उपल्लो तहका नेताहरुमा नैतिक विचलन आएको कार्यकर्ताको टिप्पणी
महोत्तरी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कार्यकर्ताले उपल्लो तहका नेतामा सांस्कृतिक विचलन आएकोमा चिन्ता व्यक्त गरेका छन् ।
शनिबार महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशिला (कम्युन) ले आयोजना गरेको बडादशैँ, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता, कार्यकर्ताले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
कम्युनिष्ट पार्टी श्रमिकको भनिए पनि उपल्लो तहका नेताका घरमा अब नाङ्गो खुट्टाका गरीब जनता, सुकुम्वासी र पोषणयुक्त खाना नपाएर रोगग्रस्त बनेका व्यक्तिले प्रवेश पाउने स्थिति नरहेकोमा उनीहरुले दुःख व्यक्त गरेका छन् ।
“काठमाडौँमा नेताहरुका महलको टुप्पो हेर्न घाँटी तन्काउनु पर्छ”, नेकपाका महोत्तरी इञ्चार्ज राजु खड्काले भने, “ती घरमा गरीब कार्यकर्ताले प्रवेश पाउँदैनन्, ठूल्ठूला ठेकदारको त्यहाँ हल्लीखल्ली हुन्छ ।”
पार्टीका स्थायी समिति सदस्य एवं वर्तमान सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मुख्य आयोजक रहनुभएको कार्यक्रममा जिल्लाका अगुवा नेता र कार्यकर्ताले धन कमाउनु, ठाटबाट देखाउनु, नैतिक चरित्र पतन हुने काममा समेत लम्पट देखिने नेताहरुको चरित्रले वर्गीय दृष्टिकोण, माक्र्सवादी चेत र समाजवादको लक्ष्य भनिने पक्षलाई उपहास गरेको टिप्पणी गरेका छन् ।
कार्यक्रममा कार्यकर्ताले जनताको घरमा सातुपिठो खाएर त्यही घरायसी नाता जोड्ने पुरानो पार्टी परम्परा अब इतिहास भएको टिप्पणी गरेका छन् ।
“सत्ता भनेको मोजमस्ती गर्ने ठाउँ हो भन्ने मान्यता नेताहरुकै व्यवहारले देखाएको छ”, उनीहरुले भने, “अब आदर्श, विचार, परिवर्तन र क्रान्तिका कुरा नेताहरुको सुकिला र पोटिला शरीरमा हेरेर चित्त बुझाउनुपर्ने दिन आएछन् ।”
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य भरतप्रसाद साहले पनि नेतृत्वको उपल्लो तह हुँदै अब रवाफ र तडकभडक तल्लोतहसम्म टाँसिदै आएको स्वीकार गरे । जीवनपद्धतिमा आएको यो नैतिक ह्रास उपल्लो तहदेखि नै धोइदै ल्याउनुपर्ने साहको भनाइ छ ।
सबै अगुवा नेता, कार्यकर्ताको टिप्पणी सुन्नु भएका मन्त्री पोखरेलले मान्छेले आफू कसरी चल्ने भन्ने स्पष्ट जीवन दृष्टिकोण बनाउन नसक्दा नैतिक र सांस्कृतिक विचलन आउने बताए । यसलाई विचारको स्पष्ट दृष्टिकोणले नै सफा पर्ने मन्त्री पोखरेलको भनाइ छ ।
जिल्लाभरिका अगुवा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रमले नेतालाई तल्लो तहका कार्यकर्ताको ठम्याइ र मूल्याङ्कन बुझ्न सहयोग पुर्याएको सहभागीले टिप्पणी गरेका छन् । जनताको पक्षमा सधैँ उभिने कुरा नारा मात्र नभएर जीवनपद्धतिमा स्वीकार गरिएको कुरा व्यवहारमा उतार्न नेतालाई आम कार्यकर्ताको सुझाव छ ।
नारायणी नदीमा सबैभन्दा लामो जलयात्रा शुरु
