पूर्व जनमुक्ति सेनाका बटालियन कमाण्डर कुँवरमाथि आक्रमण

धनगढीः कैलालीको अत्तरियामा होटल सञ्चालन गर्दै आएका पूर्व जनमुक्ति सेनाका बटालियन कमाण्डर संभव कुँवरमाथि आक्रमण भएको छ । महेन्द्रनगर रोडमा रहेको पोखरा गेष्ट हाउसका सञ्चालक कुँवरमाथि बिहीवार राति होटलभित्रै प्रवेश गरेर आक्रमण भएको हो ।

दुई जना अटो चालकले उनीमाथि आक्रमण गरेको बताइए पनि कुटपिटमा संग्लनको पहिचान हुन सकेको छैन । दुई अटोलाई भने ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । कुँवरमाथि आक्रमण गर्नेको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाका अनुसार कुटपिटबाट घाइते कुँवरलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

क्लिनिकबाट लागूऔषध तथा प्रतिबन्धित औषधी बिक्री वितरण !

धनगढीः कैलालीको लम्की–चुहा नगरपालिका–४ बलियाबाट ठुलो परिमाणमा लागूऔषधी तथा प्रतिबन्धित औषधी बिक्री वितरण गर्ने एकजना मेडिकल सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मी स्वास्थ्य क्लिनिकका सञ्चालक ३२ बर्षिय मेसक कुमार चौधरी रहेका छन् । लागु तथा प्रतिबन्धित औषधी बिक्री वितरण गर्ने गरेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीको टोलीले चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।   सि.नं. बरामद संख्या १ Tramadol  Hydrochloride Capsules 50 mg (Trama) Red 1000 capsules २ Pheniramine Maleate Tableth ( AVIL) 595 Tab ३ Cholordiazepoxide Tablets (Zepox) 30 Tab ४ Tramadol  Hydrochloride capsules  (Tramats) Green 200 capsules ५ Pregablin capsules (REGAB ) 5870 capsules ६ Cambipack of  mIfepristone tablets (MIFEGEST) kit- गर्भपतन गराउने औषधि 50 tablets  

संविधान दिवसमा पदक पाउने ३३ जना डाक्टर तथा स्वास्थ्यकर्मी

काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा हरेक वर्ष योगदानका आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ । सोही अवसरमा आज सरकारले विभिन्न मानपदवी, अलंकार र पदकबाट ३३ जना डाक्टर तथा स्वास्थ्यकर्मीलाई विभुषित गर्ने निर्णय गरेको छ । यी विभूषित हुनेहरुः सुप्रसिद्व प्रवल जनसेवा श्री (प्रथम श्रेणी) – प्रा.डा. दिव्यासिंह शाह, त्रिवि शिक्षण अस्पताल, – डा. अनन्तरमण भाट्साला, सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालको डिर्पाटमेन्ट अफ मेडिसिन डिभिजन अफ नेफ्रोलोजीका चिकित्सक – डा. अनन्त कुमार, डिर्पाटमेन्ट अफ युरोलोजी, युरो अंकोलोजी, भारतको म्याक्स ग्रुप अफ हस्पिटल – डा. राजीवकुमार शर्मा, नयाँदिल्लीस्थित डिर्पाटमेन्ट अफ युरोलोजी, युरो अंकोलोजी, रोवोटिक्स् एन्ड रेनल ट्रासप्लान्ट, एमएक्स ग्रुप अफ हस्पिटल, – डा. हर्ष दुवे, इन्स्टिच्युट अफ एडल्ट रिकनट्रक्सन, स्र्पोट इन्जुरी एन्ड जोइन्ट रिप्लेसमेन्ट दिल्ली, डिर्पाटमेन्ट अफ अंकोलोजी, इन्द्रप्रस्थ एपोलो हस्पिटल नयाँदिल्ली, उज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय श्रेणी) – प्राडा भगवान कोइराला, वरिष्ठ मुटुरोग सर्जन सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) – डा. ज्योतिन्द्र शर्मा, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र – प्रा.डा. उत्तमकुमार शर्मा, त्रिवि चिकिस्साशास्त्र अध्ययन संस्थान – डा. चक्रराज पाण्डे, मेडिकल डाइरेक्टर, ग्रान्डी अस्पताल – डा. भरत प्रधान, काठमाडौं – डा. योगेन्द्रप्रसाद यादव, विराटनगर – डा. डेविन फ्रयानसिस, मेलर्वन, अष्ट्रेलिया – डा. प्रेम ज्ञवाली, शिक्षण अस्पताल, महाराजगञ्ज – प्रा.डा. रामकुमार घिमिरे, रेडियोलोजिस्ट, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज – डा. शर्मा पौडेल, रेडियोलोजिस्ट त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज – डा. रत्नमणि गजुरेल, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज – डा. उत्तम श्रेष्ठ, रेडियोलोजिस्ट त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान – डा रमेशसिंह भण्डारी, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज – डा. राजु अधिकारी, योग प्रशिक्षक – डा. उत्तम पच्या, गुल्मी जिल्ला अस्पताल – डा. पलेस्वाँ जोशी लाखे, शिक्षण अस्पताल, महाराजगञ्ज – डा. सुबोधकुमार अधिकारी, वीर अस्पताल – प्रा.डा. नगेन्द्रबहादुर केसी, चिकित्साशास्त्र महाविद्यालय – डा. दीपक श्रेष्ठ, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज प्रबल जनसेवा श्री (चर्तुथ श्रेणी) – डा. अशोकानन्द मिश्र, सप्तरी – डा. टीकाधर द्विवेदीः आयुर्वेद चिकित्सक, पर्सा – डा. विराजमान कर्माचार्य, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, धुलिखेल – डा. राम कामेश्वर ठाकुर, प्रादेशिक आयुर्वेद चिकित्सालय, दाङ – कमला लामा, नेपाल प्रहरी अस्पताल – उमा पाण्डे, लेखा अधिकृत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर – गिरेन्द्रकुमार झा, अहेब, जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरी – ज्ञानसिंह बुढा, जनस्वास्थ्य निरीक्षक, जिल्ला अस्पताल, मुगु जनसेवा श्री (पञ्चम श्रेणी) – सत्यराज शाक्य, लुम्बिनी प्रादेशिक अस्पताल, बुटबल

यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस (फोटो फिचर)

काठमाडौंः संविधान दिवसका अवसरमा शुक्रबार राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरियो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा आयोजित समारोहमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गरिन् । समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत सहभागी थिए । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६’ लेखिएको व्यानर अङ्कित झण्डा प्रदर्शन गरिएको थियो । (रासस)

संविधान दिवसका अवसरमा प्रधानमन्त्रीले के भने ? (पूर्णपाठ)

