सेनामा किन बढ्दै छ शक्तिराष्ट्रको चासो?
काठमाडौंः चिनियाँ राष्ट्रपति सी जिनपिङले असोज अन्तिम साता नेपाल भ्रमणका बेला नेपालमा अमेरिका र पश्चिमा मुलुकहरूले चीनविरोधी गतिविधि गरिरहेको संकेत गर्दै त्यस्ताको हड्डी नै धुलोपीठो पारिदिने चेतावनी दिएका थिए । उनी बेइजिङ फर्केको दुई साताभित्र उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको चीन भ्रमणमा चीनले नेपाली सेनालाई साढे दुई अर्ब रुपियाँबराबरको सैन्य सामग्री हस्तान्तरण गर्ने सम्झौतामा हस्ताक्षर भयो ।
पोखरेलको भ्रमणका बेला मानवीय सहायता तथा प्रकोप व्यवस्थापन, सेनाको पहलमा स्थापना हुन लागेको प्रतिरक्षा विश्वविद्यालयमा चिनियाँ सहयोगलगायत विषयमा छलफल भयो । राष्ट्रपति सीको भ्रमणकै वेला प्रतिरक्षा विश्वविद्यालयको पूर्वाधार निर्माणसम्बन्धी सम्झौता गर्ने तयारी भए पनि अन्तिममा नेपाल एजेन्डाबाट हटाएको थियो ।
अमेरिकी रक्षा सहकायमन्त्री रेन्डल जी स्क्राइभरसँग रक्षामन्त्री पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि प्रतिरक्षा विश्वविद्यालय, मानवीय तथा प्रकोप व्यवस्थापन, द्विपक्षीय सैन्य अभ्यास र तालिमलगायत विषयमा छलफल गरे । सहायकमन्त्री स्क्राइभरले २० मंसिरमा कूटनीतिक संवाददाताहरूसँग भनेका छन्, ‘इन्डो–प्यासिफिक (हिन्द–प्रशान्त) मामिला हेर्ने अमेरिकी रक्षा सहायकमन्त्री रेन्डल जी स्क्राइभरले २० मंसिर बिहान कमलादीस्थित अमेरिकी राजदूत निवास कमलकुञ्जमा भने, ‘हामी नेपालसँग प्रतिरक्षा साझेदारी बढाउन चाहन्छौँ । सेनाको आधुनिकीकरणमा सघाउँछौँ । विश्वविद्यालयको भौतिक पूर्वाधार र कोर्स छनोट, पाठ्यक्रम निर्माणमा सघाउँछौँ । नेपाली सेनालाई चाहिएको सहयोग गर्छौँ ।’
नेपालमा अमेरिका र चीनको चासो पछिल्लोपटक सुरक्षा क्षेत्रमा बढिरहेको छ । उनीहरूको प्राथमिकतामा नेपाली सेना स्पष्ट देखिएको छ । सेनालाई अमेरिकाको दुईवटा स्काइ ट्रक २९ मंसिरमा प्राप्त हुँदै छ । शान्ति स्थापक सेनाले प्रयोग गर्ने गरी अमेरिकाबाट करिब १० हजार थान एम १६ हतियार किन्ने प्रक्रिया अघि बढेको छ । सैनिक स्रोतका अनुसार अहिले एलसी खोल्ने प्रक्रियामा छ ।
सेनामा किन बढ्दै छ चासो ?
नेपालमा बलियो सरकार रहे पनि सत्तारुढ नेकपाभित्रको आन्तरिक शक्ति सन्तुलन, प्रतिपक्षी कांग्रेसको भूमिका आदिका आधारमा छिमेकी र शक्ति राष्ट्र नेपालको राजनीतिक स्थिरताप्रति अझै विश्वस्त भइनसकेको देखिन्छ । दलहरूको अस्थिर भूमिकाका कारण पनि बाह्य शक्तिले सेनासँग हिमचिम बढाएको हुन सक्ने जानकार बताउँछन् । ‘यही कारण नेपालमा भारत, अमेरिका र चीनको प्रत्यक्ष सुरक्षा चासो प्रकट भएको हो,’ नेपाली सेनाका उच्च अधिकारीले भने, ‘नेपालसँग १९५० को सन्धि चीनको बढ्दो प्रभाव विस्तारका कारण भारतको प्रयास र हतारोमा भएको हामीले बिर्सनुहुँदैन । अहिले त्यही रफ्तारमा नेपालमा चीनको प्रभाव बढेकाले भारत र अमेरिकाको चासो थपिएको छ, र अमेरिका बढी सक्रिय छ ।’
नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्धले दुई देशको कूटनीति सञ्चालनमा प्रभाव पारेकाले पनि भारत र अमेरिकाको चासो बढेको ती जानकारको भनाइ छ । नेपाल–भारत सम्बन्धबारे जानकार एक सैनिक अधिकारीको विश्लेषण छ, अहिले चीनसँग रणनीतिक सम्वाद बढेको छ । भुटानको डोक्लाममा आएजस्तै अवस्था नेपालमा आउने सम्भावना छ र त्यो अवस्था नेपालले सामना गर्न सक्दैन भन्ने बुझाइ भारतको रणनीतिक मामिला सञ्चालकमा छ ।’ जानकारहरूको भनाइमा नेपालमा चीन र अमेरिकाको परस्परविरोधी रुचि (कन्फिल्क्टिङ इन्ट्रेस्ट) छ भने भारत र चीनको प्रतिस्पर्धी रुचि (कम्पिटिङ इन्ट्रेस्ट) छ । सेनालाई भारत, चीन र अमेरिका तीनै शक्तिले बढी विश्वास गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको मृत्यु
