सरकारी वकिलको राष्ट्रिय सम्मेलन पुसमा

काठमाडौँ, कात्तिक २८ गते । सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन आगामी पुस ८ गतेबाट काठमाडौँमा आयोजना हुने भएको छ । गत भदौ १ गतेबाट लागू भएको संहिता कार्यान्वयनमा केन्द्रित रहेर दोस्रो सम्मेलन तय गरिएको हो ।

सम्मेलनले गत वर्ष सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनले पारित गरेको घोषणापत्र कार्यान्वयनको समीक्षा पनि गर्नेछ । पुस १० गतेसम्म सम्मलेन सञ्चालन हुनेछ ।
महान्यायाधिवक्ता कार्यालयले सम्मेलनको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । उपसमितिहरुले तयारीका काम धमाधम अघि बढाइरहेका छन् । एक साताभित्र प्रस्तुतिका विषय लगायतका सम्पूर्ण कार्यक्रम तय हुने प्रवक्ता सञ्जीवराज रेग्मीले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘यो पटक हामी पूर्ण रुपमा संहिता कार्यान्वयनमा केन्द्रित भएर राष्ट्रिय सम्मेलन गर्दैछौँ । नारा पनि संहिता कार्यान्वयनलाई केन्द्रित गरेर नै तय गरेका छौँ ।’
सम्मेलनको योपटकको नारा ‘वैज्ञानिक र वस्तुनिष्ठ अभियोजन, अपराध संहिताको प्रभावकारी कार्यान्वयन’ तय गरिएको छ । तीन दिनको सम्मेलनमा यसअघिको घोषणापत्रको समीक्षासँगै संहिता जारी भएपछि कार्यान्वयनका लागि सरकारी वकिलले निर्वाह गर्नुपर्ने भूमिकाका बारे छलफल हुनेछ ।

गत भदौ १ बाट नयाँ संहिता लागू भएपछि महान्यायाधिवक्ता कार्यालयले मुद्दाको अनुसन्धान र अभियोजनबारे चरणबद्ध रूपमा सरकारी वकिललाई प्रशिक्षण समेत दिँदै आएको छ । तीन दिने सम्मेलनका क्रममा पनि सम्पूर्ण विषयवस्तु संहिता केन्द्रित नै हुनेछ । छलफलका सत्रमा तयार पारिने कार्यपत्र पनि संहिता केन्द्रित नै हुने प्रवक्ता रेग्मीले बताउनुभयो ।

 

मुख्यमन्त्री शाही रेलको अध्ययन गर्न हुम्ला पुगे

हुम्ला, कार्तिक २७ । हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुगेका छन् । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म सडक र रेलको सम्भाव्यता अध्ययनका लागि आज एक विशेष टोली हुम्ला पुगेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका चिनियाँ प्रतिनिधिका प्राविधिक टोली मंगलबार बिहान काठमाडौं हुँदै सिमिकोट हिल्सा पुगेका छन् । नेपालकै उत्तरी नाका मध्य छोटो मार्ग भएकाले उत्तरदेखि दक्षिण दुई देशबीच जोड्ने मुख्य अन्तर्राष्ट्रिय राजमार्गका रुपमा लिएकाले चिनियाँ सरकारको प्रतिनिधि टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत अन्य मन्त्री हुम्ला पुगेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जानकारी दिएको छ । केही महीना अगाडि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चीन सरकारको निमन्त्रणामा मुख्य गरी सडक, विद्युत्लगायतका विषयलाई लिएर चीन सरकारसँग छलफल गर्नुभएको थियो । बहुचर्चित कर्णाली करिडोर खुलालु हुम्लाको हिल्सा सिमिकोट सडकखण्ड लम्बाइ २८१ किलोमिटर रहेको हिल्सा सिमिकोट सडकखण्ड कार्यालयका प्रमुख शशांक मिश्रले बताए । -रासस

कावासोतीमा राती २ बजे बस दुर्घटना, २५ जना घाइते

कावासोती, कात्तिक २६ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौँका लागि छुटेको ना६ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो । २५ घाइतेमध्ये तीनजनाको अवस्था चिन्ताजनक रहेको छ । दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय होमबहादुर पोखरेल, दाङ शान्तिनगर गाउँपालिका–१ बस्ने एक वर्षीय बालक यनुष विक र तुलसीपुर बस्ने २४ वर्षीया लक्ष्मी बस्नेतको अवस्था चिन्ताजनक रहेको उनले जानकारी दिए । घाइतेमध्ये १० जनाको अवस्था मध्यम र १२ को अवस्था सामान्य रहेको उनको भनाई थियोे । घाइते सबैको भरतपुरस्थित नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । (रासस)

अबदेखि मन्त्रिपरिषद्का निर्णय तत्काल सार्वजनिक नहुने

काठमाडौं, कार्तिक २५ । मन्त्रिपरिषद्का निर्णयहरु सरकारले तत्काल जानकारी नगराउने भएको छ । आज (आइतबार) साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद्को निर्णय तत्काल जानकारी नगराउने निर्णय गरेको हो । अब देखि मन्त्रिपरिषद्को निर्णयहरु समय क्रमसँगै थाहा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । यसअघि विशेष अवस्थामा बाहेक महत्वपूर्ण निर्णयहरु मन्त्रिपरिषद् बैठक लगत्तै प्रवक्ताबाट जानकारी गराइन्थ्यो ।

उड्ने बाइक बन्यो, अग्रिम बुकिङ खुला !

