थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि
नेपालगञ्जः बाँके र बर्दियामा आज थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका १ र बर्दियाका ९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालका अनुसार बाँकेको कोहलपुर नगरपालिकाका १ जना तथा बर्दियाको बढैयाताल गाउँपालिकाका ४ , मधुवन नगरपालिकाका ३ , राजापुर र ठाकुर बाबा नगरपालिकाका १–१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
भरतपुर महानगरपालिकामा शिक्षालाई प्रमुख प्राथमिकताः दाहाल
चितवनः भरतपुर महानगरपालिकाको शिक्षा क्षेत्रको विकासमा झन्डै १८ करोड लगानी हुने भएको छ । यो लगानी चालु आर्थिक वर्ष र आगामी वर्ष २०७७/७८ मा खर्च गरिनेछ । शिक्षा क्षेत्रमा मात्र १८ करोड लगानी भरतपुर महानगरको शैक्षिक विकासमा खर्चेको हालसम्मको ठूलो लगानी हो । जिल्ला आयोजना कार्यान्वयन इकाइ भरतपुरबाट १७ वटा विद्यालयको भवन निर्माणको लागि मोटामोटी ११ करोड ७० लाख लगानी हुने भएको छ । यस्तै संघीय सरकारबाट भरतपुर महानगरको शिक्षामा एक करोड ३३ लाख लगानी हुने भएको छ । यसैगरी भरतपुर महानगरको आन्तरिक स्रोतबाट चार करोड ९५ लाख लगानी हुने भएको छ । संघीय सरकारबाट आएको बजेट र भरतपुर महानगरको आन्तरिक स्रोतबाट शिक्षामा लगाइएको बजेटको काम यही चालु आर्थिक वर्ष सक्नुपर्छ भने जिल्ला आयोजना कार्यान्वयन इकाइ भरतपुरबाट भएको लगानीको काम आगामी वर्ष २०७७÷७८ को माघसम्ममा सक्नुपर्छ । शिक्षालाई प्रमुख प्राथमिकताः दाहाल भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले शिक्षालाई प्रमुख प्राथमिकता दिएको बताइन् । उनले शिक्षामा प्रदेश, संघीय र महानगरको आन्तरिक स्रोतबाट ठूलो लगानी भएको बताइन् । उनले भनिन्, ‘गुणस्तरीय शिक्षा आजको आवश्यकता हो, शिक्षाको विकासकै कारण समग्र क्षेत्रको विकासमा योगदान पुग्छ, त्यसकारण पनि शिक्षालाई प्रमुख प्राथमिकता दिएका हौँ ।’ १७ विद्यालयलाई चार कोठाको भवन भरतपुर महानगरका १७ वटा विद्यालयमा चार वटा कोठाको नयाँ भवन निर्माणको काम यतिबेला भइरहेको छ । जिल्ला आयोजना कार्यान्वयन एकाई भरतपुरको सहयोगमा भवन निर्माणको काम भइरहेको छ । एउटा विद्यालयमा ६८ लाखदेखि ७० लाखसम्मको भवन बनाइने जिल्ला आयोजना कार्यान्वयन एकाई भरतपुरले जनाएको छ ।
भावविह्वल क्षणः जन्मदिने आमाबुबासँगै जन्माएका छोराछोरीलाई दागबत्ती दिँदा…
पर्वतः कुश्मा नगरपालिका–३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका आठ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । उनीहरुमध्ये छ जनाको मोदीवेणीमा र अन्य दुईको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको हो । पर्वतको मोदीवेणीमा पाँच चिता बनाएर छ जनाको दाहसंस्कार गरिएको छ । मृतकमध्ये ५३ वर्षीय तुलबहादुर र उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापालाई एउटै चितामा जलाइएको हो भने नाति सम्राट, नातिनी विविशालाई छुट्टाछुट्टै चितामा जलाइएको हो । त्यस्तै अर्को परिवारका ३२ वर्षीया कमला विक र उहाँकी छोरी आठ वर्षीया प्रमिशालाई पनि छुट्टाछुट्टै चिता बनाएर दाहसंसकार गरिएको थियो । एउटै गाउँका छ जनाको एकैपटक दाहसंस्कार गरिएको यो नौलो घटना हो । दाहसंस्कारका लागि घाटमा सयौंको सङ्ख्यामा पुगेका नागरिक भावविह्वल बनेका थिए । तुलबहादुर दम्पत्तीलाई छोरा अम्मरबहादुर थापाले दागबत्ती दिए । पहिरोमा आफ्नो छोरा सम्राट र विविशालाई गुमाएका उनीमाथि छोराछोरीलाई पनि दागबत्ती दिनुपर्ने बाध्यता आइपर्यो । भक्कानिँदै एकैपटक जन्मदिने बाबुआमा र आफैँले जन्माएका छोराछोरीलाई दागबत्ती दिँदा उनको मन सम्हालिएको थिएन । कमला विक र उनकी छोरीलाई जेठाजु पर्ने चक्रबहादुर विकले दागबत्ती दिए । त्यसैगरी पहिरोमा पुरिएका आमाछोरा ३४ वर्षीय दिर्पा थापा र १७ वर्षीय विवेक थापाको बागलुङको जैमिनी नगरपालिकास्थित कालीगण्डकी किनारमा पर्ने जैमिनीघाटमा अत्येष्टि गरिएको छ । दिर्पा लकडाउनपछि छोरा विवेकसहित माइतीमा बस्दै आएकी थिइन् । हराएका जेनिशको खोजीकार्य वर्षाले प्रभावित पहिरोले पुरिएका नौमध्ये १३ वर्षीय जेनिश विक अझै पनि भेटिएका छैनन् । शनिबार रातिदेखि नै खोजी गरिए पनि उनी अझै फेला नपरेका हुन् । आइतबार दिनभर खोजी भएको थियो भने सोमबार बिहानैदेखि खोजीकार्य