कञ्चनपुरमा बसको ठक्करबाट चितुवा मर्‍यो

महेन्द्रनगरः कञ्चनपुरमा बसको ठक्करबाट चितुवा मरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिकाको गुलरियामा आज दिउँसो महेन्द्रनगरबाट धनगढी धनगढीतर्फ जाँदै गरेको से १ क २१५४ नम्बरको बसले ठक्कर दिँदा चितुवा मरेको हो ।

ईलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब नीरिक्षक प्रेम ऐरका अनुसार चितुवालाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको छ । मरेको चितुवा वनलाई बुझाईएको उनले जानकारी दिए ।

बौद्धनाथ स्तुपको विवाद अध्ययन गर्न ४ सदस्यीय अध्ययन समिति गठन

काठमाडौंः काठमाडौँको बौद्धस्थित बौद्धनाथ स्तुप क्षेत्रमा देखिएको विवाद समाधानका लागि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा ४ सदस्यीय अध्ययन समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालसहितको सहभागितामा आज गृह मन्त्रालयमा भएको बैठकले अध्ययन समिति बनाएको हो । बौद्धनाथ क्षेत्र विकास समिति, बौद्ध तामाङ कल्याण गुठी, बौद्ध मेलम्ची घ्याङ गुठीबीचको विवाद अन्त्यका लागि सहजीकरण र संस्थाको विवाद अध्ययन गरी दिगो समाधानका लागि उपयुक्त सुझावसहितको प्रतिवेदन पेश गर्न समितिलाई जिम्मेवारी दिइएको छ । समितिमा जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवाल, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका उपसचिव नीरज पौडेल, गुठी संस्थानका उपप्रशासक हरिप्रसाद श्रेष्ठ सदस्य रहेका छन् । समितिको कार्य शर्त पर्यटन मन्त्रालयले बनाउने निर्णयसमेत बैठकले गरेको छ । गत शनिबार बौद्धनाथ स्तुपभित्र आयोजना भएको क्षमापूजा तथा दीप प्रज्वलनमा आपसी विवाद हुँदा दुई पक्षबीच झडप भएको थियो ।

ठगिँदै यात्रुः टिकटमा तोकिएकै मूल्य, काउन्टरबाट बढी भाडा असुलि

काठमाडौंः दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ । उनीहरु चर्को भाडा तिरेर घर जान बाध्य भएका छन् । कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ । काठमाडौँबाट हेटौँडा जान लागेका एक यात्रुले ४५० लाग्ने भाडा ८०० तिरेर यात्रा गर्न बाध्य भएको बताए । केही यात्रु घरमा पुग्न पाइने आशमा बढी भाडा तिर्ने गरेका छन् भने धेरै यात्रुले चाहना नहुँदानहुँदै बढी भाडा तिर्नुपरेको गुनासो गरेका छन् । ट्राफिक प्रहरीले बढी भाडा लिने सवारीको निगरानी बढाए पनि यात्रु ठगिने क्रम रोकिएको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सादा पोशाकमै प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारवाही चलाएको बताए । उनले दशैँमा हुने यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको र आजसम्मका २३२ सवारीलाई कारवाही गरिएको उल्लेख गर्नुभयो तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरेका छन् । ठगी रोक्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । बसपार्क क्षेत्रमा पछिल्लो समयमा प्रगति भइरहेको र ठगिने क्रम रोकिएको दाबी प्रहरीको छ तर अन्य क्षेत्रमा अझै प्रहरीको आँखा छलेर पैसा असुल्ने क्रम जारी छ । प्रहरीले भिडियो रेकर्ड र बढी भाडा लिएको रसिदसहित पक्राउ गरेर कारवाही गर्दै आएको छ । प्रहरीले आफैँ प्यासेन्जर बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र प्यासेञ्जर बस्ने लाइनमा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर अडियो भिडियो रेकर्ड गरी उनीहरुलाई कारवाहीको दायरामा ल्याउने गरेको छ । यसका लागि ट्राफिक प्रहरीले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ । प्रहरी नै यात्रु बनेर जाँदा… ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ । काठमाडौँबाट बर्दिवासको भाडा रु ७०० छ । सादा पोशाकमा यात्रु बनेर गएका प्रहरीले कोटेश्वरस्थित टिकट काउन्टरमा पुग्दा रु ९०० भाडा लिएको पाइएपछि टिकट काउन्टरका कर्मचारी अशोक थोकर, प्रशान्त तामाङ र अर्का रवीन्द्रनाथ श्रेष्ठलाई प्रहरीले पक्राउ गर्यो । आज मात्रै बढी भाडा लिने दक्षिणकाली सुमो टिकट काउन्टरबाट कर्मचारी रामचन्द्र कार्की पक्राउ परेको प्रहरीले जनाएको छ । असोज १२ गते वीरगञ्ज कलैया सुमो सेवाको टिकट काउन्टरबाट मकवानपुरका श्रीराम स्याङ्तान र चन्दन शाहलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । यस्तै बढी भाडा असुल्ने दीपेन्द्र पौडेल, उपेन्द्र ढुङ्गाना र विशाल घिसिङसमेत पक्राउ परेका छन् । बढी भाडा असुल नियन्त्रण अभियानमा खटिएका एकजना प्रहरी कर्मचारीले भने, “हामी नै यात्रु बनेर गएपछि यस्ता कर्तुत फेला परेको हो, उनीहरुले रसिदमा सरकराले तोकेको भाडा नै उल्लेख गर्ने गरेको र बढी भाडा भने बिना रसिद लिने गरेको पाइयो ।” महाशाखाका पीडित सहायता एकाइका प्रहरी नायब निरीक्षक रमेश बजगाईंले सर्वसाधारणको रुपमा यात्रु बनेर बढी भाडा लिनेलाई पक्राउ गर्ने गरिएको बताउनुभयो । उनीहरुले गाडी चढ्न अघि कतिपय यात्रुलाई कन्भिन्स गरेर पैसा ठग्ने गरेको र कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएको छ । रासस