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्ष नहुँने भन्दै सबैलाई त्यसमा सहयोग गर्न आग्रह गरे । संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजको आवश्यकता अराजकता नभएर एकता भएको भन्दै ओलीले संविधान र कानून विपरितका कुनै पनि गतिविधि रोक्न सरकार बाध्य हुने चेतावनी दिए । यस्तो छ सम्बोधनको पूर्णपाठः – लामो संघर्ष र बलिदानपछि पाँच वर्षअघि आजकै दिन हामीले नेपालको संविधान जारी गरेका थियौं। जनताका आफ्नै प्रतिनिधिहरूद्वारा लेखिएको मुल कानुन संविधान जारी गरी भएको यस ऐतिहासिक दिनको सन्दर्भमा सर्वप्रथम म, नेपाल सरकार तथा आफ्नो तर्फबाट यहाँहरू सबैमा पाँचौं संविधान दिवस एवं राष्ट्रिय दिवसको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्छु। – उत्साह र उत्सवको यो उल्लासमय अवसरमा सम्पूर्ण ज्ञात÷अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छ। आन्दोलनका क्रममा बेपत्ता भएका, बेघरवार, शारीरिक, मानसिक एवं पारिवारिक रूपमा क्षति व्यहोरी मुलुकलाई विधिको शासनमा बाँध्न अतुलनीय योगदान गर्नुहुने सम्पूर्ण देशवासीप्रति हार्दिक आदरभाव व्यक्त गर्छु। – एक महिनापहिले संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको पहिलो बैठकमा मैले भनेको थिएँ– यस वर्षबाट संविधान दिवसलाई सरकारी वा राजकीय दिवस जस्तो हैन, आम नेपाली जनताको उत्सवको रूपमा धुमधाम साथ मनाउनु पर्छ। यस दिवसले औपचारिकता निभाउने मात्र हैन, सारा नेपाली मनमा उत्सवको भावना सिर्जना गर्नुपर्छ। – त्यस्तो दिवस, जसको प्रतीक्षामा हामी नेपाली ७ दशकदेखि संघर्षरत थियौं। – त्यस्तो दिवस, जसले नेपाली जनसंख्याको सयौं थुँगा पूmलहरूलाई एउटै मालामा उनी विविधतामा रहेको एकताको सन्देश प्रवाह गरेको थियो। – त्यस्तो दिवस, जुन दिन आम नेपालीहरू दशकौंको संघर्षको प्रतिफल लिपिबद्ध गर्न सफल भएको खुसीयालीमा उत्सव मनाई रहेका थिए। र, यसपछि लगातार सुरु हुने चाडपर्वको प्रतीक्षामा थिए। – त्यसैले, असोज ३ गते आज, हाम्रो संविधान दिवस हो, हामी नेपालीहरूको राष्ट्रिय दिवस हो। चाडवाडको रूपमा सबैभन्दा ठूलो चाड हो। तीनवटै तहमा क्रियाशील हाम्रा ७ सय ६१ सरकारहरूको सक्रियतामा सिंगो मुलुकभरी नै मनाइँदै गरेको एकता दिवस हो। – दशकौंसम्म संघर्षमा हेलिएकाहरू जसले पीडा झेलेका छन्÷बुझेका छन्, तिनका लागि आजको दिन गौरव गाथाले भरिएको दिवस हो। पारिवारिक विछोड, उत्पीडन र छटपटीबाट उन्मुक्ति पाएका सबै नेपालीहरूका लागि आजको दिन स्वतन्त्रता दिवस पनि हो, प्राप्त उपलब्धिप्रति गर्व गर्ने उत्सव हो। त्यसैले यो हाम्रो राष्ट्रिय दिवस, न त फगत तामझाम हो, न आम जनतामा अरुचि हुने निरंकुश शासकहरूको ‘उर्दी र तामेली’ जस्तो हो। देशवासी दिदीबहिनी, दाजुभाइहरू, – गएको वर्ष राष्ट्रिय दिवसको अवसरमा मैले आजको दिनलाई आधुनिक नेपालको इतिहासको महत्वपूर्ण ‘बेञ्च–मार्क’ भनेको थिएँ। संविधानका धारा र दफाहरूका बारेमा चर्चा गरेको थिएँ। संविधान प्राप्तिका लागि हामीले लडेको सात दशक लामोे संघर्ष र सफलतालाई संक्षेपमा उल्लेख गरेको थिएँ। र, लोकतन्त्र तथा लोकतान्त्रिक प्रणालीप्रतिको निष्ठा, गतिशीलताप्रतिको प्रतिवद्धता व्यक्त गरेको थिएँ। – त्यस्तो निष्ठा, जहाँ वंशानुगत÷जन्मजात श्रेष्ठता जस्तो अलोकतान्त्रिक प्रणालीलाई कुनै स्थान हुन्न। – त्यस्तो गतिशीलता, जहाँप्राप्त अधिकारलाई व्यवहारमा प्रयोग गरिन्छ । संविधानको कुन भाग, धारा वा दफामा के कति अधिकार रह्यो वा रहेन जस्ता विषयमा अल्झिने भन्दा जुन वेला जे मिल्दैन, जुन अग्रगतिका अघि तगारो बन्छ, त्यसलाई त्यहीबेला विधिसम्मत ढंगले मिलाउँदैरपन्छाउँदै अघि बढिन्छ। – त्यतिखेर मैले संविधानले आत्मसात गरेका हाम्रा राष्ट्रिय आकांक्षा र लक्ष्यबारे चर्चा गरेको थिएँ। ‘समृद्ध नेपाल, सुखी नेपाली’को हाम्रो राष्ट्रिय आकांक्षा, पछि परेको नेपाली समाजलाई रूपान्तरण गर्न तपाईंरहामीले संयुक्त रूपमा देखेको, पूरा हुने र पूरा गर्नै पर्ने सपना भएको उल्लेख गरेको थिएँ। – आज म ती प्रतिवद्धतालाई पुनः एकपटक दोहोर्याउने अनुमति चाहन्छु । र, सरकार सञ्चालनको १८ महिनामा भएका उपलब्धिको संक्षेपमा चर्चा गर्ने अनुमति चाहन्छु। – आर्थिक वर्ष २०७५र७६ मा यस दशककै ७.१ प्रतिशतको उच्च आर्थिक वृद्धि हासिल भएको छ। सबै आर्थिक क्षेत्रको वृद्धिदर ५ देखि ९ प्रतिशतको बीचमा छ। र, सबै प्रदेशहरूको आर्थिक वृद्धिदर पनि ६ प्रतिशतदेखि ८ प्रतिशतसम्मको बीचमा छ। यसरी यो वृद्धि क्षेत्रगत र प्रादेशिक दुवै रूपमा सन्तुलित र समतामूलक छ । यसले संघीयता कार्यान्वयनको पहिलो चरणमा नै मुलुक समतामूलक विकास र समृद्धिको मार्गमा अघि वढेको संकेत मिलेको छ। – आर्थिक वर्ष २०७५र७६ मा निर्यात वृद्धि १९.४ प्रतिशतले भएको छ भने आयातको वृद्धि १३.९ प्रतिशतमा सीमित गरिएको छ। निर्यातमा भएको यो वृद्धि एक दशकमा पहिलोपटक भएको उच्च वृद्धि हो। – भूकम्प तथा सीमा क्षेत्रमा भएको नाकाबन्दीको वर्षबाहेक विगत एक दशकमा आयातको औसत वृद्धिदर २३ प्रतिशत थियो। – आर्थिक वर्ष २०७५र७६ मा राजस्व संकलनमा २२.६ प्रतिशतले वृद्धि भएको छ। – यस अवधिमा बैंकहरूको कर्जा विभिन्न क्षेत्रमा उल्लेखनीय मात्रामा विस्तार भएको छ। जस्तो कि कृषि कर्जामा ४२.५ प्रतिशत, औद्योगिक कर्जामा २०.३ प्रतिशत, निर्माण क्षेत्रको कर्जामा २२.२ प्रतिशत र यातायात तथा सार्वजनिक क्षेत्रको कर्जामा ३२.