आज ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंः नेपालमा आज थप ४ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार दिउँसो नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ ।

 

 

टिप्परको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी घाइते

भक्तपुरः नयाँ ठिमी चोकमा टिप्परको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी घाइते भएका छन् । बा ४ ख ४७०१ नम्बरको टिपरले गएराती ठक्कर दिँदा ड्युटीमा खटिएका दाङको रामपुर घर भइ महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत प्रहरी नायब निरीक्षक निमबहादुर घर्ती घाइते भएको प्रहरीले जनाएको छ । उनको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

थप १२ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेतः कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको छ । आइतबार बंबई, सुव्बाकुना र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेकाहरूमा गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए । सोमवार साँझसम्म दैलेखका ८ जना र सुर्खेतका ३ गरि जम्मा ११ जना संक्रमित थिए । मंगलवार बिहान रिपोर्ट पोजेटिभ आएका १२ जनामध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका र २ जना सिम्ता गाउँपालिकाका रहेको उनले बताए । उनिहरू १२ जनाकै स्वाब प्रदेश अस्पताल सुर्खेतमा जाँच गरिएको र अब रिकन्फर्मको लागि नेपालगन्ज पठाउनुनपर्ने खड्काले बताए । सबैभन्दा पछि देखिएको कर्णाली प्रदेशमा पनि कोराना तीब्र गतिमा फैलिन थालेको छ। पछिल्लो समय भारतबाट कर्णालीमा दैनिक २ हजारभन्दा बढी नागरिक भित्रिरहेका छन् । कर्णाली अन्य ६ वटा प्रदेशमा संक्रमण देखिँदा पनि शून्य संक्रमण थियो । तर भारतबाट श्रमिक फर्किएसँगै कोरोना पनि ह्वात्तै बढ्न थालेको हो। ।

