ठूलो परिमाणको लागुऔषधसहित एक पक्राउ

काठमाडौंः ठूलो परिमाणको लागुऔषधसहित इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले एकजनालाई पक्राउ गरेको छ । गरुडा नगरपालिका घर भई चन्द्रनिगाहपुरमा डेरा गरी लागुऔषधको कारोबार गर्दै आएका शेखसदरे आलमलाई सोमबार साँझ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो ।

झोलामा लागुऔषध बोकेर हिँड्दै गरेका ३५ वर्षीय आलमलाई प्रहरीले पक्राउ गरेको थियो । उनले बोकेको झोलाबाट डाइजोपाम ३२ वटा, नुर्फिन ३४ थान, फनारगन १९ थान र डाइल्यापनामक आगुऔषध १८ थान बरामद भएको थियो ।

उनी बस्ने देउराली चोकको डेरामा खानतलासी गर्दा ५ सय २२ थान नाइट्रोभेट फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको वैचारिक पक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट आन्दोलनमा दशकौंदेखि भिन्न वैचारिक धारको नेतृत्व गरिरहेका दुई कम्युनिष्ट पार्टी एकीकरण भएपछि दोश्रोपटक बसेको स्थायी समितिको बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनले अहिले चर्चा बटुलेको छ । कार्यकारी अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदनले वर्तमान राजनीतिक परिस्थिति, विश्व परिस्थिति, आम निर्वाचनको समिक्षा, संगठनात्मक समिक्षा तथा आगामी कार्यभारको संक्षिप्तमा चर्चा गरेको छ । जारी स्थायी समितिको बैठकमा यो प्रतिवेदनमाथि छलफल शुरु भएको छ । प्रतिवेदनको वैचारिक पक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनले सबै विषयबस्तुलाई संक्षिप्तमा समेटेको हुँदा यसले विषयबस्तुको बृहत सैद्धान्तिक व्याख्या नगरेपनि यसले पार्टीको भविष्य र पार्टीको कार्यदिशाको बारेमा मोटामोटी दृष्टिकोण सार्वजनिक गरेको छ । यसलाई यसरी लिन सकिन्छ । १. शान्ति र क्रान्तिको प्रश्न : नेकपा एमाले र नेकपा माओवादीबीच एकता हुने समयमा सबैभन्दा ठूलो संशय दुबै पार्टीको कार्यदिशा र विचारलाई लिएर देखिएको थियो । पार्टी एकतापछिको यो कालखण्डमा समेत पार्टीको राजनैतिक कार्यदिशा र विचारमा कैयन फरक मत देखा परे । कतिपय पूर्व एमाले समूहबाट पार्टीको विचारका हकमा फरक मत समेत सार्वजनिक भए । स्थायी समितिको बैठकमा प्रस्तुत प्रतिवेदनले ‘सशस्त्र क्रान्तिको युग’ सकिएकोतर्फ संकेत गर्दै शान्तिपूर्ण प्रतिष्पर्धामा संविधानसम्मत वैधानिक र लोकतान्त्रिक तरिकाले राष्ट्रियको पूँजिको विकास गर्ने कुरा स्पष्टरुपमा अगाडि सारेको छ । प्रतिवेदनमा भनिएको छ– “लोकतान्त्रिक मूल्य, मान्यताका आधारमा शान्तिपूर्ण प्रतिश्पर्धा मार्फत लोकप्रिय मत प्राप्त गरी झण्डै दई तिहाईको नेतृत्व गर्ने स्तरमा कम्युनिष्ट पार्टीलाई पुर्याउन पार्टी एकताले निर्णायक भूमिका खेलेको ऐतिहासिक तथ्यलाई दह्रोसँग आत्मसाथ गर्दै सिंगो पार्टी पक्ति र जनसमुदायलाई यो तथ्यद्वारा निरन्तर प्रशिक्षित गरिरहनुपर्दछ। शान्तिपर्ण र बहदलीय प्रतिष्पर्धा मार्फत संविधान सम्मत वैधानिक र लोकतान्त्रिक तरिकाले सामाजिक न्याय सहित राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको आधार तयार पार्ने विषयमा रहेको आधारभत वैचारिक समानता एवम पार्टी नेतत्वको समचित निर्णय र भूमिका सहित यो ऐतिहासिक एकता सम्भव भएको हो ।” यो प्रतिवेदनले यसअघि जारी भएको प्रतिवेदनलाई नै आधार मान्दै शान्तिपूर्ण प्रतिष्पर्धात्मक बहुदलीय व्यवस्थाको समर्थन गरेको छ । भविष्यमा यो शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा परम्परागत संसदीय व्यवस्था भन्दा के अर्थमा फरक हुन्छ र पार्टीले यही बहुदलीय प्रतिष्पर्धामार्फत समाजवादमा पुग्ने कार्यनीतिक चरणहरु कसरी अगाडि