प्रिमियर लिग क्रिकेटको फाइनलमा पुग्यो चितवन राइनोज
पोखरा, चितवन राइनोजले नमस्ते प्रिमियर लिग क्रिकेटको फाइनलमा स्थान सुरक्षित गरेको छ । आइतबार भएको इलिमिनेटरमा मा चितवन राइनोजले हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । टस जितेर व्याटिङ रोजेको काठमाडौं रोयल्स १९.३ ओभरमा ९४ रनमा समेटिएको थियो । चितवन राइनोजले ले १८.२ ओभरमा लक्ष्य पुरा गरेको थियो ।
चितवनले मंगलबार हुने फाइनलमा पोखरा पल्टनसँग खेल्ने छ । पोखरा पल्टन टीम राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रही सिधै फाइनलमा पुगिसकेको छ ।
चितवनलाई विजय दिलाउने क्रममा स्मित पटेलले ३८ रन बनाए । उनले ४३ बल खेली ३ चौका प्रहार गरे । आरिफ शेखले अविजित २० र सन्नीले अविजित ६ रन प्रहार गरे ।
चितवनको सुरुवात राम्रो रहेने । अनिल साह १ र कप्तान पारस खड्का २ रनमै आउट भए । ओपनर हरिशंकर साहले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरी २६ रन बनाए ।
काठमाडौंबाट सुशन भारीले ३ र पवन सर्राफले १ विकेट लिए ।
यसअघिचितवन राइनोजले नमस्ते पोखरा प्रमियर लिग ९पीपीएल० क्रिकेटको फाइनलमा पुग्न ९५ रनको लक्ष्य पाएकोथियो । आइतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको हुलास काठमाडौं रोयल्स इलिमिनेटरमा १९।३ ओभरमा ९४ रनमा अल आउट भयो ।
सन्नी पटेलले एकै ओभरमा ३ विकेट लिँदै काठमाडौंलाई धराशायी बनाए। काठमाडौंले पहिलो ओभरमा आक्रामक सुरुवात गर्दै १५ रन बनाएको अवस्थामा दोस्रो ओभरमा सन्नीले अमित श्रेष्ठ, पवन सर्राफ र गौरव तोमारलाई आउट गरी चितवनलाई उत्कृष्ट पुनरागमन गराएका थिए।
काठमाडौंबाट जयकिस्नन् कोल्सावालाले २५ र कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए। ज्ञानेन्द्रले ३५ बल खेली २ चौका प्रहार गरे। खेलको एक मात्र छक्का प्रहार गरेर आदिल खान ८, बसन्त रेग्मी शुन्य, अमरसिंह रौटेला ९ र सुशन भारी ३ रनमा आउट भए।
सन्नीले ३ विकेट लिने क्रममा ४ ओभरमा ९ रन मात्रै खर्चिए। अर्का भारतीय खेलाडी स्मति पटेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए।
भुवन कार्कीले ३ ओभर बलिङ गर्दै १० खर्ची २ विकेट लिए। करण केसी र कप्तान पारस खड्काको नाममा १र१ विकेट रह्यो।
यस खेल जित्ने टोलीले मंगलबार हुने फाइनलमा पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्ने छ। राउन्ड रोबिनको प्रतिस्पर्धामा चितवनले काठमाडौंमाथि १३ रनको विजय हात पारेको थियो।
विवाद उत्पन्न भएपछि युवाहरुद्वारा स्याङ्जाका मेयरमाथि नै हातपात
काठमाडौँ कार्तिक १८ । स्याङ्जाको चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी कालिकोटमा कुटिएका छन् । रारा भ्रमणबाट फर्किएका मेयर गिरीमाथि कालिकोट सदरमुकाम मान्मास्थित सनलाइट होटेलमा शनिबार राति हातपात भएको हो । मेयर बसेको होटलमा बसेका काठमाडौँका युवाहरुको टोली र मेयरबीच विवाद उत्पन्न भएपछि युवाहरुको टोलीले मेयर गिरीमाथि कुटपिट गरेको हो। ‘मदक पदार्थ सेवन मेयरले आफ्नो पदको घमण्ड देखाउन थालेपछि विवाद भएको हो’, स्रोतले भने, ‘विवाद बढ्दै गएपछि मेयर र काठमाडौँको समूहबीच हात हालाहाल भएको हो ।’ हात हालाहालमा मेयर गिरीसहित उक्त टोलीका अन्य ४ जान पनि घाइते भएको बताइएको छ। घाइते मेयर गिरीलाई राति नै जिल्ला अस्पताल कालिकोट लगिएको थियो। मेयर गिरीको टाउकोमा चोटलागेको र ४ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न काठमाडौँका ८ युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक देवेन्द्र मल्लले दुबै पक्ष मादक पदार्थ सेवन गरेर आक्रमणमा उत्रिएको बताए । उनले अहिले दुवै पक्षबीच जिल्ला प्रहरी कार्यालयमा मिलापत्रको गराउने कार्य सुरु भएको बताए । यता मेयर गिरीले भने आफूमाथि कुनै कुटपिट नभएको प्रतिक्रिया दिएका छन् । मेयर गिरीले भने, ‘हामी रारा भ्रमणमा गएका थियौँ । अहिले सुर्खेत फर्कँदै छौँ, बाहिर हल्लामा आएजस्तो कुनै घटना भएको छैन। नेपालखबरबाट
