गोरु काटिरहेकाे अवस्थामा दश जना पक्राउ
सुनसरी, मंसिर २८ । गोर काटेको आरोपमा सुनसरीको धरानबाट शुक्रबार १० जना पक्राउ परेका छन् ।
बिहान ६ बजे धरानको लोसे भन्ने ठाउँमा गोरु काटिरहेको अवस्थामा राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ-३ का बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसुरी पक्राउ परेका हुन् ।
उनीहरुलाई बिशेष सुराकीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका दश जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ ।
भोलि स्थायी कमिटी बैठक, प्रचण्ड र ओलीलाई घेराबन्दी गर्ने माधव नेपाल समूहको विशेष योजना
काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक भोलि बस्दैछ । स्थायी समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीचको एकता प्रक्रियालाई टुंगो लगाउने मुख्य एजेण्डा रहेको छ । यसबाहेक सरकारको समीक्षाका बारेमा समेत स्थायी समितिको बैठकमा छलफल हुन सक्ने देखिन्छ । पार्टी एकीकरणका विषयमा प्रदेशस्तरसम्मको एकताका बारेमा नेकपाको सचिवालयले यसअघि नै टुंगो लगाईसकेको अवस्था छ । भोली बस्ने स्थायी समितिको बैठकले ७७ वटा जिल्लाका इन्चार्ज र अध्यक्षबारे निर्णय गर्ने छ । यसबाहेक प्रदेश समन्वय कमिटि र विशेष प्रदेश कमिटिका बारेमा समेत भोली छलफल हुन सक्ने छ । यसअघि प्रदेश तहमा एकीकरणका लागि नेकपाले सात वटै प्रदेशमा पूर्व नेकपा एमाले र माओवादी केन्द्रबाट रहने गरी कार्यदल गठन गरेको थियो । कार्यदलले दिएको सिफारिस गरेको आधारमा सामान्य परिमार्जन सहित सचिवालय बैठकले प्रदेशको एकीकरण प्रक्रिया टुंगो लगाएको हो । अब जिल्ला इन्चार्ज र अध्यक्ष तथा सचिवको चयन हुन बाँकी छ । त्यसपछि जिल्ला कमिटि र सो भन्दा मातहतका कमिटिहरुको एकीकरण हुने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पार्टीका प्रभावशाली नेता माधव नेपाललाई समर्थन गर्ने समूहले भने यसअघि नै प्रदेश एकीकरणको प्रक्रियामा आपत्ती जनाएको थियो । माधव नेपाल समूहले प्रदेशको एकीकरणलाई समेत स्थायी कमिटिको बैठकबाट टुंगो लगाउनु पर्ने अडान लिएको थियो । यद्यपी सचिवालयले भने त्यो प्रस्ताव स्वीकार गरेन । नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डले निर्णय लादेको आरोप माधव नेपाल समूहको छ । यता अध्यक्षद्वयले भने माधव नेपाल समूहको आरोपबारे कुनै खण्डन सार्वजनिक गरेका छैनन् । तर माधव नेपाल समूहले आफ्नो समूह–स्वार्थ पुर्ति गर्न अनावश्यक बार्गेनिङ गरेको संस्थापन पक्षका समर्थक बताउँछन् । यो पृष्ठभूमिमा भोली बस्ने स्थायी कमिटिको बैठकमा माधव नेपाल समूहले जिल्ला नेतृत्वको बारेमा विशेष अडान लिने रणनीति अपनाउने देखिएको छ । एभरेष्ट दैनिकलाई प्राप्त जानकारी अनुसार, माधव नेपाल समूहले ७७ वटै जिल्लामा सम्भावित नेतृत्वको सूचि नै तयार गरी त्यसमा अडान लिने तयारी गरेको छ । यसअघि एकता कार्यदलले दिएको सुझावमा आंशिक सहमति मात्र रहेको भन्दै माधव नेपाल समूहले सबै जिल्लामा आफ्नो समूहका कार्यकर्ता तथा नेताहरु समेत समेटिनुपर्ने अडान राख्दै भोलीको बैठकमा अडान लिने बताइन्छ । पूर्व नेकपा माओवादी केन्द्रभित्र खासै विवाद नरहेपनि पूर्व एमालेभित्र नेपाल, खनाल, गौतम र ओली समूहहरुको सशक्त संगठनात्मक उपलब्धिका कारण भोलीको बैठक प्रभावित हुन सक्ने देखिन्छ । जनवादी केन्द्रीयताको सिद्धान्तलाई मान्ने दावी गरेपनि