१३ दिन सार्वजनिक बिदा थप्दै सरकार
काठमाडौं, पौष १९ । सरकारले १३ दिन सार्वजनिक बिदा थप गर्ने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको मन्त्रीस्तरीय समितिले १३ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव गरेको हो ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीले १३ दिन बिदा थप गर्ने प्रस्ताव गरेका हुन्।
प्रस्तावित विवरण अनुसार किराँत चार्ड उभौली र उधौलीका लागि दुई दिन, इदुल फित्र, बकरइद र मोहम्मद जयन्ती तीन दिन, किस्मस, एक दिन, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्वे ल्होसारमा तीन दिन, छठ, ऋषि पञ्चमी, माघी पर्व, र जनै पूर्णिमामा एकएक दिन बिदा दिने प्रस्ताव समितिले गरेको छ। सँगै समितिले अन्य बिदा भने यथावत रहने बताएको छ।
बागमतीको स्वरुप फेर्न तीन ठाउँमा बन्दैछ फोहोरो पानी प्रशोधन केन्द्रहरु
ललितपुर, १९ पुस । ललितपुरको बालकुमारीस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माणको बिहीबार शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहका बीच फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास गरेका हुन् । बालकुमारीको कोड्कुमा निर्माण हुने प्रशोधन केन्द्रको कुल लागत ६० करोड ७५ लाख रुपैंया रहेको छ । दैनिक १ करोड ७५ लाख लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता रहेको उक्त आयोजनाको निर्माण कार्य चीनको साफबोन वाटर सर्भिस होल्डिङ कम्पनीले गरिरहेको छ । अबको साढे २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) र साफबोन कम्पनीबीच सम्झौता भईसकेको छ । सम्झौता अनुसार यस प्रशोधन केन्द्रको सञ्चालन तथा मर्मत कम्पनीले निर्माण सकिएपछि ५ वर्षसम्म गर्नेछ । यस प्रशोधन केन्द्रले ५ हजार ८४ हेक्टर क्षेत्रफलमा फैलिएको गठ्ठाघर, मनोहरा र बालकुमारी लगायतका क्षेत्रहरुमा बसोबास गर्ने करिब ३ लाख ८० हजार जनसंख्यालाई लाभ पुऱ्याउने लक्ष्य राखेको छ । साथै यस प्रशोधन केन्द्रमा दैनिक ३ दशमलब २ टन मलका साथै बायो ग्यास समेत उत्पादन हुनेछ । आयोजनाका आयोजना निर्देशक तिरेश प्रसाद खत्रीले कुनै किसिमको गन्ध नआउने गरी अत्याधुनिक प्रविधि मार्फत ढल तथा फोहोर पानीको प्रशोधन गरिने जानकारी दिए । निर्देशक खत्रीका अनुसार प्रशोधन गरिसकेको पानीलाई सफाई तथा सिंचाई लगायत विभिन्न कार्यहरुमा प्रयोग गर्न सकिनेछ । खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकामा बालकुमारीसँगै सल्लाघारी र धोबीघाटमा समेत फोहोर पानी प्रशोधन केन्द्र निर्माण गर्न लागेको छ । गुह्येश्वरीमा भने ७५ प्रतिशत भन्दा बढी काम सकिएको निर्देशनालयले जनाएको छ । सल्लाघारीमा दैनिक १ करोड ४२ लाख लिटर र धोबीघाटमा दैनिक ७ करोड ४० लाख लिटर फोहोर पानी प्रशोधन गरी बागमतीमा खसाल्ने लक्ष्य राखिएको छ । यी तीनवटै फोहोर पानी प्रशोधन केन्द्र निर्माण भईसकेपछि काठमाडौं उपत्यकामा रहेका ३० लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् । सिंगो बागमतीको स्वरुप फेर्न प्रशोधन केन्द्रहरु निर्माण गर्न लागिएको आयोजना निर्देशक खत्रीको भनाई छ । काठमाडौं रहेका यी तीन वटै प्रशोधन केन्द्रको कुल निर्माण लागत करीब ४ अर्ब रहेको छ । प्रशोधन केन्द्रबाट प्रतिघण्टा ३०५ किलोवाट विद्युत उत्पादन हुनेछ । साथै प्रशोधनबाट दैनिक १७.८ टन मल उत्पादन र केही मात्रामा बायोग्यास समेत उत्पादन हुनेछ । काठमाडौं उपत्यकाका यी तिनैवटा प्रशोधन केन्द्रबाट प्रशोधित भईसकेको पानी सिंचाई, सडक सरसफाई, औद्योगिक चिस्यान र पार्क लगायतका काममा प्रयोग गर्न सकिने आयोजना निर्देशनालयले जनाएको छ ।