काठमाडौं, कार्तिक २५ । अब बाइकमा चढेर उडने दिन पनि आइसकेको छ। रसियन टेक कम्पनी ‘होभरसर्फ’ चढेर उड्ने बाइकको व्यावसायिक उत्पादन र अग्रिम बुकिङ थालेको छ। कम्पनीले उत्पादन गरेको ‘होबरबाइक एसथ्री २०१९’ को प्रिअर्डर सुरु गरेको हो । यो बाइकको अधिकतम् गति ९६ किलोमिटर प्रति घन्टा रहेको छ। जमिनको सतहबाट ५ मिटर उचाईसम्म यसले उडान भर्न सक्छ । दुबई प्रहरी बलले यो क्राप्टको प्रयोग गर्ने योजना बनाई सकेको छ । उसले यसका लागि प्रशिक्षण पनि सुरु गरिसकेको छ । कम्पनीका अनुसार यो उड्ने मोटरसाइकलको मूल्य डेढ लाख अमेरिकी डलर तय गरिएको छ । आधा घन्टा भन्दा कम समय मात्र यसको उडने क्षमता छ । थोरै समयका लागि उडान भर्ने क्षमता रहेको यो बाइक मानिसका लागि ‘खतरनाक’ भएको विज्ञहरुले बताइरहेका छन् । ‘स्कर्पियन होभरबाइक’ नामले समेत परिचित यो बाइक दुबई प्रहरी बलले खरिद गरी परीक्षण समेत गरिसकेको छ । उसले परिक्षण उडानका क्रममा देखिएको कमजोरीहरु हटाउन सुझाव पनि कम्पनीलाई दिइसकेको छ। खासगरी ब्याट्री प्रणाली र कार्बन फाइबर फ्रेमका लागि सुझाव दिएको थियो । यो सुझाव अनुरुप होभरबाइकमा एउटा ‘हाइब्रिड लिथियम–म्याग्निज–निकेल’ ब्याट्री जडान गरिएको छ । यो ब्याट्री प्रयोग गरिएको होभरबाइकको उडान क्षमता मौसम र चालकको तौल अनुसार १० देखि २५ मिनेटसम्म रहेको जनाएको छ । रिमोट–कन्ट्रोल ड्रोन मोडमा यो बाइकको उडान समय ४० मिनेटसम्म बढाउन सकिने कम्पनीका इन्जिनियरहरुले जनाएका छन् । सामान्य पार्किङ स्थलहरुमा समेत उडान भर्ने र अवतरण गर्न सक्ने क्षमता यसको रहेको छ । ट्राफिक जाम हुने सहरहरुमा ट्राफिक प्रहरीले सजिलै प्रयोग गर्न सक्छन् । यसले यातायात सेवालाई सडकमा सुचारु गराउनमा पनि ट्राफिक प्रहरीलाई सहयोग गर्नेछ । कम्पनीका अनुसार क्रेताले एउटा होभरबाइक एसथ्री २०१९ का लागि प्रि–अर्डर स्वरुप तत्काल १० हजार अमेरिकी डलर जम्मा गर्नुपर्ने हुन्छ । एक लाख ५० हजार अमेरिकी डरल मूल्य राखिएको यो होभरबाइकको बुकिङ गरेको दुई देखि ६ महिनाभित्र डेलिभरी गरिने कम्पनीले जनाएको छ । अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रनले हालै एउटा कानुनी अल्ट्रालाईट भेहिकलको रुपमा वर्गीकरण गर्दै यसलाई मान्यता प्रदान गरेको छ । उसले यो बाइक चलाउनेलाई पाइलटको लाइसेन्स नचाहिने पनि भनेको छ । यसको उडान बेग ९६ किमीप्रति घन्टा भन्दा बढी गराउन नपाउने नियम छ । यो हरेक मुलुकका लागि उडानको कानुनी रुपमा वेग सीमा हो । यसमा चार वटा क्वाडकोपर ब्लेड जडान गरिएको छ । कान्तिपुर दैनिकबाट

सबै हल्ला हुन्, नेकपामा नयाँ धार छैनः नेता खनाल

बनियानी, कार्तिक २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो दलमा नयाँ धारको कुरा निराधार भएको बताएका छन् । झापाको बिर्तामोडमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता खनालले तल्लो र वर्गीय सङ्गठन भङ्ग भएकाले पार्टीभित्र केही असन्तुष्टि रहेको उल्लेख गरे । ‘नेकपा ठूलो पार्टी हो, लाखौं सदस्य र लाखौँ समर्थक छन्’ उनले भने, ‘उहाँहरु सबै अहिले असङ्गठित हुनुहुन्छ, यस्तो बेलामा केही असन्तुष्टि आउनु स्वाभाविक हो ।’ नेता खनालले स्थायी कमिटीको बैठकपछि एकता प्रक्रिया अघि बढ्ने बताउनुभयो । तीनै तहको सरकार मुलुक विकासको मार्गमा अघि बढिरहेको बताउँदै नेता खनालले भने, ‘जनतालाई सन्तुष्टि दिने गरी सरकार तीव्र गतिमा अघि बढ्न आवश्यक छ ।’ -रासस

