भारतमै बन्यो कोरोना खोप
काठमाडौंः भारतमै कारोना भाइरसविरुद्ध खोप बनेको छ । हैदराबादस्थित औषधि कम्पनी भारत बायोटेकले कोरोनाविरुद्ध खोप विकास गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अब खोप आउने जुलाईमा मानिसमा परीक्षण गर्ने तयारी छ । यसअघि यो खोप जनावरमा परीक्षण गरिएको र नतिजा निकै राम्रो देखिएको निर्माता कम्पनीले दाबी गरेको छ ।
अहिले कोरोनाविरुद्ध विश्वमा १२० भन्दा बढी खोप निर्माण भइरहेका भए पनि मानिसमा परीक्षण गर्ने तहसम्म आइपुगेको यो नै पहिलो हो । यो खोप मानिसमा परीक्षणका लागि नियामक संस्थाले अनुमति दिइसकेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका प्रमुख डाक्टर कृष्णा इल्लाका अनुसार यो खोपको नाम ‘कोवाक्सिन’ राखिएको छ । जुन खोप इन्डियाज नेसनल इन्डस्ट्रिज अफ भाइरोलोजी र इन्डियन काउन्सिल अफ मेडिकल रिर्चको सहयोगमा तयार पारिएको हो ।
प्रधानमन्त्रीको राजीनामा मागिएपछि रिसाए गोकुल, दिए यस्तो चेतावनी
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि उनका विश्वासपात्र गोकुल बाँस्कोटाले आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले प्रधानमन्त्री ओलीमाथि योजनावद्ध किसिमले हमला भइरहेको आरोप लगाएका छन् । पूर्व सञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले यसलाई बदनाम, आक्रमण र ध्वस्त भनेका छन् । उनले लेखेका छन्, ‘अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ । उनले बाँकी घटनालाई धैर्यपूर्वक हेर्न भनेका छन् ।’ उनले लेखेका छन्, ‘प्रधानमन्त्रीका कमजोरी होलान् तर प्रधानमन्त्रीमाथिका हमलाहरू नियोजित डिजाईनका स्पष्ट श्रृङ्खला हुन् । बदनाम, आक्रमण र ध्वस्त चरणहरू यिनै हुन् । बाँकी धैर्यतापुर्वक हेरौं । अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ ।’ आकस्मिकरुपमा मन्त्रीहरुलाई बालुवाटार बोलाए प्रमले, नेकपा संघर्ष निर्णायक मोडमा
आज काठमाडौंका यी स्थानमा बत्ती जाने (सूचीसहित)
काठमाडौंः अजा काठमाडौंका विभिन्न ठाउँमा बत्ती जाने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार चक्रपथ विस्तारको काम गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुन लागेको हो । बुधबार चक्रपथ क्षेत्र वरिपरि विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले बताएको छ । कुलेश्वर वितरण केन्द्रअन्तर्गतको कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ विस्तार कार्यको लागि सडकको दायाँ बायाँको विद्युतीय संरचना स्थानान्तरण हुनेछ । जसका कारण स्वीचाटार पुलबाट सितापाइला चोकसम्मको ११ केभी लाइन चार्ज गर्नु पर्ने भएकोले बुधवार विहान ११ बजेबाट साँझ ५ बजेसम्म लाइन सट डाउन गरिने प्राधिकरणले जनाएको छ । उक्त फिडरअन्तर्गत सितापाइला, बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फेक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउरालीलगायतका क्षेत्रमा बत्ति जाने छ । मर्मतको काम निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्नेछ । साथै नयाँ लाइन चालु गरीने स्थान स्वीचाटार पुलदेखि सितापाइला चोकसम्मा सडकका दायाँ बायाँ निर्माण भएका विदुतिय सरचनाहरुको नजिक नजान तथा नछुन समेत प्राधिकरणले आग्रह गरेको छ ।