यसरी भएको थियो चौरजहारी घटना…

जाजरकोटः नेपालको कानुनले जातीय आधारमा छुवाछूतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको छ । मुलुकी ऐन, २०२० ले नै छुवाछूतलाई दण्डनीय भनेको छ । कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछूतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ ०६३ मा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । प्रत्येक व्यक्तिको अधिकार मानवीय मर्यादा समान हुने प्रत्याभूति देशको कानुनले गरेको छ । तर, अन्तरजातीय प्रेम बिहे गर्न जाजरकोटबाट पश्चिम रुकुम आएका युवा र उनको लास मात्र होइन, मानवीय संवेदना पनि भेरी नदीमा बगेको छ । गाउँलेले ढुंगामुढा गरेर लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका तीनजनाको शव फेला परेको छ, तीन अझै बेपत्ता छन् । रुकुमको चौरजहारी नगरपालिका– ८, सोतीमा कथित माथिल्लो जातकी युवतीसँग प्रेमबिहे गर्न जाजरकोटबाट आएका दलित युवा र उनका साथीहरूको समूहलाई स्थानीयले अन्धाधुन्द आक्रमण गरेका थिए । नदीमा हामफाले पनि गाउँलेले ढुंगा प्रहार गरेपछि साथीहरू डुबेको उनका साथीहरूले बताएका छन् । जाजरकोटको भेरी नगरपालिका– ४, रानागाउँनिवासी २१ वर्षीय नवराज विक प्रेमिकासँग बिहे गर्न १९ जना साथीसहित शनिबार अपराह्न करिब ५ बजे रुकुमको चौरजहारी पुगेका थिए । तर, स्थानीयले संगठित आक्रमण गरेपछि भाग्दाभाग्दै उनीहरू नदीमा हामफालेका ६ जना बेपत्ता भएका थिए । सोमबार साँझसम्म नवराज तथा उनका साथीहरू गणेश बुढामगर र टीकाराम नेपालीको शव भेटिएको रुकुमका डिएसपी ठगबहादुर केसीले जानकारी दिएका छन् । नवराजका साथीहरूमध्ये गणेश जाजरकोटका हुन् भने टीकाराम रुकुम चौरजहारीकै हुन् । त्यस्तै, भेरी नगरपालिकाका–४ का १८ वर्षे सञ्जु विक, १७ वर्षे गोविन्द शाही र १८ वर्षे लोकेन्द्र सुनार अझै बेपत्ता छन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको र बेपत्ताको खोजीकार्य भइरहेको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । यसरी भएको थियो घटना जाजरकोटको भेरी नगरपालिका– ४ रानागाउँनिवासी नवराज विक एथलेटिक्सका प्रतिभावान् खेलाडी थिए । कक्षा १२ उत्तीर्ण गरेका उनी खेल खेल्नकै लागि मेला–महोत्सवमा वारि–पारि कुदिरहन्थे । त्यही क्रममा रुकुमको चौरजहारी नगरपालिका– ८, सोतीकी एक युवतीसँग तीन वर्षअघि चिनजान भयो । उनीहरूबीच प्रेम सम्बन्ध सुरु भयो । खेलकै क्रममा रुकुम पुग्दा नवराजले लुकिछिपी प्रेमिकालाई पनि भेट्थे । प्रेमिका पनि नवराजको घर आउने गर्थिन् । दलित युवासँग प्रेम सम्बन्ध छुटाउन आफन्तले निकै प्रयास गरे । योबीचमा अभिभावकले छोरीलाई कुटपिट पनि गरेका थिए । तर, उनीहरू एक–अर्कालाई छाड्न तयार भएनन् । प्रेमिकालाई लिन केही महिनाअघि पनि नवराज साथीहरू लिएर सोती पुगेका थिए । त्यतिवेला प्रहरीले हस्तक्षेप गरेको थियो । तर, दलितसँग प्रेम गरेको भनेर आफूमाथि परिवारबाटै अवहेलना भएको भन्दै प्रेमिकाले नवराजलाई सन्देश पठाएकी थिइन् । ‘लिन आउनु भनेर प्रेमिकाले सन्देश पठाएकी छिन् भनेपछि हामी नवराजसँग गएका हौँ,’ घटनामा