नेपाली कांग्रेसका १ नेतालाई पनि देखियो कोरोना

धनगढीः कैलालीमा नेपाली कांग्रेसका १ नेतामा पनि कोरोना संक्रमण देखिएको छ ।

गोदावरी नगरपालिकाबासी कांग्रेसका ति नेतालाई धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना देखिएको हो ।

मंगलवार धनगढीका ८ जनामा कोरोना पुष्टि भएको बताइएकोमा पछि ७ जना मात्रै धनगढीका र १ जना गोदावरीका रहेको खुलेको थियो।

गोदावरीका पुरुष काग्रेसका नेता रहेको खुलेको हो । स्वाब संकलनमा उनले धनगढी उपमहानगरपालिका–१२ ठेगाना लेखाएका थिए । उनलाई अहिले आइसोलेसनमा राखिएको छ ।

बिहानै थपिए २१ संक्रमित

काठमाडौंः बुधबार बिहान गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरू नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका १४ जना, मध्यबिन्दु नगरपालिकाका २ जना, कावासोती नगरपालिकाका १ जना र पर्वतको फलेबास नगरपालिकाका ३ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले जनाएको छ । एकजनाको ठेगाना खुलेको छैन । या सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ ।

परीक्षणबाट सङ्क्रमणमुक्त देखिएपछि मात्रै घर पठाउँछौंः मुख्यमन्त्री गुरुङ

स्याङ्जाः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसबाट सङ्क्रमित बनेकाहरुलाई सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर पठाउने बताएका छन् । मङ्गलबार स्याङ्जामा कोरोना सङ्क्रमित भएर जिल्लाका विभिन्न अस्पतालमा आइसोलेसनमा रहेर उपचार गराइरहेका सङ्क्रमितको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुका साथै आइसोलेसनको निरीक्षण गर्ने क्रममा मुख्यमन्त्री गुरुङले सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर पठाउने बताएका हुन् । मुख्यमन्त्री गुरुङले भने, ‘विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले कोरोना सङ्क्रमण भए पनि लक्षण नदेखिएकालाई १४ दिनपछि परीक्षणबिना घर पठाउने भने पनि प्रदेश सरकारले सङ्क्रमितको पिसीआर परीक्षण गरेर सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर पठाउँछ ।’ मुख्यमन्त्री गुरुङले भिरकोटमा रहेको कालिका सामुदायिक अस्पताल हेलु र गल्याङ नगरपालिकामा रहेको नगर अस्पतालको निरीक्षण गरेका थिए । मुख्यमन्त्री गुरुङले भारतबाट आएकालाई राख्न क्वारेन्टिनको व्यवस्थापनसँगै आइसोलेसन अस्पताल निर्माणमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकाले सोहीअनुसार काम गर्नुपर्ने बताए । प्रदेश सरकार जनताको स्वास्थ्यप्रति सचेत रहेको बताउँदै मुख्यमन्त्री गुरुङले सबै मिलेर कोरोनाको सामना गर्नुपर्नेमा जोड दिए । रासस

कोरोना भाइरसको औषधि पत्ता लाग्यो

एजेन्सीः संसारभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ को औषधि पत्ता लागेको छ । सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने बेलायतका स्वास्थ्य विज्ञहरूले बताएका छन् । यसले भेन्टिलेटरमा राखिएका बिरामी आठमा एक जना र अक्सिजन दिइएका २५ मा एकजनाको जीवन जोगाउने देखिएको विज्ञहरुले बताएका छन् । यो औषधि केही अघि पत्ता लागेको भए करिब पाँच हजार मानिसको अकाल मृत्यु रोक्न सकिने पनि बिबिसीलाई उद्धृत गर्दै बेलायतका स्वास्थ्य विज्ञहरूले जनाएका छन् । मृत्युदर घटाउन सहयोगी हुने प्रमाणित यो नयाँ खालको औषधि नभएको र खासै महँगो पनि नभएको उनीहरुले बिबिसीसँग भनेका छन् । यो पुरानो र सस्तो खालको स्टेरोइड हो । खासगरी यसले उच्च सङ्ख्यामा कोभिड १९ का बिरामीहरू देखिएका गरिब देशहरूलाई ठूलो राहत दिन सक्ने ठानिएको छ ।

