नेता पौडेल भन्छन्, ‘हात मिलाएर मात्रै पार्टी एकता हुँदैन’
दमौली, पौष १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई नेताले हात मिलाउँदैमा पार्टी एकता नहुने बताएका छन् । नेपाली कांग्रेस बन्दीपुर गाउँपालिका–१ ले आज नाहालामा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र आफूले हात मिलाउँदैमा पार्टीमा एकता भएको भन्न नमिल्ने बताए ।
उनले न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनले मात्रै पार्टीमा एकता हुनेमा जोड दिए । नेता पौडेलले आफूले एजेण्डामा आधारित भएर एकता चाहेको चर्चा गर्दै विधानमा एकता गर्न सकिने धारणा व्यक्त गरे । उनले भने, “पार्टीमा क्यालेण्डरअनुसार काम गरौं, त्यसमा एकता हुन्छ एजेण्डामा आधारित भएर काम गरौं, त्यसमा एकता हुन्छ, देखाउनका लागि मात्रै नक्कली एकता काम छैन ।”
उनले पार्टीमा गलत काम भएपछि विरोध हुनु स्वभाविक भएको भन्दै सभापतिले समग्र पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए । सभापति पार्टीका कार्यकर्ताको भावनाअनुसार चल्न नसकेका कारण आफूले सभापति विरुद्ध आवाज उठाउनु परेको उनको भनाइ थियो । कांग्रेस सदनमा हराएको जस्तो देखिएको उल्लेख गर्दै पौडेलले सरकारलाई खबरदारी गर्न समेत प्रतिपक्षीले नसकेको बताए ।
कार्यक्रममा महासमिति सदस्य रामचन्द्र अधिकारी, महाधिवेशन प्रतिनिधि दिपक भट्टराई र मानकाजी श्रेष्ठ, क्षेत्रीय संयोजक सहदेव अधिकारी, बन्दिपुर गाउँपालिका सभापति कर्णबहादुर खत्री, वडा नम्बर १ का सभापति रेशमबहादुर थापा लगायतले पार्टीमा गुटबन्दी अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।
आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गरिने
काठमाडौं, पुष १७ । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार समायोजनमा नगई आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा अध्यादेश अनुसार समायोजन नभई आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गर्ने भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए । उनका अनुसार आन्दोलन गर्ने कर्मचारीलाई ‘निजामति सेवा ऐन–२०४९’ अनुसार आचरण र अनुशासन पालना नगरेको भन्दै कारवाही गर्ने भएको हो । कर्मचारी समायोजन गर्न ल्याइएको अध्यादेश अनुसार समायोजनमा नगएर दैनिकजसो सिंहदरबारभित्र कर्मचारीले सरकार विरुद्ध आन्दोलन गर्न थालेपछि मन्त्रालयले कारवाहीको प्रक्रिया अगाडि बढाएको हो । प्रवक्ता अधिकारीले निजामति कर्मचारी ऐनअनुसार अचारण र अनुशासन पालना नगर्ने कर्मचारीलाई कारवाही गरिने बताएका छन् । उनका अनुसार ऐनको परिच्छेद ७ बमोजिम आचरण र अनुशासन वेवास्ता गदै निजामति कर्मचारीले सामाजिक सञ्जाल, पत्रपत्रिका तथा लेखरचनामा सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, सचिव दिनेशकुमार थपलियालगायत मन्त्रालयको आँच आउने गरी अवाञ्छित, अनुचित, गैरजिम्मेवारी, अनुशासनहिन र पेशागत मर्यादा विपरीत सामाजिक सञ्जालमा स्टाट्स, तस्बिर, विचार राख्ने अस्वभाविक क्रियाकलपाप्रति ध्यानाकर्षण जनाउँदै त्यस्ता कर्मचारीलाई पहिचान गरी कारवाही गरिने छ । ऐनमा उल्लेखित आचरण र अनुशासन बेवास्ता गरी आफू निजामती कर्मचारीको भूमिकामा समेत नरहेको जस्तो गरी मन्त्री, सचिव लगायतलाई पद, वर्ण, जात, समुदाय र सम्प्रदायसमेतलाई जोडेर सामाजिक सञ्जालमा गैरजिम्मेवारपूर्ण, अनुशासन र आचरण विपरीत अभिव्यक्ति राख्ने राष्ट्रसेवक कर्मचारीको अभिलेख समेत राखिएको बताइएको छ । उनले समायोजनप्रति भ्रामक, अवाच्छित र दुराशययुक्त क्रियाकलाप गर्ने कर्मचारीलाई निजामति सेवा ऐन–२०४९, सोको नियमावलि–२०५०, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन–२०६४ र सोको नियमावलि–२०६५ र विद्युतीय कारोवार ऐन–२०६३ अनुसार कारवाही गरिने बताए । प्रवक्ता अधिकारीले अध्यादेश–२०७५ अनुसार कर्मचारीलाई समायोजन प्रक्रियामा सहभागी हुन अनुरोध गरेका छन् । सरकारले स्थानीय तहमा कर्मचारी समायोजन गरेर तीनै तहमा बुधबारदेखि सङ्घमा रहेका कर्मचारीको समायोनजका लागि अनलाइन आवेदन माग गरेको छ । सरकारका पूर्व मुख्य सचिव विमल कोइरालाले समायोजनका नाममा आन्दोलन गर्नु ठिक नभएको बताए । उनले कर्मचारीले आफ्नो अनुशासन, मर्यादामा रहनुपर्ने बताए । ‘सरकारले कर्मचारीको सेवा सुविधा सुनिश्चित गरेर खटाएको ठाउँमा कर्मचारी जानुपर्दछ’’, उनले भने, ‘अहिले कर्मचारी आन्दोलन गर्नुभन्दा पनि खटाएको ठाउँमा जानुपर्दछ ।’’ समायोजन अनुसार सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ समायोजन गरिँदैछ । सरकारले पुस मसान्तभित्र समायोजन सक्ने जनाएको छ । कर्मचारी समायोजन सङ्घीयता कार्यन्वयनको महत्वपूर्ण कडिको रुपमा लिइएको छ । रासस
नारायणगढ–बुटवल सडक विस्तारको काम माघबाटै सुरु
चितवन, पुस १७ । नारायणगढ–बुटवल सडक विस्तारको काम माघ महिनाबाट सुरु हुने भएको छ । भौतिक पूर्वाधार तथा यायातमन्त्री रघुवीर महासेठका अनुसार यही खण्डबाट पूर्व– पश्चिम राजमार्ग ४ लेनको बनाउने काम सुरु हुने छ । बुटवल–नरायणगढ सडकखण्ड दुई वटा प्याकेजमा विस्तार गरिँदै छ । दुबै प्याकेजमा चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले जिम्मा पाएको छ । सडक विभाग अन्तरगतको एडीबी सडक निर्देशनालयले कम्पनीसँग गत पुस ४ गते नै आयोजनाका लागि सम्झौता गरिसकेको सडक विभाग अन्तरगतका आयोजना निर्देशनालय ९एडीबी०का उपआयोजना निर्देशक सुरेश पौडेलले जानकारी दिए । यो आयोजनामा प्राविधिक रुपमा सफल भएका ७ वटा कम्पनीहरु अन्तिम प्रतिस्पर्धामा थिए । जमा सबैभन्दा कम रकम बोलकबोल गर्ने कम्पनीले नै निर्माणको जिम्मा पाएको छ । चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले प्याकेज९२ अन्तरगतको ठेक्का ७ अर्ब ८६ करोड रुपैयाँमा हात पारेको छ । यस्तै प्याकेज–१ मा ९ अर्ब १३ करोड रुपैयाँमा उसैले ठेक्का पाएको छ । पहिलो चरणमा ९ कम्पनीले बोलपत्र हाले पनि २ वटा कम्पनी प्राविधिक मूल्यांकनमा असफल भएका थिए । विभागका अनुसार यो सडक खण्डकोे विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । र, विस्तृत इन्जिनियरिङ सर्भेको काम पनि भईकसकेको छ । काम सुरु गर्नका लागि पुसको अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने तयारी गरिएको छ । सौराहाअनलाइनबाट
कांग्रेस क्यालेन्डरमा चल्यो भने कम्युनिस्ट पल्टन्छः नेता पौडेल
गोरखा, पौष १७ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस आफ्नो समय तालिका (क्यालेन्डर) मा चल्यो भने कम्युनिस्ट शासन पल्टने दाबी गरेका छन्। ‘कम्युनिस्ट फेल भएपछि पालो आउँछ र सफल हुन्छ भनेर कुर्ने होईन, कांग्रेस क्यालेन्डरमा मात्रै चले पुग्छ।’ ४२ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस गोरखाले सोमवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने ‘त्यो भनेको समयमै पार्टीका सबै काम गर्ने हो।’ पार्टी भित्रको एकतालाई लक्षित गर्दै नेता पौडेलले भने ‘न्याय, निष्पक्षता र पारदर्शीतामा एकता हुन्छ, मुखले भनेर, हात मिलाएर मात्रै एकता हुँदैन।’ आफुले कसैलाई काखापाखा गरेको भए बताउन अनुरोध गर्दै उनले कुनैपनि नेताले कार्यकर्तालाई काखापाखा नगरी नीति, कार्यशैली र विषयमा केन्द्रित रहँदै पार्टीभित्र एकता कायम गर्नुपर्नेमा जोड दिए। पार्टी भित्र विपीले भनेको मेलमिलापको नीति आजपनि उत्तिकै आवश्यक रहेको बताउँदै उनले जे नराम्रो गरेपनि जयजयकार गर्ने प्रवृत्तीबाट मुक्त हुन कार्यकर्तालाई अनुरोध गरे। उनले भने ‘आफ्ना कुरा, नीति बारे प्रष्ट हुनुहोस्, जे गरेपनि जयजयकार गर्ने प्रवृत्ती हटाउनुहोस्।’ यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।
वाइडबडी विमान खरिद : संसदीय समिति गठनको माग
