पहिलोपटक काठमाडौं–बेइजिङ सिधा हवाई उडान

काठमाडौंः पहिलोपटक काठमाडौंदेखि उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेइजिङ सिधा हवाई उडान सुरु भएको छ । नेपाली र चिनियाँहरुको संयुक्त लगानीमा ५ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले आइतबार बिहान बेइजिङले हालै सञ्चालमा ल्याएको डाक्सीङ विमानस्थलका लागि पहिलो व्यावसायिक उडान थालनी गर्‍यो ।

‘६५ जना यात्रु बाकेर आइतबार बिहान पहिलो उडान एच ९६६५ बेइजिङ उड्यो,’ हिमालयको प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘नेपालबाट चीनको बेइजिङका लागि हामीले थालेको उडान पहिलोपटक हो ।’ उनका अनुसार, आइतबार बिहान गएको जहाज राति पौने १० बजे काठमाडौं फर्किने तालिका छ । यस एयरलाइन्सले सातामा तीन दिन आइतबार, मंगलबार र शुक्रबार उडान गर्ने तालिका छ । यो रुटमा एकतर्फी न्यूनतम भाडा दर २४ हजार रुपैयाँ छ ।

‘हिमालयअघि नेपाल वायुसेवा निगमले चीनको सांघाई र ल्हासामा उडान गरेको थियो तर नेपाली ध्वजाबहाकबाट सिधा दुई मुलुकका राजधानी जोड्ने उडान भएको थिएन’, नेपाल वायुसेवा निगममा तीन दशक बिताएका राजुबहादुर केसीले भने । उनका अनुसार, निगमको जहाजले ल्हासामा ०४६ अघि केही महिना र सांघाईमा १२ वर्ष उडान गरेको थियो । काठमाडौंबाट जापानको ओशाका उड्ने निगमको बोइङले सांघाई ‘टचडाउन’ गर्थ्यो । निगमले ०५१ कात्तिकदेखि ०६३ चैतसम्म ओशाका उडान गर्दा सांघाईमा अवतरण गरेर इन्धन भर्थ्यो ।

नेपालले चीनका ७ वटा सहरमा सिधा उडान गर्ने हवाई सम्झौता गरेको २ दशक बढी भए पनि चीनको राजधानी बेइजिङमा सिधा व्यावसायिक उडान भएको थिएन । चार दशक बढी सयम उड्डयन क्षेत्रमा बिताएका केसीका अनुसार, हिमालयअघि नेपालबाट कुनै पनि स्वदेशी वायुसेवाको सिधा उडान थिएन । ‘हिमालय नै पहिलो व्यावसायिक र पहिलो चार्टर उडान गर्ने नेपालमा दर्ता भएको एयरलायन्स हो,’ केसीले भने । उनका अनुसार, यसै एयरलायन्सले ४ वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई चार्टर उडानमा बेइजिङ पुर्‍याएको थियो । प्रधानमन्त्रीपछि हालै नेपाल वायुसेवा निगमको न्यारोबडी विमान चार्टर गरेर राष्ट्रपति विद्या भण्डारी पनि चीन भम्रणमा गएकी थिइन् ।

काठमाडौं बेइजिङ रुटमा एकतर्फी उडान समय साढे ५ घन्टा हाराहारी लाग्छ । हिमालयले आफ्नो न्यारोबडी विमान एयरबस ३२० पठाएको छ । यो १ सय ५८ सिट क्षमताको जहाज हो । ‘फर्किँदा ७० हाराहारी यात्रु छन्,’ हिमायलकी मार्केटिङ हेड उज्वला दलीले भनिन् । यो रुटमा ७० प्रतिशत यात्रु पर्यटक हुने हिमालयले जनाएको छ । अहिले हिमालयसँग दुईटा न्यारोबडी विमान छन् । यस्को एउटा अर्को जहाज भियतनामको ब्याम्बो एयरलाई भाडामा दिइएको छ । उक्त विमान एक महिनाभित्र फिर्ता ल्याइने भएको छ । यो समाचार कान्तिपुर दैनिकको अनलाइन संस्करणबाट लिइएको हो ।

