रविलाई धनगढीमा भव्य सम्मान, मुख्यमन्त्री भट्टले गरे खुलेर प्रशंसा

धनगढी, पुष ९ । दोस्रो नेपाल आइडल रवि ओडलाई गृह प्रदेश सुदूरपश्चिममा भव्य स्वागत एवं सम्मान गरिएको छ । उनलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले भव्य स्वागत एवं सम्मान गरेको हो ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितीमा रविलाई बधाई ज्ञापनसँगै सम्मान गरिएको हो। कार्यक्रममा मुख्यमन्त्री भट्टले रविले आफूलाई मात्र नभई समग्र सुदूरपश्चिमलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले भने, ‘रवि आइडलको विजेता भएसँगै सुदूरपश्चिममा पनि राष्ट्र चिनाउन सक्ने प्रतिभा रहेको पुष्टि भएको भएको छ। यहाँको कला, संस्कृतीको संरक्षण र कलाकाहरुको उत्थानका लागि प्रदेश सरकार तयार छ ।’

सो कार्यक्रममा बोल्दे रविले भने, ‘नेपाल आइडलमार्फत् सुदूरपश्चिमलाई चिनाउन पाउँदा असाध्यै खुसी छु ।’

मधेसमा ठूलो प्रभाव राख्ने नेता हृदयेश त्रिपाठीद्वारा नेकपासँग एकता गर्ने घोषणा

काठमाडौं, पुष ७ । पूर्वमन्त्री एवं स्वतन्त्र राजनीतिक समूहका नेता हृदयेश त्रिपाठीले आफू नेकपासँग एकताको प्रक्रियामा रहेको बताए । नेकपासँगको वार्ता पनि सकारात्मक रहेकाले यसलाई तार्किक निष्कर्षमा पुर्याउनेतर्फ आफूहरु गम्भिर रहेको उनले स्पष्ट पारे । त्रिपाठीले भने, ‘हामीले यो समूहलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गर्यौं, एउटा त हामीबीच यही समूहलाई नै विस्तार गरौं, अघि बढाउने र सक्रिय बनाउनेबारे पनि छलफल भयो । अर्को, नेकपासँगको एकता वार्तालाई सार्थकता दिनेबारे पनि छलफल गर्यौं । र, तेस्रो यही समूहलाई पार्टीको रुपमा अघि बढाउनेबारे पनि कुरा भएको थियो ।’ त्रिपाठीले अहिले पार्टी गठनको खाँचो नै नरहेको जिकिर गरे । संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालसँग तराई/मधेशका जनता निराश भएको पनि उनले टिप्पणी गरे । उनले भने, ‘फोरम अहिले सरकारमा छ । तर, उसको प्रस्तुतिले गर्दा जनता निराश छन् । उता, राजपा पनि आन्तरिक विवादमा फसेको छ । दुवै पार्टीले मधेशका जनतालाई निराशा बनाए ।’ सांसद त्रिपाठीले किसानले उत्पादन गरेका कृषिउपजको मुल्य निर्धारण गर्नको लागि तत्काल आयोग गठन गर्नुपर्ने माग गरे । उनले भने, ‘किसानले आफ्ना उत्पादनको मुल्य निर्धारण गर्न पाउँदैनन् । यसले गर्दा अहिले किसानको दुरावस्था छ । अब तत्काल मूल्य निर्धारणबारे विज्ञ सम्मिलित आयोग गठन गर्नुपर्छ ।’ उनले विगत २०३४ सालदेखि यताको तथ्याङ्क हेर्दा कृषि मन्त्रालयको कुल बजेटको १८ प्रतिशत मात्रै किसानका लागि खर्च हुने गरेको र बाँकी ८२ प्रतिशत बजेट किसानको नाममा तामझाममा सिध्याउने गरेको आरोप लगाए । सरकार र कुनै पनि दलहरुको प्राथमिकतामा किसान वर्ग पर्न नसकेको उनले गुनासो पोखे । उनले भने, ‘सरकारले कृषिमा जोड गरेको छ । तर, किसानको हितको लागि होइन । यो त नाराका लागि गरेकोजस्तो मात्रै भयो ।’ किसान असंगठित भएकाले दलहरुले प्राथमिकता नदिएको उनको टिप्पणी छ । उनले भने, ‘सबैभन्दा ठूलो संख्यामा रहेको किसान वर्ग, जो ६४ प्रतिशत छन्, कांग्रेस र नेकपा दुवैको प्राथमिकतामा किसान परेनन् । यो दुःखदायी कुरा हो।’ कृषिमा विचौलियाका कारण किसान र उपभोक्ता दुवै वर्ग मारमा परेको पनि उनले बताए । किसानहरुले आफ्नो उत्पादनको मूल्य तोक्न पाउनुपर्ने गरी आफूले संसदमा संकल्प प्रस्तावसमेत दर्ता गराइसकेको उनले जानकारी दिए । नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सकिने उनको दाबी छ । उनले भने, ‘चिनी, दुध, चियापत्ति, दाल, चामल, तोरीको तेल, फलफलु, अदुवालगायत अन्य कृषिउपजमा नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ ।’ गत वर्ष नेपालमा ९४ करोडको ‘टम्याटो–सस’ आयात गरिएको तथ्यांक पेश गर्दै त्रिपाठीले नेपालमा भने किसानले टमाटरको उचित मूल्य नपाएर सडकमै फाल्नु परेको दुरावास्था सुनाए । किसानको अवस्थामा सुधार नआएसम्म मुलुकको समृद्धि हुनै नसक्ने उनको ठोकुवा छ । उनले भने, ‘नेपाललाई समृद्ध बनाउनका लागि पनि किसानको अवस्थामा सुधार ल्याउनुपर्छ । यसको लागि सरकारले अब ठोस कदम चाल्नुपर्छ ।’

उद्योगमन्त्री मातृका यादव अस्पताल भर्ना

काठमाडौं, पुष ७ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव अस्पताल भर्ना भएका छन् । टाउको अत्यधिक दुख्ने समस्या देखिएपछि उनी गएराति नर्भिक अस्पतालमा भर्ना भएका हुन् । मन्त्री यादवलाई डा. पंकज जलनको टिमले उपचार गरिरहेको छ। युरिक एसिडका कारण जिउ दुख्ने समस्या पनि उनमा देखिएको डा. जलनले बताए। उनका अनुसार मन्त्री यादवको रिपोर्ट आउन बाँकी छ।