रेशमको शपथपछि महतो भन्छन्, ‘लोकतन्त्र र जनमतको सम्मान’
काठमाडौं, पौष १९ । रेशम चौधरीले सपथ लिएपछि राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले लोकतन्त्र र जनमतको सम्मान भएको प्रतिक्रिया दिएका छन् । टीकापुर घटनाका मुख्य दोषी चौधरीलाई संसद् सचिवालयमा बिहीबार सभामुख कृष्णबहादुर महराले शपथ खुवाइसकेपछि महतोले सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन्। महतोले चौधरीको शपथपछि पनि आफूहरु सरकारमा भने सहभागी नहुने प्रस्ट्याए। उनले संविधान संशोधन, अन्य थुनामा रहेका नेता, कार्यकर्ताहरुको रिहाई नभएसम्म सरकारलाई दबाब दिइरहने बताए। महतोले भने, ‘संविधान संशोधन बाँकी छ। थुनामा रहेका साथीहरुको मुद्दा टुंगिएको छैन। दबाब जारी रहन्छ। सरकारमा जाने कुरै छैन।’ राजपाले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई शपथ गराउनुपर्ने लगायत माग उठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो।
रेशम भन्छन्, ‘शपथ लिएपछि जेल जाने पहिलो व्यक्ति मै हुँ’
काठमाडौं, पौष १९ । पद तथा गोपनीयताको शपथ लिएर कैलालीको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई कारागार लगिएको छ । प्रहरी टोलीले शपथ सकिएलगत्तै सिंहदरबारबाट पुनः डिल्लीबजार कारागार लगिएको हो । वि.सं. २०७२ भदौ ७ गते टीकापुरमा भएको हत्याकाण्डमा मारिएका सात जना सुरक्षाकर्मी र नाबालकको हत्याका मुख्य दोषी चौधरीमाथि कानुनी कारवाही चलिरहेका बेला सपथग्रहण गराइएको हो। अब सांसदकै हैसियतमा उनी जेल बस्नेछन्। यसैबीच, रेशमले सांसद पदको शपथ ग्रहण गर्न पाउँदा खुसी लागेको बताए । संसद् सचिवालय सिंहदरबारमा सभामुख कृष्णबहादुर महराबाट शपथ लिएपछि चौधरीले खुसी व्यक्त गरेका हुन्। उनले शपथ ग्रहणपछि जेल जाने पहिलो व्यक्ति भएको समेत दाबी गरे। भने, शपथ लिएपछि जेल जाने पहिलो व्यक्ति मै हुँ।’
टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीले लिए सांसदको सपथ
काठमाडौं, पौष १९ । कैलालीको टीकापुर घटनाका मुख्य आरोपीका रुपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीले पद तथा गोपनीयताको सपथ लिएका छन् । डिल्लीबजार कारागारबाट प्रहरी भ्यानमा राखेर उनलाई सिंहदरबारस्थित संसद भवनस्थित कृषि समितिको बैठक हलमा पुर्याइएका थिए। त्यही सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ दिलाएका हुन्। उनले थारु भाषामा सपथ लिएका छन्। सपथका बेला उनकी श्रीमतीरञ्जिता श्रेष्ठ र छोरा पनि उपस्थित थिए। सपथ पछि सभामुख महराले उनलाई माला लगाइ दिएभने राजपाका नेताहरुले खादा लगाई दिएका थिए। बिहीबार बिहान साढे ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको भएपनि चौधरी आउन ढिला हुने र संसद मध्यान्ह बस्ने भएछि ३ बजेलाई शपथको कार्यक्रम सारिएको थियो। राष्ट्रिय जनता पार्टीले चौधरीलाई सपथ दिलाउनेलगायतका आफ्ना मागहरु पुरा नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी दिएपछि सरकारले उनको सपथको व्यवस्था मिलाएको हो।
समायोजनका लागि २६ हजार कर्मचारीको आवेदन
