कृषकलाई परिचयपत्र वितरण गर्ने कृषि मन्त्रीको घोषणा
काठमाडौंः कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले किसानको अवस्थाअनुसार उनीहरुलाई परिचयपत्र वितरण गरिने बताएका छन् ।
मंगलबार ललितपुरमा राष्ट्रिय किसान आयोगको वार्षिक समीक्षा तथा प्रतिवेदन हस्तान्तरण कार्यक्रममा सरकारले किसानलाई परिचयपत्र बाँड्ने तयारी भइरहेको उनले बताएका हुन् ।
किसान परिचयपत्र बाँड्ने तयारीका लागि सातओटै प्रदेशका लागि २१ करोड रुपैयाँ बजेटसमेत छुट्याइएको मन्त्री खनालले जानकारी दिए ।
२५ सूचकलाई आधार बनाइ पाँच तहमा परिचयपत्र वितरण गरिने उनको भनाइ छ । यसैअनुसार नियमावली बनाइने उनले उल्लेख गरे ।
जमिन चक्लाबन्दी गरिने र १०० विगाहासम्म केन्द्रित गरेको ठाउँमा सिँचाइ र प्रविधि उपलब्ध गराइ उत्पादन लागत ‘ग्यारेन्टी’ गरिने मन्त्री खनालले बताए ।
सरकारले बिचौलिया नियन्त्रण गर्नका लागि ठूला बजारको विकासमा जोड दिएको उनको दाबी छ ।
कृषिसचिव युवकध्वज जिसीले कृषिमा उत्पादकत्व वृद्धि गर्नका लागि सिँचाइको पहुँचमा वृद्धि गरिनुपर्ने बताए ।
पूर्वकृषिमन्त्री हरि पराजुलीले वार्षिक १६ अर्ब रुपैयाँको मकैमात्रै आयात हुने गरेको भन्दै आन्तरिक उत्पादनमा जोड दिन ध्यानाकर्षण गराए ।
उत्पादन वृद्धि गर्नका लागि सरकारले प्रविधिमा आधारित कृषि खेतीमा जोड दिनुपर्ने उनको सुझाव छ ।
सभामुख महराद्वारा पदबाट राजीनामा
काठमाडौंः सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । संसद सचिवालयकै महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि महराले मंगलबार राजीनामा दिएका हुन् । आफूमाथि लागेको आरोपबारे निकटष्थसँग परामर्श गरेपछि महरा राजीनामा दिने निर्णयमा पुगेका हुन्।
महरालाई सभामुख र सांसदबाट राजीनामा दिन नेकपाको सुझाव
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको छ । महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । यसबारे छलफल गर्न मंगलबार विहान बसेको नेकपा सचिवालयको बैठकले महराले दुबै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुर्पे निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए । प्रवक्ता श्रेष्ठले भने, ‘प्रतिनिधिसभाको सभामुख कृष्णबहादुर महराको नैतिक आचरणका सम्बन्धमा सञचार माध्यमहरुमा आएका समाचारहरु प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले सभामुख कृष्णबहादुर महराले सभामुख तथा प्रतिनिधिसभा सदस्य पदबाटै राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनु पर्दछ भन्ने निर्णय गरेको छ ।’
नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता
काठमाडौंः नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०औं मुलुक अष्ट्रेलिया भएको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मुख्यालय मन्ट्रियलमा आज नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय हवाईसेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । “आइकाओको प्रधान कार्याल मन्टियल क्यानाडामा आज (१ अक्टोबर सन् २०१९ मा) नेपाल सरकार र अष्ट्रेलिया सरकारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भई हवाईसेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षरका साथै एक समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ”, सहसचिव आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौताअनुरुप दुवै पक्षका एयरलाइन्सले जुनसुकै प्रकारको वायुयानबाट सात उडान गर्न सक्नेछन् । नेपालका तोकिएका एयरलाइन्सले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान गर्न पाउनेछन् । अन्य विमानस्थलमा असीमित क्षमतामा उडान गर्न सक्ने समझदारी भएको छ । यस्तै अष्ट्रेलियन पक्षका एयरलाइन्सले काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सात उडान गर्न पाउने जनाइएको छ । पोखरा, भैरहवालगायत अन्य विमानस्थलमा सातामा २८ उडान गर्न सक्नेछन् । दुईपक्षीय समझदारीअनुसार दुई मुलुकका एयरलाइन्सले जुनसुकै प्रकारको वायुयान प्रयोग गरी आ–आफूले निर्धारण गरेको उडान सङ्ख्या वा क्षमतामा डेडिकेटेड कार्गो उडान गर्न पनि पाउने जनाइएको छ । सहसचिव आचार्यका अनुसार दुवै पक्षका एयरलाइन्सले दक्षिण एशिया, दक्षिण–पूर्वी एशिया र मध्यपूर्वका कुनै दुई विन्दुहरु उपयोग गर्दै मध्यवर्ती विन्दु भएर पाँचौँ ट्राफिक अधिकार उपोग गर्न पाउनेछन् । उक्त समझदारीपत्रमा पर्यटन मन्त्रालयका सहसचिव आचार्य र अष्ट्रेलियन प्रतिनिधिमण्डलका तर्फबाट सङ्घीय पूर्वाधार, यातायात, शहरी एवं क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम होल्फले हस्ताक्षर गरेका हुन् ।
सभामुख महरालाई राजिनामा दिएर छानबिनमा सघाउन नेकपाको निर्देशन
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख कृष्ण बहादुर महरालाई राजिनामा दिन निर्देशन दिएको छ । पार्टी सचिवालयको आज बिहान बसेको आकस्मिक बैठकले छानबिनमा सहयोग पुर्याउनका लागि महरालाई राजिनामा दिन भनिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले बताए । महिलामाथि जर्बजस्तीको आरोप लागेका सभामुख महराले पदबाट राजिनामा दिने भएका हुन् । उनीमाथि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रबाट दबाब बढेपछि राजीनामा दिने मनस्थितिमा पुगेका थिए । तीनकुनेस्थित एक महिलाको डेरामा पुगेर उनले जर्बजस्ती गरेको खबर बाहिर आएपछि सभामुख समस्यामा परेका थिए । उनले जर्बजस्ती नभएको दाबी गरेर प्रेस विज्ञप्ति निकाल्न लगाएका थिए । यसमा कुनै कठपुतली प्रयोग गरी फसाउन खोजेको उल्लेख गरेका थिए ।
राजमार्ग खुलाउन जाँदा खोलामा डोजर पल्टिँयो, एक जनाको मृत्यु
दैलेखः जिल्लाको खाँडाचक्र नगरपालिका–५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिँएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबहादुर ओलियाले बताए । ‘आज बिहान ४ बजे डोजर पल्टिँएको हो ।’ उनले भने, ‘अहिले जिल्ला अस्पताल कालीकोटमा शव परीक्षणको लागि लगिएको छ ।’
आज – ०९ आश्विन २०७६ बिहिवारको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । केहि मालसामान हराउन सक्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । शत्रु क्षय होलान् । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सानातिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रियता पनि रहने देखिन्छ । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । धनु धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ । कार्यमा बाधापनि आउनेछ । कुम्भ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेमीको सहयोगपनि पाइनेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । कर्कट कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । धार्मिक यात्राको योगपनि छ । कन्या कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ । बृश्चिक वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्ला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ । मकर मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । मीन मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज विशषगरी अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रापनि रहला । – ज्यो.प. नारायणप्रसाद दुलाल
