हप्तैपिच्छे दुर्घटना, अनाहकमा ज्यान गुमाउँदै पैदलयात्री
बाँकेः सडक दुर्घटना हाम्रा लागि सामान्य भइसकेको छ । नेपालगञ्जमा दिनहुँजसो सानाठूला दुर्घटना भइरहेका हुन्छन् । कतिपय दुर्घटना भयानक हुन्छन् त कतिपय सामान्य । तर, दुर्घटनामा पर्ने र सोबाट तिनका परिवारले ब्यहोर्नुपरेको क्षतिका बारेमा सम्बन्धित निकाय संवेदनशील बन्न सकेका छैनन् ।
सामान्य अर्थमा मानवीय कमजोरीकै कारण सडक दुर्घटना हुने गर्छ र यो भवितव्य घटना हो भन्ने आम बुझाइ छ । यही बुझाइका कारण पछिल्लो समय नेपालगञ्जमा भएका सडक दुर्घटना नियमित र भवितव्य झैँ बन्न पुगेका देखिन्छन् । पछिल्लो समय नेपालगञ्ज–कोहलपुर सडकखण्डमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । विशेषगरी नेपालगञ्ज–कोहलपुर सडकखण्डमा कुद्ने सवारी साधनको निशानामा पैदलयात्रु पर्ने गरेका छन् ।
केही महिनाअघि मात्र मोटरसाइकलको ठक्करबाट नर्सिङहोम अगाडि पैदलयात्रु एक महिलाको मृत्यु भयो । हप्ता दिनअघि मात्र काठमाडौँबाट नेपालगञ्ज आउँदै गरेको लु२ख २१४८ नंको बस गनापुरमा पल्टियो १२ जना घाइते भए । बाटो काट्दा मात्रै होइन, सडकको छेउबाट हिँड्दासमेत सवारीको ठक्करले पैदल यात्रुले ज्यान गुमाएका छन् ।
नेपालगञ्ज वीरेन्द्र चोक गुल्म नजिक भेरी पेट्रोलपम्प सामुन्ने बुधबार दिउँसो मिनी ट्रकले कुचल्दा नेपालगञ्ज वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी कार्यालय सहयोगी बलबहादुर रावल र जुम्ला चन्दनाथ नगरपालिका बस्ने नरजीत बुढाको मृत्यु भयो ।
मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते दुवै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । यी त केही उदाहरण मात्र हुन् । सडकमा सबैभन्दा पहिलो प्राथमिकता पैदलयात्रुलाई दिनुपर्ने मान्यता छ । नेपालगञ्जका सडक पैदलयात्रुकै लागि सबैभन्दा असुरक्षित बनिरहेका छन् । सवारीसाधनको लापरवाहीले गर्दा अनाहकमा ज्यान गइरहेको छ । नेपालगञ्जमा अधिकांश चालक नियमभित्र रहेर सवारी साधन चलाउँदैनन् ।
सडकभरि अव्यवस्थित तरिकाले गुडिरहेका सवारी साधनको अत्यास लाग्दो चाप र एकअर्कालाई उछिन्ने उद्देश्यले चलाइने सवारी साधनबाट यात्रा गरिरहेका यात्रु मात्र नभई सडकमा हिँडिरहेका निर्दोष पैदल यात्रुसमेत मृत्युको मुखमा पर्ने गरेका छन् । साँघुरो सडकका कारण सास्ती भोगेका नेपालगञ्जका यात्रुले चार लेन सडक बनेपछि यात्रा सहज हुने विश्वास गरेका थिए । तर सडक चौडा भए पनि ट्राफिक प्रहरीको जाँगर नचेलका कारण यति बेला दुर्घटनाको जोखिम बढेर आएको छ ।
दिनहुँजसो गुड्ने सवारी साधनले सडकमा पैदलयात्रा गरिरहेका यात्रुलाई आफ्नो सिकार बनाइरहँदासम्म पनि सम्बन्धित निकायको यसतर्फ ध्यान जान सकेको छैन । बजारक्षेत्रमै तीव्रगतिमा गुड्ने सवारी साधनले पैदलयात्री र अन्य सवारी चालकको सातोपुत्लोसमेत लिने गरेको छ । सडक बीच भागमा छाडा चौपाया आवतजावत गर्ने, बीच सडकमै बस्ने, सडकपेटी मिचेर खोलिएका पसल, सडकभरि अव्यवस्थित पार्किङ, मनपरी सडक काट्ने र सवारी साधन रोक्ने जस्ता कारणले दैनिकजसो सवारी दुर्घटना भइरहेका छन् ।
