बलात्कार आरोपित वडाध्यक्ष छुटाउन कांग्रेसले गर्‍यो प्रदर्शन

राजविराजः बलात्कार प्रयासको आरोपमा पक्राउ परेका वडा अध्यक्षलाई छुटाउन नेपाली कांग्रेसले शुक्रबार राजविराजमा प्रदर्शन गरेको छ । पक्राउ परेका शम्भुनाथ नगरपालिका–१२ का वडा अध्यक्ष लक्ष्मी साहसहित तीनजना निर्दोष रहेको भन्दै कांग्रेसले प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

कांग्रेस सप्तरीका सभापति दिनेश यादवको नेतृत्वमा रहेको जुलुसले नगर परिक्रमा गरी बुझाएको ज्ञापनपत्रमा वडा अध्यक्ष साह र अन्य व्यक्तिलाई अविलम्ब रिहा गर्न माग गरिएको छ । कांग्रेस पार्टीले घटनाको सूक्ष्म अनुसन्धान गरेको र आरोपित निर्दोष रहेको ज्ञापनपत्रमा दाबी गरिएको छ ।

राजनीतिक प्रतिशोधको भावनाले नियोजित ढंगले फसाएको दाबी सभापति यादवले गरे । यौन दुव्र्यवहारको आरोपमा प्रहरीले वडाअध्यक्ष साहसहित सोही ठाउँका अनीलकुमार राय अमात र नसिम मियाँलाई मङ्गलबार पक्राउ गरी उजुरी दर्ता गरेको छ ।

गाउँमा उत्पन्न विवाद पञ्चेती (छलफल) गरी मिलाइ दिने प्रलोभन दिएर गत मङ्सिर १२ गते ३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको एसपी कृष्ण प्रसाईले बताए ।

महिलाको १६ वर्षीय जेठो छोरा र २३ वर्षीया विवाहित महिलाबीच प्रेम सम्बन्ध रहेकोले विवाह गर्नुपर्ने गाउँलेको दबाब अस्वीकार गर्दै आएकी पीडितलाई छलफल गर्न बलात्कार प्रयास गरेको पीडितको आरोप छ ।

नसिमले स १० प २५८३ नम्बरको मोटरसाइकलमा राखेर एकान्त चौरमा लगेको, वडा अध्यक्षले भनेको मान्नु भनी सल्लाह दिएको र वडा अध्यक्षले बलात्कार प्रयास गरेको पीडितको उजुरीमा उल्लेख छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

कालिञ्चोकमा हिउँ पर्‍यो, जाने होइन खेल्न?

चरिकोटः दोलखाको धार्मिक तथा पर्याटकीय क्षेत्र कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ । आज बिहानदेखि कालिञ्चोक, कुरी बजार, खरिढुङ्गा, शैलुङडाँडा लगायत उच्च भू–भागमा हिमपात हुँदा जनजीवनसमेत प्रभावित बनेको छ । हल्का वर्षासहित हिमपात हुँदा यहाँका डाँडाहरु सेताम्य देखिन थालेका छन् । यसयामको जाडो मौसम शुरु भएसँगै पहिलोपटक हिउँ परेको हो । हिमपात भएसंगै पर्यटन व्यवसायी उत्साहित बनेका छन् । कालिञ्चोक क्षेत्रमा सहज तरिकाले पुगी हिउँ खेल्न सकिने भएकोले आकर्षणको केन्द्र बनेको हो । तीन हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोकमा हिउँ खेल्ने राजधानी तथा अन्य क्षेत्रबाट पर्यटन आउने गरेको होटल व्यवसायी हरि वली बताए । उनले भने, ‘यहाँ हिउँ खेल्न र हेर्न पर्यटन आउने गर्दछन्, हिमपात हुनु राम्रो हो ।’ हल्का वर्षाले किसान पनि औधि खुशी भएका छन् ।

