन् । एयर चाइनाले १६२ र चाइना साउदर्नले १८४ यात्रु बोकेर गन्तव्यतर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । नेपालमा लकडाउनका कारण रोकिएका चिनियाँ नागरिकलाई काठमाडौंस्थित चिनियाँ दूतावासको पहलमा ती नागरिक स्वदेश फर्किएका हुन् ।

