प्रधानमन्त्री ओलीद्वारा उच्चस्तरीय भेटघाट
काठमाडौंः असंलग्न अभियानको राष्ट्र तथा सरकार प्रमुखहरूको १८ औँ शिखर बैठकमा सहभागी हुन अजरबैजानको राजधानी बाकुमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका उपराष्ट्रपति वैंकैया नायडुसँग शुक्रवार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको उद्घाटन सत्रमा भाग लिएका छन् । बाकु कङ्ग्रेस केन्द्रमा आइपुग्नुहुँदा प्रधानमन्त्री ओलीलाई गणतन्त्र अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले स्वागत गरेका थिए । समाचार एजेन्सी राससका अनुसार
प्रधानमन्त्री ओलीले नाम शिखरसम्मेलनको पूर्णसत्रलाई सम्बोधन गर्ने छन् । प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक संगठनहरुका प्रतिनिधि सहभागी छन् । शिखर बैठकको उद्घाटन गणतन्त्र भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले गरेका थिए ।
उद्घाटनपछि अजरबैजानका राष्ट्रपति इल्हाम अलियभलाई सदस्य मुलुकका सहभागी प्रतिनिधिमण्डलका अध्यक्षहरूले सर्वसम्मतिका आधारमा आउँदो तीन वर्षका लागि नयाँ अध्यक्ष चुनेका छन् ।
संयुक्त राष्ट्र संघको महासभाका अध्यक्ष तिजानी मुहम्मन बान्देले पनि उद्घघाटन सत्रलाई सम्बोधन गरेका थिए । उनले असंलग्न अभियानलाई आधुनिकीकरणको आवाज बन्न तथा अन्तर्राष्ट्रिय शान्ति एवं सुरक्षा प्रवद्र्धन गर्न आग्रह गर्नुभयो । सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन् ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि राष्ट्र संघका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी छन् ।
मेलम्चीको पानी वितरणका लागि ९० प्रतिशत पूर्वाधार निर्माण
काठमाडौंः मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४ किलोमिटर सकिएको छ भने बाँकी काम छिट्टै अघि बढ्नेछ । यद्यपि मेलम्ची आयोजनाको निर्माण कार्य भने ९५ प्रतिशत पूरा भइसकेको छ । मेलम्चीको सहायक परियोजना–१ अन्तर्गत सुरुङ निर्माण हुँदै प्रशोधन केन्द्रसम्मको निर्माण रहेकामा दोस्रो चरणमा प्रशोधन केन्द्रबाट पानी उपभोक्ताको घर–घरसम्म पुर्याउने काम भइरहेको छ । सन् २०११ देखि आयोजनाले मुख्य, सहायक र वितरण पाइप बिच्छ्याउने काम गरिरहेको छ । पानी संकलनका लागि विभिन्न १० स्थानमा ट्याङ्की निर्माण भइरहेको छ । मेलम्चीको पानी दुई चरणमा गरी काठमाडौँ उपत्यका ल्याउन लागिएकामा अहिले पहिलो चरणमा भित्रने १७ करोड पानी सङ्कलन, वितरण हुँदै फोहर पानी प्रशोधनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको हो । यस चरणमा चक्रपथभित्रका एक लाख १० हजार घरधुरीमा पानी वितरण हुनेछ । काठमाडौँका चोकहरुमा एउटा दिशाबाट अर्को दिशामा पाइप लैजानका लागि ‘क्रसिङ’ गर्नुपर्नेमा अधिकांश स्थानमा सकिएको मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । पुतलीसडक, कलङ्की, दरबारमार्गलगायत नौ चोकमा निर्माण गर्न बाँकी रहेकामा यी स्थानमा अब अघि बढ्ने परियोजना निर्देशक भोजविक्रम थापाले बताए । यी स्थानमा सवारी आवागमनमा बाधा पुग्ने भनी ‘क्रसिङ’ निर्माण नभए पनि अहिले निर्माणका लागि सहमति भइसकेको उनको भनाइ छ । उनले भने, ‘सडक विभागसँग सहमति लिइसकेकाले अब चाँडै शुरु हुनेछ ।’ मेलम्चीको पानी आएपछि पानी भण्डारणका लागि १० वटा ‘रिजर्भ ट्याङ्की’ निर्माण गर्ने आयोजनाको योजना रहेको थियो जसमध्ये नौ स्थानमा निर्माण भइसकेको आयोजना प्रमुख थापाले बताए । यी सबै स्थानमा सात करोड ४५ लाख लिटर क्षमताको ट्याङ्की निर्माण भएको हो । भक्तपुरको कटुञ्जेमा विवादका कारण निर्माण हुन नसकेकामा अहिले विवाद समाधान भइसकेकाले छिट्टै निर्माण शुरु हुने उनको भनाइ छ । यस स्थानमा डेढ किलोमिटर पाइप निर्माणसमेत अघि बढ्न नसकेकामा अब अघि बढाइने उनले बताए । आयोजनाले मुख्य, सहायक र वितरण गरी तीन किसिमका पाइपलाइन बिच्छ्याइरहेको छ । जसमध्ये घर–घरमा पुग्ने वितरण पाइप जडानको काम झण्डै ८९० किलोमिटर सकिएको र झण्डै २०० बाँकी रहेको आयोजनाले जनाएको छ । पाइप लाइन विस्तारसँगै आयोजनाले पाइपहरुको जाँच गरिरहेको निर्देशक थापाले बताए । अहिले वाग्मतीको पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर नयाँ जडान भएका पाइपहरुको जाँच भइरहेको हो । नियमितरूपमा भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पुरानै पाइपमार्फत वितरण गरिरहेको छ । १०० वर्षभन्दा पुराना पाइपहरु जीर्ण अवस्थामा छन् । ठाउँ–ठाउँमा ‘हेभी’ गाडीका कारण पाइपमा समस्या आइरहँदा मर्मत गरेर सञ्चालन गरिएको उनले बताए । कतिपय स्थानमा पाइप माटोमा नै परिणत भइसकेको छ । उनले भने, ‘मेलम्चीको बाँकी काम सकिएर पानी वितरण गर्न शुरु भए पनि यी पाइप पूर्णरूपमा प्रयोगमा आउँदैन ।’ आयोजनाअन्तर्गत नै पाइप विस्तारका लागि खनिएका सडकहरु मर्मतका कामसमेत आयोजनाले गरिरहेको छ । सडक विभागको अधिकार क्षेत्रअन्तर्गत पर्ने सडक विभागले र स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने सडकको मर्मतको काम परियोजनाले गरिरहेको छ । मेलम्चीको पानी आएपछि त्यसको व्यवस्थापनका लागि आयोजनाले नै चार स्थानमा पाँच वटा फोहर पानी प्रशोधन केन्द्रको निर्माण गरिरहेको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणको काम कम मात्रै बाँकी रहेकाले आयोजनाले वितरणका लागि आवश्यक पूर्वाधारका कामलाई तीव्रता दिइएको हो । सरकारले आयोजनाको बाँकी रहेको भनिएको पाँच प्रतिशत काम सम्पन्न गर्ने गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । उक्त कम्पनी साइटमा गएसँगै कामले गति लिने देखिएको छ । आयोजनाको जम्मा कामको ९५ प्रतिशत काम सम्पन्न भइसकेकाले बाँकी पाँच प्रतिशत कामका लागि ठेक्का सम्झौता भएको हो । दुई महिना पहिले १५ महिनामा काम गर्ने गरी सम्झौता भएको थियो । कम्पनीले काम शुरु गरेको दिनदेखि १५ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । सरकारले बाँकी काम सकेसम्म चाँडो सम्पन्न गर्ने लक्ष्य लिएको पन्तले बताए । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन ०.१५ प्रतिशतले लाभांश दिने सरकारको योजना छ । गाेरखापत्र दैनिकबाट
