नेपालगञ्जमा निषेधित क्षेत्र खुकुलो बनाइने
बाँकेः नेपालगञ्जको निषेधित क्षेत्र शुक्रबार (भोलि)देखि केही खुकुलो बनाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले निषेधित क्षेत्र केही खुकुलो बनाउने निर्णय गरेको हो ।
शुक्रबारदेखि विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म अत्यावश्यक सामग्री किनमेलका लागि पसलहरु खोल्न दिइने बैठकले निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले खाद्यान्न, डेरी, तरकारीलगायत अत्यावश्यक सामग्री पाइने पसल म्म खोल्न दिइने र अन्य समयमा भने हिंड्डुल गर्न नपाइने बताए ।
नेपालगञ्जमा हालसम्म २३ जना कोरोना संक्रमित भेटिएका छन् । पाँच दिनमा २३ जना संक्रमित भेटिएपछि नेपालगञ्जलाई बैशाख २३ गते विहान ११ बजेदेखि बैशाख २५ गते मध्यरातिसम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो ।
कोरोना अपडेट जानकारी दिँदै स्वास्थ्य मन्त्रालय (LIVE)
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को अपडेट दैनिक गराउँदै आएको छ। नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्। नेपालमा अहिलेसम्म ९९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये २२ निको भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। सरकारले सबै जिल्लामा आरडीटी विधिबाट परीक्षण सुरु गरेको छ भने सबै प्रदेशका विभिन्न ठाउँमा गरेर १८ अस्पतालबाट पीसीआर विधिबाट स्वाब परीक्षण भइरहेको छ।
भारतीयद्वारा सशस्त्रको चेकपोष्टमा ढुंगामुढा, स्थिति नियन्त्रणमा लिन हवाई फायर
सिमराः बाराको कबहीगोठस्थित नेपाल-भारत सीमामा १ हुल भारतीयले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् । प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठका अनुसार आज दिउँसो करिब सय जना भारतीय नेपाल प्रवेश गरी सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले १ राउण्ड हवाई फायर गरिएको छ । ‘पहिले २ जना खेतिपाती गर्ने भनेर नेपाल प्रवेश गर्न खोजेका रहेछन्’ु उनले भने, ‘सीमामा ड्युटीमा रहेकाले उनीहरूलाई आउन नदिएपछि फर्किएर गएर अरू मानिस बोलाएछन्।’ भीडमा आएकाहरूले सशस्त्र प्रहरीको चेकपोष्टमा ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट चेकपोष्टमा क्षति पुगेको छ। हवाई फायरपछि भारतीयहरू भागेको डिआइजी श्रेष्ठले बताए। उनका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने बढेपछि दुबै पक्षका सुरक्षा अधिकारीबीच अहिले छलफल भइरहेको छ।
प्रधानमन्त्री ओलीद्वारा बुद्ध प्रतिमामा माल्यार्पण
काठमाडौंः भगवान् गौतम बुद्धको २५६४ औं जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको प्रतिमामा माल्यार्पण गरेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटार निवास परिसरमा अवस्थित बुद्धको प्रतिमामा माल्यार्पण गरेका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले पनि बुद्धको प्रतिमामा माल्यार्पण गरेकी छन् । त्यस्तै, बुद्धको जन्मजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार काठमाडौंको स्वयम्भूनाथमा दीप प्रज्वलन गरेकी छन्। दीप प्रज्वलनका लागि राष्ट्रपति भण्डारी अपरान्ह १२ बजेतिर स्वयम्भू पुगेकी थिइन्। भण्डारीले स्वयम्भू परिसरभित्र रहेको आनबुद्धि बिहारमा २० मिनेटजति दीप प्रज्वलन गरेकी थिइन्। सरकारले बुद्ध जयन्तीका अवसरमा बिहीबार साँझ सात बजे घर घरमा दीप प्रज्वलन गर्न आह्वान गरेको छ।
राष्ट्रपति भण्डारीद्वारा स्वयम्भूमा दीप प्रज्वलन
