नेता पौडेलले भने– ओली सरकार कुहिरोको कागझैं भएको छ
काभ्रेपलाञ्चोक, पुष १० । नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले गति लिन नसकेको आरोप लगाएका छन् ।
अरनिको मिडिया नेटवर्कद्वारा सञ्चालित रेडियो अरनिको र अरनिको खबर डटकम अनलाइनको मंगलबार बनेपामा शुभारम्भ गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘दुई तिहाईको सरकार छ, उसलाई यो अवसर र मौका पनि हो ।’
वरिष्ठ नेता पौडेलले सरकारले गति लिन नसकेको आरोप लगाए । उनले भने, “सरकारलाई कसैको विरोध नहुँदा किन काम गरिरहेको छैन, कुहिरोको कागझैं भएको छ ।”
नेता पौडेलले सरकारले संविधानअनुसार वित्तीय आयोग नबनाएको गुनासो गरे । उनले भने “वित्तीय आयोग बनाएर स्थानीय तहको अनुगमन, मूल्याङ्कन गर्नुपर्छ,” भने ।
नेता पौडेलले कांग्रेसले महासमिति बैठकका बेला नमूना विधान बनाएको बताए । “तलदेखि माथिल्लो निकायसम्म निर्वाचनमा जाने हाम्रो विधानको प्रमुख पाटो हो, यसबाट अरुले सिक्नुपर्छ”, उनले भने ।
पेट्रोलियम पदार्थको बिक्री वितरणमा अनियमितता गर्ने ३ पेट्रोल पम्पमाथि कारबाही
हेटौँडा, पुस १० । पेट्रोलियम पदार्थको बिक्री वितरणमा एवं परिमाणमा अनियमितता गर्ने तीन पेट्रोल पम्पलाई कारबाही गरिएको छ । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल अञ्चल कार्यालयले गरेको छड्के जाँचमा उपकरण बिगारेर २० मिलीलिटरदेखि ४०० मिलीलिटरसम्म पट्रोलीयम पदाथको परिमाण कमी गरेको पाइएकाले ती पम्पका सञ्चालकलाई जनही तीन महीना कैद र रु १० हजार जरिवाना गरिएको हो । यसरी कारबाहीमा परेका पम्पमा कलैया–१३ को विजय आयल स्टोर्स, कलैया–१४ को मोहम्मद आयल स्टोर्स र कलैया बधवनको शिवशङ्कर ट्रेडर्स रहेको कार्यालय प्रमुख शशीप्रसाद यादवले जानकारी दिए । कार्यालयले चितवन, मकवानपुर, बारा, रौतहट र पर्सा जिल्लाका पम्पमा गरेको अनुगमन तथा विशेष जाँचमा सो अनियमितता पाइएको जनाएको हो । गत असोज १८ गतेदेखि पुस १ गतेसम्म निरन्तर ४२ वटा पम्पमा गरिएको जाँचका क्रममा ती तीन पम्पमाथि कारबाही गरिनाका साथै प्रवीण आयल स्टोर्स रौतहट, अमित आयल स्टोर्स कलैया, बारा गजभवानीपुरको जयविकास आयल स्टोर्स, बाबा आयल ट्रेडर्स सिमरा र अनवर पेट्रोलियम डिस्ट्रिब्युटर्स पिपरारी बारामाथि पानि कारबाही अघि बढाइएको उनले बताए । उक्त कार्यालयले व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानबाट उत्पादित तथा बिक्री वितरण गरिएका खाद्य सामग्रीमा समेत गुणस्तर जाँच र अनुगमन प्रक्रिया अगाडि बढाएको प्रमुख यादवले जानकारी दिए । रासस
प्रचण्ड भन्छन्, ‘अब उपचार नपाएर कोही मर्नु पर्दैन’
चितवन, पुष १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले उपचार नपाएर अब कोही पनि मर्नु नपर्ने बताएका छन् । गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिक र नेता विश्वप्रकाश सुवेदीकी आमा धनकुमारी सुवेदीको श्रद्धाञ्जली सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उपचार अभावमा बिरामीको मृत्युवरण भए राज्य दण्डित हुनुपर्ने व्यवस्था संविधानले गरेको बताए । उनले सरकारले बढी नै मिहिनेत गरेर गत असोजमा मौलिक अधिकारसम्बन्धी ऐन बनाएको जानकारी दिए । ‘सरकारले यो ऐन बनाउन सक्छ कि सक्दैन भन्ने एउटा प्रश्न थियो’ उनले भने, ‘संविधानले शिक्षा, स्वास्थ्य र रोगजारीलाई जनताको मौलिक अधिकारमा परिभाषित गर्नु ठूलो विषय हो । शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी सरकारले गर्नु पर्ने ऐनमा उल्लेख छ ।’ अध्यक्ष प्रचण्डले धर्म र आस्थाका आधारमा कसैलाई पनि भेदभाव गर्ने नीति लिन नहुने बताए । ‘जनताको आस्थालाई अपमान गर्ने कसैको मन्यता होइन’ उनले भने, ‘जनताको आस्थालाई सम्मान गर्नुपर्छ । राज्य विविध आस्थाप्रति निरपेक्ष रहनु पर्छ । यो लोकतन्त्रको आधारभूत कुरा हो ।’ कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले समाजमा बुढेसकालका मानिसको व्यवस्थापन चुनौती बन्दै गएको बताए ।
समायोजन प्रायोजनका लागि सहसचिवको सूची तयार, भ्रष्टाचारको अभियोग लागेका शर्मा पहिलो नम्बरमा
काठमाडौं, पुष १० । कर्मचारी समायोजन प्रक्रिया शुरु गरेको सरकारले समायोजन प्रायोजनका लागि सहसचिवहरुको सूची तयार पारेको छ । निजामति कितावखानाले तयार पारेको उक्त सूचीमा चूडामणि शर्मा वरिष्ठताको आधारमा पहिलो नम्बरमा छन् । शर्मा तिनै हुन् जो तत्कालीन कर फर्छ्यौट आयोगमा रहँदा अनधिकृत रुपमा भ्याट छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेको थियो । आन्तरिक विभागको महानिर्देशक हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएका शर्मा ६१ दिन हिरासतमा बसेका थिए । अख्तियारले कर छुट प्रकरणमा शर्माविरुद्ध ३ अर्ब बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीपछि कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव राम प्रसाद थपलिया दोस्रो नम्बरमा छन् । हालै जारी भएको कर्मचारी समायोजन अध्यादेशले ज्येष्ठतालाई समायोजनको पहिलो आधार मानेको छ । सहसचिवहरुमध्ये धेरै जना संघमा समायोजन हुने देखिन्छ । प्रदेश र स्थानीय तहमा भने संघबाट खटाइने छ । यसरी खटाइँदा सम्भव भएसम्म ज्येष्ठतालाई आधार बनाइने अध्यादेशमा उल्लेख छ । विशेष अदालतले धरौटीमा रिहा गरेका शर्मा हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त) समूहमा छन् । सहसचिवको सूची यस्तो छ हेर्नुस्- सूची हेर्न यहाँ क्लिक गर्नुस्
कम्युनिस्ट सरकारलाई हरहालतमा सफल बनाउँछौंः प्रवक्ता श्रेष्ठ
कास्की, पुष १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले अहिलेको सरकारलाई हरहालतमा सफल बनाइने दाबी गरेका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘इतिहासकै शक्तिशाली सरकारसँग जनताको ठूलो अपेक्षा छ । यो सरकार असफल भए प्रधानमन्त्री र मन्त्री मात्र असफल हुँदैनन् । देश र पार्टीको भविष्यलाई समेत असर गर्दछ ।” साथै, प्रवक्ता श्रेष्ठले पार्टीको जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने बताए । उनले पार्टी एकताको तीन महिनाभित्र सबै तहको एकीकरण सक्ने बताइए पनि विभिन्न कारणले सात महिनासम्म पनि एकता पूरा नभएकाले स्थायी कमिटी बैठक लगत्तै साङ्गठनिक एकता पूरा गरेर पार्टी एकताको उद्देश्य सफल बनाउने बताए । जारी बैठकले सचिवालयबाट घोषणा गरिएको प्रदेश कमिटी अनुमोदन गर्ने, पार्टीको जिल्ला कमिटी, महानगरलगायत तल्ला कमिटी तथा जनवर्गीय सङ्गठनको एकीकरणको आधार तयार गर्ने, केन्द्रीय सदस्यको जिम्मेवारी निश्चित गरी शक्तिशाली र क्रान्तिकारी पार्टी निर्माण गर्न बैठक प्रश्थान विन्दु हुने नेता श्रेष्ठले जानकारी दिए । पार्टी गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले साङ्गठनिक एकता सम्पन्न नहुँदा पार्टी गतिविधि सञ्चालन गर्न अप्ठ्यारो भएको बताए ।