भारतमा ह्वात्तै बढ्यो मृतक संख्या, कायम भयो नयाँ रेकर्ड

काठमाडौंः भारतमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन २ हजारभन्दा बढीको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ । अहिलेसम्म २४ घण्टामा चार सय समेत ननाघेको अवस्थामा मंगलबार एकैदिन २ हजार ४ जनाको ज्यान गएको हो । विश्वमै २४ घण्टामा सबैभन्दा बढी भारतमा ज्यान गएको हो । पछिल्लो २४ घण्टामा २ हजार ४ जनाको मृत्यु हुँदा ११ हजार ९० जना संक्रमित थपिए । संक्रमितक संख्या २४ घण्टामा विश्वमै तेस्रो हो । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुने मानिसको संख्या ३ लाख ५४ हजार १६१ पुगेको हो । भारतमा संक्रमितमध्ये १ लाख ८७ हजार ५५२ जना संक्रमणमुक्त भएका छन् । कहाँ कति संक्रमित ?

शव व्यवस्थापनमा खटिएका सैनिकलाई कोरोना पोजिटिभ

काठमाडौंः दाङको घोराहीमा कार्यरत १ नेपाली सैनिकलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ । बेलझुण्डी कोरोना विशेष अस्पतालका हेल्थ असिष्टेन्ट द्रोर्ण वलीका अनुसार ३३ वर्षीय ती नेपाली सेनालाई सोमबार कोरोना पोजिटिभ देखिएको हो । ताप्लेजुङ घर भएका ति सैनिकलाई आजै अस्पतालको आइसोलेनसनमा ल्याइएको वलीले बताए । ‘उहाँको पद खुलाइएको छैन,’ वलीले भने, ‘हामीलाई नेपाली सेना भन्ने मात्रै जानकारी दिइएको छ।’ ती सैनिकलाई शव व्यवस्थापन गर्ने क्रममा संक्रमण भएको स्वास्थ्यकर्मीले बताएका छन् । यसअघि उनी घोराही उपमहानगरपालिका १८ अम्वापुरका एक ५९ वर्षीय कोरोना पुष्टि भएको शव व्यवस्थापनमा खटिएका थिए। दिल्लीमा उपचारका क्रममा मृत्यु भएपछि अन्तिम संस्कारका लागि दाङ ल्याइएका मृतकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शंका लागेर पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। ती मृतकको शव घोराहीकै एक जंगलमा लगेर गाडिएको थियो।