नेकपा बैठकः ४६ स्थायी कमिटी सदस्यले विचार राखे, बैठक भोलि पनि बस्ने

काठमाडौं, पुष ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी तेस्रो बैठकमा नेताहरुले धारणा राख्नेक्रम शनिबार पनि जारी रह्यो । पार्टी केन्द्रीय कार्यालय धूम्रवाराहीमा बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ४६ स्थायी कमिटी सदस्यले विचार राखेका छन् । आजको बैठकमा नेता माधवकुमार नेपाल, झलनाथ खनाल, विष्णु पौडेल, रामबहादुर थापा र गिरिराजमणि पोखरेलले धारणा राखेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सञ्चारकर्मीलाई जानकारी दिए । उनका अनुसार नेता प्रदीप ज्ञवाली अमेरिका भ्रमणपछि शनिबार मात्रै आएकाले आइतबारको बैठकमा धारणा राख्ने छन् । शनिबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले हालै अमेरिकी विदेशमन्त्रीको निमन्त्रणामा गरेको अमेरिका भ्रमण र दुईपक्षीय वार्ताको बारेका जानकारी गराएका थिए । परराष्ट्रमन्त्रीको भ्रमण र वार्ता अत्यन्त सकारात्मक र फलदायी भएको बैठकलाई जानकारी दिएको प्रवक्ता श्रेष्ठले उल्लेख गरे । यता वरिष्ठ नेता झलनाथ खनालले बैठकमा नेताले बोल्ने क्रम समाप्त भएकाले प्रतिवेदनउपर अध्यक्षद्वयले आफ्नो धारणा राखेपछि प्रतिवेदनको टुंगो लगाइने बताए । गत मंसिर २९ देखि भएको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल चलिरहेको हो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भए गरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसंगठनको एकतालगायत विषय समावेश छन् । बैठकमा सरकारका कार्यसम्पादनका बारेमा नेताले धारणा राखेका छन् । अधिकांश नेताले पार्टी र सरकारमाथि विभिन्न शक्तिबाट आक्रमण भइरहेको अहिलेको समयमा आन्तरिक एकता सुदृढ गरेर जानुपर्नेमा सुझाव दिएका छन् । प्रतिवेदनउपर छलफल चलिरहँदा नेताबाट प्राप्त सकारात्मक सुझावलाई सम्बोधन गरेर समृद्ध बनाउँदै भए गरेका कामको सबल र कमीकमजोरीका पक्षलाई केलाएर आम पार्टी पंङ्क्ति र कार्यकर्तालाई उत्साहित ढंगले बाँकी कार्यभार पूरा गरेर अघि बढ्ने बैठकले निष्कर्ष निकाल्ने नेता छविलाल विश्वकर्माले उल्लेख गरे । उनका अनुसार आइतबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले केही विषयमा समय माग गरेर बोल्ने कार्यक्रम छ । उनले पार्टी एकीकरणलाई अविलम्ब टुङ्ग्याउनुपर्ने अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै सरकारका काम कारवाहीलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने पनि बैठकले निचोड निकाल्ने बताए । साथै, सरकारलाई घाइतेको उपचार र पीडितप्रति समवेदित हँुदै गर्नुपर्ने काम उपयुक्त ढङ्गले तीव्र पार्न पनि अनुरोध गरेको छ । यसैबीच नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले बैठकपछि विज्ञप्ति जारी गरेर गत मङ्सिर २९ देखि शुरु भएको स्थायी कमिटीको तेस्रो बैठक पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ८ः१५ बजे आरम्भ भएर ११ः३० बजेसम्म सञ्चालन भएको र बैठकमा पाँच जना नेताले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आफ्नो विचार व्यक्त गर्नुभएको बताएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमन्त्रीको हैसियतमा आफ्नो अमेरिकाको औपचारिक एवं सफल भ्रमणका सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए । बैठकले शुक्रबार अपराह्न शैक्षिक अवलोकन गरेर फर्कने क्रममा दाङको राम्री भन्ने स्थानमा बस दुर्घटनामा परी दुःखद् निधन हुनेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवार जनमा गहिरो समवेदना प्रकट गरेको छ । घाइतेहरुको प्रभावकारी उपचारका लागि आवश्यक प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको विज्ञप्तिमा जनाइएको छ । स्थायी कमिटीको अर्को बैठक आइतबार बिहान ८ बजे पुनः बस्ने छ । रासस

करको दायरा वृद्धि गरिएको छः अर्थमन्त्री

राँझा, पुष ७ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले करको दायरा वृद्धि गर्दै लगेको बताएका छन् । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै उनले सरकारले करको दर नभई दायरा वृद्धि गर्नेतर्फ अग्रसर भएको उल्लेख गरे । ‘करको दायरा फराकिलो छैन भनेर कर बढाउने होइन व्यवसायीलाई करको दायरामा ल्याउने हो ।’ अर्थमन्त्री खतिवडाले भने, ‘भौगोलिक रुपमा पनि करको दायरा बढाइँदैछ, त्यसैको उदाहरण हो सुर्खेतमा राजश्व कार्यालय स्थापना हुनु ।’ उनले करदाता सेवा कार्यालयलाई राजश्व कार्यालयका रुपमा विकास गर्ने र भौगोलिक रुपमा नयाँ करदाता सेवा कार्यालय स्थापना गर्नतर्फ सरकार अग्रसर भएको बताए । कर लिँदा वा दिँदा निरुत्साहित वा दुरुत्साहित भएको खण्डमा गुनासो सुन्ने निकायमा सम्पर्क गर्न अनुरोध गर्दै अर्थमन्त्री खतिवडाले भनेयो, “कानून, विधि र नियमसंगत काम गर्नुहोला, राजनीतिक दबाब आए मलाई भन्नुस्, पछि तपाई उन्मुक्ति पाउनुहुन्न ।” उनले सङ्क्रमणकालमा केही महिना द्विविधा भए पनि आगामी दिनमा सबै कुरा सहज हुने बताउँदै करको दायरा बढाउन र बक्यौता उठाउनतर्फ ध्यान दिन कर्मचारीलाई आग्रह गरे । विगतमा खुम्चिएको राजश्व संकलनको दायरा बढाउन छोटी भन्सारलाई सक्रिय बनाउँदै व्यवस्थित गर्ने र नयाँ नाकामा छोटी भन्सार स्थापना गर्नेतर्फ पनि आफूले ध्यान दिएको उनको भनाई छ । सो अवसरमा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको चारतले भवन चार करोड ४५ लाख भारुमा निर्माण भएको आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले जानकारी गराए । रासस