झापाः श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको ज्यान गएको छ । ज्यान गुमाउनेमा कमल गाउँपालिका–७ बस्ने ५३ वर्षीया ज्ञानदेवी धिमाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार कमल गाउँपालिका–७ बाह्रघरे चोकस्थित पाडाजुंगी–गौरीगञ्ज भित्री सडक खण्डमा शनिबार सो दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ११ प १२२९ नम्बरको मोटरसाइकल तुलसीराम धिमालले कुदाइरहेको अवस्थामा पछाडि सवार उनकी श्रीमती ज्ञानदेवी सडकमा लडेर गम्भीर घाइते भएकी थिइन् । घाइते उनलाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक पुर्याएलगतै डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । (फाइल फोटो)
पाँचखालस्थित ‘विशेष आर्थिक क्षेत्र’को अर्थमन्त्रीद्वारा अवलोकन
काभ्रेः जिल्लाको पाँचखाल नगरपालिका वडा न ७ र ८ मा निर्माण भइरहेको विशेष आर्थिक क्षेत्र (सेज) को अवलोकन गर्न अर्थमन्त्री डा. युवराज खतिवडा पाँचखाल आएका छन् । शनिवार अवलोकन गर्न आएको अर्थमन्त्री खतिवडाले चाँडो काम सकेर सञ्चालनमा ल्याउन सरकार लागि परेको बताउँदै रकम अभावका कारण काम नरोकिने प्रतिवद्धता जनाएका थिए । मन्त्री खतिवडाले भौतिक संरचना निर्माणको जिम्मा पाएको कम्पनिलाई निर्देशन दिँदै भने, ‘रकमका कारण काम नरोक्नुहोस् ।’ रकम निकासामा समस्या भए आफूलाई जानकारी गराउन निर्देशन दिनुहुँदै राम्रो काम गर्न र समय मै सक्न आग्रह गरेका थिए । मन्त्री खतिवडाले निर्माणाधिन प्रशासनिक भवन, पर्खाल तथा जग्गा लगायतका विषयमा जानकारी लिनुभएको नेकपाका स्थानीय नेता कञ्चन अधिकारीले जानकारी दिए । अर्थमन्त्री खतिवडाले पाँचखालमा बन्न लागेको मदन भण्डारी विश्वबिद्यालय, अरनिको राजमार्ग विस्तार, औद्योगिक क्षेत्र निर्माण लगायतका काम चाँडै अगाडि बढाउने बताएका थिए । सेजको काम भइरहेको उक्त क्षेत्रका पर्खालको काम सकिने लागेको छ भने भवनको मुख्य संरचनाको काम भईरहेको छ । करिब १६ करोडको लागतमा सेजको पर्खाल र भवन बनिरहेको आयोजनाले जानकारी दिएको छ । अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा लगायतले अवलोकन गरेका थिए । पाँचखाल सेजको अवलोकन पश्चात अर्थमन्त्री खतिवडा अरनिको राजमार्ग अवलोकन गर्न तातोपानी गएका थिए ।
कास्की र दाङमा सहानुभूतिका कारण नेकपाका उम्मेदवार विजयी भएः सभापति देउवा
भैरहवाः नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही हुनुपर्ने बताएका छन् । उनले अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने दावी गरे । नेपाली काँग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेलालाई शनिबार भैरहवामा सम्बोधन गर्दै देउवाले पार्टीमा बसिरहने र अन्तरघात पनि गरिरहनेलाई कारवाहीको आवश्यकता रहेकोमा जोड दिए । ‘अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता, कार्यकर्तालाई कसैले कुनै हालतमा बचाउनु हुँदैन, कारवाही नभएसम्म पार्टी हार्दै जान्छ’ उनले भने । देउवाले पार्टीभित्र अन्तरघात भएसम्म काँग्रेसले चुनाव जित्ने सम्भावना नरहेको दावी गरे । हालै सम्पन्न उपनिर्वाचनमा कांग्रेसले विशेष गरी धरानमा कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएको देउवाले बताए । ‘विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु ठूलो सफलता हो’ उनले भने । कास्की र दाङमा सहानुभूतिका कारण पनि नेकपाका महिला उम्मेदवारहरु निर्वाचित भएको उनको भनाइ थियो । सरकारको मुख ताकेर मात्र नहुने भएकोले नेपाली काँग्रेस नगर समिति सिद्धार्थनगरले विपन्न नागरिकहरुलाई साईकल तथा ह्वील चियर वितरण गरेर रचनात्मक कामको सुरुवात गरेको भन्दै देउवाले प्रशंसा गरे । काँग्रेस सिद्धार्थनगर समितिको कार्यले अन्य जिल्ला तथा नगरका समितिहरुलाई पनि रचनात्मक कार्य गर्ने प्रेरणा मिल्ने उनको भनाइ छ । कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले प्रजातन्त्रको दियोलाई कसैले निभाउन नसक्ने बताए । उनले सरकारले नागरिकको अधिकार खोस्न खोजेको आरोप लगाए ।
