दुईजनालाई पक्राउ, एक उद्योगमा सिलबन्दी

परासी, असोज १ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्नेगरी सामग्री बिक्री गरेको आरोपमा जिल्लास्तरीय संयुक्त बजार अनुगमन समिति पश्चिम नवलपरासीले बुधबार दुईजनालाई पक्राउ गरेको छ । एक उद्योगमा सिलबन्दी गरेको छ ।

पक्राउ पर्नेमा पानी उद्योग र मिष्ठान पसलका व्यवस्थापक छन् ।

रामग्राम नगरपालिका–१५, हकुईमा सन्चालित साई वाटर इन्डस्ट्रिजले विभिन्न ‘ब्रान्ड’का जारमा खाद्य ऐनविपरीत पानी भरेर बिक्री गर्ने गरेको पाइएको बजार अनुगमन समितिका संयोजक एवं जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ज्योतिराज अर्यालले बताए ।

उक्त उद्योगले आधुनिक स्वचालित प्रविधिबाट पानी उत्पादन गर्नुपर्ने भएपनि प्लास्टिकको कालो ट्यांकीमा जम्मा गरेर राखिएको पानी सामान्य फिल्टरबाट भरेर बिक्री गर्ने गरेको पाइएको हो ।

उद्योगका सन्चालक सुशीला गुप्ता र किरण बनियाँ हुन् ।

अनुगमनकाक्रममा सन्चालकहरु फेला नपरेपछि उद्योगमा सिलबन्दी गरेर व्यवस्थापक सुनिलकुमार गुप्तालाई पक्राउ गरिएको छ ।

पक्राउ परेका गुप्तालाई बयानका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवामा पठाइएको छ ।

फोहोर पानी बग्ने ढलमाथि भान्छा

त्यसैगरी, फोहोर पानी बग्ने ढलमाथि भान्छा बनाएर मिठाइ तथा नास्ता बनाउँदै आएको सदरमुकाम परासीस्थित ऋद्धिसिद्धि मिष्ठान भन्डारका व्यवस्थापक राजन हलुवाईलाई पक्राउ गरिएको छ ।

उक्त मिष्ठान भन्डारले सेतो मटरलाई हरियो बनाउन केमिकल प्रयोग गरेर राखेको पाइएको छ ।

पक्राउ परेका हलुवाईलाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ गरिएको छ । उनीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने संयुक्त बजार अनुगमन समितिले जनाएको छ ।

अनुगमनकाक्रममा सबैभन्दा बढी म्याद नाघेका पेयपदार्थहरु बरामद गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत नेत्रप्रसाद भुसालले बताए ।

पोखरा जाँदै गरेको हेलिकोप्टर खेतमा आपतकालीन अवतरण

म्याग्दी । मुस्ताङबाट तीर्थयात्री बोकेर पोखरा हिँडेको हेलिकोप्टर म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीको धानखेतमा आकस्मिक अवतरण गरिएको छ। मौसम खराब भएका कारण एयर डाइनेस्टिक हेलिकोप्टर धानखेतमा अवतरण गरेको हो। रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले मौसम खरावका कारण पाइलट अर्जुन मल्लसहित ६ जना यात्रु सवार हेलिकोप्टर खेतमा आकस्मिक अवतरण गरेको जानकारी दिए। पाइलट अर्जुन मल्लसहित मुक्तिनाथ तीर्थयात्रामा गएका पाँचजना भारतीय नागरिक हेलिकोप्टरमा सवार थिए। हेलिकोप्टरमा सवार सबै सकुशल रहेको उनले बताए।

कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

महेन्द्रनगरः कञ्चनपुरमा बसको ठक्करबाट आज एक जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरिया बजार नजिक ना ५ ख २०७३ नम्बरको बस र से ७ प ५३२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक धनगढी उप महानगरपालिका–१० का २६ वर्षीय रञ्जित रानाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइल सवार १५ वर्षीय रञ्जेश्वरी राना गम्भीर घाइते भएका छन् । कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि भारततर्फ लगिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए । बस र बसका चालक दाङ जिल्ला शान्ति नगरपालिका– ३ का ३६ वर्षीय रुपलाल खड्कालाई इप्रका झलारीले नियन्त्रणमा लिएको छ । शवको स्वास्थ्य परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढीमा लगिएको छ ।

दाँत उपचारका लागि प्रचण्ड अस्पतालमा

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड दाँत उपचारका लागि ललितपुर स्थित मेडिसिटी अस्पताल पुगेका छन् । उनको सचिवालयका अनुसार पटकपटक दाँत दुख्ने समस्या देखिएपछि अध्यक्ष प्रचण्ड अस्पताल पुगेका हुन् । उपचारमा संलग्न चिकित्सकले प्रचण्डको दुख्ने दाँत निकाल्नु पर्ने सुझाव दिएको उनको सचिवालयले जनाएको छ ।

युवा संघले ज्ञानेन्द्र शाहीलाई कहाँ–कहाँ गर्यो प्रवेश निषेध ?

काठमाडौंः सत्तारुढ दल नेकपाका युवा संगठन युवा संघ ज्ञानेन्द्र शाहीलाई बिभिन्न जिल्लामा प्रवेश निषेध गरेको छ । संघले शाहीलाई कास्की, दाङ, धनुषा, रुपन्देही र कैलालीमा प्रवेश निषेध गरेको विज्ञप्तिमार्फत जनाएको छ । गत शनिबार पर्यटनमन्त्री योगेश भट्टराईका कारण नेपालगञ्जमा प्लेन उडान ढिलाई भएको भन्दै शाहीलगायतका युवाहरुले भट्टराईमाथि दुव्र्यवहार गरेका थिए । त्यसपछि युवा संघका नेताहरु शाही विरुद्ध खनिएका हुन् ।

नेकपा प्रवक्ता भन्छन्, ‘अराजक गतिविधि गर्नेलाई सरकारले छाड्नु हुँदैन’

चितवन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताएका छन् । बुधबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्‍न प्रकारका विचार राख्ने मानिस भएकाले त्यसलाई सहजरुपमा लिनुपर्ने बताए। ‘कसैले गर्ने विरोधलाई हामीले अन्यथा लिनु हुँदैन’, नेता श्रेष्ठले भने’, ‘यसलाई स्वभाविक रुपमा नै लिनुपर्छ।’ नेकपाका प्रवक्तासमेत रहेका श्रेष्ठले विरोधका नाममा अराजक गतिविधि गर्नेलाई छाड्न नहुने पनि बताएका छन्। ‘कतिपय कुरा ठीक हुन्छन्, कतिपय कुरा बेठीक हुन्छन्’, उनले भने’, ‘हामीले ध्यान दिनुपर्ने कुरा ठीकै रहेछ भनेर लिने र बेठीक कुरालाई जनतामाझ लगेर प्रष्ट पार्न सक्नुपर्छ।’ नेता श्रेष्ठले सरकारको कामको गति पहिलेभन्दा झन बढ्ने चरणमा रहेको बताए। उनले पार्टीका तर्फबाट पनि सरकारको काम कारवाहीलाई निगरानी गरिएको जानकारी दिए। एकताले पूर्णता पाएको भन्दै उनले पार्टीका गतिविधि अब चलायमान हुने दाबी श्रेष्ठले गरेका छन्।