काठमाडौंमा जर्मन–नेपाल व्यापारिक मञ्चको सम्मेलन सुरु

काठमाडौंः नेपालमा जर्मनीको लगानी अभिवृद्धि गराउन पहिलो पटक काठमाडौँमा जर्मन–नेपाल व्यापारिक मञ्चको सम्मेलन शुरु भएको छ । लगानी बोर्ड, जर्मन दूतावास र नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजको संयुक्त आयोजनामा भएको सो सम्मेलनमा जर्मनको कोलोन नगरका उपप्रमुख हान्स वेयरनर ब्रार्चको नेतृत्वमा आएको १५ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलसहित जर्मनीको सहयोगमा नेपालमा सञ्चालित विभिन्न परियोजना तथा उद्योगी व्यवसायीको सहभागिता रहेको छ । सम्मेलनमा नेपालका लागि जर्मनी राजदूत रोलाल्ड सेफरले राजनीतिक स्थायित्वसँगै नेपाल आर्थिक समृद्धिको बाटोमा हिँड्न थालेकाले यहाँ लगानी र व्यापारको प्रसस्त सम्भावना रहेको बताए । उनले भने, “विकास पूर्वधार, सांस्कृतिक आदानप्रदान र पर्यटनका क्षेत्रमा साझेदारी बढाउन सकिनेछ । यसमा निजी व्यवसायले आयाम थप्नेछ ।” उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सरकारले वैदेशिक लगानी आकर्षित गर्न मौजुदा कानून परिमार्जन, नयाँ कानूनको तर्जुमा गर्नुका साथै संस्थागत व्यवस्था गरेकाले लगानीको अवसर प्रशस्त रहेको बताए । उनले नेपाली वस्तु निर्यातको हिसाबले जर्मनी तेस्रो ठूलो देश रहेको उल्लेख गर्दै सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने सन्दर्भमा जर्मनीबाट ठूलो सख्यामा पर्यटक आगमन हुने अपेक्षा गरे । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न ठूलो लगानीको आवश्यकता पर्ने भएकाले वैदेशिक लगानी आकर्षित गर्न सरकारले उपयुक्त वातावरण निर्माण गरेको बताए । लगानी सम्मेलनले पहिचान गरेका १५ वटा आयोजनालाई कार्यान्वयन गर्न सकिएमा मुलुकको आर्थिक समृद्धिमा सहयोग पुग्ने उनको भनाइ छ । नेपाल–जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका अध्यक्ष अनुप मल्लले स्मार्ट र हरित अर्थतन्त्र निर्माण गर्न व्यापार र लगानी अभिवृद्धिमा जोड दिए । पछिल्लो समय लगानीमैत्री वातावरण बनेकाले जर्मनीका उद्योगी व्यवसायीलाई लगानी गर्न आग्रह गर्दै उहाँले प्राविधिक एवं दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने धारणा राखे । नेपाल आर्थिक मञ्चका संस्थापक सञ्जीव शाक्यले भूगोल, जनसङ्ख्या र परिवेशले गर्दा नेपालमा समृद्धिको प्रशस्त सम्भावना रहेको उल्लेख गरे । सो सम्मेलन भोलिसम्म सञ्चालन हुनेछ ।

१० हजार घूससहित नापी कार्यालयका कर्मचारी पक्राउ

चिप्लेढुंगाः घूस रकम लिएको आरोपमा नापी कार्यालय कास्कीमा कार्यरत सर्भेक्षक सन्तोष भण्डारी पक्राउ परेका छन् । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घूस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । आयोग अनुसार पोखरा महानगरपालिका–९ स्थित बुद्धचोक नजिकैबाट मंगलबार साँझ भण्डारीलाई १० हजार घूस रकमसहित नियन्त्रणमा लिइएको हो ।

