ढुंगाले हानेर युवकको हत्या
फिदिमः पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचामा ३५ वर्षिय इन्द्र बहादुर कार्की मृत भेटिएका छन्।
ढुंगाले हानेर हत्या गरिएको अवस्थामा उनको शव भेटिएको परेको वडाअध्यक्ष देउकुमार योङहाङले बताए।
स्थानीयले आज बिहान मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत फलैँचाको तिरतिरे भन्ने सडकमा देखेर प्रहरीलाई खवर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगी अहिले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक अनिल पौड्यालले बताएका छन्।
घटनाको मुचुल्का तयार पारी अहिले शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर तर्फ ल्याउने तयारी भइरहेको बताइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो छ चिनियाँ राष्ट्रपतिलाई सुरक्षा तयारी?
काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणलाई लिएर सरकार सुरक्षा व्यवस्थाको तयारीमा जुटेको छ। सरकारले सीलाई राजकीय भ्रमणकै हैसियतमा ‘जेड प्लस’ सुरक्षा दिने तयारी गरेको छ। यो प्रकृतिको सुरक्षा राजकीय भ्रमणमा आउने अति विशिष्ट व्यक्ति (भीभीआईपी) लाई दिइन्छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि ‘जेड प्लस’ सुरक्षा दिइएको थियो। आफ्ना राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सरकारका मन्त्रीसँगको भेटलाई तीव्रता दिएकी छन्। गृहमन्त्री रामबहादुर थापा बादलसँगको भेटमा यान्छीले आफ्ना राष्ट्रपतिको भ्रमणलाई विवादरहित र त्रुटिरहित ढंगले सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरेकी छन्। गृहमन्त्री बादलले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँगै सेनाका उच्च अधिकारीलाई डाकेर राष्ट्रपति सीको भ्रमण सुरक्षामा कुनै त्रुटि हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइसकेका छन्। चीनबाटै चार वटा विशेष गाडी उच्च स्रोतका अनुसार राष्ट्रपति सीको भ्रमणमा चीनबाटै चार वटा विशेष गाडी नेपाल ल्याउने तयारी चीनले गरेको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयमा समेत चीनले लबिङ गरिसकेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका उतैबाट सुरक्षाकर्मी ल्याइएको थियो। चीनले पनि राष्ट्रपति सीको भ्रमणको अग्रपंक्तिको कारगेडमा आफ्ना सुरक्षाकर्मी ल्याउने तयारी गरेको उच्च स्रोतले बतायो। सरकारले राष्ट्रपति सीको भ्रमणमा चार वटा चुनौतीलाई केन्द्रित गरेर सुरक्षा योजना बनाइरहेको छ। स्वतन्त्र तिब्बतका नाममा हुनसक्ने विरोध, चीनले हालै पारित गरेको तर फिर्ता गरिसकेको चीन र हङकङवीचको सुपुदर्गी सन्धीलाई लिएर त्यसको विरोधमा हुनसक्ने गतिविधि र राष्ट्रिपतिमाथि हुनसक्ने सबै खालको सुरक्षा चुनौतीलाई लिएर समेत सुरक्षा योजना तयारी भइरहेको उच्च सुरक्षा स्रोतले बतायो। ‘विरोधमा प्रत्यक्ष कुनै पनि मुलुक अग्रपंक्तिमा नदेखिए पनि कसैलाई प्रयोग गरेर प्रदर्शन गर्न सक्छन्,‘ स्रोतले भन्यो,‘सबै पाटोलाई मूल्यांकन गरेर सुरक्षा योजना बनाइरहेका छौं।’ सी भ्रमणको दिन राजधानीमा सात हजार बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी सरकारको छ। उच्च स्रोतले भन्यो, ‘जुन दिन भ्रमण हुन्छ, त्यो दिन लगभग अघोशित कर्फ्यु जस्तै हुन्छ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।