रौतहट घटनाका दोषीलाई छुट दिन हुन्नः नेता रावल
अछामः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले राजनीतिलाई अपराधीकरणबाट बचाउनुपर्ने बताएका छन् । प्रेस संगठनले शुक्रबार मङ्गलसैनमा गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय उच्चपदस्थ व्यक्ति धमाधम पक्राउ परिरहेको कुराप्रति इङ्गित गर्दै वर्तमान सरकारले आपराधिक घटना न्यूनीकरणमा प्रभावकारी र कडाइका साथ कदम चालिरहेको बताए । स्थिर सरकारका कारण देशमा कानूनी शासनको प्रत्याभूति भइरहेको उनको भनाइ छ । रौतहटको घटना नेपालको कानून र अन्तर्रा्ष्ट्रिय कानूनविपरीतको जघन्य अपराध भएकाले यसमा संलग्नलाई छुट दिन नहुने उनको तर्क छ । नेता रावलले पार्टीका बैठक नियमित हुनुपर्ने र सरकारको कामको पनि समीक्षा गर्नुपर्ने बेला भएको बताए ।
मिडिया हब र ‘सक्किगोनी’ बीचको विवाद मिल्यो, यस्तो भयो सहमति
काठमाडौं : मिडिया हब र नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ बीचको विवाद मिलेको छ । कलाकार र सर्जकको मिडिया हब प्रालिले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हब प्रालिको योगदान र सहयोगलाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता दुबै पक्षले जनाएका छन् । त्यस्तै, पछिल्लो समयमा उत्पन्न विवादित विषय यहि टुंगिएको र आगामी दिनमा यो विषय दुवै पक्षले नउठाउने सहमति भएकोसमेत ‘सक्किगोनी’का कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । मिडिया हबले उत्पादन गर्दै आएको ‘भद्रगोल’बाट कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायतका कलाकार केही समयअघि अलग्गिएर ‘सक्किगोनी’ नि’ टेलिसिरियल उत्पादन गर्दै आएका छन् । मिडिया हबले ‘भद्रगोल’का पात्र र चरित्र चोरेको आरोपमा ‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।
पूर्वमन्त्री आलमलाई थुनामा राख्न ८ दिनको म्याद थप
काठमाडौंः रौतहट क्षेत्र नं २ का सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई अदालतले अनुसन्धानका लागि थुनामा राख्न शुक्रबार तेस्रो पटक ८ दिनको म्याद थप गरेको छ । ०६४ सालमा भएको संविधान सभा निर्वाचनको समयमा बम बनाउन लगाउने क्रममा घाइते भएका सर्बसाधारणरलाई जिउँदै इट्टा भट्टामा जलाएको आरोपमा उनी पक्राउ परेका थिए । रौतहट जिल्ला अदालतले आलमलाई आठ दिन थुनामा राख्न म्याद थप गरेको अदालत श्रेस्तेदार गुणराज पराजुलीले बताए । यस अघि उनलाई सात र पाँच दिनको म्याद थप गरिएको थियो ।
आजदेखि १८औं नाम सम्मेलन, के हुनेछ नेपालको भूमिका?
