बस र ट्रक ठोक्किँदा १९ घाइते
चितवन, पुस १६ । नारायणगढ–मुग्लिन सडक खण्डको दासढुङ्गामा गएराति बस र ट्रक ठोक्किँदा बसमा सवार १९ यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना ५ ख ८०४४ नं को बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ८५७७ नं को ट्रक जुधेका थिए ।
दुर्घटनामा घाइते भएकाहरुको भरतपुर कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । घाइतेमध्ये छ जनाको अवस्था केही जटिल र अन्य सामान्य रहेको प्रहरीले जनाएको छ । बसमा ३५ जना यात्रु सवार थिए । दुर्घटना राति ११.२५ बजे भएको हो । रासस
गाडीले किचेर वृद्धको मृत्यु
मङ्गलबारे, पुस १६ । इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा सोमबार बिहान गाडीले किचेर एक जना वृद्धको मृत्यु भएको छ । लुङसुङदाङबाट इलाम जाने क्रममा गाडीले किचेर फाकफोकथुम गाउँपालिका–१ का ७२ वर्षीय सोमप्रसाद दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले बताए । सडकमा रोकेर यात्रुलाई गाडीभित्र हाल्ने क्रममा अचानक गाडीको ब्रेक फेल भएर पछि सर्दा गाडीले किचेको हो । गाडी पल्टिए पनि गाडीमा सवार कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ । चालक सन्देश पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
सुख्खा पहिरोले राजमार्ग अवरुद्ध
रसुवा, पुस १६ । पासाङलामु अन्तर्राष्ट्रिय राजमार्ग अन्तर्गतगोसाइँकुण्ड गाउँपालिका–५ खोपाङस्थित आज बिहान सुख्खा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार राजमार्ग सञ्चालन गर्न डिभिजन सडक कार्यालय नुवाकोटसँग समन्वय भइरहेको र सम्भवतः सोमबारै साँझसम्म राजमार्ग सञ्चालन गराउने प्रयास हुने छ । राजमार्ग बन्द हुँदा नियमित यात्रुबहाक बस, एम्बुलेन्स, नेपाल चीनबीच सामान आयातनिर्यात गर्ने ट्रक तथा कन्टेनरसहित सयौँको सङ्ख्यामा रोकिएको जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज नवराज खड्काले बताए । पहिरो गएको स्थान असहज भए पनि बटुवाको आवतजावत भइरहेको बताइएको छ । रासस
काङ्ग्रेसले मुलुकभर मेलमिलाप दिवस मनाउँदै
काठमाडौँ, पुस १६ । नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा काङ्ग्रेसले आज मुलुकभर आमसभा, गोष्ठी, र्याली, कोणसभा लगायतका कार्यक्रम गरी मेलमिलाप दिवस भव्यरुपमा मनाउन लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्केका थिए । गत मङ्सिर २८ देखि यही पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकमा समेत शीर्ष नेताले ४३ औँ मेलमिलाप दिवस पार्टी सङ्गठन सुदृढीकरणको नयाँ अभियानका साथ मनाउने घोषणा गरेका थिए । काङ्ग्रेसले दिवसका अवसरमा व्यापक र बृहत् कार्यक्रम गरी मनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि समेत खटाएको छ । दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्केका काङ्ग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए । तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्कनुभएका बिपीलगायत नेतालाई तत्कालीन सरकारले मेलमिलाप त परै