सामाजिक सुरक्षाको कार्यान्वयनबाटै समृद्धि सम्भव छः मन्त्री विष्ट

काठमाडौं, पुष १२ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताएका छन् ।

घरेलु तथा साना उद्योग महासंघ र होमनेट नेपालले बिहीबार यहाँ आयोजना गरेको ‘अनौपचारीक क्षेत्रका श्रमिक, गरीबको सामाजिक तथा आर्थिक सुरक्षाका लागि उपलब्ध नीतिको कार्यान्वयन’ विषयक गोष्ठीमा उनले भने, “मुलुकमा सञ्चालित उद्योगको रुपान्तरणका लागि त्यहाँ कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्छ ।”

मन्त्री विष्टले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याइने उल्लेख गर्दै समान कामका लागि समान ज्याला पाउनुपर्ने मान्यतालाई प्रभावकारी कार्यान्वयन गर्न पनि सरकार प्रतिबद्ध रहेको बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले उद्योगको उत्पादनमा लाग्ने लागत घटाउन र उत्पादकत्वमा वृद्घि गर्ने विषय सामाजिक सुरक्षाको कार्यान्वयनमा निर्भर गर्ने बताए ।

घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सूर्य कँडेलले ढिलै भए पनि मुलुकमा सामाजिक सुरक्षाको ठोस कार्यक्रम आएकामा खुसी व्यक्त गर्दै आर्थिक क्रान्तिका लागि घरेलु तथा साना उद्योग व्यवसायको प्रवद्र्घन गरिनुपर्नेमा जोड दिए । रासस

सपथ गराउन माग गर्दै मनाङेले दिए निवेदन

काठमाडौं, पुष १२ । गुण्डा नाइके दीपक मनाङेले गण्डकी प्रदेशसभामा निवेदन दिएका छन् । मनाङबाट प्रदेशसभामा निर्वाचित उनले आफूलाई प्रदेशसभा सदस्यको रुपमा सपथ गराउन माग गर्दै निवेदन दिएका हुन् । गण्डकी प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले मनाङेको निवेदन आएको पुष्टि गरे । ‘उहाँको निवेदन बोकेर एक जना आउनुभएको थियो, निवेदन दर्ता भएको छ’ उनले भने, ‘अब यसमा छलफल गरेर अगाडि बढ्छौं ।’ ज्यानसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहरिएका मनाङे सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरी धरौटी बुझाएपछि रिहा भएका थिए ।

मेलम्चीको काम कुनै पनि हालतमा रोकिन्नः मन्त्री मगर

काठमाडौं, पुस १२ । खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको काम कुनै पनि हालतमा नरोकिने दाबी गरेकी छन् । उनले सहायक ठेकेदारलाई जिम्मा दिएर भएपनि मेलम्ची आयोजना नरोकिने दाबी गरेकी हुन् । बिहीबार मेलम्ची खानेपानी आयोजना निर्माणमा पछिल्लो समय देखिएको अन्योलबारे संसदको विकास तथा प्रविधि समितिले बोलाएको बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री मगरले मेलम्चीको काम कुनै हालतमा नरोकिने दाबी गरिन् । निर्माणको ठेक्का लिएको इटालीयन कम्पनी सीएमसीसँगको ठेक्का तोडे नेपाललाई बढी नोक्सानी हुने भन्दै मन्त्री मगरले सरकार सीएमसीबाटै काम सम्पन्न गराउने प्रयासमा रहेको बताइन् । उनले सीएमसी कम्पनीका प्रमुखले काममा फर्कने पत्र पठाएको जानकारीसमेत दिइन् । मन्त्री मगरले निर्माण कम्पनीलाई दिनुपर्ने रकममा कमिसन, बार्गेनिङ गरेको भन्ने हल्ला निराधार रहेको भन्दै कम्पनीसँग थप सुनिश्चिता खोजिएको जिकिर गरिन् । निर्माण कम्पनीको लिखित सम्झौता र मन्त्रालयकै कागजातको आधारमा आफूले दसैंमा मेचम्चीको पानी काठमाडौं पुर्‍याउने भनेपनि अब भने नयाँ मिति नतोक्ने बताइन् । बैठकमा सांसदहरुले ठेकेदार कम्पनी भाग्नुको कारण, आयोजना निर्माणमा भएको ढिलाइ, आयोजना निर्माणप्रति मन्त्री र मन्त्रालयका अभिव्यक्तिबारे प्रश्न उठाएका थिए ।