काठमाडौं । असंलग्न आन्दोलन ९नाम० राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलन आजबाट शुरु हुँदैछ । बाकु सम्मेलन केन्द्रमा स्थानीय समयअनुसार बिहानको १० बजे सम्मेलनको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको छ । सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक सङ्गठनहरुका प्रतिनिधिहरु सहभागिता हुँदैछन् । सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छन् । शिखर सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल हिजो अबेर राति कतारको दोहा हुँदै कतार एयरको नियमित उडानमार्फत यहाँ आइपुगेको हो । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य छन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू समावेश हुन्छन् । प्रधानमन्त्री ओलीले औपचारिक उद्घाटनपछि नाम शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नुहुनेछ । यसैगरी, प्रधानमन्त्री ओली अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्रध्यक्ष÷सरकार प्रमुखको सम्मानमा आयोजना गर्नुहुने रात्रिभोजमा पनि आज सरिक हुनेछन् । प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ताहरू गर्ने कार्यक्रम रहेको छ । शिखर सम्मेलनअघि कात्तिक ४ देखि ५ गतेसम्म बाकुमा उच्च अधिकारीहरूको बैठक तथा ६ र ७ गते मन्त्रिस्तरीय पूर्वतयारी बैठक भएको थियो । यस सम्मेलनमा १७औँ शिखर सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयनका दिशामा भएका प्रगति एवं समीक्षा गरी बाकु घोषणापत्र जारी गरिनेछ । यसअघि, बिहीबार अबेर राति, शिखर सम्मेलनमा नेपालको प्रतिनिधिमण्डमा सहभागी राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनका संवाददाताहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले मन्त्रिस्तरीय बैठकले वर्तमान विश्व अवस्थाको विश्लेषण गर्दै असंलग्न आन्दोलन र यसका सिद्धान्तहरुको सान्दर्भिकताको पुनर्पुष्टि गरेको बताए । उनले भने, “सन् १९६१ मा नाम औपचारिक रूपमा स्थापित हुँदा विकासोन्मुख देशहरुले सामना गरेका विकास र विश्व प्रणालीमा अर्थपूर्ण सहभागिताको समस्या अझै पनि यथावतै रहेको छ ।” सो बैठकले १८औँ नाम शिखर सम्मेलनको बाकु घोषणापत्रको मस्यौदा गरेको जानकारी दिँदै मन्त्री ज्ञवालीले घोषणापत्रको मूल सार भनेको बाङडुङ सिद्धान्तहरु आज पनि उत्तिकै सान्दर्भिक रहेको र नामका सदस्यहरुले विश्व प्रणालीमा अझ बढी भूमिका निर्वाह गर्न आफूहरुबीचको सहकार्य र एकतालाई थप बलियो बनाउनुपर्ने रहेको बताए शिखर सम्मेलनको मुख्य दस्तावेजका रूपमा रहने बाकु घोषणापत्र सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको अनुमोदनपछि भोलि जारी हुँदै सम्मेलनको समापन हुनेछ । “दिगो विकासका लक्ष्य हामीले अवलम्बन गरेको एउटा युगान्तकारी विश्वव्यापी कार्यक्रम हो तर विकसित राष्ट्रहरुले त्यस सम्बन्धमा जिम्मेवारीको भार जति लिनुपर्ने हो, त्यति लिन सकिरहेका छैनन्”, मन्त्री ज्ञवालीले भने, “त्यसैकारण, दिगो विकासका लक्ष्यहरुलाई पूरा गर्नमा विकासोन्मुख देशहरुलाई सहयोग गर्न हाल विद्यमान विकास सहायताको संरचनालाई परिवर्तन गर्न आवश्यक छ ।” नामको मुख्य उद्देश्य भनेको विकासोन्मुख देशहरुको स्वतन्त्र पहिचान, स्वतन्त्र अस्तित्व र स्वतन्त्र रूपमा विकास गर्न पाउने स्वतन्त्रताका साथै विश्व प्रणालीमा न्यायोचित प्रतिनिधित्व होस् भन्ने हो । “नेपालको हकमा भने, नाम हाम्रो अस्तित्व र विकाससँग जोडिएको कुरा हो”, परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, “त्यसैकारण हाम्रो विदेश नीति असंलग्न आन्दोलनका सिद्धान्तहरुमा आधारित हुँदै अघि बढेको छ । हाम्रो भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दा, असंलग्नता, तटस्थता, अहस्तक्षेप, सार्वभौम समानता हाम्रा लागि ज्यादै महत्वपूर्ण छन् ।” परराष्ट्रमन्त्री ज्ञवालीले यो शिखर सम्मेलन नेपालका लागि असंलग्न आन्दोलनका सिद्धान्तहरुप्रतिको आफ्नो प्रतिबद्धताहरुलाई पुनर्पुष्टि गर्ने अवसर रहेको र त्यही कुरालाई नेपालले आज र भोलि जोड दिने जानकारी दिए । रासस
उच्च हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौंः आज केही ठाउँमा हल्का वर्षा तथा पूर्व उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी भेगका थोरै तथा मध्य पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। अपराह्नपछि हल्का वर्षा सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । त्यसैगरी पूर्वी उच्च हिमाली भेगमा हल्का हिमपातको समेत सम्भावना रहेको उनले बताइन्। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ– पूर्वी उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकोकाले सामान्य सतर्कता अपनाउनहुन अनुरोध गरिन्छ। यसैगरी राति पनि पूर्वी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार अरब सागर तथा बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली साथै पश्चिमी वायुको प्रभावका कारण नेपालका पूर्वी तथा मध्य क्षेत्रमा मौसममा आंशिकदेखि सामान्यसम्म बदली भएको हो। हाल देशको पुर्वी तथा मध्य भूभागमा आंशिकदेखि सामान्यसम्म बदली र पश्चिमी भूभागमा आंशिक बदलीसहित सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सिंहदरबारका २१५ कर्मचारी छड्केमा, हाेला त कारवाही?