उधौली पर्व र यःमरि पुन्हि मान्नेहरुलाई मात्र भोलि विदा

काठमाडौंः सरकारले भोलि (बिहीबार) सार्वजनिक विदा घोषणा गरेको समाचारले आज धेरैमा अन्यौलता छायो । कतिपय पात्रोहरुमा आज विदा उल्लेख भएकोले भोलि विदा हुने समाचार सार्वजनिक भएको थियो । गृह मन्त्रालयले साँझसम्म समेत यसबारेमा कुनै विज्ञप्ति जारी नगरेपछि कतिपय सार्वजनिक संस्थाहरु विदा दिने कि नदिने भन्ने अलमलमा नै थिए । तर साँझपख गृहले विज्ञप्ती ननिकाले पनि प्रवक्ताकाे भनाई सहितका समाचार सार्वजनिक भएपछि यसबारेकाे अन्याैलता समाप्त भएकाे छ । गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारले सार्वजनिक बिदा नभएको जानकारी दिए । सूचना विभागले जारी गरेको पात्रोमा भएको बाहेक अन्य दिन सार्वजनिक बिदा नभएको उनको भनाइ छ । बिहीबार उधौली पर्व र यःमरि पुन्हि (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा भने नदिइएको उनले बताए । किराँत समुदायको उधौली पर्व र नेवार समुदायको यःमरि पुन्हि (ज्यापु दिवस) को दिन याे पर्व मान्नेहरुलाई मात्रै विदा हुने छ । संवेदनशील विषयमा अन्यौलता कायम हुने अवस्थामा समयमा नै सुचित गर्न नसक्दा गृह मन्त्रालयको आलोचना भएको छ ।

धमाधम ‘छुईगोठ मुक्त’ हुँदै जुम्लाका गाउँ

खलङ्गाः जुम्लामा सामाजिक विकृतिको रुपमा गडिएको छुई प्रथा न्यूनीकरण गर्ने अभियान अहिले धमाधम भइरहेको छ । अहिले स्थानीय तह र सामाजिक संघ संस्थाको अभियानमा जुम्लाका २६ गाउँबस्ती छुईगोठ मुक्त घोषणा गरिएका छन् । महिनावारीको समयमा भिन्नै गोठमा बस्ने चलन अब भने धमाधम मानसिक रुपमै भत्किन थालेका छन् । धमाधम छुईगोठ मुक्त अभियान चलिरहेको समयमा पछिल्लो समयमा यहाँका २६ गाउँलाई स्थानीय सरकार र साझेदार गैरसरकारी संस्थाको समन्वयनमा छुईगोठ मुक्त घोषणा गर्दै अभियान तीब्र पारिएको छ । पछिल्लो समयमा तिला गाउँपालिका वडा नं. ३ दानीवाडा र कठायतवाडा गाउँ र पातारासी गाउँपालिकाको वडा नं ४ लुम र भोडगाउँ छुईगोठमुक्त गाउँ घोषणा गरिएका छन् । तिला गाउँपालिकाकाले आयोजना गरेको छुईगोठमुक्त गाउँ कार्यक्रममा तिलाका दानीवाडा कठायतवाडाका १७२ घरधुरीका ८६० र पातारासी ४ लुमगाउँपालिका लुमगाउँको ३७४ घरधुरीका एक हजार ८७० स्थानीयवासीहरु सहभागी भई छातीमा हात राखेर हामी महिलाहरुलाई महिनावारीको समयमा गोठमा बसाल्दैनौ र बस्दैनौं भन्दै प्रतिवद्धता समेत गरेका छन् । यसैगरी जिल्लाको तिला गाउँपालिकाको पुरु, ढिमकोट, रावतवाडा, जोगिवाडा, पोख्री, चुलाकोट, डुग्री, खोलीगाउँ छुईगोठमुक्त घोषणा गरिएका छन् । यसैगरी तातोपानी गाउँपालिकाको वाईराका, जैतपुर , हियाखोला, लाम्रा, श्रीनगर, हिमा गाउँपालिकाको कोइरेली, महावै पाथरखोला र पातारासीको माथि लोर्पा, तलि लोर्पगाउँ छाउगोठ मुक्त गाउँ घोषणा भएका छन् । जिल्लामा सो अभियानका वारेमा काम गर्दै आएको संस्था सर्वोदय नेपालले पत्रकार सम्मेलन गरेर २१ गाउँबस्ती अन्तर्गतका एक हजार ७४० घरधुरी र आठ हजार ७८९ जनसंख्याले छुईगोठ मुक्त भएको निर्देशक कमल खत्रीले जानकारी दिए । उनका अनुसार महिनावारी भएको समयमा खाना पकाउने छतमा जाने, पानी ल्याउने लगायतका केही सूचांकहरु रहेका छन् । घोषणा गर्नुपूर्व विभिन्न जनचेतना कार्यक्रमहरु, घरदैलो, वैठक गरेर घोषणा गरिने उनले बताए ।