नेता पौडेलद्वारा उपनिर्वाचनमा भाग नलिने घोषणा
घोराही । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिरमा हुने उपनिर्वाचनमा भाग नलिने बताएका छन् । नेपाल प्रेस युनियन दाङले बुधबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले सरकारको विकल्प नखोजेको तर सरकारलाई सही मार्गमा डोर्याउनुपर्ने आवश्यकता रहेको समेत औंल्याए । सरकार बरालिँदै गएको भन्दै उनले कांग्रेसले सच्याउनमात्र खोजेको उल्लेख गरे । नागरिकका समस्या सम्बोधन गर्न सरकार असक्षम भएको आरोपसमेत उनले लगाए । सरकारका कारण नागरिकमा चरम निराशा उत्पन्न भएको उनको भनाइ छ । हरेक परिवर्तनमा नेपाली कांग्रेसले अगुवाइ गरेको स्मरण गर्दै नेता पौडेलले कांग्रेसलेमात्रै नागरिकका मुद्दा हल गर्ने जिकिर गरे । कांग्रेसको जागरण अभियानले कार्यकर्ताको मन जोड्न सफल भएको दाबी पनि उनले गरे । त्यसक्रममा तराईमा भएका छिटपुट घटनालाई उनले ‘सामान्य’ भने । उनले आफू मंसिरमा हुने उपनिर्वाचनमा भाग नलिने भन्दै पार्टी बलियो बनाउनमात्रै आफ्नो ध्यानकेन्द्रित रहेको बताए ।
गाईगोरु मृत्यु प्रकरणः छानबिन समितिद्वारा दोषीलाई कारबाही गर्न सिफारिस
काठमाडौः नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवा जङ्गलमा गाईगोरु मरेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले बुधबार गृह मन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका अनुसार छानबिन समितिले घटनामा केही व्यक्ति दोषी देखिएकाले कारवाहीका लागि सिफारिस गर्दै गृहमन्त्री थापालाई प्रतिवेदन पेश गरेको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको सिफारिसका आधारमा दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए । गएको भदौ १२ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएको झण्डै तीन सय मध्ये ३५ गाईगोरु सुर्खेतको कटकुवा जङ्गल आसपास क्षेत्रमा मृत फेला परेका थिए । घटनापछि भदौ १४ गते गृह मन्त्रालयले गाईगोरुको अस्वभाविक मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको सिफारिस गर्न मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले घटनास्थलका साथै बाँके, सुर्खेत, दैलेखका सम्बद्ध अधिकारी, स्थानीय समुदाय, नेपालगञ्ज उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरी, ट्रक चालक लगायतसँग भेटेर छलफल र स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको संयोजक पाठकले जानकारी दिए । त्यस घटनामा नेपालगञ्ज उपमहानगरपालिकाको लापर्वाही देखिएको भन्दै स्थानीयले कारबाहीको माग गरेका थिए । उपमहानगरपालिकाको अगुवाइमा ती गाईगोरुलाई यहाँको काञ्जी हाउसबाट दैलेख पठाउने क्रममा त्यो घटना भएको थियो । उपमहानगरपालिकाले नियतवश घटना भएको अस्वीकार गर्दै आएको छ ।
जब प्रधानमन्त्रीले हलो जोतेको सम्झना गरे…
