त्रिवि शिक्षण अस्पतालभित्रै वृद्धद्वारा आत्महत्या

काठमाडौं, मंसिर २४ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे बोहराको शव फेला पारेको जानकारी दिनुभयो । बोहरा लामो समयदेखि सोही अस्पतालको अक्सिजन प्लान्ट शाखामा कार्यरत भई विसं २०६० मा अवकाश लिएका व्यक्ति हुन् ।

रक्तचापबाट बिरामी बोहराले के कारणले आत्महत्या गरे भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको वृत्तले जनाएको छ । रासस

डिएनए नमिले प्रदिप र विशाललाई छाेडिने, विशेष अनुसन्धान टोली गठन गर्न छलफल

काठमाडौ, मंसिर २४ । निर्मला पन्तकाे हत्या आशंकामा पक्राउ परेका आरोपीको डिएनए पनि ‘म्याच’ नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने भएको छ । अाजकाे नयाँ पत्रिका दैनिकले यसकाे खुलासा गरेकाे हाे । नयाँ पत्रिका लेख्छः संगठित अपराध ऐनमा रहेको प्रावधानअनुसार स्वतन्त्र विशेषज्ञहरूसमेत राखेर यस्तो अनुसन्धान टोली गठन गर्नेबारे गृह मन्त्रालयले छलफल गरिरहेको छ । अहिले प्रहरीले भीमदत्तनगर– १८ का प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सोधपुछका क्रममा उनीहरूले अपराध स्वीकार गरेका छन्, तर उनीहरूका कतिपय कुरा नमिल्दो रहेको प्रहरीले जनाएको छ । विगतमा अभियुक्त भनेर पक्राउ गरिएका दिलीपसिंह विष्टले पनि सुरुमा अपराध स्वीकार गरे पनि डिएनए नमिलेपछि छाडिएको थियो । हाल पक्राउ परेकाको डिएनए रिपोर्ट म्याच नभए उनीहरूलाई पनि छाड्ने प्रहरी तयारी छ । रावल र चौधरीको डिएनए म्याच नभए विशेष अनुसन्धान टोली गठन गर्ने तयारी भइरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए । संगठित अपराध ऐन आएपश्चात् एकपटक मात्र यस्तो विशेष टोली गठन भएको छ । सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा यस्तो टोली गठन गरिएको थियो । यस्तो टोलीले आफैँ पक्राउ पुर्जी दिएर पक्राउ र सोधपुछ गर्न पाउँछ । टोलीमा प्रहरीबाहिरका स्वतन्त्र अनुसन्धानकर्ता मात्र राख्न सकिने प्रावधान ऐनमा छ । हाल डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृतका रूपमा तोकेर अनुसन्धान भइरहेको छ । अनुसन्धानमा सिआइबीलगायत प्रहरीका विभिन्न निकायबाट अधिकारीहरू खटिएका छन् । चार महिनामा प्रहरीले तीन सयभन्दा धेरैलाई पक्राउ गर्दा पनि अभियुक्त फेला पार्न सकेको छैन । प्रहरीले घटनास्थलको सुरक्षा नगर्नु र प्रमाण मेट्नुले कसैलाई जोगाउन खोजिएको आशंका व्यक्त गरिँदै आएको छ । महेन्द्रनगरका स्थानीयहरूले भने प्रदीप र विशाललाई फसाउन खोजिएको आशंका व्यक्त गरेका छन् । प्रहरी स्रोतले प्रदीप विगतमा पनि बलात्कारको घटनामा संलग्न रहेको अनुसन्धानमा खुलेको बताए पनि उनका काका बलबहादुर रावलले त्यो गलत भएको बताए ।

प्रधानमन्त्रीको कडा निर्देशन– भ्रष्टाचार गर्ने कसैलाई नछाड्नुहोस्

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुन नदिने अठोट गरेका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयोजित कार्यक्रममा ओलीले आफू भ्रष्टाचार रोक्ने प्रयासमा रहेको दाबी गरे । ‘म भ्रष्टाचार गर्दिनँ, यसमा शतप्रतिशत प्रतिबद्ध छु,’ उनले भने, ‘भ्रष्टाचार हुन दिन्नँ भन्नेमा पनि उस्तै प्रतिबद्ध छु । तर त्यो सफल भएको छैन । प्रयास भइरहेको छ ।’ भ्रष्टाचार गर्ने कसैलाई पनि नछाड्न अख्तियारलाई आग्रह गर्दै उनले दबाबलाई वास्तै नगरी काम गर्न सुझाव दिए । कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले स्थानीय सरकारबारे उजुरीको संख्या बढेको भन्दै संक्रमणकालका नाममा त्यसलाई उन्मुक्ति नदिइने चेतावनी दिए । १० वर्षदेखिका ठेक्कापट्टा अपूरा रहेको उनले बताए । करिब ५ सय वटा त्यस्ता ठेक्कापट्टाको फाइल अनुसन्धानमा रहेको उनले जानकारी दिए । ‘रंगेहात अपरेसनबाट जोगिन घूस खाने तौरतरिकामा परिवर्तन आएको छ,’ उनले भने, ‘हामी पनि नयाँ तरिकाले उनीहरूसम्म पुग्ने कोसिस गरिरहेका छौं ।’ कान्तिपुर दैनिकबाट