काठमाडौंः गौतम बुद्धको २५६४ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौं स्थित स्वयम्भूनाथमा दीप प्रज्वलन गरेकी छन् । दीप प्रज्वलनका लागि राष्ट्रपति भण्डारी दिउँसो १२ बजेतिर स्वयम्भू पुगेकी थिइन् । उनले स्वयम्भू परिसरभित्र रहेको आनबुद्धि बिहारमा २० मिनेटजति दीप प्रज्वलन गरेकी थिइन् । काठमाडौं महानगरपालिका १५ का वडाध्यक्ष ईश्वर डंगोलले बुद्ध पूर्णिमाका दिन हरेक वर्ष त्यहाँ औपचारिक कार्यक्रम गर्ने परम्परा रहेको बताए । सरकारले बुद्ध जयन्तीका अवसरमा आजसाँझ ७ बजे घर घरमा दीप प्रज्वलन गर्न आह्वान गरेको छ ।
सप्तरीमा हात्तीको आक्रमणबाट १ महिलाको मृत्यु
सप्तरीः सप्तरीमा हात्ती आक्रमणबाट १ जना महिलाको ज्यान गएको छ । आक्रमणबाट शम्भुनाथ नगरपालिका–२ की ३८ वर्षीया जानकी मगरको ज्यान गएको हो । घरमा हात्ती प्रवेश गरेपछि जानकी श्रीमान् पेशलसँगै भोगेकी थिइन् । भाग्दै गर्दा उनलाई हात्तीले आक्रमण गरेको श्रीमान् पेशलले बताए । हात्ती आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि यसै अस्पतालमा राखिएको छ । हात्तीले २ जनाको घरसमेत भत्काइदिएको छ । लक्ष्मण मण्डल र बलराम ईसरको घर भत्काइदिएको स्थानीयले बताएका छन् । डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोषकुमार झाले मृतकको परिवारलाई तत्कालै किरिया खर्चवापत ५० हजार उपलब्ध गराउने र क्षतिपूर्तिवापत सरकारी पक्षबाट दिइने १० लाखका लागि कोशी टप्पु वन्यजन्तु आरक्षमा अबिलम्ब प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।
ड्युटीमा खटिएका प्रहरी हवल्दारको अचानक मृत्यु
सप्तरीः सप्तरीमा फेरि १ जना प्रहरीको ड्युटी गरिरहेकै अवस्थामा एक्कासी मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीका अनुसार जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयभित्रै ‘स्ट्यान्डवाइ ड्युटी’ गरिरहेको बखत बिहीबार बिहान ३७ वर्षीय मगरको एक्कासी मृत्यु भएको भारतीले बताए । मृतक प्रहरी हवल्दार उदयपुर जिल्ला निवासी हुन् । उनको मृत्युबारे तत्काल केही भन्न नसकिने र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीको भनाइ छ । यसअघि सप्तरीमै १ जना सशस्त्र प्रहरीका असईको पनि ड्यूटी गरिरहेकै अवस्थामा मृत्यु भएको थियो । भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको सोमबार मृत्यु भएको थियो ।
महाकाली तरेर भित्रिए ६ नेपाली
दार्चुला: लकडाउनका कारण भारतमै रोकिएका ६ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन् । डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका-३ का वीरेन्द्र ठगुन्ना, नरेशसिंह ठगुन्ना, धनसिंह ठगुन्ना, दीपकसिंह ठगुन्ना, गणेशसिंह ठगुन्ना र महाकाली नगरपालिका-५ का कृष्ण ओड रहेका छन् । नौगाड गाउँपालिकाका पाँच जना दत्तुनाका भएर ट्युबमार्फत नेपाल भित्रिएको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले बताए । उनीहरु ट्युबमार्फत नेपाल फर्किएका छन् । यस्तै महाकाली नगरपालिका-५ का ओड भने किम्तडीमै पौडी खेलेर फर्किएका छन् । लकडाउनका कारण काम बन्द भएपछि अहिले घर फर्किएको नौगाड-३ का वीरेन्द्र ठगुन्नाले बताए । ‘एक महिनादेखि काम बन्द भयो’, उनले भने, ‘नेपाल भारत झोलुङ्गे पुल खुलेको जानकारी नहुँदा अहिले महाकालीमा ट्युब तरेर आएका हौँ ।’ तीन दिन डिडिहाटबाट हिँडेरै धार्चुला पुगेको उनले बताए । नेपाल-भारत दुवै देशको सहमतिमा वैशाख १८ गते दार्चुलाका दुई नाका र बैतडीका एक नाकाबाट दुई हजार ६०० बढी नेपाली स्वदेश फर्किएका थिए तर अहिले पनि भारतको पिथौरागढलगायतका क्षेत्रमा काम गर्ने नेपाली महाकाली तरेर आउन रोकिएका छैनन् । उनीहरुले ट्युब तरेवापत प्रतिव्यक्ति रु एक हजार ६०० तिरेका छन् । बालुवाकोट पुग्नेबित्तिकै ट्युब चालकल प्रतिव्यक्ति एक हजार भारु मागेपछि सोही अनुसार नदी तरेर आएको स्थानीय दीपक ठगुन्नाले बताए । ‘ठेकेदारले पनि काम गरेको पूरै ज्याला दिएको छैन’, उनले भने, ‘लकडाउन खुलेपछि पुनः मजदुरी गर्न भारतमै जान्छौँ । गाउँमा रोजगारी पाइँदैन, त्यहाँ काम नगरे घरपरिवार कसरी पाल्नु ।’ उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाउने तयारी छ । फाइल फोटो, रासस