बागमती सफाई महाअभियानको २८६औं हप्ताको अभियान सम्पन्न
काठमाडौं, कार्तिक १९ । बागमती सफाई महाअभियानको २८६औं हप्ताको सफाई अभियान बुद्धनगर पुलमा सम्पन्न भएको छ । शनिबारको अभियानमा नेपाली सिनेमा जगतकी सदाबहार नायिका करिष्मा मानन्धरको बिशेष उपस्थिति रहेको थियो । शनिबारको अभियानबाट करिब ४ मेटिक टन फोहोर ब्यबस्थापन गरीएको छ । अभियानमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, अधिकार सम्पन्न बागमती आयोजना सहित १८ वटा संघसंस्था र बागमती अभियन्ताहरुको उपस्थिति रहेको थियो । अभियानको समापनमा बोल्दै बिशेष अतिथी करिष्मा मानन्धरबाट जल, जंगल, जमिन अादि प्रकृतिले बिना कुनै स्वार्थ मानिसलाई जीवन दिईरहेको हुन्छ । तर मानवले प्रकृतिको आवश्यतकता थाहा भएर पनि यसको संरक्षण गर्न सकिरहेका छैनौ जसको फलस्वरुप पूर्खाहरुको पौडी खेल्दै आएको बागमतीलाई हामीले फोहोर गरी ढलजस्तो बनायौं तर केही सचेत नागरीकले विगत ५ वर्षदेखि यो अभियान चलाएर आजको यो बागमती बन्न सकेको छ । हामी सबै लागेमा बागमती पहिला कै अबस्थामा फर्काउन सकिन्छ तर सरकारले जिम्मेवारी लिएर काम गर्नुपर्ने सुझाब दिए । बागमती सफाई महाअभियान २०७० जेष्ठ ५ गतेदेखि निरन्तर संचालन भएको अभियान केही सचेत नागरीक संस्थासहित तत्कालिन मुख्य सचिव लिलामणी पौडयालको सक्रियतामा शुरु भएको अभियानमा हालसम्म करिब १० लाख जनाको सहभागीतामा करिब १८सय संस्थाको सहभागीता भै सकेको छ भने करिब १५ हजार मेटिक टन फोहोर ब्यबस्थापन भैसकेको यो अभियानको कारण सरकारले बागमती आयोजनामार्फत तिब्रगतीमा काम अगाडी बढाउन नैतिक दबाब परेको छ । यो अभियानको प्रेरणाबाट हाल उपत्यकाका सहायक नदी र चक्रपथ गरी करिब ११ स्थानमा र उपत्यकाका बाहिर करिब ९० स्थानमा सफाई अभियान संचालनमा रहेको छ ।
यातायात विभागद्वारा स्मार्ट लाईसेन्स छपार्इको काम सुरु
काठमाडौं, कार्तिक १८ । निजी क्षेत्रको कम्पनीसँगै यातायात व्यवस्था विभागले पनि स्मार्ट लाईसेन्स छपाईको काम सुरु गरेको छ । स्मार्ट लाईसेन्सका लागि आवेदन दिनेको संख्या दिनप्रतिदिन बढ्न थालेपछि यातायात व्यवस्था विभाग आफैले पनि स्मार्ट लाईसेन्स छपाई शुरु गरेको हो । यसअघि विभागले निजी क्षेत्रको मालिका ईन्कर्पोरेटलाई ४५ दिन भित्र ५ लाख कार्ड छाप्ने जिम्मा दिएको थियो । कम्पनीले अहिले दैनिक ११ हजार बढी कार्ड छापिरहेको बिभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले जानकारी दिनुभयो । विभागले भने आबश्यक उपकरणको अभाव देखाउदै कम मात्रामा स्मार्ट लाईन्स छाप्दै आएको छ । प्रक्रिया पूरा गरिसकेका ५ लाख चालकको कार्ड मालिकाले छाप्ने र अन्यको बिभागले नै छपाई थालेको उनले बताए । यातायात व्यवस्था विभागले मुलुकभर ३२ लाख बढी सवारीचालक अनुमतिपत्र जारी गरेको जनाएको छ । यसैबीच यतायत व्यवस्था विभागले ट्याक्सीको सट्टा दर्ता प्रक्रिया तत्काल नखुलाउने जनाएको छ । ट्याक्सीको गुणस्तर र मापदण्ड कायम गर्न भन्दै बिभागले ट्याक्सीको सट्टा दर्ता प्रक्रिया रोकेको थियो । अन्तर्राष्ट्रिय मापदण्डको ट्याक्सी ल्याएर गुणस्तर कायम राख्ने तयारीस्वरुप दर्ता प्रक्रिया तत्काल नखोल्ने विभागले जनाएको छ । विभागका प्रवक्ता उपाध्ययले भने– ‘गुणस्तर र मापदण्डलाई ध्यान दिँदै अर्को निर्णय नभएसम्म सट्टा दर्ता खुल्दैन । ८ सय सीसीका ट्याक्सीको बिकल्पमा सुविधा सम्पन्न ट्याक्सी ल्याउने बिषयमा छलफल भइरहेको छ । त्यसपछि मात्र दर्ताको प्रक्रिया सुरु हुने छ । कान्तिपुरबाट