काठमाडौंः ‘म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमिन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ,’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युवा उमेर सम्झँदै किसान नेताहरुसँग भने, ‘सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ ।’ आफ्नो गृह जिल्ला झापाको छिमेकी जिल्ला इलामले हरेक कान्ला र जमिनको टुक्रोलाई सदुपयोग गरेको उल्लेख गर्दै उनले मेहनत गरेमा ठूला घोगा मकै र झपक्क धानको बाला झुलाउन सकिने भएकाले सङ्गठनको कामका साथै उत्पादन क्षेत्रको पनि नेता र अगुवा बन्न आग्रह गरे । प्रधानमन्त्री ओलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासङ्घको प्रथम केन्द्रीय कमिटीको बैठक र शपथ ग्रहण समारोहलाई बुधबार ललितपुरको धोबीघाटमा सम्बोधन गर्दै कृषिमा आधुनिकीरण र व्यावसायीकरणका लागि सरकारले चलाएका पहलबारे जानकारी दिए । ‘हामीले प्रधानमन्त्री कृषि आधुनिकरणलगायत कार्यक्रममार्फत यस क्षेत्रलाई अगाडि बढाउन खोजेका छौँ । हाम्रो संयन्त्र र विज्ञलाई जमीनको एक टुक्रो पनि खाली नहुने गरी चक्लाबन्दी वा सामूहिक खेतीतर्फ लान खोजेका छौँ,’ उनले भने, ‘कृषि क्षेत्रलाई सरकारले दिने अनुदान र राहतमा निरन्तरता हुनेछ ।’ देशलाई आत्मनिर्भर बनाउन उत्पादनलाई निर्यात गर्ने कामको अगुवाइ गर्न महासङ्घका केन्द्रीय नेतालाई आग्रह गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले कृषि क्षेत्रमा अबको क्रान्ति आधुनिकीकरण, व्यावसायिकरण र उन्नत कृषितर्फ हुने उल्लेख गरे । बैठकमा नेकपाका सचिवालय सदस्य एवं महासङ्घका इञ्चार्ज वामदेव गौतमले महासङ्घका केन्द्रीय कमिटीका सदस्यलाई शपथ गराए । नेकपाको गत २ जेठमा सचिवालयको निर्देशनपछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट दुई सय ५१ सदस्यीय एकीकृत महासङ्घ गठन भएको थियो । (रासस)
नेपाल प्रहरीका तीन एआईजीको सरुवा
काठमाडौं – नेपाल प्रहरीका तीन एआईजीहरुको सरुवा भएको छ । मंगलबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले सरुवाकाे निर्णय गरेकाे हाे । काे कहाँ ? प्र प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान बिभागका एआईजी ठुले राई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान (प्रहरी एकेडेमी) महाराजगन्ज प्रहरी प्रतिस्ठानमा कार्यरत एआईजी पुष्कर कार्की प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा अपराध अनुसन्धान विभागमा राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा दरबन्दी भएका एआईजी धिरु बस्नेत मानवस्रोत एवं प्रशासन विभाग, पुनः राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काज ।
आगामी चुनाव जितेर संविधान संशोधन काँग्रेसले गर्छः गगन थापा
जनकपुरः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारको शक्ति दुरुयोग रोक्न दशैंपछि सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् । मङ्लवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले सरकारको बेइमानीमा समाजवादी पार्टीले सघाउने गरेको भन्दै सडकको ताकतको आधारमा संसदको शक्तिको दुरुपयोग गर्ने सरकारको प्रयासको प्रतिरोध दशैं पछाडी कांग्रेसले गर्ने चेतावनी दिए । त्यस्तै उनले प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्ड समेतले मुलुक र व्यवस्था खतरामा रहेको भन्नू लोकतान्त्रिक व्यवस्थालाई खतरामा पार्न आतुर रहेको आरोप लगाए । उनले प्रधानमन्त्रीले मुलुकलाई कम्बोडियाको हुन्सन मोडालिटिमा लैजान लागेको आरोप लगाए । उनले उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भिड्न नसक्ने प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत सरकारमै बसेर बिरोधाभाष अभिव्यक्ति दिनु निर्लज्जताको नग्न पराकाष्ठा भएको बताए । उनले अधिकारको नाममा लडिरहेको देखाउन जनतालाई भ्रममा नपार्न प्रदेश सरकारलाई आग्रह गर्दै आफ्ना अध्यक्षसँग लडेर संघीय सरकारबाट हटेर देखाउन चेतावनी दिए । अहिलेको संविधानमा केही कमिकमजोरी रहेपनि जनताको संविधान रहेको भन्दै संविधानको रक्षा गर्दै संशोधनका लागि काँग्रेस लागि पर्ने बताए । उनले संविधानको ‘माइबाप’ कांग्रेस भएकोले वाचा समेत पुरा गर्ने स्पष्ट पारे । ‘संविधान संशोधन गरी स्वीकार्य बनाउन सकिएन भने देशमा दुर्घटना हुन्छ,’ उनले भने, ‘त्यसैले अगामी चुनाव जितेर संविधान संशोधन काँग्रेसले गर्छ’ उनले भने । काठमाडौंपाटीबाट साभार
करेन्ट लागेर होटल सञ्चालक दम्पतीसहित ३ जनाको मृत्यु
धनुषा । जिल्लाको गणेशमान नगरपालिका ४ पोर्ताहामा करेन्ट लागेर होटल सञ्चालक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । मंगलबार राति सुतिरहेको अवस्थामा विद्युत् चुहावट हुँदा पूर्वेली स्टाफ होटल सञ्चालक शिवकुमार महतो, उनका श्रीमती र एक महिला कामदारको मृत्यु भएको हो । मृतक महतोकी श्रीमती र कामदारको पहिचान खुलेको छैन । बुधबार बिहान प्रहरीको सहयोगमा उनीहरुको शव निकालिएको धनुषाका एसपी शेखर खनालले जानकारी दिए । उनका अनुसार उनीहरु सुतेको कोठाका विद्युतीय सामग्री क्षतिग्रस्त छ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
कुन जिल्ला कहिले खुला दिसामुक्त घोषणा भएको थियो ? थाहा पाईराखौं
काठमाडौ । आजको केहि दिनपछि देश नै खुला दिसामुक्त घोषणा हुने चरणमा छ । २०६८ सालमा कास्कीलाई खुला दिसामुक्त घोषणा गरेपछि सुरु भएको दिसामुक्त घोषणा अभियानले ८ बर्ष पछि देश नै खुला दिसामुक्त घोषणा गर्ने तहमा आईपुगेको हो । सन् २०११ अर्थात २०६८ सालमा सरसफाइ गुरुयोजना निर्माण भई कार्यान्वयनमा आएपछि नेपालमा सरसफाइ अभियान सुरु भएको थियो । खुला दिसामुक्तः कुन जिल्ला कति औं स्थानमा ? पहिलो जिल्ला कास्की २०६८ साल असार १० गते घोषणा दोस्रो जिल्ला चितवन २०६८ असोज ६ गते घोषणा तेस्रो जिल्ला तनहुँ २०६९ साउन ३ गते घोषणा चौथो जिल्ला म्याग्दी २०६९ असोज २३ गते घोषणा पाँचौ जिल्ला प्युठान २०६९ चैत्र १६ गते घोषणा छैंटौं जिल्ला पर्वत २०६९ चैत्र ३१ गते घोषणा सातौं जिल्ला अछाम २०७० वैशाख १२ गते घोषणा आठौं जिल्ला कालिकोट २०७० जेठ २६ गते घोषणा नवौं जिल्ला मकवानपुर २०७० साउन ४ गते घोषणा दशौं जिल्ला भक्तपुर २०७० कार्तिक १८ गते घोषणा एघारौं जिल्ला मुस्ताङ २०७० मंसिर १४ गते घोषणा बाह्रौं जिल्ला पाँचथर २०७० माघ १२ गते घोषणा तेह्रौं जिल्ला बाग्लुङ २०७० माघ १६ गते घोषणा चौधौं जिल्ला दाङ २०७१ जेठ २३ गते घोषणा पन्ध्रौं जिल्ला डडेलधुरा २०७१ जेठ २४ गते घोषणा सोह्रौं जिल्ला बाजुरा २०७१ मंसिर १२ गते घोषणा सत्रौं जिल्ला अर्घाखाँची २०७१ मंसिर १३ गते घोषणा अठारौं जिल्ला रुकुम २०७१ पुस ७ गते घोषणा उन्नाईसौं जिल्ला रुकुम पूर्व २०७१ पुस ७ गते घोषणा बीसौं जिल्ला गोरखा २०७१ पुस १६ गते घोषणा एक्काईसौं जिल्ला जाजरकोट २०७१ पुस १८ गते घोषणा बाईसौं जिल्ला धनकुटा २०७१ पुस ३० गते घोषणा तेईसौं जिल्ला लम्जुङ २०७१ माघ २४ गते घोषणा चौबीसौं जिल्ला इलाम २०७१ फागुन १४ गते घोषणा पच्चीसौं