चिसो छल्न दुई सय मिटर तल झर्छन् फू वासी
मनाङ, पुस ११ ।
मङ्सिरको दोस्रो हप्ता शुरु भएसँगै अधिकांश मनाङवासी जाडो छल्न जिल्लाबाहिर जाने गर्छन् ।
तर मनाङकै फू गाउँका मानिस गाउँदेखि २०० मिटर तल झरेर बसोवास गर्ने गरेका छन् । नेपालको दुर्गम जिल्लामध्ये ‘क’ वर्गमा पर्ने मनाङ जिल्ला त्यसमा पनि सबैभन्दा विकट गाउँ हो, फू गाउँ ।
करीब चार हजार १०० मिटर उचाइमा रहेको यस गाउँका मानिस कृषि पेशामा निर्भर छन् । पशुपालन र खेतीपाती यहाँको मुख्य पेशा हो । वरिपरि अग्ला हिमालले घेरिएको सुन्दर सानो बस्ती रहेको यस गाउँको जनसङ्ख्या करीब ३०० रहेको छ ।
हिउँदको समयमा अत्यधिक चिसो हुने र गाउँलाई हिउँले ढाक्ने हुँदा यहाँका मानिस जाडो छल्न गाउँबाट करीब चार-पाँच घण्टा लाग्ने क्याङमा आएर बस्दछन्। उनीहरू आफ्ना साना नानीबाबु पशुचौपाया लिएर यसै ठाउँमा बसोवास गरिरहेका हुन्छन् ।
“हुने खाने त शहर जान्छन् तर हामी खेती किसानी गर्ने यसरी नै जीवनयापन गरिरहेका छौं”, ७० वर्षका टसी फुञ्जो लामाले भने ।
“दिनभर दाउरा, घाँस, भेँडा च्याङ्ग्राको स्याहार सुसारमा लाग्दा चिसोको अनुभव नै हुँदैन”, राडीपाखी, काम्लो, बख्खु, दोचा बनाएर गोठमा रमाइरहेकी ६५ वर्षकी छोर्तेन लामाले भने, “खेतीपातीको समय छैन, जाडोको मौसममा हामी महिला यिनै भेँडाचौंरीको ऊन कात्ने र त्यसैबाट आफूहरूले लगाउने कपडा बनाउने काम गर्छौँ ।”
ऊनबाट आफ्नै हातले बुनेका बख्खु दोचाले हिमालको चिसो कटाउँदै आएका फू बासिन्दा जाडो याम सकिएपछि गाउँ फर्कने र खेतीपातीमा लाग्ने मिङ्मर लामाले बताए ।
अनौठो तर सुन्दर यो स्वर्ग जस्तो गाउँ दूरदराजमा लुकेर रहेको छ । मानिस पौरखी छन् । आफ्नै सीप र पौरखमा आत्मनिर्भर बनेको यो गाउँका मानिस गाउँमा विकासको पर्खाइमा छन् । रासस
आज अपरान्ह ४ बजे संसदको हिउँदे अधिवेशन, कर्मचारी समायोजन अध्यादेश प्रस्तुत हुने
काठमाडौं, संघीय संसदको हिउँदे अधिवेशन आज शुरु हुन गइरहेको छ । आज अपरान्ह ४ बजे संघीय संसदको भवन नयाँ वानेश्वरमा हुने बैठकको कार्यसूचिमा निकै विवादमा रहेको कर्मचारी समायोजनसम्बन्धी अध्यादेश पनि रहेको छ । पहिलो दिनको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अध्यादेश प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ । यसबाहेक आज नै बिभिन्न दलका सांसदहरुले मन्तव्य राख्ने तथा प्रशासकीय अदालत विधेयक सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूचि समेत रहेको छ । बैठकको शुरुमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने छ ।
संसदको हिउँदे अधिवेशन आजदेखि
काठमाडौँ, पुस ११ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे प्रारम्भ हुने गरी सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । संसद्को हिउँदे अधिवेशनका रुपमा रहने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिने गरिन्छ । संसद्को यो अधिवेशन विधेयकमाथि छलफल र पारित गर्ने विषयमा नै केन्द्रित रहने बताईको छ । आगामी फागुन २१ गते अर्थात (सङ्घीय संसद्को पहिलो बैठक बसेको एक वर्षभित्र) नेपालको संविधानसँग बाझिने कानून संशोधन गरेर संविधानसम्मत बनाई सक्नुपर्ने कार्यभार रहेको हुँदा यो अधिवेशन निकै महत्वपूर्ण रहने छ । प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिले हिउँदे अधिवेशनको पहिलो दिन बुधबार नै दुई वटा बैठक राख्ने सम्भावित कार्यसूची तय गरेको छ । पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख कृष्णबहादुर महराले पढेर सुनाउने भएका छन्उ । त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरूले मन्तव्य दिनेछन् । त्यसपछि सदनमा प्रशासकीय अदालत विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने संसद् सचिवालयले जनाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश २०७५ पेश गर्ने भएका छन् । प्रतिनिधिसभाको आजै बस्ने बुधबारको दोस्रो बैठकमा संसद्का पूर्वसदस्य चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधार र मोतिदेवी चौधरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गरी पारित गरिने सम्भावित कार्यसूची तय गरिएको बताइएको छ । त्यस्तै राष्ट्रियसभामा भने राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन, विभिन्न राजनीतिक दलका नेताबाट शुभकामना मन्तव्य, कर्मचारी समायोजन अध्यादेश प्रस्तुत हुने र बैठकको अन्त्यमा पूर्वसांसद बाँस्तोला, तुलाधर र चौधरीको निधन भएकामा शोक प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची तय भएको बताइएको छ । रासस
नेपाल आइडल रवि ओडलाई ठूलो शोक, करेन्ट लागेर आमाको मृत्यु
कैलाली, पुष ११ । दोस्रो नेपाल आइडलका विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल धनगढी पुर्याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए । कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यवस्तताका कारण घर गएका थिएनन् । रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो । कर्मदिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना घटेको छ । आमालाई करेन्ट लागेको थाहा पाएपछि रविले चिकित्सकलाई फोन गरेर आफू अस्पताल आइरहेको र जसरी पनि आमालाई बचाइदिन आग्रह गरेका थिए । रवि ओड विभिन्न अभिनन्दन कार्यक्रमका लागि गृहजिल्लामै रहेका बेला घटना भएको हो। रविका तीन भाइ र दुई बहिनी छन्। जन्म दिने आमालाई पहिला नै गुमाएका रविसहित यी भाइबहिनी सबैलाई विष्नाले नै हुर्काएकी थिइन्। नेपाल आइडलको उपाधि जितेका रविले जितको खुसियाली मानाउँदै गर्दा उनको परिवारमा यो विपत्ति आएको छ। नेपालको पश्चिमी सीमामा अवस्थति कन्चनपुरको कृष्णपुर नगरपालिकास्थित टाउको निहुराएर छिर्न पनि मुस्किल पर्ने एउटा सानो टायलको झुपडीमा जन्मिएका थिए। २०५४ साल चैतमा टायलको त्यही सानो झुपडीमा जन्मिएका रवि बुवा राजेन्द्र र आमा उमा ओडका तेस्रो सन्तान हुन्। उमाको निधनपछि रविसहित सबै भाइबहिनीलाई विष्नाले नै हुर्काइन्। रविका बुवा राजेन्द्र अहिले पनि भारतमा पालेको काम गर्छन्, परिवार पाल्नका लागि । रविका हजुरबुवा पहाडी जिल्ला छामबाट बसाइँ सरेर कञ्चनपुर झरेका थिए। रविका हजुरबुवा र बुवा जीविका चलाउने गतिलो स्रोत खोज्दै अछामको साँफेबगर नगरपालिका (साविक बुढाकोट गाविस) बाट कञ्चनपुर झरेका थिए। गरिबीकै कारण उनका बुवा र हजुरबुवाले भारतमै ‘पाले’को काम गरेर दुई चार पैसा कमाउँदैछन्। रवि २०७० सालको संविधानसभा निर्वाचनमा म्यादी प्रहरी पनि बनेका थिए।