उपमहानगरपालिका ट्राफिक व्यवस्थापनमा ट्राफिकले कञ्जुस्याइँ गरेपछि यतिबेला नगरका विभिन्न चोक, गल्ली तथा सडक अस्तव्यस्त हुनुका साथै हिँडडुल गर्नसमेत अप्ठ्यारो बन्न पुगेको छ । नेपालगन्जमा ट्राफिक व्यवस्थापन हुन सकेको छैन । ट्राफिक व्यवस्थापनमा जिल्ला ट्राफिक कार्यालय उदासिन बन्दा सर्वसाधारणको मृत्यु भइरहेको छ । सडक पेटी ओगेटर राखिएका फुटपाथ पसल, ठेला र मनपरी ठाउँमा पार्किङ गरिएका सवारीसाधनले उपमहानगरको स्वरुप नै कुरुप बनाएको छ ।
विभिन्न चोक र सडकको बीचभागमै इ–रिक्सा, अटो र ठेलाको आतङ्क नै छ । बिहान र साँझ मात्रै ट्राफिक व्यवस्थापनमा सक्रिय रहने ट्राफिकको मतलव नगरेर सवारी चालक, फुटपाथ पसलेले आफ्ना दबदबा कायम गरिरहेका छन् । अर्कोतर्फ नेपाल प्रहरी र उपमहानगरपालिकाको नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनमा रत्तिभरि पनि वास्ता नै छैन ।
जिल्ला ट्राफिक कार्यालयले सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार जिल्लामा भएका सानाठूला सडक दुर्घटनामा परेर यसअघि ६० ले अनाहकमा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७५÷०७६ को एक तथ्याङ्कअनुसार जिल्लामा सवारी दुर्घटनामा परी ४२ पुरुष, १४ महिला र चार बालकले ज्यान गुमाएका हुन् ।
दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्यासँगै घाइते हुनेको सङ्ख्या पनि बढेको छ । गत आवमा भएका दुर्घटनामध्ये ९९ ठूला दुर्घटनामा परी ४५ पुरुष, २३ महिला, सात बालक र एक बालिका गरी ७५ गम्भीर घाइते भए । यस्तै ५४ पुरुष, २९ महिला र तीन बालिका गरी ८६ सामान्य घाइते भएका दुई पशुचौपायाको मृत्यु हुनुका साथै एक घाइते भएकोसमेत ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ ।
ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार जिल्लामा प्रत्येक हप्ता सरदर दुई सवारी दुर्घटनामा पर्ने गरेका छन् भने प्रत्येक हप्ता कम्तीमा एकको मृत्यु अनि तीन गम्भीर घाइते हुने गरेका छन् । यी सबै दुर्घटनाका प्रमुख कारण भने चालकको लापरवाही, तीव्र गति, अव्यवस्थित पार्किङलाई नै औँल्याइएको छ । तथ्याङ्कअनुसार गत आवमा ९९ ठूला दुर्घटनामध्ये सबैभन्दा धेरै तीव्र गति र लापर्वाहीका कारण भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार पैदल यात्रुले असुरक्षितरुपमा जहाँबाट पायो त्यहीँबाट बाटो काट्दा दुर्घटनाको जोखिम धेरै भएको छ । उनले भने, ‘पैदल यात्रुले जेब्राक्रसिङबाट मात्रै बाटो काट्ने हो भने दुर्घटनाको जोखिम निकै कम हुन्छ, त्यसो हुँदा सवारी चालकलाई सवारीको गति कम गर्न पनि सहज हुन्छ, जेब्राक्रसिङमा सवारीको गति अन्य क्षेत्रको भन्दा कम र सन्तुलित हुन्छ ।’ रासस
मकवानपुरमा छुट्टाटुट्टै सवारी दुर्घटना, १४ जना घाइते
हेटौँडाः मकवानपुरमा सोमबार भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १४ जना घाइते भएका छन् । हेटौँडा–कुलेखानी–फोखेल–काठमाडौँ सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित देउरालीमा भएको सुमो दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । काठमाडौँबाट वीरगञ्जका लागि आउँदै गरेको ना १ ज २८९९ नम्बरको टाटा सुमो दुर्घटना भएको हो । घाइते भएका १२ जनाको हेटौँडा अस्पतालमा उपचार भईरहेको जिल्ला जनाएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीको प्रहरी टोलीले दुर्घटनाका घाइतेको उद्दार गरी हेटौँडा पठाएको थियो । दुर्घटनामा परी घाइते हुनेमा भारत वेलियामा भुट्टा साह, ऐनलाल, भारत मोतिहारीका