सबस्टेशनमा लागेको आगो नियन्त्रण, ३ करोड बढीको क्षति

सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको लामोसाँघुस्थित नेपाल बिद्युत प्राधिकरणको सबस्टेशनमा आगलागी हुदाँ तीन करोड भन्दा बढीको क्षति भएको छ । सबस्टेशनमा मा आज १२ बजेर २५ मिनेट जाँदा आगलागी भएको थियो । झण्डै दुई घण्टा पछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट ३० एमभीए क्षमताको टान्सफरमर पूर्ण रुपमा क्षति भएको छ । सो टान्सफरमर तीन करोड भन्दा बढी मूल्यको रहेको छ । आगलागीबाट केबुल, क्वाइन, रेडियटर जलेर नष्ट भएको सो सबस्टेशनका इन्जार्ज फुर्वासाङगे लामाले बताए । लामोसाँघुबाट दोलखा लगिएको ३३ केभीलाइनको ट्रान्सफरममा खराबी आएका कारण टा«न्सफरमर एक्कासि पड्केको इन्जार्ज लामाले जानकारी दिए । सो बितरण केन्द्रका प्रमुख सानुबाबु थापाले आगलागी बारे अनुसन्धान भइरहेको बताए । आगो नियन्त्रणमा ल्याउन स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी, प्राधिकरणका कर्मचारी लागेका थिए । आगो नियन्त्रणका लागि फायर ग्याँस, दमकल नहुदाँ आगो नियन्त्रणमा लिन अति कठिन भएको थियो । माटो, केराको पात, पानी , रुखका स्याउला प्रयोग गरि आगो निभाइएको थियो । आगलागीले दोलखा जिल्ला अन्धकार हुने भएको छ भने सिन्धुपाल्चोकलाई खाशै असर नपर्ने बितरण केन्द्रका प्रमुख थापाले बताए ।

पूर्वराजदूत झाको हत्यारा पत्ता लगाउने ‘जोली’लाई उत्कृष्ट प्रहरी कुकुरको अवार्ड

काठमाडौँः पूर्वराजदूत केशव झाको हत्यारा पत्ता लगाउने नेपाल प्रहरीको ‘जोली’ नामक कुकुरले उत्कृष्ट प्रहरी कुकुरको अवार्ड प्राप्त गरेको छ । नेपाल प्रहरीमा कुकुर स्कुल स्थापना भएको ५१ वर्षको अवसरमा जोलीले ‘बेस्ट डग अफ द एयर’ को सम्मान पाएको हो । पूर्वराजदूत झाको २०७५ भदौ ३ गते आफ्नै निवासमा हत्या भएको थियो । घटनामा प्रयोग भएको चक्कु जोलीलाई सुँघाइएपछि प्रहरी अभियुक्तसम्म पुगेको थियो । त्यसपछि झाकै घरमा सहयोगी रहेका सानुकान्छा तामाङ पक्राउ परेका थिए । यस्तै दौड प्रतियोगिता र हाइजम्पमा बेल्जियम सेफर्ड जातको रिया नामको कुकुर प्रथम भएको छ । केन्द्रीय कुकुर तालिम स्कुलमा तालिमप्राप्त कुकुरको विशेष पूजासहित कुकुरबाट विभिन्न स्टन्टसहितका कला प्रदर्शनी पनि गराइएको थियो । अपराध अनुसन्धानका क्रममा प्रमुख सहयोगी मानिएको कुकुलाई प्रहरी प्रधान कार्यालय अन्तरगतको महाराजगञ्जस्थित कुकुर तालिम केन्द्रसहित देशभरका कार्यालयमा आइतबार पूजा गरिएको छ ।

सरकारलाई बदनाम गराउने तत्व सक्रिय भएः अध्यक्ष प्रचण्ड

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताएका छन् । आज नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरेको मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः को शालिकमा माल्यापर्ण एवंं शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘अहिले नेकपालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्व सक्रिय भइरहेका छन्, त्यस्ता तत्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहने छ ।’ उनले सरकार पटक–पटक फेरिने प्रक्रियाको अब अन्त्य हुने चर्चा गर्दै मुलुक राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिमा अगाडि बढेको भनाइ राखे । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको चर्चा गर्दै सामाजिक रूपान्तरण हुने प्रक्रिया अगाडि बढिरहेको बताए । उनले नेपाल संंवत्लाई नेवारहरुको मात्र संवत् हो भन्ने सन्देश दिएर अगाडि जान नहुनेमा सचेत गराउँदै यसलाई साझा संंवत्का रूपमा लैजानुपर्ने औंल्याए । आफू प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा घोषणा गरेको तर व्यवहारमा अझै प्रभावकारी नभएको भनाइ राख्दै अध्यक्ष प्रचण्डले शङ्खधर साख्वाःबाट प्रेरित भई आफू प्रधानमन्त्री हुँदा किसानको रु ३० हजारको ऋण मिनाहा गरिदिएको बताए ।

तिहारमा बत्ती जाँदैन, चाहे जति बिजुली खपत गर्नुस्ः कुलमान

काठमाडौंः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा चाहे जति बिजुली खपत गर्न आग्रह गरेका छन् । उनले तिहारमा बत्ती जान नदिनका लागि सम्पूर्ण सजकता अपनाइएकोले चाहे जति बिजुली खपत गर्नु आग्रह गरेका हुन् । ‘तिहारमा बत्ती जाँदैन,’ उनले भने, ‘चाहे जति बिजुली खपत गर्नुस्।’ उनले भने, ‘कुनै समय १८ घण्टासम्म पनि लोडसेडिङको मारमा परेका नेपालीहरू परेका थिए । तीन वर्षदेखि तिहारमा त्यो समस्या छैन । यो वर्ष पनि लोडसेडिङ हुँदैन ।’

स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्किएका छन् । अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई ओली स्वदेश फर्किएका हुन् । कतार एयरवेजको नियमित उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, नेकपा नेता सुवास नेम्वाङलगायतले विमानस्थलमा स्वागत गरेका थिए । यही कात्तिक ८ र ९ गते भएको सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू थिए ।

१३ हजार घुस रकमसहित वडासचिव प्रहरीको फन्दामा

बारा– वृद्ध तथा अपाङ्गता भएकाको समाजिक सुरक्षा भताबाट घुस लिएको आरोपमा आर्दश कोतवाल गाँउपालिका वडा नम्बर ६ का वडासचिव रामएकवाल यादवलाई प्रहरीले पक्राउ गरेका छन् । उनले प्रत्येक व्यक्तिहरुबाट जनही रु १ सय रुपैयाँ कटौती गरि करिब १२ हजार ७ सय ४८ रुपैयाँ जम्मा गरिसकेको अवस्थामा पटेर्वाका स्थानियहरुले प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय महेन्द्रबाट खटी गएको टोलीले वडा सचिव यादवलाई सो रुपैयाँसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता रंजित सिह रठौरले जानकारी दिए । वडा सचिवलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताए ।

२ करोड ६७ लाख नगदसहित २५ जुवाडे पक्राउ

काठमाडौंः काठमाडौं महानगरपालिका–३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलोमात्रामा हारजीत हुने गरी जुवा खेलिरहेको अवस्थामा कौडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन् । यसैगरी हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन् । उनीहरुलाई कानूनअनुसार कारवाही गरिने बताइएको छ ।

अझै स्मार्ट लाइसेन्स प्रिन्टको समस्या उस्तै, प्रिन्ट नै बन्द

काठमाडौंः सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट गर्ने मासप्रिन्टरले पनि काम गर्न सकेन । हाल प्रिन्टर नै बन्द भएको छ । मागअनुसारको सवारी लाइसेन्स वितरणका लागि मासप्रिन्टर ल्याए पनि सञ्चालन हुन सकेको छैन । यातायात व्यवस्था विभागले तीन महिनाअघि नै मासप्रिन्टर ल्याएको थियो तर हालसम्म सञ्चालन गर्न नसक्दा लाइसेन्स प्राप्त गर्न बाँकी संख्या छ लाख पुगेको छ । विभागले ग्लोबल टेन्डर गरी एक घण्टामा ४५० प्रतिकार्ड प्रिन्ट गर्नसक्ने क्षमताको मासप्रिन्टर ल्याएको हो । दुई महिनाअघि सञ्चालनका लागि सेट गरिएको प्रिन्टर अहिलेसम्म चल्न सकेको छैन । ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टिङ प्रेसले प्राविधिक कारण देखाउँदै ढिलाइ गरिरहेको विभागले जनाएको छ । सफ्टवेयर अपलोड, एप्लिकेसन इन्स्टल र परीक्षण भन्दै ढिलाइ भइरहेको छ । काममा ढिलाइ भइरहेपछि मासप्रिन्टरबाट समस्याको समाधान होला भन्नेमा स्वयं विभागका अधिकारीहरू नै ढुक्क हुन सकिरहेका छैनन् । प्रेसले प्राविधिक कारण देखाउँदै ढिलाइ गरिरहेपछि विभागका अधिकारीहरू पनि हैरानीमा परेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

नेकपाबाट मालारानी-३ का खनाल सर्वसम्मत सिफारिस

काठमाडौंः मालारानी गाउँपालिका वडा नं ३ को वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यमलाल खनाललाई सर्वसम्मत सिफारिस गरेको छ । शुक्रबार बसेको नेकपाको वडा कमिटी बैठकले खनाललाई सर्वसम्मत रूपमा वडा अध्यक्षको उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए । यस वडाका तत्कालिन अध्यक्ष जीवन चौहानको सडक दुर्घटनामा परी निधन भएको थियो । गत मंसिरमा रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका चौहानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गत पुसमा निधन भएको थियो । नेकपाले वडा अध्यक्षको नाम टुंगो लगाएपनि कांग्रेस लगाएत अन्य दलले भने अझै उम्मेदवारको नाम टुंगो लगाएका छैनन् । मंसिर १४ गते यस वडामा उपनिर्वाचन हुँदै छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

आलमलाई जोगाउने को-को? प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौंः मोहम्मद अफताब आलमलाई सघाउने सम्भावित व्यक्तिमाथि प्रहरीले निगरानी सुरु गरेको छ । पीडितले न्याय पाउने गरी अनुसन्धान गर्न प्रदेश २ प्रहरी प्रमुख प्रद्युम्न कार्की र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्रीलाई प्रहरी मुख्यालयले निर्देशन दिएको छ । राजापुर घटना अनुसन्धानमा केन्द्रबाट समन्वय भइरहेको निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की बताउँछन् । रौतहट जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा चल्ने भएकाले उसलाई चाहिने प्राविधिकसँगै अन्य सहयोग भइरहेको उनको भनाइ छ । ‘यो घटना दबाउने जो कोही व्यक्ति उम्किन पाउँदैनन् । पीडितले न्याय पाउने गरी अनुसन्धान हुन्छ’, उनी भन्छन्, ‘रौतहट प्रहरीलाई आवश्यक समन्वय र सहयोग भइरहेको छ ।’ घटना अनुसन्धानमा भएका प्रगतिबारे डीआईजी कार्की र एसपी खत्रीसँग दैनिक सोधपुछ गरिरहेको उनी सुनाउँछन् । उनका अनुसार केन्द्रबाट घटना अनुसन्धानको सूक्ष्म सुपरिवेक्षण भइरहेको छ । प्रहरी मुख्यालयले घटना अनुसन्धान नगरी आलमलाई सहयोग पुर्याउने बहालवाला र पूर्वप्रहरी अधिकृतमाथि आवश्यक परे बयान लिन रौतहट प्रहरीलाई निर्देशन दिएको छ । ‘यो वा त्यो नभनी तत्कालीन समयमा रौतहटमा बसेका प्रहरी अधिकृतलाई किन अनुसन्धान नगरेको भनेर सोधपुछ गर्न भनिएको छ’, मुख्यालयका एक उच्च अधिकारी भन्छन्, ‘सोधपुछ गर्न बोलाउँदा नमाने पक्राउ गरेरै लैजान निर्देशन भएको छ ।’ उनका अनुसार कसको दबाबमा तत्कालीन अपराध लुकाउने प्रयास गरियो भनेर सोधपुछ केन्द्रित हुनेछ । यो समाचार अन्नपूर्ण पोस्ट्मा छापिएको छ ।

र्‍यापर समिर लामा (भिटेन) रिहा भए

ललितपुरः भिटेनका नामले चर्चित र्‍यापर समिर लामा घिसिङ रिहा भएका छन् । ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागूऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा पक्राउ परेका भिटेनलाई शुक्रबार साँझ जमानीमा रिहा गरेको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । बुवाको जमानीमा रिहा भएका भिटनलाई १३ गते प्रहरीमा हाजिर हुन भनिएको छ । भिटेनले प्रहरीको युनिफर्म लगाई लागूऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेर प्रहरी पोशाकको दुरुपयोगसमेत गरेको भन्दै ललितपुर प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा अदालतबाट सात दिनको म्याद थप गरी मुद्दा चलाउने तयारी गरेको थियो । उनलाई युट्युबबाट भने गीत हटाउन भनिएको थियो । केही दिनअघि मात्रै उच्छृङ्खल गीत गाएको आरोपमा पक्राउ परेका गायक दुर्गेश थापाले गल्ती स्वीकार गरी माफी मागेपछि उनलाई छाडिएको थियो ।

चितवनमा उपनिर्वाचनका लागि कांग्रेसद्वारा उम्मेद्वार घोषणा

चितवनः नेपाली काङ्ग्रेसले चितवनमा हुन गइरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारी घोषणा गरेको छ । भरतपुर महानगरपालिका–१६ तथा खैरहनी नगरपालिका–४ र ५ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरिएको हो । काङ्ग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाको प्रमुख आतिथ्यतामा भरतपुर महानगरपालिका–१६ ठूलोगढी र खैरहनी नगरपालिकाको पर्सामा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गरिएको हो । कार्यक्रममा केन्द्रीय सदस्य जीवन परियार, काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वराज्यमन्त्री शेषनाथ अधिकारी, निवर्तमान जिल्ला सभापति टेकप्रसाद गुरुङ, पूर्वसभापति रामकृष्ण घिमिरेलगायत सहभागी थिए। भरतपुर महानगरपालिका–१६ को अध्यक्षमा अमृत हमाल, खैरहनी नगरपालिका–४ को वडाध्यक्षमा देवबहादुर बस्नेत र वडा नं ५ को वडाध्यक्षमा प्रतिमा कार्की बस्नेतलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको छ । भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरुङको क्यान्सर रोगका कारण तथा खैरहनी नगरपालिकाका–४ का वडाध्यक्ष नरेन्द्र अधिकारी र वडा नं ५ का वडाध्यक्ष विश्व विजय बस्नेतको नगरपालिकाको कामको सिलसिलामा दुर्घटनामा परी निधन भएको थियो ।

विकास निर्माणमा गम्भीर हुन मन्त्री भट्टराईको आग्रह

ताप्लेजुङः संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विकास निर्माणको काममा लापरवाही हुन थालेको प्रति चिन्ता व्यक्त गरेका छन् । विकास निर्माणका लागि गठित उपभोक्ता समितिबाट समयमा काम नहुने र हिनामिना गर्ने प्रवृत्ति बढ्दै गएको उनले बताए । ताप्लेजुङमा शुक्रबार आयोजित स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम परामर्श समितिको बैठकमा मन्त्री भट्टराईले हरेक आयोजनाहरु समयमा सम्पन्न नहुँदा र ती आयोजनाबाट जिम्मेवार पक्षले नाजायज फाइदा लिँदा समृद्धिको सपना पूरा हुन नसक्ने स्पष्ट पारे । हरेक उपभोक्ता समिति राजनीतिक दलको दबाब र प्रभावमा बन्ने अनि उसैको आड लिएर उपभोक्ता समितिले हिनामिना गर्ने जस्ता प्रवृत्ति बढ्दै गएकाले यसलाई रोक्न सबै राजनीतिक दल र जनप्रतिनिधिलाई उनले आग्रह गरे । बैठकमा ताप्लेजुङबाट निर्वाचित प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुखलगायत सहभागी थिए । यसैबीच आजै नेकपा ताप्लेजुङले आयोजना गरेको दशैँ तिहार शुभकामना आदानप्रदान कार्यक्रममा समेत मन्त्री भट्टराई सहभागी भएका थिए ।

नेकपा नेता भट्ट भन्छन्, ‘प्रतिपक्षी शत्रु होइन, सही बाटो देखाउने मार्गदर्शक हाे’

