अमेरिकन आइडलको फाइनलमा नेपाली युवक दिवेश

काठमाडौंः नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् ।

आर्थर गनले चिनिले २२ वर्षीय दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिँदै आएको छ ।

टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ । दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् ।

फाइनल राउण्ड पनि शुरू भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् । कोभिड–१९ का कारण हरेक प्रतियोगीलाई घरबाटै गाउने व्यवस्था मिलाइएको छ ।

साथै एक घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।

काठमाडौंको रविभवनमा जन्मेका दिवेश उच्च अध्ययनका सिलसिलामा सन् २०१४ मा अमेरिका गएका हुन् । उनी क्याम्सस राज्यको विचिटामा आफ्नो परिवारसँग बस्दै आएका छन् ।

काठमाडौंको न्युरोडमा आगलागी

काठमाडौंः काठमाडौंको न्युरोडमा आगलागी भएको छ । आइतबार दिउँसो न्युरोडको प्युखास्थिति एक पाँच तले घरमा आगलागी भएको प्रहरीले जनाएको छ । घरबाहिर बिजुलीको तार सर्ट भएर शुरू भएको आगलागीले विभिन्न पसलका सामान जलेका छन् । काठमाडौं महानगरपालिका, जुद्ध वारुण यन्त्रले आगो नियन्त्रणमा लिएका थिए ।

भारतमा फेरि चौथो पटक थपियो लकडाउन, मे ३१ तारिखसम्म सबै ठप्प

नयाँ दिल्लीः भारतमा कोरोना संक्रमणले विकराल रुप लिँदै गएपछि चौथो पटक लकडाउन अवधि थपिएको छ । भारतको राष्ट्रिय प्रकोप प्रबन्धन प्राधिकरणले केन्द्र र राज्य सरकारलाई आगामी मे ३१ तारिख (जेठ १८) सम्म लकडाउन जारी राख्न निर्देशन दिएको हो । लकडाउन सम्बन्धी विस्तृत जानकारी भने आउन बाँकी छ । यसअघि तेश्रो चरणको लकडाउनमा कतिपय क्षेत्रमा खुकुलो गरिएको थियो । भारत सरकारले ऐतिहासिक राहत प्याकेज घोषणा गरेको तेश्रो दिन लकडाउन लम्ब्याउने निर्णय भएको हो । भारतमा संक्रमितको संख्या ९२ हजार भन्दा बढी पुगेको छ । यस्तो थियो भारतमा लकडाउन पहिलोपटक भारतमा २५ मार्चदेखि १४, अप्रिलसम्म २१ दिनको लकडाउन घोषणा गरिएको थियो । यो अवधिमा अत्याआवश्यक सामानका पसल खोल्न मात्र अनुमति दिइएको थियो । दोश्रो चरणको लकडाउन १५ अप्रिलदेखि ३ मे सम्म जारी गरिएको थियो । यो अवधिमा रेड जोन बाहिर ओरेन्ज र ग्रीन जोनमा पसल खोल्ने अनुमति दिइयो । तेश्रो चरण ४ मईदेखि १७ मईसम्म बढाइयो । यो अवधिमा प्रवासी मजदूरका लागि रेल र बस सञ्चालन गरियो । विदेशका भारतीयहरुलाई समेत देशमा फर्काइयो । यो तथ्यांक साँझ ७ बजेसम्मको हो । यसमा कतिपय राज्यको तथ्यांक अझै अपडेट हुन सकेको छैन । श्रोतः कोभिड१९इण्डिया

बझाङमा जडिबुटी प्रशोधनको भवनमा बंगुरपालन !