काठमाडौँ, पुस १७ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद डा अमरेशकुमार सिंहले सरकारले दुईवटा वाइडबडी विमान खरीद गर्दा सार्वजनिक खरीद ऐन र नियमावलीका प्रावधानको पालना नगरेको आरोप लगाएका छन् । उहाँले वाइडबडी विमान खरिद गर्दा सम्झौता भएको कम्पनी एक महीनापछि मात्र दर्ता भएको प्रमाण फेला परेकाले संसदीय समिति गठन गरी छानबिन गर्न माग गरे । सांसद पम्फा भुसालले कर्मचारीले खटाएको स्थानमा जानुपर्ने उल्लेख गर्दै वृत्ति विकासमा असर पर्ने गरी गरिएको व्यवस्था संशोधन गर्न माग गरे । सांसद विमलप्रसाद श्रीवास्तवले स्थानीय तहका कर्मचारीलाई पन्छाएर विकास निर्माणका काम हुन नसक्ने बताए । बैठकमा सांसद मेटमणि चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैको उपचार हुने र अन्यत्र जानु नपर्ने आशा गरिएकामा केही कर्मचारीको दादागिरीले अस्पतालको अवस्था नाजुक बनेको बताए । निःशुल्क श्ययाको समेत शुल्क निर्धारण गरिएको, कर्मचारीले साउनदेखि तलब नपाएकामा उाले सरकारको ध्यानाकर्षण गराए । सांसद उमेश श्रेष्ठले राष्ट्रिय शिक्षा आयोगले निजी विद्यालयलाई बेवास्ता गरेको, सरकारले शिक्षामा कम लगानी गरेको, देशभर ६० हजार शिक्षक उपलब्ध हुन नसकेकाले शिक्षाको गुणस्तर खस्किएको बताए । सांसद विमला विकले झापामा चिया उद्योग गरिरहेका साना किसानलाई समेट्न वैज्ञानिक चिया नीति बनाउन माग गरे । सांसद गजेन्द्र महतले संसद्का कर्मचारीले दिएको सूचनाका आधारमा सञ्चारमाध्यमले सांसदका बारेमा समाचार प्रकाशित गरेको बताए । रासस
प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबरा सर्वसम्मत
काठमाडां, पुष १७ । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्वत अनुमोदन गरेको छ । समितिले प्रस्तावित प्रधानन्यायाधीश जबरासँग यही पुस १५ गते संसदीय सुनुवाइ गरेको थियो । सुनुवाइ नसकिएकाले आज सुनुवाइको लागि समितिको बैठक बोलाइएको थियो । समितिका संयोजक लक्ष्मणलाल कर्णले समितिबाट प्रस्तावित प्रधानन्यायाधीश जबराको नाम प्रधानन्यायाधीशका लागि सर्वसम्वत अनुमोदन भएको जानकारी दिए ।
जाडोमा पनि आरोहण आकर्षण
काठमाडौँ, पुस १७ । जाडो याममा पनि हिमाल आरोहणको आकर्षण उत्तिकै बढ्दो छ । यस सिजनमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल तथा चुली (पिक) आरोहण गर्न विभिन्न मुलुकका पर्वतारोही जाने गरेका छन् । पर्यटन विभागका अनुसार गत वर्षको हेमन्त ऋतुमा सगरमाथासहित हिमाल र चुली आरोहणका लागि १० वटा आरोहण दल आएका थिए । सगरमाथा, अमादब्लङ, पुमरी, थापापिक (धम्पुस), गौगिरीलगायत आरोहणका लागि गएका हुन् । सगरमाथा गएको एसएसटी विन्टर एलेक्जेन्डर चिकोन एभरेष्ट एक्सिपिडिसन आरोहण दल यसअघि सन् २०१६ मा पनि सगरमाथा आरोहण गर्न आएको थियो । यस वर्ष पनि अष्ट्रेलियालगायत मुलुकबाट तीन वटा आरोहण दल अमादब्लङ हिमाल र धम्पुस पिक आरोहणका लागि गएको विभागले जनाएको छ । सन् २०१७ को जाडोयाममा रु नौ लाख २६ हजारभन्दा बढी आरोहण रोयल्टी उठेको छ । विभागको पर्वतारोहण शाखाका अनुसार यो वर्ष पनि गत वर्षकै हाराहारीमा आरोही आउने अनुमान गरिएको छ । विभागको विवरण अनुसार सन् २०१८ को शरद ऋतुमा ५५ वटा हिमाल र पिक आरोहणका लागि १७३ आरोहण दलका एक हजार ३९८ आरोहीबाट पाँच करोड ३८ लाख १७ हजार २७४ रोयल्टी सङ्कलन भएको छ । सोही वर्षको वसन्त ऋतुमा ४०० भन्दा बढीले सगरमाथा आरोहण गरेका थिए । वैशाख ३० देखि जेठ ११ गतेसम्म भएको आरोहणबाट ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी उठेको छ । उक्त अवधिमा सगरमाथासहित २८ हिमालबाट ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको विभागले जनाएको छ । हिमाल आरोहणका लागि वसन्त ऋतु (स्प्रिङ सिजन) उपयुक्त मानिन्छ । यो याममा धेरै आरोही सगरमाथासहितका हिमाल आरोहणमा निस्कन्छन् । रासस
भ्रष्टाचार र हत्या हिंसा बढेको आरोप
