१२ वर्षको उमेरमा गर्भवती अस्पताल भर्ना, प्रधानमन्त्रीले नै लिएका थिए विशेष चासो

हेटौँडा, मङ्सिर ४ गते । गङ्गामाया चेपाङ १२ वर्षको उमेरमा आमा बन्दै गरेको सञ्चार माध्यममा सार्वजनिक भएपछि उपचारार्थ अस्पताल लगिएको छ । प्रधानमन्त्री कार्यालयले गङ्गामायाको उद्धार तथा उपचार गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्याक्ष निर्मला हिम्डुङ्गको समन्वयमा सोमबार साँझ हेटौँडा अस्पताल ल्याइएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र राक्सिराङ गाउपालिकाका अध्यक्ष मल्ल गंगामायाको उद्धार गरी उपचारका ल्याउन आफै लाग्नु भएको थियो ।

राक्सिराङ गाउँपालिकाको ३ स्थित माइतीघरमा बस्दै आउनुभएकी चेपाङलाई उपचारका लागि ल्याउन अन्यले गरेको प्रयास उनीहरुको डरका कारण असफल भएको थियो । गाउँपालिका उपाध्यक्ष हिम्डुङ्गले केही हुँदैन डर मान्नु पर्दैन भन्दै सम्झाइबुझाई गरेपछि उपाध्यक्षको साथ लागेर अस्पताल आमा राममायासँगै गङ्गामाया आउनुभएको हो ।

अस्पतालमा गङ्गामायाको प्रारम्भिक जाँच गरिएको छ । उपचारमा संलग्म हेटौँडा अस्पतालका डाक्टर निशा राईले बाल अवस्थामा गर्भवती भएकोले जोखिम रहेको भन्दै अस्पतालमा निगरानीमा राखेर शिशुको जन्म दिनुपर्ने बताउनुभयो ।

प्रारम्भिक जाँचबाट पेटमा रहेको बच्चा ३४ हप्ता पुगेको जस्तो देखिन्छ, डाक्टर राईले भन्नुभयो, थप जाँच गरेर आमा र शिशुलाई सुरक्षित गर्ने उपाय अपनाउनु पर्छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी र राक्सिराङ गाउपालिकाका अध्यक्ष राजकुमार मल्लमार्फत् प्रजाको उपचार र उद्धारका लागि सरकारले पहल थालेको हो ।

गङ्गामाया कलिलो उमेरमै आमा बन्दै गरेको समाचार गोरखापत्र दैनिकले गत कात्तिक २६ गते प्रकाशित गरेको थियो । सञ्चारमाध्यममा सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयको निर्देशन लगत्तै गंगामायाको उद्धारको पहल सुरु भएको हो । उपचार र उद्धारका लागि पहल गर्न आफूलाई प्रधानमन्त्री कार्यालयबाट पटक पटक टेलिफोन सम्पर्क गरिएको गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिनुभयो । अध्यक्ष मल्लले गङ्गामायाको उपचार र जीवन रक्षाका लागि सबै सहयोग गर्न तयार छौँ भन्नुभयो । प्रमुख जिल्ला अधिकारी तामाङले गङ्गामायाको उपचारको जिम्मा अब राज्यले लिएको बताउँदै मङ्गलबार थप परीक्षण गरी कहाँ उपचार गरिने तय गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ’यहाँ उपचार नहुने अवस्था आए तुरुन्त काठमाडौँ पठाउँछौँ ।’

गङ्गामायालाई गाउँपालिकाको पहलमा हेटौँडा अस्पतालमा भर्ना गरिएको छ । उपचारमा संलग्न डाक्टर राईले भन्नुभयो, चेपाङको उमेर कम भएको र शारीरिक बनावट परिपक्क नभएकोले जोखिम बढी छ, शल्यक्रिया गरेर शिशुलाई जन्मदिनुको विकल्प छैन ।

अस्पतालमा गंगामायालाई गाउँपालिकाको समन्वयमा ल्याइएपछि अवस्था बुझ्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी तामाङ र मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ पुग्नु भएको थियो ।

गङ्गामायाका पति रञ्जित चेपाङ पछिल्लो समय सम्पर्कमा रहेको आमा राममायाले जानकारी दिनुभयो ।

कैलाश गाउँपालिका ७ घर भएका पति रञ्जित घरको आर्थिक अवस्था कमजोर भएकाले अधिकांश समय दैनिक ज्यालादारीका लागि गाउँभन्दा बाहिर जाने गर्नु भएको छ ।

दश अर्बको लगानीमा केबुलकार निर्माण हुँदै, दैनिक हजार यात्रु बोक्ने !