८ प्रतिशतले वृद्धि भएको छ । – यस अवधिमा विभिन्न ७ प्रकारका कर्जालाई सहुलियतपूर्ण ऋण तथा ब्याज अनुदान उपलब्ध गराइएको छ। यस कार्यक्रमबाट हालसम्म १८ हजार २ सय ९५ जनालाई ३२ अर्ब ८२ करोड रूपैयाँ ऋण उपलब्ध गराई १ अर्ब ५६ करोड रूपैयाँ ब्याज अनुदानसमेत वितरण गरिएको छ। – स्थानीय तहमा वाणिज्य बैंकका शाखा ७ सय ३७ पुगेका छन्। मेरो नेतृत्वको सरकार निर्माण हुँदा यसको संख्या जम्मा ३ सय ९४ थियो। बैंकका शाखा ५ हजार ८ सय ३७ बाट डेढ वर्षमा नै ५१ प्रतिशतले वृद्धि भई ८ हजार ८ सय ५ पुगेको छ । – ‘समृद्धिसँग जोडौं नाता स् सबै नेपालीको बैंक खाता’ नारामा २०७६ वैशाख १ गतेबाट सुरु गरिएको “खोलौं बैंक खाता” अभियानअन्तर्गत हालसम्म १ लाख ६५ हजार ६ सय २२ जनाको बैंक खाता खोलिएको छ। – संघ, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने कामको बाँडफाँड, राजस्व बाँडफाँड तथा अनुदान वितरणसम्बन्धी सूत्र ६ सय ३५ वटा स्थानीय तहमा कार्यान्वयनमा आएको छ। – नेपालले डेढ वर्षको अवधिमा नै संघीयता कार्यान्वयनको महत्वपूर्ण पाटो वित्तीय संघीयताको व्यवस्थापन सहज रूपमा गरेको छ। प्रदेश र स्थानीय तहको स्रोत व्यवस्थापन राजस्व बाँडफाँट तथा खर्च प्रणाली व्यवस्थित भएको छ। आय÷व्यय र निकासाको प्रतिवेदन विद्युतीय प्रणालीबाट हुने व्यवस्था कार्यान्वयनमा आएको छ। हाम्रो लागि यो असाधारण सफलता हो र नेपालको वित्तीय संघीयताको शीघ्र कार्यान्वयन बाँकी विश्वको लागि सफल उदाहरण हो। – यसै आर्थिक वर्षदेखि सुरु गरिएको भेहिकल÷कन्साइनमेन्ट ट्रयाकिङ प्रणालीमा ३० हजारभन्दा बढी फर्म जोडिइसकेका छन्। यसबाट राजस्व चुहावट नियन्त्रण गर्न मद्दत पुग्नेछ। – भूकम्पपछि बन्द भएको तातोपानी नाकाबाट आयात–निर्यात सुचारु भएको छ। सिन्धुपाल्चोकको लार्चा्स्थित सुक्खा बन्दरगाह यसै अवधिमा निर्माण भई सञ्चालनमा आएको छ। – टेलिप्रिजेन्सको माध्यमबाट राष्ट्रिय गौरवका परियोजनाको प्रत्यक्ष अनुगमन गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको छ। – सार्वजनिक सेवाको आधुनिकीकरणका लागि राष्ट्रिय परिचय पत्रको वितरण कार्य प्रारम्भ भएको छ। विद्युतीय सार्वजनिक सेवामार्फत् सुरक्षा तथा प्रहरी प्रशासन, भूमि व्यवस्था, यातायात प्रशासन, औद्योगिक सेवा, राजस्व प्रशासन, न्याय प्रशासन, अध्यागमन तथा राहदानी, एकीकृत नागरिक एप्स र विद्युतीय मतदानको प्रणाली सञ्चालनको तयारी पूरा भएको छ। – मुलुकका ८९ मालपोत कार्यालयबाट विद्युतीय प्रणालीमार्फत् सेवा प्रदान गर्ने कार्य थालनी भएको छ। – अघिल्लो आर्थिक वर्षमा करिव १ हजार ६ सय किमी कालोपत्रे सडक निर्माण भएको छ। २ सय ४३ सडक पूलको निर्माण सम्पन्न भएको छ। – यस वर्ष १ हजार मेगावाट विद्युत् उत्पादन गर्नेगरी विद्युत र नवीकरणीय ऊर्जाका परियोजना सञ्चालन छन्। यो सरकार गठन हुँदा कायम रहेको प्रतिव्यक्ति ऊर्जा खपत वृद्धि भई १ सय १० किलोवाट प्रतिघन्टाबाट २ सय ४५ किलोवाट प्रतिघन्टा पुगेको छ। – यस अवधिमा मुलुकका ७ हजार ३ सय ७७ हेक्टर थप भूभागमा वृक्षारोपण गरिएको छ। आर्थिक वर्ष २०७५÷७६ को एकै वर्षमा मात्र ४ हजार १ सय हेक्टर नयाँ क्षेत्रमा वृक्षारोपण भएको छ। यो अघिल्लो वर्षको तुलनामा १४१ प्रतिशत बढी हो। वृक्षारोपण भएका क्षेत्रमा फलफूलका मात्र ४५ लाख विरुवा रोपिएका छन्। – यसै अवधिमा थप ३ हजार ७ सय हेक्टर भूमिमा सिँचाइ सुविधा विस्तार गरिएको छ। – भूकम्पबाट क्षति भएका ४ लाख ९२ हजार निजी घर, ५ हजार विद्यालय र ६ सय ६५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणसम्पन्न भइसकेको छ। – बारा र पर्साका चक्रवातीय आँधी पीडितका लागि ८ सय ६९ घर निर्माण गरी हस्तान्तरण गरिएको छ। – दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइनको रूपमा मोतिहारी–रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, यो सरकार बनेपछि शिलान्यास भइ हाल निर्माण सम्पन्न भएको छ। गत भदौ २४ गते नेपाल तथा भारतका प्रधानमन्त्रीद्वारा संयुक्तरूपमा उद्घाटन गरी यसलाई सञ्चालनमा ल्याइएको छ। – वर्तमान सरकारको कार्यकालमा स्वास्थ्य बिमाको दायरामा आउने नागरिकको संख्या तीन गुणाले वृद्धि भएको छ। ७ लाख ८४ हजार परिवार संख्यामा रहेका बिमितहरूको संख्या २१ लाख ९५ हजार ३ सय ८८ पुगेको छ। आर्थिक वर्ष २०७४र७५ को माघ मसान्तसम्म २५ जिल्लाका २ सय २९ स्थानीय तहमा सञ्चालन भएको यस कार्यक्रम हाल ४८ जिल्लाका ४ सय ७१ स्थानीय तहमा विस्तार भएको छ। – विद्यालय जाने उमेर समूहका सबै बालबालिका विद्यालयमा भर्ना भएको स्थानीय तहको संख्या १ सय २७ पुगेको छ। यस वर्ष विद्यालय जाने उमेर समूहका बालबालिकामध्ये थप ३ लाखलाई विद्यालय भर्ना गरिएको छ। र, कक्षा १ देखि १० सम्मका सबै ५६ लाख ३८ हजार बालबालिकालाई शैक्षिक वर्षको सुरूमा नै पाठ्यपुस्तक उपलव्ध गराइएको छ। – वर्तमान सरकार गठन हुनुअगाडि मुलुकका ४३ जिल्ला पूर्ण साक्षर जिल्ला घोषित भएकोमा यो सरकार गठन भएपछि ५१ जिल्ला साक्षर घोषणा भएका छन्। थप १ हजार माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ। – प्रधानमन्त्री रोजगार कार्यक्रमबाट देशभरका ६ सय ४६ स्थानीय तहमा १ लाख ८८ हजार ३ सय ४६ जनालाई औसत १३ दिनका दरले जम्मा २३ लाख ४३ हजार १ सय ३६ दिनको रोजगारी उपलव्ध गराइएको छ। – श्रमिकहरूको वैदेशिक रोजगारी सुलभ, सुरक्षित र मर्या्दित तुल्याउन शून्य लागतको सिद्धान्तबमोजिम मलेशिया, संयुक्त अरब इमिरेट्स तथा मौरिसससँग द्विपक्षीय श्रम सम्झौता र समझदारी गरिएको छ। शून्य लागतमा मलेशियामा रोजगारीमा जाने श्रमिकहरूले मलेशियाकै श्रमिकहरूसरह न्यूनतम तलब, स्वास्थ्य तथा दुर्घटना बिमा सुविधाको ग्यारेन्टी भएको छ। जापानका नागरिकले पाउने सरहको सुविधा नेपाली श्रमिकले पाउने गरी जापानसँग द्विपक्षीय श्रम समझदारी गरिएको छ। – यसै आर्थिक वर्षबाट श्रमिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको छ। गत मंसिर १४ गतेबाट सुरु गरिएको सामाजिक सुरक्षा कार्यक्रममा हालसम्म सूचीकृत करिब ५ हजार रोजगारदातासँग कार्यरत ६६ हजार ४ सय ९ योगदानकर्ता श्रमजीवीहरू सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेका छन्। – वर्तमान सरकार गठन भएपछि जारी भएका ४३ ऐनमार्फत् २ सय १ ऐन संशोधन भएका छन्, १३ ऐन खारेज भएका छन्। ५ अध्यादेश जारी भएका छन्। ४२ विधेयक संसद्मा दर्ता भइ विचाराधीन छन्। – सिण्डिकेट सदाको लागि अन्त्य गरी काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणालीमा सुधार गर्न सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने विधेयक संघीय संसद्मा विचाराधीन छ। – आम नागरिकको सुविधाको लागि विद्युतीय बस छिट्टै सञ्चालन हुँदैछ। सरकारले