उपनिर्वाचनका लागि २१ दलले दिए निवेदन

काठमाडौंः आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ सहित २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । उपनिर्वाचनमा भाग लिन चाहने दललाई आयोगमा दर्ताका लागि भदौ मसान्तसम्मको अवधि तोकेको थियो । आयोगका सहसचिव एवं प्रवक्ता गिरिजा शर्माले मङ्गलबारसम्म आयोगमा २१ वटा राजनीतिक दलले उपनिर्वाचन प्रयोजनका लागि निवेदन दर्ता गराएको जानकारी दिए । वि.सं.२०७४ सालको स्थानीय, प्रदेश र प्रतिनिधि निर्वाचन भएपछि एकीकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दलले उपनिर्वाचनमा भाग लिन दल दर्ता हुनुपर्ने प्रावधान छ तर २०७४ को तीन तहको निर्वाचनमा आयोगमा दर्ता भएका राजनीतिक दलले उपनिर्वाचनका पुनः दर्ता गर्नु पर्दैन । आयोगमा राजनीतिक दल हेर्नुहुने उपसचिव रुद्रप्रसाद सुवेदीका अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ले पनि दल दर्ताको निवेदन दिएका छन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र एकीकृत नेकपा (माओवादी) बीच २०७५ जेठ २३ मा औपचारिक रूपमा एकीकरण भई नयाँ दल बनेकाले आयोगमा पुनः दर्ता गर्नु परेको हो । यसैगरी अर्को सत्तारुढ ‘समाजवादी पार्टी’ पनि उपनिर्वाचनका लागि दर्ता भएको छ । तत्कालीन सङ्घीय समाजवादी पार्टी, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच २०७६ साउन १७ गते एकीकरण भई नयाँ दल बनेको हो । यसैगरी मङ्गोल नेसनल अर्गनाइजेसन, मुस्कान सेना नेपाल पार्टी, साझा पार्टी, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), नेपाल लोकतान्त्रिक पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् । यसैगरी नेपाल कम्युनिस्ट पार्टी संयुक्त, खुम्बुवान लोकतान्त्रिक पार्टी, नेपाली काँग्रेस बी.पी., ग्रीन पार्टी नेपाल, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, आमूल परिवर्तन मसिहा पार्टी नेपाल र हाम्रो पार्टी छन् । वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा ८० दल र प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ९२ दल दर्ता भएका थिए ।

पूर्वसभासद घिसिङ ५ हजार धरौटीमा छुटे

ललितपुरः सार्वजनिक यातायातमा कलेज पढ्ने युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेका पूर्वसभासद योगेन्द्र घिसिङ थुनामुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालय, ललितपुरले घिसिङलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनलाई थुनामुक्त गरिएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले घिसिङलाई धरौटीमा राखेर मुद्दा प्रक्रिया अघि बढाउन मंगलबार बाटो खुला गरिदिएका हुन् । रत्नपार्कबाट ललितपुरको भैंसेपाटीसम्म जाने बसमा सवार घिसिङले २१ वर्षकी युवतीलाई दुर्व्यवहार गरेको भन्दै अन्य यात्रुले नियन्त्रणमा लिएका थिए । प्रहरीलाई जिम्मा लगाएपछि उनीविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएको थियो । सार्वजनिक स्थानमा यौन दुर्व्यवहार हुननसक्ने बताउँदै घिसिङविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएको थियो । जुन कसूर प्रमाणित भए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने मुलुकी अपराध संहिताले व्यवस्था गरेको छ । उनी संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट समानुपातिक सभासद् बनेका थिए । तर, घिसिङले स्थानीय तह निर्वाचनमा पार्टीलाई अन्तरघात गरेको भन्दै ललितपुर जिल्ला पार्टीले निस्कासन गरेको थियो ।