सिङ्गै गाउँ एउटै व्यक्तिको नाममा दर्ता

नवलपरासी, पुस ७ । नवलपरासीको एउटा सिंगो गाउँ नै एक व्यक्तिको नाममा दर्ता रहेको रहस्य खुल्न आएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको एउटा सिङ्गो गाउँ सनई स्थानीय भोनु चौधरीको नाममा रहेको खुल्न आएको छ । विसं २०२४ मा नापी गर्दा हाल वडा नं ६ मा पर्ने साविक सनई गाविस वडा नं २ को सनई गाउँ नै भोनु चौधारीको नाममा दर्ता भएको ५१ वर्षपछि अहिले आएर थाहा भएको हो । उक्त गाउँमा ९० घरधुरी छन् । सनई २ (क) कित्ता नं ३३५ को गाउँब्लक भनी १० बिघा दुई कठ्ठा पाँच धुर जग्गा स्थानीयवासी भोनु चौधरीको नाममा दर्ता रहेको परासी नापी कार्यालयको फिल्डबुकमा उल्लेख छ । गाउँ ब्लकमा पर्ने सो जग्गाको आव २०७१/७२ मा नापी गरी पूर्जा वितरण गर्ने क्रममा सो रहस्य खुलेको पाल्हीनन्दन–६ का वडाध्यक्ष कृष्णचन्द्र यादवले जानकारी दिए । पुर्जा वितरणका लागि भन्दै नापी कार्यालयले नापजाँच गरेको तर लामो समयसम्म पनि पुर्जा नपाएपछि बुझ्न जाँदा एकै व्यक्तिको नाममा दर्ता भएकाले पुर्जा दिन नमिल्ने भनेपछि सो रहस्य खुलेको अध्यक्ष यादवले बताए । स्थानीयवासीसँग पञ्चायतकालमा गाउँ पञ्चायतले वितरण गरेको जग्गाधनी पुर्जा भने छ । गाउँ पञ्चायतले दिएको पुर्जा देखाउँदै स्थानीयवासी ६८ वर्षीय शिवचरण केवटले भन्नुभयो, “हामीसँग पुर्जा छ तर कसरी एउटै व्यक्तिको नाममा दर्ता भयो, हामी साह्रै मर्कामा परेका छौँ, मेरो १४ धुर जग्गा प¥यो, अहिले भोनुका परिवारले कि पैसा देऊ, कि सट्टामा जग्गा देऊ भन्छन् हामी गरीबले कसरी दिने ?” एउटै व्यक्तिको नाममा दर्ता रहेकोे गाउँको उक्त ब्लकको जग्गामा पर्ने ८५ घरधुरीमध्ये पूर्वगाविस अध्यक्ष राजेन्द्र सहानी, हाल सोही वडाका कार्यालय सहायक रहेका शम्भु सहानीलगायतको पनि घर परेको छ । चार पुस्तादेखि बस्दै आए पनि अहिलेसम्म एउटै व्यक्तिको नाममा दर्ता छ भन्ने थाहा नै नपाएको भन्दै कार्यालय सहायक सहानीले भने, “मेरो पनि एक कठ्ठा जग्गा परेको छ, नक्सामा गाउँब्लक र फिल्डबुकमा एउटै व्यक्तिको नाममा दर्ता भएको पाइयो, यो बदर हुनुपर्छ ।” अर्का ६५ वर्षीय स्थानीयवासी सुदामा चौधरीले यस्तो अवस्था आउनामा जनताको भन्दा पनि त्यस बखतका कर्मचारीबाट गल्ती भएको हुन सक्ने या भोनुले नै प्रलोभनमा पारेर दर्ता गराएको हुनसक्ने जिकिर गरे । भोनुको मृत्यु भइसकेको र हाल उनका दुई छोरा छन् । गाउँलेसँग भोनुका छोराले आफ्नो नाममा रहेको जग्गाको आधारमा रकम वा त्यसको सट्टामा जमीन दिन दबाब दिने गरेको स्थानीयवासीको गुनासो छ तर भोनुका छोरा रामशङ्करले भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् । नापी कार्यालयका नापी अधिकृत धमेन्द्रकुमार श्रेष्ठले सो जग्गा व्यक्तिको नाममा दर्ता रहेकाले गाउँब्लकको जग्गाको नापनक्सा भए पनि उनहरुलाई पुर्जा दिन नमिलेको बताए । अब मन्त्रालयबाट निर्देशन वा मन्त्रिपरिष्दबाटै निर्णय गरेर व्यक्तिको नाममा रहेको उक्त जग्गा बदर गरे मात्र पुर्जा वितरण गर्न सकिने उनको भनाइ थियो । पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले पुस्तौँदेखि बस्दै आएका स्थानीयवासीले जोतभोग गरिरहेको सो जग्गाको पुर्जा उनीहरूलाई उपलब्ध गराउनुपर्नेमा जोड दिँदै त्यसका लागि आफूले सक्दो पहल गरेर न्याय दिलाउने बताए । गाउँवासीहरूले लालपुर्जा बदर गरी आ–आफ्नै नाममा तात्कालिन गाउँ पञ्चायतको पुर्जाका आधारमा लालपुर्जा पाउनुपर्ने माग गर्दै आएका छन् । रासस

