बसको टिकट लिन बिहान ३ बजेदेखि लाइन
काठमाडौंः दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो लागेको छ ।
दसैं मनाउन समयमै घर जाने उद्देश्यसाथ सर्वसाधारण एकैपटक बसपार्क पुगेपछि घुइँचो लागेको हो ।
दसैंका लागि टिकट बुकिङ गर्न बस काउन्टरमा सर्वसाधारण बिहान ३ बजेदेखि नै लाइनमा बसेका थिए ।
दसैंमा घर जान बसको टिकट नपाउने हो कि भनेर पहिलो दिन सर्वसाधारण बिहानैदेखि लाइनमा बस्न आएका हुन् ।
आइतबार टिकट काउन्टरमा एकैचोटि सर्वसाधारण ओइरिएपछि एक घण्टासम्म लाइनमा बस्नुपरेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पहिलो दिन भएकाले सर्वसाधारणको घुइँचो लागे पनि टिकट नपाइने हो कि भनेर अत्तालिनुपर्ने अवस्था नभएको बताए ।
नायिका केकी अधिकारी चढेको गाडी दुर्घटना
काठमाडौंः नायिका केकी अधिकारी लगायतका कलाकार चढेको गाडी दुर्घटना भएको छ। आइतबार काठमाडौंबाट सामाजिक गीतको लागि छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कार्पियो रौतहटको कटहरियामा दुर्घटना भएको हो। तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि बिहान ४ बजे दुर्घटनामा परेको थियो। गाड बाटोबाट करिब ६ फिट तल खसेको बताइएको छ। उक्त गाडीमा नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी, फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत सवार थिए। उनीहरु मध्ये केहि समान्य घाइते भएका छन्। दुर्घटनामा परेको गाडीमा ठुलो क्षति भएपनि छायाँकनको लागि लगिएको क्यामरा लगायतका उपकरणहरु सुरक्षित रहेकोे कलाकार यादवले बताए। कटहरियामा सामान्य उपचार गराएपछि कलाकारहरु अहिले रेस्टमा रहेका छन्। सामाजिक सचेतना जगाउने गीत ‘घुङटामे कबले तु रहबु अधिकार अपन माङ हे बहुरिया’ लगायत ४ वटा बजिक्का भाषाका सचेतना गितको छायाँकनका लागि उनीहरु त्यहाँ पुगेका थिए।
मापसे गराइ अर्धचेत अवस्थामा युवतीमाथि सामूहिक बलात्कार !
मोरङः ग्रामथान गाउँपालिका– ७ मा १७ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई प्रक्राउ गरेको हो । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका– ५ वस्ने २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल पुरी, बेलबारी ५ बस्दै आएका २२ वर्षीय सन्तोषकुमार माझी र २२ वर्षकै प्रकाशकुमार थारु रहेका छन् । उनीहरुले शनिबार राति ग्रामथान ७ स्थित बिचारी खनालको केराबारीमा किशोरीमाथि सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार युवकहरुले किशोरीलाई मदिरा सेवन गराइ करणी गरेका थिए । प्रहरी उपरीक्षक अधिकारी भने, ‘शनिबार साँझ प्रकाशसँग मापसे गरेकी किशोरीलाई अर्धचेत अवस्थामा करणी भएको हो । योजनावद्ध रुपमा मापसे गराइ करणी गरेको खुलेको छ । घटनामा संलग्न चारैजना किशोरीसँग चिनजान भएका व्यक्ति हुन् ।’ घटनामा संलग्न चारै जनालाई प्रहरीले शनिबार राति नै पक्राउ गरेको थियो । पक्राउ परेकाहरुमाथि जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु भएको छ ।
महँगिने भयो दशैँ, प्याजमा मात्रै १६० प्रतिशत मूल्यवृद्धि