काठमाडौं, पुस १९ । कर्मचारी समायोजनका लागि २६ हजार १३० जना कर्मचारी अनलाइन प्रणालीमा नाम दर्ता गराएका छन् । यही पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइन फारममा २६ हजार १३० जनाले नाम दर्ता गराएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिए । उनका अनुसार तीमध्ये १९ हजार ८६८ जना समायोजन रोज्नका लागि तयार र छ हजार २६२ जनाले समायोजनका लागि फारमसमेत भरिसकेका छन् । यही पुस मसान्तभित्र सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अध्यादेश–२०७५ ल्याउँदै समायोजनको कार्य शुरु गरेको छ । सरकारले पुस ११ गते २१ दिनभित्र समायोजनमा जानका लागि कर्मचारीलाई अनलाइन आवेदन माग गरेको छ । समायोजनका लागि फारम भर्नका लागि सरकारले सबै मन्त्रालय, निकाय, आयोग, समिति र स्थानीय तहमा ‘सहयोगी कक्ष’ सञ्चालन गरेको छ । आवेदन दिएकामध्ये आध्यदेशअनुसार योग्य भएका कर्मचारीलाई छनोटमार्फत समायोजन गरिने उपसचिव निरौलाले बताए ।
लागुऔषध चरेससहित दुई भारतीय पक्राउ
धादिङ, पुस १९ । बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले धादिङको गजुरीबजार नजीकैबाट बिहीबार आज बिहान २३५ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौैबाट भारततर्फ कन्टेनर ट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा सुराकीका आधारमा अवैध लागुऔषध चसेरसहित प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित एकानिघौली टीकापुरग्राम निवासी ३० वर्षीय सतेन्द्र सिंह बेघल र पटेवा सुगौलीका ५० वर्षीय महमद गद्दी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गजुरी र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिआएका प्रहरीले सो लागुऔषध पक्राउ गरेको हो । एचआर ३ एसएस ९३७१ नंको कन्टेनरमा लुकाई छिपाई चरेस लोड गरेको सुराकी आएपछि ब्यूरोका टोलीले पिछा गर्दै गजुरी बजार नजिकै जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय गजुरीको सहयोगले उनीहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ गरेको लागुऔषध चरेस वर्षकै सबैभन्दा धेरै परिमाणको भएको पनि प्रहरीले जनाएको छ । रासस
चाहनाः पौडी खेल्न मिल्ने बागमतीको पानी– प्रधानमन्त्री ओली
काठमाडौं, पौष १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब विकासको गतिले तिव्रता लिने बताएका छन् । बिहीबार खानेपानी मन्त्रालयले बालकुमारीमा स्थापना गर्न लागेको फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘देशमा विकास, सुशानका क्षेत्रमा तिव्रताका साथ काम अगाडि बढेको छ । २७ वर्ष चिप्ले किरा जस्तो हिड्यो, यो वर्ष जापानी कार चिल्लो बाटोमा हिडेको छ, तीब्र गतिमा काम भइरहेको छ ।’ यस्तै, प्रधानमन्त्री ओलीले खानेपानीको समस्यालाई समाधान गर्न काम तिव्ररुपमा भइरहेको बताए । उनले मेलम्चीमा समस्या देखिए पनि आयोजना कुनै पनि हालतमा अघि बढ्ने र त्यसले पूर्णता पाउने प्रतिवद्धता जनाए । प्रधानमन्त्री ओलीले दोस्रो चरणको यांग्रि खोलाबाट मेलम्चीको पानी थाप्ने काम गर्न अब २७ वर्ष कुर्नु नपर्ने बताउँदै २७ महिनामा नै त्यो काम सकिने बताए । यस्तै, उनले अब सबै खोलामा सफा पानी हुने बताए । प्रधानमन्त्रीले भने, ‘अब खोलामा सफा पानी हुन्छ । प्रकृतिमा स्वतः प्युरिफाई गर्ने प्रणाली हुन्छ । बाह्य आक्रमण भए प्रदूषित हुन्छ । पानी प्रयोग गरेपछि प्रदुषित हुने पानीलाई सफा नगरे वातावरण दुर्घन्धित हुन्छ । त्यसैले त्यसलाई प्रषोधन गर्नुपर्छ । सरकारले अहिले यहि पशोधन प्लान्ट अघि बढाएको छ ।’ प्रधानमन्त्री ओलीले काडमाडौं उपत्यकामा वातावरणीय स्वच्छता आफैमा चुनौति रहेको भए पनि स्वच्छ हावामा श्वास फेर्न सकिने वातावरण बनाउन सकिने बताए । साथै, उनले बाग्मतिको पानी पौडी खेल्न र नुहाउन मिल्ने बनाउर्नेमा जोड दिए ।
सरकारको नीतिः अब भिखारीलाई पनि जेल सजायको व्यवस्था
