हुलाकी सडक कालोपत्रे शुरु

विराटनगर, पुस १५ । मोरङ–सुनसरी जिल्लाका दक्षिण सीमावर्ती क्षेत्रका जनतालाई आवातजावतमा सहज हुने हुलाकी मार्गको कालोपत्र गर्ने कार्य शुरु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको यस मार्गको मर्मतसम्भारका साथै व्यवस्थित बनाउन लागिएको छ । विराटनगरस्थित सडक डिभिजन कार्यालयले विराटनगर–रङ्गेली सडक तथा विराटनगर–देवागञ्ज सडकमा कालेपत्रे गर्ने काम शुरु गरिरहेको छ ।

विराटनगरबाट–रङ्गेली १२ किलोमिटर तथा विराटनगरबाट–सुनसरीको देवानगञ्ज १४ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम भइरहेको सडक कार्यालय विराटनगरका डिभिजन प्रमुुख शुुभराज न्यौपानेले बताए ।

विराटनगर रङ्गेली सडकमा मर्मतसम्भारसँगै कालोपत्रे गर्ने कार्यको शुुरु गरिएको प्रमुुख न्यौपानेको जानकारी दिनुभयो । रङ्गेली–विराटनगर सडक यही हप्ताभित्र कार्य सम्पन्न गर्ने गरी काम भइरहेको छ भने देवानगञ्ज–विराटनगर सडक चालुु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

विराटनगर रङ्गेली सडकको आद्यविक मर्मतका लागि रु दुई करोड ७४ लाख र विराटनगर–देवानगञ्ज सडकमा कालोपत्रे गर्न रु १२ करोड २८ लाखमा ठेक्का लागेको हो । मोरङ र सुुनसरी जिल्ला जोड्ने पुुरानो हुुलाकी राजमार्गको रुपमा रहेको विराटनगर–देवानगञ्ज सडकको १४ किलोमिटर सडकमध्ये पाँच किलोमिटर सडकमा कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ ।

यसअघि ग्राबेल रहेको उक्त सडकमा कालोपत्रे गर्ने काम सुुनसरीको देवानगञ्ज तर्फ भइरहेको छ । उक्त सडक मोरङको अस्थायी राजधानी विराटनगरबाट सोझै देवानगञ्ज जोडिने भएकाले आर्थिक दृष्टिकोणले सडक महत्वपूुर्ण रहेको छ ।

ग्रामीण क्षेत्रका जनतालाई बाह्रैमहीना शहरमा आगामनका लागि जोड्न सडक विभागले निमार्णलाई महत्व दिर्दै आएको कार्यालय प्रमुुख न्यौपानेले बताउनुुभयो । यहाँका किसानले उत्पादन गरेका हरियो तरकारी विराटनगरका व्यापारीलाई थोक तथा खुद्रामा बिक्री वितरण गर्ने गरिन्छ ।

देवानगञ्ज र कप्तानगञ्जमा उत्पादन हुने हरियो तरकारी दैनिक रुपमा विराटनगरको बजारमा खपत हुने गर्दछ । तरकारीको उत्पादन हुने मख्य क्षेत्र रहेका यहाँका कृषकलाई सडक निर्माण भएपछि कृषि उत्पादन वस्तु बजारसम्म पु¥याउन सहज भएको छ । आर्थिक महत्व बोकेको दुबै सडक कालेपत्रे भएपछि यातायातको सहज पहुँचबाट यस क्षेत्रका जनताको आर्थिक समृिद्धमा सहयोग पुग्ने देखिन्छ । रासस

