सीमा क्षेत्रमा २६५ निगरानी चौकी आवश्यक
काठमाडौंः नेपालसँग सीमा जोडिएको क्षेत्रमा अझै आवश्यक मात्रामा ‘सीमा निगरानी चौकी’ स्थापना गर्न सकिएको छैन ।
सीमाको सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले स्रोत साधन अभावले सीमित क्षेत्रमा मात्रै सुरक्षा चौकी स्थापना गरेको छ । अहिले स्थापना भएका सीमा निगरानी चौकीभन्दा दोब्बर बढीको आवश्यकता छ । अत्यावश्यक क्षेत्रमा समेत सशस्त्र प्रहरी पुग्न सकेको छैन ।
सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले समेत आवश्यक मात्रामा अझै ‘सीमा निगरानी चौकी’ स्थापना गर्न नसकिएको स्वीकार गरेको छ । सशस्त्र प्रहरी बल नेपालले अहिलेसम्म सीमा क्षेत्रमा १०७ चौकी स्थापना गरेको छ । उसले गरेको अध्ययनमा न्यूनतम २६५ स्थानमा सशस्त्रको उपस्थिति गराउनुपर्ने आवश्यकता छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरजकुमार श्रेष्ठले जनशक्ति साधन, स्रोत र प्रविधिलगायत कारणले चौकी स्थापना गर्नेमा समस्या देखिएको बताउँदै आफ्नै प्रयासमा भएको जनशक्तिलाई परिचालन गरेर सशस्त्रले सीमाको निगरानी बढाउँदै आएको उल्लेख गरे ।
सीमा निगरानी बढाउन सशस्त्र प्रहरीका गत वर्ष २० चौकी थप गरेका र यो वर्ष २५ थप्ने योजना छ । “अहिलेसम्म मौजुदा सशस्त्र प्रहरीलाई नै परिचालन गरिरहेका छौँ, अब थप प्रहरीको उपस्थिति बढाउँदा जनशक्ति, स्रोतसाधन र प्रविधि आवश्यक हुन्छ”, श्रेष्ठले भने, “अहिले हाम्रो औषत १८ किलोमिटरको दूरीमा एउटा चौकी छ, एक चौकीबाट अर्कोको दूरी सात किलोमिटरमा झार्ने योजनाका साथ २६५ पोष्ट आवश्यक हुने भनेर पहिचान भएको छ, तब मात्रै सुरक्षा निगरानी राम्रो गर्न सक्छौँ ।”
उत्तरतर्फ १७ र दक्षिणतर्फ २४८ चौकी भएमा सुरक्षा निगरानी राम्रो गर्न सकिने भन्दै श्रेष्ठले यसका लागि ठूलो जनशक्तिको आवश्यकता रहेको बताए । एउटा चौकीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ सशस्त्र प्रहरी खटिन्छन् । अहिले सीमा क्षेत्रमा झण्डै चार हजार सशस्त्र प्रहरी छन् । चौकी थप गर्न दरबन्दी नै आवश्यक हुनेछ । सबै क्षेत्रमा व्यवस्थापन गर्न थप १४ हजार सशस्त्र प्रहरी आवश्यक हुने जनाइएको छ ।
पछिल्लो समयमा लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत भू–भाग भारतले आफ्नो राजनीतिक नक्सामा समावेश गरेको भनेर विरोध भइरहेको छ । सो क्षेत्रमासमेत सशस्त्र प्रहरी पुग्न सकेको छैन ।
सशस्त्र प्रहरी ऐन २०५८ ले सशस्त्रलाई सीमा सुरक्षाको जिम्मा दिएको छ । यो सँगै सशस्त्र दङ्गा, विद्रोह, आतङ्ककारी गतिवधि नियन्त्रणसँगै भीआइपी सुरक्षा, विपद् व्यवस्थापन, राजश्व, भन्सार तथा औद्योगिकलगायत १३ वटा सुरक्षाको जिम्मा सशस्त्रको छ ।
विविध जिम्मेवारीमध्ये सीमा सुरक्षालाई प्राथमिकतामा राखेर सीमामा भइरहेका घटनाको सरकारलाई चाँडो खबर गर्ने गरेको जनाइएको छ ।
प्रवक्ता श्रेष्ठले सीमा विवाद अहिले मात्र नभई सन् १९६५ देखि नै भइरहेको जानकारी दिँदै अहिले भारतको नक्सामै राखेको भनिएकाले मात्रै घटना सतहमा आएको बताए ।