काठमाडौँ, बजारमा अन्य तरकारीसँगै प्याजको मूल्यमा यस एक महिना यता दोब्बरले वृद्धि भएको छ । काठमाडौँमा एक महिना अघि प्रतिकिलो ६५ रुपैयाँ रहेको सुकेको प्याजको औसत मूल्य आइतबार प्रतिकिलो औसतमा १२५ रुपैयाँ रहेको छ । प्याजको मूल्यमा नाटकीय वृद्धि भने दुई हप्ता यता मात्रै भएको पाइन्छ । दुई हप्ता अघि काठमाडौँमा प्याजको खुद्रा मुल्य औसतमा प्रति किलो ६३ रुपैयाँ थियो जुन त्यसको ठीक एक हप्ता पछि बढेर ८८ रुपैयाँ भएको थियो । त्यस यता दिनहुँ जसो प्याजको मुल्यमा निरन्तर वृद्धि भैरहेको छ । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको दैनिक अपडेट अनुसार भदौ २९ गते प्रति किलो ८८ रुपैयाँ रहेको प्याजको मूल्य ३० गते ९३ रुपैयाँ र ३१ गते ९८ रुपैयाँ पुगेको थियो । असोज एक गते स्थिर रहेको मुल्य दुई गते १०५ रुपैयाँ पुगेको थियो भने तीन गते एक सय १५ रुपैयाँ र चार गते एक सय २५ पुगेको थियो । भारतमा पनि उस्तै उता नेपालमा सबै भन्दा बढी प्याज आपूर्ति गर्ने गरेको भारतमा पनि दुई साता यता प्याजको खुद्रा मूल्य बढेर ७० देखि ८० रुपैयाँ प्रतिकिलो पुगेको छ । यो नेपाली मुद्रामा एक सय १२ रुपैया देखि एक सय २८ रुपैयाँ हो । व्यापारीहरूले चाडबाडलाई लक्षित गर्दै प्याजको मुल्य बढाएपाची भारतको संघीय सरकारले व्यापारीहरूको प्याज भण्डारण क्षमतामाथि अंकुश लगाउने कुरामा विचार गरिरहेको अमर उजालाले जनाएको छ । भारतमा प्याज उत्पादक राज्यहरूमा भारि वर्षा भएकाले यसले प्याज उत्पादन र आपूर्ति प्रभावित भएको समाचार अमर उजालाले प्रकाशित गरेको छ । भारतमा गत हप्तामात्रै प्याजको खुद्रा मूल्य ५० देखि ६० रुपैयाँ (नेरु ८० देखि ९६) रहेको थियो । प्राप्त समाचारमा दुई-तीन दिनमा मूल्य नियन्त्रणमा नआए व्यापारीहरूले प्याज भण्डारण कतिसम्म गर्न पाउने भन्ने कुरामा सरकारले कडाईका साथ सीमा तोक्न सक्ने सरकारसम्बद्ध सूत्रहरूलाई उद्धृत गर्दै अमर उजालाले लेखेको छ । भारतका प्रमुख प्याज उत्पादक राज्य महाराष्ट्र, कर्नाटक, आन्ध्र प्रदेश, गुजरात, पूर्वी राजस्थान र पश्चिमी मध्य प्रदेशमा गत दुई दिन यता भीषण वर्षा भएको छ । यसले हाल खेतमा रहेको प्याजको उत्पादकत्व प्रभावित हुने आकलन गरिएको छ । नेपालमा भने चाडबाडमा प्याज लगायतका तरकारीको मूल्य बढ्नु असामान्य नमानिने भए पनि गतवर्ष भने आजको दिन प्याजको मूल्य ४८ रुपैयाँ प्रति केजी रहेको थियो । यसरी तुलना गर्दा यसको मुल्यमा एक वर्षमा एक सय ६० प्रतिशत बढेको छ ।
मन्त्री अर्यालको आग्रहः ‘कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजना दिनुस्’
भक्तपुरः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर सहि रूपमा जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरेकी छिन् । राष्ट्रिय सहकारी महासंघ लिमिटेडले मन्त्रालयको सहयोगमा ‘प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी’ विषयमा आयोजना गरेको दुई दिने प्रादेशिक गोष्ठीलाई आज (आइतबार) भक्तपुरमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । मन्त्री अर्यालले खासगरी योगना बाँडफाँडका क्रममा हुनेगरेका बेथितिलाई इङ्गित गर्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सहि रूपमा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गरिन् । ‘योजना माग्न आउदाखेरि कागज बनाएर ल्याउनेलाई मात्र योजना नदिनुस् । काम गर्नेले पाउँदैन । कागज बनाउनेले पाउँछ । कागज बनाउनेले पाउछ नीजि स्वार्थमा प्रयोग गर्छ । सबै जनतालाई समेटेर काम गर्नेले योजना पाउदै पाउँदैन । किनकी उसको नेतासँग पहुँचै छैन । र उ दिनदिनै आउन पनि भ्याउदैन । अनि भेट्न पनि सक्दैन’, मन्त्री अर्यालले भनिन् । त्यसकारण अब योजना बाँडफाँड गर्दा यस्ता कुरालाई पनि ध्यान दिन मन्त्री अर्यालले आग्रह गरिन् । उनले भने, ‘कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजनाका काम दिनुस । अब हामीले कागज मिलाउनेलाई होइन काम गर्नेलाई भन्ने हिसाबले केही न केही हिजो भन्दा फरक हुनेगरी हामी अगाडी बढौं ।’ जनताको अपेक्षा यही पनि यही भएको भन्दै उहाँले अहिले सरकार ठिक स्प्रिटमा अगाडि बढिरहेको बताइन् । तर अहिलेपनि निराशा बढाउने कोशिस गरिएपनि निराशा हुनपर्ने कारण भने नभएको उनको भनाइ थियो । नेपाली जनताले लामो संघर्षपश्चात् प्राप्त गरेको गणतन्त्र सबैले कुशलतापूर्वक काम गरेर जनताको मन जित्न सकियो भने सफल हुने भन्दै मन्त्री अर्यालले राम्रोढंगले काम गर्न नसकेमा, जनताको मन जित्न नसेकामा जनतामा आशंका/अविश्वास खडा हुने र गणतन्त्र पनि जोगाउन कठिन हुने बताए । स्थानीय, प्रदेश तथा संघ सबैतिर कम्युनिष्टको बहुमत आउने कुरा कसैले कल्पना गरेको कुरा नरहेको अवस्थामा नेपालले सबैतिर बहुमत ल्याउदा अन्तराष्ट्रिय जगत पनि अचम्मित भएको भन्दै उनले दुनिया कसैले कल्पना नगरेको कुरा नेपालले व्यवहारबाट देखाइदिएको बताए । त्यसकारण अब गणतन्त्रलाई सफल बनाउने भनेको काम गरेर नै सफल बनाउनुपर्ने बताइन् । हिजोको परम्परावादी शैलीले अब कुनैपनि काम चल्न नसक्ने भन्दै मन्त्री अर्यालले हिजोकै मान्यता, सोच, काम गर्ने शैलीबाट पार नलाग्ने दाबी गरिन् । यी कुरामा सबै जनप्रतिनिधिहरू सचेत हुँदै मसिनो ढंगले, सिर्जनशील ढंगले जनताको घरदैलोमा लाभान्वित हुने खालको काम गर्न मन्त्री अर्यालले स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरिन् । एक वर्षको अवधीमा संघियतालाई कुशलतापुर्वक कार्यान्वयन गर्न सफल भएको भन्दै उनले यो सरकारले नेपालमा एक वर्षमा कुशलतापूर्वक संघियता कार्यान्वयन गर्न सकेर विश्वमै आश्चर्जनक काम गर्न सफल भएको बताइन् । अब विकासका निम्ती हिजोका नमिलेका पुराना कानुनहरूलाई संशोधन गर्दै जानुपर्ने भन्दै अहिलेको कानुन भनेको आजको आवश्यकतालाई समाधान गर्ने खालको हुनुपर्ने बताइन् । त्यसैअनुसार अहिले त्यो खालका कानुन निर्माणमा सरकारले फड्को मारेर अगाडी बढेको समेत मन्त्री अर्यालको भनाइ थियो । हिजोको दुई वर्ष अगाडीको स्थानीय पालिका र अहिलेको स्थानीय पालिकामा निकै भिन्नता आएको भन्दै उनले अब बिकासका निम्ती योजनाबद्ध तरिकाले स्थानीय पालिकामा जाने हो भने धेरै काम गर्न सकिने अपेक्षा राखिन् ।
टीकापुर घटनाका सबै झुटा मुद्दा फिर्ता लिने सहमति भइसक्यो, रेशमसहित सबै रिहा हुन्छन्ः प्रचण्ड (भिडियो)
काठमाडौंः नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनामा सबै झुटा मुद्दा फिर्ता लिने सहमति भइसकेको खुलासा गरेका छन् । उनले त्यस विषयमा सैद्धान्तिक सहमति भइसकेको र मुद्दा खारेजीको प्रक्रियासमेत अगाडि बढेको जानकारी दिए । सुनसरीमा आइतबार आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘कार्यक्रममा टीकापुर घटनाको सन्दर्भ आयो । टीकापुर घटनामा जे भएको छ, अस्ति भर्खरै हामीले बालुवाटारमा यो विषयमा छलफल गरेर सबै झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर सैद्धान्तिक सहमति गरेका छौं । सबै मुद्दा खारेज भएर थारु बन्दी रिहा हुन्छन् भन्ने विश्वास म यहाँहरुलाई दिलाउन चाहन्छु ।’ टीकापुर घटनाको योजनाकारको आरोपमा जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनाएका सांसद रेशम चौधरीतर्फ संकेत गर्दै प्रचण्डले भने, ‘जनताको मतबाट जितेका माननीयहरूलाई ससम्मान बाहिर ल्याउने वातावरण हुन्छ भन्नेमा म विश्वस्त छु ।’ चौधरीले भूमिगत अवस्थामै कैलाली–१ बाट प्रतिनिधिसभा चुनावमा जितेका थिए । चुनाव जितेपछि आत्मसमर्पण गरेका चौधरीले जेलमै रहेको अवस्थामा सांसदको सपथ खाए पनि अदालतले जन्मकैदको फौसला गरेको थियो । २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो। पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यष प्रचण्डले संविधानका संशोधनका लागि सबैमा आग्रह गरे । उनले थारुको संवैधानिक अधिकार सुनिश्चित गर्ने प्रक्रिया अगाडि बढेको बताए । नकरात्मक कुरा फैलाउने केही तत्वहरू सक्रिय भएको भन्दै प्रचण्डले लोकतन्त्रणका विरुद्ध धावा बोल्नेलाई स्वतन्त्रता दिन नसकिने भन्दै चेतावनी दिए ।