काठमाडौं, पुस १९ । काठमाडौंका सडकपेटीमा बढ्दै गएका बेवारिसे वृद्धवृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ । प्रहरीले बेवारिसे वृद्धवृद्धालाई आश्रममा पुर्याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो । महानगरीय परिसरका अनुसार पक्राउ गरिएका वृद्धवृद्धालाई आश्रममा राखिने छ । भिखारीको हकमा भने स्वदेशी र विदेशी छुट्याएर कानूनअनुसार कारबाही गरिने छ । नयाँ पत्रिकाबाट
विपी प्रतिष्ठानमा विशेषज्ञ सेवाका लागि तीन विभाग थपिए
धरान, पुस १९ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन विभाग अन्तर्गत रहेका अन्य तीन विभागलाई छुट्टै शुरु गरिएको छ । एउटै विभागबाट विभिन्न रोगको विशेषज्ञ सेवा तथा शिक्षा प्रदान गर्न असहज भएपछि मुटु, फोक्सो, पेटसम्बन्धी छुट्टै विभाग बनाइएको प्रतिष्ठानका अस्पताल निर्देशक डा गौरीशङ्कर साहले जानकारी दिए । इन्टर्नल मेडिसिनलाई अहिले विभाजन गरी मेडिसिन कार्डियोलोजी विभाग, मेडिसिन पल्मोलोजी विभाग, मेडिसिन ग्याष्ट्रोेलोजी विभाग छुट्टै बनाइएको छ । कार्डियोलोजी विभागको प्रमुखमा मुटुरोग विशेषज्ञ प्राडा प्रल्हाद कार्कीलाई जिम्मेवारी दिइएको छ । यस्तै फोक्सो सम्बन्धी विभाग पल्मोलोजीको जिम्मेवारी डा नरेन्द्र भट्टलाई दिइएको छ । पेटसम्बन्धी ग्याष्ट्रोेलोजी विभागको प्रमुखमा डा विक्रम श्रेष्ठ नियुक्त हुनुभएको छ । यसअघि सबै विभागको प्रमुखमा प्राडा सञ्जीवकुमार शर्मा रहेका थिए । उनलाई जनरल मेडिसिनको विभागीय प्रमुखमा यथावत राखिएको अस्पताल निर्देशक साहले जानकारी दिए । छ महीनाअघि नै कार्यकारिणी समितिमा विशेषज्ञ सेवाका लागि छुट्टै विभाग बनाउने सैद्धान्तिक निर्णय भएको तर जनशक्ति अभावले विभाग छुट्याइएको थिएन । सहज उपचार र शिक्षाका लागि मङ्गलबारदेखि छुट्टै विभाग सञ्चालनमा ल्याइएको प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले जानकारी दिए । “एकै स्थानबाट धेरै सेवा दिँदा समस्या थियो, अब भने बिरामीलाई पनि सहज हुनेछ”, उपकुलपति रौनियारले भने । प्रतिष्ठानमा बिरामीको चापलाई कम गर्न तथा मेडिकल शिक्षामा सबै विभागबाट सेवा सहजरूपमा उपलब्ध गराउन विभाग थप गरिएको प्रतिष्ठानका उपकुलपति प्राडा रौनियारको भनाइ छ । प्रतिष्ठानले चाँडै मुटु र क्यान्सरका बिरामीका लागि विशेषज्ञ सेवा विस्तारका लागि छुट्टै भवन बनाउने तयारी थालेको छ । क्यान्सर रोगको शल्यक्रिया, किमोथेरापी र रेडियसन थेरापी सञ्चालनका लागि अमेरिकास्थित विनय फाउण्डेशनसँग केही दिनअघि सम्झौतासमेत भएको छ । यो सेवा सञ्चालन भएपछि क्यान्सरका बिरामीले भरतपुर र काठमाडौ जान नपर्ने अस्पतालले जनाएको छ । रासस
गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योग कारवाहीमा
काठमाडौँ, पुस १९ । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सामान उत्पादन गर्र्ने उक्त उद्योगलाई कारवाही गरेको हो । कारवाहीमा परेका उद्योगमा घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग प्रालि बारा, नवनेपाल प्लाष्टिक उद्योग, नारायणी सिमेन्ट उद्योग प्रालि बारा, मेगा सिमेन्ट प्रालि झापा, लक्ष्मी स्टिल प्रालि नवलपरासी, काठमाडौँ स्टिल प्रालि नवलपरासी, गणपति वनस्पति प्रालि बारा रहेका छन् । यस्तै, इन्टरनेशनल सिमेन्ट प्रालि वीरगञ्ज, गोरखाली सिमेन्ट उद्योग प्रालि झापा, अन्नपूर्ण सिमेन्ट कम्पनी प्रालि मोरङ, गोल्डेन ब्याट्री प्रालि मोरङ, सुगम मेनिफेक्चर काठमाडौँ, एम जेपी सिमेन्ट प्रालि कपिलवस्तु, गणपति सिमेन्ट प्रालि कपिलवस्तु, होङ्सी सिमेन्ट उद्योग नवलपरासी, अर्घाखाँची सिमेन्ट उद्योग रुपन्देही र शुभश्री जगदम्बा सिमेन्ट उद्योग बारालाई कारवाही गरेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा नगरी सामान उत्पादन गर्ने तथा गुणस्तरअनुरुप सामान उत्पादन नगर्ने उद्योगलाई कारवाही गरिएको बताए । कारवाही गरिएका अधिकांश उद्योगको इजाजतपत्र स्थगन गरिएको तथा उत्पादित वस्तु बिक्री वितरण रोकिएको विभागले जनाएको छ । कारवाही गरिएका उद्योगलाई गुणस्तरयुक्त सामान उत्पादन गर्न पत्राचार गरिसकेको बताउँदै गुणस्तरयुक्त सामान उत्पादन नगरे लाइसेन्स नै खारेज गर्ने महानिर्देशक पुडासैनीको भनाइ छ । विभागले हालसम्म देशभरका ६० वस्तुमा २५० उद्योगबाट उत्पादित ३६९ प्रकारका सामग्रीलाई लाइसेन्स प्रदान गरेको छ । रासस
बाढीपीडित पुन:स्थापना सम्बन्धी प्रतिवेदन अन्तिम चरणमा
सुर्खेत, पुस १९ । कर्णाली प्रदेश सरकारद्वारा गठित उच्चस्तरीय बाढीपीडित समस्या समाधान समितिले पुनःस्थापना सम्बन्धी प्रतिवेदन अन्तिम चरणमा पुगेको जनाएको छ । समितिले पाँच महीनाको अवधिमा पीडितको वास्तविक तथ्याङ्क सङ्कलन, जग्गाको पहिचान र पुनःस्थापनासम्बन्धी कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको जनाएको हो । समितिका सदस्य यज्ञ ढकालले पहिलो चरणमा विस्थापितको यकिन तथ्याङ्क सङ्कलन गरिएको बताए । “स्थानीय तहसँग समन्वय गरेर शुरुमै तथ्याङ्क सङ्कलन गर्यौँ”, उनले भने, “हालसम्म यकिन तथ्याङ्क थिएन, यसपटक हामी आफैँ शिविर पुगेर तथ्याङ्क सङ्कलन गरेका छौँ ।” बाढीबाट घरमात्रै क्षति भएका पीडित, घर र जग्गा क्षति भएका र पूर्णरूपमा क्षति भएका बाढीपीडित विभाजन गरी तथ्याङ्क सङ्कलन गरिएको थियो । उहाँका अनुसार घरमात्रै क्षति भएका बाढीपीडितलाई घर निर्माणका लागि राहत दिन सरकारलाई सिफारिश गरिने छ । त्यस्तै, घर–जग्गा क्षति भएकालाई जग्गा उपलब्ध गराउने र पूर्ण क्षति भएका परिवारलाई पुनर्वासको व्यवस्था गर्ने योजना छ । समितिका सदस्य ढकालले जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा थुपै्र गैरपीडितको सङ्ख्या रहेको पाइएकाले आफूहरूले पुनःतथ्यांक सङ्कलन गर्नुपरेको बताउनुभयो । समितिको प्रतिवेदनका आधारमा प्रदेश सरकारले यसै वर्ष पुनर्वास तथा पुनःस्थापनासम्बन्धी कार्य शुरु गर्ने समितिले बताएको छ । समितिका अर्का सदस्य खड्गबहादुर विकको नेतृत्वमा जग्गाको पहिचान उपसमिति क्रियाशील छ । जसमा मालपोत र नापी कार्यालयका प्रतिनिधि सदस्य छन् । उपसमितिले एकीकृत बस्ती विकास गर्न सहज हुने प्रकृतिको सम्भावित जग्गाको पहिचान गरिसकेको छ । हाल बाढीपीडित बस्दै आएका गाउँ÷नगरपालिका क्षेत्रमा पुनःस्थापना गर्ने सम्भावना रहेको सदस्य विकले बताए । अर्का सदस्य ललितजङ्ग महतको नेतृत्वमा पुनःस्थापनासम्बन्धी कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको छ । एकीकृत बस्ती विकासको ढाँचा, नाप, नक्सा निर्माणकार्य पनि अन्तिम चरणमा पुगेको बताइएको छ । समितिले छिट्टै विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । यही साउन ६ गते बसेको कर्णाली मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा समिति गठन गरेको थियो । २०७१ साउन २८ र २९ गते आएको भीषण बाढीका कारण यहाँका झण्डै १५०० परिवार विस्थापित छन् । यसअघि सरकारले भूकम्पपीडितसरह राहत तथा अनुदान उपलब्ध गराएको थियो । जग्गा किन्न उक्त बजेट निकै कम भएको भन्दै विस्थापितहरूले अनुदान लिएका थिएनन् । प्रदेश सरकारले उच्चस्तरीय समिति गठन गरेपछि पुनःस्थापना तथा पुनर्वास प्रक्रिया अघि बढ्नेमा विस्थापित आशावादी छन् । बाढीपीडितहरू सुर्खेतको गिरीघाट, छिञ्चु, महिला प्रशिक्षण केन्द्र खजुरा, बाबियाचौर लगायतका स्थानमा अस्थायी शिविरमा बस्न बाध्य छन् । रासस
