सुर्खेतमा छाडा पशुको गणना शुरु
काठमाडौंः सुर्खेतमा रहेका छाडा पशुको व्यवस्थापन गर्न गणना शुरु गरिएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छाडा पशुको व्यवस्थापन गर्न गठन गरेको कार्यदलले सुर्खेतमा मङ्गलबारदेखि छाडा पशुको गणना शुरु गरेको हो ।
मङ्गलबारबाट शुरु गरिएको गणनामा १४२ छाडा पशु भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिकाको भेरी पुलदेखि बाङगेसिमल खण्डमा ८५ छाडा पशु भेटिएका पशुपक्षी विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक तथा कार्यदलका संयोजक डा। टङ्कप्रसाद प्रसाईंले जानकारी दिए । उनका अनुसार सुर्खेतको बाङगेसिमलदेखि रानीघाटसम्मको सडकखण्डमा ५७ गाई भेटिएका छन् । बाङ्गेसिमलदेखि रानीघाटसम्मको सडकखण्डमा भेटिएका अधिकांश गाई गौशालाभित्रका रहेका उनको भनाइ छ ।
सुर्खेतलगायत प्रदेशका अन्य ठाउँमा बेवारिसे रूपमा छाडिएका छाडा पशुको दीर्घकालीन व्यवस्थापन गर्न कार्यदलले छाडा पशुको गणना शुरु गरेको प्रर्साइले बताए। वीरेन्द्रनगर आसपासमा रहेका छाडा पशुको गणना गरेर व्यवस्थापनका लागि सुझावसहितको प्रतिवेदन मन्त्रालयलाई बुझाइने उनले जानकारी दिए ।
वीरेन्द्रनगर–२ रानीघाटको गौशाला आसपासमा ५७ गाई भेटिए पनि रानीघाटमै भएको गौशालामा भने ८० देखि ९० जति गाई आउने गरेका स्थानीय देवीसरा विकले बताइन् । छाडा पशुको उचित व्यवस्थापनका लागि व्यवस्थित गौशालाको निमार्ण गर्नुपर्ने सुर्खेतका पशु अधिकारकर्मी कृष्ण ढकालले बताए। गौशालालाई व्यवस्थित गरेमा मात्र सुर्खेतमा भएका छाडा पशुको समस्या समाधान हुने उनले बताए ।
छाडा पशुको समस्यालाई अल्पकालीन र दीर्घकालीनरूपमा समस्या समाधान गर्न कार्यदलको प्रतिवेदन प्राप्त भएपछि मन्त्रालयले आवश्यक निर्णय लिने मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले जानकारी दिए । भदौ १२ गते राति सुर्खेत वीरेन्द्रनगर–१४ कटकुवा तथा आसपासका सडक छेउछाउका क्षेत्रमा बेवारिसे छाडिएका ३९ गाई मरेका थिए ।
नेपालगञ्जबाट ट्रकमा ल्याइएका २९१ गाईमध्ये ३९ गाई मरेका थिए भने २३३ गाई नेपालगञ्ज फिर्ता पठाइएको थियो । यो घटना घटेपछि मन्त्रालयले सुर्खेत तथा अन्य स्थानमा बेवारिसे छाडिएका छाडा पशुको उचित व्यवस्थापन गर्न सात सदस्यीय कार्यदल गठन गरेको थियो । समितिलाई १५ दिनभित्र आफ्नो रायसहितको प्रतिवेदन मन्त्रालयलाई पेश गर्न कार्यादेश दिइएको थियो ।
श्रीमती लिन प्रधानाध्यापक काज बिदामा अमेरिका पुगे
मार्तडीः बाजुराको बडिमालिका नगरपालिका–७ स्थित लक्ष्मी माध्यामिक विद्यालयका प्रध्यानाध्यापक कुसमराज पण्डित अमेरिकामा भएकी श्रीमती लिन काज बिदा लिएर अमेरिका पुगेका छन् । उनलाई भाद्र ८ देखि २२ गतेसम्म विद्यालय व्यवस्थापन समितिले काज बिदा दिएको हो । तर, पण्डितको बिदा अवधि सकिसक्दा पनि फर्केका छैनन् । पण्डितले विद्यालयमा कुनै जानकारी नगरी अमेरिका पुगेको खबर आएको विद्यालयका शिक्षक लालचन्द्र जैसीले बताए । उनले भने, ‘आफूलाई ८ गते देखि २२ गते सम्मका लागि निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएकाले अहिले विद्यालय प्रअविहीन भएको छ ।’ विद्यालय प्रअविहीन बनेपछि प्रशासनिक कामदेखि पठनपाठन अवरुद्ध भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झुमा खत्रीले बताए । विद्यालय निरीक्षक रँगमल विकले शिक्षा निमावाली अनुसार विद्यालयको काम काजका लागि एक हप्ता बिदा दिने नियम रहेको बताए । नयाँ पत्रिकाबाट
किशोरी बलात्कार आरोपमा दाजुभाई पक्राउ
विराटनगरः किशोरीलाई बलात्कार गरेको आरोपमा झापाको दमकबाट दाजुभाइ पक्राउ परेका छन् । स्थानीय १५ वर्षीया किशोरीलाई बलात्कार गर्न खोजेको आरोपमा उनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार सोमबार राति ११ बजे जंगलमा लगेर युवकले बलात्कार गरेका थिए। घटनापछि गुहार माग्दै पीडितकै घर पुगेकी उनलाई ती युवकका दाजुले समेत बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ। घटनाबारे पीडितका आफन्तले उजुरी गरेपछि खोजीका क्रममा दुवैलाई पक्राउ गरिएको थियो। प्रहरीले पीडक युवकहरुको नाम सार्वजनिक गरेको छैन। उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
साझाको सबै सेवालाई गुणस्तरियता ल्याउन मन्त्री अर्यालको आग्रह
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले साझालाई भएको सम्पत्ति मोभिलाइज गरेर उत्पादनमा लगाउन आग्रह गरेकी छिन् । साझा भण्डार सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा आज (मंगलबार) काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । साझासँग प्रशस्तै सम्पत्ति देशभर छरिएर रहेको भन्दै त्यसलाई परिचालन गरेर उत्पादनमा लगाउन शेयर सदस्यहराई मन्त्री अर्यालले आग्रह गरेकी हुन् । ‘भएको सम्पत्तिको मोभिलाइज गर्दै केही नयाँ गर्ने कुरामा मन्त्रालय अगाडि बढ्न तयार छ । छलफलबाट अगाडि बढौला’, उनले भने, ‘शेयर सदस्यहरूले अलि मन फुकाउनुस् । साझामा लगाएको शेयर डुब्लाकी भन्ने डर नमान्नुस अब अलि मन बढाएर उत्पादनमूलक क्षेत्रमा काम गर्नेगरी अगाडि बढ्नुस ।’ साझासँग रहेको सम्पत्ति जोगाउन आग्रह गर्दै उनले सम्पत्तिको सदुपयोग गरेर उत्पादनमा लगाउन आग्रह गरेकी हुन् । ‘तपाईहरूसँग अथाह सम्पत्ति छ । त्यो सरकारको सम्पत्ति हो त्यसलाई जोगाउनुस् । अतिक्रमित सम्पत्ति संरक्षण गर्नुस्’, उनले भनिन्, ‘सम्पत्ति छ त्यसको सदुपयोग गरेर थोरै लगानीमा भएपनि गुणस्तरीय वस्तु दिने प्रयत्न गर्नुस् ।’ साझा प्रकाशनलाई नयाँ ढंगले अगाडि बढाउने सोचमा रहेको भन्दै मन्त्री अर्यालले विगतमा साझा भण्डारले गुणस्तरीय उपभोग्य वस्तु जनस्तरमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । तर अहिले समय फेरिएकाले विगतको जस्तो अवस्था नरहेपनि जति सकिन्छ त्यति गुणस्तरिय सामग्री, वस्तु तथा सेवा जनतालाई उपलब्ध गराउन उनले आग्रह गरिन् । समयअनुसार अहिलेको भूमिका अलिक फरक भएको भन्दै उनले संस्थाको प्रभावकारीता वृद्धि गरेर गुणस्तरीय वस्तु विक्रिवितरण गर्नतर्फ ध्यान दिन आग्रह गरिन् । खानेकुरा सँगै सेवाप्रवाह पनि रहेको भन्दै ती सबै कुरामा शुद्धता ल्याउन आग्रह गरिन् । ‘बीचमा केही समस्या आयो भनेर तपाईहरु निराश नहुनुस् । सरकार कानुन, सिस्टमबाट चलाउन हामी प्रयत्नरत छौ । राम्रो गर्नुपर्छ भन्ने हाम्रो सोचमा समानता छ । छलफलबाट राम्रो बनाउन, अगाडि बढाउने कुरामा म प्रतिवद्ध छु’, मन्त्री अर्यालले भनिन् । तीन अर्ब पैसा उपलब्ध गराएर साझा यातायातलाई नयाँ ढंगले अगाडि बढाउन गइरहेको भन्दै मन्त्री अर्यालले जसको प्रक्रिया अगाडि बढेको जानकारी दिइन् । अर्को प्रसंगमा मन्त्री अर्यालले सहकारी सिद्धान्त, मर्म बिपरित रातारात सहकारीले कमाउने सपना देखेपछि सहकारीमा विकृत्ति आएको बताइन् । तर त्यसलाई समयमै रोक्न सकिने बताइन् । सबै सहकारीले आफ्नो डेटा ‘कोपोमिस’ प्रणालीमा दर्ता गराउनुस भनेर सिस्टममा आउन आग्रह गरिएको उनले आग्रह गरिन् । सहकारीमा बचत गरेको रकम राखेर फाइदा नहुने भन्दै उहाँले त्यसलाई परिचालन गरेमा मात्रै फाइदा हुने बताइन्। ‘सहकारीमा जम्मा गरेको पैसा पोको पारेर राखेर त्यसले फाइदा गर्दैन । त्यसलाई उत्पादनमा लगाएर फाइदा हुन्छ । शेयर सदस्यको हितमा काम गर्नुस्’, उनले भनिन् । सहकारी संस्थामार्फत लगानीको निम्ति बाधक हुन्छ भनेपछि कानुन संशोधन गरेर जाने कुरामा सरकार अगाडि बढेको समेत मन्त्री अर्यालले बताइन् । अब सहकारी संस्थाका सञ्चालकहरू पनि टीका लगाएर नभएर क्षमताका आधारमा प्रतिस्पर्धात्मक ढंगबाट निर्वाचित हुने सिस्टमको विकास गरिएको मन्त्री अर्यालले बताइन् । त्यसको व्यवस्था सहकारी नियमावलीमा गरिएको उनले बताइन् ।
नेकपाका १६ केन्द्रीय सदस्यद्धारा महासेठ र साहलाई कारबाही गर्न माग (ज्ञापन पत्रसहित)
काठमाडौंः नेकपाका १६ केन्द्रीय सदस्यले नेता, भौतिक योजना तथा यातायातमन्त्री रघुबीर महासेठ र अर्का नेता प्रभु साहलाई कारबाही गर्न माग गरेका छन् । नेकपा केन्द्रीय सचिवालयमा ज्ञापनपत्र बुझाइएका ज्ञापन पत्रमा मन्त्री महासेठ र शाहले पार्टीको अन्तरिम विधानको धारा ३४ (ख) विपरीत कार्य गरेको आरोप लगाइएको छ । मन्त्री महासेठलाई पार्टी स्थायी कमिटीबाट हटाउनुपर्ने माग गरिएको छ । नेकपा प्रदेश नम्बर २ का सह–इन्चार्ज तथा केन्द्रीय सदस्यहरू नागेन्द्र चौधरी, महेन्द्र पासवान लगायत १६ जनाले मंगलबार नेकपा केन्द्रीय सचिवालयमा बुझाएको ज्ञापनपत्रमा प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डल, सह–इन्चार्ज विश्वनाथ शाह, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई पदमुक्त गरी कडा कारबाही गर्न पनि माग गरिएको छ । नेकपा केन्द्रीय समितिको परिपत्रलाई उल्लंघन गर्दै सपथ ग्रहण राखेर असहज परिस्थिति सिर्जना गरिएको भन्दै ज्ञापन पत्रमा विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरु उल्लंघन गर्नेलाई कारबाही गर्न माग गरिएको छ । प्रदेश नम्बर दुईको प्रदेश कमिटीमा मनोनयन गरिएका नेताहरुको नाम हटाएर अन्य वरिष्ठ र सक्षम नेताहरु समावेश गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ । त्यस्तै नेकपाको अन्तरिम विधानको धारा ३६ (ख) तथा विशेष परिपत्र ४ (क) विपरीत प्रदेश नं २ का सबै जिल्ला कमिटीहरुमा मनोनयन गरिएका तथा योग्यता नपुगेकाहरुको मनोनयन रद्द गरी वरिष्ठ र योग्यता पुगेकाहरुलाई मनोनयन गरेर सपथ ग्रहण गराउनु पर्ने माग उठाएका छन् । ज्ञापनपत्रमा हस्ताक्षर गर्ने केन्द्रीय सदस्यहरू रामचन्द्र झा, गोपाल ठाकुर, रामचन्द्र यादव, श्रीप्रसाद साह, सुधीरप्रसाद साह, रत्नेश्वर गोइत यादव, रामकुमार शर्मा, ममता गिरी, सरला यादव, दिनेश राई, जगत प्रसाद यादव, शत्रुधन महतो, बोधमाया यादव, रविन्द्र बैठालगायत रहेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ को बर्दिवासमा आयोजित सपथ ग्रहण कार्यक्रममा भएको झडप भएको थियो । त्यसपछि नेकपा प्रदेश २ का नेता असनतुष्ट छन् । फोटोः इ–नेपालीजबाट
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पारित
काठमाडौंः राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सो विधेयक बैठकसमक्ष प्रस्तुत गरेका थिए । यसअघि उनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफावार छलफल गरियोस् भनी राखेको प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृतसमेत गरेको थियो । गृहमन्त्री थापाले विधेयकको संशोधन प्रस्तावमाथि सांसदले राखेको जिज्ञासामाथि जवाफ दिँदै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक व्यापक छलफल र परामर्श गरी ल्याइएको स्पष्ट पारे । उनले संशोधन प्रस्तावमाथिका केही बुँदालाई विधेयकले ग्रहण गर्ने जानकारीसमेत दिए । यसअघि सो विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद ठगेन्द्रप्रकाश पुरी र रामप्रीत पासवानले विधेयकलाई अझ समृद्ध बनाउन संशोधन आवश्यक रहेको बताए । चार बुँदामा १३ जना सांसदले सो विधेयकमाथि संशोधन गर्नुभएको थियो ।
राष्ट्रपतिको र्यालीमा बम विष्फोट, २४ जनाको मृत्यु
काबुल, अफगानिस्तानको परवहन शहरमा ठूलो घटना घटेको छ । अफगानिस्तानको परवन शहरमा राष्ट्रपति अशरफ गनीको सभाको कार्यक्रमको बेला भएको आत्मघाती हमलामा कम्तीमा २४ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् । घटनामा १० बढी घाइते भएका छन् । राष्ट्रपतिको चुनाव अभियानका प्रवक्ता हामिद अजीजका अनुसार, घटनाको बेला राष्ट्रपति घटनास्थलमा नै रहेका थिए । तर उनी सुरक्षित रहेका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ । प्रान्तीय सरकारका प्रवक्ता वाहिदा शाहकरका अनुसार, राष्ट्रपतिको र्याली चलिरहेको बेला रैली रहेको स्थानको गेटमा विष्फोट भएको थियो । ्अहिलेसम्म कुनै पनि आतंकवादी संगठनले हमलाको जिम्मेवारी लिएका छैनन् । यसैगरी आज मंगलबार नै पीडी शहरमा पनि अमेरिकी दुतावास नजिक विष्फोट भएको छ । तस्वीरः अलजजिराबाट
सहकारीमा चोरी गर्ने दुई जना पक्राउ
काठमाडौंः सहकारीमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–२ का सुनिल थापा मगर र वडा नम्बर ७ का दान बहादुर थापा मगर रहेका छन् । उनीहरु विगत केही समय देखि काठमाडौं उपत्यकाभित्र रहेका बिभिन्न सहकारी तथा बित्तिय संस्थाहरुको ढोका फोडि सेफलगायत नगद चोरी गर्ने कार्यमा संलग्न रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उनीहरुले भदौ २५ गते काठमाडौं महानगरपालिका–३२ पेप्सिकोला टाउन प्लानिङमा रहेको हर्षित बचत तथा ऋण सहकारी सस्थाको मुल ढोका फोडी सहकारी संस्थाको कोठामा रहेको फलामको ८५ के.जी. बराबरको सेफ तथा उक्त सेफमा रहेको सात लाख ८९ हजार नौ सय ९२ रुपैयाँ चोरेका थिए । उनीहरुको साथबाट चोरी गरेर लिएर फलामको सेफ तथा सेफ फोड्न प्रयोग गर्ने फलामको रड, ५३ हजार लगायतका सामानसहित बरामद गरिएको महाशाखाका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए । सोमबार पक्राउ परेको दुबै जनालाई कारवाहीका लागि मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको महाशाखाले जनाएको छ ।
प्रकाश दाहाल स्मृति भलिबलको फाइनल शनिबार, पुलिस र आर्मी भिड्ने
काठमाडौंः पहिलो संस्करणको प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप–२०७६ अन्तर्गत राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको अन्तिम चरणको खेल शनिबार हुने भएको छ । वर्षाका कारण लगातार स्थगित भएको खेल मंगलबार हुने भनिए पनि वर्षाकै कारण फेरि असोज ४ गते शनिबारसम्मका लागि स्थगित गरिएको आयोजकले जनाएको छ । प्रगतिशील युवा नेपालको आयोजनामा भएको उक्त प्रतियोगितामा उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । पुलिसले सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई र आर्मीले गण्डकी प्रदेशलाई पराजित गर्दै अन्तिम चरणमा पुगेका थिए । सोमबार वर्षाले खेल स्थगित हुनुअघि दुवै टोलीले एक एक खेल जितेका थिए । खेलमा पहिलो खेलमा आर्मीले २५–२३ ले जितेको थियो भने दोस्रो खेल पुलिसले २५–२० ले जितेको थियो । अन्तिमचरणको प्रतिस्पर्धा चलिरहँदा निरन्तर वर्षा भएपछि मंगलबारसम्मका लागि खेल स्थगित गरिएकामा मंगलबार पनि निरन्तर वर्षा भएकाले शनिबार गर्ने गरी स्थगित गरिएको हो । उक्त प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ । सोमबार भएको खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपिएफलाई ३–२ अन्तरले पराजित गर्दै तेस्रो भएको थियो । तेस्रो स्थान हासिल गरेसँगै गण्डकीले रु एक लाख प्राप्त ग¥यो भने चौथो स्थान हासिल गरेको एपिएफले रु ५० हजार पायो । त्यस्तै उक्त प्रतियोगिताको बिजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछ । अन्तिम चरणको खेल नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको मैदानमा हुनेछ । (रासस)
नेकपाका ५७९ कार्यकर्ता कांग्रेसमा प्रवेश
अर्घाखाँचीः अर्घाखाँचीको पाणिनि गाँउपालिकामा नेकपा परित्याग गर्दै ५७९ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुमा तत्कालीन एकिकृत नेकपा माओवादीका वडाध्यक्ष र सदस्य पदका उम्मेदवार समेत रहेका छन् । पाणिनि गाँउपालिका वडा नम्बर–८, पालीमा स्थानीय तहको चुनावमा तत्कालीन एकीकृत माओवादीबाट वडाध्यक्षका उम्मेदवार नुर मोहमद अलि र सदस्यका उम्मेदवार मधु पन्त सहितका ५ सय ७९ जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनालले जानकारी र्दिए । नेपाली कांग्रेस अर्घाखाँचीले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियान अन्तर्गत मंगलबार पालीमा भएको कार्यक्रममा नेकपा परित्याग गरी उनीहरु कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमले बताए । एमाले र तत्कालीन माओवादी मिलेर बनेको नेकपा जनतामुखी हुन नसकेको, विकासका काममा पक्षपातपूर्ण व्यवहार गरेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र आफ्नो गाउँको विकासमा दुइ तिहाइको सरकारले कुनै पहल नगरेको भन्दै आफूहरु कांग्रेसमा प्रवेश गरेको तत्कालीन एमाओवादीबाट वडाध्यक्ष पदका उम्मेदवार नुमहमल अलिले बताए । आफ्ना समस्या र स्थानीय स्तरका विकासमा आफूहरुलाई नेपाली कांग्रेसले साथ र सहयोग दिएको र जनताको पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसमा प्रवेश गरेको तत्कालीन एकीकृत माओवादीबाट वडा सदस्य पदका उम्मेदवार मधु पन्तले जानकारी दिए । नव प्रवेशीहरूलाई नेपाली कांग्रेसका नेता चन्द्रबहादुर केसी, पूर्वमन्त्री रेवतिप्रसाद भुसाल, पार्टी सभापति विष्णु खनाल, पूर्व सभापति कमल प्रसाद भुसाल, क्षेत्रीय सभापति अच्युत गौतम लगायतले प्रवेश गराएका हुन् ।
शान्ति मिशनमा खटिने नेपाली सेनाको भत्ता बढ्यो
काठमाडौंः शान्ति सेनामा खटिएका सिपाहीको भत्ता वृद्धि भएको छ । नेपाली सेनाका अनुसार शान्ति मिशनमा खटिएको अवधिमा प्राप्त गर्ने दैनिक भत्ता बढाएर मासिक ८५ अमेरिकी डलर वृद्धि गरिएको हो । भत्ता बढेसँगै अब शान्ति मिसनमा खटिने तल्लो दर्जाका सिपाहीले प्रतिमहिना १ हजार १ सय ४० अमेरिकी डलर पाउने छन् । यसरी वृद्धि गरिएको रकम भने मिसनमा खटिएका सिपाहीले यही महिनाबाट भने पाउने छैनन् । वृद्धि भएको भत्ता अक्टोबर १ देखि लागू हुने जङ्गी अड्डाले जनाएको छ । प्रधानसेनापतिको अध्यक्षतामा बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको सोमबारको बैठकले तल्लो दर्जा सिपाहीले खाइपाइ आएको १ हजार २९ अमेरिकी डलरमा ८० डलर वृद्धि गरेर १ हजार १ सय १४ पुर्याउने निर्णय गरेको हो । त्यस्तै गण कमाण्ड गर्ने गणपति प्रमुख सेनानीको समेत हाल प्रति महिना प्राप्त गरिरहेको भत्तादर अमेरिकी डलर १३७८ मा अमेरिकी डलर २१ थप गरी प्रतिमहिना अमेरिकी डलर १३९९ कायम गरिएको छ । मिसनमा खटिने सिपाहीको ८० डलर मात्रै वृद्धि गर्दा पनि सैनिक कल्याणकारी कोषलाई वार्षिक ४६ करोड ३० लाख व्ययभार पर्न जाने पनि नेपाली सेनाको जङ्गी अड्डाले जनाएको छ ।
गाउँपालिका कार्यालय तोडफोड गर्ने वडाध्यक्ष पक्राउ
पोखराः प्रहरीले कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ का वडाध्यक्षसहित ३ जनालाई पक्राउ गरेको छ । वडा १ का अध्यक्ष वीरेन्द्र गुरुङ, वडा-३ का सदस्य गणेश आचार्य र तरुण दलका नेता विपुल क्षेत्री मंगलबार विहान ९ बजे पक्राउ परेका हुन् । माछापुच्छ्रे गाउँपालिकामा तोडफोड गरेको भन्ने किटानी जाहेरीको आधारमा वडा प्रहरी कार्यालय बगरले उनीहरुलाई पोखराको जिरो किलोमिटरबाट पक्राउ गरेको छ । कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका प्रत्यासी खुसीराम गुरुङ नेतृत्वको टोली भदौ १२ गते गाउँपालिकाको सूचना माग्न पुगेको थिए । २४ गते उनीहरुलाई सूचना उपलब्ध गराएको दाबी गाउँपालिले गरेको छ । त्यसको भोलिपल्ट भदौ २५ गते खोजेको सूचना नदिएको भन्दै कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका प्रत्यासी खुसीराम नेतृत्वको टोली गाउँपालिका पुगेको थियो । सोही क्रममा सूचना दिन आलटाल गरिएको भन्दै तोडफोड गरिएको उल्लेख गर्दै ४ जनाको किटानीसहित ४५ जनाविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । किटानी जाहेरीमा खुसीरामसहित कांग्रेसका तर्फबाट वडानम्बर ८ का अध्यक्षका प्रत्यासी राम गुरुङ, वडा नम्बर २ का वीरेन्द्र गुरुङ, तरुण दलका क्षेत्रीय सहसचिव राजाराम गुरुङसहित ४५ जना थिए । तीमध्ये ३ जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए । सूचना माग्न गएको टोलीलाई मागेको सूचना नदिएर बजेट किताब र वेबसाइड हेर्न भनेपछि कांग्रेसका अध्यक्षका प्रत्यासीसहित टोलीले थप सूचना माग्दा पनि बेवास्था गरेको उनीहरुको भनाइ छ । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ ५० दिनका लागि चीन भ्रमणमा छन् ।
काभ्रेमा ७ हेलिकोप्टर आकस्मिक अवतरण, सबै यात्रु सकुशल
काभ्रे । मौसम खराबका कारण काठमाडौं जान नसकेपछि सात वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण भएका छन । लुक्लाबाट काठमाडौ उडेका चार वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् । भने काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् । अवतरण भएका सात वटै हेलिकप्टरका यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले लुक्लाबाट विदेशी पाहुना लिएर काठमाडौ आउँदै गरेका चारवटै हेलिकप्टरमा विदेशी पर्यटक रहेको बताए । गिरीका अनुसार काभ्रेको पाँचखाल नगरपालिका वडा नम्वर २ जोरपाटीमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् भने पाँचखाल नगरपालिका २ कै हर्सेमा एक वटा हेलिकप्टर अवतरण गरेको छ । अविरल परेको पानी र हुस्सुका कारण लुक्लाबाट उडेका हेलिकप्टर राजधानी जान नसकेका हुन् । मनाङ्ग एयरका दुई वटा, सिम्रिक, कैलाश एयरका एक÷एक वटा हेलिकप्टर पाँचखाल २ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण गरेका हुन् । चार चालक सहित विदेशी पर्यटक २१ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै नेपालथोकमा अवतरण गरिएका सबै हेलिकप्टरमा पर्यटक रहेको प्रहरीले जानकारी दिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।
१२औं राष्ट्रिय जनगणनाको तयारी, ५४ हजार जनशक्ति करारमा लिइदैं
काठमाडौं । नेपालको १२औँ राष्ट्रिय जनगणना दुई वर्षपछि हुँदैछ। हरेक १० वर्षमा गरिँदै आएको जनगणना आगामी २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने तय भएको छ। जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागिता’ तय गरी केन्द्रीय तथ्याङ्क विभागले तयारी थालेको छ। केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार जनगणनामा सही तथ्याङ्क ल्याउन हरेक व्यक्तिको जागरुकता अभिवृद्धि होस् भनी यो नारा तय गरिएको हो। आर्थिक वर्ष २०७७÷७८ जनगणनाको मुख्य वर्ष हो। यो वर्ष प्रदेश, जिल्ला र स्थानीयस्तरमा जनगणना कार्यालय स्थापना गरिनेछ। प्रदेश र ७७ जिल्ला जनगणना कार्यालय, ३५० स्थानीय जनगणना कार्यालय र ७५३ स्थानीय जनगणना समन्वय कार्यालय स्थापना गरिने विभागले जनाएको छ। काम २०७८ वैशाख २५ गतेदेखि जेठ १५ गतेसम्म २० दिन हुनेछ। यही बेला सुपरिवेक्षकले नागरिकलाई जनगणनाबारे घरघरमै सन्देश लैजानेछन्। आगामी २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म जम्मा १५ दिनमा मुख्य प्रश्नावलीको काम सक्ने विभागका निर्देशक लामिछानेले बताए। आगामी जनगणनामा करारमा जम्मा ५४ हजार जनशक्ति जनगणना कार्यक्रममा संलग्न हुनेछन्। जसमा ४३ हजार गणक र नौ हजार जना सुपरिवेक्षक हुनेछन् भने बाँकी प्रशासनिक कार्यका लागि खटिनेछन्। यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।
नेपाल आयल निगमः फेरि थप ३ योजना अघि बढ्दै
काठमाडौं । नेपाल आयल निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाहेक थप तीनको योजना अघि बढाएको छ । यसमध्ये दुई पेट्रोलियमको र एक एलपीजी (खाना पकाउने) ग्यासका पाइपलाइन छन् । नेपालमा खपत हुने पेट्रोलियम पदार्थको आन्तरिकरुपमा पाइपलाइनको सञ्जाल निगमले विस्तार गर्न लागेको हो । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार यसमध्ये अमलेखगञ्जको क्षेत्रीय डिपोको पाइपलाइनमा जोडेर ६२ किलोमिटर टाढा रहेको चितवनको लोथरसम्म एउटा पेट्रोलियम पाइपलाइन ओछ्याइनेछ । पाइपलाइनसँगै रक्सौलको इण्डो–नेपाल बोर्डरदेखि चितवनको लोथरसम्म करिब ९८ किलोमिटरको रुटमा ग्यासको पाइप योजना पनि अघि बढाइएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।
वैदेशिक रोजगार विभाग द्धारा खारेजीमा परेका मेनपावरलाई राहदानी फिर्ता गर्न निर्देशन
काठमाडौं । राहदानीले खारेज भएका मेनपावर कम्पनीलाई कामदारको राजधानी र रकम फिर्ता गर्न निर्देशन दिएको छ । केही महिनाअघि सरकारले बढाएको धरौटी रकम पूरा गर्न नसकेका ३०३ वटा मेनपावर कम्पनी खारेज भएका छन् । खारेजीमा परेका ती मेनपावर कम्पनीमा कामदारको धेरै राहदानी रहेको हुन सक्ने अनुमान गर्दै विभागले यस्तो निर्देशन दिएको हो । यसअघि केही मेनपावर कम्पनीले बिनाकारण पनि कामदारको राहदानी ‘होल्ड’ गरेर राख्ने र अग्रिम रूपमा नै कामदारसँग मेनपावरले रकम लिने गरेका छन् । सरकारले खारेज भएका मेनपावरबाट राहदानी फिर्ता माग्न कामदारलाई पनि आग्रह गरेको छ । यस्तै, विभागले कामदारसँग कुनै रकम कारोबार गरेको भए सो पनि फिर्ता गर्न खारेज भएका मेनपावरलाई निर्देशन दिएको छ । अब खारेजीमा गएका संस्था सञ्चालन गर्न पाइँदैन तिनको सबै कारोबार सरकारले बन्द गराएको जानकारी गराउँदै विभागका महानिर्देशक भीष्मकुमार भुसालले भने, ‘अब यस्ता कम्पनीमार्फत हुने काम सबै गैरकानुनी हुने भएकाले उनीहरूलाई वैदेशिक रोजगारीसम्बन्धी कुनै पनि कार्य नगर्न निर्देशन जारी गरेका हौं ।’ अहिलेसम्म सरकारले कुल १ हजार ५२७ वटा मेनपावर कम्पनी दर्ता गरेको थियो । त्यसमध्ये २११ वटा कम्पनी यसअघि नै खारेज भइसकेका थिए । सरकारले धरौटीको रकम उच्च रूपमा बढाएर नसक्ने साना कम्पनीहरूका लागि पनि मर्जरको विकल्प दिएको थियो । तर, मर्जरको प्रक्रियामा आउनका लागि निर्धारण गरिएको सो अवधिमा जम्मा ३०३ वटा मेनपावरहरू मात्र मर्जरमा आएका थिए । बाँकी अन्य ३०३ वटा कम्पनीले धरौटी रकम नबढाएकाले स्वतः खारेज भएका हुन् । सरकारको यस्तो नयाँ कदमपछि अब बाँकी रहेका करिब ८५० मेनपावरले मात्र कारोबार गर्न पाउनेछन् । अब खारेज भइसकेका मेनपावरले पनि विदेश पठाउने नाममा कारोबार गरे वा कामदारको राहदानी होल्ड गरे कारबाही गर्ने विभागको चेतावनी छ । विभागले त्यस्ता मेनपावरहरूलाई आफ्नो नामसहितको साइनबोर्ड हटाउन पनि निर्देशन दिएको छ । त्यसैगरी, खारेजीमा परेका कम्पनीमा काम गरेका कर्मचारीलाई दिएको परिचय पत्रसमेत रद्द गर्न निर्देशन दिएको विभागले जनाएको छ । त्यसैगरी, विभागले आफ्नो निर्देशनमा यसअघि विदेशबाट कुनै रोजगारदाता कम्पनीमार्फत मागपत्र ल्याएको भए कामदार आपूर्ति गर्न नसकिने जानकारी गराउन पनि निर्देशन दिएको छ । यसैगरी, खारेजीमा परेका मेनपावर कम्पनीविरुद्ध कामदारले दिएका उजुरी पनि तत्काल फरफारक गर्न पनि विभागले निर्देशन दिएको छ । यस्तो नयाँ व्यवस्थासँगै विभागबाट लिइएको दर्ताको प्रमाणपत्र र हालसम्म मेनपावर कम्पनीमार्फत संस्थागत रूपमा श्रम स्वीकृति लिएर विदेश पठाइएका कामदारको सबै विवरणसमेत विभागलाई दिएर फरफारक गर्न पनि निर्देशन दिएको विभागले जनाएको छ । राजधानी दैनिकबाट साभार