यी हुन् प्रधानमन्त्री ओलीको राजीनामा मागे १७ स्थायी कमिटी सदस्य (सूचीसहित)
काठमाडाैं: प्रधानमन्त्री केपी शर्मा ओलीकाे १७ जनाले राजीनामा मागेका छन् । मंगलबार भएकाे नेकपा स्थायी कमिटी बैठकमा बोल्ने १७ जना सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका हुन्। बैठकमा बाेल्ने सबैले ओलीकाे राजीनामा मागेका हुन् । बैठकमा बाेल्ने सबैले कुनैले घुमाएर कुनैले सिधै उनकाे राजीनामा मागेकाे बताइएकाे छ । मंगलबार बैठकमा प्रधानमन्त्री निकटका स्थायी समिति सदस्यहरू भने बोलेका थिएनन्। यी हुन् राजीनामा माग्नेहरूः १.अध्यक्ष- पुष्प कमल दाहाल प्रचण्ड २. वरिष्ठ नेता- झलनाथ खनाल ३. वरिष्ठ नेता- माधव नेपाल ४. उपाध्यक्ष- वामदेव गौतम ५. प्रवक्ता- नारायणकाजी श्रेष्ठ स्थायी कमिटी सदस्यहरू: ६. वेदुराम भुषाल ७. अष्टलक्ष्मी शाक्य ८. मुकुन्द न्यौपाने ९. भीम रावल १०. रघुजी पन्त ११. युवराज ज्ञवाली १२. गणेश शाह १३. सुरेन्द्र पाण्डे १४. जनार्दन शर्मा १५. पम्फा भुषाल १६. गोकर्ण विष्ट १७. भीम आचार्य
आकस्मिकरुपमा मन्त्रीहरुलाई बालुवाटार बोलाए प्रमले, नेकपा संघर्ष निर्णायक मोडमा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्षले निर्णायक रुप लिनसक्ने देखिएको छ । स्थायी समितिको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना भएपछि आज बिहानै मन्त्रीहरुलाई बालुवाटार डाकेका छन् । पार्टीभित्र स्वेच्छाचारिता बढेको, प्रधानमन्त्रीले गुटलाई प्रश्रय दिएको र सरकारले काम गर्न नसकेको भन्दै स्थायी समितिका बहुमत सदस्यहरुले प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् । प्रधानमन्त्रीले आफूलाई हटाउन भारतले पार्टीका नेताहरुलाई उपयोग गर्दै चलखेल गरेको अभिव्यक्ति दिएपछि स्थायी समिति बैठकमा रडाको मच्चिएको थियो । स्थायी समिति बैठक बसिरहेकै बेला प्रधानमन्त्रीले भने मंगलबार नै दुईपटक राष्ट्रपतिसँग छलफल गरेका थिए । पार्टीभित्र चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीले गम्भीर कदम चाल्ने संकेत दिएका छन् । यद्यपी उनका अगाडि बाँकी रहेका कुन विकल्प प्रयोग गर्छन् भन्ने कुरा भने अन्यौल नै छ । कतिपयले प्रधानमन्त्रीले दबाबकै बीच पार्टी फुटाउनेसम्मको कदम चाल्न सक्ने अनुमान गरेका छन् । साँझ नै प्रधानमन्त्रीले बुधबार बिहान सात बजेका लागि मन्त्रीहरुलाइ बाेलाएका हुन । आकस्मिकरुपमा मन्त्रीपरिषदको बैठक बोलाउनुलाई निकै अर्थपूर्णरुपमा हेरिएको छ । कतिपयले भने केही अप्रिय निर्णय हुनसक्ने आँकलन समेत गरेका छन् । तर पार्टी नै विभाजन हुने शर्तमा अध्यक्ष ओलीले कुनै कदम चाल्ने अवस्था भने त्यति सहज देखिँदैन । मंगलबारको बैठकमा पार्टीका अर्का अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायत १७ जनाले प्रधानमन्त्रीलाई राजिनामा दिन