चिप्लेढुङ्गा, मंसिर ३ । धार्मिक एवम् प्राकृतिक रुपले उत्कृष्ट मानिएको पञ्चासेमा करीब रु १० अर्बको लागतमा केबुलकारसहित अन्य पर्यटक लक्षित भौतिक संरचना निर्माण हुने भएको छ । पोखराबाट सबैभन्दा नजीकै रहेको पर्यटकीय गन्तव्य पञ्चासेको पञ्चासे टुर्स एण्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट कम्पनीले केबुलकार निर्माणको प्रक्रिया अघि बढाएको हो । कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेलाई पोखराको अर्को महत्वपूण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बृहत् गुरुयोजनासहित अघि बढेको परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। जनतासँग छरिएर रहेको पूँजी संकलित गरेर विकासको पूर्वाधार निर्माणमा जुटेको यस परियोजनाले पर्यटन विकासमार्फत मध्यम वर्गीय जनताको जीवनस्तर उकास्न भूमिका खेल्ने उनको भनार्इ छ । पोखरा–२३ स्थित घाँटीछिनामा केबुलकारको तल्लो स्टेशन राखिनेछ । यसको लम्बार्इ ८.५ किलोमिटर रहनेछ । केबुलकारमा ८० टावर रहनेछन् । एकै पटक दुई हजार ४०० यात्रु आउन जान मिल्ने केबुलकारले दैनिक दश हजार मानिस बोक्ने सक्ने क्षमता केबुलकारको हुने निर्माण शर्माले बताए । १० अर्बको योजनामध्ये तीन अर्ब केबुलकारमा र त्यसबाहेक बाँकी रकम अन्य संरचना निर्माणमा खर्च हुने सञ्चालक धनप्रसाद उपाध्यायले जानकारी दिए । तीन हजार रोपनी जग्गा भाडामा लिएर घाँटीछिनामा बनाइने हेरिटेज प्लाजामा स्थानीयवासीले उत्पादन गरेका परम्परागत हस्तकलाका सामान रहनेछन् । पञ्चासेमा पर्यटक लैजानका लागि ६ वर्षमा बनाइसक्ने गरी केबुलकार निर्माण गरिने शर्माले बताए । विसं २०७६ साल माघमा शिलान्यास गरेर विसं २०८२ सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने उनले जानकारी दिए । परियोजना सञ्चालनका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको उनको भनार्इ छ । दश अर्बको लागतमा निर्माण गर्न लागिएको सो परियोजनामा प्रभावित क्षेत्र कास्की, पर्वत र स्याङ्जाका बासिन्दालाई तीन अर्ब बराबरको शेयर दिइने भएको छ । त्यसका अलावा कर्पोरेट, पत्रकार, वकिल, राष्ट्रसेवक कर्मचारीलगायत सर्वसाधारण सबैलाई छुट्टाछुट्टै शेयर दिने जनाइएको छ । अहिले पञ्चासेमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारीसाधनमा र त्यहाँबाट पैदल यात्रा गरी जाने गरेका छन् । त्यस्तैगरी पर्वततर्फ चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारीसाधन र त्यसपछि तीनदेखि चार घण्टासम्म पैदल जानुपर्ने बाध्यता रहेको छ । पोखरालाई शैक्षिक गन्तव्य बनाइने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई शैक्षिक गन्तव्य बनाइने उद्घोष गरेका छन् । विद्यालय क्षेत्र सुधार कार्यक्रममा सहयोग गर्दै आएको नेपालका लागि फिनल्याण्डका राजदूत पे्रती एन्टिनेनसहितको टोलीसँगको छलफल उनले पोखरालाई पर्यटनसँगै शैक्षिक गन्तव्य बनाउन महानगर लागिपरेको बताए । उनले महानगरले शिक्षा कार्यविधि बनाइसकेको र सीमित स्रोतसाधनलाई उच्चतम प्रयोग गरी गुणस्तरीय शिक्षा दिने गरी काम अगाडि बढाएको बताए । कार्यक्रममा उपप्रमुख गुरुङले एक वडा एक स्मार्ट विद्यालय बनाउने योजना महानगरले ल्याएको बताए । प्रमुख प्रशासकीय अधिकृत पौडेलले संघीय संरचनाअनुसार शिक्षाको जिम्मेवारी महानगरमा आएकाले शिक्षामा प्राथमिकता दिई योजनाबद्ध रुपमा काम गरिने बताए । शिक्षा महाशाखा प्रमुख आचार्यले शैक्षिक सत्र २०७६ देखि महानगरकाभित्रका विद्यालयका कक्षा कोठालाई धुलोमुक्त बनाएर सेतोपाटी राखिने तथा २११ सामुदायिक र १७८ संस्थागत विद्यालय भएको जानकारी दिएका थिए । छलफलमा राजदूत एन्टिनेनले योजनाबद्ध रुपमा काम गरेमा पोखरालाई शैक्षिक गन्तव्य बनाउने योजना पूरा हुने बताए । राजदूतसहित १५ जनाको टोलीले पोखराका केही विद्यालयको भ्रमणसमेत गरेको थियो । -रासस

देउवा भन्छन्, ‘कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले गुट उपगुट छन्’

विराटनगर, मंसिर ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्र मोर्चाबन्दी गर्न पाइने स्पष्ट पारे । पूर्वप्रधानमन्त्री देउवाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले यसभित्र गुट उपगुट हुने बताउँदै विगतमा पार्टी सभापति गिरिजाप्रसाद हुँदा विधानअनुसार सञ्चालन नभएको प्रष्ट पारे । पार्टीभित्र आन्तरिक द्वन्द्व भए पनि यो अराजक नभएको बताउँदै उनले पार्टीको महाधिवेशन तोकिएको समयमा हुने बताए । एक प्रश्नको जवाफमा सभापति देउवाले नेपाल विद्यार्थी संघले आफ्नो कार्य राम्ररी गरेमा महाधिवेशन हुने विचार व्यक्त गरे । -रासस