रुपेश कुमार, बारा जिल्ला कलैया–५ का वरुण पासवान, सन्तोष कुमार, आनन्द कुमार, कलैया–६ का सराजुल अन्सारी, बारा जिल्ला गढीमाई नगरपालिकाका दिनेश ठाकुर रहेका छन् । यस्तै सुमो चालक बारा कोलवी नगरपालिकाका प्रकाश कार्की, बारा जिल्ला फेटाहा गाउँपालिका १ का रामएकवाल प्रसाद कुर्मी, पोखरा महानगरपालिका २६ का सविना लामिछाने र सुनसरी जिल्ला महेन्द्र नगरपालिका ४ का भीमबहादुर दाहाल रहेका छन् । घाइते कलैया–६ का सराजुल अन्सारीको थप उपचारको चितवन पठाइएको प्रहरीले जनाएको छ । यसैगरी हेटौँडा ८ स्थित सनउड कोलनी कमानेमा सवारी दुर्घटनामा परी चालकसहित तीन जना घाईतेभएका छन् । मर्मत गरी परीक्षणका लागि चलाएको ना४ त ७२०७ नम्बरको कुखुराबोक्ने गाडी ब्रेक फेल भएर दुर्घटना भएको वडा प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । घाइते हुनेमा भारत मोतीहारीका प्रवेश आलम र मोतिहारीका १९ असर्द महमद मिया रहेका छन् । दुवै जनाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ । (फाइल फोटो)
बोल्न र कुरा गर्न सक्ने अवस्थामा छुः प्रधानमन्त्री ओली (भिडियोसहित)
काठमाडौंः उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य राम्ररी सुधार भइरहेको बताएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयू कक्षबाट भिडियो सन्देशमार्फत प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।’ १३ औं सागको उद्घाटन समारोह पूरै हेरेको बताएका ओलीले मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन सबैलाई आग्रह गरेका छन् । मेरो स्वास्थ्य अवस्थाको बारे जानकारी pic.twitter.com/HDt3tZsLmR — K P Sharma Oli (@kpsharmaoli) December 2, 2019
त्रिविको बेरुजु १९ अर्ब
काठमाडौंः त्रिभुवन विश्वविद्यालयको अहिलेसम्म १९ अर्ब ६५ करोड ३० लाख १२ हजार बेरुजु रहेको छ । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷७७ को बजेटमा विगत ४० वर्षदेखि त्रिविमा विभिन्न शीर्षकमा बेरुजु रहेको १९ अर्ब ६५ करोड ३० लाख १२ हजार उल्लेख छ । कूल रु बाह्र अर्ब १२ करोड ७२ लाख ३१ हजार बेरुजु रहेकामा २०७६ असार मसान्तसम्म रु एक अर्ब ४७ करोड ४२ लाख १९ हजार बेरुजु फर्छौट गरिएको छ । गत असार मसान्तसम्ममा रु ८६ करोड ९० लाख एक हजार समपरीक्षण गरिसकेको र ५८ करोड समपरीक्षणको लागि महालेखा परीक्षकको कार्यालयमा पठाइएको उनले जानकारी दिए । आव २०७३र७४ सम्मको बेरुजु र रु १९ अर्ब ५३ करोड २२ लाख २८ हजार रहेकोमा २०७५ वर्षमा पुनः रु दुई अर्ब ८९ करोड ४२ लाख १९ हजार बेरुजु बढ्न गएको उनले प्रस्तुत गरेको बजेटमा छ । त्रिविले २०७५ चैतमसान्तसम्म रु एक अर्ब २९ करोड ९२ लाख १६ हजार बेरुजु फर्छौट गरेको थियो । रजिष्ट्रार उप्रेतीले आव २०७३÷७४ मा विकास निर्माणका कार्यथप भएको र परियोजना पूरा भएर पनि हस्तान्तरण नभएकाले बेरुजु बढेको बताए । त्रिविका ९५ मध्ये १७ वटाको आन्तरिक लेखापरीक्षक सम्पन्न भइसकेको छ । त्रिविले बेरुजु रकममा आउँदो जेठ महिनाभित्र व्यक्तिगत पेश्की बुझाएमा पेश्की रकममा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिने भएको छ । आव २०६९÷७० सालसम्म कायम भएको व्यक्तिगत पेश्की गत फागुन मसान्तसम्म बुझाएमा पेश्की रकममा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिँदा रु १३ करोड पेश्की फर्छौट भएको थियो । रजिष्ट्रार उप्रेतीले आगामी दिनमा कार्ययोजना बनाइ पेश्की फर्छौटको कार्यलाई प्राथमिकतामा राखिने बताउनुभयो । त्रिविले बेरुजुको लागतलाई व्यवस्थित गर्नका लागि विगत १० वर्षको बेरुजुको अभिलेखलाई विद्युतीय प्रणालीमा राखिएको छ । त्रिविले यसै आर्थिक वर्षमा सबै बेरुजुलाई शून्यमा झार्ने अभियानमा शुरु गरेको छ । लेखापरीक्षण कार्यसम्पन्न हुन लागेकोले बेरुजु फर्छौट वर्षको रुपमा कार्ययोजना बनाइ बेरुजु घटाउने कार्यलाई उच्च प्राथमिकता दिइने जनाइएको छ । त्रिविका ९५ इकाइमध्ये १७ वटाले मात्र लेखापरीक्षण गराउन बाँकी छन् ।
बलात्कार आरोपित सिद्धबाबालाई थुनामा राख्न ४ दिनको म्याद
इनरुवाः आफ्नै अनुयायी महिलामाथि बलात्कारको आरोप लागेका सिद्धबाबालाई थप अनुशन्धानको लागि जिल्ला अदालत सुनसरीले चार दिनको म्याद दिएको छ । ३५ वर्षिया महिलामाथि बलात्कार आरोप लागेका सिद्धबाबालाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको थियो । सोमबारनै जिल्ला अदालत सुनसरीले थुनामा राखेर अनुशन्धान गर्न प्रहरीलाई चार दिनको म्याद उपलब्ध गराएको हो । सिद्धबाबा, रामकृष्णाचार्य, बैष्ण कृष्णदास नामले प्रख्यात रहेका उनको वास्तविक नाम कृष्णबहादुर गिरी रहेको प्रहरीले जनाएको छ । बिराटनगर स्थित बिराट नर्सिङ्ग होम अस्पतालमा उपचाररत रहेको बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले अस्पताल परिसरबाटै नियन्त्रणमा लिएको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले आरोपित बाबालाई अस्पतालबाटै नियन्त्रणमा लिएको जानकारी दिए । पीडित भनिएको महिलाको मंसिर ११ गतेनै इनरुवा अस्पतालमा स्वास्थ्य परीक्षण भइसकेको छ ।
उपनिर्वाचनको अन्तिम परिणामः कहाँ कसले जित्यो ? (पूरा विवरण)
काठमाडौंः निर्वाचन आयोगले मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले प्रकाशित गरेको अन्तिम परिणाम बमोजिम प्रतिनिधि सभा सदस्यको एक मात्र निर्वाचन क्षेत्रमा नेकपा विजयी भएको छ । तीन प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा नेकपा, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले एक एक स्थानमा जित हात पारेको छ । निर्वाचन आयोगले सोमबार अपरान्ह प्रकाशन गरेको अन्तिम परिणाम अनुसार नेकपा सबैभन्दा बढी ३० स्थानमा जित हात पारेको छ । नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन स्थानीय तहको अध्यक्ष पदमा जित हात पारेको छ । बाँकी उपाध्यक्ष र वडाअध्यक्ष पदमा नेकपा उम्मेदवार निर्वाचित भएका हुन् । नेपाली कांग्रेसले १३ स्थान जित हात पारेको छ । कांग्रेसका उम्मेदवार एक प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिकाको मेयर पदमा जित हात पारेको हो । समाजवादी पार्टीले चार तथा राष्ट्रिय जनता पार्टी, नेपालले तीन स्थानमा जित हात पारेको छ । एकजना वडाअध्यक्ष स्वतन्त्र निर्वाचित भए ।
पत्रकार खेम भण्डारीले दिए न्यायाधीश आचार्यविरुद्ध न्याय परिषद्मा उजुरी