एकजना महिलाकाे बन्द काेठामा ७ वर्षका बालक मृत फेला

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्चीमा सात वर्षका बालक मृत फेला परेका छन् । शुक्रबार साँझ ६ः३० बजेको समयमा मेलम्ची नगरपालिकाका टङ्कप्रसाद दुलालको घरमा डेरा गरी बसेका सिन्धुली तीनपाटन गाउँपालिका–२ का दीपक मगरका छोरा उमेशको सोही घरको अर्को कोठामा बस्ने एक महिलाको बन्द कोठामा मृत भेटिएको हो । बालकको शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी फरक–फरक नाम बताउने ती महिलाले हत्या गरेको आशङ्कामा उनलाई मेलम्ची इलाका प्रहरी कार्यलयमा ल्याइ अनुसन्धान थालिएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । मृतक बालकको शव परीक्षणका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । रासस

पूर्व अधिराजकुमारीद्वारा सर्वोच्चमा रिट

काठमाडौँ, पुस ७ । पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले आफूले दाइजो पाएको सम्पत्ति नेपाल ट्रस्टका नाममा दर्ता गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न माग गर्दै सर्वोच्चमै रिट दायर गरेकी छन् । उनले शुक्रबार वारेसमार्फत पुनरावलोकन निवेदन दर्ता गराएकी हुन् । दुई वर्षअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय दीपक कार्की र सपना प्रधान मल्लको इजलासले प्रेरणालाई दाइजो दिइएको छाउनीस्थित १५ रोपनी एक आना जग्गा नेपाल ट्रस्टको भएको फैसला गरेको थियो । तत्कालीन राजा ज्ञानेन्द्रले छोरी प्रेरणाको विवाहमा आवाससहितको जग्गा दाइजो दिएका थिए जुन पूर्वराजा वीरेन्द्रको नाममा थियो । गणतन्त्र स्थापनापछि सरकारले वीरेन्द्र र उनको परिवारका नामको सम्पूर्ण घरजग्गा र सम्पत्ति ट्रस्टमा ल्याउने निर्णय गरेको थियो । तत्कालीन न्यायाधीश रामकुमार शाह र चोलेन्द्रशमशेर राणाको इजलासले दाइजो पाएकाले यो घरजग्गा प्रेरणाकै नाममा दर्ता गर्न सरकारका नाममा आदेश दिएको थियो । सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कार्कीसहितको तीन सदस्यीय इजलासले उक्त निर्णय उल्ट्याइदिएको हो । प्रेरणाले शुक्रबार दायर गरेको रिटमा उक्तफैसलाले आफू अन्यायमा परेको उल्लेख गर्दै पुनरावलोकनको माग गरेकी छन् । उनले आफ्नो मुद्दा संवैधानिक इजलासबाट फैसला हुनुपर्नेमा पूर्ण इजलासबाट गरिएकोमा आपत्ति जनाएकी छन् । ट्रस्टले प्रेरणालाई घर कम्पाउन्ड खाली गर्न ताकेता गरेपछि उनले सर्वोच्चबाट पुनरावलोकनको फैसला नभएसम्म घर खाली गर्न चालिएका सबै कदम रोक्न अन्तरिम आदेशसमेत माग गरेकी छन् । कान्तिपुरबाट  

