देउवा भन्छन्, ‘पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिन्छु’
काठमाडौं, कार्तिक १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट कांग्रेस पार्टीको सिद्धान्त विजय भएको बताएका छन्।
दसैं, तिहार, छठ तथा नेपाल संवत्को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न कांग्रेस काठमाडौं महानगरपालिका–४ कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा देउवाले तीन तहको निर्वाचनपछि कांग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागि रहने र पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिने बताए ।
उनले देश अप्ठ्यारो अवस्थामा रहेको चर्चा गर्दै मुलुकमा बलात्कार तथा हिंसाजन्य अपराध धेरै बढेको र सरकारले पीडितलाई न्याय दिन नसकेको उल्लेख गरे।कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस एक ढिक्का भई निर्वाचनमा गएमा अर्को पटक कांग्रेसले निर्वाचन जित्न सक्ने विचार व्यक्त गरे । उनले गएको निर्वाचनमा पार्टीभित्रको गुट उपगुटका कारण पार्टीले पराजय भोग्नुपरेको बताए । -रासस
काठमाडौँका खाल्डा पुर्न २ महिना
काठमाडौँ, कर्तिक १७ । सरकारले काठमाडौंका सडकको खाल्डाखुल्डी दुई महिना भित्र पुरी सक्न मातहतका निकायलाई फेरि निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आज सम्बन्धित निकायसँग कामको समीक्षा गरी काठमाडौंस्थित सडकका खाल्डा २ महिना भित्र पुरी सक्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । सडकको उचित व्यवस्थापनका लागि काम भए नभएको अनुगमन गरी तत्काल निर्देशन दिन समन्वयात्मक संयन्त्र बनाउने निर्णय पनि गरिएको छ । रिमालका अनुसार सम्बन्धित मन्त्रालयका अधिकारीहरु रहने संयन्त्रले कामको अनुगमन गरी आवश्यक्ता अनुसार तत्काल निर्देशन दिइने भएको छ । प्रधानमन्त्रीको कार्यालयले खाल्डाखुल्डी पुर्ने काम पूरा नभएसम्म निरन्तर त्यसको अनुगमन र निर्देशन गरिराख्ने पनि स्पष्ट पारेको छ ।
काग तिहार अर्थात धनतेरसमा के किन्ने के नकिन्ने ?
कार्तिक १९ गते, सोमवारदेखि यमपंचक सुरु हुँदैछ । यस अवधिमा मनाइने तिहारलाई नेपालका धेरै जसो संस्कृतिमा धुमधामका साथ दीपोत्सवको रूपमा मनाइन्छ । यमपंचकको पहिलो दिनलाई काग तिहारको रूपमा मनाइने गरिछ । यसदिन सन्देशवाहकको रूपमा कागको पूजा गरिन्छ । यसका साथै यस दिन आरोग्यका देवता धन्वन्तरी र धनका देवता कुबेरको पूजा समेत गरिन्छ । देशका तराई भागमा त्रयोदशीका दिन पर्ने यस पर्वलाई धनतेरसका नामले समेत चिन्ने गरिन्छ । धनतेरसका दिन बहुमूल्य वस्तुहरूको खरिददारी गर्ने समेत प्रचलन रहेको छ । यस दिन समान किन्दा धनवृद्धि हुने विश्वास रहेकाले कतिपय मानिस महत्वपूर्ण खरिददारीका निम्ति यस दिनको प्रतीक्षामा रहने गर्दछन् । धनतेरसको दिन बहुमूल्य वस्तुको खरिददारी गर्नुलाई राम्रो मानिए पनि यस दिन सबै खालका सामान किन्नु भने उपयुक्त मानिदैन । धेरैले यस दिन सके सुन नत्र चाँदी र त्यो पनि नसके पित्तल या तामाको सामान किन्नु उपयुक्त ठान्दछन् । हुन त कुनै पनि सामान कुनै निश्चित दिन किन्नु भन्दा पनि आफूलाई अनुकूल परेको बेलामा किन्नु सबैभन्दा उत्तम हो । तर शुभाशुभमा विश्वास गर्नेहरू यस दिन के किन्ने र के नकिन्ने भन्ने कुरामा निकै सजग रहेको पाइन्छ । हामीले आज धनतेरसको दिन कुन समान किन्दा शुभ हुने र कुन समान किन्दा अशुभ हुने भन्नेबारे केही जानकारी जुटाएका छौं । के किन्दा शुभ हुन्छ? लक्ष्मी गणेशको प्रतिमा: यस दिन लक्ष्मी र गणेशको प्रतिमा या तस्बिर किन्नु उपयुक्त मानिन्छ । यसो गर्दा घरमा सुखसमृद्धि एकैसाथ आउने र गृह्क्लेश समेत टाढा हुने विश्वास गरिन्छ ।