पहिलोपटक एशिया क्षेत्रीय बाख्रा विज्ञको सम्मेलन हुँदै
काठमाडौंः चितवनमा पहिलोपटक एशिया क्षेत्रीय बाख्रा विज्ञको सम्मेलन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा कात्तिक ३ देखि २३ गतेसम्म उक्त सम्मेलन हुन लागेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय, रामपुर, चितवनको मूल आयोजनामा उक्त सम्मेलन हुने भएको हो । विश्वविद्यालयले यसअघि सन् २०१७ मा अन्तरराष्ट्रिय भैँसीविज्ञको सम्मेलन र २०१८ मा अन्तरराष्ट्रिय पोल्ट्री सम्मेलनको आयोजना गरिसकेको छ । इन्टरनेशनल गोट एशोसिएसन, अमेरिकासँगको सहकार्य तथा नेपाल सरकार, पशुपक्षी विकास मन्त्रालय, पशु सेवा विभाग, हेफर इन्टरनेशनल नेपाल, नेपाल कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, मिचिगन स्टेट युनिभर्सिटी, अमेरिका र भारतीय कृषि अनुसन्धान परिषद्अन्तर्गत केन्द्रीय बाख्रा अनुसन्धान संस्थाको सहआयोजनामा सम्मेलन हुन लागेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका कार्यवाहक उपकूलपति प्रा. डा. शारदा थपलियाले जानकारी दिए । सम्मेलनमा अमेरिकाबाट इन्टरनेशनल गोट एशोसिएसनका अध्यक्ष डा. बेथ मिलर, उपाध्यक्ष लुसिया सेपे, आगामी वर्ष हंगेरीमा सम्पन्न हुन गइरहेको अन्तरराष्ट्रिय बाख्राविज्ञको सम्मेलन–२०२० आयोजक समितिका अध्यक्ष डा. सान्डोर कुकोभिक्स, चीनको हेबेई कृषि विश्वविद्यालय, पशु विज्ञान तथा प्रविधि कलेजका डीन प्रा.डा. यिङ्जी झाङ्ग जापानस्थित मिजो विश्वविद्यालयका प्राडा योशिहाकी हायासीलगायत विश्वका ख्यातिप्राप्त शैक्षिक तथा अनुसन्धान प्रतिष्ठानका विशिष्ट वैज्ञानिक, प्राज्ञ र विद्यार्थीसहित १५ देशका ३०० व्यक्ति सम्मेलनमा सहभागी हुनेछन् । बाख्राको उत्पादन, उत्पादकत्व एवं गुणस्तर वृद्धिका लागि विविध प्रविधियुक्त आधुनिक खोजमूलक जानकारीको सम्प्रेषण गर्ने, राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा कार्यरत वैज्ञानिक, अनुसन्धान निकाय, विश्वविद्यालय एवं सरकारी र गैर सरकारी सङ्घसंस्थाका बीचमा बृहत् सञ्जाल र सहकार्य गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरलाई भविष्यमा वैज्ञानिक बाख्रापालनको नमूना राष्ट्रिय अनुसन्धान तथा स्रोत केन्द्र बनाउने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको हो । ‘विकासशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने मूल नाराका साथ सम्पन्न हुने सो सम्मेलनमा हालसम्म नेपाल, भारत, पाकिस्तान, क्युवा, संयुक्त राज्य अमेरिका, क्यानाडा, इटाली, जापान, हङ्गेरी, चीन, इण्डोनेसिया, बङ्गलादेश, फ्रान्स, केन्यालगायत १४ देशका बाख्रा विज्ञको उपस्थिति हुने भएको छ । सम्मेलनमा खाद्य तथा पोषणको स्रोत बाख्रा, बाख्रा उत्पादनको नीति, सामाजिक आर्थिक तथा मूल्य शृङ्खला विकास, बाख्राको आहार, पोषण तथा बासस्थान व्यवस्थापन, आनुवंशिक प्रजनन तथा जैविक प्रविधि व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण, बाख्राजन्य उत्पादनको प्रशोधन प्रविधि विकाससम्बन्धी क्षेत्रलाई समेटेर तीन वटा विशेषज्ञ कार्यपत्र, १४ वटा आमन्त्रित मुख्य विषयवस्तु समेटिएको