हिलिहाङ, पुस १७ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले वाइड बडी जहाज खरीद प्रक्रियामा रु चार अर्ब बढी घोटाला भएको भनिए पनि सरकारले खरीद प्रक्रियामा संलग्नलाई कारवाही गर्न नसकेको आरोप लगाएका छन् । पाँचथरको फिदिममा मंगलबार बिहान पार्टीका कार्यकर्तासँगको भेटघाटमा पूर्वसिँचाइमन्त्री यादवले देशमा भ्रष्टाचार र हत्याहिंसा बढेको, ३३ किलो सुनकाण्डमा संलग्नलाई अहिलेसम्म पक्राउ गरी कारवाही गर्न नसकेको, निर्मला पन्त हत्याकाण्डका दोषी पत्ता लगाउन नसकेको जस्ता क्रियाकलापले सरकार कमजोर भएको विचार व्यक्त गरे । यस्तै विनाप्रतिस्पर्धा अरुण तेस्रो भारतलाई र बूढीगण्डकी चीनको कम्पनीलाई दिएर सरकारले भ्रष्टाचारको चरमसीमा नघाएको उनको भनाइ थियो । अहिले काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौड्यालबीच भावनागत एकता भइसकेको छ भन्दै उहाँले अब पार्टी एक ढिक्का भएर अघि बढ्ने बताए । रासस
रानीपोखरी पुनःनिर्माणका लागि चौथो पटक बोलपत्र
काठमाडौँ, पुस १७ । ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले चौथो पटक बोलपत्र आह्वानको तयारी गरेको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दासम्म रानीपोखरी कहिले पुनःनिर्माण हुने भन्ने विषय अझै अन्योलमा परिरहँदा कामपाले बोलपत्र आह्वानको तयारी गरेको हो । भूकम्प गएकै वर्ष माघ महिनामा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणको शुभारम्भ गर्नु भएपनि निर्माण कार्यले अहिलेसम्म गति लिन सकेको छैन । कामपाले पहिलो पटक बोलपत्र आह्वान गरी पुनःनिर्माण गर्दा आधुनिक सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि निर्माण कार्य रोकिएको थियो । त्यस्तै दोस्रो पटक बोलपत्र आह्वान गरे पनि कामपाको मागअनुरूप बोलपत्र प्राप्त नभएकाले काम अघि बढ्न सकेन । तेस्रो पटक आह्वान गरिएको बोलपत्रमा निर्माण कम्पनीले कामपाले तोकेको भन्दा बढी रकम देखाएपछि रद्द भएको हो । कामपाले रु १२ करोड ६६ लाख तय गरे पनि निर्माण कम्पनीले कामपाले निर्धारण गरेको भन्दा ११ प्रतिशत बढी रकम लाग्ने बताएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । डङ्गोलले भने, “यसै साताभित्र रानीपोखरी पुनःनिर्माणका लागि चौथो पटक बोलपत्र आह्वान गर्ने तयारी कामपाले गरेको छ, आशयपत्र पेश गर्ने समय यस अघिको जति लामो हुनेछैन ।” निर्माणका लागि इच्छा देखाएका कम्पनीले तोकिएको भन्दा बढी रकम देखाएपछि चौथो पटक निर्माणको तयारीमा कामपा जुटेको हो । यही पुस १० गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी तिहारसम्ममा रानीपोखरी निर्माणको काम सम्पन्न हुने बताए पनि त्यस किसिमको वातावरण देखिँदैन । कामपा र पुरातत्व विभागबीच सकारात्मक समन्वय हुन नसक्दा पुनःनिर्माणले गति लिन नसकेको हो । भूकम्प जानुअघि रानीपोखरीको स्वरूप जस्तो थियो सोही अनुरूप निर्माण कार्य छिटो गर्न समयसमयमा सम्पदाप्रेमी र राजनीतिक दलका प्रतिनिधिले कामपाका प्रमुख र उपप्रमुखलाई ज्ञापनपत्र पनि पेस गरेका छन् । पुनः निर्माणसम्बन्धी विवाद समाधान गर्न गत वर्ष पुस १३ गते गठन गरेको विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने सुझाव दिएको थियो । प्रताप मल्लले छोरा चक्रवर्तीन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले छोरा चक्रवर्तीन्द्रको नाममा पाँच वर्ष लगाएर निर्माण सम्पन्न गरेका थिए । बालगोपालेश्वर मन्दिरको स्वरूप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुङ्गाद्वारा निर्मित संघारले पनि पुष्टि गर्दछ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको ‘स्केच’बाट पनि प्रष्ट हुन्छ । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले भूकम्प र अन्य कारणले भत्किएका ऐतिहासिक सम्पदा पुनःनिर्माणको काम पहिलो प्राथमिकतामा रहेको बताउँदै आउनुभएको छ । यसै क्रममा ऐतिहासिक धरहरा पुनःनिर्माणका लागि यही पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । धरहराको निर्माणका लागि दुई वर्षको समय लाग्ने पनि सोही अवसरमा जानकारी गराइएको छ । भूकम्पले नै क्षति पुगेको काष्ठमण्डप निर्माणका लागि क्षमा पूजा गरी धार्मिकरूपमा निर्माणको काम शुरु गरिसकिएको छ । रासस