उक्त प्रतिमालाई लक्ष्मीपूजाको दिन पूजा गर्नु राम्रो मानिन्छ । गरगहना तथा कपडा: यस दिन सुन चाँदीका गहना किन्नु पनि राम्रो मानिन्छ । त्यसका साथै लुगाफाटो किन्दा पनि सेतो या रातो रङ्गको कपडा किन्नु राम्रो मानिन्छ । कालो या निन्याउरो रङ शनिको प्रतीक हुने भएकाले यस दिन सकेसम्म नकिन्नु नै राम्रो मानिन्छ । मोटरगाडी किन्दा ध्यान दिनुपर्ने: धेरैले यस दिन मोटरगाडी पनि किन्ने गर्दछन् । यो राम्रो भएपनि त्यसको मूल्य भने सकेसम्म एक दिन अगाडि नै तिर्नु राम्रो मानिन्छ । यसो गर्नुका मुख्यतया दुई कारण रहेकाछन्: पहिलो त गाडीहरू फलामबाट बनेका हुन्छन् र फलाम शनिको धातु ,मानिन्छ, अर्को हो यसमा प्रयोग हुने काँच जसलाई राहु तत्व मानिन्छ । सम्पत्ति, भाँडाकुँडा या औषधि: यस दिन अचल सम्पत्ति र औषधि किन्दा पनि लाभ हुने विश्वास गरिन्छ । त्यस्तै तामा, पित्तल, चरेस, स्टील आदिका भाँडा कुँडा किन्नु पनि राम्रो मानिएको छ । कुचो, नुन र धनियाँ: यस दिन कुचो र नुन किन्नु पनि राम्रो मानिन्छ । कुचो किन्दा घरको नकारात्मक उर्जा बाहिर जाने विश्वास गरिएको छ । त्यस्तै यस दिन धनियाँ किन्नु पनि राम्रो मानिन्छ । यसरी कीएको धनियाँलाई लक्ष्मीको प्रतिमा नजिक राखेर लक्ष्मी पूजा पछि कुनै गमलामा विसर्जित गरिदिनु पर्दछ । अन्य कुराहरू: त्यस्तै यस दिन दक्षिणवर्ती शंख, कमलगट्टाको माला, धार्मिक साहित्य या रुद्राक्षको माला किन्नु पनि लाभदायक मानिन्छ । त्यस्तै यस दिन प्राणप्रतिष्ठित श्रीयंत्र समेत घरमा राख्दा फाइदा हुन्छ । के किन्नु उपयुक्त हुँदैन ? काँचका समान: काँचको सम्बन्ध राहु ग्रहसँग भएको मानिन्छ । राहु नीच ग्रह मानिने र यसले अशुभ गर्न सक्ने भएकाले नै यस दिन काँचका सामान किन्नु उपयुक्त मानिंदैन । फलाम र एल्मुनियमका भाँडाकुँडा: फलाम शनिसँग र एल्मुनियम राहुसँग सम्बद्ध भएकाले यस्ता समान पनि यस दिन किन्ने गरिन्न । धारिलो वस्तु: धनतेरसको दिन चक्कु, खुकुरी जस्ताधरिला समान समेत किन्नु राम्रो मानिंदैन ।
नातिको कुटाइबाट हजुरबुबाको मृत्यु
पशुपतिनगर, कात्तिक १७ गते । इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ । उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय हजुरबुबा देउमान नेम्वाङको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ । (रासस)
अब शनिबार पनि श्रम स्वीकृतिको काम हुने
काठमाडौँ, कात्तिक १७ गते । वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको हो । शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको हो । उक्त कार्यालयले विभिन्न देशमा काम गर्न जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।
सुदूरपश्चिममा धान उत्पादनमा वृद्धि
कैलाली, कार्तिक १७ । सुदूरपश्चिम प्रदेशको खाद्य भण्डार कैलाली र कञ्चनपुरमा यो वर्ष धान उत्पादन १५ प्रतिशतले वृद्धि हुने भएको छ । कृषि ज्ञान केन्द्रहरूले उत्पादन बढेको प्रारम्भिक आँकडा दिएका छन् । कैलाली र कञ्चनपुर हेर्ने कृषि ज्ञान केन्द्रका प्रमुख गोकुलप्रसाद बोहोराले कैलाली र कञ्चनपुरमा १५ प्रतिशतले धानको वृद्धि भएको प्रारम्भिक अनुमान गरे । ‘यकिन तथ्य आउन केही समय लाग्छ,’ उनले भने, ‘किसानहरूको कुरा र धान रोप्ने बेला गरिएको अनुगमनबाट बढेको छ भन्न सकिन्छ ।’ वर्षा राम्रो भएकाले धानबालीमा लाग्ने रोगहरू नलागेकाले उत्पादन बढेको उनले बताए । ‘धान रोप्ने बेलामा मलको अभावसमेत भएन,’ उनले भने । नयाँ प्रविधिले पनि उत्पादनमा वृद्धि भएको हो । स्थानीय किसानले पनि एक बिघामा ५ देखि ७ बोरासम्म धान उत्पादन बढ्ने बताएका छन् । कैलालीको भजनीका गंगा चौधरीले यो वर्ष बाढी तथा रोगले असर नपारेको बताए । कैलालीको धेरै धान उत्पादन हुने दक्षिणी भेग डुबान क्षेत्रमा पर्छ । वर्षा बढी भए ३० प्रतिशत बाली क्षति पुर्याउने गरेको छ । ‘यसपटक अधिक वर्षा पनि नभएकाले बाली जोगियो,’ उनले भने । सुदूरपश्चिम प्रदेशका कृषि मन्त्रालयका योजना अनुगमन मूल्यांकन महाशाखाका उपसचिव यज्ञराज जोशीले धान वृद्धिको मुख्य कारण मौसम र रोग किरा नलाग्नु भएको बताए । यो वर्ष सिञ्चित क्षेत्रसमेत विस्तार भएको उनले बताए । उनका अनुसार अहिले किसानले प्रतिहेक्टर ७ देखि ८ टनसम्म धान फलाउन थालेका छन् । कैलाली जिल्ला प्रदेश ७ को मात्रै नभएर नेपालकै प्रमुख अन्न उत्पादन हुने जिल्ला पर्छ । ७२ हजार हेक्टरमा धान बाली लगाइन्छ । ४४ हजार हेक्टर भूमि सिञ्चित छ । कैलालीमा धानको उत्पादकत्व दर ४।