काठमाडौं आइपुग्यो चिनियाँ विशेष टोली, विमानस्थल २ घण्टा बन्द

काठमाडौं– चिनियाँ राष्ट्रपति शी जिनपिङको भ्रमण तयारीका लागि बेइजिङबाट विशेष टोली काठमाडौं आएको छ। बोइङ ७४७–८०० विमानमार्फत् चिनियाँ विशेष टोली अनुगमनका लागि काठमाडौं आएको हो। विशेष टोली दिउँसो पौने २ बजे काठमाडौं उत्रिएसँगै २ घण्टाका लागि विमानस्थल बन्द गरिएको छ। आवश्यक सुरक्षा तयारीको अनुगमन र नेपाली अधिकारीहरुसँग परामर्शका लागि टोली काठमाडौं आएको हो। टोली अवतरण गरेसँगै विमानस्थल बन्द गरिएको विमानस्थल सुरक्षा प्रहरीका एक अधिकृतले जानकारी दिएका छन्। विमानस्थल प्रशासनका अनुसार त्रिभुवन विमानस्थलको सानो रनवेमा ठूलो विमान अवतरण गरेकाले अन्य विमानलाई अवतरण र उडानमा २ घण्टा रोकिएको हो ।

सभामुख महराको राजीनामाबारे संसदमा सूचना टाँसियो

काठमाडौंः यौन दुर्व्यवहारको आरोपपछि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाबारे संसद् सचिवालयले औपचारिक जानकारी गराएको छ । एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष पदबाट राजीनामा दिएका थिए। उपसभामुखको आदेश अनुसार प्रतिनिधिसभाको नियमावली २०७५ को नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको हो। संसदमा सचूना टाँस भएसँगै नयाँ सभामुखको निर्वाचनको लागि बाटो खुलेको छ। राजीनामा दिएपछि सभामुख पद स्वतः खारेज भएको मानिन्छ । संविधानको धारा ९१ उपधारा ६ को (ख) मा सभामुखले लिखित राजीनामा दिए पदमुक्त हुने व्यवस्था छ ।

स्क्रब टाइफसका कारण २ को मृत्यु, ९९ जना संक्रमित

काठमाडौंः जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार एक हजार २८ जनामा परीक्षण गरिएकोमा ९९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो । स्क्रब टाइफसका कारण मृत्यु भएकामा एक जना गैंडाकोटकी महिला र एकजना रौतहटका पुरुष रहेको केसीले जानकारी दिए । जिल्लाका अस्पतालमा उपचार गराउन आउनेमा चितवनसहित नवलपरासी, तनहुँ, गोर्खा, मकवानपुर, धादिङ्, रौतहट, बारालगायका जिल्लाका रहेका छन् । स्क्रब टाइफस ओरीएण्टा सुसुगामुसी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रामक रोग हो । साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइट्स) लाई सङ्क्रमणमा पार्दछ । ती सङ्क्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्न रुचाउने गर्दछन् । यी सङ्क्रमित किर्ना बोकेका मुसा, जनावर मानिसको सम्पर्कमा आएपछि मानव शरीमा टाँसिएर टोक्ने केसीले जानकारी दिए । यसबाहेक, ग्रामीण भेगमा झारपात र झाडीमा सङ्क्रमित किर्ना प्रशस्त हुन्छन् । ग्रामीण भेगका किसानलाई प्रत्यक्ष रुपले यी किर्नाले टोकेमा स्क्रब टाइफस रोग सर्ने गर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन । गर्भवतीले स्क्रब टाइफसबाट सङ्क्रमित भए उनकोे गर्भाशय रहेको शिशु अङ्गभङ्ग हुने सम्भावना रहेकाले यस सम्बन्धी परामर्श लिनुपर्ने चिकित्सकको सुझाव छ । आर्थिक वर्ष २०७४–७५ मा दुई हजार २३७ जनाको नमूना परीक्षण गर्दा ४१० जनामा स्क्रब टाइफस भेटिएको थियो । यस्तै डेंगुबाट सङ्क्रमण हुनेको सङ्ख्या तीन हजार ६६९ जना पुगेको छ । केसीका अनुसार ११ हजार ९२७ जनामा परीक्षण गरिएको थियो । भदौको तेस्रो र चौथो साता निकै बढेको सङ्क्रमण विस्तारै घट्दै गएको छ । डेंगुबाट जिल्लामा दुईजनाको मृत्यु भएको छ ।

दशैंको बिदामा पनि राष्ट्रिय वाणिज्य बैंकका २२ शाखा खुला

काठमाडौंः वडा दशैंको बिदामा पनि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २२ वटा शाखा कार्यालयहरू खुला रहने भएका छन् । जसमध्य दुई शाखाहरु विजया दशमीको दिन पनि खुला गरिने छन् । वडा दशैंको अवसरमा बिदा हुने दिनहरू असोज १८, १९, २० र २२ गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २२ वटा शाखा कार्यालयहरू बिहान १० बजेदेखि १ बजेसम्म खुल्ला रहने जनाइएको छ । काठमाडौँ उपत्याकाभित्रका शाखा कार्यालय बानेश्वर, भोटाहिटी, महाराजगञ्ज, कलङ्की, ललितपुर र त्रि.अ. विमानस्थल खुल्ला रहने बैंकलेजनाएको छ। त्यसैगरी काठमाडौं उपत्यका बाहिरका शाखा कार्यालय विर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर खुल्ला रहने छन्। शाखा कार्यालय बानेश्वर र महेन्द्रपुल विजया दशमीको दिन पनि खुल्ला रहने छन् । उक्त शाखाहरूबाट नगद जम्मा तथा चेकको भुक्तानी गरी ग्रहकलाई सेवा प्रदान गरिने जनाइएको छ।