नवलपुरः नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा नेपालकै सबैभन्दा लामो जलयात्रा सञ्चालन गरिएको छ । चितवन, तनहुँ र नवलपुर जिल्लाको सिमानामा बग्ने यस नदीमा सञ्चालन गरिएको जलयात्राको लम्बाइ ४५.५ किलोमिटर रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा स्टेशन राखेर भरतपुर महानगरपालिका–१६ को काभ्रेघाटसम्म जल यातायाता शुरु गरिएको हो । आयुष्मा मोटरबोट कम्पनी प्रा.लिले सञ्चालन गरेको यस जलयात्रामा नियमित दुई वटा मोटरबोट सञ्चालन हुने कम्पनीका अध्यक्ष विजयचन्द्र अधिकारीले बताए । शुरुआती अवस्थामा दुई वटा मोटरबोट सञ्चालन गरिएको उल्लेख गर्दै उनले दुई महीनाभित्र एउटा ‘स्मल क्रुज’ समेत थपिने जानकारी दिए । सात महिना अगाडि नेपाल सरकारबाट मोटरबोट सञ्चालनका लागि अनुमति पाएको यस कम्पनीले अहिले १४ सिट र १० सिट मोटर बोटबाट यात्रा शुरु गराएको हो । आउँदो वर्षसम्म रु तीन करोडदेखि रु पाँच करोडसम्मको लगानी गर्ने बताउँदै अध्यक्ष अधिकारीले दुई महीनाभित्र ४० ‘सिटर स्मल क्रुज’ सञ्चालन गरिने जानकारी दिए । दृश्यावलोकनका लागि लक्षित गर्दै दुई तलाको ‘स्मल क्रुज’ सञ्चालन गरिने बताउँदै अधिकारीले सो ‘क्रुजमा लक्जरी सिट’ र माथि ‘ओपन चियर सिट’ राखिने जानकारी दिए । कम्पनीका उपाध्यक्ष एवं व्यवस्थापक गणेशबहादुर थापाका अनुसार नेपालमा जल पर्यटनबाट आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्न मोटरबोट सञ्चालन गरिएको हो । “नारायणी, कोशी, कर्णाली जस्ता नेपालको ठूला नदीमा जल यात्रा सम्भव छ भनेर हामीले मोटरबोट सञ्चालन गरेका हौँ”, थापाले भने, “यस जलयात्राले नेपाल भ्रमण वर्षमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन थप मद्दत पुग्छ ।” सरकारले पानी जहाज सञ्चालन गर्ने नीति ल्याएको अवस्थामा आफूहरुले आन्तरिक तथा बाह्य पर्यटकलाई जलयात्रामार्फत रमाइलो प्रदान गर्न मोटरबोट सञ्चालन गरेको थापाले बताए । मोटरबोटबाट चितवनको जलवीरे झरना, ऐतिहासिक धार्मिक तीर्थस्थल देवघाट धाम, गैँडाकोटको मौलाकालिकासहित रमणीयस्थल, नारायणगढ बजार, शिवघाटजस्ता महत्वपूर्ण पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिन्छ । नारायणी र त्रिशूली नदीमा शुरु भएको जलयात्राको दूरी बढाउनका लागि पहल भइरहेको आयोजकले जनाएको छ । पृथ्वी राजमार्गमा पर्ने फिस्लिङबाट चितवन राष्ट्रिय निकुञ्जको सिमानामा पर्ने गोलाघाटसम्मको जलयात्राको अनुमति लिनका लागि सङ्घीय सरकारसँग कुराकानी अगाडि बढाइएको थापाले बताए । हाल निर्धारण गरिएको ४५.५ किलोमिटरको दूरीमा जलयात्रा गर्नका लागि प्रतिव्यक्ति रु तीन हजार ५०० तोकिएको छ । जलयात्राका लागि तिरिएको शुल्कमा एक छाक खाजा, एक छाक खाना तथा एक रात होटलमा बास बस्ने व्यवस्था गरिएको कम्पनीका मार्केटिङ प्रमुख समीर श्रेष्ठले बताए । जलयात्रा गर्न चाहने जोडीका लागि टिकट शुल्कमा १० प्रतिशत छुट प्रदान गरिने श्रेष्ठले बताउनुभयो । दुई घण्टाको प्याकेज बनाएर दृश्यावलोकन गर्दै पर्यटकलाई जलयात्रा गराइने श्रेष्ठको भनाइ छ । आन्तरिक पर्यटकका लागि रु तीन हजार ५०० तोकिएको भएपनि बाह्य पर्यटकका लागि छुट्टै शुल्क निर्धारण गरिने उनको भनाइ छ । जलयात्रामा त्रिशूलीतर्फ नदीको बहाव केही उच्च भएकाले केही स्थानमा उद्धारका लागि कायक बोट राखिएको श्रेष्ठले बताए । मोटरबोटको उद्घाटन गर्दै प्रदेशसभा सदस्य घनश्याम दाहालले सो जलयात्रालाई त्रिवेणी धामसम्म पुर्याउनुपर्ने बताए ।
