३ हजार कर्मचारी एकैपटक हटाइएपछि आन्दोलन
काठमाडौं । सरकारले एकैपटक करिब ३ हजार कृषि तथा भेटरिनरी प्राविधिक कर्मचारीलाई सेवाबाट हटाएको छ । ‘एक गाउँ एक प्राविधिक’ नारा अन्तर्गत २०७२ सालमा भर्ना गरिएका कृषि तथा भेटेरिनरी कर्मचारीलाई अर्थ मन्त्रालयले २०७६ भदौ ३१ मा निर्णय गरी सेवाबाट हटाउने निर्णय गरेको हो ।
पुराना हटाएर अर्थले नयाँ भर्ना लिन सकिने व्यवस्था गरेको छ । यसका लागि मन्त्रालयले बजेट पनि छुट्याएको छ ।
एक गाउँ एक प्राविधिकअन्तर्गत भर्ना भएका कर्मचारी खरिदार तहका हुन् तर अर्थले नयाँ भर्ना लिन बजेट छुट्याइएका कर्मचारी नायब सुब्बा तहका कर्मचारीका लागि हो । यसमा पुराना कर्मचारीले भने भर्ना हुन अवसर पाउने छैनन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
निजामती कर्मचारीको संख्या कटौती हुन्छः मन्त्री पण्डित
काठमाडौंः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रतिफल विनाको लगानी भएकाले पनि निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको बताए । उनले निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता भने व्यक्त गरे । मन्त्री पण्डितले सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरुले हैरान पारेको गुनासो गरे । निजामती कर्मचारीको संख्या बढदै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने उनको भनाई थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीबाट सिक्नुपर्ने कुरा अनुशासन– अध्यक्ष प्रचण्ड
काठमाडौं। नेकपाका अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीको पार्टी अनुशासनबाट नेपालका कम्युनिष्टहरुले शिक्षा लिनुपर्ने बताएका छन्। सोमबारबाट सुरु भएको विचारधारात्मक छलफल कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन्। चिनियाँ कम्युनिष्ट पार्टीका अनुभवहरुबारे नेकपाका नेता कार्यकर्ताबीच बहसका लागि आयोजना गरिएको कार्यक्रममा प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीसँग ९ करोड पार्टी सदस्य भएको र त्यहाँको उच्च अनुशासन विश्वकै लागि नमूना भएकोसमेत उल्लेख गरेका छन्। प्रचण्डले आफ्नो सम्वोधनमा नेपाल र चीनको सम्वन्ध १६ सय वर्ष पुरानो रहेकोमा जोड दिँदै भृकुटीदेखि स्थापित नेपाल–चीन सम्वन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। उनले सन् १९५५ मा नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापित भएयता सधैं अहस्तक्षेप, सार्वभौम समानता, मित्रता र असल छिमेकीको सम्वन्ध रहेकोसमेत स्मरण गरेका छन्। प्रचण्डले सम्वोधनमा एक चीन नीतिप्रति नेपालको प्रतिवद्धता फेरि दोहोराएका छन्। उनले बिआरआइले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरमा जोड्न र समृद्धिको कडीका रुपमा स्थापित गर्न सहयोग पुग्नेसमेत विश्वास व्यक्त गरेका छन्। प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले हासिल गरेको समृद्धि र समाजवादको बाटोप्रति नेकपाको ऐक्यवद्धता जाहेर गरेका छन्। ९ करोड पार्टी सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीले अन्तरपार्टी जनवाद र अनुशासनका क्षेत्रमा हासिल गरेको सफलता विश्वभरिकै कम्युनिष्टका लागि सिक्नलायक भएको उनको तर्क छ। ‘चिनियाँ शैलीको समाजवादबाट हामीले के सिक्न सक्छौं भन्ने कुरा विज्ञहरुबाट आउनेछ’ प्रचण्डले भनेका छन्। उनले बिना शत्रुता समाजवादको जग हाल्ने नीतिबाट नेपालले प्रशस्त शिक्षा लिनसक्ने समेत उल्लेख गरेका छन्। प्रचण्डको सम्वोधनको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुस्
तीन वर्षीया छोरीको हत्या गरी बाबुले गरे आत्महत्या
धनगढी । कैलालीको गौरीगंगा नगरपालिका—५ का रामबहादुर कलेलले गएराति तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या गरेका छन् । नजिकै रहेको आफ्ना दाइको घरमा राति सुत्न गएका २५ वर्षीय कलेलले पहिले तीन वर्षीया छोरी अनुष्कालाई विष सेवन गराएर हत्या गरी आफूले पनि विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । सुतेको कोठामा राति असामान्य आवाज सुनिएपछि ढोका खोली हेर्दा बेहोस् अवस्थामा फेला परेका कलेललाई तत्काल सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइएपछि अस्पतालले मृत घोषणा गरेको थियो । गएको जेठ महिनामा कलेलकी श्रीमती सरिताले आफ्नै पसलमा आत्महत्या गरेकी थिइन् । श्रीमतीको आत्महत्याको घटनालाई लिएर माइती पक्षले दिएको आत्महत्या दुरुत्साहनको मुद्दापछि पक्राउ परी पूर्पक्षका लागि कारागार चलान गरिएका कलेललाई जिल्ला अदालतले साउन २२ गते निर्दोष रहेको फैसला सुनाएको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच कैलालीको भजनी नगरपालिका—७ भुरुवा गाउँका ५३ वर्षीय डल्लु डगौरा नजिकैको मोहना नदीमा सोमबार डुबेर बेपत्ता भएकी छन् । भैँसी चराउन गएका बेला यो घटना भएको र उनको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ । प्रतिकात्मक तस्बिर ।
