खटाएको ठाउँमा जान नमान्ने कर्मचारीलाई विदा गर्नुपर्छः अध्यक्ष प्रचण्ड

काभ्रे, पुस १३ । नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्र सेवक कर्मचारीहरू ऐन र कानुनले निर्देशित गरे अनुसार खटाइएको ठाउँमा जानुपर्ने बताएका छन् ।

काभ्रेको चौरी देउराली गाउँपालिका वार्ड नम्बर- २ स्थित खाँडादेवी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहमा प्रमुख अतिथिको रूपमा बोल्ने क्रममा अध्यक्षले संघीयतामा देश जाने भनेको राज्यको शक्ति विकेन्द्रित भएर जनाताको घर दैलोमा जाओस भनेर नै भएकाले राज्यका सम्पूर्ण संयन्त्रले यसमा हातेमालो गर्नुपर्ने समेत बताएका हुन् ।

राष्ट्रसेवक कर्मचारीहरू स्थायी सरकारका रूपमा रहने भएकाले उनीहरूले ऐनले निर्देशित गरे बमोजिम खटाइएको ठाउँमा गएर संघीयता कार्यान्वयनमा भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

कर्मचारी समायोजन सम्बन्धी कानुन बन्न केही ढिला हुन पुगेको स्वीकार गर्दै अध्याक्ष प्रचण्डले अब यस प्रक्रियाले गति लिने समेत बताए । प्रचण्डले यसरी खताइएको ठाउँमा नजाने कर्मचारीहरूलाई सरकारले विदा गर्नु पर्ने समेत बताए ।

देश नयाँ व्यवस्थामा प्रवेश गरेकाले अब पहिले जस्तै सबै शक्ति एकै केन्द्रमा केन्द्रित हुने र जनताको हैसियत रैतीको जस्तै हुने अवस्था अब नरहेको र अब राज्यको शक्ति गाउँगाउँमा पुग्ने पर्ने र यसका निम्ति कानुन बनाइदै गरेको समेत बताए ।

पार्टी केन्द्रिय कमिटीको बैठकबारे बोल्दै प्रचण्डले अब पार्टी एकीकरण चाडै टुङ्गोमा लाग्ने समेत बताए । अध्यक्ष प्रचण्डले काँग्रेस महासमितिको बैठक समेत निकै सौहार्द्रपूर्ण र लोकतान्त्रिक ढङ्गले टुंगिएकोमा आफू निकै हर्षित भएको समेत बताए । शान्ति प्रक्रिया र संविधान निर्माणको महत्वपूर्ण साझेदार दलभित्रको कलह देशका लागि राम्रो नभएको समेत प्रचण्डको मत थियो ।

संविधान कार्यान्वयनका लागि आवश्यक हुने सम्पूर्ण ऐन कानूनहरू निर्माण भैसकको या निर्माणको क्रममा रहेकाले अब मौलिक हक कार्यान्वयनमा सहज हुने समेत बताए ।

अध्यक्ष प्रचण्डले शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता मौलिक हकहरू संविधानमै सुनिश्चित गरिएकाले यदि यी हकहरू प्राप्त नभएमा जनताले राज्य विरुद्ध अदालतको ढोका ढकढकाउन सक्ने समेत बताए ।

कानून कार्यान्वयन गर्न जनताको चेतानास्तर बढाउनुपर्छः राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

काठमाडौं, पुस १३ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संविधान र ऐनमा भएको व्यवस्थालाई पूर्ण कार्यान्वयन गर्न जनताको चेतना स्तरमा बृद्धि हुन जरुरी रहेको बताएका छन् । समावेशी फाउण्डेशनले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले लामो संघर्षपछि संविधानसभाबाट निमार्ण भएको संविधानले दलितलगायत सबै समुदायलाई पर्याप्त अधिकार दिएको जानकारी दिए । ‘संविधान र त्यसअनुसार बनेका मौलिक र अन्य कानुनले जनतालाई पर्याप्त अधिकार दिएको छ,’ उनले भने, ‘संविधान र ऐनको पूर्ण कार्यन्वयन गर्न जनतालाई ती अधिकारबारे पर्याप्त जानकारी गराउन जरुरी छ ।’ त्यसैगरी अध्यक्ष तिमिल्सिनाले संसदले थुप्रै नयाँ विशेषता सहितका मौलिक हकसम्बन्धी कानुन निमार्ण गरिसकेको बताउँदै अब बन्ने ऐन कार्यन्वयन गर्न देशको क्षमता बृद्धि आवश्यक रहेको धारणा राखे । उनले निश्चित समयभित्र मौलिक हकसम्बन्धी कानुन निमार्ण गर्नुपर्ने भएकाले संसदमा पर्याप्त छलफल हुन नसकेको स्वीकार गरे । ‘आगामी दिनमा संसदले पर्याप्त छलफलमार्फत कानुन निमार्ण तथा समयअनुसार परिमार्जन गर्नेछ,’ उनले भने । दलित समुदायका सांसद तथा अधिकारकर्मी सहभागी संविधानको मौलिक हक कार्यान्वयनका लागि सरकराले ल्याएको विधेयकहरुमा दलित तथा सिमान्तकृत समुदायको सुझाव र संशोधन प्रस्तावको समिक्षात्मक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभाका उपसचिव उदवीर नेपालीले एक कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै, सांसदलगायत अन्य सहभागीले त्यसबारे सुझाव र धारणा पेश गरेका थिए ।