साझा यातायातमार्फत् काठमाडौ उपत्यका र प्रदेशका मुख्य सहरहरूमा तीन सय विद्युतीय बस खरिद गरी सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। – जटिल मानिएको कर्मचारी समायोजन कार्य सम्पन्न भएको छ। स्थानीय तहको स्वीकृत ६६ हजार ९ सय ८ दरबन्दीमा अपुग भएको २३ हजार १ सय १ पदहरूमध्ये ५ सय १५ स्थानीय तहका निम्ति १३ हजार ६ सय ४५ पदमा स्थायी पदपूर्ति गर्न लोक सेवा आयोगको परीक्षा सम्पन्न भएको छ। परीक्षाको नतिजा प्रकाशन अन्तिम चरणमा छ। प्रदेशमा स्वीकृत २१ हजार ३ सय ९९ पदमध्ये १३ हजार ८ सय २१ पदमा कर्मचारी समायोजन भइसकेका छन्। रिक्त पदमा पदपूर्तिको प्रक्रियाका लागि प्रदेश लोक सेवा आयोग गठन भइ कार्यारम्भ गरिएको छ। – जापानसँग नेपालको सीधा हवाइ सम्पर्क पुनःस्थापना भएको छ । नेपाल भ्रमण वर्ष २०२० को तयारी तीव्र रूपमा भइरहेको छ। – दक्षिण एसियाली खेलकूद प्रतियोगिताको लागि पूर्वाधार तयारी अन्तिम चरणमा पुगेको छ। – पहिलो पटक नेपालमा कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले मासिक १०० रूपैयाँबाट सुरु गरेको सामाजिक सुरक्षा भत्तालाई प्रतिमहिना पाँच हजार रूपैयाँ पुर्याउने प्रतिवद्धता अनुरूप २०७६ साउनबाट तीन हजार रूपैयाँ पुर्याइएको छ। – यस अवधिमा विभिन्न ८ मुलकका सरकार तथा राष्ट्र प्रमुखले नेपालको औपचारिक भ्रमण गर्नुभएको छ। सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्न चार मुलुक, सम्माननीय उपराष्ट्रपतिज्यूबाट दुई मुलुकहरुको औपचारिक भ्रमण सम्पन्न भएको छ। प्रधानमन्त्रीबाट १० औपचारिक भ्रमण समपन्न भएका छन्। ३९ देश तथा संस्थाहरूको सहभागितामा लगानी सम्मेलन सम्पन्न भएको छ। – यी भ्रमणले हाम्रो परराष्ट्र सम्बन्ध थप सुदृढ गर्न महत्वपूर्ण योगदान गरेको छ। हाम्रो छिमेक सम्बन्ध सुदृढ भएको छ। ‘सबैसँग मित्रता, कसैसँग रहन्न शत्रुता’को नीति अनुरूप हासिल हाम्रो कुटनीतिक सफलताले नेपाल अब विश्व मानचित्रमा ‘देखिन र सुनिन’ थालेको छ। – परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीहरूको ज्ञान र सीप नेपालको विकासमा परिचालन गर्न ‘ब्रेनगेन सेन्टर’ को स्थापना गरेको छ। – सार्वजनिक खरिद व्यवस्थापनलाई प्रभावकारी र पारदर्शी बनाउन र ठेक्का लिएर लामो समयसम्म काम नगर्ने ठेकेदारका लागि निश्चित समय थप गरिदिँदा समेत काम सम्पन्न नगरेको अवस्थामा कारबाही गर्नेगरी सार्वजनिक खरिदसम्बन्धी नियमावली संशोधन गरिएको छ । – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियताका साथ भ्रष्टाचार विरुद्धको कारवाही अघि बढाइरहेको छ । अपराधीहरू, देशभरीका भू–माफियाहरू, राजस्व ठग्नेहरू, तस्कर र भ्रष्टहरूका विरुद्ध कतै नियमित प्रशासनिक प्रक्रियाबाट, कतै स्ट्रिङ अपरेसनमार्फत् निर्मम कारवाही सुरु गरिएको छ। यो सरकार गठन भएदेखि हालसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विभिन्न कसुरमा ५ सय ४० विरुद्ध रु. ४ अर्ब २५ करोड विगो माग दाबी गरी मुद्दा चलाइएको छ। – राजस्व चुहावट र विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोवारको कसुरमा ५ सय ६८ जना उपर १४ अर्ब ६९ करोड ३८ लाख रूपैयाँ माग दाबीसहित मुद्दा दायर गरिएको छ। दिदीबहिनी तथा दाजुभाइहरु, – हामीले अघिल्लो आर्थिक वर्षलाई ‘समृद्धिको आधार वर्ष’ भनेका थियौं। कानुनहरु बने, जनशक्ति विन्यास भए। स्रोतको न्यायोचित वितरण भयो। तीनवटै तहमा सरकार सञ्चालनका लागि आवश्यक न्यूनतम भौतिक संरचना निर्माण भए। विकासका लागि आधार बनेको छ– कतै जग हालिएको छ, कतै पहिलो वा दोस्रो तला थपिएको छ। विकासका लागि आवश्यक अरु तलाहरु थपिनेछन्, थप्दै÷थप्दै अघि बढिने छ। – भन्नकै लागि त भन्न सकिन्छ नि– खै त रेल, खै त पानी जहाज ? कहाँ छ सुरुङ खनेको? कता छ सतह जलमार्गमा मालवाहक सवारी कुदेको ? अभैm जोड दिएर सोध्न सकिन्छ( हामीलाई सपना किन देखाएको ? हामीमा आशा किन जगाएको ? – म विनम्रताका साथ स्वीकार्छु– हो, मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ। मैले भनेको हुँ– निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं। – कुनै देश जब भविष्यप्रति आशावादी हुन्छ, सुन्दर भविष्यको सपना देख्छ, सुदिनहरू आउँछन् भन्ने विश्वास गर्छ, तब नै त्यो देश बाँच्न सक्छ। तब नै त्यस देशले काम गर्न सक्छ, मिहेनत गर्नसक्छ। मेरो काम मुर्छित सपनालाई जगाउनु र तिनिहरूप्रति विश्वास बढाउनु थियो। र, ती विश्वास साकार पार्न हरेकले प्रयास गरुन्, जसबाट देश विकास सम्भव बनाउन सकिन्छ, समाज विकास सम्भव बनाउन सकिन्छ भन्ने थियो। मैले त्यही नै कोशिस गरेको थिएँ। – म वा मेरो दल, हामीहरू कोही पनि फगत सपनाका सौदागार थिएनौं। सकियो, भत्कियो, अब हुन्न भन्ने मनस्थिति फेर्न र अबचाहिँ केही हुन्छ भन्ने विश्वास जगाउन नै मैले र तत्कालीन समयको हाम्रो गठबन्धनका नेताले ‘चुनावपछि केही हुन्छ’ भन्ने आम जनतामा आशा सञ्चार गरेका थियौं । तपाईंहरूले हामीलाई, हाम्रो प्रतिवद्धतालाई विश्वास गर्नुभयो, बलियो बहुमत दिनुभयो । धन्यवाद भन्न चाहन्छु र आज म फेरि एकपटक सेवाको लागि मौका दिनु भएकोमा हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । दिदीबहिनी तथा दाजुभाइहरू, – धेरै पटक भनेको छु( मैले मृत्युलाई नजिकैबाट देखेको छु। जनबोलीमा भन्नुपर्दा पटक–पटक मरेर बाँचेको छु। मजस्तै मेरो टिममा रहेका धेरै साथीहरू यस्तै नाफाको जिन्दगी बाँचिरहनुभएको छ । – मैले आफैसँग पटकपटक प्रश्न गर्ने गरेको छु( आधा शताब्दीअघि कलिलै वयमा आप्mना दौंतारीहरूसँगै घरबार छोडेर हिँडेको केका लागि ? र, जवाफ पाउने गरेको छु– मुलुक बनाउनका लागि । तपाईं हाम्रा साझा सपना पूरा गर्नका लागि । यी सबै संघर्षहरूमा मेरो संलग्नता कुनै दिन प्रधानमन्त्री पदको विज्ञापन खुल्ला र निवेदन गरौंला भनेर किमार्थ थिएन। – राष्ट्रिय दिवसको यस अवसरमा म फेरि प्रतिवद्धता जाहेर गर्छु– मुलुकले काँचुली फेर्छ, हाम्रा सपना पूरा हुन्छन्, हुन्छन्। यस अभियानको नेतृत्वमा अहिले म छु। – धैर्य गरौं– अढाई शताब्दीदेखि खजमजिएको थिति, अढाई वर्ष नपुग्दै दुरुस्त किन भएन भन्ने जस्ता प्रश्नमाथि एकचोटी पुनर्विचार गरौं। – मुलुक बन्ने ठोस आधार छन्। हामीसँग हालसम्म दोहन नगरिएका प्राकृतिक स्रोत छन्। अनुकूल जलवायु छ। राजनीतिक स्थिरता छ। तपाईंहरूको मतबाट बनेको बलियो सरकार छ। – अहिले हामीलाई जनसांख्यिक लाभ पनि छ। हाम्रो जनसंख्यामा ३४ वर्ष मुनिको संख्या ६५.