प्रचण्डले भने, ‘हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ’
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले समाजवादको लक्ष्य पूरा गर्न अर्को आन्दोलन, अभियान र मिसन चाहिएको बताएका छन् । दिवंगत नेतृ सहाना प्रधानको स्मृतिमा सोमबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिले एउटा शान्तिपूर्ण र प्रतिष्पर्धात्मक हुने अर्को आन्दोलनको आवश्यकता रहेको समेत औल्याए। उनले नयाँ आदर्श स्थापना गर्नका लागि पार्टी एकता गरिएको औंल्याउँदै तर अहिले त्यो अर्कै तरिकाले अघि बढ्न लागेको उल्लेख गरे । ‘जतिबेला हामी खुला र प्रतिस्पर्धामा प्रवेश गर्यौँ, शासन सत्तामा पुग्यौँ कता कता हामी आदर्श, विचार र निष्ठाबाट बिस्तारै थाहै नदिन स्खलित हुँदै जाने प्रक्रिया सुरु भयो। नाम त अहिले पनि हाम्रो कम्युनिस्ट पार्टी नै छ, के हामी साँच्चै कम्युनिस्ट जस्ता छौँ त?’ उहाँले प्रश्न गर्दै भने, ‘हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त? हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो। हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ। सम्पूर्ण ताकत लगाउने फौज चाहिएको छ। नत्र हाम्रो पार्टीको हालत पूर्वी युरोपका कम्युनिष्ट पार्टीको जस्तै हुन्छ।’ ‘पदका लागि गुट–उपगुट बनाएर लडौं भनेर होइन नयाँ र अभियानतिर जाऔं भन्नका लागि एकता गरेको हो। तर अहिले आदर्शच्यूत र स्खलित हुने अवस्था आयो,’ अध्यक्ष प्रचण्डले भने, ‘भिन्न तरिकाले जान लाग्यो भने त्यसलाई सुधार्नुपर्छ।’ नयाँ समाजवादी व्यवस्था र संस्कृति स्थापना गरी कम्युनिष्ट पार्टीलाई जनताको सेवकका रूपमा स्थापित गर्न नयाँ मिसन र उद्देश्यका साथ आन्दोलन गर्नुपर्नेमा उनले जोड दिए । ‘भन्न त हामीले समाजवादीको यात्रा सुरु गर्ने भनेका छौं, के हामी समाजवादीको यात्राका निम्ति एउटा योद्धा जस्तै छौं त?’, उनले भने । कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधान कम्युनिष्ट आन्दोलन, महिला मुक्ति आन्दोलन, महिलाले पनि पढ्न पाउनुपर्दछ भनेर सक्रिय भूमिका निर्वाह गरेको बताए । उनले पुष्पलालको निधनपछि प्रधानले पार्टीको अगुवाइ गरेको स्मरण गर्दै उहाँको योगदान अमर र अजर रहेको उल्लेख गरे । कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले कम्युनिष्ट बनाउनमा उहाँको दृढता र दृष्टिकोण व्यापकता रहेको बताए । अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालले राजनीतिक र महिला आन्दोलनको अद्वितीय नेताका रुपमा प्रधान रहेका बताइन् । उनले प्रधानले कहिल्यै व्यक्तिगत स्वार्थमा नलागी जनता र महिला मुक्तिका लागि त्याग र तपस्या गरेको बताइन् । उनले पार्टीमा अझै पनि महिलाप्रति न्याय हुन नसकेको भन्दै पार्टीका हरेक तहमा ३३ प्रतिशत महिला पु¥याउनुपर्ने बताइन्। कार्यक्रममा प्रधानका छोरा उमेशलाल श्रेष्ठले आमाको योगदानलाई पार्टीले एक वर्षमा सम्झने गरेको बताए । प्रतिष्ठानका अध्यक्ष रामकुमारी झाँक्रीले प्रधानका विचारलाई पार्टीले आत्मसात् गर्नुपर्नेमा जोड दिइन् । वि.सं १९८४ मा जन्मिएकी प्रधानको आजैका दिन वि.सं २०७१ मा निधन भएको थियो ।
सुरु भयो नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त अन्तरक्रिया कार्यक्रम
काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीचको संयुक्त अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । सोमबार साँझ राजधानीको होटल याक एन्ड यतीमा दुई देशका कम्युनिस्ट पार्टीबीच अन्तरक्रिया कार्यक्रम सुरु भएको हो । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच ‘विचारधारात्मक छलफल कार्यक्रम’ नाम दिइएको सो कार्यक्रममा सी चिङपिङ विचारधारबारे चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो धारणा राख्नेछ । कार्यक्रमको उद्घाटन सत्रमा नेपाली नेताहरुले मन्तव्य राख्ने छन् भने छलफल सत्रमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले बोल्ने कार्यतालिका सार्वजनिक गरिएको छ । सो अन्तरक्रिया कार्यक्रममा भाग लिन चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ सोमबार दिउँसो नेपाल आइपुगेका हुन्। यसअधि नै सोही कार्यक्रममा सहभागी हुन ४० सदस्यीय टोली नेपाल आएको थियो । सो कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश, पार्टी स्कुल र संगठन विभागका तर्फबाट कार्यपत्र पेस हुने छ । चीनको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि वृहत् रुपमा आयोजना गरिएको हो । राष्ट्रपति सी असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तयारी छ । सोमबार र मंगलबार गरी दुई दिनसम्म चल्ने सो कार्यक्रममा नेपालबाट दुई सय र चीनबाट ४० जनाको सहभागिता रहने जनाइएको छ ।