भारतमा कोरोना संक्रमितको संख्या ५३ हजार नाघ्यो, १७८५ को मृत्यु
नयाँ दिल्ली: भारतमा कोरोना संक्रमितको संख्या ५३ हजार भन्दा बढी भएको छ । बुधबार मात्रै ३५ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । पछिल्ला दिनहरुमा भारतमा प्रतिदिन ३ हजार भन्दा बढीका दरले संक्रमित थपिएका छन् । अहिलेसम्म १७ सय ८५ जनाको मृत्यु भएको छ भने १५ हजार ३ सय ३१ जना निको भएका छन् । महाराष्ट्र, गुजरात, तमिलनाडु, राजस्थान र दिल्लीमा सबैभन्दा बढी संक्रमण देखिएको छ । महाराष्ट्रमा मात्रै १७ हजार ७ सय ५८ जना संक्रमित छन् । राज्यको मुम्बई क्षेत्रमा संक्रमण बढी देखिएको हो । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा समेत संक्रमण उच्च छ । हालसम्म उत्तर प्रदेशमा २ हजार ९ सय ९८ जनामा संक्रमण देखिएको छ ।
विषालु ग्यास चुहिँदा ३ को मृत्यु, हजार बढी सिकिस्त, बेहोस भएर बाटोमैं ढले दर्जनौं मानिस
विशाखापट्टनमः आन्ध्र प्रदेशको विशाखापट्टनममा बिहिबार बिहानै निकै ठूलो त्रासदीपूर्ण घटना घटेको छ । एउटा पोलिमर उत्पादक कम्पनीबाट विषाक्त ग्यास चुहिँदा सयौं मानिस अस्पताल भर्ना भएका छन् । स्थानीय प्रशासन र सेनाले उक्त क्षेत्र खाली गर्ने कोशिस गरिरहेको छ । अहिलेसम्म तीन जनाको मृत्यु भएको एएनआईले जनाएको छ । सबैभन्दा बढी असर बालबालिका र बृद्धहरुमा देखिएको छ । विषालु ग्यास चुहिएपछि १ सय ५० भन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको छ । २० जनाको अवस्था निकै गम्भीर छ । अस्पतालमा संख्या बढ्ने देखिएपछि सबै नीजि र सरकारी अस्पतालमा १५ सय भन्दा बढी बेडको व्यवस्था सुनिश्चित गरिएको छ । विशाखापट्टनमको गोपालपटनममा रहेको एलजी पोलिमर कम्पनीमा ग्यास चुहिएको थियो । फैलिएको ग्यासको असर तीन किलोमिटर क्षेत्रमा देखिएको छ । मानिसहरुमा टाउको दुख्ने, उल्टी र श्वास फेर्न समस्या देखिएको छ । ग्रेटर विशाखापट्टनम म्युनिसिफल कर्पोरेसनका कमिश्वन सिर्जना गुम्मालाले मिडियालाई दिएको जानकारी अनुसार, गएराती साढे दुई बजे स्टाइरेन नामक पिभिसी ग्यास एलजी मोलिमर कम्पनीबाट चुहिएको थियो । आज बिहान ५० जना मानिस सडकमा नै बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
यी हुन् नेपालका ९९ जना कोरोना संक्रमित (सूचीसहित)
काठमाडौंः नेपालमा हालसम्म ९९ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी उदयपुरमा २८ जना कोरोना संक्रमित फेला परेका छन् । संक्रमितमध्ये ७२.७ प्रतिशत पुरुष र २७.३ प्रतिशत महिला रहेको छन् । पर्सामा २४ र बाँकेमा २३ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएकोछ । काठमाडौं, बागलुङ र कञ्चनपुरका सबै संक्रमित निको भइसकेका छन् । हालसम्म २२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । निको हुनेमा २२.