अपराध महाशाखामा कार्यरत इन्सपेक्टर घुससहित पक्राउ

काठमाडौंः महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) जयनेपाल थापा घुससहित पक्राउ परेका छन् । थापालाई अख्तियार दुरुपयोग अुनसन्धान आयोगको टोलीले ललितपुरको पाटनबाट घुससहित नियन्त्रणमा लिएको हो । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार थापालाई वैदेशिक रोजागरीको प्रयोजनका लागि ४० हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी

काठमाडौंः काठमाडौं भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएका जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले निर्माणस्थल नजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको व्यवस्थापनलगायतका काम अघि बढाएको हो । सडक विभागको समन्वयमा त्यस स्थानमा कार्यालय भवन निर्माण गर्न शुरु गरेको सडक विभाग, विकास समन्वय कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । उनका अनुसार कम्पनीले झण्डै २० जना प्राविधिक जनशक्ति जापानबाट ल्याइसकेको छ भने थप ल्याउनेक्रममा छ । सो आयोजनामा नेपाली र विदेशी दुवै जनशक्ति प्रयोग गर्ने कम्पनीको योजना रहेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेसँगै यसको निर्माण शुरु भएको हो । कम्पनीले गरिरहेको तयारीका कामसमेत गरी ४२ महीनामा निर्माण सम्पन्न गर्नुपर्ने विभागले जनाएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋणमा सुरुङमार्गको निर्माण अघि बढेको छ । सो परियोजनाअन्तर्गत नै दुई वटा सुरुङ र एउटा ‘फ्लाई ओभर’ निर्माण हुँदैछ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई वटा सुरुङको निर्माण हुनेछ । दुई वटा ‘फ्लाई ओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो । रासस

रौतहटमा २ जना पुरुषको शव फेला

रौतहट: रौतहटको चन्द्रपुरमा दुुई जना पुरुषको शव फेला परेको छ । बुधबार चन्द्रनिगाहपुर बजारमा एकजना र राजमार्गमा एकजना गरी दुुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । बजार क्षेत्रमा फेला परेको अन्दाजी ३२ वर्षीय पुरुषको शव कुनै सवारी साधनको ठक्करबाट मृत्युु भएको व्यक्तिको हुनसक्ने प्रहरीको छ । शवको पहिचान भन्ने खुल्न सकेको छैन । यसैगरी राजमार्गमा भेटिएको शव सडकमा मागेर खाने व्यक्तिको हुन सक्ने प्रहरीले जनाएको छ । दुवै जनाको शवलाई चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

भोलि सार्वजनिक बिदा

काठमाडौंः गृह मन्त्रालयले भोलि बिहीबार बिदा नरहेको जनाएको छ । तर, यमरि पुन्ही, उधौली, ज्यापु दिवस, धन्यपूर्णिमा मनाउने समुदायका लागि बिहीबार सार्वजनिक बिदा दिइएको छ । बिहीबार हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदाय योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने मनाउँदैछन् । योमरी पुन्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । गत वर्षहरूमा यी पर्वका दिन सरकारले देशभर सार्वजनिक बिदा दिँदै आएको थियो । ०६१ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिँदै हरेक वर्ष सार्वजनिक बिदा दिइँदै आइएको थियो । २०७६ सालको क्यालेण्डरमा पनि बिहीबार सार्वजनिक बिदा भएको जनाइएको छ । तर, गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले नेवार र किराँती समुदायलाई बिहीबार सार्वजनिक बिदा दिइएको बताए । ‘पर्व मनाउनेहरूका लागि मात्रै बिदा दिइएको हो’ उनले भने, ‘सरकारले सबैलाई बिदा दिएको छैन । क्याबिनेटले सार्वजनिक बिदा तोकेको छैन ।’ क्यालेन्डरअनुसार नै सम्बन्धित जात, धर्म भूगोल भएकालाई मात्रै बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने

चितवनः पहिरो रोक्ने काम बाँकी रहेकाले चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड शुक्रबारदेखि दुई हप्ताका लागि बन्द हुने भएको छ । मंसिर २७ गतेदेखि पुसको ११ गतेसम्म लागि विहान ११ बजेदेखि ३ बजेसम्म बन्द गर्न लागिएको हो । सडकको निर्माण कार्य सकिएपनि पहाडको पहिरो रोक्ने काम बाँकी रहेकाले सडक बन्द गरेर काम गर्न लागिएको हो । मुग्लिन नारायणगढ सडक आयोजनाका सूचना अधिकारी शिव खनालले भने, ‘पहिलो झर्ने विभिन्न आठ स्थानमा काम गर्नु पर्ने भएकाले हामीले सूचना प्रकाशित गरेका छौ, शुक्रबारबाट बन्द हुन्छ ।’ बन्द गर्ने विषयमा तयारी भएपनि भरतपुर विमानस्थल मर्मतको लागि बन्द गर्दा केही समय ढिला भएको सूचना अधिकारी खनालले जानकारी दिए । ढुंगा झारेर काम गर्नको लागि ठेक्का सम्झौता भइसकेको खनालले बताए । १२ करोडको लागतमा ठेक्का भएको काम ६ महिना भित्र सक्ने योजना रहेको छ । पहाडमा झर्न लागेका पहिरो, खुकुलो माटोलाई झारेर तारजाली हाल्ने योजना रहेको छ । दैनिक ४ घण्टा यातायात बन्द गरेर काम गर्नु पर्ने भएकाले बन्दको समयमा सो राजमार्ग यात्रा नगर्न आयोजनाले सूचित गरेको छ । ढुंगा झार्ने स्थानहरुमा गाइघाट, १८ किलो, झालुढुंगा, जलवीरे, ४ किलो, घुमाउने, टोपेखोला, कालिखोला रहेका छन् । काठमाडौं पोखराको सवारी साधन भने निर्वाध रुपमा सञ्चालन हुने आयोजनाले जानकारी दिएको छ । नारायणगढ र काठमाण्डौबाट सडक पार हुने सवारी यातायातको लागि भने रोकिनु पर्ने हुन्छ ।

२ लाख घुससहित नासु पक्राउ

सप्तरीः सप्तरीको राजविराजस्थित तैतरीगाछीबाट सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले मङ्गलबार साँझ एक नायब सुब्वा (नासु)लाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सप्तरीको महदेवा गाउँपालिका–६ का वडा सचिव तथा नासु नवोनाथ मिश्रलाई सेवाग्राहीबाट रु दुई लाख घुस लिएको आरोपमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी ज्ञानेन्द्रप्रसाद ढकालले जानकारी दिए । उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले राजविराजस्थित तैतरीगाछीको एउटा चिया पसलमा जन्मदर्ता प्रमाणपत्रसम्बन्धी कागजात बनाइदिने भन्दै सेवाग्राहीसँग नासु मिश्रलाई घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ परेका मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी ल्याएर आवश्यक अनुसन्धानको कार्य अगाडि बढाइएको सुचना अधिकारी ढकालले जानकारी दिए ।

वडाध्यक्ष नै बलात्कार आरोपमा पक्राउ !

फाइल फोटो सप्तरीः बलात्कारको आरोपमा शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साह पक्राउ परेका छन् । उनीसँगै एक अर्का व्यक्ति पनि पक्राउ परेका छन् । उनीहरूमाथि गाउँकै एक कुखुरा फर्ममा बोलाएर जबर्जस्ती करणी गरेको एक महिलाले आरोप लगाएकी छन् । ३४ वर्षीया महिलाको उजुरीपछि वडाध्यक्षसहित अर्का एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिए ।

रोकेर राखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

सुरुङ्गः पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम नजिकै बुधबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको अमरदह नगरपालिका–२ का २३ वर्षीय किसन साह रहेका छन् । सडक छेउमा रोकेर राखेको ना५ख ७६६ नं को ट्रकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३९ प ७५४ नं को मोटरसाइकल ठोक्किएर पुनःपश्चिम जाँदै गरेको मे १ च ४२८१ नं को कारसँग ठक्कर खाँदा मोटरसाइकल चालक साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिउँ नपर्दै मुस्ताङमा खोलाको पानी जम्यो

