नेपालको लिम्पियाधुरा समेटेर भारतद्वारा दोस्रो पटक नक्सा सार्वजनिक

काठमाडौंः भारतले नेपालको लिम्पियाधुरा क्षेत्रको भूभाग समेटेर दोस्रो पटक आफ्नो नक्सा सार्वजनिक गरेको भन्दै विरोध सुरु भएको छ । यसअघि सार्वजनिक गरेको नक्सामा रहेको काली नदी शब्द मेटेर उसले त्यही नक्सा सार्वजनिक गरेको हो ।

नदीको नाम नै मेटेर भारतले त्यो भूभागमा नेपालको कुनै क्षेत्रको नाम नराखी सार्वजनिक गरेको छ । भारतद्वारा सार्वजनिक नक्साप्रति नेपालका नागरिक अगुवाहरूले विरोध गरेका छन् । सन् १८१६ मा भएको सुगौली सन्धिको धारा ५ अनुसार काली नदी नेपाल र भारतको सिमाना हो ।

जसअनुसार नदीवारि पर्ने नावी, गुञ्जी र गब्रयाङ गाउँ नेपालमा पर्छ ।
सुगौली सन्धिपश्चात् भारतस्थित ब्रिटिस अफिसर जे आदमले नेपालस्थित ब्रिटिस रेजिडेन्ट एवं तत्कालीन अधिकारी एडवार्ड गार्डनरलाई सन् १८१७ फेबु्रअरी ४ मा एक पत्र लेखे ।

तत्कालीन कुमाउ प्रान्त ब्रिटिस इन्डिया मातहतको नभई नेपालको भएको पत्रमा उल्लेख छ । त्यस पत्रमा सुगौली सन्धिअनुसार काली नदीको पूर्वमा पर्ने व्यास प्रगन्नाअन्तर्गतको त्यो ठाउँ नेपाल सरकारका अधिकारीहरूलाई सुपुर्द गरिदिनू भन्ने उल्लेख छ ।

सन् १८१७ मार्च २२ मा उही जे आदमले ब्रिटिस इन्डियाका तर्फबाट तत्कालीन कुमाउका कार्यवाहक कमिस्नर जी डब्लू ट्रललाई लेखेको पत्रमा पनि त्यही तथ्य रहेको विज्ञहरू बताउँछन् । पत्रमा काली नदीको पूर्वमा अवस्थित प्रगन्ना व्यासका गाउँ र त्यहाँका भोटिया जमिनदारहरूलाई नेपाल मातहत रहेर काम गर्न भनिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

बागी उम्मेदवार चौधरीलाई नेकपाले गर्‍यो बर्खास्त

दाङ । घोराही उपमहानगरपालिका–१६ को उपनिर्वाचनमा बागी उम्मेदवार मनोनयन दर्ता गराएका जगलाल चौधरीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त गरिएको छ । उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दाङ बर्सास्त गरेका हो । पार्टी नीतिविपरीत नेकपाको उम्मेदवारविरुद्ध चौधरीले बागी उम्मेदवारी दर्ता गराई कांग्रेसको उम्मेदवारलाई सहज बनाउँने षड्यन्त्र गरेको भन्दै नेकपा दाङले एक प्रेस विज्ञप्ति जारी गरी कार्वाही गरेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका अध्यक्ष टीकाराम खड्का र सचिव सुवास पुनद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘जगलाल चौधरीलाई निष्कासन गरिएको छ र उनलाई सहयोग गर्नेहरूलाई मातहतका सम्बन्धित कमिटीहरूले कडाभन्दा कडा कार्वाही गर्न निर्देशन जारी गर्दछौँ।’ साथै विज्ञप्तिमार्फत पार्टीको आधिकारिक उम्मेदवार सुरेशबहादुर केसीलाई निर्वाचनमा सक्रिय भई विजय गराउँने अभियानमा लाग्न सम्पूर्ण मातहतका संघ तथा संगठनलाई अनुरोधसमेत गरिएको छ।

