श्रीमती हत्याका फरार अभियुक्त पक्राउ

रुपन्देही, कार्तिक २५ ।

श्रीमती हत्याका फरार अभियुक्त पक्राउ परेका छन् ।

रुपन्देही बुटबल उपमहानगरपालिका–७ घर भई पोखरा लेखनाथ महानगरपालिका–७ बस्ने २८ वर्षीय दुर्गाबहादुर घर्ती शनिबार पक्राउ परेका छन् ।

गत कार्तिक २२ गते राती आफ्नै श्रीमती ३४ वर्षीया शर्मिला घर्ती जिसीलाई आफ्नै काठामा हत्या गरी दुर्गाबहादुर फरार रहेका थिए । उनलाई प्रहरीले रुपन्देही सिद्धार्थ नगरपालिका (३ बसपार्कबाट फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले उनको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

भीरबाट खसेर किशोरीको मृत्यु

अछाम, कात्तिक २५ । अछाममा भीरबाट खसेर शनिबार एक किशोरीको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर स्थानीय मीनबहादुर चलाउनेकी १६ वर्षीया छोरी चेतना चलाउनेको मृत्यु भएको हो । घरबाट खर काट्न गएकी चेतनाको दिउँसो १ बजेतिर वडाको भन्डारखोला माझबाटे भन्ने भीरबाट खसेर घटनास्थलमै ज्यान गएको परिवारले जनाएको छ । भीरबाट करीब २० मिटर तल खसेकी चलाउनेको टाउकोमा गम्भीर चोट लागेको र घटनास्थलमै ज्यान गएको बताइएको छ । उनीसँगै उनकी आमा र भाउजु पनि घाँस काट्न गएका थिए । मृतक चलाउने विद्या मन्दिर मावि विनायकमा कक्षा ९ मा अध्ययनरत रहेको उनका बुबा मीनबहादुर चलाउनेले बताए । रासस

क्रिकेट खेलिरहेकी बालिका बलात्कृत !

काठमाडौं, कार्तिक २२। काठमाडौंको मूलपानीमा बुधबार दिउँसो बालिका बलात्कृत भएकी छन् । मूलपानीको क्रिकेट मैदानमा खेलिरहेकी बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो १२ बजे क्रिकेट मैदानको कम्पाउण्ड बनाउने मजदुरहरुले १२ वर्षीया बालिकालाई बलात्कार गरेका हुन् ।   कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ६ मा पर्ने क्रिकेट मैदानभित्र घुम्न आएका बेला बालिका बलात्कारमा परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी होविन्द्र वोगटीले जानकारी दिनुभयो ।   घटनामा संलग्नको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाका नरेश चौधरी, बिक्कु थारु, डिल्लीराम थारु र धादिङका रविन इटनी रहेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

फेरि बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट

कैलाली, कार्तिक २२ । जिल्लाको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा राधा चौधरीलाई फेरि कुटपिट गरिएको छ। चौधरीमाथि स्थानीय कालीचरण चौधरीले बुधबार कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरि वलीले जानकारी दिए।   कुटपिटमा संग्लन कालीचरणलाई इलाका प्रहरी कार्यालय सुख्खडले पक्राउ गरिसकेको छ। यसअघि बोक्सीकै आरोपमा राधामाथि कुटपिट भएको थियो। भोलेबाबा भनिने रामबहादुर चौधरीसहित ३ जना अदालतको आदेशपछि कैलाली कारागारमा कैद सजाय भोगिरहेका छन्।   घोडाघोडी नगरपालिका–५ देउकलियाकी उनीमाथि २०७४ फागुन २४ गते बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको थियो।

पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सम्पन्न

हेटौँडा, कात्तिक २१ गते । पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सकिएको छ । नेपाल आयलनिगम पेट्रोलियम पाइपलाइन परियोजनाका अनुसार सिमावर्ती भारतीय शहर रक्सौलदेखि अम्लेखगञ्जसम्म ३७ दशमलब ३५ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याउने कार्यक्रमअन्तर्गत १९ किलोमिटर पाइपलाइन बिछ्याउने काम सम्पन्न भएको हो । रक्सौलदेखि अम्लेसगञ्जसम्म विभिन्न अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको र पाइपलाइन बिस्तारको काम दु्रतगतिमा भइरहेको परियोजनाका प्रमुख भानुक्त खनालले जानकारी दिनुभयो । नेपाल आयल निगमले पाइपलाइन बिछ्याउने बाटोमा पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने रुख कटान गर्नका लागि वन मन्त्रालयबाट स्वीकृति पाइसकेको र त्यो काम पनि भइरहेको प्रमुख खनालले बताउनुभयो । रुख कटान गर्ने जिम्मेवारी नेपाल टिम्बर कर्पोरेशनलाई दिइएको छ भने काटिएका रुखको क्षतिपूर्ति आयल निगमले वन मन्त्रालयलाई दिने सहमति भएको छ । सो आरक्षण क्षेत्रबाट करीब पाँच हजार ८८८ रुख काट्ने सहमति भएको बताइएको छ । रुख कटान हुनासाथ एक महीनामा पाइपलाइन बिछ्याउने काम सम्पन्न हुने प्रमुख खनालको भनाइ छ । पाइपलाइन बिस्तारका लागि आरक्ष क्षेत्रको १० किमी जङ्गल पर्छ । पाइपलाइन बिछ्याउने काममा आएका सबै अवरोध हटेकाले अबको एक महीनामा यो कार्य पूरा हुने उहाँले बताउनुभयो । नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँको सहयोगमा उक्त पाइपलाइनको निर्माण कार्य भइरहेको छ । भारततर्फ विहारको मोतिहारीदेखि रक्सौलसम्मको पाइपलाइन बिस्तार कार्यक्रमअन्तर्गत तीन किमी बनाउन बाँकी रहेको बताइएको छ । (रासस)

११ वर्षपछि खुल्याे निशाको बन्द भएकाे मुख

काभ्रेकी निशा रानामगरको ११ वर्षअगाडि साथीसँग खेल्नेक्रममा लडेर मुखमा गम्भीर चोट लाग्यो। लामो समयको उपचारपछि घाउ ठिक त भयो, तर क्रमशः उनको मुख बन्द हुँदै गयो। हाल निशा १९ वर्षकी भइन्। उनको परिवारले धेरै अस्पतालमा देखाए, तर समस्या समाधान हुने कुनै लक्षण देखिएन। अन्तमा परिवारले निशालाई नेपाल मेडिकल कलेज शिक्षण अस्पताल (एनएमसी) जोरपाटी लगे। वरिष्ठ दन्तरोग विशेषज्ञ डा. नीरज पन्तको टोलीले उनको उपचार सुरु गर्यो। बन्द मुख यसरी खोलियो ट्रमाको समस्याले गर्दा क्रमशः बन्द हुँदै गएको मुख बोल्न र खानेकुरा निल्न नसक्ने अवस्थामा पुगेको थियो । चिकित्सकीय भाषामा त्यस्तो समस्यालाई यंकायोलोसिस भनिन्छ। दुर्लभै पाइने यस्तो चुनैतीपूर्ण समस्याको नेपालमा सहज समाधान गर्न सक्नु ठूलो उपलब्धिको विषय भएको उपचारमा संलग्न चिकित्सक बताउँछन्। डा. पन्तका अनुसार निशाको मुख खुल्दैनथ्यो। भित्रभित्र आवाज आउँथ्यो। खानेकुरामा झोल मात्रै निल्न सक्ने अवस्था थियो। खानेकुराको स्वाद थाहा पाउन त सम्भवै थिएन। उनको सोमबार सफलतापूर्वक शल्यक्रिया गरिएको छ । नयाँ जीवन पाएँ : निशा बोल्न र नर्मल खानेकुरा पनि खान नसक्ने अवस्थामा पुगेकी निशा शल्यक्रियापछि नयाँ जीवन पाएकोमा दंग छिन्। धेरै अस्पताल चहार्दा पनि समस्या समाधान नभएपछि नेपाल मेडिकल कलेज आएको उनी बताउँछिन्। अहिले आफू ठिक भएको उनको तर्क छ। निशा पहिलेजस्तै बोल्न र नर्मल खानेकुरा खान सक्ने भएकी छिन्। उनको उपचार डा. नीरज पन्त, डा. कुशल बिम्व, डा. अञ्जनी भट्टराई र डा. सुमितकुमार सिंहले गरेका हुन्। साभार: स्वास्थ्यखबर