ऊर्जा मन्त्रीको दाबी– सुनकोशी डाईभर्सनले हिमाल र पहाडलाई जोड्ने छ

काठमाडौं, मंसिर ३ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन ‘अनन्त’ ले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण भ्रमण गरेका छन् । डिजाइन चरण सम्पन्न हुने अवस्थामा रहेको उक्त आयोजनाको सोमबार सिन्धुलीको खुर्कोट पुगेर उर्जामन्त्री पुनले निरीक्षण गरेका हुन् । सिन्धुलीका प्रतिनिधिसभा सदस्य रहेका पूर्व कृषीमन्त्री हरिवोल गजुरेल र गणेश पहाडीसंगै खुर्कोट पुगेका मन्त्री पुनले आयोजनाको सम्पूर्ण सर्वे चार महिना भित्र सम्पन्न हुने जानकारी दिए । ऊर्जामन्त्री पुनले आयोजनाको ड्यामस्थलको भ्रमण गर्नुका साथै परियोजनाका प्रमुख सुशिल आचार्यसहित स्थानिय जनप्रतिनिधीसंग समेत छलफल गरेका छन् । उनले आयोजनाको लागी स्रोत जुटाउने काम जारी रहेको भन्दै यसै आर्थिक वर्षभित्र परियोजना अघि बढाउने बताए । मन्त्री पुनले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवको आयोजना रुपमा अघि बढाउंने घोषणा समेत गरे । उनले भने, ‘यो बहुउद्देश्यि परियोजना हो, तयारी अवस्थामा रहेकोले यो परियोजना सरकार, प्रधानमन्त्री र मन्त्रालयको प्राथमिकतामा रहेको छ ।’ निर्माण अवधि ५ बर्ष लाग्ने अनुमान गरिएको उक्त आयोजनाको विद्युत् गृह बनाउन ५२ अर्ब ८८ करोड र सिंचाईतर्फ ३२ अर्ब लागत अनुमान गरिएको छ । मन्त्री पुनले उक्त परियोजनालाई अघि बढाउन स्थानिय जनता र जनप्रतिनीधीहरुलाई समेत सहयोग गर्न आग्रह गरे । उनले विकास र पूर्वाधारको माध्यमबाट सुनकोशी मरिन डाईभर्सन परियोजनाले हिमाल र पहाडलाई जोड्नुका साथै राष्ट्रिय एकता निर्माण गर्ने माध्यमको रुपमा समेत उपयोगि हुने धारणा राखे । ‘सुनकोशी मरिन डाईभर्सन परियोजना तरँई मधेशको कोर दुई नम्बर प्रदेश र पहाडको १ लाख २२ हजार हेक्टरमा सिंचाई सुविधा पुग्दा तरक्की नै हुन्छ, यसले हिमाल, पहाडलाई जोड्नुका साथै राष्ट्रिय एकता समेत निर्माण गर्छ ।’ मन्त्री पुनले कार्यक्रममा भने । उनले उक्त परियोजनालाई छिटो सम्पन्न गर्न अत्याधुनिक प्रविधीको प्रयोग गर्ने बताए । ४ महिनाभित्र सम्पूर्ण रिपोर्ट आइसकेपछि यहि आर्थिक वर्षभित्र काम अघि बढाउने जानकारीसमेत मन्त्री पुनले दिए । मन्त्री पुनले आयोजनाको सँइटको निरीक्षण समेत गर्नुभएको थियो । सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाबाट दुई नम्बर प्रदेशको १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाई हुनुका साथै मरिन भ्यालीमा पनि सिंचाई सुविधा पुर्याउने लक्ष्य रहेको छ । त्यसका साथै उक्त आयोजनाबाट ४२.५ मेगावाट विजुली उत्पादन गर्ने सरकारको लक्ष्य रहेको छ । उक्त आयोजनाका प्रमुख शुसिल आचार्यले उक्त परियोजनाबाट दुई नम्बर प्रदेशलाई खानेपानीको लागी पानी उपलव्ध गराउने लक्ष्य समेत राखिएको बताए ।