नयाँ घर बन्ने आश पलायो
बर्दिवास, पुस १० । पातलो बोराले घेरिएको पालमा महोत्तरीका विभिन्न बस्तीमा बस्दै आएका मुसहरलाई अब आफ्नो नयाँ घर बन्ने आस पलाएको छ । प्रदेश नं २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले स्थलगत अनुगमन गरी जनता आवास कार्यक्रमअन्तर्गत निर्माणाधीन भवन चाँडै बन्ने आश्वासन दिएपछि मुसहरमा नयाँ घरमा बस्न पाइन्छ कि भन्ने आश पलाएको हो । “टहरा भत्काएर दुई वर्षदेखि पालमा बस्दै आएका छौँँ”, भङ्गाहा नगरपालिका–४ रामनगरस्थित मुसहरीटोलका जुडिया सादाले भने, “मन्त्रीको आश्वासनपछि नयाँ घर बन्ने आशा पलाएको छ ।” आइतबार ‘घर बन्ने सपनामा झुप्रा भत्किए, दलित पालमा जाडो काट्दै’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो । त्यही दिन मन्त्री यादवले भङ्गाहा नगरपालिकाका मुसहर बस्ती पुगेर ६० मुसहर पवरिवारलाई कम्बल वितरण गरेका थिए । जनता आवास कार्यक्रमअन्तर्गत शहरी आवास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जनकपुरको रेखदेखमा नयाँ घर बन्न थालेका हुन् । “घर बनाउन प्रक्रियागत त्रुटि भएकै हो, त्रुटि केलाएर प्रदेश सरकारले निर्माण प्रक्रिया अघि बढाउँछ”, मन्त्री यादवले भने । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जनकपुर र अन्य सम्बद्ध निकायसँग समन्वय गरिने उनले बताए । सङ्घीय सरकारले आर्थिक वर्ष २०७३-७४ र आव २०७४-७५ मा गरी जनता आवास कार्यक्रमअन्तर्गत महोत्तरीमा एक हजार घर बनाउन प्रक्रिया अघि बढाएको हो । निर्माण प्रक्रिया झण्झटिलो भएकाले काम तीव्र गतिमा बढ्न नसकेको जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहको भनाइ छ । रासस
लक्ष्यभन्दा कम राजश्व संकलन
बाँके, पुस १० । नेपालगञ्जस्थित आन्तरिक राजश्व कार्यालयले ५ महिनामा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७५/०७६ को पाँच महीनाको अवधिमा रु एक अर्ब ३४ करोड एक लाख ५५ हजार संकलन गर्ने लक्ष्य लिएकोमा रु एक अर्ब २१ करोड ६७ लाख ५७ हजार सङ्कलन गरेको कार्यालय प्रमुख प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार लक्ष्यभन्दा करीब १० प्रतिशत अर्थात् रु १२ करोड ३३ लाख ९८ हजार कम राजश्व सङ्कलन भएको छ । “राजश्व कम सङ्कलन हुनुमा विविध कारण हुन सक्छन्”, उनले भने, “वार्षिकरूपमा लक्ष्य पूरा गर्ने हाम्रो प्रयास हुने छ ।” आन्तरिक राजश्व विभागले चालू आवका लागि कार्यालयलाई कूल रु तीन अर्ब ५१ करोड राजश्व उठाउने लक्ष्य दिएको छ । कार्यालयले यसअघि साविक भेरी र कर्णाली अञ्चलका १० जिल्लाबाट राजश्व संकलन गर्दै आएको थियो । गत वर्ष कार्यालयले रु चार अर्ब राजश्व सङ्कलन गरेको बताइएको छ । राज्य