नेकपाले डाक्यो सचिवालयको आकस्मिक बैठक

काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी ऐनमा दल त्यागसम्बन्धी व्यवस्था संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेसँगै नेकपाले आकस्मिकरुपमा सचिवालय बैठक बोलाएको छ ।

मन्त्रीपरिषदको बैठकले उक्त अध्यादेश ल्याउने निर्णय भएको कुरा सार्वजनिक भएपछि नेकपाका अर्का अध्यक्ष प्रंंचण्डले प्रधानमन्त्रीसँग पछिल्लो परिस्थितिबारे छलफल गर्न सचिवालयको बैठक बोलाउन छलफल गरेको बुझिएको छ । “दुई अध्यक्षबीच कुराकानी भएपछि बैठक बोलाइएको हो ।” श्रोतले भन्यो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पार्टी सचिवालयको बैठक सोमबार साँझ साढे पाँच बजेका लागि बोलाइएको छ ।

बैठकमा सरकारले दल त्यागसम्बन्धी विधेयक के कति कारणले ल्याएको हो र त्यसले पार्टीमा के असर पर्छ लगायतका विषयमा छलफल हुन सक्छ । पार्टी विभाजन हुने हल्ला व्यापक भएपछि बैठकले त्यसलाई चिर्न समेत केही निर्णय गर्न सक्ने बताइन्छ ।

पर्यटन क्षेत्र बचाउन १ महिना बिदा दिने गरी योजना बनाइँदै

काठमाडौंः कोभिड–१९ बाट नराम्ररी असर पारेको नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारी तथा निजी क्षेत्रबाट विभिन्न पहलकदमी भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि कोभिड–१९ बाट आक्रान्त बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न विभिन्न रणनीति बनाइरहेको छ । कोभिड–१९ का कारण धरासायी अवस्थामा रहेको पर्यटन क्षेत्रलाई गति दिन मन्त्रालयले विभिन्न सम्भावनाको खोजी गरिरहेको पर्यटनमन्त्री योगेशकुमार भट्टराईले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको भिडियो कन्फ्रेन्समार्फतको अन्तक्र्रियामा मन्त्री भट्टराईले कोभिड–१९ बाट पर्यटन क्षेत्रमा परेको वास्तविक असरको पहिचान गरी यस क्षेत्रलाई माथि उकास्न नयाँ योजनाका साथ अघि बढ्ने बताए । उनले आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक महिना बिदा दिने गरि योजना बनाइरहेको पनि बताए । पर्यटन क्षेत्रको असरबारे अध्ययन गर्न पर्यटन मन्त्रालयका सहचिव घनश्याम उपाध्याय, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल रहेको समितिले वास्तविक विवरण सङ्कलन गरिरहेको छ । पर्यटनको यकीन विवरण आएपछि के कस्ता राहतका कार्यक्रम ल्याउने भन्ने टुङ्गोमा पुगिने पर्यटन मन्त्री भट्टराईको भनाइ छ । उनले भनेका छन्, “यो कोभिड–१९ महामारी नियन्त्रणका बारेमा अहिले नै भन्न सकिने अवस्था छैन । सङ्क्रमण रोकिए पनि विदेशी पर्यटक आउने सम्भावना कम छ । त्यसैले नेपालको पर्यटन क्षेत्रलाई ‘भाइब्रेन्ट’ बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ ।” मन्त्री भट्टराईले पर्यटन क्षेत्रको वित्तीय सङ्कट समाधानका लागि अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगसँग पनि छलफल भइरहेको बताउँदै आगामी बजेटका सन्दर्भमा अहिले उठेका विषयलाई सम्बोधन गर्न सकिने धारणा राखे । उनले पर्यटन क्षेत्रका श्रमिकलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको जानकारी पनि दिए । पर्यटन क्षेत्रका जनशक्तिलाई हिमाल सरसफाइ, पदमार्ग निर्माण, साइनेजिङ, फुट ट्रेल निर्माणलगायत काममा लगाउन सकिने उनको भनाइ छ । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कोभिड–१९ बाट थालिएको पर्यटन क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आगामी तीन वर्षको गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भनेका छन्, “सरकारले सन् २०२० सम्मको गुरुयोजना बनाएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्नुपर्छ, सरकार र निजी क्षेत्रको सहकार्यमा सन् २०२० मा पर्यटन उद्योगलाई बचाउने, सन् २०२१ मा पुनरुत्थान गर्ने र सन् २०२२ मा पूर्णरुपमा पर्यटकीय गतिविधि विस्तार गर्ने रणनीति लिनुपर्छ ।” पर्यटन मन्त्रालयले नीतिगत सुधार गरी मन्त्रालयका अन्यत्रका बजेट कार्यक्रमलाई कोभिड–१९ ले शिथिल बनेको पर्यटनमा खर्च गर्ने वातावरण सिर्जना गर्न जरुरी छ । सरकारले यो अवस्थामा मुलुकको हरेक क्षेत्रमा सुरक्षा अवलम्बनका लागि म्यानुअल संयन्त्र बनाउन आवश्यक रहेको जोशीले बताए । होटल एशोसिएसन अफ नेपाल (हान) का द्वितीय उपाध्यक्ष प्रविण पाण्डेले पर्यटन उद्योग बचाउन निजी क्षेत्रले जम्मा गरेको सामाजिक सुरक्षा कोष प्रयोगमा ल्याउनुपर्ने बताए । उनले नेपालमा लकडाउन खुलेपछि पनि केही समय विदेशी पर्यटक आउने सम्भावना कम रहेको भन्दै आन्तरिक पर्यटन प्रवद्र्धनलाई जोड दिनुपर्ने खाँचो औँल्याए । रासस

पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्नेगरी अध्यादेश ल्याउने मन्त्रिपरिषद् निर्णय

काठमाडौंः सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । एक मन्त्रीका अनुसार आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरिएको हाे । यसअघि पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत आवश्यक पर्ने व्यवस्था थियो।