कांग्रेस महासमितिमा पदाधिकारीको टुङ्गो

काठमाडौँ, पुस ७ । नेपाली कांग्रेसले संघीयता अनुरुप विधान संशोधनको टुङ्गो लगाएको छ । विधानमाथिको एक महिना लामो छलफलपछि कांग्रेसमा १७१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गर्न नेताहरू सहमत भएका हुन् । गत मंगलबार कोषाध्यक्षबाहेक सभापति, दुई उपसभापति, दुई महामन्त्री र दुवै सहमहामन्त्री निर्वाचन गर्ने गरी सहमति जुटेको थियो । तर, त्यसको भोलिपल्टै समावेशी आधारमा पदाधिकारी बढाउनुपर्ने माग भएपछि समावेशी आधारमा आठवटै क्लस्टर (महिला, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू, खस आर्य र पिछडिएको क्षेत्र) गरी आठवटैमा सहमहामन्त्री निर्वाचित हुनेछन् । कांग्रेस केन्द्रीय समितिको आकार १६७ सदस्यीयसम्म रहने नेताहरूको भनाइ छ । महाधिवेशनबाट निर्वाचित पदाधिकारी १३, समावेशीमा दलित नौ, मधेसी नौ, आदिवासी १५, खसआर्य १३, थारू चार, मुस्लिम तीन र अल्पसंख्यक एक गरी ५४ जना समावेशी हुनेछन् । पेसाकर्मी र विपन्नका तर्फबाट एक-एक रहनेछन् । सभापतिले ३३ जना (२० प्रतिशत) मनोनित गर्न पाउनेछन् । ३५ जना खुला सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित तीन गरी २१ जना, खुलातर्फ महिला नौजना रहने बताइएको छ । शुक्रबारको केन्द्रीय समितिले पास गरेको विधानको मस्यौदा समितिका संयोजक महामन्त्री पूर्णहादुर खड्काले शनिबार महासमिति बैठकमा पेस गर्ने भएका छन् । यसअघि ८५ सदस्यीय थियो केन्द्रीय समिति कांग्रेसमा १२ र १३औँ महाधिवेशनमा ८५ सदस्यीय केन्द्रीय कार्यसमितिमा ६ पदाधिकारी मात्र थिए । जसमा सभापति, एक महामन्त्री र एक कोषाध्यक्षको निर्वाचन हुन्थ्यो । एक उपसभापति, एक महामन्त्री र एक सह–महामन्त्री सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाटै मनोनीत गर्दथे । ८५ सदस्यीय केन्द्रीय समितिमा २१ सदस्य सभापतिबाट मनोनीत हुँदा २५ खुलासहित ६४ समावेशी कोटासहितका लागि निर्वाचन हुन्थ्यो । विधान मस्यौदामा प्रस्ताव हुँदा पदाधिकारी बढाउने, सबै निर्वाचित गर्ने, सभापतिले मनोनीत गर्नेसहितका विभिन्न विकल्पसहित १४१ सदस्यीय केन्द्रीय कार्यसमितिको प्र्रस्ताव गरिएको थियो । यस्तो छ पदाधिकारी र केन्द्रीय सदस्य बढ्दै आएको इतिहास प्रजातन्त्र स्थापना भएपछि ०४८ मा भएको आठौँ महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सर्वसम्मत रूपमा सभापतिमा चयन भए । कांग्रेसमा ८औँ महाधिवेशनसम्म सभापतिको मात्रै निर्वाचन हुन्थ्यो । केन्द्रीय पदाधिकारी र सदस्य सभापतिले आपसी सहमतिमा तय गर्थे । नवौँ महाधिवेशमा गिरिजाप्रसाद कोइराला सभापतिमा निर्वाचित भए । सभापतिसहित पाँच विकास क्षेत्र प्रत्येकबाट एक–एकजना केन्द्रीय सदस्य निर्वाचित हुने परम्परा बसालियो । १०औँ मा १८ केन्द्रीय सदस्य निर्वाचित र १८ जना मनोनीत भए । पार्टी फुटेकाले ११औँ महाधिवेशन दुई कांग्रेसले अलग–अलग गरे । १२ र १३औँ महाधिवेशनमा कांग्रेसमा सभापति, महामन्त्री र कोषाध्यक्ष निर्वाचित हुँदा एक उपसभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिबाट मनोनीत भए । ६४ सदस्य निर्वाचित हुँदा २१ केन्द्रीय सदस्य मनोनीत हुने वैधानिक व्यवस्था थियो । किन पछि हटे देउवा विधानको पनि पदाधिकारी कति बढाउने र कसरी चयन हुने भन्नेमा कांग्रेसमा एक हप्ताभन्दा लामो समय दर्जनौँपटकसम्म छलफल भयो । मंगलबार कोषाध्यक्षबाहेक सात पदाधिकारी निर्वाचित गर्ने गरी भएको सहमति भोलिपल्टै समावेशिताको विषयले टुटेको तीन दिनपछि शुक्रबार जातीय/क्षेत्रीय विभिन्न आठ क्लस्टरलाई सहमहामन्त्रीमा समेट्ने सहमतिसँगै कुरा मिलेको हो । पार्टी संस्थापन पक्ष जोसुकै सभापतिमा निर्वाचित भए पनि सहज रूपमा काम गर्न दिन केही पदमा मनोनीतको अधिकारी दिनुपर्ने पक्षमा थिए । तर, पौडेल–सिटौला पक्षले संविधानले व्यवस्था गरेअनुसार सबै पदाधिकारी निर्वाचित गर्नुपर्ने अडान लिएका थिए । अन्ततः यही अडानमा उनीहरूले सभापति देउवालाई गलाउन सफल भएका छन् । तर, कुनै पनि हालतमा मनोनीतमा केही पद राख्नुपर्ने अडानबाट देउवा गलेपछि सहमति जुटेको हो । पदाधिकारी बढाउन भएका निरन्तरका छलफलका क्रममा पदाधिकारीमा केहीको निर्वाचन गर्ने र केही केन्द्रीय समितिका निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित गर्ने विकल्प पनि ल्याएका थिए । तर, नेताहरू महाविधेशनबाटै निर्वाचित गर्ने विकल्पमा पुगेका हुन् । सभापतिलाई बलियो बनाउनुपर्छ भन्दै देउवा पक्षका बालकृष्ण खाँणदेखि वीरबहादुर बलायर, एनपी साउदसम्मले केही पदाधिकारी सभापतिले मनोनीत गर्न पाउनुपर्ने भन्दै दबाब दिएका थिए । तर, संविधानअनुसार सबै पदाधिकारी निर्वाचित गर्नुपर्छ भन्ने कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरेसहितका नेताहरूले अडान राख्ने माग गर्दै आएका थिए । केन्द्रीय सदस्य तलबाटै निर्वाचित पर्ने भन्दै माग गर्नेमा सिनियर नेतामध्ये कृष्णप्रसाद सिटौला र डा.शेखर कोइराला रहे । यसमा गगन थापादेखि प्रदीप पौडेलसहितका नेताले साथ दिए । देउबा नै बलिया बढेका पदाधिकारीदेखि केन्द्रीय सदस्यमा अब धेरै नेता व्यवस्थापन हुने भएका छन् । १४ पदाधिकारी हुँदा नेताहरूसामु आफ्ना नेता व्यवस्थापन गर्नेदेखि अर्को गुटकालाई ल्याएर जित्नेसम्मको अवसर आएको छ । जातीय क्लस्टरमा अहिलेको अनुपात र नेताहरूको गुटगत उपस्थिति हेर्दा पौडेल–सिटौलाभन्दा सभापति देउवा पक्ष नै बलियो देखिन्छ । किनकि तराई मधेस, महिला, दलित, थारू, मुस्लिम क्लस्टरमा देउवानिकटकै नेता प्रभावशाली र बलिया देखिन्छन् । तर, १४औँ महाधिवेशनसम्म यही समीकरण रहिरहन्छ भन्न सकिन्न । यस्तो हुँदा बढेका पदाधिकारी र केन्द्रीय सदस्यको फाइदा उठाउने अवसर सबै समूहलाई उत्तिकै हुने देखिन्छ । १७१ सदस्यीय कार्यसमितिमा १४ पदाधिकारी बनाउँदा कांग्रेस केन्द्रमै धेरै नेता अटाउने देखिएका छन् । यस्तोमा पहिलोपटक अभ्यास हुँदै गरेको कांग्रेस प्रदेश समिति कमजोर हुने हो कि भन्ने आशंका उत्पन्न भएको सहमहामन्त्री डा.प्रकाशशरण महत नै बताउँछन् । विश्वमै नयाँ प्रयोग : रामचन्द्र पौडेल कांग्रेस नेता रामचन्द्र पौडेलले सबैले अवसर पाउने यो प्रयोग विश्वमै कहीं नभएको दाबी गरेकाछन् । उनले भने, “हामीले कांग्रेसको इतिहासमा १४ पदाधिकारी बनाउने, समानुपातिक समावेशीकरणमा नयाँ प्रयोग हो । यस्तो राजनीतिक पार्टी कहीँ पनि छैनन् ।” पौडेलले भने, “हामी नयाँ यो दृष्टान्त देखाउँदै छौँ । प्रजातान्त्रिक प्राणालीबाट यसरी नेतृत्व छान्ने अभ्यास दुनियाँमा छैन । दक्षिण एसिया त छँदै छैनन् । यो भनेको सबैले अवसर पाउने अवस्था हो ।” युवा नेताहरूले अवसर नपाएको तथ्य स्वीकार्दै पौडेलले भने, “जातीयतालाई आधार बनाउँदा केही सिनियर मान्छे पछि पर्ने अवस्था आयो । समावेशितालाई मिलाएर लानुपर्ने भएकाले यस्तो भएको हो । हामीले आरक्षण सधैँलाई गरेका होइनौँ, एकपटक हेरौँ । प्रतिस्पर्धामा आउने वातावरण आएपछि यसलाई मिलाउनुपर्छ ।” सबैलाई सँगै लाने सभापतिको सोच : डा. प्रकाशशरण महत अर्का प्रभावशाली नेता डा. प्रकाशशरण महतले  सबै पदाधिकारी निर्वाचित गर्नु राम्रो बताएका छन् । महतले भने, “साथीहरूले सभापतिलाई बलियो बनाउनुपर्छ भन्दै केही ठूला पदमा पदाधिकारी मनोनीत गर्नुपर्छ भन्ने र केहीले सबै निर्वाचित गर्नुपर्छ भनेर मत राख्नुभएको थियो ।” महतले भने,”तर, सभापतिले सबैलाई सहमतिमा लिएर जाने मनस्थिति बनाएरै सहमति गर्नुभयो । कार्यकारी तहमा सवावेशी प्रतिनधितित्वले गर्दा पार्टीमा सबै समुदायका नेतालाई नेतृत्वमा पुग्ने अवसर अब कांग्रेसमा सिर्जना हुँदै छ ।” केही नेताले कार्यसमिति ठूलो भएकोमा असन्तुष्टि जनाएको बताउँदै महत भन्छन्, “तर, सबै जातजातिसहितको प्रतिनिधित्वमा सबै अनुहार देख्न पाउँदा हामीले गर्व गर्नुपर्छ । सबैको उपस्थिति हुँदै गएपछि आरक्षण सधैँका लागि आवश्यक नरहन सक्छ ।” नयाँ पत्रिकाबाट  