राष्ट्रसेवकले जागिरे मानसिकताबाट माथि उठेर काम गर्नुपर्छः मन्त्री अर्याल
पोखराः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको मूलद्वारदेखि नै झल्किनुपर्ने बताएकी छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा कर्मचारीलाई निर्देशन दिँदै उनले आफ्नो व्यवस्थापकीय क्षमता कार्यालय प्रवेशसँगै झल्किने गरी काम गर्न आग्रह गरिन् । राष्ट्रसेवक कर्मचारीले जागिरे मानसिकताबाट माथि उठेर काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री अर्यालले उच्च मनस्थिति र सेवा भावनाका साथ कार्य क्षेत्रमा लाग्न अनुरोध गरिन् । मन्त्रालयले पहिलोपटक राष्ट्रिय भूमि नीति निर्माण गरेको बताउँदै उनले त्यसका आधारमा सरकारले अब एकीकृत भूमि ऐन बनाउने तयारी गरिरहेको जानकारी दिइन् । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणका सचिव सूर्यप्रसाद गौतमले कर्मचारीले जनतालाई सर्वसुलभ तरिकाले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । विभागका महानिर्देशक कृष्णप्रसाद ज्ञवाली, नापी विभागका महानिर्देशक प्रकाश जोशी, गुठी प्रशासक नारायण चौधरी, कास्की जिल्लाका प्रजिअ रमेशकुमार केसीले आधुनिक प्रविधियुक्त सेवालाई प्रभावकारी बनाइँदै लगिएको जानकारी दिए ।
नेपाल प्रहरीका ८ एसपीको सरुवा, को कहाँ पुगे? (सूचीसहित)
काठमाडौंः नेपाल प्रहरीका ८ प्रहरी उपरीक्षकको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आठजना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी उपरीक्षक (एसपी) राजकुमार बैदवारलाई पुलिस एकेडेमिमा ल्याई एकेडेमीका एसपी रविन्द्र रेग्मीलाई धादिङ सरुवा गरेको छ । त्यस्तै सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई कानुन शाखामा सरुवा गर्दै विश्वमणि पोखरेललाई सर्लाही पठाइएको छ । काभ्रेका एसपी जयराज सापकोटालाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर सरुवा गरी ट्राफिक महाशाखाका एसपी रवि पौडेललाई काभ्रे पठाइएको छ । स्याङ्जाका एसपी राजकुमार लम्साल हेर्डक्वाटर तानिएका छन् भने प्रहरी मुख्यालयको कानुन शाखाका एसपी जनार्दन जिसिलाई स्याङ्जा पुर्याइएको छ । को कहाँ पुगे?
विभाग गठनदेखि पार्टीका सबै सांगठनिक संरचना पेलेरै गर्ने देउवाको तयारी
काठमाडौंः कांग्रेस सभापति शेरबहादुर देउवा विभाग गठनदेखि पार्टीका सबै सांगठनिक संरचनालाई पूर्णता दिने तयारीमा जुटेका छन्। कार्यकाल सकिन तीन महिनामात्र बाँकी रहँदा सभापति देउवा विभाग गठनदेखि भ्रातृसंस्था विस्तारतर्फ केन्द्रित भएका छन्। ‘चाँडै पार्टीको सबै सांगठनिक संरचनाले पूर्णता पाउँछन्’, कांग्रेस सहमहामन्त्री डा।प्रकाशशरण महतले भने, ‘केही ढिलाई भएकै हो, सभापतिले विभाग गठनलाई प्राथमिकता दिनुभएको छ, अब चाँडै गठन हुन्छन्।’ नेताहरूबीच पटक–पटक छलफल भए पनि भागवण्डा नमिल्दा विभाग गठन हुन सकेको छैन। सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेतासँग विभाग र नेविसंघ गठनका लागि लामो समयदेखि सहमतिको प्रयास गरे पनि कुरा मिलेको छैन। देउवा निकट एक नेताले भने, ‘जति छलफल गरे पनि सहमति नहुने देखिएपछि सभापति देउवा पार्टीको सबै सांगठनिक संरचनालाई पूर्णता दिने निष्कर्षमा पुग्नुभएको हो।’ ति नेताका अनुसार देउवाले एक साताभित्रै केही महत्त्वपूर्ण विभाग गठनको तयारी गरेका छन्। सभापति देउवाले विभाग गठन गर्नेबारे आफूनिकट नेतासँग परामर्शमा छन्। २६ मंसिरमा केन्द्रीय समितिको बैठक बस्दैछ। केन्द्रीय समिति बैठक बस्नुअघि सभापति देउवाले पदाधिकारी बैठक बोलाउने तयारी गरेका छन्। पदाधिकारी बैठकमा विभाग गठनदेखि भ्रातृसंस्थाका बारेमा सहमतिको प्रयास गर्ने देउवाको योजना छ। नौ महिनादेखि नेविसंघ विघटित अवस्थामा छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकबाट लिइएको हो ।