खिम्ती–बाह्रबिसे प्रसारण लाइनको ठेक्का रद्द

काठमाडौँ, पुस १५ । नेपाल विद्युत् प्राधिकरणले तोकिएको शर्त र समयअनुसार काम नगरेको भन्दै तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको पहिलो खण्डको ठेक्का रद्द गरेको छ । सो प्रसारण लाइनको काम चिनियाँ ठेकेदार कम्पनी ग्वाङ्सी ट्रान्समिसन एण्ड सवस्टेसन कन्ट्रक्सन तथा सेञ्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त रुपमा गर्दै आएका थिए । ठेक्का सम्झौताअनुसारको काम नगरेपछि प्राधिकरणले चिनियाँ कम्पनीको ठैक्का रद्द गरेको हो । प्राधिकरणका अनुसार तामाकोशी–काठमाडौ‌ं प्रसारण लाइनअन्तर्गतको न्यू खिम्ती–बाह्रबिसे खण्डको ठेक्का केही दिनअघि तोडिएको हो । प्राधिकरणले ठेकेदार कम्पनीले राखेको ठेक्का रकमको १० प्रतिशत् अर्थात रु १४ करोड ५४ लाख (१४ लाख ५४ हजार डलर) र रु छ करोड १६ लाख ७४ हजार कार्यसम्पादन जमानत समेत जफथ गरेको छ । आयोजना प्रमुख नवराज ओझाले तोकिएको शर्तअनुसार काम नभए पनि ठेकेदारसँगको स्म्झौता रद्द गरिएको जानकारी दिए । प्राधिकरणले ठेकेदार कम्पनीसँग २०७३ असोज ११ मा ठेक्का सम्झौता गरी २०७६ जेठ १२ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सम्झौताअनुसार एक करोड ४५ लाख ४३ हजार अमेरिकी डलर र रु ६१ करोड ६७ लाख ३६ हजारमा चिनीया कम्पनिले निर्माणको जिम्मा लिएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रणनीतिक महत्वको प्रसारण लाइनको कामलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन दिँदै आएका थिए । तर, कम्पनीले ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको आयोजनाले जनाएको छ । ठेक्का सम्झौता भएको ७४ प्रतिशत समय सकिदा करीब आठ प्रतिशत मात्रै भौतिक प्रगति गरेको, काम गर्न पटकपटक दिइएको निर्देशन अटेर गरेकाले रणनीतिक महत्वको प्रसारण लाइन निर्माण अलपत्र पर्न नदिन ठेक्का रद्द गरिएको आयोजना प्रमुख ओझाले जानकारी दिए । काम गर्न पटक-पटक गरिएको ताकेता तथा चेतावनी दिँदा ठेक्का सम्झौतामा उल्लेख गरिएको समय तालिका परिवर्तन गर्न मै कम्पनी लागिरह्यो, काम नगर्ने तर विभिन्न बहाना बनाएर ठेक्का ओगटी राख्ने मात्रै कम्पनीको नियत देखिएको उनको भनाइ छ । कम्पनीले सम्झौतामा समय तालीकासहित उल्लेख भएका टावरको डिजाइन, ड्रोइङ, जग हाल्ने तथा जडान गर्ने, कन्टक्टर, इन्सुलेटर जस्ता उपकरणको उत्पादन, आपूर्ति तथा जडान गर्ने लगायतका काम नगरेको प्राधिकरणको भनाइ छ । ठेक्का तोडी नयाँ ठेकेदार छनोटका लागि बोलपत्र आह्वान भइसकेको आयोजना प्रमुख ओझाले जानकारी दिए । उहाँका अनुसार, आगामी चैतभित्र ठेक्का सम्झौता गर्ने र सम्झौता भएको ८२० दिनभित्रमा प्रसारण लाइन निर्माण सक्ने लक्ष्यका साथ काम अगाडि बढाइएको उनको भनाइ छ । आयोजनामा नेपाल सरकार र एशियाली विकास बै‌ंक लगानी रहेको छ । कम्पनीले सिन्धुपाल्चोको बाह्रबिसेमा २२०-१३२ केभी सवस्टेसन बनाउने ठेक्का पाएको छ । सवस्टेसनको काम पनि सन्तोषजनक नभएको आयोजनाले जनाएको छ । ताकेता गर्दासमेत सम्झौताको तालिकाअनुसार अहिलेसम्म मुख्य काम नै नगरेको आयोजना प्रमुख ओझाले बताए । प्राधिकरण र कम्पनीबीच सवस्टेसन निर्माणका लागि २५ डिसेम्बर २०१७ मा ८७ लाख ९३ हजार डलर र रु ३१ करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो । निर्माणको काम २४ फेब्रुअरी २०२० मा सक्ने गरी ठेक्का सम्झौता भएको हो । खिम्ती र तामाकोशी क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन तामाकोसी–काठमाडौ उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न लागिएको हो । रामेछापको खिम्तीमा बन्न लागेको सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको ४०० केभी डबल सर्किट प्रसारण लाइनको लम्बाई ४४ किलोमिटर रहेको छ । यस्तै बाह्रबिसे–काठमाडौँ खण्डको प्रसारण लाइनको ठेक्का भने भारतीय कम्पनी लार्सन एण्ड टर्वोले पाएको छ । रासस

माघे सङ्क्रान्ति मेलाको तयारी

चितवन, पुस १५ । हरेक वर्ष झैँ यस वर्षको माघे सङ्क्रान्तिका दिन पवित्र तीर्थस्थल देवघाटमा हुने मेलाको तयारी थालिएको छ । देवघाट क्षेत्र विकास समितिले मेलाको व्यवस्थापन तयारी गरेको हो । समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेका अनुसार अध्यक्ष शिवराज पौडेलको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरी तयारी अगाडि बढाइएको छ । मेला व्यवस्थापनका लागि, सुरक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, विद्युत्, ट्राफिक जस्ता विभिन्न उपसमिति गठन गरी काम भइरहेको उनले बताए । चितवन र तनहुँ जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलको आजबाट मर्मत थालिएको छ । समितिका अध्यक्ष पौडेलले माघे सङ्क्रान्तिको आसपासका ३६ घण्टामा पाँच लाख भक्तजन आउने अनुमान गरिएको बताए । पुस मसान्तको राति करिब दुई लाख भक्तजन देवघाटमा बस्ने गर्दछन् । नेपाल र भारतका विभिन्न ठाउँबाट समेत भक्तजन आउने गर्दछन् । माघे सङ्क्रान्तिका दिन देवघाटधाममा स्नान गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गमस्थल देवघाट त्रिशूली र कालीगण्डकी नदीको पनि सङ्गमस्थल हो । रासस

चकलेट र पैसा दिएर १३ बर्षकी दृष्टिविहिन बालिकाको शिक्षकद्वारा नै बलात्कार, नन्दाले खोलिन रहस्य

