आज – ०८ आश्विन २०७६ बुधवारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । पढाइमा बाधा आउनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्नेछ । कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । श्रमअनुसार फाइदा कमै होला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि उन्नति हुनेछ । राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले फाइदा नै पुर्याउनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज पूजा पाठमा मन जानेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । – ज्यो.प. नारायणप्रसाद दुलाल

तिम्ल्याहा छोरी जन्माएकी आमा र शिशुको सेनाको हेलिकोप्टरमार्फत उद्दार

धनगढीः दार्चुलामा तीन छोरीलाई जन्म दिएकी आमा र शिशुको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ। तीन छोरीलाई जन्म दिने जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ की २५ वर्षीया मानमती धामी र शिशुहरुलाई मंगलबार उपचारको लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको छ । आमा र नवजात शिशुको अवस्था कमजोर रहेको भन्दै उनीहरुलाई आईसियुमा राखेर उपचार गर्नुपर्ने देखिएपछि होलिकोप्टरमार्फत नेपालगञ्ज पठाईएको प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले बताए। कात्र्तिकमा प्रसुती हुनुपर्ने धामीले एक महिना अघि शिशु जन्माएकी हुन् । तीनै छोरीको तौल औसतमा कम भएपछि थप उपचारका लागि नेपालगञ्ज पठाईएको हो । सोमबार नै एयरएम्बुलेन्समार्फत सुत्केरी महिला र नवजात शिशुको उद्धार गर्ने तयारी भएपनि कागजी प्रक्रियामा ढिलाई हुँदा मंगलबार बिहान मात्र उद्धार गरिएको हो ।

कर्णालीको तिते फापर गोदाममै थन्कियो

सुर्खेतः वीरेन्द्रनगर–६ गोदामलाइनस्थित सुपथ मूल्य पसलमा सिमी र चामल किन्न आएका उपभोक्तालाई खाद्य संस्थानका कर्मचारी तिते फापरको फाइदाबारे बताउन व्यस्त हुन्छन् तर कर्मचारीले जति बुझाउन खोजे पनि उपभोक्ताको रोजाइँमा पर्दैन तिते फापर । संस्थानका अनुसार सिमी एक क्विन्टल बिक्री हुँदा तिते फापर कसैको रोजाइँमा पर्दैन । संस्थानका शाखा प्रबन्धक भीमबहादुर थापाले हालसम्म सिमी सात क्विन्टल र तिते फापर पाँच केजी बिक्री भएको जानकारी दिए । ‘तिते फापर स्वास्थ्यका लागि लाभदायक मानिन्छ, तर यहाँ यो उपभोक्ताको रोजाइँमा परेन,’ उनले भने, ‘बजारभन्दा धेरै सस्तो मूल्यमा दिँदासमेत मुस्किलले पाँच केजी तिते फापर बिक्री भएको छ ।’ संस्थानको सुर्खेत गोदाममा ८२ क्विन्टल तिते फापर थन्किएको छ । यो मधुमेह र उच्च रक्तचापका बिरामीका लागि लाभदायक मानिन्छ । संस्थानले वर्षेनि कर्णालीका हिमाली जिल्लाबाट सिमी, फापरलगायत रैथाने उत्पादन खरीद गरेर शहरी क्षेत्रमा बिक्री गर्दै आएको छ । संस्थानको सुर्खेत शाखा कार्यालयले कालीकोट, जुम्ला र मुगुबाट तिते फापर र सिमी खरीद गरेको हो । डोल्पा र हुम्लामा सडक पहुँच नहुँदा यसपटक ती जिल्लाबाट रैथाने उत्पादन खरीद गर्न नसकिएकोे संस्थानका शाखा प्रबन्धक थापाले बताए । सुपथ पसलबाट सिमी प्रतिकेजी रु १२० र तिते फापर रु ७० मा बिक्री हुने गरेको छ । ‘प्रायजसो उपभोक्ता ‘जुम्ली सिमी’ छ भन्दै आउँछन् सिमीको खपत अत्यधिक छ, दालका लागि धेरैले कर्णालीको सिमी खोज्छन्’, संस्थानका कर्मचारी लक्ष्मी अधिकारीले भने, ‘तर यता (वीरेन्द्रनगर) मा फापर खाने अझै बानी परेको छैन, त्यसले गर्दा पनि बिक्री कम भएको हुनुपर्छ ।’ संस्थानले फापर तिहारसम्म बिक्री नभए काठमाडौँ पठाउने सोच बनाएको छ । उपभोक्ताले भने तिते फापर लिए पनि दानाका लागि प्रयोग गरेका छन् । सुपथ मूल्य पसलमा भेटिनुभएका वीरेन्द्रनगर तातोपानीका लक्ष्मी रेग्मीले पिसेर पीठो बनाउन झन्झटिलो हुने हुँदा चाहेर पनि लिन नसकिएको बताए । ‘पसलमा प्याकेटमा फापरको पीठो पाइन्छ, अहिले नपिसेको फापर लिएर फेरि मिलमा जान झन्झट हुन्छ’, उनले भने । दशैँ–तिहारलाई लक्ष गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भदौ २४ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । संस्थानअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, सिमी र तितेफापर तथा साल्ट ट्रेडिङले नून–चिनी बिक्री गर्दै आएका छन् । चाडपर्वका बेला बजारमा कृतिम अभाव, कालोबजारी हुन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले पछिल्ला वर्ष सुपथ मूल्यका पसल सञ्चालन गर्ने गर्दछ । बजारमाभन्दा सुपथ मूल्य पसलबाट चामलको मूल्य प्रतिकेजी रु १० घटाइएको छ । मोटा चामल रु ३७, सोना मन्सुली चामल रु ४०, जिरा मसिनो चामल रु ५०, जापानी चामल रु ४६.५० मा बिक्री वितरण भइरहेको छ । संस्थानले प्रतिव्यक्ति सिमी छ केजी र चामल एक क्विन्टलसम्म सहुलियत दरमा बिक्री वितरण गर्दै आएको छ । त्यस्तै उक्त संस्थानले नून प्रतिकेजीमा रु दुई र चिनी प्रतिकेजी पाँच छुट दिएको जनाएको छ । सुपथ मूल्य पसलबाट प्रतिव्यक्ति छ केजीका दरले नून र चिनी बिक्री वितरण भइरहेको छ । रासस

