दशैं भोजमा खाएको अचारले ३१ जना बिरामी

सुर्खेत– वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन् ।

स्थानीयवासी रामप्रसाद लामिछानेको घरमा बनाइएको अचार खाँदा उनका परिवारका सदस्यसहित टीका थाप्न आएका पाहुनासमेत बिरामी परेका हुन् ।

स्थानीयवासी हिमप्रसाद पौडेलले बुधबार बिहान आलु र काँक्राको अचार खाएलगत्तै बिरामी पर्न थालेको बताए ।

बिरामीहरुको बुधबार दिउँसोदेखि वीरेन्द्रनगरस्थित माया नर्सिङ होम, बोहरा फार्मेसी र राना मेडिकलमा उपचार भइरहेको छ । बिरामीमध्ये केही उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार बिरामीहरुमा झाडाबान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो आउने, रक्तचाप कम हुने लक्षण देखिएको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

माया नर्सिङ होमका डा कृष्णदेव गिरीले ‘फुड प्वाइजन’ को समस्या देखिएको बताए । “अचारको नमूना परीक्षण गरेपछि मात्र समस्या पहिचान हुन्छ,” उनले भने, “फुड प्वाइजन को अवधि ७२ घण्टासम्म रहने हुँदा चिन्ता गर्नुपर्ने अवस्था हुँदैन ।”

चिनियाँ राष्ट्रपतिको भ्रमणबारे प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीसँग छलफल गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । छलफलका लागि बिहीबार बिहान ९ बजे पूर्वप्रधानमन्त्रीहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाइएको छ। विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणको समयमा आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्न पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्ने प्रचलनअनुसार नै प्रधानमन्त्रीले छलफल गर्न लागेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। छलफलका लागि पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्दलगायतलाई बोलाइएको छ।

फिल्म हेर्ने बिषयमा झडप, एक दर्जन व्यक्ति घाइते

सप्तरीः सप्तरीको शम्भुनाथ नगरपालिकामा दूर्गा पूजामा फिल्म हेर्ने बिषयमा विवाद हुँदा झडप भएको छ । झडपमा परी एक दर्जन व्यक्ति घाइते भएका छन् । शम्भुनाथ नगरपालिका–१ स्थित खोक्सर प्रवाहामा दशैंको अवसरमा बनाइएको दूर्गा पूजा गरिएको स्थान नजिकै प्रोजेक्टरमार्फत धार्मिक फिल्म देखाइएको थियो । कृष्णलिला, रामलिलासहितका धार्मिक फिल्म देखाउँदै आएकोमा मंगलबार राति केहि युवाहरुले बलिउड फिल्म देखाउन दबाब दिए । त्यही विवादले केहीबेर फिल्म देखाउन रोकियो । त्यही विवादमा कुटाकुट हुँदा एक दर्जन व्यक्ति घाइते भएका छन् । उनीहरु मध्ये ५ जनाको टाउकोमा चोट लागेको छ । टाउकोमा चोट लागेका खेमबहादुर कार्की, प्रमोद कोइलारा, राम यादव, मोहम्मद सलिम र कौशल यादवको रायपुरस्थित युनिक अस्पतालमा उपचार भइरहेको छ । घटनामा धिरेन्द्र चौधरी, अशोक यादव, रमेश यादव, सरोज कार्की, देव सुन्दर यादव पनि घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका मध्ये वडा अध्यक्ष इनरदेव साह बुधबार रिहा भएका छन् भने चार जना प्रहरी नियन्त्रणमा नै छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी तिलक भारतीले वडाअध्यक्षलाई सोधपुछका लागि मात्रै बोलाइएको बताए ।

