सडक सुरक्षाका लागि कम्तीमा २ लेनका पूर्वाधार

काठमाडौ‌, पुष १६ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सुरक्षाका लागि सडक, पुललगायत पूर्वाधार कम्तीमा दुई लेनको बनाउन शुरु गरिएको बताएका छन् ।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा भएको ‘सडक सुरक्षा’सम्बन्धी छलफलमा उनले भौगोलिक रुपमा अप्ठ्यारो स्थानमा समेत दुई लेनकै पूर्वाधार संरचना निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री महासेठले कतै एक लेनकै बनेको भए तत्काल सच्याउन सडक विभागका महानिर्देशकलाई निर्देशन पनि दिए ।

“पैदलमार्गमा पसल र पार्किङ गर्नाले सवारी दुर्घटनामा वृद्धि भएको छ, पैदलमार्ग खाली गर्न आजै महानगरीय ट्राफिक प्रहरी महाशाखासँग बैठक बसेर व्यवस्थापन गरिनेछ, सडक ‘डिभाइडर’ का रुपमा डोरी राख्न एक हप्ताभित्र हट्छ”, उनले भने ।

चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा ‘डिभाइडर’ को व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । लामो मार्गमा दुई जना चालकको व्यवस्था गर्न, सवारी चलाउँदै मोबाइल चलाउने चालकको अनुमति पत्र (लाइसेन्स) मा प्वाल पार्न पनि मन्त्री महासेठले निर्देशन दिए ।

जापानी प्राविधिकले बिपी राजमार्ग ठूला सवारी समेत हिँड्न सक्ने गरी डिजाइन गरेकाले ३२ सिट क्षमतासम्मका सवारीलाई अनुमति दिइएको जनाइएको छ ।

समितिका सभापति कल्याणकुमारी खड्काले सवारीको सिट क्षमताभन्दा बढी यात्रु बसी दुर्घटना भएमा तिनको बीमाको व्यवस्थाका बारेमा समस्या हुने गरेको बताइन् ।

सांसद रामबहादुर विष्टले सुर्खेत–जुम्ला सडकमा धेरै दुर्घटना हुने गरेकाले सुधारमा विभागको ध्यान जानुपर्ने बताए ।

सांसद यज्ञराज सुनुवारले जथाभावी सडक निर्माण, थोत्रा सवारी, अनुभवहीन चालकका कारण बढी दुर्घटना हुने गरेको बताए । सांसद गौरीशङ्कर चौधरीले सडकका बीचबीचमा पुनर्ताजगी केन्द्रको व्यवस्था गरे दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सांसद टेकबहादुर बस्नेतले जीर्ण सडककै कारण २० वर्षको अवधिमा सल्यानमा पाँच वटा ठूला दुर्घटना भएको उल्लेख गरे । नेपालगञ्ज–सुर्खेत सडक तीन मिटर पनि नहुँदा दुर्घटना बढ्ने गरेकाले कम्तीमा दुई लेनको सडक बनाउन उनले माग गरे ।

सांसद केदार सिग्देलले सडक निर्माणका क्रममा अनुगमन कम हुँदा गुणस्तरीय काम नभई सुरक्षा चुनौती बढेको बताए । सांसद कमला रोक्काले राप्ती मार्गको स्तरोन्नति नहुँदा दुर्घटना बढेकोतर्फ सरोकार भएका निकायको ध्यानाकर्षण गराइन् ।

सांसद गणेश पहाडीले सरकारको सडक सुरक्षा रणनीतिमा सन् २०२० सम्म दुर्घटना ५० प्रतिशत कम गर्ने लक्ष्य भएपनि वार्षिक रुपमा मृत्यु हुनेको सङ्ख्या एक हजार ८०० बाट दुई हजार पुगेको तथ्याङ्क पेश गर्दै सडक सुरक्षा परीक्षण गरिनुपर्नेमा जोड दिए ।