जाओस् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा ल्याई बन्दी बनाएका थिए । राजा महेन्द्रले २०१७ सालमा नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बिपी कोइरालालगायत काङ्ग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए । नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा जानुभएका नेताहरू राष्ट्रियतामाथि खतरा आएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्किएका थिए । प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका जननायक बिपी कोइराला कुनै दल विशेषको मात्र नभई मुलुककै राजनेताका रूपमा चिनिएका छन्। राजनीतिमात्र होइन नेपाली साहित्यमा पनि छुट्टै पहिचान बनाएका बिपीका साहित्य सन्देशले समाज परिवर्तनमा ठूलो सहयोग पु¥याएको छ । नेपालमा बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सार्नुभएको दृष्टिकोण अद्यपि सान्दर्भिक र अपरिहार्य छ । काङ्ग्रेसले आज केन्द्रीय कार्यालय र सबै जिल्ला तथा विदेशस्थित जनसम्पर्क कार्यालयमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै काङ्ग्रेसले ४३ वर्षअघि अवलम्बन गरेको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ । रासस
गाडीले किचेर वृद्धको मृत्यु
मङ्गलबारे, १६ पुस (रासस) ः इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा आज बिहान गाडीले किचेर एक जना वृद्धको मृत्यु भएको छ । लुङसुङदाङबाट इलाम जाने क्रममा गाडीले किचेर फाकफोकथुम गाउँपालिका–१ का ७२ वर्षीय सोमप्रसाद दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले बताउनुभयो । सडकमा रोकेर यात्रुलाई गाडीभित्र हाल्ने क्रममा अचानक गाडीको ब्रेक फेल भएर पछि सर्दा गाडीले किचेको हो । गाडी पल्टिए पनि गाडीमा सवार कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ । चालक सन्देश पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । –––
सरकार दुइटा रेल किन्दै, तीन महिनाभित्र जनकपुर–जयनगरमा गुड्ने
काठमाडौं, पुष १६ । यातायातमन्त्री रघुवीर महासेठले तीन महिनाभित्र जनकपुर–जयनगर खण्ड (३५ किमि) मा नेपालको राष्ट्रिय ध्वजावाहक रेल कुद्ने बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उनले दुईवटा रेल किन्न अन्तिम तयारी भइरहेको जानकारी दिए । ‘भारत सरकारबाट लिजमा ल्याएर चलाउने कि भन्ने थियो,’ उनले भने, ‘पछि आफ्नै राष्ट्रिय ध्वजावाहक रेल चलाउने अन्तिम निर्णय भएको छ ।’ भारत सरकारबाट रेलको ‘स्पेसिफिकेसन’ आइसकेको र टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको महासेठले बताए । ‘दुइटै रेल एकैचोटि खरिद गर्छौं,’ उनले भने, ‘तीन महिनाभित्र पहिलो आउँछ, अर्को त्यसको एक महिनापछि ।’ रेल खरिद प्रक्रिया नेपाल–भारत सरकारबीच हुनेछ । केही दिनभित्रै सम्पूर्ण जानकारी सार्वजनिक गरिने महासेठले बताए । ‘सैद्धान्तिक सहमति भइसकेको छ, जनवरी १० (पुस २६) मा सबै सार्वजनिक गर्छौं,’ उनले भने, ‘अब अन्तिम स्वीकृति लिन मात्र बाँकी छ ।’ उक्त रेल प्रतिघण्टा सय किमि गतिमा कुद्ने क्षमताको हुनेछ । जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नति परियोजना भारतको आर्थिक र प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ । जयनगर–जनकपुर–बर्दिबासमा १० अर्ब रुपैयाँ लागतमा ब्रोडगेज रेलमार्ग निर्माणाधीन छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
