उर्जा क्षेत्रको सफलतामा प्रचण्ड खुशी, संसदमा कोट्याए प्रसङ्ग
काठमाडौं । नेपालको उर्जा क्षेत्रमा सकारात्मक परिवर्तन आउने गरी भारतको सीमापार विद्युत् व्यापार (आयात–निर्यात) निर्देशिका परिमार्जन भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुशी देखिएका छन् ।
निर्देशिकामा यसअघि ५१ प्रतिशत भारतीय लगानीका विद्युत् गृहको बिजुली मात्रै किन्ने भनेर रहेका व्यवस्था हटाउँदै लगानी नभएका विद्युत् गृहबाट पनि बिजुली किन्ने व्यवस्था गरिएको छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को निरन्तर प्रयासपछि भारतले निर्देशिका परिमार्जन गरेको हो ।
यसअघिका सरकार र मन्त्रीले समेत निर्देशिका परिमार्जनका लागि पहल गर्दै आएका थिए । बुधबारको संसद बैठकमा भारतले निर्देशिका परिमार्जन गरेको सन्दर्भ कोट्याउँदै अध्यक्ष प्रचण्डले यसलाई ठूलो उपलब्धीको रुपमा व्याख्या गरेका छन् ।
‘अहिलेको बलियो सरकार, स्थिरताको वातावरण र प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीनको भ्रमणले सकारात्मक परिदृश्य देखा परेको छ । यसलाई केही पनि होइन भनेर सोच्नु राष्ट्रको हितमा हुने छैन,’ प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो दिन बुधबार संसदमा बोल्दै प्रचण्डले भने, ‘केही महत्वपूर्ण उपलब्धीहरू पैदा भएका छन् ।’
संसदमा दुईतिहाई बहुमत प्राप्त सरकार बनेपछि भारत र चीनसँग थुप्रै नयाँ सम्झौता भएका र पुराना सम्झौता कार्यान्वयनमा गएका अध्यक्ष प्रचण्डले सम्झिए ।
‘यो सदनमा आइपुग्दा पहिलेका कतिपय हाम्रो राष्ट्रिय हितसँग मेल खाएनन् कि भन्ने निर्णयहरू सच्चिँदै गएका छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘उर्जा क्षेत्रमा जलविद्युत्को बजारको जुन समस्या देखिएको थियो, भारतको सोच र मान्यता बाहिर आएको थियो, ५१ प्रतिशतभन्दा बढी भारतीय लगानीमा उत्पादित विद्युत मात्रै भारतीय बजारमा खपत हुन्थ्यो । अब विश्वका जुनसुकै कम्पनी र नेपालले उत्पादन गरेको विद्युत् भारत, भारतको बाटो हुँदै बंगलादेश जतासुकै पनि लैजान सकिने भएको छ ।’
भारतले निर्देशिका परिमार्जन गरेसँगै नेपालमा उत्पादित बिजुली भारत निर्यात गर्ने बाटो खुलेको छ । आफ्नो लगानीमा बनेका आयोजनाको बिजुली मात्रै किन्ने प्रावधान यसअघि निर्देशिकामा समावेश थियो ।
नेपाली पक्षले भारतलाई निर्देशिकाको प्रावधान परिमार्जन गर्ने आग्रह गर्दै आएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा समेत यो विषय उठेको थियो ।
पछिल्लो पटक उर्जामन्त्री पुनले भारतीय पक्षसँग औपचारिक बैठक र अनौपचारिक छलफलमा निर्देशिकाका प्रावधान परिमार्जनको विषय उठाउँदै आएका थिए । नेपाल–भारतको सचिव, सहसचिव स्तरीय बैठकमा समेत निर्देशिका परिमार्जनको विषयमा छलफल हुने गरेको थियो ।
भारतको उर्जा मन्त्रालयले ५ डिसेम्बर २०१६ मा पुरानो निर्देशिका जारी गरेको थियो भने १८ डिसेम्बर २०१८ मा परिमार्जन गरेको छ । परिमार्जित निर्देशिकामा सीमापार विद्युत् व्यापार गर्न भारतको लगानी ५० प्रतिशतभन्दा बढी हुनुपर्ने व्यवस्थालाई हटाएको छ ।
निर्देशिकामा विद्युतलाई रणनीतिक वस्तुको परिभाषाबाट हटाएको तथा त्रिपक्षीय सम्झौताअनुसार हुने विद्युत् व्यापारको लागि एक देशले अर्को देशमा विद्युत् व्यापार गर्दा भारतीय भूमिको माध्यम उपयोग गर्ने र विकल्पको व्यवस्था गरिएको छ ।
विकल्पहरूमा भारत सरकारको स्वीकृतिमा भारतीय प्रशारण संरचना प्रयोग गर्न सकिने र भारत सरकारको स्वीकृतिमा भारतको भूमिमार्फत् दुई देशको बिचमा सिधै प्रशारण लाइन पनि बनाउन सकिने रहेका छन् ।
नेकपाको सरकार बनेको थोरै समयमै उपलब्धी देखिन थालेको बताउँदै प्रचण्डले पाँच वर्षभित्रै धेरै उपलब्धी प्राप्त हुने बताए । उनले चीन र भारततिर विश्वको शक्ति केन्द्रीत भइरहेको बताउँदै छिमेकसँग सन्तुलित सम्बन्ध राखेर नेपालले फाइदा लिनुपर्ने बताए ।