सिएमसीको बैंक खाता रोक्का भएकाले भुक्तानी दिन कठिनाई भएको हो : खानेपानी मन्त्री

काठमाडौं, पुस १२ । खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाको ठेक्का पाएको कम्पनी सिएमसीलाई भुक्तानी दिनुपर्ने रकम दिन खोज्दा कम्पनी नै लिक्विडेशनमा गईसकेकाले भुक्तानी दिन कठिनाई भएको प्रष्ट पारेकी छन् । प्रतिनिधि सभा अन्तर्गत विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा बोल्दै खानेपानी मन्त्री मगरले सिएमसी कम्पनीलाई भुक्तानी दिनुपर्ने रकम दिन सरकारले कुनै कन्जुस्याईं नगरेको बरु कम्पनीकै बैंक खाता रोक्का भएका कारण भुक्तानीमा कठिनाई भएको स्पष्ट पारेकी हुन् । उनले बैठकमा भने, “ठेकेदार कम्पनीलाई भुक्तानी गर्नुपर्ने ३५ करोड रुपैंयाँ मेलम्ची आयोजना विकास समितिले भुक्तानी गर्न खोज्दा ठेकेदार कम्पनी सिएमसी गत मंसिर २१ गते (डिसेम्बर ७) देखि लिक्विडेसनको प्रक्रियामा जान निवेदन दिएकाले भुक्तानीमा कठिनाई उत्पन्न भएको स्पष्ट पार्न चाहन्छु ।” बैठकमा थप प्रष्ट पार्दै उनले भने, “मेलम्ची खानेपानी आयोजना र त्यसमा देखिएको गतिरोधका बारेमा विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचारप्रति हामी जानकार छौं । आयोजना प्रभावित पार्न मेलम्ची विकास समिति, मन्त्रालय र मातहतका कर्मचारीले गर्ने कुनै पनि अवाञ्छित गतिविधि हाम्रा लागि मान्य हुन सक्दैन । मन्त्रालयको अध्ययनमा हालसम्म त्यस्तो कुनै समस्या देखिएको छैन । यदी त्यस्तो समस्या देखिए र सुशासनको हाम्रो प्रतिबद्धतामा कहीँकतै आँच आएको खण्डमा आवश्यक स्रोत र सूचना उपलब्ध गराई दिनुहुन पनि म माननीय सदस्यज्यूहरुमा अनुरोध गर्दछु ।” तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने ठेकेदार कम्पनीको पछिल्लो प्रतिबद्धताले मेलम्ची आयोजनाको अन्यौलता केही हदसम्म हटेको भएपनि ठेकेदार कम्पनीप्रति मन्त्रालय र आयोजना पूरै विश्वस्त हुनसक्ने परिस्थिति अझै बनिनसकेको उनले बताइन् । सिएमसी कम्पनीसँग कमिशन मागिएको आरोप बारे उनले प्रमाण दिए जो कसैलाई पनि कारबाही गर्ने चेतावनी दिए । उनले बैठकमा भने, “आयोजना प्रभावित पार्न मेलम्ची विकास समिति, मन्त्रालय र मातहतका कर्मचारीले गर्ने कुनै पनि अवाञ्छित गतिविधि हाम्रा लागि मान्य हुन सक्दैन । मन्त्रालयको अध्ययनमा हालसम्म त्यस्तो कुनै समस्या देखिएको छैन । यदि त्यस्तो समस्या देखिए र सुशासनको हाम्रो प्रतिबद्धतामा कहीँकतै आँच आएको खण्डमा आवश्यक स्रोत र सूचना उपलब्ध गराई दिनुहुन पनि म माननीय सदस्यज्यूहरुमा अनुरोध गर्दछु ।” आर्थिक अपारदर्शिता, ढिलासुस्ती लगायत आयोजना प्रभावित हुने कुनै पनि कार्य मान्य नहुने भन्दै उनले मेलम्चीको पानी छिटो भन्दा छिटो काठमाडौंका जनतालाई वितरण गर्न आतुर रहेको बताइन् । समितिका अधिकांश सदस्यहरुले मेलम्चीमा देखिएको अन्यौलता र समस्या हल गर्न सम्बन्धित मन्त्रालय र आयोजना विकास समितिलाई आग्रह गरेका थिए ।

प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा, पुस १२ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय शिक्षा र रोजगारीको लागि प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्ने बताएका छन् । मकवानपुरको हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको ५२औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले वर्तमान प्रदेश नं ३ को सरकारले शिक्षाको विकासका लागि विशेष महत्व दिएको र शिक्षामा दिगो विकासका लागि सरकार गम्भीर रहेको छ भने । उहाँले शिक्षा क्षेत्रमा लागेका शिक्षक, व्यवसायी र विद्वान्लाई निष्पक्षरुपमा गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे । कार्यक्रममा उनले सो विद्यालयका पूर्वशिक्षक कौशलराज पाण्डेलगायतका व्यक्तित्वलाई सम्मान गरे । सोही अवसरमा प्रदेश नं ३ का सांसदद्वय प्रेमबहादुर पुलामी र इन्द्रबहादुर बानियाँले पनि नेपालमा शिक्षाको विकास राम्रोसँग भइरहेको उल्लेख गर्दै थप गुणस्तरीय एवं प्रभावकारी बनाउन आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको अध्यक्षतामा भएको समारोहमा विद्यालयका प्रधानाध्यापक जयराम थापाले पनि आफ्नो विद्यालयको बारेमा जानकारी दिए । रासस