दाङ बस दुर्घटना: मृतककाे संख्या २२ पुग्याे, १४ जना राप्ती अस्पताल लगिए (घाईतेकाे नामावलीसहित)

दाङमा विद्यार्थी बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ। घटनामा १५ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री र हर्नेटी भन्ने स्थानको बीच भागमा बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना २१ जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले सेतोपाटीलाई जानकारी दिए । ‘२१ जनाको शव हामीले घटनास्थलमा फेला पारेका छौं,’ शाहीले भने ‘खोजी कार्य अझैं जारी छ ,संख्या थपिनपनि सक्छ।’ उनले घटनास्थलमा अधिकाँस पुरुपको शव फेला परेको र मृतक महिलाको संख्या ५-६ जनाजति रहेको जानकारी दिए । त्यस्तै थप एकजना घाइतेको राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ । प्रदेश प्रहरी प्रवक्ता तथा डिएसपी पुष्पराज मल्ले अस्पतालमा मृत्यु भएका व्यक्तिको समेत सनाखत हुन नसकेको बताए । १५ जना घाइते मध्ये १४ जनाको अवस्था गम्भीर रहेको हुँदा उनीहरु सबैलाई राप्ती अंचल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचार पछि थप उपचारको लागि बाँके तर्फ पठाइएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बेलुका ९ बजेसम्म मृतक कसैको पनि सनाखत हुन नसकेको डिएसपी शाहीले जानकारी दिए । उद्धार कार्य जारी रहेको हुँदा कम्तिमा पनि रातको १२ बजेसम्म उद्धार चल्न सक्ने ईप्रका तुलसीपुरका प्रमुख शाहीले जानकारी दिए । उक्त बस दुर्घटनामा परि घाइते भएका १५ जना मध्य १० जना पुरुष र ५ जना महिला रहेका छन् । यसैगरी दुर्घटनाका घाइते भएका १५ जना घाइतेहरुको नाम र ठेगाना यसप्रकार रहेको छः १) जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं. १४ निवासी १८ बर्षीया छात्रा मिहाली हमाल (राप्ती अंचल अस्पतालमा उपचार जारी)  बाँके रिफर भएका घाइतेहरूः २) जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. ३ निवासी १६ बर्षीय कुसेन्द्र खत्री ३) दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर निवासी १७ बर्षीया समिक्षा रोकाया ४) अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं. १८ निवासी विक्रम भण्डारी ५) रुकुम जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ३ निवासी १६ बर्षीय प्रेमबहादुर खड्का ६) दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ स्यूजा निवासी १७ बर्षीया मुनुका रिजाल ७) जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. २ निवासी १७ बर्षीय जीवन भण्डारी ८) जुम्लाको जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. ४ निवासी १६ बर्षीया पर्शा रोकाया ९) अछाम जिल्लाको मंगलसेन नगरपालिका निवासी १९ बर्षीय युवराज ढुँगाना १०) रुकुम जिल्लाको सानोभेरी गाउँपालिका वडा नं. ३ निवासी १६ बर्षीया रोजिना पुन ११) दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी १८ बर्षीय संजय खनाल १२) रुकुम जिल्लाको अर्मा निवासी १९ बर्षीय राजन डाँगी १३) अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ५ निवासी १६ बर्षीय भद्र विष्ट १४) रोल्पा जिल्ला निवासी १७ बर्षीय प्रकाश वली र १५) नाम थर नखुलेको अन्दाजी १६÷१७ बर्षीय पुरुष व्यक्ति घाइते भएको प्रहरीले जानकारी दिएको छ । बसमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित गैरागाउँमा सञ्चालनमा रहेको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक सवार थिए । वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरु जुलोजी र बोटानीका शिक्षकसहित फिल्ड भ्रमणका लागि शुक्रवार नै कपुरकोट गएका थिए । तीनै विद्यार्थी र शिक्षक सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरी दाङ तर्फ फर्कंदै गर्दा शुक्रबार साँझ ५ बजेतिर दुर्घटनामा परेका हुन । प्रहरीले बसमा जम्मा ३७ जना सवार रहेको जानकारी दिएको छ । जसमा ३४ विध्यार्थी, २ शिक्षक र एकजना चालक थिए । यही वर्षदेखि सञ्चालनमा आएको बहुप्राविधिक शिक्षालयका विद्यार्थीको प्रयोगत्मक कक्षाको लागि नमस्ते राप्ती प्रालीको बस भाडामा विद्यालयले लगेको थियो । झन्डै ७ सय मिटर तल खसको बस क्षतविक्षत अवस्थामा फेला परेको छ । दुर्घटनाकी घाइते मध्येकी एकजना छात्रा जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं. १४ निवासी १८ बर्षीया छात्रा मिहाली हमालले अचानक बस खोल्सामा खसेको भएपनि दुर्घटनाको कारण थाहा नपाएको बताइन । ‘मेरो होस आउँदा त म माथि नै भिरमा खसेकी रहेछु,’ हमालले भनिन् ‘ अरु साथीहरु र बसको त मैले कतै नाम निशान देखिन।’ उनले दुर्घटनामा परेका मध्ये झन्डै १६ जना विद्यार्थी जुम्ला जिल्लाका रहेको जानकारी दिएकी थिइन । हाल उनको उपचारका राप्ती अंचल अस्पतालमा उपचार जारी छ । सेताेपाटी डट कमबाट साभार गरिएकाे