महेन्द्रनगरः कञ्चनपुरका पत्रकार खेम भण्डारीले जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्रप्रसाद आचार्यविरुद्ध न्याय परिषद्मा उजुरी गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै भण्डारीले आचार्यविरुद्ध इमेल र हुलाकमार्फत न्याय परिषदमा उजुरी गरेको जानकारी दिए । निर्मला हत्या प्रकरणमा अदालतको मानहानी गरेको भन्दै न्यायाधीस आचार्यले सजाय दिलाउनसमेत लायक नभएको भन्दै भण्डारीलाई ‘तुच्छ सजाय’ एक घण्टा जेल र एक रुपैयाँ जरिवाना सजाय सुनाएका थिए । भण्डारीले उक्त ‘तुच्छ सजाय’भोगेका थिए । आचार्यले बदनियतपूर्ण तरिकाले मौलिक अधिकार हनन् गरेको, दण्डसंहितामैं व्यवस्था नभएको ‘तुच्छ सजाय’ को स्वेच्छाचारी अविस्कार गरेको, विपक्षीको भोजभतेर खाएर पुनरावेदनको नैसर्गिक अधिकारबाट बञ्चित गरेर कैद तथा जरिवाना भुक्तान गर्न बाध्य पारेको, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी काम गरेको भण्डारीको आरोप छ ।
लुटिएको ४ तोला सुनसहित एक जना पक्राउ
मकवानपुरः मकवानपुर प्रहरीले लुटिएको सुनसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको भिमफेदी गाउँपालिका–८ बस्ने १८ वर्षिय सुरज ओलीलाई पक्राउ गरेको हो । हेटौंडा–१० भुटनदेवी रोड बस्ने राहुल सुनारको बासुमार्ग स्थित केदारनाथ सुनचाँदी पसलबाट तीन तोला ११ लालको सुनको सिक्री र एक तोला सात लालको सुनको ब्रासलेट गरी चार तोला ११ दशमलव सात लालको सुनका गरगहना लुटी भाग्न खोज्दा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सुन लुटेर ना ४३ प ८२६४ नम्बरको मोटरसाइकलमा भाग्न खोज्दा ओलीलाई सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । निज उपर चोरी कसुरमा आवश्यक अनुसन्धान कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।
बन्दीपुरमा केबुलकार निर्माणको काममा तीव्रता, एक वर्षभित्र सञ्चालन हुने
दमौलीःतनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको केबुलकार एक वर्षभित्र सञ्चालन हुने गरी निर्माणको कामले तीव्रता पाएको छ । बन्दीपुर केबुलकार परियोजनाअन्तर्गत अहिले बटम स्टेशनको काम धमाधम चलिरहेको छ । परियोजनाको साझेदार कम्पनी आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्शन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले एक वर्षभित्र केबुलकार सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिइएको जानकारी दिए । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा निर्माण भइरहेको उक्त भवनको लागत रु १८ करोड ५५ लाख रहेको छ । भवन एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो लिमिटेड, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फन्ड, बन्दीपुर गाउँपालिकाको साझेदारीमा निर्माण हुन लागेको बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत रु एक अर्ब ५६ करोड रहेको छ । केबुलकारको माथिल्लो स्टेशनमा दश तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ । रु ८२ करोडको लागतमा निर्माण हुने उक्त भवनमा आधुनिक भ्यू टावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण गरिने शर्माले जानकारी दिए । अध्यक्ष शर्माका अनुसार रेष्ट्रो जोन, शपिङ मल र केबुलकारको ड्राइभ स्टेशन, टिकट काउन्टर र उत्तर दक्षिण प्यासेजको निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ । पाँच सय क्षमताको सभाहलसमेत उक्त भवनमा निर्माण गरिनेछ । प्रारम्भमा रु ५६ करोडको लागतमा केबुलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबुलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबुल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणहरु जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ । कम्पनीले केबुलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाख बराबरको शेयर प्रदान गरिसकेको छ । केबुलकार कम्पनीमा २२५ जनाभन्दा बढी स्थानीयवासीले शेयर हालिसकेका छन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ । महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको जनाएको हो । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
‘नेपालीका लागि नेपाली’ अभियानबाट निकालिए ज्ञानेन्द्र शाही
काठमाडौः ‘नेपालीका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ । बुधबार बसेको केन्द्रीय कार्य समितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको हो । अभियन्ता बालकृष्ण न्यौपानेले शाहीलाई ‘नेपालीका लागि नेपाली’ अभियानबाट निकालिएको जानकारी दिए । उनले शाहीसँग सिद्धान्त नमिलेका कारण निस्कासन गरिएको बताए । नेपालीका लागि नेपाली अभियानले संघीयता, धर्मनिरपेक्षता खारेजीलगायतका एजेण्डासहित गतिविधि गर्दै आएको छ ।
१९ पहाडी जिल्लामा सहसचिव सिडिओ खटाउने निर्णय
काठमाडौंः सरकारले १९ वटा पहाडी जिल्लाका सिडिओमा सहसचिवलाई खटाउने निर्णय गरेको छ । ३ मंसिरको मन्त्रिपरिषद् बैठकले सहसचिवलाई खटाउने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो । धेरै जनसंख्या भएका जिल्लामा सुरक्षा चुनौतीका आधारमा सहसचिवलाई सिडिओका रूपमा खटाउन लागिएको हो । हाल ती जिल्लामा उपसचिव सिडिओमा कार्यरत छन् । पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाघाँची, प्युठान, सल्यान, जुम्ला, डोल्पा, बैतडी, दैलेख, अछाम र डडेल्धुरामा सहसचिवलाई सिडिओ खटाउने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । हाल ४२ वटा जिल्लामा सहसचिव तथा ३५ जिल्लामा सिडिओको उपसचिव दरबन्दी छ । दरबन्दी थपिएको पत्र मन्त्रालय आइनसकेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए । पत्र आएलगत्तै ती जिल्लामा कामु दिएर भए पनि सहसचिव खटाउने उनको भनाइ छ । १० महिनाअघि नै गृह मन्त्रालयले यससम्बन्धी प्रस्ताव अघि बढाएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत यसमा सहमति जनाई प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । ती जिल्लामा डिएसपी खटिएकोमा एसपीसमेत खटाउने गृहको तयारी छ । त्यसबारे छलफल हुनै बाँकी रहेको सहसचिव शर्माले बताए । हाल दुई जिल्लामा एसएसपी, ४० जिल्लामा एसपी र ३५ जिल्लामा डिएसपी जिल्ला प्रहरी प्रमुख छन् । अब ६१ जिल्लामा सहसचिवलाई सिडिओ र ५९ जिल्लामा एसपीलाई खटाउन लागिएको छ । सहसचिव सिडिओ भएका सबै जिल्लामा एसएसपी र एसपी जिल्ला प्रहरी प्रमुखका रूपमा कार्यरत छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
सरकार र मेडिकल कलेजको सहमतिप्रति विद्यार्थी असहमत