बझाङः बझाङमा गाउँपालिकाको बजेटमा बनेको जडिबुटी प्रशोधन केन्द्रको भवनमा बंगुरपालन गरिएको पाइएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-७ बडुखोरीका स्थानीय तथा नेकपा कार्यकर्ता गोरख धामीले गाउँपालिकाले बनाएको भवनमा बंगुरपालन गरिएको पाइएको हो । उनी २०७४ मा भएको स्थानीय तहकाे निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा पराजय भएका व्यक्ति पनि हुन् । आर्थिक वर्ष २०७४/०७५ मा पालिकाबाट सो भवन निर्माणका लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । अहिले सो भवन निजी प्रयोजनमा प्रयोगमा आएको पाइएपछि स्थानीयले चर्को विरोध पनि गरिरहेका छन् । ‘गाउँपालिकाबाट आएको बजेटमा बनेको भवन हो । तर, गोरख जीले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्नु भएको छ’ नाम नखुलाउने सर्तमा एक स्थानीयले भने, ‘अहिले त्यो भवनमा उहाँले बंगुरपालन गर्नु भएको छ । धेरै बोल्यो भने नराम्रो सोच्छन्, धेरै पीडा छन् हजुर यहाँ ।’ के भन्छन् भवनमा बंगुरपालन गरिरहेका गोरख ? उनले जडिबुटी प्रशोधनका लागि बनाइएको भवनमा बंगुरपालन गरेको स्वीकार गरेका छन् । तर, अहिले भने भवनमा बंगुर नरहेको धामीले बताए । ‘पहिले पालेकै हुँ किन ढाँट्नु तर अहिले माथि आफ्नै घरमा लिएको छु’, ‘मैले यहाँको विकासका लागि थुप्रै पहल गरेको छुँ । यो प्रशोधन भवन बनेको पनि मेरै सक्रियतामा हो । सरकारी बजेटमा बनेको भवन निजी प्रयोजनमा ल्याउन गलत हो । मबाट पनि केही गल्ती भए होलान् आगामी दिनमा दोहोरिने छैनन् ।’ उनले बंगुरपालन गरेको भनेर भ्रम धेरै यर्थाथ कम कुरा कम फैलिएको बताए । ‘मैले विविध कारणले केही दिन मात्र त्यो भवनमा बंगुर राखेको हुँ’, धामीले भने, ‘मेरो काममा सबै सन्तुष्ट नहुन पनि सक्छन् । उनीहरूले सत्यभन्दा भ्रम बढी फैलाए होलान् ।’ एभरेष्ट दैनिकसँग टेलिफोनमा कुरा गर्दै आफू वडाध्यक्षमा पराजित भए पनि गाउँको विकासका लागि थुप्रै काम गरेको दाबी गर्न भ्याए । उनले भने, ‘म यहाँको विकासका लागि अहोरात्र खटिरहेको छु । वडाध्यक्षमा पराजित भए पनि गाउँको विकास पूर्वाधार, पर्यटन प्रचारप्रसारका लागि निरन्तर होमिएको छु ।’ वडाध्यक्ष भन्छन्, ‘अनुगमन गर्दा ठीकै थियो’ यता वडाध्यक्ष पदम मण्डेलले गाउँपालिकाको बजेमटा बनेको भवन व्यक्तिगत प्रयोजन गर्न नमिल्ने बताएका छन् । उनले आफूले अनुगमन गर्दा दुरुपयोग नभएको पाइएको बताए । ‘एकपटक हामी अनुगमन गर्न गएका थियाैँ, सबै ठीक थियो’, उनले भने, ‘अहिले जडिबुटी प्रशोधन केन्द्र भवनको दुरुपयोग भएको खबर आएको छ । यदि त्यसो हो भने थप अनुगमन गरेर प्रक्रियामा जान्छौँ ।’ नाई मलाई थाहा छैनः गाउँपालिका उपाध्यक्ष गाउँपालिका कार्यालयले भवन दुरुपयोग भएकोबारे केही जानकारी नभएको बताएको छ । गाउँपालिका उपाध्यक्ष राधिका रतालाले आफूलाई त्यो भवनबारे केही पनि जानकारी नभएको प्रतिक्रिया दिइन् । ‘मलाई यसबारे केही पनि जानकारी छैन्, जानकारीबिना के बोलौँ?’, उनले भनिन्, ‘हामी केही दिनभित्र त्यो भवनको अनुमगन गर्दैछौँ । अनि सबै कुरा बताउला ।’ उपाध्यक्ष रतालाले यही जेठ १५ भित्र भवन निर्माण स्थलको अनगुमन गरेर विस्तृत जानकारी लिने बताइन् । उनले भनिन्, ‘१/२ जना पत्रकारका भाइहरूलाई पनि त्यहाँको अनुगमनका लागि आग्रह गरेकी छु । डेढ हप्ताभित्र हामी त्यो क्षेत्रकै अनुगमन गर्छौँ ।’

यी हुन उच्चस्तरीय समन्वय समितिले गरेका निर्णय (सूचीसहित)

काठमाडौंः कोराना भाइरस सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । यसबारे आजै बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ । समितिमा रहेका एक मन्त्रीले भने, ‘सम्भवत १५ गतेसम्म लकडाउन थप हुनसक्छ ।’ सरकारले यसअघि जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो । तर पछिल्लो समय कोरोना संक्रमण फैलिदै गएको र कोरोना संक्रमणको कारण मृत्यु नै पुष्टि भएपछि सरकार लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो । साथै उच्चस्तरीय समन्वय समितिले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । उच्चस्तरीय समितिमा सचिवस्तरीय कार्यदलले हरेक दिन स्थलमार्ग अर्थात भारतबाट तीन हजार र हवाई मार्गबाट तीन हजार ल्याउने प्रस्ताव पेश गरेको छ । यसरी उद्दार गरेर ल्याइनेहरुलाई केहीदिन क्वारेन्टाइनमा राख्नपुर्ने समितिको निष्कर्ष छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले सुरक्षा व्यवस्थालाई प्रभावकारी गर्ने, आपूर्ति व्यवस्थालाई सहज गर्दै दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति गर्ने निर्णय पनि गरेको जानकारी दिए । क्वारेन्टाइनलाई अझै व्वयस्थित बनाउन स्थानीय पालिकाहरुलाई सहयोग गर्ने समेत निर्णय भएको उनले बताए ।