पूर्व नेकपा एमाले समूहभित्र नेतृत्वविरुद्ध सार्वजनिकरुपमा नै आलोचना हुने गरेको छ। माधव नेपाल समूहका नेता योगेश भट्टराई, घनश्याम भुसाललगायतले नेकपाको गठनपछि सार्वजनिकरुपमा नै कतिपय विषयमा आलोचना गर्दै आएका छन् । स्थायी कमिटिको बैठकमा संस्थापन पक्षले भने कार्यदलको सिफारिसलाई नै निर्णयार्थ प्रस्तुत गर्ने देखिन्छ । माधव नेपाल समूहले भने रणनीतिकरुपमा आफ्नो समूहका कतिपय व्यक्तिहरुको स्थान सुरक्षित हुने अवस्थामा मात्रै कार्यदलको बैठकमा प्रस्तुत हुने जिल्ला नेतृत्व स्वीकार गर्ने देखिन्छ । नेकपाको गठन भएको लामो समय भएपनि तल्लो तहसम्म एकता हुन नसक्दा यसको प्रत्यक्ष असर पार्टी मात्र भई सरकारको काम कारवाहीमा पनि परेको छ । सरकारलाई कसले नियन्त्रण या नियमन गर्ने भन्ने विषयमा अहिले पनि विवाद नै रहेको छ । पूर्व माओवादी केन्द्रभित्र खासै विवाद भने देखिएको छैन । तर पूर्व एमालेभित्रको विवादले पूर्व माओवादी समूहभित्र पनि प्रभाव पर्न सक्ने सम्भावना नदेखिएको होइन । प्रदेश र जिल्लास्तरमा नेतृत्व या अन्य तहमा स्थान नपाउने पूर्व माओवादीहरुले पूर्व नेकपा एमालेका केही समूहलाई समर्थन गर्न सक्ने सम्भावना उत्तिकै रहेको छ । जे होस, भोलीको बैठक भोली नै निर्णायार्थ सम्पन्न हुनसक्ने देखिन्न । नेकपाभित्रका कैयन समूहका समूहगत एजेण्डाहरुका आधारमा निर्णय प्रक्रिया प्रभावित हुने अवस्थामा भोलीको बैठकमा केही नयाँ नदेखिएपनि यसले नेकपालाई नयाँ ध्रुविकरण र उचाईतर्फ भने लैजाने देखिन्छ । अहिले पूर्व नेकपा माओवादीले भने पूर्व नेकपा एमालेभित्रको अन्तरविरोधलाई पर्ख र हेरको आधारमा लिएको देखिन्छ । अध्यक्ष प्रचण्डले अहिले कुनै एकल समूहलाई समर्थन गरेका छैनन् । सबै समूह मिलेर राष्ट्रिय समृद्धिको अभियानमार्फत समाजवादतर्फ अघि बढनुपर्ने बताउँदै प्रचण्डले विधि र पद्दतीमार्फत असहमित र अन्तरविरोध हल गर्नुपर्ने कुरामा बारम्बार जोड दिँदै आएका छन् । प्रचण्डको नेतृत्व र उनको भिजन अनुसार नेकपा अघि बढ्न सकेको अवस्थामा पूर्व नेकपा एमालेको अन्तरविरोधलाई साम्य पार्न भने बल पुग्ने देखिन्छ ।
नेकपाको स्थायी कमिटी शनिबार, यस्ता विषयमा छलफल हुने
काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुमबाराहीमा बस्ने भएको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी गराए । बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुने उनले जानकारी गराए । यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भए पनि लामो समयसम्म स्थायी कमिटी बैठक बस्न नसक्दा नेतृत्वको आलोचना भएको थियो । स्थायी कमिटी बैठक नबस्दा पार्टी एकीकरण प्रक्रियासमेत लम्बिएको छ । बैठकमा सचिवालय बैठक प्रदेश कमिटीलाई पूर्णता दिए पनि जनवर्गीय संगठन र जिल्ला कमिटीको भने एकीकरण हुन सकेको छैन । शनिबार बस्ने बैठकले जनवर्गीय र जिल्ला कमिटीको एकतालाई निष्कर्षमा पुर्याउने छ । रासस
न्यायाधिवक्ता निरौला विरुद्ध अदालतमा मुद्दा दायर
काठमाडौं, मंसिर २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु ८० हजार घुस मागेको अभियोग निरौलामाथि लागेको छ । यस्तै, कम्पनी रजिष्टार कार्यालय त्रिपुरेश्वरमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई सात हजार घुस लिँदा लिँदै गरेको अवस्थामा आयोगको टोलीले आज पक्राउ गरेको हो । शेयरधनीको लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनका लागि कम्प्युटर अपरेटर आत्रेयले घुस माग मागेको अभियोग लागेको छ । आरोपी आत्रेयमाथि छानबिन भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । रासस