जिल्ला बर्दिया २०७२ जेठ २९ गते घोषणा छब्बीसौं जिल्ला दैलेख २०७२ असार ७ गते घोषणा सत्ताईसौं जिल्ला नवलपरासी २०७२ असार १५ गते घोषणा अठ्ठाईसौं जिल्ला परासी २०७२ असार १५ गते घोषणा उनान्तीसौं जिल्ला गुल्मी २०७२ असार २६ गते घोषणा तीसौं जिल्ला रोल्पा २०७२ पुस ९ गते घोषणा एकतीसौं जिल्ला सुर्खेत २०७२ पुस १४ गते घोषणा बत्तीसौं जिल्ला तेह्रथुम २०७२ पुस १६ गते घोषणा तेत्तीसौं जिल्ला बझाङ २०७२ पुस १६ गते घोषणा चौंतीसौं जिल्ला स्याङजा २०७२ पुस २५ गते घोषणा पैंतीसौं जिल्ला उदयपुर २०७२ माघ १३ गते घोषणा छत्तीसौं जिल्ला जुम्ला २०७२ फागुन २० गते घोषणा सैंतीसौं जिल्ला खोटाङ २०७३ जेठ ७ गते घोषणा अठतीसौं जिल्ला ताप्लेजुङ २०७३ जेठ ३१ गते घोषणा उन्चालीसौं जिल्ला सल्यान २०७३ असार १७ गते घोषणा चालीसौं जिल्ला बैतडी २०७३ असार २८ गते घोषणा एकचालीसौं जिल्ला मनाङ २०७४ असार १७ गते घोषणा बयालीसौं जिल्ला डोटी २०७४ असार २८ गते घोषणा त्रिचालीसौं जिल्ला ओखलढुङ्गा २०७४ असार २८ गते घोषणा चवालीसौं जिल्ला डोल्पा २०७४ कार्तिक ९ गते घोषणा पैतालीसौं जिल्ला हुम्ला २०७४ मंसिर १८ गते घोषणा छयालीसौं जिल्ला कञ्चनपुर २०७४ पुस ७ गते घोषणा सतचालीसौं जिल्ला रसुवा २०७४ पुस १६ गते घोषणा अठचालीसौं जिल्ला सिरहा २०७४ चैत्र ९ गते घोषणा उनान्चासौं जिल्ला सप्तरी २०७४ चैत्र २१ गते घोषणा पचासौं जिल्ला पाल्पा २०७४ चैत्र २४ गते घोषणा एकाउन्नौं जिल्ला सिन्धुली २०७५ वैशाख १३ गते घोषणा बाउन्नौं जिल्ला दार्चुला २०७५ वैशाख २५ गते घोषणा त्रिपन्नौं जिल्ला कैलाली २०७५ वैशाख ३० गते घोषणा चवन्नौ जिल्ला ललितपुर २०७५ जेठ २७ गते घोषणा पचपन्नौं जिल्ला रामेछाप २०७५ जेठ २७ गते घोषणा छपन्नौं जिल्ला संखुवासभा २०७५ जेठ २८ गते घोषणा सन्ताउन्नौं जिल्ला मुगु २०७५ जेठ २८ गते घोषणा अन्ठाउन्नौं जिल्ला सुनसरी २०७५ असार १९ गते घोषणा उन्साठीऔं जिल्ला बाँके २०७५ असार २८ गते घोषणा साठी औं जिल्ला नुवाकोट २०७५ असार २८ गते घोषणा एकसाठ्ठीऔं जिल्ला रुपन्देही २०७५ पुस ६ गते घोषणा बैसठ्ठीऔं जिल्ला झापा २०७५ पुस १३ घोषणा त्रिसठ्ठीऔं जिल्ला रौतहट २०७५ पुस १४ गते घोषणा चौसठ्ठीऔं जिल्ला धादिङ २०७५ चैत्र २४ गते घोषणा पैसठ्ठीऔं जिल्ला काभ्रेपलाञ्चोक २०७६ असार १३ गते घोषणा छैसठ्ठीऔं जिल्ला मोरङ २०७६ साल असार २१ घोषणा सत्सठ्ठीऔं जिल्ला दोलखा २०७६ भदौ १२ गते घोषणा अठ्सठ्ठीऔं जिल्ला सिन्धुपाल्चोक २०७६ भदौ २० गते घोषणा उन्सत्तरीऔं जिल्ला बारा २०७६ भदौ २७ गते घोषणा सत्तरीऔं जिल्ला पर्सा २०७६ भदौ २८ गते घोषणा एकहत्तरौं जिल्ला सर्लाही २०७६ भदौ ३० गते घोषणा बहत्तरौं जिल्ला धनुषा २०७६ भदौ ३० गते घोषणा
डोल्पाका गुम्बाको बहुमूल्य सामान चोरी
डोल्पा । माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका धोस्थित झ्याम्पा गुम्बाको बहुमूल्य सामग्री स्थानीयले घरमा लगेर राख्छन्। १४ औं शताब्दीमा स्थापना गरिएको गुम्बाका सामान चोरी हुने डरले स्थानीयले सहमतिमै घरमा राख्ने गरेका हुन्। विशेष पूजा वा अन्य समारोहमा भने ती सामग्री गुम्बामै लगिन्छ। कार्यक्रम सकिएपछि फेरि घरमै फर्काइन्छ। सोही गाउँपालिकाको सेरिङ गुम्बाको बहुमूल्य बुद्धमूर्ति र अन्य धातु पनि गाउँलेले घरमा राखेका छन्। गुम्बा सुरक्षाका लागि प्रहरी प्रशासनलाई बारम्बार ताकेता गर्दा चासो नदिएपछि ती सामग्री घरमा राख्नुपरेको स्थानीयको गुनासो