चिनियाँ राष्ट्रपति स्वागतका लागि तयारी व्यापक, यातायातमन्त्रीद्वारा सडक अनुगमन

काठमाडौंः चिनियाँ राष्ट्रपति सी चीनफिङको यही असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै स्वागतको तयारीले तीव्रता पाएको छ । बडादशैँकै बीचमा पनि भ्रमणका अवसरमा द्विपक्षीय वार्ता र सम्झौताको तयारीका लागि नेपाल सरकारका सम्बन्धित निकाय एकातिर जुटेका छन् भने अर्कातिर राजधानी काठमाडौँको सडक मर्मत र अन्य सौन्दर्य अभिवृद्धिले व्यापकता पाएको छ । विगतदेखि सडक विस्तारको काम भइरहेको अवस्थामा छिटोछिटो काम सकाउन र रङरोगन गर्न अहिले मुख्य सडकमा चापाचाप देखिन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुईदिवसीय राजकीय भ्रमण गर्ने कार्यक्रम आज परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको थियो । भ्रमणका क्रममा चिनियाँ विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्ने छन् । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा द्विपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने छ । राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री ओलीका यसअघिका चीन भ्रमणमा भएको केरुङ–काठमाडौँ रेल, कनेक्टिभिटी, ऊर्जा र अन्य क्षेत्रमा भएका द्विपक्षीय सम्झौता र छलफलले सीको भ्रमणमा सार्थकता पाउने अपेक्षा गरिएकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । नेपाल र छिमेकी चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध रहेको तथा पछिल्लो समयमा आपसी मित्रता र सहकार्य थप अभिवृद्धि गर्न दुवै मुलुकको नेतृत्व तयार देखिएकाले राष्ट्रपति सीको राजकीय भ्रमणले जनस्तरमा समेत सकारात्मक प्रभाव पार्ने देखिएको छ । ‘अतिथिदेवो भवः’ को आदर्शलाई व्यवहारत अपनाइरहेको नेपालले विशिष्ट पाहुनाको भ्रमणमा जनस्तरबाट समेत स्वागत हुँदै आएको छ । तेइस वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि राष्ट्रपति सी सवार हुने सडकहरु नयाँ कालोपत्रसहित चिल्लो बनाइएको तथा ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राख्न थालिएको छ । मुख्यमुख्य स्थानमा राष्ट्रपति सीको स्वागतका लागि द्वार बनाउन थालिएको छ । बबरमहल र टेकुस्थित पुलमा विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका राष्ट्रिय सम्पदा र विभिन्न पर्यटकीय महत्वका तस्वीर फ्लेक्स बनाइराखिएको छ जसले एकै हेराइमा पनि नेपालको पहिचानलाई बुझाइदिनेछ । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा यो भ्रमण र नेपालको तयारीले विश्वजगत्मा नेपालको थप पर्यटन प्रवद्र्धन हुने ठानिएको छ । यतिबेला त्रिभुवन अन्तरराष्ट्रय विमानस्थल, तीनकुने, पुरानो बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भद्रकाली, गौशाला, केशरमहल, दरबारमार्ग, सुन्धारा, नक्साल भगवती, नागपोखरी, हात्तीसार, कालीमाटी, सोल्टीमोडलगायत क्षेत्रका सडक मर्मत र रङरोगन गरेर चिटिक्क बनाइएको छ । काठमाडौँ शहरको सौन्दर्य अभिवृद्धिमा कार्यरत काठमाडौँ महानगरपालिका तीनकुनेस्थित खुलास्थललाई कृत्रिम उद्यान (आइल्याण्ड) बनाई हरियाली तुल्याउँदै छ । कतिपय स्थानमा अस्थायी संरचना बनाई आकर्षक बनाएको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले शहरलाई सुन्दर, हराभरा र स्वच्छ राख्न आफूहरुले काम गरिरहेको बताउँदै विभिन्न आइल्याण्ड, उद्यान निर्माण र सडकका बारहरुमा रङ्रोगन भइरहेको बताउनुभयो । स्वागतका झण्डा राखिने खम्बाहरु पनि महानगरपालिकाले सजाउँदैछ । प्रवक्ता डङगोलले भने, “हामीले जिम्मा पाएअनुसार सरसफाइको काम व्यापक भइरहेको छ । शहरलाई सफा र हरियाली बनाइनेछ । सडक बत्तीहरुको व्यवस्थापनको काममा पनि हामी लागेका छौँ ।” राष्ट्रपति सी आउँदा त्रिभुवन विमानस्थलदेखि मुख्य सडकका दायाँबायाँ दुई देशको झण्डा फहराएर विद्यार्थी बस्नेछन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एनप्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले आफूहरुलाई पनि विद्यार्थी पठाइदिन सरकारले आग्रह गरेको जानकारी दिए । सडक अनुगमनमा भौतिकमन्त्री काठमाडौँका विभिन्न स्थानको सडक मर्मतको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित उच्चस्तरीय टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा सोल्टीमोडस्थित सडकमा भेटिनुभएका मन्त्री महासेठले रासससँग कुरा गर्दै मर्मत र निर्माणमा गुणस्तरीयता कायम गर्न आफूले निर्माण पक्षलाई निर्देशन दिएको बताए । सोहीस्थलमा मन्त्रीका साथ पुग्नुभएका सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले काठमाडौँ उपत्यकाको सडक मर्मत हरेक वर्ष मनसुनपछि नियमित हुने गरेको र हाल विशिष्ट पाहुनाको भ्रमण हुने भएकाले थप ध्यान दिइएको बताए । काठमाडौँ उपत्यकाको सडक मर्मतको जिम्मेवारी सिएम कन्स्ट्रक्सनले लिएको छ । रासस