प्रधानमन्त्रीले ओलीले भने, ‘अबको धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छ’

काठमाडौं, पुष १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा बिहीबार प्रधानमन्त्री ओलीले देशमा भइरहेका विकास निर्माण कार्यअन्तर्गत धरहराको शिलान्यास एउटा अङ्ग मात्र भएको बताउँदै सरकार अहिले विकासको तीव्र अभियानमा जुटेको बताए । नेपालीको प्यारो धरहरा पटक पटक भत्किएको बताउँदै उनले भने, “विसं २०७२ को भूकम्पले भत्किएको उही धरहरा अब उभिँदैन, नयाँ बनाउनुपर्छ, उस्तै बनाउँछौँ । हाम्रो प्राचीन सभ्यता र मौलिकतलाई संरक्षण गर्नुपर्छ ।” प्रधानमन्त्री ओलीले धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ताका सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुने बताए । “नाम मात्रको सुन्धारा नभई पानीसहितको धारा पनि अवलोकनकर्ताले हेर्न पाउने छन् । भूकम्पले नोक्सान भएका धेरै सम्पदास्थल पुनःनिर्माण भइसकेका छन्”, विगतमा आफूले धरहराको पुनःनिर्माणका लागि प्रयत्न गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, “अब कुनै पनि बहानामा पुनःनिर्माणका कार्य रोकिने छैन ।” पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौंलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको उनको भनाइ थियो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अत्याधुनिक सुविधा सम्पन्न धरहरा पुनःनिर्माणका क्रममा यसको मौलिकतालाई विशेष ध्यान दिइने जानकारी दिए । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माण समयमै सम्पन्न गर्न आग्रह गर्दै निर्माणका क्रममा आउने धुवाँ धुलोलाई न्यूनीकरण गरी वातावरण प्रदूषण हुनबाट जोगाउनुपर्ने विचार व्यक्त गरे । उनले धरहरा निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । निर्माण कम्पनीका प्रबन्धक रमण महतोले करीब ४२ रोपनी क्षेत्रफलमा फैलिने धरहरा २२ तलाको र ७२ मिटर अग्लो हुने जानकारी दिए । करीब रु तीन अर्ब ४८ करोडको लागतमा निर्माण पूरा हुने उक्त आयोजनाको समयावधि दुई वर्ष रहने छ । नयाँ धरहरामा बगैंचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत हुने छन् । समाराहेमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, सामान्य प्रशासन तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डित, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपाल तथा जनप्रतिनिधिलगायतको उपस्थिति थियो । रासस

सरकारको घोषणा कार्यान्वयनः साना किसानको ऋण मिनाहा

पर्वत, पुष ११ । सरकारले हालै गरेको साना किसानको ऋण मिनाहा गर्ने घोषणाबाट पर्वतका सयौं कृषकले राहत पाएका छन् । सरकारले कृषि क्षेत्रमा लगानी गर्न ऋण लिएका तर विविध कारणले भुक्तानी गर्न नसकेका कृषकको ऋण मिनाहा गर्ने घोषणा गरेपछि पर्वतका कृषकले लिएको रु २३ लाख ३८ हजार ७२० मिनाहा हुने भएको हो । आव २०७४-७५ को असार मसान्तसम्म पर्वतका विभिन्न क्षेत्रका कृषकबाट ब्याज रु १८ लाख ९३ हजार १२८ र साँवा रु चार लाख ४५ हजार ५९२ गरी रु २३ लाख ३८ हजार ७२० असुल गर्न बाँकी रहेको कृषि विकास बैंक कुश्मा शाखाका प्रमुख महेश पौडेलले जानकारी दिए । पौडेलका अनुसार जिल्लाका चार सहकारी संस्थामार्फत कृषकले ऋण लिएका थिए । बैंकबाट ऋण लिएर कृषकलाई वितरण गरेका तर अहिले अस्तित्वमै नरहेका सहकारी संस्थाहरूको ऋण मिनाहा भएको हो । यसबाट कतिपय जग्गा धितो राखेर ऋण लिएकाहरू समस्यामा परेका थिए । पर्वतका गुप्तेश्वर सहकारी संस्था लिमिटेडले ब्याजसहित रु ११ लाख ७४ हजार ३५६, हडरे देउराली सहकारी फलेवासले रु दुई लाख ३८ हजार ३८६, धौलागिरि सहकारी मोदी–२ देउपुरले रु दुई लाख ९७ हजार, आदर्श बहुमुखी सहकारीले रु तीन लाख २५ हजार १५ र सोही सहकारीले अर्को शीर्षकमा लगेको रु तीन लाख तीन हजार ९६२ ब्याजसहित असुल गर्नुपर्ने बक्यौता रहेको थियो । हालै बसेको मन्त्रिपरिषद्को बैठकले ऋण मिनाहा गर्ने घोषणा गरेपछि ती सहकारीमार्फत ऋण लिएका सबै कृषक ऋणमुक्त बनेको शाखा प्रबन्धक पौडेलले बताए । उनका अनुसार कतिपय जग्गा धितो राखेकाले बैंकमा सम्पर्क राखी फकुवा गर्न सकिने समेत जानकारी दिए । रासस