अपराध नियन्त्रणका लागि स्कूल–स्कूलमा प्रहरी
साँखु, पुस १९ । केही वर्ष यता समाजमा यौन हिंसा, साइबर अपराध, लैङ्गिक हिंसाजस्ता अपराध बढ्दो छ ।प्रहरीकै तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष २०७४÷७५ मा मात्रै एक हजार ४८० बलात्कारका घटना भएको देखिन्छ । साइबर अपराध, जबर्जस्ती करणी, लैङ्गिक हिंसा बहुविवाह, सम्बन्धबिच्छेद र घरेलु हिंसाका घटना पनि उत्तिकै मात्रामा हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । घटना न्यूनीकरणका लागि प्रहरी, स्थानीय सङ्घसंस्था, अधिकारकर्मीले सचेतनामूलक कार्य गर्दै आइरहेकाले यस्ता अपराध नियन्त्रणमा केही हदसम्म न्यूनीकरण भए पनि निर्मूल भने हुनसकेको छैन । कमजोर आर्थिक अवस्था भएका, शिक्षाबाट बञ्चित भएका तथा पारिवारिक दबाबमा परेका बालबालिका नै हिंसा र अपराधको सिकार बन्न पुगेको पाइन्छ । आफन्त र परिचितबाटै हिंसा हुने गरेका कारण यस्ता हिंसा न्यूनीकरणका लागि साँखुस्थित महानगरीय प्रहरी प्रभागले शङ्खरापुरका विद्यालयहरूमा लैङ्गिक हिंसा तथा अपराध नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । महिला र बालिकाका लागि मात्र नभएर बालक, युवा र बृद्ध–बृद्धालाई पनि कानूनी ज्ञान र सचेतना आवश्यक पर्ने भएकाले अपराध र हिंसाबाट बच्न र बचाउनका लागि स्कूल–स्कूलमा प्रहरी पुगेर यस्तो कक्षा सञ्चालन गरिएकोे प्रहरी निरीक्षक लक्ष्मी खनालले बताए । अहिले आधुनिकतासँगै भित्रिएका विभिन्न प्रविधिले यौनजन्य अपराधका घटना तथा हिंसा वृद्धि गराएको पाइएकाले यसबाट सचेत रहन के गर्ने र के–कस्ता गतिविधि गरे कानूनअनुसार दण्डित होइन्छ भन्ने विषयमा विद्यार्थीलाई सचेतना शिक्षा दिँइदै आएको उनको भनाइ थियोे । साँखु, पटाप, चाँपकोबोट, नाङ्गेभारे, सलम्बुटारलगायत क्षेत्रका नौ विद्यालयमा सो कक्षा सञ्चालन गरिएको र अन्य थुप्रै विद्यालयमा पनि कक्षा सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिए । यस्ता कक्षा सञ्चालन भएपछि बालबालिकाले आफूले जानेका कुरा साथीभाइ तथा परिवारमा समेत बताउने हुँदा हिंसा न्यूनीकरणमा सहयोग पुग्नाका साथै सभ्य र हिंसारहित समाज निर्माणमा सहयोग पुग्ने बौद्धस्थित महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । प्रायः माध्यामिक तहमा अध्ययनरत विद्यार्थी सानै उमेरमै लागु औषधकोे दुव्र्यसनमा फस्ने गरेको प्रहरीको भनाइ छ । यस्तो क्रियाकलापमा पक्राउ पर्नेमा १२ देखि २३ उमेर समूहका बालबालिका सहितका व्यक्ति रहेकाले पनि विद्यालय केन्द्रित सचेतना कार्यक्रम गरिएको उनले बताए । प्रहरीले विद्यालयस्तरबाटै गरेको यस्ता जानकारीमूलक कार्यक्रमले समाजमा अपराध र हिंसा नियन्त्रण भई सभ्य र समृद्ध समाज बन्न सहयोग पुग्ने शङ्खरापुर नगरपालिका समाजसेवी पुरुषोत्तम चौलागाइले बताए । रासस
कामकाज नभएपछि जनस्वास्थ्यका कर्मचारी यसरी घाम ताप्दै…
भक्तपुर, पुस १९ । कामै नहुँदा जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीका दिन घाम तापेरै बित्ने गरेको छ । उक्त कार्यालयको नाम र काम दुवै नभएपछि यहाँ कार्यरत १५ कर्मचारी घाम तापेरै बस्ने गरेको निमित्त प्रमुख पार्थमणि न्यौपानेले स्वीकारेका छन् । उनले भने, “कार्यालयमा बजेट पनि छैन, काम पनि छैन, भएका औषधि माग भएका ठाउँमा पठाएका छौँ, अरु जिम्मेवारी नभएपछि के गरेर बस्नु, हाजिर गर्ने र घाम तापेर बस्नुको विकल्प छैन ।” सरकारले ३५ डिभिजन कार्यालय र नौ जिल्ला कार्यालयलाई समेटेर ‘सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ स्वास्थ्य निर्देशालय काठमाडौँ’को नाम दिएपछि काठमाडौँ उपत्यकाका भित्रका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कार्यालय के हुने भन्ने अन्योलसमेत कर्मचारीमा छ । कर्मचारीका अनुसार अहिले जिल्ला जनस्वास्थ्य कार्यालयको नाम पनि छैन, काम पनि छैन, युनिट पनि छैन, दैनिक कामकाजका लागि ज्येष्ठ कर्मचारीलाई जिम्मेवारी दिने गरी न्यौपानेलाई निमित्त दिइएको छ, तर यहाँ सबै अन्योल छ । स्थानीय सरकारका नाममा गत साउनदेखि प्रदेश र नगरपालिकालाई बजेटसहित कार्यक्रम गएपछि कार्यालयमा रहेका कर्मचारी कामविहीन भएका हुन् । कर्मचारीको अहिलेको काम यहाँको सामान सुरक्षा गर्ने, हाजिर गर्ने, नगरपालिकाले बोलाएका बखत प्राविधिक सहयोग गर्ने कामबाहेक कर्मचारीले केही गर्दैनन् । विगतमा कार्यालयले गर्दै आएको संस्था दर्ता तथा नवीकरण समेत उक्त निर्देशनालयको जिम्मेवारीमा गएको छ भने अनुगमन तथा निरीक्षणको काम नगरपालिमा गएको छ । गत मङ्सिरसम्म कोष तथा लेखा नियन्त्रण कार्यालयले तलब खुवाएको बताउँदै कर्मचारी दैनिक प्रशासन चलाउन र पानी खानसमेत कार्यालयमा बजेट नभएपछि आफूहरूले नै पैसा उठाएर यसको जोहो गर्ने गरेको कर्मचारकिो गुनासो छ । रासस
दोहोरो नागरिकता लिने महिला पक्राउ
इनरुवा, पुस १९ । झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिने एक महिला पक्राउ परेकी छिन् । विराटनगर महानगरपालिका–६ निवासी ५३ वर्षीया सुशीला दाहाललाई उक्त अभियोगमा मोरङ प्रहरीले पुस १२ गते विराटनगरबाट पक्राउ गरी अनुसन्धानका लागि सुनसरी पठाएको सुनसरी जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बुधबार जानकारी दिए । दाहालले २०४४ साल चैत्र १५ मा मोरङ जिल्ला प्रशासन कार्यालयबाट तीर्थराज खतिवडालाई बाबु बनाई नागरिकता लिएको र बाबुराम दाहाललाई बाबु बनाई सुनसरी जिल्ला प्रशासनबाट २०४६ साल जेठ १६ गते अर्को नागरिकता लिएको भेटिएकाले उनलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान अघि बढाइएको उहाँले जानकारी दिए । रासस
नेपालकै नमूना महानगरकाे सपना: ठूला पूर्वाधार निर्माण गर्दै भरतपुर (के-के बन्दैछन् त ?)
चितवन, पुस १९ । देशको मध्यभागमा रहेको भरतपुर महानगरपालिकाभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेवासुविधा प्रदान गर्ने गरी ठूला पूर्वाधार निर्माणले गति लिन थालेको छ । महानगरप्रमुखमा निर्वाचित भएसँगै रेणु दाहाल भरतपुरलाई देशकै नमूना महानगर बनाउन स्वदेशी र विदेशी संघ संस्थासँगको सम्बन्धलाई विस्तार गर्दै अघि बढेका छन् । उनको अभियानलाई महानगरसमेत पर्ने चितवन क्षेत्र नं ३ का सांसदसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि साथ छ । प्रमुख दाहाल प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको सहयोगमा निर्वाचित भएका हुन् । उनको पार्टी माओवादी केन्द्र पूर्व एमालेसँग एकिकृत भैसकेकाले दाहाललाई काममा सहज पनि भएको छ । केही समय अन्योल बनेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको रामपुरको जग्गामै बन्ने पक्का भएको छ । उक्त महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेशनको सहकार्यमा उक्त रङ्गशाला निर्माण प्रक्रिया अघि बढेको हो । सो कार्यकमा लागि जमीन उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय तयार भएको महानगरप्रमुख दाहालले बताए । रु दुई अर्बभन्दा बढी लगानी गरेर एशियाकै नमूना रङ्गशाला बनाउने योजनामा महानगरको छ । महानगरपालिकाका अनुसार निकै गृहकार्यपछि यहाँको सभागृह (सिटी हल) निर्माणकार्य अघि