‘हल्ला’को भरमा इन्डोनेसियामा हिंसात्मक आन्दोलनः २७ को मृत्यु

एजेन्सीः इन्डोनेसियाको पश्चिमी पपुआमा भएको पछिल्लो हिंसात्मक आन्दोलनमा मृत्यु हुनेको संख्या २७ पुगेको छ । सोमबार आन्दोलनकारीहरुले कयौं घरहरुमा आगजनी गरेका छन् । कम्तिमा पनि २३ जनाको क्षेत्रीय राजधानी वामेनामा मृत्यु भएको छ । जसमा केही आगजनी गरिएका घरभित्रै फसेको बीबीसीले जनाएको छ । उक्त आन्दोलन एकजना शिक्षकले जातीवादी प्रतिक्रिया दिएको भन्दै त्यसविरुद्ध सुरु भएको आन्दोलनले हिंसाको रुप लिएको हो । तर, प्रहरीले उक्त आरोप ‘हल्ला’ मात्र भएको बताएको छ । अगस्टदेखि नै उक्त क्षेत्र अस्थिर बनेको थियो र सोमबार हिंसाको रुप लिएको हो । घाइतेहरुको खोजी भइरहेकोले मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । त्यसैगरी अर्को एक घटनामा चारजनाको मृत्यु भएको छ । जम्मा गरी मृत्यु हुनेको संख्या २७ पुगेको हो । उक्त प्रान्तको अर्को क्षेत्र जयपुरामा विद्यार्थीको हुलले प्रहरी तथा सेनामाथि ढुंगा प्रहार गर्दा उक्त घटना भएको थियो । अगस्टमा जातिवादी प्रतिक्रिया दिएको आरोपमा सुरु भएको आन्दोलन केही दिन शान्त भए पनि फेरि आन्दोलनले हिंसात्मक मोड लिएको हो । अघिल्लो पटक भएको आन्दोलनका क्रममा नेश्नालिस्ट समूहले पपुआ विश्वविद्यालयका विद्यार्थीले इन्डोनेसियाको स्वतन्त्रता दिवसको दिन झण्डा च्यातेपछि उनीहरुलाई ‘बाँदर’, सुँगुर, र कुकुरको संज्ञा दिइएको थियो ।