माओ दिवसमा मोहन वैद्यको कडा विज्ञप्ती, माओको बाटोमा अघि बढन जोड
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले माओले देखाएको बाटोमा निरन्तर अघि बढ्न आह्वान गरेका छन् । १२६ औं माओदिवसको अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै साम्राज्यवाद, विस्तारवाद तथा नवप्रतिक्रियावादमा पतन हुन पुगेको संशोधनवादका विरुद्ध निरन्तर संघर्ष जारी राख्न नेपाली सर्वहारा वर्ग, जनसमुदाय र संपूर्ण सुभेच्छुकहरुमा अपिलसमेत् गरेका छन् । २६ डिसेम्बर ‘आज विश्वका विभिन्न देश र नेपालमा पनि १२६ औं माओदिवस मनाउने काम भइरहेको’ भन्दै महासचिव किरणले ‘माओ विश्व–सर्वहारा वर्ग र उत्पीडित जनसमुदायका एक महान् नेता तथा सुयोग्य शिक्षक हुनुहुन्थ्यो’ भनेका छन् । सर्वहारा वर्गका एक महान् नेताको व्यक्तित्व र योगदानको स्मरणको यस महत्वपूर्ण ‘ऐतिहासिक अवसरमा विश्व तथा नेपाली सर्र्वहारा वर्ग, जनसमुदाय तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति हामी लाल सलाम अर्पण गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । युग परिवर्तनमा कमरेड माओको योगदानको चर्चा गर्दै विज्ञप्तिमा ‘मार्क्सवादका तीन संघटक अंग अर्थात् दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा माओले गरेका विकास सार्वभौम रहेको’ र यसले ‘सबैखाले प्रतिक्रियावाद, साम्राज्यवाद र संशोधनवादका विरुद्ध भीषण संघर्ष चलाउन’ विश्व सर्वहारा वर्गलाई निर्देशन र प्रेरणा दुवै दिइरहेको कुरामा जोड दिइएको छ । विज्ञप्तिमा माओले चीनको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक, भूअवस्थिति तथा आन्तरिक–बाह्य विशिष्टतामा तात्कालीन माक्र्सवाद अर्थात् ‘मार्क्सवाद–लेनिनवादलाई अर्को नयाँ उचाइमा विकसित तुल्याउनु भयो र त्यो माक्सर्वाद–लेनिनवाद–माओवादका रुपमा एक अखण्ड सिद्धान्त बन्न गयो’ भनिएको छ । साथै, ‘अहिले विश्व र नेपालमा पनि संशोधनवादले जबर्जस्त रुपमा टाउको उठाएको र त्यसको प्रतिक्रियावादमा पतन हुन पुगेको’ भन्दै नेपालको वर्तमान अवस्थामा ‘साम्राज्यवादी तथा विस्तारवादी उत्पीडन एवम् हस्तक्षेप बढ्दै गएको र त्यसलाई प्रतिक्रियावादमा पतन हुन पुगेको संशोधनवादले साथ दिइरहेकाले’ त्यसका विरुद्ध देशव्यापी संघर्ष उठाउनुपर्ने कुरामा जोड दिइएको छ । संशोधावादी प्रतिक्रियावादको जगजगी रहेको वर्तमान सन्दर्भलाई उजागर गर्दै विज्ञप्तिको अन्त्यमा भनिएको छ– ‘यो बेलामा संशोधनवादको धज्जी उडाउँदै दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद, साम्राज्यवाद तथा विस्तावादविरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद तथा साम्यवादतर्फ अगाडि बढ्नका लागि माओका अविस्मरणीय योगदानहरुको सम्मान गर्दै माओदिवस मनाउनुको विशेष ऐतिहासिक अर्थ र महत्व’ रहने छ । यसका लागि सिंगो पार्टी केन्द्रीय हेडक्वाटरको सन्देश र निर्देशनसहित महासचिव किरणद्वारा ‘म केन्द्रीय समितिको तर्फबाट सबै पार्टी कमरेडहरुसित विशेष उत्सवका रुपमा मओदिवस मनाउन र माओले देखाएको बाटोमा निरन्तर लागिरहन हार्दिक अनुरोध गर्दछु’ भनिएको छ ।
एउटै बोटवाट एक लाख रुपैंयाँ भन्दा बढीको एभोकाडो