अर्थमन्त्रीको ‘चामल’ दोकान
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल आर्थिक पत्रकार संघको वार्षिक साधारणसभा (भदौ २२, २०७६) मा व्यक्त गरेको ‘पीठो बेच्नेले हैरान गरे’ गुनासो चर्चित रह्यो । समग्रमा गुनासाका दुई केस्रा थिए । पहिलो, समष्टिगत अर्थतन्त्रका सबै अवयवको योगफलबाटै नेपालमा ७.१ प्रतिशतको आर्थिक वृद्धि भएको छ । यो वृद्धि अभूतपूर्व किन छ भने, विगतका वृद्धिदरभन्दा दिगो र भरपर्दो छ । दोस्रो, कसैले अन्तर्राष्ट्रिय वित्तीय संस्था या दातृराष्ट्रका एजेन्सीमा गएर केही भएकै छैन भनी लाएको झोसपोलमाथि आक्रोश थियो त्यसमा । ती संस्थामा सोझो सम्पर्कको हैसियत राख्ने र त्यस्तो झोसपोल गरेर सरकारलाई नै अप्ठ्यारो पार्न खोज्ने आफ्नै बिरादरीका ‘विद्वान्’ लाई दुत्कारिएको थियो सायद । सैद्धान्तिकरवैचारिक कसीमा हेर्दा, नवउदारवादी बजार अर्थतन्त्रका हिमायतीसँगै अर्थमन्त्रीको गुनासो रह्यो, जसले उनको पहिलो बजेट प्रस्तुतिलाई ‘सही ट्र्याक समातेको’ भन्दै सरकार बाहिरबाट समर्थन जनाएका थिए । दोस्रो गुनासो नवउदारीकरणका केन्द्रहरूमा सबैभन्दा ‘काबिल’ देखिने प्रतिस्पर्धाका रूपमा आएको हुन सक्छ । किनकि एउटै स्कुल र एउटै कक्षाका दुई विद्यार्थीबीच पनि गुरुलाई पाठ बुझाउने बेला प्रतिस्पर्धा नै हुन्छ । पच्चीस वर्षअघि मनमोहन अधिकारीको नेतृत्वमा सरकार बनेलगत्तै राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्षले ‘यो सरकारको पालामा न बहुपक्षीय न त द्विपक्षीय सहयोग प्राप्त हुन्छ, न त कुनै बाह्य लगानी नै भित्रिन्छ’ भनेर ठोकुवा गरेका थिए । तैपनि अधिकारीको अल्पमतको सरकाररूपी पसल नौ महिना चल्यो । चामल बेच्नका लागि धान फलाउन र बेच्न पर्याप्त बहुमत थिएन । त्यसपछिको कुनै पनि सरकारले आफ्नै खेतको चामल बेचेन । र पनि आर्थिक वृद्धि भइरह्यो । वृद्धि भएको होइन भन्न अर्कोसँंग तथ्यांक विभाग छैन । तर त्यो वृद्धि आम नेपालीको जीवनस्तर उकास्न र ऐतिहासिक वर्गीय तथा सामाजिक असमानता हटाउन कति सहायक भयो ? वृद्धिको प्रतिफल अनुत्पादक दलाल पुँजीवादीहरूले कुम्ल्याए कि राष्ट्रिय पुँजीपतिले ? समष्टिमा कसको आर्थिक वृद्धि भयो ? सन् २००८र९ को बृहत् मन्दीयता धनाढ्य पुँजीवादीहरूले प्रणालीगत संकट बेहोरिरहेका छन् । आजका हाम्रा शासकले झैं हिजोका तिनका शासकले पनि आफूभित्र हुर्कंदै गरेका दलालबाट अर्थराजनीतिक संकट आइपर्ने सत्यलाई अनदेखा गरेका थिए । परिणामतः आफैभित्रबाट घोर ‘दक्षिणपन्थी पपुलिस्टहरू’ जन्मिए । खास गरी २०१६ मा अमेरिकामा डोनाल्ड ट्रम्पको विजयपछि कैयौं दक्षिणपन्थी पपुलिस्ट शासकहरूले विजय हासिल गरे । यति बेला पपुलिस्ट अन्धराष्ट्रवादका कारण, मिल्टन फ्रिडमेन तथा फ्रेडरिक हायक प्रतिपादित नवउदारवादी ‘अर्थराजनीतिक प्रोजेक्ट’ पूर्ण रूपमा धराशायी हुने खतरा बढ्दो छ । अन्धराष्ट्रवाद स्वाभाविक रूपमा नवफासिस्ट, नवनाजीवादतर्फ उन्मुख छ । यी अति दक्षिणपन्थी पपुलिस्टहरूले नवउदारवादको माउ उदारवादलाई समेत डुबाउने भए भन्ने निचोडमा अर्थराजनीतिक साहित्यमा पर्याप्त व्याख्या–विश्लेषण भइरहेका छन् । जोसेफ स्टिगलिज, डानी रोड्रिग, पल क्रुगम्यान, आदम जे टुज, थोमस पिकेटी, अमर्त्य सेनजस्ता अर्थराजनीतिक पण्डितहरूले संकट चरम विन्दुमा पुगेको बताएका छन् । जनवरी २०१९ को एउटा अध्ययन अनुसार, विश्वका आधा जनसंख्याको भन्दा बढ्ता पुँजीरसम्पत्ति एक दर्जनभन्दा कमधनाढ्यहरूसँग छ । नवउदारवादी पुँजीवादको लक्ष्य सीमित पुँजीपतिले नाफा कमाउनु र थुपार्नु नै हो । थोरै समयमा अत्यधिक नाफा कमाउन पुँजीपतिरबहुराष्ट्रिय निगमहरूले मजदुरको लागत (कस्ट अफ लेबर) घटाए । त्यसका लागि हायर एन्ड फायर, ज्याला कटौती, युनियन विघटन, रोजगारी कटौती गर्न रोबोट र मेसिनको अत्यधिक प्रयोग तथा विदेशी बैंकमा पुँजी निवेश गर्ने प्रवृत्तिलाई नवउदारवादी राज्यले वैधता दिए । यी क्रियाकलापका कारण आमगरिबी मात्र भित्रिएन, सँगसँगै वातावरणीय क्षति, कार्बन र टक्सिन, रासायनिक तथा अन्य प्रदूषणले खोलानाला, खेतबारी, पिउने पानी, खाद्यान्न आपूर्ति सबै प्रभावित बने । क्यान्सर, मुटु र मृगौला रोग, दमजस्ता असाध्य रोग विस्तारित हुँदै गए र तिनैलाई समेत नाफाको स्रोत बनाइयो । बृहत् नाफाको दुश्चक्रका कारण राजनीति, न्यायालय र कर्मचारीतन्त्र दलाल पुँजीपतिसँग जोडिए । शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, अन्य सामाजिक सुरक्षाको निजीकरण गरियो । मानवीय मूल्यलाई लिलामीमा चढाइयो । यो गोलबन्दीले आमनागरिक नवदासदासी हुनुपर्ने वातावरण खडा गर्दै गयो । बृहत् नाफाको वकालत गर्न सत्ताकै आडमा मिथ्या–बुद्धिजीवी (स्युडो इन्टेलेक्चुअल), मिथ्या अर्थशास्त्री (स्युडो इकोनोमिस्ट) र मिथ्या पत्रकार (स्युडो जर्नलिस्ट) हरूको झुन्ड स्थापित गरियो । तिनैका कारण राज्यको बागडोर समातेका र तिनका आसेपासे सम्भ्रान्तहरूमा पुँजी वा सम्पत्तिको सञ्चिति बढ्दै गयो, समाजमा पनि सम्पत्तिको रस चुहिन्छ (ट्रिकल डाउन हुन्छ) र समग्र समाज लाभान्वित भइरहन्छ भन्ने अर्थ लाग्ने गरी तिनले कथा बुनिरहे । तर यथार्थमा बृहत् नाफा कमाउने उच्चतम महत्त्वाकांक्षाका कारण, अस्ट्रो–हंगेरियन आर्थिक इतिहासकार कार्ल पोल्यानीले उद्घोष गरेझैँ भयो— ‘पहिला माफिया–अर्थतन्त्र जन्मिन्छ, त्यसपछि माफिया–सरकारको जन्म हुन्छ ।’ ट्रम्पलगायतका राष्ट्ररसरकार प्रमुख त्यही अर्थराजनीतिका उपज हुन् । विश्वव्यापी यो प्रवृत्तिमा नेपालको अर्थराजनीति कहाँ छ ? हामी कस्तो प्रवृत्तितर्फ उन्मुख छौँ रु नवउदारवादी बजार अर्थराजनीतिको नेपाली भाष्यमा व्याख्या र कार्यक्रम प्रस्तुत गरेको नेपाली कांग्रेसलाई पन्छाएर जनताले नेकपालाई किन बहुमत दिए रु कांग्रेसले आठौँ पञ्चवर्षीय योजनामै यो प्रणाली अपनाएमा ‘असल रोजगारीसहितको बलियो र दिगो अर्थतन्त्र, मुलुकको औद्योगिकीकरण, नयाँ–नयाँ आयआर्जनका क्षेत्रको अन्वेषण, व्यापारमा वृद्धि हुने’ सपना बाँडेको थियो । उसले भनेको थियो— त्यस्तो वृद्धिले उद्यम खडा हुन्छ, उद्यमले वस्तु र सेवा उत्पादनका क्रियाकलाप गरेपछि रोजगारी वृद्धि भई सबै नेपालीलाई आवश्यक खाद्यान्न, लत्ताकपडा, आर्थिक उपार्जन, शिक्षा र स्वास्थ्य पाउने उचित र स्वस्थकर वातावरण प्राप्त हुन्छ, यी सबै बन्दोबस्तीसँगै वित्तीय, सञ्चार र अन्य विविध सेवा प्राप्त गर्दै जाँदा हामी सबैको आर्थिक वृद्धि हुन्छ । बहुदलपछिको कांग्रेस सरकारले यिनै पपुलिस्ट कुरा गरेर जनताको भरोसा जितेको थियो । पछि सबै दलले धेरथोर त्यही शैली अनुसरण गर्दै आए । तर बितेका अट्ठाइस वर्षमा नेपालमा दस वर्ष गृहयुद्ध भयो । हजारौँ मारिए, लाखौँ विस्थापित भए । लाखौँलाख बसाइँ सरे, सरिरहेका छन् । झन्डै एकतिहाइ जनसंख्या वैदेशिक रोजगारीमा छ । व्यापार घाटा बढ्दो छ । उत्पादनका सबै सेक्टर ओरालो लागेका छन् । वर्षेनि ५ लाख ६० हजार युवायुवती श्रम बजारमा आउँछन्, जसमध्ये ६० हजारलाई पनि न निजी न सहकारी न त सरकारी संस्थाले नै रोजगारी दिने क्षमता राख्छन् । आयात धानिरहेको रेमिटेन्स अब घट्दो छ । वैदेशिक ऋण र ग्रान्ट नआउने हो भने पुँजी आर्जन गर्ने सेक्टरमा लगानी शून्यमा झर्छ । ऋण र ब्याजको किस्ता डलर महँगो भएकाले बढिरहेको छ । ७ प्रतिशतको वृद्धिले वस्तु तथा सेवा र रोजगारी किन बढाएन ? त्यही अनुपातमा उत्पादन क्षेत्रमा किन लगानी भएन ? यी प्रश्नको जवाफ बहुदल पुनर्बहालीका लागि भएको संघर्षताका पनि खोजिएको थियो । नेकपाको स्थायी सरकारपछि पनि आम नेपालीले राज्यको आर्थिक–सामाजिक संरचनामा परिवर्तनको पहल गरिने, बेरोजगारी, भोकमरी र दरिद्रता हटाउन भूमि व्यवस्थापन तथा वितरणमार्फत कृषिको आधुनिकीकरण गरिने, प्रगतिशील कर व्यवस्थापन, तुलनात्मक तथा प्रतिस्पर्धात्मक लाभमा आधारित राज्यको सहकार्यमा औद्योगिकीकरण तथा पर्यटन विकास र विस्तारको योजनाबद्ध थालनी हुने आशा गरेका थिए । शिक्षा तथा स्वास्थ्यको सरकारी ग्यारेन्टी, सस्तो र भरपर्दो सार्वजनिक यातायात, पूर्ण रोजगारीको लक्ष्य अनुरूप कामको थालनी भएपछि राष्ट्रिय बचतमा वृद्धि, पूर्वाधार निर्माण तथा आयात प्रतिस्थापनका लागि उद्यमहरूमा लगानीको कमी हुनेछैन भन्ने जनताको अपेक्षा थियो । विकास निर्माणमा अभियानमूलक सहभागिता जुटाउन तीनै तहका सरकार अग्रसर हुने आम नेपालीले सपना देखेका थिए । एकलौटी बहुमत भएकाले यो सरकारलाई कानुन निर्माणमा सहजता, उपयुक्त राष्ट्रिय–अन्तर्राष्ट्रिय वातावरण उपलब्ध थियो । तर ‘पहिलो गाँसमा ढुंगा’ भनेझैं पहिलो बजेट नै नवउदारवादको सनातनी घोडा चढेर देखा पर्यो । त्यो पनि उदारीकरण, भूमण्डलीकरण र निजीकरण अभियानकै गोरेटोमा दलालहरूको राइँदाइँ बढ्ने गरी १ दुईतिहाइभन्दा बढी कामदार रहेको कृषि कुपोषणग्रस्त देखिँदा, औद्योगिकीकरण र बढ्दो बेरोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा झाँगिएको व्यापारीकरण, एकाधिकारग्रस्त वित्तीय संस्था र अनुत्पादक क्षेत्रमा तिनको विस्तारित लगानी, ध्वस्तप्रायः सार्वजनिक यातायात, कालोबजारी र महँगीजस्ता समस्याको संस्थागत समाधान गर्न कम्तीमा वैकल्पिक सुशासनको उपाय खोजिएला भनी सोच्नु अन्यथा थिएन । तर जनसरोकारलाई सम्बोधन गर्ने अर्थराजनीतिक सोच न सरकारी नीति तथा कार्यक्रममा न त बजेटमै देखियो, जबकि शंकाको सुविधा पछिसम्मै थियो । सर्वसाधारण जनता पर्खिरहेका थिए । तर जसरी पन्ध्रौं योजनाको अवतरण गराइयो र सामाजिक सुरक्षाका नाममा अपरिपक्व कार्यक्रम अगाडि सारियो, जसरी न्यूनतम रोजगार कार्यक्रम लागू गर्दा विश्वव्यापी अभियानका रूपमा देखा परेको आधारभूत आवश्यकताको अवधारणा ‘न्यूनतम रोजगारी’ को मजाक बनाइयो र आम