कालीगण्डकी कोरिडोरमा सेनाले बनाएको पुल तोडफोड
बलेवा, पुष १७ । नेपाली सेनाले बनाएको कालीगण्डकी कोरिडोरको छोरेलौंवा खोलाको पुल तोडफोड भएको छ । जैमिनी नगरपालिका–७ जैदीस्थित यो खोलाको पुल सोमबार राति अज्ञात समूहले फोडेको स्थानीयले बताए । गत असारमा सेनाले निर्माण सकेर तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सो पुलको उद्घाटन गरेका थिए । क्षेत्रीको नामसहितको विवरण राखिएको शिलालेख र केही संरचना फुटालिएको भेटिएको नगरपालिकाका उपप्रमुख लीला रानाले बताए । तोडफोड गर्ने समूहको खोजी भइरहेको प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । कोरिडोर सेनाले निर्माण गरिरहेको छ । बिना कारण भौतिक संरचनामा तोडफोड भएको भन्दै उपप्रमुख लीला रानाले दोषीको खोजी गरी तत्काल कारवाही गर्नुपर्ने बताए । “हामीले प्रहरीलाई खबर गरेका छौं” रानाले भने, “तत्काल दोषी पत्ता लगाएर कारवाही गरिनुपर्छ” शिलालेख र त्यसको आसपासमा सिमेण्टले बनाइको पुलको केही भाग फुटेको छ ।
राजधानी कहाँ भन्दा कस्तो बनाउने महत्वपूर्ण : सभामुख
रुपन्देही, पुस १७ । प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्तीले राजनीतिक सहमतिका आधारमा प्रदेशको राजधानीको टुङ्गो लगाउनुपर्ने बताएका छन् । राजधानी हचुवाको भरमा तोक्ने विषय नभएको बताउँदै उनले राजधानी कहाँ बनाउनेभन्दा पनि कस्तो बनाउने विषय महत्वपूर्ण भएको बताए । रिपोटर्स क्लब प्रदेश नं ५ ले मगलबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा सभामुख घर्तीले प्रदेशको राजधानी प्रदेशका सबै जनताको भवना बुझेर तय गर्नुपर्ने बताए । प्रतिपक्ष दलको विरोध र सत्ता पक्षकै सांसदले गुनासो गरेको कारण स्थायी राजधानी र नामाकरण गर्न विशेष समिति बनाइएको बताउँदै प्रदेशका सबै सांसदले आफ्नो तहभन्दा माथि उठेर सहमति जुटाउनुपर्ने बताए । “बाँके, बर्दियाजस्ता जिल्लासमेत समेट्ने गरी स्थानको टुङ्गो लगाउनुपर्छ” उनले भने, “कुन सांसदको घर कहाँ छ भन्ने आधारमा राजधानी तोक्ने विषय होइन ।” कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता बलदेव शर्मा पोखरेलले प्रदेश राजधानी रुपन्देही र नामाकरण लुम्बिनी गर्दा उपयुक्त हुने धारणा राख्नुभयो । राजधानी तोक्ने विषयमा अनावश्यक ढिलाइ भएको भन्दै उहाँले रुपन्देही राजधानी तोक्ने विषयमा सबैको सहमति जुट्ने विश्वास व्यक्त गरे । दुई तिहाइ बहुमतबाट भए पनि राजधानीको विषय टुङ्ग्याउनुपर्ने भन्दै नेता पोखरेलले यसमा जिम्मेवार दलका नेता लाग्नुपर्ने बताए । सङ्घीय समाजवादी फोरमका प्रमुख सचेतक सन्तोष पाण्डेले प्रदेशको स्थायी राजधानी रुपन्देहीभन्दा अन्य विकल्प नभएको बताए । राजधानी तोक्न ढिलाइ हुँदा अन्तर्राष्ट्रिय समुदायले समेत चासो दिएको भन्दै उनले रुपन्देही राजधानी र प्रदेशको नामाकरण लुम्बिनी उपयुक्त हुने पार्टीको धारण रहेको बताए । गौतमबुद्धको जन्मभूमि लुम्बिनीबाट नेपाल विश्वसामु चिनिएकाले लुम्बिनी प्रदेश नै उपयुक्त हुन्छ उनले भने, “भौतिक पूर्वाधारका हिसाबले स्थायी राजधानी रुपन्देहीको विकल्प छैन ।” रासस
चितवनमा छैटौँ राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा बृहत् कार्यक्रम
चितनवन, पुस १७ । चितवनमा मंगलबार छैटौँ राष्ट्रिय पोल्ट्री दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । पाँच वर्षअघि २०७० सालमा नेपाल सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो । अहिले पुर्वी चितवनको रत्ननगर स्थित होटल स्टार बैँक्विटमा बृहत अन्र्तकृया कार्यक्रम भईरहेको छ । यसअघि शोभा र्याली समेत निकालिएको थियो । र्यालीले रत्ननगरको टाडीँ बजारको परिक्रमा गरेका थिए । यसै अवसरमा मंगलबार भरतपुर स्थित क्यान्सर हस्पिटलमा निःशुल्क अण्डा वितरण गरिने ह्याचारी संघ चितवनका अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिए । पोल्ट्री दिवसलाई पोल्ट्री व्यवसायीको चाडको रुपमा मनाउनुपर्छ भन्ने मान्यता अनुरुप नेपाल सरकार पशुसेवा विभाग पशुपक्षी बजार प्रबद्र्धन निर्देशनालय, पशु उत्पादन निर्देशनालय र नेपाल कुखुरा व्यवसायी मञ्चको संयुक्त आयोजनामा रत्ननगरमा समग्र पोल्ट्री क्षेत्रको विकासको लागि नीतिगत गोष्ठी आयोजना गरेर मनाउन लागिएको अध्यक्ष विसुरालले बताए । सौराहअनलाइनबाट