कार्यपत्र प्रस्तुत गरिने भएको छ । ग्रामीण जनता, भूमिहीन, सुकुम्बासी, सिमान्तकृत समुदाय, र साना किसानको अर्थतन्त्र, जीविकोपार्जन र पारिवारिक पोषणमा बाख्रापालनले महत्वपूर्ण भूमिका खेलेको छ । नेपालको कूल मासु उत्पादनमा बाख्राको हिस्सा झण्डै २० प्रतिशत छ । पशुपक्षी विभागको तथ्याङ्कमा नेपालमा बाख्रा, खसी र बोकाको सङ्ख्या लगभग एक करोड १६ लाख रहेको अनुमान छ । विश्वमा करीब ३५१ जातका बाख्रामध्ये एशिया महादेशमा मात्र १४६ जातका बाख्रामध्ये नेपालमा जम्मा चारथरिका रैथाने जातका बाख्रा पाइन्छन् । विश्वका कूल बाख्राको सङ्ख्याको करीब ९२ दशमलव पाँच प्रतिशत र अफ्रिका महादेशमा मात्र रहेको पाइन्छ । विश्वव्यापी बाख्रापालनको तथ्याङ्क हेर्दा सङ्ख्याका आधारमा विश्वमा नेपाल १०औँ स्थानमा रहेको छ । चीन र भारत पहिलो र दोस्रो स्थानमा छन् । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको आर्थिक वर्ष २०७४÷७५ को तथ्याङ्कअनुसार नेपालले भारत मलेसिया, इटाली, फ्रान्स, अष्टे«लिया, पोल्याण्ड, जर्मनीलगायतका मुलुकबाट करीब रु पाँच अर्ब बराबरको जिउँदा बाख्रा र मासु आयात गरेको थियो । त्यसमा रु तीन अर्ब २९ करोडको जिउँदो बाख्रा रु १८ करोडको मासु र रु एक अर्ब ८३ करोडको माछा आयात गरेको थियो ।
अब हजारको नोटमा नेपाली जुम्ल्याहा हात्ती
काठमाडौंः अहिले एउटा मात्रै हात्तीको तस्वीर अंकित एक हजारको नोट प्रचलनमा छ। तर, अब भने अब एक हजारको नोटमा एक जोर हात्ती हुने भएका छन्। राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीका अनुसार चितवनका जुम्ल्याहा हात्ती राम लक्ष्मणको तस्वीर अंकित नोटको डिजाइन तयार भइसकेको छ । सो डिजाइन अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ। नोट छपाइका लागि गरिएको ग्लोबल टेन्डर आह्वानबाट चिनियाँ कम्पनीले जिम्मा पाइसकेको सिवाकोटीले बताए। ‘टेन्डरको जिम्मा चिनियाँ कम्पनीले पाइसकेको छ, अब ३र४ दिनमै सो कम्पनीसँग नोट छपाइको सम्झौता हुनेछ,’ उनले भने। नोट छपाइको सम्झौता भएको करिब १ वर्षमा नयाँ नोट प्रचलनमा आउने गरेको उनले बताए। ‘अर्को दसैंमा जुम्ल्याहा हात्ती भएको नोट प्रचलनमा आउन सक्नेछ’ उनले भने। हाल रहेको हात्ती विदेशी भएको भन्दै कतिपयले आलोचना गरेपछि राष्ट्र बैंकले स्वदेशकै हात्ती अंकित हुनेगरी नयाँ नोट छपाइ गर्ने भएको हो। चितवन राष्ट्रिय निकुन्जमा भएका राम–लक्ष्मण ८ वर्षका भए। हाल छपाईको जिम्मा दिन थालिएको हजारको नोट छाप्दा प्रतिनोट ३ रुपैयाँ ३७ पैसा खर्च लाग्ने भएको प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए। उनका अनुसार ३१ करोड थान नोट छपाईका लागि चिनियाँ कम्पनीले जिम्मा पाएको हो। आगामी दसैँअघि नै नोट चलनचल्तीमा आउने उनले बताए।
४ किलो अफिमसहित तीन जना पक्राउ
नेपालगञ्जः नेपालगञ्जमा ४ किलो अफिमसहित तीन जना पक्राउ परेका छन् । नेपालगञ्ज–४ स्थित एक होटलबाट प्रहरीले चार किलो अफिमसहित तीन जनालाई पक्राउ गरेको हो । होटलमा लागु औषध अफिमको कारोबार भइरहेको सूचनाका आधारमा छापा मार्दा दाङका ढुकु रोका, बर्दियाका बालकृष्ण थापा र डम्बर थापालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । बाँकेका प्रहरी प्रवक्ता शिव सिंहले अफिम कहाँबाट कसरी आयो भन्नेबारे अनुसन्धान भइरहेको बताए ।
केयुकेएलद्वारा पानी वितरणको तालिकामा फेरबदल, अब काठमाडौँमा यसरी आउनेछ खानेपानी