सांसद आशाकुमारी विकले बुटवलबाट काठमाडौंसम्म बसमा रु ५०० भाडा तिरेर आउन पाएपनि कलङ्कीबाट नयाँबानेश्वरसम्मको ट्याक्सी भाडा रु ६०० तिर्नुपरेको गुनासो गरिन् । ट्याक्सी मिटरमा हिँड्न नमान्ने भएकाले भनेजति भाडा नतिरी यात्रा गर्न नपाइने उनको गुनासो थियो ।

सांसद राजेन्द्र राईले दिनभर सडकमा यात्रुको सुरक्षाका लागि खटिने ट्राफिक प्रहरीलाई तलब, भत्ता लगायत साधनस्रोत पर्याप्तमात्रामा नदिँदा उत्साह जाग्न नसकेकोतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्ने सुझाव दिए । रासस

‘महेन्द्र र विपि एक जंगलका दुई शेर’

काठमाडौं, पुष १६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणाले राजा महेन्द्र शाह र विपि कोइरालालाई एउटा जंगलका दुई शेरको संज्ञा दिएका छन् । सोमबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले महेन्द्र र विपिलाई यस्तो सज्ञा दिएका हुन् । अध्यक्ष राणाले भने, ‘२००७ सापछि नेपाली धर्तीमा दुई महान व्यक्तिहरुको उपस्थिति रह्यो, राजा महेन्द्र र विपि कोईराला, उहाँहरु एक जंगलका दुईवटा शेर हुनुहुन्थ्यो, भारत निर्वासनमा बस्नुभएका विपिले राष्ट्रियतालाई शीरमा राखेर स्वदेश फर्किनुभयो, राजसंस्थाबिनाको राष्ट्रियताले कमजोर बन्छ भन्ने उहाँको दृष्टिकोण थियो, व्यक्तिगत रुपमा महेन्द्र र विपिका बीचमा टकराव भएपनि उहाँहरु दुरदर्शी नेता हुनुहुन्थ्यो, राष्ट्र र राष्ट्रियताका बारेमा एक ठाउँमा हुनुहुन्थ्यो ।’ आज मेलमिलाप दिवस भएको उल्लेख गर्दै उनले कांग्रेसले विपिको सम्मानको लागि नेपाललाई हिन्दुराज्य कायम गर्ने प्रयास गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘हामीले ईतिहासमा मुलुकलाई योगदान पु¥याउने सम्पूर्ण वीर पुरुषहरुलाई सम्मान गर्नुपर्छ ।’

सस्तो तथा सुलभरुपमा नगर बस सेवा सञ्चालन

डोटी, पुस १६ । शिखर नगरपालिकाले नगरवासीलाई सस्तो र सुलभ रुपमा यातायात सेवा उपलब्ध गराउनका लागि नगर बस सेवा सञ्चालनमा ल्याएको छ। उक्त नगर बस सेवाको शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले शुभारम्भ गरे । नगरपालिकाले खरीद गरेको २६ सिट पास रहेको उक्त दुई वटा नगर बसले दिपायलदेखि डडेल्धुराको कोरायल खोलासम्म सेवा दिने नगर प्रमुख सीताराम जोशीले जानकारी दिए । नगरपालिकाद्वारा सञ्चालनमा ल्याइएका नगर बसमा भाडा सार्वजनिक यातायातभन्दा २५ प्रतिशत सस्तो रहेको नगरपालिकाले जनाएको छ । नयाँ सङ्घीय संरचनामा साबिकको नौवटा गाउँ विकास समिति समावेश गरेर शिखर नगरपालिका घोषणा गरिएको थियो । कूल रु ५६ लाख ६० हजारको लागतमा खरीद गरिएका नगर बसले नगरवासीलाई गुणस्तरीय सेवा दिने शिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत बिनाडीका अनुसार नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनको लागि एम्बुलेन्स खरीद गर्ने प्रक्रिया अघि बढाइएको र नगरपालिकाको खरीद नियमावलीअनुसार रु ३८ लाख ६९ हजारमा एक टिपर र ३६ लाख ९५ हजारमा पिकअप गाडी खरीद गरिएको छ । यसअघि डोटीकै दिपायल सिलगढी नगरपालिकाले सञ्चालनमा ल्याएका नगर बस सेवाबाट पनि डोटीका नगरवासी प्रत्यक्ष लाभान्वित भइरहेका छन् । रासस

सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने गिरोह सक्रिय

काठमाडौँ, पुस १६ । सामाजिक सञ्जालमा तपाईँलाई आकर्षक उपहार परेको सूचना त आएको छैन ? त्यस्तो सूचना वा जानकारीको प्रलोभनमा परेर तपाईंले त्यस्तो सूचना पठाउने व्यक्तिसँग सम्पर्क त गर्नुभएको छैन ? यदि त्यस्तो गर्नुभएको छ भने तपाईँ ठगिन पनि सक्नुहुन्छ । सामाजिक सञ्जालमा उपहार परेको, महत्वपूर्ण पार्सल आएको भन्दै सूचना पठाएर ठगी गर्ने गिरोह काठमाडौँमा सक्रिय रहेको पाइएको छ । नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी प्रलोभन देखाई ठगी गरेको अभियोगमा एक विदेशीसहित नेपाली नागरिकलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा सूचना वा जानकारी पठाई ठगी गर्ने गिरोह सक्रिय रहेको पत्ता लगाएको हो । महानगरीय अपराध महाशाखाले फेसबुक, हवाट्एप, भाइबर, इमो जस्ता सामाजिक सञ्जाल प्रयोग गरी ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक भुम्लुटार घर भई हाल काठमाडौँ पेप्सीकोला बस्ने कुसुम कायस्थ र आइभरी कोष्टका ओवोतार अलकाग्नीलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार पक्राउ परेका श्रीमान् श्रीमती हुन् । उनीहरुले सामाजिक सञ्जालका अतिरिक्त भारतीय मोबाइल नम्बरबाट फोन गरी तपाईको नाममा पार्सल पठाएको र लिन शुल्क तिर्नुपर्ने भन्दै विभिन्न व्यक्तिबाट रु १४ लाख ३४ हजार ९७२ बराबरको ठगी गरेको पाइएको छ । प्रहरीका अनुसार उनीहरुले ठगी गरेको पैसा काठमाडौँका विभिन्न रेष्टुरेन्टमा खर्च गर्ने गरेका थिए । उनीहरु श्रीमान् श्रीमतीका रुपमा काठमाडौँ पेप्सीकोलामा फ्ल्याट भाडामा लिई बस्ने गरेका थिए । महत्वपूर्ण पार्सल आएको र त्यसका लागि शुल्क तिर्नुपर्ने भन्दै उनीहरुले नेपालका विभिन्न बैंकको खाता नम्बर दिइ रकम जम्मा गर्न लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले आठ जनालाई त्यस्तै प्रलोभन देखाई ठगी गरेको पाइएको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई आइतबार पेप्सीकोलाबाट पक्राउ गरेको र ठगी मुद्दामा अनुसन्धान गरिरहेको जानकारी आज दिएको छ । सामाजिक सञ्जालमा उपहार परेको, पार्सल आएको भन्दै कुनै सूचना आए प्रहरीलाई जानकारी गराउनसमेत महाशाखाले आग्रह गरेको छ । रासस