यी उम्मेदवार हुन्, जसले आफैंलाई मत दिएनन्
काठमाडौंः निर्वाचनमा उम्मेदवार हुन एक जना प्रस्तावक र एक जना समर्थक हुनुपर्छ। यसले घरपरिवारबाहेक आफूसमेत उम्मेदवारलाई कम्तीमा तीन जनाको साथ छ भन्ने बुझिन्छ। तर उपनिर्वाचनमा २५ जना यस्ता उम्मेदवार भेटिए, जसले आफैंलाई मत दिएनन् । उनीहरूले शून्य मत ल्याए । शून्य मत ल्याउनेमध्ये २४ जना स्वतन्त्र र एक जना दलका उम्मेदवार छन् । ११ जनाले एक मत मात्रै ल्याएका छन् । ९ जनाले २ र त्यति नै संख्याले ३ मत पाए । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि मंसिर १४ मा भएको उपनिर्वाचनमा ३ सय ३७ उम्मेदवार थिए । त्यसको एक तिहाइ हिस्सा अर्थात् १ सय १२ जना उम्मेदवारले १० मत कटाउन सकेका छैनन् । त्यसमध्ये अधिकांश स्वतन्त्र उम्मेदवार छन् । प्रतिनिधिसभाको कास्की–२ निर्वाचन क्षेत्रका २१ उम्मेदवारमा ६ जनाले १० मत कटाउन सकेका छैनन् । ती सबै स्वतन्त्र उम्मेदवार हुन् । प्रदेशसभाको भक्तपुर १ (१) का १९ उम्मेदवारमध्ये ११ जनाले पाएको मत १० भित्र छ । ती ८ स्वतन्त्र र २ जना दलका उम्मेदवार छन् । यहाँ नेपाली कांग्रेस (बीपी) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवारले क्रमशः २ र ५ मत ल्याएका छन् । प्रदेशसभाको बाग्लुङ २ (२) का १० उम्मेदवारमध्ये एक जनाले १० मत कटाउन सकेका छैनन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवारले ८ मत ल्याएका छन् । दाङ ३ (२) का १४ उम्मेदवारमध्ये तीन जना १० मत नकटाउने छन् । त्यसमा २ स्वतन्त्र र एक नेपाली कांग्रेस (बीपी) का उम्मेदवार छन् । सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि भएको चुनावमा २३ उम्मेदवार थिए । तीमध्ये ८ जनाको मत १० मुनि छ । ती सबै स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरू हुन् । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लाग प्रतिस्पर्धी २० जनामध्ये ९ जनाले १० मत कटाउन सकेनन् । संखुवासभाको मकालु र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदको प्रतिस्पर्धामा सहभागी सबै उम्मेदवारले १० मत कटाएका छन् । मकालुमा ७ जना प्रतिस्पर्धी सबै दलबाटै थिए । फाल्गुनानन्दमा पनि स्वतन्त्र उम्मेदवारी परेको थिएन । ८ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा थिए । सबैभन्दा रोचक महोत्तरीको बलवा नगरपालिका–८ को वडाध्यक्ष पदका लागि भएको चुनावमा देखिएको छ । त्यहाँ १२ जना उम्मेदवार थिए । त्यसमध्ये निर्वाचितसहित तीन जना उम्मेदवारले मात्रै १० मत कटाएका छन् । ५ जनाले शून्य मत ल्याएका छन् । शून्य मत ल्याउने सबै स्वतन्त्र उम्मेदवार हुन् । कपिलवस्तुको शिवराज नगरपालिका–१० मा वडाध्यक्ष लागि भएको चुनावी प्रतिस्पर्धामा सहभागी १२ जनामध्ये ५ जनाले शून्य मत ल्याएका छन् । शून्य मत ल्याउनेमा राप्रपा (संयुक्त) का उम्मेदवार नूर मोहम्मद मनिहार पनि छन् । शून्य मत ल्याएका स्वतन्त्र उम्मेदवार मोहम्मद रफिक मनिहारले नेकपाका उम्मेदवार अदालत मनिहारलाई सहयोग पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताए । ‘पार्टीका उम्मेदवारलाई निर्वाचनमा पाउने गाडी, एजेन्टलगायत सुविधामा सहयोग पुगोस् भनेर मात्रै उम्मेदवारी दिएको हुँ,’ कान्तिपुरसँगको फोन सम्पर्कमा उनले भने, ‘मलाई उम्मेदवार बन्नु थिएन । पार्टीले भनेपछि बनें, त्यहीअनुसार पार्टीको उम्मेदवारलाई सहयोग गरें ।’ उनी मात्रै होइन, त्यहाँ प्रमुख दलका उम्मेदवार सबैले आफ्ना सहयोगी उम्मेदवारलाई चुनावमा उतारेका थिए । कारण थियो– प्रचारप्रसारका लागि सवारीसाधन, निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि र गणना प्रतिनिधि थपिनु । शून्य मत ल्याएका शिवलाल यादवले कांग्रेसका उम्मेदवारलाई समर्थन जनाएको बताए । अर्का शून्य मत ल्याउने उम्मेदवार शिवभक्त ठाकुर (नाउ) ले राजपाका उम्मेदवारलाई सघाएको कान्तिपुरलाई बताए । त्यहाँ राजपाका उम्मेदवार विजयी भए । ‘राजपालाई समर्थन जनाउँछु भनिसकेपछि घात त गर्न भएन,’ उनले भने, ‘त्यही भएर आफ्नो भोट पनि आफूलाई नदिएको हुँ ।’ उपनिर्वाचनमा खटिएका एक जना अधिकृतले उम्मेदवारी दिँदाकै बेला कतिपय स्वतन्त्र उम्मेदवार बलियो मानिएका उम्मेदवारको साथमै आएर उम्मेदवारी दिएको बताए । ‘उसको काम भनेकै जसको सहयोगमा उम्मेदवारी दिएको हो, उसका लागि खटिनु,’ उनले भने, ‘उनीहरू आफूले पाएको चिह्नमा मत नपरोस् भनेर बढी सतर्क हुँदा रहेछन् ।’ उनका अनुसार अर्को थरी बार्गेनिङका लागि मात्रै उम्मेदवारी दिन्छन् । तिनले मुख्य प्रतिस्पर्धामा रहेका उम्मेदवारसँग आर्थिक लाभ लिएर सघाउने गर्छन् । उम्मेदवार भएपछि कानुनले दिएको सेवा–सुविधा र व्यवहार सबैलाई एक जस्तै गर्नुपर्ने बाध्यताले निर्वाचन व्यवस्थापनमा कतिपय चुनौती आउने गरेको उनले सुनाए । निर्वाचन आचारसंहिताविपरीतको सवारीसाधन र खर्च, मतदान केन्द्र र गणना स्थलमा प्रतिनिधिको भीड चाहेर पनि नियन्त्रण गर्न कठिनाइ हुने गरेको उनले बताए । अर्कातिर धेरै चिह्न छापिएर मतपत्र भद्दा हुनु, मतदाता झुक्किनु र बदर मत बढ्नु त्यसले पार्ने नकारात्मक प्रभाव हुन् । यो खबर आजको कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन्।
सञ्चारमन्त्री भन्छन्, ‘यो सरकार देशभक्तहरुको हो’
काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार देशभक्तहरुको भएको बताएका छन् । उनले वर्तमान सरकार ‘हुतिहारा, कायर र बोल्न नसक्ने’ हरुको नभएको जिकिर गरे । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोग तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय कार्यान्वयन एकाइ (शिक्षा)मार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ चौबासमा नवनिर्मित सेतीदेवी माध्यमिक विद्यालय भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा उनले वर्तमान सरकार देशभक्त, न्यायप्रेमी जनताको सरकार भएको बताए । मन्त्री बाँस्कोटाले भने, “हामी कसैको एक इञ्च पनि जमीन मिच्न जाँदैनौँ, हाम्रो धर्तीको जमीन पनि कसैलाई दिँदैनौँ, बुझाउँदैनौँ, यो सरकार देशभक्त र न्यायप्रेमी जनताको सरकार हो ।” सरकारले कसैलाई अन्यायपूर्ण व्यवहार नगर्ने बताउँदै मन्त्री बाँस्कोटाले भने, “नेपालीलाई कसैले अपमान र धक्का पुग्ने काम गर्छ भने सहने छैनौँ ।” उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा अघि बढ्न राष्ट्रिय सहमति प्राप्त भइसकेकाले कूटनीतिक र राजनीतिक प्रयासलाई पहिलो प्राथमिकतामा राखिने बताए । मन्त्री बाँस्कोटाले सुस्ताको विषय पनि बाँकी रहेकाले सरकारले क्रमैसँग कूटनीतिक र राजनीतिक प्रयास जारी राख्ने दोहो-याए । उनले भने, “सुस्ताको विषय पनि बाँकी नै छ, यी समस्या समाधान गर्न समय लाग्छ ।” कालापानी, लिपुलेक र लिम्पियाधुराका देखिएका समस्याको समाधान कूटनीतिक र राजनैतिक तवरबाट हुने उनले प्रष्ट पारे । उनले जनताको चिन्ता र चासोप्रति सरकारको एक्यबद्धता रहेको बताए । “हाम्रो देश कसैको उपनिवेश भएन, नेपाल कसैसँग हारेन र कसैको दास बनेन”, उनले भने । मन्त्री बाँस्कोटाले आजै एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोग तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय कार्यान्वयन एकाइ (शिक्षा)मार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ सिम्थलीमा नवनिर्मित अरुणोदय माध्यमिक विद्यालयको भवन उद्घाटन गरे । सो अवसरमा उनले वर्तमान सरकारको प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्र भएको दावी गरे । उनले भने, “सरकार शिक्षा र स्वास्थ्यमा नीतिगत परिवर्तनको प्रयासमा छ, यसपछि सामुदायिक विद्यालयको गुणस्तर वृद्धि हुँदै जानेछ ।” उत्पादन प्रणालीलाई शिक्षासँग जोड्नुपर्ने उहाँले धारणा व्यक्त गरे । कार्यक्रममा ३ नं प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरलगायतले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा स्थानीयको तहको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका थिए ।