थालिएको भए पनि निरन्तरको वर्षाले प्रभावित बनेको छ । दिनभर गाउँका सबै बासिन्दा मृतकको शव दाहसंस्कार गर्नका लागि मोदीवेणी घाटतर्फ लागे पनि सुरक्षाकर्मीले साँझ अबेरसम्म खोजी गरेको थियो । आज बिहानबाट पुनः खोजी गर्न शुरु गरिने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दिनभरि खोजीकार्यमा सुरक्षा निकाय जुटिरहेको भए पनि वर्षाले समस्या बनाएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । शनिबार राति ८ बजे आएको पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको परिवारलाई बगाएको थियो । थापा परिवारका छ र विक परिवारका तीन जनाको परिवार पुरिएको थियो । थापा परिवारका छ जनाकै शव फेला परेको छ भने विक परिवारका बालक अहिलेसम्म भेटिएका छैनन् । रासस
रुकुम घटना ‘क्रुर हत्या’: कारबाहीको सिफारिस
काठमाडौंः गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले रुकुम पश्चिम चौरजहारी–८ सोतीमा छ जनाको ज्यान जाने गरी भएको घटना ‘क्रुर हत्या’ भएको निष्कर्ष निकालेको छ । समितिले घटनामा संलग्नमाथि जघन्य अपराध तथा जातीय छुवाछूत कसुरअन्तर्गत कानुनी कारबाहीको सिफारिससमेत गरेको छ । गृह मन्त्रालयले रुकुम पश्चिमको घटना छानबिनका लागि सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो समितिको प्रतिवेदनमा दुई नावालिगसहित ३४ जनालाई हत्या घटनाको प्रतिवादी बनाएको छ । हत्या घटनाको विस्तृत छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाहीका लागि सिफारिससहितको प्रतिवेदन मन्त्रालयमा पेस गरिएको मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तैं, नेपाल प्रहरीले समेत प्रस्तुत जघन्य अपराध घटनाको छानबिन र अनुसन्धान गरी दोषी देखिएका डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, प्रेम ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद मल्ल, लिपेन्द्र मल्लसहित ३४ जनालाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरेको छ । सार्वजनिक पद धारण गरेको व्यक्ति जननिर्वाचित चौरजहारी नगरपालिका–८ का अध्यक्ष डम्बरबहादुर मल्लले टोपबहादुर मल्ल, मानबहादुर मल्ल र नेत्रबहादुर मल्ललगायतलाई फोन गरी कुटपिट गर्न युवा भेला पार्ने तथा चार किलोमिटर टाढा भागेका युवामाथि आक्रमण गर्न उत्प्रेरित गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । वडाध्यक्ष मल्लसहित १२ जनामाथि जातीय विभेद तथा छुवाछूत कसुर अनुसारको थप कानुनी कारबाहीको माग गरिएको छ । नवराज विककी प्रेमिका भनिएकी किशोरी नावालिग भएकाले परिचय गोप्य राखी ज्यान मार्ने उद्योगका साथै जातीय विभेद तथा छुवाछूत कसुरमा समेत कारबाहीको सिफारिस गरिएको छ । सो घटनामा संलग्न तुलाराम घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, भीम बुढा, डिल्ली घर्ती र शौरभ पुनः फरार भएकाले पक्राउका लागि जिल्ला अदालतबाट आवश्यक पुर्जी जारी भइसकेको छ । जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक रुकुम पश्चिम चौरजहारी–८ सोतीमा रहेकी प्रेमिका (केटी) भगाउन जाँदै गर्दा जेठ १० गते दिउँसो केटी पक्षले दलित भएकै कारण छ जना युवाको हत्या गरी भेरी नदीमा फालेको र कुटपिट गरी १२ जनालाई घाइते बनाएको समितिको प्रतिवेदनमा जनाइएको छ ।
चीनमा फेरि देखियो कोरोना
चीनः राजधानी बेइजिङमा कोरोना संक्रमण फेरि बढ्न थालेपछि लकडाउनमा कडाई गरिएको छ । त्यहाँ धेरै जिल्लाहरूमा विद्यालयहरू बन्द गरिएका छन् । सुरक्षा चेकपोस्टहरू धेरै ठाउँमा स्थापना गरिएको छ । मानिसहरूलाई कोरोना टेस्ट गराउन भनिएको छ । मानिसहरू कोरोनाको दोस्रो लहरसँग डराउन थालेका छन् । खेलकुद र मनोरन्जन केन्द्रहरू बन्द गरिएको छ । तापक्रम जाँच्ने कार्यहरू सुपरमार्केटहरू र कार्यालयहरूमा पुनः सुरु गरिएको छ । कोरोना संक्रमणको नयाँ लहर बेइजिङको सबैभन्दा ठूलो थोक बजारबाट शुरू भएको छ । यस बजारको महाप्रबन्धक र अन्य स्थानीय अधिकारीहरूलाई बर्खास्त गरिएको छ । चीनमा फेरि बढ्दै कोरोना, बेइजिङमा लगातार दोस्रो दिन रेकर्ड
बिहानै थप १८ जनामा देखियो कोरोना