कांग्रेसले बुझायो १२० स्थानबाट सरकारलाई ज्ञापनपत्र

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसले कोरोना भाइरस सङ्क्रमण महामारी विरुद्धको सङ्घर्षमा देखिएको अर्कमण्यता, भ्रष्टाचार र गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध आज स्वदेश र विदेशका १२० स्थानबाट प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बुझाएको छ । प्रतिकूल परिस्थितिमा पनि कांग्रेसले कोरोना विरुद्धको सङ्घर्षमा समस्त नेपाली जनताको असन्तुष्टि, सुझाव र आग्रहलाई सरकार एवं प्रधानमन्त्री समक्ष प्रस्तुत गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले सामाजिक दूरी कायम गर्दै सङ्घीय संसद्, संसदीय दलको तर्फबाट प्रधानमन्त्री समक्ष, कांग्रेस प्रदेशसभा संसदीय दलको तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुमा प्रदेश सरकारको मुख्यमन्त्री समक्ष र सङ्घीय सरकारसँग सम्बन्धित विषयवस्तुमा प्रदेश सरकारका मुख्यमन्त्रीमार्फत् प्रधानमन्त्री समक्ष विशेष ज्ञापन पत्र बुझाएको हो । यसैगरी काँग्रेसका ७७ वटै जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीसमक्ष, विदेशस्थित नेपाली जनसम्पर्क समितिको तर्फबाट नेपाली दूतावासमार्फत् प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको मुख्यसचिव पौडेलले बताए । कोरोनाका कारण विकराल बन्दै गएको परिस्थिति बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै बुझाइएको विशेष ज्ञापनपत्रमार्फत आरडिटी परीक्षण तत्काल रोकेर पिसीआर परीक्षणको दायरा व्यापक बढाइनुपर्ने, स्वास्थ सामग्रीको अपर्याप्तस्थिति तत्काल अन्त्य गरेर अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्थापन गरिनुपर्ने माग गरिएको छ । यसैगरी क्वारेन्टिनमा मृत्युदेखि बलात्कारसम्मको घटनालाई गम्भीरतापूर्वक लिएर दोषीलाई कारवाही गर्दै तत्काल देशव्यापी रूपमा क्वारेन्टिनहरुलाई मापदण्डयुक्त बनाइनुपर्ने, श्रमिक, बेरोजगार, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र एकल महिलाका लागि विशेष राहत प्रबन्ध गरिनुपर्ने काँग्रेसले माग गरेको छ । विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने क्रममा निर्धारित अत्यन्तै महङ्गो हवाई भाडा फिर्ता लिइ खर्च हाल्न नसक्ने स्थितिमा पुगेका श्रमिकलाई निःशुल्क उद्धार गर्नुपर्ने, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारका दोषीलाई कारवाही र यस बीचमा भएको भनिएको दश अर्ब रकमको हिसाब सार्वजनिक गरिनुपर्ने ज्ञापन पत्रमा माग गरिएको छ । लकडाउनका कारण बन्द विद्यार्थीको पठनपाठन सुचारू गर्न राष्ट्रिय विमर्श साथ उनीहरुको शैक्षिक भविष्य सुरक्षाका लागि विशेष कार्य योजना यथाशिघ्र निर्माण गरिनुपर्ने, खेतीको मौसमलाई ध्यानमा राखेर कृषि उत्पादनका सम्बन्धमा मल, बीउदेखि आवश्यक प्रोत्साहन सम्मको, समन्वयमा सम्बन्धित निकायहरुले तीब्र रुपले कार्य गर्नुपर्ने, साना/ठूला व्यवसायीले भोग्नु परेको आर्थिक चुनौती सामना गर्न आवश्यक राहत योजना निर्माण गर्दै लकडाउन खुलेपछि मात्रै कर तिर्ने सहुलियतपूर्ण व्यवस्थापन गरिनुपर्ने र औद्योगिक उत्पादनमा सरिक श्रमिकदेखि श्रमजीवी पत्रकारसम्मको रोजगार सुरक्षा गर्दै, मिडिया हाउससम्मलाई राहत योजना ल्याइनुपर्ने कांग्रेसको माग छ ।

कात्तिक ८ बाट अनिवार्य ‘क्लिनफिड’ प्रविधि लागू

काठमाडौंः विदेशी टेलिभिजन च्यानल प्रसारकहरूले कात्तिक ८ गतेबाट अनिवार्य रूपले ‘क्लिनफिड’ प्रविधि लागू गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागले सोमबार यस्तो सूचना जारी गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा ६ को उपदफा १ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको हुनाले सो सूचना जारी गरिएको जानकारी दिए । नेपालमा प्रसारणका लागि डाउनलिङ्कको अनुमति लिने च्यानलको सङ्ख्या १ सय ४७ छन् ।

आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

काठमाडौंः नेपालमा मंगलबार विभिन्न जिल्लामा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल संख्या ६ हजार ५ सय ९१ पुगेको छ । जसमा ४ सय ९९ जना महिला र ६ हजार ९२ जना पुरुष रहेका छन् । त्यस्तै आज १ सय १७ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै कुल डिस्चार्ज १ हजार १५८ पुगेको छ । कोरोना भाइरस ७३ जिल्लामा फैलिएको छ । पछिल्लो २४ घण्टामा झापा १, पाँचथर १, सुनसरी र सिराहामा दुईदुई जना, रौतहटमा २८, महोत्तरी १७, पर्सा २, गोरखा १०, नवलपरासी पूर्व २, वाग्लुङ १,तनहुँ २, कास्की ३, स्याङ्जा ४, अछाम १, बैतडी २१, डोटी २०, कन्चनपुर ११, कैलाली २३, बाँके १, बर्दिया ९, सप्तरी ३, नवलपरासी पूर्व १, अर्घाखाँची ३, रुपन्देशी १, दैलख ५, सुर्खेत ४, धनुषा २१, रामेछाप १, सल्यान १, दाङ ५६, अर्घाखाँची ६, काठमाडौं १, महोत्तरी ७२, मोरङ १ ,रोल्पा १, रौतहट १४, रुपन्देही ३, सर्लाहीमा १६ जनामा कोरोना पोजिटिभ देखिएको छ । यस्तै, काठमाडौंमा थप एकजना महिला सङ्क्रमित भएका छन् । रेड जोनमा ५ सय ३ जना रहेका छन् । सङ्क्रमणबाट अहिलेसम्म १९ जनाको मृत्यु भएको छ ।