बढाउँछ भन्ने विषयमा बहस चल्न सक्छ । यो कुरा पार्टीको महाधिवेशनपूर्व तयार हुने दस्तावेजले स्पष्ट पार्ने छ । यसका साथै वर्गको अस्तित्व भएको समाजमा वर्ग संघर्ष र शान्तिपूर्ण तरिकारले राज्यसत्ता उपयोग गर्ने बीचको अन्र्तसम्बन्धलाई समेत भविष्यमा स्पष्ट गर्नुपर्ने आवश्यकता प्रतिवेदनले अघि सारेको छ । यसका साथै पार्टीले एकतापूर्वका दुबै समूहका विचारलाई समेत संश्लेषणमा जोड दिँदै भनेको छ– पार्टी इतिहासमा कमरेड मदन भण्डारी र जवसको योगदान तथा माओवादी जनयुद्ध र एक्काइसौं शताब्दीको जनवादको योगदान बारे राजनैतिक प्रतिवेदनमा गरिएको विश्लेषण र सश्लेषणलाई व्यवस्थित रुपले पार्टीमा स्थापित गरिन्पर्दछ । नयाँ राजनीति सन्दर्भमा विचारको विकास र परिमार्जनको लागि सिर्जनात्मक अध्ययनमा जो दिनुपर्दछ। २. विश्व अन्तरविरोधबारे प्रतिवेदनले एकाधिकार पूँजिवादसँग विश्वका जनताको अन्तरविरोध रहेको तथ्यलाई आत्मसात गरेको देखिन्छ । खासगरी वित्तिय एकाधिकारवादी पूँजिवादले तेश्रो विश्वमा शोषण बढाएकोले संसारभरीका मुक्ति आन्दोलनसँग ऐक्यबद्धता गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको देखिन्छ । प्रतिवेदनमा उल्लेख छ– घटनाक्रमले आज पनि एकाधिकार पंजीवादको नव(औपनिवेशिक शोषण(उत्पीडनका विरुद्ध उत्पीडित राष्ट्रका जनताका राष्ट्रिय मुक्ति आन्दोलनका बीचको अन्तरबिरोध विश्वका प्रधान अन्तरविरोधका रुपमा प्रकट भइ नै रहेको छ । यति नै बेला चीन लगायतका देशहरूले भने अर्थतन्त्रको क्षेत्रमा ठूल्ठूला उपलब्धीहरू हासिल गरिरहेका छन् । यसै सन्दर्भममा प्रतिवेदनले चीनले अघि सारेको बिआरई परियोजनालाई एकाधिरका पूँजिवादविरुद्धको सचेत प्रयत्नका रुपमा चित्रण गरेको छ । त्यसो त बिआरई र समाजवादी आन्दोलनका बारेमा खासै बहस भएको छैन । तर केन्द्रीकृत एकल ध्रुवीय वित्तिय पूँजिवादका विरुद्ध बिआरई एउटा चुनौती बन्ने कुरालाई भने नकार्न सकिन्न । प्रतिवेदनले बिआरआईबारे संक्षिप्त चर्चा गर्दै यो परियोजना अमेरिकाको वित्तिय एकाधिकारका लागि चुनौती बन्न अघि सारिएको परियोजनका बारेमा उल्लेख गरेको छ । यसले अमेरिकाले अघि सारेको इण्डो प्यासिफिक रणनीति र बिआरआईका बारेमा नेकपाका सदस्यहरुले निर्माण गर्नु पर्ने धारणाका बारेमा समेत संकेत गरेको छ । वर्तमान विश्वमा अमेरिकाले एकाधिकारवादी वित्तिय पूँजिवादलाई प्रश्रय दिएको सन्दर्भममा बिआरआई नेपालको समाजवादको यात्राका लागि सहयोगी बन्न सक्नेतर्फ संकेत गरेको छ । ३. संगठनात्मक कार्यशैलीका बारेमाः एकीकृत पार्टीमा पूर्ववत गुटहरुको अस्तित्व कायमै रहेको सन्दर्भममा जनवादी केन्द्रीयता छिन्नभिन्न भएको तर्फ प्रतिवेदनले विशेष संकेत गरेको छ । पार्टीभित्र अराजकतावादी प्रवृत्ति बढदै गएकोतर्फ चिन्ता गर्दै प्रतिवेदनले पार्टी एकता प्रक्रियालाई पूर्णता दिन भएको ढिलाई, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कुलिङको अभावका कारण आज पार्टी संगठन अन्यौलग्रस्त अवस्थाम रहेको उल्लेख गरेको छ । “पार्टी संस्थागत छैन । बरु विभिन्न प्रकारका गुटहरू झाँगिदै जान थालेका छन् । पार्टी भित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू बढिरहेको छन् । पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ । पार्टी अनुशासनको स्थान गुट अराजकताले लिने खतरा दिनप्रतिदिन बढ्दै गएको छ । अलोचना, आत्मआलोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन गल्ती गर्नेलाई दुरुत्साहन गर्ने जस्ता सजिव र गतिशील कम्युनिष्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालना भइरहेको छैन ।” एउटा जीवित कम्युनिष्ट