अनैतिक यौन सम्बन्धका कारण हत्या, श्रीमान् श्रीमती पक्राउ

इनरुवाः सुनसरीको सदरमुकाम इनरुवा ३ स्थित सुनसरी जिल्ला अदालत छेउमा मंगलवार राति भएको कारी यादव हत्या प्रकरणमा दुईजनालाई नियन्त्रणमा लिएको छ । सुनसरी सदरमुकाम इनरुवामा जिल्ला प्रहरी कार्यालय सुनसरीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी मृतक यादवले छिमेकी महिलासँग अनैतिक सम्बन्ध राख्दै गरेको अवस्थामा देवी यादवलाई इनरुवा ३ का ३५ वर्षीय अशोक पण्डितले हत्या गरेको सार्वजनिक गरेको हो । यादव हत्या प्रकरणमा सुनसरी प्रहरीले पण्डित र निजकै श्रीमति ३२ वर्षिया अनिता पण्डितलाई पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले पत्रकार सम्मेलनमा मंसिर ४ गतेबाट अनुसन्धान गरी मंसिर ५ गते अभियुक्तहरुलाई पक्राउ गरी शुक्रबार अनुसन्धानका लागि पाँच दिनका लागि अदालतबाट म्याद थपिएको बताए । मृतक कारी यादव र छिमेकी महिला अनिता देवी पण्डितसँग लामो समयदेखि अनैतिक सम्बन्ध रहेकाले श्रीमान् अशोक पण्डितले रङ्गेहात फेला पारेपछि रिसको आवेगमा हत्या गरेको स्विकार गरेको सुनसरी प्रहरीका प्रमुख पोखरेलको जानकारी दिए । पत्रकार सम्मेलनमा सुनसरी प्रहरीले अनिता पण्डितले प्रयोग गर्ने सिम र मोबाईल, तिर आकारको तिखो भएको फलामी औजार दुईथान, मृतकले प्रयोग गर्ने गरेको चप्पल एकथान, हत्यामा प्रयोग भएको प्लाष्टिक डोरी एकथान सार्वजनिक गरेको छ । मृतक यादव र अनिताबीच पहिलादेखि फोन सम्पर्क हुँदै शारीरिक सम्पर्क हुँदै आएकोे प्रहरी अनुसन्धानमा देखिएको छ । गत मंसिर ३ गते राति ११ः४८ बजे समेत एक आपसमा फोन सम्र्पक भई निज अनिता पण्डितको घरको बरण्डामा शारीरिक सम्बन्ध गरेको रङ्गेहात फेला पारेपछि पण्डितले यादवलाई हत्या गरेको सुनसरी प्रहरीले जनाएको छ ।