चीन र भारतसँग नेपालको सीमा जोडिएकाले फरक खालका चुनौती छन् । नेपाल र भारतको सिमाना खुला भएकाले जुनसुकै ठाउँबाट मान्छे ओहोरदोहोर गर्न सक्छन् ।
बस्तु चराउनेसम्मको खुला रहेकाले यसलाई रोक्न सशस्त्र प्रहरीले सक्तैन । यसलाई अधिकतम सुरक्षा बढाउने मात्रै हो । दैनिक लाखौँ मानिस ओहोरदोहोर हुने गरे पनि अभिलेखीकरण छैन ।
सोका कारण सीमा क्षेत्रको सुरक्षामा ठूलो चुनौती रहेको सशस्त्र प्रहरीको निष्कर्ष छ । अहिलेसम्म भारतसँग जोडिएका दक्षिणी क्षेत्रमा मात्रै सुरक्षा चौकी छ, उत्तरतर्फ छैन । यो वर्ष उत्तरतर्फ चारवटा राख्ने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
उच्च हिमाली क्षेत्र भएकाले आवश्यक तयारी गरेर चौकी स्थापना गर्ने योजना सशस्त्र प्रहरीको छ । पहिले चौकी थप्न अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषद्को निर्णय नै गर्नुपर्ने थियो ।
अहिले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सीमामा सशस्त्र प्रहरी खटाउन सकिने अवस्था आएकाले चौकी स्थापनामा केही सजिलो भएको जनाइएको छ ।
नेपालको दक्षिणतर्फको सीमा क्षेत्र करीब एक हजार ८०० किलोमिटर र उत्तरतर्फ एक हजार ४०० किलोमिटरको हाराहारी रहेको जनाइएको छ । विसं २०५८ मा सशस्त्र प्रहरी बल स्थापना भए पनि सीमामा विसं २०६३ बाट मात्रै चौकी स्थापना भएका थिए ।
श्रेष्ठले सीमा विवाद दुई देशको पहलमा मात्रै समाधान गर्न सकिने उल्लेख गर्दै नेपाल–भारतको संयुक्त सर्वेको काम जारी रहेकाले त्यसले समाधानका उपाय पहिल्याउन सक्ने बताए । रासस
मोटरसाइकल उछिट्टिएर छानामाथि पुगेपछि…
इलाम– जिल्लाकाे इलाम नगरपालिका–१ नेपालटारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना व्यक्ति घाइते भएका छन् । इलामबाट राँके जाँदै गरेको मोटरसाइकल मेची राजमार्गस्थित नेपालटारमा दुर्घटना भएको हो । मोटरसाइकल उछिट्टिएर घरको छानामाथि पुगेको छ । मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएका छन् । दुर्घटनास्थलबाट उनीहरुको उद्धार गरी उपचारका लागि इलाम अस्पतालमा उपचार भइरहेको छ ।
छोकडा बरामदमा झडपः २ सशस्त्र प्रहरी घाइते, १० राउण्ड हवाई फायर
बाराः बाराको सिम्रौनगढ नगरपालिका–७ सतुआही नाकामा शुक्रबार राति ११ बजे छोकडा बरामद गर्ने क्रममा सशस्त्र प्रहरी र स्थानीय बीच झडप भएको छ । झडपका क्रममा सशस्त्र प्रहरीले १० राउन्ड हवाई फायर गरेको हो । अवैध रुपमा भारततर्फ लैजाँदै गरेको छोकडा बरामद गर्ने क्रममा भएको झडपमा दुई जना सशस्त्र प्रहरी जवान घाईते भएका छन् । घाईते हुनेमा सशस्त्र प्रहरी जवानद्वय अमोदकुमार यादव र श्याम चौधरी रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए । सशस्त्र प्रहरीले बरामद गरेको छोकडा पर्सा टोलका स्थानीयबासीले खोसेर लैजानुका साथै सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेपछि हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले जानकारी दिए । सशस्त्र प्रहरी बेस कैम्प पिपरपाटीको ४ जना सशस्त्र प्रहरी नाकामा ड्यूटीमा रहेका बेला गएराति ११ बजे ३०÷३५ जना मोटरसाईकलमा आएका छोकड तस्करहरुको समूहले स्थानीयहरुको सहयोगमा छोकडा खोसेर लगेको सशस्त्र प्रहरीले जनाएको छ ।