परेका एक युवकले भने । १८ जना साथीसहित भेरी तरेर नवराज शनिबार अपराह्न सोती पुगेका थिए । नवराजले छोरी लग्न थालेको थाहा पाएपछि प्रेमिकाकी आमाले गाउँमा हारगुहार गरिन् । प्रेमिकासम्म पुग्न नपाउँदै नवराजको समूह गाउँलेबाट घेरिएको थियो । ‘हामीलाई देख्नेबित्तिकै आमैले जातिवाचक गाली गर्न थाल्नुभयो, कुटाइ नपुगेर फेरि आएछन् भन्दै मान्छे जम्मा गर्न थाल्नुभयो,’ नवराजका साथी आशिष विकले भने, ‘गाली सुन्न नसकेर हामी अलिक तल बाटोमा झ¥यौँ । एकैछिनमा ढुंगामुढा सुरु भइहाल्यो ।’ हातमा लाठी तथा घरेलु हतियार बोकेका गाउँलेले ढुंगाले हान्न थालेपछि आफूहरू भागेको आशिषले बताए । ‘हामी जति भागे पनि गाउँलेहरू पछिपछि आए, गाउँदेखि चार किलोमिटर बगरैबगर हामी भाग्यौँ,’ उनले भने, ‘यस्तो भवितव्य आइलाग्यो, ज्यान बचाउन कोही कता भागे, कोही कता, साँझको वेला पत्तै भएन, आत्तिएका साथीहरू खोलामा हामफाले ।’ प्रहरीका अनुसार नवराजले १९ जनाको समूह बनाए पनि एकजना बाटोबाट फर्किएका थिए । सोती पुगेका १८ जनामध्ये ११ जना खोलामा हामफालेको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक धर्म विष्टले बताए । ‘पाँचजना पारि पुगे, ६ जना खोलामै हराए । हराएकामध्ये तीनजनाको शव भेटिएको छ भने तीनजनाको अवस्था अज्ञात छ । सातजना भने खोलामा नपसी लुकेका थिए,’ विष्टले भने । अरू भागे पनि नवराजलाई गाउँलेले पक्रेर कुटेको उनका साथी आशिषले बताए । ‘नवराजलाई त उनीहरूले कुटे, मारेर भेरीमा फालेका हुन्,’ उनले भने । नवराजको शव शनिबार राति १० बजे भेरी किनारमा भेटिएको थियो । घटनास्थल पुगेका सुर्खेतका पत्रकार खगेन्द्र सुनार भन्छन्, ‘नवराजको शरीरभरि हेरिनसक्नु घाउ नै घाउ छ, टाउको र मुखमा ढुंगैढुंगाले हानेर हत्या गरेको देखिन्छ । नदीमा त मारेर फालिएको मात्रै हो, पानी खाएको छैन ।’ बेपत्ता भएका चौरजहारी नगरपालिकाकै टीकाराम नेपालीको शव भने आइतबार अपराह्न घटनास्थलबाट करिब ३० किमि तल भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै भेरी नगरपालिका–४ का गणेश बुढामगरको शव भने सोमबार दिउँसो ३ बजे मात्रै भेटिएको छ । गाउँलेको कुटाइबाट घाइते भएका सुदीप खड्काको अवस्था उपचारपछि सामान्य छ । उनीहरूमध्ये धेरै जाजरकोटका र केही भने रुकुम, सल्यान र बाँकेका रहेको प्रहरीले जनाएको छ । वडाध्यक्षसहित १२ जना पक्राउ गाउँमा झडप भएको भन्दै वडाध्यक्ष डम्बरबहादुर मल्लले प्रहरीलाई फोन गरेका थिए । तर, उनले आफ्नो गाउँकी युवती लिन आएका युवाहरूसँग संवाद गर्नुपर्नेमा गाउँलेलाई उक्साएर ढुंगामुढा गराएको आरोप छ । वडाध्यक्षको फोनपछि साँझ साढे ६ बजे घटनास्थलमा प्रहरी पुगेको थियो । खोला नतरी लुकेका युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुरसहित १२ जनालाई रुकुम प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार सातजना र सोमबार थप पाँचजना गरी १२ जनालाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक धर्म विष्टका अनुसार वडाध्यक्ष, प्रेमिका, बुबाआमासहित १२ जना नियन्त्रणमा छन् ।  आजको नयाँ पत्रिमा दैनिकमा समाचार छ ।