मुस्ताङः यो बर्ष हिमपात सुरु नहुँदै हिमालपारीको जिल्ला मुस्ताङका खोला जम्न थालेका छन् । अत्याधिक चिसो बढेका कारण जनजीवन कष्टकर बन्न थालेको र मानिसहरुलाई घर बाहिर निस्कनै कठिन भइरहेको छ । तल्लो मुस्ताङमा भन्दा उपल्लो मुस्ताङमा रहेका दुई गाउँपालिकाहरू लो–घेकर, दामोदर कुण्ड र लोमान्थाङमा रहेका चराङ, लोमान्थाङ, छोसेर, छोन्हुप लगायतका ठाउँमा चिसो बढेको छ । चिसोका कारण खोलामा बगिरहेको पानी र धाराबाट खस्दै गरेको पानी नै जम्न थालेको हो । स्थानीय तिलक विश्वकर्माका अनुसार उपल्लो मुस्ताङमा रहेका खोलानाला, धारा र सङ्कलन गरेर राखिएको पानीसमेत जमेको छ। ‘तल्लो मुस्ताङको तापक्रम माइनस ७ डिग्रीसम्म झरेको छ। माथिभन्दा त तल न्यानो हुने नै भयो।’ उनले भने, ‘खोला र धाराको पानी जम्नको लागि लगभग माइनस २० डिग्री हुनुपर्छ।’ मङ्सिर, पुस र माघ महिनामा मुस्ताङको न्यूनतम तापक्रम माइनस २० डिग्री सेल्सियस र अधिकतम माइनस २५ डिग्री सेल्सियससम्म मापन गरिएको छ । चिसोका कारण बाहिर निस्केर काम गर्न समस्या हुँदा मुस्ताङीहरुलाई दैनिकी सञ्चालनमा कठिनाइ हुन थालेको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख धारा गुरुङ बताउँछन् । उनका अनुसार बुधवार बिहान बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको तापक्रम माइनस ५ डिग्री सेल्सियसमा झरेको छ।

एडीबीले दियो नेपाललाई ४० अर्ब ऋण

काठमाडौंः एसियाली विकास बैङ्कले नेपालका विभिन्न ४ परियोजनाका लागि ४० अर्ब ४५ करोड ४० लाख रुपैयाँ (३५ करोड ८० लाख डलर) ऋण उपलब्ध गराएको छ । ऋण उपलब्ध गराउने सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर हामुदखानोभले मङ्गलबार हस्ताक्षर गरे । सम्झौता अनुसार एडीबीले पोखरा–मुग्लिन सडकको स्तरोन्नति, बागमती नदीको बेसिनमा बाढी व्यवस्थापन स्तरोन्नति तथा नदी स्वस्थता सुधारका लागि थप वित्तीय सहयोग, साना किसानको आम्दानी बढाउने तथा जीविकोपार्जन सुधार र सरकारको कृषि तथा खाद्य सुरक्षासम्बन्धी परियोजनाका लागि ऋण उपलब्ध गराउनेछ । त्यसमध्ये पोखरा–मुग्लिन सडकको स्तरोन्नतिका लागि २२ अर्ब तीन करोड (१९ करोड ५० लाख डलर) ऋण उपलब्ध हुनेछ । सासेक परियोजना अन्तर्गतको यो सडक खन्डको पोखरादेखि आँबुखैरेनीसम्मको ८१ किलोमिटर सडकलाई चार लेनको बनाइनेछ । बागमती नदीको बेसिनमा बाढी व्यवस्थापन स्तरोन्नति तथा नदी स्वास्थ्य सुधारका लागि सात अर्ब ११ करोड थप लगानी बैङ्कले उपलब्ध गराउनेछ । यो परियोजना अन्तर्गत बागमतीको ५.७५ किलोमिटर किनारमा सुन्दरीकरण र खेर गएको पानीको ट्रिटमेन्ट प्लान्ट निर्माण, बाढीसम्बन्धी अग्रिम जानकारीका लागि जनचेतालगायतका काम हुने छन् । पाँच अर्ब ६५ करोड नीतिमा आधारित ऋण प्राप्त हुने कृषि तथा खाद्य सुरक्षासम्बन्धी कार्यक्रमअन्तर्गत नेपालमा खाद्य सुरक्षा र गुणस्तर अनुगमन प्रणाली स्थापना हुनेछ । साना किसानको आम्दानी बढाउने तथा जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत प्राप्त हुने पाँच अर्ब ६५ करोड ऋणबाट ग्रामीण क्षेत्रका व्यवसाय र सहकारीलाई वित्तीय पहुँचको व्यवस्था गर्ने किसानको आम्दानी वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । सम्झौतापछि अर्थ सचिव खनालले ४ ओटै परियोजना नेपालका लागि धेरै महत्वपूर्ण रहेको र सरकारको सहभागितामूलक दीर्घकालीन विकासका लागि सहयोगी हुने बताए । नेपालका लागि देशीय निर्देशक हामुदखानोभले नेपालको विकास सहायतामा एडीबीले सहयोग बढाउँदै लगेको र यसले सरकारसँगको साझेदारी थप बलियो बन्दै गएको देखाएको बताउनुभयो । परियोजना कार्यान्वयनमा भएको सुधारसँगै नेपालका लागि थप ऋण उपलब्ध गराउन एडीबीले उपलब्ध गराएको अवसरलाई प्रयोग गर्नसमेत उनले आग्रह गरे । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