चिनियाँ राष्ट्रपतिको सुरक्षा व्यवस्था कडा, उपत्यका बाहिरबाट समेत जनशक्ति झिकाइने

काठमाडौंः चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए । “चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका हेरेर आवश्यक प्रहरी खटाउने व्यवस्था मिलाएका छौँ, उहाँको सुरक्षामा कुनै कमी हुन दिँदैनौँ”, उनले भने । प्रहरीले सी चिनफिङको सुरक्षाका लागि उपत्यका बाहिरबाट समेत थप जनशक्ति झिकाउने तयारी गरेको छ । चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ ।

भीषण बर्षा र हावाहुरीले धानबालीमा क्षति

चितवनः मंगलबार बेलुका आएको भीषण हावाहुरी र बर्षाका कारण चितवनका अधिकांश क्षेत्रमा धानबालीमा क्षति पुगेको छ । बाला लागेर झुल्न लागेको धानमा हावाहुरी र बर्षा एकैपटक आउंँदा ठूलो क्षति पुगेको हो । जिल्लाका अधिकांश क्षेत्रमा यसको असर परे पनि मुख्यतः धानको पकड क्षेत्र पूर्वी चितवनका धानको बोट र बाला हावाहुरी र बर्षाले झारेको छ । सबैजसो किसान दशैंको टीकाको दिनमा व्यस्त भएपनि भोलीपटक धानबारीमा गएर हेर्दा अधिकांश धानका बोट कामनै नलाग्ने गरी ढलेको उनीहरु बताउंँछन् । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर १, देखि ६ वडामा बाला झुलेको धानबालीमा हावा र बर्षाका कारण बोट र बाला झरेको स्थानीय कृषक अगुवा धर्मराज कंडेलले बताए । ‘अन्य वडामा पनि असर परेको छ,उहांँले भन्नुभयो, मेरोपनि आधा विघा धानमा क्षति भएको छ ।’ उनको जस्तै अन्य किसानको पाक्न लागेको धानमा क्षति पुगेको छ । राप्ती नगरपालिका वडा नम्बर ६ का दिपक त्रिपाठीको पनि एउटा धान ठाडो छैन । ‘धान पनि सबै ढल्यो, बालापनि काम लाग्ने अवस्थामा छैन’ उनले भने । राप्ती नगरपालिका लगायत रत्ननगर नगरपालिकाका अधिकांश झुल्न लागेका धानमा हावाहुरी धान ढलाएर सोत्तर पारेको छ । तर पूर्वी चितवनमा भन्दा पश्चिम चितवनमा केही ढिला धान रोप्ने गरिएकोले त्यस्तो क्षति नभएको भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चित्रसेन अधिकारीले बताए । कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लामा गरिमा, गोरखनाथ, युएस ३१२ जातका आयातीत हाइब्रिड र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावा मन्सुली धान बढी क्षेत्रफलमा कृषकले लगाउने गरेका छन् । गत वर्ष धान एक लाख १९ हजार ७०० मेट्रिकटन र चैते धान २६ हजार मेट्रिकटन उत्पादन भएको कार्यालयले जनाएको छ । यस वर्ष पाँच हजार हेक्टरमा चैते धान लगाइएको थियो भने वर्षे धान २८ हजार ५०० हेक्टरमा लगाइएको छ ।