काठमाडौं, पुस १५ । कालिकोटमा जन्मिएकी नन्दासिंह हाल कपनमा बस्दै आएकी छिन् । उनी दिष्टि विहिन महिला हुन् तर जन्मजात नै दृष्टिविहिन भने होइनन् । अरुलाई अन्याय र अत्याचार भएको देख्न नसक्ने नन्दा एक समाजसेवी पनि हुन्। समाजसेवी नन्दाको जीवनमा धेरै यस्ता घटना घटेका छन् जुन सुन्दा काल्पनिक जस्तो लाग्ला तर यो उनको यथार्थ घटना हो । उनी ३ वर्षको उमेर हुँदा ६ महिनासम्म झाडापखाला लाग्दा पनि उनलाई अस्पताल लगिएन । उनी झन्झनै शिथिल हुँदै गइन् । उनको अन्तिम अवस्था भइसकेको थियो । अब छोरी मरिसकी भनेर उनका बुबाआमाले उनलाई गाड्न भनेर सेतो कपडाले बेरेर राखे । करिब ४ बजेतिर उनलाई मरेको सोचेर सेतो कपडाले बाँधेर राखिएको थियो । उनको संस्कार अनुसार बच्चालाई बिहानपखमात्र दाहसंस्कार गर्नुपर्ने भएकोले । त्यो रात त्यसै राखियो । रातको करिब १ बजेतिर उनी ब्युझिन् । उनले पुनर्जीवन पाइन् । उनको श्वास त फिर्ता आयो तर ज्योति भने गुम्यो । उनी दृष्टिबिहिन भइ न्। आखा नदेख्ने भएकोले पनि उनलाई घरमा राम्रो व्यवहार गरिएन । घरपरिवारले गरेको व्यवहारबाट आजित भएर उनी पढ्न काठमाडौँ आइन् । केही समय बित्दै गएपछि उनलाई हिडडुल गर्न, ठाउँ ठम्माउन सजिलो हुँदै गयो । काठमाडौँ जस्तो ठाउँमा बस्न आफ्नो कमाई हुने पर्यो । महंगीको शहरमा बाच्न पढ्दै उनले काम पनि गरिन् । ओम हस्पिटलमा उनी रिसेप्सनिष्टको रुपमा कार्यरत रहिन् । हाल उनी सामाजिक कार्यमा सक्रिय छिन्। आफु नदेख्ने भएता पनि नदेख्नेका बालबच्चा, टुहुराहरुको शाहारा बनेर उनले हाल ७ जना बच्चालाई आश्रय दिइरहेकी छिन् । उनले कत्ति बालबालिकालाई विद्यालयमा भनसुन गरेर निःशुल्क पढाउन सहयोग गरेकी छिन् । आफ्नो गाउँमा बालविवाहदेखि अन्याय अत्याचार भएको ठाउँमा आवाज उठाउन समेत उनी पछि पर्दिनन् । ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था दर्ता गरेर उनी सामाजिक कार्यमा सक्रिय छिन् । उनी अहिले आफ्नो आँखाको उपचार गराईरहेकी छिन् । डाक्टरले उनलाई यस उपचारबाट आखाँ देख्न सक्ने सम्भावना रहने बताएका थिए । उनले कुराकानीको क्रममा उनी बसेको पहिलाको होस्टेलमा एक बालिकालाई आफ्नै शिक्षकले बलात्कार गरेको खुलासा गरिन। उनको अनुसार ती पिडित बालिका भर्खरै १४ वर्षे लागिन। शिक्षक र बालिका नै दृष्टिविहिन नै थिए। नन्दाले घटना भएको उनले १ वर्ष पछिमात्रै थाहा पाइन् । त्यसपछि आवाज उठाइन तर सबैले मिलेर घटनालाई लुकाउन खोजेका थिए । कसैले साथ दिएनन् । उनले हिम्मत नहारी संस्थाको मद्दतबाट दोषीलाई हिरासतमा राख्न सफल भएकी छिन् । ती १४ वर्षिया बालिकालाई अहिले काउन्सलिङ्ग भइरहेको बताइन् ।

भक्तपुरको त्रिशुल डाँडामा भेटिए यस्तो डरलाग्दो अघोर बाबा

भक्तपुर, पुस १५ । कलकत्तामा जन्मिएका कालिनाथ अघोर बाबा नेपाललाई आफ्नो कर्मभुमी मान्दछन् । उनी नेपालमा २०२२ सालमा आएका थिए । उनी २६ वर्षदेखि भक्तपुरको त्रिशुल डाँडामा बस्दै आएका छन् । सेतै फुलेको कपाल, गलाभरी थरीथरीका माला पहिरिएर बस्ने यी अघोरबाबाले कन्दमुलमात्र खाने गर्दछन् । उनलाई चामल वा अन्य खानेकुरा खाएमा स्वास्थ्य नै बिग्रिने गर्दछ । नेपालको वातावरण, ठुला–ठुला हिमाल र प्राकितिक सौन्दर्यले उनलाई तानेको उनी बताउँछन् । उनी तिर्थस्थलहरु प्राय घुमिसकेका छन् । उनी विकास निर्माण कार्यमा पनि लागेका छन् । उनको अनुसार, पाँचखालमा बाटो बनाउने, बालबालिकाको लागि विद्यालय देखि विभिन्न ससाना मन्दिरको स्थापना गरेका छन् । उनले अघोरको काम भनेको जनकल्याण गर्नु बताए । उनले २०७२ सालको भुकम्प गएको बखतमा भत्किएको स्कुलको पुर्ननिर्माण पनि गरेका छन् । उनलाई एक अमेरिकन साथीले दिएको पैसा स्कुलको निर्माणमा लगाएको उनको भनाई छ। उनलाई भेट्न पहिलाका राजाहरु पनि हेलिकप्टरबाट आउने गरेको बताए । उनी भन्छन, ‘राजा र राजकुमारहरुसँग मेरो सम्बन्ध राम्रो थियो ।’ उनले थपे, ‘राजसंस्था मलाई मनपर्छ । ज्ञानेन्द्र सरकारको हातबाट मैले झण्डा, पञ्चमुखी हनुमान ल्याए ।’ जनताले चाहे भने राजसंस्था आउने बताए। अघोरी बाबा र अघोर बाबा अलग रहेको बताउने उनी भन्छन, ‘अघोर बाबाले कन्दमुलमात्र खाने गर्छन भने अघोरी बाबाको खानपानमा रोक छैन र मान्छेको मासुपनि खान्छन तर नेपालमा अघोरी बाबाले मान्छेको मासु खाएको देखेको छैन ।” उनी हालै त्रिसुल डाँडामा गोरखनाथ मन्दिरको स्थापना गर्नेमा लागि परेका छन्।

नन्दी सेवा आश्रमका सञ्चालक रामबहादुरलाई साइनिङ्ग वल्र्ड कम्पासन अवार्डबाट पुरस्कृत