नेपाली भूमिको रक्षा गर्न सक्षम छौँः पराष्ट्रमन्त्री ज्ञवाली
पाल्पा– पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको पहिलो प्राथमिकता नेपाली भूमिको रक्षा गर्नु भएको बताएका छन् । उनले नेपाली भूमि र नागरिकको रक्षा गर्न सरकार सक्षम स्पष्ट पारे । पाल्पाको धुवल पुस्तकालयले आज आयोजना गरेको महाकवि नीलकण्ठ न्यौपानेद्वारा लिखित श्रम–साधना महाकाव्यको लोकापर्ण समारोहमा मन्त्री ज्ञवालीले तथ्य र प्रमाणका आधारमा कूटनीतिकरुपमा विवादित सीमा समस्या सुल्झाउने बताए । नेपाली भूमि एक इन्च पनि छाड्न नसकिने भन्दै मन्त्री ज्ञवालीले नेपालको पूर्वमा मेची र पश्चिममा महाकाली नदी नेपालको सिमाना रहेको सुगौली सन्धिमा निर्दिष्ट भएको उल्लेख गरे । नेपालीमा फूलको मालाजस्तो राष्ट्रिय एकता रहेको उल्लेख गर्दै उनले देशको राष्ट्रिय एकता चुँडाउन खोज्ने जो कोही देशद्रोही भएको बताए । मन्त्री ज्ञवालीले भने, “फूलको मालाका धागा काट्ने र फूल चुँडाउने प्रयास भइरहेको छ । त्यस्ता देशद्रोही प्रयास निस्तेज गर्न वर्तमान सरकार सक्षम छ ।” कार्यक्रममा प्रा. डा. वेनीमाधव ढकालले नेपालमा गणतन्त्र आएपछि पाल्पा जिल्लामा पहिलोपटक महाकाव्य प्रकाशनमा आएको बताए । महाकाव्यमा राष्ट्रिय एकता, नेपाली कला, संस्कृति, भूगोल र पाल्पा आसपासलाई केन्द्रित रहेको समसामयिक महाकाव्य रहेको उनले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाल्पाका अध्यक्ष तथा प्रदेश सांसद नारायण आचार्यले साहित्यका माध्यमबाट राष्ट्रिय एकता बलियो बनाउन उल्लेखनीय भूमिका रहेको बताए । लेखक न्यौपानेले महाकाव्यमा नेपालीपनको झल्को दिने र राष्ट्रिय एकतालाई बलियो बनाउन महाकाव्य सफल हुने बताए । कार्यक्रममा भन्सार विभागका उपनिर्देशक मनमाया पङ्गेनी, वरिष्ठ पत्रकार मेघराज शर्मा, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुरबहादुर थापाले महाकाव्यले समसामयिक र राष्ट्रिय एकता बलियो बनाउन सहयोगी भूमिका खेल्ने बताए । पूर्वखोला गाउँपालिकाको सहयोगमा प्रकाशित श्रम–साधना महाकाव्यको लोकापर्ण पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र लेखक नीलकण्ठ न्यौपानेकी आमा गाथादेवी न्यौपानेले गरेका हुन् ।
सेनाको हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्धार