अछाममा५७ वर्षीया बोल्न नसक्ने महिला बलात्कृत

अछाम — यहाँ ५७ वर्षीया बोल्न नसक्ने महिला बलात्कृत भएकी छन् । जिल्लाको चौरपाटी गाउँपालिका ६ मा बस्ने ती महिलालाई सोही ठाउँमा बस्ने ३१ वर्षीय नाउटे आउजीले बलात्कार गरेको अछाम प्रहरीले जनाएको छ । कार्तिक १५ गते राति ११ बजे आफ्नो घरमा सुतिरहेकी पीडित महिलालाई मदिरा सेवन गरी कुटपिट गर्नुका साथै बलात्कार गरेको भन्दै परिवारले कार्तिक १६ गते प्रहरीमा उजुरी दिएको थियो । उजुरीका आधारमा आउजीलाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए । आउजीले कार्तिक २० गते सरकारी वकिल कार्यालयमा आरोप स्वीकार्दै स्थानीय १९ वर्षीय बुद्धि आउजीसमेत संलग्न रहेको बयान दिएका छन् । आरोपित बुद्धिलाई समेत पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।

नेता नेपाल भन्छन्, ‘कम्युनिस्ट सरकार असफल भए राष्ट्र नै असफल हुन्छ’

काठमाडौं, कार्तिक २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको सरकार असफल भए सिङ्गो राष्ट्र नै असफल हुने बताएका छन् । रिपोर्टर्स क्लबले उनको निवासमा आयोजना गरेको देउसीभैलो कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् । मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक र सामाजिक रुपान्तरणका लागि सरकारले प्राथमिकिकरण गरेको र राज्यका निकायलाई गतिशील बनाएर सरकार अगाडि बढ्नुपर्नेमा नेता नेपालले जोड दिए । देश र जनतालाई विकास र समृद्धिमा लैजानका लागि सरकारसँग स्पष्ट दृष्टिकोण रहेकोसमेत उनले बताए । यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले प्रधानमन्त्री ओलीले कम्युनिष्टहरुको एकतामा निर्वाह गरेको भूमिकाले देशको राजनीतिक स्थिरताका लागि सकारात्मक प्रभाव पार्ने बताए । उनले बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यले राप्रपा परिवेशका सबै पार्टी हिन्दू राष्ट्र कायम गर्ने समझदारीका साथ एकीकरणको प्रयास भइरहेको बताए । -रासस

देवकोटाको जन्मघरलाई संग्रहालय बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौं डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर संग्रहालय बनाउने घोषणा गरेका छन् ।   प्रधानमन्त्री ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११०औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले देवकोटा विलक्षण प्रतिभा र बौद्धिक व्यक्तित्व भएकाले उनको कृतित्व र व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिनका लागि सङ्ग्रहालयको आवश्यकता रहेको बताए।   प्रधानमन्त्री ओलीले देवकोटाका परिवारसँग कुरा गरेर उपयुक्त मूल्यमा भग्नावशेषको अवस्थामा रहेको सो घर खरिद गरी ‘रोक्टोफिटिङ’ गरेर देवकोटा कसरी पलेटी कसेर लेख्थे भन्नेसम्मका स्मृति झल्काउन सरकारले सङ्ग्रहालय बनाउने उद्घोष गर्दा सहभागी स्रष्टाहरुले तालीले स्वागत गरेका थिए ।   महाकविको उक्त जन्मघर हाल जीर्ण अवस्थामा छ भने नजिकैको नयाँ घरमा उनका छोरा डा. पदमप्रसाद देवकोटा बस्दै आएका छन् । विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मिएका र विसं २०१६ भदौ २९ गते निधन भएका महाकावि देवकोटाका ‘मुनामदन’, ‘सुलोचना’, ‘शाकुन्तल’ ‘पहाडी पुकार’ लगायत दर्जनौं लोकप्रिय कृति प्रकाशित छन् । उनी पूर्व शिक्षामन्त्रीसमेत हुन् । स्रष्टालाई चुरोट त्याग्न आग्रह देवकोटाको चुरोट खाने व्यक्तिगत आदत खराब भएको र त्यही कारणले उहाँ ५० वर्षकै उमेरमा बितेका भन्दै प्रधानमन्त्री ओलीले सग्रहालयमा उनका चुरोटका ठुटाबाहेक अन्य प्रेरणात्मक पक्षहरु समावेश गरिने बताए । साथै, उनले चुरोट खाएर स्वास्थ्य बिगारिरहेका कोही स्रष्टा भएमा आजैदेखि देवकाटोलाई साक्षी राखेर चुरोटको अम्मल त्याग्न आग्रह पनि गरे । -रासस