पार्टीभित्र फरक विचार, फरक शैली र फरक मत स्वभाविक हुने भएपनि त्यसलाई व्यवस्थित तवरले सञ्चालन गर्न नसक्दा अराजकतावादी प्रवृत्ति हावी हुने र बिरेधी तत्वहरुले फाइदा उठाउनेतर्फ प्रतिवेदनले गम्भीर प्रश्न उठाएको छ । यो नेकपाभित्र अहिलेको प्रमुख समस्या पनि हो । खासगरी पाटीृ एकताले तलसम्म पूर्णता नपाएको अवस्था र दुई पार्टीको पुरानो मनोविज्ञान कायम रेको अवस्थामा अनुशासनहीनताको यो अवस्थाले जनतामा पार्टीप्रति वितृष्णा बढने खतरा बढेको अवस्था विद्यमान छ । प्रतिवेदनमा अगाडि भनिएको छः पाटीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता रहेको कुरा स्पष्ट गर्दै पार्टी संगठनलाई व्यवस्थित र अनुशासित तुल्याउन सदस्यता नविकरण गर्नु, कमिटिहरूको नियमित बैठक सञ्चालन गर्न, नियमित रिपोर्टिङ र निर्देशन प्रणाली लागू गर्नु, प्रत्येक कमिटिको कम्तिमा कार्यालय तहबाट आलोचना र आत्मालोचनाको प्रक्रिया सुरु गर्नु, निर्णय प्रक्रिया विधि संगत, सामुहिक र संस्थागत बनाउन विशेष जोड गर्न आवश्यक छ। ४.समाजवादोन्मुख कार्यक्रमका पक्षमा दृढता प्रतिवेदनले बिस्तृत विवेचना नगरेपनि पार्टीले जनतासँग जोडिएका जनजीविकाका समस्या र समाजवादोन्मुख अर्थतन्त्र निर्माणका लागि पहल गर्न विशेष जोड दिएको छ । प्रतिवेदनमा भनिएको छ– सबै स्तरमा पार्टी र मोचाहरूलाई श्रम उत्पादन कार्य, र जन(सेवाका विविध कार्यक्रम बनाई निरन्तर क्रियाशील बनाउने करामा जोड दिने समाजवाद उन्मुख आर्थिक आधार तयार पार्न हाम्रो पार्टीले ठोस पहल लिन पर्दछ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको समन्वयमा सामाजिक न्यायसहित आर्थिक विकासका साना(ठूला परियोजनाका सञ्जाल निर्माण गर्न पर्दछ । स्थानीय तहदेखि नै समाजवादको आधार तयार पार्ने करामा हाम्रो पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्दछ । यसरी हेर्दा प्रतिवेदनले नेकपाभित्र वैचारिक बहसका लागि बाटो खुला गरेको छ । पार्टीभित्र विचार संश्लेषणको प्रक्रिया अझै गति नलिएको र एकता प्रक्रियाले पूर्णता अझै नपाएको अवस्थामा कार्यदिशा नै झल्किने गरी प्रतिवेदन सार्वजनिक हुने अवस्था देखिँदैन । यो अवस्थामा यो प्रतिवेदनले नेकपाले आगामी दिनमा लिनुपर्ने बाटो र संगठनात्मक कार्यशैलीमा गर्नुपर्ने सुधारका बारेमा मार्ग निर्देशन गरेको देखिन्छ । प्रतिवेदनको अन्तिम प्याराले समग्र प्रतिवेदनको सारलाई यसरी प्रस्तुत गरेको छ ः “यतिबेला हामी इतिहासकै महत्वपूर्ण मोडमा उभिएका छौं । नेपाली जनताबाट हामीमाथि अपार विश्वास र भरोषाका साथ मुलुकको नेतृत्वको वैधानि अख्तियारी प्राप्त भएको छ । तुलनात्मक रुपमा प्रतिकुल अन्तराष्ट्रिय बीचमा नेपाली जनताले हामीलाई गरेको विश्वास प्रति हामी आभारी छौं र हामी गम्भीर पनि छौं । एक अर्थमा हामी इतिहास के सौभाग्यशाली पुस्ता हौ, जसलाई आफ्नै कार्यकालमा देशको मुहार बदल्ने र समृद्धिको नयाँ उचाईमा पुर्याउने अभूतपूर्व अवसर प्राप्त छ । तर यो हाम्रो अग्निपरिक्षा पनि हो। इतिहासले सुम्पेको यस विरल अवसर सदुपयोग गर्न र जिम्मेवारी वहन गर्न सफल नहुने हो भने हामी मात्रै असफल हुने छैनौं, यसले समग्र कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रलाई नै संकटमा पुर्याउने छ । निश्चय नै, युगौंदेखि एउटा मानसिकता, एउटा गति र संरचनामा अभ्यस्त राज्य संरचना एवम् पार्टी पंक्तिको रुपान्तरण सहज छैन, तर हामीले रुपान्तरण गर्ने पर्छ र सबैको साथ लिएर यो अभिभारा प्राप्त गर्नुपर्छ । हाम्रो एकतालाई सदृढ गरौं र इतिहासले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गरौं ।”