ब्युरोक्रेसीको सेवा प्रवाह प्रभावकारी हुनु आवश्यकः मन्त्री थापा
काठमाडौंः महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले कर्मचारी जनताको स्थायी सरकार भएकाले प्रभाबकारी रुपमा सेवाप्रवाह गर्नुपर्ने बताएकी छन् । समाज कल्याण परिषद्ले बिहीबार आयोजना गरेको वडादशैंको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले देशको जुनसुकै सामाजिक परिवर्तनका लागि कर्मचारीको योगदान अतुलनिय रहेको धारणा व्यक्त गरिन् । उनले थापाले संघिय लोकतान्त्रिक गणतन्त्र सहितको शासनसत्ता जोगाउनका लागि सबै मिलेर अगाडि बढ्न आग्रह गरिन् । वडादशैं सत्यको बिजयको रुपमा मनाइने पर्व भएपनि हाम्रो समाजमा पूर्णरुपमा सत्यको विजय भइनसकेको उनको भनाई थियो । उनले समाजमा अझैं पनि विभेद, शोषण, दमन, अन्याय र अत्याचार रहेका कारण त्यसलाई परास्त गर्न अभियान संचालन गर्नुपर्नेमा जोड दिइन् । मन्त्री थापाले विगतमा जनता भन्दा माथि कोही एकजना व्यक्ति शासन गर्ने व्यवस्थाको अन्त्य भएर जनताद्धारा निर्वाचित जनताकै छोराछोरीले शासनसत्ता सञ्चालन गर्ने व्यवस्था शुरु भएको बताइन् ।
प्रहरीबाट बढी भाडा असुल्ने ११ जना पक्राउ
काठमाडौंः नेपाल प्रहरीले चाडबाडका बेलामा बढी भाडा असुल्ने ११ जनालाई पक्राउ गरी कारवाही गरेको छ । सादा पोशाकमा खटिएको प्रहरी टोलीले टिकट काउन्टर अनुगमनका क्रममा बढी भाडा लिएर टिकट काट्ने कार्यमा संलग्न उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट आज पक्राउ गरेको हो । पक्राउपर्नेमा दिनेश राउत, धनिन्द्र राई, राजु केसी, रविन बस्नेत, साजन श्रेष्ठ, प्रकाश मगर, टेकेन्द्र राई, अन्जन तामाङ, डेकेन्द्र राई, पूर्णप्रसाद शिवाकोटी र वीरबहादुर चौलागाईं रहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोटेश्वर र चाबहिलबाट बढी भाडा लिएर टिकट काट्ने विचौलियालाई समेत पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त गौशाला र प्रभाग कोटेश्वरलाई बुझाइएको महाशाखाले जनाएको छ । महाशाखाले यसअघि बढी भाडा असुल्ने नौ जनालाई पक्राउ गरी कारवाही गरिसकेको छ । चकलेट गोदाममा सिलबन्दी गुणस्तरहिन चकलेट उत्पादन गरेको भन्दै चन्द्रागिरिस्थित एक चकलेट गोदाममा सिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागको टोलीले बजार अनुगमनका क्रममा गुणस्तरहीन चकलेट फेला परेपछि चन्द्रागिरि–१० स्थित सो चकलेट गोदाममा सिलबन्दी गरेको हो । उक्त टोलीले विनित अग्रवालले सञ्चालन गरेको ‘सुयस इन्टरनेशनल प्रालि’मा म्याद नाघेको, डबल स्टिकर टाँस गरिएको र मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने चकलेट बजारमा पठाएका कारण सिलबन्दी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले म्याद नाघेको र गुणस्तरहीन चक्लेट फेला परेपछि गोदाममा सिलबन्दी गरिएको जानकारी दिनुभयो । म्याद नाघेका चार हजार कार्टुन चक्कलेट गोदाम भित्र बिक्रीका लागि पठाउने तयारी गरिएको अवस्थामा टोलीले गोदाममा छापा मारेको हो ।