‘चीन–भारत शक्ति केन्द्रको रुपमा अगाडि आउने सम्भावना देखिँदैछ,’ उनले भने, ‘यसले छिमेकमा राजनीतिक उतारचढाव ल्याउन सक्छ, निकै ठूलो कुरा हुन सक्छ । हामी विशाल छिमेकीको बीचमा छौं, भूराजनीतिक अवस्थितिले एकातिर नयाँ–नयाँ अवसर ल्याउने र लाभान्वित हुने सम्भावना पनि बढ्दै जान्छन्, अर्काेतिर नयाँ–नयाँ चुनौती र अप्ठ्यारा आउन सक्नेतिर गम्भीर रुपमा चिन्तन मनन गर्दै आफूलाई तयार राख्नुपर्छ ।’
छिमेकीसँग सन्तुलनकारी सम्बन्ध राख्दै आन्तरिक हितलाई प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष प्रचण्डले बताए ।
राष्ट्रपति कार्यालयपछि यातायातकाे पालाे- सूचनामा लिंग लेखेपछि बबाल
काठमाडाैं, सरकारी कार्यालयहरुकाे संवेदनहीनताकाे पराकाष्ठा देखिएकाे छ । राष्ट्रपति कार्यालयले कुटनीतिक भाषाकाे पत्रमा गम्भीर त्रुटि गरेर अालाेचाना भइरहेको बेला यातायात व्यवस्था कार्यालयले समेत झन त्रुटिपुर्ण भाषामा सुचना सार्वजनिक गरेकाे छ । पढनुस के लेखेछ ? ण
बाघकाे आक्रमणबाट युवती घाईते
कञ्चनपुर, पुस ११ गते । कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका–४ की १९ वर्षीय अमृता सिंह ठकुरी बाघको आक्रमणबाट घाइते हुनुभएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएको अवस्थामा हिजो साँझ ठकुरीमाथि बाघले आक्रमण गर्दा घाइते भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक चेतराम पनेरुले बताउनुभयो । उहाँका अनुसार खर काटिरहेको बेला एक्कासि आएर बाघले झम्टिँदा अमृताको कम्मर, हात, खुट्टामा चोट लागेको छ । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा प्राथमिक उपचारपश्चात् उहाँलाई थप उपचारका लागि कैलालीको धनगढी लगिएको छ । रासस
नेविसंघ कार्यकर्ताबीच खुकुरी हानाहान, एक जना घाइते
पर्सा, पुष ११ । नेपाल विद्यार्थी संघ (नेविससंघ) पर्साका कार्यकर्ताबीच आज अपराह्न वीरगञ्जमा खुकुरी हानाहान भएको छ । वीरगञ्ज तेजारथ टोलस्थित नेपाली काङ्ग्रेस पर्साको पार्टी कार्यालयमा बसेको बैठकमा नेविसङ्घका दुई गुटका कार्यकर्ताबीच जिल्ला अधिवेशनको विषयलाई लिएर खुकुरी हानाहान भएको हो । खुकुरी प्रहारमा परी ठाकुरराम बहुमुखी क्याम्पसका नेविसङ्घ एकाइ उपाध्यक्ष समीर अन्सारी घाइते भएका छन् । खुकुरी प्रहारबाट उनको टाउकामा चोट लागेको छ । घाइते अन्सारीलाई उपचारका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल भर्ना गराइएको छ । घाइते अन्सारी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । जिल्ला अधिवेशनका लागि काङ्ग्रेस केन्द्रीय कार्यालयले प्रतिनिधिका रुपमा खटाएका केन्द्रीय सहमहामन्त्री लक्ष्मीभक्त खनालको उपस्थितिमा छलफल चलिरहेका बेला नेविसङ्घका कार्यकर्ताबीच विवाद भई खुकुरी हानाहान भएको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिए । रासस
कोरियाबाट फर्केका नेपालीलाई अब नेपालमै रोजगारीको अवसर
काठमाडौं, पुष ११ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा काम गरी फर्केका युवालाई नेपालमै रोजगारीको अवसर उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ । नेपाल भ्रमणमा रहेका कोरियाको मानव संशाधन विभागका उपाध्यक्ष र नेपालमा रहेका विभिन्न कोरियाली कम्पनीका प्रमुखबीच कोरियाबाट फर्केका नेपाली युवालाई काम दिलाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीसँगै कोरियाबाट फर्केका नेपालीले कोरियाली प्रवद्र्धक रहेका विभिन्न पाँच वटा कम्पनीमा रोजगारीको अवसर प्राप्त गर्ने वैदेशिक रोजगार विभाग, इपिएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले जानकारी दिए । उनले भने, “भाषा परीक्षा उतीर्ण गरी कोरिया गएका नेपालीले त्यहाँका भाषा, कला संस्कृतिका बारेमा जानकारी हासिल गरेका हुन्छन्, उनीहरुलाई नै विभिन्न कोरियाली प्रवर्तक रहेको कम्पनीमा रोजगार उपलब्ध गराउने समझदारी भएको हो ।” कोरियाबाट फर्केका नेपालीले पर्यटक पथप्रदर्शक, कोरियाली लगानी भएको जलविद्युत् आयोजनालगायत विभिन्न क्षेत्रमा रोजगारको अवसर प्राप्त गर्ने उनले बताए । मानव संशाधन विभागका उपाध्यक्ष र वल्र्डवक्ता नेपाल शाखा, कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल, इयु योङहोङ फाउनण्डेसन, नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कर्पोरेशन लिमिटेडका प्रतिनिधबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । रासस
दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले दिए राजीनामा
काठमाडौं, पुष ११ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले पदबाट राजीनामा दिएका छन्। सत्तारुढ नेकपा र सरकारबाहिर चर्को आलोचना भइरहेका बेला झाले बुधवार साँझ राजीनामा दिएका हुन् ।
प्रहरीले फलामको पाइप तिघ्रामा तेर्स्याइ यातना दियो– प्रदीप रावल
काठमाडौँ — निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा आइजिपी सर्वेन्द्र खनाल स्वयम्ले बयान लिएको भनिएका प्रदीप रावलले प्रहरीले यातना दिएको आरोप लगाएका छन । काठमाडौं जिल्ला प्रशासन कार्यालयको आदेशमा तारेखमा थुनामुक्त भएका प्रदीपले थुनामा रहँदा मानसिक र शारीरिक यातना पाएको बताएका हुन । कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको थुनामा बयान लिने क्रममा पाइपले नांगो पैतालामा हानेको आरोप उनको आरोप छ । फलामले पाइप तिघ्रामा तेर्स्याइ त्यसको दुवैतिर टेकेर यातना दिएको उनले बताए । पक्राउ परेपछि एक दिन कठोर यातना र पछि मानसिक दबाब दिएको उनको भनाइ छ । मङ्सिर १७ गते सुन्धाराबाट पक्राउ परेका रावलको डिएनए निर्मलाको भेजाईनल स्वाबबाट निकालिएको पुरुष डिएनएको स्याम्पलसँग नमिलेको प्रमाणित भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशपछि बुधवार उनी छुटेका छन् । सुन्धाराको एक मस्म पसलमा काम गर्ने उनलाई पक्राउ गरेपछि दिनभर केन्द्रीय अनुसन्धान ब्युरोमा राख्ने र साँझ महानगरीय प्रहरी वृत्त महाराजगंजमा थुनामा राख्ने गरिएको थियो । थुनामा क्रममा अपराध कबुल गर्न बाध्य पारेपछि आफूले बलात्कार र हत्या गरेको भन्ने बयान दिएको रावलले बताए । कान्तिपुरले उल्लेख गरेको छ, ‘साँचो–साँचो बोल, नत्र नराम्रो होला भनेर धम्काएपछि र धेरै दबाब दिएपछि मैले झुटो कहानी बताए ।’ माइतीघर लगेर यही हो निर्मलाको बलात्कारी भन्दै चिनाउने धम्की पनि ब्युरोका प्रहरीले दिएको उनको आरोप छ। दौडन लगाएर पछाडिबाट गोली हान्ने धम्कीदेखि हिटरमा पिसाब फेर्न लगाउनेसम्मको त्रास आफूलाई देखाएको उनले बताए । प्रहरीले साइबर क्राईमको मुद्दा लगाउने धम्कीसमेत दिएका थिए । रावल पक्राउ परेलगत्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत ब्युरो पुगेर रावलको बयान लिएका थिए । प्रहरी महानिरीक्षकले बयानका क्रममा सत्य(तथ्य बताए सजाय छुट पाउन सकिने र आफ्नो अघि ढुंगासमेत बोल्ने भन्दै घटनाबारे बताउन दबाब दिएको पनि उनले बताए ।
देउवाको आरोप– सरकारले बलात्कारीलाई लुकाउन खोज्यो
काठमाडौं, पुष ११ । प्रमुख प्रतिपक्ष दल नेपाली काङग्रेका सभापति शेरबहादुर देउवाले मुलुकमा शान्तिसुरक्षा र न्याय दिलाउने सवालमा सरकार असफल भएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले शान्तिसुरक्षा जताततै खल्बलिएको अवस्थाले मुलुकमा सरकार नरहेको अनुभूत भइरहेको आरोप लगाए । सभापति देउवाले भने, “शान्तिसुरक्षाको स्थिति के छ, सबैलाई थाहा छ, देशभर हत्या र बलात्कारको घटना भएका छन्, दोषीलाई लुकाउन खोजिएको छ, होइन भन्ने हत्यारा किन पत्ता लगाउन सकिएको छैन, कुनै व्यक्ति विशेषलाई जबर्जस्ती फसाउने काम भएको छ ।” सङ्घीयता कार्यान्वयनसम्बन्धी कानून निर्माणमा सरकारले चासो नदिएकाले सङ्घीयतासम्बन्धी कुनै कानून बन्न नसकेको बताउँदै उनले भने, “सरकारले दलित, मधेशी, आदिवासी जनजातिलाई विश्वासमा लिन सकेको छैन, मधेशको मुद्दालाई सम्बोधन गर्ने पाटोमा सरकार उदासीन छ ।” डा. गोविन्द केसी लगायतसँग सम्झौता गर्ने कार्यान्वयन नगर्ने कुराले सरकार संविधान पालना गर्दैनन् भन्ने स्पष्ट भइसकेको जनाउँदै सभापति देउवाले भने, “सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन सरकारको तत्परता छैन ।” विवादित संस्थाले आयोजना