काठमाडौंः मंगलबार बिहानै थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै गण्डकी प्रदेशका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार गोरखाका १०, स्याङजाका ४, नवलपरासी पूर्वका २ जना, कास्कीका एक जना र बाग्लुङका १ जनामा संक्रमण देखिएको हो । गोरखाको गोरखा नगरपलिकामा आठ जना र बारपाक सुलिकोट गाउँपालिकामा २ जनामा संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय २३ पुगेको स्वास्थ्य निर्देशनलायका प्रवक्ता डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिए ।
६ हजार नाघे संक्रमितः कुन प्रदेश र जिल्लामा कति ? (सूचीसहित)
काठमाडौंः नेपालमा कोरोना संक्रमितको संख्या ६,२११ पुगेको छ । सोमबार थप ४५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६,२११ पुगेको हो । यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो । यसअघि गत साता शुक्रवार सर्वाधिक सङ्ख्या अर्थात् ४४८ जनामा सङ्क्रमण पुष्टि भएका थियो । कुल सङ्क्रमितमध्ये १,०४१ जना निको भई अस्पतालबाट बिदा भएका र १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए । सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारेन्टाइनमा छन् । तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन् । देशभरि २२ वटा प्रयोगशालाबाट कोरोना भाइरस पुष्टि गर्ने परीक्षण हुन थालेको छ । अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड–१९ पुगेको पुष्टि भएको छ । कुन जिल्लामा कति संक्रमित ? हेर्न यहाँ क्लिक गर्नुहोला । प्रदेशअनुसार कोरोना विवरणः
बजेट: कुन प्रदेशले कति ल्याए, के–के छन् प्राथमिकता ?
काठमाडौंः आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सातवटै प्रदेश सरकारहरुले बजेट प्रस्तुत गरेका छन् । सबै प्रदेशले बजेटमा कृषि, स्वास्थ्य, भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको छ । यसका साथै गण्डकी प्रदेशमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेकको अनावश्यक भत्ता खारेज गरिएको छ भने बागमती प्रदेशमा मानव विकास सूचकांक न्यून भएका स्थानीय तहलाई प्राथमिकता दिइएको छ । कर्णाली प्रदेश सरकारले नयाँ गाडी नकिन्ने रोजगारीलाई प्राथमिकता दिने जनाएको छ भने सुदूरपश्चिम प्रदेशको प्राथमिकता पनि स्वास्थ्य कृषि र भौतिक पूर्वाधार परेको छ । प्रदेश नम्बर १ः पौने ४१ अर्बको बजेटमा कृषि प्राथमिकता प्रदेश १ सरकारले आगामी आर्थिक बर्षको लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । त्यसमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ र पुँजीगत तर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार विनियोजन गरेको छ । प्रदेशले वित्तिय व्यवस्थापन तर्फ ४ करोड बिनियोजन गरेको छ । प्रदेश १ ले सबैभन्दा बढी कृषिलाई प्राथमिकता दिएको छ । प्रदेशले निब्र्याजी कृषि उद्यम कर्जा पनि दिने व्यवस्था गरेको छ । मेरो कृषि मेरो पौरखको नारा अघि बढाउँदै कृषिमा आत्मनिर्भर बनाउँन व्यावसायकि कृषिका लागि १२ करोड विनियोजन गरेको छ । प्रदेशको १२ केन्द्रमा कृषि उपज बैंकको पनि व्यवस्था गरिने बजेटमा उल्लेख छ । प्रदेश एक सरकारले लसुन प्याज स्वदेशमै उपलब्ध गराउँन प्रोत्साहन रकमका लागि समेत बजेट विनियोजन गरिएको छ । एक स्थानीय तह एक फलफुल कार्यक्रमलाई अघि सारिएको छ । यस्तै, प्रदेश १ सरकारले कृषि क्षेत्रमा त३ अर्ब ८३ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । दिगोे विकासको लागि खाद्य तथा सुरक्षाको सुदृढीकरण गर्ने भन्दै प्रदेश सरकारले यो बजेट विनियोजन गरेको हो । प्रदेश २ को प्राथमिकतामा स्वास्थ्य र कृषि प्रदेश २ सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतामा राखेको छ । प्रदेश २ सरकराले आगामी आर्थिक वर्षको लागि ३३ अर्व ५६ करोड ९ लाख ९९ हजारको बजेट ल्याएको छ । प्रदेशसभा २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले कुल बजेटको चालुतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार र पूँजिगत तर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार रूपैयाँ बजेट विनियोजन गरेका छन् । प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्ने भएको छ । यसको लागि प्रदेश सरकारले ५५ करोड ५३ लाख रुपैयाँ विनियोजन गरेको छ । बजेटमा कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिने बजेट छुट्याएको छ । बेटी पढाउ बेटी बचाउ कार्यक्रमलाई निरन्तरता दिइएको छ । ३८ अर्व ७२ करोड ५६ लाख ६१ हजारको बजेट विनियोजन गरेको थियो । बागमती प्रदेशः मानव विकास सूचकांक न्यून भएका स्थानीय तहलाई प्राथमिकता वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाखको बजेट ल्याएको छ । प्रदेश सरकारले कुल बजेटको चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात ५१.