७ प्रतिशत महिला रहेका छन् भने बाँकी पुरुष रहेको मन्त्रालयले जनाएको छ । जिल्लागत रुपमा संक्रमित र निको हुनेको संख्याः कोरोना संक्रमित (सूचीसहित): (८३-९९) २ महिना को शिशु देखि ६६ बर्षका, १० पुरुष, ७ महिला, १७ जना, बैशाख २४, पर्सा (७६-८२) २२, ३०, ४० बर्षका ३ पुरुष, ९, ३२, ३४, ५५ बर्षका ४ महिला, ७ जना, बैशाख २३, बाँके (७०-७५) १६, २१, ३४ बर्षका ३ पुरुष, ४०, ५५, ६० बर्षका ३ महिला, ६ जना, बैशाख २१, बाँके (६१-६९) ७ देखि ५८ बर्षका ५ जना पुरुष र ४ जना महिला, ९ जना, बैशाख २१, बाँके (६०) ३६ बर्षका पुरुष, बैशाख २१, पर्सा (५९) ६० बर्षका पुरुष, बैशाख २०, बाँके (५८) २५ बर्षका पुरुष, बैशाख २०, रुपन्देही (५७) ४६ बर्षका पुरुष, बैशाख १७, पर्सा (५५-५६) ४३ र ४१ बर्षका २ जना पुरुष, बैशाख १७, बारा (५३-५४) २४ र ३५ बर्षका २ जना पुरुष, बैशाख १६, रौतहट (५२) ५० बर्षका पुरुष, बैशाख १४, झापा (५०-५१) ५० बर्षका २ जना पुरुष, बैशाख १४, पर्सा (४९) ६२ बर्षका पुरुष, बैशाख १२, झापा (४८) २६ बर्षका पुरुष, साउदी अरब बाट, बैशाख ११, भोजपुर ४७) १४ बर्षका बलाक (पुरुष) बैशाख ११, धनुषा (४६) ५५ बर्षकी महिला, बैशाख ११,उदयपुर (४४- ४५) ६० र ७२ बर्षका २ जना पुरुष, बैशाख १०, उदयपुर (४३) २४ बर्षका भारतीय पुरुष, बैशाख १०, उदयपुर (३२- ४२) १८,१८, २०, ३३, ४९, ४१, ४१, ५२ र ५८ बर्षका पुरुष, ३६ बर्षकी महिला, र १ जना उमेर नखुलेको महिला, ११ जना, बैशाख ९, उदयपुर (३१) ६५ बर्षका पुरुष, बैशाख ६, उदयपुर (२९, ३०) २७* र ६३ बर्षका पुरुष, २ जना बेलायत बाट, बैशाख ५, चितवन (१७- २८) ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका १२ जना भारतीय पुरुष भारत बाट, बैशाख ५, उदयपुर (१५, १६) ५८ बर्षका पुरुष* र ८१ बर्षकी महिला*, २ जना बेलायत बाट, बैशाख २, काठमाडौ (१४) १९ बर्षका पुरुष* भारत बाट, बैशाख १, रौतहट (१३) ६५ बर्षकी महिला, बैशाख १, कैलाली (१०,११,१२) ३७, ४४ र ५५ बर्षका ३* जना भारतीय पुरुष, भारत बाट, चैत ३०, पर्सा (९) ३४ बर्षकी महिला*, चैत २२, कैलाली (८) ४१ बर्षका पुरुष* भारत बाट, चैत २२, कञ्चनपुर (७) २१ बर्षका पुरुष* भारत बाट, चैत २२, कैलाली (६) ६५ बर्षकी महिला* दुबई बाट, चैत २०, बागलुङ (५) १९ बर्षकी महिला* बेल्जियम बाट, चैत १५, बागलुङ (४) ३४ बर्षका पुरूष* दुबई बाट, चैत १४, कैलाली (३) ३२ वर्षका पुरुष* दुबई बाट, चैत १२, काठमाडौ (२) १९ वर्षकी महिला* फ्रान्स बाट, चैत १०, काठमाडौ (१) ३२ वर्षका पुरुष* चीनबाट, काठमाडौ
कुखुरा चोर्न आएको चितुवाले मान्छेलाई आक्रमण गरेपछि…
तनहुँः भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको एक पोथी चितुवा मारिएको हो । स्थानीय रामबहादुर कुमालले व्यावसायिकरूपमा पालेको कुखुरा रातिको समयमा चोर्न आएको थाहा पाएपछि स्थानीयवासीले लखेट्दै जाँदा वन छेउको रुखमा रहेको चितुवा एक्कासी मानिसमाथि जाइलागेपछि चितुवा मारिएको हो । सो क्रममा स्थानीय रामबहादुर कुमाल सख्त घाइते भएको वडाध्यक्ष पूर्णबहादुर लौडारी भाटले जानकारी दिए । घाइतेको अहिले पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी भानुबाट प्रहरी टोली घटनास्थलमा पुगे पनि वन कार्यालयका प्रतिनिधि आइनपुगेका कारण यसको विस्तृत जानकारी पाउन नसकिएको उनले बताए । घटनाको जानकारी पाएसँगै डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत विजय देवकोटाको एक टोली त्यसतर्फ जाँदै गरेको डिभिजन वन कार्यालय तनहुँका डिभिजन प्रमुख केदार बरालले बताए । केही समयअघि सोही वडाको लोहीपाखामा राखेको खोरमा बुधबार बिहान पोथी चितुवा मृतावस्थामा फेला परेको थियो । करिब पाँच÷छ वर्षको देखिने २५÷३० किलोग्राम तौल भएको चितुवा मृत फेला परेको हो । चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिकाको मृत्यु हुनुका साथै सात जना घाइते भएको डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए । वन कार्यालय र सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाको १६ स्थानमा १६ वटा खोर निर्माण गरी पासो थाप्दै आएको छ । रासस साङ्कतिक तस्बीर ।