काठमाडौंः चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीले सरकार र मेडिकल कलेजबीच भएको सहमतिप्रति असहमति जनाएका छन् । सरकार र मेडिकल कलेजबीचको सहमति विद्यार्थी हितविपरीत भएको भन्दै विद्यार्थीले असहमति जनाएका हुन् । मेडिकल शिक्षामा झन्डै ५ हजार विद्यार्थी अध्ययनरत छन् । उनीहरू अबको आन्दोलन राजधानी केन्द्रित हुने भन्दै त्यसका लागि छलफलमा समेत जुटेका छन् । चिकित्सा शिक्षा संघर्ष समिति प्रवक्ता सुजन कडरियाले सरकार र मेडिकल कलेजबीचको सहमति विद्यार्थी हितविपरीत भएको आरोप लगाए । चिकित्सा शिक्षामा अध्ययनरत विद्यार्थी, सरकार र निजी मेडिकल कलेजबीचको दुईबुँदे सहमतिले एमबीबीएस र बिडिएस अध्ययनरत विद्यार्थीको आंशिक माग सम्बोधन भए पनि सबै पूरा हुन नसक्ने बताएका छन् । सरकार–मेडिकल कलेज सम्झौतापत्रमा एमबीबीएस र बीडीएस संकायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने उल्लेख छ । सरकारले विद्यार्थीसँग छलफलै नगरी मेडिकल कलेजलाई फाइदा हुनेगरी सहमति गरेको संघर्ष समिति प्रवक्ता सुजन कडरियाको आरोप छ । शुल्क विरोधमा आन्दोलन थालेको २०७३/७४ ब्याचलाई सरकारले नसमेटेको विद्यार्थीको दाबी छ । एमबीबीएस र बीडीएस तह पहिलो र दोस्रो वर्षको शुल्क समायोजन सहमति अपरिपक्व भएको संघर्ष समितिले जनाएको छ । निर्णयमा नर्सिङ, फार्मेसी, बीपीएच, बीएमआईटीलगायत संकायमा तोकेभन्दा बढी शुल्क लिएको विषय नसमेटिएको विद्यार्थीले बताउँदै आएका छन् । सहमतिमा ‘आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा भर्ना भएका विद्यार्थीको शुल्क समायोजन अथवा फिर्ता गर्ने भनिएको’ छ भने ‘२०७२/७३ र २०७३/७४ मा भर्ना भएका विद्यार्थीको हकमा छानबिन र उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोगसमक्ष अनुरोध गर्ने’ उल्लेख छ । यसैबीच, नेसनल मेडिकल कलेजका १८औं ब्याच प्रथम वर्षका विद्यार्थीले आन्दोलनक्रममा हातपात गर्नेलाई कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्ता गरेका छन् । विद्यार्थीले अझै कलेज प्रशासननिकट नातेदार (सिनियर) विद्यार्थीले प्रशासनकै गेटमा हातपात गरिरहेको आरोप लगाएका छन् । त्यस्तै, १८औं ब्याचका छात्रामाथि पनि हातपात गरेको र ज्यान मार्ने, जिउँदै जलाउने र गाड्नेजस्ता डरधम्की दिएको निवदेनमा उल्लेख छ । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।
लिच्छविकालीन ढुंगेधारा भेटियो चापागाउँमा
काठमाडौंः गोदावरी नगरपालिका–११ स्थित हिटिगाँ ढुंगेधारा लिच्छविकालीन हुन सक्ने प्रमाण भेटिएका छन् । हिटिगाँ ढुंगेधारा रहेको स्थानबाट केही मिटर पूर्वतर्फ सडक किनारमा केही तथ्य फेला पारिएको हिटिगाँ सँचापुच सदस्य अनिल श्रेष्ठले जानकारी दिए । उनका अनुसार लिच्छविकालीन ढुंगेधारा मुहानबाट आउने पानीको डुँड फेला परेको हो । यसको स्थापना विषयलाई लिएर बुढापाकासमेत बेखबर रहेको उनले सुनाए । समाचार राजधानी दैनिकबाट
उपनिर्वाचनमा एउटा मात्र मतपत्रमा भोट दिए पुग्ने
काठमाडौंः उपनिर्वाचनमा एउटा मात्र मतपत्रमा भोट दिए पुग्ने भएको छ। ०७४ मा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैपटक गराउँदा चार फरकफरक मतपत्र प्रयोग गरिएको थियो। त्यतिबेला प्रतिनिधिसभा सदस्य (प्रत्यक्ष), प्रतिनिधिसभा समानुपातिक, प्रदेशसभा (प्रत्यक्ष) र प्रदेशसभा समानुपातिक गरि चार मतपत्र थिए। यसबाट मतदाता अलमलिएका थिए। आगामी शनिबार हुने उपचुनावमा समानुपातिक मतपत्र छैन। संयोग नै मान्नुपर्छ, प्रतिनिधिसभा सदस्यका लागि चुनाव हुने क्षेत्रमा प्रदेशसभा र स्थानीय तहका प्रतिनिधिका लागि चुनाव छैन। त्यसैले एउटा मात्र मतपत्र प्रयोग गरिनेछ। यो समाचार अन्नपूर्ण पोष्ट् दैनिकबाट साभार गरिएको हो ।