गन्तव्य मुलुकसँग श्रम समझदारीको प्रयास जारी छः श्रममन्त्री

काठमाडौं, मंसिर ३ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन गन्तव्य मुलुकसँग नयाँ उचाईबाट समझदारी गरिनुपर्ने बताएका छन् । राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) र वीनरक इन्टरनेशनलद्वारा सोमबार आयोजित ‘वैदेशिक रोजगारीमा जाने कामदारको जिम्मेवारपूर्ण छनोट’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली श्रमिकको सेवा, सुविधा र हकअधिकारलाई स्थापित गर्न पूराना समझदारीलाई समयानुकूल बनाउँदै नयाँ गन्तव्य मुलुकसँग समझदारी कायम गर्ने प्रयत्न भइरहेको बताए । उनले भने, ‘श्रम र पुँजीका कारण दुनियाँ समृद्ध हुँदै गएको छ, श्रमिक पठाउने देशले हिनताबोध गर्नु छैन, आत्मसम्मान र गौरवका साथ गन्तव्य मुलुकसँग समझदारी गर्नु जरुरी छ । श्रमिकले मर्यादित जीवनका साथ काम गर्ने अवसर पाउनुपर्छ ।’ उनले सरकार, निजी क्षेत्र, नागरिक समाज र सरोकारवालाको संयुक्त प्रयत्नबाट मात्र सदाचारपूर्ण कामदार छनोट प्रक्रियालाई व्यवहारमा परिणत गर्न सक्ने बताए । उनले भने, ‘सदाचारपूर्ण कामदार छनोट प्रक्रिया वैदेशिक रोजगारीमा मात्र होइन, देशभित्र पनि हुनु आवश्यक छ । देशभित्रैको श्रमिक छनोटका क्रममा पनि अनियमितता देखिएका छन्, देशभित्र श्रमिक लिनेदिने प्रक्रियालाई पारदर्शी बनाउन सरकार गम्भीर रहेको छ ।’ आप्रवासन विश्वव्यापी प्रवृत्ति र संस्कृतिका रुपमा अघि बढेकामा चिन्ता व्यक्त गर्दै उहाँले हरेक व्यक्ति तुलनात्मक लाभ र अवसरको खोजीमा एक ठाउँबाट अर्को ठाउँमा जाने क्रम विश्वव्यापी रुपमा तीव्र गतिमा विकसित भइरहेको बताए । मन्त्री विष्टले भने, ‘जुन गतिमा आप्रवासन अघि बढेको छ, त्यही अनुपातमा यससँग सम्बन्धित समस्या देखापरेको छ । आप्रवासनलाई सही ढङ्गबाट व्यवस्थापन गर्न नसकेको खण्डमा मानव ओसारपसार, मानवता विरोधी गतिविधि बढ्ने र मानवाधिकारको विश्वव्यापी मूल्य र मान्यतामाथि नै चुनौती पैदा हुने खतरा बढेको छ ।’ उनले आप्रवासनसँग सम्बन्धित समस्याको दीर्घकालीन समाधानका लागि हरेक मुलुकले आफ्नो सीमाभित्र, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा सैद्धान्तिक, नीतिगत र कार्यक्रममा सहमति गर्नु जरुरी भएको बताए । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल कृषिप्रधान मुलुक भए पनि कुल गार्हस्थ उत्पादनमा विप्रेषणको हिस्सा बढी भएकाले आप्रवासी श्रमिकको पक्षमा नीति बनाउन सरकारको ध्यानाकर्षण गराए । मुलुकको गरीबी निवारणमा विप्रेषणको योगदानलाई नकार्न नसकिने उनको भनार्इ थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालले सदाचारपूर्ण कामदार भर्ना प्रक्रियाका सन्दर्भमा विश्वमा भइरहेका प्रयासलाई नेपाल सरकारले अवलम्बन गरिरहेको जानकारी दिए । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सरकारले निजी क्षेत्र र सरोकारवालासँगको सहकार्यमा अल्पकालीन, मध्याकालीन र दीर्घकालीन नीति बनाउनुपर्ने बताए । -रासस

धनगढीमा उद्यमशिलता सम्वन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै

धनगढी, मंसिर ३ । कैलालीको धनगढीमा अन्तराष्ट्रिय स्तरको उद्यमशिलता सम्वन्धी सम्मेलन हुने भएको छ । धनगढी उप(महानगरपालिकाले सोमबार पत्रकार सम्मेलन मार्फत मंसिर ६, ७ र ८ गते धनगढीको सुभश्री प्यालेशमा सम्मेलन हुने जानकारी दिएको हो । धनगढी उपमहानगरपालिका र किंग्स कलेजको साझेदारीमा सम्मेलन हुन गैरहेको नगरप्रमुख नृपबहादुर वडले बताए । उनले भने, ‘तीन दिन सम्म चल्ने सम्मेलनमा बिभिन्न देशका सफल उद्यमी र स्थानीय सफल उद्यमीले प्रस्तुतीकरण गर्ने छन् ।’ यो सम्मेलन यस क्षेत्रको उद्यमशिलताको विकास तथा प्रवद्र्धनका लागि गरिन लागेको पनि नगरप्रमुख वडले बताए । सम्मेलन यस प्रदेशमा अहिले सम्मकै पहिलो भएको पनि नगरप्रमुख वडको दाबी छ । किंग्स कलेज काडमाण्डौका अनुसन्धान बिभागका प्रमुख चित्त रञ्चनज पाण्डेयले उपत्यका बाहिर यती ठूलो र महत्वपूर्ण सम्मेलन पहिलो पटक हुन लागेको बताए । उनले भने, ‘यस सम्मेलनको आफैंमा महत्व छ, धनगढी उपमहानगरपालीकाले गरेको यो सहासको हामी सम्मान गर्दछौं ।’

प्रकाश र ज्ञानु दाहालको स्मृतिमा प्रतिष्ठान स्थापना गरिने

ललितपुर, मंसिर ३ । नेपाल कम्युनिस्ट पाटी (नेकपा) का लोकप्रिय युवा नेता एवं अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको स्मृतिमा प्रतिष्ठान स्थापना गरिने भएको छ । सोमबार प्रकाशको निधन भएको एक वर्ष पुगेको अवसरमा दाहाल निवास खुमलटरमा आयोजित स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिष्ठान स्थापनाको तयारी भइरहेको जानकारी दिएका हुन्। उनले छोरा प्रकाश र छोरी ज्ञानुको स्मृतिमा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताए। प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, अनुसन्धान लगायतका क्षेत्रहरुमा काम गर्ने बताए। स्मृतिसभामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रकाश दाहाल मिलनसार र व्यवहारिक युवा भएको बताएका थिए । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा प्रकाश दाहालको स्मारिका विमोचन गरेका थिए । स्मृति सभामा कांग्रेस सभापति शेरबहादुर देउवा,नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई,राजपा अध्यक्ष मण्डल महन्थ ठाकूर,राप्रपाका अध्यक्ष कमल थापा लगायतले श्रदाञ्जली अर्पण गरेका थिए। प्रकाश दाहालको गत वर्ष मंसिर ३ गते हृदयघातबाट नर्भिक अस्पतालमा निधन भएको थियो ।