दबाब दिएका थिए । प्रधानमन्त्रीले भने राजिनामा नदिने अडान राख्दै आएका छन् । यसअघि प्रधानमन्त्रीले आफूले नक्सा सार्वजनिक गरेपछि भारतको इसारामा हटाउन खोजिएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । मंगलबारको बैठकमा भने प्रवक्ता नारायणकाजी श्रेष्ठले नक्सा प्रकाशनको निर्णय नेकपाले निकै अघि गरेको र सरकारले त्यसलाई सार्वजनिक गर्न नसकेको प्रसंग कोट्याएका थिए । सचिवालयको बैठकबाट मुख्य सचिवलाई फोन गरेर नीति तथा कार्यक्रममा नक्सा प्रकाशन गर्ने कुरा राख्न लगाएको बताउँदै प्रवक्ता नारायणकाजीले प्रधानमन्त्रीलाई तथ्यमा रहेर बोल्न सुझाव दिएका थिए । अध्यक्ष प्रचण्डले भने निर्वाचन आयोगमा दल दर्ता हुनु र प्रधानमन्त्रीको अशोभनीय अभिव्यक्ति आएकोमा चर्को आलोचना गरेका थिए । प्रचण्डको भनाई थियो, ‘मैले वैशाखमा बसेको सचिवालयको बैठकमा पनि तपाईंको राजीनामा मागेको हुँ, अहिले पनि माग्छु । सरकारले डेलिभरी दिन सकेन, कम्युनिस्ट आन्दोलन नै बदनाम भयो, देशभित्रका जनताले र पार्टीका नेताले राजीनामा मागेका छन् । तर, तपाईं भारतले हटाउन खोज्यो भनेर देश र जनताको अवहेलना गर्दै हुनुहुन्छ, सबै स्थिति हेर्दा तपाईं हट्दा राम्रो हुन्छ, हट्नुस् ।’ नेता माधव नेपालको भनाई थियो, ‘पहिलो पुस्ताको त्याग र बलिदानबाट बनेको सुन्दर पार्टीलाई दोस्रो पुस्ताले पनि त्यत्तिकै ठूलो योगदान ग¥यो, तर आज पार्टी दुरावस्थामा पुगेको छ । कहीँ पार्टी छ भन्ने स्थिति छैन, कमिटी संगठित छैन, परिचालित छैन, कमिटी भए पनि बैठक बस्दैन । सरकार झन्झन् अलोकप्रिय बन्दै गएको छ । नियुक्तिहरूमा कुनै मापदण्ड छैन, मनपरी छ । पार्टी नामको संस्था छैन, अस्तव्यस्त छ । यहाँ केही भन्यो भने गीत गायो भनिन्छ, तर गीत गाएको होइन, यो अहिलेको वास्तविक तस्बिर हो । त्यसकारण अब तपाईंबाट चल्न सक्दैन, दुवै पदबाट राजीनामा दिनुस् ।’ निर्वाचनमा आयोगमा नेकपा एमाले दल दर्ता हुने विषय सामान्य नरहेको बताउँदै उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीकै इसारामा उक्त दल दर्ता भएको दावी गरेका थिए । ‘शतप्रतिशत केपी ओलीकै निर्देशनमा नेकपा एमाले दर्ता भएको हो । मसँग प्रमाण छ, सूचना छ, छानबिन भयो भने म उनीहरूलाई बयान दिन तयार छु । पार्टी र सरकारको नेतृत्व दुवैमा प्रधानमन्त्री चुक्नुभो, अब उहाँले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ,’ गौतमको भनाइ थियो । आजको बैठकका एजेण्डाबारे मन्त्रीहरुलाई समेत केही थाहा छैन । मन्त्रीपरिषदका सबै सदस्य प्रधानमन्त्रीको साथमा भने छैनन् ।
कुखुराको खोरमा जुवा खेलिरहेका ७ जुवाडे साढे २ लाखसहित पक्राउ