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा ५-६ दिन बिराएर वितरण हुने पानी अहिले २ दिन बिराएर वितरण गर्न थालिएको छ । बाग्मतीमा पानीको बहाव बढेकाले अहिले काठमाडौंका विभिन्न ठाउँहरुमा पानीको आपूर्ति सहज बन्दै गएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ । केयुकेएलले महाँकाल, महाराजगञ्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्यांकीमा जम्मा भएको पानी २ दिन बिराएर वितरण गर्न थालेको हो । खानेपानी मन्त्री बिना मगरको निर्देशनमा केयुकेएलले काठमाडौँका मुख्य ठाउँहरुमा पानीको वितरणलाई तीव्रता दिएको छ । वर्षातको समयमा बाग्मतीमा पानीको बहाव बढेकाले उक्त पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाएर प्रशोधन गरी वितरण गरिएको केयुकेएलका कम्पनी सचिव मिलन शाक्यले जानकारी दिए । पुरानै वितरण लाइनबाट पानीको आपूर्ति भइरहेको कम्पनी सचिव शाक्यले बताए । पुरानै लाइनबाट पानीको आपूर्ति गर्दा चुहावट हुने सम्भावना भएकाले नजिकका केयुकेएलका शाखा कार्यालयहरुमा खबर गर्न समेत केयुकेएलले सबैलाई आग्रह गरेको छ । ‘यसपालीको वर्षातमा बाग्मतीमा पानी बढेकाले उक्त पानीलाई प्रशोधन गरी वितरण गरिएको हो ।’ कम्पनी सचिव शाक्यले भने, ‘५-६ दिन बिराएर वितरण गर्दै आईरहेको पानी अहिले २ दिन बिराएर वितरण गर्न थालिएको छ । वर्षात्का कारण काठमाडौँका मुख्य ठाउँहरुमा अहिले पानीको समस्या कम हुँदै जान थालेको र प्रत्येकको घरमा पानीको आपूर्ति सहज भइरहेको छ ।’ केयुकेएलका अनुसार महाँकालचौर स्थित पानी ट्यांकीमा दैनिक डेढ करोड लिटर पानी थपिँदै गएको छ । महाँकालचौर शाखाको पानी अहिले चावहिल, कपन, मैजुबहाल, पशुपति, गौशाला, बत्तिसपुतली, पुरानो बानेश्वर, न्युरोड र कमलादीमा वितरण हुँदै आईरहेको छ । शाखा प्रमुख उमेश मरहट्टाले महांकालचौरबाट ९० हजार धाराहरुमा पानी वितरण हुँदै आएको जानकारी दिए । त्यसैगरी महाराजगञ्जस्थित पानी ट्यांकीमा अहिले दैनिक ४५ लाख लिटर पानी थपिएको शाखा प्रमुख रमेश के.सीले जानकारी दिए । महाराजगञ्ज शाखाबाट चक्रपथ महाराजगञ्ज, लाजिम्पाट, गैरीधारा, कपुरधारा, रानीबारी, सामाखुसी र असनमा पानी हुने गर्दछ । यस क्षेत्रका ८ हजार धारामा पानी वितरण गरिंदै आएको शाखा प्रमुख के.सीले बताए । केयुकेएलका अनुसार नयाँ बानेश्वरको मीनभवन स्थित पानी ट्यांकीमा अहिले दैनिक २५ लाख लिटर पानी थपिएको छ । मीनभवन शाखाबाट नयाँ बानेश्वर, तीनकुने, शंखमुल बुद्धनगर, थापागाउँ र मध्य बानेश्वर क्षेत्रमा पानी वितरण हुँदै आईरहेको छ । यस क्षेत्रमा करिब १० हजार धारामा पानी आईरहेको शाखा प्रमुख नारायण कर्णले जानकारी दिए ।
काठमाडौं जिल्लामै छ यस्तो ठाउँ, जहाँ बस चढ्न हिउँद कुर्नुपर्छ !
काठमाडौंः शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ । यहाँको पटाप र छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्यता रहेको बस्ती हो । यहाँका बासिन्दाले सहज रुपमा यातायात सेवा पाउन सकेका छैनन् । यस्तै साँखु, जरसिंह पौवा हुँदै मेलम्ची पुग्ने सडकखण्डमा बर्खाको समयमा गाडि चल्दैन । अरुबेला पनि यो सडकको अवस्था उस्तै छ । हिलो र खाल्डाखुल्डी गाडी चलाउन मुश्किल छ । केराघारीका बासिन्दा सवारीसाधन प्रयोग गर्न एक घण्टा उकालो चढेर छापसम्म पुग्छन् । स्थानीय वीरबहादुर तामाङले यातायातसँगै विद्यालय र स्वास्थ्य चौकीबाट समेत सेवा लिन सहज नभएको बताए । जहरसिंहपौवाबाट एक घण्टा हिँडेपछि पुगिने बस्ती हो घट्टेकुलो । यहाँका बासिन्दाले यातायातका साधन प्रयोग गर्न हिउँदको समय कुर्नुपर्ने अवस्था छ । गाउँघरमा कोही बिरामी हुदाँ बोकेरै जहरसिंहपौवा पुर्याउनुपर्ने अवस्था छ । ‘काठमाण्डौ भनेर के