जनताबाट करका नाममा संकलित सरकारी ढुकुटी खर्चिइयो, त्यसबाट सरकार दृष्टिकोणविहीन र योजनाविहीन नै रहेछ भन्ने छर्लङ्गियो । संविधानले संघीय शासनका लागि अपरिहार्य मानेर परिकल्पना गरेको अन्तर–प्रदेश परिषदलाई सरकारले पंगु बनायो । प्राकृतिक तथा वित्त आयोगलाई अपांग बनाउँदै जसरी फेरि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भए, जसरी संवैधानिक संस्थाहरूमा आसेपासे पदासीन गराइए, त्यसले ब्रह्मलुटलाई राजमार्ग उपलब्ध गराएको छ । भूमि ऐन संशोधनमार्फत भूमिसुधार तुहाएर सरकारले आफ्नो नियत अझ प्रस्ट पारिदिएको छ । राजा महेन्द्रको भूमिसुधारको भन्दा पश्चगामी संशोधनले सरकारको ‘वामपन्थी मुखौटा’ पखालिँदा यति बेला कुरूप दक्षिणपन्थी अनुहार उदाङ्गिएको छ । पीठोका सन्दर्भमा रोजगारीको चर्चा गर्दा अर्थमन्त्रीले दक्ष जनशक्तिलाई ‘प्यान’ सँग जोडेका छन् । तर उनी आफै जोडिएको योजना, नीति तथा कार्यक्रम र उनैले प्रस्तुत गरेको बजेटमा कहाँनेर छ दक्ष जनशक्ति निर्माणको कार्यक्रम रु उनले बुझ्दा हुन्छ, संसारमा राज्यका तर्फबाट शिक्षामा औसत कुल गार्हस्थ्य उत्पादनको ६ र स्वास्थ्यमा ३ प्रतिशत खर्च हुने गरेको छ । चीन र रूसले अनवरत रूपमा कुल गार्हस्थ्य उत्पादनको ७ प्रतिशत त्यो क्षेत्रमा लगाउने गरेका छन् । हाम्रा अर्थमन्त्रीले भने आफ्नो बजेटमा अन्तर्राष्ट्रिय मान्यताको आधा पनि छुट्याउन सकेनन् । ७८ प्रतिशत बालबालिका १२ कक्षा नपुगी ड्रपआउट हुने गरेका छन् । अनि कसरी उत्पादन हुन्छन् आवश्यक दक्ष कामदार रु अझ पनि दुईतिहाइ महिला घरैमा बच्चा जन्माउन बाध्य छन् । महँगीका कारण ५० प्रतिशत बिरामी अस्पतालको मुख नदेखी मर्न विवश छन् । अस्पताल भर्ना भएका बिरामीले अस्पतालकै छतबाट हामफाल्नु परिरहेको छ । प्रधानमन्त्रीले ‘कोही भोकै रहनेछैनन्’ भने पनि दुईतिहाइ नेपाली घरधुरीमा अहिले पनि साँझमा भात पाक्दैन र देशका आधाभन्दा बढी केटाकेटी भोकै सुत्न बाध्य छन् । यी सबै दुःखी प्राणीहरू, सीमान्तीकृत, महिला, दलित, मधेसी र आदिवासी जनजातिहरू, जानेर वा नजानेर विगतदेखि वर्तमानसम्म नेकपाकै मतदाता थिए । एकै दिन वा एकै वर्षमा सबै कुरा उलटफेर गर्न सकिन्न, संस्थाहरू बन्न सक्दैनन् र सोचेसरि फटाफट परिवर्तन हुन सक्दैन । यो सरकार क्रान्तिबाट होइन, चुनावमार्फत आएको हो र यसका सीमा छन् । यद्यपि सरकार पर्खिरहेको कुनै पनि पार्टीले ‘घोषणापत्र’ मार्फत आफ्नो अर्थराजनीतिक सोच र मूलनीति अघि सार्ने गर्छ । त्यसलाई कार्यक्रममा बदल्न संस्थागत सोच अनुरूप टिम बनाइन्छ, जसले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना निर्माण गर्छ र सरकारको सय दिनभित्र कार्यक्रम कार्यान्वयनका लागि मैदानमा उतार्छ । तर ओली सरकारको टिम र स्वयं अर्थमन्त्रीसँग आम जनतासामु ल्याउने यथार्थमा आधारित ठोस सोच, विचार, नीति तथा कार्यक्रम केही रहेनछ, न त समविचार भएका विज्ञ मित्रमण्डलीसँग सहकार्य गर्ने उत्सुकता । अन्तर–मन्त्रालय समन्वय गराई आम जनताका पक्षमा पुँजीगत खर्च गराउँदै पुँजी निर्माणमा जनसहभागिता बढाउने तत्परता उनमा फिटिक्कै रहेनछ । चार दशकयता कुनै न कुनै लाभको पदमा रहेर सबै हिसाबले ‘टेस्टेड’ भएका अर्थमन्त्रीको अनुभव, भोगाइ र गराइलाई जोड्दा निष्कर्ष निस्कन्छ— उनी र उनीसम्बद्ध सरकारसँग न व्यवस्थित दोकान छ, न त बेच्नका लागि आफ्नै ढिकीमा कुटेको चामल ! कान्तिपुर दैनिकबाट
गाडी चलाउँदा मोबाइल प्रयोग गरेमा प्रहरीले कारबाही गर्ने
अर्घाखाँची । दसैंमा दुर्घटना न्यूनीकरण गर्न गाडी धनी, चालक र सहचालकलाई ट्राफिक प्रहरीले प्रशिक्षण दिएको छ । देउराली यातायात अर्घाखाँचीले शनिबार माइक्रोबस दुई, हाइस ३० र १ सय १६ जिपका मालिक, चालक र सहचालक गरी १ सय १० जनालाई दसैंलगायत अरू बेला पनि दुर्घटना रोक्न प्रशिक्षण सञ्चालन गरेको हो । गाडी मालिकले आफ्नो गाडीको अवस्था ठीक छरछैन, ख्याल गर्नुपर्ने र नियमित गाडी चेकजाँज गर्न प्रहरीले अनिवार्य गरेको छ । गाडीको अवस्था ठीक नभएका कारण दुर्घटना हुन सक्छ । त्यसबाट बचाउन चालक राम्रो हुनुपर्छ । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले चालकले गाडी चलाउँदा फोनमा कुरा नगर्ने र सिट क्षमताभन्दा बढी यात्रु राख्न नहुने बताए । गाडी चालक र सहचालकले यात्रुसँग राम्रो व्यवहार गर्न र मिठो बोल्न अनिवार्य गरिएको छ । ‘मोडमा गति घटाउनुपर्छ । ट्राफिक नियम पालना भएको छ कि छैन, कडाइका साथ चेकजाँच गरिनेछ,’ प्रजिअ पौडेलले भने, ‘चाडपर्वमा धेरै भीडभाड हुन्छ । यसबेला दुर्घटनाबाट यात्रुलाई बचाउन सवारी साधनमा कडाइ गरिएको हो ।’ जिल्लामा वैज्ञानिक भाडादर कायम गर्न सरोकारवाला, व्यवसायीसँग छलफल गर्ने तयारीमा रहेको पौडेलले बताए । प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले दुर्घटना हुन नदिन गाडीको कन्डिसन ठीक हुनुपर्ने, चालकले लापरबाही गर्न नहुने र बाटो राम्रो हुनुपर्ने बताए । क्षमताभन्दा बढी लोड भएमा गाडी दुर्घटना हुन्छ । बिग्रेको गाडी चलाउने चालकलाई कडा कारबाही गरिने उनले सुनाए । बाटोअनुसार गाडीको स्पिड हुनुपर्ने र ट्राफिक नियम पालना नगर्ने चालकलाई कडा कारबाही गरिने उनले बताए ।गाडीको पाटपुर्जा ठीक पारेर मात्रै रोडमा गाडी चलाउन प्रहरी नायव उपरीक्षक विष्टले देउराली यातायातलाई आग्रह गरे । ‘नियम पालना प्रहरीलाई गरिदिने होइन, आफ्नो र यात्रुको सुरक्षाका लागि हो,’ उनले भने, ‘गाडी चलाउँदा फोन उठाएर गफिने गरेमा चालकको लाइसेन्समा प्वाल पारिनेछ ।