इरानमा फेरि फर्कियो कोरोना, एकाएक बढे संक्रमित
एजेन्सीः इरानमा कोरोना भाइरस संक्रमण नियन्त्रित अवस्थामा रहेको बताइरहेको वेला एकाएक संक्रमितको संख्या बढेको छ। बुधबार मात्रै त्यहाँ १ हजार ६ सय ८० जना नयाँ संक्रमित थपिएका छन्। ११ अप्रिल (२९ चैत) यता एकैदिनमा संक्रमण देखिएको यो नै सबैभन्दा बढी संख्या हो। इरानमा संक्रमितको कुल संख्या १ लाख १ हजार ६ सय नाघेको छ। इरानमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७८ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये त्यहाँ हालसम्म ६ हजार ४ सय १८ जनाको मृत्यु भइसकेको छ भने ८१ हजार ५ सय ८७ जना उपचारपछि घर फर्किएका छन्। पछिल्लो चार दिनयता संक्रमणको घटना लगातार बढिरहँदा त्यहाँ कोरोनाभाइरस महामारी फेरि फर्किएको बताइएको छ। त्यहाँ भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ। इरानका स्वास्थ्य मन्त्रालयका प्रवक्ताले पछिल्लो तीन-चार दिनमा संक्रमण बढिरहेको देखिएको बताएका छन्। उनको भनाइमा मुलुकमा अति आवश्यक नपरी यात्रा गर्नेहरु बढेका कारण संक्रमणको घटना बढेको हुनसक्छ। इरानले ११ अप्रिलदेखि लकडाउन (बन्दाबन्दी) लाई खुकुलो बनाएको थियो। जोखिम कम भएका क्षेत्रमा मस्जिदहरु खोलिएको थियो।
यस्तो छ बिहीबारको मौसम पूर्वानुमान
काठमाडौंः आज (बिहीबार) पनि देशभर केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको सुदुरपश्चिमीका भू–भागमा वर्षा भइरहेको र अन्य ठाउँमा मौसम सामान्यतया सफा रहेको छ । आज केही ठाउँमा सामान्य बदली हुने, एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान: बैशाख २५गते (बिहीबार) दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।देशको पश्चिमी भू-भागका केहि स्थानहरूमा र मध्य/पूर्वी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशभर सामान्य बदली रहने छ। देशको मध्य/पूर्वी भू-भागका केहि स्थानहरूमा र पश्चिमी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। बैशाख २६ गते (शुक्रबार) दिउँसोः देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ ।देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशको पहाडी भू-भागमा सामान्य बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। बैशाख २७ गते (शनिबार) दिउँसोः देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ ।देशको पश्चिमी /मध्य भू-भागका केहि स्थानहरूमा साथै पूर्वी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशको पहाडी भू-भागमा सामान्य बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श देशको पहाडी साथै पश्चिमी भू-भागका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
‘विश्व शान्तिको चाहनामा तड्पिरहेका बेला बुद्धका सन्देशहरू बढी सान्दर्भिक’ (भिडियो)
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण विश्व शान्तिको चाहनामा तड्पिरहेका बेला गौतम बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भइरहेको बताएका छन् । बुद्ध जयन्तीको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले बुद्धका सन्देशहरुसबै मिलेर सम्प्रेषण गर्न आग्रह गरेका छन् । ओलीले आज साँझ ७ बजे दीप प्रज्वलनका लागि आग्रह समेत गरेका छन् ।
आज बुद्ध जयन्ती मनाइँदै