प्रधानमन्त्री भन्छन्, ‘हाम्रा लागि संघीयता नयाँ खेल हो, यसमा हामी च्याम्पियन सावित हुनेछौं’

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघ, प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । अन्तर प्रदेश परिषद्को पहिलो बैठकलाई आइतबार सिंहदरबारमा सम्बोधन गर्दै उनले नेपाल संघीयता कार्यान्वयनको प्रारम्भिक चरणमा भएकाले आफ्ना अनुभवबाट सिक्दै यसलाई बलियो बनाउने पहल गर्न सबै समक्ष आग्रह गरे । उनले संघीयता नेपालका लागि नयाँ विषय भएकाले यसलाई संरचनागतरुपमा बलियो बनाउन आफैँ लाग्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने, “मुख्यमन्त्रीको कार्यालय, प्रदेश मन्त्रीको कार्यालय, आवासजस्ता विषय केही समयअघिसम्म हाम्रो सोचमा थिएनन् । अहिले तिनलाई व्यावहारिकरुपमै प्रयोग गर्नुपर्दा केही असजिलो महसुस गरेका हौँला । खेलमा पस्नेबित्तिकै कोही खेलाडी पनि च्याम्पियन हुँदैन । अभ्यास गर्दै गएपछि च्याम्पियन हुन्छ । हाम्रा लागि संघीययता त्यस्तै नयाँ खेल हो । यसमा हामी च्याम्पियन सावित हुनेछौँ ।’ सङ्घीयता कार्यान्वयनका लागि सरकारले गति बढाउनुपर्नेमा चर्चा गर्दै उनले भने, “हामी गलत बाटोमा गएका छैनौँ । संघीयता कार्यान्वयनमा गति बढाउन बाँकी छ ।” आजको बैठकमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्ना धारणा राखेका थिए । बाँकी तीन वटा प्रदेशका मुख्यमन्त्रीले सोमबारको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम छ । बैठकमा सङ्घीयता कार्यान्वयनका लागि विभिन्न मन्त्रालयबाट भइरहेका कामका विषयमा प्रधानमन्त्री कार्यालय, गृह, सङ्घीय मामिला तथा स्थानीय विकास, कानून न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयका सचिवले जानकारी गराएका थिए । बैठक सोमबार १० बजे सिंहदरबारमा पुनःबस्ने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक आजदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुरु भएको हो । संविधान, कानून, बजेट र नीति कार्यक्रम कार्यान्वयन तथा अधिकारको व्यावहारिक बाँडफाँटका सम्बन्धमा देखिएका विवाद समाधान गर्न परिषद्को बैठक माग गरिएको थियो । नेपालको संविधानको धारा २३४ मा अन्तर प्रदेश परिषद्को व्यवस्था छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा गृहमन्त्री, अर्थमन्त्री, सम्बन्धित प्रदेशका मुख्यमन्त्री सदस्य हुन्छन् । बैठकमा सङ्घीय सरकारका अन्य मन्त्री तथा सचिव पनि आमन्त्रित हुन्छन् । रासस

अहिलेको कर्मचारीतन्त्रबाट कम्युनिस्टले देखेको जस्तो विकास सम्भव छैनः प्रचण्ड [भिडियो]