उर्जामन्त्री पुनलाई २ क्विन्टलको माला लगाएपछि…
रौतहट, मंसिर २८ । रौतहटको कटहरिया बजारमा उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन लाई २ सय २ केजीको माला लगाइएको छ। कटहरिया बजारमा नेकपाले आयोजना गरेको बकैया र बागमती मजबुत बाध निर्माण तथा उर्जा सिँचाइ विकासको लागि आयोजित कार्यक्रममा मन्त्री पुन लाई २ सय २ केजीको मालाले स्वागत गरेका हन्। रौतहटको मौलापुर नगरपालिकामा नेपाल विद्युत प्राधिकरणको कार्यालय उदघाटन एवं लालबकैया नदिको स्थलगत निरीक्षण गर्न उनी त्यहाँ पुगेका थिए। मन्त्री पुनले बागमती र लालबकैयामा आउने बाढीको चपेटाबाट मुक्त गर्न प्रयास गरिरहेको बताए। उनले सरकारको ध्यान दुबै नदिको तटबन्ध निर्माणमा रहेको बताए। विगतको बाढीको क्रममा क्षतीग्रस्त भएका भौतिक संरचनाको यथासिघ्र पुनर्निर्माण हुने बताए। कार्यक्रममा नेकपाका प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभु साहले बिगतको दिनमा मधेसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान गरेको भए पनि पछिल्लो दिनमा राजनीतिक द्वन्दले मानव विकास सूचकांकमा पछाडि परेको चिन्ता व्यक्त गरे। साहले रौतहटको खेती योग्य जमिनमा बगमती र लालबकैया नदिको मात्रै नभइ अन्य श्रोत बाट पनि सिँचाइको व्यवस्थापन गर्न मन्त्री पुन सित आग्रह गरे। नागरिक दैनिक अनलाईनबाट
एनआरएनले आधुनिक कृषि बजार बनाउने, कृषि मन्त्री खनालसँग भयो यस्तो छलफल
काठमाडौं , मंसिर २८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आधुनिक कृषि बजार निर्माणका लागि जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । एनआरएनका उपाध्यक्ष कुलदीप आचार्यको नेतृत्वमा आएको टोलीले शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवलाई मन्त्रालयमा भेटेर जग्गा उपलब्ध गराइदिन आग्रह गरेको हो । एनआरएनले काठमाडौंमा कृषिजन्य पदार्थको प्रोसेसिङ सेन्टर र काठमाडौं बाहिर कलेक्सन सेन्टर निर्माण गर्ने जनाएको छ । त्यसका लागि प्रयोगमा नरहेको ५० रोपनीभन्दा बढीको सरकारी जग्गा २० वर्षका लागि लिजमा उपलब्ध गराउन मन्त्री खनालसँग आग्रह गरेको हो । एनआरएन कृषि प्रवद्र्धन समितिका संयोजक युवराज गुरुङले एकदेखि डेढ अर्व रुपैयाँ लगानी गर्ने गरी ७ जनाको विज्ञ टिमले आर्थिक प्रतिवेदन तयार गरिरहेको जानकारी दिए । कलेक्सन सेन्टरका लागि काठमाडौं बाहिर प्रदेश १ को सरकारसँग छलफल गर्ने उनले बताए । नाफामूलकभन्दा पनि सामाजिक उत्तरदायित्वका लागि गर्न लागिएको उक्त कामले किसानलाई ठूलो राहात मिल्ने र तरकारी, फलफूल र मासुजन्य पदार्थको आयात न्यून गर्दै आत्म निर्भरताका लागि सहयोग पुग्ने एनआरएन उपाध्यक्ष आचार्यको भनाई छ । एनआरएनले निर्माण गर्ने उक्त बजार सरकारको स्वामित्वमा रहनेछन् । जवाफमा मन्त्री खनालले प्रस्ताव उपयुक्त रहेको भन्दै प्रधानमन्त्रीसँग पनि आफूले छलफल गर्ने जानकारी दिन । एनआरएनलाई सहज हुने गरी कार्यविधि निर्माण गरिने मन्त्री खनालको भनाई छ । काठमाडौंमा जग्गा अभाव रहेको भन्दै सहकारी र केही कम्पनीहरुले पनि तरकारीको आधुनिक बजारका लागि जग्गा खोजिरहेको खनालले जानकारी दिए । कृषि मन्त्रालयले पनि काठमाडौं छिर्ने ५ वटा