काठमाडौंः प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतमबुद्धको २५६४ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । यस वर्ष कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि मात्र पूरा गरिने जनाइएको छ । आम मानिसलाई बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विगत वर्षमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने परम्परा थियो । यी स्थलमा सीमित धर्मगुरु बसेर पूजापाठ गरी पर्व मनाउने निर्णय भएको छ । बौद्ध क्षेत्रका सङ्घसंस्थाको बैठकले बौद्ध चैत्यमा यस्तै निर्णय गरेको काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले राससलाई जानकारी दिए । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६४ वर्षअघि कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए । इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतमबुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए । यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरुलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनको महापरिनिर्वाण (मृत्यु) भएको थियो । विश्व जगत्मा शान्तिका अग्रदूत र एशियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ । विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ । यिनमा बेलायतबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको ‘एशियाको ज्योति (१८७९)’ तत्कालीन भारतीय संविधान मस्यौदा समितिका अध्यक्ष डा बाबा साहेब अम्बेडकरको ‘बुद्ध र उनको धम्म (१९५७)’ र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हेर्मन हेस्सेको ‘सिद्धार्थ (१९२२)’ प्रसिद्ध छन् । यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाले ‘बुद्धिस्ट डिक्सनरी’ (१९५०), ‘विश्वमा बुद्ध’ (१९०६), फ्रान्सका डा वाल्पोला राहुलको ‘बुद्धको विचार’ (१९५९), इटलीका जिसेप्पे टिउचिलेको ‘मुस्ताङको भ्रमण’ (१९६९) आदि पुस्तकले बुद्धलाई अन्तर्राट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विश्वका अतिप्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्ध अध्ययन हुँदै आएको छ । यसैगरी त्रिभुवन, नेपाल संस्कृत, लुम्बिनी बौद्ध विश्वविद्यालयलगायतले पनि बौद्ध दर्शनमा स्नातकोत्तर (एमए) को अध्ययन अध्यापन गर्दै आएका छन् । बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिए जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन् । सम्राट् अशोकले ई.पू. २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ । तत्कालीन वेस्टर्न कमान्डर जनरल खड्गशम्शेर राणाले शिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भदेखि पुरातत्व विशेषज्ञ डा फुररको सहयोगमा स्तम्भ संरक्षण गरिएको थियो । सन् १९५६ मा चौँथो विश्व बौद्ध मातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो । सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको बृहत्तर योजना आरम्भ भएको हो । बुद्ध जन्मिएको नेपाललाई विश्वमा चिनाउन विसं २०७० को अन्तिमतिर एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नेपालका साथै एशियाका भारत, बर्मा, श्रीलङ्का, थाइल्याण्ड, हङ्कङ्, मङ्गोलिया, भुटान, सिङ्गापुर लगायत देशलाई समेटेर बौद्ध परिपथको प्रस्ताव गरेका थिए । प्रस्तावलाई धेरै देशले समर्थनसमेत गरेका थिए । नेपालमा पनि लुम्बिनी, स्वयम्भू, बौद्ध, मणिचुड, नमोबुद्ध, हलेसीलगायत बौद्ध तीर्थस्थललाई समेटेर बौद्ध परिपथको प्रस्ताव तत्कालीन संविधानसभा सदस्य रामेश्वर फुयाँलले संसद्मा दर्ता गराएका थिए । रासस