९ दिनदेखि चार किशोर बेपत्ता
रत्ननगर, पुस १७ । नौ दिनदेखि एकसाथ बेपत्ता भएका भरतपुर महानगरपालिका–११ का चार किशोर अझै फेला परेका छैनन् । बाह्रदेखि १५ वर्ष उमेरका भरतपुर महानगरपालिका–११ अमनचोकका सामुइल श्रेष्ठ, दिनेश परियार, सञ्जय मोक्तान र रिवाज कुमाल बेपत्ता छन् । दिनेश, सञ्जय र रिवाज नयाँकिरण माविमा कक्षा ६ अध्ययनरत तथा सामुइल लोटस एकेडेमीमा अध्ययन गर्दैआएका थिए । बेपत्ता चारै जनाको खोजी गर्न जिल्ला प्रहरी कार्यालयले सबै प्रहरी युनिटमा हुलिया र फोटोसहित सूचना जारी गरेको प्रहरी प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए । प्रहरीले उनीहरुका आफन्त तथा साथीभाइसँग सोधपुछ गरिरहेको छ । अन्तिम पटक उनीहरुसँग भेट भएका व्यक्तिको भनाइका आधारमा जिल्ला बाहिर जाने विभिन्न लामो तथा छोटो दूरीका सवारीसाधनमा जाँच गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
पुनःनिर्माणसम्बन्धी अधिकार स्थानीय तहलाई
बेत्रावती, पुस १७ । विनाशकारी भूकम्पले क्षति पुगेका संरचना पुनःनिर्माण गर्न सहजीकरण तथा अधिकार प्रत्यायोजन गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र नुवाकोटका स्थानीय तहबीच १५ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । विदुरमा सम्पन्न दुईदिने पुनःनिर्माण जिल्ला समन्वय समितिको बैठकले जारी रहेको पुनःनिर्माणलाई तीव्रता दिएर तोकिएको समयमा कार्य सम्पन्न गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय) र यहाँका १२ स्थानीय तहबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीमा प्राधिकरणले स्थानीय तहमा आवश्यक कर्मचारी खटाउने र ती कर्मचारीको हाजिरीलगायतका प्रशासनिक क्रियाकलाप सम्बन्धित स्थानीय तहमार्फत हुने, पुनःनिर्माणका लागि स्थानीय तहमा खटिएका कर्मचारीको सुविधासहित भौतिक पूर्वाधारको व्यवस्था प्राधिकरणबाटै हुने, पुनःनिर्माण भएका घरको वडामा खटिएका प्राविधिकले सिफारिश गरेपछि वरिष्ठ इञ्जिनीयरले प्रमाणित गरी अनुदान रकमका लागि स्थानीय तहले जिल्ला आयोजना कार्यान्वयन एकाइमा पठाउने उल्लेख गरिएको छ । स्थानीयस्तरबाट कार्यान्वयन हुने आयोजना गुम्बा, मठमन्दिर स्थानीय पुरातात्विक सम्पदा, एकीकृत बस्ती, स्थानीय पूर्वाधारका आयोजनाको पुनःनिर्माण गर्न प्राधिकरणले बजेट स्थानीय तहलाई उपलब्ध गराउने, प्राधिकरणको सहयोग र समन्वयमा स्थानीय तहले पुनःनिर्माण कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने, पुनःनिर्माणमा खटिएका कर्मचारीले पदीय आचरणविपरीत कार्य गरेमा स्थानीय तहले कारवाहीलाई कार्यान्वयन एकाइलाई सिफारिश गरेअनुसार प्रक्रिया अघि बढाउने भनिएको छ । सम्झौतापत्रमा निजी आवास पुनःनिर्माणसम्बन्धी तथ्याङ्कहरु र स्थानीय तहमा खटाएको कर्मचारीको विवरण ६० दिनभित्र प्राधिकरणबाट स्थानीय तहलाई हस्तान्तरण गर्ने, लाभग्राहीले मापदण्ड पूरा गरेर निर्माण गरेका घरको नक्सा स्थानीय तहले स्वीकृत निरीक्षण कार्यविधिअनुरुप १५ दिनभित्रै स्वीकृति दिइसक्ने प्रावधान समावेश छ । वास्तविक लाभग्राही भएर पनि अनुदान प्राप्त सूचीमा नपरी गुनासो दर्ता गराएकालाई प्राधिकरणबाट यथाशीघ्र सम्बोधन गर्ने उल्लेख गरिएको प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । उहाँका अनुसार सम्झौतासहित बैठकले १२ बुँदे निर्णय गर्दैै पुनःनिर्माण गर्न स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ । बैठकले अनुदान वितरणलाई प्रभावकारी बनाउने, निजी