उपनिर्वाचनमा २६ हजार सुरक्षाकर्मी परिचालन गरिने

काठमाडौंः निर्वाचन आयोगले मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि सुरक्षा निकायले तयार गरेको एकीकृत सुरक्षा योजनालाई शुक्रबार परिमार्जनसहित पारित गरेको छ । कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा शुक्रबार बसेको उच्चस्तरीय सुरक्षा समितिको तेस्रो बैठकले सुरक्षा निकायबाट प्रस्तुत गरिएको उपनिर्वाचनसम्बन्धी एकीकृत सुरक्षा योजनालाई परिमार्जनसहित पारित गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको उपस्थितिमा उच्चस्तरीय सुरक्षा समितिका संयोजक निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालको अध्यक्षतामा बसेको बैठकमा सुरक्षाको समग्र अवस्थाबारे विश्लेषण गरी एकीकृत योजनालाई अन्तिमरूप दिइएको हो । बैठकपछि समितिका संयोजक रहेका आयुक्त पौड्यालले भने, ‘सुरक्षा निकायबाट प्रस्तुत भएका सुरक्षा योजनामाथि पहिला हामीले केही सुझाव दिएका थियौं, सुरक्षा प्रबन्धलाई राम्रो, चुस्त बनाउने भन्ने थियो, त्यसमा आज पुनरावलोकन गरी आएकाले पारित गरिएको छ ।’ पहिलो बैठकमा एकीकृत सुरक्षा बैठकमा छलफल भएको थियो, दोस्रो बैठकमा गृह मन्त्रालय, रक्षा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागले आफ्नो सम्पूर्ण सुरक्षा योजना प्रस्तुत गरेका थिए । पारित सुरक्षा योजना अनुसार, संवेदनशील, अति संवेदनशील र सामान्य मतदान स्थलहरूको वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको छ । स्थलहरूको वर्गीकरण गृहले गरेको हो । वर्गीकरण गरिएका स्थलमा पर्याप्त सुरक्षा प्रबन्ध मिलाउने सन्दर्भमा कतिपय स्थलमा सुरक्षाकर्मी परिचालित भइसकेका छन् भने केही स्थलमा दुई तीन दिनभित्र परिचालन भइसक्ने जानकारी उनले दिए । उपनिर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी छ हजार, सशस्त्र प्रहरी बल र नेपाली सेनाका १०–१० हजार गरी करिब २६ हजार सुरक्षाकर्मी परिचालन हुने छन् । आयुक्त पौड्यालले भने, ‘सुरक्षा सबै ठाउँमा चुस्त छ, उपनिर्वाचनमा आनन्द किसिमले मंसिर १४ गते बिहान ७ बजे आफ्नो मतदाता परिचयपत्र लिएर मतदान स्थान स्थलमा जान म मतदाताहरूलाई आग्रह गर्दछु । उपनिर्वाचन हुने क्षेत्रमा सुरक्षा सुदृढ छ, कुनै भय र त्रास छैन ।’ सबै क्षेत्रमा निर्वाचन सामग्री पु¥याउने कार्य जारी छ । आज प्रायः सबै ठाउँमा पुगिसक्छ । मतदान हुनुभन्दा तीन दिनअघिबाट मतदातालाई मतदाता परिचयपत्र वितरण हुने छ । पहिले परिचयपत्र लिइसकेका मतदाताले पुरानै मतदाता परिचयपत्र प्रयोग गर्नुपर्ने छ भने नयाँले मात्रै मतदाता परिचयपत्र पाउनु हुने छ । सुरक्षा अवस्था पर्याप्त छ भनेर गहृ सचिव र रक्षा सचिवले आयोगलाई आश्वस्त बनाएको जानकारी पनि पौड्यालले दिए ।

वरिष्ठ पत्रकार विनय गुरुवाचार्यको निधन

काठमाडौंः वरिष्ठ पत्रकार विनय गुरुवाचार्यको निधन भएको छ । लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्याबाट पीडित ८२ वर्षीय गुरुवाचार्यको शुक्रबार बिहान थापाथलीस्थित आफ्नै निवासमा निधन भएको हो । गुरुवाचार्यले अन्तर्राष्ट्रिय समाचार समिति एशोसिएटेड प्रेस (एपी) को काठमाडौँस्थित प्रतिनिधिका रुपमा ३८ वर्ष काम गरेका थिए । उनले जापानको ‘माइनिची सिम्बुन’ दैनिक पत्रिकामासमेत नेपालस्थित प्रतिनिधि बनेर काम गरेका थिए । उनले नेपालबाट हिमाललाई विश्व समुदायमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएका थिए । उनकै अगुवाइमा नेपाल वातावरण पत्रकार समूह गठन भएको हो । गुरुवाचार्यले अमेरिकाको इन्डियाना युनिर्भसीटी, ब्लुमिङ्टनबाट पत्रकारितामा स्नातकोत्तर गरेका थिए । उनको शनिबार अन्त्येष्टि हुनेछ । स्व. गुरुवाचार्यका श्रीमती, छोरी र छोरा छन्। उनका छोरा विनाज पनि पत्रकारितामा सक्रिय छन् ।

जिल्ला अदालत कैलालीका श्रेस्तेदारविरुद्ध नै अदालतले जारी गर्यो पक्राउ पुर्जी !