गरेको कार्यक्रमलाई सरकारले सघाएको आरोप लगाउँदै उनले भने, “सरकार र राज्यको कुनै धर्म हुन्छ ? त्यो घटनाले सरकार कता जाँदैछ भन्ने स्पष्ट भएको छ, आफ्नो सरकारको पालामा ल्याइएको सामाजिक सुरक्षाको कार्यक्रमलाई मैले ल्याएको भन्न मिल्छ ?” नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले जनताको नजरमा सरकारको छवि राम्रो नभएको तथा उनीहरूले लोकतन्त्रको अनुभूति गर्न नपाएका भन्दै शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधारका काम गर्न नसकिएका र जनता आधारभूत सेवाबाट वञ्चित भएका बताए । पूर्वप्रधानमन्त्री भट्टराईले अधिवेशनमा नै आवश्यक सबै कानून बनाउनुपर्ने, देशमा सुशासन कायम गर्ने, अपारदर्शी आर्थिक गतिविधि अन्त्य गर्नुपर्ने, नेपाल वायु सेवा निगमका निम्ति ‘वाइड बडी’ विमान खरीदलगायत विकास–निर्माणका आयोजनामा पनि सुशासन कायम हुन नसकेको औंल्याए । राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले आफ्ना पार्टीका निर्वाचित सांसदलाई यतिका समयसम्म निर्वाचित भएको शपथ नगराएर भेद्भाव गरेको गुनासो गरे। उनले भने, “हाम्रो सहनशीलतालाई कम्जोरी नठान्नुस्, दुई तिहाइको सरकारले जनताको काम गरोस् ।” रासस
परराष्ट्र मन्त्रालयको गम्भीर त्रुटि, ज्यान गुमाएकालाई ‘बधाई’ उल्लेख !
काठमाडौं, पुष ११ । नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गम्भीर त्रुटि भेटिएको छ । इन्डोनेसियामा हालै ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा दर्जनौंको मृत्यु भएको विषयमा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गम्भीर त्रुटि भेटिएको हो । परराष्ट्रले राष्ट्रपति कार्यालयको हवाला दिँदै जारी गरेको विज्ञप्तिमा मानिसहरूको मृत्यु भएको विषयमा ‘बधाई’ दिएको उल्लेख गरेको छ । विज्ञप्तिमा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत शनिबार सुनामीले कयौं ज्यानहरू गएकोमा ‘बधाई सन्देश पठाएको’ लेखिएको छ। पहिलो वाक्यमा गम्भीर गल्ती भए पनि दोस्रो वाक्यमा भने राष्ट्रपतिले नेपालका तर्फबाट समवेदना र गहिरो दुख व्यक्त गरेको उल्लेख छ।
सप्तरीमा सात बर्षकी बालिका बलात्कृत, एकजना आरोपी पक्राऊ
काठमाडौं, सप्तरीमा एकजना सात वर्षीय बालिका बलात्कृत भएकी छिन् । प्रहरीले बलात्कार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका १ जण्डौल बस्ने २० बर्षीय सुन्दरकुमार सदा सदाले घरमा कोही नभएको बेलामा बालिकालाई ललाई फकाई खेतमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । उनलाई इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । पीडित बालिकाको संवेदनशील अङ्गबाट अत्यधिक रक्तश्राव भइरहेको छ । उनको स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरान लगिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
कांग्रेसलाई प्रचण्डको आव्हान: संविधान कार्यान्वयन र समृद्धिको अभियानमा सँगै अघि बढौं
काठमाडौं, नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियादेखि संविधानसम्म हातेमालो गरेर ऐतिहासिक उपलब्धि हासिल गर्न सकेको भन्दै अबका दिनमा पनि राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिएका छन् । संघीय संसदको हिउँदे अधिवेशनमा सम्बोधन गर्दै प्रचण्डले जनतामा निराशा छाउने अभिव्यक्ति नदिन समेत सबैमा अपील गरे । पढनुस प्रचण्डको भनाईका मुख्य अंश आफूहरुले ल्याएको परिवर्तनलाई संविधान निर्माणका साझेदार दलहरुले नै भुल्न लागेको हो कि ? अहिले नेकपा र नेपाली कांग्रेस दुबैको बैठक एउटै समयमा बस्यो । यो सकारात्मक संयोग हो । दुबै बैठकको साझा एजेण्डा भनेको संविधान कार्यान्वयनतर्फ जानुपर्छ र विकास र समृद्धितर्फ जानुपर्छ भन्ने नै छ । यो हेर्दा एकै ठाउँमा छौं भनेर गर्व र खुशी हुन्छ । मैले सात राजनीतिक दलका तर्फबाट त्यतिखेर गिरिजाप्रसाद कोइरालासँग भएका छलफल, सहमति, प्रयासको लगातार संस्मरण गर्छु । हस्ताक्षर गर्ने एकजना भएकोले यो भारी मेरै टाउकोमा छ कि भन्ने पनि लाग्छ । हामी ठीक दिशातिर गइरहेका छौं । कमी कमजोरी छन् । नयाँ प्रणाली जाँदा सहज हुँदैन । नयाँ बाटोमा के होला कसो होला भन्ने आशंका, अप्ठ्यारा आउँछन नै । । तर हिजो जसरी युद्दको विकराल स्थ्तििलाई शान्तिको यस्तो राम्रो स्थितिमा ल्याउन पहलकदमी गर्यौं भने अहिले त हामी यति राम्रो परिस्थितिमा छौं । राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा नेपालको सम्मान बढेको छ । अब यो अवसरलाई विकास र समृद्दितर्फ यही एकताबद्ध भएर लैजानुपर्छ । अब विकासको यात्रालाई पनि १२ बुँदे, ७ बुँदे हुँदै संविधानसम्मको एकताजस्तो अघि बढाउनुपर्छ । यसरी हातेमालो गरे मात्रै नेपालको, नेपाली जनताको भावनालाई सम्मान र सम्बोधन गर्न सक्छौं । यो बीचमा कैयन कमीकमजोरी भए । एकता सात महिना हुँदा पनि टुंगिएको छैन । सरकारले छिटोछिटो सरकार गर्ने सपना देखेपनि कैयन काम हुन सकेका छैनन । यो लोकतान्त्रिक प्रणालीले पनि बाधा पुर्याएको छ । प्रणाली मिलाउँछौं भन्दा पनि एक महिनामा हुने काम १५ महिना लाग्ने अवस्था छ । महिला हिंसा बढेकोमा, बलात्कारका घटनामा हामी निकै चिन्तित छौं । त्यसमा पनि कञ्चनपुरको निर्मला पन्तको बलात्कारको हत्याले सबैभन्दा बढी संवेदनशील बनायो । सरकारको कार्यक्षमता, अनुसन्धानको क्षमता र हैसियतमाथि प्रश्नचिन्ह खडा भएकै हो । हामीले पार्टी र सरकारसँग बस्दा यसको अनुसन्धान गम्भीर र दृढतापूर्वक हुनुपर्छ भनेर गएका छौं । मैले यो विषयमा गृह र प्रधानमन्त्री कार्यालयसँग बारम्बार छलफल गरेको छु । शुरुमा कतै न कतै कमी भएको महसुस गरेर गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्छ भनेपछि सरकार अहिले गम्भीर ढंगले लागेको पाएका छौं । अब यो घटनामा सत्यतथ्य ल्याउन प्रतिपक्ष, सत्तापक्ष सबैको दायित्व हो । निर्मला पन्तको घटनापछि पनि केही घटना देखिए । श्रृंखला नै हो कि भन्ने पनि देखियो । तर त्यसपछि सरकार र प्रहरी प्रशासनको तत्परता देखियो । तत्कालै अपराधी पक्राउ पर्ने अवस्था सिर्जना भयो । यो हिंसाको ग्राफ बिस्तारै तल गएको कुरामा पनि हेक्का राख्नुपर्छ । हामी परिवर्तनका हिमायतीहरुले केही भएकै छैन भनेर निराशा र जनतालाई डराउने खालको अवस्था सिर्जना गर्नुहुँदैन । जनताको भावना र मनोदशालाई नकारात्मक नहुने गरी आफ्ना कुरा राख्नुपर्छ भन्ने पनि त्यत्तिकै महत्वपूर्ण छ । यो अधिवेशनले आफ्नो जिम्मेवारी ठीक ढंगले पुरा गर्न सक्ने छ भन्ने विश्वास लिएको छु ।
निर्मला हत्या अनुसन्धानः प्रदीप रावल पनि तारेखमा रिहा
काठमाडौं । निर्मला हत्या अनुसन्धानमा प्रहरीले नै आरोप स्वीकार गरेको भनिएका प्रदीप रावल रिहा भएका छन् । नेपाल प्रहरीले रावलले हत्यामा संलग्न भएको बयान दिएको कुरा अनौपचारिकरुपमा सार्वजनिक गरेको थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आदेशमा रावल साधारण तारेखमा थुनामुक्त भएका हुन । प्रहरीमाथि अभद्र व्यवहार गरेको अरोपमा उनीमाथि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले मुद्दा चलाएको थियो । अभद्र व्यवहारका विषयमा अनुसन्धान गर्न उनीमाथि म्याद थप गरिएको भए पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीमाथि निर्मला हत्या प्रकरणमा अनुसन्धान गरिरहेको थियो । यसअघि नै रावलसँगै पक्राउ परेका विशाल चौधरी रिहा भइसकेका छन् ।
दुई नाबालक छोरालाई विष खुवाएर महिलाद्वारा आत्महत्याको प्रयास, एकको मृत्यु
जनकपुरधाम : धनुषामा एक महिलाले आफ्नो दुई नाबालक छोरालाई विष खुवाएर आफूले पनि विष खाएर आत्महत्याको प्रयास गरेकी छन्। जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका १ सोनमाई खजुरी टोल निवासी रविन्द्र यादवकी श्रीमति २४ वर्षीया रिना देवी यादवले घरायसी विवाद भएपछि आफ्ना दुई छोराको हत्या गरी आफू पनि आत्महत्या गर्ने प्रयास गरेकी हुन्। जबरजस्ती विष खुवाएको ३ वर्षीय कान्छो छोरा रितेश यादवको ज्यान गएको छ भने जेठो छोरा ५ वर्षीय रितिक यादव र आमा रिनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। रिनाको