सुरक्षा गृहका लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

चिप्लेढुङ्गा, कात्तिक २८ । हिंसापीडित महिलाका लागि सुरक्षित आवास गृह र सडक बालबालिका लागि सम्पर्क केन्द्र नहुँदा समस्या भएको भन्दै कास्की, पोखराका अधिकारकर्मीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि सुरक्षागृह बनाउन पहल गरेता पनि सफल हुन नसकेको भन्दै मुख्य मन्त्रीलाई ध्यानाकर्षण गराएको कोपिला नेपालका कार्यकारी निर्देशक एवं अधिकारकर्मी बीना सिलवालले बताए । सिलवालले भने, “हामीले समस्याको बारेमा अवगत गरायौँ, उनले सकारात्मक जवाफ दिनुभएको छ । हामी काम हेर्न चाहन्छौँ ।” उनले यो गम्भीर भएको भन्दै प्रदेश सरकारले तुरुन्तै यस कार्यको थालनी गर्नुपर्ने बताए । इन्सेक गण्डकी प्रदेश कार्यालय संयोजक शिवप्रसाद खकुरेलले महिला तथा बालबालिका सुरक्षाका लागि सुरक्षा घर अत्यावश्यक रहेको बताउँदै स्वास्थ्य र सुरक्षाको दृष्टिकोणबाट पनि सहज हुने गरी स्थान छनोट गरिनुपर्ने बताए । महिला सुरक्षा गृह तथा बाल सम्पर्क गृह निर्माणका लागि ध्यानाकर्षण गराउन पुगेका नागरिक समाजको प्रतिनिधिसँग भेटका क्रममा मुख्यमन्त्री गुरुङले महिलामैत्री वातावरणका लागि आफू सकारात्मक रहेको भन्दै हिंसामा परेकाको लागि सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा सुरक्षा गृह प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष गिरधारी शर्माले नयाँ संरचना निर्माण गर्नेभन्दा पनि भएका संरचनालाई उपभोग गर्ने गरी स्थानको खोजी गरिने जानकारी दिए । शर्माले सुरक्षा गृह प्रदेश सरकारको प्रतिष्ठासँग पनि जोडिएकाले सरकार र गैरसरकारी संस्थाको समन्वयमा सुरक्षा गृह सञ्चालन गर्न सकिने धारणा राखे । रासस

नागढुंगा सडकखण्ड अझैसम्म बन्न सकेन, स्थानीय अान्दोलित

कलंकी, कार्तिक २८ । नागढुंगा मार्गको वैकल्पिक सडकको रुपमा लिइएको घ्याम्पे डोलवाड भञ्ज्या« सडकखण्डका जनता पनि धूलो, धुँवाका कारण स्थानीय पीडित भएपछि आन्दोलित भएका छन् । नैकापस्थित फु्टबल मैदान स्तरोन्नति गर्न भत्काइएको सडक वर्षाैं भइसक्दा पनि निर्माण सम्पन्न गर्न ढिलाई स्थानीय धूलो धुँवाले बस्न बाध्य भएपछि संघर्ष समिति बनाएर आन्दोलन गर्ने तयारी गरेका छन् । २५ सदस्यीय संघर्ष समितिका अध्यक्ष सञ्जयचन्द्र श्रेष्ठले मैदान स्तरोन्नति गर्न वडाले भत्काइएको सडक वडाले नै बनाउनुपर्ने सडक विभागलाई देखाएर पन्छिन नहुने बताए । समस्या समाधानका लागि आयोजना गरेका ‘भेला तथा छलफल’ कार्यक्रममा स्थानीय रवि बुढाथोकीले सडक भत्काउने बेलामा जनतासँग सोध्नु नपर्ने अहिले निर्माण गर्नका लागि समिति बनाएर आउ भन्ने कुरा अनुचित रहेको बताए । कार्यक्रममा स्थानीय सुरेन्द्र मगरले सार्वजनिक बाटो निर्माण गर्नपनि वडाध्यक्षले निजी सम्पत्ति खर्च गर्नुपरे जस्तो कन्जुस्याईं गरी बजेट नछुट्याईएकोमा असन्तुष्ट व्यक्त गरे । संघर्ष समितिका अध्यक्ष श्रेष्ठले आजको भेलाले वडा कार्यालयलाई अल्टिमेटम दिईने र सो अवधिमा पनि निर्माण सम्पन्न नगरे वडाध्यक्षलाई कार्यालयमै थुन्ने सम्मको कार्यक्रम राख्ने जानकारी दिए । चन्द्रागिरि नगरपालिका १३ र १४ का वडाध्यक्षद्वय बालमुकुन्द विडारी र रामहपिर बस्नेतले दशैं र तिहारले गर्दा निर्माण कार्य ढिलाई भएको स्वीकार्दै निर्माण यथाशिघ्र सम्पन्न गर्न प्रक्रिया थालिसकेको र सम्पन्न नभएसम्म दैनिक बाटोमा पानी हाली धूलो नियन्त्रण गर्ने जानकारी दिए । नागढुंगाबाट कलंकीले मकालु पेट्रोलपम्प निस्कने सडकलाई घ्याम्पेडोल वाडभञ्ज्या« नामाकरण भएको हो ।