नाकामा कृषि बजार निर्माण गर्ने योजना बनाएको छ । त्यसका लागि ५ करोड रुपैयाँ छुट्टाइएको छ भने किसानलाई ५० प्रतिशत अनुदान हुनेछ । काठमाडौंमा उपयुक्त जग्गा प्राप्त भएमा कालिमाटीको फलफूल तथा तरकारी बजारलाई त्यहाँबाट विस्थापित गर्ने मन्त्री खनालको योजना छ । काठमाडौंको मलपोखरीमा खानेपानी मन्त्रालयको स्वामित्वमा रहेको ६ सय रोपनीको जग्गा उपयुक्त भएको भन्दै मन्त्रालयसँग छलफल चलिरहेको खनालले जानकारी दिए । त्यहाँको २ सय रोपनी जग्गा उपलब्ध भएमा तत्कालका लागि कालिमाटीको बजारलाई मलपोखरीमा सारेर कालिमाटीलाई कोल्ड स्टोर, पर्याप्त पार्किङ सहितको पाँच तले आधुनिक बजार बनाउने कृषि मन्त्री खनालको योजना छ । त्यसो गर्न अहिलेका कालिमाटीका तरकारी व्यवशायी अग्रिम रकम भुक्तान गर्न पनि तयार भएका छन् ।
नेकपा केन्द्रीय सदस्य सुवेदीलाई मातृ र भट्टलाई पितृ शोक
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य सुवेदी ‘पथिक’लाई मातृ शोक परेको छ । चितवन निवासी सुवेदी नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ । हाल गृह मन्त्रालयमा गृह मन्त्री राम बहादुर थापाका राजनीतिक सल्लाहकार रहेका सुवेदीले फेसबुकमार्फत मातृ शोक परेको जनाएका छन् । आजै नेकपाका अर्का केन्द्रीय सदस्य खगराज भट्ट ‘विनोद’ तथा अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट ‘विकास’ का बुवाको समेत देहान्त भएको छ । नेता खगराज भट्टले फेसबुकमार्फत जनाए अनुसार बुवा रामदत्त भट्टको ८२ वर्षको उमेरमा निधन भएको हो ।
वित्तीय प्रणालीमा स्थायित्व आएको छः अर्थमन्त्री
बनेपा, मंसिर २८ । अर्थमन्त्री डा. युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताएका छन् । शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै उनले महिलाको वित्तीय पहुँचमा पूँजी, सूचना र प्रविधिमा पहुँच पुर्याउन आवश्यक रहेको बताए। समाजमा प्रतिष्ठित हुन आर्थिक र राजनीतिक सवलीकरणमा पहुँच र आयआर्जनबाट उत्पादन शक्तिमा पुग्न आवश्यक रहेको अर्थमन्त्रीको भनाई थियो । उनले आफू नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा सम्पूर्ण वित्तीय कारोवार गर्ने गैरसरकारी संस्थालाई लघुवित्त वित्तीय संस्थामा आउन आह्वान गरेको चार वर्षपछि नौ संस्था रुपान्तरण भएको र १६ संस्था बाँकी रहेको बताए । कार्यक्रममा संस्थाले राम्रो काम गर्ने प्रमुख तथा प्रतिनिधिलाई सम्मान गरियो । साँगामा केन्द्रीय कार्यालय रहेको सो संस्थामा ५७ हजार ७२१ ग्राहक सदस्य रहेको सो संस्थाले हालसम्म रु तीन अर्ब १४ करोड ५० लाख ६५ हजार लगानी गरिरहेको संस्थाले जनाएको छ । रासस
सुदूरपश्चिममा हिमपातका कारण जनजीवन प्रभावित
बैतडी, मङ्सिर २८ । मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको बैतडी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । यस्तै बझाङको साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, छबीसपाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाको माथिल्लो भेगमा हिमपात पनि भएको छ । दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङकरलगायतका ठाउँमा समेत हिमपात भएको स्थानीय प्रेम चुनाराले जानकारी दिए । उनले भने, “दार्चुलाका उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ ।” डडेल्धुराको भीमदत्त राजमार्गको शाहुखर्क, हगुल्टे लगायतका स्थानमा हिमपात