त्रिवि उपकुलपतिमा डा. भगवानको सम्भावना बलियो
काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा नियुक्तिका लागि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजत्वमा गठित सिफारिस समितिले डा. भगवान कोइरालासहित तीनजनाका सिफारिस गरेको छ। त्रिविका सहकुलपति पोखरेलको संयोजकत्वमा गठित समितिले बिहीबार उपकुलपतिमा नियुक्तिका लागि पहिलो नम्बरमा डा. कोइराला, दोस्रो नम्बरमा मेडिकल काउन्सिलका निवर्तमान अध्यक्ष डा. धर्मकान्त बाँस्कोटा र तेस्रो नम्बरमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षसमेत रहेका डा. चन्द्रमणि पौडेलको नाम कुलपति एवं प्रधानमन्त्री ओलीसमक्ष सिफारिस गरेको हो। समितिका सदस्य डिल्लीराम शर्माले त्रिविको उपकुलपतिका लागि तीनजनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको बताए। तीनजनामध्ये कुलपतिलाई उपयुक्त लागेको एकजना व्यक्ति त्रिविको उपकुलपतिमा नियुक्त हुने उनको भनाइ छ। सिफारिस समितिका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीकै इच्छा र चासोमा डा. भगवानकाे नाम एक नम्बरमा राखेर सिफारिस गरिएको हो । सिफारिस समितिले उपकुलपतिमा नियुक्तिका लागि सिफारिस गरेसँगै डा. भगवानकाे उपकुलपतिमा नियुक्तिका लागि सम्भावना बढेर गएको छ । याे समाचार नागरिक दैनिकबाट लिइएकाे हाे ।
दशैंको मुखमा झलाघाट सीमा नाका बन्द हुँदा समस्या
बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका दशैँको मुखमा बन्द हुँदा नेपाली नागरिकलाई समस्या भएको छ । दशैँका लागि घर फर्कने तथा दशैँका समयमा व्यापार व्यवसाय गर्नेलाई पनि समस्या परेको हो । भारतको पिथौरागढ जिल्लामा आज हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायतको निर्वाचनलाई मध्यनजर राखेर सीमा नाका बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । दशैँको मुखमा सीमा नाका बन्द हुँदा नेपालीलाई भने समस्या परेको छ । जिल्लाका विभिन्न स्थानमा लाग्ने मेला तथा जात्रामा भारतीय बजारबाट ल्याएर सामग्री बिक्री गर्ने गरिएको भए पनि सीमा नाका बन्द हुँदा समस्या भएको दशरथचन्द नगरपालिका– १ का देवदत्त भट्टले जानकारी दिए । नेपाली बजारमा प्याजलगायतका तरकारीको पनि अभाव भएकाले सीमावर्ती भारतीय बजार झुलाघाटमा गएर ल्याउने गरिएकामा तीन दिनका लागि सीमा नाका बन्द हुँदा समस्या भएको उनले बताए । यस्तै दशैँका लागि घर फर्कने नागरिकलाई सीमा नाकामा समस्या भएको छ । यस्तै बैतडीका विभिन्न स्थानमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीलाई पनि समस्या भएको छ । चुनावका कारण सीमा नाका बन्द हुँदा समस्या भएको हो । बिरामी तथा आकस्मिक नाका खोल्नुपरे दुई देशबीचको आपसी समन्वयमा नाका खोल्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । शुक्रबार बेलुका ५ः१५ बजेदेखि बन्द भएको पुल आइतबार बेलुका ५ः१५ पछि खुल्ने बताइएको छ ।
दशैं मनाउन १९ लाखले छाडे उपत्यका
