‘काठमाडौं उपत्यकामा संक्रमण बढ्न थाल्यो, घरबाहिर ननिस्कनू’

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएकाले विना काम घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘काठमाडौं उपत्यकाजस्ता घनाबस्ती भएका शहरमा अत्यावश्यक काम भए मात्रै घरबाट निस्कन अनुरोध गदैछौं ।’

उनले काठमाडौं उपत्यकाजस्ता घना बस्ती भएको शहरमा कोरोना भाइरसको संक्रमण वृद्धि भएकोले दुई मिटरको दूरी कायम गर्न, मास्क प्रयोग गर्न, साबुन पानीले मिचिमिची हात धुन, अत्यावश्यक काम नपरी घरबाट ननिस्कन, वृद्धवृद्धालाई थप सुरक्षामा राख्न अपील गरे ।

काठमाडौं उपत्यकामा सोमबार ८ जना कोरोना संक्रमित थपिएका थिए ।

यी हुन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णय (सूचीसहित)

काठमाडौंः सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णयदेखि काठमाडौं उपत्यका आउनेका लागि कडाइसम्मका निर्णय गरेको छ । १. लकडाउनको स्वरुप फेरबदल नगरी अहिलेकै अवस्थाको लकडाउनलाई सात ७ गतेसम्म जारी राख्ने । २. अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान साउन ७ गतेसम्म बन्द राख्ने । ३. अब काठमाडौं प्रवेशमा पनि थप कडाई । उपत्यका बाहिरबाट आउनले अब अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आउनुपर्ने र होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने । ४. विमानस्थलका कर्मचारीलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रतिव्यक्ति दुई जोरका दरले वितरण गर्ने । ५. आमा र बच्चा नेपाली नागरिकताधारी र बुबा विदेशी पासपोर्ट भएकाको भिसा सहजीकरणका लागि निर्णय गर्न सिसिएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्ने ।

काठमाडौं उपत्यका प्रवेशमा फेरि नयाँ नियम

काठमाडौंः सरकारले अनिवार्य होम क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टर (सीसीएमसी) को सोमबारको बैठकले होम क्वारेन्टाइन बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मापदण्डअनुसार (सीसीएमसी) ले स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आउनुपर्ने र होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए । स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्नेछ । हवाई तथा स्थलमार्गबाट आउने सबैलाई यो नियम लागू हुनेछ ।

बिहानै थपिए १७ संक्रमित

काठमाडौंः गण्डकी प्रदेशका मंगलबार बिहानै १७ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ भने २१४ जना निको भएका छन् ।

उपत्यका बाहिर जाने पास लिन नयाँ नियम

काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक गरेको छ । सवारी पास पाउन अबदेखि निवेदकले कार्यालयले जारी गरेको ढाँचाअनुसार निवेदन दिनुपर्नेछ । ढाँचामा यात्रुहरूको नाम, उमेर, स्थायी ठेगाना र सम्पर्क नम्बर लेख्नुपर्नेछ। जाने स्थान, जाने मिति, सवारी धनीको नाम, चालकको नाम पनि उल्लेख गर्नुपर्छ । निवेदनमा हुलाक टिकट टाँस्नु नपर्ने कार्यालयले जनाएको छ । कार्यालयले जारी गरेको ढाँचा सेवाग्राही आफैंले प्रिन्ट गरी निवेदनसहित दिनुपर्नेछ । उक्त ढाँचा कुनै स्टेशनरी पसलबाट प्रिन्ट गरी बेच्नु परेमा ५ रूपैंयाँभन्दा बढी नलिन पनि कार्यालयले आग्रह गरेको छ । निवेदनका साथमा जानु पर्ने स्थानीय तहको सिफारिश वा यात्रा प्रयोजन खुल्ने कागजातको फोटोकपीसमेत समावेश गर्नुपर्ने कार्यालयले जनाएको छ । यस्तो छ सवारी पासको लागि आवेदनको ढाँचा  

आत्महत्या गरेका २ जनामा देखियो कोरोना

काठमाडौंः झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका–८ कि २५ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले असार १ गते घर नजिकै झुण्डिएर आत्महत्या गरेकी थिइन् । पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । ती युवती गत जेठ १२ गते श्रीमान र तीन वर्षकी छोरीसहित भारतबाट आएर सिम्ताकै एक क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएकी थिइन् । घर जाने क्रममा युवतीमा आरडीटी नेगेटिभ देखिएको थियो । योसँगै कर्णालीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ पुगेको छ । यस्तै, आरडीटी परीक्षणमा पोजेटिभ देखिएका अर्घाखाँचीको शितगंगाका एक जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । शितगंगा नगरपालिका–५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका स्थानीय ४५ बर्षीय देवबहादुर विकले गएराति झुन्डिएर आत्महत्या गरका थिए । गत जेठ १० गते भारतबाट घर फर्किएका बिकको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि परीक्षणका लागि जेठ २४ गते स्वाब संकलन गरेर पठाइएको थियो । बुधबार दिउँसो उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जन–स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।