उपचार जनकपुरस्थित जानकी हेल्थकेयरमा भइरहेको छ भने रितिकलाई जनकपुर अञ्चल अस्पतालको आईसियुमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दिपेन्द्र शाहीले जानकारी गराएका छन्। कान्छो छोरा रितेशको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ। प्रहरीले दिएको जानकारी अनुसार सोमबार राति घरमा सासूसँग विवाद भएपछि मंगलबार बिहानै रिना दुवै छोरालाई लिएर घरबाट निस्केकी थिइन्। उनलाई खोज्न घरपरिवारका सबै बिहानैदेखि लागेका थिए। वैदेशिक रोजगारबाट एक महिनाअघि मात्रै घर फर्किएका उनका श्रीमान रविन्द्र पनि श्रीमति र बच्चालाई खोज्दै हिँडेका थिए। यता, रिनाले जनकपुरधाम उपमहानगरपालिका मुजेलिया नजिकै कवर्ड हल अगाडी दुई छोरालाई विष खुवाई आफू पनि विष सेवन गरेर परालको टाल मुनि लुकेर बसेकी थिइन्। विष खुवाए पछि कान्छो छोरा र रिना बेहोस् भएका थिए भने जेठो छोरा रितिक होसमै थिए। उनी टालबाट निस्केर बरबराउँदै आफ्नो आमाले भाइ र आफूलाई विष खुवाएको भनि हल्ला गर्दै भौतारिएका थिए। उनको मुखबाट समेत र्याल र सिगान निस्की राखेको थियो। यसै क्रममा दिउँसो ३ बजेतिर छट्पटाउँदै बरबराई राखेका रितिकलाई स्थानीयले देखेपछि स्थानीयकै सहयोगमा तीनैजनालार्ई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा कान्छो रितेशको बाटैमा ज्यान गरेको थियो भने आमा रिना बेहोस् भएकी थिइन्।रिनाको अवस्था चिन्ताजनक रहेको तर जेठो छोरा रितिकको अवस्थामा सुधार आएको चिकित्सकले जानकारी गराएका छन्। अन्नपूर्ण पोष्टबाट साभार गरिएको
नगरसभाले पारित गर्यो मेयर रेनुका योजना, स्मार्ट सिटीदेखि रङ्गशालाका निर्माणसम्म
चितवन, पुस ११ । भरतपुर महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी तेस्रो नगरसभाले पारित गरेका विषय सार्वजनिक गरेको छ । सभाले जनप्रतिनिधिको आचारसंहिता, विपद् व्यवस्थापनसम्बन्धी ऐन, एफएम रेडियो सञ्चालन कार्यविधि र तीन पाङ्ग्रे सवारी साधन दर्ता तथा शुल्क निर्धारण कार्यविधि पारित गरेको छ । पत्रकार सम्मेलनमा महानगर प्रमुख रेनु दाहालले आर्थिक ऐन २०७५ मा केही संशोधन गरिएको बताइन् । ती विधेयक राजपत्रमा प्रकाशन पूर्व सङ्घीय सरकार, प्रदेश सरकार, नेपाल पत्रकार महासङ्घलगायत अन्य सरोकारवालाबाट प्राप्त रचनात्मक सुझावलाई समावेश गरी परिमार्जनसहित प्रकाशन गरिने बताइएको छ । पत्रकार महासङ्घ चितवन शाखाले नगर सभाले पारित गरेको एफएम रेडियो सञ्चालन कार्यविधि शाही सरकारको पालाको झल्को दिने खालको रहेको भन्दै तत्काल अनुमोदन नगर्न सुझाव दिएको थियो । तर महानगरपालिकाले पछि सुझाव राख्नेगरी पारित गरेको हो । महानगर प्रमुख दाहालले नगरसभाले चालू आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा गर्दै महानगरपालिकाभित्र विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सङ्घ संस्था एवं कर्मचारीलाई पुरस्कृत र सम्मान गरिएको बताइन् । सो अवसरमा दाहालले आफ्नो भावी कार्यदिशामा स्मार्ट सिटीको गुरुयोजना, ठूला पूर्वाधार योजनाको कार्यान्वयन, वडा कार्यालयको सशक्तीकरण, राजश्व प्रशासनमा प्रविधिको प्रयोग र प्राथमिकता, महानगरव्यापी सरसफाइ कार्यक्रमलाई जोड दिएको बताइन् । शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, सहकारी क्षेत्रको उचित सरोकार एवं समन्वय, सहकार्य, सिकाइ, गुणस्तर कायम र भएका कामको प्रचारप्रसारलाई पनि भावी कार्यदिशामा समेटिएको छ । महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको महानगरीय सभाहल, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको तयारी गरेको छ । महानगरीय चक्रपथ र लिङ्क रोडको शिलान्यास भई काम अगाडि बढेको, अटोल्याण्डको विस्तृत अध्ययन भइरहेको, बहुउद्देश्यीय व्यापारिक भवनको नक्साङ्कन भइरहेको, नारायणी किनारलाई सामुन्द्रिक तटका रुपमा विकास गर्ने काम भइरहेको प्रमुख दाहालले बताइन् । उपपप्रमुख पार्वती शाहले केन्द्रीय बस टर्मिनल भरतपुर र पोखरा बसपार्कलाई स्तरोन्नति गरी सुविधा सम्पन्न बनाउन लागिएको, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्न लागिएको, भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्न लागिएको, फोहरमैला व्यवस्थापनका लागि कोरियन सरकारको सहयोगमा अध्ययन भइरहेको जानकारी दिइन् । पत्रकार सम्मेलनमा पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले नगरसभाबाट पारित एफएम रेडियो सञ्चालन कार्यविधि महासङ्घलाई स्वीकार्य नरहेको बताए । (रासस)