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भइरहेकै कर्मचारीतन्त्र र राज्य संरचनाबाट कम्युनिष्टले देखेको जस्तो विकास सम्भव नभएको बताएका छन् । राजधानीमा आयोजित एक कायृक्रममा बोल्दै प्रचण्डले हालको कर्मचारीतन्त्रबाट सरकारले देखेको विकास हासिल गर्न कठिन रहेको बताएका हुन् । यस्तै, उनले स्थायी कमिटीको बैठकले जिल्ला र जनसंगठनको एकताको टुंगो लाग्ने जानकारी दिए । मंसिर २९ गते स्थानीय कमिटीको बैठक बोलाइएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले प्रदेश कमिटीको टुंगो लागिसकेकाले आगामी स्थायी कमिटीबाट जिल्ला र जनसंगठनको एकता गर्ने लक्ष्य बनाएको बताए । जनसांस्कृतिक महासंघ नेपालद्वारा जनगायक स्व. खुशीराम पाख्रीनको स्मृतिमा आइतबार राजधानीमा भएको सांस्कृतिक कार्यक्रममा उनले जनस्तर एवं पार्टीभित्र भावनालाई पार्टीको स्थायी कमिटी बैठकमा एजेण्डा बनाएर लैजाने विश्वास दिलाए । उनले भने, “सांस्कृतिक आन्दोलनका अगुवा र कलाकारका भावनालाई स्थायी कमिटीमा एजेण्डा बनाएर प्रस्तुत गर्छु, यसलाई मलाई पनि एउटा दिशाबोध गरेको छ ।” जनताका बीचमा अभियान लैजाने र सांस्कृतिक आन्दोलन चलाउने कुरा बिर्सिएर विकासलाई बोझ ठान्न थालियो भने समृद्धि र सुखी नेपाली हुन नसक्ने भन्दै उनले विकासलाई अभियानका रुपमा अगाडि बढाउनुपर्ने र उत्सवका रुपमा लैजानुपर्नेमा जोड दिए । अध्यक्ष प्रचण्डले सातै प्रदेशमा हुने प्रशिक्षण कार्यक्रम चलाउने कुरा जस्तै सांस्कृतिक आन्दोलनका निम्ति पनि अभियान चलाउने योजना ल्याइने प्रतिबद्धता जनाए । जनमतको निर्माण साहित्य, कला र गीत संगीतले गर्ने बताउँदै अध्यक्ष प्रचण्डले खुशीराम पाख्रीन कम्युनिष्ट उद्देश्यका निम्ति समर्पित योद्धा भएको स्मरण गर्नुभयो । सपना पूरा गर्न सबैले सङ्कल्प गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा नेकपा स्थायी कमिटीका सदस्य अग्नि सापकोटा, पम्फा भुसाल, मणि थापा, साहित्यकार रामेश, रायन, जेवी टुहुरेलगायतको सहभागिता थियो । कार्यक्रममा कलाकारले जनगायक स्व पाख्रिनका शब्द, सङ्गीत रहेका विभिन्न गीत प्रस्तुत गरेका थिए ।

खानेपानी मन्त्रीद्वारा महिला समूहलाई १२ हजार कुखुराका चल्ला वितरण

कञ्चनजपुर, मंसिर २३ । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरमा रहेका विभिन्न महिला समूहलाई कुखुराका चल्ला वितरण गरेकी छन् । जिल्लामा रहेका १ सय २० वटा महिला समूहलाई १२ हजार कुखुराका चल्ला वितरण गरिएको हो। प्रज्ञा (प्रकाश–ज्ञानु दाहाल) स्मृति प्रतिष्ठानले बेलौरी उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरेको कार्यक्रममा मन्त्री मगरले प्रगतिशील महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले कुखुराका चल्ला वितरण गरिएको बताइन् । कार्यक्रममा बोल्दै मन्त्री मगरले महिलाहरुलाई आत्मनिर्भर बनाएर आयआर्जनमा जोड दिन सबै लाग्नुपर्नेमा जोड दिइन् । उनले सामूहिक रूपमा महिलाहरुलाई सशक्त बनाई परनिर्भर हुनुपर्ने बाध्यताबाट मुक्त गर्नु पर्ने बताइन् । कुखुराका चल्ला प्राप्त गरिसके पछि महिला समूहका प्रतिनिधिहरूले सामूहिक रूपमा कुखुरापालन गरी समूहमा आबद्ध सदस्यहरूलाई आत्मनिर्भर बनाउन केन्द्रित हुने बताएका छन् ।

पञ्जीकरण नहुने सवारी सडकमा गुड्न नपाउने

काठमाडौ‌, मंसिर २३ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मंसिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने भएका छन् । उद्योग अथवा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ भदौ ५ गते सरकारलाई निर्देशन दिएको थियो । यससम्बन्धी व्यवस्था गर्न विभागले गत चैत १८ गते निर्देशिकासमेत जारी गरेको थियो । कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण गर्न दिइएको छ महिना लामो समयमा एक हजार ५०० कम्पनीका करीब छ हजार सवारी मात्र दर्ता भएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले राससलाई जानकारी दिनुभयो । पुस १ गतेदेखि कम्पनीमा दर्ता भएर विभागमा पञ्जीकरण नभएका सवारी सडकमा गुडे नियन्त्रणमा लिने विभागले जनाएको छ । यसअघि सङ्घसंस्था ऐनअनुसार सामाजिक संस्थाका रुपमा दर्ता भएका यातायात समितिलाई गत साउनदेखि नै नवीकरण बन्द गरिएको छ । सवारी कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण गरेपछि यातायात एकाधिकार (सिण्डिकेट) हट्ने विश्वास गरिएको छ ।

विशाल चौधरीकी आमाको प्रश्न– निर्मला हत्याको अघिल्लो दिन चोरीको आरोपमा हिरासतमा थियो छोरा, अनि कसरी गर्छ उसले हत्या ?