यस्तो बन्नेछ प्रधानमन्त्री ओलीले शिलान्यास गरेको संघीय संसद भवन

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संघीय संसद भवनको शिलान्यास गरेका छन् । सिंहदरबारस्थित पुतली बगैँचा रहेको स्थानमा पाँच अर्ब ३० करोड खर्चिएर भवन निर्माण गर्न लागिएको हो । १ सय ७३ रोपनी क्षेत्रमा फैलने भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ । दुई मुख्य हलसँगै संघीय संसद सचिवालय, दलका कार्यालय, संसदीय समिति समेत भवनमा रहनेछ । हाल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद सञ्चालन हुँदै आएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई सरकारले वार्षिक १५ करोड भाडा तिर्ने गरेको छ । संघीय संसद सचिवालय भने सिंहदरबारमा रहेको छ ।   सिंहदरबारस्थित पुरानो प्रतिनिधिसभा भवन सार्क सम्मेलनका बेला मर्मत सम्भार गरिए पनि भूकम्पपछि जीर्ण अवस्थामा छ । नयाँ भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारको तयारी छ । भवन निर्माण सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले अगाडि बढाएको हो । मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी निर्वाचन भएर बन्ने अर्को प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने अर्बौ रकम जोगिनेछ ।

प्रसूति गृहमा ग्याँस सिलिन्डर पड्कँदा दुई जना घाइते

काठमाडौः थापाथलीमा रहेको प्रसूति गृहको पार्किङ स्थलमा अक्सिजन ग्याँस सिलिन्डर पड्केको छ । अक्सिजन ग्याँस सिलिन्डर पड्कँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा काभ्रेस्थली घर भएका २७ वर्षीय अमिजित भण्डारी र २६ वर्षीय मदन भण्डारी घाइते भएका छन् । घाइते दुवै जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

मन्त्री योगेश भट्टराईलाई सफलताः एयरलाइन्सले दिन थाल्यो ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट

काठमाडौंः नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने थालेका छन् । उक्त छुट बुधबारदेखि नै लागू भएको नेपाल एयरलाइन्सले जनाएको छ । सहप्रवक्ता सुलेख मिश्रले ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट बुधबारदेखि नै लिन पाउने निर्णय गरिएको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए । त्यहीअनुसार नेपाल एयरलाइन्सले उक्त निर्णय गरेको हो । यस्तै, निगमले दसैंका लागि अग्रिम बुकिङसमेत खुलाएको छ । अब यात्रुले आन्तरिक उडानका लागि अग्रिम बुकिङ गरी टिकट लिन सक्नेछन् ।

दूधपछि बढ्यो अण्डाको मूल्य, यस्तो भयो निर्णय

चितवनः पोल्ट्रीको अण्डा उत्पादन र बिक्रि वितरणको क्षेत्रमा आएको समस्या हल गर्न व्यवसायी, किसान र सप्लायर्सहरु एकजुट भएका छन् । विगत लामो समयदेखि अण्डाको मूल्य निर्धारण, लागत अनुसारको मूल्य किसाहरुले नपाईरहेको अवस्थामा नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको पहलमा भरतपुरमा सम्पन्न अन्तरक्रिया र छलफलबाट आफै एकजुट भई समयअनूकुल मूल्य समायोजन गर्न सहमत देखिएका हुन् । उनीहरुले अण्डा संघको विवादमा पक्ष विपक्ष हुदाँ समग्र पोल्ट्री क्षेत्रलाई असर गरेको निष्र्कष समेत निकालेका छन् भने मूल्य निर्धारण र अनुगमनका लागि आफै सर्वपक्षीय समिति समेत गठन गरेका छन् । उनीहरुले अण्डा विकाउने नाममा केही खराब किसान र व्यवसायीकै कारण मूल्यमा आफु खुसी गर्दा विचौलिया मौलाएको ठहर समेत गरे । उनीहरुले यो व्यवसायीलाई धरासायी हुन नदिने प्रतिवद्धता समुहिक रुपमा जनाउदै सबै संस्था र व्यवसायी जिम्मेवार बन्ने बताए । संघले भरतपुरमा आयोजना गरेको अन्तक्रियमा अण्डा उत्पादक र बिक्रेता बिचमा एउटा सहमती भई अण्डाको नयाँ मूल्य तोकिएको छ । जसअनुसार ठुलो अण्डा प्रति क्रेट फार्ममा २५० र मिडियम अण्डा प्रति क्रेट फार्ममा १७५ तोकिएको हो । जसको अनुगमनको लागि मदन चिरञ्जीवी पोख्रलको संयोजकत्वमा १२ सदस्यीय बजार व्यवस्थापन, अनुगमन तथा एक्सन कमिटी गठन गरिएको छ । नव गठित समितिका सदस्य तथा कार्यक्रमका संयोजक बिनोद पोख्रेलले अबका दिनमा यो समितीले यदि कसैले रेटलाई तलमाथी गरेको देखिएमा ठाउको ठाउँ कार्वाही गरिने बताए । उनले अब किसानले कति घाटा खायो भनेर क्यालकुलेटरमा पनि हिसाब नआउने स्थिती भईसकेको बताउदै अब उत्पादक र वितरक मिलेर जानुको कुनै बिकल्प नभएको बताए ।