काठमाडौंः दशैं मान्न उपत्यकाबाट करिब १९ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार शुक्रबार साँझसम्म १८ लाख ७१ हजार ८ सय ७५ यात्रु बाहिरिएका छन् । यो संख्या असोज ५ मा टिकट बुकिङ खुला भएयताको हो । यात्रु लगेर १ लाख ९० हजार ९ सय ९४ सवारी साधन उपत्यका बाहिरिएका छन् । यो अवधिमा ९ लाख ५२ हजार ५ सय ५४ यात्रु काठमाडौं भित्रिएका छन् । यसमा निजी सवारी साधनको संख्यासमेत रहेको ट्राफिक प्रहरीले जनाएको छ । रुटका गाडी कम चल्न थालेपछि काठमाडौंका यात्रु भने मर्कामा परेका छन् । थोरै गाडीले कोचाकोच यात्रु बोक्ने गरेका छन् । ट्याक्सीमा भने मनपरी भाडा लिएर यात्रुलाई उल्टै सास्ती दिँदै आएको गुनासो बढेको छ ।
नेकपा प्रवेश गर्ने भएपछि विप्लव समूहका इन्चार्ज र सेक्रेटरी थुनामुक्त
सर्लाहीः जिल्ला फ्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ समूह महोत्तरीका इन्चार्ज र सेक्रेटरीले पार्टी परित्याग गरेपछि शुक्रबार थुनामुक्त भएका छन् । चन्द समूहका महोत्तरी इन्चार्ज रुकबहादुर कार्की र जिल्ला सेक्रेटरी भीमबहादुर आले जिल्ला प्रशासन कार्यालय मलंगवामा आगामी दिनमा चन्द समूहमा संलग्न नहुने लिखित प्रतिबद्धता जनाएपछि हिरासतमुक्त भएका हुन् । सार्वजनिक अपराध मुद्दामा पक्राउ परेका उनीहरुलाई साधारण तारेखमा छोडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इन्चार्ज कार्कीलाई उनका नातेदार दीपकबहादुर कार्की र सेक्रेटरी आलेलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका अध्यक्ष रेवती पन्तको जिम्मा लगाएर शुक्रबार साँझ छाडिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । कार्की र आले दुवैलाई महोत्तरी प्रहरीले केही समयअघि महोत्तरीमै पक्राउ गरेको थियो । उनीहरु सर्लाहीमा पनि विस्फोटका घटनामा संलग्न रहेको भन्दै महोत्तरी प्रहरीले एक साताअघि मात्रै सर्लाही प्रहरीको जिम्मा लगाएको थियो । थुनामुक्त भएपछि एक विज्ञप्ति जारी गर्दै कार्की र भुजेलले आजैदेखि चन्द समूह परित्याग गरेको र नेकपामा प्रबेश गरेको उल्लेख गरेका छन् ।
एक छाक गुजारा गर्न २० केजी चामल, दशैंको लागि ८ क्विन्टल मौजदात
कैलाली– जिल्लाको कैलारी गाउँपालिका–१ मनाउमा एउटा थारु निवासको लागि एक छाक गुजारा गर्न २० केजी चामल र उत्तिकै परिणाममा तरकारी चाहिन छ। परिवारमा बिहानको खाना खाएपछि बेलुकाको लागि पकाउने मेलो सुरु हुन्छ। अंग्रेजीलाल कठेरिया थारूको घरमा ४९ जनाको परिवार रहेको छ। सबैको भोजन मूल घरको एउटै भान्सामा हुन्छ। थारु समुदायमा भातसँग तरकारी मिसाएर खाने चलन छ दाल कमै पाक छ। रोटीको लागि छाकमा पिठो पनि २०–२२ केजी चाहिन्छ। दशैंको लागि पनि अंग्रेजीलालले राम्रै व्यवस्था गरेका छन्। ‘दशैंको लागि ८ क्वीन्टल बनाएर भकारीमा राखेका छौँ’ उनले भने। चामल मिलले आफ्नो लागि मात्रै दैनिक एक क्विन्टल चामल कुट्ने गरेको उनको भनाइ छ। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
गोठाला गएका बालकको गोहीको आक्रमणबाट मृत्यु