२ किलो ७ सय ग्राम चरेशसहित २ जना पक्राउ

अमरगढीः डडेल्धुराबाट दुई किलो ७ सय ग्राम चरेशसहित २ जना पक्राउ परेका छन् । डडेल्धुरा जिल्ला प्रहरी कार्यालयको लागूऔषध नियन्त्रण अभियान र दशैँ तिहार सुरक्षा योजनाअनुरूप परिचालित प्रहरीद्वारा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अमरगढी नगरपालिका–७ खोस्रेखानमा सवारीसाधन चेक जाँच गर्ने क्रममा सोही नगरपालिका वडा नं ७ भाटगाउँ बस्ने वर्ष २६ का शेरबहादुर भण्डारीले चलाइराखेको से ३ प ४५३१ नामको मोटरसाइकल बैतडीबाट डडेल्धुरा आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा निजको झोलाबाट ७०० ग्राम चरेश बरामद गरेको थियो । साथै अमरगढी–६ भालुमारे बस्ने वर्ष ३८ को वीरबहादुर बोहरालाई निजको घरबाट दुई किलोग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उक्त लागूऔषध (चरेश) बरामद गरी दुवै जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।

निवर्तमान सभामुख महरा पक्राउ, के हुन्छ अब उको सांसद पद?

काठमाडौंः महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाट नियन्त्रणमा लिएको छ । प्रहरी उच्च स्रोतका अनुसार महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने छ । बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोली कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास प्रवेश गरेको थियो। प्रहरी स्रोतका अनुसार दसैं बिदा परेकोले त्यस अगाडि प्रहरीले मात्रै उनको बयान लिने छ । फौजदारी न्यायको सिद्धान्तअनुसार प्रहरीले अनुसन्धानका लागि हिरासतमा लगेपछि पद स्वतः निलम्बन हुने व्यवस्था हुनुपर्ने अधिवक्ता यदुनाथ खनालले बताए । तर, प्रतिनिधिसभा नियमावली २०७४ अनुसार अभियुक्त महराको सांसद पद भने निलम्बन नहुने भएको छ । नियमावलीको नियम २४४ मा सदस्यको पक्राउको जानकारी सम्बन्धी व्यवस्था गरिएको छ । उक्त नियमको उपनियम ३ मा ‘संविधानको धारा १०३ को उपधारा ६ को प्रतिबन्धित वाक्यांश बमोजिम कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा, वा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भइ पुपर्पक्षका लागि थुनामा रहेको अवस्थामा थुनामा रहेको अवधिभर सदस्यको हैसियतले कुनै कामकारबाही गर्न वा अधिकार वा कुनै उन्मुक्ति प्राप्त हुने छैन । त्यस्तो अवधिभर निजको पारिश्रिमक सेवा र सुविधा स्थगित हुनेु उल्लेख गरिएको छ । उक्त उपनियम अनुसार सभामुख पदबाट राजीनामा दिएमा महराले सांसद पद निलम्बन नभए पनि उनले पारिश्रमिक र अधिकार भने कटौती हुने भएको छ ।