जिल्ला समन्वय समितिका सदस्यमाथि खुकरी प्रहार

मेलम्ची, कात्तिक २८ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि खुकुरी र बियरको बोतल प्रहार भएको छ । आक्रमणमा परी तामाङ गम्भीर घाइते हुनुभएको छ । सोमबार मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा तामाङमाथि आक्रमण भएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका उपप्रमुख बालकुमारी सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । अराजक तत्वको जमातले तामाङमाथि आक्रमण गरी घाइते बनाएको भन्दै जनप्रतिनिधिमाथिको हमलाको समितिले निन्दासमेत गरेको छ । विज्ञप्तिमार्फत दोषीलाई अविलम्ब पक्राउ गरी कडा कानूनी कारवाहीको माग गरिएको छ । तामाङलाई आफ्नै भाइले आक्रमण गर्दा घाइते भएका थिए । बाटोको विषयलाई लिएर इन्द्रावती गाउँपालिका–५ बस्ने ३२ वर्षीय अणबहादुर तामाङले दाजुलाई बियरको बोतलले हिर्काएका थिए । टाउकामा चोट लागेर घाइते भएका सदस्य तामाङको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रहरीद्वारा चोरी गर्ने गिरोह पक्राउ

भक्तपुर, कात्तिक २८ । भक्तपुरको सूर्यविनायक नगरपालिका–६ दार्जलिङ हाइटमा बस्ने जीतबहादुर तामाङको कोठाबाट विभिन्न सामान चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चोरीमा संलग्न रहेको अभियोगमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ भारदेउ घर भई हाल ललितपुरको ग्वार्खो बस्ने १९ वर्षीय राजु तामाङ र काभ्रे तेमाल गाउँपालिका– ९ मेच्छे घर भई हाल ललितपुर जिल्ला इमाडोल बस्ने २१ वर्षीय किसन तामाङलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार तामाङको कोठाबाट नगद रु एक लाख र मोबाइल सेट एक थान र सूर्यविनायक–६ सुन्दरबस्तीमा कोठामा बस्ने रमिता तामाङको मोबाइल सेट एक थानसहित दुई जनालाई पक्राउ गरेको प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । निजहरुको साथबाट प्रहरीले चोरिएका मोबाइल, सुनचाँदीका गहना, नगद बरामद गरेको र गिरोहमध्येका फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । यो गिरोहले अन्य क्षेत्रमा पनि चोरी गरेको खुलेकाले थप अनुसन्धान अगाडि बढाएको प्रहरीको भनाइ छ । रासस

प्रचण्ड भन्छन्, ‘निजी क्षेत्रसँग सहकार्य नगर्दासम्म सम्वृद्धि हासिल गर्न सकिदैंन’ [भिडियो]

म्याग्दी, कार्तिक २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले निजी क्षेत्रसँग सहकार्य नगर्दासम्म सम्वृद्धि हासिल गर्न नसकिने बताएका छन् । म्याग्दी उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘जसबसम्म निजी क्षेत्रसँग सहकार्य र उनीहरुलाई प्रोत्साहित गर्न सक्दैनौँ हामीले समृद्धिको सपना बाँड्नुको अर्थ रहँदैन ।’ पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राज्यले व्यवसायीलाई र व्यवसायीले राज्यलाई पूरक बनाउने वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिए । उनले निजी क्षेत्र र सरकारबीच सहकार्य नभएसम्म विकासले गतिलिन नसक्ने बताए । साथै, अध्यक्ष प्रचण्डले सोच र विचारमा परिर्वतन ल्याउन आवश्यक रहेको बताए । उनले भने, ‘सोचमा बदलाब ल्याउन जरुरी छ । सोचमा बदलाब ल्याएपछि ऐन, नियम कानून र नीतिमा बदलाब ल्याउन आवश्यक छ ।’