उत्तर कोरियाद्वारा अन्तर-कोरियाली सम्पर्क कार्यालय ध्वस्त

सियोलः उत्तर कोरियाली दक्षिण कोरियासँगैको सीमाक्षेत्रमा रहेको आफ्नो अन्तर–कोरियाली सम्पर्क कार्यालयको भवन ध्वस्त पारेको छ । दुबै कोरियाबीच पछिल्लो समय बढ्दै गएको तनाबकै बीच उत्तर कोरियाले यस्तो कदम चालेको अनुमान गरिएको छ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियाको सीमावर्ती शहर काइसोङमा रहेको सम्पर्क कार्यालय भवन अपराह्न २.४९ मिनेटमा ध्वस्त बनाइएको जनाएको छ । यस बारेमा मन्त्रालयले कुनै थप विवरण दिएको छैन । योनहाप न्यूज एजेन्सीले सम्प्रेषण गरेका तस्वीरहरुमा अन्तर-कोरियाली सम्पर्क कार्यालय रहेका स्थानहरुबाट धुँवाको मुस्लो उडेको देखिएको छ । एजेन्सीका अनुसार हाल बन्द रहेको औद्योगिक क्षेत्रमा अन्तर-कोरिया सम्पर्क कार्यालय रहेका थिए । उत्तर कोरियाले उक्त सम्पर्क कार्यालय भत्काउने यसअघि नै धम्की दिँदै आएको थियो । खासगरी सीमावर्ती क्षेत्रबाट दक्षिण कोरियाली अधिकारवादी समूह तथा व्यक्तिहरुले उत्तर कोरियाली नेताविरुद्ध पर्चा बेलुनमार्फत् उडाएको र त्यसलाई रोक्न दक्षिणले पर्याप्त काम नगरेको उत्तर कोरियाली आरोप लगाउँदै आएको थियो । केही विज्ञहरुले भने अमेरिकी अग्रसरतामा उत्तर कोरियाविरुद्ध लगाइएका प्रतिबन्धहरुका कारण संयुक्त आर्थिक परियोजनाहरु पुनः शुरु गराउन दक्षिण कोरिया असफल भएकाले त्यसैको रिस फेर्न संयुक्त कार्यालय ध्वस्त बनाइएको बताएका छन् । शनिबार राति उत्तर कोरियाली नेताकी बहिनी किम यो जोङले उपयोगिताविहीन अन्तर-कोरियाली सम्पर्क कार्यालय ध्वस्त पारिदिने चेतावनी दिएका थिए । सन् २०१८ मा दुबै कोरियाबीच सहमतिका अनुसार काइसोङमा पहिलो सम्पर्क कार्यालय स्थापना गरिएको थियो । यस कार्यालयले दुबै मुलुकबीचको संचार सम्पर्कलाई सहज र सुदृढ बनाउने लक्ष्य राखिएको थियो । यो कार्यालय स्थापना हुँदाताका दुबै कोरियाबीचको सम्बन्ध निकै प्रगाढ भएको थियो । उत्तर कोरिया आणविक निःशस्त्रीकरण वार्तामा पनि बसेको थियो । अघिल्लो मङ्गलबार उत्तर कोरियाली सेनाले अन्तर-कोरियाली शान्ति सम्झौता बमोजिम तोकिएको असैनिक क्षेत्रमा पुनः प्रवेश गर्ने चेतावनी दिएको थियो । उत्तर कोरियाली नेता किम जङ अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ को शुरुमा भियतनाममा भएको दोस्रो द्विपक्षीय वार्ता विना निष्कर्ष समाप्त भएसँगै दुबै देशबीचको सम्बन्ध सोचेजति सकारात्मक हुन सकेको छैन । एजेन्सी