धनकुटा । धनकुटाका एक कृषकले एउटै बोटवाट एक लाख रुपैंयाँ भन्दा बढीको एभोकाडो बेचेका छन् । धनकुटा नगरपालिका वडा नम्बर ४ स्कुल डाँडाका कृषक राजकुमार तामाङ्गको बारीमा लगाएको करिब २५ वर्षे पुरानो बोटमा एक लाख रुपैंयाँभन्दा बढिको एभोकाडो फलेको हो । उनको यस बोटमा करिब १० क्विन्टल भन्दा बढी एभोकाडो फलेको छ । अहिले कृषकले बारीमै प्रतिकिलो १ सय ५० रुपैंयाँभन्दा बढी पाउने गरेका छन् । यसरी यस बोटबाट करिब एक लाख पचास हजार रुपैंयाँ आम्दानी हुन्छ । गत बर्ष नै तामाङले यस बोटको फल एक लाख रुपैंयाँमा ठेक्का लगाएका थिए ।
आगलागीबाट रु चार लाखको क्षति
गलेश्वर, ११ पुस (रासस)ः अन्नपूर्ण गाउँपालिका– ६ तलेत्रमा गएराति क्रियापुत्री बसेको गोठमा आगलागी हुँदा रु चार बराबरको क्षति भएको छ । स्थानीयवासी पृथबहादुर बरुवालको निधन भएको आठौँ दिन क्रियापुत्री बसेको गोठमा आगलागी हुँदा गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ । खाना पोकाउँदै गर्दा परालमा आगो लागेपछि गोठ जलेको स्थानीयवासी सुरेन गुरुङले जानकारी दिनुभयो । घारखोला हाइड्रोपावरमा सुरक्षार्थ श्रीबक्स गुल्मका सैनिक, प्रहरी र गाउँलेको सहयोगमा आगो निभाइएको थियो । तीन लाख सहयोग ओमकुमारी शान्ति कोषलाई नेदरल्याण्डमा रहेका म्याग्दीवासीले रु तीन लाख सहयोग गरेका छन् । आर्थिक अभावका कारण उपचार गर्न नसक्नेलाई सहयोग गर्न नेदरल्याण्डमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था (मोना)का सदस्यले आजीवन सदस्यता लिए वापतको सो रकम बेनीमा कोषलाई हस्तान्तरण गरिएको हो । मोना आइसीसीका अध्यक्ष चक्रबहादुर थापा, मोना नेदरल्याण्डका अध्यक्ष जङ्गबहादुर पुन र उपाध्यक्ष सोम भण्डारीले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले रु एक करोड ५० लाखको अक्षय कोष स्थापना गरी त्यसबाट गरीब र विपन्नको उपचारमा सहयोग गर्दै आएको छ ।
मुख्यमन्त्री शाही भन्छन्, ‘कर्णालीलाई विश्वकै नमूना प्रदेश बनाउँछौं’
रुकुम, पुष १० । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई विश्वकै नमूना प्रदेश बनाउने गरि काम भइरहेको बताएका छन् । जिल्ला क्रिकेट संघ रुकुमले रुकुम पश्चिमको चौरजहारीमा आयोजना गरेको कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । प्रचुर सम्भावना हुँदाहुँदै पनि कर्णाली प्रदेश विकासमा पछाडि परेको अवस्थामा समृद्धिका लागि प्रदेश सरकार योजनाका साथ अगाडि बढिरहेको उनको भनाइ छ । ‘कर्णालीमा विकासको कति सम्भावना छ भनेर सबैलाई थाहा नै छ, उनले भने यहाँको सम्भावनालाई उपयोग गर्दै कर्णालीलाई विश्वकै नमुना बनाउँनका लागि हामी लागि परेका छौं ।’ यसै अनुसार बजेट तथा योजना निर्माण भइरहेको पनि उनले जानकारी गराए । साथै उनले नेपालको भाषा अनि संस्कृतिको इतिहास कर्णालीसँग जोडिएको बताए ।
कालिकोट आगलागीप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
काठमाडौं, पुष १० । राष्ट्रपति विद्यादेवी भण्डारीले कालीकोटमा भएको भीषण आगलागीको घटनाले आफूलाई अत्यन्त दुःखित तुल्याएको बताएकी छन् । उनले आगलागीबाट सयौं विस्थापित भएको, दर्जनौं घाइते बन्नुपरेको र ठूलो परिमाणमा अन्नपात तथा पशुधनको क्षति भएको उल्लेख गर्दै राहत तथा उद्धारमा थप तदारुकताका साथ लाग्न सम्बद्ध पक्षलाई आग्रह गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । यही पुस ८ गते आगलागी हुँदा कालीकोटका पताला गाउँमा ८८ घर नष्ट भएको थियो ।