न्यायाधीशले निरुपण गर्नुपर्ने विवाद जनप्रतिनिधिले गर्न नसक्ने

काठमाडौं, पुष १६ । सर्वोच्च अदालतमा गाउँपालिका र नगरपालिकाको उपप्रमुखबाट न्यायाधीशले गर्नुपर्ने विवाद निरुपण गर्न नसक्ने उल्लेख गर्दै रिट निवदेन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाई अधिवक्ता शिलु तिवारीले आज दायर गर्नुभएको रिट निवेदनमा न्यायिक समितिका संयोजकको न्यायाधीश बन्न कानूनबमोजिम योग्यता, क्षमता तथा स्वच्छ सुनुवाइको सिद्धान्तसमेत थाहा नभएको हुँदा वैकल्पिक उपाय खोज्न माग गरिएको छ । रिट निवेदनमा न्यायिक समितिका जनप्रतिनिधिलाई एक÷दुई दिन कानूनी तालीम दिने लिने भरमा न्यायाधीश स्वसरह भूमिका दिने गरी अत्यन्तै अदूरदर्शी र अपारदर्शी ढङ्गले नागरिकको सम्पत्ति जोखिममा पर्ने सक्ने उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएका केही व्यवस्था कार्यान्वयन नगर्न परमादेश जारी गर्न माग गर्दै वैकल्पिक उपचार खोज्न माग गरिएको छ । रासस

राजधानीमा पत्रकार आचारसंहिता डिजीटल संवाद सम्पन्न

काठमाडौँ, पुस १६ । रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारहरुले सदैव विषय र मुद्दाको आधारमा ठीकलाई ठीक र बेठीकलाई बेठीक, वस्तुनिष्ट, गुण (दोषको आधारमा छुट्टाई जनतामा सत्य कुरा पुर्याउनुपर्नेमा जोड दिए । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको संयोजनमा आइतबार राजधानीमा आयोजित पत्रकार आचारसंहिता डिजिटल संवाद कार्यक्रम उक्त कुरामा जोड दिएका हुन् । साथै उनले ठूल्ठूला आयोजनामा वस्तुनिष्ठ भन्दा कुनै सेन्टरबाट आएको हावादारी कुरालाई प्राथमिकता नदिऔं । तर, कमजोरीहरू केलाउनु, समाज विकासको क्रममा विभिन्न क्षेत्रमा परेको प्रभाव पत्रकारमा पनि परेको हुनसक्छ भन्ने धारणा राख्दै अहिले प्रणालीमा परिवर्तन, सरकारमात्र होइन, शासनसत्ता परिवर्तन भएको अवस्था रहेको प्रष्ट पारे । प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छाबिन्दु तुलाधरले पत्रकार आचारसंहिता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमा काउन्सिलको संक्षिप्त परिचय, अनुगमनको अवस्था, काम–कारबाहीबारे जानकारी, २४सै घण्टा मिडियाको अभिलेखिकरण र सोको अनुगमन, डिजिटल काउन्सिल बनाउने अभियानमा रहेको बताउँदै नुवाकोटबाट यसप्रकारको संवाद शुरू गर्ने बताए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले प्रेस काउन्सिलको गतिबिधि एवं कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए । प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणी सुवेदीले प्रेस चौतारी र प्रेस सेन्टरबीच समायोजन भई प्रेस संगठन भैसकेको अवस्था हो, जिम्मेवारी बाडफाडमात्र बाँकी रहेको बताउँदै श्रमिकमैत्री पत्रकारिता गर्नुपर्ने, श्रमिकमैत्री नभएको हो कि भन्ने आशङ्का भएको धारणा राखे । उनले भन– ‘नेपालमा जम्माजम्मी १० हजारको संख्यामा पत्रकार कृयाशील छौ होला, काठमाडौ शाखामा १४०० सय सदस्यमध्ये साधारण सभामा डेढ सयको हाराहारीमा उपस्तिथि हुनु आश्चर्यलाग्दो कुरा भएको धारणा राखे । सो कार्यक्रममा ३ नम्बर प्रदेश नीति तथा योजना आयोगका सदस्य तथा पत्रकारिता गर्दै आएका श्याम बस्नेत, वरिष्ठ पत्रकार देबेन्द्र चुडाल, लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय संजालका अध्यक्ष दामोदरप्रसाद दवाडी, प्रेस काउन्सिल सदस्य इश्वरीप्रसाद ओझा, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चिरञ्जीवी खनाल प्रेस काउन्सिल नेपालका सदस्य एवं काठमाडौ शाखाकापूर्व अध्यक्ष गोबिन्दप्रसाद चौलागाईं लगायतले पत्रकार आचारसंहिता सम्बन्धी आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रम नेपाल पत्रकार महासङ्घ काठमाडौ शाखाका अध्यक्ष शन्तराम बिडारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम नेपाल पत्रकार महासङ्घ काठमाडौ शाखाका सचिव मोहन पन्तले गरेका थिए ।