लिम्पियाधुरा नेपालकै होः भारतीय राजपत्र
काठमाडौंः भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ । सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ । स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ । सन् १९६२ को भारत–चीन युद्धपछि भारतले कालापानीछेउमा नक्कली कुलो बनाएर त्यसलाई काली नदी भन्दै आएको छ । सुगौली सन्धिमा भने नेपालको पश्चिम सीमा काली नदी उल्लेख भएको हुँदा नक्कली कुलोलाई नै काली मानेर भारतले नेपाली भूमि अतिक्रमण गरेको छ । राजपत्रमा भनिएको छ, ‘काली नदीको उद्गमस्थल लिम्पियाधुरा क्षेत्रको कुटीयाङ्दी हो ।’ भारतले सन् १८५६ पछिका नक्सामा काली नदीलाई सारेर लिपुखोला काली नदी भनेको छ भने वास्तविक काली नदीलाई कुटीयाङ्दी भनेको छ । सीमा अभियन्ता श्याम श्रेष्ठले सिंहदरबारमा बुधबार भएको छलफलमा राजपत्रमा काली नदीको शिर लिम्पियाधुरा स्पष्ट उल्लेख रहेको बताए । उनले तथ्य, प्रमाण, नक्सा र ऐतिहासिक पृष्ठभूमिले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएको स्पष्ट रहेकाले सबै प्रमाण संकलन गरेर भारतसँग वार्तामा बस्न सरकारलाई सुझाव दिए । श्रेष्ठले महाकाली सन्धिताका पदमरत्न तुलाधरको संयोजकत्वमा सीमा अतिक्रमण प्रतिकार समिति गठन गरेर आफूहरूले एक वर्ष ३ महिना लगाएर तथ्य संकलन गरेको जानकारी गराए । उनका अनुसार नापनक्सा खोजबिन उपसमिति र ऐतिहासिक तथ्य खोजबिन समितिले बेलायतसम्म पुगेर तथ्य ल्याएको थियो । 27-Nov-2019apm01.indd श्रेष्ठले सन् १८१६ को सुगौली सन्धिभन्दा २ महिनाअघिको नक्सा र सन्धिलगत्तैको नक्सा आफूसँग रहेको बताए। उनले भने, ‘सन् १८२७ र १८५६ नक्सामा लिम्पियाधुरासम्म समेटेको नेपालको नक्सा मसँग छ।’ उनले तत्कालीन इस्ट इन्डिया कम्पनीका सर्भेयर जनरल अफ इन्डियाले जारी गरेका ४ र अरूले जारी गरेका ५ वटा नक्सा बेलायतबाट ल्याएको जानकारी दिए । ‘बेलायतको पुस्तकालयबाट ९ वटा नक्सा तथा ऐतिहासिक तथ्य ल्याएका थियौं। सबै नक्सामा लिम्पियाधुरासम्मको भूमि नेपाली भएको स्पष्ट छ।’ इस्ट इन्डिया कम्पनीका कामु मुख्य सचिव जेएमस एडम्सले नेपालस्थित रेजिडेन्स ९राजदूत० लाई चिठी लेखेर व्यास गर्खा नेपाललाई छोडिदिनु भनेको प्रमाण पनि संकलन गरेको उनले बताए। चिठीमा उल्लेख छ, ‘सुगौली सन्धिअघि व्यास गर्खा भारतीय भूमि थियो। अहिले नेपाल भएको छ। अब त्यहाँका बासिन्दाले नेपालमै तिरो तिर्नू ।’ जेएमस एडम्सले कुमाउँ गढवालका कमिसनरलाई लेखेको चिठीमा उल्लेख छ, ‘भोटिया ९त्यहाँका बासिन्दा० भारतमा आउन खोजेका छन् । सुगौली सन्धिअनुसार व्यास गर्खा नेपाल भयो । अब त्यहीं बस्नू, तिरो तिरन त्यहीं गर्न भन्नू।’ श्रेष्ठले लिम्पियाधुरा क्षेत्रका नाबी, कुटी, गुन्जी र छाङरुका जनताले भारत–चीन युद्धअघिका नेपालको निर्वाचन सहभागिता जनाएको बताए। ‘१५ सालको निर्वाचनमा त्यहाँका बासिन्दाले नेपालमै भोट हालेका थिए। भारत–चीन युद्धअघिसम्म त्यतै भोटिङ गरेका थिए,’ उनले भने। यो क्षेत्रमा २०१८ सालसम्मको जनगणना नेपालबाटै भएको छ। ‘भारतीय गजेट भखरै भेटिएको छ,’ श्रेष्ठले भने, ‘चिठी, जनगणना, तिरोतिरन, निर्वाचन सहभागी अकाट्य प्रमाण हुन् ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