भएको स्थानीय प्रकाश पार्कीले जानकारी दिए । उता बाजुराको उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ । वर्षासँगै हिउँ परेर चिसो बढे पनि बाली सप्रिने भन्दै किसानहरू खुशी भएका छन् । हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा, बालबालिका, तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन् । बुधबारदेखि एक्कासी मौसम बदली भई पानी परेपछि विहीबार हिमपात भई यहाँका साधारण तथा स्थानीयवासी चिसोले प्रभावित बनेका हुन् । लामो समयसम्म वर्षा नहुँदा हिउँदेबाली बिग्रने चिन्तामा रहेका पहाडी भेगका किसानलाई भने हिमपातले राहत पुर्याएको छ । लामो समयको खडेरीपछि पानी परेकाले बाली सप्रिने दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताए । रासस
जोखिम मोलेर दूधकोशी र सुनकोशी तर्नुपर्ने बाध्यता
खोटाङ, मङ्सिर २८ । हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा र वडा नं २, डिकुवाका स्थानीयबासिन्दा वर्षाैंदेखि जोखिम मोलेर डुङ्गामार्फत कोशी वारपार गर्न बाध्य छन् । सदरमुकाम दिक्तेल, राजधानी काठमाडौँ, उदयपुरको कटारी, घुर्मीलगायत तराईका विभिन्न जिल्ला आवतजावत गर्दा उनीहरूले डुङ्गामार्फत सुनकोशी नदी दुई ठाउँमा तर्नुपर्ने बाध्यता झेल्दै आएका छन् । आफ्नै नगरपालिकाको कार्यालय पुग्नसमेत त्यस क्षेत्रका बासिन्दालाई दुई ठाउँमा डुङ्गा चढ्नुपर्ने बाध्यता छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने डिकुवा र बाहुनीडाँडाका अधिकांश भाग दूधकोशी र सुनकोशीले छोएको छ । साविकको बाहुनीडाँडा–७ झापा, बाहुनीडाँडा–८ को खर्क, डुम्रे, बाहुनीडाँडा–९ को कुर्ले, रूपटार, सिरूवानी, चुखानलगायतका बासिन्दा जोर्तीघाटमा डुङ्गाबाट दूधकोशी मिसिएको सुनकोशी पार गर्न बाध्य छन् । यस्तै साविकको डिकुवा–३, बलुई र बाइटारका बासिन्दा पनि वर्षाैंदेखि तराई पुगेर नूनदेखि सुनसम्मका उपभोग्य सामग्री ल्याउने क्रममा ठाउँठाउँमा डुङ्गा प्रयोग गर्न बाध्य छन् । जोर्तीघाट सुनकोशी र दूधकोशीको सङ्गमस्थल पनि हो । पुल नभएका कारण बाहुनीडाँडाका बासिन्दा जोर्तीघाटबाट डुङ्गा चढेर सुनकोशी तरेर उदयपुरको कटारी नगरपालिका–१४ लेखानी पुग्छन् । केही समय लेखानी पुछारमा नदीको किनारै किनार हिँडेका स्थानीय पुनःडुङ्गाबाटै सुनकोशी तरेर ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६, थाक्ले हुँदै हर्कपुर वा जयराम निस्केर यात्रा गर्न बाध्य छन् । उनीहरूको किनमेल गर्ने प्रमुख बजार नै घुर्मी हो । दशकअघिसम्म कटारीबाट घरायसी सामान ल्याउँदै आएका स्थानीयले हाल घुर्मीबाट चामल, नूनतेल, फलाम, लत्ताकपडालगायत दैनिक उपभोग्य सामग्री ल्याउने गरेका छन् । घुर्मी पुग्ने डिकुवा बलुई र बाइटारका बासिन्दाले भने बाहिरिने क्रममा कुर्लेघाट पार गरेपछि जोर्तीघाट पार गर्नुपर्छ । डुङ्गा नचल्ने कतिपय ठाउँमा गाडीको पाङ्ग्राको ट्युब प्रयोग गरेर नदी तर्ने गरिएको स्थानीय बासिन्दा बताउँछन् । ठूल्ढुङ्गाबाट उदयपुर, साँघुरीबाट ओखलढुङ्गाको थाक्ले र मसानेबाट उदयपुरको सोता जान–आउन ट्युबको प्रयोग हुने गरेको छ । बाहुनीडाँडा र डिकुवाका नदी किनारका स्थानीयले मोटरसाइकलसमेत डुङ्गाबाटै नदी तारेर चलाउने गरेका छन् । नदी वारपार गर्ने क्रममा डुङ्गा चालकलाई प्रतिव्यक्ति रु ५० का दरले शुल्क तिर्नुपर्छ । भौगलिक विकटता र नदीमा पुल नभएका कारण बाहुनीडाँडा र डिकुवाका