लकडाउन थप्न उच्चस्तरीय समन्वय समितिकाे सिफारिस

काठमाडौंः कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । यसबारे आजै बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ । समितिमा रहेका एक मन्त्रीले भने, ‘सम्भवत १५ गतेसम्म लकडाउन थप हुनसक्छ ।’ सरकारले यसअघि जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो । तर पछिल्लो समय कोरोना संक्रमण फैलिदै गएको र कोरोना संक्रमणको कारण मृत्यु नै पुष्टि भएपछि सरकार लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो ।

कोरोना संक्रमणबाट नेपालमा दोस्रो व्यक्तिको मृत्यु

काठमाडौंः नेपालमा कोरोना संक्रमणबाट नेपालमा दोस्रो व्यक्तिको मृत्यु भएको छ । आज बाँकेको नैनापुरका २५ वर्षीय युवकको संक्रमणबाट निधन भएको हो । आज कोरोनाबाट मृत्यु भएका युवक गत वैशाख ३० मा भारतको मुम्बईबाट आए बाँके आएका थिए । क्वारेन्टिनमा रहेका २५ वर्षीय ति युवकको बिहान एक्कासी स्वास्थ्य असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको थियो । गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्यु भएको थियो। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको बताए । कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरिएको आज रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या २ पुगेको छ । शनिबार पनि कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु भएको थियो ।

डब्लुएचओको चेतावनीः ‘स्प्रेले कोरोना भाइरस मर्दैन, छर्किनु बेकार’

काठमाडौं । संसारमा कोरोना भाइरसविरुद्ध लड्ने तरिकाहरुमा रोगाणु नाशक स्प्रे छर्किनु समेत रहेको छ । नेपालमा समेत नागढुंगा चेकपोष्टमा गाडीहरुलाई निर्मलिकरण गरेर भित्र्याउन शुरु भएको थियो । यसैगरी संसारका बिभिन्न शहरमा यस्तो स्प्रेलाई व्यापकता दिइदै आइएको छ । तर यसैबीच विश्व स्वास्थ्य संगठनको नयाँ घोषणाले भने सबैलाई चकित बनाएको छ । विश्व स्वास्थ्य संगठनले एक चेतावनी दिँदै रोगनाशक स्प्रेको प्रयोगले भाइरस समाप्त नहुने र यसको उल्टो यसबाट स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने बताएको छ । कोभिड १९ महामारीका सन्दर्भममा स्वच्छता र सतहलाई रोगाणुमक्त गर्ने सम्बन्धमा संगठनले निर्देशिका जारी गर्दै स्प्रे छर्किनु असरहीन हुनसक्ने बताएको हो । “बाहिरी स्थान जस्तै सडक, बाटो या बजारमा कोरोना भाइरस या अन्य कुनै विषाणु समाप्त गर्न ग्यास या तरल जुनसुकै रुपमा पनि स्प्रे छर्किने … सल्लाह दिन सकिँदैन । किनभने धुलो र अन्य तहले यी विषाणु असरहीन हुने गर्दछन् ।” के छ त निर्देशिकामा ‘सडक र फुटपाथ’ कोरोना भाइरसको शरणस्थल होइनन् किटाणु नाश छर्किनु मानिसको स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । कुनै पनि अवस्थामा मानिसमाथि किटाणुनाश छर्किने कुराको सल्लाह दिन सकिँदैन । यी शारीरिक र मानसिकरुपमा हानिकारक छन् । यसबाट कुनै संक्रमित व्यक्तिलाई अर्को व्यक्तिमा हाच्छ्यूँ या सम्पर्कका माध्यमबाट संक्रमण फैलाउने क्षमतामा असर पर्दैन । क्लोरिन या अन्य विषालु रसायनको प्रयोगले आँखा या छालामा जलन, श्वासमा समस्या र पेट तथा आन्द्राको बिमारी हुन सक्छ । विश्व स्वास्थ्य संगठनले घरभित्र पनि रोगाणुनाशकको प्रयोगका बारेमा चेतावनी दिएको छ । यदि यसको प्रयोग गरिन्छ भने पनि कपडाले भिजाएर पुछ्नु पर्दछ । संसारमा तीन लाख भन्दा बढीको ज्यान लिने कोरोना भाइरस कुनै पनि सतह या अन्य कुनै कुरामा बाँच्न सक्छ । तर कुन प्रकारको सतहमा कति समय बाँच्छ भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । बिबिसीबाट अनुदित