मोरङका सांसद लिम्बू ,धनकुटाका मेयर र वडा अध्यक्ष मलेसिया भ्रमणमा
मलेशिया,पुष १५।मोरङ क्षेत्र नम्बर-१ क बाट प्रदेश सभाका निर्बाचित सांसद कुल प्रसाद साम्बा (क.कुशल लिम्बू) सहितको टोलि ३ दिने भ्रमणका लागि मलेशिया पुगेका छन्। सांसद लिम्बू सहित भ्रमण टोलिमा धनकुटा नगरपालिका का मेयर चिन्तम तामाङ वडा अध्यक्ष सन्दिप रायमाझी सिङ्गापुरको ३ दिने अनौपचारिक भ्रमण सकेर मलेशिया पुगेका हुन। भ्रमण टोलिलाई मलेशियामा नेपाल आदिबाशी जनजाती महासघ मलेशिया,तामाङ समाज मलेशिया र पुर्ब नेकपा माओबादी केन्द्र सम्बद्ध बिदेश बिभाग संगठन नेपाली जनप्रगतिसिल मञ्च मलेशियाले आइतबार एक कार्यक्रमको आयोजना गरि संयुक्त रुपमा स्वागत गरेको थियो। कार्यक्रममा बोल्दै सांसद लिम्बुले बिकसित मुलुकहरुमा भैरहेको तिब्र बिकासको गतिलाई अध्यन गरि बिकास र समृद्धिको सपना पूरा गर्न र बिकासको मुल सुत्रधार लाई अबलोकन गर्न निजि खर्चमा भ्रमणमा आएको जानकारी दिएका छन्। मलेशिया र सिङ्गापुर ले देश बिकास र समृद्धिमा धेरै दसक अगाडि फड्को मारिसकेको छ।नेपाल लाई यी दुई देश जस्तै बनाउन त नसकौला तर नेपाली जनताले चाहेका र नेपाल लाई सबैको साझा नेपाल बनाउन यो भ्रमणले केही पाठ सिकाएको मेयर तामाङले बताएका छन्। सांसद लिम्बु सहितको भ्रमण टोलि आउदो बुधबार स्वदेश फर्किने कार्यक्रम छ।
प्रचण्डलाई ‘टार्गेट’ गर्दै पारस शाह चितवनमा, नियोजित भव्य स्वागतको प्रचार
चितवन, पुस १५ । चितवनमा गोली काण्डले तर्सिएका पूर्वयुवराज पारस शाह फेरि चितवन पुगेका छन् । आफ्नो प्रभाव देखाउन समर्थकहरुद्वारा विमानस्थलमा भव्य स्वागतको नाटक रचिएको टिप्पणी चितवनमा व्याप्त भएको छ । पारस शाह आज व्यक्तिगत भ्रमणका लागि चितवन पुगेका थिए । केही दर्जन व्यक्तिहरुले स्वागत गरेको कुरालाई ‘भव्य स्वागत’ भन्दै राजतन्त्रका पक्षमा पारसको उपस्थितीलाई देखाउन कोशिस गरेको भरतपुरको बुद्धिजीवीहरुले टिप्पणीसमेत गरेका छन् । ‘केही समययता पूर्व राजा ज्ञानेन्द्र शाहका गतिविधी बढेर गएको बेला नेकपाका अध्यक्ष प्रचण्डले कडला आलोचना गरेको धेरै दिन नबित्दै पारस शाहको चितवन भ्रमण र समर्थकहरुको नाराबाजीलाई अर्थपूर्णरुपमा हेरिएको छ । सहयोगीसहित हवाईमार्ग हुँदै आइतबार दिउँसो चितवन पुगेका पूर्वयुवराज शाहलाई राजावादीले भरतपुर विमानस्थलमा स्वागत गरेका थिए । पारसको स्वागतका लागि आएकाहरुले राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए । पूर्व युवराज पारससँग तस्वीर खिचाउनेहरुको पनि विमानस्थलमा भीड लागेको थियो । गाडी नै रोकेर सेल्फी खिच्नेहरु पनि उत्तिकै थिए । विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु समेत उनको स्वागतमा उपस्थित थिए । पश्चिम चितवनको एक गुम्बाको कार्यक्रममा सहभागी हुन र जन्मदिन मनाउन उनी चितवन आएको उनका सहयोगीले बताए ।