शान्तिपुर बसपार्कको १ घरमा आगलागी, वडाध्यक्षका छोराको ज्यान गयो

गुल्मीः जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बसपार्कमा रहेको घरमा आगलागी हुँदा एक वजनाको मृत्यु भएको छ । बसपार्कस्थित पूर्णबहादुर खनालको घरमा आगलागी हुँदा उनका १६ वर्षीय छोरा समीर खनालको मृत्यु भएको चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले जानकारी खिए । खनाल र उनकी श्रीमती रुपा आगलागीमा परेर घाइते भएका छन् । गाउँपालिका अध्यक्ष खत्रीका अनुसार आगलागीमा घाइते भएका उनीहरुलाई उपचारका लागि पाल्पा रिफर गरिएको छ । लकडाउनका कारण तीनै जना घरमा थिए । आगलागी सुरु हुनासाथ आमाबुवा बाहिर निस्कन सफल भएपछि समीर बाहिर निस्कन नसक्दा उनको ज्यान गएको हो । ‘आगलागी सुरु हुनासाथ बुवाआमा बाहिर निस्के तर छोरा सकेनन्, उनको ज्यान गयो’ गाउँपालिका अध्यक्ष खत्रीले भने । खनाल परिवार शान्तिपुर बजारको घरमा पसल गर्थे । उनी बाग्लुङको बरेङ्ग गाउँपालिका–३ का वडाध्यक्ष समेत रहेका खत्रीले जानकारी दिए ।  आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागी विद्युत सर्ट भएर लागेको जनाइएको छ ।

भोलि सिंगापुर उड्दै श्री एयरलाइन्स

काठमाडौंः निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले भोलि सिङ्गापुरका लागि चार्टर्ड उडान भर्ने भएको छ । सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो चार्टर उडानका लागि भारत, बङ्गलादेश, म्यान्मार, थाइल्याण्डलगायत मुलुकसँग ‘ओभरफ्लाई’ को अनुमति लिनुपर्ने आवश्यक प्रक्रिया पूरा भइसकेको छ । कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले सिङ्गापुरबाट स्वास्थ्य सामग्री ल्याउनका लागि उडान अनुमति पाएको जानकारी दिए । मङ्गलबार बिहान सिङ्गापुर उडान भरेर श्रीको जहाज भोलि नै काठमाडौं फर्कनेछ । श्रीले सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत निःशुल्क चार्टर्ड उडान गर्न लागेको जनाएको छ । यसअघि आवश्यक प्रक्रिया पूरा गरेर श्रीले शुक्रबार सिङ्गापुर उडान भर्ने योजना बनाएको भए पनि सिङ्गापुरको कम्पनीकोतर्फबाट सामान जम्मा गर्न केही विलम्ब भएको जवाफ दिएपछि उडान हुन नसकेको श्री एयरलाइन्सले जनाएको छ । श्री एयरलाइन्सले यसअघि सुडानमा चार्टर्ड उडान गरेको थियो ।

एक किरियापुत्री, जसको प्रवेशका लागि नेपाल–भारतले केन्द्रीय तहबाटै अनुमति दिनुपर्‍यो

कोरोना भाइरसः एक किरियापुत्री जसको प्रवेशका लागि नेपाल र भारतले केन्द्रीय तहबाटै अनुमति दिनुपर्‍यो घरमा बुवा वा आमाको निधन भएको खबर पाएपछि निकै टाढा रहेका छोराछोरी पनि अनेक उपाय गरेर घर फर्कने गरेको देखिन्छ। तर दार्चुलाको शैल्यशिखर नगरपालिकाका वासुदेव भट्ट जिल्लाको सिमाना जोडिएको भारतीय क्षेत्रमा भएर पनि आमा बिरामी भएदेखि मृत्यु हुँदासम्मको खबर पाएर पनि दागबत्ती दिन आउन पाएनन्। विश्वव्यापी फैलिएको कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न दुवै देशमा गरिएको लकडाउनका कारण उनलाई नेपाल प्रवेश गर्न दिइएको थिएन। छ दिनसम्म भारतमै आमाको १३ दिने काजकिरिया गरी बसेका उनी आइतवार चाहिँ दुवै देशको केन्द्रीय स्तरको निर्णयपछि घर पुगेका छन्। स्वास्थ्य जाँचपछि घर जाँदै गरेका वासुदेव भट्टलाई बीबीसी संवाददाता नेत्र केसीले टेलिफोन सम्पर्क गरी घर जान पाउँदाको अनुभूतिबारे सोधेका थिए। वासुदेव भट्टको भनाइको सम्पादित अंश यति दिन बसेपछि बल्ल घर जान पाएँ। म अभागी रहेछु, आमालाई दागबत्ती पनि दिन पाइनँ। भारतको एउटा कुनामा बस्नुपर्‍यो। आमाको मृत्युको खबरपछि घर जान मैले पहल गरेकै हुँ। अस्पतालमै आमाको मृत्यु भयो। त्यहाँबाट परिवारका सदस्यले घर लगे। मलाई भाइले फोन गरेर दाजु अब के कसो गर्ने भनेर सोधे। मैले भनेँ – म यहाँ पहल गर्छु, मलाई छाडे भने म बिहानसम्म पुग्छु। तर मलाई जान दिइएन। मैले फेरि पनि पहल गरेँ। एक सय नम्बरमा गुनासो पनि गरेँ। जहाँसम्म हुन्छ हामी पहल गर्छौँ भनेर प्रहरीले भने। हाम्रो हातमा भए हामीले खोलिदिन्थ्यौँ भन्ने उनीहरूले जवाफ दिए। यो अन्तर्राष्ट्रिय विषय हो। यसबारे दुई देशले भन्नुपर्‍यो। मन्त्रालयले पत्र पाउनुपर्‍यो। अनि बल्ल हुन्छ भनेर सीमा प्रहरीले भने। छिमेकीहरू नेपाली थिए। बैतडी, बझाङतिरका साथीहरू थिए। उनीहरूले काजकिरियाका लागि व्यवस्था मिलाइदिए। भारतीय साथीहरू पनि थिए। उनीहरूले मेरो लागि अलग्गै कोठाको व्यवस्था गरिदिए। म भारत गएको डेढ महिना जति भएको थियो। फर्कने बेला मसँग एक पैसा पनि थिएन। सबैले मलाई सहयोग गरे। दाजुभाइहरूले सहयोग गरेर पाएको साढे ९ हजार रुपैयाँले काम चलाइरहेको थिएँ। सीमा कटेपछि नगरबाट मलाई लिन एम्बुलेन्स आएको थियो। चालकले सात हजार पर्ने हिसाब निकाले जसअनुसार आधा पैसा नगरले बेहोर्ने र बाँकी मैले तिर्नुपर्ने उनले भने। मैले मसँग पैसा नै छैन भनेँ। अनि एम्बुलेन्सबाटै म गए। कच्ची बाटोका कारण बैतडीको छोला भन्ने ठाउँबाट आधा घण्टा जति हिँडेर जानुपर्‍यो। आफ्नो धर्ती टेक्न पाएपछि त खुशी नै लाग्यो नि। म बसेको ठाउँमा ३६८ जना नेपाली छन्। त्यो ठाउँ भनेको भारतको बालुवाकोट हो। क्वारन्टीनमा खाने र बस्ने व्यवस्था भारतीय पक्षले नै गरेको छ। भारतको धार्चुलामा पर्ने बालुवाकोटस्थित राजकीय इन्टर कलेजमा बनाइएको क्वारन्टीनमा हामी बसिरहेका थियौँ। त्यहाँ खानाको व्यवस्था ठीकै थियो। दालभात खान दिन्छन्। दिउँसो दालभात र तरकारी हुन्छ, अनि बेलुका दालभात हुन्छ। त्यहाँ बसिरहेका नेपालीहरूलाई पैसाको निकै खाँचो छ। हामी सडकमा काम गर्थ्यौँ। ठेकेदारले पैसा पनि दिएका छैनन्। कहिले फर्कने भन्ने सबैलाई छ।”  बीबीसी 