भाटभटेनीमा अखाद्य दुग्ध पदार्थ, बिक्री वितरणमा मन्त्रालयद्वारा रोक

काठमाडौं, कार्तिक २१ । सरकारले भाटभटेनी सुपरमार्केटबाट भइरहेको दुधजन्य खाद्य पदार्थ गुणस्तरहिन भन्दै बिक्री वितरणमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले आज दिउँसो काठमाण्डौंको महाराजगन्जस्थित भाटभटेनी सुपर मार्केटमा अनुगमन गरेपछि दुधजन्य खाद्य पदार्थ बिक्रीवितरणमा रोक लगाएको हो । भाटभटेनी सुपर मार्केटबाट बिक्री हुने दुधजन्य खाद्य पदार्थ गुणस्तरहीन भएको पाइएपछि बिक्रीमा रोक लगाइएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए ।   भाटभटेनी सुपरमार्केटको खाद्य स्टोरमा रहेका खाद्य पदार्थको परिक्षण गर्दा गुणस्तरहिन भेटिएको महानिर्देशक कर्णको भनाई छ । सरकारले खाद्य स्वच्छता अभियानअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा काठमाडौंलगायत देशका मुख्यमुख्य सहरमा बजार अनुगमनको कामलाई निरन्तरता दिँदै आएको छ ।

इटहरीमा भीषण आगलागी, एक करोडको क्षति

इटहरी, कार्तिक २१ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपाालिका–६ स्थित मुख्य चोकमा रहेको सप्तकोशी कलर ल्याव रहेको चारतले पक्की भवनमा आज दिउँसो आगलागी हुँदा कम्तिमा रु एक करोड क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । एक दर्जन बढी व्यावसायिक कारोबारका पसल तथा व्यवसाय रहेको उक्त भवनमा विद्युत् ‘सर्ट’ भएर दिउँसो १ बजेतिर आगलागी शुरु भएको इटहरी बारुणयन्त्र कार्यालयले जानकारी दिएको छ । आगलागीमा परेर विनोद पराजुलीको नाममा रहेको उक्त चारतले भवनको माथिल्लो तीन तला पूर्ण रूपमा ध्वस्त भएको छ । आगलागीका कारण त्यो भवनभित्र रहेका अधिकांश पसल तथा व्यवसायीको सरसामान पूर्ण रूपमा जलेर नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । इटहरीको मुख्य चोक क्षेत्रको बजारमा भएको उक्त आगलागी अन्य घर क्षेत्रमा फैलन नदिनका लागि झण्डै एक दर्जन बढी दमकलले पूर्ण प्रयास गरेका कारण ठूलो नोक्सानी हुनबाट इटहरीको बजार जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् । बीच शहरमा भएको आगोलाई नियन्त्रणमा लिनका लागि इटहरी धरान विराटनगर इनरुवा तथा यस आसपासमा भएका बारुणयन्त्र, प्रहरी नेपाली सेना सशस्त्र प्रहरी र स्थानीयवासीसमेतको सक्रिय सहभागिताकै कारणले आगो अपरान्ह् ३ बजेतिर नियन्त्रणमा लिने कार्य सफल भएको थियो । घना शहरको बीचमा भएको घरमा आगलागी भएका आसपासका अन्य जोडिएका घरमा समेत नोक्सानी पुगेको स्थासनीयवासीले जानकारी दिँदै अहिल्यै क्षतिको यकिन विवरण भन्न नसकिने अवस्था नरहेको बताइएको छ । चारतला माथिबाट आगो प्रारम्भ भएकाले के कारणले आगो सल्किएको वा फैलिएको हो भन्ने यकिन हुननसकेको र प्रहरीले विद्युत् सर्टकै कारणले आगो लागेको प्रारम्भिक अनुमान गरेको जानकारी दिएको छ । आगलागीमा धेरै नोक्सानी भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । आगो नियन्त्रणमा पूर्ण सावधानीपूर्वक अपनाइएकाले शहरमा आगो फैलनबाट जोगिएको प्रहरीले बताएको छ । -रासस