कांग्रेस महामन्त्रीले भने, ‘दुई तिहाइ सरकारले माखो समेत मार्दैन’

खोटाङः नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपाको दुई तिहाइ सरकारले माखोसमेत नमार्ने टिप्पणी गरेका छन् । मंगलबार खोटाङको दिक्तेलमा आयोजित कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जनजागरण कार्यक्रम समापन तथा विरोधसभालाई सम्बोधन गर्दै महामन्त्री कोईरालाले वर्तमान सरकारले आफै विकासको कुनै पनि योजना तर्जुमा गर्न नसकेको जिकिर गरे। ‘यो काण्डै काण्डको सरकार भयो। निर्मलाहत्या काण्ड, बुढीगण्डकी काण्ड, बालुवाटारको जग्गा काण्ड। यस्ता काण्डले भरिएको सरकारलाई जनताले चिन्न पर्यो,’ महामन्त्री कोइरालाले भने, ‘यो सरकारले कुनै माखो मार्दैन। आजका मितिसम्म विकासको कुनै योजना तर्जुमा गर्न सकेको छैन। जति योजना छन्, त्यी वीपीको समयमा, शुसिलको समयमा अथवा शेरबहादुरको पालामा सुरु भएको थियो।’ महामन्त्री कोइरालाले दुई तिहाइको सरकार दम्भ पालेर ‘पानी जहाज ल्याइदिने र रेल ल्याइदिने’ भन्दै सपनै सपनामा विलाइरहेको आरोप लगाए। कोइरालाले नेपालको संविधानमाथि आक्रमण हुने खतरा देखिएकाले सबैले मिलेर बचाउनुपर्नेमा जोड दिए। करिब ९ मिनेटमै आफ्नो सम्बोधन टुंग्याएका कोइरालाले कांग्रेसलाई कसैले हराउन नसक्ने भए पनि गुट–उपगुटले कांग्रेसलाई ध्वस्त पारेको बताए। ‘कांग्रेसको विचार र इतिहास सुन्दर छ। तर, पार्टीलाई गुट–उपगुटले ध्वस्त पारेको हो,’ कोइरालाले भने, एउटाले टिकट पाए सबैले जिताउनु पर्नेमा हराउनुपर्छ भनेर लाग्छन्, अनि कहाँबाट कांग्रेसको जित हुन्छ १ तिक्तताले हामीलाई धरासायी पारेको छ।’ हालसम्म कांग्रेसले गरेका राम्रा कामको प्रचार नगरिएको उल्लेख गर्दै कोईरालाले अवका दिनमा कांग्रेसको योगदानको प्रचार गर्नुपर्नेमा जोड दिए।

नेपाली बस्ने १२ देशमा दसैं टिका लगाउने साइत सार्वजनिक

काठमाडौंः अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपाली बसोबास भएको १२ देशमा टिकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशहरुबाट दसैंको टिकाको शुभसाइतबारे जिज्ञासा आएपछि समितिले टिकाको साइत सार्वजनिक गरेको हो । समितिले हरेक देशको स्थानीय समयअनुसार टीका लगाउने साइत स्पष्ट पारेको छ ।