‘लकडाउनको मौकामा बाबुछोराद्वारा चोरी, गहना पानी ट्याङकीभित्र लुकाए’

कैलालीः लकडाउनको मौका छोपेर बाबुछोराले धनगढीमा सुनचाँदी पसल चोरी गरेको प्रहरीले जनाएको छ । कारागार रोडका ४५ बर्षीय पप्पु गुप्ता र उनका छोरा २० बर्षीय पवन गुप्ताले बुधबार राति जिल्ला प्रशासन अगाडि रहेको प्रिया सुन चाँदी पसलमा चोरी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले सुन पसलबाट चोरेको गहना घरको छतमा रहेको पानी ट्याङकीभित्र लुकाएर राखेको अवस्थामा बरामद गरिएको बताए । प्रिया सुनचाँदी पसलका सञ्चालक बिनोद कुमार बर्माले झण्डै १२ लखाको चोरी भएको बताए ।

कोरोना लागेर निको भएका भन्छन्ः ‘सकभर हुन नदिऊ, भए आत्मबल बढाऊँ’

अमेरिकाः धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै चैत १५ (मार्च २८) देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाए । पाँच वर्षअघि अमेरिका आएका गौली अमेरिकी सेनाको रिजर्भ फोर्समा कार्यरत छन् । कोभिड–१९ को त्रास बढिरहँदा आफूलाई समेत सङ्क्रमण भएपछि केही आत्तिएको तर घरमै सेल्फ आइसोलेसनमा बसेर चिकित्सकको सल्लाहबमोजिमको गतिविधि गरेपछि अहिले स्वस्थ अनुभव गरेको उनले बताए । ‘झण्डै १० दिन कोरोनाविरुद्वको लडाइँमा अन्ततः मैले जित्न सकेँ । यसका लागि आत्मबल बलियो हुनु जरुरी छ । ठूलो औषधि भनेकै सकारात्मक सोच रहेछ’, गौलीले भने, ‘मुख्य कुरा म तन्दुरुस्त छु, मलाई सर्दैन भनेर कसैले नसोच्नुहोला र सङ्क्रमण भइहाल्यो भने हेलचेक्र्याई नगर्नुहोला ।’ कोरोना लाग्दैमा मरिन्छ भनेर डराइनहाल्न अनुरोध गर्दै गौलीले लागेको खण्डमा पनि घरमै बसेर आफ्नो प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक खाना खाने र चिकित्सकको सल्लाहअनुरुप गतिविधि गर्दा यो रोगमाथि जित हासिल गर्न सकिने आफ्नो अनुभवलाई सुनाए । शुरुमा ज्वरो आएको, ज्वरोपछि खोकी लागेको, ज्वरो घट्दै नघटेको र विस्तारै दिनहरु बित्दै जाँदा श्वास फेर्न कठिन भएको स्मरण गर्दै गौलीले भने, ‘तर, आफ्नो आत्मबल बढाउँदै चिकित्सकको सल्लाहअनुरुपका गतिविधि गरे, आफूलाई भित्रबाट हार्न नदिन म लागिरहे । अहिले आराम अनुभव गरेको छु ।’ आफूलाई कोभिड–१९ को सङ्क्रमण देखिएपछि अरुलाई सर्न नदिनका लागि आफैँले सजगकता अपनाउन पर्ने गौली बताउँछन् । ‘तातो पानी प्रयोग गर्ने, घरका सदस्यस“ग समेत दूरी कायम गर्ने गर्नुपर्दछ । मैले त रुम नै बेग्लै गरेको थिए’, उनले भने, ‘तातोपानीको बाफ लिने गर्थे, श्रीमती र बुबा पनि छ–सात फिट पर बस्नुहुन्थ्यो । मैले सर्न नदिन विशेष ख्याल गरेँ । त्यसैले होला बुबा र श्रीमतीलाई अहिलेसम्म देखिएको छैन । आगामी दिनमा पनि नदेखियोस् ।’ उता इङ्गल्याण्डको साउथ इस्ट लण्डनमा कपुरका नामले परिचित पोखराका पद्म राणा पनि कोभिड–१९ को सङ्क्रमणका कारण उपचारपछि घरमै सेल्फ आइसोलेसनमा बसेर अहिले निको भएका छन् । उनी २० वर्षदेखि बेलायतमा बस्दै आएका छन् । ‘मैले अस्पतालमा जाँच गर्न जाँदा मलाई निमोनिया र कोभिड सङ्क्रमण भएको थियो । तर पनि म अत्तलिन । अस्पतालमा रहँदा पनि मैले आत्मबल कहिल्यै घट्न दिइनँ’, उनले भने, उनले कोभिड–१९ सङ्क्रमणपछिको अनुभव साट्दै भने, ‘कोरोना सङ्क्रमणबाट बच्न ‘ब्यालेन्स डाइट’मा ध्यान दिनुहोस्, तातोपानी, सुप र झोलिलो पदार्थ भएको पोषणयुक्त खाना खान खानुहोस् । साथै सकेमा तातोपानीको बाफ लिन, अझ सकिन्छ भने दिनमा कम्तीमा दुईपटक स्टिम बाथ लिनुहोस् यी सबै घरमै बसेर गर्न सकिन्छ ।’ नियमित ब्यायाम गर्न र अति आवश्यक काममाबाहेक घर बाहिर ननिस्किन पनि उनी सबैमा आग्रह गर्छन् । अमेरिकाको न्यूयोर्क बस्दै आएकी ४४ वर्षीया नीमा शेर्पाको परिवारलाई नै कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । श्रीमान्–श्रीमती र दुई छोरासहित चार सदस्यीय नीमाको परिवार घरमै सेल्फ आइसोलेसनमा बसेको थियो । नेपाल सोलुखोम्बुका नीमा २२ वर्षअघि अमेरिका आएकी हुन् । नीमा पेशाले नर्स हुन् । नर्सिङ पेशामा भएका कारणले पनि आफ्नो परिवारलाई रिकभर गर्न सजिलो भएको उनले बताइन् । ‘घरमै एकले अर्काको आत्मबल बढायौँ । खोकी र ज्वरोको औषधि सेवन गर्यौँ’, उनले भनिन्, ‘लक्षणबाट नै कोभिड सरेको ठानेकी थिएँ, त्यही अनुसार नै मैले आफू र आफ्नो परिवारको शक्ति बढाउनका लागि गर्नुपर्ने काम गर्न थालेकी थिएँ । परीक्षण गरेको पाँच–सात दिनपछि बल्ल रिपोर्ट आएको थियो तर हामी त्यसअघिदेखि नै घरमा आराम गरेर एकले अर्कालाई ‘टेक केयर’ गरी बसेका थियौँ । रिपोर्ट आइपुग्दासम्म हाम्रो अवस्थामा केही सुधार भइसकेको थियो ।’ उनले सकभर कोभिड हुन नदिने तर्फ नैं जोड दिनुपर्ने र भैहाल्यो भने पनि परिवारमा हुनुहुन्छ भने छुवाछुत जस्तो गरी होइन बरु एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्दछ, आत्तिनुहुदैंन भनिन् । पछिल्लो समयमा आइरहेको तथ्याकंले पनि सङ्क्रमण पछिको रिकभरी रेट बढी देखाएको छ यो सुखद पक्ष भएकाले कोभिड–१९ को सङ्क्रमण भैहाले पनि आफ्नो आत्मबल बढाएर चिकित्सकीय परामर्शमा अगाडि बढ्दा फेरि पहिलाकैं अवस्थामा फर्कर्न सकिने निमाको बुझाई छ । अमेरिकाकै न्यूयोर्क निवासी ५० वर्षीय जीवन बम कोभिड–१९ सङ्क्रमणमा परेका थिए । अहिले उनी पनि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई स्वस्थ बनाए । कैलाली टीकापुरका उनी २० वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । ‘कोभिड–१९ लागिहाल्यो भने पनि शुरुदेखि नै लापरवाही गर्नुभएन, आराम गर्ने, ज्वरो नापिरहने, १४ दिनसम्म घरमा बस्ने, यदि ज्वरो घटेन भने इमर्जेन्सीमा जाने, निमोनिया हुन नदिने, शरीरमा शक्ति बढाउन केही न केही खाइरहने गर्नुपर्छ’, बमले आफ्नो अनुभव साट्दै भने, ‘यो बेला आफ्नो आत्मबल बढाउनुपर्छ, आफूलाई कमजोर हुन दिनुहुँदैन ।’ ‘शुरुमा ज्वरोको लक्षण देखिएपछि विस्तारै खोकी र स्वासप्रश्वासमा समस्या भयो । मलाई सङ्क्रमण भएको थाहा पाएपछि पनि म आफूलाई निको पार्न सक्छु भन्ने आत्मबलका साथ सेल्फ आइसोलेसनमा बसे’, उनले भने, ‘कोरोना सङ्क्रमण हुँदैमा मरिहाल्छु भनेर पनि सोच्नुहँुदैन । मैले ती सबै सोचिन तर हेलचेक्र्याइ पनि गरिनँ । परिवारका सदस्यहरुबाट टाढा रहे, दूरी बनाए । नियमित चिकित्सकले भनेअनुसार गतिविधि गरे अहिले सुधार भएको अनुभव गरेको छु ।’ न्यूयोर्ककै अर्का कोभिड–१९ को सङ्क्रमणमा परेका भोजपुरका शम्भु मोक्तान पनि घरमै सेल्फ आइसोलेसनपछि अहिले आफूले स्वस्थ महसुस गरेको बताउँछन् । पाँच दिन अस्पताल भर्नापछि मोक्तान घरमै सेल्फ आइसोलेसनमा छन् । मोक्तान गएको १९ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । कोभिड–१९ को सङ्क्रमण भएको १५ दिनपछि अहिले आफू कोभिड–१९ को सङ्क्रमणले च्याप्नु अघिजस्तै बोल्न, हिँड्न र खान सक्षम भएको मोक्तानले बताए । अहिले आफूलाई विभिन्न देशबाट आफ्नो अनुभव साट्न आग्रह गर्दै सम्पर्क गर्ने गरिएको जनाउँदै उनले शुरुआती लक्षणदेखि अस्पतालको उपचार पद्धति र सेल्फ आइसोलेसनमा बस्दा आफूले गरेका गतिविधि बताउने गरेको उल्लेख गरे । सकभर कोभिड–१९ को सङ्क्रमण हुन नदिनका लागि विशेष ख्याल गर्न आग्रह गर्दै उनी यदि कोरोना लागिहाल्यो भने पनि आफ्नो आत्मबल बढाएर चिकित्सकले भनेअनुरुपको कार्य गर्न सबैलाई सुझाव दिन्छन् । यस्तै