कोटेश्वर–कलङ्की सडकखण्डमा ४ पुल निर्माण हुँदै

ललितपुर, पुष १६ । कोटेश्वर कलङ्की सडकखण्डमा चारवटा पुल निर्माण गर्न थालिएको छ । सडक निर्माण सक्नु पहिले नै सडक विभागले सात वटा पुल निर्माण गर्ने तयारी भएकामा चार स्थानमा काम धमाधम भइरहेको काठमाडौं चक्रपथ सडक योजनाका इञ्जिनीयर नीरञ्जन शर्मा अर्यालले बताए । अन्य तीन स्थानमा भने ठेक्का सम्झौता भइसके पनि काम शुरु हुन बाँकी छ । पुल निर्माण गर्ने भनिएको एक स्थानमा भने अहिलेसम्म ठेक्का सम्झौता भइसकेको छैन । उनले भने, “नेपाल सरकारले निर्माण गर्ने सात स्थानमध्ये खसीबजारमा ठेक्का सम्झौता हुन बाँकी हो ।” तीन स्थानमा आकाशे पुल सडक निर्माण निर्माण कम्पनी आफैँले गर्ने सम्झौतामा उल्लेख थियो तर यो सडकखण्डका धेरै स्थानमा बाटो काट्न सजिलो नभएकाले सरकारले थप पुल निर्माण शुरु गरेको इञ्जिनीयर शर्माले बताए । सडक निर्माण तोकिएको मिति मङ्सिर मसान्तमा नै सकिएको छ । एक वर्षसम्म सडकमा कुनै पनि खालका समस्या आउँदा निर्माण कम्पनी आफैंले काम गर्ने गरी ‘मर्मत अवधि’ शुरु भएको छ ।

नागढुंगा सडकखण्डमा प्रहरीलाई घुस दिने दुई प्रकाउ

काठमाडौं, पुस १६ । नागढुङ्गाको चेक प्वाइन्टमा प्रहरीलाई घुस दिंदा दिदै दुई व्यत्ति पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाको चेक प्वाइन्टमा सवारीसाधन चेक जाँच गर्ने क्रममा बुटवल वाट काठमाडौं आउँदै गरेको घूस दिने लु.१.ख. ९४६९ नम्बरको यात्रुवाहक बसको सह–चालक रामबहादुर सुवेदी र क्रिकेट सम्वन्धी सामाग्री ल्याउने अर्घाखाँची सन्धिखर्क घर भएका जगतबहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । डियुटीमा खटिएका प्रहरी टोलीले कागजातहरु माग्दा नदेखाई प्रहरी नायव निरिक्षक विश्वनाथ त्रिपाठीलाई १५ सय घुस दिन खोज्दा उनीहरुलाई प्रकाउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले बताए । महानगरीय प्रहरी वृत्तअन्तर्गतको महानगरी प्रहरी प्रभाग नागढुङ्गामा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्दै गर्दा सामानको कागजपत्र माग्दा उक्त सवारीका सहचालकलाई १५ सय घुस दिन लगाउने जगत बहादुर क्षेत्री र सहचालक रामबहादुर सुवेदीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान प्रश्चात आवश्यक कारवाही अगाडि बढाईने प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