५ प्रतिशत छ। १४ वर्ष मुनिका ३४.८ प्रतिशत किशोर÷किशोरीहरूको संख्यालाई कटाउने हो भने पनि १५ देखि ३४ वर्ष उमेर समूहका सक्रिय युवा संख्या ३०.५ प्रतिशत छ। ६५ वर्ष माथिका पाका नागरिकको जनसंख्या त जम्माजम्मी ४ प्रतिशत मात्रै छ। – मलाई यसैमा हतारो छ। यो युवापंक्ति छिप्पिनुअघि विकासको तीव्र गतिको दौड पूरा गर्नुपर्छ। तब मात्रै गणतन्त्र पछिको नेपाली पुस्तालाई भाग्यमानी पुस्ता बनाउन सकिन्छ। – मलाई गर्व ती युवा पंक्तिप्रति छ, जसले विभिन्न इनोभेटिभ प्रयास थालेका छन्। कतिले वस्तु उत्पादनबाट, कतिले सेवा सिर्जना गरेर समाजलाई गुन लगाइरहेका छन्। – तर, मलाई थोरै चिन्ता केही फुर्स्दिलो युवा पंक्तिको पनि छ, जसको ऊर्जा रचनात्मक सिर्जनामा भन्दाबढी सामाजिक सञ्जालमा विना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा व्यतीत भइरहेको छ। – मलाई चिन्ता एउटा हुर्किएको पुस्ताको पनि छ, जो समाजसँग संस्कार र सकारात्मक अनुभव साटासाट गर्न चुकिरहेको छ। ‘क्रिटिकल अप्रोच’को नाममा सार्वजनिक प्लेटफर्मबाटै प्रवाहित उनीहरूका अभिव्यक्ति घृणा, द्वेष, अशिष्टता र परपीडनको भाषा बोल्न सिंगो समाजलाई प्रेरित गरिरहेको हो की जस्तो भान हुन्छ। – मैले पटक–पटक भन्दै आएको छु, आजको आवश्यकता उच्छृंखलता र अराजकता हैन, सामाजिक सद्भाव, आपसी एकता र सहिष्णुता हो। आजको लडाइँ लोकतन्त्रप्राप्तिका लागि हैन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र सुदृढ गर्नका लागि हो। – पाइला नै नचलाई कसरी दौडने? यथास्थितिमा रहेर परिवर्तनको अनुभूति कसरी दिने? रूपान्तरण हैन प्रतिक्रिया, परिणामसँग साइनो नै नहुने प्रक्रियामा किन र कति अल्झिरहने ? विना–मुद्दाका विषयमा मूल मुद्दा जस्तो बहस÷विवादको माहोल किन बनाउने ? अझै पनि ‘हुँदैनरसकियो’ जस्ता असन्तुष्टिको खेतीलाई उकेरा किन लगाउने ? – अब हामीले तरीका फेर्नैपर्छ। – यस आर्थिक वर्षबाट गरिने कामलाई नतिजामुखी बनाउन कार्यसम्पादन सम्झौता सुरु गरिएको छ। प्रधानमन्त्रीसँग मन्त्रीहरूले, मन्त्रीहरूसँग सचिवहरूले र सचिवहरूसँग मातहतका अधिकारीहरूले नीति÷कार्यक्रमद्वारा तय गरिएका एक वर्षमा गर्नुपर्ने प्रत्येक काम त्यस सम्झौतामा उल्लेख गरिएको छ। ‘अनुगमनको पनि अनुगमनलाई’ थप प्रभावकारी बनाउन डिजिटल पोर्टल र एक्सन रुम सञ्चालनमा ल्याइएको छ। – प्रदेशको काम प्रभावकारी बनाउन वरिष्ट सहसचिवहरूलाई प्रदेश सरकारको सचिवका रूपमा खटाइएको छ। प्रोत्साहन र दण्डको प्रणाली स्थापना गर्न विशिष्ट श्रेणीमा पदोन्नतिको आधार प्रदेश सरकारको कामलाई पनि बनाउने नीति सुुरु गरिएको छ। फाइल बढुवाबाट सिर्जना हुने अकर्मण्यतालाई अन्त्य गर्न उमेर वा नोकरीको ज्येष्ठता हैन, कार्यकुशलतालाई प्राथमिकतामा राखिने छ। ‘पानीमाथिको ओभानो’ बन्ने आकांक्षामा आवश्यक निर्णय समेत नगर्ने प्रवृत्तिलाई निरुत्साहित गरिनेछ। – राष्ट्रिय गौरवका रूपमा घोषणा गरिएका ठूला परियोजना सम्भव हुने जतिलाई समयमै सम्पन्न गर्नेगरी टाइमलाइन तोकिएको छ। स्रोत नजुट्ने र विस्तृत परियोजना प्रतिवेदन समेत नभएका परियोजनालाई थाती राखिने छ। – रसुवाको टिमुरेमा निर्माण प्रारम्भ गरिएको सुक्खा बन्दरगाह ३० महिनामा सम्पन्न गरिने छ। – काठमाडौं–तराइरमधेस द्रूतमार्गको निर्माण सरकारको यही कार्यकालभित्र सम्पन्न गर्नेगरी विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भएको छ। – यसै आर्थिक वर्ष्भित्र गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेछ। आगामी आर्थिक वर्षको अन्त्य सम्ममा पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल समेत सञ्चालनमा आउनेछ। – नवलपरासीको धौवादीमा रहेको फलाम खानी सञ्चालन गर्न धौवादी फलाम खानी लिमिटेड स्थापना गरिएको छ। – सुरुङमार्ग, रेलमार्ग, सतह जलमार्ग हुँदै पानी जहाज सपना पूरा गर्ने प्रारम्भिक तयारी पूरा भएको छ। – अहिले हाम्रो अर्थतन्त्रको आकार लगभग ३५ खर्ब रूपैयाँको छ । यो सरकारको सिंगो कार्यकालभित्र नेपाली अर्थतन्त्रको आकार ५० खर्ब रूपैयाँ पु¥याइनेछ । देशबासी दिदीबहिनी तथा दाजुभाइहरु, – संविधान कार्यान्वयनको सन्दर्भमा हामी कोही पक्ष वा कोही प्रतिपक्ष होइनौं। यसमा कोही पक्ष, कोही प्रतिपक्ष हुँदैनन् भन्ने मेरो विश्वास छ । – हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थाहरूलाई पनि यसले यसै अवधिमा मूलधारमा फर्काउन सफल भएको छ, जो अझै बाटो भुलिररहेका छन्, उनीहरूलाई पनि मूलधारमा आउन ढिला नगर्न मेरो आग्रह छ। – नयाँ संविधान र त्यस अन्तर्गतको तीनै तहको आम निर्वाचन सम्पन्न भएसँगै राजनीतिक आन्दोलनको चरण अब समाप्त भएको छ। लोकतन्त्रलाई सुदृढ गर्ने र प्राप्त उपलब्धिलाई संस्थागत गर्ने प्रक्रिया जारी छ। अब पनि राजनीतिको नाममा शान्ति सुरक्षा र राष्ट्रिय एकतालाई खल्बल्याउने काम कहिँकतैबाट भए संविधान र कानुन विपरितका त्यस्ता कुनै पनि गतिविधि सरकारले रोक्छ। – लोकतन्त्रको आधार जनता हुन्, जनतासँगै लोकतन्त्रका संस्था पनि हुन्। जनता बलियो हुँदा लोकतन्त्रका संस्थाहरु बलियो हुन्छन्। ती संस्था बलियो हुँदा लोकतान्त्रिक प्रणाली सदृढ हुन्छ। प्रणाली सुदृढ हुँदा आम जनतामा सेवा प्रवाह गर्न मद्दत पुग्छ। – नागरिकमा लोकतन्त्रको लाभांशको समन्यायिक वितरण गर्ने जिम्मेवारी सरकारले वहन गर्छ। समृद्धिको सिर्जना, यसको सन्तुलन र दीगोपनाका लागि राज्य र नागरिकको बीचमा सदैव उच्चस्तरको समझदारी र एकतामा जोड दिन्छ। यसबाट नै हामी समृद्ध, सुखी, सभ्य र न्यायपूर्ण समाजको सिर्जना गर्न सक्छौं भन्ने मेरो विश्वास छ। – छिट्टै सुरु हुने दसैंरतिहारसहित विभिन्न चाडपर्वहरुको अग्रिम शुभकामना। धन्यवाद ।