युवा संघको केन्द्रीय विभाग र आयोगको एकता टुंगियो

काठमाडौंः राष्ट्रिय युवा संघ, नेपालले केन्द्रीय विभाग र आयोगको एकता टुङग्याएको छ । युवा सङ्घको एकता गर्न गठित कार्यदलले दिएको सुझाव अनुसार विभाग र आयोगको एकता सम्बन्धी काम टुङग्याइएको हो । युवा सङ्घका सहसंयोजक रमेश पौडेलले ३१ विभागमा १६ विभाग तत्कालीन युवा सङ्घ र १५ विभाग तत्कालीन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)को भागमा परेको जानकारी दिए । उनका अनुसार तत्कालीन युवा सङ्घलाई सङ्गठन, महिला, आर्थिक, प्रकाशन, योजना तथा अनुसन्धान, कृषि, विज्ञान तथा प्रविधि, खेलकूद, पेशागत, वित्त तथा सार्वजनिक, स्वास्थ्य, सामाजिक सेवा र प्रकृति प्रकोप तथा विपद् व्यवस्थापन, प्राकृति स्रोतसाधन, न्याय तथा कानून र इभेन्ट म्यानेजमेन्ट विभाग परेको छ । यस्तै, वाइसिएललाई कार्यालय, प्रशिक्षण, विदेश, प्रचार, विकास निर्माण, उत्पादन तथा समृद्धि निर्माण, सहकारी, शिक्षा, श्रम तथा रोजगार, पर्यटन, उद्योग विभाग रहेका छन् । यस्तै घाइते, अपाङ्ग तथा योद्धा विभाग, कला संस्कृति तथा स्वमयसेवक, वन तथा वातावरण र मानवअधिकार विभाग रहेको छ । सहसंयोजक पौडेलले २१ सदस्यीय विभागका संयोजक र सहसंयोजक भागमा परेको तत्कालीन सङ्गठनले टुङग्याउने बताए । संयोजक र सहसंयोजक फरक–फरक सङ्गठनले पाउने छन् । यसैगरी लेखा आयोग र निर्वाचन आयोग तत्कालीन युवा सङ्घले तथा अनुशासन आयोग र विशेष प्रदेश कमिटी तत्कालीन वाइसिएलको भागमा गरेको छ । आयोग ४५ सदस्यीय हुने छ । युवा सङ्घका संयोजक रामप्रसाद सापकोटाले अब प्रदेश कमिटीमा मात्र एकता टुङग्याउन बाँकी रहेको बताए । उनले प्रदेश कमिटीसँगै जिल्ला इन्चार्ज र सह-इन्चार्ज पनि चाँडै नै बाँडफाँड गरिने बताए । २०७६ जेठ ३ गते दुई सङ्गठनबीच एकता घोषणा भएको थियो । एकतापछि युवा सङ्घको ३३५ सदस्यीय कमिटी रहेको छ ।

सुदूरपश्चिमका थप ३२ जनामा कोरोना संक्रमण (विवरणसहित)

कैलालीः सुदूरपश्चिमका आज ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । धनगढीको प्रयोगशालामा ३१ र काठमाडौंमा भएको परीक्षणमा १ गरी सुदूरपश्चिमका थप ३२ जनामा कोरोना पोजिटिभ देखिएको हो । आज कैलालीका २१, डोटीका ५, कञ्चनपुर, बझाङ र अछामका २/२ जनामा कोरोना पुष्टि भएको हो । कैलालीमा आज थप भएका २१ जना मध्ये १८ जना गौरीगंगा नगरपालिकामा रहेको पशुपती क्वारेन्टाइनमा रहेका छन् भने २ जना मोहन्या विश्व माविको क्वारेन्टाइनमा रहेका सेती प्रादेशकि अस्पतालले जनाएको छ । काठमाडौंमा पुष्टि भएका एक जनाको भने स्थानीय तह खुलेको छैन । डोटीका ५ जना संक्रमित भने दिपायल सिलगढी नगरपालिका हुन्। अछाममा आज कोरोना पुष्टी भएका मेल्लेख गाउँपालिका-४ र ७ का २२ र २४ बर्षीय युवक रहेका छन् । बझाङको थलारा गाउँपालिका-३ की १० बर्षीया किशोरी र खप्तडछान्ना गाउँपालिका-३ का ७० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिका १ र ९ का २ जनामा कोरोना पुष्टि भएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३ सय ७९ पुगेको छ । जसमध्ये ५२ जना निको हुँदा २ संक्रमितले ज्यान गुमाएका छन् ।