विकट बस्तीमा चिकित्सकसहितको सैनिक टोली पुग्दा…

भीमदत्तनगर, कात्तिक २८ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट मङ्गलबार दिउँसो हातमा स्वास्थ्य परीक्षणको पर्चा र औषधी लिएर घर फर्कँदै गरेका स्थानीय ५५ वर्षीय रामबहादुर साउद प्रसन्न मुद्रामा रहेका थिए । लामो समयदेखि बिरामी रहेका उनले घर आँगनमै निःशुल्क स्वास्थ्य उपचार पाउँदा खुसीको सीमा नै नरहेको जानकारी दिए । ‘सेनाले विकट बस्तीमा आएर जनताको सेवा यसरी पनि गर्दोरहेछ ।’ साउदले रासससित भन्नुभयो–‘यो त सेनाको पुण्य काम हो ।’ नेपाली सेनाको सिंहशार्दुल गुल्मले मङ्गलबार पहरियामा आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा साउद जस्तै सयौँ स्थानीय वृद्ध÷वृद्धा, महिला र बालबालिकाहरूले गाउँमै उपचार पाएपछि खुसी व्यक्त गरेका छन् । कञ्चनपुरको विकट बस्ती हो पहरिया । जहाँ द्वन्द्वकालमा समेत स्थानीयबासीहरूले निकै समस्या भोग्नु परेको स्थानीय सित्त भुलको भनाइ छ । भौगोलिकरूपमा विकट नगरपालिका– १ मा दोमिल्ला, पहरिया, बण्ड, निगाली गाउँ छन् । यहाँ पछिल्लो समय सडक सञ्जाल विस्तार भर्इ रहेपनि विद्यालयबाहेक अन्य सरकारी सुविधा केही छैन । ‘अरुले उपचारका लागि अत्तरिया, धनगढी, महेन्द्रनगर हँुदै भारतसम्म जानुपर्ने बाध्यता छ ।’ बण्डका स्थानीय प्रभाकर भण्डारीले भने–‘दुर्गमका जनता सेनाको शिविरबाट लाभान्वित भएका छन ।’ बस्तीमा स्वास्थ्य संस्थाहरू नहुँदा सामान्य बिरामी हुँदा पनि टाढा जानुपर्ने अवस्था छ । ‘यसअघि यहाँ यसरी शिविर लगाएको मलाई सम्झना छैन ।’ स्थानीय भीमदत्त भट्टले भने– ‘गाउँमै पुगेर दीनदुखीलाई मलम लगाउने सेनाको जयजयकार ।’ २०२६ सालदेखि पहरियामा बसोबास गर्दै आएका स्थानीयहरूले पनि गाउँमा पहिलो पटक निःशुल्क स्वास्थ्य सेवा पाएको बताएका छन् । यहाँस्थित सेनाको सिंहशार्दुल गुल्म, भगतपुर ब्यारेकको आयोजनामा भएको स्वास्थ्य शिविरबाट ३३० जना लाभान्वित भएको सो गुल्मले जनाएको छ । स्वास्थ्य परीक्षणका लागि महिला र वद्धवद्धाहरू बढी सङ्ख्यामा थिए । जिल्लाकै ग्रामीण भेग र स्वास्थ्य सेवाबाट टाढा रहेको देखेपछि यहाँ शिविर सञ्चालन गरिएको सेनाले जनाएको छ । सेनाले आगामी दिनमा पनि सैनिक नागरिक सम्बन्ध प्रभावकारी बनाउन विभिन्न सामाजिक काम गर्दै जाने जनाएको छ । स्वास्थ्य परीक्षण गरिएका अधिकांश बिरामीहरूमा छाला, हाडजोर्नी, आँखा र महिलाको पाठेघरसम्बन्धी समस्या बढी देखिएको श्री नंं २५ फिएका उपसेनानी डा साजन महर्जनले जानकारी दिए । बिरामीहरूको परीक्षणका लागि सेनाको चिकित्सकसँगै धनगढीस्थित नवजीवन अस्पतालका चिकित्सक डा जयराम केसी समेत सहभागी भएका छन् । नेपाली सेनाले यस अघि कञ्चनपुरको भीमदत्तनगरपालिका, बेदकोट, बेल्डाँडी गाउँपालिकाका विभिन्न बस्तीहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । रासस

ब्रेकफेल भएको कारण ट्रिपर दुर्घटनामा एकको मृत्यु

पाल्पा, कात्तिक २८ । पाल्पामा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–२ का २८ वर्षीय चालक हुमबहादुर महतोको रहेको जिल्ला प्रहरी कार्यालयको दाबी छ । निस्दी गाउँपालिका–७ ज्यामिरेमा मंगलबार राति लु१ख ९२११ नंको टिपर बे्रकफेल भई बिग्रिएर रोकिएको लु१ख १९ नंको टिपरको पछाडिएका ढालामा ठक्कर खाई सडकमा पल्टिदाँ चालक महतो घाइते बनेका थिए । मध्यविन्दु सामुदायिक अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ । निस्दीको भुटुको चुनढुङ्गाखानीबाट नवलपरासीको सर्दी जाने लोड टिपरको ब्रेकफेल हुन पुगेको हो । यसैबीच आज बिहान पाल्पा जिल्ला सदरमुकाम तानसेनको हुलाङदीमा लु१च ९८२२ नंको उकालोमा चढ्न नसक्दा दुर्घटना भएको हो । पिकअप दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरु जीप चालक नवलपरासी जिल्लाको बर्दघाट नपा–४ का ३१ वर्षीय नुरप्रसाद भूषाल, जीपमा सवारमा तानसेन नगरपालिका–१२ का ४२ वर्षीय वीरेन्द्र थापा घाइते भएका हुन् । थापाको अवस्था सामान्य भए पनि भूपालको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । ओभरलोडका कारण उकालोमा चढ्न नसकेर ब्याक हुँदा सडकमा रोकिएको अवस्था रहेको बा१५च ३८३१ स्कारपियोमा क्षति भएको छ । तानसेनको हुलाङदीदेखि विशाल बजारतर्फ जाने क्रममा दुर्घटना भएको हो । रासस

बाबुआमालाई घर निकाला गर्ने छोराछोरीलाई जेल सजाय !