एकाबिहानै राज्यमन्त्री चौधरी कालिमाटीमा, मापदण्ड उलंघन गर्नेलाई कडा कारबाही गर्ने दाबी

काठमाडौं, पुष १२ । कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीले नियम, कानुन र मापदण्ड उलंघन गर्ने जो कोहीलाई पनि कार्वाहीको दायरामा ल्याइने बताएकी छन् । कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमनपछि राज्यमन्त्री चौधरीले कानुन सबैलाई समान रुपमा लाग्ने भन्दै उलंघन गरे कार्वाही गर्न सरकार पछि नहट्ने बताइन् । जेठ २१ गते मन्त्री चक्रपाणी खनालको नेतृत्वमा अनुगमन गरेपछि सुधारको अवस्था बुझ्न राज्य मन्त्री चौधरी बिहीबार बिहान कालिमाटी पुगेकी हुन् । उनले पहिलेको तुलनामा सरसफाई र व्यवस्थापनमा केही सुधार भए पनि अरु धेरै सुधार गर्नु पर्ने ठाउँ रहेको बताइन् । ‘पहिलो पटक अनुगमनमा आउँदा निक्कै अस्त व्यस्त र फोहोर थियो, राज्य मन्त्री चौधरीले भनिन्, ‘अहिले त्यसमा केही कमि आएको जस्तो देखिएको छ तर यतिले मात्र पुग्दैन ।’ कालिमाटी मुख्य तरकारी तथा फलफूल बजार भएको भन्दै चौधरीले त्यहाँ जस्तो हुन्छ देशभरी त्यस्तै सन्देश जाने भएकाले बजारको स्तरोन्नतीका लागि सबैको उत्तिकै पहल गर्नु पर्ने बताइन । विकृति अन्त्य गर्न सबैलाई सहयोग गर्न आग्रह गर्दै राज्य मन्त्री चौधरीले भनिन्, ‘अर्को पटक आउँदा सुधारको नमून देख्न पाइयोस् ।’ राज्य मन्त्री चौधरीले परिक्षण प्रयोगशालाको पनि निरिक्षण गरेकी थिइन् तर उक्त प्रयोगशाला प्रयोगशाला जस्तो पनि नभएको उनको टिप्पणी थियो । व्यवसायीले भने तरकारी तथा फलफूल बजार सानो भएको, कृषि उपज ढुवानी गर्ने सवारी साधानमा निर्वाध प्रयोगमा समस्या रहेको, मिडियाले विभिन्न आक्षेप लगाएर आफूहरुलाई एकतर्फी पेल्ने काम गरेको जस्ता गुनासा गरेका थिए । यद्यपी उनीहरुले बजार सुधारका लागि जुनसुकै सहयोग गर्न पनि आफूहरु तयार रहेको बताएका छन् । ४५ रोपनी क्षेत्रफलमा फैलिएको कालिमाटीमा ५६३ वटा स्टर रहेका छन् । जेठ २१ गते मन्त्री खनाल र राज्य मन्त्री चौधरीको अनुगमनपछि कार्वाहीका लागि सिफारिस गरिएका ९८ जना व्यवशायीलाई कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले स्पष्टिकरण सोधी ५७ जना व्यवशायीको इजाजत खारेज गरेको थियो । तर अदालतको ढोका ढक्ढकाउन पुगेका २६ जना व्यवशायीको भने स्टल खारेज नगराउनु भनि सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ ।  