एक सय ५७ कैदीबन्दी एकैपटक बिरामी, सबै कैदीमा सङ्क्रमण
काठमाडौं । इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण देखा परेको हो । कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए । “एकैपटक ठूलो सङ्ख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत धौधौ परेको छ ।” श्रेष्ठले भने, “धेरै कैदीबन्दी बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको टोली लगेर कारागारमा नै उनीहरुको उपचार गरिएको छ ।” कारागार साँघुरो भएकाले पनि कैदीलाई सहज उपचार गर्न सकिएको छैन । कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले पनि उपचार सेवामा कठिनाइ भएकाले रोग सर्दै गएको हो । “शनिबार ७८ मात्र बिरामी थिए । आइतबार बढेर एक सय ५७ को सङ्ख्या पुग्यो ।” श्रेष्ठले भने, “अरू कैदीलाई पनि जोगाउन साह्रै गाह्रो भएको छ ।” कारागारमा हाल २६० कैदी रहेका छन् । जहाँ १०० पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा २३७ पुरुष, २१ महिला र दुई नाबालक छन् । कारागारमा ११ जना कर्मचारीको दरबन्दी छ । कार्यालयमा चार जना कार्यालय सहयोगी रहे पनि कार्यालय सहयोगीनै अपुग हुने गरेको श्रेष्ठ बताउँछन् । “कैदीबन्दीलाई बाहिर निकाल्दा एकजना पठाउनै पर्छ”, उनले भने, “२४ सैँ घण्टाजस्तो ड्युटी पर्छ । यहाँ भएको जनशक्तिले धान्न गाह्रो छ ।” रासस
दशैं तिहारमा शान्ति सुरक्षा सुदृढ बनाउँछौंः गृहमन्त्री थापा
काठमाडौंः गृहमन्त्री रामबहादुर थापा बादलले दशैं, तिहार र छठका बेला शान्ति सुरक्षा सुदृढ बनाउने बताएका छन् । सर्वसाधारणको यात्रा सुरक्षित बनाउन र शान्ति सुव्यवस्था कायम गर्न गृह मन्त्रालयले तयारी गरेको पनि उनले जानकारी दिए । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले राजमार्ग र सहायक राजमार्गमा यात्रु सहायता कक्ष स्थापना गर्ने, टिकटमा कालोबजारी र कृत्रिम अभाव रोक्ने बताएका हुन् । त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयसँगको समन्वयमा बिग्रे, भत्केका सडक सुधार गर्ने, सर्वसाधारणको भीड हुने धार्मिक स्थलमा विशेष सुरक्षा व्यवस्था गर्ने गृहमन्त्री थापाले बताएका छन् । उनले भारतबाट दशैं मान्न घर फर्किने नेपालीलाई सहयोग गर्न सीमा क्षेत्रमा सहायता कक्ष सञ्चालन गर्ने पनि बताए । गृहसचिव प्रेमकुमार राईले नेपालमा पाँच सय र एक हजार रुपैयाँको भारतीय नोट नचल्ने भएकाले ती नोट बोक्नेहरुले दुख पाउने सम्भावना रहेको बताए । ती नोट नेपालमा प्रचलन गर्न पाइने हो कि होइन भन्ने विषय अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले प्रष्ट नपारेकाले समस्या हुन सक्ने बताएका हुन् ।
मनसुन बाहिरिन अझै एक साता लाग्ने
काठमाडौंः यस वर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ। मनसुनको औसत समय आज अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ। मनसुन सकिने बेलामा पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्छ। तर, अहिले त्यस्तो भएको छैन। हाल वायु पश्चिमतिर नै सक्रिय भइरहेको छ। त्यसैले अझै एक साता मनसुनको समय लम्बिने भएको मौसमविद् समीर श्रेष्ठले बताए। ‘नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुनेगर्छ’ उनले भने, ‘तर यस वर्ष १० दिन ढिलो गरी असार ५ (जुन २०) मा मनसुन भित्रिएको थियो। त्यसैले यस वर्ष एक–डेढ साता मनसुन लम्बिन सक्छ।’ गत वर्ष पनि अक्टोबर ५ मा मनसुन बाहिरिएको थियो। मनसुन सकिन जुन किसिमको वातारण आवश्यक पर्ने हो त्यो अहिले भइरहेको छैन। मुलुकभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिन्छ तर अहिले देशभर नै वर्षा भइरहेको महाशाखाले जनाएको छ। त्यस्तै, मनसुन अन्त्य हुने बेलामा पूर्वतिर मनसुनी प्रणाली मकजोर हुँदै जान्छ तर, अहिले पूर्वमा मनसुन सक्रिय छ। अर्का मौसविद् बरुण पौडेलका अनुसार यस वर्ष औसतभन्दा कम वर्षा भएको छ। ‘मनसुनको समय लम्बिए पनि अब भारी वर्षाको सम्भावना भने छैन,’ मौसमविद् पौडेलले भने, ‘मनसुनी गतिविधि केही बाँकी नै रहेकाले दिउसो घाम लागी देशका केही भू–भागमा बेलुका तथा रातको समय हल्कादेखि मध्यम हुनेगर्छ तर वर्षा लगातर नभई छोटो समय हुनेछ। सामान्यतया १०० दिनसम्म मनसुनी वर्षा हुने भए पनि केही वर्षयता ती दिनको सङ्ख्या बढिरहेको छ। आज देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मङ्गलबार र बुधबार पनि सो क्रम यथावत रहने बताइएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलम पाँच डिग्री र अधिकतम तापक्रम २६ दशमलव आठ डिग्री सेल्सियस रहेको छ।