कर्मचारीको आन्दोलनले संसदीय सुनुवाइनै अवरुद्ध
काठमाडौं, पुष १५ । संसदीय सुनुवाई समिति बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । आन्दोलित कर्मचारीले कार्यालय समयभन्दा बढी काम नगर्ने चेतावनी दिएपछि सभापति लक्ष्मणलाल कर्णले बैठक मंगलबारसम्म स्थगित भएको घोषणा गरेका हुन् । बैठक चल्दाचल्दै कर्मचारीले माइक लाइन काट्न लागेपछि महासचिव मनोहरप्रसाद भट्टराईको आग्रहमा सभापति कर्णले बैठक स्थगित गरेका हुन्। बैठक सारिएपछि प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराको अनुमोदन पनि धकेलिएको छ। बैठकमा सांसद सुरेन्द्र पाण्डे र निरु पालले मात्रै धारणा राख्न बाँकी थियो। संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष मेघराज अर्यालले कार्यालय समयभन्दा बढी काम नगर्ने घोषणाअनुसार आफूहरु हिँड्ने जानकारी दिएपछि सभापतिले बैठक स्थगन गरेको बताए। संसद्का कर्मचारी अतिरिक्त काम गरेको भत्ता माग गर्दै आएका छन्। भत्ता नदिए कार्यालय समयभन्दा बढी काम नगर्ने उनीहरुको घोषणा थियो। कान्तिपुर दैनिकबाट साभार
राष्ट्रिय एकता बिथोल्नेविरुद्ध लाग्न प्रधानमन्त्रीको आह्वान
काठमाडौं, पुष १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता विथोल्ने प्रयास विगतमा असफल पारेकाले अहिले पनि त्यस्ता प्रयास असफल पार्न सबै जातजाति मिलेर लाग्नुपर्ने बताएका छन् । तमु ल्होसार (गुरुङ समुदायको नयाँ वर्ष) का अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रममा उनले देश समृद्धिको बाटोमा अगाडि बढिसकेकाले कसैले चाहेर पनि पछाडि नधकेलिने बताए। जनतामा सुशासन र विकासको तीव्र आकाङ्क्षा रहेको उल्लेख गर्दै उनले भने, “समृद्ध नेपाल, सुखी नेपालीको नारा सफल बनाउन सबै मिलेर लाग्नुपर्छ ।” नेपालका विभिन्न जातजातिले मनाउने चाडपर्वमा सार्वजनिक बिदा दिने विषयमा आफूले विधिवत्रुपमा निर्णय गर्ने प्रधानमन्त्री ओलीले बताए । गुरुङ समुदायका प्रतिनिधिले ‘तमु ल्होसारको बिदा कटौतीे’ भएको सम्बन्धी राखेको जिज्ञासामा उनले सरकार सबै जातजातिको जायज माग पूरा गर्न तयार रहेको बताए । उनले भने, “नेपाल र नेपालीकै पक्षमा सरकारले निर्णय गर्छ ।” लोकतन्त्र सबै जातजाति र भाषाभाषीका लागि हो भन्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रिक गणतन्त्र सबैले मिलेर ल्याएको स्मरण गरे । भौगोलिकरुपमा सानो भए पनि सांस्कृतिकरुपमा विविधता हुनु देशका लागि सम्भावना भएको उल्लेख गर्दै उनले भने, “सबै जातजाति, भाषाभाषी मिलेर लाग्दा नै समृद्धि र एकता सम्भव छ ।” तमु महिला परिषद्का प्रतिनिधि शोभा गुरुङले देश र विदेशमा रहेका गुरुङ समुदायले आआफ्ना ठाउँमा जम्मा भएर नयाँ वर्षको स्वागत गरिरहेको बताए। कार्यक्रममा समाजले विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने गुरुङ समुदायका व्यक्तिलाई सम्मानसमेत गरेको छ । रासस
पास होलान त चोलेन्द्र श्रीमान ? सांसदहरुले सोधे यस्ता प्रश्न