कैलाली : जिल्लाको लम्कीचुहा नगरपालिकाबाट प्रहरीले २ लाख ५९ हजार रुपैयाँसहित ७ जुवाडे पक्राउ गरेको छ । प्रहरीले नगरपालिकाको वडा नम्बर ६ स्थित चोरीपुर खोलाको किनारमा रहेको पुरानो कुखुराको खोरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नगदसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा लम्कीचुहान नगरपालिका-४ का दीपक भण्डारी, सोही स्थानका प्रकाश शाही, प्रजिन राई, कृष्ण बिष्ट, नवल बुढा, नरबहादुर शाही र टीकापुर नगरपालिका-१ बस्ने प्रकाश खड्का रहेका छन् । मंगलबार साँझ विशेष सूचनाका आधारमा क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट २ लाख ५९ हजार ७ सय नगद, ८ थान मोबाइल, ३ गड्डी तास र २ थान कम्मल बरामत गरेको कैलाली प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
मुस्ताङमा ८३ वर्षीय वृद्धले जिते कोरोना
काठमाडौं : गण्डकी प्रदेशमा ८३ वर्षका वृद्ध कोरोना संक्रमण मुक्त हुँदै घर फर्किएका छन् । मुस्ताङका पहिलो कोरोना संक्रमित ८३ वर्षीय वृद्ध कोरोना मुक्त भएर घर फर्किएका हुन् । ति वृद्ध आज कोरोना जितेर घर फर्किएका स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । योसँगै गण्डकीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ सय १५ नाघेको छ ।
निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन
काठमाडौंः निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो । झापाकी सन्ध्या तिवारीले निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गर्न आवेदन दिएकी हुन् । यस विषयमा आजको नेकपा बैठकमा छलफल भएको छ । बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले जारी स्थायी समिति बैठकमा नेकपा एमाले पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको विषयमा छलफल भएको बताए । बैठकमा नेकपा अध्यक्ष प्रचण्डले पार्टीकै कसैको संलग्नतामा दर्ताका लागि निवेदन पर्यो कि अन्य कसैले दर्ता गरेको हो भन्नेबारे प्रश्न उठाएका थिए । श्रेष्ठका अनुसार सो विषयमा प्रधानमन्त्री केपी ओलीले आफू नेकपाकै अध्यक्ष भएको भन्दै आफू जानकार नरहेको जवाफ दिएका थिए । आजको बैठकमा यसबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिको विषयमा पनि छलफल भएको बताए । उनले आजको बैठकमा एमालेको नाममा पार्टी दर्ता र प्रधानमन्त्रीले सरकार ढाल्न भारतको हाल रहेको भन्ने अभिव्यक्तिका विषयमा छलफल भएको भन्दै मुल एजेण्डामा प्रवेश नगरिएको बताए । आजको बैठकमा प्रचण्डसहित १८ नेताले आफ्नो धारणा राखेको श्रेष्ठले जानकारी दिए ।
ललितपुरको नख्खीपोटका १ युवकमा कोरोना पुष्टि
काठमाडौं : ललितपुरको ललितपुर महानगरपालिका-१४ नख्खिपोटका २८ वर्षीय युवकमा कोरोना पोजिटिभ देखिएको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार ती पुरुष असार ११ गते कतारबाट नेपाल आएका थिए । उनी सिनामंगलको एक होटलमा बसेका थिए । असार १४ गते ती पुरुषमा ज्वरोपाएपछि पाटन हस्पिटलमा कोरोना चेकजाँच गर्न आएका थिए । आज उनका कोरोना पुष्टि भएको गेलाले बताए । उनले भने, ‘ती पुरुष कतै पनि गएका दैखिँदैनन् ।’ कन्ट्रयाक्ट ट्रेसिङ गर्नु नपर्ने गेलालले बताए । ती पुरुषको स्वास्थ्य अवस्था समान्य रहेको छ । संक्रमित ति युवक सशस्त्र प्रहरीको हस्पिटल बलम्बुको आइसोलेसनमा भर्ना भएको डा. गेलालले बताए ।
आज ३१६ मा कोरोना पुष्टि, संक्रमितको संख्या साढे १३ हजार नाघ्यो