नाटकीय शैलीमा प्रहरीकै अपहरण, गाँजा तस्कर समात्‍न गोली प्रहार

मकवानपुरः हेटौँडाको चुरियामाई नयाँ बस्तीमा प्रहरीले गाँजा तस्करलाई गोली हानेर पक्राउ गरिएको छ । जाँच गर्न गाँजा बोकेको ट्रकमाथि चढेका प्रहरी समेतलाई लिएर भागेपछि मकवानपुर प्रहरीले तस्कर र गाँजा नियन्त्रणमा लिन दुई राउन्ड गोली प्रहार गरेको बताइएको छ । गोली प्रहारपछि एकजना गाँजा तस्कर र ट्रकमा रहेको ७८ किलो ८ सय ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंंहले बताए । पक्राउ पर्नेमा पर्सा जिल्ला विरगञ्ज महानगरपालिका–२९ का अफ्रिका चौधरी रहेका छन् । हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रक सुरक्षा जाँच गर्ने क्रममा ट्रकका चालक चौधरीले प्रहरी जवानसहित ट्रक्र भगाएका थिए । चालक चौधरी र ट्रकमा रहेका अर्का एक व्यक्तिले चुरियामाई नयाँ बस्तीमा ट्रक रोकेर प्रहरी जवानलाई लछारपछार गर्दै जंगल तर्फ लैजादै गर्दा प्रहरीले उनलाई पछ्याएको थियो । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुमार कुशवाहको नेतृत्वको टोलीले चालक चौधरीलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टामा दुई राउण्ड गोली लागेको थियो । घटनामा दुई जना प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरीक्षक सिंहले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ट्रकको क्याबिनबाट प्रहरीले १४ पोकामा रहेको ७८ किलो ८ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।

दक्षिण एसियाकै पहिलो राष्ट्रका रूपमा नेपाललाई खुल्ला दिशामुक्त घोषणा गरिँदै

काठमाडौंः नेपाललाई असोज १३ गते खुल्ला दिशामुक्त राष्ट्र घोषणा गरिने भएको छ । दक्षिण एसियाकै पहिलो राष्ट्रका रूपमा नेपाललाई खुल्ला दिशामुक्त राष्ट्र घोषणा गरिन लागिएको खानेपानी तथा सरसफाई मन्त्रालयले जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै खानेपानी मन्त्री विना मगरले असोज १३ गते विशेष समारोहका साथ नेपाललाई दक्षिण एसियामै पहिलो राष्ट्रका रूपमा खुल्ला दिशामुक्त घोषणा गर्न लागिएको जानकारी दिइन् । खुल्ला दिशामुक्त घोषणापछि पूर्ण सरसफाई अभियान सुरु गरिने उनले बताइन् । ६० लाख घरधुरीमध्ये ५६ लाख ६० हजार दुई सय १४ घरधुरीमा शौलाचय निर्माण भएको मन्त्रालयले जनाएको छ । नेपालमा खुल्ला दिशामुक्त अभियानको सुरुवात २०६८ सालमा तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले गरेका थिए भने पूर्व प्रधानमन्त्री झलनाथ खनालले कास्कीलाई पहिलो खुल्ला दिशामुक्त जिल्लाको रूपमा घोषणा गरेका थिए । २०७४ सालमा नेपाललाई खुल्ला दिशामुक्त घोषणा गर्ने सरकारको तयारी थियो । तर, २०७२ सालको भूकम्पका कारण उक्त लक्ष्य भेटाउन नसकिएको मन्त्री मगरले बताइन् । दक्षिण एसियामै पहिलो राष्ट्रको रुपमा नेपाललाई खुल्ला दिशामुक्त घोषणा गर्न लागिएकोमा मन्त्री मगरले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘सम्पूर्ण नेपाली जनता, विभिन्न संघसंस्थाको सहयोगमा नेपाल सरकारले दक्षिण एसियामै नेपाललाई पहिलो राष्ट्रको रुपमा खुल्ला दिशामुक्त गर्न लागेको छ । सबैलाई धन्यवाद दिन चाहन्छु ।’ असोज १५ गते भारतलाई खुल्ला दिशामुक्त गरिँदैछ । भारतभन्दा दुई दिन अगाडि खुल्ला दिशामुक्त गर्दै नेपाल दक्षिण एसियाकै पहिलो खुल्ला दिशामुक्त राष्ट्र बन्न लागेको हो । राष्ट्रपति, उपराष्ट्रपति वा प्रधानमन्त्री कसले नेपाललाई खुल्ला दिशामुक्त घोषणा गर्ने तय भइनसकेको खानेपानी तथा सरसफाई मन्त्रालयले जनाएको छ ।

आजदेखि सय रुपैयाँको नयाँ नोट बजारमा, कस्ता छन् विशेषता?