तुलाधरको योगदान नेपालीले स्मरण गरिरहने छन्ः राष्ट्रपति

काठमाडौं, कार्तिक २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता एवं मानवाधिकारकर्मी पद्ममरत्न तुलाधरको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले स्व. तुलाधरकी धर्मपत्नी नीलशोभालाई आइतबार समवेदना सन्देश पठाउँदै देश, जनता र लोकतन्त्रप्रति समर्पित साहसी तथा अथक योद्धा एवं पूर्वमन्त्री तुलाधरको असामयिक निधनले आफूलाई अत्यन्त दुखित तुल्याएको बताएकी छन् । समवेदना सन्देशमा राष्ट्रपतिले भनेकी छन्, ‘सदैव नागरिक स्वतन्त्रता, शान्ति, राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय र समानताको पक्षमा आवाज बुलन्द गर्ने उहाँ एक निर्भीक, लोकप्रिय र जनपक्षीय नेता हुनुहुन्थ्यो ।’ भाषा र संस्कृतिको उत्थान, संरक्षण एवं सम्वद्र्घनमा उनको अगुवार्इ र सक्रियता उल्लेखनीय रहेकाले तुलाधरको योगदान नेपाल र नेपालीले सदा स्मरण गरिरहने राष्ट्रपति भण्डारीले सन्देशमा विश्वास व्यक्त गरेकी छन् । ‘मुलुकलाई अपूरणीय क्षति पुगेको यस दुःखद क्षणमा स्वर्गीय तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु’ समवेदना सन्देशमा भनिएको छ । -रासस

सम्बन्धन खारेज गरेका निजी क्याम्पसको भर्ना खुला

चितवन, कार्तिक २५ । मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका कृषि र वनका आठ निजी क्याम्पसले विद्यार्थी पढाउने भएका छन् । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आङ्गिकसहित सम्बन्धन दिएका आठ निजी क्याम्पसमा समेत भर्ना लिने गरी कृषि र वन स्नातक तहको भर्ना खुला गरेको हो । विश्वद्यिालयले आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेका थिए । त्यही दबाबमा मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गर्ने निर्णय गरेकाले सम्बन्धन पाएका निजी क्याम्पस सर्वोच्च अदालत पुगेका थिए । उक्त अदालतले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नु÷नगराउनु भन्ने अन्तरिम आदेश जारी गरेसँगै विश्वविद्यालयलाई भर्ना खुला गर्ने बाटो फुकुवा भएको विश्वविद्यालयका कानूनी सल्लाहकार टङ्कप्रसाद दुलालले बताए । विद्यार्थीले सम्बन्धन दिने निर्णय विरुद्ध रिट निवेदन दायर गरे पनि अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश दिएको थियो । विश्वविद्यालयको कृषि संकाय अन्तर्गतको डिनको कार्यालयले आजदेखि मङ्सिर १७ गतेसम्म अनलाइनमार्फत् भर्ना फाराम खोलेको छ । वनको मङ्सिर २२ गते र कृषिको मङ्सिर २९ गते प्रवेश परीक्षा लिने तयारी गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले अदालतको आदेश पालना गर्दै भर्ना खोलिएको बताए । उनका अनुसार यसवर्ष कृषिमा ७६५ र वनमा १८० जनाले अध्ययन गर्न पाउनेछन् । विश्वविद्यालयको रामपुरमा १६५ जना भर्ना हुनेछन् । सोही प्रवेशपरीक्षाबाट उत्तीर्ण भएकामध्ये आङ्गिक सम्बन्धन पाएका कास्कीको पुरनचौर, धनकुटाको पाख्रिवास, सिन्धुलीको कपिलाकोट, कैलालीको टीकापुर र महोत्तरीको बर्दिबासमा ५०÷५० जना भर्ना हुन पाउनेछन् । यस्तै निजी सम्बन्धन पाएका पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछायाँ कलेज गैँडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज भूमही नवलपरासी, गोर्खा युनाइटेड पब्लिक स्कूल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेतले ५०÷५० जना विद्यार्थी भर्ना गर्न पाउनेछन् । वनतर्फ विश्वविद्यालयको हेटौँडा क्याम्पसमा ८०, आङ्गिक क्याम्पसमध्ये कटारीमा ५० र निजी सिद्धान्त क्याम्पस गैँडाकोटमा ५० विद्यार्थी भर्ना हुन पाउनेछन् । गतवर्ष विश्वविद्यालय अन्तर्गत कृषि विषय पढ्नका लागि चार हजार दुई सयले आवेदन दिएकामा ३६५ जनाले पढ्न पाएका थिए । वनतर्फ गतवर्षमा ८० जनाले मात्रै पढ्न पाएका थिए । यता विश्वविद्यालयले निजी क्याम्पसलाई सम्बन्धन दिन नहुने भन्दै विद्यार्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिनको कार्यालय लगायतमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले अनावश्यक ढङ्गबाट विश्वविद्यालयमा अवरोध खडा गर्नु जायज नभएको बताए । -रासस