पहिरोमा बालकको मृत्यु, अरनिको राजमार्ग अबरुद्ध

काभ्रे, असोज १ गते । अविरल बर्षाका कारण पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । पाँचखाल नगरपालिका वडा न ४ फेदीमा पहिरोले टहरा पुरिदाँ जीतबहादुर लामाका ४ बर्षीय छोरा सजन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले बिहान ७.०० बजे टहरा माथिबाट आएको पहिरोले टहरा बगाउँदा मण्डनदेउपुर नगरपालिका वडा न ११ घर भएका हाल सोही स्थानमा बस्दै आएका बालकको मृत्यु भएको जानकारी दिनुभयो । टहरामा पसल समेत रहेकाले अन्य भाग्न सफल भएपनि बालक भाग्न नसक्दा पहिरोले बगाएर मृत्यु भएको डीएसपी गिरीले बताउनुभयो । पहिरोले सँगै रहेको अर्काे टहरामा पनि सामान्य क्षति पुगेको छ । लगातार परेको अविरल बर्षाले अरनीको राजमार्ग अबरुद्ध भएको डीएसपी गिरीले बताउनुभयो । अरनीको राजमार्ग अन्र्तगत जिरो किलोदेखि दोलालघाट सम्म धेरै ठाउँमा पहिरो गएका कारण राजमार्ग बन्द भएकोे उहाँले बताउनुभयो । त्यस्तै काभ्रे जिल्लाको अधिकांश ग्रामीण सडकहरु अबिरल बर्षाका कारण ठप्प भएका छन् । जिल्लाको कोशिपारि र डाँडापारिको सडकको अवस्था कच्चि भएकाले धेरै ठाउँमा पहिरो गएका कारण आवत जावतका ठप्प भएको छ । मधुसुधन तिमल्सिना/गाेर्खापत्र

चीनले दिएका जहाज निगमलाई घाँडो, ३ वटा मात्रै उडानयोग्य

काठमाडौंः चीन सरकारबाट किनिएका तथा अनुदानमा ल्याएका ६ वटा चिनियाँ जहाज नेपाल वायुसेवा निगमका लागि घाँडो बनेका छन् । पाइलटको अभाव तथा पार्टपुर्जाको सहज उपलब्धता नभएकाले ती जहाज पूर्णरुपमा सञ्चालन हुन सकेको छैनन् । अहिले निगमसँग ५६ सीट क्षमताका दुईवटा एमए–६० र १७ सीट क्षमताका चारवटा वाई–१२ इ गरी ६ वटा चिनियाँ जहाज छन् । सरकारले २०७१ सालमा एकरएकवटा र २०७४ मा चारवटा गरी ६ चिनीयाँ जहाज ल्याएको थियो । निगमका चार वाई–१२ यीमध्ये तीनवटा मात्रै उडानयोग्य छन् भने जनशक्ति र पार्टपूर्जाको अभावमा दुईवटाले मात्र नियमित उडान गरिरहेका छन् । एउटा वाई–१२ ई भने करिब ७ महिनादेखि ग्राउन्डेड छ । त्यस्तै दुईवटा एमए–६० मा एउटामात्रै उडान योग्य छ । यो समाचार आर्थिक अभियान छापिएको छ ।