थप १ कोरोना संक्रमित उपचारपछि डिस्चार्ज

कैलालीः धनगढीकी कोरोना संक्रमित महिला पनि डिस्चार्ज भएकी छिन् । लगातार २ पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज गरिएको हो । ३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-५ की ३४ बर्षीय महिलाको ६ पटकसम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजिटिभ आएकोमा पछिल्लो २ पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताए। योसँगै सुदूरपश्चिम प्रदेशका ५ जनामा कोरोना देखिएकोमा सबै निको भएर घर फर्किसकेका छन्। यस्तै, आज कोशी अस्पतालमा उपचार गराइरहेकामध्ये ८ जना संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको छ । याेसहित नेपालमा कोरोना संक्रमणबाबाट मुक्त हुनेको संख्या ३१ पुगेको छ । अहिले रुपन्देहीमा ३ जना, नेपालगञ्जमा २४ जना, भरतपुरमा १ जना, वीरगञ्जमा २६ जना र विराटनगरमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले बताए। प्रदेशअनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना, र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् । आज थप १ जनामा कोरोना भाइरस पोजिटिभ देखिएसँगै कुल संक्रिमतको संख्या १ सय २ पुगेको छ । नेपालगञ्जमा रहेको भेरी अस्पतालमा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा शुक्रबार १ जनाको संक्रमण पोजिटिभ देखिएपछि कुल संक्रमितको संख्या १ सय २ पुगेको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

बाबुरामले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौंः जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जीर्ण शरीरलाई आराम दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् । ‘तपाईं उचाईंमा पुगेर त्यहीँ रहनुस्, यस्ता अनावश्यक तनावमा नपर्नुस्’, उनले भने, ‘रोगले जीर्ण भएको शरीरलाई आराम गर्नुस्। प्रधानमन्त्री पदबाट राजीनमा दिनुस्। हामी ६०/६५ वर्षमाथिकाले अब आराम गर्नु नै उचित हुन्छ।’ पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले कोरोना महामारी नियन्त्रण गर्न सरकारको तयारी पर्याप्त नभएकोसमेत बताएका छन् । उनले बन्दाबन्दी गर्ने बाहेक अन्य प्रयास प्रयाप्त हुन नसकेको बताए । ‘सरकारले बोल्दा त ठीकठाक भइरहेको छ भनिएला, तर रोकथामको अवस्था ठीकठाक छैन’ उनले भने । भट्टराईले विदेशमा रहेका नेपालीलाई स्वदेशमा ल्याउनुपर्ने बताए । विदेशमा रहेका नेपालीहरुलाई देश निकाला गरेजस्तो भएको उनले बताए । ‘उताबाट आफ्नो देश जाऊ भन्छ, अनि हामी नआउ भन्ने ?’ उनले भने । भट्टराईले विदेशमा रहेका नेपालीलाई अनागरिक बनाइएको बताए । महामारी रोकथामबारे सरकार ढुक्क भएर बस्ने अवस्था रहेको नरहेको उनले बताए । भट्टराईले किसान तथा मजदुरको अवस्था दयनीय भएकाले उनीहरुलाई विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरे । ‘लकडाउनमा हामी सांसदहरुले तलब लिएर बस्यौं, तर मजदुरहरुको अवस्था दयनीय छ’ भट्टराईले भने ।