बासिन्दा वर्षाैंदेखि जोखिम मोलेर डुङ्गा प्रयोग गर्न बाध्य छन् । हिउँदमा डुङ्गाबाट नदी तर्न सकिए पनि वर्षामा डुङ्गा नचल्ने हुँदा स्थानीय बासिन्दा सास्ती खेप्न बाध्य छन् । जसले गर्दा नदीले कुनै वर्ष चार जनासम्मलाई बेपत्ता बनाएको छ । झोलुङ्गे पुल निर्माणका लागि पञ्चायतकालदेखि नै पटकपटक आवाज उठाउँदै आएको भए पनि अहिलेसम्म नबनेको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले दुखेसो गर्नुभयो । सो क्षेत्रमा सडक विस्तार नभएसम्म समस्या यथावत् रहने स्थानीय बासिन्दा बताउँछन् । रासस
अमरगढी नगरपालिका स्मार्ट सिटी बन्दै
डडेल्धुरा, मङ्सिर २८ । सुदूरपश्चिम प्रदेशको मध्यबिन्दु डडेल्धुुरामा रहेको अमरगढी नगरपालिका स्मार्ट सिटी बन्ने भएको छ । नेपाल सरकारको १० वटा शहरलाई स्मार्ट सिटी निर्माण गर्ने योजनाअनुसार डडेल्धुराको अमरगढी नगरपालिका पनि पर्न सफल भएको हो । शहरी विकास मन्त्रालयले १० वटा शहरलाई स्मार्ट सिटी निर्माण गर्न ‘ग्रिड कन्सल्टेण्ट’सँग सम्झौता गरिसकेको अमरगढी नगरपलिकाले जनाएको छ । स्मार्ट सिटी निर्माण गर्ने योजना १० शहरमध्ये अहिले स्याङ्जाको वालिङ, दैलेखको दुल्लु र डडेल्धुराको अमरगढीको अध्ययनमा सेटेलाइट वेशका काम अन्तिम चरणमा पुगेको हो । यस्तै भूउपयोग नक्सा, वार्डगत भेटघाट सम्पन्न भएका छन् । स्मार्ट सिटीभित्र स्मार्ट जनता, स्मार्ट भौतिक पूर्वाधार, स्मार्ट शासन व्यवस्था र स्मार्ट अर्थ व्यवस्था रहने भएकाले सो स्तरमा अमरगढीलाई पुर्योजना निर्माण गरिरहेको वातावरणविद् तथा अमरगढी स्मार्ट सिटीका संयोजक कुमोद लेखकले जानकारी दिए । स्थानीय तहको निर्वाचनका बेला स्मार्ट सिटीको मुद्दा उठाएका नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले अहिले कार्यान्वयनमा अगाडि बढ्दा जनतासँग गरेका वाचा पूरा हुनेमा विश्वास व्यक्त गरे । स्मार्ट सिटीका नगरप्रमुख एक्लैले मात्र बनाउन नसक्ने भएकाले यस कार्यमा सम्पूर्ण नगरवासी तथा सरोकारवालाले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गरे सफल हुने बताए । डडेल्धुराका प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रमध्येका उग्रतारा मन्दिर, घटाल थान, अमरगढी किल्ला, रावलतोली गुफा अमरगढी नगरपालिका भित्र नै पर्दछन् । रासस
पाल्पामा जीप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु
पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जीप बिहीवार राती दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका छन्। घाइतेलाई स्थानीयले उद्दार गरि युनाइटेड मिसन अस्पताल पाल्पामा उपचारका लागि पठाइएको छ। रातीको समय भएको र उद्दारमा समेत अप्ठ्यारो परेको वडाध्यक्ष नीरबहादुर सारुले बताए। दुर्घटना भएको र आफूहरु पुग्नेक्रममा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए। आर्गिडाँडा ओढारे भन्ने स्थानमा जीप सडकबाट झण्डै ५ सय मिटर तल खसेको घटना स्थलमा पुगेका जल्पाका वडा अध्यक्ष नीर बहादुर सारुले बताए। दुर्घटनामा परी घटनास्थलमै ४ जनाको निधन भएको सारुले बताए। मृतकहरुको सनाखत हुन सकेको छैन। दुर्घटनास्थल भीर भएकोले अन्य यात्रुहरु समेत अड्किएको हुन सक्ने भन्दै खोजी तिव्र पारिएको बताइएको छ। Feature image: symbolic only
सूचिकृत नहुने साढे ३ लाख बढी गाडीहरु पाैष १ देखि अवैध हुने