आज देशै झिलिमिली, कुलमान आफै भार प्रेषण केन्द्रमा बसेर काम गर्ने

काठमाडौं, कार्तिक २१ । नेपाल विद्युत प्राधिकणका कार्यकारी प्रमुख कुलमान घिसिङको अहिले पनि चर्चा शिखरमा छ । उनी चर्चामा रहिरहनुको मुख्य कारण पटकपटक भनि राख्नु पर्दैन । घिसिङको उज्यालो अभियानले हजारौं नेपालीले अन्धकारबाट उज्यालो पाएका छन् ।   यो उज्यालो बिजुली हो । नेपालीलाई खुसी थप्ने यो कामको सबैले प्रशंसा गरेका छन् । कुलमान यही उज्यालो अभियानका नायक हुन् । उनै नायक दसैं, तिहारमा झन् चम्किन्छन् । जब-जब उज्यालोको आवश्यकता पर्छ अनि मान्छले सम्झीन्छन् कुलमानलाई । अघिपछि पनि सम्झन् छन्  ।मानिसहरुले कुलमानलाई तर यो बेला झन् बढी सम्झन्छन् ।   यसैबीच, कुमलमान आज (बुधबार) बेलुकी आफैं भार प्रेषण केन्द्रमा बसेर देशैभरिको विद्युत माग र आपूर्तिको निरीक्षण गर्ने भएका छन् । तिहारमा जसरी पनि लोडसेडिङ हुन नदिन उनी आफैं खटिएका छन् ।   घिसिङले काठमाडौंको स्युचाटारमा रहेको भार प्रेषण केन्द्रमा बसेर देशैभरिका ठूला जलविद्युत केन्द्रबाट उत्पादन भएको बिजुली, भारतबाट आयात भएको बिजुली, तथा मागको बारेमा जानकारी लिने छन् । कतै केही गडबढी भएर लोडसेडिङ भएमा समस्या समाधान गर्न घिसिङले तत्कालै निर्देशन दिने प्राधिकरणले जनाएको छ ।   आज देशैभरि उज्यालो राख्न कुनै कसर बाँकी नराख्ने प्राधिकरणले जनाएको छ । त्यसको लागि ठूला जलविद्युत केन्द्र, सवस्टेसन र वितरण केन्द्रमा कर्मचारी र प्राविधिक सामग्री तयार अवस्थामा राखिएको छ ।   वर्षभरिकै सबैभन्दा धेरै विद्युत माग हुने दिन आज हो । आज १२ सय मेगावाटसम्म विद्युतको माग हुन सक्ने प्राधिकरणको अनुमान छ । तर १३ सय ५० मेगावाटसम्म माग भएमा पनि धान्न सक्ने प्राधिकरणले जनाएको छ । आजकै मागलाई आधार मानेर प्राधिकरणले वर्षभरिको माग र आपूर्तिको लागि योजना बनाउने छ ।

सार्वजनिक बिदामा पनि निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने

काठमाडौं, कार्तिक २१ । नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ ।   निगमको थानकोटस्थित डिपोबाट काठमाडौं उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई बुधबार ८.५ लाख लिटर पेट्रोल र ४.५ लाख लिटर डिजेल वितरण गरिएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले जानकारी दिए । निगमले मंगलबार ८.५ लाख लिटर पेट्रोल र ८.३ लाख लिटर डिजेल विभिन्न पम्पलाई उपलब्ध गराएको थियो ।   डिपोले काठमाडौं उपत्यका, बनेपा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र सिन्धुलीका केही भू–भागका पेट्रोल पम्पलाई इन्धन उपलब्ध गराउँदै आएको छ । प्रत्येक पम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको उजले जानकारी दिए ।   बुधबार लक्ष्मी पूजाका दिन सार्वजनिक बिदा भए पनि थानकोटस्थित डिपो भने खुल्ला नै रहेको छ । निगमले सार्वजनिक बिदाका दिनसम्म पुग्ने गरी इन्धनको पर्याप्त मौज्दात राख्न र इन्धन आवश्यक परे ट्याङ्कर डिपोमा पठाउनसमेत आग्रह गरेको छ ।   सार्वजनिक बिदाका दिन भए पनि आकस्मिक रुपमा इन्धनको माग भएमा उपलब्ध गराउन दुई अधिकृतकसहित आठ कर्मचारीलाई तयारी अवस्थामा राखिएको डिपो प्रमुख रेग्मीले बताए । निगमले दसैंको सार्वजनिक बिदाका दिनमा समेत उपत्यकामा इन्धनको अभाव हुन नदिन डिपो खुल्ला नै राखेको थियो ।   निगमको थानकोटस्थित डिपोमा डिजेल ७० लाख र पेट्रोल ४० लाख लिटर भण्डारण क्षमता रहेको छ । डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेकाले कुनै अभाव नहुने उनले बताए । -रासस