लिङ्गे पिङ बनाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगरः झापामा लिङ्गे पिङ बनाउँदा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इलाम नाम्सालिङका ५७ वर्षका रामलाल रिसालको मृत्यु भएको हो । झापा बिर्तामोडमा पिङ गाड्ने क्रममा हरियो बाँसले विजुलीको तार छोएको थियो । शनिबार साँझ ५ बजेको समयमा करेन्ट लागेर घाइते रिसालको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा राती निधन भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ सुमोको ठक्करबाट एक जनाको मृत्यु उदयपुरको कटारी नगरपालिका–२ गरासमा सुमोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सिन्धुलीका रुपेन कुमारको मृत्यु भएको हो । शनिबार साँझ ओखलढुंगबाट धरान तर्फ आउँदै गरेको को १ ज ३४ नम्बरको सुमोको ठक्करबाट ज ५ प ७५५७ नम्बरको मोटरसाइकलमा सवार रुपेन कुमार गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा राति मृत्यु भएको हो । बाटो माथिबाट बलेरो खस्दा चालकको मृत्यु ९ जना घाईते सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ बरडाडाँमा मध्यराति बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । राति ११ बजेको समयमा बाटो माथिबाट बा १५ च ९४२० नम्बरको बलेरो अनियन्त्रित भएर खस्दा नेचातर्फ जाँदै गरेको अर्को ना १ ज ५३४२ बोलेरो माथि बजारिएको थियो । दुर्घटनामा बोलेरो चाकल २१ वर्षीय बलबहादुर खड्काको ज्यान गएको हो । अर्का सुमो चालक पासाङकाजि शेर्पा, वर्ष २७ को मोहन बस्नेत निजको श्रीमती वर्ष २८ की रिया बस्नेत, निजको छोरा वर्ष ७ को रियाज बस्नेत, वर्ष २४ की रुषा बस्नेत घाइते भएका छन् । घटनामा रमना राई, वर्ष २६ की गीता बस्नेत निजको छोरा वर्ष ७ को आयुस बस्नेत र रामेछाप नगरपालिका –६ बस्ने वर्ष २४ को गजेन्द्र लामा सामान्य घाइते भएका छन् । सबै घाइते यात्रुहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भई रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

महराविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडाैंले पक्राउ पुर्जी जारी गरेको छ । आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको अदालतका कर्मचारी ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। आदेशसँगै प्रहरीलाई महरालाई हिरासतमा लिएर सो घटनामाथि थप छानविन गर्ने बाटो खुलेको छ। अदालतबाट पक्राउको अनुमति पाएको प्रहरीले सम्भवत आज साँझसम्म नै महरालाई पक्राउ गर्नेछ। महरााविरुद्ध शुक्रबार जबरजस्ती करणी प्रयास गरेकेा भन्दै उजुरी दर्ता भएको थियो । गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन् । उनले महरा आफ्नो कोठामै नआएको दाबी गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको पूजाअर्चना

काभ्रेपलाञ्चोकः राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आज बिहान पूजा–अर्चना गरेकी छन् । उनले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेकी हुन् । राष्ट्रपति भण्डारीले भगवतीको पूजा–अर्चनापछि मन्दिर परिक्रमा गरी स्थानीय जनप्रतिनिधिसँग मन्दिरको पुनःनिर्माणबारे चासो राखेकी थिइन् । साथै नले मन्दिरको छानोमा सुनको मोलम्बा लगाउने विषयमा जिल्ला समन्वय समितिसँग समन्वय गर्न जनप्रतिनिधिलाई सुझाव दिइन् । बिहान १०ः०५ बजे मन्दिर आइपुग्नुभएका राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी र उपप्रमुख मञ्जु गौतम, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जू, पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारलगायत स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए । बडादशैँको आठौँ दिन आज महाअष्टमी पर्वको दिन दूर्गा भवानीको पूजा–अर्चना गरी मनाइन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले विशेष महत्वका साथ आजको दिन महालक्ष्मी, महाकाली र महासरस्वतीको पूजा गरिन्छ । साथै, आजकै दिन दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गर्ने चलन पनि रहँदै आएको छ । बडादशैँको नवरात्रिभर दूर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्त्रोत पाठ गरिन्छ ।

मेयर रेनु दाहालद्वारा दशैंको शुभकामना

चितवनः भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महान् पर्व बडादसैँको शुभकामना दिएकी छन् । महानगर प्रमुख दाहालले महान पर्व विजया दशमीको अवसरमा समस्त भरतपुर महानगरपालिकावासी एवं स्वदेश तथा विदेशमा बस्ने सबै नेपालीलाई शुभकामना दिएकी हुन् । प्रमुख दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यस वर्षको आउँदै गरेको चाडपर्वले समृद्ध महानगरले सपनालाई साकार पारोस् भनी कामना गरिएको छ । आउँदै गरेको शुभ दिपावली, छठ तथा नेपाल सम्वतको समेत हार्दिक शुभकामना व्यक्त गर्दै हाम्रा यी पर्वहरुले समस्त नेपालीहरुमा सकारात्मक सोचका साथ आपसी भाइचारा, सद्भाव र एकता कायम गर्दै दीगो र आत्मनिर्भर विकासको पक्षमा एकढिक्का भएर लाग्ने प्रेरणा प्रदान गरुन् भन्ने अपेक्षासमेत गरिएको छ ।’ विज्ञप्तीमा अगाडि भनिएको छ, ‘हाम्रा चाडपर्वहरुलाई मौलिक र मितव्ययीका साथ उल्लासमय बनाउन सबैलाई आग्रह गर्दै मध्य नेपालको सुन्दर शहर समृद्ध र सुसंस्कृत भरतपुर भन्ने सोचलाई सार्थक पार्न महानगरको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

९० हजारसहित ८ जुवाडे पक्राउ

बाँकेः दशैंको अवसरमा जुवातास खेलिरहेका ८ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । गयराति करीब १२ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका वडा नं ४ बाट जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार, उनीहरुलाई जुवाखालसहित रु ९० हजारभन्दा बढी रकमसहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ । चाडपर्वलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय कोहलपुरले आपराधिक गतिविधि नियन्त्रण गर्नतर्फ लागेको प्रहरी नायब उपरीक्षक शाहीले बताए । प्रहरी कार्यालय नजिकै चोरी कोहलपुर नगरपालिका वडा नं १० मा रहेको एक घरमा गएराति चोरी भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुखको निवासदेखि अन्दाजी २०० मिटर दूरीमा रहेको घरमा चोरी भएको हो । घरमा कोही नभएको मौका छोपी चोरी गरिएको खुल्न आएको छ । घरका सबै सदस्य बाहिर रहेको र नजिकैका अन्य घरमा समेत कोही नभएको समयमा गहना र नगद चोरी गर्ने उद्देश्यले घरमा चोर पसेको हुनसक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख शाहीको अनुमान छ । घटनाको सम्बन्धमा अनुसन्धान गरी चोरको खोजी भइरहेको उनले जानकारी दिए ।

वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन

काठमाडौं– वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन भएको छ। एक हप्तादेखि नर्भिक अस्पतालमा उपचार गराइरहेका आचार्यको आइतबार बिहान निधन भएको हो। नेपाल टेलिभजनका पूर्व नायव महाप्रबन्धक एवं समाचार निर्देशक समेत रहेका आचार्यले विभिन्न महाशाखाको नेतृत्व सम्हालेका थिए। चार वर्ष अघि नेपाल टेलिभिजनबाट अवकास पाएपछि उनी न्यूज २४ टेलिभिजनमा समाचार प्रमुखका रुपमा कार्यरत थिए। आचार्यको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ। पत्रकारिता विषयका प्राध्यापक समेत रहेका ६१ वर्षीय आचार्य कलेजो रोगबाट पीडित थिए। आचार्यको आमा, श्रीमती तथा एक छोरी छन्।

महाकालीको पूजा आज, कस्तो छ विधि ?