फरार अभियुक्त जेल चलान

धरान, पुस १३ । दश महिनाअघि हाड नाता पर्ने एक किशोरी बलात्कार गरी फरार रहेका धरान–५ साउनेका झमकबहादुर बस्नेत अदालतमा हाजिर भएका छन् । पुस १० गते अदालतमा हाजिर भएपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्न क्षेत्रीय कारागार कार्यालय झुम्का पठाइएको छ । दश महीना अगाडि हाडनाता पर्ने किशोरीलाई पटक–पटक बलात्कार गरेको भन्दै पीडितका परिवारले गत असार ८ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए । उजुरी लगत्तै उनी फरार रहेका थिए । गत फागुन २५ गते ती किशोरीलाई उनले बलात्कार गरेको उजुरीमा उल्लेख थियो । अदालतको आदेशमा पुर्पक्षका लागि पुस १० गते नै कारागार चलान गरिएको इप्रका धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । रासस

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक

काठमाडौँ, पुस १३ । राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उनकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा गए राति १ बजे निधन भएको छ । उनी विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेह रोगको नियमित उपचारमा रहेका थिए । केही दिनयतादेखि अलि असहज महसुस गर्दै आएका राई गए र शौचालयबाट फर्केर सुतेलगत्तै निधन भएको व्याकुल माइलाले बताए । विसं २००४ साल असोजमा जन्मेका स्वर्गीय राई २० वर्षसम्म अध्यापन गरेर सेवा निवृत्त पछि सामाजिक सेवामा संलग्न रहेका थिए । आर्दश र निष्ठावान व्यक्तिका धनी तथा सामाजिक जीवनमा सधैँ समर्पित स्व राई गाविस अध्यक्ष तथा ओखलढुङ्गा जिल्ला विकास समितिको सदस्यसमेत भएका थिए । पिताको निधनको खबर सुनेलगत्तै ललितपुर तिखिदेवलमा बस्दै आएका व्याकुल माइला र उहाँकी धर्मपत्नी नानुकला राई शुक्रबार बिहानै ओखलढुङ्गातर्फ गएका छन् । स्व राईको जातीय परम्पराअनुसार आजै ओखलढुङ्गामा अन्तिम संस्कार गरिने जनाइएको छ । स्व राईका दुई श्रीमती र व्याकुल माइलासहित तीन छोरा रहेका छन् । रासस

देउसी–भैलोबाट स‌ंकलन भएको रकमबाट सिसी क्यामेरा जडान

रुपन्देही,  पुस १३ । स्थानीयवासीको अगुवाइमा बुटवलमा सिसी क्यामरा जडान गरिएको छ । प्रगति टोल विकास संस्था, प्रगति आमा समूह र प्रगति टोल युवा परिवारले तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकमबाट बुटवल उपमहानगरपालिकाको वडा नं ६ र ८ का अस्पताल अगाडिको भुडकीचोकदेखि हिलपार्क जाने पुलसम्म आठ सिसी क्यामरा जडान गरेका हुन् । ती क्यामराको निगरानी सुख्खानगरस्थित प्रहरी चौकीले गर्ने छ । सडक दुर्घटना र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर जडान गरिएको क्यामरा बिहीबारबाटै सञ्चालनमा आएको टोल विकास संस्थाका उपाध्यक्ष नवराज चापागाईंले जानकारी दिए । रासस