छोरीहरूले मासिक ५ सय पाउने कार्यक्रम कर्णालीमा लागू

फोटोः मुख्यमन्त्रीको फेसबक पेजबाट काठमाडौंः कर्णाली प्रदेशमा ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम लागू भएको छ । उक्त कार्यक्रमको मंगलबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभारम्भ गरे । उक्त कार्यक्रम लागू भएपछि अब कर्णालीका छोरीहरूले मासिक पाँच सय रुपैयाँ पाउने भएका छन् । लैङ्गिक समानता र छोरीहरूको सशक्तिकरणका लागि कर्णाली प्रदेश सरकारले चालु अर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेटमा कार्यक्रम र बजेट छुट्याएको थियो ।

गुठी संस्थान त्रिपुरेश्वरका प्रमुख प्रशासक उप–प्रशासक अख्तियारको नियन्त्रणमा

काठमाडौंः गुठी संस्थान त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उप–प्रशासक जयप्रसाद रेग्मीलाई अख्तियारले नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका–१ स्थित जग्गा सम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नको लागि घुस लिएको तथा फिर्तासमेत गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले चौधरी र रेग्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

ट्राफिक प्रहरीद्वारा ‘उज्यालो अभियान’ सुरु

काठमाडौंः महानगरिय ट्राफिक प्रहरी महाशाखाले तीन महिने ट्राफिक उज्यालो अभियानको शुभारम्भ गरेको छ । उपत्यकाको ट्राफिक व्यवस्थानलाई सहज बनाई दुर्घटना न्यूनीकरणका लागि जनचेतना फैलाउने उद्देश्यले अभियानको शुभारम्भ गरिएको हो । कार्यक्रम सडक प्रयोगकर्ता, पैदलयात्री, चालकरसहचालक र कलेजका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिनेछ । महाशाखा र माताहतका ४० एकाइबाट लक्षित समूह पहिचान गरी सञ्चालन गरिने उक्त अभियानमा अधिकृतसहित १३० ट्राफिक प्रहरीको जनशक्ति परिचालन हुने महाशाखाले जनाएको छ । अभियानको शुभारम्भमा आयोजित कार्यक्रममा बोल्दै महानगरीय प्रहरी कार्यालयका प्रमुख शैलेन्द्र थापाले एक वर्षमा २ हजारको संख्यामा नागरिकको ज्याने गरी दुःखद घटना घट्ने गरेको बताए । प्रमुख थापाले दुर्घटनाबाट २, ४ जनाको मात्रै पनि जीवन बचाउन सकेमा तीस वर्षे सेवा अवधिमा पाएको तलब भत्ताभन्दा ठूलो कमाई त्यही नै हुने बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नेपाल सरकार र यातायात मन्त्रालयले यातायात क्षेत्रलाई प्राथमिकतामा नराखेको गुनासो गरे । आकाशेपुलहरू निर्माण भए पनि त्यसको प्रयोग नहुनु दुःखद भएको भन्दै उनले आकाशे पुल रमिता हेर्नका लागि मात्रै प्रयोग गर्ने गरिएको बताए । अखिल नेपाल मजदुर संघका अध्यक्ष सोम तामाङलगायतले श्रमजीविहरूलाई मात्रै दोष दिने काम भएको तर सरकारबाट उनीहरूका लागि सचेतनात्मक कार्यक्रम नभएको गुनासो गरे । अभियानलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले दुर्घटना परेपछि कानुनको पाठ सिकाउनु भन्दा पहिले नै सचेतनामुलक कार्यक्रम हुनुपर्ने बताए ।