आर्थिक समृद्धि सरकारको प्राथमिकतामा छः मन्त्री अधिकारी

पोखरा, कार्तिक २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकको आर्थिक विकास र समृद्धि सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पोखरा महानगरपालिका–११ द्वारा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संस्कृतिले समृद्धि र भावनात्मक एकतालाई बलियो बनाउने बताए ।   मुलुकको सबै क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको कारण आर्थिक वर्षको तीन महीनामा ३४ प्रतिशतले पर्यटनमा वृद्धि भएको जानकारी दिँदै मन्त्री अधिकारीले मन्त्रालयले पर्यटन पूर्वाधारमा जोड दिँदै आएको उल्लेख गरे ।   नेकपा स्थायी समिति सदस्य सोमनाथ अधिकारी (प्यासी) ले तिहारपछि लगत्तै पार्टी व्यवस्थित गरेर सरकारलाई प्रभावकारी बनाउने बताए। नेकपा केन्द्रीय सदस्य राजकाजी गुरुङले निर्वाचनमा पार्टीले जनतासमक्ष गरेको प्रतिबद्धता पाँच वर्षभित्र पूरा गर्ने विश्वास व्यक्त गरे ।   गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले विकास निर्माणका कार्यमा जनता सचेत हुनुपर्नेमा जोड दिए । नेकपा पोखरा–११ संयन्त्र सदस्य नारायणप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कराँते राष्ट्रिय खेलाडी विष्णु नेपालीलगायतले मौलिक संस्कृति र विभिन्न पर्वले समाजलाई एकताबद्ध बनाउँदै आएको बताए । -रासस

प्रधानमन्त्री ओलीद्वारा भुटानका प्रधानमन्त्रीलाई शुभकामना

काठमाडौं, कार्तिक २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. लोते छिरिङलाई उनले भुटानको प्रधानमन्त्रीको उच्च पद सम्हालेकोमा शुभकामना व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयद्वारा बुधबार प्रकाशित विज्ञप्तीअनुसार प्रधानमन्त्री ओलीले पठाएको सन्देशमा प्रधानमन्त्री छिरिङको सफल कार्यकालको कामना पनि गरेका छन् । प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ बढी मजबुत बनाउन निकटमा रहेर कार्य गर्ने तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मन्चहरुमा साझा सवाललाई अघि बढाउने चाहना पनि व्यक्त गरेका छन् ।

काठमाडौंका सडक २ वर्षमा कालोपत्रे, उकालोमा ढलान हुन्छः नेता नेपाल

भक्तपुर, कार्तिक २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘सुखी नेपाली र समृद्धि नेपाल’ को अभियान सफल हुने बताएका छन् ।   सूर्यविनायक नगरपालिका–५ स्थित सूर्यनगर टोल विकास समाजले आयोजना गरेको दीपावली, नेपाल संवत् ११३९ तथा छठको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै उनले नेपालको समृद्धिको शुरुवात भइसकेको बताएका हुन् ।   नेता नेपालले शङ्करापुर नगरपालिका, कोटेश्वर, कागेश्वरी मनोहरालगायत काठमाडौं उपत्यकाका सबै सडक आगामी दुई वर्षभित्रमा कालोपत्रे हुने र उकालोमा ढलान हुने बताए ।   विगतमा निर्माण व्यवसायीको ढिलाइले निर्माण कार्यले गति लिन नसके पनि अब त्यो ढिलाइ नदोहरिने नेता नेपालको भनाइ थियो । देशमा सबै जातजाति, भाषाभाषी, धर्म, सम्प्रदाय सबैलाई न्याय गर्दै सामाजिक न्यायसहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको बताउँदै उनले नेकपाको दुई तिहाइको सरकार निर्माण भएकाले देशको विकास र समृद्धि नरोकिने चर्चा गरे।   कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकासलाई रोक्न खोज्नेलाई परास्त गर्दै आगामी चार वर्षभित्र भक्तपुरको विकासले मुहार फेर्ने बताए ।  त्यस अवसरमा ३ नं प्रदेश सांसद शशीजङ्ग थापाले अब जनताले विकास नहोला कि भनेर चिन्ता गर्नुपर्ने बेलाको अन्त्य भएको बताए । -रासस