०५ टन छ । गत वर्ष २ लाख ९२ हजार ६ सय ९९ टन उत्पादन गरेको थियो । जिल्लाको वार्षिक खाद्यान्न उत्पादन २ लाख ५८ हजार ३५७ टन हो । जसमध्ये वार्षिक १ लाख १७ हजार ९५४ टन खाद्यान्न बचत हुने गरेको छ । कैलालीको बचत खाद्यान्न प्रदेश ७ का पहाडी जिल्लामा जान्छ । विवरण संकलन नभए पनि कञ्चनपुरमा विगतको तुलनामा १५ प्रतिशतले उत्पादन वृद्धि हुने अनुमान छ । कञ्चनपुरमा धान प्रतिहेक्टर ३ टन हुन्छ । यस वर्ष साढे ३ टन पुग्ने वरिष्ठ कृषि अधिकृत बोहोराले बताए । कञ्च्नपुरमा करिब ५० हेक्टरमा धान खेती गरिन्छ । यस वर्ष रोगको प्रकोप पनि छिटफुट मात्रै भयो । धानबाली भित्र्याउने बेला वर्षा नहुँदा नोक्सान भएन । कञ्चनपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान पकेट क्षेत्र कार्यक्रम पनि सञ्चालित छ । जिल्लाकै औसतभन्दा उक्त क्षेत्रमा झन्डै दोब्बर उत्पादन हुन पुगेको छ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा अनुकूल मौसम र उपयुक्त बीउको प्रयोगले धान उत्पादन वृद्धि हुने अनुमान छ । १५ देखि २० प्रतिशत बढ्ने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ । यस वर्ष तीन वर्षयताकै राम्रो उत्पादन हुने दाबी गरिएको छ । बझाङमा यस वर्ष करिब ८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । जिल्लाभर करिब २८ हजार टनभन्दा बढी धान फल्ने प्रारम्भिक अनुमान छ । यो गत वर्षभन्दा करिब ५ हजार टन बढी हो । गत वर्ष २३ हजार ५ सय टन उत्पादन भएको कृषि ज्ञान केन्द्र प्रमुख रामलाल जोशीले बताए । ‘३ वर्षयताकै धेरै उत्पादन हुने अनुमान गरेका छौं । १५ देखि २० प्रतिशत उत्पादनमा वृद्धि हुन्छ,’ उनले भने । अहिलेसम्म करिब ९० प्रतिशत धान भित्र्याउने काम सम्पन्न भइसकेको छ । कात्तिकभित्र सबै धान भित्र्याइसक्ने कृषि ज्ञान केन्द्रको अनुमान छ । कान्तिपुर दैनिकबाट
गणतन्त्रसम्म आइपुग्दा १५ सयमा ७२ मात्रै महिला मन्त्री
काठमाडौं, कार्तिक १७ । गणतन्त्र स्थापनापछि नेपालमा हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको बहस चल्यो । अन्ततः गणतान्त्रिक संविधानले नै ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गर्यो । तर, संविधानले तोकेको व्यवस्था संविधानपालक सरकारले नै कार्यान्वयन गरेको छैन । वर्तमान सरकारमै मन्त्रिपरिषद् सदस्यको कुल संख्याको १७ प्रतिशत मात्रै महिला सदस्य छन् । प्रजातन्त्र, पञ्चायत र बहुदलीय व्यवस्थामा जस्तै गणतन्त्रमा पनि महिलालाई सकेसम्म पहुँचमा पुग्नबाट रोक्ने प्रयास भएको देखिन्छ । प्रजातन्त्रदेखि गणतन्त्रसम्म करिब १५ सयको संख्यामा पुरुष मन्त्री बन्दा महिलाबाट मन्त्रीको संख्या भने ७२ मात्रै छ । ००७ देखि ०७५ सम्म को–को महिला मन्त्री बने ? द्वारिकादेवी ठकुरानी महिलाबाट देशकै पहिलो मन्त्री १३ जेठ ०१६ मा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको नेतृत्वमा सरकार गठन भयो । इतिहासमै पहिलोपटक मन्त्रिपरिषद्मा एउटी महिला अटाइन् । ती भाग्यमानी थिइन्, द्वारिकादेवी ठकुरानी । कांग्रेस राजनीतिमै सक्रिय उनी बिपी नेतृत्वको सरकारमा स्वास्थ्य र स्वायत्त शासन उपमन्त्री बनिन् । २१ सदस्यीय मन्त्रिपरिषद्मा उनी १२औं वरीयतामा थिइन् । दुईपटक मन्त्री दुईपटक राष्ट्रपति देशकै पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी दुईपटक मन्त्री बनिन् । ०५३ मा एमाले–राप्रपा (चन्द) गठबन्धनपछि लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा बनेको सरकारमा उनी जनसंख्या तथा वातावरणमन्त्री बनेकी थिइन् । गणतन्त्रपछि उनले फेरि अवसर पाइन् । ०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा भण्डारी रक्षामन्त्री भइन् । जनजातिबाट पहिलो सरस्वती राई सरस्वती राई ०३४ मा गठित कीर्तिनिधि विष्ट नेतृत्वको मन्त्रिपरिषद्मा जल तथा विद्युत् सहायकमन्त्री बनिन् । जनजातिबाट मन्त्री हुने उनी पहिलो महिला हुन् । दोस्रोपटक उनी ०३६ मा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा पनि जनस्रोत सहायकमन्त्री बनिन् । दिदीबहिनी बने उपप्रधानमन्त्री प्रजातन्त्र स्थापनापछि नेपालमा शैलजा आचार्य र सुजाता कोइराला मात्रै उपप्रधानमन्त्री बने । शैलजा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी भान्जी हुन् भने सुजाता छोरी । नाताले उनीहरू दिदीबहिनी हुन् । ०५५ मा गिरिजाप्रसाद नेतृत्वकै सरकारमा शैलजा देशकै पहिलो महिला उपप्रधानमन्त्री बनेकी थिइन् । सुजातालाई पनि गिरिजाप्रसादले नै उपप्रधानमन्त्री बनाए । उनी ०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारीमा रहिन् । वर्तमान सरकारमा महिला चार मन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारमा महिलाबाट चारजना मन्त्री छन् । थममाया थापा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री छिन् । मन्त्रिपरिषद्मा उनी अन्य महिलाभन्दा अगाडि छिन् । विना मगर खानेपानीमन्त्री छिन् भने पद्माकुमारी अर्याल भूमिसुधार तथा व्यवस्थामन्त्रीको जिम्मेवारीमा छिन् । रामकुमारी चौधरी कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री छिन् । पाँचजना भए तीनपटक मन्त्री सुशीला थापा सुशीला थापा पञ्चायतकालकी चर्चित मन्त्री हुन् । १६ चैत ०३० मा पहिलोपटक सहायकमन्त्री बनेकी उनी १५ मंसिर ०३२ मा गठित डा। तुलसी गिरी नेतृत्वको सरकारमा राज्यमन्त्री हुँदै २६ फागुन ०४४ मा मरिचमानसिंह श्रेष्ठ नेतृत्वको सरकारमा क्याबिनेट मन्त्री बनिन् । सहाना प्रधान बहुदल आएपछि बनेको सरकारमा महिलाबाट पहिलो मन्त्री बनिन् सहाना प्रधान । ६ वैशाख ०४७ मा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा दोस्रो वरीयतासहित उद्योग तथा वाणिज्यमन्त्री भएकी थिइन् । त्यतिवेला संयुक्त वाममोर्चाबाट सरकारमा गएकी उनी २८ फागुन ०५३ मा लोकेन्द्रबहादुर चन्दको सरकारमा वन तथा भूसंरक्षणमन्त्री र दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद नेतृत्वको अन्तरिम सरकारमा एमालेबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाइन् । हिसिला यमी हाल नयाँ शक्तिकी नेतृ हिसिला यमी गिरिजाप्रसाद नेतृत्वको अन्तरिम सरकारमा भौतिक योजना तथा व्यवस्थामन्त्री बनिन् । माओवादीबाट सरकारमा जाने उनी नै पहिलो मन्त्री थिइन् । ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेकी यमीले ०६७ मा झलनाथ खनालको सरकारमा भूमिसुधार मन्त्रालय हाँकिन् । राधा ज्ञवाली ०६७ मा झलनाथ खनाल नेतृत्वकै सरकारमा राधा ज्ञवालीले एमालेबाट राज्यमन्त्रीको जिम्मेवारी पाइन् । तर, उनले अस्वीकार गरिन् । शपथ नै नलिई राजीनामा दिइन् । ०६८ डा। बाबुराम भट्टराई नेतृत्वको सरकार पुनर्गठन हुँदा ०६९ मा उर्जामन्त्री बनेकी उनी ०७० मा सुशील कोइरालाको सरकारमा पुनः ऊर्जा मन्त्रालयकै नेतृत्वमा पुगिन् । कमला पन्त ०५५ मा गिरिजाप्रसाद नेतृत्वको सरकारमा पहिलोपटक सहायकमन्त्री बनेकी कमला पन्त ०५६ मा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा पनि अटाइन् । महिला तथा समाजकल्याण राज्यमन्त्रीको जिम्मेवारी पाइन् । ६ वैशाख ०५७ मा पुनर्गठित गिरिजाप्रसाद नेतृत्वको सरकारमा पुनः राज्यमन्त्री बनिन् । १० जना बने दुईपटक मन्त्री पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्यदेखि जनजातिबाट पहिलोपटक मन्त्री बनेकी सरस्वती राई, कांग्रेसकी तत्कालीन उपसभामुख चित्रलेखा यादव र माओवादी नेतृ पम्फा भुसालसम्म दुईपटक मन्त्री भएका छन् । ०५५ मा उपप्रधानमन्त्री बनेकी आचार्य त्यसअघि ०४८ मा कृषिमन्त्री बनेकी थिइन् । एमालेकी अष्टलक्ष्मी शाक्य ०६१ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिलोपटक मन्त्री बनिन् । त्यतिवेला महिला, बालबालिका मन्त्रालयको जिम्मा पाएकी उनी ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा उद्योगमन्त्री बनिन् । चित्रलेखा दोस्रो जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद नेतृत्वको मन्त्रिपरिषद् हेरफेर हुँदा ८ जेठ ०६३ मा पहिलोपटक मन्त्री बनेकी हुन् । ०७० मा सुशील कोइरालाको सरकारमा उनी शिक्षामन्त्री बनिन् । दुईपटक मन्त्री बन्ने अर्की महिला हुन्, उर्मिला अर्याल । उनी पनि तत्कालीन एमालेबाट ८ जेठ ०७३ मै महिला, बालबालिका राज्यमन्त्री बनेकी हुन् । ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकासमन्त्री भइन् । फोरमकी रेणुकुमारी यादव २८ जेठ ०६० मा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा महिला, बालबालिकामन्त्री र ०६५ मा प्रचण्ड सरकारमा शिक्षामन्त्री बनिन् । कांग्रेसकै मीना पाण्डे ०५४ मा सूर्यबहादुर थापा नेत्तृत्वको सरकार तेस्रोपटक हेरफेर हुँदा पहिलोपटक राज्यमन्त्री बनिन् । ०५५ मा गिरिजाप्रसादको सरकारमा पुनः राज्यमन्त्रीकै अवसर पाइन् । यस्तै, नेकपा नेतृ पम्फा भुसाल तत्कालीन माओवादीबाट पहिलोपटक ०६५ मा प्रचण्ड सरकारमा मन्त्री बनिन् । दोस्रोपटक मन्त्री हुने अवसर झलनाथ खनालको सरकार ०६८ मा पुनर्गठन हुँदा मिल्यो । यतिवेला शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् । राप्रपाकी कुन्तीकुमारी शाही पनि दुईपटक मन्त्री बनेकी छिन् । ०७२ मा केपी ओली नेतृत्वको सरकारमा पहिलोपटक राज्यमन्त्री बनेकी थिइन् । २४ जेठ ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पुनः राज्यमन्त्री बनिन् । जसले एकपटक मौका पाए एकपटक मन्त्री बन्नेमा कांग्रेस नेतृ सुजाता कोइराला र पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीलगायत धेरै छन् । कल्पना विष्ट पञ्चायतकालकी मन्त्री हुन् । ०३६ मा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा शिक्षा सहायकमन्त्री थिइन् । यही सरकार पुनर्गठन हुँदा ०३८ मा भद्रकुमारी घले श्रम तथा सामाजिक राज्यमन्त्री बनिन् । ०४० मा लोकन्द्रबहादुर चन्द सरकारमा विद्यादेवी देवकोटा स्वास्थ्य सहायकमन्त्रीकी रूपमा मन्त्रिपरिषद्मा अटाइन् । यस्तै ०४३ मा मरिचमानसिंह श्रेष्ठ नेतृत्वको सरकारमा चन्दा शाह आवास सहायकमन्त्री बनिन् । यस्तै कांग्रेसकी लीला कोइराला ०५२ मा शेरबहादुर देउवाको सरकारमा महिला तथा समाजकल्याणमन्त्री बनिन् । कांग्रेसकै सुशीला स्वाँर ०५८ मा देउवा नेतृत्वकै सरकारमा महिला, बालबालिका राज्यमन्त्री तथा साबित्री बोगटी भौतिक योजना तथा निर्माण सहायकमन्त्री भइन् । यस्तै माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला तत्कालीन राजा ज्ञानेन्द्रको १८ असोज ०५९ को कदमपछि बनेको लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा महिला, बालबालिका सहायकमन्त्री बनिन् । अहिले उनी प्रदेश ३ की प्रमुख छिन् । राप्रपाकी प्रतिभा राणा ०६१ मा ज्वाइँ शेरबहादुर देउवा नेतृत्वको सरकारमा विज्ञान तथा प्रविधि राज्यमन्त्री भएकी थिइन् । यही सरकारमा भीमकुमारी बुढामगर पर्यटन सहायकमन्त्री बनिन् । दुर्गा श्रेष्ठ राजा ज्ञानेन्द्रले आफ्नै अध्यक्षतामा बनाएको मन्त्रिमण्डलकी एक मात्र क्याबिनेट मन्त्री हुन् । महिला तथा समाजकल्याण मन्त्रालयको जिम्मा थियो । उक्त मन्त्रिमण्डल हेरफेर हुँदा ३० असार ०६२ मा याङकिला शेर्पा स्वास्थ्य राज्यमन्त्री बनिन् । यस्तै २२ मंसिरमा दोस्रोपटक पुनर्गठन हुँदा डा। दुर्गा पोखरेल पनि महिला, बालबालिका राज्यमन्त्रीकी रूपमा मन्त्रिमण्डलमा अटाइन् । यही वेला रोशना कार्की पनि स्थानीय विकास सहायकमन्त्री बनिन् । फोरम लोकतान्त्रिककी करिमा वेगम ०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री बनिन् । कलावतीदेवी दुसाध र चन्दा चौधरी पनि सहायकमन्त्री बने । जयपुरी घर्ती ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा महिला, बालबालिकामन्त्री बनिन् भने यही सरकारमा भगवती चौधरी पनि वन राज्यमन्त्रीकी रूपमा अटाइन् । माओवादीकी देवी खड्काले भौतिक योजना राज्यमन्त्रीको जिम्मेवारी पाइन् । धर्मशीला चापागाईं पनि स्वास्थ्य राज्यमन्त्री बनिन् । ०६८ मा खनालको सरकार पुनर्गठन हुँदा ओनसरी घर्ती युवा तथा खेलकुदमन्त्री बनिन् । उनी देशकै पहिलो महिला सभामुख पनि हुन् । ०६८ मा बाबुराम भट्टराई नेतृत्वको सरकार चौथोपटक हेरफेर हुँदा फोरमकी सरिता गिरी श्रम तथा यातायातमन्त्री बनिन् । त्यसैवेला माओवादीकी कल्पना धमला विज्ञान तथा प्रविधिमन्त्री तथा सत्या पहाडी शान्ति तथा पुनर्निर्माणमन्त्री भए । लीला भण्डारीलाई बाबुरामले शिक्षा