९ लाख नेपालीलाई स्वदेश ल्याउँदै सरकार

काठमाडौंः कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर) तथा विभिन्न मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढाएका छन् तर कति नेपाली ल्याउने भन्ने तथ्याङ्क भने यकिन छैन । दुवै समितिमा विशेष भूमिका निर्वाह गरिरहेका नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार विदेशबाट ल्याउने नेपालीको अनुमानित सङ्ख्या विश्लेषण गरी समितिमा प्रस्ताव गरिएको हो । झण्डै नौ लाख नेपाली ल्याउने अवस्था आउन सक्छ । जस अनुसार पछिल्लोपटक भएको छलफल अनुसार परराष्ट्र मन्त्रालयले विदेशमा समन्वय गर्ने, नागरिक उड्डयन मन्त्रालयले जहाज व्यवस्थापन गर्ने र विदेशस्थित कूटनीतिक नियोगले फर्कने नेपालीलाई अद्यावधिक गर्ने योजना छ । यसैगरी, गृह मन्त्रालयले फर्कनका लागि आवश्यक कानुनी प्रक्रियामा सघाउने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विमानस्थलमा प्रारम्भिक परीक्षणसहितको व्यवस्था मिलाउने काम गर्नेछ । परीक्षण गरिसकेपछि उनीहरूलाई आफ्नो गन्तव्यमा पठाउने योजना अनुसार यातायात मन्त्रालयले सघाउने छ । भारतबाट स्थलमार्ग हुँदै र तेस्रो मुलुकबाट आउने करिब नौ लाखसम्म नेपाली नागरिक ल्याउने कार्ययोजना बनेको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी)ले जनाएको छ । भारतबाट आउने नेपालीको व्यवस्थापन सरकारले सुरु गरिसकेको छ । अब तेस्रो मुलुकका नेपाली ल्याउने विषयमा भने ठोस निर्णय हुन बाँकी छ । कस–कसलाई ल्याइन्छ ? परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यसअघि नै विदेशमा बस्नै नसक्ने अवस्थामा रहेका नेपालीलाई फिर्ता ल्याउने तयारी सरकारले गरेको जानकारी दिए । उनका अनुसार विदेशमा दुई पक्षीय सहमतिमा श्रम गर्न गएका, उच्च शिक्षा अध्ययन गर्न गएका, विदेशमा कामले वा घुम्न छोटो भिसामा रहेका र गैरआवासीय नेपालीमध्ये आपत्मा परेकालाई फिर्ता ल्याइनेछ । आधिकारिक आँकडा अनुसार ३४ लाख ५९ हजार नेपाली संसारका १०९ देशमा छरिएका छन् । अनधिकृत बसेका सङ्ख्या जोड्दा यो सङ्ख्या बढी छ । कोरोना सङ्कटका कारण कतिले रोजगारी गुमाएका छन् भने कतिले लामो बिदा पाएका छन् । घर जाउ भनेर बिदा नै पाएका छन् । यस्तै अवैध अवस्थामा बसेकालाई विभिन्न देशले स्वदेश फर्काउन खोजिरहेका छन् । प्रवक्ता पाण्डेका अनुसार विदेशबाट आएका नेपालीले सीधै घर, गाउँमा प्रवेश भने पाउने छैनन् । आफ्ना क्षेत्रको क्वारेन्टाइनमा राख्न सीएमसीअन्तर्गतको प्रदेश तथा जिल्ला एवं स्थानीय तहको शाखा परिचालित हुनेछन् । कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा प्रस्तावित योजनामा नै यतिबेला सरकारले थप गृहकार्य गरिरहेको छ । जसमा नेपाली सेनाले स्वास्थ्य सुरक्षासम्बन्धी क्षेत्रको काममा सघाउने प्रवक्ता पाण्डेको भनाइ छ । उच्च स्तरीय समितिको औपचारिक निर्णयलगत्तै तेस्रो मुलुकबाट नेपाली नागरिक ल्याउने क्रम सुरु हुने गृह मन्त्रालयले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

मृतक युवतीको स्वाब पीसीआर परीक्षणका लागि पठाइयो

काठमाडौंः शङ्खरापुर नगरपालिका साँखुमा आज ज्यान गुमाएकी एक युवतीको पीसीआर परीक्षणको लागि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ । वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी २० वर्षीया युवतीको ज्यान गएपछि स्वाब परीक्षणको लागि पठाइएको शङ्खरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईँले बताए । कञ्चनपुरबाट आएको दिनदेखि १० दिनसम्म उनलाई इन्द्रेणीको स्वास्थ्य केन्द्रको क्वरेण्टीनमा राखिएको थियो । उनको आरडीटी रिपोर्ट पनि नेगेटिभ आएपछि उनी आफन्तको घरमा गएकी थिइन् । क्षयरोगको समेत बिरामी रहेकी उनको स्वास्थ्य असामान्य हुँदै गएपछि साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल कलेजमा लगिएको थियो । आज बिहान उनको अस्पतालमै ज्यान गएको मृत्यु चापागाईंले बताए ।

बझाङमा बाघको छालासहित १ जना पक्राउ

कर्ण धामीः बझाङमा बाघको छालासहित १ जना प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बुंगल नगरपालिका-११ का ३३ बवर्षीय प्रेमबहादुर बोहरा रहेका छन् । बोहरालाई आइतबार राती बाघको छालासहित प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश बमका अनुसार गोप्य सूचनाका आधारमा घरमा खानतलास गर्दा बाघको छाला लुकाईछिपाई राखेको अवस्थामा नियन्त्रणमा लिइएको बताए । अहिले बोहरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याउने काम भइरहेको बझाङ प्रहरीले जनाएकोे छ ।