तेश्रो विश्वयुद्धको सन्त्रासमा पहिलो विश्वयुद्धको सम्झना

सय वर्ष अघि, संसार नै दुई ध्रुबमा बाँडिएको समय । विश्व शक्ति केन्द्र भत्किएर नयाँ ध्रुवको निर्माणको समय । यस्तो समयावधि जसमा युद्धरत रसियन साम्राज्यमा अक्टोबर क्रान्ति सम्पन्न भयो र सुरु भयो रुसमा समाजवादी सत्ताको अभ्यास । साथै जर्मन, अटोमन, रसियाली र अस्ट्रिया-हंगेरीको साम्राज्य ढलेसँगै युरोपेली साम्राज्यवादको पतनको सुरुवात । र विश्वको इतिहास, राजनैतिक नक्शा र स्वरूप नै परिवर्तन भएको कालखण्ड । यो कालखण्ड थियो प्रथम विश्वयुद्धको । मानव इतिहासकै त्यो वीभत्स अनुभव जो विश्वले आजभन्दा ठीक एक सय वर्ष पहिले अनुभव गरेको थियो र ठीक सय वर्षअघि आजकै दिन चार वर्ष लामो त्यस भीषण युद्धको अन्त्य भएको थियो । यस समय संसारभरिका नेताहरु फ्रान्समा भेला भएका छन् । सन् १९१४ देखि १९१८सम्म चलेको विश्वयुद्धमा मृतकहरुपति सम्मान दिन उनीहरु भेला भएका हुन । अमेरिकादेखि बेलायत र स्पेनदेखि जर्मनीसम्म । सबै त्यो दिन सम्झिरहेका छन् । आज हुने समारोहको नेतृत्व फान्सका राष्ट्रपति इम्यानुअल मार्कोनले गर्नेछन् । समारोहमा आठ जना छात्रले युद्ध लडेका सिपाहीहरुको आत्मकथा वाचन गर्ने छन् । त्यहाँ शास्त्रीय संगीत बज्ने कार्यक्रम छ । र नेताहरुले भाषण गर्ने छन् । आज पश्चिमी किल्लामा ८० देशका सैनिकहरुले आफ्ना हतियार विसाउने छन् । अमेरिकी राष्ट्रपति ट्रम्प पनि यो समारोहमा उपस्थिति हुने छन् । पहिलो विश्वयुद्धमा अमेरिकाका मात्रै एक लाख सत्र हजार सैनिक मारिएका थिए । बेलायतकी महारानीले पनि लण्डनमा नै युद्धमा मारिएका सिपाहीहरुको चिहान पुगेर यो दिवसको सम्झना गर्ने बताइएको छ । पहिलो विश्वयुद्धमा डेढ देखि दुई करोड सैनिक र सर्वसाधारणको मृत्यु भएको थियो । यो युद्धमा मारिनेमा सबैभन्दा बढी करिब ३३ लाख व्यक्ति रुसी नागरिक थिए । एकातिर उनीहरुले औपचारिकतावश विश्वयुद्धको सम्झनामा कार्यक्रम गरिरहेका छन अर्कोतर्फ भने उनीहरुका गतिविधिले तेश्रो विश्वयुद्धको झझल्को दिइरहेको छ । अमेरिकी विदेश नीति जसरी आक्रामक हुँदैछ, जसरी फेरी कट्टरपन्थीहरु सत्तामा पुगिरहेका छन्  र व्यापार जसरी लडाईको केन्द्रमा पुगेको छ, फेरी नयाँ ढंगले विश्वयुद्ध नहोला भन्न सकिन्न । विश्वयुद्ध वर्चश्वको युद्ध थियो ।  साम्राज्यको वर्चश्व, अर्थतन्त्रको वर्चश्व । र, अहिले यो व्यापारमाथिको वर्चश्वमा रुपान्तरण भएको छ । यो वर्चश्वको लडाईंले विश्वका कतिपय शक्तिहरु विभाजित भएका छन र ससाना शक्तिहरु विश्वभरी उदयमान भएका छन् । तेश्रो विश्वयुद्ध भई नै हाल्यो भने के होला त्यसको कल्पनासम्म गर्न सकिन्न । एउटा भयानक त्रासदी । मानव सभ्यता नष्ट हुने परिघटना । के त्यसो होला ? सोझै ठोकुवा गर्न नसकिएपनि अहिले विश्वका शक्ति राष्ट्रहरुको व्यवहार हेर्दा त्यहाँ नपुगिएला भन्न सकिन्न । जुन समय पहिलो विश्युद्धको पृष्ठभूमि तयार हुँदै थियो विशेष गरी युरोपमा उग्र राष्ट्रवाद चरममा थियो र शक्तिशाली देशहरू आफूलाई झनै शक्तिशाली बनाउने होडमा थिए । अटो भान बिस्मार्कले एकीकरण गरेपछि निरन्तर शक्तिशाली हुँदै गएको जर्मनीले युरोपमा फ्रान्सलाई एक्ल्याउने कुटनैतिक कोसिस त गर्दै थियो नै यसका साथै उसले आफूलाई युरोपको सबैभन्दा ठुलो सैन्य शक्ति बनाउने कोशिस पनि गर्दै थियो । उता जर्मनीको शक्ति संचय्ले ब्रिटेन, फ्रान्स, रसिया र अस्ट्रिया सशंकित थिए । बढ्दो आपसी कटुता र अविश्वासको पृष्ठभूमीमा अस्ट्रियाली राजगद्दीका उत्तराधिकारी आरक ड्युक फ्रान्सिस फर्डिनांडको हत्याले अआगोमा घ्यूको काम गऱ्यो । फर्डिनांडको हत्या बोस्नियाको राजधानीमा भएको थियो । अस्ट्रियाले यसमा सर्बियालाई दोष लगाउँदै उससमक्ष दस सूत्रीय माग राख्दै ४८ घण्टे अल्टिमेटम दियो र सर्बियाले यो अस्वीकार गरेपछि २८ जुलाई १९१४ मा सर्बियामाथि आक्रमण गऱ्यो । अस्ट्रियाको पक्ष जर्मनीले लियो र सर्बियाको पक्षमा ३१ जुलाई १९१४ मा रुस र फ्रान्स उत्रिए । ब्रिटेन पनि ५ अगस्त १९१४ मा यो युद्धमा होमिएपछि यो युद्ध विश्वभरि फैलियो । यसो हेर्दा उक्त समय युद्धको प्रमुख कारण साम्राज्यवादी दम्भ, असीमित शक्ति संचय र पारस्परिक अविश्वास थियो र यदि तुलना गरेर हेर्ने हो भने अहिले विश्व कुनै न कुनै अवस्थामा त्यही विन्दुमा पुगेको जसो लाग्दैछ । तर आज शक्ति युरोपमा सिमित छैन यो समग्र युरेसिया र अफ्रिका लगायत अमेरिकी र महासागरीय क्षेत्रहरूमा फैलिएको छ । यस्तो अवस्थामा यदि तेस्रो विश्वयुद्ध हुने हो भने यो संसारभरि फैलिने छ र वर्तमान समयमा उपलब्ध हतियार र प्रविधिको आकलन गर्ने हो भने यो पहिले भन्दा कयौं गुणा बढी विध्वंशक हुनेछ ।  