काठमाडौं, प्रधान न्यायाधिश चोलेन्द्र शमसेर जबरामाथिको सुनुवाईका क्रममा सांसदहरुले कडा प्रश्न तेस्र्याएका छन् । आजको बैठकमा समितिका सदस्यहरु योगेश भट्टराई, पुष्पा भुसा, पूर्णा कुमारी सुवेदी लगायतले प्रश्न सोधेका थिए । बैठकमा सदस्य योगेश भट्टराईले अदालतबाट सार्वजनिक सम्पत्तिको संरक्षण हुन नसकेको बारे प्रश्न सोधेका थिए। यस्तै उनले ‘सुनुवाइबाट कति नम्बरको आशा राख्नु भएको छ ?’ भन्दै राणालाई सोधेका थिए। उनले अघि सोधे, ‘संसदबाट अस्वीकृत व्यक्ति पनि सर्वोच्च अदालतमा न्यायाधीश भएर बसेका छन्। के भन्नुहुन्छ रु’ यस्तै पुष्पा भुसालले न्यायीक भ्रष्टाचार रोक्ने योजनाबारसे प्रश्न राखेकी थिइन्। सुवेदीले भने गरिब र तल्लो तहका जनताका लागि न्यायमा विश्वास नहुनुको कारण के हो रु भन्दै बैठकमा सोधेकी थिइन्। बैठक सुरु भए पनि सुनुवाई सम्पन्न भएको छैन। कर्मचारीको आन्दोलनका कारण आज राणाले जवाफ भने दिन सकेनन् । मंगलबार सम्मका लागि बैठक स्थगित गरिएको हो। राणाले पनि मंगलबार नै आफूमाथिका प्रश्नको जवाफ दिने छन्।
दाङमा विद्युतीय बस सञ्चालनमा ल्याउँछौंः मुख्यमन्त्री पोखरेल
दाङ, पुष १५ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङमा विद्युतीय बस सञ्चालनमा ल्याउनले बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले आज आयोजना गरेको तुलसीपुर आर्थिक विकास सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले तुलसीपुरको विकासका लागि नयाँ ढङ्गबाट योजना बनाउनुपर्नेसमेत बताए । मुख्यमन्त्री पोखरेलले परम्परागत ढङ्गबाट अब तुलसीपुरलाई ‘स्मार्ट सिटी’ बनाउन नसकिने भन्दै तुलसीपुुरको विकासका लागि अब नयाँ योजना बनाउनुपर्ने बताए । उपमहानगरपालिकाको विकासका लागि स्थानीय तहहरुबीच सहकार्य हुन आवश्यक रहेको समेत उनको भनाइ थियो । गाउँलाई बजारसँग जोड्ने गरी योजना बनाउनुपर्ने समेत मुख्यमन्त्री पोखरेलको भनाइ छ । उनले शहरलाई व्यवस्थित गर्न व्यवस्थित सडक, घरहरुको डिजाइन, बिजुलीको प्रयोग, ढल निकास, नदी किनारका बारेमा योजना, खोलाको किनारको बस्ती व्यवस्थितलगायत कुरामा ध्यान दिनुपर्ने बताए।
प्रदेश २ बाट श्रम स्वीकृति दिन शुरु, सेवा लिने दुईजना सम्मानित
जनकपुर, पुष १५ । प्रदेश नम्बर २ को जनकपुर श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृति सेवा प्रदान गर्न शुरु गरेको छ । आइतबारदेखि कार्यालयले सेवा प्रदान गर्न सुरु गरेको हो । आज पहिलो दिन श्रम स्वीकृतिको सेवा ग्रहण गर्ने दुईजनालाई सम्मानसमेत भएका छन् । कार्यालयको सेवारम्भ गरेको भन्दै दुई सेवाग्राही हंसपुर नगरपालिका–७ लौवाखोरका जलिल नदाफ र धनौजी बहुअर्वाका मो जिलानी मोमिन सम्मानित भएका हुन् । सेवा प्रभावकारी बनाउने र केन्द्रमा चाप कम गर्ने भन्दै यही पुस महिनाभित्रै प्रदेश २ र ५ बाट श्रम स्वीकृति दिने गरी कार्यालय सञ्चालन गरिएको हो । जसमध्ये प्रदेश २ बाट आजैदेखि श्रम स्वीकृति दिन थलिएको निमित्त कार्यालय प्रमुख मनोज यादवले बताए । श्रम तथा रोजगार मन्त्रालयले यसअघि नै सबै प्रदेशबाछ श्रम स्वीकृति दिन सकिने भन्दै त्यस अनुरुप तयारी गरेको बताएको थियो ।
ओली सरकारका कामप्रति जनता निराश छन्ः कांग्रेस नेता खाँण