वाणिज्य बैंकले भारतीय वित्तीय संस्थाबाट ऋण लिन पाउने
काठमाडौं, पुष १० । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पर्यटन, कृषि क्षेत्र र लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचनामार्फत कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरिएको जानकारी दिएको हो । भारतीय मुद्रामा ऋण लिँदा अन्य परिवत्र्य विदेशी मुद्रामा ऋण लिएको भए सो समेत गरी कूल आफ्नो प्राथमिक पूँजीको ५० प्रतिशतको सीमाभित्र रहनुपर्नेछ । तर वाणिज्य बैंकहरुले जलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जा, प्रसारण लाइन, सुरुङ मार्ग निर्माण, विमानस्थल, केवलकार, पुल जस्ता भौतिक पूर्वाधारका क्षेत्रमा भने त्यस्तो रकम ऋणमा दिन पाउने छैनन् । राष्ट्र बैंकले तोकेबमोजिमको पूँजी कोष कायम गरेका बैंकले त्यस्तो ऋण लिन सञ्चालक समितिबाट निर्णय भएको भने हुनुपर्ने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थालाई अन्तर्राष्ट्रियरुपमा वित्तीय कारोवार गर्न कुनै प्रकारको रोक तथा प्रतिबन्ध लागेको हुन नहुने, त्यस्तो ऋणको भुक्तानी न्यूनतम एक वर्ष र अधिकतम पाँच वर्षको हुनुपर्नेछ । राष्ट्र बैंकले स्वीकृति दिएमा त्यस्तो ऋणको नवीकरण भने हुनेछ । ऋणदताले लगाउने अन्य शुल्कसमेत गरी ऋणको अधिकतम ब्याजदरमा अधिकृतम एक प्रतिशतभन्दा बढी हुन नहुने गरी तय भएको हुनुपर्ने र ब्याजदरबाहेक अन्य कुनै शुल्क तथा कमिसन दिन नपाइने व्यवस्था गरिएको छ । त्यस्तो ऋणका लागि कुनै पनि प्रकारको धितो, जमानत, बैंक ग्यारेन्टी दिन पाइने छैन । ऋण लिन केन्द्रीय बैंकको स्वीकृति चाहिनेछ । ऋण रकम आएपछि अनिवार्यरुपमा राष्ट्र बैंकमा लेखाङ्कन गराउनुपर्नेछ । बैंक ऋण ल्याउँदा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको पूर्ण पालना भएको हुनुपर्ने विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले जानकारी दिए । रासस
सरकार अझै सशक्त रुपमा अघि बढ्छः प्रवक्ता श्रेष्ठ
पोखरा, पुष १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पार्टीको जारी स्थायी कमिटीको बैठकपछि पार्टी र सरकार अझै सशक्त रुपमा अघि बढ्ने बताएका छन् । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी एकिकरणपछिका बाँकी काम, पार्टी नेतृत्व र सरकारका गतिविधि लगायतमा बैठकमा गम्भीर छलफल भैरहेको बताए । साङ्गठनिक एकिकरणका बाँकी कामलाई सम्पन्न गर्दै पार्टीलाई अझै सशक्त बनाउने, पार्टी अध्यक्ष नेतृत्वको सरकारलाई प्रभावकारी बनाउने लगायतका विषयमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन सम्बन्धमा छलफल भैसकेको उनले जानकारी गराए । बैठकमा उठेका विषयमा दुवै अध्यक्षले कुरा राखिसकेपछि उपयुक्त निष्कर्ष तय गरिने उनले बताए । प्रवक्ता श्रेष्ठले समृद्ध नेपाल निर्माणका लागि स्वतन्त्र परराष्ट्र नीतिका आधारमा विदेशी राष्ट्रसँगको सम्बन्ध विस्तारका साथै दुवै छिमेकी राष्ट्रसँग समनिकटताका आधारमा अघि बढ्ने जानकारी दिए । उनले हालै सम्पन्न अन्तरप्रदेश समन्वय परिषद्को बैठकबाट केही महत्वपूर्ण सकारात्मक निर्णय गर्दै सङ्घीयता कार्यान्वयनलाई अघि बढाउन ठोस निर्णय गरिएको बताए । जन अपेक्षा अनुरुप सामाजिक न्यायसहितको समृद्धिका लागि सरकार कृयाशिल बनेको उनको भनाइ छ । रासस