त्रिविको उपकुलपतिमा डा. भगवान कोइरालासहित ३ जनाको नाम सिफारिस
काठमाडौंः त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि डा. भगवान कोइरालासहित ३ जनाको नाम सिफारिस गरिएको छ । तीन जनामा हाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन । स्रोतका अनुसार त्रिविको उपकुलपतिका लागि सिफारिस तीन जनाको नामावलीमा डा. भगवान कोइरालाको नाम पहिलो नम्बरमा छ । यसैगरी धर्मकान्त बाँस्कोटा र चन्द्रमणि पौडेलको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा परेको छ । तत्कालीन उपकुलपति प्रा.डा. तिर्थ खनियाको कार्यकाल सकिनुअघि नै सरकारले नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्न सहकुलपति एवम् शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको नेतृत्वमा समिति गठन गरिएको थियो । तर, समितिले लामो समयसम्म पनि नाम छनोट गर्न नसकेपछि रेक्टर सुधा त्रिपाठीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।
नवरात्रीको छैठौं दिन आज, कात्यानी देवीको पूजा गरिँदै
काठमाडौंः बडा दशैंको आज छैठौं दिन कात्यायनी देवीको पूजा आराधना गरिदैछ । दशैंको रमझममा रमाइ रहेकाहरुले आज शक्ति पीठ तथा घरघरमा कात्यायनीको विशेष पूजा गर्दैछन् । नवदुर्गाका नौ रुपमध्ये कात्यायनी छैठौं रुप हो । अमरकोषमा पार्वतीको अर्को नाम कात्यायनी भनिएको छ । स्कन्द पुराण अनुसार महादेवको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको विश्वास गरिन्छ । सिंहमा सवार भएर कात्यायनीले महिषासुरको बध गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । आजको दिनमा कात्यायिनी भगवतीको पुजा गरेमा रोग शोक भय दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक बिश्वास रहेको पाइन्छ । धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन रहेको छ । तिनै कात्यायिनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ ।
गाउँपालिकाद्वारा सुत्केरीलाई ‘रातो भाले’ दिने कार्यक्रम लागू
बागलुङ– बागलुङको बरेङ गाउँपालिकाले सुत्केरीलाई ‘रातो भाले’ दिने भएको छ । गाउँपालिकाले पाँचाै गाउँसभामार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई घरमै पुगेर रातो भाले उपलब्ध गराउने नीति लिएको छ । गर्भवती भएपछि नियमित स्वास्थ्य जाँच गर्ने, जाँच गर्दा पोषण झोलासमेत उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । घरमा हुने सुत्केरीलाई स्वास्थ्य संस्थामा सुरक्षितरूपमा सुत्केरी गराउनका लागि प्रोत्साहित गर्न पोषण झोला र सुत्केरीलाई रातो भाले कार्यक्रम ल्याइएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । “स्वास्थ्य संस्थामा नियमितरूपमा गर्भ परीक्षण नगर्दा प्रसूतिको बेला आमा, बच्चाको ज्यानसमेत जाने जोखिम हुन्छ”, अध्यक्ष शर्माले भने, “गर्भवती, सुत्केरी