कोरोनाका बिरामीको पाटन अस्पतालमा हड्डीको अपरेशन गरियो

पाटन अस्पताल काठमाडौंः कोरोना पोजेटिभ एक युवाको पाटन अस्पतालमा हड्डीको अपरेशन सम्पन्न भएको छ । सप्तरीका ३२ वर्षे युवाको आज अपरेशन सम्पन्न भएको पाटन अस्पताल कोरोना डेडिकेटेड संयोजक डा विमल पाण्डेले सेतोपाटीलाई बताए । ती युवाको खुट्टा भाँचिएको थियो । ‘सुरुमा हामीले यहाँ ठाउँ नभएर काठमाडौं मेडिकल अस्पताल पठाएका थियौं’ डा पाण्डेले भने, ‘उनको स्वास्थ्य अवस्था सामान्य छ । नेपालमा कोरोना पोजेटिभ बिरामीको सर्जरी भएको संभवत यो पहिलो घटना हो ।’ सर्जरीमा डा. सुमन श्रेष्ठ र डा. तोया भट्ट रहेको पाण्डेले बताए । सेतोपाटीबाट साभार

थप ४३ जना संक्रमित निको भए

वीरगञ्जः कोरोना सङ्क्रमण पुष्टि भएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ७० जना डिस्चार्ज भएका छन् । सबै सङ्क्रमित कोरोनामुक्त भई सोमबार डिस्चार्ज भएपछि अस्पताल सङ्क्रमितविहीन बनेको छ । पछिल्लो शनिबार, आइतबार र सोमबार गरी तीन दिनमा ७० जना कोरोना सङ्क्रमितहरू कोरोनामुक्त भई डिस्चार्ज भएपछि वीरगञ्जको नारायणी अस्पताल कोरोना सङ्क्रमितमुक्त बनेको हो । सोमबार पर्साका दुई जना पत्रकारसहित पर्साका ४२ जना र एक जना सर्लाहीका सङ्क्रमित गरी ४३ जना कोरोना सङ्क्रमितलाई सोमबार साँझ डिस्चार्ज गरी घर पठाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले गोरखापत्रलाई बताए । सबै सङ्क्रमितको पछिल्लो दुई रिपोर्ट नेगेटिभ आएपछि ४३ जना सङ्क्रमितलाई सोमबार डिस्चार्ज गरिएको हो । त्यस्तै, आइतबार राति ११ बजे एकै परिवारका १८ जना सङ्क्रमित कोरोनामुक्त भई डिस्चार्ज गरिएको थियो भने शनिबार नौ जना कोरोनामुक्त भई डिस्चार्ज भएका थिए । यसरी वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत सबै सङ्क्रमित डिस्चार्ज भएपछि अस्पतालको आइसोलेसन वार्ड खाली भएको छ । वीरगञ्जकै गण्डक अस्पतालमा बनाइएको अस्थायी कोरोना अस्पतालमा २७ जना सङ्क्रमितको उपचार भइरहेको छ । उपचाररत २७ जना सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सक निरज कुमार सिंहले बताए ।

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरको छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव २०७६/७७ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । समारोहमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडालगायतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले साँझ ५ः३० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘५ः३० बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुनेछ’, थापाले भने ‘त्यसअघि ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।’ भारतले अतिक्रमित गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक सिमेटिएर नेपालले नयाँ नक्सा जारी गरेपछि उत्पन्न राजनीतिक तरंगबीच ओलीले गर्ने सम्बोधनलाई अर्थपूर्ण रुपमा लिइएको छ । प्रधानमन्त्री ओलीले नयाँ नक्साको कार्यन्वयन र अतिक्रमित भूमी प्राप्तिका लागि आवश्यक राजनीतिक वार्ता र कुटनीतिक पहलमा जोड दिँदै नेपाल-भारतबीचको सम्बन्धका बारेमा महत्वपूर्ण अभिव्यक्ति दिने बुझिएको छ ।