हनुमानढोका क्षेत्रको पुनःनिर्माण तीव्र
काठमाडौं, कार्तिक १८ । हनुमानढोका दरबार क्षेत्रमा रहेको सांस्कृतिक सम्पदाको पुनःनिर्माण तीव्ररूपमा भइरहेको छ । तीन दर्जन सम्पदा रहेको सो क्षेत्रमा भूकम्पका कारण १० सम्पदा पूर्णरूपमा क्षति भएका थिए भने अन्यमा सामान्य क्षति पुगेको थियो । भूकम्पका कारण क्षति पुगेका सम्पदामध्ये हालसम्म गद्दी बैठकको पुनःनिर्माण सम्पन्न भइसकेको छ । उक्त स्थानमा सबैभन्दा महत्वपूर्ण मानिने नौतले दरबार र काष्ठमण्डप पुनःनिर्माण भइरहेका छन् भने माजु देग पुनःनिर्माणको शुभारम्भ गत सोमबार भएको छ । कुमारी घरको भूकम्पीय संवेदनशीलताको प्राविधिक परीक्षण तथ्य विश्लेषण भइरहेको छ । त्यस्तै भूकम्पका कारण क्षति पुगेका अन्य सम्पदा पुनःनिर्माणको प्रक्रियामा रहेको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले जनाए । उनले काष्ठमाण्डप आगामी तीन वर्षमा पुनःनिर्माण सम्पन्न बताए । उनले भने, ‘माजु देग पुनःनिर्माण दुई वर्षमा सम्पन्न गरिने योजनाको साथ काम भइरहेको छ । केही सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको र केही पुनःनिर्माणको अवस्थामा रहेकाले अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ ।’ यस क्षेत्रमा घुम्न आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्कवापत रु १५० तिर्नुपर्छ भने सार्कबाहेकका अन्य राष्ट्रका पर्यटकले रु एक हजार तिर्नुपर्छ । रु ४९ करोड हनुमानढोका दरबार क्षेत्रमा रहेका सम्पदाहरुको पुनःनिर्माणका लागि बजेट छुट्याइएको कामपाको भौतिक पूर्वाधार महाशाखाले जनाएको छ । प्रशासनबाट
मध्यरातमै प्रहरी ज्यादती विरुद्ध प्रर्दशनमा उत्रिए स्थानीय
उदयपुर, कार्तिक १८ । उदयपुरको कटारी नगरपालिका मरुवाका स्थानीयले प्रहरीले ज्यादती गरेको भन्दै मध्यरातमा प्रर्दशन गरेका छन् । उद्योगका लागि चुनढुंगा बोकेर गएको ट्रिपर रोकेको बिषयमा विवाद हुदाँ प्रहरी नायव उपरिक्षक ध्रुवकुमार श्रेष्ठले लाठी चार्जसँगै दुर्व्यहार गरेको भन्दै उनीहरु प्रर्दशनमा उत्रिएका हुन् । सिद्धिचरण लोकर्मागको कटारी घुर्मी सडक खण्डमा यातायात अवरुद्ध गरिएको छ । चुनढुंगा ढुवानी गर्ने टिपरले धुलो उडाएर जनजिवन प्रभावित भएको भन्दै स्थानीयले हिजो दिउँसो टिपर संचालन रोकेका थिए । दर्जनको संख्यामा टिपर आएपछि पुन बिरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले लाठी चार्ज गरेको वडाध्यक्ष कृष्ण दनुवारले बताए । मादक पदार्थ सेवन गरेर आएका प्रहरी नायव उपरिक्षक श्रेष्ठ सहितको टोलीले महिला बालबालिक सहितका स्थानीयमाथि लाठी र्चाज गरेको वडाध्यक्ष दनुवारले आरोप लगाए । सिमन्ट उद्योग र स्थानीय विच चुनढुगा ढुवानी गर्दा धुलो उड्न नदिनका लागि पानी छर्कर्ने सहमति भएपनि राती टिपर संचालन भएकाले स्थानीयले रोकेको वडाध्यक्ष दनुवारको भनाई छ।
काभ्रेमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा २ को मृत्यु
काभ्रे, कात्तिक १८ । काभ्रेपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा शनिबार राति ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ गम्भीर घाइते भएका छन् । काभ्रेपलाञ्चोकको बिर्ता देउरालीबाट फलाँटेतर्फ आउँदै गरेको ना.१.क ९५२४ नं को खाली ट्रक अनियन्त्रित भई सडकबाट करीब १०० फिट तल खस्दा भुम्लु गाउँपालिका–६ का २९ वर्षीय सरोज पहरी र १९ वर्षीय सुमन पहरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए । दुर्घटनामा भुम्लु गाउँपालिका–६ का ट्रकचालक ३० वर्षीय सरोज पहरी, २९ वर्षीय विष्णु पहरी, ३५ वर्षीय नीरबहादुर पहरी गम्भीर घाइते भएका छन् । उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
कहिले हुन्छ सिंहदरबारभित्र रहेका यी कवाडी गाडीको व्यवस्थापन ?