ल्हाक्पा गेलु नै बने ‘स्पिड आरोही’

सोलुखुम्बु, कार्तिक २५ । सर्वोच्च अदालतको आदेशपछि सोलुखुम्बु दुभिङका आरोही ल्हाक्पा गेलु शेर्पा सबैभन्दा छोटो समयमा आरोहण गर्ने ‘स्पिड आरोही’ बन्न सफल भएकाछन् । उनी स्न २००३ मे २५ का दिन १० घण्टा ५६ मिनेट ४६ सेकेण्डमा सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान राख्न सफल भएका थिए । ल्हाक्पापछि सन् २००४ मे २१ मा दोलखाका पेम्बा दोर्जी शेर्पाले आठ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेको र आफू ‘स्पिड आरोही’ भएको जिकिर गरेकाले विभागले उनलाई ‘स्पिडआरोही’को प्रमाणपत्र प्रदान गरेको थियो । प्रमाणपत्र पाएपछि पेम्बाले गिनिजबुक अफ वल्र्ड रेकर्डमा नाम समेत दर्ता गराएका थिए । पेम्बाले झुटो प्रमाणपात्र पेश गरी विश्वकीर्तिमानी कायम गरेको आरोप लगाउँदै लाक्पासहितको आरोही समूहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । विभागका कर्मचारीसमेतलाई विपक्षी बनार्इ दायर उक्त रिट उपर सुनुवाई गर्दै सर्वोच्च अदालतले २०७४ मंसिर १२ गते पेम्बाको प्रमाणपत्र खारेज गर्न आदेश दिएको थियो । आरोहण पश्चात पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को नियम ३० सँग सम्बन्धित अनुसूची–११ बमोजिम सम्पर्क अधिकृतले पेश गर्ने प्रतिवेदनमा सोही अनुसूचीको खण्ड २३ अनुसार पर्वतारोहीले यात्रा गरेको महत्वपूर्ण ठाँउको फोटो, पर्वतारोही दलका सदस्यसमेत उपस्थित भएको सगरामाथा आधार शिविरको फोटोसहितको प्रतिवेदन बुझाउनुपर्छ । पेम्बाको आरोहणमा पर्वतारोहण सम्बन्धी नियमावलीसँग मेल नखाएको भन्दै कीर्तिमानी झुटो ठहर गरी सर्वोच्चले उहाँको कीर्तिमानी खारेज गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले ६ महीनाअघि पेम्बाको आरोहणको कुनै आधार नभएको भन्दै उक्त कीर्तिमानी खारेज भएको आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशपछि पर्यटन विभागले १४ वर्षअघि बिनाआधार पेम्बालाई सगरमाथाको ‘स्पिड आरोही’ भएको भनी थमाएको प्रमाणपत्र गलत भएको स्वीकार गर्दै गत असोज १७ गते प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको थियो । बिनाआधार दिइएको प्रमाणपत्र विभागले रद्द गर्दै ‘स्पिड आरोही’ ल्हाक्पागेलु नै भएको पुनः प्रमाणित गरेको छ । विभागको चलानी १९३९ को मिति २०७५÷७÷१५ को पत्रमार्पmत ल्हाक्पा नै पुनः ‘स्पिङ आरोही’ भएको भनी जानकारीसहितको पत्र पठाएको छ । संस्कृति तथा नागरिक उड्यान मन्त्रालयको मिति २०७५÷६÷१७ को निर्णयले पेम्बाको विश्वकीर्तिमानी खारेज गर्देै लाक्पागेलुकै कीर्तिमानीलाई सदर गरेको जानकारी पत्र भने करीब एक महीना ढिला गरी चलानी गरिएको थियो । विभागका निर्देशक मिरा आचार्यले सर्वोच्च अदालतले आरोही ल्हाक्पाको पक्षमा पूर्ववत निर्णय कार्यान्वयन गराउनु भन्ने आदेश बमोजिम सचिवस्तरीय निर्णय भई आएकाले सोही आधारमा जानकारी गराएको बताए। छिटो आरोहण गरेको जिकिर गरेका पेम्बाका सम्बन्धमा सर्वोच्चको आदेशबारे थप अध्ययन गरी विभागको धारणा सार्वजनिक हुने उनले जानकारी दिए। झुटो विवरण पेश गरी विश्वकीर्तिमानी कायम गर्नेआरोही अत्याधिक रहेको आरोही दलको जिकिर छ । सगरमाथा आरोही कितब सिं तामाङले छु्टो विवरण पेश गर्ने आरोही धेरै भए पनि नियमनकारी निकायको दरिलो उपस्थिति नहुँदा समस्या समाधान हुन नसकेको बताए । यसअघि सन् २०१६ मे २३ मा भारतीय प्रहरी सेवामा कार्यरत दिनेश राठोर र उहाँकी श्रीमती तारकेश्वरीले नक्कली तस्बिर देखाएर सगरमाथा आरोहण गरेको जिकिर गर्दै पर्यटन विभागबाट प्रमाणपत्र लिएका थिए । -रासस