काठमाडौं, मंसिर २० । प्रहरीले निर्मला हत्याकाण्ड साँघुरिएको बताइरहेको बेला अनुसन्धानका लागि पक्राउ गरिएका परिवारले भने आपत्ती व्यक्त गरेका छन् । पक्राऊ परेका रावल थरका युवासँगै थप पक्राउ परेका दुई जनामध्ये विशाल चौधरीको परिवारले छोराको संलग्नता हुन नसक्ने जिकिर गरेका हुन । नयाँ पत्रिकाले उल्लेख गरे अनुसार, निर्मलाको हत्या भएको दिन कुखुरा चोरीको आरोपमा प्रहरीले विशाललाई हिरासतमा लिएको थियो । हत्या भएका राती विशाल प्रहरी हिरासतमैं भएको उनको दावी छ । नयाँ पत्रिकामा प्रकाशित समाचार यस्तो छ । चार–पाँच दिनअघि बिहान राम्ररी उज्यालो पनि भएको थिएन । हाम्रो छोरो ९विशाल० त उठेको पनि थिएन, पुलिसले ओछ्यानबाटै लगे । दिनभर केरकार गरेर बेलुका छाडिदिए । अर्को दिन फेरि समातेछन्, दिनभर केरकार गरेर छाडिदिए । यसरी कहिले घरबाट, कहिले पसलबाट त कहिले बाटोबाटै समातेर लग्ने र छोड्ने गरिरहेका थिए । हामी ज्यालादारीमा काम गर्छौँ, बुधबार दिनभर काम गरेर साँझ फर्किएका थियौँ, छोरालाई फेरि समातेछन्, बाटोबाटै पक्रेर पुलिसले लग्यो भन्दै उसका साथीहरू आए । छुटाउन गयौँ । तर, उसलाई भित्र राखिएको थियो, तपाईंहरू गेटबाहिर बस्नोस् भनेर हामीलाई धपाइदियो । राति उसलाई उतै राख्ने भए, हामी घर आयौँ । तर, सुत्न सकेका थिएनौँ । राति १२ बजेतिर गाडी लिएर पुलिस आए, विशालका सारा कपडा उठाएर लगे, थोत्रा चप्पल पनि छाडेनन् । बिहान हामी पुलिस कार्यालय गयौँ, भित्र जान दिएन । अब तिम्रो छोरालाई काठमाडौं लग्ने हो, तिमी पनि जानुपर्छ, २ बजे तयार हुनू भनेर मेरो श्रीमान्लाई पुलिसले भने । पुलिसले भनेपछि मान्नैपर्‍यो, पक्राउ परेका अरूलाई पनि गाडीमा राखेर धनगढी लगे, त्यहाँबाट जहाजमा काठमाडौं लगे भन्ने सुनेकी छु, अरू जानकारी पाएकी छैन । चार–पाँच दिनयता हरेकपटक पक्राउ गर्दा निर्मलाको केसबारे सोधपुछ गर्छन् भनेर छोराले भनेको थियो । तर, त्यो केसमा मेरो छोराको दोष छैन । किनकि १० साउनमा निर्मलाको घटना भएको भन्ने सुनेकी छु । ९ साउनमा मेरो छोरालाई पुलिसले पक्राउ गरेको थियो । हाम्रै गाउँको एउटा मान्छेले कुखुराको मासुको व्यापार गर्छ । उसको कुखुरा हराएको रहेछ । चोरीमा मेरो छोराको नाम लिएको रहेछ, त्यसैले पुलिसले उसलाई पक्रेको थियो । त्यो रात विशाल थुनामै बस्यो । भोलिपल्ट बिहानै म गएकी थिएँ, म जमानी बसेपछि विशाललाई पुलिसले छाडिदियो । हामी दिउँसो ११ बजेतिर घर आयौँ, खाना खायौँ, दिनभर कतै गएनौँ । मैले विशाललाई पनि कतै जान दिइनँ, किनकि जमानीमा बसेर ल्याएकी थिएँ । भोलिपल्ट साउन ११ मा फेरि पुलिसको वडा कार्यालयमा लिएर गएँ । तर, कुखुरा हरायो भन्ने मान्छे आएन । पुलिस सरहरूले फोन गर्दा पनि आएन । त्यसैले हामीलाई छाडियो । त्यसपछि प्रहरीले मेरो छोरालाई अहिलेसम्म सोधखोज नै गरेको थिएन । मेरो छोराले के–के औषधि पनि खान्छ भनेर हल्ला चलेको सुनेकी छु । दारु खाएको थाहा छ, त्यस्तो औषधि खाएको मलाई थाहा छैन । बरु एकपटक एउटा पसलबाट बिस्कुट, चाउचाउ चोर्‍यो भनेर पनि पुलिसले लगेको थियो । यसअघि पनि चोरीको केसमा पुलिसले लगेकोे हो, तर त्यस्तो अपराध गरेको भन्ने गलत हो ।