१२ प्रतिशत र पूँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात ४८.८८ प्रतिशत विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले मानव विकास सूचकाङ्क न्यून भएका स्थानीय तहलाई सबैभन्दा बढी प्राथमिकता दिइने बताएका छन् । उनले विकास आयोजना छनोट तथा कार्यक्रम कार्यान्वयनलाई न्यायपूर्ण बनाउँदै प्रादेशिक सन्तुलन कायम गर्नका लागि ती स्थानीय तहर्लाइ प्राथमिकतामा राखेको बताएका हुन् । प्रदेशका आयोजनाको पहिचान, छनोट र मूल्याङ्कन जस्ता क्रियाकलापलाई तथ्यपरक एवमं मापदण्डमा आधारित बनाउन प्रदेश आयोजना बैँक व्यवस्थापन सूचना प्रणाली तयार गरी सञ्चालनमा ल्याउन अध्ययन गर्ने व्यवस्था मिलाइएको पनि बताएका छन् । उनले कोरोना संक्रमण जोखिमका कारण प्रभावित राजस्व क्षेत्रको पुनरुत्थान हुने गरी करका दरमा समायोजन, छुट तथा सहुलियत प्रदान गर्ने, प्रदेशभित्र रहेका करयोग्य क्षेत्रलाई करको दायरामा ल्याई संरचना तथा दरलाई समयसापेक्ष बनाइने बजेटमा उल्लेख गरेका छन् । यस्तै सूचना प्रविधिको प्रयोग बढाई व्यावसायिक, दक्ष र सुदृढ राजस्व प्रशासनको सुनिश्चितता गर्ने पनि बताए । गैर कर राजस्वको दायरा विस्तार गर्दै दरलाई समसमायिक बनाइने, प्रदेश र स्थानीय तहको दोहोरो क्षेत्राधिकार रहेका राजस्व बाँडफाँटका सम्बन्धमा पुनरवलोकन गरिने, राजस्व संकलनमा प्रक्रियागत सरलीकरण र सूचना प्रविधिको प्रयोग बढाई राजस्व प्रशासनलाई सक्षम सुदृढ र व्यावसायिक बनाइनेलगायत विषय बजेट वक्तव्यमा उल्लेख छ । बागमती प्रदेश सरकराले चालु वर्षकोभन्दा चार अर्ब बढाएर बजेट ल्याएको छ । प्रदेशले चालु आवका लागि ४७ अर्ब ६० करोडको बजेट ल्याएको थियो । गण्डकी प्रदेशः स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेकको अनावश्यक भत्ता खर्च खारेज गण्डकी प्रदेश सरकारले ३४ अर्ब ८० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सो बजेट प्रस्तुत गरेका हुन् । प्रदेशले कुल बजेटको चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट विनियोजन गरको छ । यस्तै, वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ प्रस्ताव गरिएको छ । गण्डकी प्रदेश सरकारले ल्याएको बजेटमा स्वास्थ्य, कृषि, उद्योग, रोजगार, शिक्षामा जोड दिएको छ । आगामी वर्ष प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने बताउँदै गण्डकी प्रदेशले अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च, जोखिम भत्ता लगायतका सबै प्रकारका भत्ता साउन १ गतेदेखि खारेज गरेको छ । कोरोना रोगको रोकथाम, नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी लगायतका राष्ट्रसेवकलाई प्रदेश सरकारका तर्फबाट दिइदै आएको जोखिम वहन तथा प्रोत्साहन भत्तालाई निरन्तरता दिने आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए । प्रदेश ५ सरकारको प्राथमिकता पनि स्वास्थ्य प्रदेश ५ सरकारले ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षका लागि सो बजेट विनियोजन गरेका हुन् । उनले चालू आवको तुलनामा ६ करोड रुपैयाँ घटाएर बजेट विनियोजन गरेका हुन् । कुल बजेटको चालू खर्चका लागि १२ अर्ब ५९ करोड २४ लाख रुपैयाँको बजेट रहेको छ भने पुँजीगत खर्चका लागि १८ अर्ब ६१ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । वित्तीय हस्तान्तरणका लागि ५ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश ५ ले वित्तीय व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छैन । बजेट स्रोतमा आन्तरिक स्रोत २ अर्ब ३ करोड ७५ लाख रुपैया मात्रै राखेको छ । आन्तरिक राजस्वबाट उठ्ने कर चालू वर्षको तुलनामा ५० प्रतिशत कम अनुमान गरिएको हो । प्रदेश ५ सरकारले अस्पतालको स्तरोन्नति तथा निर्माणमा ठूलो रकम विनियोजन गरेको छ। बजेटमा विभिन्न जिल्ला अस्पतालहरुको स्तरोन्नतिका लागि १५ करोड रुपैयाँ विनियोजन गरिएको छ। रुकुम पूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पाका जिल्ला अस्पताल र रुपन्देहीको