संक्रमित भेटिएपछि गोकर्णेश्वर शिवचोकका ७ घर सिल

काठमाडौंः गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ । ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पिसिआर विधिबाट परीक्षण गर्न लागिएको वडाध्यक्ष केशव गुरुङले जानकारी दिए । सङ्क्रमितको घरमा तीन जनामात्र बस्ने, कोठा भाडामा समेत नलगाएकाले पहिलो चरणमा परिवारका सदस्यको मात्र परीक्षण गर्न लागिएको हो । परिवारका सदस्यको नतिजा नेगेटिभ आए अरुको नगरिने र पोजेटिभ आए सम्पर्कमा आएकाको ट्रेसिङ गरी परीक्षण गरिने पनि उनले बताए । नगरपालिकामा यो दोस्रो सङ्क्रमण भएको प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए । पहिलो सङ्क्रमित गोकर्णेश्वर–४ क्षेत्रमा ट्रेसिङ गरिएका १९७ जनाको आरडिटी परीक्षण गर्दा ८ जनामा पोजेटिभ देखिएको छ । पोजिटिभ देखिएका सबैलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको उनले जानकारी दिए । नगरका जनप्रतिनिधि, कर्मचारीलगायत अग्रभागमा रहेर काम गर्नेमा गरिएको पीसीआरको प्रतिवेदन भने नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।

सशस्त्र प्रहरी अस्पतालबाट १ जना डिस्चार्ज

काठमाडौंः सशस्त्र प्रहरी बल अस्पतालबाट १ जना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालमा भर्ना भएका १५ मध्ये १ जना पुरुष उपचारपछि डिस्चार्ज भएका हुन् । ‘हाम्रो अस्पतालबाट डिस्चार्ज हुने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ, अब हामीसँग १४ जना संक्रमित छन्’ अस्पतालका कोभिड फोकल पर्सन डा. महेन्द्रराज श्रेष्ठ उनले भने ।

४३ बर्षीया महिला घरमै मृत फेला

उदयपुरः उदयपुरको रौतामाई गाउँपालिका ८ की ४३ बर्षीय नेप्टीमाया भनिने दिलमाया तामाङ आफ्नै घरमा मृत फेला परेकी छन् । आज बिहान ७ बजेको समयमा तामाङ आफ्नै घरमा मृत अबवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले महिलालाई धारिलो हतियार प्रहारबाट मृत रहेको अवस्थामा फेला पारेको हो । महिलाको धारिलो हतियार प्रहारबाट हत्या भएको आशंकामा प्रहरीले मृतककै श्रीमान ५२ बर्षीय बिष्णु तामाङलाई नियन्त्रणमा लिएको छ भने मृतकको कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

बारामा थप १ प्रहरी कर्मचारीमा कोरोना संक्रमण

काठमाडौंः बारामा थप १ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । पर्सा घर भएका २५ वर्षीय प्रहरी कर्मचारीमा कोरोना संक्रमण पोजिटिभ देखिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । यो सँगै बारामा मात्रै संक्रमित हुने सुरक्षाकर्मीको संख्या ६ पुगेको छ । यसअघि आइतबार एकैदिन जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय, कलैया घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । मुद्दा शाखामा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा रहेका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । बालमन्दिर आइसोलेसनमा बस्दै आएका संक्रमित प्रहरी कर्मचारीलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको प्रजिअ पण्डितले जानकारी दिए । यससँगै बारामा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । जसमध्ये दुई जना शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको ज्यान गयो

काठमाडौंः नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका १ वृद्धलाई कोरोना पोजिटिभ देखिएको छ। ७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए । नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले ती वृद्धको स्वाब जाँच्दा कोरोना पोजिटिभ आएको जानकारी दिए । ‘शंकास्पद लक्षण देखिएका उनको स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौं पठाएका थियौं अहिले भर्खरै पोजिटिभ नतिजा आयो भनेर मलाई इमेल आएको छ’ उनले भने। ती वृद्धमा मिर्गौलाको समस्या पनि रहेको पर्साका जिल्ला सहायक प्रमुख ललित बस्नेतले जानकारी दिए। यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।