दसैं मनाउन काठमाडौंबाट बाहिरिए १० दिनमा १० लाख यात्रु

काठमाडौंः दशैंका लागि अग्रिम टिकट बुकिङ खुला भएयता झण्डै १० लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबारसम्म ९ लाख ९२ हजार ८ सय ६७ यात्रु बाहिरिएका छन्। ६ लाख ९१ हजार ६ सय ४६ यात्रु भित्रिएका छन् । जसमा १ लाख १९ हजार ४ सय ६७ सवारी साधन यात्रु बोकेर बाहिरिएको महाशाखाले जनाएको छ । त्यस्तै यात्रसँग बढी भाडा लिने २०८ जनालाई कारबाही गरिएको छ। उपत्यकाका १४ स्थानमा यात्रुलाई सहजता प्रदान गर्न नागरिक सहायता कक्ष राखिएको छ । जहाँ सबैभन्दा बढी गुनासा टिकट नपाएको आएको छ। नयाँ बसपार्कबाट बाहिरिने गाडीको अनिवार्य रूपमा यान्त्रिक परीक्षण गर्ने गरिएको छ । यात्रु लिएर हिँडेका गाडीलाई एक–दुई किमिभित्रमा मादक पदार्थ सेवन गरेको छ–छैन भनेर चेकजाँच गर्ने गरिएको छ । गाडीमा अनिवार्य रूपमा भाडादर टाँस्न लगाइएको ट्राफिक प्रहरीको दाबी छ। दशैंमा घर जाने यात्रको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो ।

९ वर्षपछि शरद ऋतुमा सगरमाथा आरोहण गरिँदै

सोलुखुम्बुः यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि २ समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा समूहमा ९ र अर्को एकसहित १० रहेका उनको भनाइ छ । यस्तै निरौलाका अनुसार सोमबारसम्म सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २६४ ले अनुमति लिएका छन् । यो हिमाल संसारको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाई ८ हजार १५६ मिटर रहेको छ । त्यस्तै ८ हजार ५१६ मिटर उचाइको लोत्से हिमाल आरोहणका लागि २ समूहका १३ र सात हजार ८६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि एक समूहका ८ जनाले अनुमति लिएका छन् । पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार आठ हजार २६७ मिटर उचाइको धवलागिरि हिमाल आरोहणका लागि दुई समूहका ३० जनाले अनुमति लिएका छन् । अहिलेसम्म देशका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा ६८ समूहका ५१८ आरोही छन् । सोमा ११४ महिला र ४०४ पुरुष आरोही रहेका पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा निरौलाले जानकारी दिए । सगरमाथा आरोहणको इतिहास सन् १९५३ मे २९ तारिखका दिन बिहान ११ः१५ बजे न्यूजिल्याण्डका नागरिक सरएडमण्ड हिलारी र नेपाली नागरिक तेञ्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पाइला टेकेका थिए । त्यसपछि आरोहणको क्रम शुरु भएको पाइन्छ । सगरमाथा आरोहणको उत्तम समय वसन्त ऋतुलाई लिइने गरिन्छ । शरद ऋतुमा सगरमाथा अरोहणका लागि कठिन मानिन्छ । सन् २०१० को अक्टोबरमा अमेरिकी आरोही एरिक लर्सेनले आरोहण गरेयता शरद ऋतुमा कोही पनि आरोही शिखरमा पुगेको रेकर्ड छैन । यो याममा अरोहण सफल हुने या नहुने भन्ने कुरा आरोही र मौसममा भर पर्छ । सन् २०१९ कै वसन्त ऋतुमा विभिन्न समूहका ३८१ ले आरोहण अनुमति लिएका थिए भने आरोही र उनका सहयोगीसहित करीब ७ सयले विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका थिए । आरोहणका क्रममा ९ जनाको ज्यान गएको थियो । उनीहरुको मृत्युको कारण सगरमाथा आरोहणका क्रममा ट्राफिकजाम भनेर दाबी गरिए पनि पर्यटन विभागले त्यसको खण्डन गरेको थियो । उक्त याममा हुने भीड र समस्यालाई शदर ऋतुले आकर्षण गर्न नसकेको आरोही बताउँछन् । आरोही किताबसिं तामाङका अनुसार शरद ऋतुमा आरोहण गर्न सकिने भए पनि हल्का वर्षातसँगै हिमपात र वायुको गति उच्च हुँदा समस्या हुने गर्छ । वसन्त ऋतुमा आधार शिविरदेखि क्याम्प–१ सम्मको बाटो बनाउने र व्यवस्थापन गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले पनि यो याममा भने आफ्नो जिम्मेवारी मान्दैन र कुनै पनि कार्य गर्दैन । समितिका अध्यक्ष आङदोर्जी शेर्पाका अनुसार वसन्त ऋतुमा ६ सय अमेरिकी डलरमा क्याम्प–१ सम्मको बाटो बनाउन सकिने भए पनि शरद ऋतुमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्छ । नेपाल सरकारले समेत शरद ऋतुमा आरोहणलाई प्राथमिकता दिएको पाइँदैन । यस याममा आरोहणका लागि आवश्यक पूर्वाधार तयार पार्न सरकारको ध्यान नगएको आरोहीको गुनासो छ ।