भीम जिल्ला अस्पतालहरुलाई ५० शैय्याको अस्पतालको रुपमा स्तरोन्नती गर्न उक्त रकम विनियोजन गरिएको हो। त्यस्तै स्थानिय तहमा रहेको स्वास्थ्य चौकीहरुलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सक्ने गरि स्तरोन्नती गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै प्रदेश मातहतका भिम अस्पताल, रुकुम पूर्वको अस्पताल, बर्दिया जिल्ला अस्पताल र नवलपरासीको पृथ्वी चन्द्र अस्पतालमा नयाँ भवन निर्माण गर्न २३ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो बजेट गत वर्षको भन्दा ६ करोड ४३ लाखले कमी हो । कर्णाली प्रदेश सरकारः नयाँ गाडी नकिन्ने रोजगारीलाई प्राथमिकता दिने कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७३ करोड १३ लाख ५३ हजारको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सोमबार कर्णाली प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् । विनियोजित बजेटमध्ये पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार र चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार विनियोजन गरिएको छ। जसमा वित्तीय हस्तान्तरणतर्फ २ अब ९९ करोड ६५ लाख विनियोजन गरिएको छ । प्रदेश सरकारले रोजगारीतर्फ २ अर्ब ५७ करोड २६ लाख र अन्य कार्यक्रम तथा प्रशासनिक खर्चतर्फ ८ अर्ब ५१ करोड ९० लाख ३२ हजार बजेट विनियोजन गरेको मन्त्री ज्वालाले बताए । प्रदेशले आगामी आर्थिक वर्षका लागि ३० करोड ५ लाख ५३ हजार राजस्व उठाउने लक्ष्य लिएको छ । बजेट प्रस्तुत गर्दै मन्त्री ज्वालाले कोरोनाका कारण मृत्यु हुने नागरिकका परिवारलाई १ लाख राहत दिने घोषणा गरेका छन् । प्रदेश सरकारले विभिन्न कार्यक्रमहरुबाट धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने बजेटमा उल्लेख छ । कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष सार्वजनिक खर्चमा मितव्ययिता ल्याउनको लागि एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन खरिद नगर्ने भएको छ। यस्तै प्रदेशले आगामी आर्थिक वर्षमा एम्बुलेन्सलगायत अत्यावश्यकबाहेक कनै पनि सवारीसाधन खरिद नगर्ने बताएका हुन्। स्रोतको संकुचनलाई मधयनजर गर्दै आगामी आर्थिक वर्षमा कार्यालय सञ्चालन, मर्मत, इन्धन, विविध खर्च, भ्रमण खर्च, फर्निचर अत्यावश्यकबाहेकका गोष्ठी सेमिनार शीर्षकको बजेट विनियोजन नगरिएको बताएका हुन् । सुदूरपश्चिम प्रदेशको प्राथमिकता पनि स्वास्थ्य कृषि र भौतिक पूर्वाधार सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७७/७८ को बजेटमा स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारका योजनालाई प्राथमिकता दिने उल्लेख गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेटमा प्रस्तुत गर्दै सो कुरा उल्लेख गरिएको छ । कुल बजेटको चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विजियोजन गरिएको छ । प्रदेश सरकारले सरकारले स्वास्थ्य क्षेत्रको सुदृढिकरण एवंम सेवा सुधारका लागि तीन अर्ब २६ करोड ६६ लाख बजेट विनीयोजन गरेको छ । कोरोना भाइरसबाट सिर्जित स्वास्थ्य चुनौतीलाई लक्षित गरेर संक्रमण नियन्त्रणका लागि अस्पतालको सुधार एवंमं सेवा विस्तारका लागि बजेट विनीयोजन गरिएको हो। यस्तै प्रदेशका नौ वटै जिल्लामा सडक आयोजना सञ्चालन गर्न ४ अर्ब ७२ करोड, सिचाई योजना निर्माणका लागि एक अर्ब ४१ करोड, खानेपानीका योजनाका लागि ९७ करोड, बैतडीको सुर्नया नदी र दार्चुलाको नौगाड नदीमा जलविद्युत आयोजना सञ्चालन तथा थप दुई वटा आयोजनाको सम्भाव्यता अध्ययनका लागि पाँच करोड रुपैयाँ विनीयोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । गत बर्ष सुदूरपश्चिम प्रदेश सरकारले २८ अर्वको बजेट ल्याएको थियो ।
चीनमा फेरि बढ्दै कोरोना, बेइजिङमा लगातार दोस्रो दिन रेकर्ड