द्वन्द्वपीडितलाई पुनःस्थापना गर्छौँ : मुख्यमन्त्री

सुर्खेत, पुस १३ । बाँफिकोट गाउँपालिका–२ रुुकम पश्चिमका ६५ वर्षीय मङ्गली खत्रीलगायत दर्जन बढी द्वन्द्वपीडित महिला बिहीबार पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगे । महिला पुनःस्थापन केन्द्र (ओरेक) संस्थाद्वारा आयोजित ‘द्वन्द्व प्रभावित महिलाहरुको सामाजिक न्याय र परिपूरणका लागि प्रदेशस्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम’ मा सहभागी हुन मङ्गलीसहित १९ जना महिला त्यहाँ पुगेका थिए । कार्यक्रममा उनीहरुले आफ्ना पीडा, आक्रोश र गुनासा प्रकट गरे । त्रिवेणी गाउँपालिका–३ रुकुम पश्चिमका ६४ वर्षीया कृष्णा ओलीले आफ्नो जेठो छोरो लालबहादुर ओलीलाई गुमाएको १९ वर्षसम्म कुनै न्याय नपाएको दुखेसो गरे । “सँगै युद्ध गरेकाहरु सरकारमा छन् तर हामी सन्तान नहुनाको पीडाले छट्पटाइरहन्छौँ”, उनले भने, “शहीद परिवारलाई न्याय गर्छौँ भन्नेहरुले आफ्नै लागि मात्र गरे ।” रुकुम बाँफिकोट–८की मनिषा केसीले भने अर्धशहीद जस्तो भएर बाँच्नुपर्नाको पीडा पोख्दै भने, “पहुँचवाला द्वन्द्वपीडितले मात्र राहत र अन्य सेवासुविधा लिएका छन् । हामी त घर न घाटका भएका छौँ ।” सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक मुरारी खरेल, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा पुण्य रेग्मीको सहभागितामा भएको उक्त कार्यक्रममा गुनासो गर्नेहरू सबैले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग पनि उहाँकै कार्यकक्षमा भेटेर आफ्ना गुनासा सुनाए । मुख्यमन्त्री शाहीले द्वन्द्वका क्रममा घाइते भई हाल अर्कैको सहयोगमा बाँचेकालाई सुर्खेतमै पुनःस्थापन गरिने बताउँदै तिनको व्यवस्थापनका लागि सरकारको ध्यान गएको छ भने । “हिजोको घटनाले अहिलेसम्म पनि द्वन्द्वपीडित प्रभावित छन्”, उनले भने, “सबै समस्या एकैचोटी सम्बोधन हुन सक्दैन तर पनि राज्यले समाधानको उपाय खोज्नैपर्छ ।” मुख्यमन्त्री शाहीले अरुको सहयोगमा बाँच्न बाध्य द्वन्द्वपीडितका लागि पुनःस्थापन केन्द्र निर्माण गर्ने, घाइते तथा अपाङ्गता भएका व्यक्तिको क्षमताका आधारमा काम दिलाउने, सबै तथ्याङ्क सङ्कलन गर्ने र तिनको सहज जीवन यापनका लागि मनोविमर्शकर्ताको समेत व्यवस्था गर्ने सोच रहेको बताए । आयोजक संस्थाका अध्यक्ष डा रेणु अधिकारीले रुकुम पश्चिम पिपलबोटका ४२० महिलामा ८० प्रतिशत महिलामा लैङ्गिक हिंसा भएको र महिलाका पीडामा विगतका सरकार संवेदनशील नभएकामा यस प्रदेश सरकारले महिलालाई पीडाबाट मुक्त तुल्याउन विशेष संयन्त्र निर्माण गर्नुपर्दछ भने । “समस्या बुझेर आएकासँग आशा र विश्वास दुवै हुन्छ”, द्वन्द्वपीडित महिलाको नेतृत्व गर्दै आउनुभएकी मङ्गलीले भने, “तर तिनैले बगाएको रगतको अपमान गर्दा रिस पनि उठ्छ ।” द्वन्द्वपीडित महिलाले आफ्ना समस्या समधानका लागि मुख्यमन्त्री शाहीसमक्ष ११ बुँदे मागपत्र पनि बुझाएका थिए । उनीहरुले प्राणको आहुति दिएर नेता बनाउँदा र सरकारमा पुर्याउँदा पनि पीडितको पीडा नबुझेको भन्दै अबको सरकारले आफ्नो अभिभावक बनिदिन आग्रह गरेका थिए । रासस

मनाङमा १८ घन्टासम्म बाक्लो हिमपात परेपछि जनजीवन प्रभावित !