२०२१ को लागि डिभी आवेदन खुला, पासपोर्ट नम्बर चाहिने

काठमाडौंः सन् २०२१ को लागि डाइभर्सिटी भिसा (डीभी) को लागि आवेदन खुल्ला भएको छ । संयुक्त राज्य अमेरिकाले २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन खोलेको हो । अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा जनाइएको छ। डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन। अमेरिकामा कम आप्रवासी भएका मुलुकका नागरिकलाई अमेरिकाले चिठ्ठामार्फत भिसा उपलब्ध गराउँछ। अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ। साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ। तर डिपेन्टेन्टमा जानेका लागि भने यो आवश्यक छैन। यसैगरी कम्युनिस्ट देशका नागरिक र देशविहीनहरूका लागि पनि इन्टरनेशनल ट्राभल पासपोर्ट नम्बर नचाहिने आवेदनको सूचनामा उल्लेख छ।

दसैंका लागि १० दिनमा १० लाख यात्रु उपत्यका बाहिरिए

काठमाडौं । टिकट बुकिङ खुला भएयता १० लाख यात्रु दसैंका लागि उपत्यकाबाट बाहिरीएका छन् । दसैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार मंगलबारसम्म ९ लाख ९२ हजार ८६७ यात्रु बाहिरिएका छन् । ६ लाख ९१ हजार ६४६ यात्रु भित्रिएका छन् । जसमा १ लाख १९ हजार ४६७ सवारी साधन सवारी साधन यात्रु बोकेर बाहिरिएको उनले बताए । यो समाचार कान्तिपुर दैनिकमा छ ।

रोशनीका ५ घण्टामा ३३ स्टाटसः मार्ने धम्की दिएर बोल्न लगाए, बदनाम गराउने उपदेखि उपसम्म

काठमाडौं । २४ घण्टाको फरकमा दुईवटा भिडियो अन्तर्वार्तामार्फत चर्चामा आएकी रोशनी शाहीले ज्यान मार्ने धम्की आएपछि महराविरुद्ध बोल्न बाध्य भएको बताएकी छिन् । फेसबुकमा गए राती ३३ बढी स्टाटस लेख्दै रोशनीले सभामुख महराले राजिनामा दिनु पर्ने कुनै गलत काम नगरेको बताएकी हुन । उनले महरा निर्दोष र रहेको र आफु प्रयोग भएको कुरा आफ्नौ फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् । उनले काँग्रेसी मिडियाले आफुलाई जबरजस्ती सभामुखको बिरुद्धमा बोल्न लगाइएको बताएकी छिन् । आफु र आफ्नो श्रीमानको ज्यान लिने धम्कि दिएर आफुलाई जबरजस्ती महराको बिरुद्धमा बोल्न लगाइएको बताएकी छिन् । बुधबार विहान फेसबुकमार्फत ती तत्वहरुसँग अब नडराउने बरु उनिहरुको पर्दाफास गर्ने चुनौती दिँदै लेखेकी छिन्, ‘अति गर्नु अत्याचार नगर्नु’ हिजो साँझ भने रोशनी शाहीले भिडियोमार्फत आफूमाथि महराले दुव्र्यवहार नगरेको बताएकी थिइन । गएराती उनी फेसबुकमा निकै सक्रिय देखिइन । मध्यराती १, २ बजेतिर उनले लगातार ३० बढी स्टाटस लेखेकी छिन् । अधिकांश स्टाटसमा उनले आफूले किटानी जाहेरी नदिएको, महरा सरले कुनै दुव्र्यवहार नगरेको र षडयन्त्र भएको बताएकी छिन् । केही स्टाटसमा भने उनले सरकारविरोधी पोष्टहरु शेयर गरेकी छिन । ‘ सभामुखमाथि लगाइएको आरोप झुठ, कपोकल्पित, उनलाई सत्ताबाट पदच्युत गर्न गरिएको डिजाईन हो । जसको लागि मलाई प्रयोग गरियो । डर त्रास र धम्कीबाट तैले महरालाई बलात्कारको आरोप लगाइनस भने म र मेरो श्रीमानको ज्यान लिने धम्कीका कारण मैले नचाहँदा नचाहँदै पनि झुठ बोलेको हुँ । एउटा काँग्रेसको मिडिया म बसेको ठाउँ पत्ता लगाउँदै आयो । त्यही भिडियोको कुरालाई लिएर सभामुख निर्दोष हुँदाहुँदै पनि दोषी ठहर्याइयो । महरा सरले रक्सी ल्याएको पनि छैन न त उनि कुनै महिलाको कोठामा नै गएका छन् । सत्य सत्य नै हो र सत्य यही हो ।’ उनले फेसबुकमा लेखेकी छिन् । शाहीले महराको बदनाम गराउने खेलमा उपसभामुख नै लागेको समेत आरोप लगाएकी छिन् । उनले फेसबुकमा लेखेर सभामुख बन्नका लागि उपसभामुखले नै विभिन्न प्रप्रञ्च रचेको बताएकी छिन् । ‘मलाई भाइरल हुने कहिल्यै चासो भएन, महरा सरले न्याय पाउनुहुन्छ , उनले लेखेकी छिन्, ‘उहाँलाइ बदनाम गराउने उप देखि उपसम्म हुन् ।’ आफ्नो डेरा पत्ता लगाएर रातको समयमा आउने पत्रकारलाई उनले रअको पत्रकार समेत भनेकी छिन् । फेसबुमा उनको फोटोसहितको समाचार शेयर गर्दै उनले लेखेकी छिन्, यही चोर हो मेरो कोठा पत्ता लगाएर मलाई जबरजस्ती महराको बिरुद्धमा बोल्न बाध्य बनाउने रअ पत्रकार’ ।