बढाइएको छ । शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा सभागृह निर्माणका लागि जिल्ला समन्वय समितिको परिसरमा रहेको चार बिघा चार कठ्ठा जग्गा महानगरपालिकाको नाममा हस्तान्तरण भइसकेको छ । नक्साङ्कनका लागि प्राविधिक टोली आएर काम शुरु गरिसकेको नगरप्रमुख दाहालले बताउनुभयो । यथाशक्य छिटो विस्तृत अध्ययन गरी नक्साङ्कन गरेर बोलपत्र आह्वान गरिने छ । सो कार्यका लागि शहरी विकास तथा भवन निर्माण विभागले रु ५१ करोड विनियोजन गरिसकेको छ भने अपुग रकम थप गरेर देशकै नमूना सभागृह हुने उनको जिकिर छ । महानगरपालिकाले नारायणगढ बजारको लायन्सचोकमा बहुउद्देश्यीय व्यावसायिक भवन पनि बनाउँदै छ । विस्तृत अध्ययन गरी नक्साङ्कनको काम अन्तिम चरणमा पुगेको इञ्जिनियर अस्मिता खनालले बताए । यथेष्ट पार्किङ सहितको १२ तले सो भवनका लागि करिव रु ८० करोड खर्च हुने अनुमान गरिएको छ । भवन निर्माण भएपछि नारायणगढ बजार व्यवस्थित हुने अपेक्षा महानगरको छ । उक्त विभागले भरतपुर महानगरमा रु एक अर्ब ५० करोड खर्च गरेर रिङरोड र लिङ्करोडको काम पनि अघि बढाएको छ । सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख कुमार घिमिरेका अनुसार ती बाटाका लागि बोलपत्र आह्वान भई ठेकेदार कम्पनीले काम पनिअघि बढाइसकेका छन् । सोही कार्यालयको सहयोगमा भरतपुरस्थित केन्द्रीय बसपार्क मर्मत, रानीपोखरी तथा लक्ष्मीनारायणमा मन्दिर पार्क निर्माणका लागि रु २६ करोड खर्च गरिँदै छ । ती दुबै पार्क पर्यटकको आकर्षण केन्द्र बन्ने अपेक्षा गरिएको छ । पार्क निर्मााणका लागि बोलपत्र आह्वान भइसकेको उहाँले बताउनुभयो । महानगरकै अगुवाइमा विभागको सहयोगमा भरतपुर अस्पतालमा रु आठ करोड खर्च गरेर बिरामी कुरुवा घर निर्माण हुँदैछ भने देवघाटमा रु १२ करोड हाराहारी खर्च गरी शव दाहगृह बनाउने तयारी भइरहेको छ । महानगरपालिकाले नारायणगढ नजिकै रहेको नगर वनलाई गौरवको आयोजनाको रुपमा विकास गर्ने तयारी गरेको छ । यसका लागि महानगर प्रमुख दाहालले विज्ञसँग परामर्श भइरहेको बताए । नगर वनलाई स्वदेशी एवं विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा विकास गर्ने योजना महानगरको छ । महानगरले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा र भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्न गृहकार्य अघि बढाएको छ । जनप्रतिनिधि आएसँगै स्वदेशी एवं विदेशी लगानीकर्ताको आँखा भरतपुर महानगरमा परेको छ । विदेशी लगानीकर्ता, दाता, सरकारी अधिकारी महानगर आउने गरेकाले यहाँ स्वदेशीसँगै विदेशी लगानी भित्रिने अपेक्षा बढेको महानगरउपप्रमुख पार्वती शाहले बताए । निकुञ्जको बाघ चिडियाखाना लगियो चितवन राष्ट्रिय निकुञ्जबाट बुधबार एउटा बाघ सदर चिडियाखाना ललितपुर लगिएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत भरतपुर महानगरपालिका–२५ बयरघारीबाट उक्त बाघ नियन्त्रणमा लिइएको थियो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार उक्त बाघले स्थानीयवासीका घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेकोले निकुञ्जका प्राविधिक, कर्मचारी र सुरक्षाकर्मीको दुई दिनको प्रयासपछि नियन्त्रणमा लिइएको थियो । स्थानीय व्यक्तिको बकाइनाको जङ्गलमा बाघ चार दिनदेखि बस्दै आएको अन्दाजी दुई वर्ष छ महीनाको सो बाघ माउबाट छुटेपछि क्षेत्र विस्तार गर्ने क्रममा त्यहाँ पुगेको अनुमान गरिएको छ । अन्यत्र लगेर छाड्दा समेत समस्या हुनसक्ने देखिएपछि चिडियाखाना लगिएको हो । डार्ट गरेर बेहोस बनाई बाघलाई नियन्त्रणमा लिइएको थियो । रासस