काठमाडौं : नेपालमा आज ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न २२ प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सङ्क्रमितको कुल संख्या १३ हजार ५ सय ६४ पुगेको छ । त्यस्तै आज ६० व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ । जसमा २ हजार ८ सय १७ पुरुष र २ सय ७७ महिला रहेका छन् ।
२ बालिकामाथि यौन शोषण गरेको आरोपमा युट्युबर शिवाकोटी पक्राउ
काठमाडौं : करिब एक वर्षदेखि २ बालिकालाई डराईरधम्क्याई यौनशोषण गरेको आरोपमा प्रहरीले युट्युबर अर्जुन शिवाकोटीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले बालिकाहरूको अभिभावकको उजुरीको आधारमा शिवाकोटीलाई आइतबार बानियाटारस्थित उनकै निवासबाट पक्राउ गरेको हो । ३८ वर्षीया शिवाकोटीले १ वर्षदेखि आफ्नै घरमा अभिभावकसँग बस्दै आएका १४ वर्षीया र १२ वर्षीया दिदीबहिनीलाई यौनशोषण गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । १४ वर्षीया बालिकालाई शिवाकोटीले १ वर्षदेखि पटकपटक बलात्कार गर्दै आएको र उनकी १२ वर्षीया बाहिनीलाई पनि पटकपटक यौनशोषण गरेको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । शिवाकोटी ‘मेकिङ नेपाल’ नामक युट्युव च्यानलका सञ्चालक हुन् । ०७६ असोजदेखि १४ वर्षीया किशोरीलाई उनले डर, त्रास देखाएर बलात्कार गर्दै आएका थिए । बलात्कृत किशोरीका आमाबुबासँगै अर्जुन ४ वर्षदेखि एउटै घरमा बस्थे । पीडित किशोरीको आमासँगै व्यवसायसमेत गर्ने हुनाले छोरीहरूले उनलाई अंकल भनेर बोलाउँथे । अर्जुनले त्यही सामिप्यताको फाइदा उठाएर शोषण गरेको खुलेको छ । छोरीहरूले ‘अंकल’ भन्ने हुनाले सँगै देख्दा परिवारका सदस्यले पनि लामो समय शंका गरेनन् । यौन दुर्व्यवहार गरेको थाहा पाएपछि पीडितका परिवारले कुरा उठाउँदा आरोपीले मार्ने धम्की दिँदै ‘म पत्रकार भएकाले प्रहरीले पनि मलाई केही गर्न सक्दैन’ भनेर डर देखाएको पीडितले बताएका छन् । पीडित १४ वर्षीया बालिका हाल डिप्रेसनबाट गुज्रिरहेको पारिवारिक स्रोतले जनायो । उनलाई हाल मनोचिकित्सकले उपचार गरिरहेका छन् । बेलामा झस्किने, टोलाउने, डराउने जस्ता लक्षणहरु विगत केही महिनादेखि बालिकामा देखिएको पारिवारिक स्रोतले बतायो । अभियुक्त अधिकारीले आफूले यौनशोषण गरेको कुरा कसैलाई बताए ज्यान मार्ने धम्की दिदै आएको किशोरीले अभिभावकलाई बताएकी थिइन् ।
कालोपत्रे सडकमा नै टिपर भासियो
मोरङ : विराटनगरमा सडक निर्माण गर्ने ठेकेदारको लापरबाहीका कारण रोकिराखेको टिपर कालोपत्रे सडकमा भासिएको छ । सोमबार साँझ बालुवा बोकेको १ क ३१७२ नम्बरको टिपर कालोपत्रे सडकमा नै भासिएको हो । विराटनगर १० पिपल चौक स्थित कालोपत्रे सडकमा बोहोरा निर्माण सेवाको बालुवा बोकेको टिपरको पछाडिको एउटा टायर सडकभित्र भासिएको थियो । उक्त सडक एशियाली विकास बैंकको सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजना अन्तर्गत निर्माण भएको हो । सो सडक परियोजनाको ठेकेदार आशिष निर्माण सेवाले गरेको हो । क्षेत्रीय सहरी विकास परियोजना विराटनगरका प्रमुख भरत न्यौपाने सडक निर्माण गर्दा प्राविधिक त्रुटी भएका कारण भासिएको बताए ।