डिएसपी मल्लकाे अर्काे एक्सन- रात्रिकालिन व्यवसायीसँग गम्भीर अन्तर्क्रिया

काठमाडौं । दरबारमार्ग क्षेत्रलाई शान्त र सुब्यवस्थित बनाउनका लागि प्रहरीले रात्रिकालिन ब्यवसायीसँग अन्तरक्रिया गरेको छ । आज दरबारमार्ग प्रहरी बृत्त कार्यालयमा सो क्षेत्रका रात्रिकालिन ब्यवसायीलाई बोलाएर डिएसपी दानबहादुर मल्लले अन्तरक्रिया गरेका हुन् । उनले कतिपय क्षेत्रमा पर्यटकलाई ब्यवसायीले अनावश्यक दुखः दिने गुनासा बेलाबेलामा आइरहेको स्मरण गराउँदै सो क्षेत्रमा शान्ति सुब्यवस्था कायम गर्न ब्यवसायी र जनताको समेत प्रहरीलाई साथ र सहयोग चाहिने औल्याए । मल्लले सो क्षेत्रमा ठगी, लुटपाट तथा बेश्याबृत्ति, होटल रेष्टुरेण्टमा हुने ओभरविलिङ जस्ता आपराधिक कृयाकलाप हुन नदिन प्रहरीले विशेष ध्यान दिइरहेको भन्दै प्रहरीको अभियानलाई सार्थक पुर्याउन ब्यवसायीले उत्तिकै साथ दिनुपर्ने जिकिर गरे । सो क्षेत्रका ब्यवसायीले आफुहरुले कानुनको परिधी भित्र रहेर ब्यवसाय गरेको र कसैले कानुन विपरित काम गरे प्रहरीसँग समन्वय गरेर त्यस्ता ब्यवसायीलाई कानुनको दायरामा ल्याउन सहयोग र सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । अन्तक्रियामा सो क्षेत्रका एक दर्जन ब्यवसायीको उपस्थिति रहेको थियो ।

अपराधी मरे पनि कानून मर्दैन, पीडित मरे पनि न्याय मर्दैनः न्यायाधीश मल्ल

काठमाडौं, पुष ६ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले अपराधी मरे पनि कानून नमर्ने पीडित मरे पनि न्याय नमर्ने बताएकी छन्। महिला, कानून र विकास मञ्चले आज ललितपुरमा आयोजना गरेको घरेलु तथा यौन हिंसासम्बन्धी परेका मुद्दाबारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक कार्यक्रममा न्यायाधीश मल्लले कुनै पनि कुराको पूर्णता तथा पर्याप्तता नहुने तर त्यसबाट अवसरको सिर्जना हुने धारणा प्रस्तुत गरिन् । पीडितलाई न्याय तथा क्षतिपूर्तिमूलक न्यायलय रहेको भन्दै न्यायाधीश मल्लले कुनै पनि काम गर्ने तथा निर्देशन दिने प्रणाली सत्य र तथ्य हुनुपर्नेमा जोड दिइन् । उनले महिला, यौनजन्य हिंसा तथा मानव बेचबिखनसम्बन्धी कानूनअनुसार मुद्दा नै दर्ता नभएकाले कानून कार्यान्वयन गर्न कठिनाइ भइरहेको बताइन् । कानून, न्याय तथा मानवअधिकार समितिका सभापति विश्वभक्त पोखरेलले घरेलु तथा यौन हिंसाविरुद्धको नयाँ कानूनमा क्षतिपूर्ति पाउने हक उल्लेख गरेको जानकारी गराए । उनले पीडकको तर्फबाट क्षतिपूर्ति पाउन नसक्ने अवस्था भए पनि पीडितका लागि पीडित सहायता कोष बनाउने पनि उल्लेख छ तर पीडित कोष बनिनसकेको बताए । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणीन्द्र गौतमले संविधानअनुसार कानून निर्माणको क्रम अझै जारी छ, न्यायको क्षेत्रमा महत्वपूर्ण पक्ष कानूनी सहायतालाई परियोजनाको रूपमा नभई दिगो सेवाका रूपमा विस्तार गर्नुमा जोड दिए । मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले देशका पाँच जिल्लामा उक्त अध्ययन गरिएको जानकारी गराए । उनले अध्यन नगरिएका जिल्लामा नवलपरासी, ललितपुर, बाँके, मकवानपुर, मोरङ रहेको बताए । रासस

दाङ बस दुर्घटनाः मृतकको संख्या १६ पुग्यो, ११ जना घाइते (अपडेट)