मधेशका सबै समस्या समाधान गर्न सकारात्मक छुः प्रधानमन्त्री ओली
काठमाडौ, पुष १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका सबै प्रकारका समस्या समाधान गर्न आफू सकारात्मक रहेको बताएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) का नेतासँग मंगलबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘जनताले हामीलाई देश विकासको जिम्मा दिएका छन्, सानातिना कुरामा नअल्झी देश निर्माणमा लाग्नु पर्दछ । मधेशको सामाजिक विकास, समृद्धि र त्यहाँका सबै प्रकारका समस्या समाधान गर्न म सकारात्मक छु ।’ प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, राजपा र संघीय समाजवादी फोरमलाई राष्ट्रिय पार्टीको मान्यता दिएर जनताले देश निर्माणको जिम्मा दिएकाले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । उनले संविधान निर्माण र तीनै तहको निर्वाचन पछि कतिपय राजनीतिक दलहरुले विगतमा उठाएका विषयको म्याद सकिएको बताए । ‘अब हिजोकै विषयमा वादविवाद गरेर हुँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘नयाँ ढङ्गले सोचौं, नयाँ ढंगल अघि बढौं ।’ उनले राजपाले उठाएका मागमा आफू सकारात्मक भएको र तिनलाई चाँडो पूरा गर्न आफू प्रतिबद्ध रहेको बताएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। भेटमा राजपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत्सिंह भण्डारी, अनिल झा र राजकिशोर यादव सहभागी थिए ।
पाँच महिनामा ३ खर्ब ७ अर्ब राजश्व संकलन
काठमाडौं, पुष १० । चालू आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब सात अर्ब २३ करोड रुपैयाँ बराबरको राजश्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार सो अवधिमा कर तथा गैरकर राजश्वसमेत गरी उक्त परिमाणमा राजश्व संकलन भएको हो । प्रथम चौमासिकमा पूँजीगत खर्च भने १३ दशमलब ५० प्रतिशत मात्रै भएको छ । विकास निर्माणको काममा उल्लेख्य खर्च हुन नसकेको मन्त्रालयको समीक्षाले समेत देखाएको छ । यस्तै चालू खर्च भने १४ दशमलब शून्य पाँच प्रतिशत रहेको छ । यस्तै, वैदेशिक सहायतातर्फ प्रमथ पाँच महिनामा ऋणतर्फ रु ९३ अर्ब ६९ करोड र अनुदानतर्फ रु १८ अर्ब ४४ करोड गरी कूल रु एक खर्ब १२ अर्ब १३ करोड परिचालन भएको छ । सरकारले हालसम्म आन्तरिक ऋण परिचालन गरेको छैन । अर्थ मन्त्रालयका अनुसार सोमबार सम्पन्न समीक्षा बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले पूँजीगत खर्च बढाउनुपर्नेमा जोड दिएका थिए । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रालय र मातहतका निकायबाट सम्पादन हुने कार्यलाई अझ बढी प्रभावकारी, गुणस्तरीय तथा मापनयोग्य बनाउन जोड दिएका थिए । बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मासिक रुपमा प्रगति समीक्षा गर्ने, नयाँ तर्जुमा गर्नुपर्ने र संशोधन गर्नुपर्ने कानूनको कार्य शीघ्र अघि बढाउने, पूँजीगत खर्चमा जोड दिने तथा बजार अनुगमनलाई तीव्रता दिन निर्देशन दिए ।
कृषिका १३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा, को–को परे फन्दामा ?