देशमा सरकारको अस्तित्व रहेको अनुभूति भएको छैनः सभापति देउवा

काठमाडौंः प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवादास्पद अध्यादेश ल्याउनुमा प्रधानमन्त्रीको नियोजित नियत भएको बताएका छन् । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले सिंगो देश कोरोनाबाट आतंकित भएको बेला सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको भावना विपरित अध्यादेश ल्याएको बताए । ‘सबैले कोरोना विरुद्धको लडाईमा एक भएर साथ दिई रहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत थियो’ उनले भने । देउवाद्वारा संसदमा प्रस्तुत सम्बोधनको पूर्ण अंश कोरोना परिस्थिति विश्लेषण गर्दै, गम्भीर रुपले अघि बढौं माननीय सभामुख महोदय, कोरोनाको विश्वब्यापी महामारीबाट नेपाल र नेपालीको रक्षा गर्न हालसम्मका प्रयासहरुको गहिरो समिक्षा गर्दै विशेष रणनीति निर्माण र कार्यान्वयन गर्न गराउन यो संसद सफल हुनैपर्ने इतिहासकै बिशेष अभिभारा म शुरूवातमै सबैलाई स्मरण गराउन चाहन्छु । श्रद्धाञ्जली र समवेदना कोरोना भाइरस अर्थात कोभिड १९ का कारण संसारका विभिन्न देशमा जीवन गुमाएका नेपालीहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु । साथै कोरोनाका कारण जीवन गुमाएका विश्वभरिका सबै मानवको आत्माको चिरशान्तिको कामना गर्दछु । स्वास्थ्यलाभ कामना कोरोना संक्रमित भई उपचाररत नेपाल भित्रका सबै नेपाली र विभिन्न देशमा रहेका ३ हजार भन्दा बढी नेपालीको सिध्र स्वास्थ्यलाभको कामना गर्दछु । उच्च सम्मान र कदर पर्याप्त स्वास्थ सामग्री अभावका बावजुद उच्च मनोबल र उच्च मानवीय भावना साथ ‘फ्रन्ट लाईन’ मा कार्य गरिरहनु भएका सबै आदरणीय स्वास्थकर्मीको उच्च कदर गर्दै उच्च सम्मान प्रकट गर्दछु । यसरी नै अहोरात्र जिम्मेवारी निभाइरहेका सुरक्षाकर्मी, संचारकर्मी एवं सफाईको क्षेत्रमा निरन्तर कार्य गरिरहेका सफाइकर्मीको प्रशंशा गर्दै श्रद्धा प्रकट गर्दछु । जनताको धैर्यको प्रशंसा कोरोनाका कारण उत्पन्न अनेक जटिलता असिम धैर्य साथ सामना गरिरहनु भएका स्वदेश र विदेशका समस्त नेपाली दिदीबहिनी दाजुभाइको धैर्यको प्रशंसा गर्दै आजको परिस्थितिलाई संयम र एकता साथ सामना गर्न यो सम्मानित संसद मार्फत अपिल गर्दछु । प्रतिपक्षको सहयोग र खबरदारी कोरोनाको यो संकटका बेला ‘सरकारमा संगै नरहेर पनि संकटमा संगै लड्न सकिन्छ’ भन्ने राष्ट्रिय एकताको भावनाले प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्य गरिरहेको छ । नेपाली काँग्रेसले पार्टीको सबै तहका नेता तथा पार्टी सदस्यलाई कोभिड १९ को नियन्त्रण र निर्मूल गर्न आ(आफ्नो तर्फवाट निरन्तर कार्य गर्न आव्हान गरेको छ र सबै साथीहरुले जिम्मेवारीपूर्वक कार्य गरि रहनु भएको छ । कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्ने बिषयमा सरकारलाई हरसंभव सघाउने तर बेथिति, भ्रष्टाचार र अधिनायकवादी नियत विरुद्ध निरन्तर लड्ने यी दुई नितिलाई हामी निरन्तरता दिनेछौं । राहतको ब्यवस्थित प्याकेज ल्याउन माग · लक डाउनले श्रमिक, बेरोजगार र विद्यार्थीलाई सबैभन्दा संकटमा पार्‍यो । सरकारले पर्याप्त राहत नदिंदा हजारौं श्रमिक पैदल हिंडेर गाउँ फर्किए । न खान दिने न गाउँ जान दिने, सरकारको यस्तो ब्यवहारले जनतालाई आहत तुल्यायो । कोरानाका कारणले रोजगारी गुमेका र राज्यवाट सहज रुपमा तत्काल राहत पाउनु पर्ने व्यक्तिले राहत पाउन सकेका छैनन् । सुकुम्बासीलाई जाउलो पुर्‍याउने तत्कालीन दायित्व बिर्सेर सरकारले यो बेला सुकुम्बासी आयोग गठन गर्नुको कुनै तर्क थिएन । · श्रमिक, बेरोजगार, कृषक, डेरा बस्ने विद्यार्थी, पत्रकार, मिडिया हाउस, पर्यटन ब्यवसायी देखि साना ब्यापारी हुंदै उद्योगी ब्यवसायी सम्मलाई विविध ढंगले राहत दिने वृहत्तर प्याकेज निर्माण, घोषणा र कार्यान्वयन यथासिघ्र गर्न म सरकार समक्ष माग गर्दछु । स्वास्थ्य सामग्री अभाव र भ्रष्टाचारबारे · कोरोनासंग जुध्न अत्यावश्यक पिपिइ, परिक्षण कीट लगायतका सामग्रीको अझै अभाव रहनु दुःखद र लज्जास्पद छ । समयमै सामग्री प्रबन्ध नगर्नु, खरिद प्रक्रियामा पारदर्शिता नहुनु र बजार मुल्य भन्दा बढी रकम राज्यकोषबाट निकासा गराएर भ्रष्टाचार गरिनु अत्यन्तै गम्भीर