काठमाडौँ, कार्तिक १८ । भनिन्छ– फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन अर्थात् पहिलो प्रभाव नै अन्तिमसम्मको प्रभाव हो । तर, हाम्रो सरकारको प्राथमिकतामा यो कुरा कहिल्यै परेको देखिएन । थुप्रै शासन व्यवस्था परिवर्तन भए, कैयौँ शासक–प्रशासक फेरिए । तर, प्रवृत्ति नफेरिँदा आम नागरिकलाई परिवर्तनको अनुभूति हुन सकेन । सन्दर्भ सिंहदरवारको हो । मनोरम बगैँचा, व्यवस्थित कार्यालय तथा सफा परिसरको रमणीय दृश्य परिकल्पना गरेर सिंहदरवार पस्नेहरूलाई मन्त्रालयमा थन्किएका थोत्रा सवारी साधन देखेपछि कवाडीखानामा पुगे कि भन्ने लाग्न सक्छ । सिंहदरबारमा बिग्रिएर थन्किएका सवारीसाधनको व्यवस्थापनमा दबाब दिन गत जेठ १ गते ‘बोल्ड निर्णयको पर्खाइमा सिंहदरबारका सवारी’ शीर्षकको समाचार प्रकाशित भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाहेक अन्य सबै मन्त्रालयहरू सिंहदरवार परिसरमा छन् । देश हाँक्ने प्रधानमन्त्री कार्यालयदेखि राष्ट्रिय योजना आयोगसम्म । अर्थदेखि राष्ट्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्मको सम्बन्ध स्थापित गर्ने परराष्ट्रसम्म । रक्षा, परराष्ट्र, अर्थ र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पछाडिपट्टिको जंगलै सरहका झाडी र फोहोर हेर्ने हो भने लाग्छ-यहाँ पनि सरकारी कार्यालय छन् र रु लहरै चारकोसे झाडीझैँ फैलिएको यस क्षेत्रमा गाडीहरू थुपार्ने गरिएको छ । कुकुरहरूको बाक्लै उपस्थिति रहने यस क्षेत्रमा दिउँसै कर्मचारीहरू एक्लै हिँड्न डराउँछन् । गृह मन्त्रालय पछाडितर्फको भागमा छाउपडी गोठजस्ता देखिने टहराहरू खण्डहरजस्तै लाग्छ । त्यसो त सिंहदरबार परिसरभित्र सार्वजनिक शौचालयसमेत छैनन् । मन्त्रालयभित्रका शौचालयको अवस्थासमेत यति दयनीय छ कि कतिपय मन्त्रालयमा त कोठाभित्रै दुर्गन्ध आएर कर्मचारीले नाक थुन्दै बस्नुपर्ने अवस्था अहिले पनि छ । यस्ता छन् प्रयासहरू पछिल्लो समयमा मात्रै २०७१ मा तत्कालीन व्यवस्थापिका संसद्को अर्थ समितिले मुलुकको प्रमुख प्रशासनिक निकायमा थोत्रा र पुराना सवारी साधन रहनुलाई विडम्बनापूर्ण भन्दै मुख्य सचिवमार्फत सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो । बैठकमा मुख्यसचिव लीलामणि पौडेलले सबै पुराना सवारी साधनको व्यवस्थापन गर्न नसकिए पनि एक वर्षभित्र पूर्णरूपमा व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए । तर, चारवर्ष भइसक्यो, यसको व्यवस्थापन त परै जाओस्, उल्टै गाडी थपिँदै गएका छन् । सोही वर्ष सार्क सम्मेलनको तयारी चलिरहँदा व्यवस्थापिका संसद्को परराष्ट्र तथा श्रम सम्बन्ध समितिले स्थलगत अध्ययनका क्रममा सिंहदरबारभित्र थन्किएका थोत्रा गाडी लिलाम गर्न समय नपुगेकाले सार्क सम्मेलनका बेला नदेखिने गरी व्यवस्थापन गर्ने बताएको थियो । तर, सम्मेलन सकियो थुपारिँदै गएका थोत्रा गाडीहरु लुक्न सकेनन् । सिंहदरबार परिसर व्यवस्थापन सम्बन्धमा २०७५ भदौ ३१ मा मुख्यसचिवको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन महाशाखाका सहसचिवको संयोजकत्वमा ‘सिंहदरवार परिसर अनुगमन समिति’ गठन गर्यो। निर्णयको बुँदा नं २३ मा उक्त समिति गठनबारे उल्लेख छ । समितिमा संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख, सोही कार्यालयका सिंहदरवार हेर्ने सिडिइ, शहरी विकास मन्त्रालयमा उपसचिव (प्रशासन), शहरी तथा भवन निर्माण विभागका सिडिइ सदस्य छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रशासन शाखामा उपसचिव सदस्य सचिव छन् । समितिले कात्तिकदेखि प्रत्येक महिनाको पहिलो शुक्रबार सिंहदरवार परिसरमा सहरी विकासमार्फत अनुगमन गर्ने व्यवस्था मिलाउने उल्लेख छ । ‘सिंहदरबार परिसर अनुगमन समिति’को असोज १८ गते बसेको बैठकको बुँदा नं ८ अनुसार सिंहदरवारभित्रका सवारी साधन व्यवस्थापन गर्न एउटा उपसमिति गठन गरिएको छ । जसअनुसार उक्त उपसमितिले हाल प्रदेश तथा स्थानीय तहमा सवारी साधनको आवश्यकता पूर्ति गर्न नसकिरहेको अवस्थामा सिंहदरवार परिसरभित्रका विभिन्न मन्त्रालय एवं निकायहरूको स्वामित्वमा रहेका कतिपय सवारी साधनहरू प्रयोगमा नल्याई राखिएको देखिएको हुँदा चालु हालतमा नरहेका सवारी साधनहरूको मर्मत सम्भार गरी संचालन गर्न उपयुक्त देखिएकाले लागत अनुमान तयारी गरी मर्मत सम्भार पश्चात् चलाउन सम्भाव्य देखिने र लिलाम गर्न उपयुक्त देखिने गरी सवारी साधनको अभिलेख तयार पार्ने कार्य गर्ने छ । उपसमितिमा संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सिडिइ अमरबहादुर थापाको संयोजकत्वमा गृह र अर्थ मन्त्रालयका शाखा अधिकृत, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मेकानिकल इन्जिनियर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मे।