सरिता दवाडी बनिन् सिंचाई विभागको पहिलो महिला महानिर्देशक
काठमाडौं, पुस ११ । सिंचाई विभागको महानिर्देशकमा सरीता दवाडी नियुक्त भएकी छन् । उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले दवाडीलाई महानिर्देशक नियुक्त गरेको हो । सिंचाई विभागका महानिर्देशक सरोज पण्डितलगायत दुई दर्जनमाथी अख्तियारले मुद्दा चलाएपछि उक्त पद रिक्त रहेको थियो । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले मन्त्रीस्तरीय निर्णय गर्दै दवाडीलाई यसअघि नै कामु महानिर्देशकको जिम्मेवारी दिएका थिए । सिंचाई विभाग अन्तर्गतको बहुउद्देश्यीय तथा सिंचाई महाशाखाको प्रमुख रहेकी दवाडीलाई मंगलवार मन्त्री पुनले उक्त विभागको जिम्मेवारी दिएका हुन् । दवाडी खुल्ला उपसचिवमा सिधै सरकारी सेवामा प्रवेश गरेकी हुन् । उनले महिला कोटामा नै खुल्लामा सहसचिवमा नाम निकालेकी थिईन । सिंचाई विभागको डिजीमा नियुक्तीसंगै दवाडी महिलो महिला डिजीको नाम लेखाउन समेत सफल भएकी छन् ।
आकर्षणको केन्द्र बन्दै सिन्धुलीगढी
काठमाडौँ, पुस ११ । नेपाली वीरताको सुनौलो इतिहास बोकेको एतिहासिक सिन्धुलीगढीमा यतिखेर आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । समुद्र सतहबाट एक हजार ५२० मिटरको उचाइमा अवस्थित सिन्धुलीगढीमा सानो र ठूलो गरी दुई वटा बेग्लाबेग्लै गढी छन् । ठूलो गढी सामरिक दृष्टिकोणले निर्माण गरिएको थियो । त्यसबेला ठूलो गढीमा तोप, गोलाबारुद, बन्दोबस्तीका सामानको व्यवस्थापन र पानीको सङ्कलन गरिन्थ्यो । सानो गढी भने स्थानीय धनमनातिरबाट आउने शत्रुको निगरानीका लागि बनाइएको इतिहास छ । मकवानपुरका सेन राजाको पालामा निर्माण गरिएका उक्त गढीमा कर सङ्कलन गर्ने प्रयोजनका लागि कार्यालयसमेत स्थापना गरिएको थियो । गढीमा शत्रुको निगरानी गर्न ११ वटा प्वाल भएको पर्खालसमेत निर्माण गरिएको थियो । नेपालकै अत्यन्त महत्वपूर्ण मानिएको यो एतिहासिक गढीलाई पर्यटकीय गन्तव्यका रुपमा विस्तार गर्न कमलामाई नगरपालिकाले ‘सिन्धुलीगढी निर्माण गुरुयोजना’ तयार गरी कार्यान्वयनमा ल्याएको छ । आगामी तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ गुरुयोजना कार्यान्वयनमा ल्याएको कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले बताए । उक्त गुरुयोजना कार्यान्वयन गर्नका लागि रु १७ करोड बजेट लाग्ने अनुमान गरिएको उनले बताए । “प्राकृतिक, एतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाहरुले भरिपूर्ण हुँदाहुँदै पनि यो क्षेत्र पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र बन्न सकेको छैन्”, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य द्वारिका काफ्लेले भने, “यस क्षेत्रको पर्यटन विकासका लागि गुरुयोजना निर्माण भइसकेको छ । अब सोच्ने बेला होइन, त्यसको कार्यान्वयनमा अघि बढनु पर्दछ, यसका लागि प्रदेश सरकार, नगरपालिका, निजी क्षेत्र र नागरिक समाजका अगुवाहरुको साझा प्रतिवद्धता र सहकार्य आवश्यक छ ।” पर्यावरणीय विविधताले भरिपूर्ण यो क्षेत्रको दिगो आर्थिक बिकासका लागि पर्यटनलाई मुख्य आधार मानेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नु पर्दछ । गढी पुगेका पर्यटकका लागि तस्बीर खिच्ने ठाउँको उचित व्यवस्थापन, विश्रामस्थल निर्माण र सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने आवश्यकता पनि त्यतिकै जरुरी छ । सानो तथा ठूलो दुबै गढीको उचित व्यवस्थापन र प्रचारप्रसार गर्न सके यो ठाउँ पर्यटकका लागि आकर्षणका केन्द्रबिन्दु बन्न