हुने बेलाको संवेदनशीलताबारे सबैलाई जानकारीसहित जिम्मेवार बनाउन सुत्केरीलाई रातो भाले कार्यक्रम ल्याइएको हो ।” स्वास्थ्य स्वयंसेविका वा आफैँ गर्भवती महिलाले गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा पुग्नासाथ संस्थाले गर्भवतीको रेकर्ड राख्नेछन् । रेकर्डसँगै गेडागुडीको बीउबिजन भएको पोषण झोला उपलब्ध गराउनेछन् । पोषण झोलामा रहेको गेडागुडी तथा सागपातको बीउ लगाएर सुत्केरी अवस्थामा खुवाउन सल्लाहसमेत दिइने बरेङ गाउँपालिकाका स्वास्थ्य संयोजक पदमबहादुर पुनले बताए । “हामीले शुरुआती अवस्थामा पोषण झोलासहित गर्भवती अवस्थामा हुने परिवर्तनलगायतका विषयमा जानकारी गराउँछौँ”, पुनले भने, “सुत्केरी भएको स्वास्थ्य स्वयंसेविकाबाट खबर पाएपछि रातो भाले लगेर घरमै जाने कार्यक्रम छ ।” पुनका अनुसार गाउँपालिकाको कार्यपालिकाको बैठकबाट कार्यविधि बनाई दशैँ–तिहारलगत्तै सुत्केरीलाई रातो भाले लगेर भेट्न जाने कार्यक्रम लागू हुनेछ । दश लाख बढी जनसङ्ख्या रहेको गाउँपालिकामा रातो भाले कार्यक्रमका लागि चालू आर्थिक वर्षका लागि रु १० लाख बजेटसमेत विनियोजन गरिएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ शर्माले बताए । सुत्केरी प्रोत्साहन कार्यक्रमअन्तर्गत सुत्केरीलाई सचेतना प्रदान गर्न सुत्केरीलाई रातो भाले कार्यक्रम लागू गरिएको छ”, प्रशासकीय अधिकृत शर्माले भने, “यदि साकाहारी भएको र मासु नखाने सुत्केरीका लागि रातो भालेको साटो घ्यूको समेत व्यवस्था गरिनेछ ।” स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गर्न नजाने र बरेङ घर भई पोखरा काठमाडौँ बस्नेलाई कार्यक्रममा समावेश नगरिने बरेङ गाउँपालिकाले जनाएको छ । सुत्केरीलाई भेट्न गाउँपालिकाको समूह घरमै रातो भाले लिएर जाँदा स्थानीय सरकार दैलोमा रहेको महसुससमेत हुने गाउँपालिकाको अपेक्षा छ ।
एकैदिन थपिए फोरजीका ३७ हजार ग्राहक
काठमाडौंः नेपाल टेलिकमका एकै दिन ३७ हजार फोरजी प्रयोगकर्ता थप भएका छन् । टेलिकमले बुधबार देशका विभिन्न पाँच दर्जन सहरमा फोरजी विस्तार गरेको एक दिनमै सो सङ्ख्या बराबरका ग्राहक फोरजी सेवामा आबद्ध भएको कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । उनका अनुसार यो सङ्ख्या पुराना टूजी र थ्रीजी प्रयोगकर्ता फोरजीमा आबद्ध भएको समेतको हो । सङ्ख्यात्मक हिसाबले एकै दिन थप भएका फोरजी ग्राहकमध्ये यो अहिलेसम्मकै उच्च सङ्ख्या हो । तीन वर्ष अगाडि फोरजी सेवा सुरु गरे पनि टेलिकमका अहिलेसम्म ८ लाख मात्र फोरजी ग्राहक थिए । बुधबार यो सेवा विस्तार भएसँगै फोरजीमा आबद्ध हुने ग्राहकको सङ्ख्या तीव्र रूपमा बढेको प्रबन्ध निर्देशक अधिकारीले बताए । यस्तो सङ्ख्या निरन्तर तीव्र रूपमा बढिरहेको छ, उनले भने, बिहीबार पनि थप नयाँ स्थानमा फोरजी सेवा सुरु भएकोले फोरजीमा धेरै ग्राहक आबद्ध हुने देखिन्छ । टेलिकमको फोरजी÷एलटीई नेटवर्क विस्तार परियोजना अन्तर्गत करिब ६५ लाख फोरजी ग्राहक थप हुने अनुमान छ । हाल विस्तार भइरहेको नेटवर्कको अधिकतम क्षमता नै त्यति