काठमाडौंः नेपाल राष्ट्र बैंकले नयाँ विशेषतासहितको १०० को नयाँ नोट आजदेखि चलन चल्तीमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा संकेत न ओ–१८०००००१ देखि क–३७ ९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याएको हो । राष्ट्र बैंकले नयाँ एकसहीको नयाँ नोटबारे सूचना जारी गर्दै चलन चल्तीमा आएको जानकारी गराएको हो । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, मध्ये भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लड बुद्ध अंग्रेजीमा लेखिएको छ । पहिलो पटक ३ करोड थान (३ अर्ब रुपैयाँ) का सय दरका नयाँ नोट बजारमा ल्याउने राष्ट्र बैंकले जनाएको छ ।

१२ गतेदेखि यातायात सञ्चालन गर्न रुट परमिट नचाहिने

काठमाडौंः  असोज १२ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्न रुट परमिट नचाहिने भएको छ। दसैँको लागि एकठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउन १२ देखि १९ असोजसम्म रुट परमिट खुल्ला गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। छोटो दूरीमा चलिरहेका गाडीले पनि यो अवधिमा लामो दूरीमा यात्रु ओसार्न सक्छन् । त्यस्तै, ट्राफिक व्यवस्थापनमा समस्या ल्याउने भएकोले यही अवधिसम्मको लागि काठमाडौं भित्रने मल्टी एक्सल ट्र्याक्टर टेलर (ठूला मालवाहक) लाई चितवनको नारायणगदेखि आवागमनमा रोक लगाइने हमालले बताए । विभागको यो निणर्य ठिक भएपनि अवधि निकै छोटो भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए । ‘विभागले हामीसगँ छलफल नगरी यो निणर्य गर्यो। २१ गते टिका छ। नवमीको दिन घर जाने यात्रुपनि धेरै हुन्छन्। घरबाट फर्कर्ने यात्रुको व्यवस्थापन कसरी गर्ने ?,’ उनले भने । रुट परमिट खुल्यो भन्दैमा आफ्नो र यात्रुहरुको ज्यान जोखिममा पार्नेगरि जस्तोपायो त्यस्तो पुराना बिग्रेका गाडी नचलाउन सिटौलाको आग्रह छ। रुट परमिटको दुरुपयोग नहोस् भन्ने उदेश्यले ७ दिन मात्र रुट परमिट खोलिएको र आवश्यक परेमा यसको अवधि बढाउन सकिने हमालले जानकारी दिए । ‘यात्रुको धेरै चाप हुने घर जाने बेलामा हो। आउने बेलामा त्यस्तो समस्या हुँदैन। आवश्यक पर्यो भने हामी अवधि बढाउँछौ’, उनले भने।