सु। महेन्द्र गिरी प्रतिनिधि र सोही कार्यालयका शाखा अधिकृत झविन्द्रप्रसाद पाण्डेय सदस्य सचिव छन् । उपसमितिको कात्तिक ९ गते बसेको बैठकले सबै मन्त्रालय तथा निकायहरूलाई यथाशीघ्र चालु हालतमा नरहेका सवारी साधनको विवरण उपलब्ध गराउन पत्राचार गरिसकेको छ । ‘दुई र तीन मन्त्रालयबाट मात्रै विवरण आउने बित्तिकै प्रक्रिया सुरु गर्छौँ,’ उपसमितिका सदस्य सचिव झविन्द्रप्रसाद पाण्डेयले भने, ‘प्राप्त विवरणको आधारमा स्थलगत अवलोकन गरी गाडीको अवस्था हेर्छौ र लिलाम गर्ने या मर्मत गर्नेबारे रिपोर्ट तयार गर्छौँ ।’ परिसरभित्र थन्किएका सवारीहरूमध्ये न्यूनतम लागतमा मर्मत गरेर चलाउन सकिने अवस्था भएका गाडीलाई तत्काल मर्मतका लागि प्रक्रिया अगाडि बढाउने र मर्मत खर्च बढी नै लाग्ने सवारी साधनको हकमा लिलामी प्रक्रिया अगाडि बढाएर सिंहदरवार सफाइ गर्ने योजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको छ । सिंहदरबार परिसरभित्रका सवारी व्यवस्थापनले दोहोरो फाइदा हुने ‘सिंहदरवार परिसर अनुगमन समिति’को निष्कर्ष छ । न्यूनतम लागतमा मर्मत गरेर संचालनमा ल्याउन सकिने गाडीहरूलाई हाल कायम रहेका ७ सय ५३ स्थानीय तहमा वितरण गर्ने योजना समितिको छ । स्थानीय तहमा गाडी भएन भन्ने गुनासो आइरहेको र सबै ठाउँमा गाडी किन्दा ठुलो धनराशी खर्च हुने भएकाले गाडीहरू स्थानीय तहमा वितरण गर्दा ठुलो धनराशी जोगिने प्रधानमन्त्री कार्यालयका सहसचिव समितिका संयोजक विनोदबहादुर कुँवरको भनाई छ । ‘यसो गरे स्थानीय तहमा तत्कालको समस्या पनि समाधान हुन्छ र सिंहदरवार पनि सफा, हराभरा बनाउन सकिन्छ,’ संयोजक कुँवरले भने, ‘अबको केही समयभित्रै सिंहदरवारको रूप फेरिन्छ ।’ ‘मनोरम बगैँचा, व्यवस्थित कार्यालय तथा सफा परिसरको रमणीय दृश्य परिकल्पनामा सिंहदरवार प्रवेश गर्नेको चाहना पूरा हुन अब धेरै समय लाग्दैन,’ कुँवर भन्छन्, ‘बगैँचा व्यवस्थापन भइसकेको छ, वृक्षारोपण गरिसकिएको छ, सडक पेटी तथा भवनहरू सफा सुग्घर बनाउनेलगायत काम भइरहेका छन् ।’ सिंहदरवार परिसरमा झन्डै तीन सय ५० भन्दा बढी सवारीहरू थन्किएका छन् । तीमध्ये अधिकांश चल्ने अवस्थाका छन् । उपत्यकाभित्रका सरकारी कार्यालयहरूमा मात्रै थन्क्याइएका सवारी साधनको संख्या हजारभन्दा बढी रहेको एक अनुमान छ । थुपारिएका गाडीहरू समयमै व्यवस्थापन गर्न नसक्दा सिंहदरबारलाई कुरूप त बनाइरहेको छ नै, झाडीमा मिल्काइएका गाडी माटोमा परिणत गराइँदा राज्यकोषको ठुलो धनराशी समेत नोक्सान भइरहेको छ । विगतका निर्णय तथा निर्देशनहरू केवल निर्देशनमै सीमित भएजस्तै हालको समिति तथा उपसमितिहरू पनि गठनमै सीमित नहुन् । उद्येश्यअनुरुपको कार्य समयमै पुरा गर्न सकुन् । प्रशासनडटकमबाट
सोमबारदेखि अमेरिकाले प्रतिबन्ध लागू गर्ने भएपछि भारतको तिहार बिग्रिने आशंका
नयाँ दिल्ली, कार्तिक १८ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग तेलको व्यापार जारी राख्ने देशहरू विरुद्ध अमेरिकाले प्रतिबन्ध लगाउने उसको नीतिमा कुनै परिवर्तन नआएको बताएका छन् । आफ्नो एउटा ट्विट मार्फत ट्रम्पले नोभेम्बर ५ देखि लगाइने प्रतिबन्धहरूमा कुनै छूट नपाइने बताएका छन् । ट्रम्पको यस ट्वीटले आफ्नो उर्जा आवश्यकता परिपूर्ति गर्न इरानको तेलमा निर्भर रहेको भारतको चिन्ता बढाएको छ । ईरानसँग तेल खरिदका लागि अमेरिकाले छुट दिने अपेक्षा गरिरहेको भारतलाई अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो ट्वीटले चिन्ता बढाएको हो । ट्रम्पले ट्वीट गर्दै नोभेम्बर ५ देखि नयाँ प्रतिबन्ध लगाउने आफ्नो तयारीबारे स्मरण गराएका छन् । यसअघि भारतीय अधिकारीहरुले ईरानसँग तेल खरिदमा भारतलाई अमेरिकाबाट छुट प्राप्त हुने संकेत पाएको जनाएका थिए । भारतीय अधिकारीहरुको अपेक्षाविपरीत ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘प्रतिबन्ध लागू हुँदैछ, ५ नोभेम्बर ।’ उनको यो ट्वीटले अमेरिका आफ्नो नीतिमा अडिग रहेको संकेत गरेको छ । अमेरिकाको चेतावनीका बाबजुद भारतले ईरानसँग तेल खरिद गर्ने निर्णय गरेमा भारतको यसपटकको दीपावली फिक्का हुने देखिन्छ । अमेरिकाले ईरानसँग तेल खरिद गरेमा भारतमाथि तत्कालै कडा प्रतिबन्ध लगाउने सक्ने कुटनीतिक मामलाका विज्ञहरु बताउँछन् । भारतमा दीपावली पर्व उल्लासपूर्वक मनाउने गरिन्छ । दीपावलीकै समयमा अमेरिकाले प्रतिबन्ध घोषणा गर्नुपर्ने अवस्था आएमा त्यसले भारतको चिन्ता बढाएर दीपावली नै फिक्का हुन सक्ने जानकारहरु बताउँछन् । भारतले यसअघि नै अमेरिकालाई चिढ्याइसकेको छ । अमेरिकाको सुझावविपरीत भारतले रुससँग हतियार सम्झौता गरेर अमेरिकालाई चिढ्याएको हो । अमेरिकाको प्रतिबन्धविपरीत अब ईरानसँग तेल खरिद गर्ने हो भने भारतले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने देखिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले केहीसाता अघि भारतले चाँडै नै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए । उनले रुससँग भारतले खरिद गर्न सम्झौता गरेको क्षेप्यास्त्र प्रतिरोधी सिस्टमका बारेमा केन्द्रीत रहेर उक्त प्रतिक्रिया दिएका थिए । अमेरिकाको प्रतिबन्धका बाबजुद अब ईरानसँग पनि भारतले तेल खरिद गर्ने हो भने ट्रम्प प्रशासनले भारतविरुद्ध कडा कदम चाल्ने निश्चितप्रायः छ । उल्लेखनीय छ, भारतले गणतन्त्र दिवसका लागि अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रमुख अतिथि बनाएर सम्बन्धलाई सुधार्न केही प्रयास गरे पनि ट्रम्पले आफू भारत भ्रमणमा नआउने जनाइसकेका छन् । अमेरिकाले ईरानमाथि हालै नयाँ प्रतिबन्ध लगाएको छ । सन् २०१५ मा भएको ईरान परमाणु सम्झौताबाट आफूलाई अलग्याउँदै ट्रम्प प्रशासनले ईरानमाथि नयाँ प्रतिबन्ध लगाएको हो । भारतले ईरानसँग तेल खरिद गर्न जारी राख्ने हो या अमेरिकाको प्रतिबन्धलाई स्वीकार गर्दै उसले इरानसँगको वर्षौं पुरानो सम्बन्धलाई तोड्ने हो, त्यो भने प्रष्ट भइसकेको छैन । (एजेन्सी)
राष्ट्रपति भण्डारी यूरोप भ्रमण जाँदै
काठमाडौं, कार्तिक १८ । आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण पुरा गरी गत विहीवार कतारबाट स्वदेश फर्किएकी राष्ट्रपति विद्यादेवी भण्डारी एक महिनापछि यूरोप भ्रमणमा जाने तयारीमा जुटेकी छन् । भण्डारी आगामी मंसिर दोस्रो साता पोल्यान्ड भ्रमणमा जाने राष्ट्रपति कार्यालयले जनाएको छ । जलवायु परिर्वतन सम्बन्धी राष्ट्रसंघिय अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारी सहभागी हुने भएसँगै भ्रमणको तयारी अघि बढाइएको हो । दुई साता लामो राष्ट्रसंघिय २४ औं बार्षिक सम्मेलन आगामी मंसिर १६ देखि पोल्यान्डको काटोइसमा सुरु हुँदैछ । आयोजकले यसपटक अन्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई पनि निम्तो पठाएको छ । सरकारले राष्ट्रपतिको भ्रमणको औपचारिक निर्णय गर्न भने बाँकी छ । नेपाल समाचारपत्रमा खबर छ ।
३७ किलो चरेशसहित जनप्रतिनिधि पक्राउ
रुपन्देही, कार्तिक १८ । प्रहरीले ३७ किलो चरेससहित तीनजनालाई बुटवलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना स्थानीय तहका जनप्रतिनिधिसमेत छन् । पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका ९ बस्ने ३४ वर्षीय जनक घर्ती, कपिलवस्तुको बाणगंगा नगरपालिका-२ बस्ने ५० वर्षीय नहारी थारू र अर्घाखाँचीको पाणिनी गाउँपालिका-५ बस्ने ४० वर्षीय टीकाबहादुर रास्कोटी छन् । रास्कोटी पाणिनी गाउँपालिका-५ का वडा सदस्य हुन् । शनिबार राति करीब ८ बजेको समयमा उनीहरुलाई बुटवल उपमहानगरपालिका-१३ स्थित बेलबास शान्तिचोकबाट इलाका प्रहरी कार्यालय बुटवलको टोलीले चरेससहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । लागुऔषध चरेस बागलुङ जिल्लाबाट भारत निर्यात गर्नका लागि ल्याइएको थियो । उक्त चरेस नेपाली मूल्यमा करीब १८ लाख बराबरको हुनसक्ने प्रहरीको अनुमान छ । -रासस