जाजरकोट– सुत्केरी हुन नसकेपछि डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ की २१ वर्षीया छिरिङपुटी गुरुङको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । फोक्सुण्डो तालको छेउबाटै उनको उद्धार गरिएको हो । बुधबार नै सुत्केरी व्यथाले थलिएकी गुरुङको उद्धारका लागि हेलिकोप्टरको पहल भए पनि मौसमको समस्याले शुक्रबार साँझ मात्र उद्धार गरिएको स्थानीयवासी आङबहादुर लामाले जानकारी दिए । महिला तथा बालबालिका मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट उहाँको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए । गर्भवती गुरुङलाई काठमाडौँ लगिएको र शल्यक्रियापछि बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको थापाथली प्रसूति गृहले जानकारी दिएको छ । स्वास्थ्य चौकी पनि नजीकै नरहेको र आमा र बच्चाको स्वास्थ्य अवस्था कमजोर रहेकाले डोल्पामा प्रसूति गराउन नसकिने चिकित्सकले सल्लाह दिएपछि गुरुङलाई काठमाडौँ लगिएको हो ।
हुम्लामा हिउँ पन्छाएर गाडी गुडाउन थालिए
हुम्लाः जिल्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीबाट न्यालु लेकमा हिउँ पन्छाएर गाडी गुडाउन थालिएको छ । पाँच हजार मिटर अग्लो उक्त लेकमा केही दिन अघि भएको हिमपातले सडक अवरुद्ध भएपछि स्थानीय बासिन्दाहरुले हिउँ फालेर सिमकोटसम्म टिपर सञ्चालनमा ल्याएका हुन् । लिमीबाट मानिस र सामान सिमकोट पठाउनका लागि टिपरमा आएका स्थानीय बासिन्दाहरु मिलेर न्यालु लेकमा जमेको हिउँ पन्छाएर गाडी सञ्चालन गरिएको नाम्खा ६ का वडा अध्यक्ष पाल्जोर तामाङले बताए । करिब तीन सय मिटर सडकमा जमेको हिउँ पन्छाएर गाडी सञ्चालन गरिएको हो । एक फिट जमेको हिउँमा गाडी गुड्न नसके पछि उक्त हिउँलाई यात्रुहरु मिलेर सडकबाट पन्छाएर गाडी गुडाएको उहाँले बताउनु भयो । हिउँ पन्छाएर दुई वटा टिपर संचालन गरिएको थियो । १५ जना यात्रु तथा चालीस क्वीन्टल सामान बोकेका टिपरहरु न्यालु लेक क्रश गरेर सिमकोटतर्फका आएको अध्यक्ष तामाङले बताए । न्यालु लेकको हिउँ पन्छाएर गाडी सञ्चालन गरिए पछि लिमीका बासिन्दाहरु सिमकोटबाट लिमी जान पाएका छन् भने लिमीबाट सिमकोट आउन पाएका हुन् । हिउँदे सिजन सुरु भएसँंगै उक्त लेकमा केही दिन अगाडी हिमपात हुँदा हिउँ जमेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए । धेरै हिउँ जमेको भए पन्छाउन नसकिए पनि एक फिट मात्र हिउँ परेको कारण हिउँ फाल्न सहज भएको हो । हिउँदे सिजन सुरु भएपछि काठमाडौं र दिल्ली जाने लिमीका बासिन्दाहरु आउनु सुरु भएको हो । –गाेरखापत्र दैनिकबाट
सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न सकेनः सभापति देउवा
कञ्चनपुरः नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताएका छन् । उनले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाए । नेपाल प्रेस यूनियन कञ्चनपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाए । पत्रकार सम्मेलनमा देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताए । “कालापानी हाम्रो हो । महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो”, उनले भने, “सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ ।” महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको सभापति देउवाको भनाइ थियो । भारतले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने उनले बताए ।