काठमाडौँ, कात्तिक २८ । के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ भने सावधान ! बाबुआमालाई हेला गर्ने, दुःख दिने छोराछोरीलाई जेल सजायसमेत हुने गरी सरकारले कानूनी व्यवस्था गर्ने तयारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी यस्तो प्रावधान राख्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको छ । प्रस्तावित ऐनमा ‘सार्वजनिक पदधारण गरेको व्यक्तिले आफ्नो मासिक पारिश्रमिकबाट १० प्रतिशत रकम ज्येष्ठ नागरिक आफ्ना बाबुआमाको नाममा रहेको बैँक खातामा जम्मा गर्नुपर्ने छ’ भनिएको छ। मन्त्रालयका सहसचिव वीरबहादुर राईले ऐनमा अन्तर्राष्ट्रिय वा अन्तर सरकारी सङ्घ-संस्था वा प्रचलित कानूनबमोजिम आफ्नो मासिक पारिश्रमिकबाट १० प्रतिशत रकम बाबुआमाको नाममा रहेको बैँक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए । प्रत्येक आर्थिक वर्षको अन्तिममा आफ्नो आम्दानीको १० प्रतिशत आमाबाबुलाई बुझाएको बारे सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने ऐनमा व्यवस्था छ । ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षणका लागि स्थानीय तहले ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्न सक्ने व्यवस्था पनि गरिएको छ । त्यसैगरी कुनै पनि सार्वजनिक पदधारण गरेका व्यक्तिले ऐनबमोजिम कसुर गरेमा निजलाई अन्य व्यक्तिलाई हुने सजायमा ३० प्रतिशत थप सजाय हुनेछ । पछिल्लो पटक आफ्ना वृद्ध बाबुआमालाई पालनपोषण गर्नुको सट्टा भएको सम्पत्ति छोराछोरीले आफ्ना नाममा गराएर आमाबाबुलाई हेला गर्ने संस्कार बढ्दै गएका कारण पनि ऐन ल्याउनुपरेको सहसचिव राई बताउँछन् । बिहे गरेकी जागिरे छोरीले पनि माइतीमा रहेका आफ्ना बुबाआमालाई मासिक कमाइको १० प्रतिशत बैंक ब्यालेन्स गरिदिनुपर्ने छ । जागिर गर्नेले मात्रै भन्दा पनि मासिक रूपमा केही न केही कमाइ गर्ने सबैले आफ्नो बुबाआमालाई कमाइको १० प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने छ । सरकारले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने उद्देश्यले २०६३ मा ज्येष्ठ नागरिकसम्बन्धी ऐन ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐनमा यातायात र स्वास्थ्य उपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भनिए पनि त्यसको अहिलेसम्म पूर्ण कार्यान्वयन हुन सकेको छैन । धेरै बाबुआमा सन्तान भएर पनि आश्रममा आश्रित जीवन बाँच्नुपरेको छ । नयाँपुस्तामा देखिएको व्यक्तिवादी सोचसँगै मौलाएको एकल परिवार (श्रीमान, श्रीमती, छोरा, छोरी)को संरचनाभित्र जन्म दिने बाबुआमा नअटाएको देखिन्छ । अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुली ज्येष्ठ नागरिकसम्बन्धी ऐन कार्यान्वयन नभएकाले अब संशोधन भएर कार्यान्वयनमा आउनेमा शङ्का व्यक्त गर्नुभयो । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या (६० वर्ष पुगेका) २५ लाख अर्थात् कूल जनसङ्ख्याको ८.१३ प्रतिशत छ । हाल विश्वमा ६० वर्ष नाघेका ज्येष्ठ नागरिक करीब ८० करोड छन् । यो सङ्ख्या सन् २०५० सम्ममा दुई अर्ब नाघ्ने अनुमान गरिएको छ । देशभर हाल करीब ८० वृद्धाश्रम रहेका छन् । पछिल्लो समयमा संयुक्तभन्दा एकल परिवारको संस्कृति मौलाउँदै गएको सन्दर्भमा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी संविधानमा व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिकले पैतृक सम्पत्तिमा छोराछोरीको हकदाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाविरुद्धमा कुनै बहानामा उजुरी गर्न नपाइने माग गर्दै आएका छन् । रासस

अवैध सम्बन्ध ढाकछोप श्रीमानको हत्या

विराटनगर । अवैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफ्नो श्रीमानको हत्या गरेकी छिन् । मोरङको सुनवर्षी नगरपालिका–३ की ३० वर्षीया फुलमुनी हेमरमले आफ्नो प्रेमी २४ वर्षीय मदन मुर्मुसँग मिलेर ४५ वर्षीय श्रीमान सोहिम हेमरमको हत्या गरेको रहस्य खुलेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा याे खबर छ -प्रेमीसँगको सम्बन्धको श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिकाकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग मिलेर श्रीमानको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफ्नो श्रीमानको हत्या गरेकी छिन् । मोरङको सुनवर्षी नगरपालिका–३ की ३० वर्षीया फुलमुनी हेमरमले आफ्नो प्रेमी २४ वर्षीय मदन मुर्मुसँग मिलेर ४५ वर्षीय श्रीमान सोहिम हेमरमको हत्या गरेको रहस्य खुलेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा याे खबर छ -प्रेमीसँगको सम्बन्धको श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिकाकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग मिलेर श्रीमानको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।