मापसे गरी सवारी चलाउनेमा पुरुष भन्दा महिलाको संख्या बढी

काठमाडौं, मंसिर २० । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०६८ मंसिर १७ गतेबाट लागू गरेको मादकपदार्थ सेवन गर्नेहरुको चेकजाँचलाई निरन्तरता दिएको ६ वर्ष पुगेको छ । यस अवधिमा मादकपदार्थ सेवन गरी सवारी–साधन चलाउनेको संख्या निकै घटेको छ भने दुर्घटनामा पनि कमी आएको देखिन्छ । तर, मादकपदार्थ सेवन गरी सवारी चलाउनेमा पुरुषको तुलनामा महिलाको संख्या भने बढी देखिन्छ । २०६८/०६९ मा मादकपदार्थ सेवन गरी सवारी चलाउने महिलाको संख्या १८७ थियो भने यो संख्या बढ्दै गइ यस वर्ष १५ सय ९० पुगेको छ । यो संख्या पुरुषको तुलनामा धेरै रहेको ट्राफिक प्रहरीको भनाइ छ । यसैगरी, २०७१ साल असोज २६ गतेबाट लागू गरिएको लेन अनुशासन पालनासम्बन्धी नियम उल्लंघन गर्ने महिनाको संख्या पनि बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ । सुरुका वर्षहरुमा लेन अनुशासन पालना गर्ने महिलाको संख्या १८ सय ५४ थियो भने यो संख्या बढेर यस वर्ष १३ हजार ७४ पुगेको छ । त्यसो त मादकपदार्थ सेवन गर्नेहरुले जरिवानासँगसँगै ट्राफिक नियमसम्बन्धी कक्षा लिनुपर्ने व्यवस्थाका कारण भने मापसे गर्नेहरुको संख्यामा ९० प्रतिशतले कमी आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको दाबी छ । मापसे गर्नेको संख्यामा कमी आएसँगै सवारी दुर्घटनामासमेत कमी आएको पाइएको छ । मापसे चेकजाँचसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय मिटरमा जान नमान्ने, मिटर बिगार्ने र भाडामा अनियमितता गर्ने चालकहरुमाथि पनि कारबाही तीव्र पारेको छ । ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन जनचेतनामूलक कार्यक्रमहरु पनि गर्दै आएको छ । इमेजखबरबाट

भरतपुरको हरेक वडा र विद्यालयमा खेल मैदान हुनेछन्ः मेयर दाहाल (भिडियो)

चितवन, मंसिर २० । जिल्लाको भरतपुर महानगरपलिकाकी मेयर रेनु दाहालले महानगरमा एक वडा, एक खेल मैदान अभियान सुरु भएको बताएकी छिन् । खेलकुदको विकासका लागि महानगरपाकिलाको अब हरेक वडा, हरेक विद्यालयमा खेल मैदान निर्माण गर्ने अभियान सुरु भएको मेयर दाहालले बताएकी हुन् । भरतपुर महानगरपालिका वडा नम्बर ५ कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको आयोजनामा आठौं अन्तर विद्यालय एथलेटिक्स प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलको विकासका लागि महत्वका साथ, गम्भीरताका साथ र प्रथामिकताका साथ लागि परेको स्पष्टसमेत पारिन् । महानगर प्रमुख दाहालले देशकै केन्द्र भागमा रहेकाले खेल विकासका लागि हरेक वडामा खेल मैदान निर्माण गरिने घोषणा गरि योजनासमेत बनाइसकेको जानकारी दिइन् । शैक्षिक विकास लागि खेल समेत महत्पूर्ण छ, उनले भनिन्, ‘यहि कारण अब हरेक बालबालिकाहरुलाई खेलमा समेत महानगरले अग्रसर खेल मैदानमा जोड छ ।’ धेरै सम्भावना रहेको भरतपुरमा हरेक खालको विकासको लहर सुरु भएको बताउँदै मेयर दाहालले एकसाथ समानुपातिक रुपमा विकास हुने स्पष्ट पारिन् । महानगरमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई आवश्यकता अनुसार प्रथामिकता दिदै खल समेत महत्व दिई रंगशाला निर्माण भइरहेको बताउँदै अन्तर्राष्टि«य स्तरको क्रिकेट रंगशाला समेत केहि दिनभित्र शिलान्यास हुने जानकारी दिइन् ।

बझाङको प्राथमिक तहको नतिजा सार्वजनिक [नामसहित]

भक्तपुर, मंसिर २० । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसैबीच, आयोगले बिहीबार प्राथमिक तह अन्तर्गत बझाङको नतिजा पनि प्रकाशन गरेको छ । बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न सुरु गरेको हो ।