तिम्ल्याहा छोरी जन्माएकी मानमतीको हेलिकोप्टरबाट उद्दारपछि उपचार हुँदै

दार्चुलाः जिल्लाको नौगाड गाउँपालिका–२ ककनाडी चौखुट्टेकी २५ वर्षीया मानमती धामीले सोमबार बिहान स्वास्थ्य चौकी खारमा तिम्ल्याहा छोरी जन्माइन् । सुत्केरी हुने समय अगावै कम तौलका तीन बच्चा जन्माएपछि सुत्केरी महिलालाई सुविधा सम्पन्न अस्पताल लैजान स्वास्थ्यकर्मीले सिफारिस गरे पनि परिवारले आर्थिक अभाव देखाउँदै लैजान सकेनन् । दुर्गम क्षेत्रको विपन्न परिवारकी मानमतीको तल्लो पेट दुख्ने तथा रक्तस्राव भइरहेकाले ज्यान खतरामा थियो । जन्मिनेबेला शिशुको औषत तौल दुई किलोग्राम पाचँ सय ग्राम हुनुपर्नेमा सोमबार जन्मिएका तीनै छोरीको तौल औसतमा कमी छ । पहिलो पटक जन्मिएकी छोरीको दुई किलोग्राम र दुई छोरीको एक किलो दुइसय ग्राम मात्र तौल रहेको छ । दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा वार्मर अर्थात न्यानो गराउने मेसिन, अक्सिजन मेसिन लगायतका थप उपकरण नहुँदा उपचारका लागि बाहिर पठाउनुपरेको हो । प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले भने, ‘सुत्केरी महिला र शिशुहरुको ज्यान खतरामा रहेको खबर पाउने वित्तिक्कै गाउँपालिकालाई सिफारीस पत्र पठाउन आग्रह गरे पनि इन्टरनेट समस्याको कारण सोमबार बेलुकीमात्रै पत्र प्राप्त भयो । गाउँपालिकाको पत्र पाएपछि महिला, बालवालिका तथा सामाज कल्याण मन्त्रालय र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा महिलाको हेलिकप्टरबाट उद्दारका लागि औपचारिक अनुरोध गर्यौ ।’ दार्चुलाबाट प्रदेशसभा र प्रतिनिधिसभामा निर्वाचित सासंदहरुले समेत आफ्नो क्षेत्रबाट पहल गरेपछि महिला बालवालिका तथा सामाज कल्याण मन्त्रालयले सुत्केरीको उद्दारका लागि मंगलबार नेपाली सेनाको हेलिकोप्टर पठाएको हो । मंगलबार बिहान १० बजेर ५० मिनेट जाँदा हेलिकोप्टरबाट सुत्केरी र नवजात शिशुहरुलाई उपचारकालागि भेरी अञ्चल अस्पताल, नेपालगञ्ज पठाएर उपचार भइरहेको छ । सरकारले हिमाली र विकट क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुको जीवनरक्षाका लागि सञ्चालन गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत धामीको हेलिकोप्टरबाट उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी बिष्टले बताए । सुरक्षित प्रसूति गृहमा तीन बच्चा जन्मिएको यो नौगाडको पहिलो घटना हो । तेस्रो सन्तानको रूपमा गर्भवती बनेकी धामीले निर्धारित समयभन्दा एक महिना अगावै बच्चा जन्माएको खार स्वास्थ्य चौकीका अनमी कौशा ठगुन्नाले बताइन् । यसअघि धामीका एउटा छोर अर्को तीन वर्षकी छोरी छन् ।

प्रचण्ड र चिनियाँ विदेश विभाग प्रमुखबीच भेटर्वार्ता, के भयो कुराकानी?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र चिनियाँ विदेश विभाग प्रमुख प्रमुख सोङ ताओले आज बिहान भेटवार्ता गरेका छन्। राजधानीस्थित होटल मेरियटमा भएको भेटमा दुवै देशका कम्युनिस्ट पार्टीका गतिविधिबारे कुराकानी भएका थियो। प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको सहयोग र सद्भावले नेपालमा राम्रो प्रभाव परेको बताए। उनले दुई कम्युनिस्ट पार्टीबीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने बताए। उनले भने– ‘नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिस्टको सहयोग आगामी दिनमा अझ बढ्ने मैले विश्वास लिएको छु।’ विदेश विभाग प्रमुख ताओले दुवै पार्टीका अनुभव साटासाट गर्ने कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका थिए। कम्युनिस्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको बताउँदै यसलाई अझै मजबुत बनाउनुपर्नेमा उनको जोड थियो। ‘देशको आर्थिक विकास मुख्य कुरा हो’, ता‌ओको भनाई थियो, ‘विकास गरेर नै जनताको मन जित्न सकिन्छ।’

राष्ट्र बैंकले जलायो ५ खर्ब बराबरका पुराना नोट

काठमाडौंः नेपाल राष्ट्र बैंकले ठूलो परिणाममा नोट जलाएको छ । राष्ट्र बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६२४ रुपैयाँ पुराना तथा झुत्रा नोट जलाएको हो । आर्थिक बर्ष २०७५–०७६ सम्ममा पुराना भएर जलाउने क्रम बढिरहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । राष्ट्र बैङ्कले सर्वसाधारण, बैङ्क तथा वित्तीय संस्थाहरूबाट संकलन गरेका १ हजार, ५००, १००, ५०, २०, १० र ५ दरका पुराना, झुत्रा तथा मैला कागजी नोटहरु नष्ट गरेको हो । हजारका ५ करोड ३२ लाख ३२ हजार ३८ थान, ५ सयको ३ करोड १६ लाख ४ हजार २ सय ४० थान, २५० रुपैयाँको ३१ थान, सय रुपैयाँको चार करोड १४ लाख ६३ हजार ३ सय ७४ थान, ५० को ४ करोड ५० लाख ४४ हजार ४३ थान नोट नष्ट गरेको हो ।