अमेरिकी र भारतीय स्वार्थ नमान्दा यसरी ‘फसाइए’ सभामुख महरा

काठमाडौं, सभामुख कृष्ण बहादुर महरामाथि ‘यौन दुव्र्यवहार’ को आरोप प्रकरणले नयाँ मोड लिएको छ । आरोप लगाउने महिला रोशनी शाहीले आफूले महराका बारेमा कुनै कुरा नगरेको दावी गरेकी छिन् । योसँगै उनले महरामाथिको आरोप समायोजन हुने क्रममा आफू अन्यत्र सरुवा भएको र महरालाई अनुरोध गर्दा समेत सहयोग नगरेको रिसमा लगाएको समेत बताएकी छिन् । यता सभामुख महराले भने नैतिक प्रश्न उठेकोले अनुसन्धानलाई सहज गर्न राजिनामा दिएको घोषणा गरेका छन् । यो सम्पूर्ण प्रकरणले केही गम्भीर प्रश्न उब्जाएको टिप्पणी सर्वत्र देखिन्छ । सबैभन्दा ठूलो प्रश्न ती महिलाकै आरोप वरिपरि घुमेको छ । सभामुख महराले विज्ञप्ती जारी गर्दै आइतबार राती ती महिलाको कोठामा जाँदै नगएको बताउनु तर शुरुमा प्रकाशित समाचारमा भने उनले राती कोठामा गएर कुटपीट र दुव्र्यवहार गरेको उल्लेख हुनुले घटनाबारे कैयन प्रश्न जन्मेका थिए । महराकै विज्ञप्तीलाई समर्थन गर्दै २४ घण्टापछि तिनै महिलाले महरा कोठामा आउँदै नआएको बताएकी छिन् । साथै उनले शुरु समाचार तयार पार्ने पत्रकारमाथि पनि प्रश्न गर्दै मेरो कोठामा उनीहरु कसरी पुगे ? कसले यहाँ पुर्यायो भनेर प्रश्न गरेकी छिन् । यो सबै प्रसंगले दुईवटा कुरा स्पष्ट देखाएको अनुमान गर्न सकिन्छ । पहिलो, महिलाको मनोविज्ञान एउट निरन्तरतामा छैन । उनी बेलाबखत अवसाद (डिप्रेसन)को अवस्थामा गइरहन्छिन् र औषधी खाएको बेला तरंगित बन्छिन् । त्यसैले उनले कतिपय आधारहीन र तथ्यहीन कुरा पनि गर्ने गर्छिन् । शुरुमा अन्तर्वार्ता लिन पत्रकार आएको बेला औषधीको हाई डोज खाएको उनले आफैले स्वीकार समेत गरेकी छिन् । अर्को कुरा, यो सबै प्रसंगका पछाडि एउटा खास नियत र स्वार्थले काम गरेको छ । पहिलो कुरा, महिलाले राती पठाएको भनिएको मेसेज नेकपा र नेपाली कांग्रेस समर्थक केही नेतालाई पठाएको बताइएको छ । तर नेकपाबाट यो विषयमा खासै चासो व्यक्त गरिएन । एउटा अनलाईनको समाचारको भर पर्ने हो भने नेपाली कांग्रेसकी सांसद उमा रेग्मी अधिकारीलाई पठाएको मेसेजबारे कांग्रेसका केही नेताबीच छलफल भएपछि कांग्रेसकै निकटको अनलाईनले ती महिला रोशनी शाहीलाई फलो गरेको देखिन्छ । अर्थात्, यी महिलामार्फत महरालाई पदबाट हटाउन सकिने सम्भावना देखेर नै समाचार तयार पारिन्छ । र, महिलाले औषधीको प्रभावमा रहेको बेला महराविरुद्ध तथानाम बोल्ने काम गर्छिन् । त्यसपछि उनको सम्पादित भिडियो आउँछ । भिडियोका कुरा संगतिमा देखिन्न । अमेरिकी स्वार्थ जोडिएको दावी यो सन्दर्भमा महरा किन निशाना बनाइए त ? भन्ने प्रश्न समेत नेकपाका नेताहरुबीच निकै चर्चाको विषय बन्यो । शुरुमा समाचारमा उल्लेख भएका विषयका आधारमा कतिपयले महराले गल्ती गरेकै हो भन्ने निष्कर्श निकाले पनि । नेकपा समर्थकहरुका पोष्ट र सामाजिक सञ्जालका कुराकानी सञ्जालमा उनीहरुले क्षोभ र खेद प्रकट समेत गरे । तर मंगलबार बिहानदेखि भने केही कुराहरु नयाँरुपमा प्रकट भए । महराको अहिलेसम्मको छविसँग मेल नखाने घटनाका कैयन पक्षहरुबारे विचार विमर्श भयो । महरा स्वयम्ले पार्टी अध्यक्ष र अन्य नेताहरुसँग घटनाबारे