भएकोले ग्राहक वृद्धिमा यसले सहयोग पुर्याउने अधिकारीको विश्वास छ । टेलिकमले पहिलोपटक २०७३ पुस १७ गते काठमाडौँ उपत्यका र पोखरामा मात्र फोरजी सेवा सीमित राखेकोले यसका ग्राहक प्रतिस्पर्धी अन्य कम्पनीको तुलनामा भने बढ्न सकेन । देशभर एकैपटक फोरजी नेटवर्क विस्तार गर्ने योजना अगाडि सारेपछि टेलिकमले दुई स्थान बाहेक अन्य क्षेत्रमा यसको विस्तार गर्न सकेन । पछिल्लो पटक गत माघमा फोरजी विस्तारका लागि उपकरण आपूर्तिकर्ता चिनियाँ कम्पनीहरूसँग सम्झौता टुङ्गो लागेपछि मात्र परियोजना अगाडि बढेको थियो । सम्झौता भएको आठ महिनापछि टेलिकमले पहिलो चरणमा बुधबार ५९ वटा साना तथा ठूला सहरमा यो सेवा सुरु गरेको हो । कुल १३३ वटा बीटीएस स्थापना गरेर विस्तारित योजनाको पहिलो चरणको औपचारिक कार्यक्रम गरेरै टेलिकमले सेवा सुरु भएको घोषणा गरेको हो । टेलिकमले सम्झौता अनुसार माघभित्रै देशका हरेक ठाउँमा फोरजी सेवा विस्तार गर्ने घोषणा बुधबार पनि दोहोर्याएको छ । ग्राहक विस्तार योजना अनुरुप टेलिकमले टूजी र थ्रीजीका ग्राहकलाई निःशुल्क रूपमा फोरजी सिमकार्ड साटफेर सुविधा पनि उपलब्ध गराएको जनाएको छ । त्यस्तै नयाँ फोरजी प्रयोगकर्तालाई तीन दिनसम्म प्रयोग गर्न सक्ने दुई सय एमबी डेटा र डेटा प्याकेज खरिदकर्तालाई उत्तिकै बराबरको डेटा बोनस सुविधा पनि कम्पनीले उपलब्ध गराएको छ । गोरखापत्र दैनिकबाट
महरा प्रकरणः प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने
काठमाडौंः निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुव्र्यवहार आरोपका विषयमा प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने भएको छ । यौन दुव्र्यवहार भएको भनिएको ‘क्राइम सिन’ र पीडित रोशनी शाहीका अभिव्यक्तिमा तालमेत नदेखिएपछि प्रहरीले कानुनी परामर्श र अपराध अनुसन्धान विज्ञहरुको सुझावका आधारमा फरेन्सिक जाँच गर्न लागेको हो । अनुसन्धान अधिकृतहरु बिहीबार दिनभर फरेन्सिक जाँचकै लागि प्रमाण संकलनमा जुटेको स्रोतले जनायो । ‘पीडित भनिएकी महिलाले क्राइम सिनभन्द विपरीत बारम्बार फरक –फरक धारणा सार्वजनिक गर्नु शंकास्पद छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसैले फरेन्सिक जाँचसहित अनुसन्धानमा प्राविधिक पक्ष प्रयोग गर्ने तयारीमा छौँ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।
खोलामा डुबेर दाङमा २ किशोरीको मृत्यु
दाङः दाङमा खोलामा डुबेर दुई किशोरीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमही नगरपालिका–९ बाङेताल निवासी कुमार घर्तीकी १४ वर्षीया छोरी टीका घर्ती र घोराही १० नारायणपुर बस्ने वर्ष १४ की निर्मला बोहराको ज्यान गएको हो । बिहीबार अपरान्ह साढे पाँच बजेतिर घर नजिकै रहेको खोलामा नुहाउन गएका उनिहरुको डुबेर ज्यान गएको हो। निर्मला बोहोरा ठूलीआमाको घरमा आएकी थिइन्। मृतकको शव पोष्ट मार्टमका लागि लमही अस्पतालमा राखिएको छ। टिका माध्यामिक विद्यालय अमिलियामा कक्षा ९ मा अध्ययनरत थिइन् भने निर्मलाले पनि नारायणपुरको विद्यालयमा कक्षा ९ मा अध्ययनरत रहेको प्रहरीले जानकारी दिएको छ।
चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त राख्न गृहमन्त्री थापाको निर्देशन
काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दशैं, तिहार, छठजस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएका छन्। बिहीबार गृह मन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा उनले जनताले महसुस गर्नेगरी शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका हुन्। गृहमन्त्री थापाले चाडपर्वमा खासगरी चोरी, लुटपाट, कालोबजारीजस्ता घटना अत्यधिक हुने भएकाले सोहीअनुरूपको सुरक्षा रणनीति बनाउन सुझाव दिए। उनले सडक सुरक्षा तथा तोकिएको भाडा कार्यान्वयनबारे कडाइपूर्वक अनुगमन गर्नसमेत निर्देशन दिएका छन्। बैठकमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको थियो।
अनिष बने चौथो पटक ‘लिगलिगे राजा’
गोरखाः एक सय ६५ प्रतिस्पर्धीलाई पछि पार्दै पर्वतका अनिष थापामगर दशौँ ‘लिगलिगे राजा’ भएका छन्। चेपेघाट देखि लिगलिगकोट दरबार सम्म १३ दशमलव ८ किलोमिटर दुरी ५७ मिनेट ५५ सेकेन्डमा पुरा गर्दै उनी चौँथो पटक राजा बनेका हुन्। राष्ट्रिय सभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले बिहिवार लिगलिगकोटको डाँडामा आयोजित एक कार्यक्रमका बिच श्रीपेच, पगरी लगाएर उनलाई यो वर्षका ‘लिगलिगे राजा’ घोषणा गरेका हुन्। पालुङटार नगरपालिका, लिगलिगकोट बिकास अभियान र नेपाली सेना रणसिंह दल गणको आयोजनामा उक्त दौड प्रतियोगिता भएको हो। सँगै उनी लिगलिगकोटको ‘एम्बेस्डर–२०७६’ पनि घोषित भएका छन्। उनलाई नगद ६० हजार एक सय रुपैयाँ प्रदान गर्नुका साथै नगरपरिक्रमा गराइएको छ। यस अघि २०७१ र २०७३, २०७५ मा पनि उनी राजा घोषित भएका थिए। एक घण्टा एक मिनेट ८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै नेपाली सेनामा कार्यरत डोटीका खगेन्द्रबहादुर भाट दोस्रो भए भने एक घण्टा एक मिनेट ३४ सेकेन्डमा दुरी पुरा गर्दै सेनामै कार्यरत लमजुङका रामजी बस्नेत तेस्रो भए। निर्धारित दुरी एक घण्टा दुई मिनेट २२ सेकेन्डमा पूरा गरेर सन्दिप ढकाल चौँथो बने।
बलात्कार गरी हत्या गरिएको अवस्थामा युवतीको शव भेटियो
महोत्तरीः महोत्तरीको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार गौशालाकी युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा मरहा खोलामा बिहीबार बिहान शव फेला परेको हो । उनले मृतक युवती शर्मिला दनुवारको मुख र घाँटी बाँधिएको, दुईटै आँखामा नीलडाम भएको, शरीरको विभिन्न भागमा चोटपटक लागेको तथा योनीबाट अत्यधिक रक्तश्राव भएको अवस्थामा शव फेला परेकोले उनको बलात्कार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बताए ।
अबको विकास ५०–१०० वर्ष पछिका लागिसमेत हुनुपर्छः मन्त्री अर्याल