र अक्षम्य छ । दोषीहरुलाई पदमुक्त गरेर अनुसन्धानलाई सघाउन र कडा कार्वाही गर्न म माग गर्दछु । प्रधानमन्त्रीको नियोजित नियत गलत · सिंगो देश कोरोनाबाट आतंकित भएको बेलामा सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको मूल भावना विपरित दुइवटा विवादास्पद अध्यादेश जारी गरेर अलोकतान्त्रिक एवं गैह्र जिम्मेवार चरित्र प्रस्तुत गर्‍यो । विपक्षी लगायत राजनीतिक दल, संचार माध्यम र समस्त नागरिक सहित सबैले कोरोना विरुद्धको लडाईमा एक भएर साथ दिई रहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत थियो । · एक सांसदको अपहरण र त्यसमा पनि कुनै न कुनै रुपले सरकारको संलग्नता देखिनु अर्को दुर्भाग्यपूर्ण कार्य हो । म यो घटनाको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कडा कार्वाही गर्न माग गर्दछु । · एकातर्फ कोरोनासंग लड्ने हाम्रो साझा दायित्व छ भने अर्कातर्फ वर्तमान सरकारले नियोजित नियतबाट लोकतन्त्र र संविधानका विरुद्ध गरिरहेको घातबाट वर्तमान संविधान र लोकतान्त्रिक ब्यवस्थाको रक्षा गर्नुपर्ने परिस्थिति पनि छ । म सरकार बाहिर रहेका राजनीतिक दल, संचार माध्यम, बुद्धिजीवी र समस्त नेपालीलाई यसबारे सजग र एकताबद्ध रहन यो सम्मानित संसद मार्फत अपिल गर्दछु । सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमायो · विश्वव्यापी रुपमानै मानव जाति समक्ष कोरोनाको रुपमा ठूलो चुनौति देखा परेको छ । नेपालमा यतिबेला एकसय बढी नागरिक संक्रमित भैसकेको स्थिति छ । सर्वत्र त्रासको अवस्था विद्यमान छ । यस्तो विषम परिस्थितिमा कोभिड १९ को नियन्त्रण र निर्मूल गर्न विवेकसम्मत तवरले जिम्मेवार भई कार्य गर्नु पर्नेमा सरकार यसमा पूर्णरुपले असफल भएको छ । सरकारले नागरिकलाई देशमा सरकारको अस्तित्व रहेको अनुभूति गराउन सकेको छैन । महामारी विरुद्ध लड्न पूर्व तयारी, लक डाउनका बेलामा राहत, क्वारेनटाईन, अस्पताल आदीको उचित व्यवस्थापन, स्वास्थ तथा सुरक्षाकर्मी लगायत अग्रपंक्तिमा काम गरिरहेका व्यक्तिहरुको व्यक्तिगत सुरक्षा सामग्री, परिक्षण सामग्रीको आपुर्तिका कामहरु उचित तवरले भएका छैनन् । नेपालमा कोरोनाको पहिलो संक्रमण देखिएको ३ महिना बितिसक्दा पनि हालसम्म व्यापक परिक्षण भई सक्नु पर्नेमा अत्यन्त न्यून संख्यामा मात्र परिक्षण भएको छ । परिक्षण सामग्रीको विश्वसनियतामा प्रश्न उठेका छन् । विदेशमा अफ्ट्यारोमा परेका नेपाली नागरिकको उद्दारको कुनै योजना छैन । कोरोनावाट बिभिन्न क्षेत्रमा उत्पन्न हुने नकारात्मक प्रभावको अध्ययन गरी तत्कालिन र दिर्घकालिन रणनीति बनाउने दिशामा कुनै सुरसार छैन । यस्तो अत्यन्त विषम अवस्थामा भ्रष्टाचारका घटना हुनु, सरकार लोकतान्त्रिक मूल्य मान्यता र संविधानको भावना विपरित क्रियाकलापमा व्यस्त रहनु, सासदको अपहरण हुनु जस्ता अवाञ्छीत र आपराधिक गतिविधि कुनैपनि रुपले स्विकार्य हुन सक्दैनन् । यी विषयहरुलाई नेपाली काँग्रेसले गम्भीरतापूर्वक लिनुका साथै अत्यन्त सुक्ष्म ढंगले विश्लेषण गरी यो सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाई सकेको ठहर गरेको छ । बिदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्दार गरौं बिदेशमा रहेका नेपाली पनि यतिबेला कोरोनाबाट प्रताडित छन् । अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्नु सरकारको कर्तव्य हो । यस सम्बन्धि आवश्यक ब्यवस्थापनको योजना निर्माण गरेर सम्मानित संसदमा यथासिघ्र पेश गर्न र उद्दार थाल्न म सरकार समक्ष माग गर्दछु । कोरोना केन्द्रित बजेट ल्याउन माग · आगामी बजेटको मुख्य प्राथमिकता कोरोना केन्द्रीत हुनुपर्छ भन्ने मेरो प्रष्ट माग छ । आवश्यक सचेतना, अत्यावश्यक स्वास्थ सामग्री, अनिवार्य उपचार, विविध क्षेत्रमा पर्याप्त राहत एवं बिदेशमा अप्ठ्यारोमा रहेकाको उद्दार र पुनर्ब्यवस्थापनमा अबको बजेट केन्द्रित हुनुपर्छ । माननीय सभामुख महोदय, आशा एवं विश्वास छ आज शुरु भएको प्रतिनिधिसभाको यो बैठकले कोरोना माथि विजय हासिल गर्न आवश्यक पर्ने सबै अत्यावश्यक कदमहरुका बारे मार्गदर्शन गर्न र राष्ट्रिय एकतालाई अभिवृद्धि गर्न गराउन सक्नेछ । जय नेपाल शेरबहादुर देउवा नेता, प्रमुख प्रतिपक्षी दल वैशाख २६, २०७७