‘कर्मचारीतन्त्रलाई परिवर्तन गर्न नसक्दा हात्ती छिर्यो, पुच्छर अड्क्यो भनेजस्तो भएको छ’
कैलालीः नेकपा अध्यक्ष प्रचण्डले व्यवस्था फेरिए पनि कर्मचारीतन्त्र पुरानै अवस्थामा रहेकाले संघीय व्यवस्थामा चुनौती देखापरेको बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलनमा शुक्रबार उनले कर्मचारीतन्त्र फेरबेदल गर्न नसक्नु कमजोरी भएको बताए । ‘खटाएको ठाउँमा जान नमान्ने कर्मचारीकै कारण संघीयता कार्यान्वयनमा जटिलता थपिएको छ,’ उनले भने, ‘कर्मचारीतन्त्रलाई परिवर्तन गर्न नसक्दा हात्ती छिर्यो पुच्छर अडयो भनेजस्तो भएको छ ।’ नेकपा अध्यक्ष प्रचण्डले विभिन्न बहाना बनाएर कर्मचारीले कामै अगाडि बढ्न नदिने गरेको बताए। ‘गणतन्त्रपछि सुरुमा प्रधानमन्त्री भएको मैले नै कर्मचारीतन्त्र फेरबदल गर्न सकिनँ, अहिले त झन् जटिल भएको देख्छु,’ उनले भने, ‘पुरानै व्यवस्थामा काम गरेका मुख्य सचिव, सचिव र उपसचिव भएपछि कसरी काम हुनु?’ कर्मचारीले विभिन्न बहाना बनाएर नेताको ‘दिमाग खराब’ गर्ने गरेको उनको टिप्पणी थियो। कर्मचारीले जित्ने र नेताले हार्ने अवस्था आउन नहुने उनको भनाइ थियो। ‘हरेक राजनीतिक परिवर्तनलाई कर्मचारीतन्त्रले नै असफल पार्ने गरेको छ,’ प्रचण्डले भने, ‘अहिले पनि पुरानै शैली र सोचका कर्मचारीकै कारण नेतृत्वलाई सोचेअनुरूपका काम गर्न असजिलो छ।’ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले धनगढी–गेटा औद्योगिक करिडोरको प्रक्रिया अघि बढेको जानकारी दिए। उनले ५ वर्षभित्र सबै पालिकामा उद्योग ग्राम स्थापना गर्ने पनि बताए। प्रदेश सरकारले प्रदेशमा वित्तीय पहुँचमा सुधार ल्याउने उपायको खोजी गर्न भन्दै वित्तीय सम्मेलनको आयोजना गरेको हो। आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले वित्तीय सूचकांकमा पछाडि रहेको प्रदेशका लागि संघीय सरकारले गरेको राजस्व बाँडफाँट न्यायिक नरहेको बताए। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमनराज अर्यालले औद्योगिक क्षेत्रमा कर्जा प्रवाह न्यून रहेको औंल्याए। प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सांसद रणबहादुर रावलले सुदूरपश्चिम स्रोतले समृद्ध हुँदाहुँदै पनि सरकारकै कारण २ वर्षको अवधिमा ठोस परिवर्तन हुन नसकेको टिप्पणी गरे।
अर्को महिनादेखि सञ्चालन गरिँदै ढल्केवर सबस्टेसन
काठमाडौंः धनुषामा निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । निर्माण सम्पन्न हुने चरणमा पुगेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न यो सब स्टेसन अपरिहार्य मानिँदै आएको छ । मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरण गर्न र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको यो सबस्टेसन जीआईएस प्रविधियुक्त तथा स्वचालित प्रकृतिको बन्दै छ । सबस्टेसनको निर्माणको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सबस्टेसन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात तथा निर्यातका लागि पनि पूर्वाधार तयार हुने छ । कुल ९४५ केभीए क्षमताका ट्रान्सफर्मर जडित उक्त सबस्टेसनले २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिने छ । वर्षायाममा बढी भएको ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सीधै निर्यात गर्न सकिने छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदमा आवश्यक परेमा न्यूनतम ६०० मेगावाट आयात गर्न र वर्षात्मा बढी हुने विद्युत् भारत पठाएर इनर्जी बैङ्किङ गर्नसमेत बाटो खुल्ने बताए । उनले भने, देशभित्रको आन्तरिक विद्युत् वितरण