स्याङ्जाः नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले राजनितिले समाजवादलाई डोहोर्याएको बताएकी छन् । नजिकिँदै गरेको नेपालीहरुको महान विजया दशमी तथा दिपावलीको अवसरमा स्याङ्जामा आयोजित कार्यक्रममा मन्त्री अर्यालले मुलुकमा राजनितिक लडाँई सकिएको भ्रन्दै अब समृद्धि र समाजवादको बाटो सबैको मान्यता रहेको बताएकी हुन् । मुलुकमा मात्रै विकास र समृद्धिको खाँचो रहेको भन्दै यसका लागि कुनै आग्रहपुर्वाग्रह नराखी अगाडि बढ्नपर्नेमा मन्त्री अर्यालको जोड छ । साथै मन्त्री अर्यालले भनिन्, “बदलिँदो परिस्थितिमा चेतना र सोँच परिर्वतन गरौँ ।” तत्कालीन विकास भन्दा पनि दीर्घकालिन विकासमा लाग्नुपर्ने भन्दै मन्त्ती अर्यालले भनिन्, “अबको विकास ५०÷१०० वर्ष पछिका लागिसमेत हुनुपर्छ ।” मन्त्री अर्यालले यस्ता हाम्रा विभिन्न पर्व र सांस्कृतिक तथा धार्मिक परम्पराहरुलाई समृद्धिका लागि मनाउँनुपर्ने मन्त्री अर्यालको भनाई छ । साथै उनले विकासका लागि जनताको संलग्नता हुनुपर्ने भनिन्, “जबसम्म जनस्तरबाट विकासका लागि भावनाको विकास हुँदैन् तबसम्म जति सरकार परिर्वतन भएपनि जति जनप्रतिनिधि परिर्वतन भए पनि विकास जहाँको त्यँही हुन्छ ।” आँफूभित्रको ‘म’ लाई परिर्वतन गर्नुपर्ने भन्दै मन्त्री अर्यालले यसको सुरुवात स्याङ्जाबाट शुरु गर्नुपर्ने बताइन् । जनता आफ्नो दायित्वबाट टाढा भए देश अगाडि बढ्न नसक्ने भन्दै उनले भनिन्, “जनता उन्मुक्ति भए भने सरकारले केहि गर्न सक्दैन् जनता र सरकारको सम्बन्ध नङ र मासूको जस्तै हो । तसर्थ जनस्तरमा क्रियाशिलता हुनुपर्छ ।” अवको बहस विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने भन्दै मन्त्री अर्यालले भनिन्, “विकासमा को प्रतिपक्ष को सत्तापक्ष एकाअपसमा हिलो छ्यापाछ्याप बन्द गरौँ समृद्ध नेपालको संकल्प पुरा गर्न केन्द्रित हौँ ।” आँधीखोला हाईड्याम्पको डिपिआर भईरहेको भन्दै उनले भनिन्, “सिद्धार्थ राजमार्ग फराकिलो पार्ने स्याङ्जाको दुई जिल्ला जोड्ने सकड पिच गर्ने यहाँका मुख्य सडकलाई पक्की बनाउने काम हुन्छ ।” आफ्नो कार्यकालमा नमूना कार्य गर्ने प्रयास गरेको भन्दै मन्त्री अर्यालले समृद्ध र विकसिल स्याङ्जाका लागि प्रतिवद्ध रहेको बताइन् । साथै यस्ता कार्यक्रमले राजनितिक पार्टीलाई हार्दिकता प्रदान गर्ने मन्त्री अर्यालको भनाई ।
कसैले स्याल हुइँया मच्चाए पनि सरकारको अभियानमा रोकतोक हुन्नः मन्त्री बाँस्कोटा
काभ्रेपलाञ्चोकः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपा नगरद्वारा चाडपर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै विकासका कामलाई तीव्रता दिँदै तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गरेका हुन् । मन्त्री बाँस्कोटाले भने, “हामीलाई गरीबी चुनौती बनेको छ, सरकारले क्रमैसँग गरीबी निवारण गर्न रोजगारी सिर्जना, सीप, विकास, प्राविधिक शिक्षा तथा जीवनलाई सजिलो बनाउन सेवा क्षेत्रलाई प्रभावकारी बनाउने कार्यक्रम ल्याउँछ ।” उनले सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अवधारणासँगै देशको १८ प्रतिशत गरीबीलाई क्रमैसँग घटाउँदै लगिने पनि बताए । मन्त्री बाँस्कोटाले सरकार सुन्दर नेपाल, सुखी, स्वाधीन, आत्मनिर्भर नेपाल बनाउने अभियानमा दत्तचित्त भएको बताए । “हामी सकारात्मक