छ। बहुमूल्य सामग्री चोरी हुने आशंकामा घरमा लगेर राखिएका यी दुई गुम्बा उदाहरण मात्र हुन्। यहाँका अधिकांश गुम्बाका सामग्री चोरी भइसकेका छन्। बाँकी सामग्री पनि हराएर गुम्बा रित्तिने अवस्था आएपछि घरमा राखिएको डोल्पोबुद्धकै स्थानीय बासिन्दा तथा गुम्बाका अध्यता ङ्वाङ लुम्डुप गुरुङले बताए। उनका अनुसार मेकिङ च्याङचु छोइलिङ, टाकमार देवा, डोल्पा मेन्चीखाङगलगायत गुम्बाका सामग्री पनि व्यक्तिका घरमा राखिएका छन्। पछिल्लो समय डोल्पाका बौद्ध गुम्बाका सामग्री चोरी हुने क्रम बढेको छ। गत वर्ष मात्र से फोक्सुन्डो गाउँपालिकाको राहत गुम्बाबाट ४२ वटा बुद्ध मूर्ति चोरी गरेको आरोपमा प्रहरीले दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको थियो। जिल्लाभरबाट कति मूर्ति चोरी भए भन्ने यकिन तथ्यांक कसैसँग छैन। गुम्बामा कति बहमूल्य सामग्री तथा मूर्ति छन् भन्ने तथ्यांक पनि राज्यसँग छैन। तर, ९० प्रतिशतभन्दा बढी मूल्यवान सामग्री हराइसकेको गुरुङको भनाइ छ। गुम्बाभित्र ऐतिहासिक मूर्ति, लिपि, बहुमूल्य धातु, पेन्टिङ, बुद्धको अस्तुलगायत सामग्री राखिएको छ। परापूर्वकालमा बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको ठाउँमा र बौद्ध दर्शनको अध्ययनको विस्तार गर्ने उद्देश्य राखेर मुलुकको विभिन्न ठाउँमा गुम्बा स्थापना गरिएको थियो। गुम्बाभित्र सुन्दर पेन्टिङ, बहुमूल्य सामग्री तथा पुरातात्विक हिसाबले महत्व राख्ने थुपै्र दस्ताबेज राखिएका हुन्छन्। गुम्बाका सामग्री जतन गर्न सुरक्षा प्रबन्धसहित छुट्टै संग्रहालय खोल्ने र त्यही संग्रहालयमा यस्ता सामग्री राख्ने विषयमा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, गुम्बाका अध्यतालगायत व्यक्तिसँग छलफल भइरहेको तामाङले बताए। मुखमा पट्टी बाँधेर आउने चोरले लामालाई बाँधेर सामग्री चोर्ने गरेका छन्। गत वर्ष से फोक्सुन्डो र दुई वर्षअघि घाघर गुम्बामा लामालाई यातना दिएर मूर्ति चोरिएको थियो। ती मूर्ति चोरेर कहाँ बेचिन्छ भन्ने पत्तो प्रहरीलाई पनि हुँदैन। बौद्ध दर्शनका अध्यता तथा डोल्पो बुद्धकै स्थायी बासिन्दा डोल्पो टुल्कु रिन्पोछेले भने, ‘हिमाली जिल्लामा गुम्बाको सुरक्षा ठूलो चिन्ताको विषय बनेको छ। गुम्बाको सम्पत्ति भनेको राज्यकै सम्पत्ति हो। तर, यसमा प्रशासनले पर्याप्त चासो दिएको छैन।’ डोल्पामा आफूले बाल्यकालमा देखेका गुम्बामा भएको सम्पत्तिमध्ये ९० प्रतिशतभन्दा धेरै हराइसकेको रिन्पोछेले बताए। गुम्बाका सामग्री चोरी हुनबाट बचाउन गाउँलेलाई नै सुरक्षा तालिम दिएर सम्बन्धित ठाउँमा खटाउनुपर्ने उनको सुझाव छ। ‘राज्यले प्रहरी परिचालन गर्न नसक्ने हो भने एउटा गाउँका युवालाई तालिम दिएर अर्को गाउँको गुम्बा संरक्षणमा पठाउनुपर्छ। यसो गर्न सकियो भने बाँकी सामग्री संरक्षण गर्न सकिन्छ’, रिन्पोछेले भने। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी नारायण रञ्जितकारका अनुसार मूर्ति चोरीका आरोपमा अहिले दर्जनभन्दा बढी व्यक्तिविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ। हरेक वर्ष ५–६ वटासम्म मूर्ति चोरीका उजुरी आउने गरेको छ। उनका अनुसार डोल्पा जिल्लामा २६ वटा प्रहरी युनिट छ। तर, हिउँ पर्ने समयमा आधाभन्दा बढी युनिट बन्द हुन्छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकबाट लिइएको हो ।
सरकार आईएनजीओको अपारदर्शी क्रियाकलाप नियन्त्रण गर्दै