बस र ट्रक ठोक्किँदा १९ घाइते

चितवन, पुस १६ । नारायणगढ–मुग्लिन सडक खण्डको दासढुङ्गामा गएराति बस र ट्रक ठोक्किँदा बसमा सवार १९ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना ५ ख ८०४४ नं को बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ८५७७ नं को ट्रक जुधेका थिए । दुर्घटनामा घाइते भएकाहरुको भरतपुर कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । घाइतेमध्ये छ जनाको अवस्था केही जटिल र अन्य सामान्य रहेको प्रहरीले जनाएको छ । बसमा ३५ जना यात्रु सवार थिए । दुर्घटना राति ११.२५ बजे भएको हो । रासस

नेपालका भेटेनरी र पशुविज्ञान विषय पढाउने सबै क्याम्पस अयोग्य !

चितवन, पुस,  १६ । नेपालमा पशु चिकित्सा तथा पशुपालन शास्त्र (भेटेरिनरी एण्ड एनिमल साइन्स ) पढाउने सबै उच्च शिक्षण संस्थानहरूले मापदण्ड पूरा गर्न नसकेपछि भर्ना लिन पाएका छैनन् । नेपाल पशु चिकित्सा परिषद्ले मापदण्ड पूरा गर्न नसकेपछि ती क्याम्पसको भर्नामा रोक लगाएको हो । त्रिभुवन विश्वविद्यालयको आफ्नै आङ्गिक क्याम्पस पक्लिहवा, कपिलवस्तु, कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुर, चितवन र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएको नेपाल पोलिटेक्निक इन्स्टिच्यूट भरतपुर र हिमालयन कलेज अफ एग्रिकल्चर साइन्सेज एण्ड टेक्नोलोजी (हिकास्ट) काठमाण्डौँले मापदण्ड पूरा गर्न नसकेपछि भर्ना लिन पाएका छैनन् । नेपालमा यी तीन विश्वविद्यालयअन्तर्गत मात्रै पशु चिकित्सा पढाइ हुँदै आएको छ । हालसम्म पनि मापदण्ड पूरा नगरी अध्ययन अध्यापन हुँदै आएको थियो । परिषद्का रजिष्ट्रार डा. नारायण घिमिरेले भौतिक संरचना, जनशक्ति, विषयगत विशेषज्ञ, प्रयोगशाला मापदण्ड अनुसार कुनै पनि क्याम्पसको मापदण्ड पूरा नभएपछि भर्नामा रोक लगाइएको बताए । सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न जुन सीप सिक्ने हो त्यसको व्यावहारिक कक्षालाई प्रयोगशाला चाहिने भए पनि क्याम्पसहरूले त्यो पूरा गर्न सकेका छैनन् । परिषद्ले निर्धारण गरेको पाठ्यक्रमअनुसारको प्रयोगशाला कस्तो हुने भन्नेबारेमा सम्बन्धित क्याम्पसहरूलाई तोकिएको घिमिरेले बताए । उनले भने “विगतमा गर्छौँ–गर्छौँ भन्दै आएको भए पनि सरकारी वा निजी कुनै पनि क्याम्पसले मापदण्ड पूरा नगरेपछि भर्ना रोकेका हौँ ।” मापदण्ड पूरा नगर्नेले अब भर्ना लिन नपाउनेले उनको भनाइ थियो । परिषद्का उपाध्यक्ष एवं शिक्षा समितिका संयोजक डा. सुविस सिंहले परिषद्ले २०६२ सालमा जारी गरेको निर्देशिकाको मापदण्ड पूरा गरेर मात्रै भर्ना प्रक्रिया अगाडि बढाउन पत्राचार गरिएको बताए । शिक्षा मन्त्रालयले पनि सो विषयमा परिपत्र गरेको भन्दै उनले गुणस्तरीय जनशक्ति उत्पादनका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति र प्रयोगशाला हुनै पर्ने बताए । भर्ना लिन नपाएको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपकुलपति र भेटेरिनरी सङ्कायका डिन दुवै जना परिषद्का पूर्व पदाधिकारी एवं सदस्य हुन् । सो विश्वविद्यालयको भेटेरिनरी सङ्कायका डिन डा. शारदा थपलियाले बजेटको अभावमा आवश्यक प्रयोगशाला र पशु व्यवस्थित गर्न नसकिएको बताए । उनले एनाटोमी जस्ता विषयको प्राध्यापक नेपालमा पाउन नसकिएका कारण मापदण्ड पूरा गर्न कठिन भएको बताए । यद्यपि सीमित स्रोत साधनबाट तोकिएको मापदण्ड पूरा गर्न लागिपरेको उनले बताए । उहाँले शिक्षा मन्त्रालयसँग पूरै मापदण्ड पूरा गरी व्यवस्थित गर्न रु. दुई अर्ब ५० करोड रकम माग गरेको जानकारी दिए । निजीतर्फ पशु चिकित्सा पढाइरहेको नेपाल पोलिटेक्निक इन्स्टिच्यूट भरतपुरका प्रिन्सिपल ई. बाबुराम उपाध्यायले परिषद्ले तोकेको मापदण्ड पूरा गर्न काम भइरहेको बताए । परिषद्मा हालसम्म एक हजार १०८ पशु चिकित्सक दर्ता भएका छन् । तिनीहरू नेपालका चार क्याम्पस र विदेशी क्याम्पसहरूबाट उत्तीर्ण भएका हुन् । परिषद्ले एउटा क्याम्पसलाई ४० जना विद्यार्थी पढाउने स्वीकृत दिए पनि अन्य विभिन्न नामको कोटाबाट प्रत्येक क्याम्पसले त्योभन्दा बढी विद्यार्थी पढाउँदै आएका छन् । रासस