पुनःसंरचनापश्चात् कर्णाली प्रदेशमा परेका आठ जिल्लालाई सुर्खेतमा हालै स्थापना भएको कार्यालयले हेर्दैै आएको छ । नेपालगञ्जको कार्यालयले चालू वर्षबाट बाँके र बर्दियाका मात्र करदाताबाट राजश्व सङ्कलन गरिरहेको कर अधिकृत यज्ञ ढकालले जानकारी दिए । “कार्यालयले यसअघि भेरी र कर्णालीका गरी १० जिल्लालाई हेर्दै आएको थियो, अहिले बाँके र बर्दियालाई मात्र हेरिरहेको छ”, ढकालले भने, “चालू वर्षको साउन महिनादेखि शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क पनि हटिसक्यो, घरबहाल कर स्थानीय तहमा गइसक्यो, यसले पनि लक्ष्य पूरा हुन नसकेको होला ।” तत्कालीन समयमा साविक भेरी र कर्णालीका १० जिल्लामा ६५ हजार करदाता थिए । त्यसमध्येका ३४ हजार करदाता सुर्खेतस्थित कार्यालयमा सरेका छन् । नेपालगञ्जस्थित कार्यालयमा बाँके र बर्दियाका पुराना ३१ हजार र नयाँ थपिएका समेत गरेर ३५ हजार ५०० करदाता पुगेका छन् । कार्यालयले आय कर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क बापतको राजश्व संकलन गर्दै आएको छ । रासस
प्रचण्ड भन्छन्, ‘राज्यले कुनै धर्मलाई काखी च्याप्नु हुँदैन’
चितवन, पुस १० । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यले कुनै धर्म विशेषलाई काखी च्यापेर कुनैलाई निषेध गर्ने नीति लिन नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी चितवनले मंगलबार यहाँ आयोजना गरेको पार्टी नेता सूर्य पथिक र विश्वप्रकाश सुवेदीका आमा धनकुमारी सुवेदीको शोकसभालाई सम्बोधन गर्दै संविधान बनाउँदा धार्मिक स्वतन्त्रतालाई सम्मान गर्ने कुरा गरेको बताए । राज्यले सबै धर्मप्रति आस्था राख्ने जनतालाई समान व्यवहार गर्नुपर्ने भन्दै उनले भने, “कम्युनिष्ट पार्टीका नेता पुष्पलालको कुरा गरौं या नेपाली काङ्ग्रेसका बिपीको उहाँहरु संस्कार विरुद्ध, एउटा वैज्ञानिक मान्यता, अन्धविश्वासका निमित्त वैज्ञानिक धारणा स्थापित गर्न लागेका छन् ।” जनताको आस्थालाई अपमान गर्ने कसैको पनि मान्यता नभएको भन्दै अध्यक्ष दाहालले जनताको आस्थालाई सम्मान गर्नुपर्ने बताए । उनले भने, “तर राज्य ती विविध आस्थाप्रति निरपेक्ष रहनुपर्दछ, राज्यले भेदभाव गर्नु हुँदैन भन्ने लोकतन्त्रको आधारभूत कुरा हो ।” शिक्षा, स्वास्थ्य र रोजगारीलाई जनताको मौलिक अधिकारको रुपमा संविधानमा परिभाषित भएको भन्दै उनले भने, “तर पनि हामीले विकट ठाउँमा उपचारको अभावमा सामान्य भन्दा सामान्य उपचार पनि नपाएर मृत्युवरण गर्नुपर्ने परिघटना अहिले पनि छ ।” कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले समाजमा बुढेसकालका मानिसको व्यवस्थापन चुनौती बन्दै गएको बताए । नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेता पथिक, ईश्वरी भट्टराई र कृष्ण खनाल लगायतले बोलेका थिए । धनकुमारी सुवेदीको श्रीमान्, दुई छोरा र तीन छोरी रहेका छन् । उनको १२औँं दिनको पुण्य तिथिमा कार्यक्रम आयोजना गरिएको हो । रासस
मण्डपमा बसिरहेकी बेहुलीलाई कुटपिट गरेपछि…