वनमन्त्री बस्नेत न्यूयोर्क प्रस्थान

काठमाडौंः वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत संयुक्त राष्ट्रसङ्घको आयोजनामा हुने जलवायु कार्यशिखर सम्मेलनमा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन आगामी २३ सेप्टेम्बर (सोमबार) देखि अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा शुरु हुँदैछ । मन्त्री बस्नेतले सम्मेलनका दुई सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको उहाँका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । उनले ‘अ कल फर एक्सनः रेजिङ एम्बीसन फर क्लाइमेट एडप्टेशन एण्ड रेजिलियन्स र ‘कम्युनिटी रेजिलियन्स पार्टनरसिप प्रोगाम’ विषयमा सम्बोधन गर्ने छन् । यसैगरी उनले आगामी मङ्गलबार संयुक्त राष्ट्रसङ्घको दिगो विकाससम्बन्धी विशेषसभामा सहभागी हुने कार्यक्रम छ । न्यूयोर्क प्रस्थान गर्नुअघि मन्त्री बस्नेतले जलवायु परिवर्तन अनुकूलनका दिगो र प्रभावकारी कार्यक्रम तय गर्न विश्व समुदायलाई अपिल गरिने जानकारी दिए । मन्त्री बस्नेतले नेपालका तर्फबाट जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण विश्व भयाबह सङ्कटको नजिक पुगेकाले यसको समाधान नियमित प्रयासबाट मात्र सम्भव नहुने भएकाले विश्वस्तरबाटै साझा पहल हुनुपर्ने विषय उठाइने जानकारी दिए । नेपालले यसपटक लजवायु परिवर्तनमा न्यून भूमिका रहेका तर असरबाट अतिप्रभावित नेपालजस्ता मुलुकको अनुकूलन क्षमता बढाउन आवश्यक स्रोतको व्यवस्था गर्न अपिल गर्ने भएको छ । त्यस्तै नेपालले जलवायु परिवर्तनका कारण तीव्र गतिमा हिमाल पग्लनेक्रम बढेको र त्यसको प्रभावबाट विश्व नै प्रभावित भएको विषयमा समेत विश्व समुदायको ध्यानाकर्षण गराउने छ । आगामी नोभेम्बरमा चिलीमा हुने जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रको सम्मेलन (कोप) को तयारी स्वरुप सो सम्मेलन हुन लागेको हो ।

संविधान दिवसः २ सय ६० को कैद सजाय कट्टा, २२ लाई सजाय माफी

काठमाडौंः संविधान दिसवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुई सय ६० जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय कट्टा गरेकी छिन् । त्यस्तै, २२ जनालाई कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व लगायतको सजाय माफी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम दुई सय ६० जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय कट्टा गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले बताए । संविधानको धारा २७६, मुलुकी फौजदारी कार्य्विधि संहिता, २०७४ को दफा १५९ बमोजिम २२ जनालाई कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्वलगायतको सजाय माफी गरिएको घिमिरेले जानकारी दिए ।

‘मुलुकले काँचुली अवश्य फेर्छ, सबै सपना पुरा हुन्छन्, धैर्य गर्नुस्’

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देखाएका सपना पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् । संविधान दिवसको अवसरमा काठमाडौंमा आयोजना गरिएको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समय धेर्य गर्न आग्रह गरे । उनले भने, ‘मुलुकले काँचुली अवश्य फेर्छ, सबै सपना पुरा हुन्छन्, धैर्यगर्नुस् ।’ मुलुकको सम्बृद्धिका लागि वर्तमान सरकारसँग ठोस आधार रहेको भन्दै ओलीले युवाहरुलाई पनि देश विकासमा सघाउन आग्रह गरे । उनले संविधान कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्ष नहुँने भन्दै सबैलाई त्यसमा सहयोग गर्न आग्रह गरे । ‘केही अतिवादी समूह संविधानलाई स्वीकार गर्दै मुलधारमा आइसकेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘बाटो विराई रहेकालाई पनि संविधानमा टेकेर मुलधारमा आउन आग्रह गर्दछु ।’ आजको आवश्यकता अराजकता नभएर एकता भएको भन्दै ओलीले संविधान र कानून विपरितका कुनै पनि गतिविधि रोक्न सरकार बाध्य हुने चेतावनी दिए ।

यस्तो छ संविधान नमान्नेहरुको असहमति

काठमाडौंः सरकारले संविधान दिवसलाई घरघरमा दिपावली गरेर मनाउन आग्रह गरिरहेका बेला थरुहट थारुवान राष्ट्रिय मोर्चाले भने टोलटोलमा विरोध सभा आयोजना गर्ने भएको छ । संविधान दिवसको दिन सरकारले बिभिन्न स्थानमा कार्यक्रम आयोजना गरिरहदा मोर्चाले काठमाडौंको बसन्तुपुर डबलीमा विरोध सभा गर्दैछ । ‘असोज तीन, कालो दिन’ भन्दै मोर्चाले अपुरो जनविरोधी प्रतिगामी संविधान संशोधनका लागि विशाल जनप्रदर्शन गर्ने संयोजक लक्ष्मण थारुले बताए । ‘थारु विरोधीको पुटला पोलपोलमा, विरोध गरौं टोलटोल’ मोर्चाले ‘थरुहट थारुवान विरोधीहरुको पुटला पोलपोलमा, संविधान दिवसको विरोध गरौं टोलटोल’ भन्ने नारा तय गरेको छ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक थारुले भने, ‘थारुहट र थारुवान विरोधीका पुटला (पुतला) पोलपोलमा टास्नेछौं, अनि टोलटोलमा गएर संविधानको विरोध गर्नेछौं ।’ त्यस्तै, असोज तीनलाई विभेदकारी संविधान जारी भएको कालो दिन भन्दै जुलुससहित विरोध प्रदर्शन गर्ने र आधार घण्टा ‘ब्लाक आउट’ गर्ने कार्यक्रम तय भएको छ । काठमाडौं उपत्यकामा नयाँ सडकको जुद्ध सालिकमा दिउँसो ३ बजे प्रदर्शन गर्ने र साँझ ७ बजेदेखि आधा घण्टा ‘ब्लाक आउट’ गर्ने जनाइएको छ । ‘असोज तीन, कालो दिन’ किन ? देशवासीले संविधान दिवसलाई दिपावली गरेर मनाइरहदा थरुहट थारुवान राष्ट्रिय मोर्चाले ‘असोज तीन, कालो दिन किन मनाउँदैछ ? भन्ने प्रश्नमा मोर्चाका संयोजक थारुले भने, ‘आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, दलित, महिला, अल्पसंख्यक, सीमान्तीकृत, पिछडावर्गलगायतलाई नेपालको संविधान २०७२ ले विभेदमात्रै गरेन, हामीलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरेको छ । त्यसैले यो संविधान हाम्रो लागि विभेदकारी र अमान्य छ ।’ ‘नेपालको संविधान २०७२ को धारा १८, ३८, ४२, ५६, २७४ र अनुसूची ४ हामी कुनै पनि हालतमा स्वीकार्न सक्दैनौं । त्यसको अर्थ यो होइन कि हामी गणतन्त्र, संघीयता, लोकतन्त्रको विरोधी हौं,’ थारुले भने, ‘हामी गणतन्त्र, संघीयता, लोकतन्त्र मजबुत र व्यवस्थित होस् भन्न चाहन्छौं । अस्थिरता, अराजकता, द्धन्द्ध, जातीय सदभाव, शान्ति बिथोल्ने चाहनाले हामी आन्दोलन घोषणा गरेका होइनौं । हामी चाहन्छौं शान्ति, सदभावसहित सबैले मान्य हुने संविधान बनोस् । त्यसैले आजको आवश्यकता संविधान संशोधन हुनु हो । राज्यले संविधान संशोधन गरेर रुष्ट बनेका सबै समूहको आवाजलाई समेट्न सक्नुपर्छ ।’ उनी चाहन्छन्, ‘देशमा न्याय, कानुन, समानता सबैको लागि बराबर होस् । प्रशासन, बन्दुक, बर्दीधारी, संविधान, कानुन, अदालतमा सबैको समान अधिकार होस् ।’ तर यी सबै क्षेत्रले थारुहरुलाई गुमराहमा पारेर, झुटा मुद्दा लगाएर, जेलमा कोचेर थारु समुदायलाई आतंकित पार्ने काम गरेको थारुको आरोप छ । ‘थारुहरुको पहिचान मेटिनेगरी हतारमा संविधान जारी गरियो । त्यसैले हामी भन्छौं, यो संविधान पश्चगामी छ, मान्नलायक छैन,’ थारुले भने, ‘त्यसकारण हामी ‘असोज तीन, कालो दिन’ मनाउँदै छौं ।’