आवास निर्माणको सहुलियत व्याजदरको कर्जा वितरणलाई सरल र सहज बनाउने, आगामी माघ १५ भित्र स्थानीय तहले पुनःर्निर्माणसम्बन्धी कार्ययोजना तयार गरी प्राधिकरणमा पेश गर्नुपर्ने निर्णय गरेको छ । साथै नक्कली लाभग्राही एवं दोहोरो भुक्तानी लिएकालाई अनुदान पाउने सूचीबाट हटाउन पहल गरिने, जोखिम वर्गको सूचीमा परेका परिवारको पहिचान गरी राज्यले प्रथामिकता दिएका सुविधा उपलब्ध गराउने, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यहाँको बेलकोटगढी, सूर्यगढी र चिम्टेश्वर महादेव लगायतका सम्पदा पुनःनिर्माण गर्न पुरातत्व विभागको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ । नुवाकोटको साततले दरबारसहित आसपासका पुरातात्विक सम्पदालाई समावेश गरी ‘सम्पदा बस्ती’ निर्माणमा चीन सरकारको सहयोगलाई समावेश गराउन पहल गर्ने, जोखिम बस्तीका बासिन्दाको स्थानान्तरण र पुनःस्थापनामा भइरहेको ढिलाइलाई तदारुकता दिइनेलगायतका निर्णय भएको छ । जिल्लास्तरमा पुनःनिर्माण कार्यमा समन्वय एवं सहजीकरण गर्न जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष रहेको ‘पुनःनिर्माण जिल्ला सहजीकरण समिति’ गठन गरिएको छ । समितिको सदस्यसचिवमा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रहेको छ भने सदस्यमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, मालपोत, नापी, कोष तथा लेखा नियन्त्रण कार्यालय र जिल्लाका वाणिज्य बैंकलाई समावेश गरिएको छ । बैठकमा प्राधिकरणका कार्यकारी सदस्य श्रेष्ठसहित जिल्लास्थित पुनःनिर्माण प्राधिकरणको विभिन्न एकाइ कार्यालय, सांसद हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, प्रदेश उपसभामुख राधिका तामाङ, प्रदेससभा सदस्य बद्री मैनाली, केशव पाण्डे, हिरानाथ खतिवडा, कल्पना नेपाली, जिसस प्रमुख सन्तमान तामाङ, प्रजिअ उद्धवबहादुर थापासहित नुवाकोटका सबै स्थानीय तहका प्रमुखको सहभागिता थियो । प्राधिकरण र स्थानीय तहबीच भएको सम्झौता र निर्णयले पुनःनिर्माणलाई थप तीव्र बनाउन र पुनःनिर्माणमा उत्पन्न समस्या समाधान गर्न सहज हुने विश्वास लिएको स्थानीय तहका प्रमुखले बताएका छन् । सीमित समयका लागि स्थापना भएको प्राधिकरणको समयसीमा सम्पन्न भए पनि स्थायी रहने स्थानीय तहले विभिन्न योजना बनाएर पुनःनिर्माण र त्यसपछिको समयमा उत्पन्न विपद्को प्रभावकारी सामना गर्न प्राधिकरणसँगको सम्झौतालाई महत्वपूर्ण जिम्मेवारीको रूपमा लिएको दुप्चेश्वर गाँउपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभयो । त्रिशूलीमा बेपत्ता तामाङ भेट्टिएनन् चोरीको अभियोगमा पक्राउ परी प्रहरी नियन्त्रणबाट भागेर त्रिशूली नदीमा हामफालेका रसुवा उत्तरगया गाउँपालिका–२ का मैते तामाङको अवस्था अझै अज्ञात छ । उनलाई नदीमा गोताखोरको टोलीले भेट्टाउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए । गत पुस ४ गते त्रिशूली नदीमा पसेर बेपत्ता भएका १९ वर्षीय तामाङको खोजीका लागि सोमबार सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालीम केन्द्र कुरिनटारबाट आएको गोताखोरको टोलीले दिनभर खोजी गरे पनि भेट्टाउन नसकेको हो । सशस्त्र प्रहरी नायब निरीक्षक प्रल्हाद सिलवालको नेतृत्वको गोताखोर टोलीले तामाङ नदीमा पसेको स्थान पैरेबेँसीदेखि त्रिशूली जलविद्युत् केन्द्रमा पानी लगेको बाँधस्थल अक्करेसम्म खोजी गरे पनि भेट्टाउन नसकेको नुवाकोट प्रहरीले जनाएको छ । केन्द्रको बाँधस्थललगायतका ठाँउमा यसअघि नै खोजी गरे पनि भेट्टाउन नसकेपछि थप स्थानमा खोजीका लागि सोमबार गोताखोरको टोली परिचालन गरिएको थियो । उक्त टोलीले पनि भेट्टाउन नसकेपछि खोजीको वैकल्पिक उपाय अपनाउनुपर्ने देखिएको डिएसपी भट्टराईले भने । गत पुस ३ गते राति माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरीको अभियोगमा तामाङसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यही अभियोगमा अनुसन्धान तथा कारवाहीका लागि प्रहरी कार्यालय ल्याउने क्रममा पेंरेबेंसीमा आएपछि शौच गर्ने बाहनामा उनी त्रिशूली नदीमा पसेर बेपत्ता भएका थिए । तामाङ आफैं नदीमा पसेको नभई प्रहरीले बगाइदिएको भन्दै विरोधमा स्थानीयवासीले पुस ४ मा मैलुङ प्रहरीचौकी तोडफोड गरी दुई प्रहरीलाई घाइते बनाइदिएका थिए । सोही क्रममा प्रहरीले पाँच राउण्ड हवाईफायरसमेत गर्नुपरेको थियो । रासस