श्रममन्त्रीको घोषणा– न्यूनतम् पारिश्रमिक नदिने संस्थालाई कारवाही

काठमाडौं, मंसिर २१ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गरिने बताएका छन् । युएनआई–एप्रो नेपाल लियाजन काउन्सिलको पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्र्दै उनले श्रमिकले न्यूनतम वेतन र सामाजिक सुरक्षा पाउने वातावरण सिर्जना गर्न सरकार केन्द्रित हुने बताए । उनले सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउँदै अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि उक्त योजनामा सहभागी गराइने बताए । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत सेवा उद्योगको विकास र विस्तार गर्दै व्यवस्थित बनाउन आवश्यक रहेकामा जोड दिँदै उहाँले ती क्षेत्रमा काम गर्ने श्रमिकलाई पनि सामाजिक सुरक्षाले समेट्ने गरी अघि बढ्ने बताए। नेपाल ट्रेड युनियन काङ्ग्रेसका उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्कीले सेवा क्षेत्रका श्रमिकलाई सङ्गठित गर्दै उनीहरुको हकअधिकारलाई प्रत्याभूति गराउन मजदूर सङ्गठन क्रियाशील हुनुपर्ने बताए । विश्वव्यापी रुपमा सामाजिक प्रजातन्त्रका बारेमा अभियान चलाउँदै आएको संस्था एफइएस नेपालका निर्देशक अनेत्ते सिल्चितले सेवा क्षेत्रमा असङ्गठित रुपमा रहेका थुप्रै श्रमिकलाई सङ्गठित गर्दै एकताबद्ध बनाउनुपर्ने बताए । नेदरल्याण्ड ट्रेड युनियन महासङ्घका क्षेत्रीय संयोजक प्रभू राजेन्द्रले नेपालका श्रमिकलाई लक्षित गरेर नयाँ श्रम ऐन र सामाजिक सुरक्षा कार्यक्रम लागू हुन निकै खुशीको विषय भए पनि यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारले ध्यान दिनुपर्ने बताए । नवीनतम् प्रविधिका बारेमा पनि श्रमिकलाई दक्ष बनाउनुपर्नेमा जोड दिँदै उनले सबै क्षेत्रका श्रमिकबीच ऐक्यबद्धताको खाँचो औँल्याए । काउन्सिलका उपाध्यक्ष महेन्द्र श्रेष्ठले विकसित प्रविधिले श्रमिकको रोजीरोटी गुम्नसक्नेतर्फ सचेत हुँदै श्रमिकले पनि आफूलाई अद्यावधिक बनाउनुपर्ने बताए । सम्मेलनमा विभिन्न सेवा क्षेत्रमा काम गर्ने ट्रेड युनियनमा आबद्ध २०० भन्दा प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको छ । रासस

निर्मलाको न्यायका लागि राष्ट्रपति निवास अगाडि प्रदर्शन, १२ जना प्रदर्शनकारी पक्राउ

काठमाडौं, मंसिर २० । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको लागि न्याय माग्दै राष्ट्रपति निवास महाराजगञ्ज अगाडि प्रदर्शन गरिएको छ । ‘निर्मलाका निम्ती न्याय’ अभियानमा सहभागिहरुले राष्ट्रपति निवास अगाडि ‘म निर्मला’ लेखिएको पट्टी आँखामा बाँधेर प्रदर्शन गरेका हुन् । यसैबीच, प्रहरीले १२ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुलाई महाराजगञ्ज प्रहरी वृत्तमा लगिएको छ । निर्मलाको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै देशव्यापी रुपमा दबाव कार्यक्रम गरिँदै आएको छ ।

नेकपाको जिल्ला अध्यक्ष र सचिवका लागि नयाँ मापदण्ड

काठमाडौं, मंसिर २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ६ महिनापछि प्रदेश कमिटीको एकीकरण टुंगो लगाए पनि नेतृत्व चयनको भागबण्डा विवादले तीन दर्जनभन्दा बढी जिल्लाको एकीकरण अड्किएको छ । प्रदेश तहमा बनेका एकीकरण कार्यदलहरूले जिल्ला एकीकरणसम्बन्धी प्रतिवेदन बुझाएको तीन महिना पुगे पनि केन्द्रीय सचिवालयमा नेतृत्व चयनको मापदण्डमा सहमति नहुँदा जिल्ला एकीकरण अड्किएको हो । तलै सर्वसम्मत भइसकेका थुप्रै जिल्लाको एकीकरणलाई पनि केन्द्रीय सचिवालयले अनुमोदन गरिसकेको छैन । महासचिव विष्णु पौडेलले सचिवालय बैठकमा जिल्ला अध्यक्ष, सोसरहको जिम्मेवारीमा रहेका व्यक्ति वा त्यसभन्दा माथिल्लो कमिटीमा रहेकामध्येबाट जिल्ला अध्यक्ष वा सचिव बनाउन सकिने गरी मापदण्ड प्रस्तुत गरेका थिए । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले भने पार्टी एकता दुई कमिटीबीचको एकीकरण भएकाले तत्कालीन एमालेको भागमा परेको नेतृत्वमा जिल्लाका पदाधिकारीमध्ये वरिष्ठताका आधारमा चयन गर्ने गरी मापदण्ड तोक्नुपर्ने मत राख्दै आएका छन् । जनप्रतिनिधिमा निर्वाचित व्यक्तिलाई पार्टीमा कार्यकारी भूमिका नदिने मापदण्ड बनिसकेकाले उनीहरूको सट्टा सिनियर पदाधिकारीमध्येबाट जिल्ला अध्यक्ष वा सचिव चयन गर्नुपर्नेमा नेपाल र खनालको जोड छ । नयाँ पत्रिका दैनिकमा यो खबर छ ।