धरानमा पार्क निर्माण गर्न डिपिआर तयार

धरान, पुस १२ । पर्यटकीय नगरी धरान उपमहानगरको व्यस्त बजार भानुचोकलाई धरान उपमहानगरले व्यवस्थित गर्न नयाँ योजना अघि सारेको छ । शहरी विकास मन्त्रालयको सहयोगमा धरानको भानुचोकलाई नयाँ स्वरुपमा विकास गर्न डिपिआर तयार गरिएको छ । विराटनगरदेखि धरानलाई मेघा सिटी बनाउने परियोजनाअन्र्तगत मन्त्रालयले भानुचोकमा बेसमेन्टसहितको पार्क निर्माण गर्ने डिपिआर तयार गरेको धरान उपमहानगरका इञ्जिनीयर सुरज श्रेष्ठले जानकारी दिए । कन्सल्टेन्टमार्फत तयार भएको डिपिआर मन्त्रालयमा पुगेको छ । यो डिपिआरबमोजिम भानुचोक पुनःनिर्माण हुनसक्यो भने अहिलेको अस्तव्यस्त भानुचोक सुन्दर पार्कमा परिणत हुनेछ । बेसमेन्टमा पार्किङको व्यवस्था गरिनेछ । उक्त क्षेत्रमा सवारी निशेध गरिने छ । त्यहाँ सञ्चालन हुँदै आएको बसपार्क धरान–८ स्थित सुन्दरबस्ती स्थानान्तरका लागि निर्णय भइसकेको छ । भानुचोकमा रहेको घण्टाघरभित्र अहिले पनि पार्क छ । त्यस्तै सुन्दर पार्क भानुचोक एरियाभरि निर्माण हुनेछ । आकर्षक बगैँचा, मान्छे हिँड्नलाई बाटो, गफिएर बस्ने ठाउँ, ठाउँ ठाउँमा पानीको फोहोरा निर्माण हुने इञ्जिनीयर श्रेष्ठले बताए । भानुचोकमा पूर्णकदको भानुभक्तको सालिक हुनेछ । हाल अर्धकदको सालिक रहेको छ । भानुचोकलाई पार्कका रुपमा निर्माण गर्न बसपार्क सुन्दरबस्तीमा सार्न त्यहाँका स्थानीयवासीसँग छलफल भइरहेको र माघ पहिलो सातामा बसपार्क सार्न त्यहाँ संरचना निर्माण थालिने उपमहानगरका कार्यवाहक प्रमुख मञ्जु भण्डारीले जानकारी दिए । प्रदेश नम्बर १ मा सात सय चालक कारवाहीमा प्रदेश नम्बर १ का १४ जिल्लामा भएको सवारी जाँचमा ७४१ वटा सवारी कारवाहीमा परेका छन् । ट्राफिक नियम विपरीत सवारी चलाएका कारण दैनिक दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीको प्रदेश १ कार्यालय इटहरीले २४ घण्टे विशेष सवारी चेकिङअन्तर्गत कारवाही गरेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । प्रसाईंका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ३२ जना, मोटरसाइकलमा तीनजना चढ्ने १४ जना, बिना हेल्मेट मोटरसाइकल चलाउने १० जना, क्षमताभन्दा बढी मालसामान ढुवानी गर्ने ११५, सवारी चालक अनुमति पत्र बिना सवारी चलाउने ४२ चालक कारवाहीमा परेको उनले जानकारी दिए । यस्तै, सवारी चालक अनुमतिपत्र नभएकालाई सवारी चलाउन दिने २३ जना, जथाभावी पार्किङ गर्ने २४ जना, रोक्न निधेषमा सवारी रोक्ने ५५ जना, पार्किङ निधेषमा पार्किङ गर्ने २६ जना, सुरक्षापेटी नबाँध्ने १९ जना चालक पनि कारवाहीमा परेका छन् । सबैभन्दा बढी ट्राफिक नियम उलङ्घन गर्ने चालक सुनसरी, मोरङ, झापा, उदयपुरमा रहेको उनले जानकारी दिए । रासस

नेता थापा भन्छन्, ‘द्वन्द्व र गुट नभएको पार्टी जीवन्त रहन सक्दैन’

काठमाडौं, पुष १२ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कांग्रेसको विधान अग्रगामी बनेको बताएका छन् । सञ्चारकर्मीसँग बिहीबार अन्तरक्रिया गर्दै उनले भने, ‘कांग्रेसको विधान अग्रगामी बनेको छ । विधान तहः पार्टीका संरचना बनाउन र सङ्गठन सुदृढीकरणका लागि समयमै निर्धारित पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्ने छ ।’ काङ्ग्रेसले आफ्नो राजनीतिक प्रस्तावमा संविधानका मूलभूत व्यवस्थालाई स्वामित्व लिई उल्लेख गरेको बताउँदै उनले संविधानको सार्थक कार्यान्वयन गर्न पनि काङ्ग्रेसले नेतृत्व लिने स्पष्ट पारे । काङ्ग्रेसमा गुटउपगुट मौलाएको छ नि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता थापाले भने, “द्वन्द्व र गुट नभएको पार्टी जीवन्त रहन सक्दैन तर यसलाई नेतृत्वले व्यवस्थापन गर्नु आवश्यक छ ।” उनले पनि धर्मका सम्बन्धमा संविधानमा भएको व्यवस्था नै पार्टी धारणा भएको उल्लेख गर्दै सनातनदेखि चलिआएको धर्मको संरक्षण गर्नुपर्ने र धर्म परिवर्तन गराउने विषय गलत भएको टिप्पणी गरे ।

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई माछा उपहार आएपछि….!