काँग्रेस केन्द्रीय बैठकः कार्यतालिकामा हेरफेर गर्ने तयारी
काठमाडौंः नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्य तालिकामा हेरफेर गर्ने तयारी गरेको छ । काँग्रेसको आज बस्ने केन्द्रीय कार्य समितिको बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको प्रक्रियाका बारेमा छलफल हुने बताइएको छ । पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको आइतबार बसेको बैठकले काँग्रेसको १४औँ महाधिवेशन निर्धारित समय आगामी फागुन ७ देखि १० गते नै गर्ने र अन्य अधिवेशनका तालिकामा हेरफेर गर्न सकिने बारेमा छलफल गरेको थियो । सो विषयमा केन्द्रीय समिति बैठकले आवश्यक छलफल गरी निर्णय गर्ने महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । काँग्रेसले गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी मातहत निकायका अधिवेशन र १४ औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो । सो तालिकाअनुसार २०७६ फागुन देखि २०७६ चैतसम्म पार्टीको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेको थियो । तर कोरोनाका कारण क्रियाशील सदस्यता वितरण र नविकरण कार्य स्थगित गर्नुपरेको थियो । काँग्रेसले १४ औँ महाधिवेशनका लागि गाउँ÷नगर वडा अधिवेशन आगामी कात्तिक १६ गते, गाउँ÷नगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गतेका लागि निर्धारण गरेको थियो । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते, प्रदेश अधिवेशन मङ्सिर २९ गते र केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका सार्वजनिक गरिएको थियो । रासस
नेकपा स्थायी कमिटी बैठकः आसनमा क्रान्तिकारी परिवर्तन
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी, नेकपा स्थायी कमिटीको बैठक आज पनि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा निर्धारित कार्यसूची अन्तर्गत सीमा समस्या र समाधान विषयमा स्थायी कमिटी सदस्यहरुले आ–आफ्ना धारणा राखिरहेका छन् । असार १० गतेदेखि सुरु भएको बैठक असार १४ र १५ गते स्थगित भई आज पुनः सुरु भएको हो । बैठकका लागि सरकारको कामको समीक्षा, सीमा समस्या र समाधान, कोरोना रोकथाम, नियन्त्रण र उपचार, एमसिसी, पार्टी एकीकरणका बाँकी काम लगायतका कार्यसूचीहरु तोकिएका छन् । बैठकमा आज नेताको आसन क्रान्तिकारी परिवर्तन गरिएको छ । प्रधानमन्त्रीलगायत सचिवालयका सबै नेताहरूलाई मञ्चबाट तल झारिएको छ । मञ्चबाट तल झारेर केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई समान लहरमा राखिएको छ । यसअघिका बैठकमा अग्लो मञ्चमा बसेका सचिवालय सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेललाई स्थायी कमिटी सदस्यहरुकै लहरमा राखिएको छ । यसअघिको बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई अग्लो मञ्चमा सुविधाजनक सोफाको प्रवन्ध गरिएको थियो भने अरु नेताहरूलाई काठका कुर्सीको प्रवन्ध गरिएको थियो ।
विवादित निजामती विधेयकमा के-के फेरियो ?