दक्षिण कोरियाद्वारा नेपाललाई ५० हजार पीसीआर किट सहयोग

काठमाडौंः दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ । देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले आज ६ करोड २५ लाख बराबरको ती परीक्षण उपकरण आज सरकारलाई हस्तान्तरण गरेको छ । कोहकाका तर्फबाट यहाँस्थित कोरियली राजदूतावासको कार्यबाहक राजदूत सन चिल कोन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. राजन पोखरेललाई हस्तान्तरण गरे । कोरियाले आज २५ हजार थान परीक्षण उपकरण उपलब्ध गराएको तथा बाँकी स्वास्थ्य सामग्री आगामी शनिबारबाट प्रदान गरिने कोहकाले जनाएको छ ।

तिनाउ खोलामा जिप खस्यो

बुटवलः सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड अन्तर्गत सिद्धबाबा मन्दिरन जिकैबाट जिप तिनाउ खोलामा खसेको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको प्र ३०१-२२ च ४५२२ इसुजुको डबल क्याप गाडी सिद्धबाबा मन्दिर नजिकैबाट तिनाउ खोलामा खसेको हो । घटनास्थल पुगेका कार्यालयका प्रहरी नायब निरीक्षक हुमानन्द खनालले गाडी तिनाउ खोलामा खसेको जानकारी दिए । गाडीमा सवार ६ जना सबै पाल्पाको तिनाउ गाउँपालिकाका टिपर व्यवसायी रहेको प्रहरीले जनाएको छ। गाडीमा तिनाउ गाउँपालिकाका दया पाण्डे(चालक), बालकृष्ण बस्याल, कृष्ण बस्याल, नन्दु बस्याल, शिव पाण्डे र बिनोद बस्याल रहेका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

काठमाडौंमा थप १ जनामा कोरोना पुष्टि

काठमाडौंः काठमाडौंमा थप १ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ जना महिलामा कोरोना पोजिटिभ देखिएको हो । संक्रमित महिलाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ । सोमबार मात्र काठमाडौंमा २ पुरुष,२ महिला र ललितपुरकी १ महिलामा कोरोना संक्रमण देखिएको थियो । यस्तै, मंगलबार एकै दिन ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार मंगलबार ३ सय ८० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । नयाँ संक्रमितमध्ये ६ हजार ९२ पुरुष र महिला ४ सय ९९ महिला रहेका छन् ।

आइतबार खण्डग्रास सूर्यग्रहण लाग्ने, कुन राशिका मानिसलाई मिल्नेछ लाभ?