सहुलियतपूर्ण ऋण दिन राष्ट्र बैंकको आग्रह, कसले कति ऋण पाउँदै ? [रकमसहित]

काठमाडौं, कार्तिक २५ । नेपाल राष्ट्र बैंकले ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार सहुलियतपूर्ण ऋण उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । बैंकले आइतबार सूचनामार्फत बैंक तथा वित्तीय संस्थालाई कार्यविधि बमोजिम योग्य र इच्छुक नागरिकले आफ्नो अनुकूल शीर्षकमा कर्जा दिन तथा व्यवसाय सञ्चालनका लागि सहजीकरण गर्न आग्रह गरेको छ । बैंकले सहुलियतपूर्ण कर्जा लिई व्यवसाय तथा उद्यम सञ्चालन गर्नसमेत आम नागरिकलाई आग्रह गरेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा विभिन्न सात शीर्षकमा सहुलियत पूर्ण ऋण दिने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार सरकारले आवश्यक कार्यविधि समेत कार्यान्वयनमा ल्याएको छ । अर्थ मन्त्रालयले असोज ११ गते नै उक्त कार्यविधि स्वीकृत गरी कार्यान्यनमा ल्याउन केन्द्रीय बैंकलाई आग्रह गरेको थियो । व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा रु पाँच करोडसम्म दिने व्यवस्था कार्यविधिले गरेको छ । यस्तै शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रुपैयाँसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा रु दश लाखसम्म, महिला उद्यमशील कर्जा रु १५ लाख, दलित समुदाय व्यवसाय विकास कर्जा रु दश लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा रु पाँच लाख र भूकम्प पीडितको निजी आवास निर्माण कर्जा रु तीन लाखसम्म दिने व्यवस्था गरिएको छ । कर्जाका प्रकार, सीमा, भुक्तानी, अवधि र व्याजदर तथा शर्त समेत कार्यान्वयनमा ल्याइएको छ । कार्यविधिअनुसार व्याज अनुदान दिइने कर्जाको भुक्तानी अवधि बढीमा पाँच वर्षको हुनेछ । कर्जाको अवधि व्यवसायको प्रकृतिअनुसार सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोक्ने व्यवस्था गरिएको छ । सरकारले तोकेको व्याज अनुदान उपलब्ध गराउने कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा दुई प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी व्याजदर कायम गर्नुपर्ने छ । कर्जाको व्याजभन्दा बाहेक अन्य कुनै पनि प्रकारको थप सेवा शुल्क लिन नपाइने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले सरकारले तोकेको सात शीर्षकअनुसार अनुकूल हुनेगरी कर्जा दिने व्यवस्था गर्न र पायक पर्ने शाखामार्फत सेवा प्रदान गर्न बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन गरेको छ । कार्यविधिअनुसार बैङ्क तथा वित्तीय संस्थाले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा प्रवाह गर्दा रु दश लाखसम्म सामूहिक जमानीका आधारमा र त्यस भन्दाबढी व्यावसायिक परियोजनामा ऋण दिन सक्नेछन् । त्यस्तो ऋण दिँदा परियोजनाको सम्भाव्यतालाई मुख्य आधारको रुपमा लिनुपर्नेछ । उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाको लागि सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाले कर्जाको लागि बैङ्क तथा वित्तीय संस्थाले निवेदकको सक्कल शैक्षिक प्रमाणपत्र धितो स्वरुप राख्नुपर्ने, विदेशबाट फर्केका युवाले सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजना नै धितोमा लिई ऋण दिनुपर्नेछ । दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण एवं प्रवद्र्धन गर्न प्रदान गरिने दलित समुदाय व्यवसाय विकास कर्जा एकल वा सामूहिक जमानीमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ । महिला उद्यमीले सञ्चालन गर्ने उद्यम, ऋणीको कर्जा सम्बन्धी कागजात, सामूहिक जमानीको हकमा सोही सम्बन्धी कागजात, भूकम्प पीडितले प्राप्त गर्नुपर्ने निजी आवास निर्माण कर्जा सामूहिक वा धितो जमानीमा प्रवाह गर्ने व्यवस्था छ । उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा लिन चाहनेले सरकारले तोकेको विषयको उच्च शिक्षा, एमबिबिएस, आयुर्वेद चिकित्सा, फार्मेसी, नर्सिङ, कम्प्युटर शिक्षा, पशु विज्ञानसँग सम्बन्धित स्नातक वा सोभन्दा माथिल्लो तहका विषय, कृषि विज्ञान तथा अन्य प्राविधिक विषय रहेका छन् । -रासस

राष्ट्र बैंकले भन्यो, ‘शैक्षिक प्रमाणपत्र ल्याउनुहोस्, ऋण लैजानुस्’