माटोको ढिस्कोले पुरिएर सब-ओभरसियरको मृत्यु
पर्वत । सडकमा काम गरिरहेका बेला माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर कुस्मा नगरपालिकामा एकजना सबओभरसियरको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङका करिब २३ वर्षीय कमल राई रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए। मध्यपहाडी लोकमार्गको स्तरोन्नति भइरहेको कुस्मा नगरपालिका–७ खरेहामा सडकको चौडाइ नाप गरिरहेको बेलामा सडकमाथि खसेको सुक्खा पहिरोले राईलाई परेको हो। उनको शवलाई जिल्ला प्रहरी कार्यालय पर्वतका टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले एक्साभेटरको सहयोगले बाहिर निकालेको छ। शवलाई पोष्टमार्टमको लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ। त्यहाँ कार्यरत मजदुरका अनुसार उनका भाइहरू पनि सोही ठाउँमा काम गरिरहेको भए पनि सुरक्षित छन्। स्काभेटरले खनेर बनेको ढिस्को खसेर मान्छे पुरिएको भन्ने खबर पाउँदासाथ स्थानीय र नजिकै रहेको पर्वत सदरमुकाम कुस्माबाट ठूलो सङ्ख्यामा मानिसहरू पुगेका थिए। उद्धारमा खटिएका अच्युत पौडेलका अनुसार माटोमुनि मान्छे रहेको थाहा पाउँदा पनि दुर्घटनास्थलमा पुगेकाहरू फोटो र भिडियो खिच्दै बसिरहेका थिए। ‘ हामीले हातले माटो पन्छाएर उद्धारको प्रयास गर्यौँ।’ तत्काल एक्साभेटर चलाएर उद्धार गरेको भए यस्तो नराम्रो घटना नहुने थियो कि भन्ने उनको अनुमान छ।
ठेकेदारलाई राजनीतिक संरक्षण दिएर जोगाउने अवस्थाको अन्त्य हुन्छः प्रधानमन्त्री ओली
काठमाडौंः प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष केपी शर्मा ओलीले देश बिकासका लागि सरकार नयाँ संकल्पका साथ अघि बढेको बताएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको आइतबार बसेको ४६औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको तीव्र गतिको चरणमा देश प्रवेश गरिसकेकाले सबै पक्ष रचनात्मक ढंगले अघि बढ्न निर्देशन दिए । राजनीतिक संरक्षणका बलमा निर्माणसम्बन्धी ठेक्का दिने परिपाटी विगतमा रहेको र त्यस्ता कमजोरीले देश पछि परेको भएपनि अब त्यस्तो परिस्थिति नरहने प्रधानमन्त्री ओलीले प्रष्ट पारे । समयमा काम सम्पन्न नगर्ने ठकेदारलाई अब मौका नदिइने प्रधानमन्त्रीको भनाई छ । अन्तिम मौका पनि गुमाउने निर्माण व्यावसायीसँग कडाइ गर्दै ठेक्का तोड्ने मात्र होइन, त्यस्तालाई दण्डित गर्ने र क्षतिपूर्ति भराएर भविष्यमा समेत अयोग्य ठहरिने गरी कालो सूचि वा डार्क लिस्टमा राख्नुपर्ने उनले बताए । ‘त्यस्ता ठकेदारका कारण देश कति समय पछाडि पर्यो? बाटो घाटोको अभावमा सामाजिक जागरण र आमजनताको सुविधाको विषय कति पछि पर्यो?’ बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरेका थिए । कुखुराको माऊले पखेटामुनि संरक्षण दिएपछि चीलले समेत चल्ला समात्न नसक्ने दृष्टान्त दिँदै प्रधानमन्त्रीले अब ठेकेदारहरुलाई राजनीतिक संरक्षण दिएर जोगाउने अवस्थाको अन्त्य हुने स्पष्ट पारे । ‘जनताले हाम्रो पार्टीलाई ठूलो अपेक्षाका साथ वहुमत दिएका छन्, यो सरकार जनताको आकांक्षा पूरा गर्नै पर्ने विशेष अवस्थामा अगाडि बढिरहेको छ ।’ प्रम ओलीले भने । जनता आफैं तत्पर नभए देश बन्दैन भन्ने कुरा जनतालाई नै बताएर समृद्धितर्फ अघि बढ्न प्रेरित गर्नुपर्ने बताउँदै प्रम ओलीले आम जनता बीच जागरणको लहर सृजना गर्नुपर्ने बताए । ‘हामीले पपुलिस्ट काम होइन, दीगो विकासका काम गर्नु पर्दछ । हामीले आमजनताका बीच जागरणको लहर श्रृजना गर्नु पर्दछ,’ उनको भनाई थियो । हिंसा फैलाउन खोज्ने र गाउँ गाउँमा गएका विकासको वजेट लुट्ने विप्लव नामका समूह हामीले चाहेको विकासका वाधक हुन् भन्दै प्रधानमन्त्री ओलीले वातावरणको विनाश नहुने गरी विकासका गतिविधि बढाउन जोड दिए । उक्त अवसरमा प्रधानमन्त्री र योजना अयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, राष्ट्रिय पुननिमार्ण प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवाली एवं लगानी वोर्डका प्रमूख कार्यकारी अधिकृत महाप्रसाद लामिछानेबीच कार्य सम्पादन सम्झौता पनि सम्पन्न भएको थियो ।
बलात्कार घटनामा बयान फेर्न साढे ५ लाख, आमाले गरिन् यस्तो खुलासा