१० हजार नगद घुससहित खरिदार पक्राउ

काठमाडौँ, पुस १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेललाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा मुचुल्का बनाउन सेवाग्राहीसँग घुस मागेका थिए । आयोगले पोखरेललाई घुस रकमसहित कामनापा–१६ सोह्रखुट्टेको एक रेष्टुरेन्टबाट आइतबार पक्राउ गरिएको भए पनि सोमबार सार्वजनिक गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । रासस

टिपर दुर्घटनामा पाँच घाइते

चौतारा, पुस १६ । लामोसाँघु–जिरी सडकअन्तर्गत सिन्धुपाल्चोकको सिलदुङ्गास्थित २३ किलोमा सोमबार बिहान टिपर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर रहेको र घाइते सबैको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आवास निर्माणका लागि बनेपाबाट सिमेण्ट र रड लिएर दोलखाको मागा पौवा जाँदै गरेको वा४ख ८२९७ नंको टिपर सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरी चौकी मुढेको प्रहरी नायब निरीक्षक यमबहादुर बुढाथोकीले जानकारी दिए । रातको समय भएकाले चालक निदाएकाले दुर्घटना भएको र घाइते सबै दोलखा जिल्लाका भएको प्रहरीले जानकारी दिएको छ । रासस

गाडीले किचेर वृद्धको मृत्यु

मङ्गलबारे, पुस १६ । इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा सोमबार बिहान गाडीले किचेर एक जना वृद्धको मृत्यु भएको छ । लुङसुङदाङबाट इलाम जाने क्रममा गाडीले किचेर फाकफोकथुम गाउँपालिका–१ का ७२ वर्षीय सोमप्रसाद दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले बताए । सडकमा रोकेर यात्रुलाई गाडीभित्र हाल्ने क्रममा अचानक गाडीको ब्रेक फेल भएर पछि सर्दा गाडीले किचेको हो । गाडी पल्टिए पनि गाडीमा सवार कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ । चालक सन्देश पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