काठमाडौं, पुस १५ । पशुपति वनकालीमा नन्दि सेवा आश्रम सञ्चालन गर्दै आएका रामबहादुर न्यौपाने (गोपाल) यस वर्षको साइनिङ्ग वल्र्ड कम्पासन अवार्डद्वारा पुरस्कृत भएका छन् । सुप्रिम् मास्टर इन्टरनेशनल एशोसियसनले शनिवार ललितपुरको खुमलटारमा गरेको एक कार्यक्रममा रामबहादुर न्यौपानेलाई अवार्डको साथमा सो संस्थाकी सञ्चालिका सुप्रिम् मास्टर चिङ्हाईले पठाएको तीस हजार अमेरिकी डलरको चेक मास्टरका अनुयायीहरूको तर्फबाट नेपाल भेगन एशोसियसनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने र मिरा खनालले हस्तान्तरण गरेका थिए । रामबहादुरले छाडा छोडिएका गाई गोरु तथा बाच्छा बाच्छीलाई आश्रय दिन काठमाडौंको पशुपतिक्षेत्रको वनकालीमा नन्दि आश्रम सञ्चालन गर्दै आएका छन् । काठमाडौं लगायतका शहर एवं गाउँबस्तीमा गाई धनीले दुध दिँदासम्म दुहुने र दुध दिन छाडेपछि गाईलाई सडकमा लगेर छोडिदिने, आफूले धेरै दुध पाउन दुधे बाच्छोलाई पनि सडकमा छोडिदिने गर्ने गरेको पाइएको छ । यसरी छोडिनेमा बाच्छीको तुलनामा बाच्छा बढी हुन्छन् र पछि ती बढेर ठूला हुने गरेका छन् । छाडा छोडिएका गाईगोरु बाच्छाबाच्छीको कारणले सडकमा ट्राफिक जाम हुने, दुर्घटना हुने गरेका छन् । सवारीसाधनले ठक्कर दिने र ती गाईगोरु तथा बाच्छाबाच्छी घाइते हुने, बिरामी हुने जस्ता धेरै समस्या हुने गरेको पाइन्छ । छाडा छोडिएका गाईगोरु बाच्छाबाच्छीलाई बस्न खान र औषधोपचारको व्यवस्था मिलाउने कामलाई आफ्नो साधना बनाएका रामबहादुर न्यौपानेको उदाहरणीय कार्यको मुल्याङ्कन गर्दै उनलाई पुरस्कृत गरिएको आयोजकले पुरस्कार पत्रमा उल्लेख गरेका छन् । ठूलो कष्ट उठाएर डेढसय जति गाई गोरु र बाच्छाबाच्छीलाई घाँस पराल, औषधि उपचार लगायतका आवश्यकता पूरा गर्न उनको टिम तथा समितिलाई धौधौ परिनै रहन्छ । वर्षको तीन करोडको खर्च रहेको बताइन्छ । सहयोग जुटाएर खर्च पुर्याउनु सहज छैन नै । रामबहादुरको यस प्रकारको कार्यको जति तारिफ गरेपनि कमै हुने देखिन्छ नै । पुरस्कार मात्रैको कुरा होइन मास्टर चिङ्हाईको आर्शिवाद पाउनु नै सबैभन्दा ठूलो कुरा हो । नेपालमा जजसले उनको आर्शिवाद पाउन सफल भएको छ उनीहरूको उन्नति प्रगति हुँदै गएको छ, कार्यक्रममा आफ्नो मन्तव्य राख्दै वरिष्ठ प्राकृतिक चिकित्सक हरिप्रसाद पोखरेल (मानसाग्नि) ले बताए । भलै संविधानमा राष्ट्रिय जनावर उल्लेख भएपनि नेपाल सरकार र नेपालीको लागि गोवंश ठूलो बोझको विषय भएको देखिन थालेको छ । राज्यकै संयन्त्रको मिलेमतोमा गाईगोरु कटानीको लागि विदेशतर्फ तस्करी हुने गरेको देखिइरहेको छ । लक्ष्मीस्वरूपा गौमाताको संज्ञाले समेत पुकार गरिने गोवंशलाई सिध्याउन पाए हाईसुख हुन्थ्यो भन्ने मनोविज्ञान राज्यको पनि रहेको बुझिन्छ । नेपाल सरकार र नेपाली नागरिकको यस्तो संकिर्ण एवं दरिद्री मानसिकताको स्थिति भइरहेको अवस्थामा विदेशदेखि यहाँका गोवंशको संरक्षणको लागि यसरी सहयोग आउनुले नेपाल सरकार र सम्बन्धित नागरिकको लागि ठूलो जवाफ भने दिएको छ । सुप्रिम मास्टर चिङ्हाई विश्व प्रसिद्ध आध्यात्मिक गुरु रहेका छन् । उनले आफ्नो शिष्य ग्रहण गर्ने जो–कोहीलाई पनि सबै प्राणीप्रति दया, करुणा गर्न, प्राणी हिंसा नगर्न र पूर्ण साकाहारी आहार एवं सात्विक जीवनयापन गर्न मार्गदर्शन गरेका छन् । मूलतः उनी ताइवानको भएपनि विश्वका विभिन्न स्थानमा रहेर ध्यान साधना गर्ने र गराउने छन् । उनको सुप्रिम मास्टर टेलिभिजन नामको अनलाई टेलिभिजन छ । सोमार्फत उनले आफ्नो मार्गदर्शन उपदेश प्रवचन निरन्तर गरिरहने छ । मास्टर चिङ्हाईले यो एवार्ड एवं पुरस्कार कसैको सिफारिसमा नभएर आफ्नो ध्यानदृष्टिबाट तय गर्ने भएका छन् । २०७२ सालको भूकम्प लगायतका दैवी विपत्ति आदिमा मास्टर चिङ्हाईले उल्लेखनीय सहयोग गर्दै आएका छन् । यसैगरी वागेश्वरी गौशाला देवघाट चितवन, रामजानकी गौशाला कोहलपुरलाई पनि यहाँका आफ्ना अनुयायीमार्फत आर्थिक सहयोग गरेका छन् । उनले गर्ने सहयोग कसैसँग उठाएर नभएर आफै आर्जन गरेको रकमबाट गर्ने गर्दछन् । विश्वका कुनै पनि स्थानमा उनले सहयोग गर्ने गरेका छन् । आफ्ना अनुयायीहरूलाई फल्नो ठाऊँमा यस्तो भएको छ त्यो ठाऊँमा गएर यो सहयोग गर्नु अथवा पुर्याउनु भनी निर्देशन आएपछि अनिबल्ल उनका अनुयायीहरू निर्देशन बमोजिम आफ्नो गुरुले पठाएको सहयोग लिएर सोधखोज गर्दै सम्बन्धित स्थान र व्यक्तिसम्म पुग्ने गरेको उनका नेपाल स्थित अनुयायी अमृत कार्की, विष्णुप्रसाद न्यौपाने, डा.मोहन खरेल, विक्रम गुरुङ्गलगायतहरू बताउँछन् । सुप्रिम मास्टर इन्टरनेशनल एशोसियसनले प्रदान गर्ने साइनिङ्ग वल्र्ड कम्पासन अवार्ड नेपालीको लागि यो तेस्रो हो । प्रथम एवार्ड समता शिक्षा सदनका उत्तम संजेल र दोस्रो अवार्ड माइती नेपालकी अनुराधा कोईरालाले प्राप्त गरेका थिए । कार्यक्रममा डा. गोविन्द टण्डन, डा. नारायणी राणा, वैद्यराज दीपक सुवेदीलगायतले आआफ्नो अभिव्यक्ति राखेका थिए भने कार्यक्रमको सञ्चालन बरिष्ट प्रो.डा. मोहन खरेलले गरेका थिए ।

सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छः प्रदेश सभामुख श्रेष्ठ

काठमाडौँ, पुस १५ । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले काठमाडौँ महानगरपालिका–३२ जडीबुटी, कोटदेवीनगरस्थित कोटदेवी बचत तथा ऋण सहकारी संस्थाको भवनको आज उद्घाटन गरे । साढे चार आनामा बनेको सो भवनको लागत करीब रु तीन करोड रहेको छ । सो अवसरमा सभामुख श्रेष्ठले सहकारी संस्थाले बचतकर्ता र लगानीकर्ताको हितका लागिमात्रै नभई संस्थाले सामाजिक उत्तरदायित्व र आर्थिक विकासमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । सहकारी क्षेत्रमा देखिएका विविध समस्या समाधान गर्न प्रदेश सरकार लागिपरेको पनि उनले बताए । संस्थाका कार्यकारी अध्यक्ष सुमन जिसीले यो वर्षको असार मसान्तसम्म संस्थामा ६९५ जना सदस्य रहेको र रु ११ करोड ७१ लाख निक्षेप सङ्कलन भएको तथा रु ११ करोड १६ लाख लगानी गरेको जानकारी दिए । संस्थाका सचिव जयन्तीकुमार ढकालले संस्थाको वार्षिक प्रतवेदन, कोषाध्यक्ष राजु श्रेष्ठले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक पुष्पराज श्रेष्ठले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरे । रासस

विद्युत् चुहावट नियन्त्रणबाट ४० लाख बक्यौता सङ्कलन

पशुपतिनगर, इलाम १५ । विद्युत् चुवाहट नियन्त्रण अभियानबाट नेपाल विद्युत् प्राधिकरण इलाम शाखाले रु ४० लाख बढी पुरानो बक्यौता महसुल सङ्कलन गरेको छ । लामो समय विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर र जाम भएका मिटर परिवर्तन गरी प्राधिकरणले पुरानो बक्यौता सङ्कलन गरेको हो । मिटर रिडिङ भएको ६० दिनसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्ने प्राधिकरणको नियमावलीअनुसार आर्थिक वर्ष २०७३/७४ मा ३०४ ग्राहकको लाइन काटिएको थियो । आर्थिक वर्ष २०७३/७४ मा बाँकी बक्यौता रु दुई करोड १५ लाख ३४ हजार २०५ रहेकामा ३०४ जनाको लाइन काटेर रु चार लाख २१ हजार ६०१ सङ्कलन गरेको हो । प्राधिकरणको इलाम वितरण केन्द्रले आर्थिक वर्ष २०७४/७५ मा उठाउनुपर्ने बाँकी बक्यौता रकम रु एक करोड ५१ लाखमा झारेको थियो । २०७४/७५ मा ६९८ ग्राहकको लाइन काटेर रु ३६ लाख ८५ हजार २५२ बक्यौता उठाएको केन्द्रका प्रमुख रविनबाबु घिमिरेले बताए । लाइन काट्ने र बाँकी बक्यौता रकम उठाउने कामलाई तीव्रता दिएपछि बिल तिर्ने औसत अवधि छोटिएको छ । आर्थिक वर्ष २०७३/७४ मा ग्राहकले विद्युत् रिडिङ गरेको ४२ दिनमा महसुल तिर्दै आएकामा आर्थिक वर्ष २०७४/७५ मा ३२ दिनमा झरेको हो । प्राविधिक र अप्राविधिक चुवाहट रहने विद्युत् क्षेत्रमा प्राधिकरणले प्राविधिक चुवाहट नियन्त्रणको कामलाई तीव्रता दिएको छ । प्राविधिक चुवाहट नियन्त्रणका लागि विद्युत् प्रसारण, वितरण लाइन, प्रसारण क्षेत्रमा बुस कटिङ गर्ने, बन्द मिटरलाई परिर्वतन गर्ने, मिटर बाइपास गरी विद्युत् बाल्नेलाई कारवाही गर्ने कार्यक्रमलाई तीव्रता दिइएको प्राधिकरण प्रमुख घिमिरेले जानकारी दिए । आर्थिक वर्ष २०७३/७४ मा २४ दशमलव ९६ प्रतिशत चुवाहट रहेको इलाममा आव २०७४/७५ मा १८ दशमलव ३६ प्रतिशतमा झारेको प्राधिकरणले जनाएको छ । विद्युत् प्राधिकरण ग्राहक निर्देशनालयले चालु आवमा १६ दशमलव ११ प्रतिशतमा चुवाहट झार्ने लक्ष्य दिएकोमा इलाम वितरण केन्द्रले आवको पाँच महीनामा १५ दशमलव ८५ प्रतिशतमा झारेको छ । बाक्लो बस्ती भएका क्षेत्रको ट्रान्सफर्मरको फेज परिवर्तन गर्ने, अर्थिङ्ग सुधार, फिक्कल सवस्टेशनको स्तरोन्नति, फिक्कल कन्याम फिडरको कन्डक्टर (तार) परिवर्तन गरेकाले चुवाहट नियन्त्रणको दर कम भएको हो । चुवाहट नियन्त्रणका लागि प्राधिकरणले बन्द मिटरलाई परिवर्तन गर्ने कार्यक्रमलाई पनि तीव्रता दिँदै आएको छ । प्राधिकरण इलाम वितरण केन्द्रले गत अवमा ७०० बन्द मिटर परिवर्तन गरेको थियो । जसमध्ये पूर्वी इलामको सुर्योदय नगरपालिका क्षेत्रमा मात्रै चार मिटर परिवर्तन गरिएको थियो । शहरी क्षेत्र र बढी विद्युत् खपत हुने क्षेत्रमा गरिएको परम्परागत अर्थिङ्गलाई सुधार गर्दा पनि विद्युत् चुवाहट नियन्त्रण हुने भएकाले त्यसलाई तीव्रता दिएको प्राधिकरण प्रमुख घिमिरेले बताए । ट्रान्सफर्मरको परम्परागत अर्थिङ्गलाई सुधार गर्न चालु आवदेखि बजेटकै व्यवस्था गरिएको छ । परम्परागतरूपमा अर्थिङ्ग गरिएका ट्रान्सफर्मरहरू चट्याङबाट चाँडै पड्किने भएकाले त्यसलाई सुधार गर्दा कम क्षति हुने प्राधिकरणले जनाएको छ । गत आवमा एकै दिन १८ ट्रान्सफर्मर पड्किएपछि झण्डै ३६०० परिवार लामो समय अन्धकारमा बस्न बाध्य भएका थिए । ट्रान्सफर्मर नै पड्किन नदिन फेज ब्यालेन्स सुधार र अर्थिङ्ग सुधारलाई प्राथमिकता दिएको प्राधिकरण प्रमुख घिमिरेले बताए । प्राधिकरणले इलाम सदरमुकाम, फिक्कल, पशुपतिनगर र घना बस्ती भएका क्षेत्रमा रहेका ट्रान्सफर्मरको अर्थिङ्ग सुधारको कामलाई अहिले प्राथमिकतामा राखेको छ । ३७ हजार ग्राहक सङ्ख्या रहेको नेपाल विद्युत प्राधिकरण इलाम विरतण केन्द्रले गत आर्थिक वर्षमा रु १८ करोड बढीको विद्युत् व्यापार गरेको थियो । रासस