सीमामा बलमिच्याइँको पराकाष्ठा: सुकुम्बासी बनाउँदै नयाँ सीमास्तम्भ
प्रत्येक पटक नयाँ सीमा स्तम्भ गाड्दा भारतले नेपालको भूमि मिच्ने र सयौँ नेपाली नागरिकलाई सुकुम्बासी बनाउने गरेको छ। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका- १ पिपरडारीका १९ जना नेपालीको १० बिघा आठ कट्ठा १५ धुर जग्गा भारतमा पारिएको छ। दुबै देशका नापी अधिकारीहरू सम्मिलित टोलीले २०७२ मा नयाँ स्तम्भ गाडेपछि यस गाउँमा मात्रै १९ जनाको जग्गा भारतमा पारिएको हो। अन्नपूर्णपोस्टमा अनुसार चार वर्षअघि नयाँ सीमास्तम्भ गाड्दा पिपरडारीवासीका जमिन भारततिर पर्यो। दुई बिघा खेत गुमाएपछि रामबहादुर राउत कुर्मी सुकुम्बासी भएका छन्। ‘दुई बिघा जोतेर खाने मान्छे सुकुम्बासी भएको छु’, भारततर्फ परेको बाँझो खेत देखाउँदै कुर्मीले भने, ‘मजदुरी गरेर बालबच्चा पालिरहेको छु।’ यो विवरण त लालपूर्जा भएको जग्गाको मात्रै हो। बाँकी आम जनताको चलन भोगमा नरहेको सरकारी जग्गाको एकिन विवरणबारे स्थानीयहरू सक्ने अवस्थामा छैनन्। भारतकै बल मिच्याइँले सुकुम्बासी हुन पुगेका कुर्मीले भने ‘भारतसामु नेपाल निरीह छ’, उनले भने, ‘नेपालको माटो सरकारले भारतलाई सुम्पिदिएको हो।’ नेपाली भूमि मिचिएपछि पीडित स्थानीयले विरोध गरेका थिए। तत्कालीन प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीले सीमाको विषय भएको भन्दै पीडितलाई थामथुम पारे। ‘पुस्तौंदेखि भोगचलन गर्दै आएको र लालपुर्जा भएको भूमि रक्षाका लागि हामी जे पनि गर्न तयार थियौं’, उनले भने, ‘तर सीडीओ र सशस्त्र प्रहरीका सरहरूले विवाद नगर भन्दै हामीलाई थामथुम पार्नुभयो। हामी लाचार भएर बसेका छौं।’ अर्का स्थानीय जगदीश पाण्डेले ओरिया खोलाछेउको लालपुर्जा भएकै १० कट्ठा जग्गा गुमाए। ‘नयाँ पिलर राखेपछि नेपाली भूमि मिचियो’, उनले भने, ‘सीमाको रखवालाले नै विवाद नगर भनेपछि हामीले के गर्न सक्छौं र !’ भारतीयले नेपाली भूभागबाट दिनहुँ बालुवा निकालेर लगिरहेको उनले बताए। ‘रोक्न जाँदा उनीहरूले पुलिसलाई बेल्चा र कोदालोले आक्रमण गरे’, उनले भने, ‘त्यसैले डरका कारण हामी आफ्नै भूमिमा पनि सितिमिति जाँदैनौं।’ ४२३ नम्बरको सीमास्तम्भ गाडिएपछि ललियादेवी चौधरीको दुई बिघा जग्गा भारततिर गयो। ‘लालपुर्जा मसँग छ। मेरो पुर्खाले आर्जेको जग्गा हो’, दृष्टिविहीन ललियादेवीले भनिन्, ‘पिलर गाड्दैमा भारतको हुन सक्दैन।’ तत्कालीन प्रमुख जिल्ला अधिकारी सम्मिलित टोलीले भारतमा परेका जग्गाको लगत संकलन गरी मुआब्जाका लागि सरकारसँग पहल गर्ने आश्वासन दिएको थियो। पीडितले मुआब्जा होइन, जग्गैै फिर्ता पाउनुपर्ने अडान लिएका थिए। ‘सीडीओले मुआब्जा दिलाउँछु भन्नुभएको थियो। हामीले मुआब्जा होइन, जग्गा फिर्ता चाहिन्छ भनेका थियौं’, एक बिघा आठ कट्ठा जग्गा गुमाएका लक्ष्मण हजरा दुसादले भने, ‘तर, चार वर्ष भयो न मुआब्जा पायौं न त जग्गा फिर्ता। हामीसँग लालपुर्जाबाहेक केही छैन।’ बुवाले किनेको खेत भारतीय भएको हेर्दा खुबलाल पाण्डेको मन कुँडिन्छ। उनले ६ कट्ठा जग्गा गुमाएका छन्। ‘सरकारले नेपालीको जग्गा भारतलाई सुम्पिएर हामीलाई सुकुम्बासी बनाएको छ’, उनले भने। नेपाल र भारत उच्चस्तरीय बैठकले तयार पारेको नक्साअनुसार नयाँ स्तम्भ राखिएको र पुराना मर्मत गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए। त्यस क्रममा नेपालका केही जग्गा भारततर्फ र भारतको पनि केही जग्गा नेपालतर्फ परेको उनले सुनाए। ‘पर्साको मात्रै समस्या होइन यो’, उनले भने, ‘देशभरकै समस्या हो।’ भारततर्फ परेका जग्गाको मुआब्जा वा क्षतिपूर्ति दिने अवस्था नरहेको उनको भनाइ छ। पर्साको करिब एक सय ७ किलोमिटर खुला सीमामा मुख्य र सहायक गरी एक हजार ७० सीमास्तम्भ छन्। नयाँ सीमास्तम्भ राख्ने क्रममा पिपरडारी र भारतीय गाउँ गिदानी भंगाहाका बालुवा तस्करबीच झडप भएको थियो। त्यसपछि किनमेल गर्न भंगाहा गएका दुई नेपाली कुटपिटबाट घाइते भएका थिए। ‘हामी किनमेल गर्न भंगाहा बजार जान्थ्यौं’, कुर्मीले भने, ‘सीमा विवादपछि कुटिने डरले हामीले भंगाहा बजार जानै छाडेका छौं।’ अन्नपूर्णपोस्ट
आफताब आलम नख्खु कारागार चलान
काठमाडौँ, रौतहट राजपुर बम विस्फोटका आरोपित निलम्बित सांसद मोहम्मद आफताब आलमलाई शनिबार बिहान नख्खु कारागार चलान गरिएको छ । जिल्ला अदालत रौतहटले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले शनिबार बिहान आलमलाई ललितपुरको नख्खु कारागार ल्याएको हो । कारागार व्यवस्थापन विभागका कामु महानिर्देशक वासुदेव घिमिरेले आवश्यक प्रक्रिया पुर्याएर आलमलाई नख्खु कारागारमा राखिएको बताए। प्रदेश २ का प्रहरी प्रमुख डिआईजी पद्युन्नकुमार कार्कीले आलमलाई अदालतको आदेशअनुसार सुरक्षित कारागारका रुपमा नख्खु पठाइएको प्रतिक्रिया दिए। पूर्वमन्त्री एवं काग्रेस नेता आलमलाई पुर्पक्ष गरिएपछि उत्पन्न हुनसक्ने परिस्थितिको आँकलन गर्दै रौतहटबाट उपत्यका कारागार चलान गरिएको प्रहरीले जनाएको छ। आलम राजपुरका बासिन्दा हुन्। शुक्रबार पुर्पक्षको आदेश दिए लगत्तै जिल्ला न्यायाधीश र सरकारी वकिलको कार्यालयका अधिकारीहरुसमेत रौतहट छोडेर काठमाडौं आइसकेका छन्। कान्तिपुरबाट
बंगलादेशका राष्ट्रपति हमिद नेपाल आउँदै
काठमाडौंः बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार हमिदले कात्तिक २५ देखि २८ गतेसम्म नेपालको भ्रमण गर्ने छन् । हमिदको नेपाल भ्रमणका क्रममा दुई देशबीचको ‘प्राथमिकतायुक्त व्यापार सम्झौता’ लाई पूर्णता दिने जनाइएको छ । राष्ट्रपति हमिदको नेपाल भ्रमणका बेला त्रिदेशीय सरोकार विषयहरुका साथै दुईदेशीय व्यापारसम्बन्धी विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयको भनाई छ । यसै साता अजरबैजानको बाकुमा आयोजित असंलग्न राष्ट्रहरुको सम्मेलनका क्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति हमिदको नेपाल भ्रमणबारे छलफल भएको थियो ।
मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