अवैधरूपमा लुकाइएको मदिरा बरामद
लहान, पुस १७ । नेपालबाट भारततर्फ अवैधरूपमा तस्करी गर्न लुकाइछिपाइ राखेकोे अवस्थामा प्रहरीले मंगलबार बिहान सिरहाको भगवानपुर–५ स्थित सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा मदिरा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले भगवानपुर–५ स्थित अभयकुमार यादवको बाँसघारीमा लुकाइछिपाइ राखेको अवस्थामा गौरव नामक मदिरा ३९० बोतल, नुरीशसी नामक मदिरा ३०० बोतल, कस्तुरी ३०० बोतल, रोयलस्ट्याक ३० बोतल र गोल्डेनओक १५ बोतल बरामद गरेको हो । यस्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोलबजार नगरपालिका–३ स्थित विष्णुदेव साहको घरमा लुकाइछिपाइ राखेको अवस्थामा ८०० लिटर अवैध मदिरा र एक हजार २०० लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामद गरी नष्ट पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए । त्यस्तै प्रहरीले सिरहा नगरपालिका–१ बाट करीब ५० हजार मूल्य बराबरको अवैध समान बरामद गरेको छ । दर्जनौँ स्वास्थ्य क्लिनिक अवैध रूपमा सञ्चालन सिरहाको विभिन्न स्थानमा दर्जनौँ पोलिक्लिनिक अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ । सदरमुकाम सिरहासहित लहान, मिर्चैया, गोलबजारलगायतका मुख्य बजारमा अवैधरूपमा औषधि पसल तथा पोलिक्लिनिक सञ्चालनमा रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाकाअनुसार हालसम्म कार्यालयमा ९२ पोलिक्लिनिक, अस्पताल, ल्याब तथा डेण्टल क्लिनिक दर्ता भएर सञ्चालनमा रहेका छन् । तीमध्ये एक दर्जनभन्दा बढी स्वास्थ्य क्लिनिकको नवीकरण सकिएको तथा कतिपय स्वतः खारेजीको प्रक्रियामा रहेको कार्यालयका शाखा अधिकृत उमेशलाल कर्णले जानकारी दिए । कर्णका अनुसार लहानमा सञ्चालित आदित्य मेडिकल केयर सेन्टर, लीलामदन पोलिक्लिनिक प्रालि, त्रिदेव पोलिक्लिनिक प्रालि, डिभाइन हेल्थ केयर हस्पिटल, लहान लाइफ केयर हस्पिटल, मिर्चैया– ७ फुलबडियामा सञ्चालित शुभ शान्ति पोलिक्लिनिक प्रालि, सिरहा नरपालिका–७ स्थित पण्डिल ल्याब, गोलबजार नगरपालिका–४ असनपुरस्थित माँ धमीनी हस्पिटल प्रालि, गोलबजार–४ स्थित भुमिजा हस्पिटल एण्ड टेक्निकल डेभलेपमेन्ट सेन्टरलगायतका स्वास्थ्य संस्थामध्ये कतिपयको नवीकरण सकिएको छ भने कतिपय दर्ताबिनै सञ्चालनमा रहेको कार्यालयले जनाएको छ । गत भदौ २० गते सरोकारवाला, स्वास्थ्य संस्था प्रमुख तथा प्रतिनिधिको बैठकले गत कात्तिक २० गतेसम्म नवीकरणको लागि समयसीमा तोकेको भएपनि हालसम्म कुनै पनि पोलिक्लिनिक तथा स्वास्थ्य संस्थाले नवीकरणका लागि निवेदन तथा कागजात पेश नगरेको शाखा अधिकृत कर्णको भनाइ छ । स्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलवाड हुँदै आए पनि नियमनकारी निकाय बेखबर बनेको स्थानीयवासीको भनाइ छ । रासस
मनाइयो टोपी दिवस
काठमाडौँ, पुस १७ । ‘नेपाली टोपी : हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन आज माइतीघर मण्डलामा भेला भएर युवायुवतीले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् । माइतीघर मण्डलमा भेला भएको युवायुवतीले पञ्चेबाजासहित मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रभातफेरि गरेका थिए । अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको अभियानले भन्दै २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन शुरु गरेका हुन् । सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ । राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । रासस