काठमाडौंः राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयकलाई सोमबार बहुमतले पारित गरेको छ । विधेयकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी र सत्तारुढ दलका केही सांसदले नै असहमति जनाएका छन् । विधेयकमा कांग्रेसले सातबुँदे फरक मत लेखेको छ । लामो समयदेखि विवादित र बहुचर्चित विधेयक पारितपछि ट्रेड युनियनहरूले आन्दोलन शुरू गरिसकेका छन् । सम्बन्धित समाचारः आफुलाई उपेक्षा गरेर निजामती ऐन ल्याउन लागिएको भन्दै कर्मचारी आन्दोलनमा, प्रचण्डले पारे आश्वस्त कर्मचारी समायोजनको व्यवस्था, अवकाशको व्यवस्था, ट्रेड युनियनसम्बन्धि व्यवस्था, समावेशिता र प्रदेश मन्त्रालयका सचिवबारे विधेयकको प्रतिवेदनमा केहीले असहमति जनाएका छन् । त्यस्तै, आरक्षण र समावेशितामा ४९ प्रतिशत आरक्षण गर्ने व्यवस्थाको विरोध गरेका छन् भने खस आर्यलाई समावेशितामा राख्ने विषयमा असहमति राखेका छन् । के फेरियो निजामति विधेयकमा ? – अब निजामति कर्मचारीको अवकास उमेर ५८ बाट बढेर ६० वर्ष कायम भएको छ । – खुला प्रतियोगिताबाट उम्मेदवार बन्ने कर्मचारीका लागि ४० वर्षको उमेर हद निर्धारण गरिएको छ । – अब खुला प्रतिस्पर्धाबाट माथिल्लो पदमा बढुवा भएका कर्मचारीको अघिल्लो पदमा काम गरेको अवधि जोडिने छैन । – निजामति सेवामा आधिकारिकबाहेक अरू पार्टीगत ट्रेड युनियन खारेज हुनेछन् । – नासुबाट आन्तरिक प्रतिस्पर्धाको आधारमा अधिकृतमा बढुवा हुन पाइने छैन । अधिकृत तहमा ८० प्रतिशत खुला प्रतिस्पर्धा र २० प्रतिशत बढुवाबाट पदपूर्ति हुने व्यवस्था गरिएको छ । – खस आर्यका लागि आरक्षणको व्यवस्था गरिएको छ । आरक्षण ४५ प्रतिशत रहेकोमा बढाएर ४९ प्रतिशत बनाइएको छ। जसमध्ये आधा महिलाले पाउनेछन् । – प्रदेशको सचिव र स्थानीय तहको कार्यकारी अधिकृत प्रदेश निजामति सेवाकै रहने छन् । प्रदेशको प्रमुख सचिव संघीय निजामति सेवाको कर्मचारी हुनेछ । – स्वास्थ्य सेवा पनि निजामती सेवाभित्र प्रवेश गरेको छ । निजामती सेवाभित्र ११ सेवा समूह रहनेछन् ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ९१ पुग्यो
काठमाडौंः काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । कोरोना नेपाल डट लाइभका अनुसार हालसम्म काठमाडौंमा ५९ जना, भक्तपुरमा २३ जना र ललितपुरमा ९ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा संक्रमण पुष्टी भएकामध्ये २८ जना निको भइसकेका छन् भने दुई जनाको मृत्यु भएको छ । काठमाडौंका २२, भक्तपुरका ५ र ललितपुरका एकजना संक्रमित निको भएका हुन् । उपत्यकाका मृतक दुबैजना ललितपुरका हुन् । काठमाडौं उपत्यकामा रहेका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितहरू सुकेधारा, थापागाउँ, चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बूढानीलकण्ठ, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तीनकुने, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा सोमबार ८ जना कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएकाले विना काम घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ ।


>
>
>