आलोचना ग्रहण गरी जनतालाई एकाकार गर्दै मुलुक निर्माणको महाअभियानमा छौँ” उनले भने । समाजमा आर्थिक अवस्था कमजोर भएको वर्ग, अप्ठेरोमा परेको वर्गलाई माथि उठाई समान बनाउन सरकार लागिपरेको उल्लेख गर्दै उनले अहिले नेताको आफ्नो सफलता नभइ जनताको आफ्नो पसिना, बुद्धिविवेकको मूल्यको सफलता भएको उल्लेख गरे । मन्त्री बाँस्कोटाले वर्तमान समय विकास निर्माणको समय भएकाले समृद्ध नेपालतर्फ लम्किने जोकोही कतै अल्मलिनु नहुने बताए । उनले भने, “काग कराउँदै गर्छ, कसैले स्याल हुइँया मच्चाए पनि सरकारको अभियानमा रोकतोक हुन्न, तपाईहरु ढुक्क हुनुहोस् ।” सरकारको यो शिलान्यासको वर्ष र अर्को उद्घाटनका वर्ष भएको चर्चा गर्दै २२ वर्ष सत्ता चलाउनेको ‘रिजल्ट’ नचाहिने वर्तमान सरकारको एक वर्षमै रिजल्ट चाहियो भन्नु गलत हुने उनले जिकिर गरे । मन्त्री बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) न्यायपूर्ण सोचाइ, दृष्टिकोण, समतामूलक विकास गर्ने राजनीतिक इच्छाशक्ति भएको पार्टी भएको दाबी गरे । “व्यक्तिले गरेको गल्तीको भागीदार स्वयं व्यक्तिनै हुन्छ, पार्टी भनेको ठूलो महत्व बोकेको संवेदनशील सङ्गठीत संस्था हो” उनले भने । आर्थिक रुपान्तरण, मुलुक परिवर्तन, सुख–शान्ति समाजवाद स्थापनाका लागि पार्टीले काम गर्ने उनले बताए । मन्त्री बाँस्कोटाले वर्तमान प्रधानमन्त्री कुनै महाराजाको छोरा नभइ स्वतन्त्रताका लागि लडेको, लामो जेलजीवन बिताएको व्यक्ति भएको बताए । उनले भने, “उहाँ हली–किसानको छोरा हुनुहुन्छ, उहाँलाई जनताका दुःखपीर मर्का सबै अनुभव छ, तीनलाई कसरी सुखी र खुशी बनाउने भनेर उहाँ सोचिरहनुहुन्छ, हामी पनि उहाँको सपनालाई साकार पार्ने अभियानमै छौँ ।” उनले अघिल्लो पुस्ताको ज्ञान लिन सबै स्थानीय तहमा ज्ञान हस्तान्तरण केन्द्र खोल्ने तयारीमा रहेको जानकारी दिए । कार्यक्रममा प्रदेशसभा सदस्य गोमा भुर्तेल, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादे, नेकपाका नेता रामहरि सुवेदी, हरिदेव गिरी, भैरव केसी, कुमार तिमल्सिना, मुक्ति विष्टलगायतले शुभकामना व्यक्त गरेका थिए ।
दशैंमा इन्धनको अभाव नहुने, असुरक्षित भण्डारण नगर्न निगमकाे आग्रह
काठमाडौंः दशैंमा इन्धनको अभाव नहुने भएको छ । केही दिनदेखि काठमाडौं उपत्यका र देशका मुख्य शहरमा इन्धन खपत बढेको भन्दै निगमले अभावको आशंकामा असुरक्षित भण्डारण नगर्न उपभोक्तालाई आग्रहसमेत गरेको छ । निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालका अनुसार निगमले आफ्ना सबै डीपोहरुमा भण्डारण क्षमता अनुसार इन्धन भण्डारण गरेको छ । दशैंमा पनि पाईपलाईनबाट पेट्रोलियम ढुवानी नियमित हुने भएकाले अभाव सिर्जना नहुने निगमको दाबी छ । बुधबारदेखि २० हजार किलोलिटर तेल पाईपलाईनबाट झरिरहेको पौडेलले जानकारी दिए । यस्तै पाइपलाइनका कारण बिस्थापित करिब ३ सय ट्याङ्करमा पनि इन्धन भरेर स्ट्याण्डबाई राखिएको छ । यसका अलवा डीपोहरुमा इन्धन पुर्याएर फर्कीने सबै ट्याङ्करमा पूर्ण रुपमा इन्धन भरेर राखिने निगमले जनाएको छ ।