काठमाडौं, कार्तिक २५ । व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दैं शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको हो । आव २०७५÷७६ को बजेटमै ‘शैक्षिक युवा स्वरोजगार’, ‘विदेशबाट फर्केका युवा परियोजना’, ‘महिला उद्यमशीलता’, ‘कृषि तथा पशुपक्षीपालन’ जस्ता व्यवसाय गर्नका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंकले गत असोज ११ गते नै सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको थियो । सहुलियतापूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ कार्यान्वयनमा आएसँगै शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिन पाइने भएको हो । कसरी लिने कर्जा अर्थ मन्त्रालयले उक्त कार्यविधि ल्याएकाले शैक्षिक कर्जा वाणिज्य बैंक, विकास बैंक र अन्य वित्तीय संस्थाबाट पाइने भएको छ तर लघुवित्त संस्थाले भने त्यस्तो ऋण दिन पाउने छैनन् । स्नातक तह उत्तीर्ण विद्यार्थीले गत शुक्रबारदेखि नै शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । सरकारको योजनानुसार माध्यमिक वा सो सरह उत्र्तीण गरी २५ वर्ष ननाघेका नेपाली युवाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा लिन पाउने छन् । कार्यविधिअनुसार उच्च शिक्षा हासिल गर्न सहुलियत बैंकको आधार दरको दुई प्रतिशत नबढ्ने गरी ब्याजदरमा रु पाँच लाखसम्म ऋण पाउनसक्ने व्यवस्था छ । उच्च शिक्षाका लागि विदेश पढ्न जाने युवाले यो कर्जा प्राप्त गर्न आर्थिक रुपमा विपन्न सिमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी भएको सिफारिस अध्ययन गर्ने शैक्षिक संस्था प्रतिष्ठानमा भर्ना भएको वा हुन योग्य रहेको खुल्ने कागजातको प्रतिलिपि समावेश गनुपर्ने छ । उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाका लागि बैंक तथा वित्तीय संस्थामा ऋणीले सक्कल शैक्षिक प्रमाणपत्र धितोस्वरुप राखुपर्छ । यसका लागि आफूले गर्ने कामको विवरणसहित राष्ट्र बैंकका मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थासहित राष्ट्र बैंकको मान्यताप्राप्त बैंक तथा वित्तीय संस्थामा आवेदन दिनुपर्ने, प्यान नम्बर लिनुपर्ने र कालो सूचीमा नपरेको हुनुपर्नेछ । यो कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि उच्च शिक्षा अध्ययन गर्न चाहनेसँगै व्यवसाय गर्न चाहने युवा, महिला तथा दलित समुदायले सरकारबाट सहलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने तथा सीप प्रमाणीकरण गरी बिनाधितो ऋण पाउने भएका छन् । -रासस

सुदूरपश्चिममा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प

दार्चुला, कार्तिक २५ । सुदूरपश्चिमका पहाडी जिल्लामा आज दिउँसो भूकम्प गएको छ । १२ बजे ५२ मिनेटमा ५ दशमलव १ रेक्टर स्केलकोत्यसको ७ मिनेटपछि भूकम्प गएको छ । भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार दार्चुला सदरमुकाम खलंगाबाट १६ किलोमिटर टाढा भारतको खेला केन्द्र बिन्दु बनाएर भूकम्प गएको जनाएको छ। पराकम्पनको केन्द्रबिन्दु मापन गरिरहेको मापन केन्द्रले जनाए। भूकम्पको धक्कासँगै घरभित्र रहेकाहरु हतार–हतारमा बाहिर निस्किरहेका थिए। भूकम्पबाट क्षति भएकोबारे अहिलेसम्म कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

गुनासो गर्नु नपर्ने गरी अब सरकारले काम थाल्छः उपप्रधानमन्त्री

ताप्लेजुङ, कार्तिक २५ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अब जनताले गुनासो गर्नु नपर्ने गरी सरकारले काम अगाडि बढाएको बताएका छन् । ताप्लेजुङमा रहेको पाथिभरा मन्दिरको दर्शनपछि फर्कने क्रममा फुङ्लिङमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री पोखरेलले भने, ‘जनताका आवश्यकता निवारण गर्दै लैजाने कुरामा ढुक्क रहननुहोस् अब सरकारले काम थालि सकेको छ ।’ साथै, उनले नयाँ संविधान निर्माणको तीन वर्ष भित्रमा राज्य सञ्चालनमा चाहिने कनुन निर्माण गर्न सरकार लागि परेकोले सरकारलाई काम गर्न कठिन परेको बताए । कानुन नभए राज्य सञ्चालन पद्धती मै समस्या आउने भएकाले विकास निर्माण भन्दा पहिलो प्राथमिकता कानुन निर्माण भएकोले जनताले आशा गरे अनुसार विकासको गति अघि बढ्न नसकेको स्वीकार्दै अबका दिनमा विकासले गति लिने उपप्रधानमन्त्री पोखरेलले बताए । नयाँ संविधान अनुसार संघीयताको कार्यान्वयन गर्न तल्लीन रहेको सरकारका अघि थुपै्र चुनौती र समस्याको चाङ रहेको बताउँदै मन्त्री पोखरेलले यी सबै विषयको सम्बोधनमा सरकारको ध्यान जाने बताए । नेकपाका नेतासमेत रहेका पोखरेलले दुई पार्टीको एकीकरण प्रकृयाले मंसिर पहिलो साताबाट तीव्रता पाउने बताए । उनले मंसिर दोस्रो साता भित्रमा प्रदेश स्तरका र मंसिर भित्रमा जिल्ला तथा जनवर्गीय संगठनको एकता टुग्याउने दावी गरे ।