मनाङ, पुस १३ । चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसोदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङ गाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ । अन्य भूभागमा भने पातलो परेको हिउँ परेको छ । लामो समयसम्म आकाशमा आकाश बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने, “बिहीबार बिहानदेखि यहाँको मौसममा खराबी देखियो । हिमालको वरिपरि कालो बादल लागेको र हावाहुरी आउनाका साथै हिमपात भएर तापक्रम पनि माइनस २० डिग्री सेल्सियस पुगेको छ ।” हिजो दिउँसो करीब १ बजेबाट शुरु भएको हिमपात बिहान ७ बजे रोकिएको माथिल्लो मनाङका गोरे गुरुङले बताए । हिमपातले जनमानसमा कुनै असर भने नगरे पनि चिसो भने बढेको छ । अहिले भने हिमपात रोकिएको छ । झन्डै १८ निरन्तर हिमपात भएको थियो । जल तथा मौसमविद् बरुण गौडेलका अनुसार शुक्रबार दिनभर मौसममा बदली हुने, साँझपख पुनः हिमपात हुनसक्ने र शनिबारबाट मौसममा सुधार आउने सम्भाबना देखिन्छ । रासस

सुन बनाइदिने भन्दै ठगी गर्ने ६ भारतीय पक्राउ

भोजपुर – पूर्वी पौवादुम्मा गाउँपालिकामा सुन बनाइदिने भन्दै ठगी गर्ने ६ जना भारतीय नागरिक पक्राउ परेका छन् । गाउँमा सुन बनाइदिने भन्दै सक्कली सुन लिने नक्कली सुन दिँदै ठगी गर्ने ६ जना समूहमा रहेको भारतीय नागरिकलाई पौवादुम्मागाउँपालिका–४ बाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सुन पगाल्ने केमिकलसहित ठगी गर्ने ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पौवादुम्मा गाउँपालिका वडा नम्बर ४ वास्तिमकी २६ वर्षीया दिलमाया प्रधान, ३४ वर्षीया मेनुका प्रधान, ५६ वर्षीया बेनमाया प्रधानलाई गहना बनाई दिन्छु भन्दै झुक्याएर सुन लुकाएको र त्यसको साटो सुन जस्तो देखिने पहेंलो धातु नक्कली सुनको गरगहना दिएर ठगी गरी अन्यत्र जाँदै गरेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा नै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । ठगीमा संलग्न मोतिहारी, अंचल घोडासहन वडा नं १४ सरस्वती चौक विहार भारत बस्ने वर्ष ३१ का लवकुश साह, वर्ष २२ का जितेन्द्र साह, वर्ष १९ का श्रवणकुमार साह, वर्ष २२ का रविन्द्र साह, वर्ष १८ को रमेश कुमार र वर्ष ३६ का राकेश कुमार गरी ६ जनालाई पक्राउ गरिएको छ ।  

बिहानै टिपर पल्टिँदा एककाे मृत्यु

काठमाडौं, पुस १३ । काठमाडौंको बालाजु बाइपासमा आज बिहान माटो लोड भएको टिपर पल्टिदा एक जनाको मृत्यु भएको छ भने ४ वटा ट्याक्सीमा क्षति पुगेको छ । ना७ख ७००५ नम्बरको टिपर पल्टिँदा सडक किनारमा चिया बेच्दै गरेका धादिङका ७० वर्षीय दलबहादुर विसुङखे, उनकी ६५ वर्षीया श्रीमती सानुनानी र चिया पिउँदै गरेका नुवाकोटको ककनी गाउँपालिका ५ का ४८ वर्षीय प्रज्ञारत्न लामा उक्त टिपरमा रहेको माटोले पुरिएका थिए । विसुङखे दम्पत्तीलाई उद्धार गरि उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएकोमा दलबहादुरको उपचारको क्रममा केही समय अगाडी मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । लामाको ग्रिनसिटी अस्पताल धापासीमा उपचार भइरहेको छ । माटोले पुरिंदा बा१ज १९४१ नम्बरको ट्याक्सी पूर्ण रुपमा क्षति भएको छ । बा१ज ७१८३, बा२ज ४३५ र बा२ज १५५१ नम्बरको ट्याक्सीमा भने सामान्य क्षति पुगेको छ । गोलढुङाबाट माटो लिएर नयाँबसपार्कतर्फ आउँदै गरेको ना७ख ७००५ नम्बरको टिपर पल्टिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ठेलागाडा नजिक चिया खान बसेका ट्याक्सी चालक भने भागेर ज्यान जोगाउन सफल भएका छन् । दुर्घटनालगत्तै डोजरसहित स्थानीय प्रहरी उद्धारमा खटिएका थिए ।