पुष १२ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई एक जना मुर्तिकारले उपहार स्वरुप माछा पठाएका छन्। धनगढीको जाईमा बसेर विगत लामो समयदेखि मुर्ति बनाउँदै आएका रविन्द्र चन्दले मुख्यमन्त्री भट्टलाई ढुङ्गामा कुदेर बनाएको मुर्ति माछा उपहार स्वरुप पठाएका हुन्। उनले ढुङ्गे माछामै माननीय मुख्यमन्त्री लेख्दै मुख्यमन्त्रीलाई उपहार पठाएका छन्। मुख्यमन्त्री भट्टकै गृह जिल्ला डोटीको बड्डीकेदार गाँउपालिकाबाट धनगढी बसाई सरेका चन्दले उपहारको मुर्ति मार्फत प्रदेश सरकारलाई आफ्नो कला समेत देखाएका छन्। मुख्यमन्त्रीका प्रेस सल्लाहकार मिलन परियार मार्फत पठाइएको मुर्ति मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो कार्यकक्षमा सजाएर राखेका छन् । रविन्द्र चन्दले कैलालीको घोडाघोडी तालमा राखिएको घोडा र घोडीको मुर्ति लगायतका धेरै मुर्ति बनाइसकेका छन् । दिनेशखबरबाट        

बस स्टप परिवर्तन : कुन रुटको गाडी कहाँ रोक्ने ? (सूचीसहित)

काठमाडौं, पुस १२ । उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुको बस स्टप परिवर्तन भएको छ । राजधानीको रत्नपार्क क्षेत्रमा सवारीसाधन रोक्न नदिएको विरोधमा यात्रुहरु उत्रिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बस स्टप परिवर्तन गरेको हो । राष्ट्रपत्रकारबाट    