पासवानका परिवारलाई साढे ७ लाख क्षतिपूर्ति र ५१ हजार किरिया खर्च दिने सहमति

काठमाडौंः सिरहाको गोलबजार नगरपालिका–९ चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले कामबाट निकालेपछि आत्महत्या गरेकी अनितादेवी पासवानका परिवारलाई उद्योगले साढे सात लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । १३ वर्षदेखि उद्योगमा कार्यरत गोलबजार–९ गोविन्दपुरकी ४७ वर्षीया पासवानलाई उद्योगले २४ मंसिरमा कामबाट निष्कासन गरेको थियो । उद्योगले कामबाट निकालेको पीडामा उनले सोही दिन आत्महत्या गरेकी थिइन् । उनको आत्महत्यापछि पीडित परिवार र श्रमिकले क्षतिपूर्तिको मागसहित उद्योगमा आन्दोलन गर्दै आएका थिए । आइतबार स्थानीय प्रशासन, मजदुर संगठन र उद्योगका प्रतिनिधिसहितको छलफलमा मृतक परिवारलाई सात लाख क्षतिपूर्ति र किरिया खर्चबापत ५१ हजार रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको हो । उद्योग व्यवस्थापनले मृतकसहितका श्रमिकलाई सोधेको स्पष्टीकरण र कारबाहीका विषयमा छानबिन गर्न नौ सदस्यीय छानबिन समिति पनि गठन गरेको छ । समितिमा उद्योग व्यवस्थापनबाट तीनजना, श्रमिक संगठनबाट चारजना र स्थानीय समाजबाट दुईजना सहभागी रहेका गोलबजार–९ का वडाध्यक्ष रामपुकार कामतीले बताए । त्रिपक्षीय छलफलले उद्योग प्रशासनले ६ मंसिरमा सोधेको स्पष्टीकरणपछि कामबाट निकालिएका श्रमिकमाथिको कारबाही फिर्ता लिई मृतक अनिताको सगोल परिवारबाट सीपअनुसार एकजनालाई उद्योगको नियमानुसार काम दिने निर्णय गरेको उद्योग व्यवस्थापनले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

व्यक्तिका नाममा ६ हजार रोपनी सरकारी जग्गा दर्ता

काठमाडौंः मुलुकभर ६ हजार रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिले अतिक्रमण गरी आफ्नो नाममा दर्ता गरेको भेटिएको छ । सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनअनुसार ८ वटा जिल्लाका तालतलैया, मठमन्दिर, नदी तथा किनार र गुठीको जग्गा व्यक्तिले आफ्नो नाममा दर्ता गरेका हुन् । आयोगले १० छुट्टाछुट्टै प्रतिवेदन शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । आयोगका अध्यक्ष मोहनरमण भट्टराईले विभिन्न व्यक्तिले शक्तिको आडमा सरकारी जग्गा व्यक्तिले दर्ता गरेको बताए । ‘चलाख व्यक्तिले पहिले नै सरकारी जग्गा आफ्नो नाममा राखेको पाइएको छ,’ उनले भने, ‘यससम्बन्धी सम्पूर्ण कुरा उल्लेख गरेर सरकारलाई प्रतिवेदन बुझाएका छौं ।’ सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने सुझावसहितको छुट्टै प्रतिवेदन पनि बुझाएको उनले बताए । आयोगका अध्यक्ष भट्टराईले कास्की, बाँके, रौतहट, सर्लाही, रूपन्देही, मकवानपुर, काठमाडौं र सुनसरीलगायत जिल्लामा सरकारी जग्गा व्यक्तिले दर्ता गरेर हिनामिना गरेको बताए । उनका अनुसार सबैभन्दा बढी सुनसरीको सर्दु जलाधार क्षेत्रको ४ हजार रोपनीभन्दा बढी जग्गा व्यक्तिका नाममा दर्ता भएको छ । पानीको स्रोत संरक्षणका लागि भन्दै सरकारले ०३२ सालमा सर्दु जलाधार क्षेत्रका २ सय ९ परिवारलाई मोरङको बयरवन र अमरदह आसपासमा सट्टा जग्गा र मुआब्जा दिएको थियो । सट्टा पाइसकेकाहरू पुनस् सर्दु क्षेत्रमै बस्न थालेको आयोगले जनाएको छ । उक्त क्षेत्रको अधिकांश जग्गा बेचबिखन भइसकेको छ । नेपालगन्जको बागेश्वरी मन्दिरको गुठीको एक हजार रोपनीभन्दा बढी जग्गा त्यहाँको मठाधीशले आफ्नो नाममा दर्ता गरेका प्रतिवेदनमा उल्लेख छ । सरकारी जग्गा सत्ता, शक्तिको आडमा हिनामिना भएको आयोगले जनाएको छ । ‘शक्तिवालाले मौका पाउनेबित्तिकै जग्गा आफ्नो नाममा दर्ता गरेको देखिन्छ,’ आयोगका एक सदस्यले कान्तिपुरसँग भने, ‘त्यस्तो जग्गा सरकारले फिर्ता लिएर, अतिक्रमणकारीलाई कानुनको दायरामा ल्याएर कारबाही गर्नुपर्छ ।’ पहाडी जिल्लामा सबैभन्दा बढी कास्कीमा सरकारी जग्गा हिनामिना भएको आयोगले जनाएको छ । पोखराको सहरी क्षेत्रमा ४० रोपनीभन्दा बढी जग्गा हिनामिना भएको छ । ‘प्रधानमन्त्रीज्यूले प्रतिवेदनमा दिएका सुझावलाई कार्यान्वयन गर्ने विश्वास दिलाउनु भएको छ,’ आयोगका अध्यक्ष भट्टराईले भने, ‘दोषीमाथि कारबाही भए सरकारी जग्गा हिनामिनामा निकै कमी हुन्छ । उनले शंका लागेको सबै जग्गामाथि अनुसन्धान गर्ने उनले बताए । ६ महिनाअघि सरकारले गठन गरेको उक्त आयोगको म्याद भर्खरै ६ महिना थपिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

जनकपुरमा शंकास्पद वस्तु भेटियो, घटना स्थलमा सेनाको टोली

जनकपुरधामः जनकपुरधाम उपमहानगरपालिका–९ स्थित संकट मोचन मन्दिर नजिकै शंकास्पद बस्तु फेला परेको छ। सडककै छेउमा राइस कुकर राखिएको छ। उक्त कुकर बम रहेको आशंकामा आइतबार राति १० बजेदेखि नै प्रहरी घेरा हालेर बसेका छन्। नेपाली सेनाको टोली समेत घटनास्थल छ। कुकर राखिएको ठाउँको चारैतिर घर छ। रातका समयमा मान्छे घरमा रहेकाले अहिलेसम्म सेनाले डिस्पोज गरेको छैन। मान्छेहरु घरबाट निस्किएपछि बम हो कि होइन भनेर सेनाले यकिन गर्ने र बम भए डिस्पोज गर्ने धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए। शंकास्पद बस्तुले स्थानीय त्रसित बनेका छन्। घर नजिकै उक्त बस्तु भेटिएपछि रातभर अरुको घरमा बसेको स्थानीय अशोक दत्तले बताए।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

काठमाडौंः चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उनको उनको निधन भएको हो । स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै थियो । तर अस्पताल नपुर्याउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधनको कारण भने खुलेको छैन । निर्माता तथा कलाकारसमेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका छन् । करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराइले केही राम्रा कामको सुरुवातसमेत गरेका थिए । भट्टराई तीसको दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले बनाएका चलचित्रमा आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल लगायत छन् । उनले दर्जनौ‌ं चलचित्रमा अभिनयसमेत गरेका छन् ।

सिजी कम्युनिकेशन प्रालिद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौंः सर्वोच्च अदालतमा चौधरी समूहद्वारा सञ्चालन गरेको सिजी कम्युनिकेशन प्रालिले फ्रिक्वेन्सी बढाबढ गर्ने कार्य रोक्न माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइ आइतबार चौधरी समूहले रिट दायर गरेको हो । रिटमा नेपाल दूरसञ्चार प्राधिकरणले १८ मंसिरमा जारी गरेको फिक्वेन्सी बढाबढ (ललामी) रोक्न माग गरिएको छ । निवेदनको अन्तिम टुङ्गो नलाग्दासम्म फ्रिक्वेन्सी बढाबढको कार्य कार्यान्वयन नगरी यथावत् राख्न आदेशको माग गरिएको छ । सिजीले ९ सय, एक हजार ८ सय र २ हजार एक सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी आफ्नो रहेको र फ्रिक्वेन्सी आफूलाई प्रदान गरेर मात्र बाँकीका लागि लिलाम बढाबढ गर्नुपर्ने माग निवेदनमा गरिएको छ । नयाँ पत्रिका दैनिकबाट

बस दुर्घटनाका मृतकप्रति अध्यक्ष प्रचण्डद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोकमा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् । अध्यक्ष प्रचण्डले आज एक शोक वक्तव्य निकालेर उक्त घटनाका घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । उनले दुर्घटनामा निधन भएका परिवारजनका लागि उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग माग पनि गरेका छन् । दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा२ख ४४६८ नंको यात्रुबाहक बस लामोसाँघु जिरी सडकमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने १८ जना गम्भीर घाइते भएका थिए । यसैबीच प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले पनि उक्त दुर्घटनाले आफू निकै मर्माहित भएको बताउँदै दुर्घटनामा परेर ज्यान गुमाउनेहरुप्रति दुःख एवं समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरुको शीघ्र स्वाथ्यलाभको कामनासमेत गरेका छन् ।

जग बलियो बनाउन काठमाडौं महानगरपालिकाले उदाहरणीय काम गर्नुपर्छः मन्त्री त्रिपाठी

काठमाडौंः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले विरासत बचाउँदै सङ्घीयताको जग बलियो बनाउन काठमाडौँ महानगरपालिकाले उदाहरणीय काम गर्नुपर्ने बताएका छन् । महानगरपालिकाको २५औँ दिवसका अवसरमा उनले भने, ‘काठमाडौँको विरासत ठूलो छ, यो राजनीति र प्रशासनिक व्यवस्था परिवर्तनको साक्षी पनि हो, सबै मिलेर यसको गरिमा बचाउनुपर्छ ।’ सङ्घीय व्यवस्थाको जग दरो बनाउन पनि सङ्घीय राजधानी शहरको जग बलियो बनाउनु पर्ने उनको भनाइ छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौँको सभ्यता नदीहरुको संरक्षणमा महानगरको मुख्य भूमिका हुने बताए । सांसद् जीवनराम श्रेष्ठले महानगरको विकास र समृद्धिका लागि सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै रचनात्मक कामका लागि सुझाव दिए । प्रदेशसभा सदस्य नारायण सिलवालले महानगरको गरिमालाई अझ उँचो बनाउँदै लैजानुपर्नेमा जोड दिए । सम्मान, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन र मौलिक खानाका प्रदर्शनसँगै शुरु भएको वार्षिकोत्सव शानिवार र आज आइतबार गरी दुई दिनसम्म मनाइने छ । कार्यक्रममा पैदल तथा साइकल यात्राको प्रवद्र्धनका लागि साइकल र्‍याली, दमकल विस्तार गरी वडा नं ६ बाट सेवा शुभारम्भ, उत्कृष्ट व्यक्तिगत करदाता सम्मान, परम्परागत नाच तथा बाद्य गुरु सम्मान, सुशासन पत्रकारिता पुरस्कार वितरणलगायत कार्यक्रमसमेत गरिएको थियो । समारोहमा ज्यापु समुदायका परम्परागत ६३ गुथी, खड्गी समुदायका ६० गुथी, गुँला बाजाका २३ समूहका बाजा गुरुलाई नगदसहित सम्मान गरिएको थियो । त्यसैगरी मखं त्वाःकी कुमारी प्रकृति महर्जन र किलाघः त्वाःकी कुमारी रेसुका महर्जनलाई मासिक रु १५ हजार भत्तासहित सम्मान गरिएको छ । इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे, आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः बाजाका बाजा गुरुहरूलाई सम्मान गरिएको थियो । नगर प्रमुख विद्यासुन्दर शाक्यले महानगरको गौरव र महानगरबासीका चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसका लागि जस्तासुकै चुनौतीको पनि सामना गर्न तयार रहेको बताए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडो सम्पन्न गर्न सरोकारवालाको माग

काठमाडौंः वार्षिक ७० लाख पर्यटक ओहोरदोहोर गर्ने गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट मात्र भार व्यवस्थापनमा कठिनाइ उत्पन्न भएकाले बाराको निजगढमा निर्माणका लागि प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय विमानस्थल चाँडोभन्दा चाँडो सम्पन्न गर्न सरोकारवालाले माग गरेका छन् । उनीहरुले उक्त विमानस्थल सम्पन्न हुनसके विश्वका विभिन्न मुलुकबाट आउने पर्यटक वृद्धि हुनुका साथै देशको आर्थिक विकासमा सघाउ पुग्ने बताए । द्रुतमार्ग, विमानस्थल निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले निजगढ अन्तरराष्ट्रिय विमानस्थल सम्पन्न भएपछि देशको आर्थिक गतिविधि तीव्र हुने भएकाले कुनै पनि निहुँ निकाली निर्माण कार्य ढिलाइ गर्न नहुनेमा जोड दिए । दुई दशकअघि नै बारामा एउटा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता महसुस गरी सरकारले अध्ययन थालेको बताउँदै पहिल्यै बन्नुपर्ने विमानस्थल दशकौँ बितिसक्दा पनि बन्न नसकेको उनीहरुको भनाइ थियो । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले त्रिभुवन विमानस्थलपछि निजगढ विमानस्थल अन्तर्राष्ट्रियरुपमा सम्पर्क बढाउन दोस्रो भरपर्दो विमानस्थल हुने उल्लेख गर्दै त्यसका लागि दुई हजार हेक्टर बन क्षेत्रका रुख कटान गरिनुपर्ने आवश्यकता रहेको तथा जङ्गल क्षेत्रको दक्षिणपट्टीको ५५ किलोमिटर क्षेत्रमा तारबार बाँधिएको बताए । उनीले उक्त विमानस्थल निर्माणका लागि विवाद खडा गर्नु आवश्यक नभएको प्रष्ट पार्दै सरकारले पनि विमानस्थल निर्माण गर्ने कार्य अघि बढाउने तथा लगानीकर्ताको खोजी कार्य शुरु भएको बताए । नेपाल सरकारका पूर्वसचिव एवं पूर्वाधारविद् वीरेन्द्रबहादुर देउजाले १८ वर्षअघि नै उक्त विमानस्थलका लागि सर्भे गरिएको जानकारी दिँदै नेपालको आर्थिक उन्नति तथा दीर्घकालीन हितसँग जोडिएकाले सो विमानस्थल निर्माणका लागि सबै सरोकारवाला पक्षले सहयोग गर्नुपर्नेमा जोड दिए । इञ्जिनियर ओम शर्माले तयार पारेको अवधारणापत्रमा उक्त विमानस्थल निर्माण गर्दा पनि ७० प्रतिशत रुख सुरक्षित हुने तथा १० हजार रुख काट्नुपर्ने अवस्थामा रहेका उल्लेख भएको सो पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