डिएसपी भाट संबिधान दिवसको अबसरमा सम्मानित

काठमाडौं । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख तथा डिएसपी उद्धब सिं भाट सम्मानित भएका छन् । संबिधान दिवसको अबसरमा प्रहरीमा रहेर देश र जनताका लागि उत्कृष्ट काम गरेको भन्दै विभुषित भएका छन् । प्रहरी प्रमुख भाटलाई राष्ट्रपति बाट नेपाल प्रताप सुभुषण बाट बिभूषित बाट सम्मानित गरिएको छ । संबिधान दिवसको अबसर पारेर बाजुरा जस्तो दुर्गम जिल्लामा बसेर प्रहरी प्रशासनमा उल्लेखनिय कार्य गरेको भन्दै भाटलाई सरकारले सम्मानित गरेको हो । डिएसपी भाट बाजुरा प्रहरी प्रमुख भइसकेपछि जिल्लामा मदिरा नियन्त्रण, जुवावातस लगायत अपराध नियन्त्रणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । पछिल्लो समय बाजुराको शान्ति सुरक्षमा पनि निकै सुधार भएको पाईएको छ । पछिल्लो समयमा सदरमुकाम मार्तडीमा मात्र नभइ जिल्ला भरिमा अपराध नियन्त्रणमा प्रहरी सक्रिय बन्दै गएको छ । मदिरा नियन्त्रण सँगै पछिल्लो समयमा महिला हिशांका घटनामा समेत न्युनिकरण हुदै आएको स्थानियले वताएका छन् । डिएसपि भाट आफै डिउटिमा खटिने गर्छन् ।

आज उपत्यकामा रहेका विभिन्न संग्रहालयहरुमा प्रवेश निःशुल्क

काठमाडौं। सरकारले आज (शुक्रबार) काठमाडौं उपत्यकामा रहेका विभिन्न संग्रहालयमा निःशुल्क प्रवेश दिने भएको छ । संविधान दिवसको अवसरमा शुक्रबार एक दिन हनुमानढोका, पाटन र भक्तपुरमा रहेको राष्ट्रिय संग्रहालयमा निःशुल्क प्रवेश गर्न दिने निर्णय गरेको हो । सरकारले २०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ भने संग्रहालयमा प्रवेश निःशुल्क गरेको हो । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै संविधान दिवसका दिन पारेर निःशुल्क प्रवेश दिने निर्णय भएको बताए । ‘हनुमानढोका, पाटन र राष्ट्रिय कला संग्रहालय प्रवेशमा शुक्रबार शुल्क लिइने छैन ।’ उनले भने । हनुमानढोका, राष्ट्रिय कला तथा पाटन संग्रहालय प्रवेश गर्न नेपालीका बढीमा सय रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । पाटन छिर्नका लागि विदेशका लागि १ हजार, सार्क राष्ट्रका लागि २ सय ५० तथा नेपालीका लागि ३० रुपैयाँ र विद्यार्थीका लागि १५ रुपैयाँ लिने गरिएको छ । सरकारले संग्राहलयहरुमा प्रवशे निःशुल्क गरेपनि कतिपय संग्रहालय तथा पुरातात्विक सम्पदाहरुको अवस्था भने टेकाको भरमा छन् । २०७५ को भूकम्पले क्षतिग्रस्त राष्ट्रिय कला संग्रहालयको भवन टेकाकै भरमा छ  । संग्रहालयमा प्रदर्शनीमा राखिएका पुरातात्विक सामग्रीहरू स्टोरमा थन्क्याइएका छन् । हनुमानढोका संग्रहालयको रेट्रोफिटिङ गरिएको छ भने संग्रहालय परिसरको पुननिर्माण भइरहेको छ । हनुमानढोका दरबार संग्राहालय विकास समितिका अनुसार भूकम्पले दरबार क्षेत्रका ९ वटा सम्पदा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो भने २० मन्दिरमा आंशिक क्षति पुर्याएको थियो । पाटन दरबार क्षेत्रमा ६ वटा सम्पदा पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो भने १५ वटामा आंशिक क्षति पुगेको थियो । भक्तपुर दरबारका ठूला–साना गरी १६ वटा सम्पदामा भूकम्पले क्षति पुर्याएको थियो । यो समाचार आजको राजधानी दैनिकबाट लिइएको हो ।

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने १ जना युवती पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवती पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–२ का पद्मा जोशी छिन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले असोज १ गते काठमाडौंबाट पक्राउ गरेका हो। उनी लाजिम्पाटस्थित शिखर इन्टरनेसनल म्यानपावरमा विगत १२ वर्षदेखि काम गर्दै आएको बुझिएको छ। जोशीले कतार प्रहरीमा मासिक ६ हजार रियालमा काम लगाइदिन्छु भनेर टगी गरेको पाइएको छ। शिखर म्यानपावरले वैदेशिक रोजगारीका नाममा विभिन्न देशमा पठाउने गरेको छ। उनले कतार प्रहरीमा जान ६ लाख १५ हजार लाग्छ भनेर आफ्नो नामको बैंक खातामा गरेर पटक पटक ६ लाख रुपैयाँ जम्मा गर्न लगाएकी थिइन्। उनले सरकारले तोकेभन्दा बढी रकम लिएर ठगी गरेको पाइएकाले पक्राउ गरिएको महाशाखाले जनाएको छ। तोकेभन्दा बढी रकम लिएर ठगी गरेको भन्दै पीडितले उजुरी गरेपछि महाशाखाले उनलाई पक्राउ गरेको थियो।

प्रचण्डद्वारा अराजक तत्वहरुको प्रतिवाद गर्न पुनः आव्हान

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले आन्दोलनका उपलब्धि उल्ट्याउने सपना देख्ने तत्वका विरुद्ध प्रतिवाद गर्न पुन आव्हान गरेका छन् । संविधान दिवसका अवसमा शुभकामना व्यक्त गर्दै प्रचण्डले गणतन्त्रको पक्षमा उभिन सबैलाई अपील समेत गरेका छन् । पढनुस विज्ञप्ती शुभकामना नेपालको संविधानको चौथो वार्षिक उत्सवको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा सर्वप्रथम जनताको त्याग र बलिदानबाट प्राप्त संविधानका खातिर जीवनोत्षर्ग गर्ने नेपाली आमाबुबाका सर्वोत्तम छोराछोरी महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । यसक्रममा बेपत्ता हुनुभएका योद्धा र घाइते योद्धाहरुमा उच्च सम्मान प्रकट गर्दछु । यस संविधानका लागि महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, जनजाति, मधेस लगायत विभिन्न आन्दोलनमा सहभागी जनसमुदायमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । यस संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको छ भने नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको छ । संविधानले नेपालमा बसोवास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसंख्यक, मुसलमान, मधेसी, थारु, उत्पिडित, पिछडिएका वर्ग, क्षेत्र लगायत सम्पूर्ण नेपालीले आजसम्मको संघर्षबाट प्राप्त गरेका हक अधिकार र अवसरको सुनिश्चिततालाई संस्थागत गरेको छ । वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्था तर्फ हामीलाई मार्ग प्रशस्त गरेकाले हामीले परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गर्नुपर्दछ । नयाँ बिचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा हो । जनताको लामो र बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउने दिवा सपना केही अराजक तत्वहरुले देख्ने गरेका छन् । जनतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरुको प्रतिवाद गर्दै सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध हुन संविधान दिवस–२०७६ ले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्दछु । ०३ असोज, २०७६ पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष

चर्चित कृष्णभीर आक्रमणका नायक जनमुक्ति सेनाका कमाण्डर बने नेपाली सेनाको जर्नेल

काठमाडौं । नेपाली सेनाको सहायक रथीमा बढुवा भएका यमबहादुर अधिकारी ‘प्रतिक्षा’ तिनै हुन् जो तत्कालीन माओवादीको १० वर्षे जनयुद्धताका जनमुक्ति सेनाका कमाण्डर थिए । शान्ति प्रक्रियासँगै भएको सेना समायोजनमा परेका उनी सहायक रथी बन्न सफल भए। अधिकारी त्यही भाग्यशाली हुन्– जो पूर्वलडाकुबाट सेनाको उपल्लो तहमा पुग्न सफल भए । समायोजनका क्रममा उपसेनानी बनेका उनी त्यसको केही समयमै उनी महासेनानी (कर्णेल) बन्न सफल भएका थिए। गत मंगलबारको मन्त्रिपरिषद बैठकले अधिकारीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो । विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथीमा पदोन्नति गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । यो पदको पदावधि चार वर्षको हुनेछ । त्यसपछि पद स्वतः खारेज हुनेछ । शान्ति प्रक्रिया अझै सकिनसकेको अवस्थामा सकारात्मक सन्देश प्रवाह गर्न उनलाई बढुवा गरिएको हुनसक्ने बताइन्छ । अधिकारी आफूलाई सहायक रथी बनाउन उनले लामो समयदेखि राजनीतिक तथा आन्तरिक पहल गर्दै आएका थिए । अधिकारी तत्कालीन जनमुक्ति सेनाको डिभिजन कमाण्डर थिए । प्रतिक्षा, जसले धादिङको कृष्णभीरमा सेनालाई एम्बुस थापेर ठूलो परिमाणमा हतियार कब्जा गर्न सफल भएका थिए । २०६३ मंसिर ५ गते सरकार र तत्कालीन माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताअनुसार सात मुख्य र २१ सहायक शिविरमा बस्दै आएका पूर्वलडाकु ०६९ चैत ३० गतेदेखि औपचारिक रुपमा नेपाली सेनामा समायोजन भएका थिए। अधिकारी माओवादीका एक हजार चार सय लडाकुको नेतृत्व गर्दै नेपाली सेनामा समायोजन भएका थिए। अधिकारीको विगत उत्तरी धादिङको मार्पाकमा बाबु बोरसिंह अधिकारी र आमा खड्ककुमारीको कान्छो छोराका रुपमा ०२९ असार १ गते जन्मिएका अधिकारीले ०४६ सालमा द्वित्तीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । अधिकारी ०४६ सालको जनआन्दोलनपछि क्याम्पस पढ्न काठमाडौं आए । काठमाडौं आउनुअघि नै उनी तत्कालिन अखिल छैठौंको धादिङ जिल्ला सदस्य थिए । प्रवीणता प्रमाणपत्र तहको पढाइ पूरा गरेपछि विद्यार्थी संगठनको धादिङ अध्यक्ष बने । पूर्णकालीन भएदेखि उनले जनमिलिसिया, स्क्वायड, प्लाटुन, कम्पनी, बटालियन, ब्रिगेड हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गरेका थिए। ०६३ मंसिर ५ को शान्ति सम्झौतापछि नवलपरासीको झ्याल्टुङडाँडास्थित चौथो डिभिजनमा सहायक कमाण्डर रहेका अधिकारी माओवादीले कमाण्डर गणेशमान पुनलाई वाइसीएल अध्यक्ष बनाएर काठमाडौं ल्याएपछि स्वत कमाण्डर भएका थिए । डिभिजनमा कमाण्डर फेरबदल हुँदा इलामको चुलाचुलीस्थित पहिलो डिभिजनको कमाण्ड सम्हालेका थिए। काठमाडौं पाटीबाट

माहान चाड विजया दशमीको शुभ साहितहरू

काठमाडौं । हिन्दुहरुको माहान चाड विजया दशमी आगामी असोज २१ मंगलबारका दिन बिहान ०८ बजेर ४५ मिनेटमा नवदुर्गा पूजा विर्सजन गरी माता दुर्गाभवानीको प्रसाद टिका, र जमरा ग्रहणगर्ने उत्तम साईत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । यसपालीको नेपालीहरूको महानचाड बडादशैँ अन्तर्गत् विजया दशमी आगामी असोज २१ मंगलबारका दिन बिहान ०८ बजेर ४५ मिनेटमा नवदुर्गा पूजा विर्सजन गरी माता दुर्गाभवानीको प्रसाद टिका, र जमरा ग्रहणगर्ने उत्तम साईत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । यसपालिको टिकाको शुभ साहित लाभ योगमा रहेको हुनाले दुर्गाभवानीले आफ्नो भक्तहरूको मनोकामना पूर्ण गरिदिनुहुने र लाभ फल प्रदान गर्नुहुने विश्वास रहेकोछ । यसदिन पूर्व फर्किएर दुर्गाभवानीको प्रसाद आफ्नो मान्यजनका हातबाट टिका र जमरा ग्रहणगर्नाले शुख, शान्ति, ऐश्वर्य, यश, कृति, लाभ, विजय, आयु, सुस्वास्थ्य तथा मनोकामना पूर्णहुने शास्त्रोक्त कथन रहेकोछ । शास्त्रीय मान्यता अनुसार यो पनि भनिएको छ कि, सर्व साधारण मानिसलाई टीका र प्रसाद ग्रहण गर्न साइत चाहिँदैन अतस् विजयादशमीको दिन देश, काल र परिस्थिति अनुसार जतिबेला पनि माता दुर्गाभवानीको प्रसाद टिका र जमरा ग्रहणगर्न सकिनेछ । त्यसअघि असोज १२ गते आइतबार घटस्थापनाको शुभ साईत बिहान १० बजेर ३५ मिनेटमा रहेकोछ । यो शुभ मुहूर्तमा स्थापना गरिएको कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहन गरी नवरात्र भरी माता दुर्गाजीको भिन्न-भिन्न स्वरूपको पूजा अर्चना गर्ने गरिन्छ, घटस्थापनाको दिन शुभ साईत बिहानै भएपनि श्रद्धा एवं भक्तिले दिनभरिनै आफ्नो कुलाचार र परम्परा अनुसार घटस्थापना गरी जमरा राख्न सकिनेछ । घटस्थापनाको दोस्रो दिन १३ गते सोमबार बिहान सरकारी कार्यालय, सुरक्षा निकाय, कुटनीतिक नियोगहरुमा बिहान १० बजेर २५ मिनेटमा पश्चिम फर्केर राष्ट्रिय झण्डा आदि फेर्नु शुभ रहेको छ । १८ गते शनिबारका दिन बिहान ८ बजेर ५२ मिनेटमा फूलपाती भित्र्याउने उत्तम साईत रहेको छ भने त्यस्तै १९ गते आइतबार महाअष्टमी र कालरात्री हो भने २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ । त्यस्तै २६ गते आइतबार कोजाग्रत पूर्णिमा दिन दिनभरिनै जुनसुकै बेलापनि जमरा सेलाउन सकिनेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

आज – ०३ आश्विन २०७६ शुक्रवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योगछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । धनु धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । कुम्भ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । कर्कट कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ । कन्या कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । बृश्चिक वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । मकर मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मीन मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल