डा. केसी सत्याग्रहको तयारीमा
काठमाडौं । नागरिक अभियन्ताका रूपमा परिचित डा. गोविन्द केसीले सात बुँदे माग अघि सार्दै सरकारबाट यसको सम्बोधन नभए पुनः सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् । प्राध्यापक केसीले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै चिकित्सा शिक्षा ऐनको संशोधनलगायतका मागहरू पूरा नभए सत्याग्रहमा बस्नुको विकल्प नरहने बताएका छन् ।
उनका अन्य मागहरूमा निजी मेडिकल कलेजले अवैधरूपमा असुल गरेको सबै रकम फिर्ता गर्नुपर्ने, दोषी मेडिकल कलेजहरूलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही चलाउनुपर्ने, संसदीय उपसमितिबाट माफियाको प्रभावमा गरिएका शुल्क र सीट संख्यामा वृद्वि गर्नेसम्बन्धी निर्णय तत्काल खारेज गर्नुपर्ने, विश्वविद्यालय पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाबअनुरूप निष्पक्ष र पारदर्शी ढङगले पदाधिकारी नियुक्त गर्ने र सो प्रतिवेदनलाई अविलम्ब ऐनका रूपमा परिणत गर्नुपर्ने, पूर्व सम्झौताअनुसार इलाम, पाँचथर, उदयपुर, डोटी र डडेल्धुरालगायत प्रदेश २ र ४ मा पनि सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया तत्काल अघि बढाउनुपर्ने आदि छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएसलगायतका कार्यक्रम शुरू गरिनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजीपी कार्यक्रम सञ्चालन गर्ने अनुमति तुरुन्त फुकुवा गर्नुपर्ने, नेताहरूको उपचार खर्च पारदर्शी बनाइनुपर्ने, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था यथार्थरूपमा सार्वजनिक गरिनुपर्ने, संक्रमणकालीन न्यायसम्बन्धी अयोगहरू प्रभावकारी बनाउनुपर्नेलगायतका माग केसीले राखेका छन् ।
‘शिक्षा र स्वास्थ्य क्षेत्र सेवामूलक हुनुपर्नेमा चरम नाफामूलक र शहरमुखी बनाइएकाले आम विद्यार्थी र आम नेपालीको पहुँचबाट बाहिर छ भने गुणस्तर घट्दो छ।’ –उनले टिप्पणी गरेका छन् ।
सार्वजनिक शिक्षण संस्था– विश्वविद्यालय, प्रतिष्ठान तथा स्वास्थ्यसम्बन्धी शिक्षण संस्थालगायतलाई राजनीतिक दलका कार्यकर्ता भर्तीकेन्द्र बनाएर दोहन गर्ने माध्यम बनाइएको, राष्ट्रलाई चाहिने जनशक्ति नभएर पार्टीका कार्यकर्ताहरू र विदेशका लागि श्रमिक उत्पादन गर्ने केन्द्रका रूपमा परिणत गरिएको उनको धारणा छ।
‘नेपालका अधिकांश जनता बसोबास गर्ने ग्रामीण भेगमा न कुनै ठूला स्वास्थ्य संस्था छन् न त शिक्षण संस्थान नै’ केसीले विश्वविद्यालय, प्रतिष्ठान तथा संस्थाहरूमा मापदण्ड निर्धारण समितिले दिएका सुझावअनुसार पदाधिकारी नियुक्ति गर्नुको सट्टा राजनीतिक भागबन्डाका आधारमा कार्यकर्ताहरूलाई पदाधिकारी नियुक्त गर्ने चलखेल बन्द गर्न अपिल गरेका छन् । नेपाल समाचारपत्रबाट साभार
मन्त्री भट्टराईले भने, ‘भाङ धतुरो खानेहरुले ममाथि दुव्र्यवहार गरेका हुन्’
काठमाडौंः संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मादक पदार्थ सेवन गरेका केही व्यक्तिहरुले आफूविरुद्ध अभद्र व्यवहार गरेको बताएका हुन् । विमानमा आउनुअघि शाहीलगायतका केही व्यक्तिले होटलतिर गएर भाङ धतुरो खाएको हुनसक्ने आशंका भट्टराइले गरेका हुन् । एक टेलिभिजनमा कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले राजावादी तथा मण्डलेहरुको जमातले अनावश्यक निहुँ खोजेर अभद्र व्यवहार गरेको आरोप पनि लगाए । मन्त्री भट्टराईले आफूले १५ मिनेट ढिला भएकोमा यात्रुहरुसँग माफि मागेको बताउदै विमान कम्पनी तथा पाइलटलाई कुनै दबाब दिएर जहाज उड्नबाट नरोकेको पनि स्पष्ट पारे । केहीबेर ढिला हुने भएपछि जहाजसँग सम्बन्धित निकायलाई आग्रह मात्रै गरेको उनले बताए । शनिवार एउटा विमान समयमा नउडेपछि यात्रुहरूले गरेको विरोधबारे अहिले निकै चर्चा भएको छ । खासगरी सामाजिक सञ्जालमा त्यसबारे विभिन्न खाले टीकाटिप्पणी भइरहेका छन् । कतिपयले मन्त्रीसँग गरिएको अशोभनीय व्यवहार भनेका छन् । रिपोर्टर्स नेपाल डटकमबाट
ज्ञानेन्द्रविरुद्ध रेखाले भनिन्, ‘के पाराको बिरोध हो, चर्चा बटुल्न लफडा काफि हुँदैन?’
काठमाडौंः अभिनेत्री रेखा थापाले नेपालगन्ज बिमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि ज्ञानेन्द्र शाहीले गरेको ब्यवहारप्रति विरोध गरेकी छन् । अभिनेत्री थापाले शनिवार मन्त्रीमाथि भएको ब्यवहारप्रति संकेत गर्दै ज्ञानेन्द्र शाहीको बिरोध गरेकी हुन् । सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै नायि थापाले विरोधको शैली ठिक नभएको उल्लेख गरेकी छन् । उनले फेसवुकमा स्टाटस लेखेकी छन्, ‘यो के पाराको बिरोध हो? बुझिएन । कि क्रान्ति गरे हुने कि बिधी भित्र सभ्य व्यबहार देखाये हुन्थ्यो । चर्चा पाउन, ध्यान तान्न, नेता बन्न त्यत्ती लफाडा काफी हुँदैन । कुरा देश चलाऊने गरिरहदा विश्वशनियताका थुप्रै सिद्दान्त र आचरण पनि हुनु पर्छ होला । अराजकता ठुलो नियतको भयो भने राजनीति हुन्छ, छुद्र भो भने आफ्नै औकात देखाउछ ।’
निकट भविष्यमै बीआरआईको रिजल्ट देख्नुहुन्छः परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौंः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा निकट भविष्यमै रिजल्ट देखिने दाबी गरेका छन् । ज्ञवालीले बीआरआईमा नेपालले धेरै प्रक्रिया पुरा गरिसकेको दाबी गरे । ललितपुरमा आइतबार नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको समाज ‘बेल्ट एण्ड रोड इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘बीआरआईको कार्यान्वयन ढाँचाबारे धेरै छलफल भइसकेको छ । गर्नुपर्ने धेरै प्रक्रिया र काम पुरा गरिसकेका छौं । राष्ट्रको हितमा आयोजना अघि बढ्छन् र तपाईंहरुले निकट भविष्यमै रिजल्ट देख्नुहुन्छ ।’ विकास र सम्बृद्धिका लागि महत्वपूर्ण रहेको यो परियोजना नेपालको विकासमा कोसढुङ्गा सावित हुने मन्त्री ज्ञवालीको दाबी थियो । उनले यो परियोजनापछि नेपाली उत्पादनले विश्व बजारमा सहजै स्थान पाउने र व्यापार घाटामा कमि आउने बताए ।
प्राधिकरणमा कुलमानको ३ वर्ष, कस्तो छ प्रगति विवरण? (उपलब्धिसहित)
कुलमान घिसिङ । म नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको तीन वर्ष पूरा भएको छ। मैले जिम्मेवारी सम्हाल्दा वर्षातमा समेत ८ घण्टाको लोडसेडिङ व्यहोरिरहनु परेको र संस्था झण्डै ९ अर्ब रुपैयाँ वार्षिक खुद घाटामा रहेको कहालिलाग्दो यथार्थता थियो भने हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण थियो। सम्माननीय प्रधानमन्त्री, माननीय ऊर्जा मन्त्री, ऊर्जा सचिव, प्राधिकरण संचालक समितिका सदस्यहरु, राजनीतिक तथा प्रशासनिक नेतृत्व, आम कर्मचारी र आमउपभोक्ताको साथ र सहयोगमा सम्झदै कहाली लाग्ने त्यो अँध्यारो युगलाई इतिहास बनाउँदै उज्यालो युग सुरुवात गर्न सफल भएका छौं। एकातर्फ लोडसेडिङ इतिहासमा बिलय भई नियमित विद्युत् आपूर्ति हुन थालेपछि पछिल्ला वर्षहरुमा मुलुकको आर्थिक बृद्धिदर उत्साहजनक छ भने अर्कोतर्फ प्राधिकरणले सम्पूर्ण क्षेत्रमा सुधार मात्र होइन, उल्लेखनीय फड्को मारेको छ। तीन वर्षअघि प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत करिव १५० युनिट रहेकोमा अहिले नियमित विद्युत् आपूर्ति हुन थालेपछि बढेर करिव २४५ युनिट पुगेको छ। विभिन्न कारणले रुग्ण बनेका जलविद्युत उत्पादन, प्रसारण र वितरणका आयोजनाहरु निर्माण सम्पन्न भएका छन्। तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तिय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणले ठूलो सफलता हात पारेको छ। आफ्नो आम्दानी बढाउँदै लगेर प्राधिकरण मुलुककै सबैभन्दा बढी आम्दानी गर्ने संस्था बनेको छ। तीन वर्षमा हासिल गरेका मुख्य उपलब्धिहरु वित्तीय तथा प्रशासनिक सुधारतर्फ ● आर्थिक वर्ष २०७२/७३ मा रु.८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणले आव ०७३/७४ मा रु १ अर्ब ४७ करोड, आ व ०७४/७५ मा रु २ अर्ब ८५ करोड र आव ०७५/७६ मा रु ७ अर्ब २० करोड खुद नाफा आर्जन। ●आर्थिक वर्ष २०७२/७३ मा रु.३४ अर्ब ६१ करोड संचित नोक्सानी रहेको प्राधिकरण यसलाई घटाउँदै आव ०७३/७४मा रु २८ अर्ब १७ करोड, आव ०७४/७५मा रु २५ अर्ब ५९ करोड र आव ०७५/७६मा रु १५ अर्ब २२ करोडमा झार्न सफल। ● आर्थिक वर्ष २०७२/७३ मा रु.३५ अर्ब ७ करोड आम्दानी रहेको प्राधिकरणको आव ०७३/७४मा रु ५१ अर्ब ७० करोड, आव ०७४/७५मा रु ६१ अर्ब ९७ करोड र आव ०७५/७६मा रु ७३ अर्ब ४६ करोडमा पुगेकोे। ● ‘उपयुक्त स्थानमा उपयुक्त व्यक्ति’ भन्ने अवधारणाका आधारमा जिम्मेवारी दिन सुरु गरिएको, प्राधिकरणले ग्राहकलाई दिने सेवामा सुधार गर्न, विद्युत चुहावट नियन्त्रण, विद्युत महशुल वक्यौता असुली लगायतलाई मूख्य मानक मानी ग्राहक तथा वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने प्रक्रिया सुरु गरिएको। ● कर्मचारीको सरुवा, बढुवा, पदपूर्ति तथा पदस्थापन गर्ने कार्यलाई नियमित तथा प्रभावकारी बनाएको। ● मुलुक संघीयतामा गएसँगै प्राधिकरणका क्षेत्रीय कार्यालयहरुलाई प्रादेशिक कार्यलयहरुमा रुपान्तरण गरिएको। (२) उत्पादन ● विभिन्न समस्या झेल्दै अलपत्र अवस्थामा रहेको ३० मेगावाटको चमेलिया र २०७२ वैशाखको विनाशकारी भूकम्पछि निर्माण सुरु हुन नसकेको ६० मेगावाटको त्रिसुली ३ ए जलविद्युत आयोजनाको निर्माणको काम सुचारु गराई निर्माण सम्पन्न गरिएको, १४ मेगावाटको कुलेखानी तेस्रो निर्माण सम्पन्न भई विद्युत् उत्पादन गर्न सक्ने अवस्थामा पुगेको। ●विगत तीन वर्षमा प्राधिकरणको १०४ मेगावाट र नीजि उत्पादकहरुको २७१ मेगावाट गरी जम्मा ३७५ मेगावाट जलविद्युत आयोजनाहरु संचालनमा आएको। ●प्राधिकरणको सहायक कम्पनीहरुमार्फत निर्माण हुन लागेका १४० मेगावाटको तनहुँ, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिसुली थ्रि बी जलविद्युत आयोजनाको काम द्रुत गतिमा अघि बढेको। ● भूकम्पपछि बन्द अवस्थामा रहेको स्वदेशी लगानीमा निर्माणाधिन राष्ट्रिय गौरबको ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाको निर्माण चालु आवभित्र सम्पन्न गर्ने गरी अगाडि बढाइएको। ●प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी अन्तर्गतका १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोशी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजना छिट्टै निर्माण सम्पन्न हुने अवस्थामा पुगेका। ● १०६० मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयारी अन्तिम चरणमा पुर्याई वित्तीय व्यववस्थापनको आवश्यक कार्य अगाडी बढाईएकोे। साथै ९९.६ मेगावाटको तामाकोशी ५ को विस्तृत अध्ययन पूरा गरी निर्माण प्रकृया अगाडी बढाईएको। (३) प्रसारण ● आव २०७२/७३ सम्ममा विद्युत् प्रसारण लाइनको संजाल २९११ सर्किट किलोमिटर रहेकोमा अहिले ३९९० सर्किट किलोमिटर पुगेको, गत आवमा मात्रै सात सय ५७ सर्किट किलोमिटर लाइन निर्माण सम्पन्न भई ६०६ सर्किट किलोमिटर चार्ज भएको। ● लामो समयदेखि सम्पन्न हुन नसकी रुग्ण बनेको काबेली करिडोर सहित प्रसारण तर्फ ३ र वितरण तर्फ ३४ गरी जम्मा ३७ वटा रुग्ण आयोजना गत आर्थिक वर्षमा सम्पन्न, १३ आयोजनाको ठेक्का सम्झौता रद्द गरी पुनः ठेक्का प्रकृया सुरु गरिएको। ● ढल्केवार २२० केभी सवस्टेसन निर्माण सम्पन्न गरी नेपाल भारतवीचको अन्तरदेशीय प्रसारण लाईन मुजफरपुर ढल्केवारलाई २२० के.भी. मा चालु गरिएको। कटैया कुशाहा १३२ के.भी. दोस्राे सर्किट र रक्सौल परवानिपुर १३२ के.भी. प्रसारण लाइृनहरुको निर्माण सम्पन्न गरी नेपाल र विहारवीच विद्युत आदान प्रदानको क्षमता विस्तार गरिएको। ● विगत तीन वर्षभित्र नयां निर्माण तथा स्तरोन्नति गरी १७१२ एम.भि.ए. क्षमताका प्रसारण सव्स्टेसन थप गरिएको। (४) वितरण तथा ग्राहक सेवा ● तीन वर्षअघिसम्म करिब ६२ प्रतिशत नेपालीले ग्रीडमा आवद्ध विद्युतीय सेवा पाएकोमा अहिले ७८ प्रतिशत जनतासम्म यो सेवा पुगेको, गार्हस्थ, सामुदायीक तथा औद्योगिक ग्राहक समग्र जोड्दा उपभोक्ताको संख्या ४५ लाख पुगेको। ● ३३ केभी र सोभन्दा मुनि करिब १० हजार सर्किट किलोमिटर लाइन निर्माण सम्पन्न भई चार्ज गरेको। ● नयां निर्माण तथा स्तरोन्नति गरी ७६५ एम.भि.ए. क्षमताका वितरण सव्स्टेसनहरु प्रणालीमा थप गरिएको। करिव दश हजार वटा वितरण ट्रान्स्फर्मरहरु थप जडान गरी करिव एक हजार मेगावाट वरावरको वितरण क्षमता बढाएको। ● ग्राहकले विद्युत महशुल बुझाउन कार्यालयमै जानु पर्ने अवस्थालाई अन्त्य गर्न अनलाइन पेमेन्ट सुरु गरिएको। ● स्मार्ट मिटर प्रणाली काठमाडौं उपत्यकामा नमुना परियोजनाको रुपमा अघि बढाउन ठेकेदार कम्पनी छनोट गरी काम सुरु गरिएको। ●देशभरी रहेका थ्री फेज मीटर तथा टि ओ डि मिटरहरुलाई स्मार्ट मीटर ले प्रतिस्थापन गर्ने कार्य द्रुत गतिमा अगाडि बढाएकोे। ● काठमाडौं उपत्यकमा जथाभावीरुपमा राखिएको तारलाई पहिलो चरणमा महाराजगंज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा भूमिगत गरी व्यवस्थापन गर्न ठेकेदार कम्पनीले काम सुरु गरिसकेको। काठमाडौ, ललितपुर र भक्तपुर शहरहरुमा भूमिगत वितरण लाईन वनाउने गरी कार्य अगाडि बढाइएको। चुहावट नियन्त्रण ● तीन वर्ष अगाडी कुल २५.७८ प्रतिशत रहेको विद्युत चुहावटलाई तीन वर्षभित्र १५.३२ प्रतिशतमा ल्याइएको, तीन वर्षभित्रमा १०.४६ प्रतिशत चुहावट नियन्त्रणबाट मात्र प्राधिकरणले वार्षिक रु ७ अर्ब थप आम्दानी गरेको। (५) विद्युत व्यापार ●निजी क्षेत्रका ३४० आयोजनाहरुसँग ६ हजार ४४ मेगावाटको विद्युत खरिद संझौता (पीपीए) भएको। आव २०७२/७३मा २७ आयोजनासँग ४७४ मेगावाटको पीपीए भएकोमा आव ०७३÷७४मा २८ आयोजनासँग ५५६ मेगावाट, आव ०७४÷७५मा ४५ आयोजनासँग ११०३ मेगावाट र ०७५/७६मा ८५ आयोजनासँग १४८० मेगावाटको पीपीए गरिएको। ●नेपाल र भारतवीच वर्षौंदेखि हुन नसकिरहेको विद्युत अदान प्रदान समितिको बैठक लाई नियमितता प्रदान गर्दै प्रत्येक वर्ष बैठक वसी विद्युत व्यापार एवं प्रसारण पुर्वाधार विकास गर्न आवश्यक छलफल एवं निर्णय गरिएको। आगामी कार्ययोजना सरकारको निर्देशन र उपभोक्ताको हित नेपाल विद्युत प्राधिकरणका लागि सर्वोपरि हो। उच्च आर्थिक विकासको लक्ष्य पुरा गर्ने सरकारको उद्धेश्यअनुसार आवश्यक उर्जा उत्पादन, प्रशारण तथा वितरण गर्न मात्र होइन, राष्ट्रको सम्पत्ति यो संस्थालाई नाफामूलक, अनुशासित, सम्मानित र शसक्त बनाउन स्पष्ट दृष्टिकोणका साथ प्राधिकरणलाई अघि बढाइने छ। विगतमा लोडसेडिङ अन्त्य गर्न मुख्य ध्यान केन्द्रित गरेको प्राधिकरणले अब ग्राहकको सन्तुष्टीलाई केन्द्रविन्दुमा राखी सोही अनुसार प्रसारण तथा वितरण लाइन र सबस्टेसनको सुदृढीकरण र विस्तारलाई अभियानकै रुपमा अगाडि बढाउनेछ। आगामी दिनमा वर्षायाममा उत्पादित विद्युतलाई खेर जान नदिई शतप्रतिशत आन्तरिक खपत वा निर्यात गराउन विशेष ध्यान केन्द्रित गरिने छ। लोड सेडिङअन्त्य पछि उत्पन्न भएका चुनौतीलाई समाना गर्दै सुरक्षित, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्न प्राधिकरण दृढ छ। अनलाइन तथा एकीकृत भुक्तानी प्रणालीलाई अवलम्बन गरी ग्राहकहरुलाई थप सुविधा उपलब्ध गराइने छ। प्राधिकरणले अब जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरुलार्ई गेम चेन्जर आयोजनाको रुपमा अगडि बढाउनेछ। सुशासन ● संस्थागत सुशासनलाई कठोरता साथ लागू गरिने छ, भ्रष्टाचार नियन्त्रणमा सून्य सहनशीलताको नीति अबलम्बन गर्दै प्राधिकरणका क्रियाकलापलाई थप जिम्मेवार, पारदर्शी र जवाफदेही बनाइनेछ। ● मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानु पर्ने हालको व्यवस्थालाई अन्त्य गर्न स्मार्ट मिटर जडान गरी टेलिफोन सेवामाजस्तै स्वचालित विलिङ लागू गरिनेछ। ● प्राधिकरणको आन्तरिक प्रणाली र सेवा प्रवाहमा आधुनिक एवं नविनतम् सूचना प्रविधिको प्रयोग गरी ‘डिजिटल एनईए’ बनाइने छ। इन्टरप्राइजेज रिसोर्स प्लानिङ (इआरपी) प्रणाली लागू गरिने छ। संस्थागत विकास ● प्राधिकरणको वित्तीय अवस्था सुदृढ गर्नका लागि सञ्चालन खर्चमा न्यूनीकरण, स्वःउत्पादन वृद्धि, विद्युत चुहावट घटाउँदै विद्युतको बिक्री परिमाण बढाउने लगायत उपलब्ध स्रोतको अधिकतम परिचालन गर्ने। ● नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत प्राधिकरणको दोस्रो वित्तीय पुर्नसंरचनामा भएको व्यवस्था र प्राधिकरण ऐनमा भएको व्यवस्था अनुसार प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधारणका लागि निश्कासन गर्न आवश्यक पहल गर्ने। ● प्राधिकरण होल्डिङ संस्थाको रुपमा रहने गरी हरेक प्रदेशमा स्वायत्त प्रदेश विद्युत वितरण संस्था खोलिनेछ। वितरण तथा विद्युतीकरण २०७९ भित्रमा सबै नेपालीको घरमा विद्युत्को पहुँच पु¥याउने सरकारको महाअभियानलाई साथ दिन र उपभोक्तालाई सुरक्षित, पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि हरसम्भव प्रयास गरिने छ। यसका लागि वितरण प्रणाली संजालको विस्तार गरिने छ। स्थानीय तहलाई क्रमिक रुपमा शतप्रतिशत विद्युतीकरण भएको घोषणा कार्यक्रम अभियानकै रुपमा चलाइने छ। चालु आवमा राष्ट्रिय ग्रिड नपुगेका रुकुम पूर्व, कालिकोट,जुम्ला र बाजुरामा ग्रिड पुर्याइने छ। ४० जिल्लालाई पूर्ण विद्युतीकरण गरिनेछ। ●देशैभरि स्मार्ट मीटर जडान कार्य गरिनेछ। वितरण प्रणालीलाई स्वचालित बनाउन कार्यक्रम अगाडि बढाइनेछ। ●आगामी दश वर्षमा दश हजार मेगावाट खपत गर्न सक्ने गरी वितरण प्रणालीको विस्तार एवं स्तरोन्नति गरिनेछ। माग व्यवस्थापन ● विद्युत खपतको दायरालाई विस्तार गरिने छ। विद्युतीय यातायातका लागि चार्जिङ स्टेसन स्थापना, विद्युतीय चुलो जस्ता विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गरिने छ। ●ऊर्जा दक्षता कार्यक्रमलाई अभियानकै रुपमा संचालन गरिने छ। ऊर्जा दक्षता भएका लीड चिम, पङ्खा, क्यापासिटर बैंक, पानी तान्ने मोटरलगायतका उपकरणहरुको प्रयोगमा व्यापकता ल्याई ऊर्जाको उच्च माग व्यवस्थापन गरिने छ। चुहावट नियन्त्रण ● प्राधिकरणमा रहेको प्राविधिक र गैरप्राविधिक चुहावटका नियन्त्रणलाई निरन्तरा दिइने छ। चालु आवमा विद्युत् चुहावटलाई १२ प्रतिशतमा झार्ने लक्ष्यका साथ कार्यक्रम संचालन गरिने छ। उत्पादन ● जनताको जलविद्युत कार्यक्रमअन्तर्गत १०६० मेगावाटको माथिल्लो अरुण र ९९.६ मेगावाटको तामाकोशी पाँचौ जलविद्युत आयोजनामा ४९ प्रतिशत साधारण सेयर सर्वसाधारणको सुनिश्चित बनाई स्वेदशी वित्तीय संस्था र अन्तराष्ट्रिय वहुपक्षीय विकास साझेदारको सुहलियतपूर्ण ऋण रहने मोडलमा वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइने छ। ६३५ मेगावाटको दूधकोशी आयोजनाको पनि वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइने छ। साथै उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना (८२५ मेगावाट), चैनपुर सेती (२१० मेगावाट) लगाएत चिलिमे अन्तर्गत करिव ४२५ मेगावाटका जलविद्युत आयोजनाहरु अगाडि बढाइनेछ। ● ४५६ मेगावाटको माथिल्लो तामाकोशी, १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन र निजी क्षेत्रका आयोजनाबाट चालू आवमा करिब १००० मेगावाट विद्युत प्राणालीमा थपिने गरी काम अगाडि बढाइने छ। ● २५ मेगावाटको ग्रिडमा आवद्ध सौर्य ऊर्जा परियोजनाको निर्माण सम्पन्न गरिनेछ। प्रसारण ● सिंगटी— लामोसाँघु, सोलु करिडोर,दाना—कुश्मा,दोर्दी करिडोर, भरतपुर—बर्दघाट, मस्र्याङदी—काठमाडौं, चिलिमे —त्रिशूली, समुन्द्रटार—त्रिशुली ३ वी हव, कोशी करिडोर (इनरुवा—तुम्लिङटार खण्ड) प्रसारण लाइनको निर्माण चालू आवमा सम्पन्न गरिने छ। ● ढल्केबरमा निर्माणाधीन ४०० केभीको उच्च क्षमताको सबस्टेसन चालु आवमा निर्माण सम्पन्न गरी संचालनमा ल्याइनेछ। ● देशैभरका प्रसारण सबस्टेसनहरुलाई स्वचालित गरिनेछ। ●नेपाल र भारतबीचका विभिन्न अन्तरदेशीय प्रसारण लाइनहरु योजनाबद्ध रुपमा निर्माण गरिने छ, बुटवल—गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण मोडलको टुंगो लगाई निर्माण अगाडि बढाइने छ। साथै चालु आ.व.मा रुपन्देहीको मैनहीयादेखि उत्तर प्रदेश राज्यको सम्पतियासम्मको १३२ के.भी. प्रसारण लाईनको निर्माण सुरु गरिनेछ। कुशाहा–कटैयाको दोस्रो सर्किट लाईन निर्माण सुरु गरिनेछ। ● न्यू बुटवल–अत्तरीया (कन्चनपुरको दैजी) ४०० के.भी. लाईनको विस्तृत अध्ययन पूरा गरी निर्माण प्रकृया अगाडी बढाईने छ। अन्य ४०० के.भी. लाइनहरुको अध्ययन गरिने छ। ● नेपालको रातमाटे र चीनको केरुङसम्मको ४०० केभी क्रस बोर्डर प्रसारण लाइनको नेपालतर्फको सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण अगाडि बढाउन आवश्यक पहल गरिनेछ। विद्युत व्यापार प्राधिकरणले भारतका उर्जासंग संवन्धित विभिन्न निकायहरुसंग छलफल एवं वार्ता गरी नेपाल भारतवीचको डे अहेड र टर्म अहेड विद्युत वजार मार्फत विद्युत व्यापार गर्न एनटिपिसि विद्युत व्यापार निगमसंग संझौता सम्पन्न गरी भविष्यमा कारोबार सुरु गरिनेछ। भारतको केन्द्रीय विद्युत प्राधिकरण र नेपाल विद्युत प्राधिकरणवीच इनर्जी बैंकिङसम्वन्धी आवधारणा पत्रमा सैद्धान्तिक सहमति जुटिसकेकाले इनर्जी बैंकिङसम्वन्धी कारोबार सुरु गरिनेछ। माग र आपुर्तिको सन्तुलन कायम राख्न विद्युत उत्पादनमा फड्को मार्नु पर्ने हाम्रो जिम्मेवारी हो। ‘उज्यालो नेपाल अभियान’ अन्तर्गत आगामी दिनमा मुलुकभरका जनतालाई पर्याप्त, नियमित, भरपर्दो, र गुणस्तरीय विद्युत आपूर्ती गर्न हरसम्भव प्रयासरत रहने र नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्दछु। प्राधिकरणका नियमित काम कारबाहीहरुको यथार्थ सूचना संप्रेषण गरी सहयोग पुर्याउनु हुने सञ्चार गृह तथा पत्रकार मित्रहरुमा विशेष धन्यवाद दिन चाहन्छु। साथै आउदो बडा दशै, दीपावली लगायत सम्पूर्ण चाडपर्वहरुको सुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। (विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक घिसिङले प्राधिकरणमा आइतबार गरेको पत्रकार सम्मेलनमा व्यक्त गरेको भनाइमा आधारित)
शिखर नेपालद्वारा कृषिराज्य मन्त्री चौधरीसहित विभिन्न कृषक सम्मानित
काठमाडौं । कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीलाई शिखर नेपालले “शिखर राष्ट्रिय व्यक्तित्व वर्ष सम्मान–२०७६”बाट सम्मानित गरेका छ । शिखर नेपालले “शिखर नेपालको राष्ट्रिय अभियान–मुलुकका समग्र कृषकहरुको सम्मान” मूल नाराका साथ प्रथम राष्ट्रिय कृषक अवार्ड २०७६ तथा शिखर अनर अवार्ड २०७६ आयोजना गरि उत्कृष्ट कृषक, कृषि विज्ञ, कर्मचारी, राजनीतिकज्ञ, पत्रकार, कलाकार, कवि लगायतलाई सम्मान गरेकाे हाे । शिखर राष्ट्रिय व्यक्तत्व वर्ष सम्मान–२०७६ बाट कृषि राज्य मन्त्री चौधरी, पूर्व मन्त्री तथा सांसद महेश बस्नेत र ३ नं. प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीलाई सम्मानित गरिएकाे हाे । शिखर ईन्करेजमेन्ट कृषक अवार्ड–२०७६ बाट अनन्त बहादुर खड्का (नेसनल भिजन मल्टी प्रपोज एग्रो फार्म प्रा.ली.घोराही) र जनकल्याण सामाजिक बिकास अनुसन्धान केन्द्र नेपाल ललितपुरलाई सम्मानित गरिएकाे छ । त्यस्तै, शिखर कर्मशिल कृषक अवार्ड–२०७६ बाट सुकमाया तामाङ दुधौली-११ सिन्धुली र लक्ष्मी राणा आशा पोलष्ट्रि फार्म भरपुरलाई सम्मानित गरिएकाे छ । त्यस्तै सर्वोत्कृष्ट राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६ बाट १ नं. प्रदेशको विशाल राई (नेविशाल कृषि फार्म बिर्तामोड–१० झापा), २ नं. प्रदेशका राम आशिष प्रसाद नुनीया पर्सा, ३ नं.प्रदेशका नवराज आचार्य बागमती गोट सिडस, धार्के -१,धादिङ, ४ नं.प्रदेशका घनश्याम तिम्लसिना, हेम्जा गाई फार्म पोखरा–२५, कास्की,५ नं. प्रदेशका दल बहादुर खत्री लेकाली व्यवसायीक बाख्रा पालन माण्डवी–२ प्युठान, ६ नं. प्रदेशका डिल्ली बहादुर नाथ डाफे भैसीपालन व्यवसाय बाफीकोट–२ पश्चिम रुकुम र ७ नं. प्रदेशका ठगुनी देवी चौधरी कार्प हयाचरी घोडाघोडी–१, कैलालीलाई सम्मानित गरिएकाे छ । सम्मानितलाई उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सम्मान पत्र दिएका थिए । मुलुकले अपेक्षा गरेको तर उपेक्षामा परेको बर्ग, क्षेत्रका जो कृषि उत्पादन मार्फत् खेतदेखि पेटसम्म पुग्ने बस्तुको उत्पादन गर्दछन् ती महान जीवनदाता, अन्नदाताको योगदानलाई उच्च सम्मान गर्ने उदेश्य रहेको शिखर नेपालका अध्यक्ष शेखर खनालले बताए ।
बहालमा बस्नेसँग विद्युतको बढी शुल्क लिए घरबेटीलाई कारवाही गर्ने कुलमानको चेतावनी
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीहरुले बहालमा बस्नेसँग विद्युतको बढी शुल्क लिएको गुनासो आएको भन्दै त्यसलाई रोक्न चेतावनी दिएका छन् । प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको तीन वर्ष पुगेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा घरबेटीलाई चेतावनी दिँदै निर्देशक घिसिङले भने, ‘बहालमा बस्नेसँग विद्युतको बढी शुल्क नलिनु । बढी शुल्क लिइएको पाइएमा कारवाही गर्छौं ।’ उनले घरबेटीलाई विद्युतको व्यापार नगर्न पनि चेतावनी दिएका छन् । घरबेटीले प्रतियूनिट १५ रुपैयाँभन्दा बढी विद्युत् बापत् शुल्क लिने गरेको भन्दै घिसिङले घरबेटीलाई कडा चेतावनी दिएका हुन् ।
रुपन्देहीकाे रोहिणी गोलामा गोली चल्दा १ जनाको मृत्यु
रुपन्देहीः रुपन्देहीमा रोहिणी गाउँपालिका–३ स्थित रोहिणी गोलामा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओमसतिया ५ पट्खौलीका करिब ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको रहेका छन् । रुपन्देहीका एसपी हृदय थापाका अनुसार मृतक कुर्मीको बायाँ कुममा गोली लागेको छ । मृतक कुर्मीले भैरहवास्थिती एक बैंकबाट रकम निकालेर आफ्नो घरतर्फ जाँदै थिए । मोटरसाइकलमा सवार दुई जना युवाले उनलाई गोली हानी रकम लुटेर फरार भएका हुन् । गोली कसले चलाएको भन्ने विषय नखुलेको र अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए । गोली चलाउने युवकको खोजीकार्य भइरहेको छ ।
प्रशासनलाई थाहै नदिएर ज्ञानेन्द्रको पत्रकार सम्मेलन, घटनास्थलमा प्रहरी नपुगेको भए…
काठमाडौं, स्थानीय प्रशासनसँग समन्वय नगर्दा ज्ञानेन्द्र शाहीको पत्रकार सम्मेलन हिंश्रक बन्न पुगेको देखिएको छ । संघसंस्था या व्यक्तिले कुनै पनि औपचारिक कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई जानकारी गराउनुपर्ने सामान्य कानुनी परिपाटी भएपनि विवादाष्पद विषयमा पत्रकार सम्मेलन गर्ने विषयमा शाहीले प्रहरी र प्रशासनलाई जानकारी दिएका थिएनन् । ललितपुर परिसरका एसएसपी टेक राईका अनुसार, जिल्ला प्रशासन कार्यालय र परिसरलाई शाहीको कार्यक्रमको बारेमा कुनै जानकारी दिइएको थिएन । “हामीलाई पूर्व जानकारी दिइएको थिएन ।” एभरेष्टदैनिकसँग राईले भने, “तर पनि हामीले आफ्नो तर्फबाट सुरक्षा प्रदान गर्दा अप्रिय घटना हुन पाएन ।” ज्ञानेन्द्र शाहीले पत्रकार सम्मेलन गर्न गइरहेको भन्ने विषयमा प्रहरीले आन्तरिक श्रोतबाट जानकारी पाएपछि सुझबुझ अपनाउँदै प्रहरी पठाएको थियो । “वहाँले कुनै जानकारी दिनु भएको थिएन । तर प्रहरीले आफ्नो कर्तव्य निर्वाह गर्दै जिल्ला प्रशासनसँग समन्वय गरी प्रहरी पठायौं ।” राईले भने, “तर शुरुमा प्रहरीलाई पनि वहाँहरुले भित्र जान दिनु भएन । चर्काचर्की परेपछि हामी जानैपर्यो ।” आजको पत्रकार सम्मेलनमा प्रहरीको उपस्थिति नभएको भए दुबै पक्षबीच रक्ताम्य हातपात हुने निश्चित नै देखिन्थ्यो । ज्ञानेन्द्र शाहीले पर्यटन मन्त्री योगेश भटु्टराईप्रति गरेको व्यवहार गलत भएको भन्दै आमरुपमा त्यसको बिरोध भएको छ । विगतमा ज्ञानेन्द्र शाहीकै पक्षमा रहेकोहरु समेत मन्त्रीले जहाज ढिलो गर्नु गल्ती भएपनि ज्ञानेन्द्र शाहीले अशिष्ट र अमर्यादित व्यवहार गरेको टिप्पणी गरिरहेका छन् । यसरी विवादमा रहेका विषयमा पत्रकार सम्मेलन जस्तो गम्भीर सार्वजनिक कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई पहिला नै सूचना दिएको भए सम्भवतः ज्ञानेन्द्र शाहीको कार्यक्रम बिथोलिने थिएन । ज्ञानेन्द्र शाहीले कार्यक्रम अघि लाईभ गरेको भिडियोमा कार्यालयको तल प्रहरी आएको विषयमा उनीहरुले आपत्ती जनाउँदै कुराकानी गरेको देखिन्छ । प्रहरीलाई खबर गर्नुको साटो दूरदर्शिता अपनाउँदै समयमा नै कार्यालयमा पुगेका प्रहरीलाई देखेर शाही र उनका समर्थकले आलोचना गरेको भिडियोमा देख्न सकिन्छ । परिसरका एसएसपी राई भने यसलाई बिडम्बना नै भन्छन् । “हामी गए पनि प्रहरी किन मूक र मौन, कहाँ हरायो प्रहरी भन्ने, गएपनि प्रहरी हस्तक्षेप भन्ने प्रवृत्ति छ ।” उनले भने, “तर फूलको आँखामा फुलै संसार भनेझैं कसैको आलोचनाका वावजूद पनि हामी आफ्नो कर्तव्यबाट विमुख हुन मिलेन । अवस्थाको गम्भीरता हेरेर शान्ति सुरक्षा बहाल गर्न आवश्यक कदम चालिएको हो ।” ज्ञानेन्द्र शाहीलाई परिसरका डिएसपी देवेन्द्र पाण्डेको नेतृत्वको टोलीले सुरक्षितरुपमा कार्यक्रमबाट बाहिर निकालेको थियो । अहिले भने ज्ञानेन्द्र शाहीले ज्यान जोगाइदिएकोमा प्रहरीलाई धन्यवाद दिएको श्रोतले जनाएको छ । भ्रष्टाचार विरोधी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले शनिबार पुल्चोकमा आयोजना गरेको पत्रकार सम्मेलनमा झडप भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालगञ्ज विमानास्थलमा पर्यटन मन्त्री योगेश भट्टराईका कारण विमान उड्न ढिलाई भएको विषयमा शाहीले पत्रकार सम्मेलन गर्दै थिए । पत्रकार सम्मेलनकै क्रममा भनाभन भएको र झडप हुने अवस्था आएपछि शाहीलाई सुरक्षाका लागि ललितपुर महानगरीय प्रहरी परीसर लगिएको हो । परीसरका एसएसपी टेक राईले शाहीलाई नियन्त्रणमा लिएको नभई सुरक्षाका लागि परीसर ल्याइएको बताए । ‘पत्रकार सम्मेलनमा अवस्था तनावपूर्ण भएपछि उहाँ (शाही) लाई सुरक्षाका लागि ल्याएका हौं,’ राईले भने, ‘पक्राउ वा नियन्त्रण केही हैन् ।’
बालदिवसमा कार्यक्रम नगरेको भन्दै मेयरलाई ५ रुपैयाँ पुरस्कार
राजविराजः बालदिवसमा कार्यक्रम आयोजना नगरेको भन्दै राजविराज नगरपालिकाका बालबालिकाले आइतबार मेयर शम्भु यादवलाई ५ रुपैयाँ पुरस्कार दिएका छन्। नगरपालिकाले बालदिवसम सकारात्मक काम नगरेको गुनासोसहित ज्ञापनपत्र बुझाउन पुगेका बालबालिकाले ज्ञापनपत्रसँगै ‘५ रुपैयाँको नोट पुरस्कार’ भन्दै बुझाएका हुन्। बालदिवस मनाउन नगरपालिकाले बजेट नछुट्याएकाले विरोधस्वरुप ५ रुपैयाँ सहयोग गरेको जिल्ला बाल संजाल सप्तरीका अध्यक्ष वरदान श्रेष्ठले बताए। मुलुकभर भव्य रुपमा राष्ट्रिय बाल दिवस मनाइरहँदा राजविराजमा पनि आफूहरूले कार्यक्रम गर्न माग गर्दा चासो नदेखाएको श्रेष्ठले गुनासो गरे।
विद्यार्थी र युवा संगठनद्वारा ज्ञानेन्द्र शाहीलाई बाँके जिल्लामा प्रवेश निषेध गर्ने चेतावनी
नेपालगञ्ज, नेकपा निकट विद्यार्थी र युवा संगठनहरुले ज्ञानेन्द्र शाहीमाथि जिल्ला प्रवेशमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रबार बाँकेको नेपालगञ्जस्थित एयरपोर्टमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि शाही समूहले अभद्र व्यवहार गरेको भन्दै जनवर्गीय संगठनले भत्र्सना गरेका हुन । नेकपा निकट, अनेरास्ववियू, अखिल क्रान्तिकारी, युवा संघ र वाईसिएलको जिल्ला नेतृत्वहरुले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै हातपात एवं आक्रमण गर्नेप्रति निन्दा र खेद प्रकट गरेका छन् । भ्रष्टाचार र नैतिकताको कुरा गर्नेहरु पहिला आफू शीष्ट हुन सिक्नुस भन्दै विज्ञप्तीमा आगामी दिनमा यस्ता हर्कत दोहोरिए ज्ञानेन्द्र शाहीलाई जिल्ला प्रवेश निषेध गर्ने समेत चेतावनी दिइएको छ । पढनुस विज्ञप्ती
मेयरको कार्यकक्षमा आगलागी
टीकापुरः कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईको कार्यकक्षमा आगलागी भएको छ। मेयर बजगाईको कार्यकक्षमा गएराति आगलागी भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । इप्रका लम्कीका प्रमुख प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दका अनुसार आगलागीबाट मेयरको कुर्सी, टेबल, इस्टपलाईजर, एसी तथा कार्पेटमा क्षती पुगेको छ । तर अन्य कागजपत्रमा भने कुनै क्षती नभएको प्रहरीले जनाएको छ। प्रहरीले विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरेको छ। प्रहरी निरिक्षक चन्दले प्रारम्भीक अनुसन्धानबाट घटना स्थलमा कुनै शंकास्पद वस्तु समेत नभेटिएकाले कुनै व्यक्तिले आगो लगाएको भन्न सकिने अवस्था नरहेको जनाउँदै विद्युत सर्ट भएको हुनसक्ने अनुमान गरिएपनि घटनाको अनुसन्धान जारी रहेको बताएका छन्।
उपनिर्वाचनका लागि साढे ४ लाख मतदाता
काठमाडौंः निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली तयार गर्ने क्रममा दाबी विरोधका लागि १५४ वटा वडा कार्यालयमा सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले उपनिर्वाचन हुने ३७ जिल्लाका १५४ वडामा चार लाख ४७ हजार ७९२ मतदाताको नामावलीको विवरण दाबी विरोधका लागि पठाइएको बताउनुभयो । वडा कार्यालयमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावली अद्यावधिक ९दाबी विरोध० कार्यक्रम असोज १ गतेदेखि सञ्चालन हुने भएको छ । मङ्सिर १४ गते प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यसमेत कुल ५१ पदहरूका लागि हुने उपनिर्वाचन हुनेछ ।
यि हुन् ७ प्रदेशका उत्कृष्ट ७ कृषक (नामावलीसहित)
काठमाडौंः पहिलो पटक ७ प्रदेशका उत्कृष्ट ७ कृषकहरुलाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ ले सम्मान गरिएको छ । विगत एक दशदेखि विभिन्न समाजिक कार्य संलग्न शिखर नेपालको आयोजनामा एक समारोहका बीच राष्ट्रिय सभा गृहमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जना उत्कृष्ट कृषकहरुलाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’बाट नगद पुरस्कारसहित सम्मान गरेका थिए । सो सम्मानबाट प्रदेश १ बाट विशाल राई, (विशाल कृषि फर्म, विर्तामोड) प्रदेश २ बाट रामआशिष प्रसाद गुनियाँ (श्री कृषि फर्म सेन्टर पर्सा), प्रदेश ३ बाट नवराज आचार्य (वाग्मती गोट फिड्स प्रा.लि.धार्के धादिङ), गण्डकी प्रदेशबाट घनश्याम तिमिल्सीना (हेम्जा गाई फर्म कास्की), प्रदेश ५ बाट दलबहादर खत्री (लेकाली व्यवसायिक बाख्रा पालन तथा दाना उद्योग प्युठान), कर्णाली प्रदेशबाट डिल्लीबहादुर नाथ (डाफेँ भैसी पालन फर्म, रुकुम पश्चिम) र सुदूरपश्चिम प्रदेशबाट ठगुनुदेवी चौधरी (कार्प ह्याचरी, कैलाली) सम्मानित भएका छन् । उनीहरूलाई १५÷१५ हजार रुपैयाँ र अर्वाड तथा सम्मानपत्रसहित फुलमालले सम्मानित गरिएको हो । सो अवसरमा बोल्दै उप्रधानमन्त्री पोख्रेरलले सरकारले कृषिलाई खुसी नेपाल समृद्ध नेपालीको पहिलो प्रथामिकतामा राखेका बताए । उनले कृषि प्रधान देश भनेर आयात गर्नु दुख भएको भन्दै अब कृषिलाई निर्यात गर्ने गरि काम गर्ने बताए । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय राज्यमन्त्री राम कुमारी चौधरीले वास्तविक किसानहरु छनोट गरी पुरस्कृत गर्ने परम्परा पहिलो पटक सुरु गरेकोमा शिखर नेपाललाई धन्यवाद दिँदै कृषकहरुको पक्षमा राज्य पनि गम्भीर भएको बताईन् । यस्तै पूर्व उद्योग मन्त्री महेश बस्नेत कृषि उद्योगको रुपमा सञ्चालन सबै क्षेत्र लाग्नुपर्ने बताए । कृषकहरुलाई प्रोत्साहनसगैँ उनीहरुको क्षमताको कदर गर्ने उद्देश्यसहित ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ प्रदान गरेका हौं,’ अध्यक्ष शेखर खनालले भने, ‘आशा छ, सरकारकै सहकार्यमा प्रदान गरिएको यो अर्वाडले कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने छ । कृषिको हौसला बढेको छ ।’ ‘शिखर नेपालको राष्ट्रिय अभियान–कृषकहरुको सम्मान’ भन्ने नारासहित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपन्छी विभागको सक्रियता विगत १ दशकदेखि समाजिक सेवा लोकप्रिय संस्था शिखर नेपालको आयोजना सो अर्वाड प्रदान गरिएको हो ।
दशैंदेखि छठसम्म हवाई यात्रुलाई १० प्रतिशत छुट
काठमाडौंः वायुसेवा सञ्चालक संघ नेपालले आउँदो दशैंदेखि छठ पर्वसम्म हवाई यात्रुलाई १० प्रतिशत छुट दिने भएको छ । आज बसेको संघको बैठकले उक्त निर्णय गरेको हो । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाद्वारा जारी गरिएको वक्तव्यमा आउँदो असोज १२ देखि कात्तिक १७ गते सम्मको हवाई टिकटमा सम्बन्धित वायुसेवा कम्पनीको काउन्टरबाट खरिद गरेमा नर्मल हवाई भाडा मूल्य (एयरपोर्ट ट्याक्स तथा फ्युल सरचार्ज बाहेक) १० प्रतिशत छुट दिने निर्णय गरिएको जनाएका छन् ।
ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल
काठमाडौंः भ्रष्टाचार अभियान्ता भनेर चर्चा पाएका ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ। ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो। शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए। सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए। पत्रकार सम्मेलनमा पुगेको एक समूहले उनीमाथि प्रश्न गरेका थिए। प्रश्नमाथि प्रश्न गरेपछि शाहीका सहयोगीले रोक्न खोज्ने क्रममा हात हालाहाल भएको हो। प्रहरीले शाहीको पत्रकार सम्मेलनमा हुलहुज्जत भएपछि सुरक्षाका लागि उनलाई नियन्त्रणमा लिएर परिसर ललितपुर लगेको छ। परिसरका डीएसपी देवेन्द्र पाण्डेले पत्रकार सम्मेलनमा झडपकोस्थिति बनेपछि शाहीलाई सुरक्षित रूपमा परिसर लगिरहेको बताए।


>
>
>