कोरोना संकटकाबीच सप्तरीमा हात्ती आतंक

सप्तरीः मध्यरातमा जंगली हात्तीले गाउँ प्रवेश गरेपछि सप्तरीको उत्तरी भेगका अधिकांश क्षेत्र त्रसित बनेको छ । मध्यरात भएपछि दिनहुँजसो हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि यस भेगका बासिन्दा त्रसित बनेका हुन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीको समूहले सप्तरी जिल्लाको उत्तरी र पूर्वी भेग तथा पूर्व-पश्चिम राजमार्गका विभिन्न स्थानमा बस्ने मानिसलाई दैनिक हैरान पार्ने गरेको छ । आरक्षबाट आएको तीन हात्तीको समूहले बिहीबार राति अग्निसाइर कृष्णसवरण गाउँपालिका-५ मोहनपुरमा पुष्पराज बञ्जारा र अम्बिका राईको घर भत्काएको छ । बिहीबार बिहान मात्रै हात्तीको आक्रमणबाट शम्भुनाथ नगरपालिका–२ भलुवाहीकी ३८ वर्षीया जानुका मगरको मृत्यु भएको थियो । अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ मोहनपुरस्थित घरसहित भर्खरै भित्र्याइएको अन्न, पशुआहारासमेत गरी करिब साढे १ लाख रुपैयाँ मूल्य बराबरको खाद्यान्न क्षति गरेको पीडित बञ्जाराले बताए । लकडाउनमा बेरोजगार भएर आयस्रोत कम भएका बेला हात्तीले घर र खाद्यान्न क्षति गर्दा मर्कामा परेको पीडित राईले बताइन् । लदिनभरि नजिकैको जङ्गलमा बस्ने हात्ती रात परेपछि गाउँ प्रवेश गरेर दैनिकजसो घर तोडफोड र मानिसमाथि आक्रमण गर्दै आएको मोहनपुरका बाबुराम बस्नेतले जानकारी दिए । भत्किएको घरको मर्मतसम्भार र नोक्सान भएको अन्नको क्षतिपूर्ति अबिलम्ब उपलब्ध गराउन छिमेकी बाबुराम बस्नेतले स्थानीय सरकार र सम्बन्धित निकायसँग माग गरेका छन् । जङ्गली हात्तीको आतङ्क रोक्न पहल नभएकाले मानवीय र भौतिक क्षति बढ्दै गएको उनले बताए । ४ दिनअघि सोही गाउँपालिका-२ मा प्रवेश गरेको हात्तीको समूहले वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर तोडफोड गरी धान, गहुँ, चामललगायतका खाद्यान्न खाएको थियो । हात्ती आँगनमा पसेपछि गत साता वडा नं ६ महुलीका भुवन आचार्य भागेर ज्यान जोगाउँदा लडेर घाइते भएका थिए । गत शनिबार खड्क नगरपालिका–७ मा हात्तीले घर भत्कायो भने आइतबार सप्तकोशी नगरपालिका-५ मा हात्तीले बालीमा क्षति पुर्‍यायो । हात्तीको त्रासले गाउँलेहरू जाग्राम बसेर रात काट्ने गरेका छन् । वर्षाैँदेखि हात्ती आउने गरेको जानकारी दिँदै शम्भुनाथ नगरपालिका-२ का बाबुराम घिमिरेले कहिलेकाहीँ हात्ती आक्रोशित भएर घर तोडफोड र मानिसमाथि नै आक्रमण गरेर ज्यान लिने गरेको बताए । हात्तीले घर पनि भत्काउने र खाने सामग्रीसमेत नष्ट गरिदिने हुनाले एकैसाथ बस्ने र खाने समस्या परेको श्यामकुमार रामले चिन्ता व्यक्त गरे । आरक्षबाट निस्किने हात्तीको समूहले दैनिकजसो अग्निसाइर कृष्णसवरण, रुपनी गाउँपालिका, कञ्चनरुप, सप्तकोशी, शम्भुनाथ, सुरुङ्गा, खड्क, हनुमाननगर कंकालिनी नगरपालिकालगायतमा बालीनाली सखाप पार्ने, घर तोडफोड गर्ने र व्यक्तिमाथि आक्रमण गर्न थालेको छ । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पछिल्लो २ सातादेखि लगातार हात्तीको आतंक बढेपछि स्थानीयवासी दैनिक जाग्राम बस्नुपरेको पीडित बताउँछन् । रासस

राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको आज भएको भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड अनुसार संसद्का बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराएका थिए । आज अपराह्न ४ बजेदेखि सुरू हुन लागेको सङ्घीय संसद्को छैटौँ अधिवेशन तथा सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा उनीहरूबीच छलफल भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