काठमाडौं– सिंहदरबारभित्र गरिएको अनुगमनमा मंगलबार १३६ जना कर्मचारीले समयको पालना नगरी अनुपस्थित पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार सिंहदरबारभित्रकै मन्त्रालयमा अनुगमन गर्दा धेरै संख्यामा कर्मचारी समयको पालना नगरी अनुपस्थित रहेको पाइएको हो । राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीका अनुसार केन्द्रले सिंहदरबारभित्रका नौ वटा मन्त्रालयमा अनुगमन गरेको थियो । सतर्कता केन्द्रको अनुगमनको क्रममा २१५ जना कर्मचारीमा कैफियत पाइएको छ । जसमध्ये समय पालना नगरेकोरअनुपस्थित रहेका कर्मचारीको संख्या १३६ रहेको छ । त्यसैगरी अनुगमनको क्रममा अघिल्लो मितिमा विदा स्वीकृत नगराई अनुपस्थित हुनुभएका कर्मचारीको संख्या ६६ रहेको थियो । प्रवक्ता सुवेदीका अनुसार कार्यालय समयमा १३ जना कर्मचारीले तोकिएको पोशाक लगाएको देखिएन । बिहान १० बजेर १५ मिनेटमा गरिएको अनुगमनमा सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सबैभन्दा बढी कर्मचारीको लापरवाही देखिएको छ । दुबै मन्त्रालयमा सबैभन्दा बढी कर्मचारी समयको पालना नगरेको÷अनुपस्थित फेला परेका छन् । प्रवक्ता सुवेदीका अनुसार संघीय मामिला र श्रम रोजगार गरी दुबैमा २९–२९ जना कर्मचारी समयको पालना नगरी अनुपस्थित फेला परेका छन् । १७ जना कर्मचारीले अघिल्लो मितिमा विदा स्वीकृत नगराई अनुपस्थित भएका छन् । त्यसैगरी, अनुगमनमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा १७, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा १०, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका छ जना, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा १६ जना, वन तथा वातावरण मन्त्रालयमा १९ जना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १० जना कर्मचारी अनुपस्थित÷समयको पालना नगरेको पाइएको छ । समयको पालना नगर्ने कर्मचारीहरुमा शाखा अधिकृत र श्रेणीविहिनको संख्या अत्याधिक रहेको छ ।
राजेश हमालले भेटे मुस्कानलाई
काठमाडौं– नायक राजेश हमालले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई भेटेका छन् । वीरगञ्जकी मुस्कान खातुनलाई भेट्न महानायक हमाल सोमबार कीर्तिपुर अस्पतालमा पुगेका थिए । यस अघि पनि भारतीय कलाकारहरु अमिताभ बच्चन, बरुण धवण, कृति सेनन देखि नेपाली कलाकार राजु लामा र संचिता लुईटेल लगायतले मुस्कानलाई भेटेर उनको मुहारमा मुस्कान ल्याने प्रयास गरेका थिए । यस्तै महानायक हमाल पनि मुस्कानलाई भेट्न अस्पतालमा पुगे । मुस्कानको अवस्था देखेर महानायक हमाल भावविह्वल भएका थिए । हमालको भेटले मुस्कानमा एकै छिन भए पनि खुशी छायो । महानायक हमालले उनलाई छिट्टै घर फर्किन मिल्ने आश्वासन दिए ।
भरतपुर महानगरलाई सडकमानव मुक्त घोषणा गरिँदै