काठमाडौंः चीनमा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३६ संक्रमित राजधानी बेइजिङका हुन् । बेइजिङमा लगातार दोस्रो दिन संक्रमणको रेकर्ड कायम भएको हो । एक दिनअघि त्यहाँ समान संख्यामा मानिसहरूलाई स संक्रमण भएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार बेइजिङको हेडियन क्षेत्रको अर्को थोक बजारमा संक्रमण भेटिएको छ, जुन यस बजार र आसपासका १० क्षेत्रमा बजार बन्द गरिएको छ । हप्ताको सुरुमा बेइजिङ संक्रमण भएका नयाँ संक्रमणको स्रोतलाई खाद्य र पेय पदार्थको ठूलो थोक बजारसँग जोडिएको भेटिएको छ । शिन्फादी भनिने यो बजार बन्द गरिएको छ । जसले यो बजार भ्रमण गरेका छन् वा बजारका मानिसहरूसँग कुनै सम्पर्क राखेका छन्, ती हजारौं व्यक्तिहरू परीक्षण गरिरहेका छन् । कोरोना महामारी गत वर्ष चीनबाट शुरू भएको थियो, तर यो धेरै हदसम्म नियन्त्रण गरिएको थियो । तर गत हप्ता बेइजिङमा धेरै संक्रमणका घटना सार्वजनिक भएका थिए । अधिकारीहरूका अनुसार बेइजिङसँगैको हेबेई प्रान्तमा पनि तीनजनामा कोरोना देखिएको छ ।
प्रदेश २ मा थपिए १७१ संक्रमित
वीरगञ्जः पछिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय ७१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सिराहामा ४ जना, धनुषामा ४ जना, महोत्तरीमा ३० जना, सर्लाहीमा २३ जना, रौतहटमा ९८ जना, बारामा २ जना र पर्सामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये पर्सामा तीन र रौतहटमा १ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । त्यस्तै, प्रदेश २ मा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् । प्रदेशका विभिन्न अस्पताल अन्र्तगत रहेका आइसोलेसनमा उपचारपछि उनीहरु स्वस्थ भई घर फर्केका हुन् । प्रदेश २ मा कोरोना संक्रमण मुक्त भई घर फर्कनेको संख्या ४ सय ७८ पुगेको छ ।
नेपाल प्रहरीका ७३ इन्सपेक्टरको पदस्थापन, को कहाँ ? (सूचीसहित)
काठमाडौंः प्रहरी प्रधान कार्यालयले ७३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को पदस्थापन गरेको छ । गृह मन्त्रालयको आइतबार बसेको सचिवस्तरको बैठकले प्रहरी नायव निरीक्षक (सई) बाट इन्सपेक्टरमा बढुवा भएकालाई पदस्थापन गरेको हो । हेर्नुहोस् सूची को कहाँ ?
काठमाडौंमा संक्रमितको संख्या ३४ पुग्यो
काठमाडौंः आज काठमाडौंमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा दुई पुरुष र दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै काठमाडौंमा संक्रमितको संख्या ३४ पुगेको हो । काठमाडौंका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ । यसअघि कोरोना बिरामीमुक्त भएको काठमाडौंमा फेरि संक्रमित बढ्न थालेका हुन् । काठमाडौं कोरोना बिरामीमुक्त भएपछि यहाँ लकडाउन खुकुलो बनाइएको थियो । बाहिरका जिल्लाबाट सहजै उपत्यका प्रवेश दिइएको थियो । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरे पनि उपत्यकामा लुकिछिपी मानिसहरू उपत्यका भित्रिए । कोरोना संक्रमित देखिएपछि उपत्यकाका जोखिमपूर्ण विभिन्न ठाउँहरूलाई सिल गरिएको थियो । अहिले लकडाउन खुकुलो भएसँगै फेरि संक्रमित थपिने हुन् कि भन्ने चिन्ता थपिएको छ ।
सीमा विवाद समाधानका लागि सहजीकरण गर्न तयार छुः बाबुराम भट्टराई
काठमाडौंः पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल-भारत सीमा विवाद समाधानका लागि वार्ताको सहजीकरण गर्न आफू तयार रहेको बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा वार्ताको वातावरण निर्माणका लागि भारतीय नेतासँग आफूले छलफल गरिरहेको समेत बताए । उनले भारतीय नेताहरुले वार्ताको वातावरण बनाउन आफूलाई पटकपटक आग्रह गरेकोसमेत जानकारी दिए । ‘भारतका विदेशमन्त्री जयशङ्कर, अर्थमन्त्री निर्मला सीतारमन जेएनयुकै सहपाठी हुुनुहुन्छ’, पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने, ‘उहाँहरुसँग भावनात्मक सम्बन्ध पनि भएकाले बेलाबेलामा सम्पर्क भइरहेको छ ।’ उनले भने, ‘अब त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवार ढङ्गले लाग्नुपर्छ ।’ उनले वार्ताको नेतृत्व सरकारले गर्नुपर्ने भन्दै आफू सहजीकरण गर्न सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको बताए । पूर्वप्रधानमन्त्री डा. भट्टराईले वार्ता र संवादकै माध्यमबाट २ देशबीचको वर्तमान सीमा विवादको समाधान खोजिनुपर्नेमा जोड दिए । उनले देशको खोसिएको भूमि प्राप्त गर्न फौजी ढङ्गले अघि बढ्नु अहिलेको सन्दर्भमा असान्दर्भिक हुने बताए । ‘कालापानी क्षेत्रका विषयमा जुन कुरा उठेको छ, त्यो हाम्रो भूमि हो, हाम्रो भूमि कसैले खोसेर लान त सक्दैन, डा. भट्टराईले भने, ‘अब अत्यन्त जिम्मेवार ढङ्गले राजनीतिक र कूटनीतिक वार्तामार्फत समाधानको बाटो खोज्नु उपयुक्त हुन्छ ।’ उनले आफ्नो देशको मिचिएको भूमिमा भोगाधिकार स्थापित गर्न फौजी ढङ्गको बल प्रयोग गरेर भारतीय सेनालाई निष्कशित गर्नु एउटा बाटो भए पनि अहिलेको विश्वमा त्यो बुद्धिमानी र व्यावहारिक नहुने बताए । पूर्वप्रधानमन्त्री डा. भट्टराईले वार्ताको पहल नगरी गरिएका वक्तव्यबाजीले मात्र समस्याको समाधान नहुनेसमेत दाबी गरे । पूर्वप्रधानमन्त्री डा. भट्टराईले सीमासम्बन्धी विवाद, पारवहनसम्बन्धी सन्धि सम्झौता, अर्थ वाणिज्य सम्बन्ध विषय र अन्य विभिन्न सन्धि सम्झौता एकमुष्ट ढङ्गले समाधान गर्न प्रबुद्ध समूहबाट नै सम्भव भएकोसमेत बताए । ‘नेपाल र भारतका जनताबीचमा कहिलै पनि दुस्मनी रहेको छैन’ उनले भने, ‘खाली सत्ता र सरकारबीचमा मात्र खटपट भएको हो त्यसैले इपिजीमार्फत् नै समस्याको सकभर हल गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो ।’
आज कुन जिल्लामा कति संक्रमित थपिए? (सूचीसहित)
काठमाडौंः नेपालमा आज ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या ६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीरगञ्जमा भएको परीक्षणमा ११ जना, पोखरामा गरिएको परीक्षणमा ५ जना, सेती अस्पतालमा भएको परीक्षणमा ९ जना, भेरी अस्पताल प्रयोगशालामा २४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा ५ जना, जनकपुरमा गरिएको परीक्षणमा २४ र भरतपुर अस्पतालमा भएको परीक्षणमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै रुपेन्देहीमा ७ जना, विराटनगरमा २५ जना, सुर्खेतमा भएको परीक्षणमा १ सय ७ जना, धुलिखेल अस्पतालमा ५ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ४३ जना, शिक्षण अस्पतालमा १ जना, हेटौंडामा २५ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा ३ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ३९ जनामा पोजेटिभ देखिएको छ । पछिल्लो केही दिनयता सरकारले पीसीआर परीक्षण बढाएको छ । आइतबार ५ हजार ३ सय ६ गरी आजसम्म १ लाख ३८ हजार ६ सय ८३ वटा पीपीआर विधिबाट परीक्षण भएका छन् । आइतबार आरडिटी विधिबाट ८ हजार ६ सय १५ गरी अहिलेसम्म २ लाख १९ हजार ३ सय ३६ वटा परीक्षण भएका छन् । देशभरका आइसोलेसनमा अहिले ५ हजार १ सय ५१ जना उपचाररत रहेका छन् । आइतबार ६७ गरी अहिलेसम्म १ हजार जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले क्वारेन्टाइनमा १ लाख ३३ हजार ८ सय २९ जना रहेका छन् । सरकारले थप एक पीसीआर मेसिन जडान गरेको छ । पोखरामा नयाँ मेसिन जडान भएसँगै देशभरी २२ स्थानबाट पीसीआर परीक्षण सुरु भएको छ ।
सुदूरपश्चिममा थप ६८ जनामा कोरोना पुष्टि (विवरणसहित)
कैलालीः सुदूरपश्चिममा सोमबार ६८ जनामा कोरोना पोजिटिभ देखिएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६८ जनामा कोरोना पोजिटिभ देखिएको हो । ३ जना महिला र ६५ जना पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार बैतडी २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका तीन जनामा कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ३२ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढी कैलालीका ९३ जना, कञ्चनपुरमा ६६, डडेल्धुरामा ३९, डोटीका ३७, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म सुदूरपश्चिममा कोरोना पुष्टि भएका २ जनाको मृत्यु भइसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन् ।
भीमदत्त नगरपलिकामा परामर्श बैठकः यस्त छन् बजेट बनाउन सुझाव
महेन्द्रनगरः जिल्लाको भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेटका लागि राजनीतिकदलसहित विभिन्न क्षेत्रका सरोकारवालाबाट सुझाव लिएको छ । भीमदत्त नगरपालिकामा आइतबार वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धि सरोकारवालासंग परामर्श बैठक गरी सुझाव लिएको हो । भीमदत्त नगरपालिकाले असार ४ गते नगर सभाको तयारी गरिएको छ । बैठकमा सहभागी राजनीतिक दलका नेता सहित, पूर्व जनप्रतिनिधि, उद्यमी व्यवसायी, अधिकारर्मी, नागरिक समाजका अगुवाले कोभिड १९ को महामारी, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का भीमदत्त नगर कमिटी अध्यक्ष रमेश तिरुवाले कोरोना महामारीसहित विपद्लाई सम्बोधन हुने गरी नीति कार्यक्रम र बजेट ल्याउनु पर्ने बताए । ‘कोरोना महामारी छ, बर्खा याम पनि सुरु हुँदैछ, विपद् अरु पनि बढ्दै जाने छन्, त्यस कारण विपद्लाई प्राथमिकता दिएर बजेट ल्याउने पर्ने देखिन्छ’ उनले भने, ‘योसंगै विकास निर्माणलाई हेरिनु पर्छ ।’ नेकपा नगर अध्यक्ष तिरुवाले क्रमागत रुपमा बजेट विनियोजन हुने योजना यस वर्षको बजेटमा समावेश गरिनु पर्नेमा जोड दिए । नेपाली काँग्रेस भीमदत्त नगर सभापति पदमराज अवस्थीले कोरोना महामारीका कारण उत्पन्न संकट समाधान हुने गरी बजेट आउनु पर्नेमा जोड दिए । नगर सभापति अवस्थीले भारतबाट घर फर्किएका वासिन्दालाई बजेटमा प्राथमिकता दिनु पर्ने बताए । बैठकमा बुद्धिजीवि कृष्णदत्त भट्टले बीमा, सिँचाई, कोल्ड स्टोर, मलखाद, हाट बजार सञ्चालन लगायतका कार्यक्रमलाई आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकता दिनु पर्ने बताए । ‘कृषिलाई प्राथमिकता दिएर बजेट ल्याउनु पर्छ, कोरोना भन्दा ठूलो महामारी भोकमरीको हुन सक्छ’ उनले भने, ‘त्यसका लागि भोकमरी हटाउने गरी कृषि कार्य गरिनु पर्छ ।’ होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष प्रमान्द भण्डारीले कोरोना महामारीका कारण ध्वस्त पर्यटन व्यवसायलाई सहयोग पुग्ने कार्यक्रम बजेटमा ल्याउनु सुझाव दिएका छन् । महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई सहयोग गर्दै आएकोमा आगामी वर्षको बजेटमा पनि स्वास्थ्यलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए । ‘भीमदत्त नगरपालिका नमूना नगरपालिका बन्ने दिशातिर गएको छ, त्यसका लागि सक्दो सहयोग गर्छौ’ उनले भने,‘अस्पताल सुधार सहित स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकता दिनु आवश्यक छ ।’ अध्यक्ष जोशीले महाकाली उप प्रादेशिक अस्पताललाई प्रादेशिक बनाउन सुदूरपश्चिम सरकारसित लडाई सुरु गरिएको बताए । ‘सेतीलाई प्रादेशिक भनेको छ, महाकालीलाई उप प्रादेशिक भनेको छ, त्यो केही दिन अघि मात्रै उप भनियो’ उनले भने,‘यो राम्रो भएन, अब प्रादेशिक बनाउन लडाई सुरु भएको छ, यसमा सबैको साथ सहयोगको आश गरिएको छ ।’ उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लि.प्रबन्ध निर्देशक गणेश बहादुर चन्दले सहकारी क्षेत्रको प्रवद्र्धन हुने गरी आगामी वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन सुझाव दिए । पूर्वाधार निर्माणमा भीमदत्त नगरपालिकाको प्रगति लोभलाग्दो भएको उल्लेख गर्दै प्रबन्ध निर्देशक चन्दले भने, ‘कोरोना महामारी छ, त्यसलाई सम्बोधन हुने गरी स्वास्थ्यलाई प्राथमिकता दिनु पर्छ, सहकारी क्षेत्रलाई पनि प्राथमिकता दिएर जान सके राम्रो हुनेछ ।’ आगामी वर्षको बजेटमा एक सहकारी एक उत्पादन कार्यक्रम समावेश गरिएकोमा चन्दले नगरपालिकालाई धन्यवाद दिदै नगर क्षेत्रभित्रका सहकारीको वर्गीकरण गरी जिम्मेवारी दिनु पर्ने उल्लेख गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका सभापति टेकराज उप्रेती, कञ्चनपुर उद्योग बाणिज्य संघ कार्य समितिका सदस्य प्रेम सिह भाट, गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष नरेश सिलाल, नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरका अध्यक्ष अनिता ढुङ्गाना, नेपाल पत्रकार महासंघ कञ्चनपुरका निवर्तमान अध्यक्ष लक्ष्मण तिरुवा, व्यवसायी विष्णु कँडेल, माइती नेपालका महेश्वरी भट्ट, व्यवसायी पूर्ण सिह साउँद लगायतले सुझाव दिएका छन् । बैठकमा नगर भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कोरोना महामारीका कारण उत्पन्न संकट समाधान हुने गरी आगामी वर्षको नीति, कार्यक्रम र बजेट ल्याइने बताए । ‘कोरोना महामारीकाबीच आगामी वर्षको बजेट ल्याउने तयारीमा छौ, त्यसका लागि आजको परामर्श बैठक गरिएको छ, सहभागी भई दिनु भएकोमा सबैमा धन्यवाद दिन चाहन्छु’ नगर प्रमुख विष्टले भने, ‘बैठकमा आएका सबैको सल्लाह सुझावका आधारमा स्वास्थ्य, कृषि, रोजगार, उत्पादनलाई प्रा्रथमिकता दिएर बजेट ल्याउँछौ ।’ बैठकमा नगर प्रमु्ख विष्ट सहित नगर उप प्रमुख सुशिला चन्द सिह, प्रमुख प्रशासकीय अधिकृत पुस्कर बहादुर सिह, पूर्व नगर उप प्रमुख ईश्वरी प्रसाद खरेल लगायतका सहभागी भएका छन् । बैठकमा भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालय सिह ऐरले स्थानीय तह निर्वाचनपछिको कार्य प्रगति विवरण प्रस्तुत गरे । नगर प्रमुखको सचिवालयका नायब सुब्बा दिनेशराज भट्टले आगामी वर्षको नीति, कार्यक्रम र बजेटका लागि विषय प्रस्तुत गरेका थिए ।