राज्यमन्त्री बनाए । ज्वाला साह भूमिसुधार राज्यमन्त्री, सुषमा शर्मा संघीय मामिला राज्यमन्त्री, सुनिताकुमारी महतो सामान्य प्रशासन राज्यमन्त्री, दुर्गादेवी महतो दुर्गादेवी महतो ९धानुक० वातावरण राज्यमन्त्री, काशीदेवी झा कानुन तथा न्याय राज्यमन्त्री र रमणी राम सिँचाइ राज्यमन्त्री बनिन् । पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा ०६९ मा गठित सरकारमा महिला, बालबालिका तथा समाजकल्याण र भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी ऋद्धिबाबा प्रधानले पाइन् । यस्तै ०७० को सुशील कोइराला नेतृत्वको सरकारमा नीलम केसी ९खड्का० महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बनिन् । शान्ता मानवी ०७२ मा केपी ओली नेतृत्वको सरकारमा पशुपक्षी विकासमन्त्री, रेखा शर्मा सामान्य प्रशासनमन्त्री, नरदेवी पुनमगर पशुपक्षी विकास राज्यमन्त्री र मञ्जुकुमारी चौधरी सहरी विकास राज्यमन्त्री भए । यसैगरी २० साउन ०७३ मा प्रचण्ड नेतृत्वको सरकार तेस्रोपटक हेरफेर हुँदा कांग्रेसकी सीतादेवी यादव शान्ति तथा पुनर्निर्माणमन्त्री बनिन् । २४ जेठ ०७४ मा देउवा सरकारमा अम्बिका बस्नेत सहकारी तथा गरिबी निवारणमन्त्री भइन् भने आशा कोइराला महिला, बालबालिकामन्त्री बनिन् । मिथिला चौधरी जनसंख्या तथा वातावरणमन्त्री बन्दा गोमा कुँवर विनाविभागीय राज्यमन्त्री थिइन् । यही जम्बो सरकारमा सीता गुरुङ पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीकी रूपमा अटाइन् । यस्तै, सरिता प्रसाईं कृषि विकास राज्यमन्त्री, चम्पादेवी खड्का सहरी तथा गरिबी राज्यमन्त्री, सुमित्रा थरुनी पर्यटन राज्यमन्त्री, यशोदाकुमारी लामा भूमिसुधार राज्यमन्त्री, कमलादेवी शर्मा, वन राज्यमन्त्री र कान्ता भट्टराई महिला, बालबालिका राज्यमन्त्री बने । देउवा र बाबुराम कालमा सबैभन्दा धेरै ०७४ को शेरबहादुर देउवा र ०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा सबैभन्दा धेरै १२-१२ जना महिला मन्त्री नियुक्त भए । पहिलो कम्युनिस्ट सरकारमा महिला शून्य ०५१ सालमा तत्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा पहिलो कम्युनिस्ट सरकार बन्यो । तर, सरकारमा एकजना पनि महिला सहभागिता गराइएन । मन्त्रिपरिषद् १५ सदस्यीय थियो । नयाँ पत्रिकाबाट साभार
ट्रयाक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु
डडेल्धुरा, कार्तिक १७ । ट्रयाक्टर दुर्घटनामा डडेल्धुरामा वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको भागेश्वर गाउँपालिका-२, रुपालका वडा सदस्य ४२ वर्षीय भोजराज पनेरुको दुर्घटनामा परेर मृत्यु भएको हो । से १ त १००५ नम्बरको ट्रयाक्टर शुक्रबार राति रुपालीगाड खोलामा दुर्घटना हुँदा वडा सदस्य पनेरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।
बलात्कारीलाई जोगाउन गलत रिपोर्ट दिने २ चिकित्सकविरुद्ध मुद्धा
कठमाडौं, कार्तिक १७ । वर्षीया बालिकाको बलात्कारीलाई जोगाउन गलत मेडिकल रिपोर्ट दिने दुई जना डाक्टरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। धनुषामा बलात्कार घटनामा पीडित बालिकाको स्वास्थ्य परीक्षणबारे गलत प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पताल धनुषाका डा. भिके सिंह भनिने विजयकुमार सिंह र डा। रम्भा गोइतविरुद्ध अख्तियारले मद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार धनुषा जिल्लामा गत भदौ ४ मा १२ वर्षीया बालिका बलात्कार भएको घटनामा प्रहरीले अनुसन्धान क्रममा भदौ ९ मा जनकपुर अञ्चल अस्पतालमा पीति बालिकाको स्वास्थ्य परीक्षण गराउँदा डा. सिंह र गोइतले बलात्कार नभएको प्रतिवेदन दिएका थिए। त्यसपछि प्रतिवेदनमाथि शंका गर्दै भदौ २४ मा जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परीक्षण गराउँदा बलात्कार भएको पुष्टि भएको थियो। डा. सिंह र डा. गोइतले बलात्कारी जोगाउन गलत प्रतिवेदन दिएको भन्दै अख्तियारमा पीडितको उजुरी परेको थियो । आजको नागरिक दैनिकमा यो खबर छ ।
फेसबुक असुरक्षितः हजारौं प्राइभेट म्यासेज चोरी, एकाउन्ट बेच्न विज्ञापन !