स्पेनको बार्सिलोनामा कोरोना भाइरसको सङ्क्रमणपछि अस्पतालमा उपचार गराई विष्णु रिजाल अहिले घरमा सेल्फ आइसोलेसनमा बसेका छन् । सङ्क्रमणका कारण सिकिस्त बिरामी भएका बार्सिलोनामा बस्दै आएका अर्घाखाँचीका रिजाल आइसीयूमा भर्ना भएका थिए । घरमै आराम गरिरहेका उनी कोरोनाको सङ्क्रमण भएमा उच्च मनोबल राख्न र रोग नलुकाउन सबैलाई आग्रह गर्छन् । अस्पतालबाट डिस्चार्ज भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै ‘जन्मपश्चात मृत्यु शास्वत सत्य हो । तर त्यो सत्यको विरोधमा हामी सङ्घर्षशील रहिरहन्छौं। सायद यही नै जीवनप्रति को मोह पनि हो । दुई हप्ता अस्पतालको कष्टकर बसाइपछि घर फर्केको छु अहिले ठिक भएको छु’ उनले भनेका छन् । यस्तै अमेरिका न्यूजर्सीका बेगम पण्डित पनि आफूलाई कोभिड–१९ को सङ्क्रमणको लक्षण देखिएलगत्तै सेल्फ आइसोलेसनमा बसेका थिए । ४७ वर्षका पण्डित लक्षण देखिएलगत्तै आइसोलेसनमा बसेका कारण उनका परिवारका अन्य सदस्यमा कोरोना सङ्क्रमण हुन पाएन । सङ्क्रमण पुष्टि भएपछि घरमै आराम गर्न र गाह्रो भएमा मात्र अस्पतालमा आउन चिकित्सकले सुझाव दिएलगत्तै पण्डित आफू घरमै बसेको बताउँछन् । ‘अहिले घरमै आराम गरिरहेको छु । आराम अनुभव गर्न थालेको छु’, उनले भने, ‘कोरोना लाग्दैमा आत्तिहाल्नुपर्ने छैन । यसलाई हल्कारूपमा पनि लिनुहुँदैन । चिकित्सकले भनेअनुसारको गतिविधि गर्दा यो निको हुन्छ । आत्मबल बढाएर रोगविरुद्व लड्ने हो । तर सकेसम्म लाग्न नै दिनुहुँदैन ।’ उता अमेरिका म्यासाच्युट्स बोष्टनका राम धिताललाई पनि कोभिड–१९ को सङ्क्रमण भएको थियो । २५ वर्षदेखि अमेरिका बस्दै आएका उनी घरमै सेल्फ आइसोलेसनमा बसेका थिए । अहिले आफूले पूर्ण स्वास्थ्यलाभ गरेको उनल बताए । ‘कोरोनाभाइरस पोजेटिभ देखिएपछि चिकित्सकको सल्लाहमा घरमा बसेर आराम गरेँ’, उनले भने, ‘मेरो पहिलादेखि नै मुटुको समस्या थियो, त्यसले गर्दा अलि चिन्तित थिएँ तर म डराएको थिइनँ, नियमको पालनाले मलाई ठिक हुन्छ भन्ने नै लागेको थियो ।’ उनले सङ्क्रमणको अवधिभर आफूलाई तापक्रम बढ्ने र घट्ने भइरहने गरेको सुनाए । उनले घरमा आफू आइसोलेसनमा रहँदा चिकित्सकको परामर्शमा ज्वरो घटाउने औषधि पनि खाए भने घरेलुरूपमा सजिलै गर्न सकिने तातोपानी, बेसार, ज्वानो आदिको प्रयोगलाई तीव्र बनाएको जानकारी दिए । त्यसो त आफ्नै छोरी नर्स र श्रीमती पनि स्वास्थ्य क्षेत्रमै काम गर्ने भएकाले पनि आफूलाई हेरचाह राम्रो भएको उनलाई लागेको छ । बेलुकाको समयमा त मैले भिक्स हालेको तातोपानीको बाफ सिरकले छोपेर लिने गर्दथे । बेलुकी खोकी लाग्दा ज्वानोपानी पनि खान्थे । उनले भने, ‘विश्व स्वास्थ्य सङ्गठन वा सिडीसीको गाइडलाइन्समा भएका सुझावको पालनाका साथै नेपालमा प्रचलित घरेलु उपायहरुको अवलम्बन गर्न समेत धिताल सबैमा आग्रह गर्छु ।’ सकभर कोभिड–१९ को सङ्क्रमण लाग्न नैं नदिनेतर्फ सबैको ध्यान हुनुपर्नेमा चिकित्सकको समेत भनाइ छ । कोभिड–१९ लाग्दैमा मरिहालिन्छ भनेर डर पाल्न नहुने बताउँदैं अमेरिका नेपाल मेडिकल फाउन्डेशनका अध्यक्षसमेत रहनुभएका डा सन्तोष सापकोटाले लक्षण देखिए बेलैमा चिकित्सकको सम्पर्कमा जान सबैमा सुझाव दिन्छन् । कोभिड–१९ लाई गम्भीरतापूवर्क लिइ सकभर लाग्न नै नदिनेतर्फ जोड दिनुपर्ने बताउँदै डा सापकोटा भन्छन्, ‘रोग लाग्नु भनेको मान्छेको स्वास्थ्यमा असमान्य स्थिति सिर्जना हुनु हो, त्यसैले सकभर लाग्न नै नदिन सचेत बन्नुपर्दछ । यदि लागिहाल्यो भने पनि चिकित्सकको परामर्शमा होम आइसोलेसनमा बसेर पनि निको हुन सकिन्छ, यो निको हुने दर धेरै छ ।’ सुरज भण्डारी, रासस