तेह्रथुम, पुस १० । तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०:३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवासी युवाको समूहले आक्रमण गरेको थियो । उनीहरूको कुटपिटबाट बेहुली प्रतिक्षा सम्बाहाम्फे र अन्य तीन जना घाइते भएका छन् । प्रहरीले विवाहमा कुटपिट गर्ने १९ वर्षका सरोज लिम्बू, १४ वर्षका ओमन लिम्बू, २१ वर्षका दिनेश लिम्बू, १९ वर्षका सुदीप लिम्बू र १७ वर्षका मन्दिप लिम्बूलाई नियन्त्रणमा लिएको छ । कुटपिटबाट घाइते भएकी बेहुलीको थप उपचारका लागि विराटनगर पठाइएको र अन्य घाइते बेहुलीका दाजु देउमान लिम्बू, सुमन खापुङ र टीकादेवी सम्बाहाम्फेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए । जलजलेकी प्रतिक्षासँग पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडाका सचिन आङदेम्बेसँग विवाह भइरहेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
उद्धारका लागि गएको प्रहरी नै घाइते
धादिङ, पुस १० । दुर्घटनामा परेको कारका चालकको मंगलबार उद्धारका लागि गएको प्रहरी नै घाइते भएका छन् । काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको बा १४ च ९८०० नं को ट्याक्सी बेनीघाट रोराङ गाउँपालिका–५ भैँसेबाट ६० मिटर तल खसेको कारको चालक उद्वार गर्न जाँदा ट्राफिक प्रहरी पोष्ट बेनीघाटमा कार्यरत प्रहरी हबलदार सुरेशबहादुर चन्द गम्भीर घाइते भएको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए। घटनास्थल जाँन लाग्दा घाइते भएका चन्दको टाउकोमा पाँच टाँका लगाइएको छ । दुर्घटनामा कार चालक बारा जिल्ला निजगढ निवासी ३० वर्षीय अमृत भण्डारी घाइते भएकाले गजुरी अस्पतालमा उपचार भइरहेको छ । रासस
‘नेपाल जेसिजको वर्ष २०१९’को अध्यक्षमा महेश पौडेल विजयी
जनकपुर, पुस १० । नेपाल जेसीजको ४५ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०१९ को नेतृत्वको लागि अध्यक्ष पदमा भारी मतले इटहरी जेसिजका महेश पौडेल विजयी भएका छन् । शनिबारबाट जनकपुरमा सुरु भएको राष्ट्रिय महाधिवेशनबाट ९२१ मत सहित पौडेल विजयी भएका हुन् । उनका निकटतम प्रतिदोण्डी सुदिप राज भण्डारीले २४३ मत प्राप्त गरे । नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा ८९० मत सहित रविन पोखरेल क्रमश श्यामसुन्दर पौडेल ७४१, रमेशचन्द्र भुसाल ६८७, अमेश ढकाल ६४३ मत सहित विजयी भए । राष्ट्रिय उपाध्यक्ष पदका लागि थानकोट जेसिजका मोहन लाल डाँगी, भकुण्डे जिसिजकी रूक्मणी सिग्देल, त्रिभुवन नगर जेसिजका लालमणी भण्डारी, रामनगर जेसिजका भोजराज चापागाई, काठमाडौ जेसिजकी ईनु थापा, पाटन जेसिजको सुमन कृष्ण श्रेष्ठ, वर्सामादीको हरिकुमार शर्मा, सिद्धार्थ नगर जेसिजको कमल भण्डारी, गोकुल साप्कोटा गैडाकोट, कृष्णप्रसाद अर्याल नवलपुर जेसिज, अत्तरिया जेसिज दिनेश बोहरा विजयी भएका हुन । विजयी पश्चात् नव नियुक्त अध्यक्ष महेश पौडेलले लाखौं युवाहरूको मन मस्तिष्कमा वस्न र समाज परिवर्तनको लागि नयाँ र विशिष्ट कार्य योजनाको साथ अगाडि बढ्ने बताए । नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदका विजयी रविन पोखरेलले, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम रोशन वनाउने जिम्मा युवाहरूको हातमा आएको वताए । नेपाल जेसिजका निर्वतमान अध्यक्ष सिनेटर श्रीधर बस्यालले नेपालको अग्रगामी परिवर्तनको संवाहक बन्न सफल जेसिजको मूल्य मान्यतालाई जनस्तरमा अझै परिस्कृत बनाउनुपर्ने बताए । महाधिवेशनमा देशभरबाट करिब दुई हजार प्रतिनिधि जनकपुरमा भेला भएका हुन् । शनिबारबाट जनकपुरमा सुरु भएको राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ३१ जनाको उम्मेदवारी दिएका थिए ।