काठमाडौं– आज नवरात्रीको आठौँ दिन महालक्ष्मी, महासरस्वतीसँगै महाकालीको पूजा गरि मानइन्छ। दशैं अवधिभर दुर्गा भवानीका नौ स्वरुपहरुको पूजाआरधना गरिन्छ। महाकालीको पूजा र विधि महाकाली माताको साधना सन्यासी र तान्त्रिकहरुले पनि गर्ने गर्छन्। महाकालीको उपसनाको लागि मूर्ति वा तस्माविर स्वच्छ र पवित्र स्थानमा राख्ने र सफा (चोखो) पानीले पखालेर मूर्तिमा तिलको टिका लगाउने र फूल चढाउने गरिन्छ। १०८ पटक ऊं क्रीं कालिकायै नमः और ऊं कपालिन्यै नमः भनेर मन्त्र उच्चारण गर्नु पर्ने हुन्छ। आफ्नो श्रद्धा र भक्तिको अनुसार भोग चढाउनु सकिने धार्होमिक मान्स्यता रहिआएको छ। महाकालीको पूजाबाट तुरुन्त लाभ मिल्ने विश्वास रहँदै आएको छ। कालीको साधना र उपसनालाई निकै प्रभावशाली मानिन्छ । माता कालीपति विश्वास र श्रद्धा गर्नेको जीवन निकै सुखमय हुने विश्वास गरिन्छ ।

त्रुटिरहित पठनपाठन पद्धति अपनाउन शिक्षामन्त्रीको आग्रह

महोत्तरी– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले धार्मिक, भूगोल एवं सांस्कृतिक कारणले विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालयमा टिकाउनका लागि त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउनका लागि सरोकारवाला निकायसँगआग्रह गरेका छन् । शनिबार महोत्तरीको गौशालामा आयोजित पढाइका निरन्तरताका लागि शैक्षिक सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले बालबालिकालाई विद्यालयमा भर्ना गरेर टिकाउन, सिकाउन एवं सक्षम बनाउने किसिमको शिक्षा प्रदान गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गरे । स्थानीय त्रिभुवन माविमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले वर्तमान समयमा सामुदायिक विद्यालयमा सिकाइ केन्द्रित पद्धतिलाई समयसापेक्ष घोकाइ प्रवृत्तिलाई त्याग गर्दै नवप्रविधिले पठनपाठन गराउनुपर्ने कुरामा जोड दिए । मन्त्री पोखरेलले यसभन्दा अगाडि पहुँचको आधारमा खोलिएका विद्यालयलाई गुणको आधारमा मर्जर गरी वैज्ञानिक तवरले व्यवस्थापन गरिनुपर्ने खाँचो औँल्याए । कार्यक्रममा प्रदेशसभा सदस्य भरतप्रसाद साहले उचित भौतिक पूर्वाधारको अभावमा यहाँका विद्यालयमा भर्ना भएका विद्यार्थीलाई टिकाउनका लागि मुस्किल परेको बताए । नगरप्रमुख शिवनाथ महतोले सामुदायिक विद्यालयका शिक्षकलाई समयअनुसार तालीम प्रदान गर्नका लागि मन्त्री पोखरेलसँग आग्रह गरे । कार्यक्रममा त्रिभुवन मावि गौशाला, जनता मावि रजखोर र वीरेन्द्र मावि बेलगाछीका कक्षा १ मा भर्ना भएका ५०० विद्यार्थीलाई गैरआवासीय नेपाली सङ्घले शैक्षिक सामग्री, झोला तथा पोशाक वितरण गरेको थियो ।