रुपन्देही, पुष १५ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सरकारका कामप्रति जनता निराश भएको विचार व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रतिनिधिसभा सदस्य खाँणले संविधान र लोकतन्त्रप्रति कम्युनिष्ट नेतामा द्वैध मानसिकता रहेको आरोप लगाए । निर्मला पन्तका हत्यारालाई तत्काल पत्ता लगाई सार्वजनिक गर्न नेता खाँणले माग गरे । उनले व्यवस्थापकीय कमजोरीका कारण कांग्रेस कमजोर भएको स्वीकार गर्दै नेता खाँणले महासमिति बैठकपछि पार्टी एकता र मेलमिलापको बाटो तय भएको बताएयो । काङ्ग्रेसभित्र व्यवस्थापन फितलो हुँदा मतभेद सिर्जना भएकाले व्यवस्थापकीय क्षमता बलियो बनाएर अगाडि बढ्न जरुरी रहेको औंंल्याए ।
काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम १ डिग्री
काठमाडौं, पुष १५ । काठमाडौं उपत्यका चिसो बढेको छ । आज यहाँको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आइतबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौंको न्यूनतम तापक्रम १।० र अधिकतम १६.८ डिग्री सेल्सियस रहेको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस थियो । गत वर्ष डिसेम्बर ३० मा काठमाडौंको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस थियो । त्यसैले गत वर्षको तुलनामा यस वर्ष अलि बढी चिसो भएको मौसमविद् राजु प्रधानाङ्गले बताए । प्रधानाङ्गका अनुसार अब केही दिन न्यूनतम तापक्रम ० देखि २ को हाराहारीमा रहनेछ । राति आकाश सफा भएकाले बिहान बेलुकी बढी चिसो महसुस गरिएको हो । आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । सोमबार देशैभरि मौसम सफा रहने विभागले जनाएको छ ।
मध्यपुरमा सकियो नवदुर्गा नाच
भक्तपुर, पुस १५ । मध्यपुरथिमि नगरपालिकामा विगत ११ वर्षदेखि बन्द भएर यसवर्ष सञ्चालन गरिएको प्रसिद्ध नवदुर्गा नाच प्रदर्शन पूरा भएको छ । भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको उक्त नाच मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा ११ वर्षपछि यसैवर्ष मध्यपुरथिमिमा प्रदर्शन गरिएको थियो । दश वर्षअघि मध्यपुरका केही स्थानीयवासीले मदिरा सेवन गरी देवगणमाथि अभद्र व्यवहार गरेकाले सुरक्षाको कारण देखाउँदै देवगणले नाच प्रदर्शन गरेका थिएनन् । यसवर्ष मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले नवदुर्गा नाचमा सुरक्षाको प्रत्याभूति र आवश्यक खर्च उपलब्ध गराउने गर्ने प्रतिबद्धता जनाएपछि योमरी पूर्णिमाको साँझदेखि प्रदर्शन गरिएको थियोे । उनले अब मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन कहिले नरोकिने बताए । नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमिको कला, संस्कृति र साँस्कृतिक पर्व जोगाउन बजेट नै विनियोजन गरिएकाले यो नाचसँगै नगरभित्रका सबै नाच, कला र संस्कृति सञ्चालन एवं संरक्षणमा नगरपालिका सक्रिय हुनेमा जोड दिए । एकसातासम्म यो नाच बालकुमारी, लायकु, दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, पोवु, चपाचो, नगदेश, बोडे, सूर्यविनायकको दधिकोट र गाम्चामा समेत प्रदर्शन गरिएको थियो । रासस