आजदेखि धनगढी विमानस्थलमा उडान बन्द
कैलाली, पुष १० । कैलालीको धनगढी विमानस्थलमा आठ दिनका लागि उडान बन्द गरिने भएको छ । बर्षातको पानीले विमानस्थलको धावनमार्गमा केहि समस्या आएकाले मर्मतका लागि आजदेखि उडान बन्द गरिने भएको हो। नागरीक उड्यान प्राधिकरण धनगढीका प्रमुख तेजवहादुर बुढथापाले बर्षातको पानीले विमानस्थलको धावनमार्ग दबेकाले मर्मतका लागि पुष १० गतेदेखि १७ गतेसम्म विमानस्थलमा उडान बन्द गरिएको जानकारी दिए । तर, बेलुका ६ बजेपछि विमान कम्पनीहरुले उडान भर्न सक्ने उनले बताए। विमानस्थल बन्द गर्नका लागि केन्द्रको नागरीक उड्यान प्राधिकरणलाई धनगढीले अनुमती मागेको थियो। केन्द्रको नागरीक उड्यान प्राधिकरणले सो समयमा विमानस्थल बन्द गर्न स्वीकृती दिएपछि उडान बन्द गर्ने निर्णय भएको प्रमुख बुढथापाले बताए।
गाउँपालिकाले नै प्रयोग गर्छ एउटै नम्बरका मोटरसाइकल
झापा, पुष १० । झापाको बाह्रदशी गाउँपालिकाले एउटै नम्बर प्लेटका दुईवटा मोटरसाइकल प्रयोग गरिरहेको छ । गाउँपालिकाले यातायात व्यवस्था तथा ट्राफिक नियमविपरीत एउटै नम्बरका दुईवटा मोटरसाइकल प्रयोग गरेको हो । दुवै मोटरसाइकलमा सेतो प्लेटमा मे.१ब ७४९ लेखिएको छ । दुवै मोटरसाइकल बजाज कम्पनीको १५० सिसीको पल्सर हुन् । एउटा मोटरसाइकल लेखा अधिकृत सेवकविक्रम राई र अर्को इन्जिनियर नरेन्द्र श्रेष्ठ चढ्ने गरेका छन् । एउटा मोटरसाइकलको वास्तविक नम्बर मे.१ ब७५६ रहेको पाइएको छ । २९ असोज ०७५ मा यातायात व्यवस्था कार्यालय मेचीमा दर्ता भएको सो मोटरसाइकलको वास्तविक नम्बर ब्लुबुकबाट खुलेको हो । अर्को मोटरसाइकलको ब्लुबुक गाउँपालिकाका कर्मचारीले देखाउन मानेनन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
नेपालमा उत्पादित विद्युत् भारत, बंगलादेशलगायत जुनसुकै देशमा बिक्री गर्न बाटो खुल्योः प्रचण्ड
चितवन, पुष १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल ‘ल्याण्डलकबाट ल्याण्डलिङ्क कन्ट्री’ भएको बताएका छन् । भरतपुर महानगरपालिका–२३ स्थित लक्ष्मी माध्यमिक विद्यालय जगतपुरको स्वर्ण महोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले सरकारले भारत र चीनसँग सम्बन्ध सुधार गरी भएका सहमतिबाट नेपाल ल्याण्डलिङ्क हुन सफल भएको बताए । भारत सरकारसँग सोमबार मात्रै विद्युतसँग सम्बन्धित महत्वपूर्ण सहमति भएको बताउँदै उनले भने “सहमतिले विगतको परिस्थितिलाई नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा सकारात्मक प्रगति गराएको छ ।” भारत सरकार र भारतीय कम्पनीहरुले लगानी गरेर उत्पादन गरेको विद्युत् मात्रै भारतले किन्ने भन्ने विगतमा भएको भए पनि अब नेपालमा उत्पादित जुनसुकै विद्युत् पनि भारत बङ्गलादेशलगायत जुनसुकै देशमा बिक्री गर्न बाटो खुलेको उनले बताए । भारतको बाटो हुँदै नेपाल प्रवेश गर्दा वीरगञ्ज