कालीमाटी बजार आजदेखि बन्द, कहाँबाट किन्ने तरकारी ?

काठमाडौंः कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गरिने भएको छ । काठमाडौं महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो । बजारमा बिहीबारदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट मात्रै गरिन्छ । महानगरपालिकाले बन्दाबन्दी अवधिभर र कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई आग्रह गरेको छ । साथै तरकारी बिक्रीका लागि आवश्यक स्थान भने महानगरपालिकाले उपलब्ध गराउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले काठमाडौंको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायतका ११ स्थानमा तरकारी बिक्रीको प्रबन्ध गर्नेगरी तयारी भएको जानकारी दिए । सम्बन्धित समाचारः ११ स्थानमा तरकारी तथा फलफूल बिक्री केन्द्र खोल्दै सरकार, कहाँ–कहाँ ? (सूचीसहित)

‘नेपालमा कोरोना सङ्क्रमितसँग सम्पर्कमा आएकामा सङ्क्रमणको जोखिम देखिएन’

काठमाडौंः सरकारले नेपालमा कोरोना भाइरसको सङ्क्रमण देखिएका व्यक्तिसँग सम्पर्कमा आएका मानिसहरूलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पहिचान गर्ने प्रकिया पूरा भएको र उनीहरूमध्ये कसैमा पनि कोभिड-१९ नदेखिएको जनाएको छ। ‘कन्टयाक्ट ट्रेसिङ’ गर्ने जिम्मा पाएको इपिडिमिओलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुखले देशभित्र प्रवेश गरेदेखि घर र समुदाय पुगेको अवस्थासम्म पीडितको सम्पर्कमा पुगेका व्यक्तिहरूलाई पहीचान गरी उनीहरूको नमूना सङ्कलन गरिएको बताए। उनले सङ्क्रमितसँगै यात्रा गरेर नेपाल आएका दुई जनाको सम्पर्क पत्ता नलागेकाले उनीहरूको परीक्षण नगरिएको जानकारी दिए। तर सङ्क्रमितसँग सम्पर्क भएको भनिएका व्यक्तिहरूको पहिचान गर्ने काम सम्पन्न भएको र कुनै जोखिम नरहेको उनले बताए। नेपालमा अहिलेसम्म देखिएका नौ वटा घटनामा एकजना बिरामी निको भएका छन् भने सात जनाले विदेशबाट सङ्क्रमण भित्र्याएको र एउटा घटनामा विदेशबाट आएका व्यक्तिका आफन्तमा सङ्क्रमण सरेको पाइएको थियो। ‘कन्ट्याक्ट ट्रेसिङ सम्पन्न’ स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पहिचानको काम सम्पन्न गरिएको बताएका हुन्। उनले भने, “आठवटा घटना देखिएका छन्, जसमध्ये धनगढीमा चारवटा, बाग्लुङमा दुईवटा र टेकु अस्पतालमा दुईवटा रहेका छन्।””विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङका सबै काम सम्पन्न भएको छ।” उक्त काम सम्पन्न भएको भन्दै इपिडिमिओलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो। त्यसका महानिर्देशक डा. वासुदेव पाण्डेले बीबीसीसँग भने, “हामीले पहिलोदेखि आठौँ सङ्क्रमण देखिएका व्यक्तिको सम्पर्कमा आएकाहरूको पहिचान खोज्ने काम विस्तृत रूपमा गरेका छौँ।” “र, डब्ल्यूएचको मापदण्ड अनुसार उनीहरूसँग नजिक पुगेका व्यक्तिहरूको परीक्षण गर्दा पनि कसैमा पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको पाइएन।” सङ्क्रमितसँगको सम्पर्कमा पुगेकाबाट जोखिम छैन ! उनले भारतको मुम्बईबाट आएका भनिएका एक सङ्क्रमितसँग सम्पर्कमा आएका १४ जना, भारतकै उत्तराखण्डबाट आएका भनिएका अर्कासँग क्वारन्टीनमा सम्पर्कमा आएका भनिएका १२ जना र कोभिड-१९ का बिरामीका कारण नेपालभित्रै सङ्क्रमित भएकी एक महिलासँग सम्पर्कमा आएका अरू ७ जनाको परीक्षण गरिएको बताए। डा. पाण्डे थप्छन्, “भारतबाट रेलमा आएकाका हकमा उनीहरूले यात्रा गर्दा कहाँ के भयो त्यो भन्न सक्ने वा केही गर्न सक्ने अवस्थामा हामी छैनौँ। तर नेपालमा होटलदेखि, क्वारन्टीलस्थल र घरसम्मको पहिचान गरी आवश्यक मापदण्ड अनुसारको परीक्षण हामीले गरेका छौँ।” यसअघि अधिकारीहरूले फ्रान्सबाट दोहाहुँदै आएकी १९ वर्षीया नेपाली विद्यार्थीसँग कतार एअरवेजमार्फत् चैत ४ गते काठमाण्डू आएका १५८ मध्ये कतिपय यात्रु सम्पर्कमा नआएको बताउने गरेका थिए। इपिडिमिओलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका महानिर्देशक पाण्डेले विमानमार्फत् आएका दुईजनाको ‘कन्टयाक्ट ट्रेसिङ’ हुन नसकेको आफ्नो जानकारीमा रहेको बताए। उनले उक्त सङ्क्रमण देखिएको अवधि दुई हप्ताभन्दा बढी भइसकेकाले कुनै जोखिम नरहेको आकलन आफूले गरेको बताए। नेपाल प्रहरीले सङ्क्रमित यात्रुहरू सवार तीनवटा अन्तर्राष्ट्रिय उडान र दुई आन्तरिक उडानमा रहेका मानिसहरूको पहिचानमा सरकारलाई मद्दत गरेको थियो। प्रहरीको तथ्याङ्क भने इपिडिमिओलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाको भन्दा फरक पाइएको छ। कोभिड-१९ सङ्क्रमण यात्रु सवार भनिएका कतार एअरवेजको विमानमा यात्रा गरेका तीनजना पहिचान हुन बाँकी रहेको, एअर अरेबीयाको उडानका दुईजना र विस्तरा एअरको १९ जनाको पहिचान हुन नसकेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए। उनका अनुसार सङ्क्रमित यात्रुसँगै दुईवटा आन्तरिक उडानमा सवार सवा सय यात्रुभन्दा बढी मध्ये २२ जनासँग सम्पर्क हुन बाँकी छ। कार्यविधिले के भन्छ? नेपाल प्रहरीले तयार पारेको कार्यविधिमा कोभिड-१९ प्रमाणित भएका घटनाका आधारमा उच्च र कम जोखिमका सम्पर्क भनेर वर्गीकरण गरिएको छ। त्यस अनुसार सङ्क्रमित व्यक्तिसँग १५ मिनेटभन्दा बढी समय र छ फिटको दूरीको दायरामा बस्ने व्यक्तिलाई बढी जोखिमको भनिएको छ। त्यसबाहेक शारीरिक सम्पर्क, सङ्क्रामक पीपीई प्रयोग नगरी स्वाबसँगको सम्पर्कमा पुगेको, बन्द वातावरणमा १५ मिनेटभन्दा बढी विताएको र विमान यात्राको हकमा दुई सीट वरिपरिको खण्डमा बसेको तर सङ्क्रमित यात्रुले शौचालयको प्रयोग गरेको अनि अत्यधिक चहलपहल गरेको भए सबैलाई उच्च जोखिममा राख्नुपर्ने उल्लेख गरिएको छ। श्वासप्रश्वाससम्बन्धी रोग अनि ज्वरो वा खोकीसहितका लक्षण देखिएका वा १४ दिन पहिले कोरोनाभाइरसको सङ्क्रमण फैलिएको क्षेत्रबाट आएको वा त्यस देशका नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेको व्यक्तिलाई भने शङ्कास्पदको बिरामी भनिएको छ। सरकारले सङ्क्रमण वा सङ्क्रमणको स्रोतसँग पहिलो सम्पर्क कायम भएपछि १४ दिनसम्म निगरानी गर्ने भन्दै त्यसबेलासम्म कुनै लक्षण नदेखिएमा पनि घरमै सात दिन बस्नुपर्ने बताएको छ। बीबीसी नेपाली