२३ समूहसँग वार्ताः विप्लव भेटिएनन्, राउत खोजिएनन्

काठमाडौं, पुुष १३ । देशमा द्वन्द्वरत समूहलाई मूलधारमा ल्याउने कार्यादेश पाएको उच्चस्तरीय सरकारी वार्ता टोलीले चार महिनामा ४५ भूमिगत तथा अर्धभूमिगत समूहको पहिचान गरी २३ सँग वार्ता गरेको छ ।  तीन चरणको वार्तापछि २२ समूह शान्तिपूर्ण राजनीतिमा अवतरण हुन सहमत भएका छन् भने तीन समूहले राज्यलाई हतियार बुझाएका छन् । पटकपटक वार्तामा बसेर सहमतिमा पुगेको जनमुक्ति सेना नेपाल भने सम्झौता गर्ने वेला सम्पर्कमा आएन ।जनतान्त्रिक तराई मुक्ति मोर्चा विवेक समूह, जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूह र खुम्बुवान मुक्ति मोर्चा (संयुक्त) ले पेस्तोल, रिभल्वरलगायत ३३ थान हतियार बुझाएको वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेले बताए । उनीहरूले हतियारसँगै गोली गठ्ठा पनि बुझाएका छन् । अन्य केही समूह पनि हतियार बुझाउने तयारीमा रहेको पाण्डेले बताए । ‘हामीले खोजी गर्दा ४५ समूहको पहिचान भयो । यसमध्ये २६ समूह मात्र अस्तित्वमा रहेछन् । यीमध्ये २३ समूहसँग वार्ता भयो, २२ समूहले शान्ति–प्रक्रियामा अवतरण हुने प्रतिबद्धता जनाए,’ पाण्डले भने, ‘उनीहरूको अवस्था निकै कमजोर रहेछ । कुनै समूहका नेता जेल परेको, कुनै नेतालाई वारेन्ट जारी गरेको र कसैको सम्पत्ति रोक्का भएको पायौँ ।’ वार्ता टोलीले आफ्नै कार्यकक्षदेखि ललितपुरको गोदावरी तथा तराईका विराटनगर, राजविराज र वीरगन्जलगायत क्षेत्रमा ती समूहसँग वार्ता गरेको थियो । भूमिगत तथा अर्धभूमिगत समूहसँगको सहमतिमा टोलीले वार्तास्थल तय गरेको थियो । ८ भदौमा गठित कार्यदललाई दिइएको तीनमहिने म्याद ८ मंसिरमै सकिएको थियो । तर, समय अपुग भएको भन्दै थप समय मागेपछि १० पुससम्मका लागि थपिएको थियो । वार्ता टोलीले चार महिनामा भएका कामको विवरणसहितको प्रतिवेदन १० पुसमै प्रधानमन्त्रीलाई बुझाएको छ । वार्ता टोलीले प्रतिवेदन बुझाएपछि स्वतः म्याद सकिएको छ । आवश्यक परे पुनः वार्ता टोली गठन गरिने पाण्डेले बताए । पाण्डे नेतृत्वको टोलीमा सुरेश आलेमगर, ताराकान्त चौधरी, लीला भण्डारी र गृह मन्त्रालयका सहसचिव कुमारबहादुर खड्का सदस्य थिए । विप्लव र सिके राउतसँग किन भएन वार्ता ? सरकारले द्वन्द्वरत समूहसँग वार्ता गर्ने योजना बनाएर खासगरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने लक्ष्य लिएको थियो । वार्ता टोलीले विप्लवलाई भेट्न धेरै कोसिस पनि गर्‍यो । तर, विप्लवले भेट्न नचाहेको संयोजक पाण्डेले बताए । ‘हामीले विप्लव समूहका केन्द्रीय सदस्यसम्मका नेतासँग वार्ताका लागि छलफल गर्‍यौँ । तर, विप्लवसँग भेट गराउने वातावरण मिलाउनुभएन । चाहँदा पनि भेट्न पाएनौँ । वार्ताको वातावरण नै नबनाएपछि आधिकारिक पत्र पनि पठाएनौँ,’ उनले भने । छुट्टै स्वतन्त्र मधेस राज्य माग गर्दै भूमिगत आन्दोलनमा रहेका सिके राउतसँग भने सरकारले वार्ताको योजना नै नबनाएको पाण्डेले बताए । ‘हामीलाई पहिलेदेखि नै सिके राउतसँग वार्ता गर्ने म्यान्डेट थिएन,’ उनले भने, देश टुक्र्याउन खोज्ने पृथक्तावादीसँग वार्ता गर्ने कुरै हुँदैन ।’ यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