सप्तरीः सप्तरीमा गोठाला गएका एक बालकको गोहीको आक्रमणबाट ज्यान गएको छ । ज्यान गुमाउनेमा सप्तकोशी नगरपालिका–९, कमलपुरका १४ वर्षीय रुपेशकुमार यादव रहेका छन् । प्रहरीका अनुसार गत बुधबार गोठाला गएका रुपेशलाई गोहीले तानेर कमल दहको गहिरो भागमा पुर्याएको थियो । वेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरी चौकी, फत्तेपुरले जनाएको छ । प्रहरी चौकीका इन्जार्च सई अयोध्याशरण यादवले पानीमा बसेको भैंसी निकाल्न जाने क्रममा गोहीले उनीमाथि आक्रमण गरेको हुनसक्ने आशंका गरिएको बताए ।
नारायणी नदीमा महिलाको शव फेला
चितवनः नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ । नदीको गैँडाकोटतर्फको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१५ कि ५५ वर्षीया देवी भट्टराईको शव फेला परेको हो । आज बिहान नदी किनारमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको शव नारायणी नदीको पुलबाट करीब एक किलोमिटर दक्षिणमा भेटिएको प्रहरीले जनाएको छ । शवको मुचुल्का उठाएर स्वास्थ्य परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको प्रहरी निरीक्षक कार्कीले बताए । नवलपुरको गैँडाकोट नगरपालिका–१ मा उनको छोरीज्वाइँ बस्ने भए पनि बाराबाट गैँडाकोट आएकोबारे कसैलाई जानकारी नभएको उनले बताए । घटनाको प्रारम्भिक अनुसन्धानबाट भट्टराईले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । भट्टराईले बोकेको झोला नारायणीको पुलमुनि किनारमा भेटिएपछि प्रहरीले परिवारलाई घटनाको बारेमा जानकारी गराएको छ ।
बालविवाह गरिरहेका बेहुलाबेहुलीसहित ७ जना पक्राउ
सल्यान– सल्यानमा बालविवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धकुमाख गाउँपालिका–४ चाँदेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा विवाहको मण्डपबाटै बेहुलाबेहुलीसहित सातजनालाई आज प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिद्धकुमाख गाउपालिका–४ चाँदेकरेञ्जीका बेहुला १९ वर्षीय रत्नबहादुर बोहरा र सोही ठाउँकी बेहुली १९ वर्षीया भुमाकुमारी रावत रहेका छन् । बेहुला लोकबाहादुर बोहराको घरमा विवाह भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले बेहुलाका बुबा ४१ वर्षीय लोकबहादुर बोहरा र उनकी श्रीमती माया बोहरा, बेहुलीकी आमा ४० वर्षीया कलौटी रावत र बुबा ४२ वर्षीय रत्नबहादुर रावत तथा बालविवाह गराउने पण्डित कुशे नगरपालिका–९ जाजरकोट घर भएका २५ वर्षीय नवीन आचार्यलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार बाल विवाह भइरहेको भन्ने प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले उनीहरुलाई मण्डपबाटै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ । पक्राउ परेका सबैलाई अनुसन्धान गरी मुद्दा दायर गरिने प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिनुभयो । सल्यान जिल्लामा बालविवाहको दर उच्च रहेकाले यसको न्यूनीकरणमा प्रहरीले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ छ ।
भोलि यसरी भित्र्याइँदै छ फूलपाती