कञ्चनपुर– नेपाल कम्युनिष्ट पार्टीका स्थायी सदस्य लेखराज भट्टले मुलुकको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । नेकपा कञ्चनपुरले शुक्रबार भीमदत्तनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता भट्टले निर्वाचनका बेला प्रतिष्पर्धी भए पनि विकासका सवालमा सहयात्री हुनुपर्नेमा जोड दिए । प्रतिपक्षी दल भनेको शत्रु नभई सही बाटो देखाउने मार्गदर्शक भएको नेता भट्टको भनाइ छ । “सत्तापक्षका राम्रा कामको प्रशंसा र कमजोरी भए बाटो देखाउने काम गर्नु प्रतिपक्षको दायित्व हो”, उनले भने, “यो संस्कृतिको विकास गर्दै लैजानुपर्छ ।” उनले सुदूरपश्चिमको विकासका लागि एकजुट भएर नगए अझै धेरै पछि पर्ने धारणासमेत राखे । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सुदूरपश्चिम प्रदेश सरकार विकासको गतिमा अगाडि बढेको बताए । “विकास एकैदिनमा रातारात हुने विषय होइन”, उहाँले भन्नुभयो, “त्यसका आधार स्तम्भ तयार गरेर प्रदेश सरकार अगाडि बढिरहेको छ ।” उनले यही महीना यहाँ वित्तीय सम्मेलन र आगामी चैतमा सुदूरपश्चिममा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने पनि बताए । मन्त्री बोहराले प्रदेश सरकार कानून बनाउनतर्फ पनि अग्रसर रहेको उल्लेख गर्दै कानून निर्माणमा धैर्यता कायम गरौँ भने। उनले भने, “विधि र प्रक्रियाकै कारण ढिलाइ हुन्छ ।” नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले सुदूरपश्चिम कुनै दृष्टिकोणले पछाडि नपरेको बताउनुभयो । यो प्रदेश जलस्रोत, जडीबुटीको अथाह सम्भावना बोकेको उल्लेख गर्दै उनले विशिष्ट भूगोलको रुपमा रहेको यो प्रदेशको विकासका लागि सबै एक जुट हुनुपर्ने आवश्यकता रहेको बताए । “सुदूरको समृद्धिका लागि सबै हातेमालो गर्यौ‌”, उनले भने, “अब योजनासहित अगाडि बढ्नुपर्छ ।” कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्ट, नेकपा सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारा लामा तामाङ, प्रदेशसभा सदस्य लालबहादुर खड्का, मानबहादुर सुनार, पूर्वसांसद, नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता र स्थानीय तहका निर्वाचित नगर प्रमुख तथा उपप्रमुखलगायत नेताको उपस्थिति रहेको थियो ।

थपिए ३ विदेशी एयरलाइन्स

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा दिने विदेशी एयरलाइन्सको संख्या ३१ पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतको ‘स्पाइस जेट’, कुवेतको ‘जजिरा एयरवेज’ र भारतकै ‘एयर भिस्टारा’लाई नेपाल उडानको अनुमति दिएपछि काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स ३१ पुगेका हुन् । यसअघि २८ वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्थे । मन्त्रालयको अनुमतिलगत्तै नागरिक उड्डयन प्राधिकरणले कुवेतको जजिरा एयरवेजलाई सातामा ७ वटा उडान अनुमति दिइसकेको विमानस्थलका एक अधिकारीले बताए । जजिरा हरेक दिन दिउँसो ४–२० मा कुवेतबाट काठमाडौं आउने तालिका छ । भारतको स्पाइस जेट र भिस्टारा उडान तालिका पाउने प्रक्रियामा छन् । प्राधिकरणका अनुसार स्पाइस जेटले सातामा १४ उडान गर्नेछ, जसमा ७ वटा मुम्बईदेखि काठमाडौं र ७ दिल्लीदेखि काठमाडौं छन् । त्यस्तै भिस्टाराले दिल्ली–काठमाडौं ७ वटा उडान अनुमति मागेको छ । यी तीनै एयरलाइन्सले न्यारोबडी विमानबाट सेवा दिने जनाएका छन् । कुवेतबाट ०७४ मंसिरदेखि वातानिया एयरले काठमाडौं उडान गरेको थियो । तर यसले अहिले नेपाल उडान स्थगन गरेपछि नेपालबाट कुवेत सीधा उडान थिएन । भारत हुँदै कुवेत जाने नेपाली कामदारलाई अब काठमाडौंबाट सीधै कुवेत जान सहज हुनेछ । कान्तिपुर दैनिकबाट