छविविरुद्ध उजुरी हालेकी अभिनेत्री शिल्पा पोखरेल बारे आयो फेरि यस्तो अचम्मको खबर

काठमाडौं । आफ्नै श्रीमान् छविविरुद्ध उजुरी गर्न प्रहरीमा पुगेकी अभिनेत्री शिल्पा पोखरेल प्रहरीले खोजी गरेपछि पुनः छविसँगै बस्न थालेकी छिन् । उनीहरु दुवै जनासँगै बस्न थालेका छन् । प्रहरीले बहुविवाहको उजुरीमा उनीहरु दुवैलाई खोजी रहेको थियो । शिल्पाले छविबाट असुरक्षित भएको भन्दै प्रहरीमा उजुरी दिए पछि विभिन्न किसिमका टिका टिप्पणीसँगै उनीहरुले ठूलै चर्चा कमाएका थिए । अभिनेत्री रेखा थापासँग सम्बन्धविच्छेदपछि छविले शिल्पासँग विवाह गरेका थिए । २०७३ देखि वैवाहिक सम्बन्धमा बाधिएका शिल्पा छविको चौथो श्रीमती हुन् । उनीहरुको विवाह दर्ता २०७५ साल पुष ११ गते भएको हो । छविले शिल्पालाई चलचित्र “लज्जा” बाट डेब्यू गराएका हुन् । निर्माता छवि ओझाकी पहिलो पत्नी हेमा ओझा, दोस्रो अभिनेत्री गीताञ्जली सुनुवार, तेस्रो अभिनेत्री रेखा थापा र चौथो अभिनेत्री शिल्पा पोखरेल हुन् । विवाह गरेको केही समयपछि गीताञ्जलीले आत्महत्या गरेकी थिइन् । छविकी पहिलो पत्नीबाट दुई छोरा राजीव र महेश, दोस्रोबाट एक छोरा साकार छन् । साकार फिल्म क्षेत्रमै सक्रिय छन् । अभिनेत्री रेखा र शिल्पाबाट कुनै सन्तान भएको छैन । छविकी पहिलो पत्नीले शिल्पा र छवि दुवैलाई बहुविवाहको उजुरी दिएकी थिइन् । यो खबर रिपोर्टर्स नेपालबाट साभार गरिएको हो ।

आज विश्वकर्मा पूजा, मेसिनरी र प्राविधिक सामाग्रीको पूजा गरिँदै

काठमाडौंः आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ। कन्याको संक्रान्तिका दिन मनाइने यस पर्वमा शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा पूजाअर्चना गरिनुका साथै भजनकृतन तथा नाचगानसमेत गरिन्छ। भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा समेत मानिन्छ। यो नेपालसहित पूर्वोत्तर भारत र बङ्गाल राज्यमा समेत विशेष पर्वका रूपमा मनाउने प्रचलन छ। मजदुर, कलाकार, औद्योगिक घराना, व्यापारी सबैले उत्तिकै महत्व दिने यस पर्वमा अधिकांश कलकारखाना बन्द गरी हर्षोल्लासका साथमा विश्वकर्माको पूजा गरिन्छ। महादेवबाट पाएको सृष्टिको सृजना गर्ने जिम्मेवारी निभाउने क्रममा ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिएका धार्मिक विश्वास छ। हिन्दु धर्मावलम्बीहरुले विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर र वास्तुकारको रुपमा लिने गर्दछन्। शास्त्रमा उल्लेख भएअनुसार उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेका थिए। उनले सत्य युगमा स्वर्गलोक, त्रेता युगमा लंका, द्वापर युगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति बनाएको मानिन्छ।