त्रिवि सेवा आयोगले तोक्यो उपप्राध्यापक पदको परीक्षा मिति
काठमाडौं, त्रिभुवन विश्वविद्यालय सेवा आयोगले २०७६ जेठमा आव्हान गरेको उपप्राध्यापक पदको लिखित परीक्षाको मिति सार्वजनिक गरेको छ ।
आयोगले सार्वजनिक गरेको सूचना अनुसार २०७६ कार्तिक २८ देखि माघ २७ सम्म विभिन्न विषयको उपप्राध्यापक पदका लागि लिखित परीक्षा संचालन हुने कार्यक्रम छ ।
आयोगले यस पटकदेखि दुई सय पूर्णांकको परीक्षा लिने भएको छ । प्रथम र द्वितीय प्रश्नपत्र गरेर दुई पत्रमा लिइने परीक्षा अलग अलग दिन लिइने भएको छ ।
यस अघिको सूचना अनुसार भदौमा लिइने भनिएको उक्त परीक्षा आयोगले सूचना प्रकाशित गरेर स्थगित गरेको थियो ।
मुग्लीन नारायणघाट सडकखण्डमा १४ पुल बिस्तार हुँदै, अब डिजाइन गर्नेले नै निर्माण गर्ने
काठमाडौं, नारायणघाट–मुग्लिङ सडकखण्डमा नौ वटा पुलको क्षमता बिस्तार हुने भएको छ। सडकको चौडाईको तुलनामा पुल साँघुरो र प्राविधिकरुपमा उच्चस्तरीय नभएपछि डिजाइन एन्ड बिल्ड मोडलमा पुल निर्माण हुने भएका हुन । अब पुलको डिजाइन गर्नेले नै पुल निर्माण गर्नेछन्। ‘नेपालका धेरै पुल सरकारी निकायले तयार गरेका डिजाइनका आधारमा ठेकेदारले निर्माण गर्ने चलन छ। यसले गर्दा डिजाइन र निर्माणमा एकरूपता कायम हुन सकेको देखिन्न । विश्व बैंकको ऋण सहयोगमा मध्यमस्तरको नारायणघाट–मुग्लिङ सडक एसियाली मापदण्डअनुसार विस्तार गरिएको छ। यो सडक २०७५ जेठमा दुई लेनमा विस्तार भइसकेको छ। सडक फराकिलो बनाइए पनि पुल साँघुरो छ।अहिलेका पुललाई यथास्थितिमा राखेर नयाँ पुल बनाउन लागिएको हो।
सुनसरीमा जितिया महोत्सव हुँदै, प्रचण्डले उद्घाटन गर्ने
सुनसरीः थारु कल्याणकारीणी सभा सुनसरीले आयोजना गर्ने जितिया महोत्सव २०७६ को उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले गर्ने भएका छन । महोत्सव असोज ५ गते सुनसरीको झुम्कामा हुँदैछ । महोत्सवको अवसरमा हातीघोडा सहीतको र्याली, सांस्कृतिक झाँकी, नृत्य लगायतका प्रस्तुति गरिने आयोजक थारु कल्याणकारीणी सभाले जनाएको छ । महोत्सवका कार्यक्रम संयोजक तारा चौधरीका अनुसार महोत्सवमा थारु कला र परिकार समेतको प्रदर्शनी गरिने छ । थारु कल्याणकारीणी सभा सुनसरीका अध्यक्ष सुरेन्द्र चौधरीले महोत्सवलाई भव्य बनाउन सम्पूर्ण तयारी पूरा भइइसकेको जानकारी दिए ।
सांसदलाई प्रधानमन्त्रीको निर्देशनः जनताकै नजिकमा रहेर काम गर्नुहोस्
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बर्षे अधिवेशन सकिएसँगै सांसदलाई जनप्रतिनिधिको हैसियतमा जनताको नजिकमा रहेर काम गर्न निर्देशन दिएका छन् । संसदको बर्षे अधिवेशन सकिएपछि नेकपा संसदीय दलको आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले बर्षे अधिवेशन र सरकारले गरेका कामबारे जनतालाई जानकारी गराउँदै जनताकै नजिकमा रहेर काम गर्न निर्देशन दिएका हुन् । बैठकले संसदमा भएका कामहरुको समिक्षा गर्दै बर्षे अधिवेशन सकिएपछि सांसद आफ्नो क्षेत्र फर्कदा कसरी जनताबीच प्रस्तुत हुने भन्ने विषयमा बैठक केन्द्रित भएको सचेतक शान्ता चौधरीले जानकारी दिइन् । बैठकमा प्रधानमन्त्री ओलीले जनप्रतिनिधि सधैं जनताकै सामु रहने भएकाले आफ्नो क्षेत्रमा फर्कदा सरकारका सकारात्मक कामको जानकारी गारउँदै जनताको गुनासोलाई समेटेर अघि बढ्न सांसदहरुलाई निर्देशन दिएका थिए । संसदीय दलको यस प्रकारको बैठक संसदको अधिवेशन बस्नु पहिले र अधिवेशनको अन्त्यमा संसदका काम कारवाहीको समिक्षा गर्न बस्ने चलन छ ।
मेडिकल कलेजका विद्यार्थीको माग पूरा नगरेको भन्दै विप्लव नेकपाले दियो यस्तो चेतावनी (विज्ञप्तिसहित)
काठमाडौंः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चितवन जिल्ला स्थित चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीका जायज माग सुनुवाई नगरिए हस्तक्षेप गर्ने चेतावनी दिएको छ । प्रवक्ता खड्कबहादुर विश्कर्मा ‘प्रकाण्ड’ ले शुक्रबार विज्ञप्ति जारी गर्दै नेकपाले यस्तो चेतावनी दिएको हो । विद्यार्थीले शान्तिपूर्ण र वैधानिक संघर्ष गर्दै आइरहँदा कलेज प्रशासनले विद्यार्थीका जायज माग सम्बोधन गर्नुको सट्टा समस्यालाई विषयान्तर गर्दै आफ्नो पार्टीसँग जोडेर विद्यार्थीमाथि दमन गरेर आफ्नो कमजोरी र बदमासी ढाकछोप गर्ने षड्यन्त्र गर्दै केही दिनअघि कलेज प्रशासनद्वारा जारी गरिएको विज्ञप्तिप्रति पनि नेकपाले आपत्ति जनाएको छ । प्रवक्ता प्रकाण्डद्वारा हस्ताक्षिरित विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य शिक्षाको अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । तर, स्वास्थ्य माफिया र दलालहरुले संविधान कानुन र औपचारिक निर्णयसमेतलाई लत्याएर लाखौं अवैध असुली गरिरहेको जगजाहेर नै छ । तसर्थ समस्याको विषयान्तर नगर्न र आफ्ना विद्यार्थीको संविधान प्रदत्त, कानुनसम्मत र न्यायपूर्ण माग पूरा गर्न अनुरोध गर्दछौं । अन्यथा समस्यामाथि हस्तक्षेप गर्न पार्टी बाध्य हुने छ ।’
हत्या आरोपमा सेनाका हवल्दार पक्राउ
नवलपरासीः परपुरुषसँगको नाजायज सम्बन्ध लुकाउन पश्चिम नवलपरासीमा आफ्नै श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाअनुसार सदरमुकाम परासीको रामग्राम नगरपालिका–३ घोडपाली आदर्श टोलमा बस्ने ४१ बर्षका तारा भन्ने रविन्द्रप्रसाद पाण्डेको उनकै श्रीमतीले हत्या गरेकी हुन् । पाण्डेकी श्रीमती सरस्वती पोखरेल पाण्डेले आफ्नै श्रीमान रविन्द्रको हत्या गरेकी प्रहरीले जनाएको छ । श्रीमती सरस्वती पाण्डेले अनैतिक सम्बन्ध रहेको पुरुषसँग मिलेर श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक थापाले बताए । गत भदौ १८ गतेदेखि सम्पर्क विहिन रहेका पाण्डेको शव प्रहरीले खोजतलास गर्ने क्रममा शुक्रबार गाउँनजिकै रहेको हरिसुशील आधारभूत विद्यालयको ट्वाइलेटको सेप्टी टंकीमा सडेगलेको अवस्थामा फेला पारेको थियो । सेनाका हवल्दार समातिए पाण्डेको हत्या आरोपमा नेपाली सेनाका हवल्दार पक्राउ परेका छन्। कालीध्वज गण परासीमा कार्यरत बमबहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घर्ती र मृतक पाण्डेकी श्रीमतीको मिलेमतोमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। प्युठान घर भएका घर्तीलाई रामग्राम नगरपालिका–३ घोडपाली बस्ने ४१ वर्षिय ‘तारा’ भनिने रवीन्द्र पाण्डेको हत्या आरोपमा नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए। कालीध्वज गण परासीबाट उनलाई शुक्रबार साँझ पक्राउ गरिएको उनले बताए। मृतक पाण्डेलाई निजकै श्रीमती ३५ वर्षीया सरस्वती पोखरेल (पाण्डे) र घर्ती मिलेर हत्या गरेको आरोप छ। प्रहरीले मृतक पाण्डेकी श्रीमती सरस्वतीलाई तीन दिन अघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ। बयानका क्रममा घर्तीको पनि संलग्नता रहेको खुलेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक आचार्यले बताए। घर्ती र सरस्वतीबीच केही महिनादेखि अनैतिक सम्बन्ध रहेको बयानका क्रममा खुलेको छ। मृतक पाण्डेले घर्ती र श्रीमतीलाई रातको समयमा आफ्नै घरभित्रै बसेको देखेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ।
सञ्चारमन्त्री भन्छन्, ‘निर्माण, प्रगति र सामाजिक न्याय अबको प्राथमिकता हो’
काभ्रेः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्माण, प्रगति र सामाजिक न्याय नै सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् । शुक्रबार संविधान दिवसको अवसरमा काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले सवैतिरबाट थिलथिलो बनेको अवस्थामा पनि सरकारले विकासका कामलाई गति दिएकाले अव सानातिना कुरामा अल्झिनुपर्ने अवस्था नरहेको बताए । युवा शक्तिलाई स्वदेशमै परिचालन गरी निर्माणका काम अघि बढाउन सरकारले विशेष योजना ल्याउने पनि मन्त्री बाँस्कोटाले जानकारी दिए । कार्यक्रममा प्रदेश सभा सदस्य लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईंले कुनै व्यक्ति या समुहले विरोध गर्दैमा संविधान शंसोधन गर्न जरुरी नहुने धारणा राखेका थिए ।
सभामुख महरा कजाकस्तान प्रस्थान
काठमाडौं । सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखहरुको बैठकमा भाग लिन आज कजाकस्तान प्रस्थान गरका छन् । सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज (शनिबार) बिहान कजाकस्तानतर्फ प्रस्थान गरेका हुन् । यहीँ सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठक (Fourth Meeting of Speakers of the Eurasian Countries’ Parliaments) मा सभामुख महरा नेतृत्वको प्रतिनिधि मण्डल सहभागी हुनेछ । प्रतिनिधि मण्डलमा प्रतिनिधि सभाका सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन रहेका छन् । कजाकस्तानको अस्तानामा हुने उक्त बैठकमा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत बरुण चौधरी र प्रतिनिधि सभा सदस्य विनोद चौधरी पनि सहभागी हुने छन् । उक्त बैठकमा नेपालको तर्फबाट सभामुख महराले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
डुबेर दुई बालकसहित तीन जनाको मृत्यु
काठमाडौं । झापा र मोरङमा गरी दुई बालकसहित तीन जनाको डुबेर मृत्यु भएको छ। प्रहरीका अनुसार झापाको कमल गाउँपालिका–४ भुत्लुङ खोलामा कल्भर्टका लागि खनिएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको हो। उक्त खाल्डोमा जमेको पानीमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा स्थानीय १४ वर्षीय सुन्दर तामाङ र ११ वर्षीय क्रेडिट बुढाथोकीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनीहरू अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका हुन्। यस्तै मोरङको कटहरी गाउँपालिका ४ स्थित जुडी खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। विश्वकर्मा पूजापछि मूर्ति सेलाउन गएका स्थानीय ४० वर्षीय नारायण उराव खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका हुन्। मूर्ति सेलाउन साथीहरूसँग गएका उनी घर नफर्केपछि खोजी गर्ने क्रममा मृत फेला परेको प्रहरीले जनाएको छ।
२६० जना कैदीको सजाय माफ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा २६० जना कैदीहरूको भुक्तान हुन बाँकी कैदको सजाय कट्टा गरेकी छिन् राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम उनीहरूको कैद सजाय कट्टा गरिएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जान्कारी दिएका छन् । गोरखापत्र दैनिकबाट
गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौं । गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका १ केराबारी केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।
पेन्सनधारीलाई पनि तलब
काठमाडौं । दाङ-जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पूर्व शिक्षक हुन् । निमावि द्वितीय श्रेणीमा कार्यरत उनी २०७२ मा स्वेच्छिक अवकाशपछि २०७४ मा जिल्ला समन्वय समितिको उपप्रमुखमा चुनिए । प्रदेश ५ बाट निर्धारण भएको स्थानीय सरकारका जनप्रतिनिधिको मासिक सुविधाअन्तर्गत जिल्ला समन्वय समितिका उपप्रमुखको तलब ३६ हजार तोकियो । पेन्सनधारी जिल्ला समन्वय समिति दाङका उपप्रमुख शर्मा पनि जनप्रतिनिधि बनेपछि मासिक ३६ हजार तलब बुझ्ने सूचीमा परे । तर स्थानीय तहका कर्मचारीको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकले राज्यबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिदियो । यही व्यवस्था टेकेर शिक्षण पेसाबाट सेवा निवृत्त शर्माले पेन्सनबापत आउने रकम छोडिदिए, उपप्रमुखका लागि आउने सुविधा मात्र लिन थाले । ‘राज्यबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरेपछि मैले पेन्सन रकम छोडेर जनप्रतिनिधिका लागि तोकिएको रकम लिन थाले,’ उनले भने । दुई वर्षसम्म एउटै सुविधा लिएका शर्मालाई अब भने दोहोरो सुविधा लिन कानुनी बाटो खुला हुने भएको छ । प्रदेशसभाले नै दोहोरो सुविधा लिन बाटो खुला गरेको हो ।‘मैले पनि सेवा निवृत्त जनप्रतिनिधिलाई दोहोरो सुविधा लिन मिल्नेगरी कानुन संशोधन भएको छ भन्ने सुनेको छु,’ शर्माले भने,‘यो हाम्रा लागि राम्रो पक्ष पनि हो ।’ यो समाचार नागरिक दैनिकमा छापिएको छ ।
प्रहरीमा तीन हजार ६ सय दरबन्दी थप्न सिफारिस
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा तीन हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ। तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक (एसपी)सहित तीन हजार ५९६ दरबन्दी थपको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरिएको छ। नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी ‘संगठन तथा व्यवस्थपन सर्वेक्षण’ (ओएनएम) नबनाई गृहले दरबन्दी थप्न प्रस्ताव गरेको छ। गृहमन्त्री रामबहादुर थापाले स्वीकृत गरेका उक्त प्रस्ताव गृहसचिव प्रेमकुमार राईले मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष पेश गरेका छन्। अब बस्ने मन्त्रिपरिषद बैठकमा दरबन्दी थपको प्रस्ताव स्वीकृत हुने गृहका एक अधिकारीले जानकारी दिए। पछिल्लो अभिलेखअनुसार प्रहरीमा प्राविधिक र गैरप्राविधिकतर्फ ७५ हजार ९२७ हजारको पदपूर्ति हुन सकेको छैन। याे समाचार कान्तिपुर दैनिकबाट लिइएकाे हाे ।
एलपी ग्यासको मूल्य घट्यो
काठमाडौंः नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ । भारतीय आयल निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूचि अनुसार समायोजन गर्दा यहाँ पनि मूल्य घटेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । ‘बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्रतिसिलिन्डर २५ रुपैयाँ घटाउने निर्णय गरेको छ,’ प्रवक्ता गोइतले भने, ‘नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ ।’ हाल खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ७५ रुपैया पर्छ । नयाँ मूल्य अनुसार प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ तोकिएको छ । निगमले हवाई इन्धन अर्न्तराष्ट्रिय उडान तर्फको बिक्री मुल्यमा पनि समान्य घटाएको छ । गोइतका अनुसार भ्रमण बर्षलाई टेवा पुर्याउने हवाई इन्धन(अर्न्तराष्ट्रिय) तर्फ प्रतिकिलो लिटर ५० अमेरिकी डलर घटाएको हो । ‘प्रति किलोलिटर १०५० अमेरिकी डलरबाट १००० अमेरिकी डलर कायम गरेका छौ,’ उनले भने । यस्तै, पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धन अर्न्तराष्ट्रिय तर्फ भने मूल्य समायोजन गरेको छैन ।
रवीन्द्र मिश्र भन्छन्, ‘साझा पार्टी सरकारमा आए सबै कर्मचारी युनियन खारेज गर्छ’
गोरखाः साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले प्रशासन यन्त्रलाई कामै गर्न नदिने कर्मचारी युनियन खारेज गर्नुपर्ने बताएका छन् । साझा पार्टीको गोरखा संयोजक घोषणा सभामा बोल्दै नेता मिश्रले कर्मचारी युनियन, शिक्षक युनियन, प्राध्यापक युनियनहरु सबैलाई खारेज गर्नुपर्ने बताए । आफ्नो पार्टी सरकारमा आएमा सबै कर्मचारी युनियनलाई खारेज गर्ने उनको भनाइ छ । कर्मचारी युनियनले आफू र नेताको काम मात्र गर्ने, राष्ट्रको काम नगर्ने गरेको मिश्रको आरोप छ । सर्वसाधारण नेपालीले तिरेको राजस्वबाट तलब खाएका एकजना नासु, एकजना खरदारले कर्मचारी युनियनको बलमा सचिवको टेबुल ठटाएर, सचिवलाई कालोमोसो लगाएर अनैतिक काम गर्न दबाब दिने गरेका उनको भनाइ छ । राजनीतिक दलका शुभेच्छुक संगठन, भातृ संगठनका रुपमा रहेका सबै कर्मचारी युनियन, सबै शिक्षक युनियन, प्राध्यापक युनियन खारेज गरेमा मात्रै देशमा बल्ल सुशासन सुरु हुने संयोजक मिश्रको दाबी छ । कर्मचारीतन्त्रभित्र आफ्नो मान्छे भए मात्र काम हुने गरेको, नेता, बिचौलिया र बोलवाला भएकाहरुको काम हुने गरेको तर सर्वसाधारणको काम गर्न अत्यन्तै कठिन हुने गरेको उहाँले तर्क गरे । कार्यक्रममा बोल्दै नेता मिश्रले २०४६ सालदेखि यताका नेपालका सबै नेता, उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिए ।
चिनियाँ राष्ट्रपति नेपाल आउने मिति निश्चित
काठमाडौं । चीनका राष्ट्रपति सि जिनफिङ असोज २७ गते दुई दिने नेपाल भ्रमणमा आउने भएका छन्। लामो समयको प्रतिक्षापछि चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय श्रोतले जानकारी दियो। त्यसका लागि नेपाली र चिनियाँ पक्ष तयारीमा जुटेका छन्। चिनियाँ टोलीले काठमाडौंको भौगोलिक अवस्थाका विषयमा अहिले अध्ययन गरिरहेको श्रोतको दाबी छ। सुरक्षा संवेदनशिलताका कारण भ्रमणको मिति र तालिका सार्वजनिक नगरिएको हो। राष्ट्रपति सिको भ्रमणका क्रममा बहुचर्चित नेपाल चीन जोड्ने रेलमार्गबारेमा पहिलो पटक औपचारिक सहमति गर्ने सरकारको तयारी छ। दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं केरुङ रेलमार्ग लगायतका विभिन्न विषयमा सम्झौता हुने बताइएको छ। २३ वर्षदेखि चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गरेका छैनन्। शनिबार नै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ काठमाडौं आउँदै छन्।