क्वारेन्टाइनबाट घर फर्किएका २६ जनामा कोरोना पोजिटिभ

बर्दियाः क्वारेन्टाइनबाट आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएका बर्दियाका २६ जनामा कोरोना पोजिटिभ देखिएको छ । जाँचपछि घर पठाइएका बर्दियाको बढैयाताल गाउँपालिका–१ का १५ र २ का ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरूलाई गत जेठ २९ गते क्वारेन्टाइनबाट घर पठाइएको थियो । जेठ ३१ गते स्वाब संकलन गरी नेपालगञ्ञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पीसीआर जाँच गर्दा आज सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका उपाध्यक्ष दीपा गौतमले जानकारी दिए । स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ । संक्रमण पुष्टि भएका सबै वडा नं २ स्थित अमरज्योति माध्यमिक विद्यालय सीतापुरको क्वारेन्टिनमा बसेका थिए । उच्च सतर्कता एकै दिन धेरै जनामा सङ्क्रमण पुष्टि भएपछि बढैयाताल गाउँपालिकामा सतर्कता बढाइएको छ । सङ्क्रमण थप फैलनबाट रोक्न उच्च निगरानी बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए । वडा नं १ र २ मा अत्यावश्यकबाहेक अन्य काममा बाहिर हिँड्न निषेध गरिएको छ । भेरी अस्पताल नेपालगञ्जमा आज भएको परीक्षणका क्रममा बर्दियाका ३१ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकामध्ये २६ जना बढैयाताल गाउँपालिकाका हुन् ।

कैलालीमा मोटरसाइकल र जिप ठोक्किँदा १ जनाको मृत्यु

धनगढीः कैलालीमा मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका-६ लालपुरमा वा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइल ठोक्किँदा मोटरसाइकलमा सवार हाल गोदावरी नगरपालिकाका-६ मा बस्दै आएका जोशीपुर गाउँपालिका-२ का गम्भीर कोटकेनीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । दुर्घटनापछि जिप चालक फरार भएका छन् । जीप इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो

काठमाडौंः नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ । मंगलबार थप १ मृतकमा कोरोना पोजिटिभ देखिएसँगै यो भाइरसबाट ज्यान गुमाउनेको संख्या २० पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बाँके बैजनाथ गाउँपालिका-६ कि ४६ वर्षीया महिलाको ज्यान गएको हो। नेपालगजञ्ज शिक्षण अस्पताल कोहलपुरमा जेठ ३० गते मृगौ‌ला समस्याका कारण भर्ना भएकी थिइन्। कोरोना परिक्षणका क्रममा उनको कोरोना रिपोर्ट पोजिटिभ देखिएको गौतमले बताए। त्यस्तै, बुधबार एकै दिन ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ।

आज ५ सय ८६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ हजार नाघ्यो

काठमाडौंः नेपालमा आज थप ५ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा आज थप ५ सय ८६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित मध्ये पछिल्लो २४ घण्टामा ९ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा सबै पुरुष रहेका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या १ हजार १ सय ६७ पुगेको छ । जसमध्ये ११२ महिला र १ हजार ५५ पुरुष रहेका छन् ।

भीमदत्त नगरपालिकाको नीति कार्यक्रम र बजेट बिहीबार आउँदै

महेन्द्रनगरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा बिहीबार आगामी आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउने तयारी गरिएको छ । स्थानीय सरकारले असार १० गतेसम्म नीति, कार्यक्रम तथा बजेट ल्याउनु पर्ने कानुनी प्रावधान अनुसार भीमदत्तले असार ४ गते नगर सभा गरी बजेट ल्याउन लागेको हो । स्थानीय तह निर्वाचनपछि भीमदत्तको यो सातौँ नगर सभा हो । यो नगर सभाबाट आगामी आव २०७७/०७८ को नीति, कार्यक्रम तथा बजेट पारित गरिनेछ । यस ३ नगर सभाबाट बजेट सहितको नीति कार्यक्रम पारित गरिएको थियो । कोरोना भाइरस संक्रमण महामारीलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रम तयार गरिएको छ । भीमदत्त नगरपालिका गत माघदेखि कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि संघर्षरत छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना महामारीका कारण उत्पन्न संकटलाई मध्यनजर गरी नीति, कार्यक्रम र बजेट तयार गरिएको बताए । ‘यो वर्ष कोरोना महामारीका बिच सकिएको छ, कोरोना महामारीका असर दिर्घकालिन छन्, शिक्षा, स्वास्थ्य, कृषि लगायतलाई प्राथमिकता दिइएको छ’ उनले भने, ‘समग्रमा कोरोना महामारी नियन्त्रण, रोकथामलाई नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिइएको छ ।’ नगर प्रमुख विष्टले कोरोना महामारीका कारण उत्पन्न संकट हटाउनका लागि उत्पादनलाई बजेटमा प्राथमिकता दिइएको बताए । नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रम समेट समावेश गरिएका छन् । एक सहकारी एक उत्पादनको कार्यक्रमलाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ । भीमदत्तका नगर प्रमुख विष्टले नीति, कार्यक्रम र बजेट सम्बन्धि राजनीतिक दल, पूर्व जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख लगायतका विभिन्न क्षेत्रका सरोकारवालासित छलफल गरी सुझाव लिएका छन् । सबै क्षेत्रका सुझावका आधारमा नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइएको छ । भीमदत्तको आगामी वर्षको बजेटको आकार पनि बढ्ने भएको छ । चालू आर्थिक वर्षका लागि गत वर्ष पाँचौ नगर सभाबाट १ अर्ब ३० करोड बजेट विनियोजन गरिएको थियो । स्थानीय तह निर्वाचनपछि नगर प्रमुख विष्टले पहिलो वर्षमै बजेटको आकार वृद्धि गरेका थिए । झण्डै पाँच करोडको बजेटलाई पहिलो वर्षमा १३ करोड पुगाइएको थियो । त्यसपछि २ वर्षमा निरन्तर बजेटको आकार बढेको छ । बिहीबार विहान सुरु हुने नगर नगर सभामा संघीय र प्रदेश सरकारका सांसदहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि नगर सभाका अन्य कामकाज सुरु गरिने नगर प्रवक्ता हिमाल चन्दले जानकारी दिए ।