दशैंमा मासुको अभाव नहुने पशुपक्षी विभागको दाबी

काठमाडौं । यस वर्षको दशैँमा उपत्यकाभित्र मासुको अभाव हुन्छ भन्ने समाचारमा कुनै सत्यता नरहेको पशुपक्षी विभागले जनाएको छ । केही दिनदेखि केही सञ्चार संस्थाले दशैमा मासुको अभाव हुन्छ भन्ने समाचार प्रकाशन तथा प्रसारण गरेपछि पछिल्लोपटक विभागले सो प्रतिक्रिया दिएको हो । उपत्यकामा झण्डै ३५ देखि ४० लाख मानिसको बसोबास रहेको अनुमान छ । नागढुङ्गा प्रहरी चेकपोष्टले दशैमा झण्डै २० देखि २५ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेको छ भने विदेशबाट स्वदेश आउने अधिकांश मानिस गाउँनै फर्किने गर्छन् । उपत्यका ट्राफिक प्रहरीका अनुसार गत वर्षको दशैँमा २५ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए । दशैँको अष्टमीदेखि दशमीसम्म तीन दिन उपत्यकामा मासुको धेरै माग र खपत हुने गर्छ । जसका लागि मासुको अभाव हुन नदिन पशुपक्षी विभागले आयातमा प्रतिबन्ध नलगाएको तर विदेशबाट आयातीत पशुपक्षीको अनिवार्य पशु क्वारेन्टाइन जाँच पास हुनुपर्ने व्यवस्था रहेको पशुपक्षी विभागका महानिर्देशक वंशी शर्माले राससलाई बताए । पशुपक्षीविज्ञका अनुसार चौपाया तथा पक्षीलाई यातनापूर्वक ओसारपसार गर्न नपाइने कानूनी प्रावधान रहेको छ । पशु क्वारेन्टाइन जाँच पास गर्ने निकाय सिन्धुपाल्चोकको तातोपानी, रसुवाको टिमुरे, चितवनको रामनगर, काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागढुङ्गा, शाखु, फर्पिङ, सामाखुशी, टोखालगायतका स्थानमा छन् । पशुपक्षी वा पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा कुनै रोग छ÷छैन, यकिन गर्न स्थापना गरिएको निकाय हो, पशु क्वारेन्टाइन । यातनापूर्वक पशुपक्षीको ढुवानी गर्ने कार्य ‘पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५’ विपरीत हुन्छ । पशु विकास अधिकृत डा. श्रीराम अधिकारीले यातनापूर्वक ओसारपसार गरिएका पशुपक्षीको मासु स्वस्थ्यका लागि अस्वस्थकर हुने बताए । पशुपक्षीको ढुवानी गर्दा नाकमा डोरी लगाउने, पुच्छर वा खुट्टा बाँध्ने, क्षमताभन्दा बढी राख्ने, हावादार साधनको प्रयोग नगर्ने, यात्रुबाहक बसको डिकीमा राख्ने, ढुवानीका साधनमा उपचार बक्स नराख्ने, बीचबीचमा खाना वा पानीको व्यवस्था नगर्ने, साना र ठूला पशु एकै ठाउँमा राखी ओसारपसार गर्ने कार्य पशुपक्षीका लागि यातना दिएको बुझ्नुपर्ने ऐनमा उल्लेख छ । पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५, ले रोगी घाइते वा मरेका पशुलाई व्यावसायिक प्रयोजनका लागि ढुवानी गर्न नपाइने किटान गरेको छ तर, त्यस्तो कार्य ढुवानी मापदण्ड, २०६४ अनुसार पशुपक्षीलाई यात्रुबाहक सार्वजनिक सवारीका साधनको छत वा डिक्कीमा राख्न नहुने र मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले रोगी पशुको ढुवानी गरेको प्रमाणित भएमा दश वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना तोकेको छ । दशैँमा मानिसले मीठा परिकारका रुपमा मासु खाने आदतको सट्टामा दही, दूध, पनिर, खिर, मिठाई, कुराउनी, गुदपाक, पुष्टकारी, च्याउ तथा माछा पनि खाने गर्छन् । पशुसेवा विभागको तथ्याङ्कमा यस वर्ष उपत्यकामा छ लाख र उपत्यका बाहिर २७ लाख खसीबोका खपत हुने अनुमान छ । खसीबोकाबाहेक, कुखुरा नौ लाख, राँगा १५ लाख केजी आवश्यक पर्छ । उत्पादनका हिसाबले राँगा एक लाख ७६ हजार, कुखुरा ५५ हजार मेट्रिक टन मासुका लागि तयारी अवस्थामा रहेको विभागले जनाएको छ भने त्यसको अतिरिक्त खाद्य संस्थानले दुई हजार र निजी व्यवसायीले छ हजार भेँडा च्याङ्ग्रा ल्याउने भएका छन् ।