काठमाडौं– आश्विन शुक्ल सप्तमीका दिन शनिबार अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद्अर्थात् सहायक हुन्”, उनले भने । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि प्रा. डा. गौतमले जानकारी दिए । हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिड जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकोमा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ । यस वर्षको फूलपाती शनिबार अपराह्न ३ बजे भित्र्याइने कार्यक्रम रहेको दशैँ पर्वको संयोजन गरिरहनुभएका समितिका कर्मचारी मिठाराम पुडासैनीले बताए। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, काठमाडौँका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ आफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ । फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दशैँको रौनकतालाई अझ बढाउने गर्दछ ।
कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट ४ जना घाइते
कञ्चनपुर– जङ्गली बँदेलको आक्रमणमा परेर आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटाका चार जना घाइते भएका छन् । धानबाली खान दिउँसै खेतमा छिरेका बँदेललाई कुकुरले लखेटेर मार्न थालेपछि बचाउन गएका प्रमानन्द बुढा क्षेत्री, सुदर्शन ठगुन्ना, धीरेन्द्रबहादुर खत्री र अमृता बोहरा घाइते भएका छन् । घाइते चार जनाको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको वडाध्यक्ष बहादुर महराले बताए । “बँदेललाई बचाउन जाँदा बँदेलले उल्टै आक्रमण गर्दा पाँच जना घाइते भएका छन्”, वडाध्यक्ष महराले भने, “कुकुरको आक्रमणबाट दुई वटा वयस्क पोथी बँदेलको मृत्यु भएको छ भने दुई वटाको उद्धार गरी नजिकैको वैजनाथ सामुदायिक वनमा सुरक्षितरुपमा छाडिएको छ ।” मरेका बँदेललाई सरोकारवालाको रोहवरमा कागजात तयार गरी खाल्डोमा हालेर पुरिएको उनको भनाइ छ । भित्र्याउनै लागेको धानबाली बँदेललगायतका जङ्गली जनावरले खान थालेपछि स्थानीय किसानले सास्ती खेप्न बाध्य भएका छन् । रासस
संघीयताले भ्रष्टाचार बढायोः महासचिव मैनाली
भक्तपुर– नेकपा मालेका महासचिव सिपी मैनालीले वर्तमान सरकारले महँगी र भ्रष्टाचार रोक्न नसकेको आरोप लगाएका छन् । नेकपा माले जिल्ला कमिटी भक्तपुरले शुक्रबार कमल विनायकमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकमा सङ्घीयता सङ्कटमा परेको र सङ्घीयताले भ्रष्टाचार बढाएको आरोप लगाएका हुन् । नेकपा ३ नं प्रदेश समितिका सचिव कृष्ण राणा, नेकपा माले भक्तपुरका सचिव दिनेश खातीले दुई तिहाइको सरकारले घोषणापत्र अनुसार काम गर्न नसकेको भन्दै सरकारले कार्यकर्ताभन्दा पनि जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।
‘केन्द्रीय सदस्यहरुको नाम छिट्टै सार्वजनिक गर्छु’
विराटनगरः नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानीमा उनले सरकारको हरेक गतिविधि र निर्णयहरु राष्ट्र र जनताका हितमा हुनुपर्नेमा जोड दिए । उपसभापति गच्छदारले सरकारले प्राप्त गरेको यो ऐतिहासिक अवसरलाई गुम्न नदिन साझेदारी मनस्थितिबाट सरकार सञ्चालन गर्नुपर्ने सुझाव दिँदै प्रेस लोकतन्त्रको गहना भएकाले यसको सङ्कुचन गर्न नहुने तर्क गरे । उनले जनताले संविधानबाट पाएको अधिकार उपयोग गर्न सरकार बाधक बन्नु नहुने धारणा राख्दै सरकारले जनतासँग गरेको वाचालाई पूरा गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । उपसभापति गच्छदारले नेपाली काङ्ग्रेसका नेतामाथि भर्खरै भएको निन्दनीय घटनाप्रति दुःख व्यक्त गरे । यस्तै उनले आफूले विगतमा नेतृत्व गरेको पार्टी एकीकरण हुँदा भएको सम्झौताअनुसार पाएको केन्द्रीय समितिमा जाने सदस्यहरुका नाम छिट्टै सार्वजनिक गर्ने जानकारी दिए ।