ओखलढुंगाः गत साउन २० गते मोलुङ गाउँपालिकाकी एक युवती बलात्कृत भइन्। १८ वर्षीया ती युवती घाँस काट्न दिउँसो बारीमा गएको बेला बलात्कृत भएकी हुन्। पीडित पक्षको किटानी जाहेरीका आधारमा सोही ठाउँकै प्रहरी चौकीमा कार्यरत सप्तरीका करिब ३५ वर्षीय प्रहरी जवान प्रकाशकुमार यादव जबरजस्ती करणी मुद्दामा पक्राउ परे। घाँस काट्न गएकी किशोरीलाई यादवले जंगलमै जबरजस्ती करणी गरेको पीडितको आरोप छ। यादवले करणी गरिरहेका बेला युवतीका बुबाले देखेपछि घटना बाहिर आएको थियो। यादवले त्यसअघि जंगलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि ती युवतीलाई बलात्कार गरेको खुलेको छ। ओखलढुंगा जिल्ला अदालतमा सरकारी वकिल कार्यालयमार्फत जबरजस्ती करणीमा यादवविरुद्ध भदौ १० गते मुद्दा दायर भएको थियो। घटनाको अनुसन्धान भइहेको समयमा यादवका आफन्तले पीडित पक्षलाई केही रकम लिएर मिल्न र अदालतसमक्ष बयान फेर्न बारम्बार दबाब दिइरहे। मोटो रकमको लोभ देखाइरहे। अन्त्यमा पाँच लाख ५० हजार रुपैयाँमा कुरा मिल्यो अनि पीडित र पीडितका आफन्त बयान फेर्न राजी भए। जिल्ला अदालतमा बकपत्र गर्ने बेलामा ती पीडित महिला विपक्षी भएकी छिन्। आफूलाई यादवले जबरजस्ती करणी गरेको भनी जाहेरी दिएकी युवतीले पटकपटक प्रहरीको अनुसन्धानको क्रममा आफूलाई आरोपितले बताल्कार गरेको जिकिर गर्दै आएकी थिइन्। तर अहिले अदालतमा युवतीले हामीले सहमतिमै शारीरिक सम्बन्ध राखेको भनी बयान फेरेकी छिन्। आफैले फोन गरेर यादवलाई बोलाएको र शारीरिक सम्पर्क भइरहेको समयमा बुबाले देखेपछि डरले यादवले आफूलाई जबरजस्ती करणी गरेको भनी आरोप मात्र लगाएको भनी उनले बयान फेरेकी हुन्। पैसा लिएर पीडित युवतीलाई बयान फेराउन यादवका आफन्त, निजी वकिल र प्रहरीले दबाब दिएको युवतीकी आमाले बताइन्। ‘नजिकको प्रहरी चौकीबाट पनि पटकपटक घरमै प्रहरी आएर मिल्नु भने, वकिलले पनि जिल्लामा जाँदा त्यसै भनेपछि साढे पाँच लाखमा कुरा मिलेको हो,’ उनले भनिन्, ‘प्रहरी र अदालत धाउँदाधाउँदै आफ्नै तीन लाख जति खर्च भएको थियो। धेरै दिएन, साढे पाँच लाख मात्र दियो।’ प्रहरी जवानको जागिर गए घरमा बिजोक हुने भन्दै युवती र उनका आफन्तलाई पैसामा मिल्न पीडक पक्षका व्यक्तिले दबाब दिएको पीडितका आफन्तले बताएका छन्। नागरिक दैनिकबाट
व्रत बसेकी वृद्धाको मृत्यु
जलेश्वर । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने जगदिश पाण्डेकी पत्नी ७१ वर्षीया मिथिलेश देवी पाण्डे रहेको वडाध्यक्ष सुमन्तकुमार रायले बताए । यस वर्षको जितिया पर्व निकै लामो समय अवधिको भएको कारण ती वृद्धा खाली पेट त्यतिसमयसम्म बस्न नसक्दा र यस पर्वको समापन अघि कुनै खानेकुरा वा पानी पनि खाएमा पर्व भङ्ग हुने (टुट्ने) मान्यता रहेको कारण पर्व सकिनु अघि खान नमानेपछि उनको शरीरले भोको पेट थेग्न नसक्दा मृत्यु भएको वडाध्यक्ष रायले बताए । शनिबार बिहान ४ बजेदेखि नै जितिया पर्वको उपवास बसेकी ती वृद्धाले आइतबारसम्म बस्न सकिनन् भने उनलाई खानेकुरा वा पानी पनि खानभन्दा खान नमानेपछि उनको उपवास बसेकै अवस्थामा मृत्यु भएको हो । यस वर्षको जितिया पर्वमा शनिबार बिहान ४ बजेदेखि उपवास बसेर आइतबार बेलुका ३ बजे (पारन) अन्न जल खाने कार्यक्रम रहेको थियो । मृतक वृद्धाको दुई छोरा रहेकोमा एउटा छोरा रोजगारीको क्रममा नेपालमै भैरहवा बस्दै गरेको र अर्को भारतको राजधानी दिल्ली बस्दै गरेको आइतबार उनीहरु घर आउन सकेनन् भने आज उनीहरु आउनासाथ उनको अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ । तराईमा जितिया पर्वलाई निक्कै कठोर पर्वको रुपमा लिने गरिएको छ तर जितिया पर्व बसेकै बेला महिलाको मृत्यु भएको महोत्तरीमा यो पहिलो घटना रहेको सर्वसाधारण बताउँछन् ।
चीनमा पढ्दै नेकपाका २९ मेयर, कक्षा बिहान र दिउँसो
काठमाडौंः नेकपाका २९ मेयर केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन्। पढाइका विषय छन्– चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगीकरण, सहरीकरणलगायत। साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रियासमेत सिकिरहेका छन्। ‘सेमिनार अफ मेयरर्स फ्रम नेपाल’ नाम दिइएको प्रशिक्षणमा तीमध्ये तीनजना गाउँपालिकाका अध्यक्ष छन्। युनान प्रान्तको कुनमिङस्थित ‘युनान युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्स’ मा चिनियाँ विशेषज्ञ र प्रध्यापकले तिनलाई पढाउने गरेका छन्। कक्षा बिहान र अपराह्न गरी दुई चरणमा दैनिक हुन्छ। कक्षा नभएका बेला चीनको विकास देखाउन स्थलगत भ्रमणमा लगिन्छ। टोलीमा ७ वटै प्रदेशबाट कम्तीमा ४ जना सहभागी छन्। उनीहरू सबैलाई प्रधानमन्त्री कार्यालयले छानेको हो। उनीहरूलाई विश्वविद्यालयभित्रकै भवनमा बस्ने प्रबन्ध मिलाइएको छ। नेकपाका केन्द्रीय सदस्यसमेत रहेका भक्तपुरको चाँगुनारायण नगर प्रमुख सोमप्रसाद मि श्रले टोलीको नेतृत्व गरेका छन्। प्रधानमन्त्री कार्यालयले नेपालस्थित चिनियाँ दूतावाससँग समन्वय गरी यो अध्ययन भ्रमणमा पठाएको हो। याे अन्नपूर्ण पाेस्ट दैनिकबाट लिइएकाे हाे ।