सकिने धारणा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष राजन भट्टराईको छ । नेपाललाई सार्वभौम, स्वतन्त्र र अखण्ड बनाइराख्न सिन्धुलीगढीमा भएको लडाईंमा नेपाली फौजले कप्तान ‘किनलक’को नेतृत्वको अङ्ग्रेज फौजलाई परास्त गरेको घटनाको सम्झनामा त्यहाँ हरेक वर्ष विजय दिवस मनाउने गरिन्छ । सिन्धुलीगढीका लडाइँमा बाँचेर फर्केका अङ्ग्रेज फौजले ‘नेपाली योद्धा मात्र होइन, त्यहाँका पातपतिङ्गर र कीरा फट्याङ्ग्रासमेतले एउटै मोर्चामा रही लडाइँमा भाग लिएको स्मरण आफन्त जानलाई सुनाउने गरेको इतिहास रहेको नेपाल उद्योग वाणिज्य सङ्घ सिन्धुलीका अध्यक्ष अमरेश चन्द्र वैदारले बताए । विसं १८२४ असोज १५ गते भएको उक्त युद्धमा एक हजार ६०० जति अत्याधुनिक बन्दुकधारी अङ्ग्रेज जवान ज्यान गएको थियो । अङ्ग्रेज फौजसँगको लडाइँ असोजमा भएपनि लडाइँ सकेर फर्केको दिनलाई आधार मानेर कात्तिक २४ गतेका दिन विजय दिवस मनाउने गरिन्छ । शिकारी सरदार वंशु गुरुङ, काजी श्रीहर्ष पन्त, काजी वंशराज पाण्डे, खजाञ्ची वीरभद्र उपाध्यायको फौजले चेपुवामा पारी अङ्ग्रेज फौजमाथि आक्रमण गरेको इतिहास रहेको अध्यक्ष वैदारले जानकारी दिए । नेपाल एकीकरणको समयमा काठमाडौँका तत्कालीन मल्ल राजा जयप्रकाश मल्लको सहयोगका लागि कप्तान किनलकको नेतृत्वमा दुई हजार ४०० को सङ्ख्यामा सेना काठमाडौँतर्फ अघि बढिरहेको ‘इष्ट इण्डिया कम्पनी’का फौजसँग नेपाली फौजले घमासान युद्ध गरेको इतिहास छ । उक्त ऐतिहासिक लडाइँबाट अङ्ग्रेज फौजका ५०० थान बन्दुक र केही तोप हात पार्न गोर्खाली फौज सफल भएको थियो । सिन्धुलीगढी लडाइँमा वीर गोर्खाली सेनाले खुकुरी, खुँडा, धनुकाँड, ढुङ्गा, घुँयेत्रो, अल्लो र अरिङ्गालजस्ता घरेलु हतियार र प्राकृतिक चिजबीज प्रयोग गरेका थिए । गोर्खाली फौजले निकै सुझबुझ र बुद्धि खेलाइ रणनीतिक सफलता पाएको ‘सिन्धुलीगढीका लडाइँ’ आधुनिक नेपालको इतिहासमा सुनौलो अक्षरले लेखिएको छ। हालको कमलामाई नगरपालिका–३ मा पर्ने सिन्धुलीगढी विसं २०२२ अघि सिन्धुली जिल्लाको सदरमुकाम समेत रहेको थियो । सिन्धुलीगढीमा भग्नावशेषका रुपमा दरबार, जेलघर, टुँडिखेल रहिआएका छन् । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकका अतिरिक्त बाह्य पर्यटकको पनि बाक्लो उपस्थिति हुने गरेको छ । वार्षिकरुपमा यहाँ कति पर्यटक पुग्छन् भन्ने तथ्याङ्क कुनै निकायसँग छैन् । गढी क्षेत्रको महत्वलाई उजागर गर्ने सन्दर्भमा नगरपालिकाले त्यस युद्धमा लडेका सैनिक कमाण्डरको तस्वीरसहितको परिचय दिने बोर्ड राख्नुका साथै विभिन्न महत्वपूर्ण मठमन्दिर र भग्नावशेषको संरक्षण गर्ने कार्यको थालनी गरिसकेको छ । नेपाललाई जोगाउने धरोहरका रुपमा ख्याति कमाएको सिन्धुलीगढी स्थल संरक्षणका लागि नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्ने नगर प्रमुख खड्ग खत्रीले जानकारी दिए । प्राकृतिक रुपमा आनन्दको अनुभूति लिन यो गढीमा आउने पर्यटकलाई स्थानीयवासीले सुन्ताला र जुनारको जुस, मकैको रोटी, टिमुरको अचार, सिस्नोका परिकारजस्ता परिकारबाट स्वागत गर्ने गर्छन् । काठमाडौँ, जनकपुर, वीरगञ्जलगायत नेपालका प्रमुख शहरहरुबाट यातायातका साधन सहजै यहाँ पुग्ने भएपछि यतिखेर गढी आउने पर्यटक बढेका हुन् । अग्लो पहाड र हरियाली बन जङ्गलको बीचमा रहेको यो गढीमा पुगेपछि जो कोहीलाई पनि आनन्द र शान्तिको अनुभूति हुने गर्छ भने त्यहाँ पुग्ने पर्यटक अत्यन्त रमाउने गरेका छन् । “पर्यटनको विकास र विस्तार वाट नै आर्थिक रुपान्तरण गर्न सफल भएको छिमेकी मुलुक भारतका दार्जलिङ्ग, गोवा र सिक्किमवाट पनि हामीले धेरै सिक्नुपर्दछ, त्यस्तै भुटान, तिब्बत, थाइल्याण्डले गरेको पर्यटकीय आर्थिक क्रान्ति नै हाम्रा लागि उदाहरण हुन सकिन्छ”, स्थानीयवासी राजकुमार कार्कीले भने। पर्यटन उद्योगको विकासका लागि सबैभन्दा ठूलो नजिकको बजार भारत हुन सक्दछ, भारतीय पर्यटकलाई मात्र भित्रियाउन सकियो भने यहाँको आर्थिक समृद्धि हासिल गर्नका लागि एक दशक पनि कुर्नु पर्दैन । रासस