काठमाडौ, पुष १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय, दैलेखका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा. नरहरिप्रसाद घिमिरेसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुमाथि कृषि बीउ तथा बिजन वितरणमा अनियमितता गरेको, कृषि सामग्री खरीद नै नगरी खरीद गरेको देखाई ढुवानीसमेत गरेको नक्कली बिल भरपाई बनाई भ्रष्टाचार गरेको अभियोग लागेको छ । उक्त बिल भरपाई सदर गरी भुक्तानी लिनेदिने कार्य गरी प्राप्त नभएको सामान आम्दानी बाँधी खर्च देखाई, उक्त बीउ खरीद गर्ने र प्रयोग गर्ने प्रयोजनलाई कार्यालयका कर्मचारी तथा ठेकेदारसँग मिलेर भ्रष्टाचार गरेको पाइएकाले उहाँहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले तत्कालीन कार्यालय प्रमुख डा घिमिरे रु १० लाख ५० हजार ९६१, वाग्वानी विकास अधिकृत सूर्यनाथ योगीविरुद्ध रु १८ लाख ३६ हजार ४००, कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर थापा रु १० लाख तीन हजार २६३, लेखा अधिकृत ढालबहादुर हमाल रु १२ लाख ४६ हजार ४८१, प्राविधिक सहायक गमानसिंह थापा रु दुई लाख २४ हजार ४३१, वाग्वानी विकास अधिकृत भुवनबहादुर मल्ल र नायब सुब्बा नमराज थापाले रु आठ लाख १२ हजार १७८ भ्रष्टाचार गरेको अभियोग लगाएको छ । यस्तै लेखापाल रामकुमार शाह रु १६ लाख ९१ हजार ७१७, प्राविधिक सहायक मिमबहादुर शाही रु एक लाख ७५ हजार २६२, नायब प्राविधिक सहायक रङ्गबहादुर वपाल रु ३९ हजार ४५०, प्राविधिक सहायक पूर्णबहादुर थापा, सबइञ्जिनीयर रामप्रसाद शर्मा रु १० लाख २७ हजार ४०२ र ताजा तरकारी उत्पादन समूह दैलेखका अध्यक्ष प्रेमबहादुर शाहीलाई रु २२ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग आयोगले लगाएको छ । उनीहरुविरुद्ध बिगो असुल गरी कैद सजायको समेत माग गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । रासस
भाेलि नेकपाको बैठक बस्दै, वामदेवका सुझावलाई मूल्यवान् सम्पत्तिका रुपमा सुरक्षित गरिने
काठमाडौं, पुष १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका ४६ सदस्यले पार्टी र सरकार सञ्चालनबारे राखेका सुझावलाई समेटेर बुधबार बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिउत्तर दिने बताएका छन् । गत मंसिर २९ गतेदेखि शुरु भएको उक्त बैठक अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ४६ सदस्यले विचार राखेका थिए । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भएगरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसंगठनको एकतालगायत विषय समावेश गरिएका छन् । दुई अध्यक्षले प्रतिउत्तर दिएपछि ती राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गर्ने कार्यक्रम रहेको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । बैठकमा पार्टी र सरकारका कार्य सम्पादनका बारेमा नेताहरुले मिस्रित धारणा