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं, मंसिर २० । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४) मा सहभागी भई आज स्वदेश फर्किएका छन् । राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे । सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रीहरु, उच्च सरकारी अधिकारी, सुरक्षा प्रमुखलगायत विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेका थिए। राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो । राष्ट्रपति भण्डारीले पोल्याण्डको क्याटविस शहरमा यही मङ्सिर १६ गतेदेखि शुरु भई २८ गतेसम्म चल्ने सम्मेलनको उद्घाट्न सत्रमा विशेष सम्बोधन गरेकी थिइन् । भ्रमण दलमा सहभागी वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति भण्डारीको भ्रमणका बारेमा जानकारी दिए । राष्ट्रपति भण्डारीले सम्मेलनको उद्घाटनमा नेपाल पृथ्वीको तापक्रम नियन्त्रण गर्न ठूलो योगदान दिने मुलुक भए पनि नेपाली जनताले आफूले कहिल्यै नगरेको गल्तीका कारण सजाय भोग्नुपरेको बताएकी मन्त्री बस्नेतले उल्लेख गरे । नेपाल हिमाल, पहाड र तराईयुक्त अतिकम विकसित मुलुक भएको र नेपालले जलवायु परिवर्तनको विषम प्रभाव भोगिरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाल न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि हिमनदी पग्लिरहेको र सेता हिमाल काला र फुस्रा भएको, हिमनदी पग्लने सम्भावना बढिरहेको बताएकी थिइन् । राष्ट्रपति भण्डारीले नेपालले नवीकरणीय ऊर्जा विकास तथा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्न विशेष प्रयास गरेको र नमूना परियोजना तयार तथा कार्यान्वयन गरी नेपालले जलवायु परिवर्तनका जोखिम कम गर्न प्रयास गरेको बताएकी थिइन् । राष्ट्रपति भण्डारीले सम्मेलनमा हिमाली जलवायु विज्ञानको अध्ययन प्रवद्र्धन गर्ने, दिगो पहाडी अर्थतन्त्र जोगाउने, सामाजिक तथा आर्थिक विकास गर्ने, सबै नेपालीलाई स्वच्छ ऊर्जामा पहुँच दिने प्रयासमा ज्ञान, सीप, प्रविधि र जलवायु वित्त अन्तर्राष्ट्रिय समुदायको समर्थन र सहयोग हुने विश्वास व्यक्त गरेकी थिइन् । भ्रमणका अवसरमा राष्ट्रपति भण्डारी र राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फरनान्डा इस्पिनोसा ग्रासेसलेबीच शिष्टाचार भेटवार्ता भएको थियो । साथै, राष्ट्रपति भण्डारी र पोल्याण्डका राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडाबीच द्विपक्षीय भेटवार्ता भएको मन्त्री बस्नेतले जानकारी दिए । रासस