एजेन्सी । सामाजिक सञ्जाल फेसबुक अहिले सबैको अनिवार्य बनेको छ । उठ्दाबस्दा अधिकांशको फेसबुक निकै अपरिहार्य भएको छ । तर, ह्याकरहरुले हजारौं फेसबुक प्रयोगकर्ताको एकाउन्ट ह्याक खबर सार्वजनिक भएको छ । ह्याकरले निजी सन्देश (प्राइभेट म्यासेज) प्रकाशित गरेका छन् । कम्तिमा ८१ हजार भन्दा बढी फेसबुक प्रयोगकर्ताका म्यासेजहरु उनीहरुले सर्वाजनिक गरेका हुन् । यसमा संलग्नहरुले बिबिसीको रुसी सेवालाई आफूहरुसँग १२० मिलियन फेसबुक एकाउन्टको विस्तृत जानकारी रहेको बताएका छन् । उनीहरुले त्यो जानकारी बेच्ने प्रयास गरेका छन् । फेसबुकले प्रयोगकर्ताको गोपनियतामा कुनै पनि किसिमको सम्झौता नगरिने बताएको छ । थप एकाउन्ट प्रभावित नहुन भनेर आफूहरुले सुरक्षात्मक उपाय अपनाएको फेसबुकले जनाएको छ । अहिले ह्याकरले चोरी गरेका जानकारीहरु विशेष गरी युक्रेन र रुसका प्रयोगकर्ताको छ । यस्तै बेलायत, अमेरिका, ब्राजिल र विश्वका अरु देशका प्रयोगकर्ताको जानकारी पनि उनीहरुसँग छ । ह्याकरले एउटा एकाउन्ट १० सेन्टमा बेच्ने प्रस्ताव गरेका थिए । उनीहरुले यसबारेको विज्ञापन अनलाइनमा प्रकाशित गरेका थिए । अहिले उनीहरुको विज्ञापन अफलाइन गरिएको छ । देशसञ्चारबाट
उर्जामन्त्री पुन अस्पताल भर्ना
काठमाडौं, कार्तिक १७ । उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ अस्पताल भर्ना भएका छन् । छाति दुख्ने समस्याका कारण मन्त्री पुन शुक्रबार राति काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनलाई अब्जरभेसनमा राख्नुपर्ने चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । मन्त्री पुनको उपचारमा डा. यादव भट्टलगायत संलग्न छन् ।
स्थापित ९ महिनामै भए विस्थापित !