ट्रेड युनियन नै खारेज गर्ने सरकारको तयारी

काठमाडौं, पुष १३ । कर्मचारीको आधिकारिक ट्रेड युनियनलगायत अन्य ट्रेड युनियनले कर्मचारी समायोजनमा असहयोग गरे ट्रेड युनियनहरू नै खारेज गर्ने गरी सरकारले गृहकार्य अघि बढाएको छ । संविधानअनुसार कर्मचारी समायोजन थाल्दा त्यसलाई विरोध गरेको भन्दै सरकार ट्रेड युनियनप्रति आक्रामक बनेको हो । सरकारले संविधानअनुसार समायोजन प्रक्रिया थाल्दा कर्मचारीहरू विरोधमा उत्रिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसमेत ट्रेड युनियनहरूसँग असन्तुष्ट बनेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार ट्रेड युनियनले समायोजनविरुद्ध आन्दोलनको घोषणा गरेलगत्तै ट्रेड युनियनको अस्तित्व नै सदाका लागि समाप्त गर्नेगरी कानुन ल्याउने गृहकार्य अघि बढाइएको हो । ‘उनीहरूले आन्दोलन घोषणा गरे भने सरकारले पनि संघीय निजामती सेवा ऐनमा युनियन खारेजीको व्यवस्था गर्ने निश्चित छ,’ ती उच्च अधिकारीले भने । हाल आधिकारिक ट्रेड युनियनलगायत राष्ट्रिय स्तरका नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन (संघ) र नेपाल राष्ट्रिय कर्मचारी संगठन गरी तीन र क्षेत्रीय स्तरको मधेसी कर्मचारी मञ्च एक रहेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि समायोजनविरुद्धको कर्मचारीको रवैयाप्रति असन्तुष्ट बनेका छन् । उनले पनि समायोजनविरुद्ध आन्दोलनको घोषणा गरिए युनियनको अस्तित्व नै समाप्त हुने चेतावनी दिए । ‘रहने कि समाप्त हुने भन्ने कुरा युनियनहरूकै हातमा छ, सकारलाई सहयोग गरे राखिन्छ, असहयोग गरे भने खारेजीमा पर्नेछन्,’ मन्त्री पण्डितले भने । सरकारले कर्मचारी विरोधका बाबजुद बिहीबारदेखि नै संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नेगरी औपचारिक कार्य थालेको छ । तर, कर्मचारी सम्बद्ध आधिकारिकलगायत अन्य ट्रेड युनियनले सरकारको सो कार्यको विरोध गर्दै यही अवस्थामा समायोजनमा जान नसकिने बताउँदै आएका छन् । मन्त्री पण्डितले ट्रेड युनियनले आन्दोलन घोषणा गरेपछि सरकारले चाल्नुपर्ने भावी रणनीतिबारे उच्च प्रशासकसँग बिहीबारदेखि नै छलफल थालिसकेका छन् । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

आगामी चैत्रमा लगानी सम्मेलन हुने, प्रविधि भित्र्याउन फलदायी हुने विश्वास

काठमाडौं, पुष १२ । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी चैत १५ र १६ गते काठमाडौंमा नेपाल लगानी सम्मेलन हुने भएको छ। नेपाल सरकारको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्ससँगको सहयोगमा हुने उक्त सम्मेलनमा ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उद्योग, पर्यटन, भौतिक पूर्वाधार, कृषि तथा वन पैदावरमा आधारित उद्योगमा लगानी जुटाउने प्रयास हुनेछ। अर्थ, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र लगानी बोर्ड नेपालको सक्रियतामा हुने उक्त सम्मेलनमा नेपालमा लगानीका अवसरका साथै आर्थिक रुपान्तरणका लागि आगामी १० वर्षमा लगानी गरी प्रतिफल उठाउन सक्ने क्षेत्रमा बाह्य लगानी भित्र्याउने प्रयास हुनेछ। विद्युत् उत्पादन, सूचना तथा सञ्चार प्रविधिमार्फत ‘डिजिटल’ अर्थ व्यवस्था निर्माण, मनोरञ्जन तथा तीर्थाटनका लागि पर्यटकीय गन्तव्य निर्माण, दिगो यातायात पूर्वाधार निर्माण, कृषि तथा वनजन्य उत्पादनमा लगानीको अवसर र नेपालमा लगानीको अनुभवका साथै लगानीमा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान सम्मेलनमा हुनेछ। सम्मेलनबारे जानकारी दिन विहिबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले विसं २०७३ मा आयोजित लगानी सम्मेलनपछि देशमा भएको राजनीतिक परिवर्तन तथा लगानीको वातावरणमा आएको सुधार, लगानीका सम्भाव्य नयाँ क्षेत्र र बदलिँदो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिवेशमा नेपालको तुलनात्मक लाभका क्षेत्रमा भएको परिवर्तनबारे लगानीकर्तालाई जानकारी गराइनेछ। समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन उद्देश्यप्राप्तिका निम्ति उपलब्ध स्रोत साधनको उपयोग र विश्वमा प्रवर्धित नयाँ प्रविधिको प्रयोग गर्दै जानु अहिलेको अपरिहार्यतामा जोड दिँदै मन्त्री खतिवडाले नेपालका प्राकृतिक स्रोत र साधनको प्रभावकारी उपयोगमा स्वेदशी तथा विदेशी लगानी र प्रविधि भित्र्याउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे। नेपालमा तीनवटै तहको निर्वाचनपछि गठन भएको राजनीतिक स्थायित्वयुक्त वर्तमान सरकारले लगानीकर्तालाई अभिप्रेरित गर्न तर्जुमा गरेका नीति र तिनको कार्यान्वयन एवं सरकारको सोच उनीहरुमाझ प्रवाह गर्न सम्मेलन आयोजना गरिएको खतिवडाले बताए। “करीब दुई खर्ब ७५ अर्बको लगानीका परियोजनामा समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ र तीमध्ये अधिकांश जलविद्युत् परियोजना छन्। करीब २३ वटा कम्पनीले विस्तृत सम्भाव्यता अध्ययनमा रुचि देखाएका छन् भने तीमध्ये केहीले परियोजना प्रस्तावसमेत पेश गरिसकेका छन्” २०७३ को लगानी सम्मेलनपछि प्राप्त बाह्य लगानीबारे जानकारी दिँदै अर्थमन्त्रीले भने। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ भने सम्मेलन तयारीका सम्पूर्ण काम पूरा गर्न अर्थमन्त्रीको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका सचिव, निजी क्षेत्रका प्रतिनिधि रहेको निर्देशक समिति गठन भएको छ। नेपालले लिएको आर्थिक वृद्धिको दीर्घकालीन लक्ष्यलाई सहयोग पुर्याउन काठमाडौँस्थित विदेशी कूटनीतिक नियोग, नेपालको विकासका साझेदार, निजी क्षेत्र, गैरआवासीय नेपाली सङ्घलगायतको सहयोग सम्मेलनमा रहनेछ। अघिल्लो सम्मेलनपछि श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, औद्योगिक व्यवसाय ऐनको नियमावली, विदेशी विनिमय नियमन गर्ने ऐन, सार्वजनिक खरीद नियमावली संशोधन भएकाले लगानीकर्ताले झण्झट झेल्न नपर्नेलगायत नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको सन्देश प्रवाह गर्नु सम्मेलनको उद्देश्य हो। रासस