गर्नु? बिरामीलाई बोकेरै अस्पताल पुर्याउनुपर्छ । सडक छ गाडी चल्दैन’, स्थानीय जीतबहादुर तामाङले भने । वडाध्यक्ष सन्तबहादुर वाइवा घट्टेकुलोसम्मको सडक मर्मत गरिने बताउनुहुन्छ । प्राकृतिक रुपमा रमणीय जहरसिंह पौवासम्म पुग्न निकै कठिन हुन्छ । हिलो र धुलोका कारण पर्यटक हैरान हुने गरेका छन् । चाबहिल–जहरसिंहपौवा सडकखण्डमा ठाउँ ठाउँमा खाल्टाखुल्टी छन् । ‘भय र त्रासमा यात्रा गर्नुपर्ने अवस्था छ’, सो सडकखण्डमा यात्रा गर्दै आएका सन्तोष चौलागाईंले भने । साँखु बजारबाट तीन किलोमिटर उक्लिने बित्तिकै छापभञ्ज्याङका बस्तीमा पुगिन्छ । लप्सेफेदी र नाङलेभारेमा बर्खाको समयमा बस चल्दैन । ‘बस चढ्न हिउँद नै कुर्नुपर्ने बाध्यता छ ।’ चौलागाईँले भने । साँखुबाट मेलम्चीसम्मको सडक कालोपत्रे गरिएको थियो । कालोपत्रे गरिएको ६ महिना बित्न नपाउँदै सबै उप्कियो । यहाँ विद्यालय पुग्न एक घण्टा उकालो चढ्नुपर्ने स्थानीयवासी गोमा तामाङले बताए । ‘हिँड्न नसक्दा कतिपय बालबालिका विद्यालय जानै मान्दैनन्’, उनले भने । रासस, फाइल फाेटाे
ठाउँ–ठाउँमा अराजक गतिविधि बढेको देखियोः अध्यक्ष प्रचण्ड
सुनसरीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको बताएका छन् । थारु समुदायको जितिया पर्वमा सहभागी हुन सुनसरी पुगे अध्यक्ष प्रचण्डले भने, ‘अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन । तर अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो ।’ पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डको अभिव्यक्तिको पूर्णपाठ अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन । अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो । यसको प्रतिवाद सबै राजनीतिक दलहरुले र सरकारले गर्नुपर्छ भन्ने संसदमा सहभागी राजनीतिक दलहरुबीच सझदारी भएको छ । यसको अर्थ भौतिक होइन राजनीतिक र बैचारिक रुपमा त्यो प्रवृतिलाई परास्त गर्नुपर्यो । भ्रष्टाचारका विरुद्ध सरकार र पार्टी अगाडि बढिरहकै छ । संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा छन् । हामीले सरकार र पार्टी दुबैको कामको समिक्षा गरिरहेका छौं । यसलाई नयाँ शीराबाट गति दिने बारे छलफल भइरहेको छ । पार्टीलाई एकतावद्ध गर्ने विकास निर्माणका कामलाई गति दिने । सरकारले काम नै गरेन भन्ने कुरा सत्य होइन । थुप्रै मौलिक हक सम्बन्धी कानून बने, छिमेकीसँगको सम्बन्धमा सधार आयो । भारतसँगको पेट्रोलियम पदार्थको पाइपलाइन ठूलै उपलब्धी हो । चीनसँग राम्रो सम्बन्ध र आधारहरु बनेका छन् ।
बालकोटमा रहेको कपास उद्योगमा आगलागी
भक्तपुर — सूर्यविनायक नगरपालिका २ बालकोट सागबारीमा रहेको कपास उद्योगमा आगलागी भएको छ । आइतबार बिहान करिब ५ बजे सुरू भएको आगो स्थानीय, प्रहरीले करिब पौने ३ घण्टामा निभाएका भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले बताए । उनका अनुसार भोजपुर सडान्नद नगरपालिका-४ दिङ्लाकी सरिता चौंलागाईंले ४ वर्षदेखि सञ्चालन गरेको मनकामना कपास उधोगमा आगलागी भएको हो। आगलागीबाट उद्योग पू्र्णरुपमा क्षति भएको छ। प्रहरी प्रमुख प्रधानले आगलागीबाट करिब २५ लाख क्षति भएको अनुमान गरिएको बताए। आगो निभाउन भक्तपुर, ललितपुर र काठमाडौंका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना खटिएका थिए । आगो निभाउने क्रममा प्रहरी जवान श्यामप्रसाद त्रिपाठी घाइते भएका छन्। घाइते त्रिपाठीको समिट अस्पताल लोकन्थलीमा उपचार भइरहेको प्रहरी प्रमुख प्रधानले बताए।
परराष्ट्रमन्त्री अमेरिकामा, क-कसलाई भेट्दैछन् त ?