बालुवाटारको जग्गा किन्नेविरुद्ध पनि मुद्दा चलाउँदै अख्तियार

काठमाडौंः बालुवाटारको दुई सय १४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने योजनाकारहरू मात्र होइन, जग्गा किन्नेहरूविरुद्ध पनि मुद्दा चल्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सरकारी जग्गा किनबेच गर्ने दुबै पक्षलाई मुद्दा लगाउने निष्कर्ष निकालेका छन् । ‘जग्गाधनीलाई पनि मुद्दा चल्छ,’ अनुसन्धान टिममा रहेका अख्तियारका एक अधिकारी भन्छन्, ‘तर, कुन तह र कुन हदसम्म कारवाही हुने भन्ने निर्क्योल हुन बाँकी छ ।’ राणा परिवार र उनीहरूसँग जग्गा किन्ने दुई तहसम्मलाई मुद्दा चल्ने सम्भावना रहेको उनले बताए । प्रधानमन्त्रीनिवाससँगै जोडिएको ललिता निवासको जग्गा हाल सयभन्दा धेरै व्यक्तिको नाममा छ । अख्तियारले ती सबै जग्गाधनीसँग बयान सकेर मुद्दा चलाउन प्रक्रिया अघि बढाइसकेको छ । मुख्य योजनाकार शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले नै विभिन्न व्यक्तिलाई बिक्री गरेका हुन् । भाटभटेनी सुपरमार्केटले सोही जग्गामा गोदाम बनाएको छ । यो जग्गामा नेकपाका महासचिव विष्णु पौडेलको छोराको नाममा समेत घडेरी छ । धेरैजसो जग्गा बैंकमा धितो राखेर करिब दुई अर्ब कर्जा निकालिएको छ । जसकारण यो मुद्दामा बैंकहरूको लगानी संकटमा पर्ने देखिएको छ । प्रहरीको सिआइबीले पनि अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याएको छ । अख्तियारले मुद्दा दायर गरिसकेपछि कागजपत्र किर्ते देखिएमा मुद्दा दायर गर्ने सिआइबीको तयारी छ । सो प्रकरणमा सरकारी जग्गा कसरी व्यक्तिको नाममा गयो भनेर थप छानबिन गर्ने जिम्मेवारी सरकारले सिआइबीलाई दिएको थियो । ‘केही ल्याब रिपोर्ट आउन बाँकी छ, एक–दुईजनासँग थप बुझ्नुपर्नेछ,’ ब्युरोका निर्देशक डिआइजी नीरज शाही भन्छन्, ‘अब छिटै प्रतिवेदन बुझाउँछौँ ।’ नक्कली मोही खडा गरी सरकारी जग्गा कब्जा गरिएको आशंकामा सिआइबीले मोही भनिएका व्यक्तिको औँठाछाप परीक्षण गरिरहेको छ । त्यससम्बन्धी परीक्षणका लागि प्रयोगशाला पठाइएको र रिपोर्ट प्रतीक्षा भइरहेको सिआइबीले जनाएको छ । नक्कली मोही खडा गरिएको खुलेमा उनीहरूविरुद्ध किर्ते मुद्दा चल्नेछ । ‘हामीले ठगी वा किर्ते मुद्दा चलाउने हो,’ अनुसन्धानका एक अधिकारी भन्छन्, ‘कागजपत्र किर्ते भएको आशंकामा छानबिन गरिरहेका छौँ, ठगी मुद्दा चलाउन सरकारले नै हामीकहाँ जाहेरी दिनुपर्छ ।’ यसैबीच, सिआइबीले पूर्वमुख्यसचिव तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसँग समेत बयान लिन लागेको छ । त्यसका लागि सिआइबीले गृह मन्त्रालयमार्फत पौडेललाई पत्राचार गरिसकेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

बढ्यो नेपालीको औसत आयु

काठमाडौं: मानव विकास सूचकांकमा नेपाल १४७ औं स्थानमा आउन सफल भएको छ। नेपाल गत वर्षभन्दा दुई स्थान माथि उक्लन सफल भएको हो। गत वर्ष नेपाल १४९औं स्थानमा रहेको थियो भने यसको अघिल्लो वर्ष १४८औं स्थानमा रहेको थियो। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)ले मंगलबार सार्वजनिक गरेको विश्व मानव विकास प्रतिवेदन–२०१९ ले नेपालले बर्सेनि आफ्नो अवस्था सुधार गर्दै लगेको औँल्याएको छ। प्रतिवेदनअनुसार नेपालको स्थिति अफ्रिकी मुलुक केन्याको समान रहेको छ। खासगरी प्रतिव्यक्ति आय, शिक्षाको अवस्था र औसत आयुलाई आधार मानेर मानव विकास सूचकांक निकाल्ने गरिन्छ। यसमा मुलुकले गरिबी निवारण, भोकमरीबाट उम्कन गरेका प्रयास र खतरनाक रोगबाट मुक्त हुन गरेका प्रयासलाई अध्ययनमा राखिएको हुन्छ। शिक्षा, स्वास्थ्य एंव रोजगारीका क्षेत्रमा भएको सकारात्मक प्रयासले पछिल्ला २८ वर्षमा नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १३०.५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले औंल्याएको समाचार राजधानी दैनिकमा छ। मानव विकास सूचकांकका आधारमा नेपाल मध्यमस्तरको देशका रूपमा रहेको छ। प्रतिवेदनमा विश्वभरका देशलाई १८९ स्थानसम्म वर्गीकरण गरिएको छ। त्यसमध्ये नेपाल अतिकम मानव विकास सूचकांक भएका मुलुकभन्दा एक कदम मात्र माथि छ। सूचीअनुसार १५३औं स्थानसम्म रहेका मुलुकलाई मध्यमस्तर मानिएको छ भने त्योभन्दा तल रहेका मुलुक कमजोर मानव विकास भएका छन्। १५३औं स्थानमा सोलोमन आइल्यान्ड रहेको छ। मानव विकास सूचकांकमा सबैभन्दा अग्रस्थानमा भने नर्वे रहेको छ । स्वीट्जरल्यान्ड, आयरल्यान्ड, जर्मनी, हङकङ, अस्ट्रेलिया, आइसल्यान्ड, स्विडेन र सिंगापुर पहिलो १० नम्बरमा रहेका छन्। नेपालको मानव विकास सूचकांक मूल्य सन् १९९० देखि २०१८ सम्ममा न्यूनतम ०.३८० देखि ०.५७९ अर्थात् औसत ०.५२६ ले वृद्धि भएको छ। सन् १९९० देखि २०१८ सम्म नेपालको जन्मदरको औसत आयुमा १६.१ वर्षको वृद्धि भएको छ। विद्यालय शिक्षाको मध्यम वर्ष २.८ वर्षले वृद्धि भएको छ भने विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले वृद्धि भएको छ । नेपालको औसत आयु वढेर अहिले ७०.५ वर्ष पुगेको छ।