काठमाडौंः यही असार ७ गते खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । उनका अनुसार ३ घण्टा ३३ मिनेटसम्म नेपालबाट ग्रहण देखिने छ । शास्त्रीय मान्यताअनुसार ६ असार राती १०ः५० देखि बाल, वृद्ध र बिरामी बाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ । ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी र सो सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने अन्य कामलाई ग्रन्थमा उल्लेख गरिएको छ । सूर्य ग्रहणमा ४ प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा ३ प्रहर (९ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् समेत रहेका गौतमले बताए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । यही विश्वासअनुसार असार ६ गते राती १०ः५० बजेदेखि भोजन गर्नु हुँदैन । असार ७ गतेको सूर्यग्रहण मृगशिरा र आद्र्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए । सूर्यग्रहणको फल राशिअनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हुनुपर्ने बताइएको छ । अरु ८ राशि भएका मानिसले भने सूर्यग्रहण हेर्नुहुँदैन भन्ने मान्यता छ । यस वर्ष नेपालबाट देखिने असार ७ गतेको सूर्यग्रहण मात्र रहेको समितिले जनाएको छ । कुन प्रदेशबाट कतिखेर देखिन्छ सूर्यग्रहण ? खगोल विज्ञानका क्षेत्रमा काम गरिरहेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सङ्घीय राजधानी सहित सातै प्रदेशका राजधानीबाट सूर्यग्रहण देखिने समय समेत सार्वजनिक गरेको छ । काठमाडौँबाट बिहान १०ः५३ः५८ मा सुरू, १२ः४१ः०२ मा मध्य र १४ः२४ः३५ मा अन्त्य हुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रदेश १ को विराटनगरबाट बिहान १०ः५८ः४५ सुरू, मध्याह्न १२ः४७ः०४ मा मध्य र अपराह्न १४ः२९ः२९ मा अन्त्य हुने छ । यसैगरी प्रदेश २ को जनकपुरबाट बिहान १०ः५५ः०१ सुरू, मध्याह्न १२ः४२ः५० मा मध्य र अपराह्न १४ः३६ः२० मा अन्त्य हुनेछ । वाग्मती प्रदेशको हेटौँडाबाट बिहान १०ः५२ः५२ मा शुरु, मध्याह्न १२ः३९ः५८ मा मध्य र अपराह्न १४ः२३ः५५ मा अन्त्य हुने सोसाइटीले जनाएको छ । गण्डकी प्रदेशको राजधानी पोखराबाट बिहान १०ः५०ः४५ मा सुरूरु, मध्याह्न १२ः४१ः५९ मा मध्य र अपराह्न १४ः२१ः१४ मा अन्त्य हुने छ । प्रदेश नं। ५ को बुटवलबाट बिहान १०ः४८ः५० मा शुरु, मध्याह्न १२ः३५ः०६ मध्य र अपराह्न १४ः२०ः०२ मा अन्त्य हुने जनाइएको छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरबाट बिहान १०ः४५ः२४ मा सुरू, मध्याह्न १२ः३०ः१८ मध्य र अपराह्न १४ः१५ः४२ मा अन्त्य हुने छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट बिहान १०ः४२ः४६ मा सुरू, मध्याह्न १२ः२६ः५२ मा मध्य र अपराह्न १४ः१२ः४२ मा अन्त्य हुने अध्यक्ष भट्टराईले बताए । वैज्ञानिक मूल्य मान्यता अनुसार सुरक्षित तरिकाले सबैले ग्रहण हेर्न सकिने पनि सोसाइटीले जनाएको छ । प्रदेश १ बाट सन् १९६५ नोभेम्बर २३ तारिखका दिन बिहान खग्रास (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण लागेको थियो । अब खग्रास सूर्यग्रहण सन् २०६४ फेब्रुअरी १७ मा प्रदेश १ कै दक्षिणपूर्वी भूभागबाट देखिने उनले सुनाए । रासस

नेपालमा आज ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंः नेपालमा आज थप ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार दिउँसो नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । सुदूरपश्चिममा थपिए १७ कोरोना संक्रमित (सूचीसहित) कर्णाली प्रदेशमा ३ सय ४२ जनाले जिते कोरोना  

कर्णाली प्रदेशमा ३ सय ४२ जनाले जिते कोरोना

सुर्खेतः कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भई घर फर्कनेको सङ्ख्या  ३ सय ४२ पुगेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत दुल्लु अस्पताल, सल्यान अस्पतालबाट गरी हालसम्म ३ सय ४२ जना सङ्क्रमितहरू निको भई घर फर्किएका हुन् । मङ्गलबार मात्रै दैलेखको जिल्ला अस्पतालबाट १ सय २० जना, दुल्लु अस्पतालबाट २७ जना र सल्यान अस्पतालबाट ४१ जना र सुर्खेतस्थित प्रदेश अस्पतालबाट ३ गरी कुल १९१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले यसअघि विभिन्न समयमा गरी १ सय ५१ जना डिस्चार्ज भई घर गइसकेको बताए । मङ्गलबारसम्म कोरोना जितेर घर फर्कनेहरूको कुल सङ्ख्या ३ सय ४२ पुगेको र यो क्रम अझै बढ्ने महाशाखाले जनाएको छ । कोरोना जितेर घर फर्कनेहरूले आत्मबल बलियो बनाउन सके केही नहुने बताएका छन् ।