सापटी मागेर राउटेलाई भत्ता वितरण

सुर्खेतः कोभिड–१९ को जोखिम हुन नदिन जारी बन्दाबन्दीले समस्या भोगिरहेका राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले स्थानीय व्यवसायीबाट सापटी मागेर भत्ता वितरण गरेको हो । जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेहरु हाल यहाँको भेरीगङ्गा नगरपालिकाको छिन्चु नजिक बसाइँ सरेका छन् । गुराँस गाउँपालिकाले बस्तीमै पुगेर १५२ जना राउटेलाई चैत महिनाको भत्ता वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष खेमराज वलीले लकडाउनका कारण दैनिकी चलाउन समस्या भएको खबर पाएपछि रु चार लाख ५६ हजार सापटी मागेर भत्ता वितरण गरेको बताए । सरकारले लोपोन्मुख जाति राउटेको सामाजिक सुरक्षाका लागि प्रतिव्यक्ति मासिक ३ हजार रुपैयाँ भत्ता दिँदै आएको छ । काठका भाँडाकुँडा बिक्री गरेर गुजारा चलाउने यो समुदाय लकडाउनका कारण थप समस्यामा परेको थियो । लकडाउनकै अवधिमा भत्ता पाएपछि राउटेहरु खुशी भएका छन् । मुखिया सूर्यनारायण शाहीले गाउँ जान नपाएका कारण आफूहरुले बनाएको सामान बिक्री नभएको बताए । ‘सामान त्यत्तिकै थन्किएका छन्, परिवार ठूलो छ, रासन धेरै चाहिन्छ, गाउँपालिकाले भत्ता दिएपछि राहत मिल्यो, खुसी छौँ’ उनले भने । भेरीगङ्गा नगरपालिकाले कोरोना सङ्क्रमण रोकथामका लागि राउटेहरुलाई आउजाउमा कडाइ गरेपछि खाद्यान्नको समस्या भएको थियो । रासस

कोरोना परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन

काठमाडौंः कोरोना परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब लिइएको छ । प्रधानमन्त्री ओलीको स्वाब स्वास्थ्यकर्मीले शुक्रबार बिहान  लिएका बालुवाटार स्रोतले जनाएकाे छ । बिहीबारदेखि सुरु हुने संसद अधिवेशनमा सहभागी हुन प्रत्येक सांसदले कोराना परीक्षणको रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएकाले प्रधानमन्त्री ओलीले पनि कोरोना परीक्षणका लागि स्वाब दिएका हुन् । यसैबीच, संघीय संसदका २१२ सांसदसहित कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ । बिहीबार संघीय संसद भवन परिसरमा ४ सय ४० जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । यसअघि सचिवालयले ४४१ जनाको संकलन गरिएको बताएको थियो । तर, १ जना फारम भरेपनि स्वाब संकलनमा सहभागी भएका थिएनन्। जसमा १७९ जना प्रतिनिधिसभाका सांसद थिए भने ४५ जना राष्ट्रिय सभाका सांसद थिए। त्यस्तै संसद सचिवालयका कर्मचारी र मर्यादापालक २१६ जनाको स्वाब संकलन गरिएको थियो। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको संयोजक अशोक पौडेलले बिहीबार स्वाब संकलन गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। शुक्रबार पनि ६३ सांसदको स्वाब संकलन गरिएको छ। जसमध्ये ५३ जना प्रतिनिधि सभा तर्फका हुन् भने १० जना राष्ट्रिय सभाका सांसद हुन्। सभामुख अग्नि सापकोटकाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार अहिलेसम्म मन्त्रीसहित २७५ जना सांसदको स्वाब संकलन गरिएको छ । ५४ जनाको संकलन बाँकी छ। आज थ्रोट स्वाब संकलन गरिएकाहरुको रिपोर्ट भोली मात्र आउने भएको छ। आज स्वाब संकलन गरिएका सांसदहरुलाई बैठकमा सहभागि नगराउने तयारी सचिवालयको छ। सदमा खटिने कर्मचारी, मर्यादापालक र कर्मचारीहरूको पनि स्वाब संकलन गरिएको छ। सांसद र कर्मचारीहरु सबैको पीसीआर परीक्षण गरिएको हो।

२१२ सांसदको कोरोना परीक्षण रिपोर्ट आयो

काठमाडौंः संघीय संसदका २१२ सांसदसहित कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ । बिहीबार संघीय संसद भवन परिसरमा ४ सय ४० जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । यसअघि सचिवालयले ४४१ जनाको संकलन गरिएको बताएको थियो । तर १ जना फारम भरेपनि स्वाब संकलनमा सहभागि भएका थिएनन्। जसमा १७९ जना प्रतिनिधिसभाका सांसद थिए भने ४५ जना राष्ट्रिय सभाका सांसद थिए। त्यस्तै संसद सचिवालयका कर्मचारी र मर्यादापालक २१६ जनाको स्वाब संकलन गरिएको थियो। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको संयोजक अशोक पौडेलले बिहीबार स्वाब संकलन गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। शुक्रबार पनि ६३ सांसदको स्वाब संकलन गरिएको छ। जसमध्ये ५३ जना प्रतिनिधि सभा तर्फका हुन् भने १० जना राष्ट्रिय सभाका सांसद हुन्। सभामुख अग्नि सापकोटकाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार अहिलेसम्म मन्त्रीसहित २७५ जना सांसदको स्वाब संकलन गरिएको छ । ५४ जनाको संकलन बाँकी छ। आज थ्रोट स्वाब संकलन गरिएकाहरुको रिपोर्ट भोली मात्र आउने भएको छ। आज स्वाब संकलन गरिएका सांसदहरुलाई बैठकमा सहभागि नगराउने तयारी सचिवालयको छ। सदमा खटिने कर्मचारी, मर्यादापालक र कर्मचारीहरूको पनि स्वाब संकलन गरिएको छ। सांसद र कर्मचारीहरु सबैको पीसीआर परीक्षण गरिएको हो।