धनगढीः जिल्ला अदालत कैलालीका श्रेस्तेदार भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गिरीलाई आफ्नो श्रीमान बताउने एक महिलाले जबर्जस्ती गर्भपतन गराएको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय केलालीमा उजुरी दिएकी थिइन् । नेपालगञ्जकी ती महिलाले दिएको उजुरीमा गिरीसँग दुई वर्षअघि विवाह गरेको तर उनले इच्छाविपरित यौन सम्पर्क गरेको र गर्भ बसेपछि जबर्जस्ती गर्भपतन गर्न लगाएको आरोप लगाइएको छ । साथै, गिरीको पहिलो विवाहबारे आफूलाई जानकारी नै नभएको र झुक्याएर विवाह गरेको दावी ती महिलाको छ । उजुरीपछि शुक्रबार अदालतले श्रेस्तेदारविरुद्ध पक्राउ पुर्जी जारी गरेको कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । पक्राउ पुर्जी जारीपछि फरार रहेका गिरीको प्रहरीले खोजी सुरु गरेको छ । महिलाको नाम प्रहरीले गोप्य राखेको छ ।

द्वन्द्व पीडितको समस्या चाँडै समाधान हुन्छः प्रचण्ड

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले द्वन्द्व पीडितहरुको समस्या चाँडै नै समाधान हुने बताएका छन । द्वन्द्व पीडित साझा चौतारीले आज काठमाडौंका आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले मुलुकमा धेरै ठूलो जोखिम र आँटले शान्ति सम्झौताका बाँकी काम टुङग्याउँदै द्वन्द्व पीडितहरुको समस्या पनि चाँडै समाधान गरिने बताए । द्वन्द्व पीडितहरुको समस्याका विषयमा सवैको समान चिन्ता रहेको र यसलाई टुङ्ग्याउने विषयमा पनि अन्तर हृदयदेखि नै सबैको सहमति रहेको अध्यक्ष प्रचण्डले बताए । अध्यक्ष प्रचण्डले समाधानका लागि सकारात्मक वातावरण बन्दै गएको भन्दै यससँग सम्बन्धित ऐन संशोधन, निर्माण र आयोग गठनका लागि समान रुपमा अघि बढाउँदै सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोग दुवैलाई प्रभावकारी बनाइने जानकारी दिए । उनले शान्ति सम्झौता र त्यसपछि भएका राम्रा कामको चर्चा र राजनीतिक नेतृत्वले खेलेको भूमिकाको समिक्षा गर्नसमेत आग्रह गरे । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले द्वन्द्व पीडितहरुको समस्या समाधान गरेर विश्वमा नमुना प्रस्तुत गर्नु पर्ने बताए ।

देशको भविष्य उज्ज्वल छ, निराश नहुनुहोस्ः प्रधानमन्त्री ओली

चौकोट– प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भविष्य उज्ज्वल रहेकाले निराश नहुन आमनागरिकलाई अपील गरेका छन्। पनौती नगरपालिका चौकोटमा रहेको काठमाडौं विश्वविद्यालयको पच्चीसौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मुलुक विकासको नयाँ चरणमा गएकाले उत्साहका साथ लाग्नुहोस् भने । आज दीक्षित हुने भाईबहिनी उत्साहित हुनुहुन्छ, अभिभावक उत्साहित हुनुहुन्छ, सरकार नै उत्साहित छ, यो उत्साहलाई मुुलुक निर्माणमा लगाउन सक्नुपर्छ । प्रधानमन्त्रीले थपे­ किन भने देशको भविष्य उज्ज्वल छ । उनले मुलुक सफल हुनका लागि इमान्दारिता र आत्माविश्वास चाहिन्छ भने । जुन सुकै काम गर्न पनि हामीमा इमान्दारिता र आत्माविश्वास भयो भने सफल हुन सकिन्छ । त्यसतर्फ तपाईहरुले ध्यान दिन जरुरी छ । उनले मुलुक आर्थिक रुपमा केही समय पछाडि परेको भएपनि अब पछाडि नपर्ने बताए । उनले शिक्षाका कारण पनि मुलुक पछाडि परेको बताउँदै शिक्षाको विस्तारसँगै मुलुक पनि आर्थिक रुपमा सम्पन्न हुने छ भने । दुई चरणमा हुने दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका एक हजार ६०४ जनाले उपाधि प्राप्त गर्नेछन् । ति मध्ये एमसीएच÷डिएम, एमडी, एमएस, एमएस्सी र एमडीएसका १४८ जना विद्यार्थी दीक्षित हुनेछन् भने एमबीवीएसका एक हजार ९८ जना दीक्षित हुनेछन् । बीडीएसका २१८, बीएस्सी ईन नर्सिङ्गका ११६ र बीपीटीका २४ जनालाई दीक्षित गरिदैछ । विश्वविद्यालयले दशकदेखि दुई चरणमा दीक्षान्त समारोह आयोजना गर्दै आएको छ । विश्वविद्यालयले पहिलो पटक मेडिकल विद्याको माथिल्लो तहको एमसीएच÷डीएम उपाधी ६ जनालाई प्रदान गरेको छ ।