सुदृढ गर्न र नेपाल भारतबीच भएको इनर्जी बैङ्किङ कार्यान्वयन गर्न यो सबस्टेसनले सहज बनाउने छ । दुई मुलुकबीच इनर्जी बैङ्किङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ । ढल्केवर–मुजफ्फरपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइने २२० केभीमा सञ्चालनमा छ । ढल्केवरमा ४०० केभीको सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४०० केभीमा सञ्चालन हुने छ । आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई दोलखाको गोङ्गरबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ती हुँदै ढल्केबर ल्याउने योजना छ । यसका लागि आयोजनाले गोङ्गर–खिम्ती प्रसारण लाइन निर्माण अन्तिम चरणमा पु¥याएको छ । खिम्ती–ढल्केवर प्रसारण लाइन यसअघि नै सञ्चालनमा आइसकेको छ । सबस्टेसनको कन्ट्रोल रुम रहने भवनसहित अन्य उपकरण रहने भौतिक संरचनाको निर्माण अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ । सबस्टेसनमा रहने तीनवटा ट्रान्सफर्मरमध्ये एउटा निर्माण स्थलमा आइसकेको छ । बाँकी दुईवटा एक हप्ताभित्र आयोजना स्थलमा ल्याइसकिने प्राधिकरणको भनाइ छ । यसैगरी ८० एमभीएआर क्षमताको रियाक्टरलगायतका उपकरण जडानको धमाधम भइरहेको छ । नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब दुई अर्ब रुपियाँ लगानीमा निर्माणाधीन ४००÷२२० केभीको ढल्केवर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । निर्देशक कुलमान घिसिङले मङ्गलबार निर्माण कार्यको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा सम्पन्न गर्न आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।
दाजुलाई गाडीबाट उतारेर बालिकालाई बलात्कार गर्ने चालक पक्राउ
गुल्मीः स्कुल हिँडेकी १० वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूरू क्षेत्र गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय भोजबहादुर सार्की रहेको प्रहरीले जनाएको छ । गाडी चढेर आफ्ना दाजुसँगै स्कुल जाँदै गर्दै बालिकाका दाजुलाई गाडीबाट सडकमा उतारेर चालकले बालिका बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए । बहिनीलाई चालकले सँगै लगेपछि दाजुले परिवारलाई खबर गरेका थिए ।
रुपन्देहीमा धारिलो हतियार प्रहार गरी छोराद्धारा आफ्नै आमाबुवाको हत्या
बुटवलः रुपन्देहीको ओमसतियामा छोराले आफ्नै आमाबुवाको हत्या गरेको प्रहरीले जनाएको छ । ओमसतिया गाउँपालिका, ४ का गोरखबहादुरले ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, एसपी हेम थापाका अनुसार हतियार प्रहारबाट रामनारायणको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो । गोरखबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदेश सरकारले बनाएको कानुनविरुद्ध १४ मुद्दा
विराटनगरः प्रदेश १ मा प्रदेश सरकारले बनाएको कानुनविरुद्ध १४ मुद्दा परेका छन् । आर्थिक वर्ष २०७५/७६मा प्रदेश सरकारले निर्माण गरेको प्रदेश कानुनविरुद्ध १४ वटा मुद्दा उच्च अदालत विराटनगर र सर्वोच्च अदालतमा परेको हो । प्रदेश १का मुख्य न्यायधिवक्ता चुडामणि आचार्यले शुक्रबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीु समक्ष पेश गरेको आर्थिक वर्ष २०७५/७६को वार्षिक प्रतिवेदनमा प्रदेश कानुनविरुद्ध मुद्दा परेको उल्लेख गरिएको छ । संविधानमा गरिएको व्यवस्था अनुसार बुझाएको प्रतिवेदनमा संसदीय कानुनसँग सम्बन्धित काम कारवाहीमा प्रदेश सरकार विरुद्ध १३ र स्थानीय तहका कानुनसँग सम्बन्धित काम कारवाहीमा प्रदेश सरकारलाई समेत विपक्षी बनाई ९ वटा मुद्दा परेको उल्लेख गरिएको छ । मुख्य न्यायधिवक्ताको काम,कर्तव्य, अधिकार र सेवाका अन्तर्गत सम्बन्धित ऐन २०७५को दफा १२ बमोजिम मुख्य न्यायधिवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेको कामकाजको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गर्नुपर्ने