लमही, पुष ६ । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा आज बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । प्रहरी सहायक निरीक्षक विष्णु श्रेष्ठका अनुसार मृतकको शव घटनास्थलमा सङ्कलन गरेर राखिएको छ । घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ । गम्भीर घाइते दुई जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको उक्त बस दुर्घटनामा परेको हो । बस झण्डै सात सय मिटर तल भीरमा खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित मुलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर तुलसीपुरतर्फ फर्किदै थिए । घटनाको थप विवरण आउन बाँकी छ । अहिले प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका छन् । रासस

प्रचण्ड भन्छन्, ‘कुनै टेन्सन नलिनुस्, अर्को चुनावसम्म धुलोमाटो खानुपर्दैन’

भरतपुर, पुष १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अर्को निर्वाचनसम्म चितवनका सबै सडक पिच हुने बताएका छन् । भरतपुर २१ मा रहेको भानु माध्यमिक विद्यालय पहारिलोटारमा भएको श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञको समुद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अब अर्को निर्वाचन आउँदा सडकको धुलोमाटो खान नपर्ने बताए । उनले भने, ‘अहिले तपाइँहरुलगायत म आउँदा पनि धुलोमाटो खान परेको छ, कुनै टेन्सन नलिनूस् अर्को चुनावसम्म धुलोमाटो खानैपर्दैन, यो तपाइँहरुलाई मैले पूर्ण विश्वास दिलाउँछु ।’ कार्यक्रममा अध्यक्ष प्रचण्डले समृद्धिको नमुना मोडेल चितवनले प्रस्तुत गर्ने दाबीसमेत गर्नुभयो । उनले भने, ‘म चितवनको प्रतिनिधि हो, त्यसमा पनि क्षेत्र नं ३ को प्रतिनिधि भएको नाताले पनि मैले यो क्षेत्रलाई विशेष रुपमा हेर्नुपर्छ, तर पार्टीको अध्यक्षको नाताले पूर्वप्रधानमन्त्री हैसियतले सबै जिल्लामा मैले ध्यान पुर्याउनुपर्छ ।’ कार्यक्रममा अध्यक्ष प्रचण्डले विद्यालयलाई र यो क्षेत्रलाई कम बजेट परेको भए पनि अर्को वर्ष यो क्षेत्रलाई आफूले विशेष रुपमा हेर्ने बताए । उनले भने, ‘मेरो साथ, सहयोग यो विद्यालयलाई हुनेछ, यो क्षेत्रलाई हुनेछ । समग्र चितवनलाई नै हुनेछ । अबको ५ वर्षभित्र चितवनले एउटा मोडेल प्रस्तुत गर्ने उनको भनाई थियो । कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले अध्यक्षको गृहजिल्लामा आफ्नो पूर्ण साथ र सहयोग रहने बताए । उनले भने, ‘अब चितवनमा बाटो बनाउने, कालोपत्रे गर्ने, पानी ट्यांकी बनाउने जस्ता समस्याको कुनै चिन्ता लिनु पर्दैन । ५ वर्षपछि चितवनले काँचुली फेर्नेछ ।’

टेलिकम आमा जस्तै होः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, पुष १ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकभर टेलिफोन सेवा विस्तार गर्न सरकारले तीव्ररुपमा काम भइरहेको बताएका छन् । बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भने, “एक वर्षभित्र १५० गाउँपालिकामा पूर्णरुपमा र ६९ गाउँपालिकामा आंशिक रुपमा इन्टरनेट सेवा पुर्यानेछ ।” टेलिकम कुनाकन्दरामा बसेका नेपाली नागरिकसम्म पुग्ने र यो कार्य सरकारको दायित्वसमेत भएको मन्त्री बाँस्कोटाले बताए । आउँदो वर्ष नेपाल टेलिकमको ‘चित्र’ भिन्न रुपमा प्रस्तुत हुने भएकाले टेलिकमको सेवा लिएर मनोरञ्जन लिन उनले आग्रह गरे । “टेलिकमको महसुल सस्तो छ, सकारात्मक वेभसाइट खोल्नुस्, ज्ञानवद्र्धक कुरा लिनुस् र भरपुर मनोरञ्जन लिनुस्,” उनले भने । नेपाल टेलिकमलाई ‘आमा’ को संज्ञा दिँदै मन्त्री बाँस्कोटाले टेलिकमलाई एकछिन घुक्र्याए पनि त्यही चाहिने भइसकको बताउनुभयो । उनले भने, “टेलिकम आमा जस्तै हो, कहिलेकाहीँ मर्मत वा अन्य केहीले सेवा ढिलो वा बन्द हुँदा घुक्र्याउने हो, घुक्र्याएपछि आमा चाहिएजस्तै हो टेलिकम ।’ नेपाल टेलिकमका महाप्रबन्धक सूर्यभक्त पोखरेलले टेलिकमले स्मार्ट स्कूल बनाउने योजना बनाइरहेको बताए । टेलिकमको बनेपा शाखाअन्तर्गत बेथानचोकमा विस्तार गरिएको टेलिफोन एक्सचेन्ज काभे्रपलाञ्चोकको १७औँ हो । मन्त्री बाँस्कोटाले आजै बेथानचोक गाउँपालिका–३ महाँकालस्थित कृष्णगोपाल माध्यमिक विद्यालयको ५२औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै सरकारले एक वर्षमा ९०० सामुदायिक विद्यालयमा इन्टरनेट सुविधासहित कम्प्युटर ल्यावको स्थापना गर्ने बताए ।

२५ लाख ‘पोर्न साइट’ बन्द गर्‍यौं, अब तीन लाख साइट बन्द गर्छौंः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, पुष १ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताएका छन् । बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भने, “पच्चीस लाख अश्लील वेभसाइट बन्द गर्यौ, क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेभसाइट बन्द गर्दैछौं ।” इन्टरनेटको पहुँचसँगै अश्लील वेभसाइटले विकृत मानसिकता पैदा गर्ने भएकाले समाजमा असल नागरिकका रुपमा स्थापित गराउन र सुरक्षित वातावरण निर्माण गर्न अश्लील वेभसाइट बन्द गर्नुपर्ने आवश्यकता रहेको मन्त्री बाँस्कोटाको भनाई थियो । रासस