समाजवादीले सरकार नछाडे एकता सम्भावना छैनः महतो

जनकपुरधामः राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष राजेन्द्र महतोले  समाजवादीले सरकार छाडे एकता गर्न सकिने बताएका छन् । शुक्रबार जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष महतोले सरकारबाट नबाहिरिएका कारण समाजवादी पार्टीसँग पार्टी एकता नभएको खुलाए र समाजवादी पार्टीले सरकार नछोडेसम्म एकताको सम्भावन नरहेको पनि बताए । राजपा वैकल्पिक शक्ति निर्माणको दिशामा अगाडी बढेको भन्दै उनले सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण हुन नसक्ने बताए ।

गोरखाको ‘लाप्राक एकीकृत बस्ती’ बनाउन सेनाको श्रमदान

गोरखाः गोरखाको भूकम्प प्रभावित बस्ती निमार्णमा नेपाली सेनाले श्रमदान गरेको छ । भूकम्प केन्द्रबिन्दु नजिकै रहेको लाप्राकको गुप्सीपाखामा निर्माण भएको एकीकृत बस्ती सम्पन्न गर्न नेपाली सेनाले श्रमदान गरेको नेपाली सेनाका रणसिहं दल गण गोरखाका गणपती उज्वल केसीले जानकारी दिए । ‘गुप्सीपाखाको एकिकृत वस्ती निर्माण हामीले ठूलो कन्ट्रिव्युसन गरेका छौं’ उनले भने, ‘दक्ष र अर्धदक्ष सेनाको ठूलो म्याानपावर त्यहाँ खर्च भएको छ ।’ सेनाका दक्ष कामदारले ५२ हजार आठ सय १५ दिन र अर्धदक्ष कामदारले ६४ हजार आठ सय १० दिन बरावरको काम गरेको नेपाली सेनाले बताएको छ । पाँच सय ७३ घरको जग खन्ने देखि छाना छाउने काम सेनाले गरेको हो । सेनाका एक सय ७० जना कामदारले घरको जग खन्ने, ढुङ्गा लाउने, डिपीसी, गारो तथा प्लाविङ र वल्डीङ, रंग लगाउने, छाना छाउने र सामान्य लेबरको काम समेत गरेको थियो । सो विचमा सामाग्री ढुवानी गर्ने सवारी साधन समेत सेनाले नै सञ्चालन गर्दै आएको थियो । घर निर्माणको काम सकिएपनि सेनाले छोडेपछि अन्यपूर्वाधार निर्माणको काम के हुने भन्ने अन्यौलता सर्ब साधारणमा छ । ‘पूर्वाधार विकास काम धेरै छ, अब सेना छोडेर जाने भन्ने हामीले पनि सुनेका छौंं’ वडाध्यक्ष राज गुरुङ्ग भने, ‘पानी, वत्ती, विद्यालय, स्वास्थ्य संस्था, खेलकुद मैदान बाटो घाटो बनाउने काम सबै बाँकी छ, त्यसलाई कसरी सम्पन्न गर्ने चिन्ता थपिएको छ ।’ गैरआवासिय नेपाली संघ एनआरएनको आर्थिक सहयोगमा उक्त वस्तीमा निर्माण भएको हो । २०७३ माघ १५ गतेबाट नेपाली सेनाका कामदारहरुले भवन निर्माण सुरु गरेका थिए । सुरुमा एक वर्ष भित्रकाम सम्पन्न गर्ने गरी नेपाली सेनासँग सम्झौता भएपनि बस्ती निर्माण नसकिएपछि २ पटक म्याद थपभएको थियो । पछिल्लो पटक थपिएको म्याद सकिएकोले नेपाली सेनाले यही मंसिर २९ गते लाप्राक छोड्ने तयारी गरेको छ । पाँच सय ७३ घर निर्माण भएपछि अझै ४९ घर छुटेका छन् । तीमध्ये कतिपयको नाम लाभग्राहीको सूचीमा समेत छैन् । गुनासो पछि लाभग्राही कायम भएका भूकम्प पिडितहरुको घर पनि एनआरएनएले नबनाउने बताएपछि पूर्व सहमती अनुसार नेपाली सेना बाहिरिन लागेको गणपती केसीले जानकारी दिए । भूकम्प पछि पहिरोकाकारण पुरै गाउँ स्थानान्तरण गर्नुपर्ने भएपछि लाप्राकका सबै स्थानीयका लागि एकीकृत वस्तीको रुपमा गुप्सीपाखामा घर बनाइएको हो । यसै वीच घर निर्माण काम सकिएपछि अब बाँकी पूर्वाधार बिकास काम कसरी अघि बढाउने भन्ने बारेमा छलफल गर्न शनिवार एनआरएनएका अध्यक्ष कुमार पन्त लाप्राक आउन लागेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । ‘घर निर्माणको काम त करिब करिब सकिएको छ । अब नेपाली सेनाले छोड्ने कुरा छ’ उनले भने, ‘अरु काम कसरी गर्ने भन्ने बारेमा गाउँपालिकाले उहाँहरुसँग छलफल गर्न लागेको हो ।’

बालिकालाई देहव्यापारमा लगाएको आरोपमा पक्राउ

कैलालीः किशोरीलाई देहव्यापारमा लगाउने एक होटल सञ्चालक पक्राउ परेकी छन् । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियाको पहाड रोडमा रहेको राजु होटेलकी सञ्चालक गौरादेवी राना मानब बेचबिखन ओसार पसार तथा देहव्यापारमा संलग्न भएको आरोपमा परेकी हुन् । उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार आर्थिक अवस्था कमजोर भएकी ति बालिका कामको खोजीका लागि २ महिना अगाडि अत्तरियाको राजु होटलमा काम गर्न सुरु गरेकी थिइन् । होटलमा खाना पकाउने र भाडा धुने काममा लगाउने भने पनि होटल सञ्चालक रानाले दैनिक ग्राहकसँग जबरजस्ति अनैतिक सम्बन्ध राख्न बाध्य बनाई आर्थिक लाभ लिएर देहव्यपार सञ्चालन गरिरहेको सूचनापछि ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको हो । होटलमा काम गर्ने बालिकालाई देह व्यपारमा लगाएको सुचनाका आधारमा बुधबार राती पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएपी ज्ञान बहादुर बिष्टले बताए । पक्राउ परेकी रानानाई जिल्ला चलान गरी मानव बेचबिखन तथा ओसार पसार शीर्षकमा मुद्दा दर्ता गराइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