पुष्पलाल–मध्यपहाडी लोकमार्गको सडक निर्माण कार्य तीव्र

बेत्रावती, पुस १२ । नुवाकोटमा हाल निर्माणाधीन राजमार्गमध्ये गाउँदेखि शहरसम्म र पूर्वदेखि पश्चिम जोडिएको पुष्पलाल–मध्यपहाडी लोकमार्गको निर्माण तीव्र बनाइएको छ । पाँचथरको पूर्वी भेगमा पर्ने चियोभञ्ज्याङ (नेपाल–भारत सीमा) बाट शुरु भएर बैतडीको झुलाघाटमा (महाकाली नदीसम्म) जोडिने यो राजमार्गको मध्यविन्दु नुवाकोटबाट पूर्वी खण्डअन्तर्गत पाटीभञ्याङसम्म ६५९ किमी र पश्चिम खण्डकोे पाटीभञ्याङदेखि बैतडीको झुलाघाटसम्म एक हजार ९७ किमी पर्दछ । आयोजनाका इञ्जिनीयर दयानाथ यादवका अनुसार मध्यपहाडी सडकखण्डको नुवाकोटमा करीब ७० किमीमध्ये हाल पाँच खण्डमा काम भइरहेको छ सिन्धुपाल्चोकस्थित चिसापानीबाट प्रवेश गरी पाटीभञ्याङदेखि शेराबगर, छहरे, ढिकुरे, गङ्गटे, डेउडी, सामरी हुँदै भर्याङभुरुङबाट धादिङतर्फ सो सडक मोडिन्छ । जिल्लाको शिवपुरी गाउँपालिका, लिखु गाउँपालिका, विदुर नगरपालिका र म्यागङ्ग गाउँपालिका हुँदै उक्त सडक धादिङतर्फ लाग्ने मध्यपहाडी सडक आयोजनाका पश्चिम खण्डका निमित्त प्रमुख इञ्जिनियर रमेश दृष्टिले जानकारी दिए । पहिलो खण्डमा पाटीभञ्याङदेखि थानसिङको छहरेसम्म २७.५ किमी पर्दछ । यस खण्डमा नयाँ ट्र्याक खोल्ने र साविक सडक स्तरोन्नतिको काम हुनाका साथै हाल सात पक्की पुलमध्ये केहीको निर्माण र सडक कालोपत्रेका लागि ठेक्का आह्वान गरिएको उनले बताए । दोश्रो खण्डमा जिल्लाको थानसिङको छहरेदेखि खानीगाउँको ढिकुरेबजारसम्मको १३ किमी सडक विभागअन्तर्गत रिप (सडक विस्तार आयोजना) मार्फत काम भइरहेको छ । यो सडक साविकको सडकअन्तर्गत स्तरोन्नति भइसकेकाले हाल कालोपत्रे गर्ने तयारी गरिएको इञ्जिनीयर यादवले जानकारी दिए । उहाँका अनुसार आगामी फागुनदेखि शुरु हुने कालोपत्रेको काम छ महीना भित्रै सम्पन्न गर्ने लक्ष्य छ । तेश्रो खण्डमा ढिकुरेबजारदेखि विदुर नगरपालिका–५ गङ्गटेसम्म ७.३ किमी सडक रमण–दिव्यज्योति जेभीमार्फत कालोपत्रे गर्न थालिएको छ । हाल १७ स्थानमा एकैसाथ निर्माणको काम भइरहेको इञ्जिनीयर यादवले बताए । चौथो खण्डमा विदुर नगरपालिकाक–५ गङ्गटेदेखि विदुर नगरपालिकाको वडा नं १३ डेउडीसम्मको सडक विस्तार प्रारम्भिक अध्ययनको क्रममा छ । पाचौँ खण्डअन्तर्गत उक्त नगरपालिकाको वडा नं १३ डेउडीबाट धादिङको सीमाक्षेत्र भ¥याङभुरुङसम्मको सडक १३.५ किमी सडकको स्तरोन्नति तथा ट्र्याक विस्तार भइसकेकाले मित्र–सञ्जिवनी जेभीलेकालोपत्रेका लागि ठेक्का छ । यस सडकखण्डको कागुने, सामरी र भ¥याङभुरुङ खोलाको पुल निर्माणको काम आधाभन्दा बढी सम्पन्न भइसकेको छ । नुवाकोटमा मध्यपहाडी सडकको विस्तारले जिल्लाको दुर्गम तथा भौगोलिक रुपमा विकट मानिएका बस्तीलाई सुगम र शहरसँग जोड्न महत्पूर्ण योगदान पुर्याउने विश्वास लिइएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताए । उहाँका अनुसार यस सडकले शिवपुरी गाउँपालिकाको पाटीभञ्याङदेखि छहरेसम्म सडक सुविधाविहीन हँुदा काठमाडौँको चार नगरपालिकासँग जोडिएको स्थानीय तह भएर पनि विकट र दुर्गमको पहिचान अब हटने भएको छ । “यो सडक निर्माणले धादिङसँग जोडिएका म्यागङ गाउँपालिका र सिन्धुपाल्चोक र काठमाडौँसँग जोडिएका शिवपुरी गाउँपालिकावासीको जीवनस्तर उकासिन्छ,” उनले भने, “यहाँको कृषि उपज, जडीबुटी, पर्यटक प्रवद्र्धनले जिल्ला हुँदै मुलुकलाई नै आर्थिक रूपमा समृद्ध बनाउन सकिन्छ ।” पूर्वी–पहाडदेखि पश्चिम–पहाडसम्म पहाडैपहाड पहुँच पुर्याउने योजनाको समग्र काम अपेक्षाअनुसार प्रगति न्यून भएको बताइन्छ । रासस

सर्दु खोलामा पक्की पुलको निर्माण कार्य सुरु

इटहरी, पुस १२ । धरान हेटौँडा सडकखण्डको सर्दू खोलामा पक्की पुल निर्माण भएको छ । सुनसरी जिल्लाको धरान उपमहागनरपालिका–१७ सर्दुदेखि हेटौंडा जोड्ने राजमार्गको वैकल्पिक मार्गको रुपमा निर्माण भइरहेकामा धरानदेखि चतराबीचमा पर्ने दुई ठूला पक्की पुलको निर्माण लगभग पूरा भएको रसुवा निर्माण सेवाका इञ्जिनीयर आर्यन आचार्यले जानकारी दिए । पूर्वपश्चिम राजमार्गलाई जोड्ने उक्त सडकखण्डअन्तर्गत सुनसरीतर्फ पर्ने २५० मिटर लामो सर्दु खोलामा रहेको पुल र २५ मिटर लामो ठकुरी पुलको निर्माण अन्तिम चरणमा पुगेको हो । उक्त कम्पनीले सम्झौता मितिभन्दा एक वर्षअघि नै निर्माण गरी पुल हस्तान्तरण गर्ने योजना बनाएको जनाएको छ । इञ्जिनियर आर्चायले ती दुबै पुल निर्माणको अन्तिम चरणमा पुगेको र पटनाली पुल पनि तीव्र गतिमा निर्माण भएकाले तोकिएको समयभन्दा एक वर्षअघि नै निर्माण पूरा हुने बताए । उक्त कम्पनीले निर्माणको जिम्मा पाएको पटनाली, सर्दु र ठकुरी पुलको कूल लागत रु ५५ करोड रहेको र आगामी सन् २०१९ को डिसेम्बरसम्म समयसीमा रहेपनि करीब एक वर्षअघि नै निर्माण गर्ने योजना बनाएको हो । उक्त सडकखण्डमा ४३वटा पुल निर्माण गर्नुपर्छ । रासस