अब नेपाली र अमेरिकी पर्यटक भिसा शुल्क बराबर

काठमाडौं, पुष १२ । सरकारले नेपाली र अमेरिकी नागरिकका लागि पर्यटक भिसा शुल्क बराबर बनाएको छ । अब अमेरिकी र नेपाली पर्यटक दुवैले एक–अर्को देशमा भ्रमणको लागि पाँच वर्षे बहुप्रवेशी भिसा लिंदा १ सय ६० डलर बुझाउनु पर्नेछ । यसअघि नेपालले अमेरिकी नागरिकलाई ९० दिनको भिसाका लागि सय डलर शुल्क लिने गर्थ्यो भने अमेरिकी सरकारले पाँच वर्षेबहुप्रवेशी भिसाका लागि एक सय ६० डलर नै लिन्थ्यो। गृह मन्त्रालयका प्रबक्ता रामकृष्ण सुवेदीका अनुसारअब अमेरिकी नागरिकले पनि पाँच वर्षे बहुप्रवेसी भिसा लिएपछि एक सय ८० दिनसम्म नेपालमा बस्न पाउनेछन् । यो नियम सन् २०१९ जनवरी १ तारिखबाट लागू हुनेछ। यसैबीच मन्त्रिपरिषद बैठकले नेपाली विद्यार्थीहरुले अध्ययन भिसा आवेदन गर्दा अमेरिका दूतावासले लिदै आएको अतिरिक्त शुल्क हटाउने सम्बन्धनमा आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ। बिहीबार नियमित पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले अतिरिक्त शुल्क हटाउने सम्बन्धमा मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयलाई समन्वय गर्न निर्देशन दिएको बताए। हाल अमेरिकाले अध्ययन भिसा आवेदन गर्दा नेपाली विद्यार्थीहरुबाट अतिरिक्त शुल्क बापत् २ सय डलर लिदै आएको छ। कान्तिपुर दैनिकबाट साभार

झापाको मेचीनगरमा भिषण आगलागी, दर्जन घर जले

झापा, पुष १२ । जिल्लाको मेचीनगर–६ स्थित साठी बिघा भन्ने ठाउँमा भिषण आगलागी भएको छ । आगलागी हुँदा दर्जन घर जलेका छन् । राति करिब ८ बजेदेखि लागेको आगो अहिलेसम्म निभाउन सकेको छैन । ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन्। आगो नियन्त्रणका लागि मेची नगरपालिकाको दमकलसहित स्थानीय र सुरक्षाकर्मी लागीपरेका छन्। अगालागीबाट मानवीय क्षति भने भएको छैन। एक मात्र दमकल भएकाले आगो निभाउन कठिनाई भएको प्रहरीले जनाएको छ।