राजधानी तोकिएपछि कैलालीको तेघरी वन अतिक्रमण तीव्र
कैलाली, कार्तिक १८ । तेघरी जंगलछेउ बस्दै आएका बाढीपीडित र सुकुमबासीहरू पछिल्लो समयमा वन अतिक्रमण गर्न सक्रिय भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी नगरपालिकाको तेघरी जंगल क्षेत्रमा राजधानी बनाउने घोषणा गरेपछि बाढीपीडित र सुकुमबासीहरू सामुदायिक र राष्ट्रिय वन मासेर बस्नयोग्य जमिन बनाउन जुटेका हुन्। वन छेउ बसेका बाढीपीडित र सुकुमबासी अहिले जंगलको सिमाना मिच्दै अगाडि बढिरहेको गोदावरी नगरपालिका–३ स्थित चौकीडाँडा महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेमराज भण्डारीले बताए। ‘बाढीपीडित र सुकुमबासीका नाममा टहरो बनाएकाहरूले अहिले सात बिघाभन्दा बढी जंगल क्षेत्र कब्जा गरिसकेका छन्,’ उनले भने, ‘जंगल मिच्दै रातारात खोरिया बनाउन थालेका छन्।’ उनीहरूले नातेदारलाई समेत ल्याएर वन मासेर बस्ती बसाल्ने योजना बनाएको उनले बताए। उनले भने, ‘टहरो मात्रै बनाएर बसेकाहरू खुर्सानी तथा सागपात लगाउने भन्दै जंगलको सिमाना मिच्दै जमिन बढाउन थालेका छन् ।’ एउटैले दुई÷चार कठ्ठा जमिन मिचेको उनले बताए। वन अतिक्रमणबारे वन कार्यालय र गोदावरी नगरपालिका कार्यालयमा पटकपटक उजुरी गर्दा पनि सुनुवाइ नभएको भण्डारीले बताए। उनले भने, ‘वन अतिक्रमणकारीलाई कसैले पनि उठाउने साहस गर्दैनन्।’ स्थानीय रामचन्द्र अवस्थीले राजनीतिक दल, सामुदायिक वनका अध्यक्षलगायतको मिलेमतोमा बाढीपीडित र सुकुम्बासीका नाममा वन अतिक्रमण भएको बताए। उनले भने, ‘बाढीपीडित र सुकुमबासीका नाममा वन क्षेत्र मिचिएको छ। यस कार्यमा राजनीतिक दलको संरक्षणसमेत देखिएको छ।’ अत्तरिया क्षेत्रमा त झनै वन क्षेत्र अतिक्रमणमा परेको उनले बताए। ‘अत्तरिया बजार क्षेत्रको सुरक्षा सामुदायिक वन र दुर्गालक्ष्मी सामुदायिक वन अतिक्रमणमा परेको छ,’ उनले भने, ‘अतिक्रमित क्षेत्रमा जनप्रतिनिधि, सामुदायिक वनका अध्यक्षलगायतका व्यक्तिले कुनै चासो नदेखाउँदा उनीहरुकै मिलेमतो भएको जनताले बुझेका छौं।’ चौकीडाँडाका वडा अध्यक्ष मोहन खत्रीले अतिक्रमित वनबारे नगरपालिकासँग कुराकानी भइरहेको बताए । गोदावरी नगरपालिका क्षेत्रको चौकीडाँडा महिला सामुदायिक वन, सुरक्षा सामुदायिक वन, दुर्गालक्ष्मी सामुदायिक वन, तेघरी सामुदायिक वनलगायतका सामुदायिक वन अतिक्रमणमा परेको इलाका वन कार्यालय अत्तरियाका सहायक वन अधिकृत शेरबहादुर भण्डारीले बताए। नागरिक दैनिकमा खबर छ ।
सातौं नक्कली छोरालाई नागरिकता बनाउँदा पक्राउ
विराटनगर, कार्तिक १८ । दसैंको रमझम सुरु भइसकेको थियो । सेवाग्राहीको चाप कम भएको थियो, कर्मचारी घर जाने हतारोमा थिए । त्यहीवेला विराटनगर–१ का सत्यनारायण पोद्दार छोराको नागरिकता बनाउन मोरङ जिल्ला प्रशासन कार्यालय पुगे । ५५ वर्षीय सत्यनारायणसँग वडा कार्यालयको सिफारिस थियो । वडासचिवसँगै वडाध्यक्षले हस्ताक्षर गरेका थिए । यसअघि पनि छोराको नागरिकता बनाउन जिल्ला प्रशासन पुगेका उनलाई नागरिकता शाखाका कर्मचारीले ख्यालख्यालमै सोधे, ‘कति छोरा छन्, सधैं नागरिकता बनाउन आउनुहुन्छ ?’ सत्यनारायण झस्किए, केही बोल्न सकेनन् । उनी अलमलिएको देखेपछि नागरिकता शाखाका कर्मचारीले सोधखोज गर्न थाले । फाइल पल्टाउँदै जाँदा त थाहा भयो, उनले नागरिकता लिन आएको सातौं छोराका लागि रहेछ । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार झुटो विवरण पेस गरेर नागरिकता बनाउन खोजेको पाइएको छ । ‘झुटो विवरण पेस गरी सिफारिस गराएर नागरिकता लिने प्रयास गरेको पाइएपछि प्रहरीलाई अनुसन्धान गर्न परिपत्र गरिएको छ,’ सिडिओ केसीले भने । सत्यनारायणलाई प्रहरीले २४ असोजमा जिल्ला प्रशासन कार्यालयबाटै पक्राउ गरेको थियो । उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी मनोजकुमार केसीले बताए । नक्कली सातौं छोरा प्रहरी स्रोतका अनुसार सत्यनारायणले झुटो विवरण बनाएर नागरिकता बनाइदिएको स्विकारेका छन् । प्रहरीको अनुसन्धानमा पनि उनले अहिलेसम्म सातजनालाई छोरा भनेर नागरिकता बनाइदिएको खुलेको छ । उनले नागरिकता बनाइदिएका सातजनामा सेजित पोद्दार, पवन पोद्दार, मिथिलेस पोद्दार, जितेन्द्र पोद्दार, रोशन पोद्दार, धीरेन्द्र पोद्दार र राजेन्द्र पोद्दार रहेका छन् । नयाँ पत्रिकामा खबर छ ।