चितवन– भरतपुर महानगरपालिका चाँडै सडकमानव रहित हुने भएको छ । भरतपुर महानगरपालिकालाई अभिभावक विहिन सहयोगापेक्षी सडकमानव रहित घोषणा गर्ने तयारी भइरहेको छ । मानवसेवा आश्रमले सडकमानव रहित बनाउनको लागि नियमित पहल गर्दै आइरहेको थियो । महानगरपालिकाले केही समय अघि मात्र महानगर क्षेत्रभित्र र कार्यरत विभिन्न सरोकारवाला निकायहरूसँगको अभिभावक विहिन सहयोगापेक्षी सडकमानव मुक्त महानगर घोषणा गर्ने बारेमा पहिलो चरणको अन्तरक्रिया सम्पन्न गरिसकेको छ । यस क्षेत्रलाई बेसहारा सहयोगापेक्षी सडकमानव रहित महानगर घोषणा गराउने नीति समेत पारित भइसकेको छ । सडकमानव रहित बनाउनको लागि सोमबार राति ८बजेदेखि ११ बजे सम्म भरतपुर महानगरपालिकाको शहरी क्षेत्रभित्र रहेका सडकमानवहरूको अवस्था अध्ययन तथा उद्धार गरिएको छ । उद्धार तथा अवस्था अध्ययनको क्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माननीय प्रदेश सभा सदस्य विजय सुवेदी, महानगरपालिकाका प्रशासकिय प्रमुख नेत्र सुवेदी, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला प्रहरी प्रमुख दान बहादुर मल्ल, नेपाली सेनाका प्रमुख सेनानी विज्ञान खनाल, मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्ययक्ष रामजी अधिकारी, महासचिव शुशिला के.सी., आश्रमका अभिभावक तथा अभियान्ताहरु सहभागी थिए । सोमबार सडकमानवहरूको उद्धार तथा रात्रीकालिन अवस्था अध्ययनको क्रममा ४० जनालाई मानवसेवा आश्रम चितवन शाखामा ल्याइएको मानव सेवा आश्रमले जनाएको छ । जसमध्ये २ जना मात्र बास्तविक सहयोगापेक्षी रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताएका हुन् । नेपाल प्रहरी, आश्रम र महानगरपालिकाले घर परिवार भएकाहरूलाई पुन सडकमा अस्तव्यस्त जीवनशैली नविताउने शर्तमा घर फिर्ता पठाएका छन् । कतिलाई आश्रमकै गाडीमा राखेर घर घरमा पुर्याइएको छ । महानगर क्षेत्रभित्र जाँड रक्सी पिएर सडकमै अस्तवेस्त जीवन विताउनेहरूको कारण सामाजिक सुरक्षाका कायम गर्न समेक कठिक हुने प्रहरी प्रमुख दान बहादुर मल्ल बताउँछन् । महानगरपालिकाकी प्रमुख रेनु दाहालले महानगरपालिकालाई बेसहारा अभिभावक विहिन सडकमानव रहित महानगर घोषणा गर्ने गरी आन्तरिक तयारी भएको बताइन् । यस कार्यमा महानगरपालिकालाई मानवसेवा आश्रमले सघाउँदै आइरहेको छ । हालसम्म मात्र मानवसेवा आश्रमको भरतपुर–१० आँखा अस्पताल नजिकै रहेको शाखाले मात्र हालसम्म भरतपुर क्षेत्रका विभिन्न स्थानबाट ५ सय बढीलाई उद्धार गरी संरक्षण दिइसकेको छ भने घोषणा पश्चात् पनि यसको कार्यन्वयनको लागि पटक–पटक प्रतिवद्धता व्यक्त गर्दै आइरहेको छ ।
त्रिविका डिन अग्रवाललाई कालोमोसो दल्ने पक्राउ
काठमाडौं– त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संथानका डिन डा. जगदिश अग्रवाललाई कालोमोसो दल्ने एक जना पक्राउ परेका छन् । अग्रवाललाई टिचिङ अस्पताल भित्र आफ्नै कार्यकक्षमा कालोमसो दल्ने काठमाडौं कागेश्वरि मनोहरा नगरपालिका १ बस्ने २८ वर्षीय बिजय थापा पक्राउ परेका हुन् । उनलाई महानगरिय प्रहरी बृतको टोलीले आज पक्राउ गरेको हो। थापा महाराजगन्जबाट पक्राउ परेका हुन्। थापाले गत भदौ २९ गते अग्रवाललाई कालोमोसो दलेका थिए।
भीम रावलले भने, ‘चीनसँगको सम्झौतामा सुदूरपश्चिमलाई हेला गरियो’
कैलाली– हालै नेपाल सरकार र चीनबीच भएको समझौताप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले तीव्र असन्तुष्टि पोखेका छन् । आफूले सुझाएको कुनै पनि माग समझौतामा उल्लेख नगरिएको र काठमाडौं वरिपरी मात्रै केन्द्रीत गरिएको भन्दै इन्चार्ज रावलले असन्तुष्टि पोखेका हुन् । मंगलवार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता रावलले भने, ‘मैले बालुवाटारमा भएको उच्चस्तरीय बैठकमा विकास निर्माण स्वदेशी वा विदेशी स्रोतबाट गर्ने भएपनि काठमाडौं वरिपरी सीमित राख्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ भनेको थिएँ । तर फेरि पनि काठमाडौं वरिपरी सीमित पारिएको छ ।’ यहाँको पश्चिम सेती जलविद्युत आयोजना धेरै वर्षदेखि निर्माण गर्ने भनेर अलपत्र पारेर यसको भविष्य अनिश्चित पारिएको र सुदूरपश्चिमका सडक, जलविद्युत आयोजनाको सन्दर्भमा पनि ध्यान पुर्याउनुपर्नेमा कुनै सुनुवाई नभएको उनले आरोप लगाए । दार्चुलाको टिंकर नाका र बझाङको उरै नाका खोल्ने काम नभएकोले आफूले ति नाका खोल्न माग गरेपनि चीनसँगको भएको सहमति र सम्झौतामा केही पनि उल्लेख नभएको भन्दै रावलले असन्तुष्टि जनाएका हुन् । उनले भने, ‘चीनसँग भएको सहमति तथा सम्झौता त्यति न्यायोचित र नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक विकासको धारणा अनुरुप भएन कि मलाई लाग्छ ।’ ‘नेकपा कैलाली अध्यक्ष रतन थापाको अश्लील अडियो प्रकरणबारे नेकपाले के गर्दैछ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता रावलले भने, ‘जुनसुकै व्यक्तिको बारेमा होस्, त्यो व्यक्तिको आचरण, जनप्रतिनिधिले पालना गर्नुपर्ने मार्यादा विपरितका कुनैपनि पनि क्रियाकलाप प्रमाणित भयो भने सम्बन्धित व्यक्तिलाई कारवाही गर्नेतर्फ पार्टीले गम्भीर ढंगले सोच्छ । तदनुकुल निर्णय पनि गर्छ ।’ केही दिनअघि प्रदेश सभा सदस्य समेत रहेका नेकपा अध्यक्ष थापा र एक महिलाबीच भएको अश्लील अडियो संवाद बाहिरिएको थियो । लोकान्तर डटकमबाट
नेकपाको चियापन भोलि
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा विगतमा झैँ यस वर्ष पनि बुधबार शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डका नामबाट निमन्त्रणापत्र पठाइसकिएको र कार्यक्रमको तयारी पूरा भएको नेकपाले जनाएको छ । पार्टीका महासचिव विष्णु पौडेलले आज जारी गरेको विज्ञप्तिमा अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको उल्लेख छ । मुलुकको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषता अनि लामो समयदेखि चल्दै आएको चाडबाड तथा संस्कृतिले नेपाली नेपालीबीचको एकतालाई अझ मजबूत बनाउने पनि विज्ञप्तिमा जनाइएको छ ।
तीन एसएसपी, ४ एसपीसहित नेपाल प्रहरीमा थपिए ३५९६ दरबन्दी