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिन शनिबार न्युयोर्क प्रस्थान गर्नुभएको छ । महासभामा मन्त्री ज्ञवालीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतकुमार राई, परराष्ट्र मन्त्रालयस्थित संयुक्त राष्ट्रसङ्घ महाशाखा प्रमुख तथा मन्त्रालयका प्रवक्ता भरतराज पौडेल तथा न्युयोर्कस्थित नेपालका स्थायी नियोगका पदाधिकारीले साथ दिनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभामा असोज ७ देखि विविध मुद्दामा छलफल सुरु हुँदैछ । तिनमा गरिबी निवारण, गुणस्तरीय शिक्षा, जलवायु परिवर्तनको असर तथा समावेशिताका लागि बहुपक्षीय प्रयास विषयक छलफलमा नेपालले पहिलो सहभागिता जनाउने मन्त्रालयले बताएको छ । नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो उपलब्धि तथा भोगिरहेका समस्याको समाधानको विकल्प खोज्ने प्रयास गर्नुहुने छ । महासभामा नेपालको तर्फबाट हुने सम्बोधन भने मन्त्री ज्ञवालीले असोज १३ गते गर्नुहुने कार्यसूची रहेको छ । त्यसअघि असोज ९ गते मन्त्री ज्ञवालीले सार्क मन्त्रिपरिषद्को अनौपचारिक सत्रको अध्यक्षता गर्नुहुने कार्यक्रम छ । महासभाका लागि मन्त्री ज्ञवाली न्युयोर्कमा रहँदा जलवायु परिवर्तनको असरसम्बन्धी सम्मेलन, दिगो विकास र संयुक्त राष्ट्रसङ्घीय उच्चस्तरीय छलफलका क्रममा राष्ट्रसङ्घको उच्च राजनीतिक फोरममा विकासमा लगानीसम्बन्धी विषयमा उहाँले बहस गर्नुहुने छ । उहाँले असंलग्न आन्दोलनअन्तर्गत जी ७७ र चीनको छुट्टै मन्त्रीस्तरीय बैठकमा समेत सहभागिता जनाउनुहुने छ । त्यसैगरी अतिकम विकसित तथा भूपरिवेष्टित मुलुकको मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट आफ्ना धारणा राख्नुहुने छ । उहाँले एसियाली सहयोग संवादको बैठकमा नेपालको विकासमा साझेदारीका लागि पहल गर्नुहुने छ । मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय मैत्रीपूर्ण मध्यस्थकर्ताको बैठक, उच्चस्तरीय शान्ति प्रक्रियाको संवाद, बालअधिकार महासन्धिसम्बन्धी कार्यक्रम तथा राष्ट्रसङ्घको महासभाका अध्यक्षले आयोजना गर्नुभएका अन्य विविध समारोहमा सरिक हुने कार्यक्रम छ । न्युयोर्कमा रहँदा उहाँले असोज ७ गते राष्ट्रसङ्घ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्नुहुने स्वागत समारोहमा भाग लिनुहुने छ । त्यस्तै विभिन्न द्विपक्षीय सम्बन्ध भएका मुलुकका प्रतिनिधिसँग छलफल गर्नुहुने छ । उहाँले असोज ९ गते र १० गते अमेरिकाको न्युयोर्क र सिकागोमा रहेका नेपाली समुदायसँग परामर्श गरी देश विकासका लागि योगदान गर्न आग्रह गर्नुहुने कार्यक्रम छ । उहाँ असोज १४ गते नेपाल फर्कने कार्यक्रम रहेको मन्त्री ज्ञवालीका प्रेस सल्लाहकार सुदन ज्ञवालीले जानकारी दिनुभयो ।
ग्यारेजमैं थन्किए प्रधानमन्त्रीले उद्घाटन गरेका ११ बस
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणमा गुणस्तरहीन भेटिएका ती बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् । प्रधानमन्त्री ओली गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय बस चढेर सिंहदरबारसम्म गएका थिए । सरकारले गुणस्तरहीन ती बस फिर्ता गर्न निर्देशन दिए पनि आपूर्तिकर्ता कम्पनी बीवाइडी साइमेक्सले टेरेको छैन । टेन्डर आह्वान गरी चीनबाट खरिद गरेको भनिएका बस भारतमा बनेको र गुणस्तरहीन पाइएपछि सरकारले गत मंसिरमै फिर्ता गर्न दिर्नेशन दिएको थियो । यो समाचार कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका छन् ।
कास्की-२ बाट चुनाव नलडने वामदेव गाैतमकाे घाेषणा
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले कास्की–२ बाट आफू उपनिर्वाचन नलड्ने घाेषणा गरेका छन् । गौतमले कास्की २ बाट चुनाव उठ्नु फेरि पराजित हुनु हो भन्दै त्यहाँबाट आफू नउठ्ने शनिबार सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । ‘मंसिर १४ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिन आग्रह गर्ने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालप्रति आभार प्रकट गर्छु तर म चुनावमा उठ्दिनँ,’ गौतमले भनेका छन् । त्यहाँ स्थानीय नेतालाई नै चुनावमा उठाउन गौतमले अध्यक्षद्वयलाई आग्रह गरेका छन्। २०७४ मा भएको प्रतिनिधिसभा चुनावमा गौतम बर्दिया १ बाट पराजित भएका थिए। यसअघि कास्की २ बाट गौतम उपचुनावमा उठ्ने चर्चा थियो। हेलिकप्टर दुर्घटनामा प्रतिनिधिसभा सदस्य एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की २ मा उपनिर्वाचन हुँदै छ। उनले लेखेका छन: जानकारी का लागी:: मेरा समस्त शुभचिन्तक महानुभावलाई जानकारीका लागि- आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु । यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया- १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो । तर मलाई विश्वास छ म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्र्न सक्नु हुनेछ। कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु । वामदेव गौतम ४ आश्विन २०७६