सुख्खा पहिरोले राजमार्ग अवरुद्ध

रसुवा, पुस १६ । पासाङलामु अन्तर्राष्ट्रिय राजमार्ग अन्तर्गतगोसाइँकुण्ड गाउँपालिका–५ खोपाङस्थित आज बिहान सुख्खा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार राजमार्ग सञ्चालन गर्न डिभिजन सडक कार्यालय नुवाकोटसँग समन्वय भइरहेको र सम्भवतः सोमबारै साँझसम्म राजमार्ग सञ्चालन गराउने प्रयास हुने छ । राजमार्ग बन्द हुँदा नियमित यात्रुबहाक बस, एम्बुलेन्स, नेपाल चीनबीच सामान आयातनिर्यात गर्ने ट्रक तथा कन्टेनरसहित सयौँको सङ्ख्यामा रोकिएको जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज नवराज खड्काले बताए । पहिरो गएको स्थान असहज भए पनि बटुवाको आवतजावत भइरहेको बताइएको छ । रासस

काङ्ग्रेसले मुलुकभर मेलमिलाप दिवस मनाउँदै

काठमाडौँ, पुस १६ । नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा काङ्ग्रेसले आज मुलुकभर आमसभा, गोष्ठी, र्याली, कोणसभा लगायतका कार्यक्रम गरी मेलमिलाप दिवस भव्यरुपमा मनाउन लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्केका थिए । गत मङ्सिर २८ देखि यही पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकमा समेत शीर्ष नेताले ४३ औँ मेलमिलाप दिवस पार्टी सङ्गठन सुदृढीकरणको नयाँ अभियानका साथ मनाउने घोषणा गरेका थिए । काङ्ग्रेसले दिवसका अवसरमा व्यापक र बृहत् कार्यक्रम गरी मनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि समेत खटाएको छ । दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्केका काङ्ग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए । तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्कनुभएका बिपीलगायत नेतालाई तत्कालीन सरकारले मेलमिलाप त परै जाओस् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा ल्याई बन्दी बनाएका थिए । राजा महेन्द्रले २०१७ सालमा नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बिपी कोइरालालगायत काङ्ग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए । नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा जानुभएका नेताहरू राष्ट्रियतामाथि खतरा आएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्किएका थिए । प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका जननायक बिपी कोइराला कुनै दल विशेषको मात्र नभई मुलुककै राजनेताका रूपमा चिनिएका छन्। राजनीतिमात्र होइन नेपाली साहित्यमा पनि छुट्टै पहिचान बनाएका बिपीका साहित्य सन्देशले समाज परिवर्तनमा ठूलो सहयोग पु¥याएको छ । नेपालमा बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सार्नुभएको दृष्टिकोण अद्यपि सान्दर्भिक र अपरिहार्य छ । काङ्ग्रेसले आज केन्द्रीय कार्यालय र सबै जिल्ला तथा विदेशस्थित जनसम्पर्क कार्यालयमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै काङ्ग्रेसले ४३ वर्षअघि अवलम्बन गरेको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ । रासस

गाडीले किचेर वृद्धको मृत्यु

मङ्गलबारे, १६ पुस (रासस) ः इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा आज बिहान गाडीले किचेर एक जना वृद्धको मृत्यु भएको छ ।  लुङसुङदाङबाट इलाम जाने क्रममा गाडीले किचेर फाकफोकथुम गाउँपालिका–१ का ७२ वर्षीय सोमप्रसाद दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले बताउनुभयो ।  सडकमा रोकेर यात्रुलाई गाडीभित्र हाल्ने क्रममा अचानक गाडीको ब्रेक फेल भएर पछि सर्दा गाडीले किचेको हो । गाडी पल्टिए पनि गाडीमा सवार कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ । चालक सन्देश पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  –––