निर्मला पन्तको हत्या घटनामा विशेषज्ञ अनुसन्धान टोली गठन गर्न गृहको तयारी

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा गृह मन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ । समाचारमा अगाडि उल्लेख छः प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई घटनाको अनुसन्धान गर्ने जिम्मेवारी दिइरहेकै बेला अनुसन्धानमा दक्ष रहेका प्रहरी सहभागी गराई विशेषज्ञ टोली गठन गर्ने तयारी भएको हो। मन्त्रालयमा बुधबार दिनभर गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, मन्त्रीका सल्लाहकारद्वय सूर्य सुवेदी र डा. इन्द्रजित राई तथा मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीबीच यस विषयमा छलफल भएको हो। प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धिरु बस्न्यातको संयोजकत्वमा गठन भएको ‘तत्काल अनुसन्धानमा खटिएका प्रहरीमाथिको छानबिन तथा अनुसन्धान टोली’ ले अहिलेसम्म ठोस प्रतिवेदन दिएको छैन। देशव्यापी चासोको विषय बनेको निर्मला हत्या घटनाले यसले प्रहरीको विश्वसनीयतामा प्रश्न खडा गरेको र गृह मन्त्रालय तथा सरकारलाई नै दबाब महसुस भएकाले प्रहरीकै विशेषज्ञ टोली बनाएर अनुसन्धान गर्नुपर्ने मन्त्रालयको ठहर छ। गृहमन्त्री थापाले यो विषयमा सबै संयन्त्र परिचालन गरी हत्यारा पत्ता लगाउन विशेषज्ञ टोली बनाउने प्रस्ताव गरेका थिए। बैठक स्रोतका अनुसार मन्त्रीले नै सो प्रस्ताव गरेपछि त्यस विषयमा गृहसचिव राई तथा मन्त्रालयका प्रवक्ता सुवेदीले कसरी जान सकिन्छ भनेर आइजी खनाललाई प्रश्न गरेका थिए। तीन घण्टाभन्दा बढी चलेको सो छलफलमा प्रहरी महानिरीक्षक खनालले तत्काल सिआइबीबाटै अनुसन्धान भइरहेकाले यसलाई प्रभावकारी बनाइने बताए पनि बैठकमा सहभागीले मन्त्रीको प्रस्तावलाई नै जोड दिएको स्रोतले जनाएको छ। गृहमन्त्री थापाको प्रस्तावमा लामै छलफल भए पनि विशेषज्ञ टोली भने बनाइएको छैन। प्रहरी महानिरीक्षकले सो विषयमा प्रहरीकै अपराध अनुसन्धान विभागसँग समन्वय गरी गृह मन्त्रालयसँग छलफलमा बस्ने बताएपछि बैठक टुंगिएको मन्त्रालय स्रोतले जनाएको छ। देशव्यापी रुपमा सरकारको आलोचना भएको र प्रहरीको कार्यक्षमतामाथि प्रश्न उठेको बेला अनुसन्धानको दायरा फराकिलो पार्ने उद्देश्यले गृह मन्त्रालयबाट यस्तो प्रस्ताव आएको स्रोतले बतायो। निर्मला पन्तको तस्बिर अंकित पोस्टरमा ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने नारा देशव्यापी भएको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकृष्ट भएकाले निर्मलाको हत्यारा पत्ता लगाउने विषयमा विशषेज्ञ टोली बनाउने जमर्को भएको हो। ‘अपराधको अनुसन्धान गर्ने प्रहरी नै भएकाले अहिले खटिएका भन्दा अब्बल प्रहरी खटाउन सकिन्छ कि भनेर छलफल थालिएको हो’, मन्त्रालय स्रोतले भन्यो, ‘यो विषयमा तीन चार दिन यता मन्त्रालयमा छलफल भइरहेको छ, छलफलमा मन्त्रीज्यू आफैं सहभागी हुनहुन्छ।’ यसअघि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा बनाएको छानबिन समितिले प्रहरीको लापरबाहीका कारण हत्यारा उम्किएको जनाउँदै दोषी प्रहरीमाथि प्रहरी नियमावलीअनुसार कारबाही गर्न सिफारिस गरेको थियो। सोही अनुसार प्रहरी प्रधान कार्यालयको सिफारिसमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख एसपी दिल्लीराज बिष्ट र इलाका प्रहरी कार्यालयका प्रमुख जगदीश भट्टलाई बर्खास्त गरिएको छ। अनुसन्धानमा खटिएका डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकीन्द्र खड्का, सई हरिशरण धामी, असई रामसिंह धामी र चाँदनी सावदलाई निलम्बनमा राखिएको छ। प्रहरीले त्यसयता अनुसन्धानको क्रममा एसपी बिष्टसहित नौजनाको डिएनए परीक्षण गरिसकेको छ भने अनुसन्धानका लागि सिआइबीले कञ्चनपुरबाट केही दिनअघि सातजनालाई काठमाडौं ल्याएको थियो। अनुसन्धानपछि ६ जना फिर्ता भइसकेका छन भने एकजनालाई सिआइबीले थप अनुसन्धानका लागि हिरासतमा राखेको छ। निर्मलाको भेजिनल स्वाब सुरक्षित भेटिएपछि प्रहरीले अनुसन्धानको दायरा डिएनए परीक्षणसम्म पु-याएको छ। हालसम्म डिएनए परीक्षण गरिएको व्यक्तिको रिपोर्ट भने नकारात्मक छ। मन्त्रालयका सहसचिव मैनाली संयोजकत्वमा बनेको समितिको प्रतिवेदनले निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामूहिक बलात्कार भएको आंशका गरेको थियो। प्रहरी प्रधान कार्यालयले विभिन्न कोणबाट घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। घटनाक्रम १० साउन : निर्मलाको हत्या ११ साउन : शव भेटिएपछि कञ्चनपुर प्रहरीबाट अनुसन्धान सुरु १२ साउन : सिआइबीबाट डिएसपी अंगुर जिसी खेतृत्वमा खटिएको तीन सदस्यीय टोली कञ्चनपुरमा ४ भदौ : कञ्चनपुर प्रहरीले स्थानीय दिलीप बिष्टलाई दोषी भन्दै सार्वजनिक ७ भदौ : गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा सातसदस्यीय छानबिन समिति गठन ८ भदौ : सिआइबीका एसपी ठाकुर ज्ञवाली कञ्चनपुरमा ८ भदौ : आन्दोलनका क्रममा प्रहरी गोली लागेर सन्नी खुनाको मृत्यु २८ भदौ : एआइजी धिरु बस्न्यातको संयोजकत्वमा नौ सदस्यीय छानबिन तथा अनुसन्धान टोली गठन