बताए । र, यो सँगै एउटा डरलाग्दो तथ्य सार्वजनिक भयो । त्यो थियो– महराले संसदमा खेलेको भूमिका नै उनका लागि प्रत्युपादक बन्यो । सभामुख महराले सदनमा खेलेका कतिपय भूमिकामा नेपाली कांग्रेसले बारम्बार आपत्ती जनाइरहेको थियो । सरकारले बजेट पारित गर्दा होस् कि कतिपय विधेयकहरु अघि बढाउँदा होस्, कार्यसूचिका विषय तय गर्दा होस् या सदनभित्रको भूमिकामा होस्, नेपाली कांग्रेसले बारम्बार सभामुख महरा स्वतन्त्र व्यक्ति भन्दा पनि पार्टीको स्वार्थमा चल्ने गरेको आरोप लगाउँदै आएका थिए । सभामुख महराका कारण सत्तारुढ नेकपालाई जति सहजता भएको थियो, नेपाली कांग्रेस र प्रतिपक्षका अन्य दलका लागि त्यो त्यति नै प्रत्युपादक थियो । उनीहरुको शब्दमा नेकपाको पेलेरै लैजाने रणनीतिमा महरा मुख्य सहयोगी बनेका थिए । अर्को कुरा, यही बीचमा अमेरिकाले नेपाललाइ ५ सय मिलियन अर्थात् करिब ५० करोड डलर बराबरको र मिलिनियम च्यालेन्ज कर्पोरेसन एमएमसी अन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्ने गरी सहयोग गर्ने कुरा अगाडि आयो । यो सहयोगलाई कतिपयले अमेरिकाले इण्डो प्यासिफिक रणनीतिमा नेपालको समर्थन खोजेको अर्थमा समेत ालोचना गर्दै आएका थिए । यो हिसाबले अमेरिका र सरकारभित्रकै एउटा पक्षले यो सम्झौतालाई संसदबाट पारित गराउन चाहन्थ्यो । संसदबाट पारित गराउन सकेको खण्डमा यसले सन्धी या सम्झौताको हैसियत पाउन सक्थ्यो र सरकार परिवर्तन भएको अवस्थामा समेत यो सरकारकालाई बाध्यकारी बन्थ्यो । श्रोतका अनुसार, सभामुख महरा भने यो सहयोग सम्झौतालाई सदनमार्फत वैधानिकता दिन पक्षमा थिएनन् । उनले सरकारले के गर्छ, त्यो सरकारको विषय भएपनि सदनमा भने यो विषय प्रवेश गर्न नदिने अडान लिएका थिए । श्रोतका अनुसार, नेकपाभित्रकै कतिपय शीर्ष नेता, सरकारका केही व्यक्ति र नेपाली कांग्रेसका केही सांसदहरुले सभामुखलाई सदनबाट यो पारित गराउन ठूलै दबाब दिएका थिए । तर सभामुखले यो कुरा स्वीकार नगरेपछि उनलाई जसरी पनि हटाउने षडयन्त्र शुरु भएको थियो । सभामुखले उक्त विषयलाई कार्यसूचिमा नै समावेश नगरेपछि गत आइतबार एक समारोहबीच नेपालको तर्फबाट अर्थमन्त्री युवराज खतिवडा र अमेरिकाको तर्फबाट एमएमसीका उपाध्यक्ष एन्थोनी वेलसरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपालभित्र र नेपालबाहिर पनि महराको छवि चीन समर्थक कट्टर नेताको रुपमा चिनिन्छ । भारतीय शक्ति केन्द्र र रअ लगायतका खुफिया एजेन्सीहरुले महरालाई चीनको एजेन्ट समेतको आरोप लगाउँदै आएका छन् । यो अवस्थामा महराले बिआरआईका पक्षमा आन्तरिकरुपमा भूमिका खेलेको र इण्डो प्यासिफिकमा अमेरिकी स्वार्थ र भारतका विरुद्ध सदनमा भूमिका निर्वाह गरेको बुझाई उनीहरुको भएको श्रोतको दावी छ । सेप्टेम्बर २०१७ मा चीन भ्रमणको बेला उनले बिआरआईका पक्षमा दरो अडान लिएर नेपालको नीति परिवर्तन नहुने बताएपछि चीनियाँ मिडियाले उनको उच्च प्रशंसा समेत गरेका थिए । श्रोतका अनुसार, बेल्ट एण्ड रोड इनिसिएटिभमा चीनसँग असहमति राख्ने भारतले समेत सभामुख महराको यो अडान रुचाएको थिएन । भारतीय राजदूतावास र अन्य शक्तिले समेत कुटनीतिक च्यानलका माध्यमबाट महरालाई