गढीमाई मेलाका लागि सक्दो सहयोग गर्छुः नेत्री आरजु देउवा
कलैया– नेपाली काङ्ग्रेसकी नेत्री डा. आरजु राणा देउवाले काङ्ग्रेस सरकारमा नरहे पनि आफ्नो स्तरबाट गढीमाई मेलालाई सक्दो सहयोग गर्ने बताएकी छन् । बारामा पञ्च वर्षीय गढीमाईको मूल समितिको कार्यालयको उद्घाटन कार्यक्रममा पूर्व सांसद देउवाले मेलालाई व्यवस्थित गर्नका लागि सहमति, सहकार्य एवं एकताको खाँचो रहेको बताइन् । “सबैजना मिलेर मेलालाई व्यवस्थित गर्नुपर्छ”, उनले भनिन्। गढीमाईलाई विकास कोषको रुपमा अगाडि ल्याउनुपर्ने देउवा भनाइ थियो । नेपाल र भारतबाट मेला भर्न आउने भक्तजनको सुविधका लागि ध्यान उनले समितिका पदाधिकारीसँग आग्रह गरिन् । महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन सो कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य राधेचन्द्र यादव, जिल्ला सभापति जयचन्द्र चौरसिया, महागढीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानु, कोषाध्यक्ष चन्द्रशेखर यादव, क्षेत्र नं २ का सभापति रामप्रवेश यादवलगायतले धारणा राखेका थिए । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले मेलामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका ३ जनाकाे नाम सिफारिस
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ । समितिले पहिलो नम्बरमा डा. भगवान कोइराला, दोस्रोमा डा. धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको शिक्षामन्त्रालयका उपसचिव पुष्प ढकालले जानकारी दिए । स्रोतका अनुसार सुरुमा उपकुलपतिका लागि डा. कोइरालाले इच्छा नदेखएको भनिएपनि पछिल्लो समय शिक्षामन्त्री गिरीराजमणी पोखरेलसँग भेटघाट र छलफल भएपछि उनी सकारात्मक भएका छन्। उनी उपकुलपति हुन सकारात्मक भएकैले नाम सिफारिस गरिएको स्रोतले बतायो। डा. कोइराला मुटु शल्यचिकित्सक हुन् भने डा. बास्कोटा ईएनटी विशेषज्ञ हुन्। चन्द्रमणी पौडेल भने राष्ट्रिय परिक्षा बोर्डको अध्यक्ष हुन्, उनी त्रिविकै पूर्व रेजिस्ट्रार समेत थिए। शिक्षामन्त्रीको अध्यक्षतामा साउन २० गते उपकुलपतिको नाम सिफारिस समिति गठन भएको थियो। समितिमा व्यवस्थापन संकायको डिन, डिल्लीराम शर्मा र मेची क्याम्पस झापाका क्याम्पस प्रमुख कमलप्रसाद गुरागाइँ सदस्य थिए। तीर्थ खनियाँको कार्यकाल सकिएपछि प्रधानमन्त्री तथा कुलपतिले उपकुलपति नाम सिफारिस समिति गठन गरेका थिए। समितिले सिफारिस गरेका मध्येबाट कुलपतिले एकजना चयन गर्ने व्यवस्था छ । हाल २ महिनादेखि सुधा त्रिपाठीले त्रिविको उपकुलपतिको जिम्मेवारी सम्हालेकी छन्। समितिले उनको पनि नाम सिफारिस गर्ने अनुमान भएपनि त्यसो हुन सकेन।