र सीमराबाट मात्रै हवाई मार्गबाट आउनुपर्ने अवस्थाको अन्त्य भएको भन्दै उनले भने “जुनसुकै बाटो हुँदै नेपाल प्रवेश गर्ने सैद्धान्तिक सहमति भएको छ ।” चाहे जल मार्ग होस् या रेलमार्ग होस् नयाँ सहमति नेपाली जनताको पक्षमा भएको उनले बताए। चीन सरकारसँग भएका केही महत्वपूर्ण वाणिज्य र व्यापारसँग सम्बन्धित सम्झौताहरु भएको बताउँदै उनले भने “जसले नेपाललाई अहिले ल्याण्डलक कन्ट्रीबाट एउटा ल्याण्डलिङ्क कन्ट्री बनाएको छ ।” संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक अधिकारको रुपमा व्यवस्था गरेको भन्दै उनले जीवन व्यवहारमा कार्यान्वयन गर्न नसकिएको बताए । कसैले शिक्षा, स्वास्थ्य र रोजगारी नपाएकै कारण अदालतमा मुद्दा दिन पाउने बताउँदै उनले भने “नयाँ संविधानअनुसार अदालतले बेरोजगारी, उपचार र रोजगारीको पक्षमा फैसला दिन्छ ।” राजधानीमा दुई ठूला पार्टीका भिन्न बैठकले पनि संविधान कार्यान्वयन, विकास र समृद्धिका पक्षमा वकालत गरेको उनले बताए । नेपाल कम्युनिष्ट पार्टीको जारी बैंठक र नेपाली काङ्ग्रेसको महासमिति बैठक दुवैको मुख्य एजेण्डा समृद्धि रहेको उनले बताए । उनले चितवनको विकासका लागि आफू लागिपरेको भन्दै नारायणी र राप्तीमा मेस जालीसहितको रिङरोड निर्माणका लागि प्रधानमन्त्रीसँग छलफल गरी विस्तृत अध्ययनको प्रक्रिया अगाडि बढेको बताए ।
अब नेता पनि सम्पत्ति शुद्धीकरण छानबिनको दायरामा पर्ने
काठमाडौं, पुष १० । अब राजनीतिक दलका नेता पनि सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ अन्तर्गत छानबिनको दायरामा पर्ने भएका छन् । संसद्मा दर्ता ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ अन्तर्गत सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ संसद्को आगामी बैठकमा छलफल हुनेछ । संसद्को हिउँदे अधिवेशन ११ गेत सुरु हुँदैछ । उक्त ऐनले ‘स्वदेशी उच्च पदस्थ व्यक्ति’ को परिभाषामा राजनीतिक दलको नेतृत्व र पदाधिकारी पनि समावेश छन् । उक्त विधेयक पारित भएमा सरकारी सुविधा नलिएको तर राष्ट्रिय राजनीतिक दलको नेतृत्व लिएका व्यक्ति सम्पत्ति शुद्धीकरण क्षेत्राधिकारभित्र पर्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्रालयले जनाएको छ । विधेयकको भएको ‘स्वदेशी उच्चपदस्थ व्यक्ति’ भन्ने परिभाषामा परिवर्तन गर्दै संघीय संरचनाअनुसारका राजनीतिक र प्रशासनिक संरचनामा आकद्धहरुलाई पनि समावेश गरिएको छ । यो खबर नागरिक दैनिकबाट लिइएको हो ।
प्रधानमन्त्री कार्यालयभित्रै लुँडो खेल !
काठमाडौ, पुष १० । आइतबार दिउँसो २ः३० बजे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी एक महिला कर्मचारी मोबाइलमा लुँडो खेलिरहेकी थिइन् । खेलअनुसार उनको अनुहारको हाउभाउ बदलिन्थ्यो । कहिले खुसी हुन्थिन्, कहिले दुखी । उनको कम्प्युटर ‘अन’ थियो । तर, उनी कम्प्युटरमा काम गरिरहेकी थिइनन् । कुर्सीमा उपरखुट्टी लगाएर बसिरहेकी थिइन् । टाउको मोबाइलतिर झुकाएकी थिइन् । बिना कुनै प्रतिक्रिया, बिना कुनै हलचल, बिना कुनै काम सिंहदरबारको पुस्तकालयमा बसी घण्टौँ लुँडो खेलिरहिन । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।


>
>
>