२ दिनमा २० हजारले लिए अग्रिम टिकट, दसैंमा उपत्यकाबाट २५ लाख यात्रु बाहिरिने

काठमाडौंः दसैं, तिहार तथा छठका लागि घर जान नयाँ बसपार्कबाट २० हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । आइतबारबाट टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा २० हजार यात्रुले अग्रिम टिकट लिएका हुन् । यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गत भदौ २६ गते भएको निर्णयअनुसार यही असोज ५ गतेदेखि लामो दूरीका सवारी साधनका लागि अग्रीम टिकट बुकिङ खुला गरिएको हो । नयाँ बसपार्कको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले लामो दूरीका सवारीसाधनलाई मात्र अग्रिम टिकट खुलाइएकामा आइतबार १४ हजार र सोमबार छ हजार यात्रुले अग्रिम टिकट लिएका जानकारी दिए । पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङलगायत क्षेत्रमा जाने सवारीसाधनका लागि भने असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने महाप्रबन्धक कुँवरले बताए । टिकट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म वितरण गर्ने गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले दशैँ मान्न घर जाने यात्रुलाई ध्यानमा राखेर यातायातको राम्रो व्यवस्था मिलाएको बताए । ‘दसैंमा झण्डै २५ लाख हाराहारीमा यात्रु उपत्यका बाहिरिने भएकाले हामीले सवारीसाधनको राम्रो व्यवस्था मिलाएका छौँ,’ उनले भने ।

कीर्ते गरेको आरोपमा पूर्वसांसदसँगै सीडीई जेल चलान

सप्तरी । कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत जेल चलान भएका छन् । उच्च अदालत जनकपुर राजविराज इजलाशले भदौ ३० गते थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न दिएको आदेशअनुसार सोमबार अदालतमा हाजिर भएका गोइतलाई राजविराज कारागारमा थुनामा पठाएको अदालतले जनाएको छ । जिल्ला अदालतले गत जेठ ६ गते उनलाई रु चार लाख धरौटीमा पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो । जिल्ला अदालतको बेरितको आदेश बदर गर्दै गोइतले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । उच्च अदालत जनकपुर राजविराज इजलाशले उनलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश गर्यो । सोही मुद्दामा पूर्वसांसद तथा राजपा नेपालका केन्द्रीय सदस्य बिपी यादव भनिने विश्वनाथप्रसाद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डल कारागारमा थुनामा छन् । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका तथा छिन्नमस्ता गाउँपालिकामा प्रदेश नं २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सञ्चालित सडक निर्माण योजनाका लागि कीर्ते गरी उपभोक्ता समिति बनाएको तथा सरकारी कार्यालयको कागजात कीर्ते गरेको अभियोगमा यादव र मण्डल गत वैशाख ५ गते पक्राउ परेका थिए । पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजनल इञ्जिनीयर रहेका बेला गोइतले राजपा नेपालका केन्द्रीय सदस्य एवं पूर्वसांसद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य मण्डलसँग मिलेर सरकारी कार्यालयको कागजात कीर्ते गरी भ्रष्टाचार गरेको अभियोग छ । अनलाइन खबरबाट