प्रावधान अनुसार शुक्रबार पेश गरिएको हो । मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यका अनुसार प्रतिवेदनमा प्रदेश सरकार पक्ष र विपक्ष भइ चलेको मुद्दा सम्बन्धी वितरण , सरकारवादी भई चल्ने मुद्दामा भविष्यमा गरिनुपर्ने सुधार तथा आफ्नो मातहतका कार्यालयको भौतिक स्थिति ,कार्यबोझ , काम कारबाहीको स्थिति तथा सिफारिस र सुझावहरु समेत उल्लेख गरिएको जानकारी दिए । आर्थिक वर्षको तीन महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्नेमा ५ महिना पछि पेश गरिएको हो। मुख्य न्यायधिवक्ता चुडामणि आचार्यका अनुसार आर्थिक वर्ष २०७५/७६मा प्रदेश सरकार प्रत्यार्थी भई दायर भएका १२ वटा मुदाहरु उच्च अदालत विराटनगबा फैसला भएका छन्। हाल सर्वोच्च अदालतमा ७, उच्च अदालतमा विराटनगरमा १४ , उच्च अदालत विराटनगरमा, ओखलढुगां इजलासमा ३र उच्च अदालत विराटनर ,एलाम इजदासमा १बाट मुद्दाहरु चालु अवस्थामा रहेको जानकारी दिए ।
समृद्धिका लागि पाँच आधार तय गरिएको छः उपप्रम पोखरेल
ललितपुरः उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास गरेर अघि बढ्न सरकार क्रियाशील रहेको बताएका छन् । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही नमूना उच्च मावि भवनको हस्तान्तरण कार्यक्रममा उनले सरकारले समृद्धिका लागि यी पाँच आधार तय गरेको बताए । सरकारी स्वामित्वका उद्योगहरु धराशायी हुनाका कारण खोजी गरिने बताउँदै उनले भने, ‘ती उद्योग कसरी धराशायी भए र आगामी दिनमा कसरी अघि बढ्ने भनी आत्मसमीक्षा हुनेछ ।’ राजनीतिक विचारका आधारमा फरक धारणा राख्नेहरु पनि विकासका लागि एकजुट भएर लाग्नुपर्नेमा उपप्रधानमन्त्री पोखरेलको जोड छ । ‘‘देशमा ७० प्राविधिक शिक्षा र ३० प्रतिशत सामाजिक शिक्षा हुने गरी योजना बनाइएको छ’, उनले भने, ‘एक्काइसौँ शताब्दीमा व्यावसायिक र व्यावहारिक शिक्षाको आवश्यकता छ ।’ उपप्रधानमन्त्री पोखरेलले विद्यालय शिक्षा सुधारका लागि स्थानीय तह, जनप्रतिनिधि र स्थानीयवासी मिलेर लाग्नुपर्ने औँल्याए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले भूकम्पका समयमा क्षतिग्रस्त भएका झण्डै सात हजार पाँच सय विद्यालयको पुनर्निर्माण भएको बताए । तीमध्ये पाँच हजार ३०० विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने अरू विद्यालयका भवन निर्माण भइरहेका छन् । सांसद् नवराज सिलवालर प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेलले मुलुकको समृद्धिका लागि सरकारले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्दर्ने बताए । गोदावरी नगरपालिकाका उपप्रमुख मुना कुँवरले विसं २०१२ मा स्थापना भएको यस विद्यालय समुदायिक विद्यालयतर्फ जिल्लाको पहिलो नमूना विद्यालय भएको उल्लेख गरे । भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एशियाली विकास बैंकको लगानीमा विद्यालयको भवन निर्माण भएको हो । भवन निर्माणको लागत नौ करोड ७० लाख रहेको छ ।
महिला हिंसा अन्त्यका लागि दिर्घकालिन योजना बनाउँदै सरकार
काठमाडौंः सरकारले महिलामाथि हुने हिंसा अन्त्यका लागि दिर्घकालिन योजना बनाउने जनाएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका कार्यक्रमबारे जानकारी दिन आज महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले महिलामाथि हिंसा अन्त्य गर्नका लागि दिर्घकालिन योजना बनाइएर बर्षभरिनै अभियाना चलाइने जानकारी दिए । पत्रकार सम्मेलनमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आगामी मंसिर २२ गते काठमाडौंमा वृहत कार्यक्रम गरिने जानकारी गराइएको थियो । नेपाल प्रहरीका अनुसार प्रदेश नम्बर १ मा सबैभन्दा बढी हिंसाका घटना भएको जानकारी दिँदै त्यस्ता हिंसाका घटना सँधैका लागि अन्त्य गर्न सबै प्रदेश र स्थानीय सरकारले प्रतिवद्धता जनाइसकेको पनि जानकारी दिइएको थियो ।