राखेका थिए । अधिकांश नेताले पार्टी र सरकारमाथि विभिन्न शक्तिबाट आक्रमण भइरहेको अहिलेको समयमा आन्तरिक एकता सुदृढ गरेर जानुपर्नेमा सुझाव दिएको नेता श्रेष्ठले जानकारी दिए। बैठकका क्रममा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पूरक प्रतिवेदन पेश गरेकोमा उक्त प्रतिवेदनमा भएका सुझावलाई पार्टीको मूल्यवान् सम्पत्तिका रुपमा सुरक्षित गरिने बताइएको छ । रासस
हावामा उड्ने र वास्तविकतालाई कुल्चेर कुद्ने अवस्थाको अन्त्य गर्नुपर्छः मन्त्री अधिकारी
काठमाडौं, पुष १० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अबको दुई वर्षभित्रमा नेपाल वायु सेवा निगमलाई साझेदारको व्यवस्थासहित सबैले आशा जगाउने गरी ठीक बाटोमा हिँडाउने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा सार्वजनिक लेखा समिति मातहतको उपसमितिको आजको बैठकमा वाइड बडी खरीदका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै उनले आगामी दुई महिनामा निगमका विमानले जापानसम्म उडान भर्ने जानकारी दिए । आफूले मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै महालेखा परीक्षकसँगको मौखिक परामर्शपछि विकल्प नभएका कारण विमान खरीदका लागि थप निकासा दिन अनुमति दिएको बताउँदै मन्त्री अधिकारीले भने, ‘जहाँ गल्ती भएको छ, त्यो पत्ता लगाएर त्यसमा संलग्नलाई कारवाहीको दायरामा ल्याइनेछ ।’ मन्त्री अधिकारीले भने, ‘हावामा उड्ने र वास्तविकतालाई कुल्चेर कुद्ने अवस्थाको अन्त्य गर्नुपर्छ, समितिले दिने निर्देशनलाई गम्भीरताका साथ लिएर अघि बढ्न मन्त्रालय तत्पर छ ।’ जहाज बिग्रेको अवस्थामा बाहेक निगमका उडान ठीक समयमा हुने व्यवस्था मिलाइएको जानकारी गराउँदै उनले निःशुल्करुपमा निगम कसैलाई पनि उपलब्ध नहुने व्यवस्थालाई कडाइ गरिएकाले एक वर्षभित्रमा आम्दानी र खर्चको सन्तुलन हुने दाबी गरे । मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले निगमलाई अघि बढाउने सन्दर्भमा सकेसम्म सुधारका कार्यक्रमसहित रणनीतिक साझेदारको खोजी भइरहेको जानकारी दिए । सो अवसरमा निगम मातहतका विभिन्न विभागका प्रमुखले वाइड बडी जहाज खरीदमा अनियमित र घोटला नभएको भन्दै बचाउको प्रयास गरेको थियो । यसअघि बैठकमा सदस्यहरुले हालसम्म भएका विभिन्न अनुसन्धानले विमान खरीदमा घोटला संकेत गरेको बताउँदै महालेखा परीक्षकको कार्यालयले जहाज खरीद प्रक्रिया सार्वजनिक खरीद ऐन विपरीत रहेको किटान गरेपछि थप निकासा किन भयो भनी जिज्ञासा राखेको थियो । उनीहरुले पहिले खरीद गर्ने भनी प्रस्ताव गरिएको वजनभन्दा कम तौल र क्षमताको जहाज खरीद गरिएको तथा सिधै कम्पनीबाट खरीद नगरी एक हजार घण्टा उडान भरेको विमान किन खरीद गरिएको भनी प्रश्न गरेको थियो । संयोजक राजनकुमार केसी संयोजक रहनुभएको उक्त उपसमितिले वाइड बडी विमान खरीदका सम्बन्धमा उठेको प्रश्नका बारेमा छानबिन गरिरहेको छ । रासस