काठमाडौं– नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ । मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरीमा दरबन्दी थपिएको हो । कुन पदमा कति थपिए? प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)- ३ प्रहरी उपरीक्षक (एसपी)- ४ प्रहरी नायब उपरीक्षक (डीएसपी)- २१ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)- ४७ प्रहरी नायब निरीक्षक (सई)- ८६ प्रहरी सहायक निरीक्षक (असई)- २ सय ९७ प्रहरी हवल्दार- ६ सय ८३ प्रहरी जवान- २ हाजार २ सय १६ कार्यालय सहयागी- ३ हजार ५ सय ९६ थप गरिएको दरबन्दी जनपद र प्राविधिक दुवै गरेर हो । प्राविधिकतर्फ १ सय २९ जनाको दरबन्दी थपिएको छ । एसएसपी १, एसपी २, डीएसपी १२, इन्सपेक्टर २० लगायत गरी १२९ जनाको दरबन्दी थपिएको हो । ‘समय अनुकुल संगठनको स्रोत, साधान विकास गर्ने क्रममा जनशक्ति विकास पनि अपरिहार्य कुरा भएकाले थप दरबन्दी माग भएको थियो’, केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेल भन्छन्, ‘थपिएका दरबन्दी भर्ना र बढुवा प्रक्रियाबाट पदपूर्ती गरिनेछन् ।’ हाल प्रहरीमा जनपद र प्राविधिक गरी ७५ हजार ९ सय २७ को दरबन्दी छ । तीमध्ये करिब ४ हजारको अझै पदपूर्ति भएको छैन ।
अष्ट्रेलियाकाे राजदूतमा महेशराज दाहाल नियुक्त
काठमाडौं– अस्ट्रेलियाका लागि नयाँ राजदुत नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा महेशराज दाहाल राजदुतमा नियुक्त भएका हुन् । उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई अस्ट्रेलियाका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन् । आज मिति २०७६ साल असोज २८ गते मंगलवारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री महेशराज दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत जनाएका छन् ।
ओशो तपोवनको सवारीमा आगजनी
काठमाडौंः काठमाडौंको तारकेश्वर नगरपालिका–१२ गोलढुंगास्थित ओशो तपोवनका सवारी साधनमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार राती तपोवन परिसरको मूल गेटमा पार्किङ गरिरहेको बा २ क २१४७ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको ओशो तपोबनका तर्फबाट सुदिप पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । आगजनीबाट बस क्षतिग्रस्त भएको पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आगजनी गरिएको सो क्षेत्रमा तपोवनको रिसेप्सन अफिस, र्जोर्वा रेष्टुरेन्ट, साधकहरु रहने आवासीय कक्ष तथा भण्डार कोठा र सो भण्डार कोठामा भरिएका २ सयभन्दा बढी ग्यास सिलिण्डर समेत रहेकोले सिंगो तपोवनमा ठूलो क्षति हुनबाट जोगिएको विज्ञप्तिमा जनाइएको छ । आगजनीबाट तपोवनमा चलिरहेको ध्यान शिविरमा समेत नकारात्मक प्रभाव परेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाल चलिरहेको ध्यान शिविरमा विश्वभरीका १३ भन्दा बढी राष्ट्रहरुबाट ध्यान कार्यव्रmममा सहभागी २५० भन्दा बढी साधकहरुमा यो घटनाले ठूलो मनोवैज्ञानिक त्रास सृजना गरेको छ ।