काठमाडौं – कम्पनीका रुपमा यातायात कम्पनीमा दर्ता गरी यातायात कार्यालयमा सूचिकृत नगर्ने गाडीको रुट परमिट खारेज हुने भएको छ । सूचिकृत गर्ने समय ३ दिन मात्रै बाँकी हुँदा यातायात व्यवस्था विभागले यस्तो प्रतिक्रिया दिएको हो । पुष १ गतेबाट सूचिकृत नहुने सबै गाडीहरु अवैध हुने भन्दै विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले उज्यालोसँग भन्नुभयो, ‘सरकारले दिएको समयभित्र प्रक्रियामा नआएका सबै गाडीलाई कारबाही गर्छौँ । उनीहरुको रुट परमिट खारेज हुन्छ । बाँकी दिनमा प्रक्रियामा आइसक्न सबैसँग आग्रह गर्छौँ ।’ पुष १ गतेदेखि समितिमार्फत सञ्चालन भएका सबै गाडीलाई सरकारले कब्जा गर्ने पनि विभागले जनाएको छ । प्रक्रियामा नआउनेहरुलाई फेरि समय थप गर्ने भन्ने कुनै छलफल नभएको प्रवक्ता उपाध्ययले बताउनुभयो । यातायात क्षेत्रमा देखिएको सिन्डिकेट अन्त्य गर्न भन्दै सरकारले कम्पनी दर्ता गरी यातायात कार्यलयमा सूचिकृत हुन मंसिर मसान्तसम्मको समय दिएको छ । ९७ प्रतिशत गाडी अवैध हुँदै यातायात व्यवस्था विभागको तथ्यांक अनुसार पुष १ गतेदेखि ९७ प्रतिशत गाडीहरु अवैध हुँदैछन् । अहिले भएका ४ लाखभन्दा बढी गाडीमध्यै ७ हजार मात्रै सूचिकृत भएका छन् । यातायात कार्यालयमा अहिलेसम्म झण्डै ३ प्रतिशत मात्रै सूचिकृत भएका विभागका प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो । उहाँको भनाई अनुसार पुष १ गतेपछि प्रालिमा दर्ता नगरी यातायात कार्यलयमा सूचिकृत नगरी सञ्चालनमा आउने झण्डै ९७ प्रतिशत गाडी कारबाहीमा पर्न लागेका हुन् । व्यवसायीहरु छलफलमा सरकारले दिएको समयसीमाभित्र सूचिकृत हुन नसकेपछि यातायात व्यवसायीहरु अब के गर्ने भन्ने छलफलमा जुटेका छन् । यो विषयमा अहिले नै भन्न नसकिने भन्दै यातायात व्यवसायी सरोज सिटौलाले भन्नुभयो, ‘हामी अहिले पनि यसै विषयमा छलफल गरिरहेका छौँ । हामी भोलि पनि छलफलमा बस्छौँ । छलफलले जे निर्णय गर्छ, त्यही हुन्छ । अहिले नै यस्तो गर्छौँ भनेर भन्न सक्दैनौँ ।’ यही मसान्तभित्र नै सबै गाडी सूचिकृत भैसक्ने वा समय थप गर्न सरकारलाई आग्रह गरिने भन्ने विषयको निचोड छलफलले दिने उहाँले बताउनुभयो । युएनएन डटकमबाट साभार Feature image: symbolic only
आइजिपी खनाल भन्छन्, ‘निर्मलाको केसमा मेरो कुनै शंकास्पद भूमिका भए बर्दी खोल्न तयार छु’
काठमाडौं, मंसिर २४ । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले निर्मला पन्त हत्याका विषयमा आफूले कुनै कमजोरी नगरको दाबी गरेका छन्। संसदको सुशासन समितिमा सांसदहरूलाई जवाफ दिँदै खनालले निर्मला पन्तको हत्या र बलात्कारको अनुसन्धानमा आफूले कुनै पनि कमी कमजोरी नगरेको उनले बताए । आइजिपी खनालले अनुसन्धान प्रभावित हुने गरी आफूले भूमिका निर्वाह नगरेको समेत बताएका छ । पछिल्लो समय प्रहरीको अनुसन्धान ब्युरो सिआइबीले तीनजना व्यक्तिलाई पक्राउ गरेको र उनीहरूको बयान लिने क्रममा आइजिपीसमेत गएको खबरहरू सार्वजनिक भएका थिए। सांसदहरूले पछिल्लोपटक कुखुरा चोरलाई दोषी देखाउने कोसिसमा प्रहरी लागेको त होइन भनेर प्रश्न गरेका थिए। यसमा महानिरीक्षक खनालले प्रहरीको तर्फबाट त्यस्तो नहुने बताए। ‘निर्मलाको केसमा मेरो कुनै शंकास्पद भूमिका भएमा बर्दी खोल्न तयार छु,’ खनालले भने, ‘नयाँ व्यक्तिहरू पक्राउ परेको विषय अनुसन्धानमै रहेकोले यहाँ धेरै कुरा नबोलौँ।’ थाहाखबरबाट
सुन्दै अचम्म लाग्ने परम्पराः ६४ बोका मान्छेको दाँतले टोकेर मार्ने प्रचलन !