ताप्लेजुङमा पहिरोले स्कुल बगायो

ताप्लेजुङः ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको छ । मङ्गलबार राति गएको पहिरोले विद्यालयको ४ कोठे भवन बगाएको हो । पहिरोले स्थानीयवासीका पशु चौपायासमेत बगाएको छ भने बालीनालीमासमेतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए । स्थानीयका अनुसार स्थानीय रेन्जिङ तामाङको घर छेऊबाट पहिरो झरेको थियो । पहिरो गएको क्षेत्रमा तापेथोक प्रहरी चौकिबाट प्रहरीको टोली गएको तथा पहिरोले पारेको क्षतिको विस्तृत वितरण भने आउन बाँकी रहेको जनाइएको छ ।

अस्पतालसँग समन्वय गरेर मात्र ‘रिफर’

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले (कोभिड–१९) का बिरामीको रिफर गर्दा सम्बन्धित अस्पतालसँग समन्वय गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कुनै अस्पताल वा चिकित्सकले बिरामीको रिफर गर्दा सम्बन्धित अस्पताल वा चिकित्सकसँग समन्वय गरेर मात्र रिफर गर्न सबै अस्पताललाई निर्देशन दिएको बताए । उनले समन्वय गर्दा बिरामीलाई सहज हुने बताएका छन् । समन्वय नहुँदा बिरामी मर्कामा पर्ने, उपचार पाउन धेरै अस्पताल जानुपर्ने बाध्यता र सो क्रममा आवश्यक उपचार नपाई मृत्युसमेत भएको भन्दै आवश्यक समन्वय गर्न निर्देशन दिएको डा. अधिकारीले बताए ।

पत्रकार महासंघले आन्दोलन गर्ने

काठमाडौंः नेपाल पत्रकार महासङ्घले विभिन्न सञ्चार गृहले कोभिड–१९ को कारण देखाउँदै श्रमजीवी पत्रकारलाई सेवाबाट निष्काशन नगर्न आग्रह गरेको छ । महासङ्घको मङ्गलबार सम्पन्न केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बैठकपछि विज्ञप्ति जारी गर्दै महासङ्घले सो आग्रह गरेको हो । कोभिड–१९को कारण देखाउँदै सञ्चारमाध्यमले श्रमजीवी पत्रकारलाई तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फी ढङ्गले कटौती गर्ने, विभिन्न बहाना देखाएर काम गर्ने वातावरण बन्न नदिने र राजीनामा दिन दबाब दिने जस्ता कार्य जारी राखेकाले त्यसका विरुद्ध आन्दोलनमा जाने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । महासङ्घले १ साताभित्र सम्बन्धित सञ्चार प्रतिष्ठानलाई श्रमजीवी पत्रकार विरुद्धका सबैखाले गतिविधि बन्द गर्न, श्रमजीवी पत्रकार ऐनको पूर्णपालना गर्न र सोको जानकारी महासङ्घलाई गराउनसमेत आग्रह गरेको छ । एक साताभित्र श्रमजीवी पत्रकारका समस्या समाधान नभए महासङ्घले चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । श्रमजीवी पत्रकारको पेशागत रक्षाका लागि हुने आन्दोलनलाई सफल बनाउन महासङ्घले सबै प्रदेश समिति, जिल्ला तथा प्रतिष्ठान शाखा र एसोसियट संस्थासहित सञ्चारसम्बद्ध सबै सङ्घसंस्थामा अपिल गरेको छ ।