तमु ल्होसारको अवसरमा का‌ंग्रेसका सभापति देउवाद्वारा शुभकामना व्यक्त

काठमाडौँ, पुस १५ । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङ जातिको महान् पर्व तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले एक शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, “तमु (गुरुङ) जातिकोे महान पर्व ‘तमु ल्होसार’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा नेपाली काङ्ग्रेस र मेरो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।” सभापति देउवाले सन्देशमा तमु जातिको नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको बताएका छन् । तमु लेसारले नेपाली समाजमा सद्भावना बढाउँदै आएको उल्लेख गर्दै सभापति देउवाले भने– “यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु । तमु ल्होसारले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् । यो महत्वपूर्ण पर्वका अवसरमा सम्पूर्ण तमुहरूमा पुनः शुभकामना ।” रासस

हिँडेर पुल तर्दा १५ रुपैयाँ, मोटरसाइकलबाट तर्दा ३५ रुपैयाँ टिकट !

कैलाली, पुष १५ । जम्मा एक लाख लगानी गरे काठेपुल बन्न सक्छ । जनता सजिलै आवतजावत गर्न सक्छन् । तर, कैलालीको कैलारी गाउँपालिकाले पुललाई आम्दानीको स्रोत बनाएको छ । स्थानीय जनताले प्रत्येकपटक हिँडेर पुल तर्दा १५ रुपैयाँ र मोटरसाइकलबाट तर्दा ३५ रुपैयाँको टिकट काट्नुपर्छ । पुल बनाउन र सञ्चालन गर्न ठेकेदारलाई जिम्मा दिएर गाउँपालिकाले चारवटा काठेपुलबाट वार्षिक १५ लाख रुपैयाँ राजस्व उठाउन थालेको छ । गाउँपालिकाभित्र पर्ने मोहना नदी तर्न निमुवाबोझी, खोनपुर, गोबरैला र मोहनपुर गरी चार घाटमा गाउँपालिकामार्फत काठेपुल बनाइएका छन् । नदीपारिका बस्ती मोहनपुर, शिवरत्नपुर र भारतीय बजार चन्दनचौकीमा ओहोरदोहोर गर्न वर्षायाम सकिएपछि काठेपुल राखिएको हो । नदीमा पुल नभएकाले विगतदेखि नै पैसा तिरेर नदी पार गर्ने गरेको वडा नम्बर–१ हसुलिया गाउँकी सोनम चौधरीले बताइन् । नदी तर्ने अर्को कुनै विकल्प नहुँदा चर्को शुल्क तिर्नुपर्ने बाध्यता रहेको उनले बताइन् । कर असुल्न ठेकेदार गाउँपालिका कार्यालयले काठेपुल निर्माण गरी कर असुल्न ठेकेदार खटाएको छ । विगतमा गाविस कार्यालयमार्फत काठेपुल तरेको कर असुली हुने गरेकोमा जनप्रतिनिधि आएपछि स्थानीय तहले पनि यो कार्यलाई निरन्तरता दिएको हो । जनप्रतिनिधि आएपछि पैसा तिरेर खोला तर्नुपर्ने बाध्यता अन्त्य हुने आशा गरेका स्थानीय अहिले पनि शुल्क तिर्नुपर्दा खिन्नता व्यक्त गर्छन् । गाउँपालिका कार्यालय आफैंले काठेपुल राखेर विनाशुल्क नदी तर्ने व्यवस्था गर्न सक्ने भए पनि त्यसो नगरिएको स्थानीयको भनाइ छ । पुल नभएकाले वर्षायाममा नदीमा ठेकेदारमार्फत डुंगा चलाइने गर्छन् । चारवटै घाटको ठेक्काबापत गाउँपालिकाले वार्षिक १५ लाख रुपैयाँ आम्दानी गर्ने गरेको कैलारी गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर–७ का अध्यक्ष कमल चौधरीले जानकारी दिए । गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले विगतदेखि नै हुँदै आएको ठेक्का गाउँपालिकाले निरन्तरता दिएको बताए । वर्षायाममा जोखिम मोलेर नदी पार गर्नुपर्छ । डुंगाबाट नदी तर्दा अझ चर्को शुल्क तिर्ने गरेको स्थानीय रूपा चौधरीले बताइन् । दैनिक कयौँ स्थानीय बासिन्दा पैसा तिरेर काठेपुल तरी कामविशेषले मोहनपुर र शिवरत्नपुर तथा किनमेलका लागि भारतीय बजार चन्दनचौकी पुग्ने गरेका छन् । हिउँदयाममा नदीमा मान्छे डुब्ने पानी हुने भएकाले पार गर्न गाह्रो हुने गरेको रूपाले बताइन् । झोलुंगे पुलको डिपिआर बन्दै मोहना नदीको खोनपुर घाटमा झोलुंगे पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ । पुल निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । झोलुंगेपुल निर्माणको डिपिआर निर्माणको काम भइरहेको अध्यक्ष चौधरीले जानकारी दिए । पुल बनेपछि शिवरत्नपुर, खोनपुर, गोबरैला, हसुलिया, निमुवाबोझी, लालपुर, भडरी, मुडालगायतका गाउँका स्थानीयलाई सहज हुने उनले बताए । नयाँ पत्रिका दैनिकबाट साभार

दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते

गौशाला, पुष १५ । महोत्तरीको भङ्गाहा नगरपालिका–२ स्थित सिंग्याही बजारमा आमा छोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–२ बखरी बस्ने ४० वर्षीया लक्ष्मीनियादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । सोही दुर्घटनामा परेर उनका छोरा १६ वर्षीय मनिष सिंह गम्भीर घाइते भएका छन् भने उनको उपचार अञ्चल अस्पताल जनकपुरमा भइरहेको छ । शनिबार करीब ६ बजे बखरीबाट ज८प ५४४५ नंको मोटरसाइकलमा चढेर सिंग्याही बजार गएकामा बजारमै उनको मोटरसाइकल दुर्घटना हुँदा दुवै आमा छोरा गम्भीर घाइते भएका थिए । घाइते दुवैमध्ये बढी गम्भीर आमा लक्ष्मीनियादेवी सिंहलाई उपचार लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

ढुक्क हुनुस्, अनुभूति गर्ने गरी सरकारले काम गर्छः नेता श्रेष्ठ

गोरखा, पुष १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सबै जनताले अनुभूति गर्ने गरी विकास र समृद्धिको दिशामा सरकारले काम गरिरहेको दाबी गरेका छन् । गोरखाको बारपाकमा आज प्रभु बैंकको शाखा कार्यालयको उद्घाटन कार्यक्रममा नेता श्रेष्ठले भने, “सङ्घीय सरकार बनेको नौ महिना मात्र भएको छ, अहिले नै सरकारले काम गर्न सकेन भन्नु गलत हो ।” शिक्षा, स्वस्थ, रोजगारी, खाद्यान्न र आवासको समस्याबाट कोही पनि पीडित हुन नपर्ने गरी विकसित नेपालको निर्माणका लागि सरकार लागि परेको उनले बताए । “विकास र समृद्धिको प्रतिफल आम जनताले आफ्नै पोल्टामा अनुभूति गर्ने गरी परिवर्तन आवश्यक छ”, उनले भने, “तर त्यसका लागि केही समय लाग्छ ।” वर्तमान सरकारले सबैखालका विदेशी हस्तक्षेपलाई बन्द गरी आफ्नो भाग्य र भविस्य निर्माणका लागि आफैँ निर्णय गर्ने हैसियतमा नेपाली जनतालाई पुर्याएको नेता श्रेष्ठको भनाइ छ । “विदेशीसँग सहयोग लिन्छौं, मित्रता कायम गर्छौं तर हस्तक्षेप स्वीकार गर्दैनौं भन्ने एउटा नीति लागू भएको छ, यो सरकारले गरेको सबैभन्दा महत्वपूर्ण काम हो”, पार्टीका प्रवक्तासमेत रहेका नेता श्रेष्ठले भने । संविधानमा सबै नागरिकका लागि ३१ वटा मौलिक हकको व्यवस्था गरेको भए पनि कानून नबनाई त्यसको कार्यान्वयन सम्भव नभएकाले सरकारले कानून निर्माण गरिसकेको उनले बताए । त्यस्तै सरकारले सबै मजदूर तथा श्रमजीवी जनताको जीवनस्तरमा परिवर्तन ल्याउन योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको उनको भनाइ छ । रासस

कटौती गरिएका पर्व पुनःस्थापित गर्ने सम्बन्धमा छलफल हुन्छः महासचिव पौडेल

रुपन्देही, पुष १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेलले कटौती गरिएका पर्व पुनःस्थापित गर्ने सम्बन्धमा छलफल गरिने बताएका छन् । तमु ल्होसारका अवसरमा तमु ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले शनिबारबुटवलमा आयोजना गरेको कार्यक्रममा गर्दै नेता पौडेलले भने, ‘जनचाहना बाहिर सरकार रहन सक्दैन । कटौती गरिएका पर्व पुनःस्थापित गर्ने सम्बन्धमा पनि छलफल गरर्छौ ।” जनतालाई लोकतान्त्रिक अधिकारयुक्त बनाएर सम्मानजनक जीवन जिउन पाउने आधार संविधानलेनै तय गरेको भन्दै उनले व्यवहारिक कार्यान्वयनमा लाग्न सबैलाइ आग्रह गरे । महासचिव पौडेलले मुलुकका सबै जाति, धर्म र भाषाभाषीले सम्मानजनक जीवन जिउने आधार तयार भएको बताए सबै जाति, भाषा, धर्म र संस्कृतिको उजागर गर्ने कार्यमा सरकार अगाडि बढेको बताउँदै उनले अब आर्थिक हिसाबले सबैको स्तर समान बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