नेकपा बैठकः पुस मसान्तसम्म सांगठनिक एकता पूरा गरिने

काठमाडौं, पुष १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकतालाई यही पुस मसान्तसम्म पूरा गर्ने प्रस्ताव गरिएको छ । आज पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकता गर्न बाँकी रहेका कमिटीको एकता पुस मसान्तसम्म गर्ने प्रस्ताव गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले जानकारी जानकारी दिए । आफ्नो राजनीतिक प्रतिवेदनका सन्दर्भमा स्थायी कमिटी सदस्यले बैठकमा राखेका विभिन्न विषयको जवाफ दिने क्रममा अध्यक्ष ओलीले कार्यदल गठन गरेर बाँकी रहेको सङ्गठनको एकतालाई निष्कर्षमा पुर्याउने बताएको प्रवक्ता श्रेष्ठले बताए । एकतापछि पार्टीको केन्द्रीय कमिटी र प्रदेश कमिटीसहित इञ्जिनीयरिङ, निर्माण व्यवसायी र कानून व्यवसायी सङ्गठनमा मात्रको एकता भएको छ । जिल्ला कमिटी, स्थानीय तह र जनवर्गीय सङ्गठनको एकता हुन अझ बाँकी नै रहेको छ । उनले बैठकमा भएको छलफलले अझ उन्नतस्तरको एकताका लागि बलियो आधार तयार गरेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले भने,‘अहिले पार्टी एकतालाई छिन्नभिन्न बनाउन केही तत्व लागेका छन् । तिनलाई परास्त गरेर जानु पर्दछ ।’ बैठकमा उनले माघ महिनाभित्र सबै कमिटीको भेला र केन्द्रीय कमिटीको बैठकसमेत आयोजना गर्ने बताए । यस्तै फागुन, चैत्रमा पार्टी एकतालाई अझ बलियो बनाउनका लागि राष्ट्रिय अभियान समेत सञ्चालन गर्ने स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए । अध्यक्ष ओलीको राजनीतिक प्रस्तावमा माघ, फागुनमा राष्ट्रिय अभियान सञ्चालन गर्ने उल्लेख गरिएको थियो । नेता भट्टराईले संसद् चलिरहेकोले समय अभावका कारण अध्यक्ष ओलीले नै फागुन, चैत्रमा अभियान सञ्चालन गर्ने प्रस्ताव ल्याउने बताए । प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष ओलीले पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाएर लैजानेसमेत बताएका थिए । उनले मुलुकको राष्ट्रियता एकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता लागि पार्टी र सरकारको प्राथमिकतामा रहेकाले यसलाई अझ दृढ भएर लाग्ने बताए । ‘लोकतन्त्रलाई सृदृढ गराउने, सुशासन कायम राख्ने, सङ्घीय प्रणालीलाई बलियो बनाउने र भ्रष्टाचारलाई नियन्त्रण गर्ने सरकारको पहिलो प्राथमिकता रहेको छ’’ उनले बैठकमा भने । सरकारले यी कुरालाई ध्यानमा राखेर काम गरिरहेको छ । सरकारले सफलता प्राप्त गर्दै गइरहेको छ । बैठकमा प्रधानमन्त्री ओलीले पार्टी सञ्चालनका क्रममा केही कमीकमजोरी भएपनि अबको दिनमा त्यस्ता कमीकमजोरी हुने नदिने समेत बताए । उनले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत सुदृढीकरण गर्दै लगिरहेको बताए । नेकपाको तेस्रो स्थायी कमिटी बैठक मंसिर २९ गतेदेखि जारी रहेको रहेको छ । शुक्रबार बिहान ८ बजे पुनः पार्टी मुख्यालयमा बैठक बस्ने छ ।

सशस्त्र प्रहरीका ८ एसपी एसएसपीमा बढुवा (नामसहित)

काठमाडौं, पुष १२ । सशस्त्र प्रहरी बलका ८ जना सशस्त्र प्रहरी उपरीक्षकलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षमा बढुवा गर्ने निर्णय गरिएको छ । गृह मन्त्रालयका सचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बैठकले ८ जना एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरिएको हो । बढुवाको सूचीमा परेका एसपीमा भगवान मल्ल, भीमबहादुर थापा, कालिदास धौवजी, इन्द्रराज कार्की, प्रेमराज पोखरेल, दमन थापा, कुमार न्यौपाने र फडिन्द्र पौडेल रहेका छन् ।