काठमाडौं । नेपालमा दशकौंदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ/आईएनजीओ) हरूले अपारदर्शी रूपमा आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेको पाइएको छ । उनीहरूका त्यस्ता अपारदर्शी गतिविधि बढेपछि सरकारले नियन्त्रणको प्रयास थालेको छ । सोका लागि सरकारले एनजीओ÷आईएनजीको कार्यक्रमलाई अनिवार्य रूपमा एकद्वार प्रणालीअन्तर्गत अनुगमन तथा नियन्त्रण गर्ने नीति अघि सारेको छ । सोही नीतिअनुरूप समाज कल्याण परिषद्ले एनजीओ÷आईएनजीओलाई अनिवार्य रूपमा परिषद्बाट कार्यक्रम स्वीकृत गराएर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । यसअघि नेपालमा काम गर्ने आईएनजीओले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकाय/संस्था वा मुलुकबाट अर्बौं रुपैयाँ सहयोग लिएर अपारदर्शी रूपमा आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेको प्रश्न पटकपटक उठ्ने गरेको थियो । परिषद्का प्रवक्ता शिवकुमार बस्नेतका अनुसार आईएनजीओलाई परिषद् मातहत आबद्धताका लागि निर्देशन दिइएको छ । ‘सरकारले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूबाट आउने सहयोग र कार्यक्रम एकद्वार प्रणालीअन्तर्गत लागू गर्ने योजना अगाडि सारेको छ,’ उनले भने, ‘त्यसैअनुरूप आईएनजीओलाई परिषद् मातहतमा ल्याउने तयारी थालिएको हो,’ प्रवक्ता बस्नेतले भने, ‘आईएनजीओलाई परिषद्मा आबद्ध हुन पत्राचार गरिसकिएको छ ।’ सरकारले एनजीओ÷आईएनजीओको कार्यक्रमलाई एकद्वार प्रणालीअन्तर्गत ल्याउने घोषणा गरेसँगै परिषद्मा आईएनजीओलाई आबद्धता गर्ने तयारी गरिएको छ । योसँगै सरकारले वैदेशिक सहायता नीतिमा पनि परिवर्तन गरी परिषद्बाट मात्रै कार्यक्रम स्वीकृति गराउनुपर्ने नीति अगाडि सारेको छ । प्रवक्ता बस्नेतका अनुसार संस्थागत सुशासन अभिवृद्धि गर्ने उद्देश्यले सरकारले यस्तो नीति लिएको हो । अब आउने सहयोग अन्य निकायबाट स्वीकृत भएमा कानुनविपरीत हुने उनको भनाइ छ । ‘अब आउने सबै कार्यक्रम परिषद्बाट स्वीकृत गराएर मात्रै लागू गर्नुपर्ने हुन्छ’, बस्नेतले भने । –बाहिरबाट कार्यक्रम स्वीकृत गराएका आईएनजीओ परिषद् मातहत –सामाजिक संस्थाको कार्यक्रममा अनिवार्य एकद्वार प्रणाली –संस्थागत सुशासन अभिवृद्धिमा जोड यसअघि एकद्वार नीतिको अभावमा एनजीओ÷आईएनजीओमार्फत प्राप्त हुने सहयोग÷सहायता रकमको प्राथमिकताका क्षेत्रमा परिचालन नभई अन्यत्र खर्च हुने गरेको पाइएको थियो । महालेखा परीक्षकको ५६औं प्रतिवेदनले समेत एकद्वार प्रणालीको अभावमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोग परिचालनमा अपारदर्शिता बढेको औंल्याएको थियो । एकद्वार प्रणली नहुँदा अर्थ मन्त्रालयको स्वीकृति र परिषद्सँग सम्झौता गरेभन्दा बढी रकम प्राप्त गरी सोझै खर्च गर्ने प्रवृत्ति हाबी भएको पाइएको थियो । यसअघि परिषद्बाहेक पनि विभिन्न मन्त्रालयमार्फत कार्यक्रम स्वीकृत गराउन सकिने व्यवस्था थियो । परिषद्का अनुसार यसअघि एनजीओ÷आईएनजीओले परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग, स्वास्थ्य मन्त्रालयलगायतका निकायबाट कार्यक्रम स्वीकृत गराई सञ्चालन गर्ने गरेको थियो । सरकारले एकद्वार प्रणाली लागू गरेसँगै एनजीओ तथा आईएनजीओका कार्यक्रम अनिवार्य रूपमा परिषद्बाट स्वीकृति लिनुपर्ने भएको छ । विभिन्न निकायबाट कार्यक्रम स्वीकृति गराउने गर्दा आईएनजीओको एकीकृत तथ्यांक सरकारसँग छैन । यो समाचार आजको राजधानी दैनिकबाट लिइएको हो ।