सांसदको बजेट कोभिड–१९ विरुद्ध किन प्रयोग नगर्ने ?

संसदमा सांसद, फाइल फोटो । काठमाडौंः छिमेकी भारतले दुई दिनअघि कोभिड–१९ विरुद्धको लडाइँमा आर्थिक स्रोत अभाव हुन नदिन ‘सांसद विकास कोष’ दुई वर्षका लागि निलम्बन गर्‍यो । प्रधानमन्त्री र सांसदहरूको एक वर्षको तलब, भत्ता र पेन्सन ३० प्रतिशत कटौती गर्‍यो । नेपाल भने कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि छुट्टै कोष बनाएर सहयोग मागिरहेको छ । तर भारतमा जस्तै यहाँ पनि सांसदमार्फत दिइने बजेट यसमा खर्च गर्न सकिन्छ कि सकिँदैन भन्ने बहस राजनीतिवृत्त, प्रशासन र नागरिक समाज सुरु भएको छ । हाल सांसदहरूको मनोमानी हुने गरी प्रत्येक निर्वाचन क्षेत्रमा ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ का नाममा ६ करोड रुपैयाँ जाने गरेको छ । संघीय सरकारमार्फत १ सय ६५ निर्वाचन क्षेत्रमा ६ करोडका दरले झन्डै १० अर्ब रकम यो कार्यक्रममा खर्च हुन्छ । गत वर्षदेखि प्रदेश सांसदहरूलाई पनि यस्तो रकम प्रदेश सरकारहरूले दिइरहेका छन् । प्रदेशहरूबाट नौ अर्ब रुपैयाँ खर्च हुन्छ । कोभिड–१९ सम्बन्धी कोषमा सवा दुई अर्ब जम्मा भइसकेको छ । सरकारले ५० करोड रुपैयाँ राखेर खोलेको कोषमा आम नागरिक, व्यापारीलगायतबाट एक अर्ब ८८ करोड जम्मा भएको हो । नागरिक अगुवा र केही सांसदले भने चालु आर्थिक वर्षको अन्तिम समयमा अब जथाभावी खर्च गरेर ‘दुरुपयोग’ गर्नुभन्दा जनताको जीवन बचाउन उक्त बजेट प्रयोग गर्नु उचित हुने प्रस्ताव अघि सारेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सांसदहरूमार्फत खर्चिने कार्यक्रमको रकम कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा लगाउनुपर्ने बताए । पूर्वसचिव रामेश्वर खनालले पनि यो कार्यक्रममा खर्च हुन बाँकी रकम तत्काल रकमान्तर गरेर कोभिड–१९ नियन्त्रण, यसका कारण सिर्जित समस्या समाधान, औषधि उपचार र राहतमा लगाउनुपर्ने बताए । महामारीका बेला पैसा छर्नुभन्दा मानिसको जीवन रक्षाका लागि मात्र केन्द्रित गरेर यस्तो रकम सदुपयोग गर्नुपर्ने तर्कमा केही सांसदहरूसमेत सहमत छन् । कांग्रेस सांसद दिलेन्द्र बडूले प्रेस विज्ञप्ति नै जारी गरेर पूर्वाधार विकास कार्यक्रमको रकम कोभिड–१९ रोकथाम र नियन्त्रणमा खर्च गर्न प्रस्ताव गरेका छन् । नेकपाका सचेतक देवप्रसाद गुरुङले सरकारले आवश्यकता महसुस गरे जस्तोसुकै रकम पनि खर्च गर्न सक्ने बताए । ‘अहिले यस्तो रकम कोभिड–१९ मा नियन्त्रणमा खर्च गर्ने सन्दर्भमा सरकारको धारणा नआएकाले म यसै हो भन्न सक्दिनँ,’ उनले भने । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

कोरोनाः बेलायतमा थप तीन नेपालीको मृत्यु, मृतक संख्या ५ पुग्यो

लण्डनः कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप तीन नेपालीको मृत्यु भएको छ । लण्डनको ह्यारोमा बस्दै आएका ५९ वर्षीय पूर्व गोर्खा चेतप्रसाद गुरुङको मंगलबार लण्डनस्थित नर्थविकपार्क अस्पतालमा निधन भएको हो। । पारिवारिक स्रोतकाअनुसार रुघाखोकी, ज्वरो लगायतका लक्षण देखिएर केहि दिन घरमै आइसोलेसनमा बसेका उनी १ साताअघि अस्पताल भर्ना भएका थिए । मंगलबार गुरुङको निधन भएकै अस्पतालमा बुधबार अर्का एक नेपालीको पनि निधन भएको छ । नातीको बिहेका लागि केहि महिनाअघि बेलायत आएका अन्दाजी ७७ वर्षका मृतक कोरोना महामारीकै कारण नेपाल फर्किन नपाएर लण्डनमै रोकिएका थिए । बुधबार नै बेलायतको नटिङहममा बस्दै आएका ५८ वर्षीय पूर्व गोर्खा शिव श्रेष्ठको पनि निधन भएको छ । बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ५ पुगेको छ । यसअघि ६६ वर्षीय पूर्व गोर्खा लिलाबहादुर राई र ४० वर्षीय प्रशान्त अर्यालको पनि दुई साताअघि लण्डनमै कोरोनकै कारण मृत्यु भएको छ ।