डोटी, मंसिर २४ । सुन्दा अचम्म लाग्न सक्छ । डोटीको एक गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका दाँतले टोक्ने परम्परा विद्यमान छ । त्यसलाई स्थानीयले दैवीशक्ति र परम्पराका रूपमा लिने गरेका छन् । प्रत्येक तीन÷तीन वर्षमा यसरी बोकाको बलि चढाए गाउँमा जङ्गली जनावर, भूतप्रेत, बाढीपहिरोले दुःख नदिने र मनोकामना पूरा हुने जनविश्वास छ । डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–६ सिगरीचौकामा जिउँदा ६४ वटासम्म बोका हरेक तीन÷तीन वर्षमा दाँतले टोकेर मार्ने परम्परा छ । आङमा देउता चढेको भन्दै एकजना झाँक्रीले ६४ वटासम्म जिउँदा बोका दाँतले टोकेर मार्ने परम्परा अहिलेसम्म कायमै रहेको छ । यसरी बोका काट्ने झाँक्रीलाई ‘डुणाबाघ’ नाम दिइन्छ । झाँक्रीले बलि चढाएको बोका आफ्नो दाँतले टोक्दै दुई टुक्रा बनाउने गर्छन् यसलाई त्यहाँका स्थानीयले दैवीशक्तिका रूपमा मान्ने गरेको स्थानीय दीपक खड्काले बताए । बाघकै शैलीमा दाँतले बोका टोक्दा पहिलो बोका स्वयं देउता काँप्ने व्यक्तिले ल्याउँछन् । अन्य बोका गाउँका अन्य स्थानीय तथा भाकल गर्ने व्यक्तिले चढाउने प्रचलन छ । काँपेर बोका टोक्ने झाँक्रीलाई डुणाबाघ देउताका रूपमा लिने गरेको अर्का स्थानीय श्याम रोकायाले बताए । उनले भने, “यसरी देउतालाई बोका बलि चढाए गाउँ वरपर जङ्गली जनावरको डर नहुने र मनोकामना पूरा हुने जनविश्वास भएकाले हामीले यो चलन जोगाइरहेका छौँ ।” अनौठो मानिने दैवीशक्ति दर्शनका लागि भारतका विभिन्न ठाउँ तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट हजारौँको सङ्ख्यामा पुग्ने गरेका छन् । स्थानीय जनप्रतिनिधि यो परम्परालाई सुदूरपश्चिम कै गौरवपूर्ण धार्मिक परम्परा ठान्छन् । मुलुकमा अन्यत्र कतै नभएको यो परम्परा डोटीमा भने परापुर्वकाल देखि चल्दै आएको स्थानीय बूढापाकाहरू बताउँछन् । पहिले पहिले डोटीको गिरीचौकाबाट दाँतले बोका टोक्दै छिमेकी जिल्ला बझाङको पीपलकोट, मयलकोश र थलारासम्म पुग्ने चलन थियो । तर अहिले यो परम्परा डोटीको गिरीचौकामा मात्रै सीमित छ । यसरी दाँतले बोका टोकेर छिनाल्दा आफूलाई दैवीशक्ति महसुस हुने र आफु मात्रै शक्तिशाली भएको महसुस हुने १८ वर्षको उमेरदेखि दाँतले बोका टोक्दै आएका झाँक्री करनबहादुर थापा बताए । परापुर्व कालमा गोठबाट बाघले खसीबोका खाइदिने, गोठालालाई समेत आक्रमण गर्ने जस्ता आतङ्क मच्चाएपछि स्थानीयले आफूले पुज्ने गरेको तेडी देवता र धणी देवतासँग जङ्गली जनावरबाट बचाउन हारगुहार मागेको स्थानीय सामाजिक अगुवाहरू बताउँछन् । त्यही समयदेखि तेडी देवता र धणी देवताको पूजा गर्ने क्रममा जङ्गली जवावरको आतङ्क रोक्न बचाइदिन तीन वर्षमा एकपटक डुणाबाघ देवतालाई ६४ बोका बली चढाउने परम्परा चलेको स्थानीयहरूको भनाई छ । रासस
रक्सी खुवाएर १७ वर्षे किशोरीमाथि सामूहिक बलात्कार
बागलुङ, मंसिर २४ । महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेका बेला बागलुङमा १७ वर्षीया किरोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले १७ वषीएया किशोरीमाथि तीन जनाको समूहले बलात्कार गरेको घटना सार्वजनिक गरेको हो । बागलुङ नगरपालिका–४ उपल्लाचौरमा तीन जना युवाले किशोरीलाई सामूहिक रुपमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । यो समाचार राजधानी दैनिकमा छ ।