राजविराज– सप्तरीको छुट्टाछुट्टै स्थानमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । यस्तै दुर्घटनामा दुई जना घाइते भएका छन् । जिल्लाको सप्तकोसी नगरपालिका–५ गंगाजली टोलमा सोमबार विहान मोटरसाइकलले ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । विहान करिब १ः३० बजेको समयमा मोटरसाइकलले ठक्कर दिँदा सप्तकोसी नगरपालिका–१ नयाँ बजार बस्ने असर्फी शर्माको ४० वर्षीय छोरा राजेश शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । कञ्चनपुर–फत्तेपुर भित्री सडक खण्डमा कञ्चनपुरबाट फत्तेपुरतर्फ जादै गरेको को ३३ प ५२७ नम्बरको मोटरसाइकलले शर्मालाई ठक्कर दिएको हो । सोही दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको कञ्चनरुप नगरपालिका–११ ठेलिया बस्ने २६ वर्षीय दिपेशकुमार गोजेवार घाइते भएका छन् । उनको टाउको फुटेको छ भने शरीरको बिभिन्न भागमा चोट लागेको छ । घाइते उनको स्थानीय पोली क्लिनिक फत्तेपुरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले बताइएको छ । दुर्घटनापछि मोटरसाइकल प्रहरी चौकी फत्तेपुरले नियन्त्रणमा लिएको छ । यस्तै राजविराज–रुपनी सडक खण्डको राजविराज नगरपालिका ९ मलेठ स्थित ट्याक्टरले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । ट्याक्टरको ठक्करबार मोटरसाइकल चालक रुपनी गाउँपालिका ५ मुसरहनिया बस्ने १९ वर्षीय दिपेश यादवको मृत्यु भएको छ । ठक्करबाट यादवको दाहिने हात र पाखुरामा गम्भीर चोट लागेर घाइते अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको र उपचारकै क्रममा सोमबार बिहान ४ः३० बजे मृत्यु भएको प्रहरीले बताइएको छ । रुपनीबाट राजबिराज तर्फ आउदै गरेको स १ त ४३६९ नम्बरको ट्याक्टरले बिपरित दिशाबाट आउदै गरेको बा ३८ प ७१९५ नम्बरको मोटरसाइकललाई बिहान २ बजेको समयमा ठक्कर दिएका हुन् । सोही दुर्घटनामा मोटरसाइकल पछाडी सवार रुपनी गाउँपालिका ५ कै २२ वर्षीय रुपेशकुमार खंगको दुबै खुट्टामा चोट लागेर घाइते भएका छन । उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको प्रहरीले बताइएको छ ।
दुई महिनामा श्रमिकको तलब १३ प्रतिशत वृद्धि
काठमाडौंः चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालमा काम गर्ने कर्मचारी र ज्यालादरमा काम गर्ने श्रमिकको तलब तथा ज्यालादर करिब १३ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७६/७७ को दुई मा आधारित आर्थिक तथा वित्तीय स्थितिमा गत वर्षको सोही अवधिको तुलनामा करिब १३ प्रतिशले तलब तथा ज्यला वृद्धि भएको देखिएको हो । राष्ट्र बैंकको प्रतिवेदनअनुसार सूचांक १३.५६ प्रतिशले बढेको छ । त्यस्तै ज्यालादारीमा काम गर्ने श्रमिकको ज्याला १२.६८ प्रतिशतले वृद्धि भएको छ । ज्याला र तलबको औषत वृद्धिदर १२.८८ प्रतिशतको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलानामा वृद्धिदर दर नै चार प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो दुई महिनामा ज्याला तथा तलब सूचांक ८.३० प्रतिशले वृद्धि भएको थियो ।
बालुवाटारमा ओली–प्रचण्डबीच भेटवार्ता, के विषयमा भयो छलफल?