रासायनिक मलरहितको गाउँपालिका बनाइने

बलेवा, पुस १२ । गाउँपालिकाभित्र हुने सबै कृषि उत्पादनका लागि रासायनिक मलरहित बनाउन यहाँको एक गाउँपालिकाले अभियान थालेको छ । बागलुङको ताराखोला गाउँपालिकाले जैविक मल मात्रै प्रयोग गरेर परम्परागत कृषिको जगेर्ना गर्न लागेको अध्यक्ष प्रकाश घर्तीले बताए । रासायनिक मलको प्रयोग बढिरहेका बेला सिङ्गो गाउँमै जैविक मल प्रयोग गराउन पहल गर्ने उद्देश्यले यसको उत्पादनका लागि अभियान थालिएको उनले जानकारी दिए । आफ्नो क्षेत्रभित्रका किसानलाई जैविक खेतीमा आधारित कृषि उत्पादनमा लगाएर जैविक गाउँपालिका बनाउने योजना अनुसार अहिले उत्पादन भइरहेका हरेक फसलमा कुनै पनि रसायनिक मल प्रयोग नगर्न, स्थानीय उत्पादनमा जोड दिन र कृषि पर्यटनको केन्द्र बनाउनका लागि विज्ञहरुसँग छलफलसमेत थालिएको अध्यक्ष घर्तीले बताए । गाउँका सबै उत्पादनलाई जैविक बनाउन केही किसानलाई परिचालन गर्नाका साथै घरघरमा लिमे तथा पाराकोटे जातका स्थानीय भैसीपालनमा जोड दिइएको र यसबाट जैविक मल उत्पादनमा सहयोग पुग्ने उल्लेख गर्दै उनले भने, “जैविक फसलको ब्राण्ड बनाउ“दा पर्यटकीय शहरका बजार ओगट्न सक्छौँ ।” उक्त गाउँपालिकाका सबै वडामा तरकारी बाली राम्रो फल्ने गरेको छ । यहाँ उत्पादन भएका तरकारी स्थानीय बजारका साथै छिमेकी बजारमा समेत बिक्री हुने गरेको छ । यहाँ उत्पादित आलु विदेशमासमेत निकै लोकप्रिय रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुसालले बताए । ताराखोला भटमास, राजमा, मुला, साग र आलुमा समेत आत्मनिर्भर गाउँपालिका भएकाले दूध उत्पादनमा पनि आत्मनिर्भर बनाउने उद्देश्यले पशु फार्म सञ्चालनका लागि अनुदान, पाडापाडी हुर्काउने किसानलाई पशु सुत्केरी भत्तासमेत दिने नीति बनाइएको छ । चालु वर्षका लागि मात्र कम्तिमा ३०० भैसीलाई एक हजार भत्ता दिन रु तीन लाख बजेट विनियोजन गरिएको अध्यक्ष घर्तीले बताए । गाउँपालिकाको बैठकले सामाजिक विकृतिविरुद्ध पनि अभियान चाल्ने निर्णय गरेको छ । आलु, बोडी, भट्ट, सिमी, राजमा, च्याउको सुकुटी, क्वाटी, केराउ, मस्यौरा, कर्कलो, मुलाको धजरा, टिमुर, मरिच, सिस्नोको धुलो, जिम्बु, जौ र स्थानीय जातका धान ताराखोलाका उत्पादन हुन् । यी सबै उत्पादनलाई जैविक प्रमाणित गर्न चाहिने शर्त पूरा गरेर लेबलसमेत बनाई बिक्री गर्ने व्यवस्थाका लागि प्राविधिक तयारी गर्न विज्ञहरुको टोलीले सुझाएको छ । रासस

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

मेलम्ची, पुस १२ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० शिखरपुर पिपलबोट बस्ने बिष्णु दमै बुधबार अपराह्न ४ बजे मृतावस्थामा फेला परेका छन् । कृष्णबहादुर दमैको ३७ वर्षीया श्रीमती विष्णुको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे अनुसन्धान भइरहेको मेलम्ची इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । त्यसैगरी मेलम्ची नगरपालिका–४ थकनीमा एक व्यक्तिले आत्महत्या गरेका छन् । जिरा तामाङका ४० वर्षीय छोरा सोमार तामाङ घर नजिकैको आफ्नै बारीमा नाइलनको डोरीमा झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि मेलम्ची ल्याएर अनुसन्धान थालिएकको मेलम्ची इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्नालले जानकारी दिए । रासस