स्वास्थ्य सामग्रीको अभाव हुन दिन्नौँः मन्त्री ढकाल

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्रीको अभाव हुन नदिइने प्रतिबद्धता दोहोर्‍याएका छन् । सुदूरपश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन सांसद्को आज संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य सामाग्रीको अभाव झेल्नु नपर्ने बताएका हुन् । आवश्यक स्वास्थ्य सामग्री अस्पतालमा पुगेको जनाउँदै उनले कतिपय सामाग्रीहरू निरन्तर नमूना परीक्षणको काम दोब्बर बनाउन आजै हेलिकोप्टर मार्फत पिसिआर मेसिन धनगढी पठाइएको जानकारी दिए । मागपत्र बुझाउन बझाङका प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंह, बैतडीका प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना स्वास्थ्य मन्त्रालयमा आएका थिए ।

‘लकडाउन’मा चैतली मेला सञ्‍चालन गरेको आरोपमा ४ वडाध्यक्षसहित ९ जना प्रक्राउ

चैनपुरः ‘लकडाउन’को उल्लंघन गर्दै बान्नीकी चैतली मेला सञ्‍चालन गरेको आरोपमा बझाङको छबिसपाथीभेरा गाउँपालिकाका ४ वडाध्यक्षसहित ९ जनालाई पक्राउ गरिएको छ । बुधबार साँझ पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा छबिसपाथीभेरा २ का वडाध्यक्ष विकास अयडी, ३ का वडाध्यक्ष केशवराज जोशी, वडा नं ४ का अध्यक्ष अमर थापा र ५ का वडाध्यक्ष लोकेन्द्र ठगुन्ना रहेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नेत्र बोहराका अनुसार पक्राउ परेका अन्यमा बान्नीकी चैतली मेला व्यवस्थापन गरिरहेका बान्नी मष्टा मन्दिर संरक्षण समिति कोषाध्यक्ष राजेन्द्रबहादुर सिंह, बान्नी मष्टाका पुजारी नृपराज जोशी र जयकृष्ण जोशी रहेका छन् । यस्तै बान्नी मष्टा मन्दिरका फूलपाती सेवक डम्मर धामी, मन्दिरका रजवार इन्द्रबहादुर सिंहलाई पनि लकडाउन उल्लंघनको अभियोगमा पक्राउ गरिएको बोहराले बताए । पक्राउ परेका वडाध्यक्षहरुले बान्नी मेलामा मानिसहरुको उपस्थिति रोक्न गाउँपालिकाले प्रयास गर्दागर्दै पनि स्थानीयहरु स्वतः स्फूर्त भेला भएको बताएका छन् । मेलामा स्थानीयहरुको भीड रोक्नका लागि प्रशासनले समेत सहयोग नगरेको उनीहरुको आरोप छ । यता लकडाउन उल्लंघनको अभियोगमा छबिसपाथीभेरा गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामी र उपाध्यक्ष राधिका रताला लगायत केही व्यक्तिको पनि खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

प्रदेश–१ मा १०३ जनाको रिपोर्ट नेगेटिभ

झापाः प्रदेश नं. १ मा आज साँझसम्म कोरोना भाइरस (कोभिड–१९) को ‘थ्रोट स्वाब’ परीक्षणमा १०३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशमा हालसम्म १४५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकामा १०३ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जनाएको छ । परीक्षणका लागि पठाएका स्वाबमध्ये २९ महिला छन् । प्रदेशमा मंगलबारसम्म विभिन्न स्थान गरी २५४ क्वारेन्टाइनमा ४ हजार १४८ श्यया रहेका छन् भने आइसोलेसन बेडको सङ्ख्या ४३२ छ । यसैगरी आजसम्म तीन हजार ३१ जना क्वारेन्टाइमा बसेका छन् भने आइसोलेसनमा बस्नेको सङ्ख्या १० छ । आइसोलेसनबाट आजसम्म ८ महिलासहित २२ तथा क्वारेन्टाइनबाट ३२ जनालाई घर फिर्ता पठाइएको छ ।

मृत्यु भएको ११ दिनपछि बुझियो बाबुरामको शव

रुपन्देहीः बुटवलको कोरोना अस्पतालमा यही चैत १६ गते ज्यान गुमाएका पाल्पा रिब्दीकोटका बाबुराम थापाको शव ११ दिनपछि परिवारले बुझेको छ । आज भएको सर्वपक्षीय बैठकले राहत दिने निर्णय गरेपछि शव उठाउन परिवारजन सहमत भएका हुन् । उपचारमा लापरवाही भएको भन्दै परिवारले क्षतिपूर्ति माग गरी शव उठाउन मानेका थिएनन् । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालय, बुटवलमा क्रियाशील सामाजिक संस्था र मृतकका आफन्तबीच भएको छलफलमा शव उठाउने सहमति भएको हो । प्रदेश सरकारको पहलमा मृतककी श्रीमतीलाई स्थानीय तहमा जागिर दिलाउने र दुई छोरालाई कक्षा १२ सम्म निःशुल्क पढाउने सहमति भएको बैठकमा सहभागी संविधानसभाका सदस्य विनोद पहाडीले जानकारी दिए । मृतकका परिवारलाई सामाजिक सङ्घ संस्थाले ८ लाख रुपैयाँ राहत दिने निर्णयसमेत भएको छ । दुवईबाट यही चैत पहिलो साता नेपाल फर्किएका थापा उपचारका लागि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । चैत १६ गते बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उनको ज्यान गएको थियो । थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।