दबाब दिएका थिए । “महरा सरलाई जसरी पनि हटाउनु पर्नेमा एउटा ठूलै शक्ति लागेको थियो ।” श्रोतले भन्यो, “यही बीचमा ती महिला र महरा सरबीचको असन्तुष्टिसँग जोडिएका विषय उनीहरुले थाहा पाए, महिलाले आवेगमा आएर मेसेज पनि गरिछन्, अनि योजनाबद्ध तरिकाले उनलाई अघि सारियो ।” सभामुख महराको विज्ञप्तीले पनि यही कुराको संकेत दिन खोजेको छ । उनले ती महिला ‘कठपुतली’ बनेको बताएका छन् । महिलाको मानसिक अवस्थामा आउने उतारचढावले उनलाई कठपुतली बन्ने अवस्थामा पुर्याएको कुरा आज महिला स्वयम्ले भिडियामार्फत सार्वजनिक गरेको कुराबाट पुष्टि समेत भएको छ । श्रोतका अनुसार, नेताहरुको नजिक भइसकेपछि उनीहरुबाट केही विशेष लाभ पाउने अपेक्षा सबैको हुनु स्वभाविकै हो । त्यसमा पनि ती महिलाका श्रीमान लामो समयदेखि महरा निकट रहेका भएको कारण अरुभन्दा अतिरिक्त सेवा, सुविधा र अवसरको कामना स्वभाविकै थियो । “त्यही अपेक्षाका आधारमा उनले महरा सरसँग केही समयदेखि बार्गेनिंगको शैलीमा कुरा गर्ने गरेकी थिइन । महराले भने सबै समस्या हल गर्ने बताउँदै आएका थिए ।” श्रोतको दावी छ, “तर यही बीचमा गलत तत्वहरुको संगतमा परेपछि उनले परिणामको ख्याल नै नगरी अनर्थ गर्न पुगिन ।” मिडियामा प्रकाशित समाचार, ती महिलाले स्व्यम् भिडियोमा व्यक्त गरेका कुरा र उनको फेसबुकको स्टाटस हेर्दा उनीभित्र वर्तमान सरकार र सत्तारुढ दलका नेताहरुप्रति निकै ठूलो वितृष्णा देख्न सकिन्छ । कतिपय अवस्थामा त उनले निकै अस्वभाविक व्यवहार समेत गरेकी छिन् । पछिल्ला दिनहरुमा रवि लामिछाने, ज्ञानेन्द्र शाही समूहका सबैजसो पोष्टहरु शेयर गर्ने, सत्तारुढ दलका नेताहरुविरुद्ध लेख्ने, एकैदिन दुई दर्जनबढी पोष्ट गरेको समेत देख्न सकिन्छ । उनीभित्रको यही असन्तुष्टि र आक्रोशलाई महराविरुद्ध प्रयोग गर्न योजनाबद्ध तरिकाले उनलाई फसाईएको श्रोतको दावी छ । “महरा सरका कमी कमजोरी होलान्, मान्छे भएपछि कोही पनि देवता हुन सक्दैन ।” श्रोतले भन्यो, “तर यो घटना पूर्णरुपमा राजनीतिक स्वार्थ अनुरुप प्रायोजित छ । यसका तारहरु नेपालमा मात्रै छैनन्, कतिपय अन्तर्राष्ट्रि शक्तिकेन्द्रसँग पनि जोडिएका छन् ।”

रोकिएन काठमाडौंमा टिपर आतंक, सतुंगलमा एक युवाको मृत्यु

काठमाडौंः काठमाडौंमा टिपरको ठक्करले मंगलबार राति एक युवकको मृत्यु भएको छ । थानकोटबाट कंलकी आउँदै गरेको मोटरसाइकललाई राति करिब साढे ८ बजे टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार टिपरको ठक्करले मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन्। थानकोटबाट कलंकी आउँदै गरेको बा२६ प ४९०३ नम्बरको मोटरसाईकललाई चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित बागेश्वरी अस्पताल ओरालोमा बा३ख ३८१७ नम्बरको ट्रिपरले ठक्कर दिएको हो। महानगरीय प्रहरी प्रभाग बलम्बुका अनुसार चितवन रत्ननगर १६ का २५ वर्षीय सुनिल अधिकारीको मृत्यु भएको हो। घाइते हुनेमा ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने ४१ वर्षीय टिकाबहादुर बानियाँ छन्। घाइते बानियाँको ओम समाज अस्पताल सतुङगलमा उपचार भइरहेको छ। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।