अब भारतबाट फर्किदा भिसा चाहिने
काठमाडौं, कार्तिक १८ । भारतका जुनसुकै अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने नेपालीले भारतीय अध्यागमनमा अनिवार्य रुपमा नो अब्जेक्सन सर्टिफिकेट एनओसी पेस गर्नुपर्ने भएको छ । नेपाली महिलालाई अवैध रुपमा खाडी जान रोक्ने उदेश्यले दुई देशको सहमतिमा करिब डेढ बर्षअघि एनओसीको नीति लागु गरिएको थियो । तर, भारतले सबै देश जाने सबै नेपालीबाट यस्तो कागज माग्न थालेपछि यात्रुलाई सस्ती भएको छ । सरकारले श्रमको इजाजत नदिएका लिबिया, सिरिया, लेबनान, कुवेत, कतार, साउदी, अरब, युनाइटेड बरब इमिरेट्स, इराक र ओमनमा नेपाली महिला अवैध रुपमा जाने र अलपत्र पर्ने भएपछि रोक्न एनओसी पेस गर्नुपर्ने नियम लागु भएको थियो । अहिले युरोप, अमेरिका, अस्टे«लिया जानेले पनि एनओसी बुझाएर मात्रै जहाजमा उड्ने अनुमति पाउँछन् । नयाँ पत्रिकामा खबर छ ।
प्रचण्डको घोषणा– दश वर्षभित्र नेपाल दक्षिण एसियाकै समृद्ध राष्ट्र बन्छ
काठमाडौं, कार्तिक १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले आगामी दश वर्षभित्रमा नेपाल दक्षिण एसियाको समृद्ध राष्ट्र बन्ने दाबी गरेका छन् । रुपन्देहीको बुटवलमा नेकपाले आज (शनिबार) आयोजना गरेको शुभकामना सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् । साथै, उनले नेकपाको सरकारले मात्र मुलुकमा विकास र समृद्धि ल्याउने बताए । मुलुकलाई पछाडि धकेल्न चाहनेहरुले जति षड्यन्त्र गरेपनि विकास र समृद्धि नरोकिने दाबी गर्दै उनले अब विकास कसैले रोकेर नरोकिने भएकाले नेपाल एसियाकै सम्पन्न राष्ट्र बन्ने दृढता जनाए । त्यस्तै, अध्यक्ष प्रचण्डले केही समयभित्र तल्लो तहसम्मै पार्टी एकता हुने पनि बताए । विवादको कारण नभई भविष्य हेरेर गृहकार्य गर्दा केही ढिलाई भएको उनको भनाइ थियो । कार्यक्रममा पार्टी महासचिव बिष्णु पौडेलले अहिल्यै सरकारको मुल्याङकन गर्ने बेला नआएको बताउँदै सरकारलाई असफल हुने छूट पनि नरहेको तर्क गरे ।
पर्यटनमन्त्री अधिकारीको भिसा बेलायती दूतावास भित्रै च्यातियो !
लण्डन, कार्तिक १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायतको भिसा च्यातिएको अवस्थामा भेटिएको छ। नोभेम्वर ५ देखि ७ तारिखसम्म लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागि हुन वेलायत आउन लागेका अधिकारीको भिसामा वेलायती दूतावासको लापर्वाही गरेको कारणले भिसा रद्द भएको हो। मन्त्री अधिकारीको राहदानी संकलन गर्न काठमाडौंस्थित भिएचएफ कार्यालय पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारीलाई च्यातिएको र रातोमसीले क्रस गरेर भिसा थमाए पछि उनको बेलायत भ्रमण प्रभावित हुन पुगेको हो। भिसा रद्द भएको अवस्थामा भेटे पछि यस बिषयमा यथार्थ बुझ्न मन्त्रालयका कर्मचारीले ललितपुर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले काठमाडौं स्थित भिसा वितरक सस्था भीएचएफ गोलोवलको अफिस पुगेर मुचुल्का उतारेको थियो। शुरुमा मुचुल्कामा हस्ताक्षर गर्न नमानेका भीएचएफका कर्मचारीलाई प्रहरीले कानुनी दयारामा ल्याउने चेतावनी दिएपछि गल्ति स्वीकार गर्दै हस्ताक्षर गरि आइतवार सम्म पुनः अर्को भिसा इसु गर्ने बचन दिएका थिए। मन्त्रालय स्रोतका अनुसार मन्त्री अधिकारी बाहेक अन्य कर्मचारीले बिहिवार नै भिसा हात पारेका थिए। मन्त्रीको भिसा नआए पछि मन्त्रालयका कर्मचारी बिहानैदेखि भीएचएफको कार्यालयमा भिसा कुरेर बसेका थिए। नोभेम्वर १ मा जारि गरिएको अधिकारीको भिसा किन रातोमसीले क्रस गरिएको हो भन्ने अझै प्रष्ट हुन सकेको छैन। मन्त्री अधिकारीको सचिवालयले भिसा च्यातीएको र रातो मसीले क्रस गरेको पाइएको बताएको छ। नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरणले मन्त्री अधिकारीको भ्रमण अझै स्थगित नभएको र सोमवारसम्ममा उनको उपस्थिती हुन सक्ने बताए। नागरिक दैनिकबाट साभार