ज्योती बहुउद्देश्यीय सहकारीको १२ औँ साधारणसभा सम्पन्न

काठमाडौंः गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा अवस्थित ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १२ औँ साधारण सभा शहीद स्मृति पार्क (जगडोल डाँडा) मा सम्पन्न भएको छ । ज्योति बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष दुर्गादेवी मैनालीको सभापतित्वमा शनिबार सम्पन्न उक्त साधारणसभा वरिष्ठ लेखापरीक्षक हेमबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा चलचित्र निर्देशक यादवकुमार भट्टराई, बीपी संग्राहय, सुन्दरीजलका अध्यक्ष परशुराम पोखरेल, राष्ट्रिय वाणिज्य बैँक कर्मचारी संघका निवर्तमान अध्यक्ष वेदप्रसाद लावती, लायन्स क्लब अफ डाँफेका चार्टर प्रेसिडेन्ट महेश आचार्य लगायतको उपस्थिति रहेको थियो । साधारणसभाले कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र सचिवद्वारा प्रस्तुत भावी योजनालाई साधारणसभाबाट पारित गरिएको थियो । यसैबीच, ज्योति बहुउद्देश्यीय सहकारी संस्थाले बुद्धिष्ट बालगृहमा रहेका बालबालिकासँग वनभोज कार्यक्रमसमेत सम्पन्न गरेको छ । सो अवसरमा विभिन्न कलाकार एवं बुदृष्टि बालगृहका बालबालिकाले प्रतिभा प्रस्तुत गरेका थिए ।

सर्वसाधारणको उपचारमा खटियो नेपाली सेना

महोत्तरीः सर्वसाधारणको उपचारमा नेपाली सेना खटिएको छ । वीरेन्द्र सैनिक हस्पिटलबाट औषधि, विशेषज्ञसहितको टोली लिएर सेना महोत्तरी पुगेको हो । महोत्तरीको सीमावर्ती गाउँ खखनामा सेनाले मंसिर २७ गतेबाट वृहत निःशुल्क स्वास्थ्य शिविरको संचालन गरिरहेको छ। शिविर पुस ५ गतेसम्म चल्ने छ । नेपाली सेनाका सहायक रथी डा. देवेन्द्र बहादुर खत्रीको नेतृत्वमा विभिन्न रोगका ६० जना विशेषज्ञ डाक्टरहरु उक्त शिविरमा खटिएका छन् । ती चिकित्सकलाई २ सय भन्दाबढी नेपाली सेनाका स्वास्थ्यकर्मीले सघाइरहेका छन् । सेनाको शिविरबाट स्वास्थ्य सेवा लिने मनिहरुको संख्या ठूलो छ। दुई दिनमा सेनाले ५ हजार १४४ जनाको ओपेडीमा जाँच गरेका छन् । पठाघर, पितथैलीले, हर्निया लगायत ४५ जानको अपरेशन गरिएको नेपाली सेनाका सहायक रथी डा. खत्रीले जनाए। शिविर सञ्चालन समितिका समन्वयकर्ता समेत रहेका महोत्तरी–४ का प्रतिनिधि साभाका सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले नौं दिने शिविरमा २० हजार विरामीको स्वास्थ्य चेकजाँच हुने बताए । शिविरमा ५०० जना गम्भीर प्रकारका विरामीको अप्रेशनसमेत गरिने छ । समान्य खालको विरामीको शिविरमै अपरेशन भइरहेको छ भने गम्भीर अपरेशन जिल्ला अस्पताल जलेश्वरमा गरिने व्यवस्था छ । शिविर संचालन गर्न स्वास्थ्य मन्त्रालयले ७० लाख नेपाली सेनालाई प्रदान गरेको छ ।

नारायणी नदी किनारामा सेनाको जलउद्धार अभ्याससँगै डेमोन्स्ट्रेशन

काठमाडौंः श्री नं. १ विपद् व्यवस्थापन गण, श्री नं. २ विपद् व्यवस्थापन गण र विपद् व्यवस्थापन तालिम शिक्षालयले अनुभव र सिप आदान प्रदान गर्न नारायणी नदी किनारामा जलउद्धार अभ्यास गरेका छन् । पेशागत ज्ञान अभिवृद्धि गर्ने तथा सकलदर्जाहरुको अनुभव र सिप आदान प्रदान गर्ने उद्देश्यले चितवनको भरतपुर महानगरपालिका–२ नारायणी नदी किनारामा मंसिर २२ देखि २७ गतेसम्म जलउद्धार अभ्यास गरिएको हो । सोे क्रममा विभिन्न डेमोन्स्ट्रेशन तथा नेपाली सेनासंग भएका विपद् व्यवस्थापनका विभिन्न सामाग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो । अभ्यासको अन्तिम दिन चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, अन्य सरकारी तथा गैह्र सरकारी निकायका प्रतिनिधीलगायतको सहभागिता रहेको थियो ।