माइतीघर र चावहिलमा स्थानान्तरण गर्न सकिने पुल

काठमाडौँ, कात्तिक २५ । काठमाडौँ महानगरपालिकाले पैदलयात्रुको चाप बढी भएको स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ । कामपाले यस वर्षको बजेटमा रु १२ करोड नयाँ आकाशे पुल निर्माण गर्न छुट्याइएको छ । यही बजेटबाट अत्यावश्यक ठाउँमा पुल बनाउन लागिएको कामपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनीयर रामबहादुर थापाले बताए । यी दुई बाहेक अरु कुन स्थानमा आकाशे पुलको खाँचो छ भन्ने अध्ययन भइरहेको छ । उनले भने, “माइतीघर र चाबहिलपछि अरु स्थानमा पनि त्यस्तो पुल निर्माण गरिने छ ।” पहिलो चरणमा यी दुई स्थानमा आकाशे पुल निर्माण गरिने छ । अन्य स्थानमा आवश्यकता हेरी निर्णयको तयारी भइरहेको छ । दुबै स्थानमा निर्माण गर्न लागिएको पुलको लागि नमूना तयार भइसकेको छ । छठ लगत्तै निर्माणको लागि बोलपत्र आह्वान गरिने इञ्जिनियर थापाले बताए । चालु आवमा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने कामपाले योजना बनाएको थियो । उपत्यकाकै सबैभन्दा बढी यात्रुले बाटो काट्ने सडकका रुपमा रहेको नयाँ बानेश्वर चोकमा भने तत्काल आकाशे पुल बनाउने योजना महानगरको छैन । प्रतिनिधिसभा भवन चोकमा नै भएकाले सुरक्षा खतरा हुनसक्ने भन्दै यस स्थानमा विकल्पको खोजी भइरहेको इञ्जिनीयर थापाले बताए । उनले भने, “सव–वे निर्माण गर्न सकिन्छ कि भन्ने हामीले छलफल गरिरहेका छौं ।” दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि कामपाले एक ठाउँबाट अर्काे ठाउँमा सार्न सकिने पुल निर्माण गर्न लागेको हो । ट्राफिक प्रहरी र सडक विभागसँग समेत सहकार्य गरी पुल निर्माणको काम अघि बढ्ने कामपाले जनाएको छ । आकाशे पुल बनाउने अन्य सम्भावित स्थानका रुपमा टेकु भन्सार, त्रिपुरेश्वर, माइतीघर, बबरमहल (काठमाडौँ जिल्ला अदालत), पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोक रहेको छ । सवारीसाधनको अत्यधिक चाप हुने सो क्षेत्रमा त्यस्तो पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या पर्र्दै आएको छ । पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी चापको अवस्था देखिँदै आएको छ । इञ्जिनियर थापाले भने, “एकातिर पैदलयात्रुलाई बाटो काट्न सजिलो हुन्छ, भने अर्काेतिर ट्राफिक व्यवस्थापन सहज हुनेमा शंका छैन ।” अब बन्ने सबै पुलमा विज्ञापन राख्न पाइने छैन । विज्ञापन राख्न नमिल्ने गरी नै आकाशे पुलको ढाँचा तयार भएको र अन्यको तयारी चरणमा छ । महानगरले यसअघि निर्माण गरेको आकाशे पुलमा विज्ञापन राखेर आम्दानी गर्दै आएको थियो । सहरको सुन्दरतालाई ध्यान दिँदै कामपाले केही समयदेखि जथाभावी विज्ञापन, पर्चा पम्पलेट, पोस्टर टाँस्न रोक लगाएको छ । यसअघि स्थानान्तरण गर्न सकिने पुल पहिलो पटक परीक्षणका रुपमा पुरानो बसपार्क अगाडि बनेको थियो । अहिले कामपाभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल सञ्चालनमा छन् । रत्नपार्कमा एउटा सव–वे छ । भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छ । अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताइएको छ । वीरअस्पताल अगाडिको पुल अत्यन्त जीर्ण छ । कामपाभित्रका यसअघिका पुल निजी क्षेत्रले बनाएकोले मर्मत पनि निजी क्षेत्रले नै गर्नुपर्ने उनले बताए । सबै पुराना पुल मर्मतको लागि पनि महानगरले समन्वय गरिरहेको छ ।कामपाले चालु आव २०७५-७६ को लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो। जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालु आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ । रासस

तिहार सकिए लगत्तै राजधानीमा छठको रौनक

काठमाडौँ, २५ कात्तिक । उपत्यकाका विभिन्न स्थानमा छठ मनाउन सरसफाइ एवं सजावट सहित तयारीका काम शुरु भएको छ। वाग्मती नदी किनारका विभिन्न स्थान र कमलपोखरीमा छठ मनाउने तयारी भएको हो । गुह्येश्वरी मन्दिर अघिको नदी किनारमा छठको विशेष सफाइका लागि वाग्मती सफाइ महाअभियानको २८७ औँ हप्ताको सफाइ गरिएको थियो । नदी किनारको थापाथली, नारायणटार र गोकर्ण क्षेत्रमा तयारी भइरहेको छ । यसैगरी कमलपोखरीमा पनि छठको तयारी शुरु भएको छ । दुई दशक अघिदेखि राजधानीमा छठको रौनक बढ्न थालेको छ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा उपासना गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आइतबार स्नान गरी चोखो खाएर बसिन्छ । यसदिनबाट छठ पर्व नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ उपत्यका लगायत पहाडमा मनाउन थालिएको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा विशेष महत्वसाथ यो पर्व मनाउन थालियो । यसअघिदेखि नै वाग्मती र विष्णुमती नदी किनारमा छठ मनाउने संस्कृति शुरु भएको थियो । कार्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ । यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका श्याम शर्माले बताए । “षष्ठीका दिन बर्तालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउने गरिन्छ, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ”,उनले भने । षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहानैदेखि प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको राघवेन्द्र यादव बताउँछन् । “पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो”,उनले भने । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर वधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्वीको समेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आएका राजेन्द्र सिंहले बताए । सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन शुरु गरिएको एकथरी मत छ । सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुवात भएको अर्काथरीको मत छ । दुई दशकअघिसम्म तराई क्षेत्रमा मात्र मनाइने छठ हाल राजधानी र पहाडी क्षेत्रको नदी, पोखरी एवं तालको किनारमा समेत विधिपूर्वक मनाउन थालिएको छ । रासस