जेलबाट छुटेपछि हेलिकप्टर चढेरै गाउँ पुगे मेयर, स्वागतमा स्कुल नै विदा

गौर, पुष १४ । हत्या अभियोगमा जेलमै रहेका रौतहट कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहलाई सर्वोच्च अदालतले सफाइ दिएपछि उनी हेलिकप्टर चढेर रौतहट आइपुगेका छन् । गत बैसाखदेखि जेल परेका मेयर कुश्वाहलाई सर्वोच्च अदालतले शुक्रबार निर्दोष सावित गर्दै रिहा गरेको हो । शनिबार दिउसो उनी हेलिकप्टर चढेर आफ्नो नगरपालिका कटहरिया आइपुगेका हुन् । दिउसो करिव दुई बजे कटहरियास्थित जनता माविको प्रागणमा उनी हेलिकप्टरबाट उत्रिएका थिए । मेयर कुश्वाह आउने सुचना पाएका स्थानीय तथा उनका शुभ चिन्तकहरु बिहानैदेखि बिद्यालयको चौरमा जम्मा थिए । मेयर कुश्वाहलाई सयौं स्थानीय तथा कार्यकर्ताले स्वागत तथा सम्मान गरे । कटहरिया बजारपछि जुगौलियामा पनि कुश्वाहलाई स्वागत तथा सम्मान गरियो । न्यायको जीत भएको, कटहरिया नगरको विकासको जीत भएको प्रतिक्रिया दिँदै कुश्वाहले प्रतिक्रियावादीहरुले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाए । अन्नपूर्ण पोस्ट्बाट साभार

कृषिको आधुनिकीकरणले नै राष्ट्र समृद्ध हुन्छः उपप्रधानमन्त्री यादव

पर्सा, पुष १४ । उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मुलुकलाई औद्योगिक र कृषिको आधुनिकीकरणबाट राष्ट्रलाई समृद्ध बनाउन सकिने धारणा व्यक्त गरेका छन् । सरकारले घोषणा गरेको ‘खुशी नेपाल समृद्ध नेपाल’को नारालाई मूर्तरुप दिन कृषिको आधुनिकीकरण, उत्पादनमूलक औद्योगिकीकरण, जलस्रोतको विकाससँगै पर्यटनको विस्तार गर्न आवश्यक रहेको उनको भनाइ थियो । निधि बचत तथा ऋण सहकारी संस्थाको आज वीरगञ्जमा आयोजित सातौँ वार्षिक साधारणसभाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले मुलुकमा विद्यालयमा बेरोजगारीको समस्यालाई अन्त्य गर्नका लागि र छिटो समृद्धि हासिल गर्नका लागि औद्योगिकीकरण तथा कृषिलाई आधुनिकीकरण गर्न जरुरी रहेको प्रष्ट पारे । उपप्रधानमन्त्री यादवले आम नेपालीको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको र आधारभूत उपचार सेवा निःशुल्क हुनुपर्ने मान्यताका साथ सरकार अघि बढेको जानकारी दिनुभयो । उनले देशभरि एक हजार २०० नयाँ प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने सरकारले निर्णय र स्वास्थ्य केन्द्रको निर्माण कार्यसमेत प्रारम्भ भइसकेको जानकारी दिए । उपप्रधानमन्त्री यादवले निर्माण हुने नयाँ स्वास्थ्य केन्द्रले आम नेपाली जनतालाई प्रत्यक्ष लाभ हुने विश्वास व्यक्त गरे । वीरगञ्जको नारायण उपक्षेत्रीय अस्पतालाई केन्द्रीय अस्पतालका रुपमा विकास गर्ने तयारीमा नेपाल सरकार रहेको जानकारी दिँदै उनले जग्गा खोजी राख्न सम्बन्धित निकाय र व्यक्तिलाई आग्रहसमेत गरिएको बताए । सङ्घीय समाजवादी फोहोर (नेपाल) को केन्द्रीय अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै बाँकी रहेको अधिकारका लागि प्रयत्नरत रहने नीतिअनुरुप आफ्नो पार्टी सरकारमा सहभागी भएको जानकारी दिए । नेपाली जनताको लामो संघर्ष र मधेश आन्दोलनबाट प्राप्त भएका उपलब्धिलाई संविधानमा संस्थागत गर्दै उनले बाँकी रहेको अधिकारीका लागि सरकारभित्रबाटै संघर्षमा लागेको बताए । रासस

नागोया अभिसन्धिमा नेपालको प्रवेश

काठमाडौं, पुष १४ । आनुवंशिक स्रोतमाथिको पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँटसम्बन्धी नागोया अभिसन्धिमा नेपालले प्रवेश गर्ने भएको छ । जैविक विविधता महासन्धि अन्तर्गत जारी भएको नागोया अभिसन्धिमा प्रवेश गर्ने सम्बन्धमा नेपाल सरकारले संयुक्त राष्ट्रसंघमा औपचारिक पत्र दर्ता गरेको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाले अनुमोदन गरेको उक्त अभिसन्धिमा प्रवेश गर्ने सम्बन्धी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हस्ताक्षर गरेको पत्र महासचिव एन्टोनियो गुटरेश समक्ष शनिवार प्रस्तुत गरिएको संयुक्त राष्ट्र सङ्घका लागि न्यूयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ । औपचारिक पत्र प्रस्तुत गरेको ९० दिनपछि नेपाल उक्त अभिसन्धिमा प्रवेश गर्नेछ । त्यससँगै उक्त अभिसन्धिमा प्रवेश गर्ने नेपाल ११६ औँ देश बन्नेछ । रासस