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुवै अध्यक्षबीच झण्डै एक घण्टा लामो भेटवार्ता भएको हो । भेटमा मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली आइतबार बाकुबाट नेपाल फर्किएपछि अध्यक्षद्वयबीच सोमबार भेटवार्ता भएको हो । केही समयअघि ओली र प्रचण्डबीच दुरी बढेको भन्ने समाचार सार्वजनिक भएपछि उनीहरुबीचको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भएका थिए । तर बाकुबाट फर्कने क्रममा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफुहरुबीच दूरी नबढेको दावी गरेका थिए । त्यस्तै, अध्यक्ष प्रचण्डले पनि यसलाई हल्लाको संज्ञा दिएका थिए ।
४ जना चढेकाे मोटरसाइकल रुखमा ठोक्किँदा चालकको मृत्यु
कावासोती– पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमारा भित्री सडकमा ४ जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । आइतबार साँझ ५ बजेतिर ना १८ प २९ नम्बरको मोटरसाइकल सडक छेउको रुखमा ठोक्किँदा मोटरसाइकल चालक नवलपरासीको कावासोती–५ निवासी २२ वर्षीय कृष्ण कुमालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न मध्यविन्दु जिल्ला अस्पताल डण्डामा लगिएको र उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कावासोती ३ का १६ वर्षीय अमन पुनमगर, कावासोती–५ का राम परियार र धनबहादुर कुमाल घाइते भएका छन् । घाइतेहरुमध्ये अमन पुनमगरको अवस्था गम्भीर छ । उनलाई उपचार गर्न चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको छ ।
आक्रमक बन्दै चितवन प्रहरी, एकैरात साढे ५ लाख रुपैयाँसहित ३२ जुवाडे पक्राउ
चितवन– विशेष सुरक्षा योजनासहित चाडवाडमा सुरक्षा दिन सफल देखिएको चितवन प्रहरी थप आक्रमक बन्दै गएको छ । दशैँ अघिदेखि नै सुरक्षा योजना बनाएर सक्रिय रहेको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लसहितको टोलीले यतिबेला जुवातास नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक एकनारायण कोइरालाका अनुसार अभियानका क्रममा जिल्ला पूर्व र पश्चिमबाट गरि ३२ जना जुवाडे ५ लाख ७५ हजार ९ सय ४५ रुपैयाँसहित पक्राउ गरिएको छ । गयराति १ बजे भरतपुर महानगर १४ महेन्द्रचोक स्थित महिनी पार्टी प्लेसमा कौडा कौडा खेल्ने १२ जना नगद तीन लाख चौरासी हजार एक सय रुपैयाँसहित पक्राउ गरेको उनले बताए । यस्तै उनीहरुको साथबाट कौडा १६ थानसमेत बरामत गरिएको छ । यस्तै खैरहनी नगरपालिका–१ सिमलघारी स्थित रहेको खाली घरमा ईप्रका खैरहनीबाट खटी गएको प्रहरीको टोलीले कौडा खेल्दै गरेका २० जना मानिसलाई एक लाख एकानब्बे हजार ८ सय ४५ रुपैयाँसहित पक्राउ परेका थिए । चितवन प्रहरीले दशैदेखि हालसम्म १ सय ३७ जना जुवाडेलाई कार्वाही गरिसकेको छ ।
मोतीहारी–चितवन ग्याँस पाइपलाइन परियोजनाको सर्भे सुरु
काठमाडौंः मोतीहारी चितवन ग्याँस पाइपलाइन परियोजनाको सर्भे गर्ने काम थालिएको छ । शनिबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पाइपलाइन बिछ्याउने रुटमा औपचारिक प्वाइन्ट पिलर गाडेका छन् । नेपाल आयल निगम प्रवक्ता वीरेन्द्र गोइतले भारत मोतीहारीबाट चितवनसम्म खाना पकाउने ग्याँस ल्याउन पाइलाइन निर्माण गर्न निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी)बीच सहमति भएकोे बताए । उनले अमलेखगन्जबाट चितवनको लोथरसम्म करिब ६२ किलोमिटर पाइपलाइन विस्तार हुने बताए । नेपाल आयल निगमका अनुसार नेपाल भारत बोर्डर वीरगन्जदेखि अमलेखगन्ज हुँदै चितवनसम्मको ग्याँस पाइपलाइन ९८ किलोमिटर निर्माण हुनेछ । पेट्रोलियम पदार्थ पाइलाइन क्षमता २९० किलि प्रतिघण्टा र एलपी ग्याँस करिब १ सय टन प्रतिघण्टा ल्याउन सक्ने निगमले जनाएको छ । परियोजनामा करिब १५ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ । पाइपलाइन निर्माणका लागि ११ अर्ब १९ करोड र ग्याँस भण्डारणका लागि ट्यांकी निर्माणमा ३ अर्ब ८१ करोड लाग्ने निगमले अनुमान गरेको छ । पाइपबाट आएको ग्याँस भण्डारण गर्न २० हजार मेट्रिक टनको ट्यांकी निर्माण हुनेछ । यो समाचार आजको राजधानी दैनिकबाट लिइएको हो ।