औद्योगिक विकासका लागि योजनाबद्ध अघि बढ्छुः मन्त्री भट्ट

चितवनः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको विकासका लागि योजनाबद्धरूपमा अघि बढ्ने बताएका छन् । चितवनमा आज पत्रकारसँग कुराकानी गर्दै मन्त्री भट्टले देशभर रहेका प्रस्तावित औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रलाई कार्यान्वयनमा लैजानका लागि ठोस योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘उद्योगीहरुले वातावरण बनेको छैन भनेका छन् । मैले हिजो नै उहाँहरुलाई वातावरण तयार गर्न के गर्नुपर्छ ल्याउनुस् भनेको छु । उहाँहरुको सल्लाह–सुझाब आएसँगै सोहीअनुसार काम गर्नेछु ।’ उद्योग र श्रमिकका बीचमा देखिएका समस्या समाधान गर्दै उद्योगको सुरक्षाका लागि आफूले पहल गर्ने उनको भनाई छ । अहिले आफूले मन्त्रालयका समस्याका विषयमा बुझ्ने काम गरेको भन्दै मन्त्री भट्टले केही दिनपछि कसरी अगाडि बढ्ने त्यसको लागि योजना बनाउने बताए । मन्त्री भट्ट चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ को उद्घाटन गर्न चितवन आइपुगेका हुन् ।

नख्खु कारागारमा आलमलाई कडा सुरक्षा, कुराकानी रेकर्ड हुने

काठमाडौंः रौतहटबाट शनिवार राति अबेर ललितपुरस्थित नख्खु कारागारमा पुर्‍याइएका मोहम्मद आफताब आलमले गर्ने कुराकानी रेकर्ड हुने भएको छ । नख्खु कारागार प्रमुख सुरेन्द्र पौडेलले सो जानकारी दिए । उनले भने,‘आलमकै सुरक्षाका लागि यस्तो रोक लगाउनु परेको हो । आलमले आफन्त तथा कारागारभित्र अन्य कैदीवन्दीसँग गर्ने संवाद र कुराकानीको समेत रेकर्ड बस्ने गरी सुरक्षाव्यवस्था मिलाइएको छ’ उनले थपे, ‘आफन्त परिवारका सदस्य र निजी वकिल वाहेक कसैसँग भेटघाट गर्न दिइएको छैन ।’ आलमसँग आफन्त परिवारको सदस्य र उनकै वकिल वाहेक अन्यसँग भेटघाटमा समेत रोक लगाइएको छ । प्रमुख पौडेलले आलमलाई अन्य सामान्य कैदी जस्तै गरी राखिएको स्पष्ट पारे । आलमले जेलभित्र गर्ने गतिविधि सिसि क्यामेरामा कैद रहने छ भने सम्बादहरू रेकर्डबाट सुन्न सकिने व्यवस्था गरिएको छ । सुरक्षाको दृष्टिकोणले भन्दै प्रहरीले आलमलाई रौतहट जिल्ला कारागारमा नलिई थुनाका लागि नख्खु पुर्‍याएको हो । करीव १२ वर्षअघि संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार आलमले चुनाव जित्नका लागि बम बिष्फोट गराइ घाइते समर्थकहरूलाई उपचार गर्नुका सट्टा जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । सो आदेशपछि आलमलाई जिल्लाकै कारागारमा थुनामा राख्दा असुरक्षा हुने भएकाले नख्खु पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । नेपाल–भारत सीमाको १२ किलो मिटर नजिक रहेको राजपुर नगरपालिका वडा नम्वर–४ निवासी आलमको पक्राउसँंगै रौतहट सीमा नाकामा अराजकता तथा अपराधिक गतिविधि बढेको प्रहरीले जनाएको छ । –गाेरखापत्र दैनिकबाट

‘जनताको पक्षमा कामकाज राम्रोसँग नगरेको कारणले नै नयाँ विज्ञापन’

जनकपुरधामः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय पालिकाले कर्मचारीको अभाव भन्दै जनताको पक्षमा कामकाज राम्रोसँग नगरेको कारणले नै नयाँ विज्ञापन गरेको बताएका छन् । मन्त्री पण्डितले आज जनकपुरधाममा कुम्भकार जातिय कुट्टीको नव निर्मित भवनको उद्घाटन गर्दै संघीय सरकारमा रहेका कर्मचारीलाई रोजाईको आधारमा खटाउने कामकाज गरिसकेकोसमेत बताए । यस्तै उनले तराई मधेसको विकासका लागि ल्याईएको तराई मधेस समृद्धि कार्यक्रमले यस क्षेत्रको विकासमा ठूलो योगदान गरेको बताए । मन्त्री पण्डितले तराई मेधशमा पछाडि परेका वर्गको आर्थिक, सामाजिक विकासमा तराई मधेश समृद्धि कार्यक्रमले निक्कै महत्वपूर्ण भूमिका खेलेको बताए । उनले वर्तमान सरकारको पालामा नै वर्षौदेखि अवरुद्ध रहेको हुलाकी सडकको निर्माणमा तीब्रता दिने कामकाज भएको बताए ।

आउँदो वर्षमा २० लाख पर्यटक भित्र्याउँछौँः मन्त्री भट्टराई

कावासोती– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी अभियान अगाडि बढाएको बताएका छन् । कावासोती नगरपालिका–१५ मा तराई भूपरिधि (ताल) परियोजना र कावासोती नगरपालिकाद्वारा निर्मित मुसहर सुरक्षित आवास कार्यक्रमअन्तर्गत घर हस्तान्तरण तथा घरबास (होमस्टे) उद्घाटन कार्यक्रममा मन्त्री भट्टराईले हाल करीब १३ लाख पर्यटक नेपाल भित्रिएको जानकारी दिए । उनले घरबासको स्तर वृद्धि गर्नका लागि आग्रह गरे । मन्त्री भट्टराईले स्थानीय उत्पादन प्रयोगमा जोड दिए । “घरबासले स्थानीय उत्पादन र संस्कृति संरक्षणमा सहयोग पुर्‍याएको छ, यसलाई थप व्यवस्थित बनाउन स्थानीय उत्पादनमा जोड दिनुपर्छ”, मन्त्री भट्टराईले भने । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र भरतपुर विमानस्थलको विस्तारले बाह्य पर्यटक बढाउन मद्दत पुगेको बताए । सो अवसरमा मन्त्री भट्टराईले बोटे समुदायद्वारा सञ्चालित घरबासको उद्घाटन गरे । तराई भूपरिधि कार्यक्रमले कावासोती–१५ मा सुरक्षित आवास कार्यक्रमअन्तर्गत २२ घर तथा कावासोती नगरपालिकाले १४ घर निर्माण गरिएको छ ।

कास्कीबासीलाई नेता सिटौलाको आग्रहः ‘लोभ–मोहमा नफसेका पौडेललाई एकपटक जिताएर हेर्नुस्’

कास्कीः नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संवैधानिक व्यवस्था मास्नमा वर्तमान सरकार उद्धत भएको आरोप लगाएका छन् । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–११ मा आज आयोजित घरदैलो एवं कोणसभामा उनले सरकार संवैधानिक प्रावधानमाथि थिचोमिचो गर्दै लोकतान्त्रिक विधि र प्रक्रियालाई लत्याउने कार्यमा लागेको आरोप लगाएका हुन् । नेता सिटौलाले संविधानको मर्म र भावना एकातिर सरकार अर्कैतिर भएको बताउँदै सरकारलाई सही बाटोमा हिँडाउनका लागि पनि यो निर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने धारणा राखे । जीवनभर कुनै लोभ मोहमा नफसेका नेता खेमराज पौडेललाई एकपटक जिताएर हेर्न उनले मतदातालाई आग्रह गरे । काङ्ग्रेस नेत्री एवं सांसद डा. डीला सङ्ग्रौलाले धर्मसंस्कृति मुलुकको पहिचान भएको बताउँदै उक्त पहिचान कुल्चेर हिँड्नेलाई जनताले बेलैमा चिन्नुपर्ने आवश्यकता औँल्याइन् । मुलुकको राष्ट्रियता, अखण्डता र स्वाधीनता कमजोर बन्दै गएको बताउँदै उनले लोकतन्त्रको रक्षाका लागि यो चुनावमा काङ्ग्रेसले जित्नुपर्ने धारणा राखिन् ।