काठमाडौं, कार्तिक १७ । प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित पदमुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले नौ महिनाअघि नियुक्त स्थापितलाई शुक्रबार दिउँसो बर्खास्त गरेका हुन्। संविधानको धारा १६९, उपधारा २ को खण्ड ‘ख’अनुसार स्थापितलाई पदबाट हटाएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए । मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मवारी आफैंले लिएका छन् । ‘मुख्यमन्त्रीको निर्देशनलाई पनि उहाँ (स्थापित) ले सधैं अटेर गर्नुभएपछि बाध्य भएर बर्खास्त गरिएको हो’, मुख्यमन्त्रीका स्वकीय सचिव पौडेलले भने, ‘सबैभन्दा बढी बजेट भएको मन्त्रालयको प्रगति शून्य छ ।’, यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
कर्मचारी र शिक्षकलाई सामजिक सञ्जालमा अंकुश
काठमाडौं, कार्तिक १७ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाईल फोन प्रयोगमा अंकुश लगाएको छ । मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत सामाजिक सञ्जाल र मोवाईल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन २०७५ मार्फत मन्त्रालयले फेसबुक, ट्वीटर, इमो, भाईबरजस्ता सामाजिक सञ्जाल आफुखुसी प्रयोग गर्न रोक लगाएको हो । कात्तिक १३ गतेदे स्वीकृत ६ बुँदे मार्गनिर्देशन तत्काल लागु हुने भनिएको छ, जसमा कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रुपमा खिचिएको धार्मिक स्थल, बाटो, तालतलैया वा भ्रमण गरिएका स्थानको तस्विरसमेत सामाजिक सञ्जालमा राख्न नपाईने उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ ।
राष्ट्रिय संकल्पसहित समृद्धिको यात्रामा समाहित हुन कांग्रेसलाई प्रचण्डको आग्रह
काठमाडौं, कार्तिक १६ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले देशमा शान्ति, स्थिरता र विकासले गति लिने आधार राष्ट्रिय एकताको आधार भएको बताएका छन् । नेपाली काँग्रेसद्वारा आज पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भने, “राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हिजो जति थियो आज पनि त्यति नै छ । यो देशमा जतिपनि ठूला ठूला राजनीतिक परिवर्तनहरु भएका छन् राष्ट्रिय एकताका आधारमा मात्र भएका छन् ।” राजनीतिक दल, बुद्धिजीवि र नागरिकहरुका बीचमा एकता नभईकन राजनीतिक स्थिरता र विकास जनताको भावना र आवश्यकता परिपूर्ती नहुने उहाँको धारणा थियो । अध्यक्ष प्रचण्डले अगाडि भने, “हामीले मिलेरै शान्ति प्रक्रियालाई एउटा टुंगोमा पुर्यायौं भलै समापन गर्न काम अझै बाँकी छ । हामीले मिलेरै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौं । हामीले मिलेर नै निर्वाचन गर्याैं । अब पनि हामी मिलेर नै फेरि संविधानको मर्म भावना अनुसार जनताको चाहाना अनुसार विकास र समृद्धिको एउटा नयाँ यात्रातिर जानुछ ।” विश्वेश्वर प्रसाद कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिको सन्दर्भ स्मरण गर्दै अध्यक्ष प्रचण्डले सात दलको तर्फबाट गिरिजाप्रसाद कोइराला र तत्कालिन नेकपा (माओवादी)का तर्फबाट आफूले हस्ताक्षर गर्दा पनि राष्ट्रिय एकताकै आधार मानिएको बताए । उनले भने, “राष्ट्रिय एकताको आधार मानिएकै कारण यो परिवर्तन सम्भव भयो यद्दपी परिवर्तन अझै राम्रो संस्थागत भईसकेको छैन ।” जनताले छिटोभन्दा छिटो समृद्धि चाहेका बताउनुहुँदै अध्यक्ष प्रचण्डले यो पनि राष्ट्रिय एकताद्वारा मात्रै सम्भव हुने बताए । “त्यसकारण यी पर्वहरुका सन्दर्भमा र चियापान आदानप्रदानका सन्दर्भमा ठण्डा दिमागले सोचेर राष्ट्रिय एकताकै माहौल बनाउने र राष्ट्रिय संकल्पसहित समृद्धिको यात्रामा जान नेपाली काँग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक र सम्पूर्ण जनसमुदायमा अपील गर्दै शुभकामना दिन चाहन्छु ।”
कीर्ते गरेको आरोपमा न्यायाधीशकी श्रीमति पक्राउ !
उदयपुर, कार्तिक १६ । नक्कली जन्मदर्ता गरेको आरोपमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमति ललिताकुमारी राउतलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर प्रहरीले अर्काको बच्चा आफ्नो हो भनी जन्म दर्ता गरेको उजुरी परेपछि ४४ वर्षीया राउतलाई सोमबार कटारीबाट पक्राउ गरेको हो। अर्कैको बच्चा आफ्नो हो भनी वडा कार्यालयमा दर्ता गरेपछि न्यायाधीश राउतका बुवाले आफ्नै बुहारीविरूद्ध प्रहरीमा उजुरी दिएका थिए । न्यायाधीश राउतले आफ्नो हस्ताक्षर कीर्ते गरेर ललिताले आफन्तको बच्चा आफूहरूको हो भन्दै जन्मदर्ता गरेको बताए । २०६१ सालमा विवाह गरेका प्रकाशमान र ललिताका सन्तान छैनन ।
निर्मला हत्याको १०० दिनसम्म हत्यारा खोज्न नसक्ने सरकार नालायक : गगन थापा
काठमाडौं, कार्तिक १६ । नेपाली कांग्रेस नेता तथा सांसद गगन थापाले निर्मला हत्याकाण्डको १०० दिन बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा निर्मला हत्याकाण्डमा सरकार गम्भीर नरहेको प्रतिक्रिया दिए । उनले सरकारले हत्यारा पत्ता लगाउन नसक्नु सरकारको नालायकी र अयोग्यता मात्र नभइ लज्जाको विषय रहेको बताए । सरकारको सबै संयन्त्रले सत्यतथ्य बाहिर ल्याउन नचाहेका कारण अहिलेसम्म हत्यारा पत्ता लाग्न नसकेको दाबी गरे । कुनै पनि घटनाको हत्यारा पत्ता लाग्नका लागि समय लाग्ने भएपनि यो घटनामा सरकारले हत्यारा बचाउन खोजेको विषयले आमनागरिकमा सरकारप्रतिको विश्वास र भरोसा हराउँदै गएको बताए ।

